Tag: सेयर

  • बलेफी हाइड्रोले आयोजना प्रभावितलाई सेयर जारी गर्ने

    बलेफी हाइड्रोले आयोजना प्रभावितलाई सेयर जारी गर्ने

    काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले यही माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)को बिक्री खुला गर्ने लागेको हो ।

    निष्काशन गरिने सेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख ९६ हजार ७८२ कित्ता सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नं २, ३ र ४ का बासिन्दाका लागि र आयोजनाको प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु जुगल–५ र ७ का बासिन्दा, बलेफी गाउँपालिका १, ३, ६ र ७ तथा सुनकोसी गाउँपालिका–७ का बासिन्दाका लागि बाँकी रहेको ४० प्रतिशत अर्थात् सात लाख ३१ हजार १८८ कित्ता सेयर निष्काशन बिक्री खुला गरिने भएको छ ।

    कम्पनीले सार्वजनिक गरेको अह्वान पत्रानुसार प्रभावित स्थानीयवासीले यही माघ २७ देखि छिटोमा आगामी फागुन १२ सम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे फागुन २७ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

    कम्पनीले हाल जुगलको बलेफी खोलामा कूल ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत सात अर्ब ६५ करोड हुने जनाएको छ । स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

    साथै कुमारी बैंकको जलविरे शाखा, एनसिसी बैंकको ढाँडे शाखा, ग्लोबल आइएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट शेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

    धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्रानपी–आइआर बिबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व वहन गर्ने क्षमतामा औसत जोखिममा रहेको बुझिन्छ ।

  • नेप्सेमा चार कम्पनीको सेयर मूल्य समायोजन

    नेप्सेमा चार कम्पनीको सेयर मूल्य समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बुधबार एनएमबी बैंकको १२ दशमलव ५० प्रतिशत, नेपाल एसबीआई बैंकको तीन दशमलव ५० प्रतिशत, छिमेक लघुवित्तको २७ प्रतिशत र गणपति लघुवित्तको १९ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

    यी चारवटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ बुधबारदेखि बुक क्लोज गरेका छन् । एनएमबी बैंकको सेयर मूल्य समायोजनपछिको भाउ ३३६ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ दशमलव पाँच प्रतिशत बोनस सेयर र करसहित तीन दशमलव तीन प्रतिशत नगद गरी कुल १५ दशमलव आठ प्रतिशत लाभांश वितरण गर्दै छ ।

    नेपाल एसबीआई बैंकको बोनस सेयर समायोजनपछिको भाउ ३४४ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई तीन दशमलव ५० प्रतिशत बोनस सेयर र एक दशमलव ८१ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

    छिमेक लघुवित्तको समायोजनपछिको भाउ नेप्सेले १२ सय ४० रुपैयाँ ०८ पैसा निर्धारण गरेको छ । गत आर्थिक वर्षको नाफाबाट संस्थाले २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित तीन पतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्दैछ ।

    गणपति लघुवित्तको समायोजनपछिको भाउ ११ सय ७४ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ । कम्पनीले गत वर्षको नाफाबाट कम्पनीले १९ प्रतिशत बोनस र कर प्रयोजनार्थ एक प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

  • नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

    नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को ८ प्रतिशत र साना किसान लघुवित्तको २५ प्रतिशत सेयर मूल्य समायोजन गरेको हो ।

    समायोजनपछि एचआईडीसीएलको मूल्य २४८ रूपैयाँ ३३ पैसा कायम भएको छ भने साना किसान लघुवित्तको एक हजार १७६ रूपैयाँ कायम भएको छ ।

    नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यलाई आधार मानेर यी कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो । गत विहीबार एचआईडीसीएलको सेयर प्रतिकित्ता २६८ रूपैयाँ २० पैसा र साना किसानको एक हजार ४७० रूपैयाँमा अन्तिम कारोबार भएको थियो ।

  • प्रचण्डको अभिव्यक्तिले पुँजीबजारमा खैलाबैला, लगानीकर्ता आक्रोशित

    प्रचण्डको अभिव्यक्तिले पुँजीबजारमा खैलाबैला, लगानीकर्ता आक्रोशित

    काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सेयर बजारलाई लिएर दिएको विवादित अभिव्यक्तिले पुँजीबजार तरंगित बनेको छ । सेयर लगानीकर्ताहरूले प्रचण्डको भनाइले बजारलाई नकारात्मक असर गर्नसक्ने भन्दै आपत्ति जनाएका छन् ।

    माओवादी केन्द्रका सात प्रदेशको सम्मेलन काठमाडौंबाट उद्घाटन गर्ने क्रममा शनिबार प्रचण्डले पुँजीबजारको बदख्वाईं गरेका थिए । उनले पुँजीबजारमार्फत संसारभरको धन एकठ्ठा गर्न खोजिएको भन्दै यसविरुद्ध माओवादीले लड्नुपर्ने धारणासमेत राखे ।

    पुँजीबजारलाई साम्राज्यवादको विकसितरूपको संज्ञा दिँदै प्रचण्डले भनेका छन्, ‘नेपाल धितोपत्र बोर्ड, सट्टा बजार, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) ले पैसा यताउता गर्छन् भन्ने हाम्रो बुझाइ छ । तर, त्यति सजिलै हुँदैन । यी साम्राज्यवादका विकसितरूप हुन् । वित्तीय एकाधिकार र पुँजीवादलाई बलियो बनाउने, त्यसलाई अघि बढाउने र नाफा सोहोरेर संसारका केही सीमित पुँजीपतिको हातमा संसारकै धन एकठ्ठा गर्ने र विश्वका ८० प्रतिशत जनतालाई भोको- नांगो राख्ने प्रणाली हो यो,’ प्रचण्डको भनाइ थियो ।

    सेयर बजारविरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि प्रचण्डको सचिवालयले स्पष्टीकरण दिएको छ । प्रचण्ण्डको अभिव्यक्ति सैद्धान्तिक रुपमा सही भएको तर साना लगानीकर्ताका हितका लागि उनी प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

