Tag: विदेशी फिल्म

  • विदेशी फिल्म मालामाल, स्वदेशी फिल्मको बेहाल

    विदेशी फिल्म मालामाल, स्वदेशी फिल्मको बेहाल

    केही दिनअघि ‘ए मेरो हजुर ४’ को ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका निर्माता सुनिलकुमार थापाले भने, ‘मलाई एउटै मात्र डर छ । नौ सय करोडमा बनेको भारतीय चलचित्र नेपालमा तीन करोडमा बनेको चलचित्रसँग भिड्दै छ ।’

    थापाले दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ लाई संकेत गरिरहेका थिए, जुन ए मेरो हजुर ४ सँगसँगै वैशाख १ मा रिलिज हुँदै छ । पछिल्लो समय नेपाली दर्शकमाझ दक्षिण भारतीय फिल्मले जसरी दबदबा बनाइरहेका छन्, त्यसलाई हेरेर निर्माता थापा पहिल्यै आतंकित बनेका हुन् ।

    अहिले व्यापक प्रमोसन भइरहेको ‘ए मेरो हजुर ४’ नेपाली दर्शकका लागि प्रतीक्षित सिरिज हो । यसका अघिल्ला तीन वटै सिरिज दर्शकले मन पराए र निर्मातालाई पनि फाइदाजनक रह्यो । तेस्रो र चौथो सिक्वेलमा अहिलेका सर्वाधिक चर्चित र महँगा सुपरस्टार अनमोल केसी छन्, जसले अहिलेसम्म कुनै पनि फिल्ममा असफलताको स्वाद चाख्नु परेको छैन । र पनि, यसपाला दक्षिण भारतीय फिल्मले आफूलाई अप्ठेरोमा पार्न सक्ने संशयमा छन् निर्माता थापा ।

    नेपालका वितरकले अहिलेसम्मकै महँगो मूल्य तिरेर ‘केजीएफ’ नेपालमा ल्याएको बताइन्छ । यसको मतलब उनीहरूले ‘ए मेरो हजुर ४’ लाई पर्याप्त शो नै नदिन सक्ने खतरा समेत छ । विगतदेखि नै नेपालका मल्टिप्लेक्सहरुले स्वदेशी चलचित्रलाई विभिन्न बहानामा हेपाहा र पेलाहा व्यवहार गर्दै आइरहेका छन् । ‘केजीएफ’ का निर्माताका लागि नेपाली बजारले ठूलो महत्त्व अर्थ नराख्न सक्छ, तर नेपालका वितरकका लागि राख्छ ।

    यता, ‘ए मेरो हजुर ४’ का लागि नेपाली बजारबाहेक अर्को विकल्प छैन । तीन करोडमा बनेको फिल्मले लगानी उठाउनकै लागि मात्रै साढे आठ करोडभन्दा बढीको ग्रस कलेक्सन गर्नुपर्छ । दर्शकको ठूलो उभार सिर्जना नगरीकन फिल्मले लगानी उठाउन सम्भव छैन । यही भएर निर्माण पक्षले फिल्मको पक्षमा माहोल सिर्जना गर्न अनेक हत्कण्डा अपनाइरहेको छ । हालै युवा पुस्ताका चर्चित र्यापर जी–बबको स्वरमा नयाँ गीत रेकर्ड गराउनु पनि यस्तै एक हत्कण्डा हो ।

    भारतीय फिल्मको बढ्दो दबदबा

    नेपालमा बलिउड चलचित्रहरूले प्रभुत्व कायम गर्नु कुनै नौलो कुरा होइन । भारतका ठूला स्टारका फिल्म रिलिज हुँदा नेपालका हलहरूमा आफसे आफ भीड जम्मा हुन्छ । स्वदेशी चलचित्रले पनि दर्शक तान्न निकै पापड बेल्नुपर्छ ।

