Tag: वकिल

  • सर्वोच्च परिसरमा वकिल-प्रहरी ठेलमठेल

    सर्वोच्च परिसरमा वकिल-प्रहरी ठेलमठेल

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायी र प्रहरीबीच सर्वोच्च परिसरमा ठेलमठेल भएको छ । प्रधानन्यायाधीशलाई प्रवेशमा रोक लगाउने गरी सर्वोच्चमा धर्ना दिन पुगेका वकिललाई प्रहरीले रोकेपछि ठेलमठेल भएको हो ।

    नेपाल बार प्रांगणमा भेला भएर सर्वोच्च अदालततिर अगाडि बढ्न खोजेका कानून व्यवसायीलाई रोक्न लाग्दा केहिबेर तनावको स्थिति सृजना भएको थियो । आन्दोलनकारीले बोकेको स्पिकर प्रहरीले खोस्न खोज्दा अवस्था तनावपूर्ण बनेको हो ।

    अहिले आन्दोलनरत पक्षले नारा र होहल्ला गर्न नपाउने गरी सर्वोच्च परिसरमा धर्ना दिन पाउने सहमति बनेको छ ।

    विपक्षको आन्दोलन चलिरहँदा प्रधानन्यायाधीशको पक्षमा पनि प्रदर्शन भएको छ । दुई पक्षबीचको सम्भावित झडपलाई मध्यनजर गरी प्रहरीले केहीलाई पक्राउ गरेको छ ।

  • बारको काउन्टरमा सेतोपट्टीधारी वकिलको माइतीघरमा छुट्टै प्रदर्शन

    बारको काउन्टरमा सेतोपट्टीधारी वकिलको माइतीघरमा छुट्टै प्रदर्शन

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसियसनले सुरू गरेको आन्दोलनको काउन्टरमा आज पनि कानून व्यवसायीले सेतोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

    कालोपट्टी बाँधेर प्रधानन्यायाधीशको विरोधमा बारले आन्दोलन थालेपछि कानून व्यवसायीको अर्को समूहले सेतो पट्टी बाँधेर बार नेतृत्व र इजलास बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध प्रदर्शन गरेका हुन् । माइतीघरको प्रदर्शनमा अधिवक्ता स्वागत नेपाल, भूमिनन्द सापकोटालगायत वकिलहरू सहभागी छन् ।

    बार परिसरमा कुटिएका अधिवक्ता भूमिनन्द चुँडालको न्याय, दबाबको शासन अन्त्य गरी विधिको शासन कायम गर्नुपर्नेलगायत माग राख्दै उनीहरूले मुद्दा नहेर्ने न्यायाधीश र इजलासमा नजाने वकिलले जनताको अधिकार खोसेको आरोप लगाएका छन् ।

  • बार परिसरमै वकिल कुटिए, कुट्ने र कुटिने दुवै कांग्रेसनिकट (भिडिओ सहित)

    बार परिसरमै वकिल कुटिए, कुट्ने र कुटिने दुवै कांग्रेसनिकट (भिडिओ सहित)

    काठमाडौं । नेपाल बार एसोसिएसनको परिसरमा अधिवक्तामाथि कुटपिट भएको छ । अधिवक्ता भूमिनन्द चुडाँलले आफूलाई अर्का अधिवक्ता विराट न्यौपानेले हातपात गरेको बताएका छन् । बहसका लागि सर्वोच्च अदालत पुगेका चुँडालको इजलाश बस्न नसक्दा न्यायालय प्रभावित भएको विषयमा विहीबार सञ्चारमाध्यममा प्रतिक्रिया दिएका थिए ।

     

     

    ‘मिडियामा न्यायालयविरुद्ध किन बोलिस् भन्दै ममाथि हातपात गरियो’, चुडाँलले बार परिसरमा पत्रकारहरूसँग भने । दुवै अधिवक्ता नेपाली कांग्रेसको शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन आबद्ध हुन् ।

    न्यौपाने पूर्वन्यायाधीश नरेन्द्र न्यौपानेका छोरासमेत हुन् । न्यौपाने प्रधानन्यायाधीशको राजीनामाको पक्षमा उभिएका छन् भने चुडाँल न्यायाधीशहरूको बेन्च बहिष्कारको विरुद्धमा छन् ।

     

  • अग्रजका ‘तुच्छ बहसले’ वकिललाई ‘बोकाहा’ कै हैसियतमा पुर्‍याउने युवा कानून व्यवसायीको चिन्ता

    अग्रजका ‘तुच्छ बहसले’ वकिललाई ‘बोकाहा’ कै हैसियतमा पुर्‍याउने युवा कानून व्यवसायीको चिन्ता

    काठमाडौं । युवा कानून व्यवसायीहरूले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा कतिपय वरिष्ठ अधिवक्ताहरुले व्यक्त गरेका शब्दहरू आपत्तिजक र आचारसंहिताविपरीत देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    १० जना अधिवक्ताहरूले सोमबार संयुक्त वक्तव्य जारी गर्दै अदालतमा विचाराधीन विषयलाई लिएर सडक आन्दोलन गर्ने तथा भूतपूर्व प्रधानन्यायाधीशहरूले मुद्दा प्रभावित गर्ने उद्देश्य राखेर वक्तब्यबाजी गर्नु अदालतको निष्पक्षतामाथि प्रश्न उठाउनुसरह रहेको बताएका छन् ।

    राष्ट्रपति र प्रधानमन्त्री काटिनेजस्ता शब्द प्रयोग गरिएकोमा आपत्ति प्रकट भइरहेका बेला उनीहरूले अग्रज अधिवक्ताहरूलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन् ।

