Tag: सगरमाथा

  • सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो

    सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो

    काठमाडौं । सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो ।

    सगरमाथा प्रदूषण नियन्त्रण समिति (सपीसीसी)का अनुसार छ आइसफल डाक्टर अर्थात् हिउँमा बाटो बनाउने अनुभवी व्यक्तिले बाटोमा सङ्केत राख्ने, भ¥याङ राख्ने, डोरी टाँग्नेलगायत काम गरिरहेका छन् ।

    दोस्रो शिविरसम्मको बाटो खुलेसँगै आरोहीहरूलाई त्याहाँसम्म जान अनुमति दिइएको एसपीसीसीका उपाअध्यक्ष लामाकाजी शेर्पाले बताए । एसपीसीसीले अनुमति दिएपछि मात्रै आरोहणी तथा आरोहण व्यवसायी दोस्रो शिविरसम्म जान पाउँछन् । आरोहणका लागि शरीरलाई अनुकूल बनाउन आरोही आधार शिविरबाट दोस्रो शिविरसम्म जाने र फर्कने गर्ने भएकाले दोस्रो शिविरमा चाँडै क्याम्प खडा गरिने भएको छ ।

    यस पटक आधार शिविरदेखि दोस्रो शिविरसम्म १५ वटा भ¥याङ प्रयोग गरिएको उनले जानकारी दिए । यसअघि सन् २०१८ मा ३२ वटा भ¥याङ प्रयोग भएकामा सन् २०१९ मा २० वटा मात्रै प्रयोग भएको थियो ।

    दोस्रो शिविरसम्मको बाटो प्रयोग गरेर सगरमाथासहित ल्होत्से र नुप्त्से हिमाल पनि आरोहण गरिन्छ । आधारशिविरमा हरेक समूहले बौद्ध परम्पराअनुसार पूजापाठ गरी हिमालमा कुल्चनुअघि क्षमापूजा र शक्ति माग्ने प्रचलन रहेको छ ।

    खुम्बुमा बाह्य पर्यटकको चहलपहल

    पर्यटकीय याम सुरु भएसँगै सगरमाथा क्षेत्र खुम्बुमा बाह्य पर्यटक आउने क्रम बढेको छ । वसन्त ऋतु सुरु हुन लागेसँगै खुम्बु क्षेत्र भित्रिने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो ।खुम्बु क्षेत्रमा पछिल्लो एक हप्तामा ९०० भन्दा बढी बाह्य पर्यटक भित्रिएको खुम्बु पासाङल्हामु गाउँपालिकाले जनाएको छ ।

    अहिले लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समेत चहलपहल बढेको नागरिक उड्डयन प्राधिकरण लुक्ला शाखाका कर्मचारी खुमप्रसाद पौडलले बताए ।

    लुक्लामा दैनिक ४५ वटासम्म हेलिकप्टर र ३५ वटासम्म जहाजले उडान भर्ने गरेका छन् । एकैदिनमा १४ वटा जहाजमार्फत २६६ र ४५ वटा हेलिकोप्टर मार्फत २२५ सम्म पर्यटक खुम्बु भित्रिने गरेको उनको भनाइ थियो । अहिले भित्रने यात्रुको चाप बढी र फर्कने यात्रु शून्यजस्तै हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

  • अमेरिकी गायक माइक पोज्नरले चढे सगरमाथा, यस्तो छ उनको च्यारिटी आरोहण

    अमेरिकी गायक माइक पोज्नरले चढे सगरमाथा, यस्तो छ उनको च्यारिटी आरोहण

    काठमाडौं । चर्चित अमेरिकी गायक तथा गीत लेखक माइक पोज्नरले मंगलबार बिहान सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

    सेभेन समिट ट्रेक्सका अनुसार ग्रामी अवार्ड मनोनित गायक अमेरिकी एथ्लेट कोलिओ ब्राडीसँगै आज बिहान चुचुरोमा पुगेका हुन् ।

    ३३ वर्षे गायक ‘आइ टुक अ पिल इन इब्जा’ गीतबाट विश्वचर्चित छन् । उनले जस्टिन बिबर, मरुन फाइभ, लाब्रिन्थ, निक जोनस लगायतको लागि गीत लेखिसकेका छन् ।

    अमेरिकी सहर डेट्रोइट जस्टिस सेन्टरको च्यारिटीका लागि भन्दै पोज्नरले आफू सगरमाथा चढ्ने घोषणा गरेका थिए । पोज्नरको टीमसँगै आरोहणमा ६ जना शेर्पा आरोहीले सघाएका थिए ।

  • सगरमाथा क्षेत्रमा संकलित ४१८ केजी फोहोर सैनिक सफाइ टोलीद्वारा हस्तान्तरण (भिडियो)

    सगरमाथा क्षेत्रमा संकलित ४१८ केजी फोहोर सैनिक सफाइ टोलीद्वारा हस्तान्तरण (भिडियो)

    इटहरी । ‘सफा हिमाल अभियान २०२१’अन्तर्गतको नेपाली सेनाको टोलीले सगरमाथा क्षेत्रमा संकलन गरेको कुहिने फोहोर सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) लाई हस्तान्तरण गरेको छ । आज बिहान नाम्चे बजारमा सफा हिमाल अभियानका समन्वय अधिकृत सेनानी आदित्य कार्कीले फोहोर हस्तान्तरण गरेका हुन् ।

    ‘आज हामीले ४ सय १८ केजी कुहिने फोहोर एसपीसीसीलाई हस्तान्तरण गरेका छौँ’, नेपाल प्रेससँग कुरा गर्दै सेनानी कार्कीले भने, ‘थप ३ सय किलो आउने क्रममा छ ।’

    नेपाली सेनाको सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, र पुमोरी क्षेत्रबाट १२.६ टन फोहोर संकलन भएको थियो । जसमा ९.४ टन आधार शिविर माथिको क्षेत्रको भएको सगरमाथा आरोहीसमेत रहेको सेनानी कार्कीले बताए । आधार शिविरबाट भने ३.२ टन फोहोर संकलन गरिएको उनले बताए ।

    सफा हिमाल अभियानकै क्रममा नेपाली सेना नेतृत्वको टोलीले यो वर्ष सगरमाथामा ८ हजार मिटर उचाइमा २ शव समेत फेला पारेको थियो । एउटा लासको नाम खुलेको छैन भने अर्को शव भने सन् २०१९ मा टीएजी नेपाल प्रालिमार्फत सगरमाथा आरोहण गरेर फर्किने क्रममा ज्यान गुमाएका ६२ वर्षीय अमेरिकी नागरिक क्रिस्टोफर कुलिसको भएको खुलेको छ । यस्तै, क्याम्प टूमा एक मानव कंकाल समेत सेनाको टोलीले फेला पारेको थियो ।

    मौसम खराबी भएपछि आइतबार नेपाली सेनाले क्याम्प टूबाट आधार शिविरमा फोहोर ढुवानी गर्न हेलिकप्टर प्रयोग गरेको थियो । मौसमी अदलीबदली र शेर्पा सहयोगीको अभावले हेलिकप्टरमा ढुवानी गरिएको सेनानी कार्कीले बताए । आइतबार क्याम्प टूबाट थ्री र फोरबाट समेत संकलन गरेर जम्मा भएको फोहोर १७ उडानबाट आधार शिविरमा ल्याइएको सेनानी कार्कीले जानकारी दिए । उनले भने, ‘बाँकी सबै फोहोर मान्छेले नै ल्याउने योजना थियो । ल्याइएको पनि थियो । मौसमले असहज गरेकोले उडानबाट ल्यायौँ ।’ आधार शिविरबाट हुने सबै फोहोर ढुवानीमा भने उडान नगरिने कार्कीले बताए ।

    नेपाली सेनाले सगरमाथा सफाइ गरेको यो तेस्रो पटक हो । सन् २०१३ र २०१९ मा पनि सेनाले हिमाल सफाइ गरेको थियो । २०१३ मा ४ टन र २०१९ मा १० टन फोहोर संकलन भएको थियो । यो वर्षको सफाइ भने अहिलेसम्मकै ठूलो अभियान हो । सफाइमा सगरमाथासहित ल्होत्से, पुमोरी, आमादब्लम, मकालु र धौलागिरी समेटिएका छन् ।

    गत फागुन ६ गते पत्रकार सम्मेलन गरेर सेनाले सफाइ टोलीलाई चैत ३१ मा व्यानर हस्तान्तरण गरेको थियो भने छ हिमालमा आधार शिविर भने वैशाख २ मा खडा गरेको थियो । आरोहणको विधिबाट हुने सफाइबाट उठेको नकुहिने फोहोर विश्व वातावरण दिवसको दिन वातावरण सम्बन्धी काम गर्ने संस्थालाई काठमाडौं वैशाख २२ गते दिने पूर्वनिर्धारित कार्यक्रम अनुसार सेना सक्रिय भएको छ ।

  • सगरमाथामा सर्वाधिक उचाइको फेसन सोको दोस्रो सिजन हुने

    सगरमाथामा सर्वाधिक उचाइको फेसन सोको दोस्रो सिजन हुने

    काठमाडौं । विश्वकै सर्वाधिक उचाइमा फेसन सो आयोजना हुने भएको छ । भारतको इन्डेमोल साइन इन्डियाले आगामी सेप्टेम्बरमा माउन्ट एभरेस्ट फेसन रनवे गर्न लागेको हो ।

    ५८ सय मिटरको उचाइको सगरमाथा क्षेत्र, ३० डिग्री तापक्रम र ५० प्रतिशतभन्दा कम अक्सिजन उपलब्ध हुने थलोमा रनवेको दोस्रो सिजन गर्न लागिएको हो ।

    कार्यक्रम आयोजनाका लागि कम्पनीले नेपालको के फिल्म र मीटु फिल्मससँग सहकार्य गर्ने भएको छ । गतवर्षको जनवरीमा कालापत्थरमा आयोजना गरिएको रनवे चर्चित भएपछि पुनः दोस्रो सिजन गर्न लागिएको हो ।

    अघिल्लो सिजनमा १८ देशका प्रतिनिधिले जलवायु परिवर्तन र दिगो फेसन अवधारणामा रहेर डिजाइन प्रस्तुति दिएका थिए । सोही समयमा नेपालले सर्वाधिक उचाइमा फेसन सो आयोजना गरेको भन्दै गिनिज बुकले विश्व रेकर्डको प्रमाणपत्र पनि दिएको छ ।

    नुहाउँदा र लुगा धुँदा पानीको कम खपत गर्ने प्रविधि प्रयोग गरेर हिमालको ५० हजार लिटरभन्दा बढी पानीलाई जोगाउने मुख्य उद्देश्यले फेसन रनवे गर्न लागिएको इन्डेमोल साइन इन्डियाका सीइओ अभिषेक रेजेले बताए ।

    रनवेका मेन्टर पंकज गुप्ताले दोस्रो सिजनमा थप कीर्तिमानहरु निर्माण हुन सक्ने बताउँछन् ।

  • सगरमाथा क्षेत्रमा एक आरोहीको शव फेला

    सगरमाथा क्षेत्रमा एक आरोहीको शव फेला

    सोलुखुम्बु । सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकीको शव भेटिएको छ । विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ ।

    मृत्यु भएका समयमा उनको उद्धारका लागि मौसम अनुकूल नहुदा सोही स्थानमा छाडिएको थियो । वसन्त याममा आरोहण सकेर फर्कने आरोहीको समूहले उद्धार गरी उक्त शव क्याम्प २ मा ल्याएर राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए । अहिले त्यहाँबाट हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको बताइएको छ ।

