Tag: विप्लव समूह

  • विप्लवका नेता, कार्यकर्ता रिहाइ प्रक्रिया अघि बढेन, ११४ जना जेलमा

    विप्लवका नेता, कार्यकर्ता रिहाइ प्रक्रिया अघि बढेन, ११४ जना जेलमा

    विराटनगर । नेकपा विप्लव समूह शान्ति प्रकृयामा आएसँगै कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गर्ने भनिको थियो । तर प्रदेश नम्बर १ मा रिहाइ प्रक्रिया अघि बढेको छैन ।

    सरकार र विप्लव समूहबीच एक साताअघि भएको सहमतिअनुसार गृह मन्त्रालयले विप्लव समूहका नेता, कार्यकर्ता रिहाइ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गरिसकेको छ ।

    प्रदेश १ का सबै जिल्ला प्रशासन कार्यालयले कारागारमा रहेका विप्लवका नेता कार्याकर्ताको संख्यासहितको रिर्पोट मन्त्रालयमा पठाए पनि रिहाइको थप प्रक्रिया भने अघि बढेको छैन ।

    विप्लव समूहको दोस्रो वरीयताका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’, पोलिटब्युरो सदस्य ओमप्रकाश पुन, सेती महाकाली ब्युरो सदस्य विवेक कुमाललगायतका नेताहरु भने रिहा भइसकेका छन् ।

    मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले गृहमन्त्रालयले मोरङ कारागारमा रहेका विप्लवका नेता तथा कार्याकर्ताको संख्या मागेको र सो संख्या पठाइएको जानकारी दिए । त्यसपछि गृहबाट आवश्यक प्रकृया पूरा गरी उनीहरुलाई रिहाइ गर्नू भन्ने कुनै परिपत्र या निर्देशन नआएको उनले बताए ।

    निरौलाका अनुसार मोरङ कारागारमा विप्लवका पाँच नेता कार्याकर्ता रहेका छन् । विप्लव समूहसँग सरकारको सहमति भए पनि जघन्य अपराधमा मुद्दा चलेका नेता कार्यकर्ता छुटाउन कानुनी जटिलता रहेको उनले बताए ।

    सरकारबाट मुद्दाको प्रकृति छुट्टयाएर हालसम्म राजनीतिक आस्थाका कारण मुद्दा लगाएका नेता, कार्यकर्ताहरुलाई छाडेको छ । हालसम्म समूहका ११ जना नेता, कार्यकर्ता छुटिसकेका छन् ।

    प्रहरी प्रधान कार्यालयको रेकर्डले विप्लव समूहका ११४ जना नेता, कार्यकर्ता अझै थुनामा रहेको छन् ।

    प्रदेश १का कारागारमा ३७ नेता तथा कार्यकर्ता

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामासहित ३७ नेता कार्याकर्ता प्रदेश १ का विभिन्न कारागारमा छन् । माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा छन् ।
    विप्लव समूहको मेची कोशी ब्युरो कमिटीका सदस्य विवश चौलागाइ ले कारागारमा रहेका नेता कार्यकर्ता रिहाइमा ढिलाइ हुनु ठीक नभएको बताए ।

    सखुवासभाको खाँदबारी कारागारमा विप्लवका केन्द्रीय सदस्य लामासहित संखुवासभा जिल्ला इन्चार्ज देव गुरुङसहित १० नेता कार्यकर्ता रहेको चौलागाईंले जानकारी दिए । विप्लवका केन्द्रीय नेता लामा २०७६ साउन ५ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

    विप्लवका नेता लामालाई विभिन्न जिल्ला हुँदै संखुवासभा ल्याइएको हो । जिल्ला अदालत चैनपुरले संगठित रुपमा हातहतियार ओसारपसार, संचय तथा प्रयोग मुद्दामा २५ हजार रुपैयाँ धरौटी माग गरेको थियो ।

    २५ हजार धरौटी बुझाउन नसकेपछि जिल्ला अदालत चैनपुरले २०७६साल फागुन ७ गते कारागार चलान गरेको हो । लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघको अध्यक्षसमेत थिए ।

    पार्टी विभाजनपछि उनी मोहन वैद्यहुँदै उनी विप्लव समूहमा लागेका थिए । यता खाँदबारी कारागारका प्रमुख विनोद अधिकारीले भने विप्लवका नेता कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र नआएको बताएका छन् ।

    अलमलमा प्रहरी

    विप्लव समूहले २३ मंसिर २०७७ मा मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गर्‍यो ।

    मिक्लाजुङ–१, बर्खेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई घरबाटै अपहरण गरी हत्या गरेको थियो ।

    घटनामा संलग्नता देखिएपछि ७ माघ २०७७ मा विप्लव समूहका मोरङका तत्कालीन जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक पक्राउ परेका थिए ।

    हाल पुर्पक्षका लागि जिल्ला कारागार मोरङमा रहेको उनी शिक्षक श्रेष्ठलाई अपहरण गर्ने ६ जनामध्ये एक भएको प्रहरी बताउँछ । अन्य ५ जनाको खोजी जारी भएकै बेला सरकार र विप्लव समूहबीच सहमति भयो । अब उनीहरुलाई भेटिएमा पक्राउ गर्ने कि नगर्ने भन्नमा अन्योलमा छ ।

    ‘शान्तिपूर्ण राजनीतिमा आउने गरी सहमति भएसँगै पक्राउ नपरेका प्रतिवादीको हकमा केही गरेका छैनौं’, मोरङका एसपी सन्तोष खड्का भन्छन्, ‘अब माथिबाट कस्तो कार्यविधि र निर्देशन आउँछ, त्यही अनुसार गर्छौं ।’

