Tag: सीके राउत

  • चुनावी अभियानलाई तीब्रता दिँदै सीके राउत

    चुनावी अभियानलाई तीब्रता दिँदै सीके राउत

    काठमाण्डौं । डा सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनका लागि अभियानमा तीब्रता दिएको छ । स्थानीय तह चुनाव केन्द्रित ‘जनमत माटो यात्रा’का क्रममा राउत लुम्बिनी, मधेस र प्रदेश नम्बर १ को प्रत्येक पालिकामा पुग्दैछन् ।

    पहिलो चरणमा लुम्बिनी प्रदेशको विभिन्न स्थानीय तहमा पुगेर सर्वसधारणसँग भेटघाट गर्दै राउतसहित जनमत पार्टीका नेताले विभिन्न स्थानबाट माटो संकलन गरेका थिए ।

    जनमत पार्टी अहिले मधेस प्रदेश केन्द्रित जनमत माटो यात्रा गरिरहेको छ । बारा जिल्लाको विभिन्न स्थानीय तहमा माटो यात्रापछि ६ चैतदेखि सप्तरी जिल्लाको विभिन्न स्थानीय तहमा यात्रा जारी रहेको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए । सप्तरी पछि रौतहट, सिरहा, सर्लाहीलगायतका जिल्लामा माटो यात्रा हुने उनकाे भनाइ छ ।

    नेता साहका अनुसार किसान, आमसर्वसाधारण तथा मतदातासँग प्रत्यक्ष रुपमा भेटघाट गर्न जनमत माटो यात्रामा तीब्रता दिइएको हो ।

    ‘तराई(मधेसका गाउँगाउँमा पुगेर अध्यक्षज्यूले सर्वसाधारणलाई भेट्दै हुनुहुन्छ,’ नेता साहले भने, ‘मधेस एकता उद्यान स्थापनाका लागि तराई- मधेसको विभिन्न स्थानीय तहबाट माटो संकलन गर्ने कार्यक्रमको रुपमा जनमत माटो यात्रा सुरु गरिएको थियो । निर्वाचन नजिकिएपछि यसलाई निर्वाचन केन्द्रित कार्यक्रमको रुपमा पनि अगाडि सारिएको छ ।’

    स्थानीय तहको निर्वाचनमा जनमत पार्टीले केन्द्र स्तरबाटै कुनै पार्टीसँग गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने नेता साहको भनाइ छ ।

    ‘हाम्रो पार्टीले केन्द्रीय तहबाटै कुनै पार्टीसँग गठबन्धन गर्दैन । स्थानीय नेतृत्वले आफू अनुकुल कोहीसँग पनि तालमेल गर्न सक्छन्,’ उनले भने, ‘चुनावको तयारीमा हामी धेरै पहिलेदेखि नै कभरेज अभियान, बुथबुथ मजबुत अभियान र जनमत माटो यात्रा गरिरहेकोले ग्राउण्डमा हाम्रो शक्तिको अनुमान हामीले लगाएका छौं । त्यसकारण हामी एक्लै चुनावमा गएर पनि धेरै राम्रो नतिजा ल्याउनेमा विश्वस्त छौं ।’

  • आक्रमक बन्दै सीके राउतका कार्यकर्ता : अस्पतालको गाडी तोडफोड, चिकित्सक घाइते

    आक्रमक बन्दै सीके राउतका कार्यकर्ता : अस्पतालको गाडी तोडफोड, चिकित्सक घाइते

    जनकपुरधाम । किसानका मागमा जनप्रतिनिधिले चासो नदेखाएको भन्दै जनकपुरमा बिहानैदेखि आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ता झन् आक्रमक बनेका छन् ।

    प्रदर्शनकारीले जनकपुरको पीडारी चोकमा जलेश्वर अस्पतालको सरकारी गाडी तोडफोड गरेका छन् । जलेश्वर अस्पतालका निमित्त प्रमुख डा. सतिश साह चढेको प्रदेश २-०२-००१ झ ०१६३ नम्बरको सरकारी गाडी तोडफोड गरिएको हो ।

    तोडफोडको क्रममा डा. साहको मुखमा गम्भीर चोट लागेको र ८ टाँका लगाइएको छ । जलेश्वरबाट बर्दिबास जाँदै गर्दा आन्दोलनकारीले अचानक गाडी र आफूमाथि भाटा प्रहार गरेको डा. साहले बताए ।

    यसअघि सर्लाहीको हरिवन नगरपालिकाको गाडी तोडफोड गरेर प्रदर्शनकारीले मेयरलाई घाइते बनाएका थिए ।

    ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न चोकमा जनमतका कार्यकर्ता विहानैदेखि प्रदर्शन गरिरहेका छन् । राष्ट्रियसभा निर्वाचनअन्तर्गत जिल्ला प्रहरी कार्यालयअगाडि भइरहेको मतदानतर्फ जान खोज्दा पटकपटक प्रहरीसँग झडप भएको छ ।

    स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्याँस प्रहार गरेको थियो । अहिले पनि विभिन्न चौकमा प्रदर्शन जारी छ । मतदानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

  • सीके राउतका कार्यकर्ताद्वारा राजमार्ग अवरोध, सवारीहरू अलपत्र

    सीके राउतका कार्यकर्ताद्वारा राजमार्ग अवरोध, सवारीहरू अलपत्र

    जनकपुरधाम । जनमत पार्टीले घोषणा गरेको अनिश्चितकालीन पूर्व-पश्चिम राजमार्ग बन्दको प्रभाव सिरहा र सप्तरीमा परेको छ ।

    जनमतका कार्यकर्ताले बिहानैदेखि सिरहाको लहान र सप्तरीको भारदह क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण राजमार्ग ठप्प भएको छ । लहानमा कार्यकर्ताले उखु बोकेर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले लाठी बोकेर राजमार्ग अवरोध गरिरहेका छन् । महिला कार्यकर्ताहरू पनि आन्दोलनमा सहभागी छन् ।

    उनीहरूले किसानको माग पूरा गर, प्रहरी दमन बन्द गर, किसानलाई मलखाद नदिने सरकार मुर्दाबादजस्ता नारा लगाइरहेका छन् ।

    किसानलाई सिंचाईको व्यबस्था वा बिजुली नि:शुल्क दिनुपर्ने, समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्नेलगायतका ११ बुँदे माग राखेर जनमत पार्टीले मधेशकेन्द्रित आन्दोलन गरिरहेको छ ।

  • सिरहामा पक्राउ परेका किसान रिहा, सीके राउतका १८ कार्यकर्ता पनि छुट्दै

    सिरहामा पक्राउ परेका किसान रिहा, सीके राउतका १८ कार्यकर्ता पनि छुट्दै

    जनकपुरधाम । सिरहाको औरही गाउँपालिकाले भण्डार गरेको गहुँको बीउ लुटेको आरोपमा पक्राउ परेका किसान मिथिलेश यादव रिहा भएका छन् । उनलाई आज जिल्ला अदालत धनुषाले साधारण तारिखमा रिहा गरेको हो ।

    औरही गाउँपालिकाले यादवमाथि जिल्ला प्रहरी कार्यालय सिरहामा आपराधिक उपद्रो मुद्दा दर्ता गरेको थियो । औरही गाउँपालिका-३ घर भएका उनलाई प्रहरीले पुस ६ गते पक्राउ गरेपछि डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन सुरू गरेको थियो ।

    चार दिनदेखि सिरहामा आन्दोलन जारी राखेपछि स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेको छ । आन्दोलनका क्रममा पक्राउ परेका जनमत पार्टीका १८ कार्यकर्तालाई समेत प्रशासनले रिहा गर्न आदेश दिएको छ ।

    सिरहाका प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेले जिल्ला प्रशासन कार्यालयबाट आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहा गर्न आदेश आइसकेको बताए । ६ दलको आग्रहमा उनीहरूलाई रिहा गर्न लागेको उनको भनाइ छ ।

  • मधेशमा जनमत पार्टीको चन्दा अभियान- चुनावबाट जनताराज ल्याउने दाबी

    मधेशमा जनमत पार्टीको चन्दा अभियान- चुनावबाट जनताराज ल्याउने दाबी

    जनकपुरधाम । सीके राउत अध्यक्ष रहेको जनमत पार्टीले आन्दोलन र अगामी निर्वाचनमा विजयी हासिलका लागि भन्दै चन्दा अभियान थालेको छ ।

    जनमत पार्टीका महासचिव चन्दन सिंहले आर्थिक सहयोगका लागि अपिल जारी गरेका छन् । ‘आन्दोलन र निर्वाचनका लागि निःसन्देह रूपमा पैसाको जरूरी हुने भएकोले सहयोग गर्न समस्त जनतासँग हार्दिक अनुरोध गर्दछौं,’ जनमत पार्टीको अपिलमा भनिएको छ ।

    जनमत पार्टी जनताको विभिन्न माग लिएर आन्दोलनरत रहेको र आउँदो निर्वाचनमा विजय हासिल गरी जनताराज स्थापना गर्ने तथा घर-घरमा रोजगारी दिनका लागि तयारी समेत थालेको भन्दै ‘आन्दोलन तथा निर्वाचन कोष’ खडा गर्न सहयोगको याचना गरिएको छ ।