    राहदानी नं ५०९६५१०६२ भएका ६१ वर्षीय कुलिशको क्याम्प ४ मा हृदयाघातका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ट्याग नेपाल ट्रेकिङ कम्पनीमार्फत १४ जनाको समूहमा सगरमाथा आरोहणमा गएका थिए ।
    -रासस

  • एकै दिन १५० आरोहीले गरे सगरमाथाको आरोहण

    एकै दिन १५० आरोहीले गरे सगरमाथाको आरोहण

    काठमाडौं । वसन्तयामको जारी सगरमाथा आरोहण क्रममा आज एकै दिन झण्डै १५० आरोहीले सगरमाथा आरोहण गरेका छन् । आरोहणका लागि अनुकूल मौसम भएपछि शनिबार राति चुचुरातर्फ लागेका १५० भन्दा बढी आरोही आज बिहान सगरमाथाको शिखरमा पुगेको आधार शिविरमा रहेएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

    पर्यटन विभागबाट खटिएका सम्पर्क अधिकृत श्रेष्ठले अहिलेसम्म १५० भन्दा बढीले आरोहण गरेको खबर आएको बताए। ‘मौसम राम्रो भएकाले उल्लेख्य सङ्ख्याका आरोही चुचुरातर्फ गएका थिए, १५० भन्दा बढीले आरोहण गरिसकेको खबर आएको छ, अझै केही आरोहण जारी छ’, उनले बताए। मौसमले साथ दिए आगामी २८ र २९ तारिख सर्वाधिक आरोहण हुने जनाइएको छ ।

    अहिले विश्व कीर्तिमानी कामीरिता शेर्पा २६औँ पटकको आरोहणका लागि आधार शिविरमा छन् । अझै पनि बाक्लो सङ्ख्यामा आरोही सगरमाथा आरोहणका लागि आधार शिविरमा रहेका सम्पर्क अधिकृत श्रेष्ठले बताए ।

    यसअघि प्रतिकूल मौसमका कारण एक साता सगरमाथा आरोहण प्रभावित बनेको थियो । वसन्तयामको जारी आरोहणका क्रममा पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकेका कारण नेपालको मौसम बिग्रिएपछि सगरमाथासहितका हिमाल आरोहण प्रभावित बनेको थियो ।

    वसन्तयामको सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि शुरु भयो । कामिरिता शेर्पा नेतृत्वको १२ जनाको टोलीले सगरमाथाको चुचुरामा पुगेर डोरी टाँगे (रोप फिक्सिङ) सँगै सगरमाथाको व्यावसायिक आरोहण शुरु भएको थियो ।

    पर्यटन विभागले सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहलाई आरोहण अनुमति दिएको छ । यो सङ्ख्या सन् २०१९ को वसन्तयामको भन्दा बढी हो । वसन्तयामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ आरोहीले आरोहण अनुमति लिएका छन् ।

  • बाबुसँगै १६ वर्षीय छोराले टेके सगरमाथा चुचुरो

    बाबुसँगै १६ वर्षीय छोराले टेके सगरमाथा चुचुरो

    काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का १६ वर्षीय सोनाम शेर्पाले आफ्ना बाबुसँगै सगरमाथाको सफल आरोहण गरेका छन् ।

    आज बिहान ८ः५० बजे सोनाम र उनका बाबु पूर्णकुमार (पिके) शेर्पाले सफल आरोहण गरेको हिमालयन गाइड्स नेपाल ट्रेक एन्ड एक्सपिडिशन प्रालिका प्रबन्धक ईश्वरी पौडेलले जानकारी दिए ।

    दुवै जना उक्त प्रालिमार्फत आरोहणका लागि गएका थिए । सोनाम आवश्यक तयारीका लागि एक महिनाअघि नै सगरमाथा बेस क्याम्प पुगेका थिए । भने पिके गत वैशाख २४ गते अनुमति पत्र लिएर गएका थिए । मौसममा आएको खराबीले केही दिन बेस क्याम्पमै रहेको र मौसम खुलेसँगै अघि बढेका बाबुछोराले आज आरोहण गर्न सफल भएको पौडेलले बताए ।

    यता पर्यटन विभागले समेत उनीहरुले आरोहण गरेको सूचना आएको जनाएको छ । ‘पिके शेर्पा र उहाँका छोरा दुवैले आरोहण गरेको भन्ने बेस क्याम्प र त्यस माथिबाट हामीलाई सूचना आएको छ’, पर्वतारोहण विभागकी निर्देशक मीरा आचार्यले भनिन्। उनका अनुसार एक्सपिडिशन रिपोर्ट आएपछि विभागले छानबिन गर्ने र आरोहण पुष्टि भए आधिकारिकता प्रदान गरिने छ ।

    यस्तै सोनाम सबैभन्दा कान्छो आरोही हुन सक्ने आचार्यको भनाइ छ । अहिले नै यसै हो भनेर भन्न नसकिने उनले स्पष्ट पारे । ‘१६ वर्ष मुनिकाले आरोहण गर्न पाउँदैनन्, उहाँ १६ वर्ष पूरा भएर आउनुभएको थियो, पूर्णरुपमा डकुमेन्ट हेरेर छानबिनपछि मात्र भन्न सकिन्छ’, आचार्यले भनिन् ।

    २०६१ फागनु १५ गते जन्मिएका शेर्पाले गत चैत २६ गते मात्रै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । ।

     

  • मौसम अनुकूल भएसँगै आरोही लागे शिखरतर्फ

    मौसम अनुकूल भएसँगै आरोही लागे शिखरतर्फ

    काठमाडौं । मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखरतर्फ हिँडेका छन् । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा आधारशिविर र शिविर–२ मा रहेका अधिकांश आरोही आज शिखरतर्फ लागेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार आज बिहानदेखि सगरमाथा आरोहण जारी छ । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा गत वैशाख २९ गतेयता आरोहण हुन सकेको थिएन ।

    सगरमाथा आधारशिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत श्रेष्ठका अनुसार आज एकै दिन करीब २०० आरोही चौथो शिविरबाट शिखरतर्फ लागेका छन् । उनका अनुसार अहिले आरोहण भइरहेको भए पनि के कतिले आरोहण गरे भन्ने विवरण प्राप्त भएको छैन ।

    शेर्पा आरोही समूहले गत वैशाख २४ गते शिखरसम्मको बाटो बनाएपछि यस वर्षको वसन्त यामको आरोहण शुरु भएको थियो । वैशाख २८ र २९ गते करीब १७० आरोही सगरमाथा शिखरमा पुगे पनि त्यसपछि आरोहण रोकिएको थियो ।

    अब झण्डै एक हप्ता मात्रै आरोहणका लागि मौसम अनुकूल हुने भएकाले मौसम खुल्नसाथ आरोही शिखरतर्फ लागेका आरोहणमा जानुभएका क्लाइम्बिङ गाइड पेम्बादाबा शेर्पाले बताए । यस वर्ष सगरमाथा आरोहणका लागि ४०८ ले अनुमति लिएका छन् ।

    अनुमति लिएकै सङ्ख्याभन्दा केही बढी उनीहरुका सहयोगीसमेत हुने भएकाले यस वर्ष सगरमाथा आरोहणका लागि ८५० भन्दा धेरैको तयारी छ ।

    वसन्तयामको सगरमाथा आरोहणका क्रममा अहिलेसम्म एक नेपाली गाइडसहित तीनजनाको मृत्यु भएको छ । आरोहण सकेर फर्कने क्रममा स्वीजरल्यान्डका अब्दुल वारिचको साउथ समिटमा मृत्यु भएको थियो भने शिखरतर्फ जाँदै गरेका अमेरिकन नागरिक पुवई लिउको चौथो शिविरमा बिरामी भएर तल झार्ने क्रममा मृत्यु भएको थियो ।

    यस्तै क्याम्प १ र २ को खर्पासमा परेर एक नेपाली गाइडको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिए ।

  • सगरमाथा क्षेत्रमा मानव कंकाल फेला

    सगरमाथा क्षेत्रमा मानव कंकाल फेला

    काठमाडौं । सगरमाथा आधार शिविर क्षेत्रमा दायाँ हात र बायाँ पाखुरासहितको कंकाल फेला परेको छ । सफा हिमाल अभियान-२०२ अन्तर्गत फोहोर संकलनमा संलग्न नेपाली सेनासहितको टोलीले गत मंगलबार सगरमाथाको दोस्रो शिविरमा ती अवशेष फेला पारेको हो ।

    त्यहाँ संकलित फोहोर आधार शिविरमा पुनः पोका पार्ने क्रममा मानव अङ्ग फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मानव कंकाल हेलिकप्टरमार्फत लुक्ला पु¥याएर इलाका प्रहरी कार्यालयलाई बुझाइएको जानकारी दिइएको छ ।

  • शिखरमा नपुग्दै फर्काइए सगरमाथा आरोही, नेपालबाट कोरोना फैलिने डरले चीनद्वारा आरोहण स्थगित

    शिखरमा नपुग्दै फर्काइए सगरमाथा आरोही, नेपालबाट कोरोना फैलिने डरले चीनद्वारा आरोहण स्थगित

    काठमाडौं । नेपालको तर्फबाट कोरोनाभाइरस संक्रमण फैलने सक्ने बताउँदै चीनले सगरमाथा आरोहण स्थगित गरेको जनाएको छ ।

    सिन्ह्वा न्यूज एजेन्सीका अनुसार त्यहाँको खेलकुद प्रशासनले आरोहण स्थगित गरेको पुष्टि गरेको हो ।

    नेपालको मोहडाबाट हुनसक्ने भाइरस संक्रमणबाट सतर्क हुन चीनले उक्त निर्णय गरेको जारी विज्ञप्तीमा उल्लेख छ । उक्त प्रशासनले नेपालमा बढेको भाइरस संक्रमण र मृत्युदरलाई मध्यनजर गरेर उक्त निर्णय लिइएको जनाएको छ ।

    चीनले ३८ जना चिनियाँ आरोहीलाई यो सिजनमा सगरमाथा आरोहणको अनुमति दिएको थियो । तर, नेपालले भने ४०८ जना आरोहीलाई अनुमति दिएको थियो ।

    चीनले आरोहण स्थगित गर्ने निर्णय गरेपछि ती सबै चिनियाँ आरोही बीचबाटै फर्किएको जनाइएको छ । चीनले भाइरस संक्रमणकै कारण विदेशी आरोहीलाई अनुमति दिएको थियो । उसले गतवर्ष पनि महामारीको कारण आरोहण बन्द गरेको थियो ।

    चीनले गतसाता सगरमाथाको चुचुरोमा सीमा विभाजनको रेखा कोर्ने जनाएको थियो ।

  • सगरमाथा आरोहणका क्रममा दुई आरोहीको निधन

    सगरमाथा आरोहणका क्रममा दुई आरोहीको निधन

    काठमाडौं । सगरमाथा आरोहणका क्रममा यो सिजनमा दुई जना आरोहीको बुधबार निधन भएको छ । अमेरिका र स्वीजरल्याण्डका नागरिकको आरोहणका क्रममा निधन भएको पर्यटन विभागले जनाकारी दिएको छ ।

    ती दुई आरोहीमध्ये एक सगरमाथाकाे सफल आरोहण गरेर फक्रिने क्रममा निधन भएको हो भने अर्का आरोही सगरमाथाको चुचुरोतर्फ जाँदै गर्दा निधन भएको विभागको भनाइ छ ।

    ती आरोहीको निधनको अमेरिकी आरोही पूवे लिउ र स्वीजरल्याण्डका आरोही अब्दुल वाराइज रहेका छन् । स्वीजरल्याण्डका अब्दुल समिट सकेर फर्कने क्रममा अत्यधिक थाकेका थिए ।

