Tag: सामूहिक हत्या

  • साझेदारी हत्या आरोपी तीनजना सार्वजनिक

    साझेदारी हत्या आरोपी तीनजना सार्वजनिक

    काठमाडौं । आर्थिक कारोबारमा विवाद भएपछि तीनजनाको हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या गरी गाडेको आरोप लागेका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

    मोरङ जिल्ला प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा सिरहाको सिरहा नगरपालिका- २१ निवासी ३१ वर्षीय अनिलकुमार मण्डल, मोरङको जहदा गाउँपालिका- ४ बस्ने दिनानाथ सोनार र धनपालथान गाउँपालिकाका बस्ने नजिर आलम छन् ।

    अनिलको योजनामा ४८ वर्षीय राजेन्द्र श्रेष्ठ, ३२ वर्षीय  शम्भु चौधरी र मोहन लिम्बुको हत्या भएको प्रहरीको दाबी छ।

    श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथाम गाउँपालिका- ७ मा भेटिएको थियो । उखुबारीमा गाडिएको अवस्थामा माघ १३ र १४ गते उत्खनन् भएको थियो। बेपत्ता रहेका ६२ वर्षीय लिम्बुको बिहीबार ललितपुर महानगरपालिका- १२ ठेँचोमा गाडिएको अवस्थाको शव उत्खनन् भएको हो।

    प्रहरीका अनुसार सुरूमा लिम्बु र त्यसपछि श्रेष्ठ र चौधरीको हत्या भएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा अनिलले लिम्बुको गत मंसिर २८ गते हत्या गरेर गाडेको बयान दिएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले बताए।

    अनुसन्धानका क्रममा श्रेष्ठ, चौधरी र मण्डल मंसिर २९ गते सँगसँगै विराटनगर पुगेको खुलेको थियो ।

    अनिलको जग्गा प्लटिङदेखि हाइड्रोसम्ममा लगानी रहेको पाइएको छ। ‘आर्थिक व्यवहारमा समस्या भएपछि उनीहरुको हत्या भएको देखिन्छ’, अनुसन्धान अधिकारी भन्छन्। एसपी जिसीले घटनामा संलग्न अन्यबारे अनुसन्धान भइरहेको बताए।

  • संखुवासभा हत्याकाण्डः परिवारका ६ जना मारिएको थाहै पाएनन् ९० वर्षीय वृद्धले

    संखुवासभा हत्याकाण्डः परिवारका ६ जना मारिएको थाहै पाएनन् ९० वर्षीय वृद्धले

    काठमाडौं । ९० वर्षीय बौद्धमान कार्की न राम्ररी कान सुन्छन्, न आँखा देख्छन् । बिरामी र वृद्धावस्थाले ओछ्यानमा थला परेका यी वयोवृद्धले अब आफ्नो बाँकी जीवन एक्लै काट्नुपर्ने छ ।

    संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्या गरिँदा बौद्धमान मात्रै जिवित रहे । उनी भाग्यले बाँचेका हुन् वा हत्याराले उनलाई छोडिदिएका हुन् भन्ने प्रहरी अनुसन्धानबाट खुल्नेछ । प्रारम्भिक बयानमा उनले आफूले केही थाहा नपाएको बताएका छन् । हत्याकाण्ड हुँदा उनी घरमै थिए ।

    हत्याराहरूले ७ वर्षकी बालिकादेखि ८४ वर्षकी वृद्धासम्मलाई छोडेनन् । बौद्धमानकी पत्नी ८४ वर्षिया पार्वती कार्की र उनीहरुकी ७ वर्षिया नातिनी गोमा कार्कीको हत्या भएको छ । अन्य मृतकहरूमा ५२ बर्षीय तेजबहादुर कार्की र श्रीमती ५२ बर्षीया कमला कार्की, ३२ बर्षीया रञ्जना कार्की र ११ बर्षिय दिपेन कार्की रहेका छन् ।

    तेजको दुई छोरा विदेशमा छन् । जेठो छोरा रमेश मलेसियामा छन् भने कान्छो नरेश दुबईमा छन् । रमेशको श्रीमती रञ्जना र छोराछोरी  गाेमा र  दिपेनकै हत्या भएको छ ।

    प्रत्यक्षदर्शीहरुका अनुसार यो हत्याकाण्ड निकै रहस्यमय देखिएको छ । घटना कहिले र कतिबेला भएको हो भन्ने पनि एकिन हुन सकेको छैन । छिमेकीहरुले आज बिहान ९ बजेमात्रै थाहा पाएका थिए । ६ जनाको शव यततत्र छरिएको अवस्थामा भेटिएको छ ।

    घटनास्थलको प्रकृति हेर्दा राति गराइएको जस्तो नदेखिएको मादी नगरपालिका १ का वडाअध्यक्ष खेमनाथ कटुवालले नेपाल प्रेसलाई बताए ।

    उनले भने, ‘शवको प्रकृति तथा लुगा–जुत्ताहरूको अवस्था हेर्दा राति भएको देखिदैन । लखेटेर हत्या गरिएकोजस्तो देखिन्छ ।’

    घटनाको विषयमा छिमेकीले वडाध्यक्षलाई र वडाध्यक्षले प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालयबाट आएको प्रहरी निरीक्षकसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

    ६ जनामध्ये ४ जनाको शव छुट्टाछुट्टै ठाउँमा भेटिएको थियो । ५२ वर्षीया कमला कार्की र ३२ वर्षीया रञ्जना कार्कीको शव घर छेउको खोल्सामा भेटिएको छ भने छोरा तेजकुमार कार्कीको शव सडकमा भेटिएको छ । २ जना नातिनातिनी दिपेन र गोमाको शव घरमाथि खरबारीमा भेटिएको छ । ८४ वर्षीया पार्वतीको शव घरभित्रै थियो ।

    दुई सय मिटर घर भएका छिमेकीहरुले पनि घटनाबारे केही थाहा नपाएको बताएका छन् । वृद्धले कसैसँग आफूहरूको कुनै रिसइबी नभएको बताएका छन् । वडाध्यक्ष कटुवालले पनि सो परिवारको कसैसँग झगडा भएको आफूले थाहा नपाएको बताए । कटुवालका अनुसार उनीहरु खेतिकिसानी गर्ने सामान्य परिवार हुन् ।

    घटनाको छानविनका लागि तालिमप्राप्त कुकुरसहित प्रहरी उच्च अधिकारीको टोली पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

  • संखुवासभा मादी घटना : हत्या गरिएकामा ७ वर्षीया बालिकादेखि ८४ वर्षीया वृद्धासम्म

    संखुवासभा । संखुवासभाको मादी नगरपालिका-१ उम्लिङमा हत्या गरिएका एकै परिवारका ६ जनामा ८४ वर्षीया वृद्धादेखि ७ वर्षीया नातिनीसम्म छन् ।

    प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार आज बिहान १० बजे उनीहरू मृत भेटिएका हुन् । एकाघरका उनीहरूको विभत्स ढंगले हत्या गरिएको चैनपुर इलाका प्रहरी कार्यालय संचार शाखाले जनाएको छ ।

    प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईका अनुसार मृत भेटिएकाहरूमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षिय दिपेन कार्की र ७ वर्षीया गोमा कार्की छन् ।

    इलाका प्रहरी कार्यालय चैनपुरबाट ५५ किलोमिटर पूर्व रहेको सो घटनास्थलमा प्रहरी टोली पुगी अनुसन्धान शुरू गरिएको बताइएको छ ।