    पछिल्लो समय बलिउड मात्र नभएर दक्षिण भारतीय फिल्महरूले पनि नेपालमा मालामाल व्यापार गर्न थालेका छन् । गतिलो र तार्किक स्क्रिप्ट नहुने असामान्य मारधाडबाला फिल्महरूले नेपालका दर्शकहरूलाई लोभ्याउन थालेपछि नेपाली फिल्म निर्मातालाई चुनौती थपिएको छ ।

    कोरोनाका कारण लामो समय लकडाउन भएपछि फिल्म उद्योग बन्दजस्तै थियो । हलहरू पनि ठप्प थिए । अहिले भर्खरै हलहरू खुलेर नयाँ चलचित्र रिलिज हुन थालेका हुन् । तर, स्वदेशीभन्दा विदेशी फिल्मले नै नेपाली दर्शकको पैसा गुटमुट्याइरहेका छन् । नेपाली फिल्म दर्शक नपाएर तड्पिरहेका छन् ।

    ‘बाहुबली २’ले मात्रै नेपालबाट करिब २० करोड हाराहारी ग्रस कलेक्सन गरेको समीक्षक सुशील पौडेल बताउँछन् । यस्तै, गत १७ डिसेम्बरमा प्रदर्शन भएको ‘पुष्पा ः द राइज’ ले १२ देखि १४ करोड ग्रस कलेक्सन गरेको थियो । आलिया भाट स्टारर ‘गंगुबाई काठियावाडी’ले पनि राम्रै कलेक्सन गरेको थियो भने अहिले प्रदर्शन भइरहेको साउथ फिल्म ‘आरआरआर’ ले १० करोड कलेक्सन कटाइसकेको छ । हलमा अझै पनि ‘आरआरआर’ को दबदबा कायम छ ।

    यो बीचमा रिलिज भएका नेपाली चलचित्र भने अपवादलाई छोडेर असफल छन् । पल शाह प्रकरणका कारण ‘म यस्तो गीत गाउँछु २’ ले सन्तोषजनक कमाइ गर्यो । अर्को चलचित्र कठपुतलीको व्यापार पनि तैविसेक रह्यो । यसबाहेक कुनै पनि नेपाली चलचित्र बक्स अफिसमा चम्किन सकेका छैनन् । नेपाली चलचित्र कहिले हलमा लाग्छन् र कहिले उत्रिन्छन् भन्नेसमेत पत्तो हुँदैन ।

    ‘आरआरआर’ भन्दा एक साताअघि प्रदर्शन भएको नेपाली फिल्म ‘चिसो एस्ट्रे’ ले मिडियामा राम्रो समीक्षा पाएको थियो । यसबाट निर्माताहरू पनि आशावादी बनेका थिए । तर, र, दर्शक फिल्म हेर्न हलमा गएनन् । फिल्मले पहिलो सप्ताहान्तमै घुँडा टेक्यो । आइतबारसम्म आइपुग्दा हलबाट उठिसकेको थियो । दर्शकले अब युट्यूवमा यो फिल्म हेरेर प्रशंसा गर्नेछन् । विदेशी फिल्म पैसा तिरेर हेर्न र स्वदेशी फिल्म युट्यूवमा हेर्न बानी पर्दै गएका छन् नेपाली दर्शक ।

    ‘चिसो एस्ट्रे’ मात्रै होइन, पछिल्लो समय प्रदर्शन भएका अरू फिल्मको पनि यही अवस्था छ । अहिले भर्खरै प्रदर्शनमा आएको ‘हेल्लो जिन्दगी’ को व्यापार दयनीय छ । फिल्मले पोस्टर खर्चसमेत उठाउन नसकेको बताइन्छ ।

    साथै सुदर्शन थापा निर्देशित ‘म यस्तो गीत गाउँछु २’ले हलमा राम्रो दर्शक पायो । यी दुई फिल्म बाहेक अन्य फिल्मले अपेक्षित व्यापार गरेनन् । धेरै फिल्म प्रदर्शन भए, तर काठमाडौंका गल्लीमा पोस्टर टाँस्ने काम बाहेक केही गर्न सकेनन् । न हलमा दर्शकलाई तान्न सके, न राम्रो कमाइ नै गरे ।