    उनलाई बचाउनका लागि शेर्पा सहयोगीले अक्सिजन र खाद्यान्न पनि पुर्‍ याएका थिए । तर, बचाउन सकेनन् । अर्का अमेरिकी आरोही लिउ आरोहणको क्रममा हिलारी स्टेपमा निधन भएको हो । उनीहरु सेभन समित ट्रेक कम्पनी मातहतबाट सगरमाथा आरोहणका लागि गएका थिए ।

  • बुधवार मात्रै ७० आरोही सगरमाथा शिखरमा

    बुधवार मात्रै ७० आरोही सगरमाथा शिखरमा

    काठमाडौं । देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ । बुधवार मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन् ।

    हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् । यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ ।

  • दुई दिनमा १५० आरोही सगरमाथा चुचुरोमा

    दुई दिनमा १५० आरोही सगरमाथा चुचुरोमा

    काठमाडौं । मंगलबार र बुधबार मात्र १ सय ५० आरोहीले सगरमाथा चुचुरो टेकेका छन् ।

    आज बिहान ७ देखि अहिलेसम्म ७० जनाले सगरमाथाको सफल आरोहण गरेको सगरमाथा बेस क्याम्पमा रहेकी पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन् ।

    ‘बिहानबाट अहिलेसम्म सगरमाथामा जानेको संख्या ७० भन्दा बढी हुन सक्छ’ उनले भनिन् । मंगलबार ८० जना आरोहीले सगरमाथा आरोहण गरेका थिए । यी सबै विदेशी गएका हुन् ।

    आजै बिहान सगरमाथाको सफल आरोहण गरेका एकैघरका तीन दिदीबहिनी र २१ औं पटक सगरमाथाको चुचुरोमा पुगेका पेम्बा दोर्जे शेर्पालगायत उनीहरूको टोली भने यो संख्यामा समावेश छैन ।

    ‘उनीहरू शेर्पा समुदायबाट चढेकाले विभागबाट अनुमति लिएका छैनन् । उनीहरू विभागले गणना गर्ने संख्यामा परेका छैनन्,’ आचार्यले भनिन् ।

    यो सिजनका लागि मात्र ४०८ आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । जसमा ४३ समूहका ३१५ जना पुरुष, ९२ जना महिला र एकजना अन्य छन् ।

  • एकाघरका तीन दिदीबहिनी सगरमाथा चुचुरोमा

    एकाघरका तीन दिदीबहिनी सगरमाथा चुचुरोमा

    काठमाडौं । दोलखाका एकै परिवारका तीन दिदीबहिनीले बुधवार सगरमाथाको सफल आरोहण गरेका छन् ।

    दोलखास्थित गौरीशंकर गाउँपालिका-९ बेदीङका दिदी-बहिनी निमा जाङ्बु शेर्पा (वर्ष ३०) छिरिङ नाम्गे शेर्पा (वर्ष २६) र दावा फुटी शेर्पा (वर्ष २४) ले आज विहान ७ बजेको वरिपरि सगरमाथा चुचुरोमा पुगेका हुन् । यी दिदी-बहिनीले तीन वर्षभित्र सात वटै महादेशका उच्च हिमाल चढेर विश्व रेकर्ड समेत राख्ने  उद्देश्य रहेको बताएका छन् ।

    यसैबीच, संचारमन्त्री पार्वत गुरुङले ती दिदीबहिनी आरोहीलाई बधाइ व्यक्त गरेका छन् । मन्त्री गुरुङले बैशाख २ गते मन्त्रालयमा आयोजित कार्यक्रममा ती दिदीबहिनीलाई राष्ट्रिय झण्डा हस्तन्तारण गर्दै बिदाइ समेत गरेका थिए ।

    आजै दोलखा सोही ठाउँका पेम्वा दोर्जे शेर्पाले आज २१ औं पटक सगरमाथाको सफल आरोहण गर्न सफल भएका छन् । पेम्बाले बुधवार बिहान ७ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

    ड्रिमर्स डिष्टिनेशन ट्रेक एण्ड एक्सपेडिसनका अनुसार पेम्बाले ‘विश्व शान्ति र वातावरण बचाउँ’ भन्ने सन्देशका साथ २१ औं पटक सगरमाथा चढेका हुन् ।

  • चीनले सगरमाथा चुचुरोमा ‘सीमा विभाजनको रेखा’ कोर्ने

    चीनले सगरमाथा चुचुरोमा ‘सीमा विभाजनको रेखा’ कोर्ने

    काठमाडौं । चीनले कोरोनाभाइरस संक्रमणमा रोक लगाउन सगरमाथाको चुचुरोमा नेपाल र तिब्बतबीच सीमा विभाजनको रेखा कोर्ने भएको छ ।

    राज्य नियन्त्रित चिनियाँ संचारमाध्यमका अनुसार नेपालको मोहडा हुँदै सगरमाथा आरोहण गर्ने आरोहीमार्फत हुनसक्ने संक्रमणलाई रोक्न सरकारले उक्त निर्णय गरेको हो ।

    गत अप्रिलदेखि नै नेपालको सगरमाथा आधार शिविरमा कोरोनाभाइरस संक्रमण व्यापक फैलिएपछि चीन सतर्क भएको हो ।

    पर्यटन शुल्क उठाउन नेपालले सगरमाथा आरोहण अभियान स्थगित नगरेको भन्दै व्यापक आलोचना भैरहेको बेला चीनले त्यस्तो निर्णय गरेको रोयटर्सले जनाएको छ ।

    डाइनिङ टेबुल जत्रो आकारको सगरमाथा चुचुरोमा कसरी रेखा कोर्ने भन्ने बारेमा चीनले स्पष्ट खुलाएको छैन । तिब्बती आरोहीहरुको एउटा समूहले चुचुरोमा पुगेर रेखा कोर्ने निर्णय गरेको जनाइएको छ ।

    सिन्ह्वा न्यूज एजेन्सीले दुबै मोहडाबाट चढ्ने आरोहीलाई संक्रमणबाट जोगाउन चीनले उक्त योजना बनाएको हो । अहिले २१ जना चिनियाँ नागरिकहरु सगरमाथा आरोहणका लागि बाटोमा छन् ।

    भाइरस महामारी सुरु भएपछि गतवर्षदेखि चीनले आफ्नो भूभाग हुँदै सगरमाथा चढ्न विदेशीलाई खुला गरेको छैन ।

  • २५ औं पटक सगरमाथा चढेर कामीरिताले तोडे आफ्नै कीर्तिमान, आज एकैदिन १२ जना चुचुरोमा

    २५ औं पटक सगरमाथा चढेर कामीरिताले तोडे आफ्नै कीर्तिमान, आज एकैदिन १२ जना चुचुरोमा

    काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले शुक्रबार २५ औं पटक सगरमाथा आरोहणको कीर्तिमान राखेका छन् ।

    बेलुका ६ बजे उनीसहित १२ जनाले सफलतापूर्वक सगरमाथा आरोहण गरेको पर्यटन विभागले जानकारी दिएको छ ।

    शेर्पाले २५ औं पटक सगरमाथा आरोहण गरेर यसअघिको आफ्नै कीर्तिमान तोडेको विभागअन्तर्गतको पर्वतारोहण शाखा हेर्ने मीरा आचार्यले नेपाल प्रेसलाई जानकारी दिइन् ।

    शुक्रबारको आरोहण यो सिजनको पहिलो भएको उनले जानकारी दिइन् । यो सिजनमा झन्डै ४०० जनाले सगरमाथा आरोहण गर्ने बताइएको छ ।

  • सगरमाथामा कोरोना फैलिएको अन्तर्राष्ट्रिय मिडियाको प्रचार, सरकार भन्छ : लेक लागेको हो

    सगरमाथामा कोरोना फैलिएको अन्तर्राष्ट्रिय मिडियाको प्रचार, सरकार भन्छ : लेक लागेको हो

    काठमाडौं । बसन्तकालिन आरोहण सुरु भएसँगै अहिले केही अन्तर्राष्ट्रिय मिडियाको ध्यान पुनः एकपटक विश्वको सर्वोच्च शिखर सगरमाथातर्फ मोडिएको छ । ती सञ्चारमाध्यमले सगरमाथा आरोहीमा कोरोनाभाइरस संक्रमण देखिएको भन्दै आरोहण बन्द गर्नुपर्ने लविङ गरेका छन् ।

    सगरमाथा आधार शिविरसम्म पुगेका नर्वेली आरोही अर्नेल्ड नेसले आफूलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताएका छन् । उनलाई उपचारका लागि काठमाडौं ल्याईएको थियो । अहिले आफ्नो अवस्था ठीक भएको उनले बताएका छन् । उनको आरोहण दललाई अहिले बेस-क्याम्पमै निर्माण भएको क्वारेन्टिनमा राखिएको छ ।

    यसैलाई लिएर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालमा सेकेन्ड-वेभ सुरु भएसँगै सगरमाथा भाइरसको ‘सुपर-स्प्रेडर इभेन्ट’ बन्न सक्ने बताएका छन् । सगरमाथामा भाइरस संक्रमण पुष्टि भएको पहिलो खबर गत बुधबार आउटसाइड अनलाइनले प्रकाशित गरेको थियो ।

    वासिङ्टन पोस्टले शुक्रबार हेडलाइन लेखेको छ- कोरोनाभाइरस सगरमाथा आधार शिविरमा पुग्यो । सुपर-स्प्रेडर इभेन्ट सिर्जना भएको छ ।’ उक्त अमेरिकी अखबारले नेपालका लागि विदेशी मुद्रा आर्जनको माध्यम बनेका हिमालमा सुरक्षाको बहस सुरु भएकोसमेत उल्लेख गरेको छ ।

    यस्तै बीबीसीले आरोही नेससँग एक भोजमा सहभागी शेर्पा आरोहीहरु पनि भाइरसबाट संक्रमित भएको दावी गरेको छ । बीबीसीले लेखेको छ- आरोहणमार्फत पैसा कमाउने मौसममा नेपाललाई यो घटनाले ठूलो धक्का लागेको छ ।’

    नर्वेली आरोही नेसले भने आफूलाई ठ्याक्कै कुन ठाउँबाट भाइरस लागेको भन्ने यकिन नभएको बताएका छन् । काठमाडौं उपत्यकाको कुनै एउटा चिया पसलबाट भाइरस सरेको हुनसक्ने उनको आशंका छ ।

    नेसले बीबीसीसँग भनेका छन्, ‘मैले ट्रेक गर्दा कसैले पनि मास्क लगाएको देखिँन । म आफैले पनि हात धुने र मास्क लगाउन सक्थेँ । म अहिलेसम्म गरेर तेस्रोपटक संक्रमित भएको हुँ । सगरमाथा ट्रेकमा कसैले पनि भाइरसको सुरक्षा मापदण्ड पालना भएको देखिँन ।’

    अन्तिम समयमा बसन्तकालिन आरोहण स्थगित गरेको अमेरिकी आरोहण कम्पनी अल्पेनग्लो एक्सिपिडिसनका संस्थापक एड्रिन बालिङ्गरले वासिङटन पोस्टसँग भने, ‘परीक्षण नगरिएका र लुकाइएका धेरै संक्रमित केसहरु सगरमाथामा अझै हुनसक्छन् । यो सुपर-स्प्रेडर इभेन्टका लागि एउटा सही मौका पनि हो ।’

    नेपाल र छिमेकी मुलुक भारतमा बढिरहेको कोरोनाको दोस्रो वेभको कारण पदयात्रामा जाने भरिया र याकका गोठाला पनि संक्रमणका वाहक भएको हुनसक्ने उनको ठम्याइ छ ।

    हङकङको प्रतिष्ठित अखबार साउथ चाइना मर्निङ पोस्टले हेडलाइन लेखेको छ- पर्यटक पुनः खुला गर्ने नेपालको निर्णयमा कोरोनाभाइरसको धक्का ।’

