Tag: सावित्रा भण्डारी

  • बंगलादेशका प्रशिक्षक भन्छन्- सावित्रा भण्डारी टोलीमा नहुँदा डिफेन्डरलाई ‘रिलिफ’ हुन्छ

    बंगलादेशका प्रशिक्षक भन्छन्- सावित्रा भण्डारी टोलीमा नहुँदा डिफेन्डरलाई ‘रिलिफ’ हुन्छ

    काठमाडौं । बंगलादेशको राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक गोलाम रोबानी चोटोनले सावित्रा भण्डारी बिनाको नेपाली टोलीसँग खेल्दा डिफेन्डरलाई ‘रिलिफ’महसुस हुने बताएका छन् ।

    एएफसी वुमेन्स एसियन कपको तयारी स्वरुप बिहीबार हुने नेपालविरुद्धको मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मलेलनमा प्रशिक्षक चोटोनले आफ्नो टोली दबाब बिना मैदानमा उत्रिने बताए ।

    ‘सावित्रा भण्डारी दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड हुन्, उनी भोलिको खेलमा नहुनु दुःखद् कुरा हो,’ प्रशिक्षक चोटोनले भने, ‘तर, हाम्रा डिफेन्डरलाई नेपाली टोलीमा सावित्रा नहुँदा ‘रिलिफ’ महसुस हुनेछ ।’

    ‘फिफा डेटको उपयोग गर्दै मैत्रीपूणै खेल आयोजना गर्न लागेकोमा धन्यवाद,’ उनले भने, ‘कोरोना भाइरसका कारण विभिन्न रेस्ट्रिकसनका वावजुद पनि फुटबल आयोजना गर्न लागेकोमा धन्यवाद ।’

    एएफसी वुमेन्स एसियन कप छनोटको तयारीका लागि यी दुई खेल महत्त्वपूर्ण हुने उनले बताए ।

    ‘हाम्रो टोलीमा अहिले प्राय सबै खेलाडी उमेर समूहबाट आएका छन् । उमेर समूहबाट धेरै समयसँगै खेलका खेलाडी छन्,’ प्रशिक्षक चोटोनले भने, ‘लामो समयपछि खेल्न पाउँदा खेलाडी खुशी छन् । त्यसका लागि पनि तयारी गरिरहेका छन् । एएफसी वुमेन्स एसियन कप-२०२२ को छनोट खेल्न र छनोट हुनका लागि तयार छन् ।’

    उनले नेपालीले एकदमै धेरै फुटबल मन पराउने र भोलिको खेल प्रतिस्पर्धात्मक खेल हुने आशा व्यक्त गरे ।

    ‘नेपालीले एकदमै फुटबल मन पराउँछन् । भोलि र आइतबार हुने प्रतिस्पर्धात्म खेल हुने आशा गरेका छौं,’ उनले भने, ‘त्यसका लागि हामी तयार छौं । नेपाल बलियो टोली छ । राम्रो र प्रतिस्पर्धात्मक खेलको अपेक्षा गरिरहेका छौं ।’

    यस्तै, बंगलादेशकी कप्तान सविना खातुनले पनि नेपालको सामना गर्न आफ्नो टोली तयार रहेको बताइन् ।

    ‘हामी तयार छौं । छनोटका लागि तयार छौं । धेरै खेलाडी उमेर समूहबाट छन् । राम्रो तालमेल छ, प्रतिस्पर्धात्म खेल हुनेमा आशावादी छौं,’ उनले भनिन् ।

    नेपाली महिला टोलीले १० दिनपछि एएफसी वुमेन्स एसियन कप २०२२ को छनोट उज्वेकिस्तानमा खेल्दैछ । समूह एफमा परेको नेपालले २०२२ मा भारतमा हुने प्रतियोगितमा स्थान बनाउका लागि सेप्टेम्बर १८ मा फिलिपिन्स र २१ मा हङकङको सामना गर्नेछ ।

  • नेपाली महिला फुटबल टोलीमा सावित्रा भण्डारीकाे विकल्प को ?

    नेपाली महिला फुटबल टोलीमा सावित्रा भण्डारीकाे विकल्प को ?