    यतिबला सरकारमा नेकपा माओवादीकै नेता अर्थमन्त्री छन् । त्यसमा पनि आफ्नै विश्वासपात्रका रूपमा रहेका जनार्दन शर्माले अर्थमन्त्रालय हाँकिरहेको बेला प्रचण्डको अभिव्यक्ति आउँदा सेयर लगानीकर्ताहरू झस्किनु स्वाभाविक हो । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो यात्रामा छ । यस्तो बेला बजारलाई उकास्नेभन्दा पनि थप संकटतर्फ धकेल्ने गरी प्रचण्डले बोलेको आरोप लगानीकर्ताहरूले लगाएका छन् ।

    कोभिड १९ पछि सेयर बजार निरन्तररुपमा बढ्दै अधिकतम ३१९७ अंकको विन्दु पुगेको थियो । तर, नियामक निकाय धितोपत्र बोर्डले प्रकाशन गरेको ५१ कम्पनीको सुची र नेपाल राष्ट्र बैंकले सेयर कर्जामा कडाइ गर्दै ४/१२ को क्याप लगाएपछि बजारले वियरिस ट्रेन्डलाई पछ्याइरहेको छ ।

    यसअघि पनि अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका अभिव्यक्तिका कारण बजार ‘पेनिक’ बन्दै आएको थियो । केही लगानीकर्ताले त बजारप्रति नकारात्मक धारणा राख्ने नेतालाई ‘नो भोट’ अभियानसमेत चलाएका छन् । प्रचण्डले उक्त अभियानकै कारण यस्तो अभिव्यक्ति दिएको हुन सक्ने एकथरीको बुझाइ छ ।

    सेयर विश्लेषक रविन्द्र भट्टराई आफ्नो चुनावी लाभलाई हेरेर प्रचण्डले यस्तो अभिव्यक्ति दिएको हुनसक्ने बताउँछन् । तर, यसले ब्याक फायर हुन सक्ने उनको टिप्पणी छ ।

    ‘अहिले बजार घटाउने र पछि बढाएर चुनावमा फाइदा लिने मनसायले अध्यक्ष प्रचण्डबाट यस प्रकारको अभिव्यक्ति आएको हुन सक्छ,’ उनले भने, ‘तर, यस्तो गैह्रजिम्मेवार वक्तव्य आउँदा सेयर बजारमा जोडिएका माओवादीका मतदाता नै असन्तुष्ट बन्न सक्छन् ।’

    लगानीकर्ता राधा पोखरेलले प्रचण्डको अभिव्यक्तिबाट आफू आश्चर्यमा परेको प्रतिक्रिया दिइन् । प्रचण्डसँगको पटक-पटकको भेटका क्रममा उनी पुँजी बजारप्रति कहिले पनि नकारात्मक नपाएको भन्दै पोखरेलले अहिलेको अभिव्यक्ति आफ्नो निम्ति अनपेक्षित रहेको प्रतिक्रिया दिइन् ।

    ४८ लाख लगानीकर्ताको आम्दानीको स्रोत रहेको पुँजी बजारलक्षित टिप्पणीले माओवादीको भोटमा समेत असर गर्ने उनको आँकलन छ ।

    ‘माओवादी, एमाले, कांग्रेस सबै राजनीतिक दलप्रति आस्था राख्ने लगानीकर्ता भएकाले उहाँको यस स्टेटमेन्टले आगामी चुनावमा माओवादीको भोट प्रभावित नहोला भन्न सकिन्न,’ पोखरेलले भनिन् ।

    पोखरेलको जस्तै धारणा छ, अर्का लगानीकर्ता छोटेलाल रोनियारको पनि । राष्ट्रका सम्मानित नेताबाट यस्तो अभिव्यक्ति आउनु गलत भएको र यसले प्रचण्डलाई पछुतो हुन सक्ने उनले टिप्पणी गरे ।

    ‘राष्ट्रले सम्मान गर्ने नेताबाट १८ औं शताब्दीसँग दाँजेर यसप्रकारको अभिव्यक्ति आउनु गलत छ,’ उनले भने, ‘कार्ल मार्क्स, लेनिन र माओको पालामा ती देशरुमा पुँजीबजार विकास नै भएको थिएन । अनि उहाँले कसरी त्यस्तो भन्न सक्नुहुन्छ ?’

    कम्युनिष्ट शासन भएको चीनजस्तो मुलुकमा समेत पुँजीबजारको विकास भएको भन्दै उनले ४८ लाख लगानीकर्ताको भावनामाथि ठेस पुग्ने गरी दाहालको अभिव्यक्ति आएको बताए ।

    अर्का लगानीकर्ता तिलक कोइरालाले माओवादीकै अर्थमन्त्री भएको समयमा प्रचण्डको यस्तो धारणा आउनु सेयरबजारको विकासको लागि बाधक हुने टिप्पणी गरे । बजार घट्नु-बढ्नु स्वभाविक भए पनि बजारको दिगो विकास र विस्तारका लागि नियामक तथा सरकारले नीति निर्माण गर्नुपर्ने उनको भनाइ छ । तीन वर्ष अगाडि पुँजी बजार सुधारका लागि आफूहरूले दिएको सुझावका बाँकी कामहरू तुरुन्त गर्नुपर्नेमा उनले अर्थमन्त्री र सरकारको ध्यानाकर्षण गराए ।

    यसअघि पनि अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका अभिव्यक्तिका कारण बजार ‘पेनिक’ बन्दै आएको थियो । केही लगानीकर्ताले त बजारप्रति नकारात्मक धारणा राख्ने नेतालाई ‘नो भोट’ अभियानसमेत चलाएका छन् । प्रचण्डले उक्त अभियानकै कारण यस्तो अभिव्यक्ति दिएको हुन सक्ने एकथरीको बुझाइ छ ।

    ‘मूल्यमा हुने उत्तरचढावको जिम्मा बजारलाई नै दिनुपर्छ । तर नियामक निकायबाट हुने हस्तक्षेप र राजनीतिज्ञबाट आउने अभिव्यक्तिको सिलसिला बन्द गर्नुपर्छ,’ उनले भने ।

