Blog

  • अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र

    अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र

    काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको छ । रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता कार्य गरिएपछि पुनःस्तरोन्नतिको काम शुरु गरिएको हो ।

    डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सि–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए । पहिलो चरणमा आगामी चैतसम्ममा फराकिलो स्थानमा कालोपत्रे सक्ने र बाँकी अन्य बाँकी काम क्रमशः गर्दै निर्धारित समयमा सकिने उनको भनाइ छ । विभिन्न स्थानमा ‘कटिङ’ को कामबाट पुनःविस्तारकार्यलाई तीव्रता दिइएको हो ।

    निर्माण कार्यमा ढिलासुस्ती गर्दा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको छ । कार्यालयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो । चार किलोमिटर दूरीको सडकखण्ड नयाँ निर्माण कम्पनीले समयमै सक्नेमा आशावादी भएको योगेशले बताए ।

    सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गत साल फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको काम गौरी–पार्वतीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी २० करोड १९ लाख ४६ हजार ५ सय १ रुपैयाँमा ठेक्का लिएको थियो ।

    यसअघि धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा ‘कटिङ’ को काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम मात्रै भएको छ । जिपलाइन स्थानदेखि तल खावासम्मको करिब सडकमात्रै भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको छ । विसं २०८१ जेठमा धुलिखेलतर्फबाट बेश, सब–बेश हाल्ने काम शुरु गरिए पनि पटकपटकको बर्खामा सबै बगाएर खण्डहर झैँ बनाएको थियो । निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि ठेकेदार कम्पनीले २५ प्रतिशतसमेत निर्माणको काम सकेको थिएन ।

    अरनिको राजमार्ग हुँदै नेपालको चिनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकको रूपमासमेत रहेको राजमार्ग समयमै नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य भएका छन् । सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएको सडकमा दुर्घटना हुँदा सयौँ यात्री घाइते भइसकेका छन् ।

    केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो । सडकमा गुड्ने मालवाहक सवारीको भारबहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने कार्यालयले योजना बनाएको छ ।

  • नेकपाको आज जनकपुरमा सन्देश सभा

    नेकपाको आज जनकपुरमा सन्देश सभा

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आज जनकपुरको तिरहुतिया गाछीमा सन्देश सभा गर्ने भएको छ ।

    प्रदेशस्तरीय सन्देश सभा गरिरहेको नेकपाले जनकपुरमा आफ्नो उपस्थिति जनाउन लागेको हो ।

    सन्देश सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेताहरु महिन्द्रा राय यादव, राजेन्द्र पाण्डे, मातृका यादवलगायतले सम्बोधन गर्ने तालिका छ ।

    कार्यक्रम दिउँसो १ बजे हुनेछ ।

     

  • निर्वाचन आयोगले दियो राजनीतिक दलहरुलाई २० बुँदे निर्देशन

    निर्वाचन आयोगले दियो राजनीतिक दलहरुलाई २० बुँदे निर्देशन

    काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ ।

    आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको छ ।

    निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दललाई आवश्यक निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए ।

    निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचनमा प्रत्येक दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा त्यसको एकतिहाई नघटने गरी महिला उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित गर्ने एवम लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्नुपर्नेछ ।

    राजनीतिक दलले दिगो विकासको लक्ष्यलाई ध्यानमा राखी सन् २०३० सम्म संसद्मा ४० प्रतिशत महिला प्रतिनिधित्व पुर्याउने नीति अख्तियार गर्ने विषयको प्रभावकारी कार्यान्वयनका लागि लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुनेगरी उम्मेदवार मनोनयनको व्यवस्था गर्नुपर्नेछ ।

    यस्तै, राजनीतिक दलले निर्वाचनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्दा नेपालको संविधानप्रति निष्ठावान रही विभिन्न जातजाति, सम्प्रदाय, लिङ्ग, धर्म, भाषा, क्षेत्र र संस्कृतिको सम्मान गर्दै आपसी सुसम्बन्धमा खलल पार्ने कुनै गतिविधि गर्न पाइनेछैन ।

    मतदानस्थल, मतदान केन्द्र, मतगणनास्थललाई लैङ्गिक तथा अपाङ्गमैत्री बनाउन आवश्यक सहयोग गर्ने, राजनीतिक दलको घोषणा पत्र लगायतका दस्तावेजमा लैङ्गिक तथा समावेशीसम्बन्धी व्यवस्थालाई उचित सम्बोधन गर्नुपर्नेछ ।

    महिला, दलित वा अल्पसङ्ख्यक समुदायका लागि आरक्षण गरिएका पद बाहेकका पदमा उम्मेदवार मनोनयन गर्दा कम्तिमा एक तिहाई महिला र नेपालको सामाजिक विविधता प्रतिविम्वित हुने गरी समानुपातिक समावेशी सिद्धान्तका आधारमा उम्मेदवार मनोनयन गर्नुपर्नेछ । राजनीतिक दलबाट सञ्चालन गरिने प्रशिक्षण, गोष्ठी, तालिम, सेमिनार, छलफल तथा अन्तरक्रिया आदि कार्यक्रममा महिला, समावेशी समूह तथा लक्षित वर्गको सहभागितालाई सुनिश्चितता गर्नुपर्नेछ ।

    निर्वाचन प्रचारप्रसार गर्दा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति एवम समावेशी समूह वा अन्य कुनै पनि उम्मेदवारलाई प्रत्यक्ष वा अप्रत्यक्ष धम्की दिने, व्यक्तिगत लाञ्छना लगाउने, गालीगलौज गर्ने, हतोत्साहित गर्ने, चरित्र हत्याका प्रयास गर्ने एवम कमजोरी देखाउने जस्ता विभेदजन्य कार्य नपाइने व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैंगिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र एवम् प्रतिष्ठामा आँच आउन सक्ने, आत्मसम्मानमा चोट पुग्ने प्रकारले कुनै किसिमको प्रचारप्रसार गर्न पाइने छैन ।

    राजनीतिक दलले सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषामा महिला तथा समावेशी समूहका व्यक्तिको भावनामा नकारात्मक असर पर्ने गरी गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नहुने कुराको सुनिश्चितता गर्नुपर्ने आयोगको निर्देशनमा उल्लेख छ । राजनीतिक दलले निर्वाचनको प्रचारप्रसार गर्दा निर्वाचनमा लैङ्गिक तथा समावेशीता, निर्वाचनको महत्व र मतदान गर्ने तरीकालगायतका विषयमा मतदातालाई सुसूचित गर्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्नेछ ।

    राजनीतिक पदाधिकारी, सदस्य र कार्यकर्ताले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागु गर्नुपर्ने र त्यस्तो आचारसंहिता सम्बन्धित दल, दलका पदाधिकारी, सदस्य र कार्यकर्ताले पालना गर्नुपर्नेछ । त्यस्तो आचारसंहिता पालना नगर्ने दलका पदाधिकारी, सदस्य तथा कार्यकर्तालाई दललको विधान बमोजिम कारवाही गर्नुपर्ने भन्ने कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेछ ।

    राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रममा उल्लिखित समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेश गरेपछि त्यसरी पेश गरेको वन्दसूची सम्बन्धित दलले सार्वजनिक गर्नुपर्नेछ । राजनीतिक दलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा खलल पार्ने एवम् जातीय वा साम्प्रदायिक विद्धेष फैलाउने वा बिभिन्न जात,जाति, धर्म र सम्प्रदाय बीचको सुसम्बन्धमा खलल पार्ने जस्ता हिँसात्मककार्य गर्न बन्देज गरिएको छ । सरकारी, सार्वजनिक, सामुदायिक वा नीजि सम्पतिको तोडफोड हानि नोक्सानी वा क्षति पुर्याउने वा पुर्याउन लगाउने तथा सार्वजनिक नैतिकताको प्रतिकूल हुने कार्य नगर्ने र नगराउने व्यवस्था मिलाउनुपर्नेछ ।

    राजनीतिक दलले निर्वाचन घोषणापत्र बनाइ आयोगमा पेश गर्ने र सो घोषणापत्रको आधारमा निर्वाचन प्रचारप्रसार गर्ने व्यवस्था मिलाउनुपर्नेछ । राजनीतिक दलहरूले राजनीतिक गतिविधि गर्दा बालबालिकालाई प्रयोग नगर्ने नगराउने व्यवस्था मिलाउनुपर्नेछ । यस्तै, दलले राजनीतिक वा निर्वाचनसँग सम्बन्धित गतिविधि गर्दा एक दलले अर्को दललाई वाधा अरोध गर्ने, थुनछेक गर्ने वा गराउने, निषेध गर्ने वा गर्न लगाउने जस्ता अलोकतान्त्रिक कार्य गर्न पाइनेछैन ।

  • एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स तथा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा

    एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स तथा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा

    काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् ।

    त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।

    सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेकाले उसलाई कुनै दबाब हुने छैन । आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जित आवश्यक छ ।

    विराटनगरले राम्रो रनरेटका साथ जित निकाले सुदूरपश्चिमसँगै नै पहिलो क्वालिफायरमा खेल्नेछ । अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नेछ । त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौँ गोर्खाज भिड्नेछन् ।

    दिउँसो हुने खेलमा प्लेअफ दौडबाट बाहिरिसकेका चितवन र पोखराबीच प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ । दुवै टोलीको छ खेलबाट चार–चार अङ्क मात्रै रहेको छ ।

  • कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

    कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

    काठमाडौँ । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ ।

    आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालय ललितपुरले उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ ।यो अवधिभर कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न तथा गराउन आग्रह गरिएको छ ।

  • हेटौँडामा बिहानै चल्यो डोजर, ५३१ घर भत्काउन शुरु

    हेटौँडामा बिहानै चल्यो डोजर, ५३१ घर भत्काउन शुरु

    काठमाडौँ । सडक डिभिजन हेटौँडाले मंसिर ५ गते सूचना जारी गर्दै १५ दिनभित्र घर टहरा हटाउन आग्रह गरेको १५ दिने म्यादपछि आज बिहानै सडकमा उत्रिएको छ । उसले सडक विस्तारका लागि आवश्यक बन्दोबस्तीको सामान र जनशक्तिसहित हेटौँडाको राप्तीरोडबाट केही घरहरु भत्काउन शुरु गरेको छ ।

    २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास भए पनि रोकिँदै आएको थियो र शुक्रबार पनि रास्वपाकी समानुपातिक निवर्तमान सांसद विन्दबासिनी कंसाकारसहित केहीको घर नभत्काउन र मंसिर २६ गते सछलफलमा आउन सडक डिभिजन र सरोकारवालालाई भनिए पनि शुक्रबार ३ बजेसिम्म कुनै पत्र नआइपुगेको भन्दै सडक डिभिजनले सडक विस्तार नरोकिने बताएको थियो ।

    हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकबाट सामरी पुलसम्म सडक विस्तार शुरु भएको हो । २५ मिटर क्षेत्रमा परेका घर टहरा हटाउँदै हेटौँडामा राजमार्गको आवागमनसमेत वैकल्पिक व्यवस्था गरिएको छ ।

  • गण्डकी प्रदेशको हिमाली हल्का वर्षा र हिमपातको सम्भावना

    गण्डकी प्रदेशको हिमाली हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज राति गण्डकी प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा पनि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

    आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

  • चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन

    चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन

    सिरहा । सिरहाको धनगढीमाई, गोलबजार र मिर्चैया नगरपालिकामा पर्ने चुरे क्षेत्र मूल भएर बग्ने गागन, कशाहा, बाखेट र घुर्मीखोलामा अवैध रूपमा भइरहेको ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन रोक्न जिल्ला प्रशासन कार्यालयको टोलीले आज स्थलगत अनुगमन गरेको छ ।

    चुरेबाट नदीजन्य पदार्थको तोकिएको सीमाभन्दा बढी उत्खनन तथा अनियमित गतिविधिबारे लगातार गुनासो आएपछि अनुगमन टोली परिचालन गरिएको हो ।

    अनुगमनपछि सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले अवैध उत्खननले वातावरणीय तथा भौतिक जोखिम बढाउने भएकाले कानुनी प्रक्रियाअनुसार मात्र उत्खनन गराइने बताए । उनले गलत कार्यलाई कडाइका साथ नियन्त्रण गर्ने उद्देश्यले अनुगमन गरिएको उल्लेख गरे ।

    उनले भने, “बारम्बार गुनासो आउन थालेपछि वास्तविक अवस्था के छ भनेर बुझ्न हामीले अनुगमन गरेका हौँ । यसक्रममा जथाभावी खोला उत्खनन गरेको, निजी जग्गासम्म खोस्री मापदण्डविपरीत ढुङ्गा, गिट्टी, बालुवा निकालिएको पाइएको छ । कतिपय स्थानमा करिब २० फिट गहिरोसम्म खाल्डा पारिएकाले ती क्षेत्रहरू जोखिमपूर्ण बनेका छन् ।”

    सहायक प्रमुख जिल्ला अधिकारी बरालले अवैध उत्खननलाई तत्काल रोक्न निर्देशन दिँदै भने, “देखिएका कमजोरीबारे ठेकेदारलाई सचेत गराएका छौँ । अबदेखि मापदण्डअनुसार कानुनले तोकेको प्रक्रिया पालन गर्नुपर्छ । अवैध उत्खनन कानुनविपरीत हुनुका साथै यसले वातावरणीय जोखिम पनि निम्त्याइरहेको हुन्छ, यसलाई रोक्न जरुरी छ ।”

    अनुगमनका क्रममा गोलबजार–१ मुक्सार बलडाँडाका स्थानीयले घरनजिकै ठेकेदारले गिट्टी, बालुवा उत्खनन गरी ठूलाठूला खाल्डा पारेकाले जोखिम बढेको गुनासो गरे । धनगढीमाई–८ स्थित परोपकार गिट्टी–बालुवा उद्योग तथा पुष्पदीप क्रसर उद्योगलाई दुई दिनभित्र आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको बरालले जानकारी दिए ।

    सहायक प्रमुख जिल्ला अधिकारी बरालको नेतृत्वमा भएको अनुगमन टोलीमा इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि खनाल, आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कर अधिकृत भीम काफ्ले, सिँचाइ विकास डिभिजन कार्यालय सिरहाका प्रमुख हस्मत अन्सारी, गोलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र महतो, इञ्जिनियर जयगणेश सिंह, जिल्ला समन्वय समितिका प्रतिनिधि तथा सुरक्षाकर्मीको सहभागिता थियो ।

    यसअघि सोही टोलीले लहान नगरपालिकामा पर्ने खुट्टीखोला क्षेत्रको पनि अनुगमन गरिसकेको छ । इलाका प्रशासन कार्यालयका प्रमुख खनालले जिल्लाका विभिन्न नदी तथा खोलामा हुने अवैध उत्खनन रोक्न नियमित अनुगमन जारी रहेको बताए ।

  • प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठकमा निर्वाचनै विषय केन्द्रित, के भने दलका नेताहरूले ?