    भाइरस संक्रमण भए उपचार गर्न कठिन हुने परिस्थिती हुँदाहुँदै पनि नेपालले बढीभन्दा बढी पर्यटकलाई आकर्षित गर्न नरम खाले क्वारेन्टिन नियम ल्याएको यो अखबारले उल्लेख गरेको छ ।

    संक्रमित व्यक्ति नेससँग अन्तर्वार्ता लिएको नर्वेली टेलिभिजन एनआरकेले उनीसँगै पर्वतारोहण भोजमा सामेल भएका अन्य शेर्पा सदस्यहरुलाई पनि संक्रमण पुष्टि भएको उल्लेख गरेको छ ।

    ‘यदि कोही ८ हजार मिटरभन्दा माथिको स्थानमा छ भने हेलिकोप्टरबाट उद्धार गर्न पनि कठिन हुन्छ । अग्लो स्थानमा श्वास फेर्न स्वभाविकरुपमा मुस्किल हुन्छ । त्यो ठाउँमा भाइरस संक्रमित हुनु भनेको निकै खतरापूर्ण कुरा हो,’ आरोही नेसले उक्त टेलिभिजनसँग भनेका छन् ।

    अमेरिकी अखबार न्यूयोर्क टाइम्सले चिकित्सकले सगरमाथामा भाइरस संक्रमण पुष्टि भएको र पर्यटन उद्योग खुला गर्ने नेपालको कदममा यो दुःखद संकेत भएको लेखेको छ । काठमाडौंस्थित सीआइडब्लुइसी अस्पतालमा अन्य केही पर्वतारोहीलाई पनि भाइरस पुष्टि भएको जनाउँदै न्यूयोर्क टाइम्सले अस्पताल निर्देशक प्रतिभा पाण्डेको भनाई उद्वृत गरेको छ ।

    ‘हामीले आरोही र उनीहरुका सदस्यहरुको सुरक्षा कसरी अपनाउने भन्ने बारेमा स्वास्थ्य मन्त्रालयसँग पनि छलफल गरिरहेका छौं’ पाण्डेले भनेकी छिन् ।

    आधार शिविरमा रहेका सरकारी चिकित्सकले कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका तीनजनालाई काठमाडौं पठाइएको र एकजनालाई भाइरस पोजेटिभ भेटिएको उल्लेख छ । अन्य पर्वतारोहीलाई पनि भाइरसजस्तै लक्षण देखिएकाले काठमाडौं पठाइएको तर, थप जानकारी नआएको उक्त अखबारले लेखेको छ । पर्वतारोही कम्पनी सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले केही पर्वतारोहीलाई भाइरस पुष्टि हुँदैमा पर्वतारोहण नरोकिने बताएका छन् ।

    सरकार भन्छ : लेक लागेको हो

    नेपाल सरकारले भने सगरमाथामा भाइरस अहिलेसम्म पुष्टि नभएको जनाएको छ । नेपाल प्रेससँग कुरा गर्दै पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यले अहिलेसम्म भाइरस पुष्टि नभएको र अन्तर्राष्ट्रिय मिडियाले लेख्दैमा त्यो कुरा सत्य नहुने बताइन् ।

    ‘विदेशी मिडियाले लेखिरहेका छन् र हामीले पढिरहेका छौं । त्यो कुरा सत्य होइन’ उनले भनिन् । आचार्यले संक्रमण पुष्टि भएको भनिएका ती नर्वेली आरोहीलाई हाइ–अल्टिच्युड सिकनेस (लेक लागेको) भएको बताइन् ।

    ‘ती आरोहीलाई हाइ–अल्टिच्युड सिकनेस भएको र सोसँग सम्बन्धित लक्षण मात्र हो । कोरोनाभाइरस भेटिएको पुष्टि अहिलेसम्म भएको छैन,’ उनले भनिन् ।

    सगरमाथा शिविरमा भाइरस पुष्टि भएका नर्वेली आरोही आर्नोल्ड नेस काठमाडौंस्थित अस्पतालमा ।

    पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले मिडियामा आएका सूचनाबारे आफूहरुलाई अवगत भए पनि यसबारे टिप्पणी गर्ने अधिकार नभएको बताए ।

    पर्वतारोहण शाखाकी निर्देशक आचार्यले अहिलेसम्म भाइरस पुष्टि नभएपनि भविष्यमा हुनसक्ने सम्भावनालाई ख्याल गर्दै सगरमाथामा जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गरिराखिएको बताइन् । उनका अनुसार एउटा आरोही दललाई अर्को आरोही दलको टेन्टमा जान रोक लगाइएको छ र मास्क अनिवार्य गरिएको छ ।

    आरोहण अनुमति लिनुपूर्व पीसीआर परीक्षणको नतिजा नेगेटिभ हुनुपर्ने अनिवार्य गरिएको समेत उनले बताइन् । तर, विज्ञहरु चाहिँ कतिपय अवस्थामा पीसीआर नेगेटिभ आउँदा पनि भाइरसको संक्रमण हुने अवस्था विद्यमान हुने बताउँछन् ।

    सरकारी अधिकारीहरुले सगरमाथामा भाइरस संक्रमणको आधिकारिक पुष्टि नगरेपनि संक्रमित भएका व्यक्तिले श्रव्यदृश्य सन्देशमार्फत यसबारे वर्णन गरेका छन् । नर्वेली आरोही नेसले भाइरस पत्ता लागेपछि आफूलाई हेलिकोप्टरबाट काठमाडौं अस्पतालमा ल्याइएको र अहिले काठमाडौंस्थित शेर्पा साथीहरुको घरमा रहेको जनाएका छन् । उनले आफ्नो अवस्था ठीक रहेको बताउँदै चिन्ता नगर्न भनेका छन् ।

    ‘खुम्बु कफ’ भनिने हाइ–अल्टिच्युड (लेक लाग्ने) समस्या र भाइरसको लक्षण करिब उस्तै हुने भएकाले भाइरस संक्रमण पहिचान हुन जटिल हुने जनाइएको छ । बुधबारसम्म पर्यटन विभागले ३७७ जना आरोहीलाई सगरमाथा आरोहणको अनुमति दिइसकेको छ ।

    विज्ञ भन्छन्ः मापदण्डमा कडाइ गरौं

    संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी विदेशबाट आउने मानिसलार्ई कडाइका साथ क्वारेन्टिनमा राख्नुपर्ने र त्यसको कडा अनुगमन गर्नुपर्ने बताउँछन् ।

    ‘जहाजबाट सीधै आएर समुदायमा सोझै जाने क्रमलाई रोक्नुपर्छ र पर्यटनजस्ता क्षेत्रमा यो मापदण्डलाई कडाइका साथ पालना गराउनुपर्छ’ नेपाल प्रेससँग सुवेदीले भने, ‘पर्यटकहरु पनि संक्रमणको वाहक हुनसक्छन् र सम्बन्धित निकायले यो पक्षलाई गम्भिररुपमा लिनुपर्छ ।’

    सरकारले घोषणा गरेका स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने र त्यसो नगर्नेलाई संक्रामक रोग ऐनअनुसार कार्वाही गर्नुपर्ने उनको सुझाव छ ।

    चीनले उत्तरी मोहडाबाट यसवर्ष पनि सगरमाथा आरोहणमा रोक लगाएपछि नेपालको रुट हुँदै आउने पर्वतारोहीको संख्यामा वृद्धि भएको छ । पाकिस्तानस्थित माउन्ट केटु आरोहण गरेर फर्किएको नेपाली आरोही दललाई काठमाडौंमा स्वागत गर्दै पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मीले कोरोनाले थलिएको नेपाली पर्यटन क्षेत्रलाई उकास्न अबको ध्यान केन्द्रित हुने र आठ हजारमाथिका हिमाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने मुख्य प्राथमिकता रहेको बताएका थिए ।

    नेपालले यो सिजनमा यसअगाडि नै आरोहण रोयल्टीबापत ३.८ मिलियन डलर रेभेन्यु कमाइसकेको छ । नेपालमा शुक्रबारसम्म २ लाख ९४ हजार ६०१ जना कोरोनाभाइरसबाट संक्रमित भैसकेका छन् । नेपालमा अहिलेसम्म ३,११२ जनाको मृत्यु भएको छ ।

  • सगरमाथामा पहिलोपटक कोरोना संक्रमण पुष्टि, आरोही दलका सदस्यहरु क्वारेन्टिनमा

    सगरमाथामा पहिलोपटक कोरोना संक्रमण पुष्टि, आरोही दलका सदस्यहरु क्वारेन्टिनमा

    काठमाडौं । बसन्तकालिन आरोहण खुला भएसँगै सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पहिलोपटक कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    आरोही दलका एकजना सदस्यमा भाइरस पुष्टि भएको आउटसाइड म्यागजिनले उल्लेख गरेको छ । तर, भाइरस संक्रमणबारे पर्यटन विभागले औपचारिकरुपमा उल्लेख गरेको भने छैन ।

    भाइरस संक्रमण पुष्टि भएका एकजना सदस्यलाई उपचारका लागि हेलिकोप्टरमार्फत राजधानी काठमाडौं ल्याइएको छ । ती आरोहीमा संक्रमण पाइएपछि उनको आरोही दलका अन्य सदस्यलाई आधार शिविरस्थित क्वारेन्टिनमा राखिएको जनाइएको छ ।

    आउटसाइडर म्यागजिनका सगरमाथा संवाददाता एलन आर्नेटी भन्छन्, ‘१७ हजार ६०० फिट उचाइमा रहेको बेस क्याम्पमा रहँदा इम्युन प्रणाली प्रभावित हुने गर्छ । जोखिम निकै छ त्यहाँ । भाइरस हुँदाहुँदै सगरमाथा चढ्नु जुवा खेलेजस्तै हो ।’

    हिमालयन रेस्क्यु एसोसिएसनकी चिकित्सक डा। संगीता पौडेल सगरमाथामा भाइरस पुष्टि हुनु भूकम्प गएजस्तै परिस्थिती हुने बताउँछिन् । कोरोनाभाइरस महामारीको कारण गतवर्ष बन्द भएको आरोहण यसपटक खुला गरिएपनि पुनः नेपालमा भाइरसको दोस्रो लहर सुरु भएको छ ।

  • सगरमाथा जित्ने पहिलो कतारी महिला बन्ने उद्देश्य लिएर आस्मा काठमाडौंमा

    सगरमाथा जित्ने पहिलो कतारी महिला बन्ने उद्देश्य लिएर आस्मा काठमाडौंमा

    काठमाडौं । आउँदो गर्मीयाममा सगरमाथा आरोहणका लागि ३१ वर्षिया कतारी महिला शेइखा आस्मा अल थानी काठमाडौं आइपुगेकी छिन् । पहिलो कतारी महिलाको रुपमा सर्वोच्च शिखर चढ्ने उनको योजना छ ।

    समग्रमा मध्यपूर्वबाट सर्वोच्च शिखर चढ्ने पहिलो महिला बन्ने उनको उद्देश्य हुनेछ । सगरमाथाको उत्तरी र दक्षिणी मोहडाबाट चढ्ने उनको योजना छ । सगरमाथासहित सात हिमाल चढ्ने उद्देश्य लिएर उनी पर्वतारोहणमा निस्किएकी हुन् ।

    तर, सगरमाथा आरोहणको प्रयास गर्ने कुरामा चाहिँ उनी तेस्रो कतारी महिला हुनेछिन् । ‘म युवा हुँदादेखि नै मलाई सगरमाथा चढ्ने सपना थियो र त्यो पुरा गर्ने अठोट बोकेकी छु’ उनले भनिन् ।

    आउँदो बैशाख मध्यतिर सगरमाथा चढ्ने उनको तयारी छ । यसअघि पनि सगरमाथा आधार शिविरमा हाइकिङमा निस्किएकी थिइन् । कतार ओलम्पिक कमिटीकी बरिष्ठ अधिकारी सहित रहेकी आस्मा मध्यपूर्वको खेलवृत्तमा चर्चित नाम हो ।

    विहिबार आस्माले काठमाडौंको याक एन्ड यतीमा पर्वतारोही र आरोहण दलका समूहसँग अन्तक्रिया गरिन् ।

  • अप्रिलमा खुल्दै सगरमाथा : के-के छन् आरोहणका नयाँ नियम ?

