Tag: सुभाष कर्माचार्य

  • ‘पदाधिकारी संख्या २३ पुर्याएर भए पनि सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ’

    ‘पदाधिकारी संख्या २३ पुर्याएर भए पनि सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ’

    २०३७ सालमा विद्यार्थी राजनीतिबाट एमालेको राजनीतिमा उदाएका नेता हुन्, सुभाष कर्माचार्य । पार्टी भित्र निडर र हक्की स्वभावका नेता कर्माचार्य २०५८ देखि २०६६ सालसम्म एमाले सिन्धुपाल्चोक पार्टी प्रमुख भए । माओवादी युद्धमा एमालेका नेता कार्यकर्ताहरुलाई माओवादीले दुःख दिने क्रम बढेपछि सशक्त प्रतिकारमा समेत उत्रिएका नेता कर्माचार्य २०५६ सालमा सिन्धुपाल्चोक दुईबाट संसदमा निर्वाचित भए । उनै नेता कर्माचार्यले एमालेको दशौं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । प्रस्तुत छ, एमाले महाधिवेशन र उनको उम्मेदवारी घोषणाको सन्दर्भमा गरिएको कुराकानीः

    कतिको लागेको छ महाधिवेशन ?

    स्वभाविक रुपमा यो महाधिवेशन मलाई मात्र लाग्ने कुरा भएन, सबैलाई नै लागेको छ । मुलुको सबैभन्दा ठूलो दललाई महाधिवेशन लागेपछि सबैलाई लाग्नु स्वभाविक पनि हो । त्यहीं पार्टीको एक नेता तथा कार्यकर्ता भएको हिसावले मलाई त झन् महाधिवेशन नलाग्ने कुरै भएन ।

    कम्युनिष्ट आन्दोलनमा लागेका व्यक्तिलाई झनै यो महाधिवेशन लागिरहको छ । हिजो एकता भएर बनेको नेकपा हुँदा हामी एउटा विग्रहबाट गुज्रियौं । त्यसैले पनि अहिलेको महाधिवेशन अघिपछिको महाधिवेशन भन्दा फरक छ ।

    अहिलेको महाधिवेशनले नेकपा एमालेलाई एकतावद्ध गर्न सक्छ कि सक्दैन भन्ने सबैको चासोको विषय पनि बनेको छ । यो सबैको सरोकारको विषय पनि हो । यसलाई सबैले महत्वका साथ हेरिरहेका छन् । स्वभाविक रुपमा यस्तो अवस्थामा मलाई महाधिवेशन नलाग्ने भन्ने त कुरै छैन । एकदमै लागेको छ ।

    विधान अधिवेशन भइसकेकाले यो महाधिवेशनमा नेतृत्व चयनकै सर्वत्र चर्चा छ, नेतृत्वमा सर्वसम्मत होला कि प्रतिस्पर्धा ?

    तपाईंलाई पनि थाहा भएकै कुरा हो । आजको आवश्यकता भनेको सर्वसम्मत हो । किनभने नेकपा एमाले नेकपाकालीन अवस्थामा एकदमै तितो अवस्थाबाट गु्ज्रिएको हो ।

    अहिलेसम्म आइपुग्दा छुट्टा–छुट्टै खालका मनोविज्ञान छन् । एमालेमा पूर्व माओवादीको पंक्ती पनि छ । नेकपा एमालेभित्र पनि फरक–फरक विचारधारा भएका व्यक्ति छन् । त्यसकारण महाधिवेशनले सबै खालका व्यक्तिलाई समेट्नुपर्ने अवस्था अहिलेको महाधिवेशनको काँधमा जिम्मेवारी छ ।

    यसरी भनिरहँदा मैले चुनावबाट भाग्नुपर्छ भन्न खोजेको पनि होइन । तर, अहिलेको अवस्थालाई बझेर नेतृत्व निर्माण हुन्छ भन्ने मलाई विश्वास छ । सबैले आ–आफ्नो ठाउँबाट विवेक र विचार पुर्याएर नेतृत्व निर्माण गर्यो भने राम्रो नेतृत्व निर्माण हुन्छ भन्ने लाग्छ । अहिले प्रतिस्पर्धाभन्दा सहमतिमा नै निर्माण हुनु राम्रो हो । त्यसैबाट सबैको भलो हुन्छ र पार्टीको पनि भलो हुन्छ ।

    १० बुँदे सम्झौता गरेर एमालेमै रहेकालाई फरक धारका रुपमा व्याख्या गर्ने गरिएको छ, त्यस्तो हो ?

    पहिलो कुरा त अब त्यो पुरानो बिषय भइसक्यो । पहिलेको नजरबाट हेर्न जरुरी छैन । कम्युनिष्ट पार्टी भित्र विचारमा बहस हुनु राम्रो हो । तर यसलाई एउटा सन्दर्भबाट निकास दिइसकेका छौं । तर कहिलेकाही कसैकसैको मनमा उत्पन्न हुनुलाई अस्वभाविक मान्न सकिँदैन । यो महाधिवेशनबाट यी तमाम खालका सोच समाप्त गर्न सक्नुपर्छ ।

    सर्वसम्मत नेतृत्व चयन गर्दा पदाधिकारीमा माओवादी केन्द्रबाट आएका र १० बुँदे सम्झौता गरेर एमालेमै रहेकाहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ जस्तो लाग्छ ?