    प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठकमा निर्वाचनै विषय केन्द्रित, के भने दलका नेताहरूले ?

    काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै विषयले प्राथमिकता पाएको छ ।

    सरकारी निवास बालुवाटारमा बसेको शुक्रवार साँझ बसेको बैठकमा निर्वाचन आयोग, सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिसहितको सहभागिता रहेको थियो ।

    दलका नेताहरूलाई प्रधानमन्त्रीले निर्वाचनका लागि सहयोग गर्न आग्रह गर्दै सरकारले यसको वातावरण बनाउन तयार रहेको बताइन् । ‘हामी निर्वाचन गराउन तत्पर छौँ । निर्वाचन गराएर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौँ, हामीलाई सहयोग गर्नुस्’ प्रधानमन्त्री कार्कीले भनेकी थिइन् । बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था र निर्वाचन वातावरणका विषयमा केन्द्रित रहेको नेताहरूले जनाएका छन् ।

    बैठकमा प्रधानमन्त्री कार्कीसहित मन्त्रीहरू, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत राजनीतिक दलका प्रतिनिधि सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    सर्वदलीय बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा र पुष्पा भुसाल, एमालेबाट शंकर पोखरेल र महेश बर्तौला, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट प्रकाश ज्वाला सहभागी रहेका थिए । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शिशिर खनाल र सोबिता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र भुवन पाठक, जसपा नेपालबाट प्रकाश अधिकारी र जनमत पार्टीबाट नरेन्द्र चौधरी सहभागी भएका थिए ।

    बैठकमा निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखसमेत सहभागी थिए । प्रतिनिधि सभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकारवाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ। निर्वाचनका लागि आयोगले दुवै निर्वाचनको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ। निर्वाचनमा भाग लिन भनी आयोगमा निवेदन दिएका दलहरूले निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाइसकेका छन्।

    बैठकमा सबै पक्षबाट आ–आफ्ना तयारीबारे जानकारी गराउने काम भएको छलफलमा सहभागी नेताहरूले बताएका छन् ।

    कांग्रेस महामन्त्री गगन थापाले पार्टीले निर्वाचनमा सहयोग गर्ने तर त्यसको वातावरण बनाउन नसकेको जनाएका थिए । राप्रपाले नवीन समझदारीमा गएर अहिलेको समस्या समाधान गर्नुपर्ने प्रस्ताव राखेको थियो भने रास्वपाबाट नेतृ सोबिता गौतमले अहिलेको सरकारलाई पार्टीले पूरा साथ दिएको बताउँदै निर्धारित मितिमा चुनाव गराउनुको विकल्प नभएको बताएकी थिइन् ।

    बैठकमा सहभागी एमाले नेता महेश बर्तौलाले सबै दलले आफ्ना धारणाहरू राखेको र सरकारले निर्वाचनका विषयमा कुनै ठोस योजना नदिएको जनाए ।

    ‘हामीले बैठकमा चार प्रस्ताव राखेका थियौँ, पहिलो एमाले अध्यक्षलाई स्थान हद गरेर निर्वाचनको तयारी गरेको छैन, सुरक्षाको कुनै वातावरण नै बनेको छैन, सरकारको संवैधानिक परीक्षण बाँकी छ सरकारका विषयमा अदालतमा रहेका मुद्दाको टुंगो लाग्नुपर्छ, चुनावी कानुनका विषयमा सरकारले अनावश्यक प्रचार गरेको छ, यसले चुनावको वातावरण बनेकै छैन भन्ने प्रष्ट धारणा राखेका छौँ’ उनले नेपाल प्रेससँग भने ।

    उनले यो विषयमा सरकारबाट कुनै ठोस जवाफ नपाएको जनाएका थिए । बैठकमा सहभागी सुरक्षाकर्मीले सुरक्षा चुनौती भएपनि त्यसलाई थेग्न सकिने धारणा राखेका थिए ।

  • ६ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ

    ६ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ

    घोराही । जिल्ला प्रहरी कार्यालय दाङले अदालतबाट फैसला भएका तर पक्राउ नपरेका फरार प्रतिवादीलाई पक्राउ गर्ने कामलाई तीव्र बनाएको छ । पछिल्लो छ दिनमा जिल्ला प्रहरी कार्यालयले १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

    यही मङ्सिर १४ देखि १९ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट १२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।

    उनका अनुसार पक्राउ परेका १२ जनाबाट ११ वर्ष १० महिना १० दिन कैद सजाय भुक्तान हुन बाँकी छ भने रु २३ हजार ५२ जरिवाना असुलउपर गर्नुपर्ने छ । सोही कारणले निजहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    यसैबीच, जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न खोला तथा नदीहरूबाट अवैध नदीजन्य वस्तु उत्खनन गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिने तथा जरिवाना तिराउने कार्यक्रमलाई पनि तीव्रता दिएको छ ।

    मङ्सिर १ देखि मङ्सिर १९ गतेसम्म जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा ढुङ्गा, बालुवा उत्खनन गर्ने १८ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको प्रवक्ता शाहले जानकारी दिए ।

    उनका अनुसार १३ वटा ट्याक्टर कारबाहीमा पर्दा रु दुई लाख २० हजार, तीनवटा टिपटरबाट रु एक लाख २७ हजार ५४०, दुईवटा जेसिबीबाट रु ९० हजार जरिवाना सङ्कलन गरिएको छ ।

    कारबाहीमा परेका १८ सवारीसाधनका धनीबाट जरिवाना लिएपश्चात् सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

  • भदौमा जे भयो त्यो हामी कसैको हातमा थिएन, आगजनी गर्ने बानी बस्छ कि भन्ने चिन्ता छ : प्रधानमन्त्री

    भदौमा जे भयो त्यो हामी कसैको हातमा थिएन, आगजनी गर्ने बानी बस्छ कि भन्ने चिन्ता छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज बालुवाटारमा निर्वाचनसम्बन्धी बहुपक्षीय छलफल सम्पन्न भएको छ।

    बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो।

    राजनीतिक दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका नेताहरूको सहभागिता थियो।

    निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित तीनै जना आयुक्त, सचिव र सहसचिवसमेत गरी ७ जनाको प्रतिनिधिमण्डलको उपस्थिति थियो। चार वटै सुरक्षा निकायका प्रमुखहरू पनि बैठकमा सहभागी थिए ।

    गृहमन्त्री अर्यालसहित चारै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका सन्दर्भमा सुरक्षाको अवस्था र तयारीका विषयमा स्पष्ट पारेका थिए ।

    कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगले पूर्ण रूपमा निर्वाचन गराउन तयारीका साथ अघि बढिरहेको र यसबीचमा धेरै उल्लेखनीय सफलता प्राप्त गरिसकेको विवरण प्रस्तुत गरे ।

    प्रधानमन्त्री सुशीला कार्कीले आजको भेला निर्वाचनको वातावरण बनाउने सन्दर्भमा अहिलेसम्मकै महत्त्वपूर्ण र उपलब्धिमूलक भएको बताइन् ।

    सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले बैठकमा व्यक्त गरेको समापन मन्तव्य:

    आज जुन भेला भयो, अहिलेसम्मकै महत्त्वपूर्ण हो भन्ने लागेको छ। समग्रमा निर्वाचन होस् र हुनुपर्छ भन्ने आवाज नै यहाँ सबैको रह्यो। कहीँ कतै आशंकाका कारण छन् भने पनि तिनले हामीलाई सचेत गराउँछन् र अगाडि बढ्न मद्दत गर्छन्।

    यहाँहरूले उठाउनुभएका कुरालाई हामी अन्यथा मान्दैनौँ। लागेको कुरा भन्नुपर्छ। अहिलेको परिस्थिति के छ, व्यवधान के कस्तो छ भन्ने बताइदिने यहाँहरूको धर्म हो। हामीले एउटा दृष्टिकोणबाट हेरेका हुन सक्छौँ, तपाईँहरूले आफ्नो दृष्टिकोणबाट थप भनिदिनुहुन्छ। यस सुधार गर्दै अगाडि बढ्ने मौका मिल्छ।

    भदौ २३ र २४ को घटना कसले कल्पना गरेको थियो र ? देशको जीवनमा एउटा मोड आयो। संसारका सबै मुलुकको जीवनमा यस्ता अप्रत्याशित मोड र उतारचढाव आउँछन्। यस्तो समयमा हामीले एकताबद्ध भएर अगाडिको बाटो पहिल्याउनुपर्छ।

    हामीकहाँ जुन घटना भयो, त्यसको विश्लेषण, व्याख्या समय क्रममा होला र निचोड पनि आउला। तर, यस घटनाले राष्ट्रको जीवनमा ठूलो परिवर्तन ल्याइदियो। भइरहेको निर्वाचित र बलियो सरकार परिस्थितिलाई वशमा लिन विफल भयो।

    अदालतले गर्ने कुरा आफ्नो ठाउँमा छ। हाम्रा विरुद्धमा अन्तरिम आदेश भएको भए हात बाँध्नुपर्थ्यो। तर, त्यो भएको छैन। हामी अगाडि बढ्नु नै पर्ने हुन्छ।

    युवा विद्रोहपछि के गर्ने त, अबको बाटो के त भन्ने सन्दर्भमा यो सरकार आएको हो। यो अन्तरिम कालको व्यवस्थापनका लागि आएको हो। यसले आफ्नो कर्तव्य पूर्ण जिम्मेवारीका साथ पूरै सक्रियताका साथ पूरा गर्दै छ। थकाइ पनि भनी काम गर्दै छौँ।

    जेनजीदेखि सबै दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाज सबै पक्षसँग निरन्तर र कयौँ पटक छलफल गरेका छौँ। आशंकाहरू निवारण गरेका छौँ। मन माझामाझ गरेका छौँ।

    मुलुकप्रति हामी सबैको दायित्व छ। मुलुकले एउटा बाटो पाओस्। जेनजी आन्दोलनको मागअनुसार मुलुकले गति र दिशा लेओस्।

    निर्वाचन आयोगले तत्कालै सक्रिय भएर निर्वाचनको तयारी अघि बढाएको छ। सुरक्षा निकायको प्रस्तुतिले हामी सक्रिय र सक्षम छौँ भनेको छ।

    सेनाले पनि आफ्नो काम सुरु गरिसकेको छ। प्रहरीले निरन्तर कानुनी राज स्थापनाका लागि काम गरिरहेको छ।

    २३ गते निहत्था युवा मारिए। भोलिपल्ट आगजनी भयो। यो कसले किन गरेको, अध्ययनले बताउने नै छ।

    तर, यो आगजनी गर्ने बानी भयो भने भोलि जोकोहीले जोकसैलाई जलाउन सक्ने चिन्ता भएको छ। यस्तो हिंस्रक घटना फेरि नहोस्, कसैले रुन नपरोस्, यस्तो हृदय विदारक अवस्थाको सामना गर्नु नपरोस् भनेर सबैले सोच्नुपर्छ।

    काठमाडौँमा धेरै क्षति भयो, ललितपुरमा कम भयो। ललितपुरमा किन कम भयो भनेर पनि हेर्नुपर्छ। ललितपुरका जनताले धेरै ठाउँमा विध्वंसको प्रतिकार गरेको देखियो। यसरी खराब तत्त्वलाई रोक्ने सामर्थ्य पनि समाजमा हुनुपर्छ। हामीले आफ्नै छिमेकी, साथीभाइको घर किन जलाउनबाट जोगाउन सकेनौँ, यो चिन्ताको विषय हो। यसमा हामीले क्षमा याचना पनि गरौँ।

    चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौँ। कसरी चुनाव सफल पार्ने भनेर सोचौँ। सबैले एक चित्तले सोचेमा चुनाव नहुने कुरै छैन। १२६ वटै दलले चुनाव हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ। हामी एकमत भयौँ भने निर्वाचनमा कसैले खलल पार्न सक्दैन। खराब तत्त्वले आक्रमण गर्न सक्दैन।