    दर्शक हलमा आउन् या नआउन्, तर हलमा प्रदर्शन मिति तय गर्न तँछाडमछाड गरिरहेका छन् नेपाली मेकरहरु । कोभिडका कारण दुई तीन वर्षदेखि थन्किएर बसेका फिल्महरू प्रदर्शनको पर्खाइमा छन् । उपयुक्त प्रदर्शन मितिका लागि हानथाप चलिरहेकै छ । तर, ती फिल्मले दर्शक पाउलान् त ? ती फिल्म हेर्न दर्शक आउलान् त ? खासै आशालाग्दो अवस्था छैन ।

    फिल्म वितरक मनोज राठी विदेशी फिल्मले नेपालमा राम्रो व्यापार गरिरहेको बताउँछन्, तर कुन फिल्मले कति ग्रस ग¥यो भनेर चाहिँ खुलाउन चाहँदैनन् ।

    उनले भने, ‘राम्रो फिल्मले दर्शक त पाइहाल्छ नि । सुदर्शन थापाको फिल्म ‘म यस्तो गीत गाउँछु २’ले कमाएकै हो । मुख्य कुरा त दर्शकलाई फिल्म मनपर्नुपर्‍यो । मेकरहरुले दर्शकको रुचिको फिल्म बनाउनुपर्‍यो ।’

    किन चल्दैनन् नेपाली फिल्म ?

    पछिल्लो समय नेपालमा थुप्रै प्रतिभा वान निर्देशकहरू जन्मेका छन् । परम्परागतभन्दा पृथक् शैलीका मौलिक चलचित्रहरू पनि बनिरहेका छन् । तर, ती फिल्ममा दर्शकको खडेरी छ । आखिर किन ?

    निर्देशन दीपेन्द्र लामा नेपाली मेकरले दर्शक रिझाउन नसकेको स्वीकार्छन् । लामाका अनुसार नेपाली दर्शकलाई रिझाउन एकदमै सजिलो छ, तर त्यही सजिलोपनालाई पनि बेवास्ता गर्दा हलमा दर्शक तानिन सकेका छैनन् ।

    ‘हाम्रोमा साढे दुई घण्टाको फिल्म हेर्दा टाउको नदुख्ने मात्रै भए पुग्छ । तर, दर्शकको टाउको दुखाउने खालका फिल्महरू बनेकाले दर्शक हलमा नआएका हुन्,’ लामा भन्छन्, ‘फर्मुलामा बनेका सिनेमा हुन् ‘पुष्पा’, ‘आरआरआर’ जस्ता फिल्महरू । रोहित सेट्टीकोभन्दा थोरै स्तरीय फिल्म हुन् । ‘छक्का पन्जा’, ‘कबड्डी’, ‘ए मेरो हजुर’ सिरिज राम्रै चलेको हो । मोटामोटी नेपाली दर्शकलाई तर्साउने खालका नभएर ती फिल्म चलेका हुन् ।’

    नेपाली मेकरको चेतना कमजोर हुनु नै कमसल फिल्महरू बन्नुको कारक मान्छन् लामा । उनी फिल्मकर्मीको चेतनामै प्रश्न गर्दै भन्छन्, ‘हामी जस्तो फिल्मबारे सोच्छौँ, बुझ्छौँ, त्यो सोचाइ, बुझाइ नै निम्न स्तरको छ । त्यही भएकाले दर्शक नआएका हुन् ।’

    ‘ए मेरो हजुर ४’ सिरिजका निर्माता थापा एक्ला निर्माता होइनन्, जो विदेशी फिल्मसँग डराए । प्रायः सबै नेपाली निर्माताहरू विदेशी फिल्मसँग डराउने गरेका छन् । उनीहरू याचना गरिरहन्छन्, ‘नेपाली फिल्मलाई माया गरिदिनुस् ।’