    अप्रिलमा खुल्दै सगरमाथा : के-के छन् आरोहणका नयाँ नियम ?

    काठमाडौं- भाइरस महामारीपछि सर्वोच्च शिखर सगरमाथा आरोहण अप्रिल महिनादेखि खुल्ने भएको छ । लकडाउनले झन्डै एक वर्ष रोकिएको पर्वतारोहणलाई नयाँ मापदण्डसहित खोल्न लागिएको हो ।

    नेपाल पर्यटन बोर्डका अनुसार झन्डै ३०० पर्वतारोही अप्रिल महिनामा सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा छन् । बोर्डकी निर्देशक मीरा आचार्यका अनुसार सगरमाथा चढ्न नेपाल आउने विदेशी पर्वतारोहीलाई एक साताको क्वारेन्टिन र कोरोनाभाइरसको नेगेटिभ रिपोर्टको प्रमाणपत्र देखाउनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

    आउँदो अप्रिलमा अमेरिकाको क्यालिफोर्नियास्थित पर्वतारोही व्यवसायी लुकास फुर्टेनब्याचको एड्भेन्चर दलले दुई आरोही दललाई चढाउने जिम्मा लिएको छ । आरोही दलको तर्फबाट अप्रिलमा २२ पर्वतारोहीले सगरमाथा आरोहण गर्दैछन् । उक्त संस्थाका अनुसार उसका केही पर्वतारोहीले भाइरस मापदण्डको कारण अर्को वर्षलाई आरोहण स्थगन गरेका छन् ।

    ‘हामीसँग कोभिड-१९ परिक्षणको कमै समय तालिका छ । स्वास्थ्य मापदण्ड पनि जटिल खालको छ । हामीले स्वास्थ्य मापदण्डका उपायलाई सम्बोधन गर्न टीममा एकजना चिकित्सक पनि खटाएका छौं,’ फुर्टेनब्याचले सीएनएनलाई भनेका छन् ।

    सन् २०१९ मा ३८१ पर्वतारोहीले सर्वोच्च शिखर चढेका थिए । यो एक वर्षमा सगरमाथाको नयाँ उचाइ पनि कायम भएको छ । यसअघि सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर कायम रहेकोमा नयाँ मापनपछि ८,८४८.८६ मिटर (२९,०३१ फिट) तय भएको हो ।

    गत वर्षको मार्चमा भाइरस महामारीको कारण सरकारले सगरमाथा आरोहणमा प्रतिबन्ध लगाएको थियो । मार्च १२ सम्म नेपालमा २ लाख ७५ हजार ७० कोरोना संक्रमण संख्या पुष्टि भएको छ र ३,०१२ जनाले ज्यान गुमाएका छन् । सरकारले अक्सफोर्डले विकास गरेको कोभिसिल्ड खोप लगाउन सुरु गरेपछि भने पछिल्लो महिना भाइरस संक्रमणमा कमी आएको छ । अहिले दैनिक संक्रमण १०० भन्दा तल छ । विदेशी नागरिकको हकमा एकसाता सरकारले तोकेको होटलमा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम छ ।

    यसपटक नेपालको तर्फबाट शिखर पुग्न चाहने पर्वतारोहीको संख्या बढ्ने अनुमान गरिएको छ । भाइरसको कारण तिब्बततर्फबाट गत वर्ष आरोहणमा लगाइएको रोक यस वर्ष पनि कायमै हुने चीनले जनाएको छ । जसले गर्दा उत्तरतर्फबाट चढ्ने रुचि देखिएका पर्वतारोही पनि नेपालको साइडबाट आउन सक्ने आकलन छ ।

    अमेरिकाको म्याडिसन माउन्टेनियरिङ आरोही दलका ग्यारेट म्याडिसनका अनुसार आउँदो अप्रिल र मे महिनाको सिजनमा उनको एउटा ठूलो टोली सगरमाथा चढ्ने तयारीमा छ ।

    पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी जलवायु परिवर्तन र कोरोनाभाइरस महामारीविरुद्ध सकारात्मक सन्देश दिन यसपटकको सगरमाथा आरोहण सिजन महत्वपूर्ण हुने बताउँछन् ।

    ‘हामी कोभिडबाट डराएका हैनौं तर, सम्भावित संक्रमणको जोखिमबाट सतर्क छौं’ म्याडिसनले रोयटर्स समाचार एजेन्सीसँग भनेका छन् ।

    अल्पाइनग्लो एक्सपेडिसनका एड्रियन बालिंगर भन्छन्, ‘नेपालजस्तो कमजोर स्वास्थ्य प्रणाली भएको ठाउँमा आफैं सतर्क हुनुपर्ने बेला हो । यदि कोही आरोहणकै क्रममा विरामी भए हामी उद्दारको लागि पनि तयारी अवस्थामा हुनेछौं ।’

    सन् २०१९ मा जस्तै आउँदो वसन्तकालीन आरोहणको समयमा पनि ‘आइसफल चिकित्सक’ ले सगरमाथा चढ्ने रुटहरु सेटअप गर्ने तयारी गरिरहेका छन् । तालिमप्राप्त नेपाली पर्वतारोहीहरु खतरनाक खुम्बु आइसफलसहित अन्य जोखिमपूर्ण रुटमा डोरी र भर्‍याङ बाँध्ने काममा अहिले खटिरहेका छन् ।

    सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि एवं आरोहण रुट व्यवस्थापन गर्ने टोलीका निशान श्रेष्ठका अनुसार दुई सहयोगीसहित आठ पर्वतारोही यतिबेला सगरमाथा आधारशिविरमा पुगेर कामको तयारी गरिरहेका छन् । आउने सातादेखि उनीहरुले मौसम सुधारसँगै काम सुरु गर्ने उनले जनाए ।

    यतिबेला काठमाडौंस्थित पर्वतारोहण संघसंस्था अप्रिलदेखि सुरु हुने आरोहण सिजनको तयारीमा व्यस्त छन् । गतवर्ष भाइरस महामारीको कारण रोकिएको आम्दानी यस वर्षको सिजनसँगै सुरु हुने आशा उनीहरुमा पलाएको छ । सरकारले विदेशीका लागि आगमन खुलाए पनि भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमाचाहिं अहिले पनि बन्द अवस्थामा छन् ।

    पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी जलवायु परिवर्तन र कोरोनाभाइरस महामारीविरुद्ध सकारात्मक सन्देश दिन यसपटकको सगरमाथा आरोहण सिजन महत्वपूर्ण हुने बताउँछन् । बढीभन्दा बढी पर्वतारोहीलाई नेपाली हिमालहरुमा आरोहण गरेर नेपाल सुरक्षित छ र लयमा फर्किएको छ भन्ने सन्देश दिने प्रयत्नमा बोर्ड रहेको उनको भनाइ छ ।

    भाइरस महामारीले सगरमाथा क्षेत्र खुलेसँगै दुई हलिउड फिल्मले छायांकन तयारी गरिरहेका छन् । जसमा चर्चित हलिउड गायिका सेलेना गोमेजको लेस्बियन बायोपिक र नेटफिल्क्सका लागि अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा दम्पतीले तेन्जिङ नोर्गे शेर्पामाथि बनाउने फिल्म ‘तेन्जिङ’ छन् ।

    पर्यटन प्रवर्धनका लागि बोर्डले पहिलो तीन महिना विश्व समुदायलाई नेपाल खुला छ भन्ने सन्देश प्रवाह गर्ने, दोस्रो तीनदेखि ६ महिनामा आफूलाई पूर्णरुपमा तयार राख्ने र ६ महिनापछि पुरानै अवस्थामा फर्कने गरी रणनीति बनाउनेतर्फ बोर्डले काम गरिरहेको प्रमुख कार्यकारी अधिकृत रेग्मीले जानकारी दिए ।

    पर्वतारोही गाइड पेम्बा भोटे यो सिजनमा पहिलेभन्दा बढी पर्यटक आउन सक्ने भएकाले सोहीअनुसार आफूहरु तयारी अवस्थामा रहेको बताउँछन् । ‘अघिल्लो वर्ष धेरै पर्वतारोहीले अन्तिम समयमा आरोहण स्थगित गर्दा हामी आर्थिकरुपमा पनि प्रभावित हुनुपरेको थियो’ भोटे भन्छन्, ‘सरकार पनि यसपटक भिन्न तयारीमा छ र यसपटक हामीले सोचेभन्दा बढी पर्यटक आउनसक्ने सम्भावना छ ।’

    केही अन्तर्राष्ट्रिय एक्सिपिडिसन दलले चाहिं अनिश्चिकालका लागि सगरमाथा आरोहण स्थगित गरेका छन् । न्यूजिल्यान्डस्थित एड्भेन्चर कन्सलट्यान्ट गाइ कोटर अझै केही वर्ष आर्थिक र वातावरणीय रुपमा पनि सगरमाथा आरोहण गर्नु उचित नभएको तर्क गर्छन् ।

    ‘मलाई व्यक्तिगतरुपमा यो सिजन पनि यस्तै हुन्छ भन्ने लाग्छ र ठीक छैनजस्तो लाग्छ । बरु केही पछि यसबारे सोच्दा हुन्छ’ कोटरले साउथ चाइना मनिङ पोस्टलाई भनेका छन् ।

    सन् २०१८ मा मात्र ८८५ जनाले सगरमाथा आरोहण गरेका थिए जसमा ६४४ जनाले नेपालतर्फबाट र २४१ जनाले तिब्बती मोहडाबाट आरोहण गरेका थिए । उक्त समयमा तिब्बती मोहडाबाट चढ्दा ११ जनाले ज्यान गुमाएका थिए ।

    अरुको फोटो/भिडियो खिच्न रोक
    अघिल्लो सिजनमा सगरमाथामा मान्छेको ‘ट्राफिक जाम’ भएको एउटा तस्विर विश्वव्यापी भाइरल बन्यो । कीर्तिमानी आरोही निर्मल पुर्जाले खिचेको उक्त तस्विरकै कारण अन्तर्राष्ट्रिय संचारमाध्यमदेखि पर्वतारोहण संघसंस्थाले सगरमाथा जोखिमपूर्ण र प्रदूषित भएको भन्दै नेपाललाई आरोहण अनुमति नदिन दबाब मात्र दिएनन् अन्तर्राष्ट्रिय समुदायमा नेपाल आलोचितसमेत बन्न पुग्यो ।

    यही समस्यालाई सम्बोधन गर्न गत बुधबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै अनुमतिबिना अर्को आरोही दलको तस्विर र भिडियो खिच्न नपाइने नियम ल्यायो । पर्वतारोहीले आफ्नो दलको र आफ्नो भिडियो एवं तस्विर मात्र खिच्न पाउने र सेयर गर्न पाउने नयाँ नियम यो सिजनका लागि लागू गरिने भएको छ । विभागको अनुमति बिना त्यस्तो गरेको पाइए उक्त आरोहीलाई प्रतिबन्ध लगाउनेसम्मको चेतावनी दिइएको छ ।