    रमेश सुवेदी / काठमाडौं । ‘हामीसँग दक्षिण एसियाकै उत्कृष्ट फिनिसर तथा स्ट्राइकर छ । हामी त्यसको भरपूर सदुपयोग गर्छौं,’ विराटनगर सहिद रंगशालामा पाँचौँ संस्करणको महिला साफ च्याम्पियनसिप प्रतियोगिताअघि नेपाली महिला फुटबल टोलीका तत्कालीन मुख्य प्रशिक्षक हरि खड्काले भनेका थिए ।

    जब नेपालले अन्तर्राष्ट्रिय मैदानमा भाग लिन्छ, नेपाली टोलीको मुख्य हतियार नै सावित्रा भण्डारी ‘साम्बा’ हुने गर्छिन् । राष्ट्रले खेल्दा मात्रै हैन, क्लबस्तरमा पनि सावित्राको अग्रपंक्तिमा दबदबा देखिन्छ । त्यो चाहे नेपालभित्र होस् या बाहिर, सावित्रा दक्षिण एसियाकै उत्कृष्ट र परिचित स्ट्राइकर हुन् ।

    उनले नेपाली राष्ट्रिय टोलीबाट मात्रै हैन, क्लबस्तरमा विभागीय एपीएफ क्लब होस् या भारतीय हिरो महिला लिगमा सेथु एफसी तथा एफसी गोकुलम केरेलालाई लिगको उपाधि जिताउँदा तथा माल्दिभ्स पुलिसबाट लिग खेल्दा होस् । आफूलाई एक उत्कृष्ट स्ट्राइकर र फिनिसरको रूपमा पुष्टि गरेकी छन् ।

    सावित्राले गत फागुनमा राष्ट्रिय महिला लिग खेल्ने क्रममा घुँडाको चोट बोकिन् । त्यसयता उनी मैदान बाहिर छिन् । घुँडाको ‘एन्टेरियर क्रुसिएट लिगामेन्ट’ (एसिएल) इन्जुरीका कारण सावित्राको शल्यक्रिया गर्नुपर्ने भयो । नेपाल पुलिसविरुद्ध बल नियन्त्रणमा लिएर ‘ल्यान्ड’ हुने क्रममा घुँडाको चोट बोकेपछि सावित्राको सम्पूर्ण खर्च अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेहोरिरहेको छ । एन्फाले कतार फुटबल एसोसिएसनको सहयोगमा विश्व प्रसिद्ध ‘अस्पेटार’ अस्पतालमा शल्यक्रिया गरिसकेको छ ।

    शल्यक्रियासँगै विस्तारै हिँडिरहेकी सावित्रा विस्तारै फर्कने प्रयासमा छिन् । अझै कति समय बाहिर बस्छिन्, त्यसको टुङ्गो छैन ।

    सावित्राको चोटकै दौरान नेपालले भारतमा हुने सन् २०२२ एएफसी महिला कपको छनोट खेल खेल्दैछ । छनोटमा नेपाल समूह ‘एफ’ मा छ । समूहमा नेपालसहित फिलिपिन्स र हङकङ छन् । समूहको खेल नेपालमा हुने भनिए पनि कोरोनाका कारण उज्वेकिस्तानमा सरेको छ । नेपालले सेप्टेम्बर १८ मा फिलिपिन्स तथा सेप्टेम्बर २१ मा हङकङको सामना गर्नेछ ।

    नेपालको तुलनामा फिलिपिन्स र हङकङ दुबै माथिल्लास्तरका हुन् । महिला बरीयताकै कुरा गर्ने हो भने फिलिपिन्स ६८ औं स्थानमा छ भने हङकङ ७६ स्थानमा । नेपाल भने १०१ स्थानमा छ ।

    नेपालले एएफसी कप छनोटअघि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालमै हुने तय भएको मैत्रीपूर्ण भदौ २४ र २७ गते आयोजना हुनेछ ।

    यीनै खेलका लागि अहिले नेपाली टोलीमा सावित्रा भण्डारीको खोजी छ । महिला फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान राखेकी सावित्राको अभावमा प्रशिक्षक ग्यारी फिलिप्स कम्तीमा नयाँ सावित्रा खोज्दैछन् । त्यो दौड, त्यो खालको फिनिसिङ, त्यो शारीरिक हाउभाउ नपाए पनि नेपाली महिला फुटबलका लागि पहिलो विदेशी प्रशिक्षक बनेका ग्यारी कम्तीमा एउटा राम्रो फिनिसर तथा स्ट्राइकरको खोजीमा छन् ।

