Tag: स्थापना

  • सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन

    सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन

    काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ जिल्लाका प्रत्येक अस्पतालले कोभिड संक्रमितका बिरामीलाई उपचार सेवामा सहजीकरण गर्न प्रदेश सरकारले अस्पतालको व्यवस्थापनलाई छिट्टै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएका छन् ।

    उनले प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहका प्रमुखसँग आइतबार साँझ भर्चुअल संवाद गर्दै प्रत्येक अस्पतालले उपचार सेवालाई उच्च प्राथमिकतामा राखेर संक्रमित बिरामीलाई उपचार सेवा प्रदान गर्न स्थानीय प्रशासन र जिल्ला समन्वय समितिका प्रमुखबीच समन्वय तथा सहकार्यका साथ अघि बढ्न आग्रह गरे ।

    उनले अक्सिजन प्लान्टको जडान गर्न र अन्य आवश्यकीय व्यवस्थापन मिलाउन प्रदेश सरकारले बजेट विनियोजन गरिसकिएको र समुदायलाई आफ्नो व्यवहारलाई सुधार गरेर अनावश्यक भीडभाड नगर्न पनि स्थानीय निकायलाई जनशक्ति परिचालन गर्न आह्वान गरे ।

    भर्चुअल संवादमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रत्येक जिल्लाका गाउँ–टोलबीच जनचेतना फैलाउन र बिरामीलाई सम्भावपूर्ण व्यवहार गर्न स्थानीय निकायले घरदैलो अभियान सञ्चालन गर्न मन्त्रालयले नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गरेको उल्लेख गरे ।

    उनले प्रदेश सरकारको पहिलो प्राथमिकताका साथ कोभिड अस्पताललाई अक्सिजन सिलिन्डर, आवश्यकीय चिकित्सक र स्वास्थ्यकर्मी तथा पिसिआर परीक्षणको दायरा बढाउनका लागि सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयलाई बजेट निर्देशित गरिसकिएको पनि जानकारी दिए ।

    उक्त बैठकमा प्रदेश सामाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारीले प्रदेशका सबै जिल्ला अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गरिएअनुसार अस्पतालका चिकित्सकले पनि बिरामीलाई सद्भाव व्यवहार प्रदर्शन गरी उपचार सेवालाई निरन्तरता दिनुपर्ने र मन्त्रालयले आवश्यकीय स्रोतसाधन तथा बजेट उपलब्ध गराइएअनुरुप इमान्दारीसाथ काम गर्न आग्रह गरे ।

    उक्त संवादका क्रममा प्रदेशका समाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेल र प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले प्रदेश सरकारले १३ वटै जिल्लाको अस्पताललाई अहिले अक्सिजन सिलिन्डर उपलब्ध गराइँदै आएको र ती अस्पतालमा आवश्यकीय चिकित्सक स्वास्थ्यकर्मी र औषधि उपलब्ध गराइसकिएको तथा स्थानीय तहहरुमा बिरामीको चापलाई दृष्टिगत गरी आइसोलेशन कक्ष र क्वारेन्टिनको व्यवस्था मिलाउन मन्त्रालयले निगरानीका साथ कदम अघि बढाएको चर्चा गरेका थिए ।

    प्रदेश सरकारले १३ वटै जिल्लाका अस्पतालमा आइसीयू कक्ष र भेन्टिलेटर कक्षको व्यवस्थापन मिलाइएको समेत सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सेढाईंले जानकारी दिए । उनका अनुसार १३ वटै जिल्लाका मेडिकल सुपरिटेन्डेन्ट र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखसँग पनि मुख्यमन्त्री पौडेलले कोभिड अस्पतालमा बिरामीको उपचार भइरहेको विषयमा जानकारी लिएका थिए ।
    –रासस

  • दैनिक हजार सिलिण्डर भर्नसक्ने अक्सिजन प्लान्ट स्थापना गर्न समितिको निर्देशन

    दैनिक हजार सिलिण्डर भर्नसक्ने अक्सिजन प्लान्ट स्थापना गर्न समितिको निर्देशन

    सुर्खेत । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले प्रदेश सरकारलाई तत्काल कोभिड-१९ हटलाईन सेवा सुरु गर्न निर्देशन दिएको छ ।

    शनिबार बसेको समिति वैठकले कोभिड-१९ सँग सम्बन्धित बिरामी र बिरामीका आफन्तहरुमा अत्यधिक डर, त्रासको वातावरण भई मानसिक समस्या समेत देखिन थालेकोले यसलाई न्यूनीकरण गर्न मनोविमर्श सेवा दिनको निःशुल्क हटलाइन सेवाको तत्काल सुरुवात गर्नुपर्ने निर्णय गरेको हो ।

