Tag: वेल्स

  • ६४ वर्षपछि विश्वकपमा छनोट भयो वेल्स

    ६४ वर्षपछि विश्वकपमा छनोट भयो वेल्स

    लन्डन । वेल्स यसै वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि छनोट भएको छ।

    शनिबार राति भएको प्ले अफ फाइनलमा युक्रेनलाई १–० गोलले पराजित गर्दै वेल्सले विश्वकपमा स्थान बनाएको हो।

    वेल्सले ६४ वर्षपछि पहिलोपटक विश्वकप खेल्न लागेको हो। यसअघि अन्तिमपटक सन् १९५८ मा विश्वकप खेलेको थियो। त्यसयता छनोट हुन सकेको थिएन। वेल्सको मैदानमा शनिबार राति भएको खेलमा घरेलु टोली युक्रेनबाट भएको आत्मघाती गोलमा अगाडि बढेको हो।

    युक्रेनका कप्तान आन्द्रेय यार्मोलेन्कोबाट आत्मघाती गोल भएको हो। गारेथ बेलले प्रहार गरेको बल रोक्न खोज्दा यार्मोलेन्कोले प्रहार गरेको हेड बल आफ्नै गोलपोष्टमा छिरेको थियो।

    वेल्सले यसअघि एकपटक मात्र विश्वकप खेलेको छ। वेल्सले ५८ वर्षपछि पहिलोपटक सन् २०१६ को युरोकप खेलेको थियो। त्यतिबेला सेमिफाइनलसम्म पुगेको थियो।

    योसँगै कतार विश्वकपमा युरोपबाट छनोट हुने सबै १३ टोलीको टुंगो लागेको छ ।

  • बेलारुसविरुद्धको खेलमा बेलले जिते वेल्सबाट १००औं क्याप 

    बेलारुसविरुद्धको खेलमा बेलले जिते वेल्सबाट १००औं क्याप 

    काठमाडौं । ग्यारेथ बेलले वेल्सको राष्ट्रिय टोलीबाट १०० क्याप जितेका छन् । विश्वकप छनोट अन्तर्गत शनिबार राति भएको खेलमा बेलारुसलाई ५-१ गोलले पराजित गरेको खेलमा वेल्सका लागि बेल दोस्रो १०० क्याप जित्ने खेलाडी बने ।

    चार्लटन एथलेटिकका डिफेन्डर क्रिस गनटरले मात्रै बेलभन्दा धेरै पटक वेल्सको प्रतिनिधित्व गरेका छन् । बेलले वेल्सको सिनियर टोलीमा १६ वर्षको उमेमा २००६ मा डेब्यू गरेका थिए । र, राष्ट्रिय टोलीमा चम्किलो करियर बनाएका छन् ।

    उनको नेतृत्वमा वेल्स ५८ वर्षमा पहिलो मुख्य प्रतिगोगिता युरो २०१६ मा क्वालिफाइ भएको थियो । उक्त प्रतिगोगितामा वेल्स सेमिफाइनलमा पोर्चुगलसँग पराजित भएको थियो ।

    २०१८ को विश्वकपमा पुग्न नसकेको वेल्सले २०२० को युरोमा स्थान बनाएर अन्तिम १६ मा पुगेको थियो । बेलले वेल्स राष्ट्रिय टोलीको इतिहासमा सबैभन्दा धेरै गोल गरेका छन् । उनले अहिलेसम्म वेल्सबाट ३६ गोल गरेका छन् । जुन उनीभन्दा पछि रहेका इयान रेसको भन्दा ८ गोल बढी हो ।

  • १७ वर्षपछि डेनमार्क युरोपियन च्याम्पियनसिपको क्‍वार्टरफाइनलमा, वेल्स बाहिरियो

    १७ वर्षपछि डेनमार्क युरोपियन च्याम्पियनसिपको क्‍वार्टरफाइनलमा, वेल्स बाहिरियो

    काठमाडौं । अन्तिम-१६ अन्तर्गत शनिबार भएको नक आउटको पहिलो खेलमा वेल्सलाई ४-० गोलको फराकिलो नतिजामा पराजित गर्दै डेनमार्क युरो २०२० को क्वार्टरफाइनलमा पुगेको छ ।