    सुरक्षाको पहिलो कडी जनता नै हो, समुदाय नै हो। त्यसपछि मात्र प्रहरी, सशस्त्र, सेना हुन्छ। भूतपूर्व सुरक्षाकर्मी पनि छन्।

    अहिलेको परिस्थितिमा हरेकले भनिरहेको एउटै मात्र बाटो निर्वाचन हो। यसबाहेक अर्को विकल्प छैन।

    हामीले जेनजी आन्दोलनबाट आयौँ तर दलका विरोधी होइनौँ। राजनीतिक दललाई स्थापित गर्न नै चुनाव चाहिएको हो भनेर यहाँहरूले बुझ्नुपर्छ।
    दलभित्र पनि युवाले स्थान पाउनुपर्छ भन्यौँ होला। तर कसलाई जिताउने र कसलाई हराउने भन्ने जनताको निर्णयको कुरा हुन्छ।

    म त झन् कुनै पार्टीको टिकट काटेको मान्छे होइन। जुन दल आए पनि हामी स्वागत गर्छौँ। खुसीखुसी आयोगले प्रमाणपत्र दिन्छ।

    हाम्रो कुनै निजी स्वार्थ र आकांक्षा छैन। केही अतिरिक्त प्राप्तिका लागि हामी कुनै काम गरिरहेका छैनौँ। एउटा विषम परिस्थितिमा हाम्रो माग भयो, देशले पत्यायो, हामी आयौँ। देशले सुम्पेको यो अभिभारा पूरा गर्नेबाहेक अर्को कुनै उद्देश्य हामीसँग छैन।

    तपाईँहरू चुनावका लागि एक ठाउँमा उभिइदिनुहोस्।

    अहिले नयाँ आएकाहरूप्रति तपाईँहरूले शंका गर्नुभएको होला। तर जेनजी पनि पहिलाभन्दा धेरै फरक भएका छन्। अझै पनि राजनीतिक व्यवहार र वातावरण दिन, शिक्षा दिन हामी तयार छौँ।

    कुनै दललाई अहित हुने कार्य गरेर कारबाही गर्ने आचार संहिता हुन्छ। त्यसैले हामीलाई अब शंका नगर्नुहोस्।

    भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो। अब निर्वाचन गराएर बलियो सरकार बनाएर युवा शक्तिले खोजेको व्यवस्था ल्याउनुपर्छ।

  • मधेशबाट टुट्यो कांग्रेस-एमाले सहकार्य, राष्ट्रियसभा चुनावमा के होला ?

    मधेशबाट टुट्यो कांग्रेस-एमाले सहकार्य, राष्ट्रियसभा चुनावमा के होला ?

    काठमाडौं । मधेश प्रदेशबाट नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्य टुट्न थालेको छ। एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर बिच्किएको कांग्रेसले एमालेको साथ छाडेको हो।

    एमालेको साथ छाडेसँगै सात दलीय गठबन्धनको बलमा पहिलो पटक मधेशको मुख्यमन्त्री पाएको छ। सात दलको समर्थनमा कृष्ण यादव मुख्यमन्त्री बनेका छन्।

    एमालेबाट मुख्यमन्त्रीमा नियुक्त भएका यादवलाई तत्कालीन प्रदेश प्रमुखले होटेलमा शपथ गराएपछि कांग्रेसले एमालेको साथ छाडेको थियो। कांग्रेसले साथ छाडेपछि एमालेले मधेशमा मुख्यमन्त्रीसँगै प्रदेश प्रमुख र सभामुख पनि गुमायो।

    मधेशमा एमाले साथ छाडे पनि अन्य ६ प्रदेशमा भने गठबन्धन कायमै छ। नेकपा एमालेका अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच ७ बुँदे सहमति भएपछि एमाले र कांग्रेसबीच सत्ता सहकार्य सुरु भएको थियो।

    त्यही सहमति अनुसार संघमा ओली प्रधानमन्त्री बनेको भएपनि जेनजी आन्दोलनपछि सत्ताच्युत भए। प्रदेशमा भने दुई दलबीचको सहमति अनुसार कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम, एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गरिरहेका छन्।

    मधेशमा कांग्रेसले सत्ता सहकार्य तोडेकै दिन ओलीले आज देउवालाई निवास महाराजगन्जमा पुगेर भेट गरे। जेनजी आन्दोलनपछि ओली र देउवाको यो पहिलो भेट हो। भेटमा देउवा पत्नी आरजु राणा र ओलीपत्नी राधिका शाक्य पनि सहभागी थिए।

    दुई नेताबीच जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमदेखि आगामी रणनीतिबारे छलफल भएको बताइएको छ। फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा दुवै दलले एक्ला एक्लै लड्ने घोषणा गरिसकेका छन्।

    तर त्यसअघि माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदै छ। मधेशबाट सहकार्य टुटाएको कांग्रेसमा एमालेसँग सत्ता सहकार्य तोड्न चर्को दबाब छ। हालै बसेको केन्द्रीय समितिको बैठकमा पनि यो कुरा उठेको थियो।

    एमालेसँगको सत्ता सहकार्यले पार्टीलाई क्षति गरेको भन्दै नेताहरूले प्रदेश सरकारमा पनि तोड्नुपर्ने धारणा राखेका थिए। तर कांग्रेसले त्यसबारे कुनै निर्णय लिएन। कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रियसभाको निर्वाचनमा कसै न कसैसँग मिल्नुपर्ने बताए।

    उनले नेपाल प्रेससँग भने, ‘राष्ट्रियसभाको चुनाव अरूजस्तो होइन, सङ्ख्याको खेल हो, हामी नमिल्दा अरू मिले परिणाम आउँदैन। त्यसैले कसै न कसैसँग मिल्नुपर्छ भन्ने हो तर त्यसबारे समय आएपछि पार्टीले निर्णय गर्छ।’

    परिस्थिति फेरिएपनि राष्ट्रियसभा निर्वाचनमा एमालेसँग विगतमा भएको सहमति अनुसार नै जान्छ ? भन्ने जिज्ञासामा उनले थपे, अहिले भन्न सकिने अवस्था छैन। अब परिस्थिति कसरी जान्छ हेरौँ। छलफल होला त्यसबारे पनि।

    उनले पार्टी राष्ट्रियसभाको निर्वाचनको आन्तरिक तयारी थालेर तल्लो तहबाट उम्मेदवार सिफारिस गर्न भनिसकेको बताए।

    तर एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम भने अहिलेसम्म पार्टीले राष्ट्रियसभाको निर्वाचनबारे कुनै छलफल नगरेको बताए। उनले भने, ‘अहिले हाम्रो पार्टीको ध्यान महाधिवेशनतिर छ। महाधिवेशन सकिएपछि मात्रै राष्ट्रियसभाको निर्वाचन सोच्छ।’

    कुन दलसँग मिलेर जाने कि के भन्ने पछि नै थाहा हुने उनले बताए। मधेशबाट एमालेको कांग्रेससँग सहकार्य टुट्यो, राष्ट्रियसभाको निर्वाचनमा के हुन्छ ? भन्ने जिज्ञासामा गौतमले थपे, ‘मधेशको सत्ताबारे तलबाटै निर्णय भएको हो। राष्ट्रिय सभाको निर्वाचनबारे केन्द्रबाट निर्णय हुन्छ।’

    नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता अग्नि सापकोटाले पनि पार्टीले राष्ट्रियसभा निर्वाचनको तयारी थालिसकेको बताए। चुनावी तालमेलबारे संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले नै टुङ्ग्याउने उनले बताए।

    सापकोटाले भने, ‘राष्ट्रियसभाको निर्वाचनबारे संयोजक र सहसंयोजक आन्तरिक तयारी गरिराख्नुभएको छ। अहिले कसरी जाने भन्नेबारेमा, यो चुनावमा अन्य दलसँग सहकार्य हुनसक्छ।’

    कांग्रेस र एमालेमध्ये कुन दलसँग सहकार्यको सम्भावना छ ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले थपे, ‘आवश्यकताको आधारमा मिल्नुपर्छ भन्ने हो, तर कुनै दलसँग भन्ने अहिले नै भन्न सक्ने अवस्था छैन।’

    ०७६ मा भएको निर्वाचनबाट आए १९ सांसदको कार्यकाल आगामी फागुनबाट सकिँदै छ। उक्त रिक्त हुन लागेको स्थानमा माघ ११ गते राष्ट्रियसभाको चुनाव हुन लागेको हो। बिदा हुन लागेकोमध्ये वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत हुन्।

    एमालेबाट बिदा हुनेमा देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, सुमित्रा बिसी र शारदा देवी भट्ट रहेका छन्।

    नेपाली कम्युनिस्ट पार्टी (माओवादी र एकीकृत समाजवादी)बाट नारायणकाजी श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, बेदुराम भुसाल, गङ्गाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, मायाप्रसाद शर्मा, राधेश्याम पासवान रहेका छन्।

    लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह र जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव पनि कार्यकाल सकिएर बिदा हुँदै छन्।

  • कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या

    कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या

    काठमाडौं । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै आएर विभत्स तरिकाले हत्या भएको एउटा घटना सार्वजनिक भएको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले विसं २०८१ चैत ३१ गते लमजुङको बेसीशहर नगरपालिका-२ भकुण्डेकी ४५ वर्षकी सीता कँडेल (पूर्वप्रहरी हवल्दार) को हत्या आरोपमा एक व्यक्तिलाई पक्राउ गरेपछि उक्त घटना सार्वजनिक भएको हो ।

    कँडेलको हत्या आरोपमा चितवनको साविक बछौली गाविस (हाल रत्ननगर नगरपालिका-६) का ४७ वर्षीय बुद्धिराम दराई संलग्न रहेको पाइएपछि उनलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए । उनले उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि आज लमजुङ प्रहरीलाई बुझाइएको बताए ।

    यसरी भएको थियो घटना

    सिआइबीले सार्वजनिक गरेको घटना विवरणमा विसं २०८१ चैत ३१ गते लमजुङको बेसीशहर नगरपालिका-२ भकुण्डेस्थित सोही स्थानमा बसोबास गर्ने ४५ वर्षकी सीता कँडेल (पूर्वप्रहरी हवल्दार) को घरमा बाहिरबाट ताल्चा लागेको अवस्थामा, सोही घरबाट दुर्गन्ध फैलिएको भनी स्थानीय व्यक्तिहरूले प्रहरीमा सूचना गरेका थिए ।

    सोही सूचनाका आधारमा त्यस घरभित्र प्रवेश गरी खानतलासी गर्दा पूर्वप्रहरी सीता कँडेलको शव आफ्नै सुत्ने कोठामा रहेको बक्सपलङको विस्तारामुनी त्रिपालले बेरिएको अवस्थमा फेला पर्‍यो । प्रवक्ता श्रेष्ठले त्यसपछि उक्त विभत्स हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरोबाट विशेष अनुसन्धान टोली खटिएको बताए ।

    ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठ भन्छन्, ‘उक्त घटनाको प्राविधिक तथा स्थलगत अनुसन्धान गर्दा घटना चितवनको साविक बछौली गाविस (हाल रत्ननगर-६) का ४७ वर्षीय बुद्धिराम दराई संलग्न रहेको खुल्न आयो ।’

    उनका अनुसार अपराध अभिलेख हेर्दै जाँदा दराइ विसं २०६७ मा गोरखाकी चिनीमाया पाण्डेलाई हत्या गरेको अभियोगमा दोषी ठहर भएका व्यक्ति हुन् । त्यसबेला चिनिमायाकी छोरी विहे गर्नका लागि माग्न जाँदा भएको विवादमा दराइले चिनीमायाको घाँटी थिची हत्या गरेकोमा गोरखा जिल्ला अदालतबाट विसं २०६८ असार २० गते सर्वस्वसहित जन्म कैदको फैसाला भएको थियो ।

    सजाय भुक्तानका क्रममा दराइ भीमफेदी कारागारमा पुगे । त्यहाँ रहँदा तत्कालीन प्रहरी हवल्दार सीता कँडेलसँग परिचय भएको पाइएको श्रेष्ठले बताए । त्यस बेला कँडेल त्यही कारागारमा सुरक्षामा खटिएकी थिइन् ।

    उनका अनुसार पछि दराइ कारागारबाट छुटे । उनी पूर्वप्रहरी हवल्दार कँडेल घरमा रहेका बेला २०८१ चैत ३१ गते हत्या गरेर कोठामै शव छाडी बाहिरबाट ताला लगाएर भागेका थिए ।

    दराइलाई २०८२ वैशाख १५ गते लमजुङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई खोजतलास तथा अनुसन्धानका क्रममा यस ब्यूरोको टोलीले रूपन्देही सिद्धार्थनगर नगरपालिक १ बेलहियाबाट पक्राउ गरेको श्रेष्ठले बताए ।

  • लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए

    लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए

    काठमाडौं । जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स एनपीएल सिजन-२ को प्लेअफमा प्रवेश गरेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी प्लेअफमा प्रवेश गरेको हो ।

    योसँगै प्लेअफमा पुग्ने टोलीको टुंगो लागेको छ । सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्सले यसअघि नै प्लेअफमा स्थान बनाइसकेका हुन् । पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिएका छन् । कर्णाली याक्स यसअघि नै बाहिरिसकेको थियो ।

    जनकपुरले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले १९ ओभर एक बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । डार्सी सर्ट ३०, सुमित महर्जन ०, निरोशन डिक्वेला १७, सन्दीप जोरा ०, जेजे स्मिथ २१ रनमा आउट भए । दिलीप नाथ १५ र रुवेन ट्रम्पल्म्यान ६ रनमा अविजित रहे ।