    जनमत पार्टीले कोषाध्यक्ष सुरेन्द्रनारायण यादवको नाममा मेगा बैंकमा रहेको खातासमेत सार्वजनिक गरेको छ ।

  • सिरहामा सीके राउतका कार्यकर्ता लाठीसहित सडकमा, दर्जनौं गाडी तोडफोड (भिडिओ)

    सिरहामा सीके राउतका कार्यकर्ता लाठीसहित सडकमा, दर्जनौं गाडी तोडफोड (भिडिओ)

    सिरहा । किसानलाई पक्राउ गरेको विरोधमा घोषणा गरिएको आमहड्तालको अवज्ञा गरेको भन्दै जनमत पार्टीका कार्यकर्ता तोडफोडमा उत्रेका छन् । बन्दकर्ताले सिरहाको गोलबजार र मिर्चैयामा दर्जनौं गाडी तोडफोड गरेका छन् ।

    गाडीहरू तोडफोड हुन थालेपछि नियन्त्रणमा लिने क्रममा प्रहरी र बन्दकर्ताबीच झडपसमेत भएको छ । बन्दकर्तालाई तितरवितर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो ।

    जनमतका कार्यकर्ता लाठी बोकेर सडकमा उत्रेपछि पूर्व-पश्चिम राजमार्गमा सवारी चल्न सकेको छैन । बिहान केहिबेर गाडी चले पनि अहिले पूर्णरुपमा ठप्प भएको छ ।

    आमहड्तालका कारण अत्यावश्यक बाहेक शैक्षिक संस्था, बजार, उद्योग, कलकारखाना र यातायात ठप्प छ । सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले भने राजमार्ग संचालनमा रहेको दाबी गरे । उनले आन्दोलनकारीले तोडफोड गरेको सवारीको विवरण आउन बांकी रहेको बताए ।

    औरही गाँउपालिकाले थन्क्याएर राखेको गहुँको बीउ किसानहरुले कब्जामा लिएपछि गाउँपालिकाले चार किसानमाथि मुद्दा दर्ता गराएको र प्रहरीले एक किसानलाई पक्राउ गरेको विरोधमा जनमत पार्टीले आन्दोलन घोषणा गरेको हो ।

    पक्राउ परेका किसानलाई रिहा, दर्ता भएको मुद्दा फिर्ता, औरही गाँउपालिकामा भएको भ्रष्टाचारको छानबिन, किसानलाई सहज रुपमा मलखाद उपलब्ध नगराए अझ कडा आन्दोलनको घोषणा गर्ने जनमत पार्टीका नेता दिपेन्द्र यादवले बताए ।

     

  • सिंचाइ मोटर र मलखाद खोसेर किसानमाथि दमन गरिएको सीके राउतको आरोप

    सिंचाइ मोटर र मलखाद खोसेर किसानमाथि दमन गरिएको सीके राउतको आरोप

    जनकपुरधाम । किसानहरूले खेतीका लागि जसोतसो सिँचाइ र मलखादको प्रबन्ध गर्दा नेपाल विद्युत प्राधिकरण र प्रहरीले गरिरहेको दमन गरिरहेको भन्दै जनमत पार्टीले आन्दोलनको चेतावनी दिएको छ ।

    जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले आज विज्ञप्ति जारी गर्दै किसानमाथिको दमन रोक्न नेपाल प्रहरी र विद्युत प्राधिकरणसँग अनुरोध गरेका हुन् । वैकल्पिक सहज व्यवस्था नगरिकन अझै पनि किसानहरुको सिंचाइ मोटर र मलखाद खोस्ने कार्य गरे जनमत पार्टी आन्दोलनमा उत्रिने विज्ञप्तिमार्फत उनले चेतावनी दिएका छन् ।

    किसानको सिँचाइ मोटर खोसिदिने, प्रहरी लगाएर कुटपिट गर्न लगाउने, पक्राउ गर्न लगाउँने, मलखाद ल्याउँदा अनावश्यक यातना दिने, घुस माग्ने र नदिए आधा बोरा मलखाद पनि जफत गर्ने गरेको आरोप अध्यक्ष डा. राउतले विद्युत प्राधिकरण र प्रहरीमाथि लगाएका छन् ।

    ‘आफ्नो परिवार र बालबच्चाको जीवन धान्न खेती नगरी नहुने अवस्थामा रहेका किसानहरू सरकारले सिंचाइ र मलखादको उपयुक्त व्यवस्था नगरीदिँदा मारमा मात्रै पर्दै आएका छैनन्, उनीहरूको पूरै परिवारको जीवन नै संकट र भोकमरीले ग्रस्त हुने अवस्थामा रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