    नेदरल्यान्ड्सको आम्सटरम्याममा भएको खेलमा गत संस्करणको सेमिफाइनलिस्ट वेल्समाथि हाबी बनेको डेनिस टोलीका लागि कास्पर डोलबर्गले दुई तथा जोकिम मेहेले र मार्टिन ब्रेथवेटले एक/एक गोल गरे ।

    वेल्समाथि हाबी बनेको डेनमार्कले प्रतियोगितामा पहिलो पटक सुरुआती ११ मा स्थान बनाएका डोलबर्गले २७औं मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा १-० को अग्रता लिएको थियो ।

    दोस्रो हाफमा थप आक्रामक बनेको डेनमार्कका लागि ४८औं मिनेटमा डोलबर्गले व्यक्तिगत दोस्रो गोल गरेका थिए । आक्रामक शैलीमा प्रस्तुत भएको डेनमार्कका लागि ८८औं मिनेटमा मेहेले गोल गरे ।

    निर्धारित ९० मिनेटसम्म हाबी बनेको डेनमार्कले इन्जुरी समयमा ब्रेथवेटले गरेको गोलसँगै ४-० को जित सुनिश्चित गर्‍यो ।

    शानदार जितसँगै डेनमार्क २००४ युरोपछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो । पोर्चुगलमा भएको युरो २००४ पछि २००८ मा छनोट हुन नसकेको डेनमार्क २०१२ को समूह चरणबाटै बाहिरिएको थियो ।

    सन् १९९२ मा एक पटक युरो च्याम्पियन बनेको डेनमार्क समूह बीको तेस्रो स्थानमा रहँदै नकआउटमा आइपुगेको हो । सेमिफाइनल प्रवेशका लागि डेनमार्कले अब नेदरल्यान्ड्स र चेक रिपब्लिकको विजेतासँग खेल्ने छ ।

  • युरो २०२०: डेनमार्क फेरि युरोपियन च्याम्पियनसिपको ‘डार्क हर्स’ हो ?

    युरो २०२०: डेनमार्क फेरि युरोपियन च्याम्पियनसिपको ‘डार्क हर्स’ हो ?

    काठमाडौं । करिब ३० वर्षअघि डेनमार्कले असम्भवलाई सम्भव पार्दै पहिलो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो । र, अहिले त्यो समयका खेलाडीहरू गन्य-मान्य सेलेब्रिटीको रूपमा प्रतिष्ठित छन् । त्यो टोलीलाई देशको सपना बुझेका लिजेन्डहरूको समूह पनि भनिन्छ ।

    र, अहिले त्यो सफलता दोहोर्‍याउनका लागि डेनमार्कसँग नयाँ हिरोहरू छन् । युरो २०२० को पहिलो खेलका दौरान प्लेमेकर क्रिस्टयन एरिकसन मैदानमै ढलेपछि भावविह्वल बनेको डेनिस टोली उनको स्वास्थ्यमा भइरहेको सुधारसँगै उनीप्रति समर्पित र पुनर्जिवितझैँ भएको छ ।

    शनिबार युरो २०२० को पहिलो नकआउटमा डेनमार्कले वेल्सको सामना गर्दैछ । तर, के डेनिस टोलीले १९९२ को त्यो प्रसिद्ध सफलता दोहोर्‍याउलान् ?

    किनाराबाट फर्किएर युरोपियन च्याम्पियन बन्दा

    डेनमार्कको वर्तमानमा होइन, इतिहास हेर्ने हो भने पनि अविश्वसनीय सफलता भेट्टाइन्छ । करिब २९ वर्ष अगाडि स्वीडेनमा भएको युरो १९९२ मा डेनिस टोली च्याम्पियन बनेको थियो । त्यो पनि छनोट नभई ।

    डेनमार्क छनोट चरणमा युगोस्लाभियाभन्दा पछाडि परेको थियो । र, युरो १९९२ मा छनोट भएको थिएन । युरोमा छनोट हुन नसकेपछि डेनिस खेलाडी छुट्टी मनाउन निस्किने तयारीमा थियो । तर, मुलुक युद्धमा होमिएकाले युगोस्लाभिया आठ टोलीको प्रतियोगिताबाट निष्कासित भयो र अन्तिम समयमा डेनमार्कले प्रतियोगिता खेल्ने निम्तो पायो ।