    बलिङमा जनकपुरका संगीत कुरे ३, मायन यादव २ र सञ्जय कृष्णमूर्तिले एक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो ।

    जनकपुरका लागि संगीत कुरेले सर्वाधिक अविजित ४५ रन बनाए । माज सदाकत ६, असिफ शेख २०, अनिल शाह ७, शुभ कंशाकार ११, सञ्जय कृष्णमूर्ति १४ र कप्तान जान निकोल लोफ्टी इटन ० रनमा आउट भए । मायन यादव २७ रनमा अविजित रहे ।

    बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्ले दुईदुई तथा जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले एकएक विकेट लिए ।

  • बाबाले पाएको स्याबासी देखेर राजनीतिमा होमिएकी सविता राई

    बाबाले पाएको स्याबासी देखेर राजनीतिमा होमिएकी सविता राई

    काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको उपाध्यक्षको रूपमा दोस्रो कार्यकालमा हिँडिरहेकी व्यक्ति हुन्, सविता राई । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट पहिलो पटक थुलुङ दुधकोशीको उपाध्यक्ष निर्वाचित भएकी सविताले दोस्रो पटक पनि उपाध्यक्ष हुने सौभाग्य प्राप्त गरिन् ।

    सवितालाई सानैदेखि राजनीतिमा होमिने इच्छा थियो । २०३९ कृष्ण बहादुर राई र आमा लखी माया राईबाट जन्मिएकी सवितालाई बुबा राजनीतिमा भएका कारण पनि राजनीतिबाट समाजको सेवा गर्ने उत्साह जाग्यो । बाबुबाट पनि राजनीतिमा लाग्ने प्रेरणा मिल्दा उनलाई राजनीतिमा होमिन थप सहज भयो ।

    ‘बाबा राजनीति नेतृत्वमा भएको हुनाले उहाँबाट पनि प्रेरणा मिल्थ्यो । उहाँको सामाजिक भाव, सकारात्मक सोच र नागरिकले उहाँलाई दिनुभएको स्याबासी । उहाँको स्याबासी मलाई फलानोको छोरी भन्दा म खुसी हुन्थे,’ उनी सम्झिन्छन्, ‘बाबाले गर्न पाए हुन्थ्यो भनेर मलाई सबैले भन्नुहुन्थ्यो । मलाई त्यहीँबाट राजनीतिमा आउने इच्छा जाग्यो ।’

    विद्यालय समय मै उनी नेतृत्व गर्नुपर्छ भन्ने उद्देश्यका साथ अघि बढिन् । विद्यालयमा हुने विभिन्न कार्यक्रममा समूह लिडरको रूपमा सविताले पाइला चाल्दै गइन् । ‘विद्यालयमा विभिन्न सदनहरू बन्थे । ती सदनको अध्यक्ष हुन्थे र हुनुपर्छ भनेर म आफू अगाडि सर्थे,’ उनी भन्छिन्, ‘सानैदेखि नै लिडरसिप हुनुपर्छ जागिराख्ने र म सक्छु भन्ने इच्छाशक्ति राख्ने र पुरुषले सक्ने मैले किन नसक्ने भन्ने हुन्थ्यो मलाई ।’

    सविताले २०६२ सालेदेखि सामाजिक सेवा र राजनीतिमा सक्रिय भइन् । २०७४ सालमा उपाध्यक्ष निर्वाचित हुनुभन्दा अघि सविता सामाजिक अभियन्ताका रूपमा परिचित थिइन् । समाजमा हुने विभिन्न सामाजिक काममा सविता निकै सक्रियतापूर्वक सहभागी हुन्थिन् । उपाध्यक्ष भएपछि इमानदारीपूर्वक सामाजिक न्याय, जनताको आधारभूत आवश्यकता र परिवर्तनका लागि जनमुखी कार्य गरेपछि दोस्रो कार्यकालका लागि पनि सविताले मतदाताको मन जितिन् ।

    दोस्रो कार्यकालको जिम्मेवारी सम्हालिरहेकी सविताले महिला सशक्तीकरण, रोजगारी, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राख्दै आएकी छन् । ‘समृद्ध र समुन्नत थुलुङ दुधकोशी गाउँपालिका’ निर्माणमा सविताले निरन्तर योगदान दिएकी छन् ।

    सामाजिक काममा सक्रिय भएका कारण उनलाई टिकट पाउन त्यति गाह्रो भएन । टिकटसँगै चुनाव जित्न पनि सवितालाई खासै कठिन भएन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारी बनेकी सविताले नेकपा माओवादी केन्द्रकी उम्मेदवार मेनुका पुरीलाई ३ सय ११ मतले पराजित गरिन् ।

    सविताले २ हजार ५ सय ८० मत पाउँदा मेनुकाले २ हजार २ सय ६९ मत पाइन् । उपाध्यक्षको कार्यकाल सकिनै लाग्दा सविताले पार्टी परिवर्तन गरिन् । उनी २०७९ को स्थानीय तहको निर्वाचनको मुखमा कांग्रेस छाडेर माओवादीमा प्रवेश गरिन् ।

    माओवादीबाट पनि उपाध्यक्षमा टिकट पाइन् । र त्यहाँबाट पनि निर्वाचन जित्न सफल भइन् । २०७९ को निर्वाचनमा सविताले नेपाली कांग्रेसबाट उम्मेदवारी बनेकी एकाकुमार कार्कीलाई करिब ३ सय मतान्तरले पराजित दोस्रो पटक उपाध्यक्ष निर्वाचित भइन् । सविताले ३ हजार ८ सय र कार्कीले ३ हजार ५ सय २३ मत ल्याइन् ।

    जनप्रतिनिधि भएपछि मात्रै सामाजिक क्षेत्रमा काम गर्न सकिन्छ भन्ने चेतले जनप्रतिनिधि बन्ने इच्छा जागेको सविता सुनाउँछिन् । ‘जनप्रतिनिधि भइसकेपछि मात्रै हामीले सोचेको सामाजिक परिवर्तन, भौतिक संरचनाको विकास र सामाजिक न्याय दिन सकिन्छ भन्ने चेत थियो । त्यसैले नै म जनप्रतिनिधि हुन्छु भन्ने भयो,’ उनी भन्छिन् ।

    निर्वाचनका समयमा ठूला सपना नदेखाइ सामान्य वाचा गरेको र सफल पनि भएको सविता बताउँछिन् । ‘निर्वाचनका समयमा सामान्य रूपमा म तपाईँहरूको काम गर्छु । जनताका काम गर्छु ।

    इमान्दारिकताका साथ, निष्पक्ष गर्छु । विशेष गरी महिलाको क्षेत्रमा बुझेको छु । त्यसमा अलि बढी काम गर्छु,’ उनले भनिन्, ‘गाउँपालिकाको चौतर्फी विकासका लागि सधै तयार हुन्छ भनेर भने । त्यसपछि मत प्राप्त भयो र सफल पनि भइयो ।’

    निर्वाचनअघिको वाचाअनुसार अहिले पनि काम गरिरहेको सुविता बताउँछिन् । बोलेको काम गरेकी कारण दोस्रो कार्यकालका लागि निर्वाचित भएको उनी सुनाउँछिन् । ‘हाम्रो उपाध्यक्ष अहिलेसम्म इमान्दारिताका साथ काम गरिराखेको छ । जनताको माझमा छ । ७/८ वर्ष कहीँ गएको छैन । नागरिकलाई पहिलो केन्द्रमा राखेर काम गरिराखेको छ । सकेसम्म आफ्नोभन्दा नागरिकलाई पहिलो प्राथमिकता दिएको छ भन्ने विश्वास उहाँहरूलाई छ । त्यहीँ विश्वासले म दोस्रो पटक उपाध्यक्षमा निर्वाचित भएको हुँ,’ उनी भन्छिन् ।

    समाजमा अझै पनि महिलाले गर्न सक्दैन भन्ने भाष्य कायम रहेको सविताको अनुभव छ । उनी भन्छिन्, ‘यो महिला हो । यसले गर्न सक्छ कि सक्दैन भनेर विश्वास लिने अवस्था हाम्रो समाजमा छैन । त्यहीँ समाजबाट हुर्किएको म । त्यहाँमा सेट भएको दिमाग अझै पनि हटेको छैन ।’

    दुईपटक उपाध्यक्ष बनिसकेकी सवितालाई एक पटक अध्यक्ष बन्ने इच्छा छ । त्यो मात्रै होइन, उनी अन्य महिलालाई पनि नेतृत्वमा ल्याउने दिशामा केन्द्रित देखिन्छिन् । एक पटक अध्यक्ष बनेर गाउँपालिकाको हितमा काम गर्ने योजना रहेको सविता बताउँछिन् । योसँगै २÷३ वटा वडामा महिला अध्यक्ष निर्वाचित गराउने लक्ष्य पनि सविताको छ । ‘नेतृत्वमा महिला भएन भने संविधानले जतिसुकै अधिकार दिए पनि व्यवस्थित रूपमा लागु हुँदैन । मलाई राम्रै अनुभूति छ त्यसैले,’ उनले भनिन् ।

    महिलाहरू परिवर्तन भएको देख्न चाहेको सविता बताउँछिन् । उनी भन्छिन्, ‘हिजोभन्दा आज र आजभन्दा भोलि फरक हुन चाहन्छु । समयसँगै परिवर्तन हुन चाहन्छु र सँगसँगै अलि बढी महिलाहरू परिवर्तन भएको देख्न चाहन्छु ।’

    आफ्नो अभियानमा गाउँपालिकालाई मातृ शिशु मृत्युदर शून्य बनाएको सविता बताउँछिन् । ‘हामी आउनुभन्दा अघि आमा र शिशुको मृत्युदर बढी भयो । अहिले हामीले शून्य बनाएका छौँ । स्वास्थ्य स्वयवसेविकालाई बढी भन्दा बढी परिचालन गरेर, प्रोत्साहन गरेर हरेक सुत्केरीको घरघर पुग्नुभयो । सुत्केरी हुनुभन्दा पहिलो गर्ने चेकजाँच गर्नुभयो र मातृ शिशु मृत्युदर शून्यमा बनायौँ,’ उनी भन्छिन् ।

    सविता संयोजक रहेको न्यायिक समितिले शान्ति र सभ्य समाज निर्माण गर्ने अभियान चलायो । जसले न्यायिक समितिमा मुद्दा कम आउन थालेको सविता सुनाउँछिन् । उृनी भन्छिन्, ‘न्यायिक समितिले अभियान चलाउनुअघि न्यायिक समितिमा मुद्दा आउँथ्यो । त्यो अभियान चलाएपछि नागरिकमा आएको चेतना र मेलमिलापकर्ताका सक्षमताका कारण मुद्दा एकदमै कम आउन थालेको छ ।’

    उपभोक्ता समितिको अध्यक्षले बढायो आत्मविश्वास

    कुरा २०७०/७१ तिरको हो । तत्कालीन जुबु गाविसको वडा नम्बर ५ मा एउटा बाटोको ट्रयाक खोल्न १७ लाख ७५ हजार रुपैयाँ बजेट प्राप्त भयो । उक्त काम गर्न उपभोक्ता समिति बनाउनुपर्थ्यो । सोहीअनुसार उपभोक्ता समिति गठन गर्ने प्रक्रिया सुरु भयो । आर्थिक वर्षको अन्त्यतिरको समय थियो । तर, सुरु भएको ३-४ दिनसम्म पनि समिति गठन हुन सकेन । धेरै आकांक्षी भएपछि नेतृत्व चुनिन सकेन । त्यसपछि सोही ठाउँकी सविता राई सहभागी भइन् ।

    सानैदेखि लिडरसिप गर्नुपर्छ भन्ने स्वभावकी सवितासहितका महिलाले ‘तपाईँहरू सक्नुहुन्न भने हामी गर्छौँ’ भनेर प्रस्ताव गरे । सुरुमा त पुरुषहरूले विश्वास गर्न सकेनन् । केही समयपछि हुन्छ भनेपछि महिलाहरू तयारीमा जुटे । सोहीअनुसार महिला कै नेतृत्वमा समिति बनाउने वर्कआउट भयो । सहमतिको प्रयास भइराख्दा पुनः महिलामा पनि अर्को समूह निर्वाचन लड्न आइपुग्यो ।

    ‘हामीले यो मान्छे यो ठाउँमा बस्ने भनेर कुरा गर्दै थियौं । त्यतिबेलासम्म पुरुषहरूले अर्को महिलालाई उठाउन भ्याइसक्नुभएछ,’ सविता सम्झिन्छिन् । त्यसपछि सहमतिको वातावरण बनेन । सहमति नभएपछि निर्वाचन भयो । सविता दोब्बर बढी मतले अध्यक्षमा निर्वाचित भइन् । ‘त्यतिबेला निकै चुनौती थियो । बाटो घरमा जानुपर्ने तर, आफ्नो जग्गा काट्न नपाइने अवस्था थियो । त्यस्तो जोखिममा असारसम्म मकैबारी फाडेर भएपनि काम गर्‍यौं,’ उनी भन्छिन्, ‘त्यतिखेरदेखि मलाई अझ हिम्मत बढ्यो । मैले गर्न सक्ने रैछु ।’

    सानैदेखि लिडरसिप क्षमता भएकी सवितामा त्यसपछि झनै आत्मविश्वास बढ्यो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा टिकट पाउन र चुनाव जित्न सहज भयो । ‘त्यसपछि म नागरिकको नजरमा पनि पर्न थाले । नागरिकले सहयोग गर्नुभयो । यसले गर्न सक्छ भन्ने भयो । अनि टिकट पाउन र जित्न पनि सजिलो भयो,’ उनी भन्छिन् ।

    (नेपाली महिला जनप्रतिनिधिहरूको सुकर्मलाई सञ्चार गर्ने अभियान शि लिड्स आइकन दोस्रो संस्करणको ३१ प्रेरणादायी महिला जनप्रतिनिधि रूपमा उनी छनोट भएकी छन्।)

  • रविलाई ‘ब्याक टु ब्याक’ भेटेका ज्ञानेन्द्र शाही भन्छन्- उहाँलाई फसाइएकै हो

    रविलाई ‘ब्याक टु ब्याक’ भेटेका ज्ञानेन्द्र शाही भन्छन्- उहाँलाई फसाइएकै हो

    काठमाडौं । फरक पार्टीको भए पनि रास्वपा सभापति रवि लामिछानेप्रति सदाशयता राख्ने एक नेता हुन् ज्ञानेन्द्र शाही । राप्रपाका प्रवक्ता शाहीले जेनजी आन्दोलनपछि नै कारागारमा गएर दुई पटक उनलाई भेटेका छन् ।

    रविसँग आफ्नो व्यक्तिगत सम्बन्ध रहेको त्यही आधारमा भेटेको उनको भनाइ छ । विगतको सरकारले रविप्रति राजनीतिक पूर्वाग्रह साँधेको भन्दै उनले अहिलेको सरकारले न्याय दिनुपर्ने माग गरे ।

    शाहीसँग गरिएको संक्षिप्त सवाल-जवाफः

    तपाईँले रविलाई कारागारमा गएर भेट्नुभएको कहिले हो ?

