Tag: सदन

  • एमालेले कारवाही गरेका १४ सांसदको सूचना टाँस गरे सभामुखसँग संवाद हुन सक्छ : सुवास नेम्वाङ

    एमालेले कारवाही गरेका १४ सांसदको सूचना टाँस गरे सभामुखसँग संवाद हुन सक्छ : सुवास नेम्वाङ

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरूले कारवाही गरेका सांसदको सूचना टाँस गरे सभामुखसँग संवादको वातावरण बन्ने बताएका छन् ।

    प्रतिनिधिसभाको आइतबारको बैठकपछि संसद भवन परिसरमा पत्रकासँग कुरा गर्दै नेम्वाङले १४ जनालाई कारवाही गरेको सूचना टाँस गरे संवादको वातावरण बन्ने बताए । अहिले पनि सूचना टाँस गर्न मिल्छ र ? भन्ने पत्रकारको प्रश्नमा नेम्वाङले भने- ‘मिल्छ । नेपालमा कस्ता-कस्ता काम त भइरहेका छन् भने कानूनबमोजिमको यो काम किन गर्न मिल्दैन ।’

    आफूहरूले माधव नेपालसहित कारवाही गरेका १४ सांसदको सूचना सभामुले टाँस नगरेर एमाले विभाजनको सहयोगी भएको भन्दै एमालले निरन्तर संसद अवरुद्ध गरिरहेको छ । एमालेबाट विभाजित भएर गएका एकीकृत समाजवादीका सांसदलाई गैरसांसद भन्दै एमालले सदनमा नाराबाजी गर्ने गरेको छ।

    सभामुख अग्नि सापकोटाले एमालेले कारवाही गरेका सांसदको सूचना टाँस गर्न ढिलाइ गरेका थिए । एमाले विभाजित भएर नयाँ दल बनिसकेपछि भने कारवाहीको औचित्य सकिएको भन्दै सूचना टाँस नगर्ने निर्णय लिएका थिए ।

  • एमाले सांसदलाई ओलीको निर्देशन- वेल घेर्दा काँधमा नचढ्नू, जथाभावी नबोल्नू

    एमाले सांसदलाई ओलीको निर्देशन- वेल घेर्दा काँधमा नचढ्नू, जथाभावी नबोल्नू

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदमा मर्यादित रुपमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिएका छन् ।

    आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले वेल घेर्दा काँचमा नचढ्न पनि निर्देशन दिए । संसदमा निरन्तर अवरोध गरिरहेका एमाले सांसदहरूले आफ्ना सहकर्मी सांसदको काँधमा चढेर रोष्टमा पुग्ने प्रयास गरेका थिए ।

    ‘हामीले संसदीय मर्यादाभित्र तोकिएका नारा लगाउँ, हामी वेलमा जान्छौं, वेलमा नाराबाजी गर्छौं,’ ओलीले भने, ‘काँध चढेर माथि जान खोज्ने नगरौं । मर्यादापालकको घेरा तोड्न खोजेको होइन । यदि त्यस्तो हुन्थ्यो भने अर्कै ढंगले प्रस्तुत हुन्थ्यौं ।’

    एमाले सांसद रेखा झाले गृहमन्त्रीको माइक खोसेकी थिइन । उनले मिडिया आफूले सभामुखमाथि नै प्रहार गर्न चाहेको प्रतिक्रिया दिएकी थिइन् । ओलीले भने पार्टीको त्यस्तो कुनै नीति नभएको बताए। संसदमा जिम्मेवाररूपमा प्रस्तुत हुन र मिडियामा गएर बोल्दा पनि जिम्मेवारीपूर्वक बोल्न निर्देशन दिए ।

    ‘कतिपय साथीहरूले बोलेको सुनेँ, सभामुखलाई माइक हान्ने योजना थियो भनेर,’ ओलीले भने, ‘त्यसो योजना थिएन । हुँदै नभएको कुरा मिडियामा गर्नु वाञ्छनीय हुन्न। बोल्दा माननीयहरूले जिम्मेवारीपूर्वक बोल्ने गर्नुपर्छ ।’