    तयारी कम हुनका बाबजुद पनि आयोजक स्वीडेन, इङ्ल्यान्ड, फ्रान्ससमेत रहेको टोलीबाट डेनमार्कले सेमिफाइनलमा स्थान बनायो । अन्तिम खेलमा जर्मनीलाई पराजित गर्दै डेनिस टोली त्यहाँसम्म पुगेको थियो ।

    त्यो समयमा डेनमार्कको टोली बलियो थियो । गोलकिपर पिटर स्माइकल, मिडफिल्डर जोन जेन्सेन र ब्रियान लौड्रुप टोलीमा थिए । त्यो वर्ष सेमिफाइनलमा स्टार खेलाडीले भरिएको नेदरल्यान्ड्सलाई डेनमार्कले हराउँदा गोलकिपर स्माइकल देशका हिरो बनेका थिए । उनले मार्को भान बास्टेनको पेनाल्टी बचाएसँगै २-२ को बराबरीपछि डेनमार्क सुटआउटमा विजयी हुँदै फाइनल पुगेको थियो ।

    विश्वकप विजेता जर्मनीविरुद्धको फाइनलमा पुन: एक पटक स्माइकल नायक सावित भएका थिए । उनले जर्मनीका कार्ल-हेन्ज रिड्ले, स्टेफन रोएट र गुइदो बुच्वाल्डको प्रहार असफल बनाएका थिए । खेलमा कमै मात्र मौका सिर्जना गर्ने अवसर पाएको डेनमार्कले जेन्सेन र किम भिल्फोर्टको गोलमा सनसनीपूर्ण २-० को जित निकालेको थियो ।

    अहिले पनि डेनमार्कको गोलपोस्टमा एक स्काइकल नै छन् । कास्पर स्माइकल, डेनिस गोलकिपरले आफ्ना बुबाको करिअर फलो गर्दै लेस्टर सिटीबाट प्रिमियर लिग र एफए कप जितिसकेका छन् । उनका बुबा पिटरले म्यानचेस्टर युनाइटेडबाट ती उपाधि जितेका थिए ।

    अब उनले युरोपियन च्याम्पियनसिप जित्न बाँकी छ ।

    ‘म डेनमार्कबाट सफल हुन चाहन्छु, म युरोपियन च्याम्पियनसिप जित्न चाहन्छु,’ स्माइकलले भनेका थिए, ‘म डेनमार्कबाट केही ‘वाइल्ड’ गर्न प्रयास गर्छु ।’

    युवा जोस, अनुभव र एरिकसनको प्रेरणा

    केही हदसम्म १९९२ को युरो जित्ने टोली र अहिलेको डेनिस टोलीमा मिल्दाजुल्दा कुरा छन् ।

    डेनिस टोलीमा अहिले पनि गोलपोस्टमा लेस्टरका अनुभवी गोलकिपर स्माइकल छन् । चेल्सीका बलिया डिफेन्डर एन्द्रेस क्रिस्टियनसेन र फरवार्डलाइनमा बार्सिलोनाका मार्टिन ब्रेथवेट छन् ।

    डेनमार्कको टोलीमा एरिकसनको पनि मुख्य भूमिका छ । पिचमा उनको प्रभाव देखिँदैन । तर, खेलाडीको मनोबलमा भने एरिकसनको प्रभाव स्पष्ट देखिन्छ ।

    त्यस्तै, डेनमार्कसँग टोलीमा एक उदीयमान युवा खेलाडी मिक्केल ड्याम्सगार्ड छन् । इटालियन क्लब साम्पडोरियाबाट व्यावसायिक फुटबल खेल्ने २० वर्षीय ड्याम्सगार्डले रुसविरुद्ध प्रतियोगिताकै सम्भावित उत्कृष्ट गोल गरेका थिए ।

    डेनिस टोली त्यो खेलमा जितका लागि उत्रिएको थियो र शानदार जितसँगै समूह उपविजेताको रूपमा अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो ।

    ब्राजिलियन जोसमा फुटबल खेल्ने भएकाले ‘ड्यासिन्हो’ उपनाम पाएका ड्याम्सगार्डले ठूला प्रतियोगितामा डेनमार्कका लागि गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाइसकेका छन् । रुसविरुद्धको खेलमा गोल गर्दा उनी २० वर्ष ३३५ दिनका थिए ।