    बैठकले प्रदेश सरकार महामारी नियन्त्रणमा गम्भीरताका साथ लाग्नुपर्ने निर्णय गरेको समितिका अध्यक्ष देवी ओलीले जानकारी दिईन । साथै, बैठकले संक्रमण भई अस्पताल भर्ना हुन आउने बिरामीलाई भर्ना गर्न नसकिने भन्ने व्यहोराको अस्पतालको यसअघिको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

    ‘कोभिड-१९ सँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्रीलगायत प्रदेशभित्र पर्याप्त मात्रामा अक्सिजन प्लाण्टको तत्काल स्थापना गर्नुपर्ने, प्रदेश अस्पताल, सुर्खेतमा दैनिक १ हजार सिलिण्डर भर्न सक्ने अक्सिजन प्लाण्टको तत्काल स्थापना गर्नुपर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका छौं’ अध्यक्ष ओलीले जानकारी दिइन् ।

    उनले भनिन्, ‘प्रदेशभर अक्सिजनको अभाव हुन नदिन र अस्पतालहरुमा नियमित विद्युत आपूर्ति गर्न प्रदेश सरकारले तत्काल पहल गर्नुपर्ने, कोभिड-१९ सँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्रीको लागि मित्र राष्ट्र तथा अन्य मुलुकलगायत गैर सरकारी संघसंस्था, निजी क्षेत्रसँग प्रदेश सरकारले समन्वय गरी अगाडि बढ्नुपर्ने निर्देशन दिएका छौं ।’

    वैठकले प्रदेशभित्रका अस्पतालहरुमा अनुगमनको कार्यलाई तीब्रता दिने निर्णय गरेको छ । संघ, प्रदेश र स्थानीय सरकारले कोभिड-१९ को रोकथाम, नियन्त्रण र संक्रमणबाट बच्नको लागि आम जनसमुदायमा दिएका निर्देशनहरु पालना गरी स्वास्थ्यका मापदण्ड अपनाउन समेत भनिएको छ ।

    गैरसरकारी संघसंस्था, निजी क्षेत्रलाई सरकारसँग समन्वय गरी कोभिड-१९ सँग सम्बन्धित अत्यावश्यकीय औषधि र मेडिकल सामग्री व्यवस्थापनमा सघाउ पुर्‍याउन अपील गर्ने निर्णय भएको समितिका सदस्य सुशिल थापाले बताए ।

    ‘महामारीमा स्वतःस्फुर्तरुपमा सहयोग गरिरहनुभएका सबैमा धन्यवाद ज्ञापन गर्ने र प्रदेश सरकारले वादी समुदायसँग गरेको सम्झौता कार्यान्वयनको अवस्थाका बारेमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र सचिवज्यूलाई समितिमा बोलाइ छलफल गर्ने निर्णय गरेका छौं’ समितिका सदस्य यज्ञ बहादुर विसीले भने ।

  • ६ वटा जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न रकम प्रदान

    ६ वटा जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न रकम प्रदान

    डोटी । जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि ८० लाख रुपैयाँ प्रदान गरिएको छ । दोस्रो चरणको कोरोनाभाइरसका बिरामीलाई अक्सिजन नहुँदा निकै समस्या उत्पन्न भएपछि सुदूरपश्चिम प्रदेश सरकारले जिल्लामै अक्सिजन उत्पादन गर्नका लागि उक्त रकम प्रदान गरेको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पतालमा पठाइएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । जिल्ला हाल कम्तीमा पनि २०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको बताइएको छ ।

    संक्रमितको उपचारमा सहजता ल्याउन तथा संक्रमितले सहजरूपमा अक्सिजन पाउन् भन्ने उद्देश्यले अक्सिजन उत्पादन गर्न प्लान्ट स्थापनाका लागि जिल्ला अस्पतालमा रकम आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए । उनले भने, ‘अक्सिजन नहुँदा कोरोना संक्रमितको उपचारमा निकै समस्या भएको थियो, अक्सिजन प्लान्ट स्थापनाका लागि प्रदेश सरकारले रकम प्रदान गरेको छ, अब उपचारमा सहज हुनेछ ।’

    प्रदेश सरकारले यहाँका डोटीसहित अछाम, बाजुरा, बझाङ, बैतडी र दार्चुला जिल्ला अस्पताललाई पनि अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन उत्पादन गर्नका लागि ८० लाख रुपैयाँका दरले रकम प्रदान गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । पछिल्लो समय कोरोना संक्रमित बढ्दै गएपछि सुदूरपश्चिममा दैनिक ५०० अक्सिजन सिलिन्डर आवश्यक पर्ने गरेको सुदूरपश्चिम स्वास्थ्य निर्देश्नालयले जनाएको छ ।