  • गोहीको आँसु चुहाएर केपी ओलीलाई अब कसैले पत्याउँदैन: प्रचण्ड

    गोहीको आँसु चुहाएर केपी ओलीलाई अब कसैले पत्याउँदैन: प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै प्रधानमन्त्रीले छोटो समयमा दुई-दुई पटक संसद विघटन गरेको नेपाली इतिहास नभएको बताएका छन् ।

    प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने प्रक्रियाका लागि जारी छलफलमा भाग लिँदै प्रचण्डले दलभित्रको आन्तरिक झगडाका कारण संसदलाई ‘भिक्टिम’ बनाउन नपानइने बताए।

    ‘पाँच वर्ष नपुग्दै दुई-दुई पटक विघटन र अदालतबाट पुर्नस्थापित भएको अनुभव नेपालको इतिहासमा थिएन,’ प्रचण्डले भने, ‘दुई तिहाई भएको प्रधानमन्त्रीले संसद विघटन गरेर आफ्नै दल विभाजन गर्ने काम इतिहासमा पहिलो चोटी हो ।’

    आफू नै पार्टी एकताको प्रस्तावक भएको भन्दै उनले अहिले संसदमा यस्तो यस्तो कुरा आफैंलाई दुःख लागेको उनको भनाइ थियो । ‘यस्तो दुरदशा यति छिटो देख्नुपर्छ भन्ने लागेको भए मैले किन पार्टी एकताको प्रस्ताव लैजान्थे होला ?,’ प्रचण्डले भने, ‘किन गठबन्धनको प्रस्ताव लैजान्थे होला ।’

    प्रचण्डले सपथ ग्रहणमा नगएकोबाट निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भिन्न मतलाई स्वीकार नगर्ने स्वभाव देखिएको आरोप लगाए ।

    सदनमा ओलीको अनुपस्थितिबारे पनि प्रचण्डले टिप्पणी गरे । ‘यो सदनले पनि केपी जीको मुखबाटै कुरा सुन्न चाहेको थियो,’ उनले भने, ‘देशले पनि निवर्तमान प्रधानमन्त्रीले के भन्नुहोला भन्ने कुरा सुन्न चाहेको थियो । यो मलाई स्वभाविक लागेको छैन् । यो अस्वभाविक र अलोकतान्त्रिक पनि हो ।’

    ओलीको दम्भ र अहंकारको जाँतोमा आफूहरू पिसिएको भन्दै उनले अब उनका कुरा नपत्याइने बताए।

    ‘हामी केपीजीको दम्भ, अहंकार र अत्याचारको जाँतोमा नपिसिएको हुन्थ्यो भने उहाँले भनेको पनि केही हो कि जस्तो लाग्थ्यो,’ उनले भने, ‘भन्ने एउटा, गर्ने अर्को । गोहीको आँसु चुहाएर कसैले पत्याउँछ तपाईंलाई ?’

    पार्टीभित्रको विवादका कारण संसदलाई शिकार बनाउन नपाउने उनको भनाइ छ । ‘पहिलो चोटी संसद विघटन गर्दा केपी जीले भनेको कुरा के थियो भने पार्टीभित्र काम गर्न दिएन त्यसैले संसद विघटन गरेँ,’ प्रचण्डले भने, ‘पार्टीभित्रको कुराले संसदलाई ‘भिक्टिम’ गर्न पाइन्छ ? यो कुन चाहिँ लोकतन्त्र हो यो ? पार्टी भित्रको बहुमतलाई किच्न खोज्ने कुन चाहिँ लोकतान्त्रिक संस्कार हो ?’

    आफूलाई युद्ध हारेर आएको भनिएको भन्दै प्रचण्डले आक्रोस पोखे । उनले आगोसँग नखेल्न पनि चेतावनी दिए । सर्वोच्च अदालतले नेपालको संविधानको रक्षा गर्ने काम गरेको भन्दै उनले धन्यावाद थिए । विवेक प्रयोग गरेर सबैले देउवालाई विश्वासको मत दिन आग्रह गरे ।