    रोलिगन्सको गर्जन

    इङ्ल्यान्डसँग बार्मी आर्मी छन्, स्कटल्यान्डसँग टार्टन आर्मी छन् भने डेनमार्कसँग पनि रोलिगन्स छन् । सन् १९८० को दशकमा डेनमार्क राष्ट्रिय टोलीलाई ‘डेनिस डायनामाइट’ भनिन्थ्यो । जसको कारण थियो- अल्ट्रा अट्याकिङ शैलीको फुटबल । त्यसै समयदेखि डेनिस फुटबल टोलीले विश्वभरबाट सर्मथक कमाउन थालेको थियो ।

    डेनमार्क समर्थकले युरो २०२० मा पनि एक सम्झिनलायक भूमिका खेलिरहेका छन् । एरिकसनलाई अस्पताल लगिएपछि डेनिस समर्थकहरूले फिनल्यान्डका समर्थकहरूसँग मिलेर च्यान्ट गाएका थिए ।

    त्यसपछि पनि डेनमार्क अन्तिम १६ सम्म पुग्नमा डेनिस समर्थकले महत्त्वपूर्ण भूमिका खेलका छन् । उनीहरूको समर्थनले डेनिस खेलाडीलाई एकदमै कठिन परिस्थितिमा पनि सहयोग गरेको थियो ।

    तर, आम्सटरड्याममा शनिबार हुने वेल्सविरुद्धको प्रि-क्वार्टरफाइनलमा डेनिस समर्थक हुनेछन् । तर, वेल्सका समर्थकलाई भने कोरोना भाइरसका कारण प्रतिबन्ध लगाइएको छ ।

    ‘समर्थकले के गरे भनेर ठ्याक्कै भन्न सकिँदैन, तर उनीहरूले खेलमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन्,’  एक डेनिस फुटबल समर्थकले भने, ‘खेलाडीले उनीहरूप्रतिको माया महसुस गर्नका लागि समर्थकहरूको उपस्थिति र साथ जरुरी हुन्छ । देशले नै एकअर्काको साथ पाउँछ ।’

    बिबिसीबाट
  • वेल्सका रोबर्ट्स भन्छन्- ९९ प्रतिशत विश्वले हामीविरुद्ध डेनमार्कलाई समर्थन गर्नेछ

    वेल्सका रोबर्ट्स भन्छन्- ९९ प्रतिशत विश्वले हामीविरुद्ध डेनमार्कलाई समर्थन गर्नेछ

    काठमाडौं । वेल्सका डिफेन्डर कोनर रोबर्ट्सले ‘९९प्रतिशत विश्व’ले युरो २०२० को नकआउट चरणको पहिलो खेलमा डेनमार्कलाई समर्थन गर्ने बताएका छन् । क्रिस्टियन एरिकसन कार्डिक एरेस्टको शिकार भएर मैदानमा ढलेपछि उनैप्रति समर्पित डेनिस टोलीले जितका लागि कुनै कसर बाँकी नराख्ने निश्चित छ ।

    रुसविरुद्धको खेलमा ४-१ को धमाकेदार जित निकाल्दै डेनमार्क अन्तिम १६ मा पुग्दा सबै खेलाडीले त्यो जित एरिकसनका लागि डेडिकेट गरेका थिए । तर, अर्कातिर वेल्स प्रतियोगितामा ‘मार्जिनल अन्डरडग्स’ टोली हो र डिफेन्डर रोबर्ट्स सबै न्युट्रल समर्थकले डेनमार्कलाई साथ दिन बताए ।

    ‘यो एकदमै कठिन हुनेछ, आशा गरौं हामी जित्न सक्छौं,’ रोबर्ट्सले भने, ‘मलाई लाग्छ, ९९ प्रतिशत विश्वले हामीविरुद्ध डेनमार्कलाई समर्थन गर्नेछ ।’

    ‘यो खेल एकदमै कठिन हुनेछ । तर, हाम्रो टोली राम्रो छ, हामीसँग राम्रा खेलाडी छन्, हामीले केही हदसम्म मोमेन्टम पनि पाएका छौं,’ उनले भने, ‘उनीहरू पनि एकदमै राम्रो टिम हुन् । उनीहरूले धेरै समर्थन पाउनेछन् । तर, जब हामी त्यो सेतो धर्का पार गर्नेछौं, हामील‍े आफ्नो सबैथोक त्यो खेलमा लगाउनेछौं ।’