    शिक्षक श्रेष्ठकी पत्नी धनमायाले पार्टी ‘शान्तिवार्तामा आए पनि न्याय नमरोस्’ भनेकी छन् । ‘अहिलेसम्म एक जना मात्र समातिएका छन्’, उनले नेपाल प्रेससंग भनिन्, ‘अब प्रहरीले हत्यारालाई छाड्ने होइन, अरुलाई पनि खोजी गरेर कारबाहीको दायरामा ल्याओस् ।’

    विप्लव समूहका कार्यकर्ताको गोली लागेर २५ असार २०७६ मा भोजपुरमा प्रहरी जवान सञ्जीव राई मारिए । अर्का प्रहरी सोम भट्टराई घाइते भए । घटनामा विप्लव कार्यकर्ता नीरकुमार राईको पनि मृत्यु भयो ।

  • प्रहरीको रेकर्डः दुई वर्षमा के-के गर्‍याे विप्लव समूहले ?

    प्रहरीको रेकर्डः दुई वर्षमा के-के गर्‍याे विप्लव समूहले ?

    काठमाडौं । केही समयदेखि हिंसात्मक आन्दोलनमा सक्रिय विप्लव नेतृत्वको नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा फर्किने भएको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लव एक साथ कार्यक्रममा देखिंदैछन् ।

    विप्लव समूहले घोषितरुपमा सशस्त्र आन्दोलन नगरे पनि उसले विभिन्न हिंसात्मक गतिविधिहरु गर्दै आएको थियो । दुई वर्षअघि एनसेल टावरमा बम विस्फाेट गराएपछि ओली सरकारले नै उक्त समूहलाई प्रतिबन्ध लगाएको हो । त्यसयता पनि छिटफुट गतिविधि विप्लव समूहले गर्दै आएको छ ।

    तत्कालीन माओवादीका चर्चित नेता विप्लव पछि मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीमा गएका थिए । वैद्यसँग पनि कुरा नमिलेपछि उनले छुट्टै पार्टी निर्माण गरेर भूमिगत बनेका हुन् । त्यसयता विप्लव समूहले विभिन्न स्थानमा आगजनी, तोडफोड, कुटपिट, अपहरण, धम्की, गोलीप्रहार, जग्गा कब्जा, तालाबन्दी पुत्लादहन लगायतका आपराधिक घटना गर्दै आएको थियो । यो समूहबाट चार सर्वसाधारण र दुई प्रहरीको हत्या भएको छ । विप्लव समूहतर्फ १६ जना हताहत भएका छन् ।

    २०७५ फागुन १० मा ललितपुरस्थित एनसेल टावरमा बम विस्फोट गरायो । उक्त विस्फोटमा एक सर्वसाधारणको मृत्यु भएको थियो । सोही विस्फोटका कारण विप्लव समूहलाई सरकारले फागुन २८ गते प्रतिबन्ध लगायो । प्रतिबन्धपछि पार्टीका नेता कार्यकर्ता पूर्ण भूमिगत बनेका थिए ।

    प्रहरीको रेकर्डअनुसार २०७५ फागुनदेखि ०७७ मंसिरसम्म विप्लव समूहले कानून विपरितका ७१३ वटा घटना घटाएका छन् । नेपाल प्रहरीका अनुसार विप्लव समूहले बन्दको अवज्ञा गरेको भन्दै सार्वजनिक सवारीमा आगजनीदेखि पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट गराएका थिए ।

    प्रहरीको तथ्याङ्क अनुसार विप्लव समूहले प्रतिबन्ध लागेयता २५७ ठाउँमा आगजनी, बम विस्फोट ८६ वटा, शंकास्पद वस्तु १२५, बम विस्फोट १०९, विस्फोटक पदार्थ ३२, तोडफोड १९, कुटपिट २ र ४ ठाउँबाट प्रहरीले हातहतियार फेला पारेको थियो ।

    यस्तै प्रहरी कारबाही २, कालोमोसो ५, ग्रिनेड ५, गोली प्रहार २, धम्की रोकावट ३, अपहरण २, जग्गा कब्जा ३ तथा अन्य भित्तेलेखन, पर्चा, पम्प्लेट, ब्यानर, पुत्लादहन, तालाबन्दी आदि ५७ वटा घटना घटाएका छन् । विप्लवको पछिल्लो गतिविधि भनेको चन्दा असुल गर्ने र विभिन्न घटनाको विरोध जनाउँदै बन्द आह्वान गर्ने रहेको थियो ।

    विप्लव समूहले गराएको ठूलो बम विस्फोटमा ४ जना सर्वसाधारणले ज्यान गुमाएको प्रहरी तथ्याङ्कमा छ । विप्लव समूहसितको मुठभेडमा एक जना प्रहरीले पनि ज्यान गुमाएका छन् । गत मंसिर २३ गते मोरङमा शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरिएको थियो । २०७५ फागुन १० गते ललितपुरको नख्खु दोबाटोमा रहेको एनसेल टावरमा बम विस्फोट गराउँदा सिंहप्रताप गुरुङको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । यस्तै २०७६ मंसिर २८ गते धनुषामा बम विस्फोट गराउँदा दुई जना सर्वसाधारण र एक प्रहरी अधिकृतले अकालमै ज्यान गुमाउनुपर्यो ।

    धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका राजेश साहको घरमा बम विस्फोट हुँदा प्रहरी निरीक्षक अमिर दाहालसँगै राजेश शाह र उनको १५ वर्षीय छोरा आनन्दको मृत्यु भएको थियो । यसैगरी २०७६ असार २५ मा विप्लव समूहका कार्यकर्ताले हानेको गोली लागेर भोजपुरमा प्रहरी जवान सञ्जिव राईको मृत्यु भएको थियो ।

    विप्लवतर्फको क्षति

    नेपाल प्रहरीका अनुसार प्रहरी कारवाही, विस्फोट तथा पहिरोमा परेर १६ जना विप्लव कार्यकर्ताले ज्यान गुमाएका छन् । बम विस्फोटमा परेर मात्रै ७ जना कार्यकर्ताको मृत्यु भएको छ भने प्रहरी कारबाहीमा परेर ४ जना मारिएका छन् ।

    २०७४ वैशाख ३१ गते कालिकोटमा, ७ जेठ २०७६ मा भोजपुरमा, ५ असार २०७६ मा सर्लाही र २५ असार २०७६ मा भोजपुरमा गरी ४ जना विप्लव कार्यकर्ता प्रहरी कारबाहीमा मारिए । विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेललाई भने प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको आरोप परिवारले लगाउँदै आएका छन् ।

    यस्तै १२ असार २०७४ मा कैलालीमा, १२ जेठ २०७६ मा काठमाडौंमा भएको आत्मघाती बम विस्फोटमा परी ५ जनाले ज्यान गुमाए भने २ भदौ २०७६ मा कैलालीमा १ कार्यकर्ताको विस्फोटमा परी मृत्यु भयो । त्यति मात्र होइन, पहिरोमा पुरिएर पनि कास्कीमा मंसिर २०७६ मा ५ जनाको निधन भएको छ ।

    कति छन् पक्राउ परेका ?

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछि प्रहरीले धरपकड सुरु गर्यो । सो पार्टीका नेता तथा कार्यकर्ता भूमिगत बने ।

    नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरका अनुसार २०७५ सालको १० फागुनदेखि २०७७ साल, फागुन १७ सम्म ७ वटै प्रदेशबाट २ हजार ९८ जना विप्लवका नेता तथा कार्यकर्ता विभिन्न मुद्दामा पक्राउ परेका छन् । उनीहरुविरुद्ध २ हजार ७ मुद्दा परेको छ ।

    यो समाचार तयार पार्दासम्म सोधपुछ पश्चात ९० जना जेलबाट छुटेका छन् । यस्तै मुद्दा दर्ता भई १८ सय ६४ जना छुटेका छन् । यसैगरी पुर्पक्षका लागि १२६ जना कारागार चलान भएका थिए । १८ जनामाथि अनुसन्धान भइरहेको छ । विभिन्न मुद्दामा पक्राउ परेकामध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशबाट ३८२ जना र सबैभन्दा कम प्रदेश २ बाट १२८ जना पक्राउ परेको थिए ।

    विप्लव समूह र सरकारबीच भएको सझदारीमा पक्राउ परेका कार्यकर्ता रिहाइ गरिने भनिएको छ । उक्त सहमतिअनुसार हाल कारागार चलान भएका १२६ जना र अनुसन्धानका क्रममा रहेका १८ जनालाई रिहाइ गर्नुपर्ने हुन्छ । प्रहरी प्रवक्ता कुँबरका अनुसार ज्यान मुद्दा लागेकालाई भने रिहाइ गर्न मिल्दैन ।

  • सरकार र विप्लव समूहबीच बालुवाटारमै औपचारिक वार्ता शुरु

    सरकार र विप्लव समूहबीच बालुवाटारमै औपचारिक वार्ता शुरु

    काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच औपचारिक वार्ता शुरु भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमै दुवै वार्ता टोलीबीच छलफल शुरु भएको स्रोतले जनाएको छ । वार्तामा सहभागी हुन विप्लव नेतृत्वको वार्ता टोली मंगलबार साँझै काठमाडौं आएको थियो ।

    सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादल र डा. राजन भट्टराई तथा विप्लव समूहका वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेबीचको वार्ता जारी छ ।

  • विप्लव समूहसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन, केहीबेरमा वक्तव्य आउँदै

    विप्लव समूहसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन, केहीबेरमा वक्तव्य आउँदै

    काठमाडौं । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच वार्ता हुने भएको छ । सरकारले विप्लव समूहसँग वार्ताका लागि आजै वार्ता टोली गठन गर्दैछ ।

    दुवै पक्षबीचका अनौपचारिक छलफलहरूपछि वार्ताको सहज वातावरण बनेको र दुवै पक्षका वार्ता टोलीबीच वार्ता हुने भएको उच्च सरकारी स्रोतले जनाएको छ ।

    आजै केहीबेरमा सरकारका तर्फबाट प्रवक्ता पार्वत गुरुङले वक्तव्य जारी गरी वार्ता टोलीको नाम सार्वजनिक गर्दैछन् । विप्लव समूहले यसअघिनै तीन सदस्यीय वार्ता टोली गठन गरिसकेको छ ।

    विप्लव समूहका एक नेताले सरकारको तर्फबाट वक्तव्य आएपछि चाँडै काठमाडौंमा सार्वजनिक कार्यक्रम घोषणा गर्ने बताए ।

  • विप्लव समूहका दोस्रो नेताका छोरी-ज्वाईं किन लागे ओलीतिर ?

    विप्लव समूहका दोस्रो नेताका छोरी-ज्वाईं किन लागे ओलीतिर ?