    राष्ट्रिय महिला लिगबाट उत्कृष्ट प्रदर्शन गरेका ४५ खेलाडीबाट हाल अन्तिम २३ खेलाडीसम्म आइपुग्दा प्रशिक्षक अहिले नै साम्बाको विकल्प यही हो भनेर भन्ने अवस्थामा छैनन् । तर ग्यारीले साम्बाको विकल्पको रूपमा पाकिस्तानी लिग खेलेका सरु लिम्बू र अनिता केसी तथा उमेर समूहका रश्मि घिसिङ र युवा खेलाडी प्रीति राईलाई अग्रपंक्तिमा राखेर परीक्षण गरिरहेका छन् ।

    ‘हामीले प्रतियागितामा साम्बालाई गुमाउनेछौं । साँच्चै टेक्निकल टिम क्वालिटी प्लेयर साम्बाको ‘रिप्लेस’ खोजिरहेको छ । पक्कै पनि च्यालेन्ज छ । हामी यात्रासम्म त्यसलाई भेटाउँछौं,’ अष्ट्रेलियन नागरिक ग्यारीले अभ्यास सत्रअघि भने, ‘तर नयाँ खेलाडी यू-१९ टिमबाट आएका छन् । उनीहरू राम्रा छन् । हामीले प्रत्येक दिन सुधार गरेका छौं । भ्रमणअघि हामी राम्रो टिम बनाउँछौं । हामीलाई यो राम्रो अवसर छ ।’

    प्रशिक्षक ग्यारीले सावित्राको अभावमा खेलाडीलाई मानसिक रुपमा तयार पारेको र केही अन्तर्राष्ट्रिय खेल खेलिसकेका त केही उमेर समूहको खेल खेलिसकेको खेलाडीले सावित्राको स्थान लिने बताए ।

    ‘हामीसँग धेरै खेलाडी छन्, जो साम्बालाई ‘रिप्लेस’ गर्न सक्छन् । सबै खेलाडीलाई मानसिक रूपमा तयार पारिएको छ । प्रीति, रश्मि छन्, पाकिस्तानबाट लिग खेलेर आएका सरु र केसी पनि छन् । उनीहरूले अन्तर्राष्ट्रिय खेल पनि खेलेका छन्,’ एन्फा टेक्निकल डाइरेक्टरसमेत रहेका ग्यारीले भने । यस्तै प्रशिक्षक ग्यारीले सहभागी खेलाडीबाटै एसिया कपमा राम्रो नतिजा ल्याउने विश्वास दिलाए ।

    यता, टोली कप्तान रेणुका नगरकोटीसमेत टोलीमा सावित्राको अभावमा खेल्ने खेलाडीको परीक्षण भइरहेको र नयाँ खेलाडीले सावित्राको अभाव हुन नदिने विश्वास राखिन् । ‘साम्बाको विकल्प अहिले नै भन्न सकिँदैन । प्रशिक्षकले सबैलाई परीक्षण गराइरहनु भएको छ । यसैले सावित्राको स्थान लिन्छ भन्ने छैन । सबैजना अहिलेको अभ्यासमा बराबरी नै छन् । सावित्रा छैन भनेर एकदमै निराश हुनुपर्ने ठाउँ छैन । नयाँ बहिनीहरू राम्रो छन् । अझ सबैजना युवा छन् । उमेर समूहमा सबैले खेलेका छन् । त्यसैले निराश हुनु पर्दैन,’ कप्तान रेणुका भन्छिन् ।

    कप्तान रेणुका यसअघि नेपाली टिम नभए पनि आफूहरूले एपीएफ क्लबबाट खेल्दा हङकङलाई पराजित गरेको र राष्ट्रिय टोलीले हङकङलाई हराउन खेल्ने बताउँछिन् । यस्तै उनले विपक्षीलाई कमजोर ठान्नु गलत हुने बताउँदै छनोट हुन खेल्ने बताइन् ।