    एरिकसन मैदानमा ढलेपछि केही बेर रोकिएको पहिलो खेलमा फिनल्यान्डसँग पराजित भएको डेनमार्कले अन्तिम खेलमा रुसविरुद्ध इमोसनल जित हासिल गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । त्यस्तै वेल्सले भने समूह एको उपविजेताको रूपमा प्रि-क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

    ‘हामीले समूह चरणबाटै बाहिरिने सोचेका थिएनौं र त्यो भरोसालाई कायम राख्न सफल भएका छौं,’ रोबर्ट्सले भने, ‘हामी सधैं कम आँकिएका छौं । हाम्रो टोलीमा हेर्नुस्, हामीसँग फिल्डमा राम्रा खेलाडी छन् ।’

    समूह एमा इटालीबाहेक सबैको सम्भावना ५०-५० रहेको र तीन राम्रा टोलीमध्ये उत्कृष्ट नतिजा निकाले पनि आफूहरूलाई ‘अन्डरस्टिमेटे’ गरिएको रोबर्ट्स बताउँछन् ।

    ‘तर, हामीले यो प्रतियोगितामा राम्रो खेलिरहेका छौं,’ उनले भने ।

    वेल्सले क्वार्टफाइनल प्रवेशका लागि डेनमार्कसँग कोपनहेगनमा भोलि शनिबार राति ९:४५ बजे खेल्ने छ ।

    यी दुई टोलीका पछिल्ला १० खेलमा बराबरी भएको छैन । तीमध्ये डेनमार्कले ६ तथा वेल्सले ४ खेल जितेको छ । सन् २०१८ को नोभेम्बरमा नेसन्स लिगमा डेनमार्कले २-१ गोलको नतिजामा वेल्सलाई पराजित गरेको थियो । त्यो नै यी दुई टोलीको अन्तिम भेट हो ।

    यद्यपि, डेनमार्कले वेल्सविरुद्ध १९९९ यताका सबै (३) प्रतिस्पर्धात्मक खेलमा जित निकालेको छ ।

  • ३० खेलमा अपराजित इटालीसँग १-० ले हारेको वेल्स नकआउटमा

    ३० खेलमा अपराजित इटालीसँग १-० ले हारेको वेल्स नकआउटमा

    काठमाडौं । लगातार ३० खेलमा अपराजित इटालीसँग युरो २०२० को समूह एको अन्तिम खेलमा १-० ले पराजित भए पनि वेल्स समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

    आइतबार रोममा भएको खेलको ३९औं मिनेटमा माटेओ पेस्सिनाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछि परेको वेल्स ५६औं मिनेटमा १० जना खेलाडीमा सीमित भएको थियो ।

    इटालीका फेडेरिको बर्नार्देस्चीमाथि खराब फाउल गरेका वेल्स डिफेन्डर रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएपछि भ्रमणकारी टोली १० जनामा सीमित भएको थियो ।

    बाँकी समयमा १० जना खेलेर पनि गोल खानबाट बचेको वेल्सले बराबरी गोल फर्काउन सकेन । जितसँगै ३० खेलमा अपराजित रहेको इटाली समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।

    यस्तै एक जित, एक हार र एक बराबरी खेलेको वेल्स ४ अंकसहित उपविजेता बन्दै नकआउटमा पुगेको छ । ४ अंकसहित चौथो स्थानमा रहेको स्वीटजरल्यान्डको पनि नकआउटमा पुग्ने सम्भावना बाँकी छ ।

  • टर्कीमाथि वेल्सको शानदार जित

    टर्कीमाथि वेल्सको शानदार जित

    काठमाडौं । आरोन रामसे र कोनर रोबर्ट्सको एक/एक गोलप्रेरित वेल्सले युरो २०२० को समूह ‘ए’ अन्तर्गत बुधबार भएको खेलमा टर्कीलाई २-० को नतिजामा पराजित गरेको छ ।

    अजरबैजानको बाकुमा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा रामसेले गरेको गोलमार्फत् वेल्सले अग्रता लिएको थियो ।

    सुरुआतदेखि नै प्रतिस्पर्धात्मक बनेको खेलको छैठौं मिनेटमा रामसेले गरेको प्रहारमा टर्कीका गोलकिपर युगुरकान साकिरले असफल बनाएका थिए ।