    सन् २०१९ मा निर्मल पुर्जाको उक्त तस्विर भाइरल भए लगत्तै सीएनएन, बीबीसी, नेसनल जोग्राफिकलगायतका अन्तर्राष्ट्रिय मिडियाले हिमालको विषयमा नेपाल सरकारसँग प्रश्न उठाएका थिए । सोही सिजनमा अन्य केही आरोहीले पनि सगरमाथाको भिडियो बनाएर इन्टरनेटमा भाइरल तुल्याएका थिए । विभागले सन् २०१५ को विनाशकारी भूकम्पपछि केही विदेशी आरोहीले सगरमाथा पर्यटनबारे नकारात्मक सन्देश जाने गरी फोहोर थुपारेको भिडियोलाई भाइरल बनाएको आरोप लगाएको छ ।

    बहराइन राजपरिवारले यसै सिजनमा चढ्ने

    बहराइनको राजपरिवार सगरमाथा आरोहणका लागि चैत २ गते काठमाडौं आउने तयारीमा छ । राजपरिवारका एकसहित १६ जनाको टोली नेपाल आउन लागेको नेपाली राजदूत पदम सुन्दासले जानकारी दिए । आरोहण दलमा बहराइन रोयल गार्डमा आधारित १३ जना बहराइनी र ३ जना बेलायती नागरिक हुनेछन् । विशेष विमानबाट नेपाल आउने उक्त टोली ७९ दिनसम्म नेपालमा रहने जनाइएको छ ।

    बहराइन आरोही दलको लागि आरोहणको बन्दोबस्त नेपालस्थित सेभेन समिट ट्रेक्स प्रालिबाट भैरहेको छ । सो टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल आरोहण गरेको थियो । त्यतिबेला बहराइनका राजकुमार नेपाल आइपुगेका थिए ।

    दुई हलिउड फिल्म छायांकन तयारीमा

    हलिउड रिपोर्टर म्यागजिनका अनुसार भाइरस महामारीले सगरमाथा क्षेत्र खुलेसँगै दुई हलिउड फिल्मले छायांकन तयारी गरिरहेका छन् । जसमा चर्चित हलिउड गायिका सेलेना गोमेजको लेस्बियन बायोपिक र नेटफिल्क्सका लागि अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा दम्पतीले तेन्जिङ नोर्गे शेर्पामाथि बनाउने फिल्म ‘तेन्जिङ’ छन् ।

    सगरमाथा आरोही सिल्भिया भास्केज लाभाडोको जीवनमाथि बन्ने बायोपिक फिल्मलाई गोमेजको मुन पिक्चर्सले निर्माण गर्ने जनाइएको छ । पेरुभियन सगरमाथा आरोही लाभाडोको आत्मकथा ‘इन द स्याडो अफ दी माउन्टेन’कै नाममा शीर्षक नामकरण हुनेछ । लाभाडोले सगरमाथासहित सातै महादेशका अग्ला हिमाल चढिसकेकी छिन् ।

    लाभाडोले आफूलाई गे महिलाको रुपमा चिनाउने गरेकी छिन् र फिल्मलाई मायान्स एमसी फेन्ड निर्देशक एवं लेखक एल्गिन जेम्सले निर्देशन गर्ने भएका छन् । यो फिल्म निर्माणमा सेलेनाले अस्कर अवार्ड विजेता डोना गिग्लिवटीसँग सहकार्य गर्ने उल्लेख छ ।

    अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार आगामी गर्मी सिजनमा अमेरिकी पूर्वराष्ट्रपति ओबामा र नेटफिल्क्सले निर्माण गर्ने फिल्म तेन्जिङको छायांकन हुने तयारी छ । यो फिल्मलाई चर्चित डकुमेन्ट्री शेर्पा एन्ड माउन्टेन निर्देशक जेन पिडमले निर्देशन गर्ने भएकी छिन् । यो फिल्मलाई नेपाल र न्यूजिल्यान्डमा छायांकन गर्ने तयारी भैरहेको छ ।

  • सगरमाथा आधारशिविरका प्रेमिल पत्थर

    सगरमाथा आधारशिविरका प्रेमिल पत्थर

    सोलुखुम्बु । सगरमाथा आधारशिविर पुगेपछि फोटो खिच्न, खिचाउन मन लाग्नु स्वाभाविक हो । तर रोचक के छ भने, यहाँ पुगेर पत्थरमा आफ्नो प्रेमी-प्रेमिका लेख्नेहरुको होडबाजी नै चल्छ । ५ हजार ३६४ मिटर उचाइमा पुगेपछि अधिकांश आरोहीले आफ्नो प्रियजनको नाम पत्थरमा लेख्छन्, जहाँबाट सगरमाथाको चुचुरो देखिन्छ ।

    तस्वीरमा हेर्नुहोस्, सगरमाथा आधारशिविरका पत्थरमा लेखिएका केही प्रेमिल अभिव्यक्तिः

            
  • गर्मी मौसममा ओबामा फिल्म सगरमाथामा छायांकन हुने, जेन पिडमले निर्देशन गर्ने

    गर्मी मौसममा ओबामा फिल्म सगरमाथामा छायांकन हुने, जेन पिडमले निर्देशन गर्ने

    काठमाडौं । पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पामाथि बन्न लागेको नेटफिल्क्स फिल्म ‘तेन्जिङ’लाई अष्ट्रेलियन निर्देशक जेन पिडमले निर्देशन गर्ने भएकी छिन् ।

    हाइ–अल्टिच्युड डकुमेन्ट्री ‘शेर्पा एन्ड माउन्टेन’ निर्देशन गरिसकेकी पिडमले निर्देशकमा आबद्ध हुनु पाएकोमा निकै खुशि लागेको प्रतिक्रिया दिएकी छिन् । ‘उत्साहित छु’ उनले भनिन्, ‘यो कथामा काम गर्न पाउँदा निकै खुशि छु ।’

    अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार फिल्मलाई नेपाल र न्यूजिल्यान्डमा छायांकन गरिने भएको छ । अर्का पहिलो सगरमाथा आरोही सर एडमन्ड हिलारीको देश न्यूजिल्यान्ड र तेन्जिङको नेपालमा फिल्म सुट गरिने भएको छ । सन् १९५३ मा हिलारी र शेर्पाले सगरमाथा चढेका थिए ।

    १५ वर्षदेखि निर्देशक पेडमले संसारका अग्ला पर्वत श्रृंखलाबारे फिल्म बनाइरहेकी छिन् । २०१५ को फिल्म ‘शेर्पा चर्चित भएको थियो । ‘एभरेस्ट विजयमाथि तेन्जिङले हासिल गरेको सफलताको कथालाई फिल्मले पुनः भन्नेछ’ उनी भन्छिन्, ‘किनभने तेन्जिङ केवल शेर्पा गाइड मात्र थिएनन् ।’

    माथिल्लो तस्विर : जेन पिडम सगरमाथामा डकुमेन्ट्री ‘शेर्पा’ छायांकन क्रममा । तस्विर – फुटप्रिन्ट

    नेपालको पदयात्रामा डकुमेन्ट्री खिच्न थालेपछि भने पिडमलाई फिल्म निर्देशनमा सक्रिय हुन मन लाग्यो । डिस्कभरी च्यानलका लागि उनले खिचेको ‘एभरेस्ट : बियोन्ड द लिमिट’पछि बनेको शेर्पाले सगरमाथामा आएको हिमआँधीबारे कथा भन्छ ।

    आफू लामो समयदेखि तेन्जिङको परिवार र शेर्पा समुदायसँग निकट रहेको पिडमको भनाई छ । फिल्म तेन्जिङको कथा चाहिँ अष्ट्रेलियाली फिल्म लेखक ल्युक डेभिसले लेखिरहेका छन् । उनले यसअघि लायन फिल्म लेखेका थिए ।

    एड डग्लसको बायोग्राफी ‘तेन्जिङ : हिरो अफ एभरेस्ट’माथि फिल्म आधारित हुनेछ । अष्ट्रेलियाली फिल्म मेकर डेभिड माइकर्ड र तेन्जिङका छोरा नोर्बु कार्यकारी निर्माता हुनेछन् ।

    कोभिड–१९ महामारीले छायांकन योजनालाई अवरुद्ध गरेको र उपयुक्त मौसममा फिल्मलाई नेपाल र न्यूजिल्यान्डमा छायांकन गरिने जनाइएको छ । बाराक ओबामाको फिल्म कम्पनी हाइअर ग्राउन्डले सन् २०१८ मा नेटफिल्क्ससँग ६ वटा फिल्म बनाउने सम्झौता गरेको थियो ।

  • को हुन् जी न्यूजले सगरमाथाको नाममा चर्चामा ल्याएका राधानाथ सिकदर ?

    को हुन् जी न्यूजले सगरमाथाको नाममा चर्चामा ल्याएका राधानाथ सिकदर ?

    इटहरी । २०६० कात्तिक ३ गते बीबीसी विश्व सेवाको अनलाइनमा एक समाचार प्रकाशित भएको थियो । ‘दि म्यान हु डिस्कभर्ड एभरेष्‍ट’ अर्थात ‘जसले सगरमाथा पत्ता लगाए’ शीर्षक त्यस फिचरमा भारतीय विद्वान राधानाथ सिकदरको चर्चा गरिएको छ ।

    ४ वर्षको प्रयासपछि तत्कालीन समयमा ‘पिक फिप्टिन्थ’ अर्थात पन्ध्रौं चुली भनिने सगरमाथाको उचाइ सिकदरले पत्ता लगाएको फिचरमा उल्लेख गरिएको छ ।

    भनिएको छ, ‘सन १८५२ को एक दिन बेलायतशासित भारतका एक युवाले पहाडी क्षेत्र उत्तरी देहरादुनमा रहेको आफ्नो कार्यालयका हाकिमलाई भने- सर मैले संसारको सबैभन्दा अग्लो हिमाल पत्ता लगाएको छु ।’

    तर, १७ वर्षपछि भर्खरै जी न्यूजले आफ्नो युट्युब च्यानलमा अपलोड गरेको भिडियोमा विश्‍वको सर्वोच्‍च शिखरको नाम ‘माउन्ट सिकदर’ हुनुपर्ने उल्लेख गरेपछि व्यापक विरोध भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको अन्तर्वार्तापछि सगरमाथा क्षेत्रको कालापत्थर पुगेर जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीले पुस २८ मा सगरमाथामा भारतीय दाबासहित माउन्ट एभरेष्‍टको नामाकरण ‘माउन्ट सिकदर’ बताएका थिए । चौधरीकै आह्वानमा सामाजिक सञ्‍जालमा ‘इन्डिया फर माउन्ट सिकदर’ अभियानसमेत चलाइयो ।

    यता नेपालमा भने कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन कब्जा गरेको भारतले सगरमाथामा पनि ‘कब्जा’ गर्न खोज्यो भनेर तीब्र विरोध भयो । विरोध बढेसँगै सगरमाथा नेपालको भएको र नेपालबाट कसैले लान नसक्ने भन्दै पुस २९ गते अपलोड गरिएको सामग्रीमा बोली फेरे ।

    यद्यपी, नेपालमा ‘सगरमाथा’ र चीनमा ‘झोमोलोङ्मा’ जस्ता आफ्ना-आफ्ना नामहरू भएपनि भारतमा भने ‘माउन्ट एभरेष्‍ट’ नै भनिने बताउँदै चौधरीले अब भने ‘माउन्ट सिकदर’ भन्नुपर्ने तर्कलाई जारी राखेका छन् । प्रष्‍टीकरण आएपनि बिनाअनुमति सगरमाथा राष्ट्रिय निकुन्ज प्रवेश गरेर टेलिभिजन रिपोर्टिङ गरेको विवाद भने अहिले सम्म छ ।

    एक महिनाअघिदेखि कै अभियान

    सगरमाथा क्षेत्रमा पुगेर चौधरीले निर्माण गरेको भिडियो सामग्रीपछि मात्रै नेपालीमाझ ‘नोटिस’ भएको सगरमाथाको नाम फेर्ने जी न्यूजको अभियान धेरै पहिलेदेखिकै हो । २०७७ मंसिर १६ मै युट्युबमा अपलोड भएको एक सामग्रीमा उक्त अभियान शुरू भएको देखिन्छ । च्यानलले ‘एभरेष्‍टका नाउ माउन्ट सिकदर क्यूँ नही ?’ शीर्षकमा ११ मिनेट १६ सेकेन्डको सामग्री पस्किएको थियो । सोही अभियानको विस्तारि स्वरूपमा सगरमाथा क्षेत्रको रिपोर्टिङलाई लिन सकिन्छ ।

    को हुन् सिकदर ?