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका पश्चिम कमाण्डर धमेन्द्र बास्तोला अहिले प्रहरी हिरासतमा छन् । उनका छोरी–ज्वाईं अनिमा बास्तोला र गणेश भण्डारी गत ३० माघमा प्रधानमन्त्री निवास बालुवाटारभित्र थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फोटो पनि खिचाए ।

    आफ्ना बुवा/ससुरालाई हिरासतमुक्त गर्ने प्रयासस्वरुप प्रधानमन्त्रीसँग भनसुनका लागि उनीहरु त्यहाँ पुगेका होइनन् । त्यो केवल राजनीतिक भेटघाट थियो । पार्टी विभाजनपछि प्रचण्ड–नेपाल समूह त्यागेर ओली समूहमा प्रवेश गरेका उनीहरुले प्रधानमन्त्रीलाई भेटेर राजनीतिक विषयमा कुराकानी गरेको नेपाल प्रेसलाई बताए ।

    गत १७ माघमा सुर्खेतमा आयोजित एक कार्यक्रममार्फत गणेश र अनिमाले ओली समूहमा प्रवेश गरेको औपचारिक घोषणा गरेका थिए । यद्यपि, त्यसभन्दा अगाडि नै ओली समूहले भण्डारीलाई आफ्नो केन्द्रीय समितिमा मनोनीत गरिसकेको थियो । अनिमा भने प्रदेश कमिटीमा छिन् ।

    भूमिगत आन्दोलन गरिरहेको विद्रोही पार्टीका शीर्ष नेताका छोरी-ज्वाईं किन सरकारको नेतृत्व गरिरहेको पार्टीमा प्रवेश गरे त ?

    अनिमालाई यो जिज्ञाशा राख्दा उनले सहजरुपमा भनिन्, ‘परिवार र राजनीति भनेको फरक कुरा हो । सबैको आ–आफ्नो स्वतन्त्र विचार हुन्छ । आफ्नो भूमिका जहाँ सुनिश्चित हुन्छ, त्यसमै लाग्ने हो ।’

    अनिमाका श्रीमान गणेश भण्डारी नेपाल चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष हुन् । उनी २०६८ सालमा माओवादी कोटाबाट बोर्ड अध्यक्ष नियुक्त भएका थिए । माओवादीले सुर्खेत जेल ब्रेक गर्दा उनी पनि संलग्न थिए । उनले माओवादीको सांस्कृतिक विभागमा रहेर लामो समय काम गरे । करिब २३ वर्षदेखि प्रचण्डलाई साथ दिइरहेका भण्डारीले अहिले किन ओलीलाई रोजे त ?

    उनी भन्छन्, ‘पछिल्लोपटक नेपाल कम्युनिष्ट आन्दोलनको केन्द्रीकरण हुँदा जनता खुशी थिए । तर, प्रचण्ड–माधव नेपाल यो एकताको विरुद्धमा लाग्नुभयो । सरकारलाई काम गर्न दिइएन । ओलीले राष्ट्रिय एकताको पक्षमा निरन्तर अडान लिंदै आउनुभयो । विकास र समृद्धिको नारा अघि सार्नुभयो । त्यसैले प्रचण्ड–नेपालभन्दा उहाँलाई ठीक देखेँ ।’

    ओली समूहमा जान लागेको खबर पाएपछि प्रचण्डले आफूलाई भेट्न बोलाए पनि नगएको भण्डारीले बताए ।

    उनले भने, ‘मलाई फोन गरेर भेटौं भन्नुभएको थियो । तर, मैले भनेँ– पहिले धेरैचोटि भेटेँ । अब भेटेर पनि केही अर्थ छैन । हामी राजनीतिक रुपमा अलग भयौं ।’

    फेसबुकमा ‘आइ लभ यू ओली बा’ भन्दै ओलीलाई भेटेको तस्वीर पोष्ट गरेका थिए ।

    ०००

    आफ्नो बुवा संलग्न पार्टी हिंसात्मक आन्दोलन त्यागेर संसदीय व्यवस्थाको मूलधारमा आएको हेर्न चाहन्छिन् अनिमा । साथै, सरकारले पनि विप्लव समूहलाई राजनीतिक व्यवहार गरेर संवादमा बोलाओस् भन्ने उनको चाहना छ । प्रधानमन्त्रीसँग भेटमा आफूले यही कुरा राखेको उनले बताइन् ।

    ‘यो राजनीतिक विषय भएकाले राजनीतिक तवरबाटै समाधान गर्नुपर्छ जस्तो लाग्छ । अहिले पहिलेजस्तो निरंकुशतन्त्र पनि छैन । त्यसैले विद्रोही पक्षले पनि अब संसदीय अभ्यासमै आएर अगाडि बढ्दा राम्रो हुन्छ’ अनिमाले भनिन् ।

    विप्लव समूहसँग वार्ता गर्ने विषयमा प्रधानमन्त्रीलाई सकारात्मक पाएको गणेश र अनिमाले बताए ।

    गणेश भन्छन्, ‘हामीले दिएको सुझावलाई उहाँले गम्भीरतासाथ लिनुभयो । वार्ताका लागि सरकार सकारात्मक रहेको पाएका छौं ।’

    धमेन्द्रका दुई छोरीमध्येकी कान्छी अनिमा २०५८ सालदेखि माओवादीमा लागेकी उनी अनेरास्ववियू क्रान्तिकारीमा आवद्ध थिइन् । माओवादी शान्ति प्रक्रियामा आउनुअघि २०६१ सालमा अनिमा र गणेशको विवाह भएकाे थियो । त्यसयता श्रीमान–श्रीमती दुवै माओवादीमा थिए । अनिमाकी आमा र परिवारका अन्य सदस्य भने राजनीतिमा छैनन् ।