  • ‘जनमत माटो यात्रा’ का लागि लुम्बिनी हिँडे सीके राउत

    ‘जनमत माटो यात्रा’ का लागि लुम्बिनी हिँडे सीके राउत

    जनकपुरधाम । ‘जनमत माटो यात्रा’का लागि जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत आज लुम्बिनीतर्फ लागेका छन् ।

    जनकपुरस्थित पार्टी सचिवालयमा आज यात्रा सफलताको शुभकामना दिँदै नेता कार्यकर्ताले अध्यक्ष डा. राउतलाई बिदाई गरे । पर्साको पोखरीमा सभालाई सम्बोधन गरेर लुम्बिनी जाने उनको योजना छ ।

    मंसीर १० गते डा. राउतको नेतृत्वमा उक्त अभियान निस्कने जनमत पार्टीका नेता सञ्जय यादवले जानकारी दिए । उनका अनुसार यात्रा सुरू गर्नुअघि डा. राउत लुम्बिनीको मायादेवी मन्दिरमा विश्व शान्तिको कामना गर्नेछन् ।

    मधेशका २० जिल्लाका सबै स्थानीय तहको माटो संकलन गरेर ‘मधेश एकता उद्यान’ निर्माण गर्ने निर्णय जनमत पार्टीले गरेको थियो ।

  • कार्यकर्ता पक्राउको विरोधमा सीके राउतको दोस्रो चरणको आन्दोलन घोषणा

    कार्यकर्ता पक्राउको विरोधमा सीके राउतको दोस्रो चरणको आन्दोलन घोषणा

    जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

    भ्रष्टाचार तथा दमनविरुद्ध भन्दै जनमत पार्टीले घोषणा गरेका आन्दोलन दीपावली तथा छठ पर्वलक्षित छ । कात्तिक १७ गते टोलटोलमा सरसफाइ गर्ने, १८ देखि २६ गतेसम्म राउतको जीवनी भिडिओ प्रदर्शन गर्ने एवं छठ घाटमा पर्वभन्दा अघि र पछि सरसफाइ गर्ने, कात्तिक २८ मा युवा दस्ता निर्माणका लागि हरेक वडामा प्रशिक्षक तोक्ने कार्यक्रम छन् ।

    मंसीर ५ गतेसम्म दोस्रो चरणको कार्यक्रम गर्ने र सोहीदिन समीक्षा गरेर तेस्रो चरणको संघर्ष गर्ने राउतले बताएका छन् । पहिलो चरणको आन्दोलनको अन्तिम दिन आज नेता राज हैन, जनता राज, भ्रष्टाचारको अन्त्य र १० लाख रोजगारीका लागि सर्वपक्षीय जनआन्दोलन गर्ने विषयमा गाउँ-गाउँमा भेला आयोजना गरिँदैछ ।

    कात्तिक ४ मा भ्रष्टाचार आरोपमा जनमतका कार्यकर्ताले जनकपुरस्थित संघीय खानेपानी तथा ढल निकास आयोजना प्रमुख राजेश्वर कुशवाहामाथि दुर्व्यवहार गरेका थिए । सो क्रममा १७ कार्यकर्तालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।

    पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइ र केन्द्रीय सचिवालयमा तोडफोड तथा आगजनी गर्ने इन्जिनियरहरूमाथि कारबाहीको माग गर्दै जनमत पार्टी चरणबद्ध आन्दोलनमा उत्रिएको छ ।

  • सीके राउतको पार्टीद्वारा जसपा अध्यक्ष र इन्जिनियरविरुद्ध उजुरी

    सीके राउतको पार्टीद्वारा जसपा अध्यक्ष र इन्जिनियरविरुद्ध उजुरी

    जनकपुरधाम । सत्तारुढ जनता समाजवादी पार्टीका नेता र इन्जिनियरहरूविरुद्ध जनमत पार्टीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ ।

    जनकपुरस्थित पार्टीको केन्द्रीय सचिवालय तोडफोड र आगजनी गरेको आरोपमा जनमत पार्टी धनुषा जिल्ला समन्वय समितिका सचिव विजय साहले १६ जनाविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

    जसपा धनुषा अध्यक्ष पशुपति यादव, संघीय परिषद् सदस्य नविन यादव, इन्जिनियरहरू गौरी पण्डित, विजय यादव, सरोज यादव, भवेश मिश्रलगायतमाथि उजुरी दर्ता गराएको जनमत पार्टीले जनाएको छ । पाँच दिनअघि नै उनीहरुविरुद्ध उजुरी दर्ता भए पनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।