    सगरमाथासँग जोडिएर भारतीयमाझ आउने सिकदर भारतका प्रसिद्ध गणितिज्ञ हुन् । नेपालसँगै जोडिएको पश्चिम बंगालको कलकत्तामा जन्मिएका सिकदरको पूरा नाम राधानाथ सिकदर हो । सन् १८१३ को अक्टोबरमा बेलायतशासित भारतमा जन्मिएका सिकदर बेलायतले संचालन गरेको दक्षिण एसियाली क्षेत्रको ग्रेट ट्रिगोनोमेट्रिकल सर्वेका ‘कम्प्युटर’ थिए । त्यो समयमा अहिलेको जस्तो हिसाब गर्ने यन्त्र कम्प्युटर नभएकोले हिसाब गर्ने मान्छेलाइनै कम्प्युटर चन्ने चलन थियो ।

    ग्रेट ट्रिगोनोमेट्रिकल सर्वेले सन् १८६५ मा तत्कालिन पिक फिप्टिन्थलाई माउन्ट एभरेष्‍ट भनेर नामाकरण गरेको थियो । इस्ट इन्डिया कम्पनीले संचालन गरेको सर्वे अफ इन्डियाका तत्कालीन प्रमुख एन्ड्रु वटले आफ्नै पदका पूर्वसहकर्मी जर्ज एभरेष्‍टको नाममा उक्त नाम राखेका थिए । दि गार्जियनले सन् २०११ को जुलाइ २१ मा लेखेको रिपोर्ट अनुसार जर्ज एभरेष्‍ट आफैं आफ्नो नाममा हिमालको नामाकरण भएकोमा असन्तुष्ट थिए ।

    एभरेष्‍ट आफैं असन्तुष्ट भएको, नेपाल तथा चीनको आफ्ना-आफ्ना नाम भएको र सिकदरले उचाइ पत्ता लगाएकोजस्ता तर्क गर्दै केही भारतीयहरू माउन्ट एभरेष्‍टलाई माउन्ट सिकदर बनाउन भारत लाग्नुपर्ने अभियानमा छन् । जी न्यूज यसैको अभियानमा सक्रिय छ ।

    सन १८७० को मे १७ मा मृत्यू भएका सिकदरलाई बेलायतको उपनिवेशबाट मुक्त भएपछि भारतले धेरै सम्मान दिएको छ । भारत सरकारले सिकदरको नाममा सन् २००४ को जुन २८ बाट हुलाक टिकट संचालनमा ल्याएको छ ।

    पश्चिम बंगाल सरकारले सन २०१३ बाट राधानाध सिकदर-तेन्जिङ नोर्गे अवार्डको स्थापना गरेको छ । नेपालमा जन्मेर सगरमा आरोहण गरेका तेन्जिङ पछि भारतीय नागरिक भएका थिए । बेलायती आरोहणदलबाट सगरमाथाको पहिलो आरोहण एडभन्ड हिलारीसँगै गरेका तेन्जिङसँगै जोडेर पश्चिम बंगालले सिकदरको ब्रान्ड गरिरहेको छ ।

    माओ पनि माउन्ट एभरेष्‍टसँग असहमत थिए, यस्तो थियो नयाँ बीपीसँग प्रस्ताव गरेको नाम

    जसरी अहिले जी न्यूजलगायतका केही भारतीयहरू माउन्ट एभरेष्‍ट नामसँग सहमत छैनन् । ठीक त्यसैगरी चीनका महान नेता माओ पनि माउन्ट एभरेष्‍ट नामसँग असहमत थिए । उनले आफ्नो असहमति तत्कालीन नेपालका प्रधानमन्त्री बीपी कोइरालासँग राखेका थिए । माओले राखेको प्रस्तावमा बीपी पनि सहमत भएका थिए ।

    २०१६ चैत ५ (सन १९६० मार्च १८) जतिबेला सगरमाथा विवादको बारेमा पहिलो माओ र बीपीबीच उच्चस्तरीय छलफल भएको थियो । उक्त छलफलमै माउन्ट एभरेष्‍टलाई नाम फेर्ने प्रस्ताव माओले गरेको माओको पुस्तक ‘अन डिप्लोमेसि’ मा समेत उल्लेख छ । सन् १९९८ मा छापिएको उक्त पुस्तकमा उल्लेख भए अनुसार माओसँग बीपीले राखेका सगरमाथाको विवाद र नयाँ नामबारेको कुराकानी यस्तो थियो –

    बीपी त्यहाँ अर्को प्रश्न छ । एक भावनात्मक प्रश्न । हामी यसलाई सगरमाथा भन्छौं । तपाईं झोमोलोङ्मा भन्नु हुन्छ । पश्चिमाहरं माउन्ट एभरेष्ट भन्छन । यो क्षेत्र सधै नेपालको भू-भाग भित्र पर्छ । तर, प्रधानमन्त्री चाउएनलाइले यो चीनभित्र पर्छ भन्नुभयो ।

    माओः यसमा तपाईंले असहज मान्नु हुँदैन ।

    बीपी : यो भावनात्मक प्रश्न हो ।

    माओः यसलाई आधा-आधा गरेर समाधान गर्न सकिन्छ । दक्षिणि भाग तपाईंको । उत्तरी भाग हाम्रो ।

    बीपी : अनि चुचुरो चाहिँ के गर्नु ?

    माओः त्यो पनि आधा-आधा । यसो गरे कसो हुन्छ ? यदि यो समाधान गर्न सकिँदैन भने पछिको लागी सार्न सकिन्छ । हिमाल धेरै अग्लो छ र यसले हाम्रो सीमा सुरक्षा गर्न सक्छ । हामी दुवैले पनि कुनै घाटा बेहोर्नु पर्दैन । यदि सबै सगरमाथा तपाईंलाई दिए भावनात्मक रूपमा हामीलाई दुःख हुन्छ । सबै हामीलाई दिए भावनात्मक रूपमा तपाईंलाई दुःख हुन्छ । हामीले सीमारेखा चुचुरोमा राख्न सक्छौं । हिमालको नाम नयाँ राखौँ । माउन्ट एभरेष्‍ट त पश्चिमाहरूले दिएको नाम हो । यसलाइ सगरमाथा पनि नभनौं । चोमोलोङ्मा पनि नभनौं । यसलाइ नेपाल-चीन मैत्री हिमाल भनौं ।

    बीपी : ठिकै छ ।

  • कसरी हलिउडले सगरमाथामाथि फिल्म खिच्यो ?

    कसरी हलिउडले सगरमाथामाथि फिल्म खिच्यो ?

    नेपाल र चीन सरकारले यसै महिना सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरे । हलिउड सहित विश्व फिल्मका ठूला नामहरु ८,८४८ मिटर उचाइको यो हिमालमा फिल्म सुटिङका लागि लालयित हुने गर्छन् । हलिउडको थ्रीडी फिल्म ‘एभरेस्ट’ केही वर्ष पहिले छायांकन भयो । सेलेना गोमेजको मुन पिक्चर्सले एउटा बायोपिक फिल्म एभरेस्टमा छायांकन गर्ने तयारी गरिरहेको छ ।

    ‘एभरेस्ट’ फिल्मको क्रु नै काठमाडौंमा आइपुगेको थियो । यस फिल्मका सिनेम्याटोग्राफर साल्भाटोर टाटिनोले सगरमाथामा फिल्मांकनलाई मृत्युसँगको पैठेजोरी भएको टिप्पणी गरेका छन् । हलिउड रिपोर्टर म्यागजिनले साल्भाटोरले एभरेस्ट कसरी खिचे भनेर संस्मरण छापेको छ ।

    ‘काठमाडौंमा फिल्म सुटिङ गरेर हामी लुक्ला उड्यौं । संसारको एउटा खतरनाक एयरपोर्टमध्ये एउटा’ टाटिनोले भने, ‘लुक्लामा सुट गरेर हामी डेढघण्टा टाढाको एउटा झोलुंगे पुल खिच्न पुग्यौं । त्यसपछि १२ सय फिटको नाम्चे बजार र ताङ्बोचेको एउटा मन्दिरमा खिच्यौं । अनि त्यसपछि हेलिकोप्टरबाट १५ सय फिटको उचाइमा गयौं जहाँबाट हिमाल चढ्न सकिन्छ ।’

    बाल्टासार कोर्माकुरले निर्देशित फिल्मले हिमआँधीमा परेर ८ जना सगरमाथा आरोहीको मृत्यु भएको घटनालाई चित्रण गर्छ । दा भिन्ची कोड, फ्रस्ट निक्सोन, कन्कसन फिल्म समेत खिचेका टाटिनोले एरी एलेक्साको एक्सटी क्यामेराबाट फिल्म सुट गरेका थिए । एरिर फम्र्याटमा फिल्म खिचिएको थियो ।

    निर्माणको काम चाहिँ निकै चुनौतिपूर्ण थियो । ‘यो शारीरिक जोखिमपूर्ण थियो । त्यहाँको मौसमसँग एकाकार नभइकन उचाइमा फिल्न खिच्नु निकै कठिन । यतिबेला सबैलाई सास फेर्न गाह्रो हुन्छ र शरिर डिहाइड्रेट हुन्छ’ सगरमाथा वरपरका अन्य हिमालमा समेत खिच्दा कठिनाइ भएको स्मरण गर्दै टाटिनो भन्छन्, ‘हामीलाई मान्छे र उपकरण ओसार्नु थियो । हामीसँग समय कम थियो । हामीसँग ७५ जना शेर्पाको टोली थियो । खच्चर र याकको क्याराभानसँगै चार ठूला उपकरण बोक्नुपर्ने थियो ।’

    ‘हामीलाई एउटा निश्चित थलोमा लगिएको थियो जहाँबाट उपकरण बोकेर हिँड्नुपर्ने थियो । त्यहाँबाट सगरमाथाको फिल्म सुट गर्ने थलोमा पुग्नुपर्ने । चार फिट हिउँमाथिको एउटा साँघुरो स्लोपमा रहेर खिच्नुपर्ने तरिकाले डोरीले हामीलाई बाँधिएको थियो । हिँउ तलको चट्टान चाहिँ निकै कमजोर ।’

    ‘त्यहाँ यस्तो समय थियो डोरीमा झुन्डिएर एउटा चट्टानबाट अर्कोमा पुग्नुपर्ने’ टाटिनो भन्छन्, ‘म केही हिउँका ठूला चट्टानमाथि चढेँ जहाँबाट गजबको दृश्य सुट गर्न सकिन्थ्यो । म क्यामेरा बोकेरै चट्टानमा उक्लिएँ र दृश्य लिएँ । कलाकारले पनि त्यसै गरे । त्यो निकै कठिन थियो र रमाइलो पनि । फिल्म सुट गर्नु अगाडि रेविज भ्याक्सिन र लेक नलाग्ने डाइमक्स औषधी लिएर सुरक्षाको तयारी थियो’ टाटिनोले सम्झिए ।