    ०००

    अनिमाका बुवा धमेन्द्र विप्लव समूहका दोस्रो वरियताका नेता हुन् । पार्टीको पश्चिम कमाण्ड सम्हालिरहेका उनी पार्टीको सचिवालय सदस्य र विदेश विभाग प्रमुखसमेत छन् ।

    ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट उनलाई गत पुसमा प्रहरीले पक्राउ गरेको थियो । त्यसयता अदालतले छोड्ने र प्रहरीले फेरि पक्राउ गर्ने सिलसिला चलिरहेको छ । अहिले उनलाई सुनसरी पुर्याइएको छ ।

    धर्मेन्द्रमाथि तीनवटा कसुर छन् । नख्खुमा एकजनाको ज्यान जाने गरी २०७५ सालमा भएको बम विस्फाेटनलाई लिएर उनीमाथि अनुसन्धान भइरहेको छ । त्यस्तै, थेचोमा ९ चैत २०७७ मा भएको विस्फाेटमा पनि उनलाई प्रतिवादी बनाइएकाे थियो । जबरजस्ती चन्दा असुलीको अर्को अभियोग पनि बास्तोलामाथि छ ।

    परिवारका तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर भए पनि देशभर १०–१२ वटा मुद्दा भएकाले हिरासतबाट छुट्न कानूनी समस्या भइरहेको अनिमाले बताइन् ।

    तपाईंहरुले ओली नेतृत्वको नेकपा रोज्दा बुवाको प्रतिक्रिया के पाउनुभयो भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘यो पारिवारिक भन्दा पनि राजनीतिक विषय हो । व्यक्तिगत स्वतन्त्रताका कुरा भएकाले बुवाको कुनै चित्तदुखाइ छैन । हामीलाई अहिलेसम्म आफ्नो पार्टीमा लाग्न भन्नुभएको पनि छैन ।’

  • विप्लव नेतृत्वको नेकपासहित चार दलले संयुक्त मोर्चा घोषणा गर्दै

    विप्लव नेतृत्वको नेकपासहित चार दलले संयुक्त मोर्चा घोषणा गर्दै

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार दलले संयुक्त मोर्चा घोषणा गर्ने भएका छन् ।

    सरकारद्वारा प्रतिबन्धित चन्द नेतृत्वको नेकपासहित मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले गत पुस १४ गते मोर्चाबन्दीको सहमति गरेका थिए ।

    यी चारै दलले आज दिउँसो साढे १२ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा रणनैतिक संयुक्त मोर्चा घोषणाको कार्यक्रम राखिएको छ ।

    विदेशी शक्तिको आड र इसारामा प्रधानमन्त्रीले संसद् विघटन गरेको भन्दै ती दलले मोर्चाबन्दीको सहमति गरेका थिए ।

  • ओलीलाई समर्थन गर्दै काभ्रेबाट सार्वजनिक भए विप्लव समूहका नेता हेमक

    ओलीलाई समर्थन गर्दै काभ्रेबाट सार्वजनिक भए विप्लव समूहका नेता हेमक

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय नेता चूडामणि गौतम (हेमक) केपी ओली पक्षधर नेकपामा प्रवेश गरेका छन् । शनिबार काभ्रेको बनेपामा आयोजित ओली पक्षीय नेकपाको जिल्ला कमिटी बैठकमार्फत उनले ओलीलाई समर्थन गरेका हुन् ।

    विप्लव समूहका नेता धमेन्द्र वास्तोलाको पक्राउविरुद्ध नेपाल बन्द आयोजना भएकै दिन सो समूहका केन्द्रीय सदस्य गौतमले आफू केपी ओलीको एजेण्डामा मिसिएको घोषणा गरे । उनले अ‍ोली पक्षीय नेकपाको जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै राष्ट्रियताको सन्दर्भमा ओलीको अडानलाई आफूले निःशर्त समर्थन गरेको बताए ।

    १० वर्षे माओवादी जनयुद्धकालमा काभ्रे, रामेछापलगायतका जिल्लामा नेतृत्व गरेका गौतम काभ्रेको कोशीपारि क्षेत्रका स्थापित नेता हुन् । उनी पार्टी विभाजनपछि विप्लव नेतृत्वको नेकपामा थिए ।

    भूमिगत रहँदै आएका उनी ओली नेतृत्वको नेकपामा प्रवेश गरेपछि प्रहरीले पक्राउ गरेन । बैठकलाई सम्बोधन गर्दै नेकपा काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाले केपी ओलीको विचारमा सबै एकीकृत हुने बताए ।

    उनले विगतको माओवादी जनयुद्धको लिगेसी प्रचण्डले छाडिसकेको भन्दै त्यसको लिगेसीका नेता कार्यकर्ताको संरक्षण पनि केन्द्रमा ओलीले र जिल्लामा आफूले गर्ने बताए ।

    जिल्ला अध्यक्ष अशोक ब्यान्जुको अध्यक्षतामा बसेको बैठकले अब जिल्लाका सबै वडा तहसम्म संगठन विस्तार तथा पुनर्गठन गर्ने निर्णय गरेको छ ।

  • विप्लव समूहका मोरङ इन्चार्ज पेस्तोलसहित पक्राउ

    विप्लव समूहका मोरङ इन्चार्ज पेस्तोलसहित पक्राउ

    काठमाडौं । नेकपा विप्लव समूहका मोरङ ‍जिल्ला इन्चार्ज डि.बि सिलवाल भनिने धनबहादुर विक पेस्तोलसहित पक्राउ परेका छन् ।