    केन्द्रीय सचिवालयमा तोडफोड र आगजनी गरेकाहरूलाई पक्राउ गरेर कारबाही गर्न उजुरी दर्ता गराएको र अडिओ/भिडिओ प्रमाणसमेत प्रहरीमा पेस गरेको डा. राउतले बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल प्रहरीले यथाशीघ्र कारबाही गरोस्, अन्यथा आक्रोशित जनताले केही कारबाही गरे हामी जिम्मेवार हुने छैनौं ।’

    आगजनीजस्तो जघन्य अपराधमा एउटा राजनैतिक पार्टीसँग आबद्ध केही इन्जिनियरहरू समेत संलग्न देखिएको भन्दै काउन्सिलले यथाशीघ्र उनीहरुको लाइसेन्स खारेज गर्नुपर्ने उनको माग छ ।

    जसपा धनुषा अध्यक्ष पशुपति यादव र संघीय परिषद् सदस्य नविन यादवले आन्दोलनमा घुसपैठ गर्न खोजेको कुरा आपसमा गरिएको फोन वार्तालापको अडिओसमेत प्रहरीमा पेस गरेको राउतले दाबी गरेका छन् ।

  • सीके राउतलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै माइतीघरमा प्रर्दशन (भिडिओ)

    सीके राउतलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै माइतीघरमा प्रर्दशन (भिडिओ)

    काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएशन, वागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेको छ ।

    शुक्रबार माइतीघर मण्डलामा भएको बिरोध प्रदर्शनमा नेपाल इन्जिनियर्स एशोसिएशन, वागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सि.डि.ई. राजेश कुशवाहा लगायतका कर्मचारीमाथि भएको आपराधिक कुकर्मको बिरुद्धमा प्रदर्शन गरेका हुन् ।

    प्रर्दशनमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले देशले निजामती कर्मचारीहरुको महत्व बुझ्न नसकेको भन्दै कर्मचारीमाथि चौतर्फी आक्रमण हुनुले देशक र कानूनको धज्जी उडाएको बताए ।

    उनले यो दुष्कर्ममा सामेल हुने सबैलाई तत्काल पक्राय गरी कानूनी कारबाही अघि बढाउन माग गरे । उनले जनकपुरमा भएको घटना दानवीय भएको बताउँदै आफूलाई पुनः ढुंगेयुगमा फर्किएको भान हुन थालेको बताए ।

    अध्यक्ष पोखरेलले भने, ‘यो पहिलो घटना होइन, निजामती कर्मचारीहरुको महत्व सरकारले, मन्त्रीले, नेताले, स्थानीय प्रतिनिधिहरुले बुझ्न सक्नुभएन, अहिले कर्मचारीहरुमाथि चौतर्फी आक्रमण भइरहेको छ, कानूनको धज्जी उडेको छ, यो क्रियाकलापमा सामेल भएका सबै अराजक तत्वहरुप्रति म घोर निन्दा र भत्र्सना गर्दछु, कानूनबमोजिम कडा भन्दा कडा कारबाहीको माग गर्दछु, हिजोको घदानवीय घटना हो, हामीलाई धेरै पुरानो युगमा फर्किएको जस्तो भएको छ, हामी व्यवहार र कार्यशैलीले ढुंगे युगतिर फर्किरहेका छौँ ।’

    प्रदर्शनमा नेपाल इन्जिनियर एशोसिएशन वागमती प्रदेशका अध्यक्ष नन्दलाल बन्जाडेले कार्यालय प्रमुखमाथि भएको व्यवहार हिंस्रक भएको बताए । उनले यो घटनालाई गम्भीरताका साथ लिएर आपराधिक गतिविधिमा संलग्न र नाइकेलाई कारबाही गर्नुपर्ने बताए ।

    उनले कार्यालय प्रमुखमाथि जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको टोलीले २९ मिनेटसम्म सामाजिक सञ्जालमा लाइभ गरेर अपमानपूर्वक कर्मचारीहरुलाई शहर परिक्रमा गराउनु अफगानिस्तानमा तालिबानले गराएको जस्तो भएको गुनासो गरे । ।उनले यो देशमा राज्य नभएको जस्तो भान हुन थालेको भन्दै सबै अपराधीलाई तीन दिन भित्र समातेर कारबाही गर्न माग गरे । उनले सीके राउतलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे ।

    अध्यक्ष बन्जाडेले तीन दिन भित्र अपराधमा संलग्न र नायिकेलाई कारबाही नगरे इन्जिनियरहरुको शक्ति देखाउने चेतावनी दिए । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बिहीवार जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर लछारपछार गरेका थिए । उनीहरुले जनकपुर ८ स्थित बलवामा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहालाई दुव्र्यवहार गरेका थिए ।

     

     

  • सीके राउतका कार्यकर्ताविरुद्ध प्रदर्शन, जनकपुर तनावग्रस्त (तस्बिरहरू)