    मैले जेनजी आन्दोलनपछि मात्रै दुई पटक भेटेँ । आन्दोलनको ५-६ दिनपछि पहिलो चोटि भेटेर २-३ घण्टा कुराकानी भएको थियो । अस्ति एक हप्ता अगाडि फेरि भेटेँ ।

    रवि गृहमन्त्री हुँदा त उनको निकै आलोचना गर्नुहुन्थ्यो । अहिले सहानुभूति बटुल्नाका लागि भेट्नुभएको हो ?

    म कहिले पनि उनको आलोचक थिइन । गृहमन्त्री हुँदा दुई-चारजना आतंकवादी लाई नपक्रेको भनेर अलिकति असन्तुष्टि पोखेको हो । व्यक्तिगतरुपमा हामीबीच सँधै राम्रो सम्बन्ध छ ।

    भेटमा के के कुराकानीहरू भए ?

    पार्टीगतभन्दा भन्दा व्यक्तिगत तवरले भेटेको हो । अन्तरंग कुराकानीहरू भए ।

    राजनीतिक कुराकानी पनि त भयो होला नि ?

    पक्कै भयो । अब यसरी जानुपर्छ भन्ने कुराहरू भए ।

    उहाँको मनस्थिति के पाउनुभएको छ ?

    उहाँ आत्मविश्वासी नै हुनुहुन्छ । नर्मल हुनुहुन्छ ।

    अहिलेको सरकारप्रति कत्तिको आशावादी देखिनुहुन्छ ?

    त्यति आशावादी देखिनुहुन्न ।

    उहाँमाथि अन्याय नै भएको हो जस्तो लाग्छ ?

    दोषी-निर्दोषी अदालतले फैसला गर्ला । तर अहिले थुनेर नै अनुसन्धान गर्नुपर्ने आवश्यकता थिएन भन्ने मेरो धारणा हो ।

    उनीहरूले के गरिरहेका छन् दैव जानुन् । तर, राजनीतिक मुद्दा बनाइरहेका छन् । उहाँलाई फसाइएकै हो जस्तो लाग्छ मलाई चाहिँ ।

    अदालतले दिएको आदेशमा सरकारले त के गर्न सक्ला र ?

    अहिलेको सरकारले अरू केही नगरे पनि मुद्दाको छिटो फैसला गर्न लगाउन त सक्छ नि त । फैसला यो गर भनेर आदेश दिन पो नसक्ला । छिटो टुङ्ग्याऊ भनेर निर्देशन दिन नमिल्ने हुन्छ र ?

  • प्रभु बैंकका सीईओसहित चार जनाको अनुसन्धान म्याद दोस्रो पटक २ दिन थप

    प्रभु बैंकका सीईओसहित चार जनाको अनुसन्धान म्याद दोस्रो पटक २ दिन थप

    काठमाडौं । प्रभु बैंकका सीईओ अशोक शेरचनसहित चार जनामाथि दर्ता भएको बैंकिङ्ग कसूर मुद्दामा अनुसन्धानका लागि अदालतले दोस्रो पटक म्याद थप गरेको छ ।

    उच्च अदालत पाटनका न्यायाधीश सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको को वाणिज्य इजलासले शुक्रबार २ दिन म्याद थप गर्ने निर्णय गरेको हो ।

    मुद्दामा प्रभु बैंकका सीईओ अशोक शेरचन, डिप्यूटी सीईओ मणिराज पोखरेल, सीसीओ रिवाश श्रेष्ठ, राजेन्द्र शाक्य समेतका भूमिकाबारे अनुसन्धान भइरहेको छ । उच्च अदालत पाटनको प्रशासन शाखाले म्याद थपबारे जानकारी दिएको हो ।

  • पुजाको मेहेन्दीमा हट बनेर पुगिन् एलिजा, पोस्ट गरिन् एआईबाट सिर्जित कविता

    पुजाको मेहेन्दीमा हट बनेर पुगिन् एलिजा, पोस्ट गरिन् एआईबाट सिर्जित कविता

    काठमाडौं । भोली विवाहबन्धनमा बाँधिन लागेकी नायिका पूजा शर्माले मेहेन्दी लगाएकी छन् । मेहेन्दी समारोहमा उनका हुनेवाला श्रीमान् युद्ध बानियाँ पनि सहभागी भए ।

    पूजा र युद्धकै लगानी रहेको झम्सिखेलस्थित ट्याग रेस्टुरेन्टमा मेहन्दी कार्यक्रम गरिएको हो । कार्यक्रममा पूजाका परिवार र आफन्तका साथै निकट महिला कलाकारहरूको उपस्थिति थियो । दीपाश्री निरौला, निरुता सिंह, रेजिना उप्रेतीदेखि एलिजा गौतमसम्म मेहेन्दीमा पूजालाई साथ दिन पुगे ।

    पत्रकार ऋषि धमलाकी पत्नी एलिजा निकै हट बनेर गएकी थिइन् । उनले सामाजिक सञ्जालमा तस्बिरहरू राख्दै कवितात्मक शैलीमा पूजाप्रति प्रेम दर्शाएकी छन् ।

    एलिजाको कविता यस्तो छ:

    प्रिय पूजा
    तिम्रो हातको मेहन्दीले
    यति मीठो कथा बोलेको छ,
    मानौँ रंगहरूभित्रै
    तिम्रो मुहारको मुस्कान बसिदिएको हो।

    हरियो–गुलाबी छायामा
    तिम्रो नामको सुवास मिसिएको छ,
    र त्यो नाजुक डिजाइनले
    तिम्रो सौन्दर्यको भाषा कविता बनेर बगिरहेको छ।
    र हाम्रो मित्रता
    मेहन्दीझैँ गहिरो, रङझैँ टिकाऊ,
    अनुभूति झैँ कहिल्यै नफिको।

    हामीले विभिन्न एआई डिटेक्टरहरुमा परीक्षण गर्दा एलिजाले हालेको यो कविता भने एआईबाट सिर्जित भएको पाइयो ।

  • विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध

    विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध

    काठमाडौं । हालै आएको विनाशकारी मौसमी प्रकोपका कारण श्रीलङ्का भरि करिब ८५ प्रतिशत विद्युत आपूर्ति बन्द भएको श्रीलङ्का सिलोन विद्युत बोर्ड (सिइबी) ले जनाएको छ ।

    सिइबीका उप–महाप्रबन्धक नोएल प्रियन्थाका अनुसार प्राकृतिक विपत्तिबाट सिर्जित क्षतिका कारण देशका झन्डै ७० लाख विद्युत उपभोक्तामध्ये ३९ लाखभन्दा बढीको सेवामा अवरोध आएको हो ।

    उनले अधिकांश विद्युत जडान पुनःस्थापित भइसकेको र बाँकी जडानलाई छिट्टै सञ्चालनमा ल्याउने काम भइरहेको जानकारी दिए ।

    सिइबीका अनुसार आपतकालीन अवस्थाका क्रममा १६ हजार ७७१ ट्रान्सफर्मर सेवा बाहिरिएका थिए । त्यसमध्ये १४ हजार ५४९ ट्रान्सफर्मर मर्मत तथा पुनस्थापना भइसकेको र बाँकी उपकरणलाई यथाशीघ्र सञ्चालनमा ल्याइने तयारी भइरहेको सिइबीले जनाएको छ ।

  • २० लाख ३४ हजार रुपैयाँ बराबरको मटर बरामद, पसल सञ्चालक पक्राउ

    २० लाख ३४ हजार रुपैयाँ बराबरको मटर बरामद, पसल सञ्चालक पक्राउ

    दाङ । बाँके प्रहरीले भन्सारछली गरी ल्याइएको करिब ३४ हजार किलो केराउ (मटर) नेपालगन्ज बाट बरामद गरेको छ ।

    गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।

    उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा बुझाएको छ ।

  • आगामी निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न राजनीतिक राजनीतिक दललाई आयोगको २० बुँदे निर्देशन

    आगामी निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न राजनीतिक राजनीतिक दललाई आयोगको २० बुँदे निर्देशन

    काठमाडौं । आगामी राष्ट्रिय सभा सदस्य निर्वाचन र प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आयोगले दर्ता भएका राजनीतिक दललाई समावेशिता, सुशासन र आचारसंहिताको कडाइ सम्बन्धी २० बुँदे निर्देशन जारी गरेको छ ।

    राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम जारी गरिएको निर्देशनमा महिला प्रतिनिधित्व, समावेशी सहभागिता, सामाजिक मर्यादा र निर्वाचन नैतिकतालाई उच्च प्राथमिकतामा राखिएको छ ।

    आयोगले संविधानको धारा ३८ को उपधारा ४ र धारा ४२ को उपधारा १ मा उल्लेखित लैङ्गिक समानता तथा समावेशी अधिकारको कार्यान्वयनलाई स्मरण गराउँदै प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा कम्तीमा एक–तिहाइ महिला उम्मेदवार अनिवार्य रूपमा मनोनयन गर्न दललाई निर्देशन दिएको छ ।

    त्यसैगरी सन् २०३० सम्म संघीय संसदमा ४० प्रतिशत महिला सहभागिता पुर्‍याउने राष्ट्रिय नीतिलाई कार्यान्वयन गर्न दलले मनोनयन प्रक्रियामै समावेशिता सुनिश्चित गर्नुपर्ने आयोगले राजनीतिक दललाई निर्देशन दिएको छ ।

    निर्वाचन गतिविधिमा टिप्पणी, प्रचार–प्रसार तथा भाषिक व्यवहारका विषयमा समेत आयोगले कडाइ गरेको छ । दलले जात–जाति, समुदाय, धर्म, भाषा, क्षेत्र र संस्कृतिको सम्मान गर्दै समाजमा खलल, वैमनस्यता वा विभेद बढाउने गतिविधि नगर्न भनिएको छ । विशेष गरी सामाजिक सञ्जालमा गलत, भ्रामक, द्वेषपूर्ण सामग्री नफैलिन दलले आफ्ना सदस्यलाई जिम्मेवार बनाउनुपर्ने आयोगले स्मरण गराएको छ ।

    त्यस्तै, आयोगले दलले सञ्चालन गर्ने सभा, सेमिनार, तालिम, अन्तरक्रिया तथा कार्यक्रममा महिला, दलित, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति तथा लक्षित समूहको अनिवार्य र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न निर्देशन दिएको छ । दलले तयार गर्ने तालिम सामग्री, घोषणापत्र र प्रचार सामग्रीलाई पनि समावेशी, लैङ्गिक तथा अपाङ्ग–मैत्री बनाउनुपर्ने भनिएको छ ।

    आयोगले राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग कडाइका साथ रोक्ने र निर्वाचन प्रचारमा महिला तथा अल्पसङ्ख्यक समुदायको सम्मानमा आँच आउने भाषाभन्दा टाढा रहनुपर्नेमा जोड दिएको छ । उम्मेदवार वा समुदायको चरित्रहत्या, धम्की, हतोत्साहनजस्ता कार्यलाई गम्भीर उल्लङ्घन मानिने चेतावनी समेत दिइएको छ ।

    निर्वाचन–केन्द्रित व्यवस्थापनका विषयमा आयोगले दलसँग मतदानस्थल, केन्द्र तथा गणनास्थललाई लैङ्गिक र अपाङ्ग–मैत्री बनाउन सहयोग गर्न आग्रह गरेको छ । साथै, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत पेश गरिने बन्द–सूची सार्वजनिक रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन समेत निर्देशन छ ।