    लुक्लामा एउटा लोकेसन खोजीको क्रम सम्झँदै टाटिनोले भने, ‘बेसबलको ब्याट मेरो टाउकोमा खसेजस्तै भयो । त्यस्तो किसिमले टाउको कहिल्यै दुखेको थिएन मेरो । फिल्म सुट गर्दा मैले डायमक्स औषधी लिएँ । म मौका लिन चाहन्न ।’ सगरमाथाका कतिपय दृश्य चाहिँ, खासगरि क्याम्प ३ भन्दा माथिको आइसफलका दृश्य चाहिँ १० हजार फिट उचाइको इटालीस्थित भल सेनल्समा खिचियो । अनि टीम स्टुडियोतिर लाग्यो ।

    सगरमाथाको हिलारी स्टेप, क्याम्प ४ को आइसफल चाहिँ जेम्स बन्डको लन्डनस्थित पाउनउड स्टुडियोमा सीजीआइ ब्याकग्राउन्डमा खिचिएको थियो । ‘यो निकै चुनौतिपूर्ण थियो किनभने हामीले सूर्यको दृश्यलाई रि–कम्पोज गर्नुपर्ने थियो किनभने एभरेस्बाट यो दृश्य निकै चहकिलो र सुख्खा देखिन्छ’ टाटिनो भन्छन्, ‘हिलारी स्टेप, चुचुरो र आइसफलबाट देखिने सूर्यको दृश्यलाई सफ्ट बनाउनुपर्ने थियो ।’

    ‘९ फिट लामो र डेढ मिटर आयतनका १ लाख वाटका बत्तीलाई क्रेनबाट लतारेर लैजानुपर्ने थियो किनभने निकै गह्रौं थिए ती’ उनले सम्झिए ।

    फिल्मांकनको बेला एक्सिपिडिसन गाइड रब हल (जेसन क्लार्क) आँधीले गर्दा हिमालमै अड्किएको क्षण टाटिनोले सम्झिए । हामीले गह्रुँगा प्लास्टिक जम्मा गरेर सेट बनायौं । यसको आकार नै ट्रकको आधाजस्तो थियो । अनि त्यो स्टेजलाई २८ डिग्री फरेनहाइटमा चिसायौं र वास्तविक हिउँ पनि राख्यौं । निर्देशक बाल्टासार एक्टर वास्तविकरुपमै चिसिएजस्तो देखिने तरिकाले लिन चाहन्थे ।’

  • सिंगो सगरमाथा चीनले दाबी गर्दा माओसँग बीपीको त्यो अडान

    सिंगो सगरमाथा चीनले दाबी गर्दा माओसँग बीपीको त्यो अडान

    इटहरी । गत मंगलबार (मंसीर २२ गते) नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उँचाइ सार्वजनिक गरे ।

    सात दशक अगाडि सन् १९५० को दशकमा स्थापित ८८४८ मिटर उँचाइ भन्दा ०.८६ मिटर अग्लियो सगरमाथा । यो उँचाइ मापन दुई कोणमा धेरै महत्वपूर्ण थियो । एक, सगरमाथालाइ सीमा बनाएका नेपाल र चीन दुवैले इतिहासमा पहिलोपटक एकै उँचाइमा सहमति भएर सार्वजनिक गरे । दुइ, सगरमाथाको देश नेपालले विश्वमा पहिलोपटक सर्वेयरहरुलाइ चुचुरोमै पुर्याएर सगरमाथाको सफल मापन गर्यो ।

    नेपाल र चीनले सगरमाथाको उचाइ संयुक्त रुपमा सार्वजनिक गरेपछि नेपाली सामाजीक संजालहरुमा एक प्रश्न आयोः सगरमाथा नेपालको तर किन चिनसँग मिलेर सार्वजनिक गरेको उचाइ ? तर, खासमा नेपाल र चिनको सिमाना हो सगरमाथा । दुइतर्फबाटै सगरमाथा आरोहण हुन्छ ।

    अझ प्रथम सगरमाथा आरोहणको प्रयास भने चिनतर्फबाटै भएको हो । जुन सन १९२१ मा बेलायती आरोहि जर्म मेलोरीले गरेका थिए । प्रथम सफल आरोहण भने नेपालतर्फबाट सन १९५३ को मे २९ मा भएको थियो । नेपालमा जन्मिएका तेन्जीङ र न्यूजिल्यान्डका एडमन्ड हिलारीले उक्त ऐतिहाँसिक सफलता पाएका थिए ।

    सगरमाथाः आरोहण पैले अनि मात्रै सिमा निर्धारण

    सगरमाथा बारेमा रोचक कुरा चै जतिबेला सगरमाथाको सफल आरोहण भयो त्यतिबेला नेपाल र चिनको औपचारिक कुटनैतिक सम्बन्ध समेत स्थापना भएको थिएन ।

    सगरमाथा आरोहणको दुइ बर्षपछि मात्रै सन १९५५ को अगस्ट १ मा नेपाल र चिनको औपचारिक रुपमा कुटनैतिक सम्बन्ध स्थापना भयो । दुवै देशबाट आरोहण भएको तथा दुवै देशमा आफ्नो–आफ्नो नाम र महत्व भएको सगरमाथा कताको हो भन्नेमा टुंगो भने कुटनैतिक सम्बन्धपछि पनि भएको थिएन । जसको बहस नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको चिन भ्रमणताका मात्रै नेतृत्व तहमा भएको थियो ।

    सगरमाथामा नेपालको स्वामित्व राख्न बीपीको त्यो ऐतिहाँसिक अडान

    बीपी कोइराला २०१६ जेठ १३ मा प्रधानमन्त्री बने । १८ महिना १८ दिन सम्म चलेको उनको कार्यकाल २०१७ पुष १ गते सम्म रह्यो । यहि कालमा उनले गरेका धेरै कुटनैतिक कामहरुमा एक महत्वपुर्ण काम हो सगरमाथा नेपालको हो भनेर चीनसँग दाबा गर्नु । यो दाबा उनले कुनै पत्रकार सम्मेलन गरेर वा लेख लेखेर अप्रत्यक्ष रुपमा गरेका थिएनन । उनले चिनका नेता माओसँगै भेटेर दाबा गरेका थिए ।

    कुरा २०१६ चैत्र ५ (सन १९६० मार्च १८) को हो । त्यो दिन चिन भ्रमणमा रहेका तत्कालिन प्रधानमन्त्री बीपीले तत्कालिन चिनियाँ प्रधानमन्त्री चाओएन लाइपछि माओलाइ भेटेर सगरमाथा बारेमा आफ्नो प्रष्ट कुरा राखे । चिनमा चोमालोङ्मा र नेपालमा सगरमाथा भनेर चिनिने विश्वको सर्वोच्च शिखरलाइ दुवै देशले पुरा भाग आफ्नो भनेर दाबा गरेका थिए ।

    कति सम्म भने चिनियाँ प्रधानमन्त्री चाओएन लाइले त सगरमाथा नेपालको हुँदै हैन भनेर विपीसँगको वार्तामा भनेका थिए । विपीले त्यो कुरामा आपत्ति जनाएर माओसँग कुरा गरेका थिए । किनभने माओ प्रधानमन्त्री र राष्ट्रपति नभएपनि चिनका सबैभन्दा शक्तिशाली नेता थिए । उनीसँग विपीले सगरमाथा बारेमा प्रष्ट कुरा राखे ।

    २०१६ चैत २२ मा चिन भ्रमण सकेर नेपाल फर्केपछि बीपीले पत्रकार सम्मेलन गरेरै नेपाल र चिनको सगरमाथा सकसको कुरा सार्वजनिक गरेका थिए । जगत नेपालको पुस्तक ‘पहिलो संसद’मा उल्लेख भए अनुसार बीपीले प्रधानमन्त्री निवाशमै पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा बीपीले सगरमाथा चिनले आफ्नो सिमामा पर्छ भनेर दाबि गरेको बताउदै भनेका थिए, ‘तर हामीले सगरमाथा हाम्रो हो भनेका छौँ । संयुक्त सिमा समितिबाट यसको टुंगो लगाउनुपर्छ ।’

    बीपीले पत्रकार सम्मेलनमा भनेकै कुरा माओको पुस्तक ‘अन डिप्लोमेसि’मा समेत उल्लेख छ । सन १९९८ मा छापिएको उक्त पुस्तकमा उल्लेख भए अनुसार माओसँग विपीले राखेका सगरमाथाको कुरा यस्तो थियोः

    विपीः त्यहाँ अर्को प्रश्न छ । एक भावनात्मक प्रश्न । हामी यसलाइ सगरमाथा भन्छौँ । तपाइ झोमोलोङ्मा भन्नु हुन्छ । पश्चिमाहरु माउन्ट एभरेष्ट भन्छन । यो क्षेत्र सधै नेपालको भुभाग भित्र पर्छ । तर प्रधानमन्त्री चाउएनलाइले यो चिनभित्र पर्छ भन्नु भयो ।

    माओः यसमा तपाँइले असहज मान्नु हुँदैन ।

    विपीः यो भावनात्मक प्रश्न हो ।

    माओः यसलाइ आधा आधा गरेर समाधान गर्न सकिन्छ । दक्षिणि भाग तपाँइको । उत्तरी भाग हाम्रो ।

    विपीः अनि चुचुरो चै के गर्नु?

    माओः त्यो पनि आधा आधा । यसो गरे कसो हुन्छ? यदि यो समाधान गर्न सकिदैन भने पछिको लागी सार्न सकिन्छ । हिमाल धेरै अग्लो छ र यसले हाम्रो सिमा सुरक्षा गर्न सक्छ । हामी दुवैले पनि कुनै घाटा बेहोर्नु पर्दैन । यदि सबै सगरमाथा तपाँइलाइ दिए भावनात्मक रुपमा हामीलाइ दुःख हुन्छ । यदि सबै हामीलाइ दिए भावनात्मक रुपमा तपाँइलाइ दुःख हुन्छ । हामीले सिमा रेखा चुचुरोमा राख्न सक्छौँ । हिमालको नाम नयाँ राखौँ । माउन्ट एभरेस्ट त पश्चिमाहरुले दिएको नाम हो । यसलाइ सगरमाथा पनि नभनौँ । चोमोलोङ्मा पनि नभनौँ । यसलाइ नेपाल चिन मैत्र हिमाल भनौँ ।

    विपीः ठिकै छ ।

    बीपी माओकै संवादको लाइनमा सगरमाथा सेटलमेन्ट
    सन १९६० मार्च १८ (२०१६ चैत्र ५) मा बीपी र माओले गरेको सगरमाथा संवादकै लाइनमा सगरमाथाको सेटलमेन्ट भएको देखिन्छ । बीपीको भ्रमणमा सगरमाथाको बिषय थाति राखेर नेपाल चिन सिमा सहमति सन १९६० मार्च २१ मा भएको थियो ।
    बीपी माओको सगरमाथा कुराकानी भएको करिब दुइ बर्षपछि २०१८ साल असोज १९ (सन १९६१ अक्टोबर ५) गते नेपाल–चिन सिमा सम्झौता भयो । सम्झौताको धारा १ को उपधारा ११ मा सगरमाथाको चुचुरोहुँदै दक्षिणि भाग नेपालको र उत्तरी भाग चिनको भन्ने उल्लेख भयो । सन १९६५ मे ३० मा अमेरिकि स्टेट डिपार्टमेन्टले गरेको नेपाल चिन सिमा अध्ययन प्रतिवेदनमा समेत उक्त कुरा उल्लेख गरिएको छ । र, आजसम्म सगरमाथाको साझा सेटलमेन्ट सोहि कोणमा भएको छ ।