काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले वर्तमान सरकारले न्यायापालिकासँग भागबण्डा गरेर शासन चलाइरहेको आरोप लगाइरहेका छन् । कार्यकारीसँग भागबण्डा गरेर न्यायपालिकाले दिने न्याय कति निस्पक्ष होला भन्ने प्रश्न उनले तेर्स्याए ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहमा अतिथिका रूपमा सम्बोधन गर्दै मैनालीले भने, ‘संसदीय व्यवस्थामा सत्तापक्षले प्रमुख प्रतिपक्षसँग अनि न्यायपालिकासँग भागबण्डा गरेर शासन चलाइरहेको छ । यो व्यवस्था अप्ठेरोमा परेको छ ।’
मैनालीले देशको व्यवस्थापिका पनि गतिरोधमा फसेको बताए । प्रमुख प्रतिपक्ष सभामुखले न्याय नदिएको भनेर अवरोध गरिरहेको र त्यसको कारण पनि जायज नै रहेको उनको टिप्पणी छ ।
मैनालीले भने, ‘सभामुख जघन्य मुद्दामा फस्नुभएको छ । प्रमुख प्रतिपक्ष सभामुखले न्याय दिएनन् भनेर अवरोध गरिरहेको छ । कारण ठीकै हो । कारबाही गर्ने ठाउँछ । त्यो सम्वन्धित पार्टीको कुरा हो । तर, संसदीय व्यवस्था गतिरोधमा फस्नु चिन्ताको विषय हो ।’
काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले पृथ्वीनारायण शाहपछि नेपालको सबैभन्दा राष्ट्रवादी मान्छे तत्कालीन राजा महेन्द्र भएको बताएका छन् ।
भृकुटीमण्डपमा राप्रपाको महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै मैनालीले नेपाललाई भारतमा विलय हुनबाट जोगाउन राजा महेन्द्रले महत्वपूर्ण भूमिका खेलेको बताए । ‘नेपाललाई भारतमा गाभिएको सिक्किम वा भुटानजस्तो हुनबाट रोक्नको निम्ति पृथ्वीनारायण शाहपछि कसैले कदम चालेको छ भने ती राजा महेन्द्र हुन् । दिल्ली सम्झौतामा उल्लेख विधान सभा भएको भए नेपाल त्यतिबेलै भारतमा गाभिन्थ्यो’, मैनालीले भने ।
उनले विदेशी हस्तक्षेपलाई अस्वीकार गर्ने नेता तत्कालीन राजा महेन्द्र नै भएको बताए । उनले २०१७ साल पुस १ गतेको कदम दक्षिणपन्थी राष्ट्रवादी कदम भएको बताए । २०४६ साल र २०६३ सालको परिवर्तनसँगै विदेशी हस्तक्षेप बढेको भन्दै मैनालीले माओवादी आन्दोलनले पनि विदेशीको भारी बोकेको बताए ।
राप्रपा राष्ट्रवादी प्रवृत्ति बोक्ने पार्टी भएको भन्दै देशक्त शक्तिहरूबीच एकता हुनुपर्ने बताए । ‘राष्ट्रवादी, कम्युनिष्ट, लोकतन्त्रवादी वा जुनसुकै विचारका भएपनि देशभक्तहरु मिल्नुपर्ने देखिन्छ । तबमात्रै यो मुलुकको उद्धार हुन्छ’, मैनालीले भने ।
उनले राष्ट्रवादमा मात्रै अलमल नगरी देशभक्तिको एजेण्डामा अग्रसर हुन राप्रपालाई आग्रह समेत गरे ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनालीलाई राप्रपाको अध्यक्ष बन्न शुभकामना दिएका छन् ।
राप्रपाको महाधिवेशन उद्घाटन समारोहमा मैनालीले राजा महेन्द्र सबैभन्दा राष्ट्रवादी भएको अभिव्यक्ति दिएपछि प्रचण्डले मैनालीलाई व्यंग्य गर्दै राप्रपाको अध्यक्ष बन्न लागेको हो ? भनी सोधेका हुन् ।