    ‘छनोटको ‘चान्स’ त अहिलेनै भन्ने अवस्था आएन । विदेशीलाई कहिल्यै कमजोर ठान्नु भएन । हङकङसँग त हामीले पहिल्यै पनि खेलेका छौं । राष्ट्रिय टिमबाट खेलेनौं, हामी एपीएफ टिमबाट खेलेका थियौ । पहिलेको भन्दा राम्रो भयो होला, तर हामी हार चाहिँ मान्दैनौं,’ रेणुकाले भनिन् ।

    यसअघि एपीएफ टोलीले हङकङलाई उसैको मैदानमा ३-१ गोल अन्तरले पराजित गरेको थियो । सो खेलमा एपीएफका लागि सावित्राले दुई गोल गर्दा मन्जलीकुमारी योञ्जनले एक गोल गरेकी थिइन् ।

    यता, राष्ट्रिय टोलीकी सदस्य सरु लिम्बू अभ्यास सत्रमा सावित्राको अट्याकिङ भूमिकामा आफू खेलिरहेको र जुनसुकै ड्युटी पाए पनि सतप्रतिशत दिएर खेल्न प्रयास हुने बताउँछिन् ।

    ‘मेरो रोल अट्याकिङमै छ । अहिलेसम्म हामीले सेट (प्लेइङ सेट) छुटाएको छैन । अब, के हुन्छ थाहा छैन । जुन ‘ड्युटी’ भए पनि मैले आफ्नो ठाउँबाट पूरा गर्नेछु । सावित्रा दिदी नहुँदा हामीलाई गाह्रो त भइरहेको छ । तर पनि हामी साम्बा दिदीको कमी नहुन दिन सतप्रतिशत दिएर प्रयास गर्नेछौं,’ नेपाल यू–१९ टोलीको कप्तानीसमेत गरेकी सरुले भनिन् ।

    नेपाली टिम

    गोलरक्षक : अञ्जना राना मगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ

    डिफेन्डर : अमृता जैशी, विमल विक, गीता राई, हीराकुमारी भुजेल, निशा थोकर, पूजा राना, पुनम जर्घा मगर, सृजनासिंह ठकुरी, इन्दिरा राई

    मिडफिल्डर : अनिता बस्नेत, दीपा राई, मञ्जलीकुमारी योञ्जन, रेणुका नगरकोटी, सविता राना मगर, विमला चौधरी, प्रीति राई

    स्ट्राइकर : अनिता केसी, रश्मि घिरिङ, सरु लिम्बू, रजनी थोकर

    -न्युज कारखानाबाट
  • राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी बोलाइयो

    राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा ४५ खेलाडी बोलाइयो

    काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । फिलिप्सले २०२२ एएफसी वुमेन्स एसियन कपको छनोटका लागि १८ जुलाईबाट प्रशिक्षण सुरु गर्ने तयारी गरेका छन् ।

    नेपालले छनोट चरणमा समूह एफमै रहेका फिलिपिन्स र हङकङसँग खेल्ने छ । छनोट सेप्टेम्बरदेखि १३ देखि २५ सम्म चल्ने छ ।

    ४५ खेलाडीहरू

    अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ, सावित्री किसन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, अनिता केसी, गिता राना, अन्जली योन्जन, प्रीती राई, निषा थोकर, सृजना चेम्जोङ, हिरा कुमारी भूजेल, रबिना गोले, सुष्मा तामाङ, पुनम जर्घा मगर, कबिता धिमाल, सुनिता चौधरी, बिमला बिक, दिपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा, इन्दिरा राई, विमला चौधरी, अम्रिता जैसी, घिमकुमारी गुरुङ, सिर्जना खड्का, निर्मला बिक, मनिषा राउत, पुजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दीपा न्यौपाने, सिवानी कुस्वार, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सृजना सिंह, सबिता राना, रजनी थोकर, सलोनी राना मगर, चुम्लुङ्मा राई ।

    नेपाली राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता तथा नियमित फरवार्ड सावित्रा भण्डारी चोटका कारण अहिले कतारमा छिन् । र, उनी केही समय ट्रेनिङका लागि उपलब्ध हुने छैनन् ।