    लगानीकर्ता भरत रानाभाट नेपालका नेताहरूले सेयर बजार नबुझेकाले सतही कुरा गर्ने भन्दै लगानीकर्ताहरू त्यसको पछाडि लाग्न नहुने बताउँछन् । ठूला लगानीकर्ताहरू अरु व्यवसायमा संलग्न रहने र आम्दानी गरेर लगानी गर्ने भएकाले बजारमा एक्टिभ रहने भनेकै साना लगानीकर्ता भएको उनको बुझाइ छ ।

    ‘नीति निर्माताहरूले सेयर बजारप्रति आफ्नो धारणा व्यक्त गर्नेभन्दा पनि नीति बनाएर कार्यान्वयन गर्नुपर्छ,’ उनले भने ।

    प्रचण्डको अभिव्यक्तिका कारण पछिल्लो दुई दिनमा साना लगानीकर्ताले पेनिक भएर सेयर बेच्दा ठुला लगानीकर्तालाई फाइदा भएको रानाभाटले बताए ।

    ‘ठूला लगानीकर्ताले यसलाई अवसरका रूपमा लिएर सेयर किनेका छन्,’ उनले भने, ‘त्यसैले यस्ता अभिव्यक्तिले साना लगानीकर्ताको हित कहिले पनि हुँदैन ।’

    सेयर बजारविरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि प्रचण्डको सचिवालयले स्पष्टीकरण दिएको छ । प्रचण्ण्डको अभिव्यक्ति सैद्धान्तिक रुपमा सही भएको तर साना लगानीकर्ताका हितका लागि उनी प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

    अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले वक्तव्य जारी गर्दै भनेका छन्, ‘अध्यक्ष दाहालले मन्तव्यका क्रममा राखेको सैद्धान्तिक विषय एकदम सही छ ।’

  • बैंक खातामा नगद लाभांश पठाउँदा प्रष्ट जानकारी खुलाउन धितोपत्र बोर्डको निर्देशन

    बैंक खातामा नगद लाभांश पठाउँदा प्रष्ट जानकारी खुलाउन धितोपत्र बोर्डको निर्देशन

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयरधनीलाई नगद लाभांश भुक्तानी गर्दा कम्पनीको नाम, आर्थिक वर्ष, दरलगायतका कुरा खुलाएर खातामा पठाउन निर्देशन दिएको छ ।

    बोर्डले सेयरधनीको बैंक खातामा कुन कम्पनीको लाभांश भन्ने कुरा नै नखुलेको गुनासो आएपछि स्पष्ट खुलाएर पठाउन निर्देशन दिएको हो ।

    ‘सूचीकृत कम्पनीले आफ्ना सेयरधनीहरूलाई प्रदान गरेको नगद लाभांश सेयरधनीको बैंक खातामा आफैँ जम्मा गर्दा र आफ्नो सेयर रजिष्ट्रारमार्फत बैंक खातामा जम्मा गराउँदा बैंक स्टेटमेन्टमा उक्त सेयर रजिष्ट्रार (क्यापिटल) को नाम मात्र आउने गरेकाले कुन कम्पनीको लाभांश हो, कुन आर्थिक वर्षको कुन दरको लाभांश हो स्पष्ट हुन नसकेको र हिसाब-किताब राख्न सहज नभएको लगायतका व्यहोराको गुनासो बोर्डमा आउने गरेको छ’, बोर्डले भनेको छ ।

    अब कम्पनीहरूको सेयर रजिष्ट्रारमार्फत सेयरधनीको बैंक खातामा नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रुपमा कम्पनीको नाम, आर्थिक वर्ष, लाभांश दर आदि खुल्ने गरी पठाउनुपर्नेछ ।

    साथै, यस कार्यलाई सहजीकरण गर्न नेपाल क्लियरिङ्ग हाउसले हालै तोकिदिएको ढाँचामा (२८ सेप्टेम्बर, २०२१) अनिवार्य रूपमा सूचित गर्नुपर्ने विषयहरू स्पष्टरूपमा खुलाइ पठाउने व्यवस्था गर्न बोर्डले सम्बन्धित सूचीकृत कम्पनीहरूलाई जानकारी गराएको छ ।

  • सिन्धुपाल्चोकबासीका लागि मध्यभोटेकोशीको सेयर बिक्री पुन: खुला

    सिन्धुपाल्चोकबासीका लागि मध्यभोटेकोशीको सेयर बिक्री पुन: खुला

    काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका वासिन्दाका लागि सेयर बिक्री आजबाट पुन: खुला गरेको छ ।

    भोटेकोशी गाउँपालिका- १ र ५ (साविक लिस्ती गा.वि.स र साविक मार्मिङ गा.वि.स), बाह्रबिसे नगरपालिका- ५ र ६ (साविक गाती गा.वि.स) तथा बाह्रबिसे नगरपालिका वडा नम्बर ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स र साविक मानेश्वरा गा.वि.स) का आयोजनाबाट प्रभावित र सिन्धुपाल्चोक जिल्लाका बासिन्दालाई सेयर विक्री पुन: खोलिएको हो ।

    वैशाख २१ देखि स्थानीय समूहको लागि छुट्याइएको कुल ६० लाख कित्ता साधारण सेयरको बिक्री खुल्ला गरिएको थियो । तर, कोरोनाको दोस्रो लहरबाट असहज परिस्थितिका कारण वैशाख २४ गते स्थगित गरिएको थियो ।

    आजबाट पुन: बिक्री शुरू गरिएकोमा आवेदन दिने मिति छिटोमा साउन १७ र ढिलोमा साउन ३२ गतेसम्मलाई तोकिएको छ । न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

    सिन्धुपाल्चोकमा ३६ वटा र काठमाडौं जिल्लाका ७ वटा बिक्री तथा संकलन केन्द्रबाट आवेदन दिन सकिने आयोजनाले जनाएको छ । यसका अतिरिक्त नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूमार्फत पनि आवेदन बुझाउन सकिने छ । ईसेवा , आईएमई पे को ‘अनलाइन पेमेन्ट गेटवे’ को निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइटबाट पनि आवेदन गर्न सकिने आयोजनाले जनाएको छ ।

    आयोजनाले पहिलो चरणमा कर्मचारी संचयकोषका संचयकर्ता तथा कर्मचारीहरु, सेयरधनी संस्थापक संस्थाका कर्मचारी एवं ऋणदाता संस्था कर्मचारीका लागि सेयर निष्कासन गरी बाँडफाट गरिसकेको छ ।

    यसअघि सिन्धुपाल्चोकका आयोजना प्रभावित तथा स्थानीयबासिन्दाले वैशाख २१ देखि २३ गते सेयरमा आवेदन दिएका आवेदकले यस निष्कासनमा पुन: आवेदन दिनु नपर्ने कम्पनीले जनाएको छ ।

  • टेलिकमको २२ प्रतिशत सरकारी सेयर सर्वसाधारणलाई बिक्री गरिँदै, मूल्य कति ?