    सीके राउतका कार्यकर्ताविरुद्ध प्रदर्शन, जनकपुर तनावग्रस्त (तस्बिरहरू)

    जनकपुरधाम । भ्रष्टाचार गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले खानेपानीका हाकिमलाई दुर्व्यवहार गरेको विरोधमा जनकपुरमा प्रदर्शन गरिएको छ ।

    खानेपानी तथा ढल निकास आयोजना प्रमुख राजेश्वर कुशवाहामाथि सार्वजनिक स्थलमा दुर्व्यवहार गरेपछि सामाजिक सञ्जालमा विरोध बढको छ । जनकारवाहीको नाममा आतंक मच्चाएको भन्दै जनमत पार्टीविरुद्ध इञ्जिनियरहरूको संगठन नेशनल इञ्जिनियर्स एसोसिएसन नेपालले सडकमा जुलुस निकालेको छ ।

    हिजो र आज इञ्जिनियरहरूले जनकपुरधाममा प्रदर्शन गर्दै डा. राउतको इञ्जिनियर काउन्सिल सदस्यता खारेजको माग गरेका छन् । प्रमुख कुशवाहालाई दुर्व्यवहार गर्ने राउतका कार्यकर्तामाथि कारवाही गर्न स्थानीय प्रशासनसँग उनीहरूको माग छ ।

    प्रमुख कुशवाहामाथि दुर्व्यवहारको आरोपमा जनमतका ६२ कार्यकर्तालाई पक्राउ गरिएको थियो । तीमध्ये १७ जनालाई धनुषा प्रहरीले मुद्दा चलाएको छ ।

    आफ्ना कार्यकर्तालाई छाड्नुपर्ने माग गर्दै राउतका कार्यकर्ताहरूले हातमा भाटा लिएर प्रदर्शन गरेका छन् । राउतका कार्यकर्ताहरु र ईन्जिनियरहरु आमने-सामने भएपछि अवस्था तनावग्रस्त बनेको थियो । तर, सुरक्षाकर्मी धेरै परिचालन भएका कारण झडप भएन ।

    पछि राउतका कार्यकर्ता जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगे । सो क्रममा उनीहरूमाथि प्रहरीले लाठी चार्ज गरेको छ । प्रहरीको लाठीबाट एक दर्जन प्रदर्शनकारी घाइते भएको बताइएको छ । प्रदर्शनकारीले बोकेको बाँसको भाटा र व्यानर समेत प्रहरीले खोसेका छन् ।
    अहिले जनकपुरको विभिन्न चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । प्रदर्शन गर्न गाउँघरबाट आएका राउतका कार्यकर्ताहरुको दर्जनौं मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • खानेपानी हाकिमलाई दुर्व्यवहार गर्ने सीके राउतका १७ कार्यकर्तालाई मुद्दा चलाइँदै

    खानेपानी हाकिमलाई दुर्व्यवहार गर्ने सीके राउतका १७ कार्यकर्तालाई मुद्दा चलाइँदै

    जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्तामाथि प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ ।

    कुशवाहामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विहीबार ६२ जनालाई पक्राउ गरेकोमा १७ जनामाथि मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताए । १७ जनालाई हिरासतमा राख्न जिल्ला अदालत धनुषाबाट म्याद थपको अनुमति लिन लागिएको उनले बताए । बाँकी भने रिहा भइसकेका छन् ।

    प्रहरी स्रोतका अनुसार जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य संजयकुमार सिंह, सिरहा जिल्ला सदस्य सौदी मण्डल, दुर्योधन यादव, सिरहाकै सक्रिय सदस्य प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, धनुषा सबैला नगर संयोजक संजय प्रधानमाथि मुद्दा चलाइने भएको हो ।

    त्यस्तै धनुषा जिल्ला सदस्य धनिक लाल कापर, कैलाशप्रसाद साह, विक्रमकुमार साह, विद्यार्थी नेता महेशकुमार यादव, सिरहाका पार्टी सदस्य रामकरण यादव, दलित संघ सिरहाका सदस्य दिनेश रजक साफी, पार्टीका सिरहा कल्याणपुर नगरपालिकाका वडा सचिव अमनाथ साह, महोत्तरी बलवा नगरपालिका अध्यक्ष संजयकुमार साह र धनुषा विदेह नगरपालिका पार्टी वडा सदस्य सुन्दर मण्डल छन् ।

  • खानेपानी हाकिमलाई दुर्व्यवहार गर्ने कार्यकर्ता छाड्न दबाब दिँदै प्रहरीमा सीके राउतका कार्यकर्ताको धर्ना