    विकमाथि गत मंसिर २३ गते मोरङ मिक्लाजुङ गाउँपालिका-१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्‍ठको हत्या गरेको अभियोग रहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

    बुधबार दिउँसो २ बजे मोरङ बुढीगंगा गाउँपालिका- ४ बाट उनी पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ । उनको साथबाट १ थान सेमी अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली, केही थान मोबाइल र सिम बरामद गरिएको छ ।

    प्रहरीका अनुसार उद्योगी व्यवसायीहरुलाई धम्क्याई चन्दा असुलिरहेको सूचनाको आधारमा विकलाई पक्राउ गरिएको हो । उनी संखुवासभा मादी नगरपालिका-४ ओखरबोटे निवासी हुन् ।

  • विष्फोटक पदार्थसहित विप्लव समूहका कार्यकर्ता पक्राउ

    विष्फोटक पदार्थसहित विप्लव समूहका कार्यकर्ता पक्राउ

    कालिकोट । जिल्ला प्रहरी कार्यालय कालिकोटले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९ लालुका ३६ वर्षीया दुर्गराज बोहोरा र जाजरकोट भेरीमालिका नगरपालिका–२ का ३२ वर्षीया पदमबहादुर पुन रहेका छन् । प्रहरीले उनीहरुलाई आज बिहान पक्राउ गरेको हो ।

    अभियुक्त दुवै नेत्रविक्रम चन्द समूहका कार्यकर्ता भएको र उनीहरुबाट बन्दुक, प्रेसरकुकुर, डिटोनेटर २४ थान, पटके पाँच पाकेट, सकेट नौ थान, गन्धक एक केजी, सोडा आधा केजीलगायतका विष्फोटक सामग्रीसहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी यक्षकुमार जोशीले जानकारी दिए ।

    अभियुक्तलाई विष्फोटक पदार्थ ऐन सम्बन्धी कारवाही हुने जनाइएको छ ।

  • क्रान्तिको महमा विप्लवको विष, प्रचण्डपथको बाइप्रोडक्ट

    क्रान्तिको महमा विप्लवको विष, प्रचण्डपथको बाइप्रोडक्ट

    मंसीर २४ गते मंगलबार मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेपछि नेकपा विप्लव समूहप्रति अनेक क्षेत्रबाट अहिले आक्रोश सार्वजनिक भएको छ ।

    दूरदराजमा कृषिमा समेत उदाहरणीय काम गरिरहेका श्रेष्ठको हत्या भत्र्सनायोग्य भएकाले यो आक्रोश जायज छ । तर, भोजपुरमा प्रहरी जवानको हत्या, एनसेलको कार्यालयमा मानिसको ज्यान जाने गरी बम विस्फोट र काठमाडौंका विभिन्न ठाउँमा आफ्नै कार्यकर्ता मर्ने गरी बम विस्फोटका घटना गराएको बेलामा जस्तै यो आक्रोश पनि क्षणिक रह्यो भने विप्लव समूहको क्रूरताले निरन्तरता पाउने तथा अरू बढ्नेमा भ्रम रहनुहुँदैन ।

    विप्लव समूहका लिखत, त्यसका नेताहरूको भनाइ, दूरदराजमा उसले गरिरहेका गतिविधि र कम्पनी तहको फौजी संरचनासमेत निर्माण गरिसकेको विभिन्न स्रोतहरूबाट आएका सूचनाका आधारमा यो समूह २०५२ सालमा मूल माओवादीले शुरू गरेको क्रिया दोहोर्‍ याउन दृढ छ भन्ने स्पष्ट छ । यसको अर्थ के हो भने, उसले आफ्नो शक्ति पुग्दा प्रहरीलाई आक्रमण गर्नेछ, सेनाको ब्यारेक हान्नेछ, हत्या-प्रतिहिंसाको शृंखला शुरू गराउनेछ, मिक्लाजुङमा जसरी सुराकीको आरोपमा व्यक्ति–हत्या अनि शहरहरूमा बम विस्फोट त गर्नेछ नै ।

    हिंसाको जहर

    जुनै पनि विचार र आन्दोलन त्यसको मूलरूप परिवर्तन हुँदासमेत लामो समय रहलपहलका रूपमा बाँकी रहने अनेक घटनामा देखिन्छ । अहिले विप्लव समूहले चलाएको ‘एकीकृत क्रान्ति’ पनि २०५२ मा शुरू भएको माओवादी हिंसाकै रहलपहल हो ।

    नाम जे दिए पनि उसले गर्ने भनेको पहिले जस्तै जबरजस्ती चन्दा संकलन हो, दिन नमान्नेलाई बदलामा कुटपिट र हत्या जस्ता बर्बरता थोपर्ने हो, विपक्षी राजनीतिक विचार, समूह र व्यक्तिलाई निषेध गर्ने हो, भौतिक संरचनाहरू ध्वस्त पार्ने हो, प्रहरी र सेनामाथि आक्रमण गरेर राज्यलाई अस्थिर र कमजोर बनाउने हो । अनि, विदेशी शक्तिलाई देशको राजनीतिमा प्रवेश गर्न छिद्र निर्माण गरिदिने हो ।