    टेलिकमको २२ प्रतिशत सरकारी सेयर सर्वसाधारणलाई बिक्री गरिँदै, मूल्य कति ?

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटको बुँदा नम्बर ४२८ मा नेपाल दूरसञ्चार कम्पनीको २२ प्रतिशत सेयर टेलिकमका प्रयोगकर्तालाई बिक्री गर्ने घोषणा गरेको छ । स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच वृद्धि गर्नका लागि नेपाल सरकारले आफ्नो नाममा रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

    बजेटमा उल्लेख भएअनुसार दूरसञ्चार कम्पनीका मोवाइल, ल्याण्डलाइन र इन्टरनेट प्रयोगकर्ताले उक्त सेयर लिन पाउने छन् ।

    ‘नेपाल दूरसञ्‍चार कम्पनीको स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच विस्तार गर्न कम्पनीका मोवाइल, ल्याण्डलाइन र इन्टरनेट सेवा उपभोग गर्ने प्राकृतिक व्यक्तिलाई कम्पनीको २२ प्रतिशत सेयर विनिवेश गरिनेछ,’ बजेटमा भनिएको गरिएको छ ।

    आगामी वर्षको पुस मसान्तसम्मसम्म टेलिकमको सेवा- सुविधा लिने सेवाग्राहीले सेयर खरिद गर्न पाउने भएका छन् । बजेटमा व्यवस्थाअनुसार टेलिकमले बजारमा सेयर जारी गर्न भने पाउने छैन । सरकारले आफ्नो स्वामित्वमा रहेको २२ प्रतिशत सेयर सर्वसाधारणलाई बेच्न लागेका हो, जसलाई प्राविधिक भाषामा ‘डिसइन्भेस्टमेन्ट’ अर्थात विनिवेश भनिन्छ ।

    सरकारसँग टेलिकमको ९१.५ प्रतिशत सेयर रहेको छ । बाँकी ८.५ प्रतिशत सेयरमध्ये सर्वसाधारणको ४ प्रतिशत, कर्मचारीको ४.४७ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर स्वामित्व रहेको छ । सरकारले विनिवेश गरेपछि सर्वसाधारणको टेलिकममा सेयर स्वामित्व २६ प्रतिशत कायम हुनेछ भने सरकारको सेयर ६९.५ प्रतिशतमा खुम्चिनेछ । विनिवेशसम्वन्धी आवश्यक प्रकृया सरकारले आगामी असोज मसान्तभित्र टुङ्ग्याउने बताएको छ ।

    नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गर्ने वा रणनीतिक साझेदार भित्र्याउने विषयमा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको समयदेखि नै छलफल भइरहेको थियो । रणनीतिक साझेदार भित्र्याउँदा ४५ प्रतिशतभन्दा बढी सेयर दिनुपर्ने तथा नेपालको पुँजी पलायन हुन सक्ने भन्दै बास्कोटा यसको विपक्षमा रहेका थिए । नेपाल टेलिकम नाफामा गएको कम्पनी भएकाले बरु यसको २६ प्रतिशत सेयर सर्वसाधारणमा जारी उक्त रकम टेलिकमको क्षमता बिस्तारमा लगाउनुपर्नेमा उनले जोड दिएका थिए ।

    नेपाल टेलिकमको पुँजी प्रतिकित्ता १०० रुपैयाँका दरले १५ करोड कित्ताको १५ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये नेप्सेमा ९ प्रतिशत अर्थात १ करोड ३५ लाख कित्ता सेयर खरिद-बिक्री गर्न सकिन्छ । त्यसमध्ये ६७ लाख ५० हजार कित्ता सेयर मात्रै नियमितरूपमा कारोबार हुने गरेको छ । सेयर बजारमा टेलिकमको सेयरको आपूर्ति कम रहेकाले यसको मूल्य पनि बढी रहेको छ । अहिले नेप्सेमा यसको प्रतिसेयर मूल्य १२७७ रूपैयाँ रहेको छ ।

    सरकारले विनिवेश गर्ने सेयरको मूल्य निर्धारण भने गर्न बाँकी छ । पछिल्लो बार्षिक प्रतिवेदनुसार टेलिकमको प्रिमियमसहित प्रतिसेयर मूल्य ६६० रुपैया भन्दा बढी रहेको छ । यसअघि टेलिकमले सर्वसाधारणका लागि आइपीओ जारी गर्दा प्रतिकित्ता सेयर ६ रुपैयाँ मूल्य तोकेको थियो । त्यसैले सरकारले पनि ६०० रूपैयाँभन्दा कममा टेलिकमको सेयर बिक्री गर्ने देखिदैन ।

    सरकारको आफूसँग रहेको १३ करोड ७२ लाख ५० हजार कित्तामध्ये २२ प्रतिशतअर्थात ३ करोड १ लाख ९५ हजार कित्ता सेयर बिक्री गर्नेछ । ६ सय मूल्य कायम गरेर सेयर बिक्री गरेमा सर्वसाधारणबाट १८ अर्ब ७१ करोड ७० लाख रूपैयाँ उठ्न सक्छ ।

    नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक सरकारी कम्पनी हो । टेलिकमको १३ औं बार्षिक प्रतिवेदनअनुसार यसको आम्दानीमा भ्वाइसकलको ५२.६९ प्रतिशत हिस्सा र डाटाको ४८.६८ प्रतिशत हिस्सा रहेको छ । गत आर्थिक वर्ष टेलिकमले ९ अर्ब ७५ करोड मुनाफा कमाएको टेलिकमको प्रतिसेयर आम्दानी ६४.९९ प्रतिशत रहेको छ । गत वर्ष टेलिकमले सरकारलाई ४४ अर्ब ९९ करोड रुपैयाँ राजस्व बुझाएको थियो । टेलिकमले गत वर्षको मुनाफाबाट प्रतिकित्ता सेयर ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

  • राजनीति घटनाक्रमको प्रभावमा नेप्से

    राजनीति घटनाक्रमको प्रभावमा नेप्से

    काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचकले एक घण्टाको व्यापारमा तीव्र उत्तरचढाव व्यहोरेको छ ।

    प्रि-ओपन सेसनमा १८ अंकले घटेको नेप्से कारोबार शुरूको १० मिनेटमै ४८ अंकले घट्यो । पुनः सम्हालिदैं उकालो लागेको नेप्से १५ मिनेटमा भने १६ अंकको गिरावटमा ओर्लियो । गत हप्तामात्र करिब २८ सयको विन्दु वरिपरि रहेको नेप्सेमा संसद विघटनपछिको राजनीतिक घटनाक्रमले असर गरेको लगानीकर्ताको भनाइ छ ।

    आधा घण्टाको व्यापारमा झण्डै बजार खुलेकै विन्दुमा पुगेपनि पुन केही समयमा २३ अंकले घट्न पुग्यो । १२ बजेसम्मको कारकोबारमा ११.३५ अंकले घट्दै २७७५.८३ विन्दुमा कारोबार भइरहेको छ । यो समयसम्म ६१ लाख कित्ताको किनबेचमा ३ अर्ब रूपैयाँ बराबरको कारोबार भएको छ ।

  • लकडाउनमा मध्य भोटेकोशीको बलमिच्याइ : सिन्धुबासीलाई लाइन लगाएर आईपीओ भराउँदै

    लकडाउनमा मध्य भोटेकोशीको बलमिच्याइ : सिन्धुबासीलाई लाइन लगाएर आईपीओ भराउँदै

    काठमाडौं । मध्य भोटेकोशी जलविद्युत आयोजनाले निषेधाज्ञाको बेवास्ता गर्दै स्थानीय र आयोजना प्रभावितका लागि साधारण सेयर निष्कासन गरेको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा दैनिक ७ हजारको हाराहारीमा संक्रमित र ३५ जनाभन्दा बढीको मृत्युको तथ्यांक सार्वजनिक भइरहेको छ ।

    कोरोना संक्रमण नियन्त्रण गर्न हालसम्म हाल ४८ भन्दा बढी जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिसकेका छन् । कतिपय जिल्लामा निषेधाज्ञा लागूको तयारी छ ।

    तर, मध्य भोटेकोशी जलविद्युत आयोजना र ग्लोबल आईएमई क्यपिटल लिमिटेडले यो जोखिमलाई पूर्णरूपमा बेवास्ता गरेका छन् ।

    अटेरी आयोजना

    मध्य भोटेकोशी जलविद्युत आयोजनाले स्थानीय र आयोजना प्रभावित बासिन्दाका लागि भन्दै ६० लाख कित्ता साधारण सेयर जारी गरेको छ । आयोजनाले कूल जारी पुँजीको १० प्रतिशत स्थानीय जिल्लाबासीका लागि सेयर निष्कासन गर्नुपर्ने ‘धितोपत्र सम्वन्धी ऐन २०६३’ मा व्यवस्था बमोजिम सिन्धुपाल्चोकबासीका लागि आईपीओ जारी गरेको हो ।

    जसमध्ये मध्यभोटेकोशी आयोजना प्रभावितका सिन्धुपाल्चोक बासिन्दाका लागि ३० प्रतिशत अर्थात १८ लाख कित्ता र बाँकी ४२ लाख कित्ता सेयर सिन्धुपाल्चोक बासिन्दाका लागि निष्कासन गरिएको छ । १०० रूपैयाँप्रति कित्ताका दरले कम्तीमा ५० कित्ता र बढीमा ४०० कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको आयोजनाले जनाएको छ । आयोजना प्रभावित स्थानहरूमा भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविक लिस्ती र मार्मिङ गा.वि.स), बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक घुम्थाङ्क र मानेश्वरा गा.वि.स ) रहेका छन् ।

    वैशाख ५ गते आईपीओ निष्कासनका लागि नियामक धितोपत्र बोर्डबाट अनुमति पाएको आयोजनाले वैशाख २१ गते सेयर निष्कासनको मिति तोकेको थियो । तर , कोभिड १९ को नयाँ भेरियन्ट तिव्ररूपमा फैलिँदै गएको भन्दै सरकारले वैशाख १६ गतेदेखी नै काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा निषेधाज्ञा जारी गर्‍यो ।

    आयोजना प्रभावित र स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन गर्नका लागि तोकिएको मिति निषेधाज्ञाभित्र परेको छ । सेयर निष्कासन तथा कारोवारलाई सरकारले अतिआवश्यक बस्तु तथा सेवाको सूचीभित्र समेत राखेको छैन । तर, आयोजनाले भने बलमिच्याइ गर्दै सेयर जारी गरेको छ ।

    सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषदले गरेको निर्णयनुसार सेयर कारोबारलाई अतिआवश्यक वस्तु तथा सेवाको सूचीमा नराखेकाले मध्य भोटेकोशी जलविद्युत आयोजनाको सेयर निष्कासन मिति स्वतः स्थगित हुने देखिन्छ ।

    आयोजनाले निषेधाज्ञापछि मात्रै सेयर जारी गर्नका लागि अर्को मिति तय गर्नुपर्नेमा जनताको स्वास्थ्यमाथि खेलवाड गरिएको छ । आयोजनाले संक्रमणको जोखिमलाई प्रवाह नगरी सर्वसाधारणलाई लाइन लगाएर सेयर भराइरहेको छ ।