    तर, यसरी याचना गर्नेभन्दा फिल्मको स्तरोन्नतिमा ध्यान दिनुपर्ने बताउँछन् विज्ञहरू । मेकिङदेखि विषयवस्तु छनोटसम्मको आत्मसमिक्षा हुनुपर्ने उनीहरूको तर्क छ ।

    निर्देशक मनोज पण्डित नेपाली मेकरले अझै दर्शकलाई नबुझेको बताए । उनका अनुसार ‘दर्शक भनेका मानिस हुन्’ भनेर नबुझ्नु नै मेकरहरुको ठूलो गल्ती हो । दर्शकप्रतिको सम्मान, उत्तरदायित्व भन्ने पाटोबाट मेकरहरु विमुख भइरहनु नै प्रमुख समस्या देख्छन् पण्डित ।

    ‘हाम्रा केही स्वार्थ र निश्चित चाहनाका लागि मात्रै फिल्म बनाइरहेका छौँ । फिल्म भनेको आफैँलाई बनाउने हो भन्ने अवधारणामा रमाइरहेका छौँ । तर, आफू पनि दर्शक हो भन्ने बिर्सिरहेका छौँ । दर्शकलाई बेवास्ता गरिरहेका छौँ,’ पण्डितको तर्क छ, ‘दर्शक चेतनशील प्राणी हो भनेर स्वीकार गरेका छैनौँ । दर्शक भनेको प्रश्न हो, चेतना हो । दर्शकलाई के कुराको आवश्यकता हो वा उक्त फिल्म हेर्न किन आवश्यक छ भनेर स्वीकारेका फिल्महरूले दर्शकलाई रिझाएका छन्, कमाएका छन् ।’

    आफूले जे दियो, दर्शकले त्यही स्वीकार्नुपर्छ भन्ने चेतनाले निर्माण गरिएका फिल्मलाई दर्शकले पनि उस्तै जवाफ फर्काउने पण्डितको बुझाइ छ । नेपाली फिल्मले दर्शक नपाउनुका कारण पनि दर्शकलाई फिल्म हेर्न बाध्य पार्न खोजिनु नै रहेको बताउँछन् ।

    उनी भन्छन्, ‘हामी दर्शकलाई बेवास्ता गर्छौँ, अनि दर्शकले हाम्रो सिनेमा किन हेर्ने ?’

    आर्थिक नोक्सानी र सांस्कृतिक अतिक्रमण

    हरेक देशले स्वदेशी उद्योगधन्दाको संरक्षणका लागि आयातित वस्तु तथा सेवाहरूमा विभिन्न प्रकारका बन्देजहरू लगाउने गर्छन् । देशको व्यापार घाटा चुलिएको भन्दै हालै नेपाल राष्ट्र बैंकले विभिन्न ३०० वटा वस्तुहरूको आयातमा आवधिक बन्देज लगाउन निर्देशन जारी गरेको छ । तर, विदेशी फिल्महरू नेपालमा अनियन्त्रित आयात भएर ठूलो परिमाणमा नेपाली पैसा विदेशिएकोमा भने कसैको ध्यान पुगेको छैन ।

    भारत बन्ने ठूला बजेटका चलचित्रहरू नेपालमा तत्कालै रिलिज हुन्छन् । यसमा कुनै पनि क्राइटएरिया निर्धारण गरिएको छैन । नेपालमा बनेका सानो बजेटका फिल्मले महँगा विदेशी फिल्महरूसँग भिड्नुपर्ने चुनौती छ । ठूला विदेशी फिल्म आएका बेला त नेपाली फिल्मले हल नै पाउन मुस्किल हुन्छ । यसले गर्दा नेपाली चलचित्र उद्योग नै संकटमा परेको छ ।