  • सावित्रा भण्डारी महिला लिगमा उत्कृष्ट फरवार्ड

    सावित्रा भण्डारी महिला लिगमा उत्कृष्ट फरवार्ड

    काठमाडौं । राष्ट्रिय महिला लिगको उत्कृष्ट फरवार्ड नेपाल पुलिस क्बलकी सावित्रा भण्डारी बनेकी छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा पहिलो पटक डबल लिग पद्धतिमा सम्पन्न भएको लिगमा सावित्राले १० खेल खेल्दै ४३ गोल गरेकी थिइन् ।

    दशौं खेलमा घाइते भएकी सावित्राले अन्तिमका दुई खेल गुमाएकी थिइन् भने एक वर्ष मैदान बाहिर रहने भएकी छन् ।

    राष्ट्रिय महिला टोलीकी सर्वकालिन सर्वाधिक गोलकर्तासमेत रहेकी सावित्राले चौदण्डिगढी नगरपालिकाविरुद्ध एपिएपले २२ गोल गर्दा एक्लै १२ गोल गरेकी थिइन् ।

    सावित्राले कोरोनालाई जितेर फुटबलमा फर्किन पाउँदा खुशी भएको प्रतिक्रिया दिइन् । ‘पहिले १०-१२ दिनमा लिग सकिन्थ्यो, बाहिरका टोलीहरूको मोरल डाउन भइहाल्थ्यो,’ उनले भनिन्, ‘यस पटक डबल लिग भएकाले विभागीयबाहेकका टोलीले पनि पुनरागमन गरे । अन्तिम समयसम्म राम्रो खेल्न थालेका थिए ।’

    ‘विभागीय टोलीसँगै अन्य टोलीले पनि सुधार गरिरहेका छन्,’ उनले भनिन्, ‘एउटा खेलमा बाहेक, गत वर्षभन्दा कम गोल भएको देखियो । अर्को वर्ष अझै कम हुने र विभागीय टोली पनि अन्य टोलीसँग डराउने समय आउन सक्छ ।’

    सावित्राले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन् ।

     

  • राष्ट्रिय महिला लिग: च्याम्पियन एपिएफको सतप्रतिशत जित

    राष्ट्रिय महिला लिग: च्याम्पियन एपिएफको सतप्रतिशत जित

    काठमाडौं । राष्ट्रिय महिला लिगका दुई खेल बाँकी रहँदै च्याम्पियन बनेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कूल १२ खेलमा सतप्रतिशत नतिजा कायम राखेको छ । शुक्रबार भएको लिगको अन्तिम खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ३-० को नतिजामा पराजित गर्दै एपिएफले लिगको सुखद् समापन गर्‍यो ।

    शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ४५औं मिनेटमा एपिएफकी मिडफिल्डर सरु लिम्बुले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा थप आक्रामक बनेको एपिएफका लागि फरवार्ड अनिता केसीले ८६औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारेकी थिइन् ।

    खेलको इन्जुरी समयमा सरुले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको सहज जित सुनिश्चित गरिन् ।

    स्टार खेलाडी सावित्रा भण्डारी दशौं खेलमा घाइते भएपछि एपिएफले अन्तिमका दुई खेल उनी बिना खेलेको थियो

    सत प्रतिशत जितसँगै एपिएफले १२ खेलमा अंक जोडेको थियो भने दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबले २६ तथा तेस्रो स्थानको पुलिसले १८ अंक जोडेका थिए ।

    जारी प्रतियोगितामा एपिएफले एपिएफविरुद्धको खेलमा एकमात्र गोल खाएको थियो ।

    दोस्रो स्थानको त्रिभुवन आर्मी नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएसँगै दुई खेलअघि नै एपिएफ च्याम्प्यिन बन्ने निश्चित भएको थियो । लिगमा एकतर्फी नजिता निकाल्दै च्याम्पियन बनेको एपिएफ क्लबले १५ लाख रूपैयाँ प्राप्त गरेको छ ।

    त्यस्तै, दोस्रो भएको त्रिभुवन आर्मी क्लबले ८ लाख तथा तेस्रो भएको नेपाल पुलिस क्लबले ५ लाख रूपैयाँ प्राप्त गरेको छ । फेयर प्ले टीमले थप १ लाख ५० हजार प्राप्त गर्ने आयोजकले बताएको छ । लिगमा सहभागी हुने सबै टोलीले १ लाख रूपैयाँ तयारी खर्च र ५० हजार रूपैयाँ कोरोना राहत प्राप्त गर्नेछन् ।