‘राजतन्त्र निरंकुश भएकोले हटाउनुपर्छ भनेर टाउको काट्ने आन्दोलनको सुरुवात सीपी मैनालीजीहरूले नै गरेको हो । अहिले आएर राजा महान् भन्दिनु भो । मलाई लाग्यो सीपीजी राप्रपाको अध्यक्ष बन्न पो खोजेको हो कि ? हो भने शुभकामना छ’, प्रचण्डले भने ।
उनले सीपीले जस्तो आफूले बोल्न नजान्ने भन्दै राजनीति पछाडि फर्कन नसक्ने बताए ।
चितवन । नेकपा (माले) को महासचिवमा पुन: सीपी मैनाली चयन भएका छन् ।
चितवनमा भएको आठौं राष्ट्रिय महाधिवेशनले मैनाली नेतृत्वमा ५९ केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको हो । मैनाली ३० वर्षदेखि मालेको मूल नेतृत्वमा छन् । ८१ सदस्यीय बनाउने गरी पुसमा बस्ने बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिनेछ । विभाग, स्थायी कमिटी, पोलिटब्यूरो सदस्यहरू पनि सोही बैठकले चयन गर्ने जनाइएको छ । महासचिव मैनालीले नेपाल प्रेससँग संक्षिप्त कुराकानी गर्दै गलत सोचले आएकाहरूले साथ छोडे पनि अब जनताको विश्वास जित्ने गरि वैकल्पिक शक्तिका रूपमा अगाडि बढ्ने बताए ।
‘महाकाली सन्धि पास गरेपछि विरोध गर्यौं, माधव टिमले हामीलाई कारवाही गर्यो’, उनी भन्छन्, ‘५४ मा माले बनायौं, नेता बनाएका वामदेव दलबलसहित टाप ठोके, लोभपाप बोकेर गलत सोचले आएकाहरुले बीचबीचमा छोड्दै गए, रुखबाट पहेँलो पात झरेजस्तै हो ।’
उनले पुँजिवादी सिद्धान्त लिएर हाइज्याक गरेर एमाले बनेको आरोप लगाए । एमाले-माओवादी अमार्क्सवादी बाटोमा हिँडेको उनको आरोप छ । उनले अहिलेको संसदीय व्यवस्था असफल भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्र प्रमुख बनाउनुपर्ने नीति लिएर माले हिँड्ने बताए । पूर्णसमानुपातिक प्रणालीबाट सांसद निर्वाचित गर्ने गरी निर्वाचन प्रणाली बदल्नुपर्ने मैनालीको भनाइ छ ।
‘सांसदहरू बजेट, कानून निर्माण र सरकारको वाचडग बन्नुपर्छ’, उनले भने, ‘विज्ञहरूको मन्त्री बनाउने गरी मापदण्ड बनाउनुपर्छ, सरकार सानो आकारको बनाउनुपर्छ ।’ संसदले गतिलो काम गर्न नसेकेको उनको दाबी छ । महाधिवेशनको बन्दसत्रमा सीपी मैनालीले नेपाली क्रान्तिको कार्यक्रम- नयाँ जनवाद, राजनीतिक प्रतिवेदन, एनपी आचार्यले पार्टी संगठन, सिद्धान्त र प्रस्ताव, डम्बर श्रेष्ठले पार्टी विधान, कुमार बेलबासेले पार्टीको तत्कालिक कार्यनिति, दिनानाथ घिमिरेले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेता दीनानाथ घिमिरेले दस्तावेजहरूमा प्राप्त सुझावका आधारमा केन्द्रीय कमिटीको दोस्रो बैठकले संशोधनसहित पारित गर्ने जानकारी दिए । प्रदेश संरचना खारेज गरेर जिल्ला र पालिका तहलाई अधिकार सम्पन्न गराउने गरि संघियता परिमार्जन गर्ने नीति लिने निर्णय गरेको बताए ।