    यस्तै १७औं मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलले हेडरमार्फत गरेको प्रहार फ्रेममा परेको थिएन । टर्कीका फरवार्ड बुरक यिलिमाजले ३७औं मिनेटमा गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

    प्रतिस्पर्धात्मक खेलको इन्जुरी समयमा रोबर्ट्सले ६ यार्ड बक्स भित्रबाट गोल गर्दै टर्कीको जित सुनिश्चित गरे । खेलको ६१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्ने अवसर गुमाएका कप्तान बेलले नै दुवै गोलका लागि मौका सिर्जना गरेका थिए ।

  • रामसेको गोलमा वेल्सलाई अग्रता

    रामसेको गोलमा वेल्सलाई अग्रता

    काठमाडौं। आरोन रामसेको एक गोलप्रेरित वेल्सले युरो २०२० को समूह ‘ए’ अन्तर्गत आफ्नो दोस्रो खेलको पहिलो हाफमा टर्कीविरुद्ध १-० को अग्रता लिएको छ । अजरबैजानको बाकुमा जारी खेलको ४३‍औं मिनेटमा रामसेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका हुन् ।

    उनले कप्तान ग्यारेथ बेलको पासमा सुन्दर गोल गरेका थिए ।

    पहिलो खेलमा स्वीटजरल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिएको वेल्स पहिलो जितको खोजीमा छ । त्यस्तै पहिलो खेलमा इटालीसँग ३-० ले पराजित भएको टर्की पनि पहिलो जितको खोजीमा छ ।

  • ४० वर्षपछि टर्कीविरुद्ध जितको खोजीमा वेल्स

    ४० वर्षपछि टर्कीविरुद्ध जितको खोजीमा वेल्स

    काठमाडौं । युरो २०२० को समूह ‘ए’अन्तर्गत बुधबार राति ठूला प्रतियोगितामा पहिलो पटक वेल्स र टर्की आमनेसामने हुँदैछन् । अजरबैजानको बाकुमा नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुने खेलमा २०१६ को सेमिफाइनलिस्ट वेल्स पहिलो जितको खोजीमा हुनेछ ।

    शुक्रबार राति रोममा भएको युरो २०२० को पहिलो खेलमा इटालीसँग ३-० को पराजय बेहोरेको टर्की पनि समूह चरण पारगर्न आजको खेल जित्नै पर्ने दबाबमा छ । त्यस्तै, पहिलो खेलमा स्वीटजरल्यान्डसँग १-१ गोलको बराबरीमा रोकिएको वेल्स पनि समूह चरणको अन्तिम खेलमा इटालीको सामना गर्नुपर्ने भएकाले आजको खेलमा तीन अंक बटुल्न चाहन्छ ।

    अन्तिम पटक यी दुई टोलीको १९९७ मा विश्वकप छनोटका दौरान इस्तानबुलमा भेट भएको थियो । उक्त खेलमा घरेलु टोली टर्कीले वेल्समाथि ६-४ को रोमाञ्चक जित हासिल गरेको थियो । वेल्सले ४० वर्षयता टर्कीलाई हराउन सकेको छैन ।

    १९८१ मा मा भएकव विश्वकप छनोटमा वेल्सले अन्तिम पटक टर्कीलाई १-० ले पराजित गरेको थियो ।

  • मुरेको गोलमा वेल्स हारबाट जोगियो

    मुरेको गोलमा वेल्स हारबाट जोगियो

    काठमाडौं । निर्धारित ९० मिनेटको खेलसकिन १६ मिनेट बाँकी रहँदा किफर मुरेले गरेको गोलसँगै युइएफ युरो २०२० अन्तर्गत स्वीटजरल्यान्डविरुद्धको खेलमा वेल्स हारबाट जोगिएको छ ।

    अजरबैजानको बाकुमा भएको समूह ‘ए’को दोस्रो खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । थप आक्रमक शैलीमा दोस्रो हाफमा उत्रिएको स्वीटजरल्यान्डले सुरुआतमै अग्रता लिन सफल भएको थियो ।

    खेलको ४९औं मिनेटमा शेर्डन शकिरीले कर्नरमार्फत गरेको क्रसमा ब्रिल इम्बोलोले हेडरमार्फत् गोल गर्दै स्वीटजरल्यान्डलाई अग्रता दिलाएका थिए ।