    दलभित्रको अनुशासन र आचारसंहिताको कार्यान्वयनमा पनि आयोग कडा देखिएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५५ र २० अनुसार दलले आफ्ना पदाधिकारी तथा सदस्यले पालना गर्नुपर्ने आचारसंहिता तयार गरी कडाइका साथ लागु गर्नुपर्ने भनिएको छ । उल्लङ्घन गरेमा विधानअनुसार कारबाहीको व्यवस्था अनिवार्य गरिनुपर्ने आयोगको निर्देशन छ ।

    विशेष गरी जातीय, धार्मिक वा साम्प्रदायिक विद्वेष फैलाउने, हिंसा दुरुत्साहन गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेजस्ता कुनै पनि गतिविधि कानून विपरीत हुने स्मरण गराउँदै आयोगले दलले यस्तो कार्य नगर्न र नगराउनु पर्ने जनाएको छ ।

    आयोगले दलले निर्वाचन घोषणापत्र आयोगमा पेश गरी त्यसैका आधारमा प्रचार–प्रसार गर्न पनि निर्देशन दिएको छ । दलले मतदातालाई निर्वाचन, समावेशिता र मतदान विधिबारे पर्याप्त रूपमा सुसूचित गर्नुपर्नेमा समेत आयोगले जोड दिएको छ।

    आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, समावेशी र मर्यादित बनाउन आयोगले जारी गरेको यो निर्देशन राजनीतिक दलका लागि बाध्यात्मक रूपमा दिइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए ।

    उनका अनुसार दलले निर्देशित सबै विषयलाई कडाइका साथ पालना गर्नुपर्ने र उल्लङ्घन भएमा कानूनी कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

  • एलिना चौहानको माग : ‘रत्यौली’को नाममा बुहारीलाई अपमान गर्ने चलन बन्द गरौं

    एलिना चौहानको माग : ‘रत्यौली’को नाममा बुहारीलाई अपमान गर्ने चलन बन्द गरौं

    काठमाडौं । गायिका एलिना चौहानले वैवाहिक समारोहका क्रममा खेलिने मौलिक प्रथा रत्यौलीलाई लिएर आलोचनात्मक टिप्पणी गरेकी छन् । रत्यौलीका नाममा बुहारीलाई अपमान गर्ने चलन बन्द गर्नुपर्ने उनको भनाइ छ ।

    फेसबुकमा स्टाटस लेख्दै एलिनाले परम्पराको आड लिएर कसैलाई ठेस पुर्‍याउनु नहुने समेत बताएकी छन् ।

    उनी लेख्छिन्, ‘रत्यौलीको नाममा बुहारीलाई अपमान गर्ने चलन बन्द गरौँ । संस्कृति भनेको सम्मान हो, अत्याचार होइन । परम्पराको आड लिई कसैलाई ठेस नपुर्‍याऔँ । छोरीबुहारी सबैलाई समान सम्मान दिन सिकौँ। संस्कृति जोगाऔँ तर दुर्व्यवहार बन्द गरौँ ।’

    आफ्नो यो स्टाटसमा कटाक्षयुक्त प्रतिक्रिया लेख्ने एक जनालाई उनले टर्रो जवाफसमेत फर्काएकी छन् । कमेन्ट बक्समा एक फेक आइडीबाट लेखिएको थियो, ‘योबारेमा हामी विष्णे दाइसँग छलफल गर्नेछौं चिन्ता नगर ।’

    त्यसमा जवाफ दिँदै एलिना लेख्छिन्, पहिला अनुहार देखाउन सक्ने बन अनि छलफल गर्लास् ।’

    इस्कोन रविन नामको आइडीबाट छुचो भाषामा कमेन्ट गरिएको छ- तेरो पैलो कि दोस्रो बिहेमा हेल्मेट नलाई बाइकमा हिँड्ने काम त्यो पनि बन्द गर्न पर्थ्यो ।

    त्यसैमा एलिनाले जवाफ दिएकी छन्, ‘पछाडि बस्नेले कहिलेदेखि हेल्मेट लाउने नियम आएछ नेपालमा ? पहिलो बिहे हो त्यो, दोस्रो बिहेमा हेलिकोप्टरमा हेल्मट लगाएर तिमीलाई भिडिओ पठाउँला ।’

  • एनपीएल-२ : प्लेअफमा पुग्न लुम्बिनीलाई १३३ रनको लक्ष्य

    एनपीएल-२ : प्लेअफमा पुग्न लुम्बिनीलाई १३३ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को प्लेअफमा पुग्न लुम्बिनी लायन्सले १३३ रनको लक्ष्य पाएको छ ।

    टीयु क्रिकेट मैदानमा लुम्बिनीवविरुद्ध टस जितेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनायो।

    जनकपुरका लागि संगीत कुरेले सर्वाधिक अविजित ४५ रन बनाए । माज सदाकत ६, असिफ शेख २०, अनिल शाह ७, शुभ कंशाकार ११, सञ्जय कृष्णमूर्ति १४ र कप्तान जान निकोल लोफ्टी इटन ० रनमा आउट भए । मायन यादव २७ रनमा अविजित रहे ।

    बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्ले दुईदुई तथा जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले एकएक विकेट लिए ।

    यो खेलमा जिते निकाले लुम्बिनीले प्लेअफमा प्रवेश गर्नेछ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न जनकपुरले यो खेलमा जित निकाल्नुपर्नेछ ।

  • कोइराला परिवारमा सहमति : मिलेर जाने, मिलाएर लैजाने

    कोइराला परिवारमा सहमति : मिलेर जाने, मिलाएर लैजाने

    काठमाडौं । नेपाली कांग्रेसमा ‘कोइराला परिवार’ को आफ्नै भाष्य छ । कसैले यसलाई भावनात्मक मान्छन् । कसैले तागत मान्छन् । कसैले यसलाई ‘विरासतको राजनीति’मान्छन् र आलोचनात्मक दृष्टिकोण राख्छन् । कोइराला परिवारबारे अनेक धारणा भए पनि कांग्रेसभित्र कोइरालाहरुबीचको एकता वा मतभेदले प्रक्रियादेखि परिणामसम्मलाई असर पार्दछ ।

    १४ औँ महाधिवेशनमा कोइराला परिवारका नेताहरू एक ठाउँ उभिन सकेनन् । डा.शेखर कोइरालाले आफ्नो टिम निर्माणको प्रारम्भिक तयारी भाइ शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमै गरेका थिए । मतदानको दिनसम्म पुग्दा शशांकले शेखरलाई मत माग्ने परिस्थिति बनेन । शशांकले चुपचाप खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिए । शेखरकी बहिनी शशांककी दिदी सुजाता कोइराला उपसभापतिको उम्मेदवार बनिन् ।

    प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेकी सुजाताले दोस्रो चरणमा पनि दाजु शेखरलाई सहयोग गरिनन् । कोइराला परिवारका ३ सक्रिय नेताहरू तीनतिर बाँडिए । परिणाम तीनैजनाका लागि सुखद रहेन । पार्टीमा तीनैजनाको प्रभाव खुम्चियो । कोइराला परिवारको विरासतमा विश्वास गर्नेहरूले कमजोर महसुस गरे । निरन्तर तीन कोइरालाबीच एकताका लागि दबाब दिइरहे ।

    कांग्रेसमा कोइराला परिवारको पक्षमा पनि मत छ, विपक्षमा पनि मत छ । कोइराला परिवारका नेताहरूको राजनीतिलाई विरासतमा आधारित मान्ने पनि छन्, स्वाभाविक मान्ने पनि छन् ।

    कोइराला परिवारका समर्थक र आलोचक दुवैका केही साझा स्वीकारोक्ति पनि छन् । जस्तै: आजपनि कांग्रेसमा कोइराला परिवारको विरासतसँग कार्यकर्ताको मनमात्रै जोडिदैन, परिणाममा प्रभाव पार्नसक्ने मत पनि जोडिन्छ । त्यही मत जोगाउन यतिबेला कोइराला परिवारभित्र एकता भएको छ । विगतमा भएगरेका सबै अभ्यासलाई बिर्सेर अबका दिनमा एउटै दृष्टिकोण बनाउन शेखर, शशांक र सुजाता सहमत भएका छन् ।

    बुढानीलकण्ठको लञ्च : सुजाताको ताली

    कोइराला परिवारभित्र राजनीतिक सम्बन्ध सुधारका लागि पहिलो अग्रसरता उनीहरू स्वयंले लिए । विगतमा पटक पटक संवाद गरे पनि जेनजी आन्दोलनपछि कोइरालाहरूको असमझदारी कमजोर भयो । एकले अर्काको अस्तित्व स्वीकार्ने संकल्प गरे । कात्तिक २३ गतेको दिन बुढानीलकण्ठको एक होटेलमा शेखर, शशांक र सुजाताले सँगै लञ्च गरे । साढे २ घण्टा सँगै रहँदा उनीहरूले पारिवारिक संवादमात्रै गरेनन्, पिता पुर्खाको योगदानको स्मरण पनि गरे ।

    भावनात्मक बनेको त्यस क्षणमा शेखर र शशांकलाई जसरी पनि मिलेर जानुपर्छ भन्नेमा सुजाताले प्रेरित गरिन् । दाजुभाइ गम्भीर भएर आगामी दिनमा राजनीतिक रूपमा अलग नहुने वचन दिए । सुजाताले खुसीले ताली बजाइन् । त्यसयता कोइराला परिवारमा सुदृढ राजनीतिक समझदारी बनेको छ । उनीहरुबीच नियमित संवाद भइरहेको छ । आफू मिल्ने र अरूलाई मिलाउने ‘कमिटमेन्ट’ ले उनीहरू उत्साहित भएका छन् ।

    हामी मिल्छौ, पार्टी मिलाउँछौँ : डा.शेखर कोइराला

    कांग्रेस नेता डा.शेखर कोइराला अघिल्लो महाधिवेशनमा परिवारभित्र के भयो स्मरण गर्नसम्म चाहँदैनन् । ‘हिजो के भयो भन्ने कुरा मैले बिर्सिसकेको छु । अब सिंगो कांग्रेसलाई एकताबद्ध बनाएर लैजाने हो । त्यसका लागि परिवारभित्र एकता नहुने कुरै छैन’, शेखरले नेपाल प्रेससँग भने । उनले आफूलाई भाइ बहिनीको साथ रहेको प्रष्ट पार्दै उनीहरूलाई पनि आफूले साथ दिने बताए ।

    ‘मिल्ने भनेको मेरो लागि मात्रै मिल्ने कुरा होइन । उनीहरूका लागि पनि म छु, मेरा लागि उनीहरू छन् । हामी सबै कांग्रेसका लागि मिलेका छौँ, मिल्छौँ’, शेखरले भने । कांग्रेसभित्र सबैले सम्मानजनक भूमिका पाउने अवस्था सुनिश्चित गर्न र पार्टीलाई एक ढिक्का बनाएर जनतामा लैजान आफूले सधैँ प्रयास गरिरहेको बताए ।

    ‘कांग्रेस कमजोर हुँदा देश नै कमजोर भयो । कांग्रेसलाई सही दिशा दिन कोइराला परिवार मात्रै होइन सिंगो कांग्रेस मिलाउनुपर्नेछ । परिवार र पार्टी दुवै मिलाएर लैजान्छु’, शेखरले भने । उनले पारिवारिक विरासतभन्दा कार्यकर्ताको भरोसा मुख्य हुने भन्दै आफूले पार्टीमा योगदान भएका सबैसँग सहकार्यका लागि संवाद गर्ने बताए ।

    महाधिवेशनमा मिलेरै जान्छौँ : डा.शशांक कोइराला

    कांग्रेस महामन्त्री रहिसकेका डा.शशांक कोइरालाले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत ल्याए । शालीन राजनीतिज्ञको छवि बनाएका उनले दाजुभाइमा अब समस्या नहुने प्रष्ट पारे ।

    ‘कोइराला परिवार एकै हुनुपर्छ भनेर सबैले भन्नुहुन्छ । हामीले पनि महसुस गरेका छौँ । अब हामी मिल्छौँ’, शशांकले नेपाल प्रेससँग भने । उनले पार्टीभित्र कोइराला परिवारको जत्तिकै योगदान भएकाहरू किनारा लाग्दै गएको भन्दै सबैलाई समेट्न पहल लिने बताए । ‘कांग्रेस इतिहास भएको पार्टी हो । यसको इतिहास जति गर्विलो छ भविष्य पनि उत्तिकै आशावादी हुनुपर्छ । त्यसका लागि कोइरालाहरू मात्रै होइन सबै कांग्रेस मिल्नुपर्छ’, उनले भने ।

    पार्टीभित्र एकताको वास्तविक सन्देश दिन जरुरी रहेको भन्दै शशांकले कार्यकर्ताको भावनालाई सम्बोधन गरेर अगाडि बढ्ने बताए । उनले कोइराला परिवारभित्र नियमित संवाद र सहकार्य कायम रहेको भन्दै अबको महाधिवेशनमा आफूहरू दुईतिर नहुने बताए ।

    शुभेच्छुकको चाहना पूरा गर्छौ : सुजाता

    १४ औँ महाधिवेशनमा उपसभापतिमा प्रतिस्पर्धा गरेकी नेतृ सुजाता कोइराला अबको महाधिवेशनमा तीन कोइराला तीनतिर नहुने बताउँछिन् । कांग्रेसभित्र बृहत्तर एकताको खाँचो रहेको भन्दै उनले कोइराला परिवारमा अब कुनै समस्या नरहेको बताइन् ।

    ‘अहिले देशको परिस्थिति गम्भीर बन्दै गएको छ । पार्टीहरुमा पनि समस्या छ । कांग्रेसभित्र सही नेतृत्व आयो भने त्यसले देशलाई पनि निकास दिनसक्छ । त्यसैले कांग्रेसमा एकता कायम गराउन कोइराला परिवार एकैठाउँ उभिन्छ’, सुजाताले नेपाल प्रेससँग भनिन् । उनले नेतृत्वको विषयमा अहिले नै बोल्न हतारो हुने भन्दै मूल कुरा एकता रहेको बताइन् ।

    ‘शेखर र शशांक दुवै नेतृत्वको लागि योग्य हुनुहुन्छ । दुईमध्ये को हुने भन्दापनि सबै जना सँगै हुने सहमति महत्त्वपूर्ण हो’, सुजाताले भनिन् । आफूलाई भेट्न आउने सबैजसो नेता कार्यकर्ताले कोइराला परिवार एकै ठाउँ उभिनुपर्ने सुझाव दिने गरेको भन्दै उनले अबको महाधिवेशनमा शुभेच्छुकको त्यो चाहना पूरा हुने बताइन् ।

    कोइरालाको तागत कति ?

