Tag: सीडीओ

  • सडकमा निस्किएर काठमाडौं सीडीओले गरे निषेधाज्ञा अनुगमन, सवारी पासमा थप कडाइ गरिने

    सडकमा निस्किएर काठमाडौं सीडीओले गरे निषेधाज्ञा अनुगमन, सवारी पासमा थप कडाइ गरिने

    काठमाडौं । कोभिड नियन्त्रण तथा रोकथाम समन्वय समिति काठमाडौंले विहीबार सवारी अनुगमन गरेको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका अधिकारीसहितको टोलीले सवारी आवागमनको स्थलगत निरीक्षण गरेको हो ।

    निषेधाज्ञामा काठमाडौंका सडकमा उल्लेख्य मात्रामा सवारी साधन सञ्चालन हुन थालेपछि सवारी पासको दुरुपयोगको अनुसन्धान गर्न टोली स्वयम सडकमा निस्किएको हो । अनुगमनको क्रममा सवारी पासको दुरुपयोग गरेको पाईएको महानगरिय प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

    सवारी साधनहरुले अस्पतालको पास अगाडि राख्ने र भित्र अरु नै सामाग्री राखेर सुरक्षा निकायलाई झुक्याएको भेटिएको उनले बताए । सुरक्षाकर्मीलाई झुक्याएर सवारी पासको दुरुपयोग गर्ने र अनावश्यक रुपमा आवागमन गर्नेहरुमाथि चेकजाँच गरी कारवाही गरिने उनले बताए ।

    सीडीओ पराजुलीले उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाई गरिने बताए । उनका अनुसार आजदेखि अत्यावश्यक बाहेकका जिल्लास्तरिय कार्यालय बन्द गरिएको जनाए । उनले निषेधाज्ञालाई प्रभावकारी बनाउन कडाइका साथ अनुगमन गर्ने बताए ।

    सुरक्षा निकायका अधिकारीसहितको जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले भद्रकाली, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, कोटेश्वर, नयाँबानेश्वर बबरमहल, सोह्रखुट्टे लगायत स्थानको अनुगमन गरेको थियो ।

  • निषेधाज्ञालाई कडा बनाउन सीडीओ सडक अनुगमनमा निस्किए

    निषेधाज्ञालाई कडा बनाउन सीडीओ सडक अनुगमनमा निस्किए

    भक्तपुर । सडकमा गुडेका विना पासका सवारी साधन र जथाभावी खुलेका पसल व्यावसाय रोक्न भक्तपुरका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षाकर्मीको टोलीले सडकमा अनुगमन गरेको छ । आज भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको नेतृत्वमा महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक तारादेवी थापा, राष्ट्रिय अनुसन्धान विभाग भक्तपुरका प्रमुख विकास पाण्डे, शसस्त्र प्रहरी गण दुवाकोटका प्रहरी नायब उपरीक्षक लीला कार्कीलगायत जिल्ला सुरक्षा समितिको टोलीले अनुगमन गरेको हो । टोलीले सूर्यविनायक चोक, काभ्रे र भक्तपुरको सिमाना रहेको साँगा चोक र काठमाडौं र भक्तपुरको सिमाना रहेको पेप्सीकोलाको मनोहरा पुलमा अनुगमन गरेको थियो ।

    अनुगमनको क्रममा निधेषाज्ञा अनुरुप बजार बन्द भएको पाइएको र सडकमा सवारी पास लिएका र अधिकांश सरकारी तथा वित्तीय संस्थाका कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार तथा सुरक्षाकर्मीले कार्यालयको परिचय पत्र लिएर सवारी साधन सञ्चालन गरेको पाइएको छ । साँगा नाकामा सवारी पास नभएका र अत्यावश्यक बाहेकका काममा सडकमा सवारी साधन लिएर काठमाडौं प्रवेश गर्न खोज्नेलाई साँगाबाटै फर्काइएको प्रमुख जिल्ला अधिकारी भट्टराइले जानकारी दिए । एक घण्टा साँगा चोकमा बसेको अनुगमन टोलीले आफैले सवारी साधनको जाँच गरेको थियो । नाका र सडकमा खटिएका सुरक्षाकर्मीलाई पास नभएका र अत्यावश्यक कामबाहेक ओहोर दोहोर गर्नेलाई प्रवेश नदिन सुरक्षाकर्मीलाई निर्देशन समेत दिएको छ ।