    बल पोसेसन र आक्रमणमा सुरुआतदेखि नै वेल्समाथि दबाब बनाएको स्वीटजरल्यान्डले सोही अग्रता बचाउन नसक्दा बराबरीमा चित्त बुझाउनु पर्‍यो ।

    स्वीटजरल्यान्डसामु संघर्षरत वेल्सका लागि मुरेले जो मोरेलको  क्रसमा हेडरमार्फत सुन्दर गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए । निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी रहँदा मारियो गाभ्रानोभिचले गरेको गोल भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइडका कारण रद्द गरिदिएका थिए ।

    बराबरीसँगै गत संस्करणको सेमिफाइनलिस्ट वेल्स यो सिजनको पहिलो खेलमै बराबरीमा रोकिएको छ ।

  • वेल्स र स्वीटजरल्यान्डबीचको पहिलो हाफ गोलरहित बराबरी

    वेल्स र स्वीटजरल्यान्डबीचको पहिलो हाफ गोलरहित बराबरी

    काठमाडौं । युइएफए युरो २०२० को समूह ‘ए’ अन्तर्गत अजरबैजानको बाकुमा जारी खेलको पहिलो हाफमा स्वीटजरल्यान्ड र वेल्सले गोलरहित बराबरी खेलेका छन् ।

    खेलमा दुवैतर्फबाट गोलका लागि केही मौका सिर्जना भए पनि फिनिसिङमा चुक्दा दुवै टोली अग्रता लिन असफल रहे ।

    स्वीटजरल्यान्डका रिकार्डो रोड्रिग्वेजले छैठौं मिनेटमा बायाँतर्फ गरेको प्रहार फ्रेममा परेको थिएन । त्यस्तै, १५औं मिनेटमा वेल्सका ड्यानियल जेम्सको क्रसमा किफर मुरेले हेडरमार्फत गरेको प्रहारमा स्वीटजरल्यान्डका गोलकिपर यान सोमर बाधक बने ।

    २०औं मिनेटमा स्वीटजरल्यान्डका शेर्डन शकिरीले कर्नरमार्फत गरेको क्रसमा फ्याबियन क्रसले सुन्दर फ्लिक प्रहार गरेका थिए । तर, वेल्सका गोलकिपर ड्यानी वार्डले उक्तृष्ट बचाउ गरे ।

    गत संस्करणको सेमिफाइनलमा पुगेर पोर्चुगलसँग पराजित भएको वेल्सलाई आजको खेलमा स्वीटजरल्यान्डले दबाबमा राखेको छ ।

     

  • युरो २०२० मा आज तीन खेल : ६:४५ मा स्वीटजरल्यान्ड र वेल्स भिड्दै

    युरो २०२० मा आज तीन खेल : ६:४५ मा स्वीटजरल्यान्ड र वेल्स भिड्दै

    काठमाडौं । शुक्रबार रातिदेखि सुरु भएको युरो २०२० मा आज शनिबार समूह ‘ए’ र समूह ‘बी’ गरी तीन खेल हुँदैछन् ।

    नेपाली समयअनुसार बेलुका ६:४५ बजे समूह ‘ए’अन्तर्गत हुने खेलमा स्वीटजरल्यान्ड र वेल्स भिड्नेछन् ।

    अजरबैजानको बाकु ओलम्पिक रंगशालामा हुने यो खेलमा दुवै टोली जित निकाल्न चाहन्छन् । शुक्रबार राति भएको उद्घाटन खेलमा इटालीले घरेलु मैदानमा टर्कीलाई ३-० ले पराजित गर्दै शीर्ष स्थान ओगटिसकेको छ ।

    यस्तै, नेपाली समयअनुसार राति ९:४५ बजे हुने समूह बीको पहिलो खेलमा डेनमार्कले फिनल्यान्डको सामना गर्दैछ । यो खेल पार्केन रंगशाला कोपनहेगन- डेनमार्कमा हुनेछ ।

    यस्तै राति १२:४५ बजे हुने समूह बी कै दोस्रो खेलमा बेल्जिमयले रुसको सामना गर्नेछ ।

    प्रतियोगिताको उपाधि दाबेदारको रूपमा हेरिएको बेल्जियमले रुसकै क्रेस्टोभ्स्की रंगशालामा घरेलु टोलीको सामना गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।