    नेपाली कांग्रेसको स्थापनाकालदेखि नै नेतृत्वमा कोइरालाहरूको विशेष प्रभाव रही आएको छ । यो क्रम सुशील कोइरालाको निधन नहुँदासम्म कायम रह्यो । बिपीको निधनपछि कृष्णप्रसाद भट्टराईले सभापति भएर नेतृत्व गरे पनि महामन्त्रीका रूपमा गिरिजाप्रसाद कोइरालाले कांग्रेसमा विशेष प्रभाव राख्दथे ।

    २०५३ सालमा दशौं महाधिवेशनबाट सभापति भएका कोइराला २०६६ साल चैतमा निधन हुनुअघिसम्म कांग्रेसको केन्द्रमा रहे । कार्यवाहक सभापति हुँदै १२ औँ महाधिवेशनबाट सुशील कोइराला सभापतिमा निर्वाचित भए । २०७२ साल माघ २६ गते कांग्रेसको जिल्ला अधिवेशनकै दिन कोइरालाको निधन भयो । सोही वर्ष फागुनमा १३ औँ भएको महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा शेरबहादुर देउवा उदाए ।

    महामन्त्रीमा शशांक कोइराला निर्वाचित भए । २०७९ मंसिरमा भएको १४ औँ महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गर्दै डा.शेखर कोइराला निकटतम प्रतिस्पर्धी भए । त्यतिबेला कोइराला परिवारभित्र राजनीतिक एकता नभए पनि धनराज गुरुङ, चन्द्र भण्डारी, गगन थापा, डा.मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.रामशरण महत लगायतका प्रभावशाली नेताहरूको साथ शेखरलाई रह्यो । १५ औँ महाधिवेशनको दृश्य स्पष्ट नभइसकेपनि कोइराला परिवारको आन्तरिक एकताले तरंग सिर्जना गर्ने निश्चित छ ।

    कांग्रेसको १४ औँ महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यतर्फ डा.शशांक कोइरालाले सबैभन्दा धेरै मत ल्याएका थिए । १३ औँ महाधिवेशनमा खुल्ला तर्फको सर्वाधिक लोकप्रिय मत डा.शेखर कोइरालाले ल्याएका थिए । १३ औँ महाधिवेशनमै खुल्लातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित हुने एकमात्रै महिला सुजाता कोइराला थिइन् । शीर्ष २५ मा सुजाताबाहेक सबै पुरुष उम्मेदवारले जितेका थिए ।

    विगतको यस तथ्यले कोइरालाहरू कांग्रेसमा लोकप्रिय रहेको देखाउँछ । यद्यपि पारिवारिक एकतामात्रै कोइरालाहरुलाई कांगे्रेसको नेतृत्वमा पुर्याउन काफी छैन । यसका लागि पार्टीभित्रका अन्य समीकरणहरू मिल्नुपर्ने हुन्छ । त्यसप्रति आफूहरू सचेत रहेको डा.शेखर कोइराला बताउँछन् । ‘कोइरालाहरुमात्रै होइन कांग्रेसका सबै पक्षसँग मिल्ने हो । परिणाम ल्याउनका लागि हामीमात्रै मिलेर हुँदैन । त्यसैले पहिले आफूहरू मिल्ने र क्रमशः सबैलाई मिलाउने हाम्रो तयारी छ’, शेखरले भने ।

    कांग्रेसभित्र भावी नेतृत्वका लागि शेखर र शशांकबाहेक कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, पूर्व महामन्त्रीहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कृष्ण सिटौला र युवानेता कल्याण गुरुङले आकांक्षा देखाएका छन् ।

  • राजसंस्थाको पक्षमा खुले गण्डकी कांग्रेस सभापति, प्रजातन्त्रवादी राजा स्वीकार्नुपर्ने मत

    राजसंस्थाको पक्षमा खुले गण्डकी कांग्रेस सभापति, प्रजातन्त्रवादी राजा स्वीकार्नुपर्ने मत

    पोखरा । नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले राजसंस्थाको पक्षमा अभिव्यक्ति दिएका छन् । उनले प्रजातन्त्रवादी राजालाई नेपाली कांग्रेसले स्वीकार गर्नुपर्ने बताए ।

    ‘प्रजातन्त्रवादी राजा आउँदा समस्याको समाधान हुने भए कांग्रेस तयार हुनुपर्छ,’ सभापति शर्माले भने ।

    शुक्रबार प्रदेश पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति शर्माले स्थिरताका लागि प्रजातन्त्रवादी राजाका लागि पनि कांग्रेस तयार हुनुपर्ने बताएका हुन् ।

    ‘प्रजातन्त्रवादी राजा बनेर हाम्रो समस्याको समाधान हुन्छ र अस्थिरता उत्पन्न गर्ने वातावरण समाप्त हुन्छ भने कांग्रेस त्यसमा तयार हुनुपर्छ,’ उनले भने ।

    कांग्रेसले आफ्नो सिद्धान्त बिर्सिएर अरुको सिद्धान्त अँगाल्दा पार्टी कमजोर हुँदै गएको प्रदेश सभापति शर्माको भनाइ थियो । कांग्रेस कमजोर हुँदा देशको अवस्था यस्तो भएको शर्माले टिप्पणी गरे । ‘बिराएको बाटोबाट कांग्रेस फर्किनुपर्छ ।’ उनले भने ।

    प्रदेश सभापति शर्माले कांग्रेस जोगाउन समयमै महाधिवेशन हुनुपर्ने बताए । उनले नयाँ म्यान्डेट लिएर मात्रै कांग्रेस निर्वाचनमा जानुपर्ने उल्लेख गरे ।

  • हेटौँडामा भएको सडक विस्तारमा सर्वोच्चले भन्यो- दुई पक्षीय छलफल नगराई सडक विस्तार नगर्नू

    हेटौँडामा भएको सडक विस्तारमा सर्वोच्चले भन्यो- दुई पक्षीय छलफल नगराई सडक विस्तार नगर्नू

    चितवन । हेटौँडामा भएको सडक विस्तारको क्रममा स्थानीय व्यक्तिले मुआब्जा बिना घर भत्काउन नदिन सर्वोच्च अदालतमा परेको रिटमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिँदै तत्काल सडक विस्तार नगर्न सर्वोच्चले भनेको छ ।

    विन्दवासिनी कंसाकार समेतले मुआब्जा विना सडक विस्तार रोक्न उत्प्रेषणको आदेश माग गरेर दिएर रिटमा आज अल्पकालीन आदेश दिएर आउँदो २६ गते पेशी तोकेर छलफल गर्ने भन्दै तत्काल सडक विस्तारको कार्य रोक्न आदेश दिएको हो ।

    सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले दिएको अन्तरिम आदेशमा रिटमा विपक्षी बनाइएको सडक डिभिजन कार्यालय हेटौँडा मकवानपुर, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका नाममा अन्तरिम आदेश दिइएको हो ।

    आदेशमा भनिएको छ, ‘निवेदकहरुको बसोबास र सम्पत्तिको हकको विषय निवेदनमा उठाइ आएको सोको विषयवस्तुको प्रकृति हेर्दा अन्तरिम आदेश जारी हुने वा नहुने के हो दुवै पक्ष राखी छलफल गरी निष्कर्षमा पुग्नु मनासिब देखिएको छ ।

    आदेशमा पेशीको मिति समेत तोकेर २०८२ मंसिर ५ गतेको सूचना कार्यान्वयन गरी यथास्थितिमा राख्नु राख्न लगाउनु भनिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले मंसिर ५ गते सूचना जारी गरेर सडक विस्तार गर्ने तयारी गरेको थियो । तर, सडक विस्तार गर्दा व्यक्तिगत सम्पत्ति नोक्सान हुने भन्दै घरधनी तथा व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।

    सडक कार्यालयको सूचना भोलिदेखि सडक विस्तार हुन्छ

    यता सडक डिभिजन कार्यालयले भने एकैछिनअघि सूचना जारी गरेर सडक विस्तार हुने जनाएको छ । डिभिजन प्रमुखले आज कार्यालय समय पछि सूचना निकालेर आज कार्यालय समय भित्र सडक विस्तार रोक्न कुनै पनि पत्र नआएकोले सडक विस्तार कार्य भोलिदेखि जारी रहने जनाएको हो ।

    सूचनामा भनिएको छ, ‘२०८२/०८/१९ गतेको कार्यालय समय भित्र कुनै पनि आधिकारिक निकायबाट सडक विस्तार कार्यालयलाई रोक्नु भन्ने जानकारी प्राप्त हुन नआएकोले भोलि मिति २०८२/०८/२० गतेबाट सुरु गर्न लागिएको सडक विस्तार कार्य निरन्तर अघि बढाइने व्यहोरा सम्बन्धित सबै पक्षहरूलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

  • कृष्ण यादव बने कांग्रेसबाट पहिलो, मधेशको छैटौं मुख्यमन्त्री

    कृष्ण यादव बने कांग्रेसबाट पहिलो, मधेशको छैटौं मुख्यमन्त्री

    काठमाडौं । मधेश प्रदेशको मुख्मयन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त भएका छन् ।

  • प्रमुख राजनीतिक दल र सुरक्षा निकायका प्रमुखसहित प्रधानमन्त्री निवासमा चुनावी छलफल

    प्रमुख राजनीतिक दल र सुरक्षा निकायका प्रमुखसहित प्रधानमन्त्री निवासमा चुनावी छलफल

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक सुरु भएको छ। केहीबेरअघिबाट बालुवाटारमा प्रमुख राजनीतिक दल र सुरक्षा निकायका प्रमुखसहित चुनावी छलफल सुरु भएको हो ।

    छलफल निर्वाचन तयारी, सुरक्षा व्यवस्था र वातावरणबारे केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    छलफलमा एमालेबाट महासचिव शंकर पोखरेल र महेश बर्तौला, नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र पुष्पा भुसाल, नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश ज्वाला, रास्वपाबाट शिशिर खनाल र सोविता गौतमलगायत नेता सहभागी छन्।

  • कांग्रेस सुधारका लागि ४० वर्ष मुनिका युवाले तोके ७७ जिल्ला संयोजक (सूचीसहित)

    कांग्रेस सुधारका लागि ४० वर्ष मुनिका युवाले तोके ७७ जिल्ला संयोजक (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेस सुधार अभियान ७७ जिल्लामा संयोजक तोकेको छ। कांग्रेस सुधार अभियान (यू–४०) ले आज सबै जिल्लामा संयोजक तोकेको हो।

    पार्टीमा नयाँ पुस्तालाई जोड्दै जाने अभियानको लक्ष्यसहित अवसरमा न्यायोचित वितरण र युवाको पहुँच सुनिश्चित गर्ने अभियानको लक्ष्य छ।

    पार्टीका हरेक तह ४०, सङ्घ, प्रदेश र स्थानीय तहमा ४० वर्ष मुनिका ४० प्रतिशत प्रतिनिधित्व हुनुपर्ने उनीहरूको माग छ।

    भ्रष्टाचार विरुद्ध खबरदारी गर्दै सुशासन कायम गर्न र उम्मेदवार छनोटमा प्राइमरी इलेक्सनको व्यवस्था समेत माग गरेको छ।

  • सिन्धुलीमा अध्यक्षले नै गरे गाउँपालिका तालाबन्दी, उपाध्यक्ष प्रतिवादमा

    सिन्धुलीमा अध्यक्षले नै गरे गाउँपालिका तालाबन्दी, उपाध्यक्ष प्रतिवादमा

    सिन्धुली । मरिन गाउँपालिका अध्यक्षले नै लेखा शाखामा तालाबन्दी गरेपछि कार्यालयको काम अस्तव्यस्त बनेको छ ।

    अध्यक्ष प्रख्यात मुक्तानले लेखाबाट आफूलाई असहयोग भएको भन्दै ताला लगाएको त्यहाँका कर्मचारीहरुले नेपाल प्रेसलाई बताएका छन् ।

    लेखा शाखाले हरेक काममा बखेडा सिर्जना गरेको भन्दै केही दिनअघि अध्यक्ष मुक्तानले उपाध्यक्ष विमला माझीसँग असन्तुष्टि व्यक्त गरेका थिए । यसबारे प्रतिक्रिया लिनका निम्ति सम्पर्क गर्दा मुक्तानले फोन रिसिभ गरेनन् । उपाध्यक्ष माझीले अध्यक्षको यस्तो कार्यको आफूले प्रतिवाद गरिरहेको बताइन् ।

