Tag: सम्पादक

  • सम्पादकलाई ओलीको प्रश्न- आफ्ना बाआमालाई पनि तिमी भन्नुहुन्छ ?

    सम्पादकलाई ओलीको प्रश्न- आफ्ना बाआमालाई पनि तिमी भन्नुहुन्छ ?

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज आयोजना गरेको सम्पादकसँगको अन्तरक्रियामा फेरि एकपटक आदरार्थी शब्दबारे बहस भएको छ । एक सम्पादकले यो प्रसंग निकालेपछि ओलीले कडा जवाफ फर्काए ।

    ती सम्पादकले सञ्चारमाध्यमहरूले राष्ट्रपतिदेखि सर्वसाधारण सबैलाई एउटै भाषा प्रयोग गर्ने गरेको तर ओलीले बारम्बार गुनासो गरको भन्दै असन्तुष्टी जनाएका थिए । अबका १५ महिना यस्तो गुनासो सुन्नु नपर्ने भन्दै उनले सन्तोष व्यक्त गरेका थिए ।

    उनलाई बीचमा रोक्दै ओलीले प्रश्न गरे, ‘तपाईं आफ्नो बाआमालाई पनि तिमी भन्नुहुन्छ ?’

    सम्पादकले एउटा गीतको पंति भन्दै ‘तिमी’ भन्दा फरक नपर्ने बताए ।

    त्यसपछि ओलीले भने, ‘त्यो त गीतमा न हो । गीतमा त भगवानलाई पनि तँ भनिन्छ ।’

    उनले मुनामदनको ‘ईश्वर तैले रचेर फेरि..’ गीत सम्झाएका थिए । गीत र साहित्यमा तिमी, तँ जे भने पनि सञ्चारमाध्यमको भाषा आदरार्थी हुनुपर्ने उनको भनाइ छ ।

    यस विषयमा आफ्नो व्यक्तिगत गुनासो नभएको तर भाषिक समृद्धिको चिन्ता भएको उनले बताए ।

    ओलीले भने, ‘तपाईंहरूले भेदभावपूर्ण भाषा प्रयोग गर्नुभयो भनेको होइन । तिमी, तपाईं भन्ने, आदरभाव व्यक्त गर्ने, यो हाम्रो भाषिक समृद्धि हो । हाम्रो भाषा तिमी, तपाईं, हजुरमा व्यक्त हुन्छ । कसैले बोलाउँदा हामी ‘हजुर’भन्ने जवाफ दिन्छौं । हामी अरुको मात्रै सिको नगरौं ।’

    उनले थपे, ‘मलाई तिमी भनेको भनेर गुनासो गरेको होइन । मलाई त तिमी होइन तँ भने पनि हुन्छ ।’

  • सम्पादकहरूलाई ओलीले भने- सरकारलाई तपाईंहरूको खबरदारी पुगेन कि ? (भिडिओ)

    सम्पादकहरूलाई ओलीले भने- सरकारलाई तपाईंहरूको खबरदारी पुगेन कि ? (भिडिओ)

    काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमको खबरदारी नपुगेको टिप्पणी गरेका छन् । आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले संविधान मिचिँदा पनि सञ्चारमाध्यम मौन देखिएको गुनासो गरे ।

    ओलीले आफ्नो सरकारका पालामा सञ्चारमाध्यमबाट निकै खबरदारी भएको भन्दै धन्यवादसमेत दिएका थिए । सरकारले गल्ती नगरोस् भन्नका लागि खबरदारी आवश्यक रहेको उनको भनाइ थियो ।

    ओलीले भने, ‘एमाले आज सत्तापक्षबाट प्रतिपक्षमा गएको छ । सरकारमा छँदा हामीले सञ्चारमाध्यमबाट महत्वपूर्ण सहयोग पायौं । प्रधानमन्त्रीको हैसियतमा मैले पाएँ । त्यसका लागि धन्यवाद दिन चाहन्छु । सरकारले गल्ती नगरोस् भनेर अमूल्य सुझावहरू दिनुभयो । ती खबरदारीले हामीलाई गल्ती नगर्न प्रेरित गर्‍यो ।’

    त्यसपछि उनले थपे, ‘खबरदारी गरेन भने सरकार लापरवाह हुँदोरहेछ । जस्तो अहिलेको सरकारप्रति खबरदारी पुगेन कि जस्तो छ । संविधानको मतलब छैन । कानूनको मतलब छैन । सञ्चारमाध्यम उतै छन् । त्यसकारण सरकारले अनुकूलता ठानेको छ । जसले गर्दा सरकारले गल्ती गर्दैछ । संविधान मिचिँदा पनि सञ्चारमाध्यम चुपै लागेको जस्तो देखिएको छ ।’

  • नेपाल प्रेसको सम्पादकमा पौडेल

    नेपाल प्रेसको सम्पादकमा पौडेल

    काठमाडौं । नेपाल प्रेस डटकमको सम्पादकमा चिरञ्जीवी पौडेल नियुक्त भएका छन् । नेपाल इ.प्रेस मिडिया प्रालिले पौडेललाई बुधबारबाट सम्पादक नियुक्त गरेको हो ।

    विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील पौडेल यसअघि अनलाइन खबरमा एसोसिएट एडिटर र नयाँ पत्रिका दैनिकमा समाचार सम्पादक थिए । उनले राजनीति, अन्तर्राष्ट्रिय मामला, अर्थतन्त्र, खेलकुद, मनोरञ्जनलगायतका विधामा कलम चलाउँदै आएका छन् ।

    पौडेललाई नेपाल प्रेस व्यवस्थापनले बुधबार कार्यालयमा औपचारिक स्वागत गर्यो । नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेल, अध्यक्ष विन्दुराज लम्साल, प्रमुख कार्यकारी अधिकृत गणेश निरौलालगायत सम्पूर्ण टिमले उनलाई स्वागत गरेका थिए ।

    त्यस अवसरमा प्रधानसम्पादक पौडेलले सम्पादक पौडेलको आगमनसँगै नेपाल प्रेसले नयाँ उँचाइ हासिल गर्ने विश्वास व्यक्त गरे । सम्पादक पौडेलले सम्पूर्ण व्यावसायिक धर्म निर्वाह गर्दै नेपाल प्रेसलाई माथि उठाउन प्रयास गर्ने बताए ।