Tag: सम्मान

  • छोरी–बुहारी पढाउने सासु र आमालाई क्याम्पसको सम्मान

    छोरी–बुहारी पढाउने सासु र आमालाई क्याम्पसको सम्मान

    खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पास्थित रावा क्याम्पस खार्पाले बुहारी र छोरी पढाउने सासु र आमालाई सम्मान गरेको छ । बुहारी पूजा गिरीलाई क्याम्पस पढाउने हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी देबीमायाँ पुरी र छोरी रञ्जना श्रेष्ठलाई पढाउने खार्पाकी बिष्णुकुमारी श्रेष्ठलाई सम्मान गरिएको हो ।

    बुहारी र छोरीलाई उच्च शिक्षा दिलाउन लागिपरेकी सासु र आमालाई क्याम्पसको १४ औं वार्षिकोत्सवको अवसरमा सोमबार जनही १ हजार ५०० सहित सम्मान–पत्र प्रदान गरिएको छ । बुहारी पूजा रावा क्याम्पस खार्पामा बिएड तेश्रो वर्ष र छोरी रञ्जना बिएड दोश्रो वर्षमा अध्ययनरत छिन् ।

    अझै पनि हाम्रो समाजमा उच्च शिक्षाका लागि छोरालाई मात्र प्राथमिकता दिने प्रचलन छ । विद्यालय वा क्याम्पस तहमा पढिरहेकी छात्राको अध्ययन उसको विहेसँगै रोकिन्छ । तर, बुहारी र छोरीलाई उच्च शिक्षा दिलाउनका लागि दिलोज्यान दिएकी सासु र आमालाई प्रोत्साहन स्वरुप सम्मान गरिएको रावा क्याम्पस खार्पाका प्रमुख दिपक पोखरेलले बताए । बुहारी पढाउने देवीमाया र छोरीलाई क्याम्पस तह पढाउने विष्णुकुमारीले समाजमा ‘बुहारी र छोरीलाई पनि उच्च शिक्षाका लागि साथ दिनुपर्ने’ सन्देश दिएको क्याम्पसले जनाएको छ ।

    क्याम्पसको वार्षिकोत्सवको अवसरमा कृषि अर्गानिक खेती चुनौतीको विषयमा मावि स्तरीय वक्तृत्वकला, पुरुष हन्डिफोर, महिला फुक्की बल लगायतका प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको थियो ।

  • पत्रकार लुइटेलले पाएको सम्मान सोलु एफएमको पुन:निर्माणमा

    पत्रकार लुइटेलले पाएको सम्मान सोलु एफएमको पुन:निर्माणमा

    विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश १ समितिका अध्यक्ष विक्रम लुइटेलले आफूले पाएको सम्मान रकम सोलु एफएमलाई सहयोग गरेका छन् ।

    केही समयअघि आगलागीबाट क्षति पुगेको प्रदेश १ कै पहिलो सामुदायिक रेडियोको पुन:निर्माणमा सहयोग पुगोस् भनेर पत्रकार लुइटेलले सम्मान रकम सहयोगको घोषणा गरेका हुन् ।

    दु:खको साथी नेपालले पत्रकारिताबाट समाजमा पुर्‍याएको योगदानको कदरस्वरूप लुइटेललाई ११ हजार रूपैयाँसहित सम्मान गरेको थियो ।

    संस्थाले पहिलो वार्षिकोत्सवको अवसरमा पाँचजना पत्रकारलाई सम्मान गरेको थियो । क्यान्सरपीडित पत्रकार कमल पौडेललाई संस्थाले २५ हजार सहयोग गरेको छ ।

  • एसिडपीडित साहलाई प्रदेश सरकारको सम्मान

    एसिडपीडित साहलाई प्रदेश सरकारको सम्मान

    जनकपुरधाम । नारी दिवसको अवसरमा प्रदेश २ सरकारले जनकपुरकी एसिड पीडित आरती साहलाई सम्मान गरेको छ ।

    प्रदेश सरकारले नारी दिवसको अवसरमा मधेस भवनमा आयोजना गरेको छात्राहरुलाई साइकल वितरण समारोहमा मुख्यमन्त्री लालबाबु राउतले एसिड पीडित साहलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

    प्रदेश सरकारले उनलाई मुख्यन्यायधिवक्ताको कार्यालयमा करारमा सहयोगीको जागिर समेत दिने घोषणा गरेको छ ।
    उक्त समारोहमा मुख्यमन्त्री बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत कक्षा ८ मा अध्ययनरत १५ सय १४ छात्रालाई साइकल वितरण गरिदैछ ।
    यस्तै मुख्यमन्त्री राउतले शुभकामना सन्देश जारी गरेर नारी दिवसको अवसरमा सम्पूर्ण महिलाहरुको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

    बदलिदो परिस्थितिमा महिलाहरुले पाउँदै गएको सफलतालाई संस्थागत गर्दै अगामी दिनमा समेत महिलाहरुको सशक्तिकरण, रोजगारी र शिक्षामा विशेष प्राथमिकतालगायतको क्षेत्रमा प्रदेश सरकार शुरु गरेको अभियानमा प्रतिवद्ध रहेको मुख्यमन्त्रीद्वारा जारी सन्देशमा उल्लेख छ ।