    लिगकी सर्वोत्कृष्ट घोषित हुने खेलाडीले स्कुटर तथा उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले ५० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

  • एकै खेलमा सावित्राले गरिन् १२ गोल

    एकै खेलमा सावित्राले गरिन् १२ गोल

    काठमाडौं । महिला फुटबलमा दुर्लभ कीर्तिमान राख्दै स्ट्राइकर सावित्रा भण्डारीले एकै खेलमा १२ गोल गरेकी छन् । काठमाडौंमा जारी महिला राष्ट्रिय लिगमा उनले एपीएफबाट खेल्दै चौदन्डी नगरपालिकाविरुद्ध गोल वर्षा गरेकी हुन् ।

    एपीएफले चौदन्डीविरुद्ध २२-० को जित हात पारेको छ । एपीएफबाट अनु लामा र अनिता बस्नेतले पनि ह्याट्रिक गरेका थिए ।

    एन्फा कम्प्लेम्समा भएको एकपक्षीय खेलमा कप्तान अनु लामाले ५ गोल र अनिता बस्नेतले तीन गोल गरे । यस्तै सरु लिम्बु र रेनुका नगरकोटीले समान १ गोल गरेका थिए । पहिलो हाफमा एपीएफले १२-० को अग्रता लिएका थियो भने दोस्रो हाफमा १० गोल थपेको थियो ।

    सावित्राले पाँचौ मिनेटमा गोलको खाता खोलेकी थिइन् । त्यसपछि उनले एक-एक मिनेटको अन्तरमा लगातार तीन गोल गरिन् । ३२ औं, ३३ औं र ३४ औ मिनेटमा उनले लगातार गोल गरेकी थिइन् ।

    मध्यान्तरअघि ३८ औं मिनेटमा गोल गर्दै उनले व्यक्तिगत गोलसंख्या पाँच पुर्‍याइन् । मध्यान्तरपछि पनि सावित्राको गति थामिएन । मध्यान्तरपछिको दोस्रो मिनेटमा नै डबल ह्याट्रिक पूरा गरेकी उनले ५५ औं,६२ औं, ६३ औं, ७२ औं, ७९ औं र इन्जुरी टाइममा गोल गरिन् ।

  • महिला लिगको स्तरोन्नति भएको पाएँ- सावित्रा भण्डारी

    महिला लिगको स्तरोन्नति भएको पाएँ- सावित्रा भण्डारी

    काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारीले घरेलु फुटबलमा पनि राज गरिरहेकी छन् ।

    बुधबारदेखि काठमाडौंमा सुरु भएको राष्ट्रिय महिला लिग अन्तर्गत बिहीबार भएको खेलमा ह्याट्रिक गरेकी सावित्राले पुनः गोल स्कोरिङ फर्ममा फर्किएर जित हासिल गर्दा खुशी लागेको बताएकी छन् ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा चन्द्रपुर नगरपालिकाविरुद्ध सावित्राले १४औं, ६२औं र ७२औं मिनेटमा गोल गरेकी थिइन् । ‘चन्द्रपुर जस्तो राम्रो टोलीविरुद्ध गोल गरेर जित निकाल्न पाउँदा खुशी लागेको छ,’ २३ वर्षीया स्टार सावित्राले भनिनन्, ‘प्रतिस्पर्धात्मक खेलमा फर्किन पाउँदा खुशी लागेको छ ।’

    विगतको तुलनामा प्रतियोगिताको स्तरसमेत उन्नति भएको उनले बताइन् ।

    सावित्राको ह्याट्रिकप्रेरित एपिएफले चन्द्रपुरलाई ६-० ले पराजित गरेको थियो । उक्त खेलमा ‘प्लेयर अफ दी म्याच’ घोषित भएकी सावित्रा प्लेयर अफ दी टुर्नामेन्टकी पनि दाबेदार हुन् ।

    बिहीबारको जितामा एपिएफका लागि सावित्रासँगै अनिता बस्नेत, अन्जली योन्जन र प्रिती राईले १-१ गोल गरेका थिए । साविक विजेता समेत रहेको एपिएफले आफ्नो दोस्रो खेलमा शनिबार विराटननगर महानगरपालिकाको सामना गर्दैछ । विराटनगर आज भएको खेलमा वालिङ नगरपालिकासँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।