    अघिल्लो १० वर्षे हिंसा चर्काउनेहरू जस्तै जननायक बन्न सकिने सपना विप्लवले देख्नुलाई पनि अस्वाभाविक भन्न मिलेन । विप्लवले देखेको त्यही सपना पूरा गर्ने प्रयासका क्रम गराइएका घटनाहरूको समष्टि नै त्यो समूहले हाल चलाइरहेका क्रियाकलाप हुन् भन्ने स्पष्ट छ ।

    नेपाली माओवादी स्कूलिङले कहिल्यै समाज मात्रात्मक हुँदै गुणात्मक परिवर्तन हुने तथा यसको गति कसैको चाहनामा नभएर त्यसका अवयवहरूको परिपक्वताले निर्धारण गर्ने सिकाएन । धक्का, क्रमभंग, छलाङ जस्ता जादूसमान शब्दहरूमा रमाउन सिकाएर शान्तिपूर्ण, जनताको साथ र समर्थनमा हुने परिवर्तनका प्रयासहरूप्रति नकारात्मक बनायो । चुनावमा उठ्नु, प्रतिस्पर्धा गरेर जित्नु, सरकार बनाउनु र जनप्रिय काम गरेर फेरि चुनाव जित्नसक्ने हुनुलाई उसले संशोधनवाद तथा प्रतिक्रियावादको पिछलग्गु भनेर आरोपित गर्‍ यो ।

    सेना नभएको जनताको केही हुन्न भन्ने चिनियाँ परिप्रेक्ष्यमा माओले निकालेको निष्कर्षलाई सिद्धान्त मानेर घोकेकाहरू क्यान्टोनमेन्ट खाली हुँदा विक्षिप्त हुनु स्वाभाविक थियो । अनि, निराशामा कठ्याङ्ग्रिएकाहरूले नयाँ नायक खोज्नु पनि स्वाभाविक हो । र, उनीहरूको भावना प्रयोग गर्दा अघिल्लो १० वर्षे हिंसा चर्काउनेहरू जस्तै जननायक बन्न सकिने सपना विप्लवले देख्नुलाई पनि अस्वाभाविक भन्न मिलेन । विप्लवले देखेको त्यही सपना पूरा गर्ने प्रयासका क्रम गराइएका घटनाहरूको समष्टि नै त्यो समूहले हाल चलाइरहेका क्रियाकलाप हुन् भन्ने स्पष्ट छ ।

    त्यसैले, भ्रममा पर्नु हुन्न कि, विचारहरूबीच प्रतिस्पर्धा हुँदा मात्र उत्तम विचारले उम्रिने र हुर्किने मौका पाउँछ भन्ने लोकतान्त्रिक सोचलाई बहुलवाद भनेर दुत्कार्ने माओवादी सोचले आफ्नोभन्दा अरू विचार र ती विचार बोक्ने दलहरूलाई न हिजो सह्यो, न विप्लव माओवादीले सहनेछ ।

    २८ फागुन २०७५ मा यो समूहलाई प्रतिबन्ध लगाउँदा सरकारलाई असहिष्णु भन्दै सराप्ने तथा विप्लव समूहको साखुल्य बन्न खोज्ने नेता र तिनका दलका गतिविधिलाई पनि यो समूहले आफूले सकेको ठाउँ र समयमा प्रतिबन्ध लगाउनेछ भन्ने केही पछि नै देखिनेछ । यसले सक्दा पहिले जस्तै उसँगै थपडी बजाउँदै नहिंड्नेहरूलाई गाउँबाट खेद्नेछ । नभाग्ने तथा असहमति जाहेर गर्नेहरू मुक्तिनाथ अधिकारी जसरी नै मारिनेछन् । सकेसम्म विप्लव समूहले २०५२—२०६२ को चक्र उसैगरी दोहो¥याउनेछ ।

    भ्रमका पोका

    हरेक हिसाबले पछि परेको वर्ग, समुदाय, क्षेत्र र लिङ्गका मानिसहरूको पनि बाँकी जतिकै अधिकार छ भन्ने अति मानवतावादी विचार भएका जर्मनीका कार्ल माक्र्सलाई गुरु मान्ने कम्युनिष्टहरूमध्ये केहीको हतियारप्रति अत्यधिक मोह आश्चर्यलाग्दो छ । पहुँच र सम्पत्ति हुनेहरूको हतियारमा पनि स्वतः बढी पहुँच हुने हुँदा हिंसा होइन शान्तिपूर्ण प्रतिस्पर्धा निर्बलहरूको रोजाइ हुनुपर्ने हो ।

    सशस्त्रीकरणका विरुद्ध निर्बल राष्ट्रहरूले निशस्त्रीकरण अभियान चलाउनुको कारण पनि यही हो । त्यसैले, शान्तिपूर्ण प्रतिस्पर्धा सैद्धान्तिक रूपले नै निर्बलहरूको पक्षमा र बलिया अनि खाईपाई आएकाहरूको विपक्षमा छ । यस हिसाबले हतियार र हत्याहिंसालाई निर्बलहरूको प्रतिनिधि दाबी गर्ने कम्युनिष्टहरूले रोजाइ बनाउनु सही हुनसक्दैन ।

    वर्तमान व्यवस्थालाई विना आधार प्रतिक्रियावादीको आरोप लगाउने, ‘दलाल पूँजीवाद’, ‘साम्राज्यवाद’, ‘प्रतिक्रियावाद’ जस्ता जार्गन लेख्ने तथा कार्यकर्ताहरूलाई ती घोकाउने विप्लव माओवादी आफैं भ्रममा रहेको विस्तारै स्पष्ट हुनेछ ।