    मनोहरामा भएको अनुगमनमा उपत्यकाका तीनवटा जिल्ला प्रशासनबाट पास लिएर सडकमा आएका तीनवटा मात्रै सवारी साधन भेटिएको र अरु परिचय पत्रका आधारमा आएको पाइएको छ । सडकमा जथाभावी पैदल हिड्न नदिन, सवारी पास नभएका सवारी साधनलाई रोक्न र निषेधाज्ञालाई कडाइका साथ लागू गर्न अनुगमन गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । निषेधाज्ञालाई थप कडाई गर्न सुरक्षाकर्मीलाई अनुगमन टोलीले निर्देशन दिएको र आगामी दिनमा पछि छड्के अनुगमन जारी राख्ने उनले जानकारी दिए ।

  • उपप्रधानमन्त्री पोखरेलद्वारा कोरोनाको उपचार सहज बनाउन कैलालीका सीडीओलाई निर्देशन

    उपप्रधानमन्त्री पोखरेलद्वारा कोरोनाको उपचार सहज बनाउन कैलालीका सीडीओलाई निर्देशन

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कैलालीमा कोरोना भाइरसका कारण उत्पन्न पछिल्लो परिस्थिति बारे जानकारी लिएका छन् ।

    कैलालीमा कोरोनाका बिरामीहरुले उपचार नपाएको, शव व्यवस्थापन नभएको जस्ता गुनासो आएपछि उपप्रधानमन्त्री पोखरेलले आज कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई टेलिफोन गरी जानकारी लिएका हुन् ।

    संकटको अवस्था रहेकाले जनताले अनुभुति गर्ने गरी राज्यको उपस्थिति जनाउन, जनताको राहतको महसुस गराउन र सरकारले गरेका निर्णयलाई कार्यान्वयनमा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको पोखरेलको सचिवालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

    मन्त्रिपरिषद्ले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई सदूरपश्चिमको समन्वय गर्नका लागि तोकेको जानकारी गराउँदै उपप्रधानमन्त्री पोखरेलले समस्या परे सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सम्पर्क गर्न निर्देशन पनि दिए ।

    उपप्रधानमन्त्री पोखरेलले सिमा नाकाको व्यवस्थापन, गेटा मेडिकल कलेजमा निर्माण होल्डिङ सेन्टर र कोरोना विशेष अस्पताल निर्माणका विषयमा भएका प्रगतिका बारेमा पनि सिडियोसँग जानकारी लिएका थिए ।

    कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले गेटा मेडिकल कलेजमा करिब दुई हजार जना अट्ने होल्डिङ सेन्टर, कोरोना विशेष अस्पताल र आइसोलेशन सेन्टर बनाइरहेको जानकारी दिए । त्यसका लागि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई संयुक्त व्यवस्थापनको जिम्मा दिइएको जानकारी उनले गराए ।

    उपप्रधानमन्त्री पोखरेलले अक्सिजन ग्यासको दुरुपयोग रोक्नुपर्ने भन्दै धनगढीको अक्सिजन प्लान्टको क्षमता बढाउन आवश्यक परे सीसीएमसीले सहयोग गर्ने बताए ।

    खाद्यान्न तथा अत्यावश्यक सामाग्रीको ढुवानी बाहेक सिमामा आवातजावतमा कडाइ र निगरानी गर्न पनि उनले निर्देशन दिनुभयो ।

    उपप्रधानमन्त्री पोखरेलले केही दिन अघि बाँकेका प्रमुख जिल्ला अधिकारीलाई पनि टेलिफोन गरी कोरोनाका बिरामीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।