    खानेपानी हाकिमलाई दुर्व्यवहार गर्ने कार्यकर्ता छाड्न दबाब दिँदै प्रहरीमा सीके राउतका कार्यकर्ताको धर्ना

    जनकपुरधाम । भ्रष्टाचार गरेको भन्दै खानेपानी कार्यालय प्रमुखलाई दुर्व्यवहार गर्ने कार्यकर्ता पक्राउ परेपछि उनीहरूलाई छुटाउन जनमत पार्टीका नेता/कार्यकर्ता प्रहरी कार्यालय परिसरमा धर्ना बसेका छन् ।

    जनकपुरधामको रामानन्द चोकस्थित खानेपानी तथा ढल निकास कार्यालयका हाकिम राजेश्वर कुशवाहालाई ढल योजनामा भ्रष्टाचार गरेको भन्दै सीके राउतका कार्यकर्ताले अर्धनग्न बनाइ हिलो दलेर दुर्व्यवहार गरेका थिए । सोक्रममा १० कार्यकर्ता पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिइएको हो ।

    तर, जनमत पार्टीले पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाई नछाडे धर्ना जारी राख्ने जनाएको छ । केन्द्रीय सचिव अनिता साहले कार्यकर्तालाई रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिइन् ।

    उनले भ्रष्टाचारी प्रमुख कुशवाहालाई दुर्व्यवहार होइन्, जनकारवाही गरेको जिकिर गरिन् । उनले भनिन्, ‘पहिले ज्ञापनपत्र बुझाएका थियौं, तर सुध्रेनन् भ्रष्टाचारी जुनसुकैलाई हामी जनकारवाही गर्छौं ।’

    प्रमुख कुशवाहालाई दुर्व्यवहार गर्ने १० जनालाई पक्राउ गरिएको भन्दै धनुषा प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले उनीहरूलाई कानूनबमोजिम कारबाही अगाडि बढाइएको बताए ।

  • चुनावको तयारी थाल्न कार्यकर्तालाई सीके राउतको निर्देशन

    चुनावको तयारी थाल्न कार्यकर्तालाई सीके राउतको निर्देशन

    जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले कात्तिक २६ र मंसीर ३ मा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीमा जुट्न नेता/कार्यकर्तालाइ निर्देशन दिएका छन् ।

    विज्ञप्तिमार्फत उनले सुरक्षित तरिकाले निर्वाचनलक्षित घरदैलो, प्रचार-प्रसार जस्ता कार्यक्रमलाई निरन्तरता दिन भनेका छन् । ‘पार्टीको विजय नै हाम्रो विजय हो भन्ने भावना आत्मसात् गरी निर्वाचनको तयारीमा लाग्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरूमा अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ ।

    जेष्ठ २२ मा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचनको तयारीमा जाने निर्णय भएको अध्यक्ष डा. राउतले जनाएका छन् ।

  • जनमत पार्टीको अध्यक्षमा सीके राउत चयन

    जनमत पार्टीको अध्यक्षमा सीके राउत चयन

    जनकपुरधाम । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत चयन भएका छन् ।

    पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा उनको एकल उम्मेदवारी परेपनि मतदान गराइएको थियो । ४४ सय ४० मत खसेकोमा डा. राउतले २३ सय २ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

    सातजना उपाध्यक्षमध्ये मोहम्मद अब्दुल खान, इन्जिनियर वसन्त कुशवाहा, इन्जिनियर दीपककुमार साह र इन्जिनियर नरेन्द्रप्रसाद चौधरीले मात्र उम्मेदवारी दिएका थिए । यद्यपि सो पदमा पनि मतदान गराइएको छ । चारैजना निर्वाचित भएका छन् ।

    महासचिवमा एकल उम्मेदवार बनेका चन्दनकुमार सिंह १५ सय ७३ मत ल्याएर निर्वाचित भएका छन् ।

    यस्तै केन्द्रीय सदस्य (खुल्ला समूह) तर्फ २३ जना निर्वाचित भएका छन् । महिला समूहतर्फ १५ जना चयन गर्नुपर्नेमा ८ जनाको मात्र उम्मेदवारी परेको थियो ।

    जनकपुरधामको बाह्रबिघा मैदानमा शनिबार प्रथम महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो । उद्घाटन सत्रकै क्रममा पदाधिकारी चयन गर्न भएको मतदानको अन्तिम परिणाम आइतबार राति सार्वजनिक गरिएको छ ।

  • सीके राउत नेतृत्वको जनमत पार्टीको महाधिवेशन चैत २८ मा

    सीके राउत नेतृत्वको जनमत पार्टीको महाधिवेशन चैत २८ मा

    जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले यही चैत २८ गते जनकपुरधामको बाह्रबिघा मैदानमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