  • प्रेस युनियन काठमाडौंले पूर्वअध्यक्षहरूलाई सम्मान गर्ने

    प्रेस युनियन काठमाडौंले पूर्वअध्यक्षहरूलाई सम्मान गर्ने

    काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले पूर्वअध्यक्षहरूलाई सम्मान गर्ने भएको छ । शाखाको मंगलबारको बैठकले प्रेस युनियनको संगठन सुदृढीकरण, पत्रकारितामार्फत लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्द्धन र व्यावसायिक पत्रकारितामार्फत समाजमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गर्ने निर्णय गरेको हो ।

    सम्मानित हुने पूर्वअध्यक्षहरूमा स्व.भरत भूर्तेल, गोकर्ण अर्याल, शिव लम्साल, लीलाराज खनाल, नारायण अर्याल, सुरेन्द्रप्रसाद पाण्डे र नकुल अर्याल छन् ।

    त्यस्तै युनियनको नवौं महाधिवेशन काठमाडौंमा आयोजना गर्न शाखाले प्रस्ताव गरेको छ । आगामी जेठ १३ र १४ गतेका लागि तय गरिएको महाधिवेशन काठमाडौंमा आयोजना गर्न उपयुक्त हुने भएकोले आतिथ्यताको अवसर प्रदान गर्न काठमाडौं शाखाले प्रस्ताव गरेको अध्यक्ष जगन्नाथ दुलालले जानकारी दिए ।

    बैठकले प्रजातन्त्र दिवसको सन्दर्भमा संविधान कार्यान्वयनका समस्या र प्रेसको भूमिका विषयक अन्तरक्रिया गर्ने, पत्रकार महासंघको महाधिवेशनको तयारी थाल्ने तथा श्रमजीवी पत्रकारहरूको हितमा क्रियाशील रहने निर्णयसमेत गरेको छ ।

  • एकै परिवारका चारभन्दा बढी सन्तान सैनिक सेवामा हुनेलाई सम्मान गरिँदै

    एकै परिवारका चारभन्दा बढी सन्तान सैनिक सेवामा हुनेलाई सम्मान गरिँदै

    काठमाडौं । नेपाली सेनाले पश्चिम पृतना मातहतका जिल्लाका चारभन्दा बढी सन्तान सेनामा भर्ती हुने परिवारलाई सम्मान गर्दैछ । भूतपूर्व सैनिक सम्मेलनका अवसरमा आगामी बुधबार सेनाले उनीहरुलाई सम्मान गर्न लागेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।

    उक्त क्षेत्रमा एकै परिवारका चार जना सेनामा भर्ना हुने परिवार सङ्ख्या नौ छ भने पाँच सन्तान सैनिक सेवामा रहेको परिवार सङ्ख्या दुई छ ।

    गोर्खा घैरुङ–५ का जनककुमार पुडासैनी र पोखराका पार्वती साखीका पाँच–पाँच सन्तती सैनिक सेवामा छन् । यसअघि सम्पन्न सम्मेलनमा पनि एकै परिवारका चारभन्दा बढी सैनिक सेवामा रहने १७ परिवारलाई सेनाले सम्मान गरिसकेको छ ।

    सेनाको कल्याणकारी कोषबाट सुविधा प्राप्त गर्ने उक्त क्षेत्रका १०१ वर्षीया एकल महिला गोरखा नगरपालिका–४ खड्गकुमारी ओली र बागलुङ नगरपालिका–९ का ९६ वर्षीय मनिराज थापा सबैभन्दा ज्येष्ठ छन् । उक्त सम्मेलनमा सहभागी हुन ६ हजार ४९४ ले नाम दर्ता गराइसकेको सेनाले जनाएको छ ।

    गण्डकी प्रदेश मुलुककै सबैभन्दा बढी भूपू सैनिक रहेको क्षेत्र हो । पछिल्ला वर्षमा सेनाले प्रत्येक प्रधानसेनापतिको कार्यकालमा प्रदेशगतरूपमा एक पटक भूपू सैनिक सम्मेलन गर्दै आएको छ ।

    सम्मेलनका क्रममा हिताधिकारीले दिएका रायसुझावका आधारमा सेनाले उनीहरुको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, सीप र स्वारोजगार, सुविधा र सहुलियतका कार्यक्रमलाई सञ्चालन गर्दै आएको छ ।

    मुलुकको पश्चिम क्षेत्र हुँदै अघि बढिरहेको भूपू सम्मेलन गत वर्षको फागुनमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेसँगै स्थगित भएकामा पुनः बुधबार पोखराबाट शुरु हुँदैछ ।

    यस पटकको मुख्य शिविर पश्चिम पृतनामा हुनेछ भने हिताधिकारीको सुविधालाई ध्यानमा राखी मातहतका जिल्लामा सहायक शिविर सञ्चालन हुने प्रवक्ता पौडेलले जानकारी दिए ।

    सम्मेलनका क्रममा हिताधिकारीको गुनासो सैनिक नेतृत्वले सुन्नेछ भने उनीहरुको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदैछ ।

    कोरोनाका कारण यस पटकको सम्मेलनमा हिताधिकारीको समावेशी प्रतिनिधिमूलक सहभागिता हुनेछ । हाल मुलुकभर भूपू सैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिलासमेतको सङ्ख्या ८५ हजारको हाराहारीमा छ । रासस