    मध्य भोटेकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटी सिन्धुपाल्चोक धमाधम सेयर बिक्री भइरहेकाले फारम अपुग भएको प्रतिकृया दिन्छन् ।

    ‘जिल्लाबासीहरु लाइन लागेर सेयरको फारम लिइरहेका छन् । फारम अपुग भएकाले हामीले काठमाडौंबाट मगाएका छौ । कोभिडको चिन्ता नगरे हुन्छ सबैले सावधानीका उपाय अपनाएका छन्’, उनको दावी छ ।

    सेयर भर्ने भीडका कारण सिन्धुपाल्चोकमा कोभिडको संक्रमित बढ्न सक्ने जोखिम देखिएको छ । बिक्री प्रवन्धकको जिम्मेवारी पाएको ग्लोबल आईएमई क्यापिटलले भने सिन्धुपाल्चोकका ३७ स्थानमा र काठमाडौं उपत्यकाभित्र ७ अन्य बिक्री प्रवन्धकलाई यसको बिक्री अधिकार दिएको छ ।

    आयोजनासँग असार ५ गतेसम्म आईपीओ जारी गर्न पाउने समय बाँकी छ । धितोपत्र सम्वन्धी ऐनले बोर्डले अनुमति दिएको २ महिनाभित्र निष्कासन गर्नुपर्ने कानूनी व्यवस्था गरेको छ ।

    नियामकको कमजोर भूमिका

    महामारीका कारण देशैभरका अस्पतालमा संक्रमितहरू तीव्ररूपमा बढिरहेको र अस्पतालसमेत नपाउने अवस्था रहेको भन्दै सरकारले आफैं सचेतना अपनाउन नागरिकलाई अपिल गरिसकेको छ । यो जोखिममा भने मध्यभोटे कोशीजलविद्युत आयोजना भने लाइन लगाएर सर्वसाधारणलाई सेयर भर्न लगाउदा समेत नियामक धितोपत्र बोर्ड मुकदर्शक भएर बसेको छ ।

    हामीले यस विषयमा सम्पर्क गर्दा बोर्डका अध्यक्ष र प्रवक्ताबीचमै कुरा बाझिएको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना अनलाइनमार्फत सेयर भर्ने व्यवस्था गरिएको भन्दै आईपी‌ओ जारी हुँदा खासै ठूलो असर नगर्ने बताउँछन् । यसको म्याद जेठ २० गतेसम्म रहेकाले हतार गर्नुपर्ने कारण नरहेको उनको भनाइ छ । ‘अनलाइनमार्फत आईपीओ भर्न पाउने व्यवस्था भएकाले आत्तिनुपर्ने अवस्था छैन फेरि जेठ २० गतेसम्म भर्न पाउने व्यवस्था छ नी’, उनले भने ।

    तर, बोर्डका अध्यक्ष ढुङ्गानाको भनाइ र वास्तविकताबीच भने आकाश-जमिनको फरक पाइन्छ । मेरो सेयर मार्फत स्थानीयबासीका लागि सेयर जारी गर्न सक्ने आफूसँग प्रणाली नै नभएको सीडीएसी एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपाने बताउँछन् ।

    ‘स्थानीय बासिन्दाका लागि सेयर जारी गर्दा सोही स्थानमा बसेको प्रमाण आवश्यक पर्छ त्यससम्वन्धी जानकारी दिने हामीसँग प्रणाली नै छैन्’, उनले भने ‘फेरि स्थानीयलाई सेयर बाँडफाँड गर्दा सम्वन्धित स्थानमा नै जानुपर्ने कानूनी व्यवस्था समेत छ ।’

    कोभिडको समयमा एकातर्फ आयोजना प्रभावित तथा स्थानीयबासिन्दा सेयर भर्ने अवस्था रहेको देखिँदैन भने अर्कोतर्फ सबै सर्वसाधारणको अनलाइनमा पहुँच पुगेको पनि देखिँदैन । त्यस्तै यसले संक्रमणको उच्च जोखिमसमेत बढाएको छ ।

    त्यस्तै स्थानीय बासिन्दालाई आयोजनाले अनलाइनमार्फत नभइ लाइन लगाएर सेयरको आवेदन बिक्री गरिरहेको आयोजनाका सीईओले बताइसकेका छन् ।

    यो विषयलाई लिएर धितोपत्र बोर्डका अध्यक्ष र प्रवक्ता नीरज गिरी बिचमा समेत नै फरक मत पाइन्छ ।

    धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरी कम्पनीले सेयर जारी गर्न हतार गरेको बताउँछन् । ‘अहिले कोभिड संक्रमणबाट सुरक्षित रहनु मूख्य प्राथमिकता हो । नियामकले हरेक ठाउँमा हस्तक्षेप गर्नेभन्दा पनि उहाँहरू नै सचेत भएर सेयर जारी गरेको भए हुने थियो’, उनले भने ।

    आयोजना र बिक्री प्रवन्धकले लापरवाही गरिरहेको भन्दै प्रवक्ता गिरीले भने ‘ अहिलेको परिस्थिति निकै संवेदनशील रहेकाले संक्रमणको अवस्थालाई हेरर असार ५ गते पछी पनि सेयर निष्कासनका लागि म्याद थप गर्न सकिने अवस्था थियो।‘

    आवश्यक परे बन्द गर्ने

    मध्यभोटेकोशी जलविद्युत आयोजनाको सेयर बिक्रीको मुख्य जिम्मेवारी ग्लोबल आईएमई क्यापिटलले पाएको छ । उसले एनआईबीएल, प्रभु क्यापिटल , लक्ष्मी क्यापिटल , सिभिल क्यापिटल , सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल गरी अन्य ६ वटा सहायक बिक्री प्रवन्धकलाई बिक्रीको जिम्मेवारी तोकेको छ । सँगै सिन्धुपाल्चोकका ३७ स्थानमा बिक्रीका लागि केन्द्रहरू तोकिएको छ ।

    आफ्नो वेवसाइटमा अनलाइन प्रणालीको व्यवस्था गरिसकेको ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल बताउँछन् । ४ वर्षअघि नै गरिएको सम्झौता भएकाले भरसक काम सम्पन्न गर्न पाएको भए हुने जस्तो लागेर आयोजनाको अनुमतिमा नै काम अगाडि बढाएको उनी बताउँछन् ।