    समस्या यो मात्र होइन । फिल्म भनेका व्यापारिक बस्नु मात्र नभएर कुनै पनि देशको संस्कृति र सम्पदाका प्रतिनिधि पनि हुन् । भारतले आफ्ना फिल्महरूमार्फत विश्बजारमा आफ्नो भाषा संस्कृति विस्तार गरिरहेको छ । नेपालमा पनि पछिल्लो समय भारतीय भारतीय संस्कृतिले व्यापक अतिक्रमण गरिसकेको छ । कस्तो विदेशी फिल्म नेपालमा चलाउन दिने र कस्तो नदिने भन्ने कुनै मापदण्ड नभएकाले भारतीय इतिहास र संस्कृतिको बखान गर्ने, अन्य देशको मानमर्दन गर्ने फिल्महरू पनि नेपालमा निर्बाध चलिरहेका हुन्छन् । कतिपय नेपाल र नेपालीकै बदख्वाइँ गरिएको चलचित्रहरू पनि नेपालमा मज्जाले चलेका छन् ।

    बेलाबखत केही क्रान्तिकारी पार्टीहरूले भारतीय फिल्म रोक्नुपर्ने माग उराले पनि यो पक्षबाट अहिलेसम्म गम्भीर बहस कतै भएको छैन । एकातर्फ नेपालीको ठूलो परिमाणमा पैसा विदेशिने, स्वदेशी उद्योग संकटमा पर्ने र अर्कोतर्फ भारतीय भाषा–संस्कृतिले नेपाली समाजलाई लपेट्ने चिन्ताजनक अवस्थालाई चिर्न राज्यले ठोस नीति निर्धारण गर्न ढिलाइ भइसकेको छ ।

  • उत्तर कोरियाद्वारा विदेशी फिल्म, भाषा र पहिरनमा प्रतिबन्धको घोषणा

    उत्तर कोरियाद्वारा विदेशी फिल्म, भाषा र पहिरनमा प्रतिबन्धको घोषणा

    प्योङआङ । उत्तर कोरियाले बाह्य सांस्कृतिक प्रभावबाट आफूलाई मुक्त राख्न कडा कानून लागु गरिएको घोषणा गरेको छ । बीबीसीका अनुसार उत्तर कोरियाले विदेशी फिल्म, पहिरन, विदेशी भाषा बोल्न प्रतिबन्ध लगाइएको जनाएको छ ।

    नेता किमजङ उनले ‘प्रतिक्रियावादी सोचविरुद्ध’ भन्दै यस्तो नियम ल्याएको जनाएका छन् । डेली एनके सो नामक संचारमाध्यमले विवरणबारे अन्तर्राष्ट्रिय संचारमाध्यमलाई जानकारी गराएको छ ।

    प्रधान सम्पादक ली साङ योङले भनेका छन्, ‘यसमा कुनै कामदारलाई आरोप लागेमा उद्योगको प्रमुखलाई सजाय हुनसक्ने र कुनै बालक समस्याकारी भएमा अभिभावकलाई सजाय हुनसक्ने भनिएको छ। उत्तर कोरियाले प्रोत्साहन गरिरहेको एकअर्काको निरीक्षण गर्ने सिद्धान्तलाई यसले अँगालेको देखिन्छ।’

    गत वर्ष उत्तर कोरियाबाट भाग्न सफल थोरैमध्ये एक चोई जङ-हुनले भने- ‘जति असहज समय हुन्छ त्यति नै कडा नियम कानुन र सजाय हुन्छन्।’

    ‘मनोवैज्ञानिक हिसाबले जब तपाईँ टन्न खाएर दक्षिण कोरियाली चलचित्र हेर्नुहुन्छ, त्यो मनोरञ्जन हुन्छ। तपाईँसँग खानेकुरा छैन र बाँच्न सङ्घर्ष गरिरहनु भएको छ भने त्यसले आक्रोशित बनाउँछ’ उनले भने ।