    अहिलेको सन्दर्भमा भन्दा विधान महाधिवेशनबनाट १५ सदस्यीय पदाधिकारी तय गरका छौं । हिजो नेतृत्वमा रहनुभएका र अहिले पदाधिकारी तहमा बढुवा गर्ने अनुहारलाई हेर्ने हो भने केही बढाउन सकियो भने पूर्वमाओवादीबाट आएका वा १० बुँदेबाट आएका सबैको व्यवस्थापन हुनसक्छ । हुन त मेरो यो निजी विचार हो । यो कुरा मैले विधान महाधिवेशनमा पनि राखेको थिएँ । १५ सदस्यीय पदाधिकारीलाई २१ देखि २३ सम्म पुर्याउन सकियो भने सम्बोधन गर्न सकिन्छ भन्ने लाग्छ ।

    तपाईं पनि केन्द्रीय सदस्यमा उठ्ने चर्चा छ, हो ?

    हो, मैले केन्द्रीय सदस्यमा उठ्ने योजना बनाएको छु । घोषणा नै त नेतृत्वसँग बसेर गर्छु । तर मेरो त्यो अपेक्षा पनि छ । उम्मेदवारीका साथ अघि बढ्ने सोच छ ।

    तपाईंको उम्मेदवारी चाहिँ केका लागि ?

    मैले मूलतः दुई कुरामा जोड दिएको छु । विगत चार दशकदेखि नेकपा एमालेको आन्दोलतमा छु । मैले २० औ वर्ष नेकपा एमालेबाट जिल्लामा राजनीति र नेतृत्व गरेको छु । दुईपटक जिल्लाको प्रमुख र दुईपटक उपप्रमुखसमेत भइसकेको छु ।

    त्यतिमात्र होइन, म चारपटक नेकपा एमालेबाट सांसदमा उठेको छु । कहिले जितेको छु त कहिले पराजित पनि भएको छु । खासगरी अहिले पनि म एमाले प्रदेश कमिटीको सचिवालय सदस्य छु । यो महाधिवेशनको कुरा गर्दा ६ पटक महाधिवेशनको प्रतिनिधित्व गरेको छु ।

    त्यसैले यो अधिवेशनबाट केन्द्रीय सदस्यमा दाबी गर्नु स्वभाविक पनि छ । अब म जिल्लातहबाट माथि उठेर केही योगदान गरौं । पार्टीको लक्ष्य पूरा गरौं । त्यसका लागि फराकिलो ठाउँ खोजिरहेको छु र त्यो मेरा लागि फराकिलो ठाउँ भनेकै केन्द्रीय सदस्य भएकाले यसमा मैले दाबी गर्न खोजेको हो ।

    एमालेको यो महाधिवेशनले दिनुपर्ने खास सन्देश के हो ?

    यो महाधिवेशनले नेकपा एमाले एकतावद्ध छ भन्ने सन्देश दिन जरुरी छ । त्योसंगै न्यायपालिका र संवदैधानिक संकट पनि देखिएको छ । यस्तो अवस्थामा एमालेको अधिवेशनको अर्को सन्देश भनेको यो संविधान निर्माण गर्नका लागि मुख्य भूमिका निर्वाह गर्ने पार्टी हो । त्यसैले महाधिवेशनले यो अन्यौलता पनि हटाउनुपर्ने जरुरी छ ।

    पदाधिकारीमा सहमति भए पनि केन्द्रीय सदस्यमा चुनाव हुने निश्चितप्रायः छ, यसले एमालेमा फरकधार अर्थात् गुटबन्दी बनाउने त होइन ?

    देशव्यापी रुपमा वडादेखि पालिकाहुँदै अहिले हामी महाधिवेशनको प्रतिनिधि छनौट गर्ने अवस्थासम्म सर्वसम्मत तरिकाले नेतृत्व र संगठन निर्माण गरेका छौ । छिटफुटबाहेक हामीले उच्च समझदारीसहित संगठन निर्माण गरेका छौं ।

    यसैले यसको सन्देश भनेको तल सबै सर्वसम्मत गर्ने अनि माथि चुनाव नै गर्नुपर्छ भन्ने पनि होइन नि । त्यसकारण पदाधिकारी र केन्द्रीय सदस्य पनि सर्वसम्मत हुनुपर्छ । तर, कथमकदाचित भएन भने विधिसम्मत तरिकारले प्रतिस्पर्धा गर्नुपर्छ ।

    मैले देखेअनुसार देशव्यापी रुपमा २५ औं वर्ष पार्टीमा योगदान गरेका नेता कार्यकर्ता प्रतिनिधिका रुपमा आएका छन् । त्यसैले प्रतिनिधिले परिपक्व निर्णय गर्नेछन् । हिजोको जस्तो गुटगत गन्ध आउँदैन ।