    तर, धितोपत्र बोर्डले रोक्न आदेश दिएमा काम अगाडी नबढाउने उनको भनाइ छ । ‘धितोपत्र बोर्ड र आयोजनाले केही भनेको छैन त्यस सम्वन्धी आवश्यक निर्देशन आएमा हामी काम रोक्छौं । तपाईंहरूले पनि चासो राख्नु भएकाले म कम्पनीमा पनि छलफल गर्छु’, उनले भने ।

    यता मर्चेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष तथा एनआईबीएल क्यापिटल प्रमुख कार्यकारी अधिकृत समेत रहेका मेघबहादुर थापा अहिलेको अवस्थमा सेयर निष्कासन नगर्दा नै उचित रहेको बताउँछन् । ‘हामीले ग्लोबल आईएमई क्यापिटलसँग कुरा त गरेको हो तर , आयोजनाले नमानेको भन्ने जानकारी पाएका छौं । कोभिडको जोखिम उच्च भएकाले केहि समय पछाडि धकेल्दा नै उचित हुन्छ’, उनले भने ।

    ईसेवा आईपीओमा कसरी जोडियो ?

    मध्य भोटेकोशीको आईपीओमा सिन्धुपाल्चोकबासीले ईसेवाबाट समेत आवेदन दिइरहेका छन् । जबकी ईसेवा एक भुक्तानी सेवा प्रदायक मात्रै हो । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल ईसेवाले आईपीओको आवेदन लिन नमिल्ने बताउँछन् ।

    ‘ईसेवाले भुक्तानी सम्बन्धी काम गर्नका लागि मात्रै इजाजत लिएको हो त्यसैले उसले सेयर सम्बन्धी काम गर्न पाउँदैन,’ कँडेलले बताए । दोस्रो कारोबारको भुक्तानी , मेरो सेयरको नवीकरण र लांभाश भुक्तानी गर्न पाउने भए पनि फारम भराएरै आईवफओको रकम लिन नपाउने कँडेलको भनाइ छ ।

    ईसेवाले भने सिन्धुपाल्चोकका स्थानीय र आयोजना प्रभावित आफ्ना ग्राहकहरुलाई नि:शुल्क सेवा मात्रै दिएको बताउँछ । ईसेवाका चिफ अपरेटिङ अफिसर रोशन लामिछानेले ग्लोबल आईएमई क्यापिटलको अनुरोधमा आफूहरूले सेवा मात्रै दिएको बताए ।

    ‘हामीले यो काम गरे बापत कुनै शुल्क वा लाभ लिएका छैनौं । ग्लोबल आइएमई क्यापिटलले अनुरोध गरेकाले हामीले उसलाई सहयोग र हाम्रा ग्राहकलाई सुविधामात्रै दिएको हो’, उनले भने । ‘वीओ आईडी’र हितग्राही खाता भएका ईसेवाका ग्राहकलाई मात्रै मध्यभोटेकोशी आयोजनाको सेयर भर्न सक्ने व्यवस्था गरेको इसेवाले जनाएको छ । उसले ग्लोबल आईएमई क्यापिटललाई समेत एक्सेस दिएकाले सिन्धुपाच्लोकका स्थानीय बासिन्दा भए/ नभएको भेरिफाइ गर्न मिल्ने गरी आवश्यक कागजपत्र राख्न माग गरेको छ ।

    सर्वसाधारणले ईसेवामार्फत वा अन्य कुनै पनि बैंकमार्फत आफूले आवेदन दिएको सेयरका लागि रकम जम्मा गर्न सक्नेछन् । शंकास्पद र प्रमाणीकरण हुन नसकेका आवेदनहरुलाई रद्ध गरी सोही माध्यम मार्फत रकम फिर्ता गर्ने व्यवस्था गरिएको समेत ईसेवा र बिक्री प्रवन्धक आईएमई क्यापिटलले जनाएको छ ।

    बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले पत्र लेखेरै आफ्नो नगर क्षेत्रमा कोरोना जोखिम बढेको भन्दै यस्तो बेलामा आईपीओ भराउने काम रोक्न आग्रह गरेका थिए । तर, प्रशासन र नगरपालिकाको आग्रहलाई समेत आयोजनाले बेवास्ता गरेको छ ।

    ग्लोबल आईएमई क्यापिटलका अनुसार हालसम्म आयोजना प्रभावितको तर्फबाट ६४ वटा आवेदनमार्फत २० हजार ३०० कित्ताका लागि २० लाख ३० हजार बराबरको आवेदन परेको छ । त्यस्तै सिन्धुपाल्चोक जिल्लाका तर्फबाट ५ सय ३७ वटा आवेदन मार्फत १ लाख ९ हजार ९ सय ८० कित्ताका लागि १ करोड ९ लाख बराबरको आवेदन परेको छ ।

    गैरसिन्धुपाल्चोकबासीले पाउने चिन्ता

    १०२ मेवावाट क्षमता भएको यस परियोजना करिब ६ अर्ब पुँजी भएको कम्पनी हो । ६० लाख कित्ता सर्वसाधारणका लागि जारी गरेपनि निकट भविष्यमा यस कम्पनीले सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ता सर्वसाधारणका लागि आईपीओ जारी बताएको छ । अहिले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर पुँजीमा निकै नै चलखेल भइरहेको छ । ठूलो आयोजना भएकाले यसको सेयर मूल्य उच्च हुने कारोबारीहरू बताउँछन् । त्यसैका लागि अहिले देखि नै धमिलो पानीमा माछा मार्ने काम भइरहेको उनीहरूको आशंका छ ।

    धितोपत्र कारोबार सम्बन्धी ऐनले आयोजना प्रभावित तथा स्थानीय बासिन्दाका लागि सेयर बिक्री गर्दा सम्बन्धित स्थानमा नै बिक्री गर्नुपर्ने व्यवस्था गरेको छ । वास्तविक स्थानीय बासिन्दा र आयोजना प्रभावितहरूले सेयर पाउन् भन्ने उद्देश्यले उक्त व्यवस्था गरिएको हो । तर, कोभिडको समयमा यसरी जथाभावी अनलाइनमार्फत सेयर खरिद विक्री गर्दा वास्तविक सर्वसाधारणले नपाइ अरु व्यक्तिको पहुँचमा सेयर पुग्ने जोखिम समेत बढेको छ ।