    महाधिवेशनमा देशभरबाट ५ हजार प्रतिनिधि सहभागी हुने उक्त पार्टीले जनाएको छ । महाधिवेशनमा २५ हजार स्वयंमसेवक परिचालन हुने र विदेशका अतिथिहरु समेत सहभागी हुने बताइएको छ ।

    महाधिववेशनमा सहभागी हुने प्रतिनिधिले अनिवार्य रुपमा पार्टीको सदस्यता घाँटीमा झुण्ड्याएको हुनुपर्ने र स्वयंमसेवकले अनिवार्य एक हजार रुपैयाँ सहयोग गर्नुपर्ने निर्देशन दिइएको छ ।

    महाधिवेशनमा सहभागी हुनका लागि चैत १५ गतेभित्र वडा तथा पालिका अधिवेशनहरु सम्पन्न गरिसक्न पनि निर्देशन दिइएको छ । डा. राउतले जारी गरेको मार्गनिर्देशमा भनिएको छ, ‘चैत १५ गतेपश्चात प्राप्त हुने अधिवेशन प्रतिनिधिहरुको सूचीलाई महाधिवेशनमा समावेश गरिने छैन ।’

    महाधिवेशनका लागि सो पार्टीले आफ्नै सुरक्षा दस्ता पनि परिचालन गर्ने जनाएको छ ।

  • सीके राउतले भने- चुनावमा जान तयार छौं

    सीके राउतले भने- चुनावमा जान तयार छौं

    रुपन्देही । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले राउतले प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा रहेकोले त्यसप्रति अहिले केही नबोलेपनि संसद पुनःस्थापना नभए आफूहरू चुनावमा जान तयार रहेको बताएका छन् ।
    राउतले संसद विघटनलाई भने असामान्य घटनाको संज्ञा दिएका छन् ।

    आइतबार रुपन्देहीको भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै राउतले करिब दुई तिहाई बहुमतको सरकारले काम गर्न दिइएन भनेर संसद विघटन गर्नु कमजोरी भएको बताए ।

    राउतले नेपालमा अहिलेसम्म सबै व्यवस्था फेल हुँदै गएकाले जनता निराश भएको बताए । जनताले चुनावमा सहि व्यक्ति चयन गर्न नसक्दा व्यवस्था फेरिएपनि अवस्था नफेरिएको भन्दै अब हुने चुनावमा सहि व्यक्ति चुन्नुपर्ने उनको भनाइ थियो ।

    नागरिक समाजका नाममा हुने गरेका आन्दोलन र विरोध कार्यक्रममा पनि राजनीतिक रंग देखिएको राउतको आरोप छ ।

  • सीके राउतले भने– सर्पभन्दा विषालु मधेसी नेता फ्याँक्नुपर्छ, चुनावको तयारीमा लाग्नुस्

    सीके राउतले भने– सर्पभन्दा विषालु मधेसी नेता फ्याँक्नुपर्छ, चुनावको तयारीमा लाग्नुस्

    जनकपुर । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सर्पभन्दा विषालु बनेका मधेसी नेतालाई फ्याँक्नुपर्ने बताएका छन् । ‘मधेसी जनताले विषालु सर्प पाले,’ राउतले भने, ‘त्यस्तो सर्पले आफैंलाई डस्ने नै हो, डसिरहेका छन्, अब विषालु सर्परुपी मधेसी नेतालाई नष्ट गर्नुपर्छ ।’

    मधेस आन्दोलनको प्रथम सहिद रमेश महतोको सम्झनामा सिरहाको लहानमा आयोजित बलिदानी सभालाई सम्वोधन गर्दै डा. राउत मधेसी नेताहरुमाथि खनिएका हुन् । उनले जनताले जिताएर पठाए पनि मधेसी नेताले जनतालाई धोकाबाहेक केही दिन नसकेको आरोप लगाए ।

    उनले भने– सहिदको सपनासँग मधेसी नेताले खेलवाड गरेका छन् । सहिदलाई ५० लाख दिने भनेको कुरा पनि उनीहरुले पूरा गरेनन् ।

    डा. राउत अब हुने निर्वाचनको तयारीमा लाग्न पनि कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले भने– हामी अदालतको निर्णय पर्खेर बसेका छौं । निर्वाचन ३ महिनामा होस् वा ६ महिनामा । हुन्छ नै । त्यसैले अब निर्वाचनको तयारीमा सबै लागौं ।

    पहिलो मधेस आन्दोलनका क्रममा २०६३ माघ ५ गते लहानमा भएको आन्दोलनमा तत्कालीन माओवादी कार्यकर्ताले चलाएको गोली लागेर विद्यार्थी रमेश महतो सहिद भएका थिए ।