    गाउँपालिकाका एक कर्मचारीका अनुसार अध्यक्षले नै लेखा शाखामा ताला लगाइदिएपछि कार्यालयका काम ठप्प भएका छन् भने सेवाग्राही प्रभावित भएका छन् । विभिन्न शुल्क तिर्न आउने सेवाग्राहीलाई फर्काउनुपरेको ती कर्मचारीले बताए ।

    अध्यक्ष मुक्तान तत्कालीन माओवादी केन्द्र र हालको नेकपासम्बद्द हुन् । उनी सांसद राजन दाहालका निकटस्थ मानिन्छन् । गत असारमा अध्यक्ष मुक्तानले प्रक्रिया नपुगेको एउटा बिल भुक्तानीका लागि दबाब दिएका थिए । लेखा अधिकृतले उक्त कुराको प्रतिवाद गर्दा आक्रमणको प्रयास भएपछि सिडियो कार्यालयमा हाजिर भएर बसेका थिए ।

    केही दिनपछि ‘अनावश्यक दबाब नदिने’ सहमति भएको थियो । त्यसपछि पछि लेखा अधिकृत काममा फर्किएका थिए । सोही विवाद बढ्दै जाँदा अध्यक्ष मुक्तानले आफैँले लेखा शाखामा तालाबन्दी गरेका हुन् ।

  • राष्ट्रियसभाको उम्मेदवार र बन्दसूचीमा परेको व्यक्ति आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने

    राष्ट्रियसभाको उम्मेदवार र बन्दसूचीमा परेको व्यक्ति आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने

    काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार हुने व्यक्ति र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार हुने व्यक्ति प्रचलित कानून बमोजिम फरक–फरक हुनुपर्ने भएको छ । एकै व्यक्ति दुवै निर्वाचनमा उम्मेदवार बन्न नपाउने निर्वाचन आयोगले जनाएको हो ।

    यस्तै समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधि सभा सदस्यको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाली तर्फको उम्मेदवार हुन नपाउने निर्वाचन आयोगका सचिव महादेव पन्थले जानकारी दिए ।

    उनका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० बमोजिम बन्दसूचीबाट नाम हटेको अवस्थामा बाहेक, उक्त सूचीमा रहेका व्यक्ति प्रत्यक्ष तर्फ उम्मेदवार हुन पाउने छैनन् ।

    यस्तो छ आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन कार्यक्रम

    निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विस्तृत निर्वाचन कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

    तत्कालीन प्रतिनिधि सभा विघटन गरेर गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ का लागि तोकेको प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले विस्तृत निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।

    आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अधिकार प्रयोग गरी निर्वाचन कार्यतालिका निर्धारण गरेको आयोगका सचिव महादेव पन्थले जानकारी दिए ।

    उनका अनुसार आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको कार्यक्रम पनि सार्वजनिक गरेको छ । यो निर्वाचन प्रणाली अन्तर्गतको मतदान पनि २०८२ फागुन २१ गते नै हुने भए पनि यसको पूर्वतयारी र बन्दसूची पेश गर्ने प्रक्रिया निकै लामो र जटिल हुने भएकाले मङ्सिर महिनाबाटै प्रक्रिया सुरु हुने सचिव पन्थले बताए ।

    समानुपातिकमा भाग लिने राजनीतिक दलले २०/२१ गते निवेदन दिइसक्नुपर्ने

    समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले यहीँ मंसिर २० गतेदेखि मङ्सिर २१ गतेसम्म कार्यालय समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ । निवेदन पेश गर्ने दलको नामावली मङ्सिर २४ गते प्रकाशन गरिनेछ ।

    दलले नाम फिर्ता लिन चाहेमा मङ्सिर २५ गतेसम्म फिर्ता लिन सक्नेछन् भने मङ्सिर २६ गते दलको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिनेछ । यस निर्वाचनको सबैभन्दा महत्त्वपूर्ण भाग, उम्मेदवारको बन्दसूची पेश गर्ने कार्य आगामी १३ र १४ गते बिहान १० देखि बेलुका ५ बजेसम्म हुनेछ ।

    दलले पेश गरेको बन्दसूचीमाथि आयोगले पुस १५ देखि २० गतेसम्म छानबिन गर्नेछ । छानबिन पछि बन्दसूची सच्याउनुपर्ने भएमा आयोगले दललाई सूचित गर्नेछ र दलले पुस २१ देखि २७ गतेसम्म संशोधित बन्दसूची पेश गर्नुपर्नेछ ।

    बन्द सूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म निवेदन दिन सक्नेछन् । नाम फिर्ता लिएको जानकारी आयोगले सम्बन्धित दललाई पुस २९ गते दिनेछ । नाम फिर्ता लिएको कारण रिक्त हुन आएको स्थानमा त्यसै समूहको अर्को उम्मेदवारको मनोनयन गरी दलले पुस ३० देखि माघ २ गतेसम्म आयोगमा पेश गर्नुपर्नेछ ।

    उम्मेदवारको बन्दसूची आयोगले आगामी माघ ४ गते सार्वजनिक गर्नेछ । उक्त सूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धमा दाबी विरोध गर्न माघ ५ देखि १० गतेसम्मको समय दिइएको छ । दाबी विरोधमाथि छानबिन गरी माघ ११ देखि १७ गतेसम्म आयोगले निर्णय लिनेछ । बन्दसूचीबाट हटेको नामको सूचना माघ १९ गते प्रकाशन गरिनेछ भने उम्मेदवारको बन्दसूची अन्तिम रूपमा माघ २० गते प्रकाशन गरिनेछ ।

    आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन पेश गर्ने राजनीतिक दलले उम्मेदवारको बन्दसूची अनिवार्य रूपमा तोकिएको मिति भित्र निर्वाचन अधिकृतको कार्यालय कान्तिपथमा पेश गर्नुपर्नेछ । एउटै व्यक्तिको नाम एकभन्दा बढी दलको बन्द सूचीमा राख्न पाइने छैन । साथै, प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिकको बन्द सूचीमा समावेश भएको व्यक्तिको नाम यस पटकको प्रतिनिधि सभाको बन्द सूचीमा समावेश गर्न पाइने छैन ।

    प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम माघ ६ बाट सुरु हुने

    यस्तै प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचन कार्यक्रम आगामी माघ ६ गतेबाट सुरु हुनेछ । मतदान भने समानुपातिक तर्फसँगै फागुन २१ गते नै हुनेछ । प्रत्यक्ष तर्फका उम्मेदवारले माघ ६ गते बिहान १० देखि बेलुका ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ता गर्नुपर्नेछ । त्यसै दिन बेलुका ५ देखि ७ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ ।

    उम्मेदवारको विरोधमा उजुरी दिन माघ ७ गते बिहान १० देखि दिउसो ३ बजेसम्मको समय तोकिएको छ । मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने कार्य माघ ७ गते दिउसो ३ बजेदेखि माघ ८ गते साँझ ५ बजेसम्म चल्नेछ । माघ ८ गते साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

    उम्मेदवारले नाम फिर्ता लिन चाहेमा माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म निवेदन दिन सक्नेछन् । त्यसै दिन दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारलाई माघ ९ गते अपराह्न ४ देखि बेलुका ७ बजेसम्म निर्वाचन चिन्ह प्रदान गरिनेछ । सम्बन्धित मतदान केन्द्रमा आगामी फागुन २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

    प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडि अर्थात् आगामी फागुन १८ गते राति १२ बजेदेखि प्रचारप्रसार निषेध अवधि लागु हुनेछ । निर्वाचन क्षेत्रका सबै केन्द्रमा मतदान सम्पन्न भई मतदान भएका सबै मतपेटिका निर्वाचन अधिकृतबाट प्राप्त गरी सुरक्षित रूपमा भण्डारण भएपछि निर्वाचन अधिकृतले मतगणना कार्य सुरु गर्नेछन् ।

  • क्यानका महानिर्देशक अधिकारीको बयान सकियो, मुद्दा ‘हेर्न नमिल्ने’ मा

    क्यानका महानिर्देशक अधिकारीको बयान सकियो, मुद्दा ‘हेर्न नमिल्ने’ मा

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दा ‘हेर्न नमिल्ने’ मा परेपछि स्थगित भएको छ ।

    विशेष अदालतले आजका लागि तोकेको थुनछेक बहस सकिएको भए पनि अघि बढ्न नसकेपछि आउँदो आइतबारसम्मका लागि स्थगित भएको छ ।

    न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइराला रहेको इजलास नम्बर–२ मा पेशी तोकिएको थियो । भ्रष्टाचारको अभियोग लागेका अधिकारीसँग न्यायाधीशको केही नाता सम्बन्ध वा अरु कुनै कारणले जोडिएको हुनाले मुद्दा ‘हेर्न नमिल्ने’ मा गएपछि स्थगित भएको हो ।

  • कांग्रेस सांसद कृष्णप्रसाद यादवलाई मधेशको मुख्यमन्त्री नियुक्त गर्न सात दलको दाबी

    कांग्रेस सांसद कृष्णप्रसाद यादवलाई मधेशको मुख्यमन्त्री नियुक्त गर्न सात दलको दाबी

    काठमाडौं । नेपाली कांग्रेसलगायतका सात दलले मधेश प्रदेशको मुख्यमन्त्रीका लागि दाबी गरेका छन् ।

    सात दलको बहुमतसहित कांग्रेस सांसद कृष्णप्रसाद यादवलाई मधेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको हो ।

    प्रदेश प्रमुखबाट नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्री दाबी गर्न आह्वान गरिएपछि कांग्रेससहित जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र लोसपा नेपालले ७८ जना प्रदेश सभा सदस्यसहित दाबी पेश गरेका हुन् ।

    कांग्रेसका २२, जसपा नेपालका १८, जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपा नेपालका ८, नेकपा एसका ७ र नाउपाका १ प्रदेश सदस्यको समर्थन र हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि दाबी पेश गरिएको हो ।

     

  • जनकपुरले फेरि कप्तान फेर्‍यो : इटनलाई जिम्मेवारी

    जनकपुरले फेरि कप्तान फेर्‍यो : इटनलाई जिम्मेवारी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफका लागि निर्णायक भिडन्तमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन् । टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।

    जनकपुरले आजको एक महत्वपूर्ण परिवर्तन गर्दै कप्तानको जिम्मेवारी नामिबियाका अलराउन्डर जान लफ्टी इटनलाई दिएको छ ।

    यसअघि कप्तान बनाइएका दक्षिण अफ्रिकाका अलराउन्डर वायन पार्नेललाई प्लेइङ ११ मा नै राखिएन ।

    सिजनबीचमा दोस्रोपटक जनकपुरले कप्तानी परिवर्तन गरेको हो । नियमित कप्तान अनिल साह आउट अफ फर्म भएपछि उनको स्थानमा पार्नेललाई कप्तानी दिइएको थियो ।

    दुई म्याचमा कप्तानी गरेका उनी तेस्रो म्याचमा टिमबाटै बाहिरिएका छन् । पार्नेलको स्थानमा श्रीलंकन ब्याट्सम्यान संगीथ कुर्रेलाई ल्याइएको छ ।

  • प्रगतिशील इन्जिनियरका महासचिव थापाद्वारा एमाले केन्द्रीय सदस्य उम्मेदवार घोषणा

    प्रगतिशील इन्जिनियरका महासचिव थापाद्वारा एमाले केन्द्रीय सदस्य उम्मेदवार घोषणा

    काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा ४० वर्ष भन्दा मुनिका युवाहरूलाई पनि केन्द्रीय कमिटीमा स्थान दिने तयारी गरेपछि एमाले निकट इन्जिनियरहरूको छाता संगठन प्रोग्रेसिभ इन्जिनियर्सका महासचिव राजन थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

    अनेरास्ववियुको राजनीति बाट पेशागत राजनीतिमा आएका इन्जिनियर थापा २३ वर्ष देखि एमाले निकट विभिन्न जनवर्गीय संगठनमा आबद्ध भएर अहिले पिनका महासचिव रहेका छन् ।

    जेन्जी आन्दोलन पछि नेकपा निकट प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल मार्फत पार्टी कार्यालय सरसफाइको सुरुवातको नेतृत्व तथा पार्टी कार्यालय तथा नेताका निजी आवासको क्षतिको मूल्याङ्कनको काममा नेतृत्वदायी भूमिकामा आफू लागेको थापाले बताए ।

    पार्टीले ४० वर्ष मुनीका युवाहरूलाई पनि केन्द्रीय कमिटीमा समेट्न लागेको छ, हाम्रो संगठनबाट मलाई केन्द्रीय सदस्यमा साथीहरूले अघि सार्नु भएको छ थापाले भने हाम्रो कामको मूल्याङ्कन पार्टीले अवश्य पनि गर्ने छ ।

    २०५९ मा सिन्धुपाल्चोक चौताराको कृष्ण रत्न मा वि मा अनेरास्ववियु प्रारम्भिक कमिटी सचिव बाट राजनीतिक जीवन सुरु गरेका थापाले पुल्चोक क्याम्पसको क्याम्पस कमिटी अध्यक्ष हुँदै वि स २०६८मा अनेरास्ववियु केन्द्रीय विभागीय सचिव भएका थिए ।

    त्यस पश्चात् अनेरास्ववियु को राजनीति बाट बिदा भएर २०७० सालमा नेपाको केन्द्रीय सदस्य ,पिनको विभिन्न कमिटीमा रहँदै हाल पिनका महासचिव छन् ।