    कोभिडको समयमा एकातर्फ आयोजना प्रभावित तथा स्थानीयबासिन्दा सेयर भर्ने अवस्था रहेको देखिँदैन भने अर्कोतर्फ सबै सर्वसाधारणको अनलाइनमा पहुँच पुगेको पनि देखिँदैन । त्यस्तै यसले संक्रमणको उच्च जोखिमसमेत बढाएको छ ।

    प्रशासन र नगरपालिकाको आग्रह बेवास्ता

    सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेल, प्रहरी प्रमुख राजन अधिकारीले पनि आयोजना प्रमुखलाई महामारीको जोखिमका बेला भीडभाड नगराउन आग्रह गरेको थियो ।

    त्यस्तै बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले पत्र लेखेरै आफ्नो नगर क्षेत्रमा कोरोना जोखिम बढेको भन्दै यस्तो बेलामा आईपीओ भराउने काम रोक्न आग्रह गरेका थिए । तर, प्रशासन र नगरपालिकाको आग्रहलाई समेत आयोजनाले बेवास्ता गरेको छ ।

    बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिन भन्छिन्, ‘हामीले आग्रह गरेपनि मध्य भोटेकोशी आयोजनाले टेरेको छैन । जनतालाई ढोका थुनेर राख्ने अिन सेयर बैंकमा गएर सेयर भर्नु भन्ने यो ठीक भएन ।’

    उममेयर सुशीला पाख्रिन

    भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाभित्र पर्ने आयोजनालाई यस्तो बेलामा आईपीओ नभराउन सम्बन्धित निकायले आग्रह गरिएको थियो ।

    भोटेकोशी गाउँपालिकाले आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । सबैभन्दा जोखिममा बैंकका कर्मचारी छन् ।

  • नेप्से १७ अंकले बढ्यो, कारोबार ७ अर्ब ६१ करोड

    नेप्से १७ अंकले बढ्यो, कारोबार ७ अर्ब ६१ करोड

    काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से १७.२० अंकले बढेर २६९१ .५५ अंकको विन्दुमा पुगेको छ ।

    २१६ कम्पनीको १ करोड ३८ २१ हजार ५७३ कित्ता सेयर किनबेचबाट ७ अर्ब ६१ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७८ अंकले बढ्दै ४८०.२ ९ अंकको विन्दुमा पुगेको छ ।

    सबैभन्दा धेरै जीवन बीमातर्फ १९७.९७ अंकले बढेको छ भने लघुवित्त कम्पनी १८८.५६ , निर्जीवन बीमा समूहको सूचाङ्क १६३.७६ अंकले बढ्यो भने होटल तथा पर्यटन समूहमा सबैभन्दा धेरै ७५.१९ अंकको गिरावट आएको छ ।

  • टीएमएसमा समस्या आएपछि कारोबार समय १ घण्टा थप

    टीएमएसमा समस्या आएपछि कारोबार समय १ घण्टा थप

    काठमाडौं । बुधबार दिउँसो नेप्सेको अनलाइन प्रणाली टीएमएसमा समस्या देखिएपछि आज कारोबार समय १ घण्टा थपिएको छ ।

    नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले कारोबार समय ४ बजेसम्म पुर्‍याइएको नेपाल प्रेसलाई बताए । ‘टीएमएसमा प्राविधिक समस्या आएर कारोबार प्रभावित भएकाले हामीले कारोबारको अवधि १ घण्टाका लागि थप गरेका छौ’, उनले भने ।

    नियमित कारोबारको समय ११ देखी ३ बजेसम्म भएपनि आज नेप्सेको अनलाइन प्रणालीमा आएको समस्याका कारण ४ बजेसम्म सेयर कारोबार हुने नेप्सेले जनाएको छ ।

  • नेप्सेलाई निफ्राको जवाफ- ‘बण्ड जारी गर्ने विषय पहिलेदेखिकै रणनीति’

    नेप्सेलाई निफ्राको जवाफ- ‘बण्ड जारी गर्ने विषय पहिलेदेखिकै रणनीति’

    काठमाडौं । नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक (निफ्रा) ले नेपाल स्टक एक्सचेन्जलाई जवाफ फर्काएको छ ।

    नेप्सेले चैत ४ गते निफ्रालाई ३० मिलियन डलर लण्डन स्टक एक्सचेन्जमा जारी गर्ने विषयमा स्पष्टीकरण सोधेको थियो ।

    आइतबार जवाफ दिँदै निफ्राले बण्ड जारी गर्ने विषय आफ्नो रणनीतिको एक हिस्सा भएको बताएको छ । जुन कुरा सेयर निष्कासनका लागि तयार पारेको विवरणमा समेत उल्लेख गरेको बैंकको स्पष्टीकरण छ ।

    आफ्नो सेयर नेप्सेमा सुचीकृत हुनुभन्दा अगाडि नै सम्बन्धित नियमक निकायहरूबाट कानूनी व्यवस्था गरेर स्वीकृतिसमेत लिइसकेको बैंकले बताएको छ । बण्ड जारी गर्नका लागि थप सहमति लिँदै तोकिएको ब्याजदरमा चाँडो सम्बन्धित स्टक एक्सचेन्जमा सूचिकृत गराउनेतर्फ बैंकले आफ्नो कामलाई तीब्ररूपमा अगाडि बढाएको समेत जवाफमा उल्लेख छ ।

    लाभांशको बारेमा बैंकले सेयर जारीकै बेलाको विवरण पत्रमा २०७७/७८ मा ८ प्रतिशत दिनसक्ने अनुमान प्रस्तुत गरिएको निफ्राले लेखको छ ।

    साथै निफ्राले सेयर मूल्य प्रभावित हुने विषयमा बैंक सजग रहेको बताएको छ ।