    अहिले किन एकीकृत क्रान्तिको आवश्यकता पर्‍ यो भन्ने विप्लव माओवादीले कतै चित्तबुझ्दो जवाफ दिन सकेको छैन । जुनसुकै विचार लिएर जनतामा जान पाइन्छ, चुनाव लडेर बहुमत ल्याई सरकार बनाउन तथा सरकारमार्फत आफ्नो कार्यक्रम लागू गराउन रोकतोक छैन, शान्तिपूर्ण बाटोमा आएपछि हत्या–हिंसामा संलग्न तथा आफैंसँग लडेका प्रचण्डलाई प्रधानमन्त्री मानेर सेनाले सलाम गरेको हामीले नै देखेकाले उसको अराजनीतिक चरित्र प्रमाणित छ ।

    संविधानले व्यवस्था गरेको शक्ति पृथकीकरण अनुसार अदालतले स्वतन्त्र ढंगले काम गरिरहेको छ, जुनै विचारको सरकारलाई काम गर्न उसले भाँजो हालेको देखिन्न । संविधानसभाले बनाएको संविधान कार्यान्वयन भइरहेको बेला निर्दाेषहरूको हत्या गर्ने गरी एकीकृत क्रान्ति किन गर्नुपर्‍ यो भनेर जवाफ दिन विप्लव माओवादीसँग केही पाल्छी शब्दजालबाहेक केही देखिंदैन ।

    वर्तमान व्यवस्थालाई विना आधार प्रतिक्रियावादीको आरोप लगाउने, ‘दलाल पूँजीवाद’, ‘साम्राज्यवाद’, ‘प्रतिक्रियावाद’ जस्ता जार्गन लेख्ने तथा कार्यकर्ताहरूलाई ती घोकाउने विप्लव माओवादी आफैं भ्रममा रहेको विस्तारै स्पष्ट हुनेछ । किनभने, केहीको हत्या र सार्वजनिक सम्पत्तिको बर्बादी बाहेक यो समूहले आफ्ना कार्यकर्तालाई घोकाए जस्तो न एकीकृत क्रान्ति हुनेछ, न त उसको सत्ता नै स्थापना हुनेछ । प्रचण्ड, मोहन वैद्य र बाबुराम आफ्नो रोजाइले भन्दा परिस्थितिको चेपाइले शान्तिपूर्ण राजनीतिलाई स्वीकार्ने अवस्थामा आइपुगेका हुन् भन्ने नबुझ्नु विप्लव समूहको अर्काे ठूलो भ्रम हो ।

    सुझावहरू

    परिस्थितिको दह्रो चेपाइ नपरी विप्लव माओवादी हत्या–हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउँदैन भन्ने टुङ्गो भएकाले नसुन्नेलाई सुझाव दिनुको अर्थ छैन । त्यसैले, उसलाई राम्रोसँग बुझ्न अनि त्यही अनुसार व्यवहार गर्न बाँकीले सीपसहितको जाँगर नचलाउने हो भने केही यताको स्थिरता र आशा पुनः अस्थिरता र निराशामा परिणत हुने निश्चित छ ।

    विप्लव माओवादीको समाधान प्रशासनिक मात्रै हुँदै होइन । उसले गराएका अपाराधिक घटनालाई मात्र हेरेर उसलाई अन्य अपराधी समूहलाई जस्तो व्यवहार गरियो भने गलत हुनेछ र त्यसले विपरित परिणामसमेत निकाल्न सक्नेछ । किनभने, उसले हत्या–हिंसा जस्ता अत्यन्त बर्बर आपराधिक क्रियाकलापमा राजनीतिक नशा खुवाएर मानिसहरूलाई संलग्न गराएको छ ।

    रक्सी, गाँजा वा लागूपदार्थभन्दा कडा हुने राजनीतिक नशा मानिसबाट उतार्न निकै मिहिनेत र समय लाग्ने हुँदा उसको राजनीतिविरुद्ध प्रतिअभियान संचालन गर्नु आवश्यक छ । र, त्यसका लागि शान्तिपूर्ण र लोकतन्त्र पक्षधर राजनीतिक शक्तिहरू उसलाई प्रयोग गरी प्रतिस्पर्धीलाई तल पार्ने अनि शक्ति आर्जन गर्ने क्षणिक स्वार्थमा अहिले जसरी नलागेर साँच्चै हिंसाविरुद्ध लाग्नुपर्नेछ ।

    आफूले नायक मानेकाहरूको पतनबाट निराश बनेकाहरू, क्रान्तिको धङधङीले मातेकाहरू र संसार अनि देशको साँचो अवस्था नबुझी मीठो सपनाले एकोहोरिएकाहरूलाई बुझाउनु सजिलो पक्कै छैन । लोकतान्त्रिक विचार आत्मसात् गर्नु र व्यवहारमा उतार्नु सजिलो काम होइन ।

    लोकतान्त्रिक प्रणालीमा प्रतिस्पर्धा हुने भएकाले आलोचना र विरोध पनि यसको अभिन्न अंग हुँदा यो एकतन्त्रीय जस्तो चोखो देखिंदैन । तर, सबैभन्दा भुईं तहको अनि एक्लो आवाज पनि गुन्जाउन पाइने हुँदा यो प्रणाली जनपक्षधर छ । त्यसैले, सयौंको बलिदान, हजारौंको यातना अनि कष्ट र लाखौंको प्रयास प्रयत्नबाट स्थापित यो प्रणालीको रक्षाका लागि सबैखाले अधिनायकवादी विचारविरुद्ध अभियान नचलाई हिंसालाई परास्त गर्न सकिने छैन ।