    अग्रजहरुले बेञ्चको मर्यादा नाघेर इजलासमा आक्रोशपूर्ण तरिकाले बहस गर्ने, तुच्छ शब्दालीयुक्त गीतलाई आफ्नो विपक्षको चारित्रिक विम्बको रूपमा प्रस्तुत गर्ने र रीतपूर्वक गठित इजलासका न्यायमूर्तिहरुप्रति लान्छना लगाइ न्यायमूर्तिलाई नै भिडाउन जस्ता व्यवहार भइरहेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

    अघिल्ला पुस्ताका अग्रज कानून व्यवसायीहरूको स्मरण गर्दै वक्तव्यमा कानून व्यवसायीलाई ‘बोकाहा’ भनिने स्थानबाट सम्मानजनक प्रतिष्ठान दिलाउने अग्रजको योगदानलाई समेत अवमूल्यन गरिएको उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘तर हाल त्यो मानकलाई ध्वस्त बनाई अमूक दलभित्रको अन्तरकलह र सत्ता प्राप्तिको दलीय लालसाको सारथी बन्ने क्रममा वर्तमानका जल्दाबल्दा कानून व्यवसायीकै अगुवाईमा पुनः बोकाहाकै हैसियतमा पुर्याइने पो हो कि भन्नेमा हामी चिन्तित छौं ।’

    विज्ञप्ति जारी गर्नेमा अधिवक्ताहरू रामशरण घोरसाइने, यज्ञराज थापा, विशाल न्यौपाने, निर्मलकुमार उप्रेति, निरव ज्ञवाली, पुष्कर घिमिरे, लक्ष्मी तामाङ, सुजन पाण्डे, सुजन रिजाल र विश्व भण्डारी छन् ।

  • देउवाको पक्षमा २३६ र ओलीको पक्षमा ११६ जनाको वकालतनामा (सूचीसहित)

    देउवाको पक्षमा २३६ र ओलीको पक्षमा ११६ जनाको वकालतनामा (सूचीसहित)

    काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गरी आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले विघटित प्रतिनिधिसभाका १४६ सांसदसहित दायर गरेको रिटमाथि संवैधानिक इजलासमा बुधबारदेखि निरन्तर सुनुवाइ शुरु भएको छ ।

    इजलासमा बहसका लागि देउवा पक्षका वकिलहरूलाई जम्मा १२ घण्टा समय तोकिएको छ । सो समयभित्र देउवा पक्षका कति कानून व्यवसायीले बहस गर्ने भन्ने उनीहरूले नै तय गर्नु पर्नेछ ।

    देउवाको पक्षबाट बहस गर्न २३६ जनाले वकालतनामा लेखाएका छन् । तर यी सबैले बहस गर्न पाउने देखिँदैन । शुरूको दिन वरिष्ठ अधिवक्ता शम्भु थापा, महादेव यादव, गोविन्द बन्दीलगायतले बहस गरेका छन् ।

    देउवाको पक्षबाट हरिहर दाहाल, मुक्ति प्रधान, रमण श्रेष्ठ, शेरबहादुर केसी, बद्रीबहादुर कार्की लगायतले बहस गर्दैछन् । वकालतनामा लेखाएकामध्ये धेरै कमले मात्र बहस गर्न पाउने देखिन्छ ।

    देउवाको पक्षबाट बहस गर्ने अधिकांश कांग्रेस, माओवादी र एमालेको माधव नेपाल समूहका वकिल छन् ।

    त्यस्तै विपक्षी प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षबाट बहस गर्न ११६जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन् । प्रधानमन्त्रीको पक्षबाट बहस गर्नेमा अधिकांश नेकपा एमालेनिकट वकिल छन् भने केही जसपा निकट र पूर्वराजा पक्षधर पनि छन् ।

    प्रधामन्त्रीको पक्षबाट वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, सुशीलकुमार पन्त, महेश नेपाल, सुरेन्द्र महतो, सुरेन्द्र भण्डारी, अग्नि खरेल लगायतले बहस गर्नेछन् । महान्यायाधिवक्ता रमेश बडाललगायतले सरकारको पक्षबाट जवाफ दिने समेत समय पाउँनेछन् ।

    यसअघि सरकार पक्षलाई समय कम दिइएको गुनासो आएपछि यसपटक रिट निवेदकहरुको तर्फबाट १२ घण्टा र प्रत्यर्थीको तर्फबाट ३ घण्टा जवाफ र बहसका लागि थप १२ घण्टासहित १५ घण्टाको समय सरकार पक्षले पाएको छ ।
    सभामुख अग्नि सापकोटाको तर्फबाट भने ५ जनाले वकालतनामा लेखाएका छन् ।

    वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, श्यामप्रसाद खरेल, लबकुमार मैनाली, मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले सभामुखको पक्षबाट बहस गर्नेछन् ।

  • कार्यपालिकाले न्यायपालिकालाई विघटनतर्फ लैजान चाहेको रिट पक्षका वकिलको आरोप

    कार्यपालिकाले न्यायपालिकालाई विघटनतर्फ लैजान चाहेको रिट पक्षका वकिलको आरोप

    काठमाडौं । संवैधानिक इजलासमा ११ जना न्यायाधीश बस्न नमिल्ने भनी सरकार पक्षका वकिलले पेस गरेको निवेदनले प्रधानन्यायाधीशमाथि नै प्रश्न उठेको भन्दै रिट पक्षका वकिल रमण श्रेष्ठले ध्यानाकर्षण गराएका छन् ।

    बहसमा भाग लिँदै श्रेष्ठले सबै न्यायाधीश खराब छन् भन्ने विषयलाई इजलासमा किन प्रवेश दिइयो भन्दै आपत्ति जनाएका हुन् । उनले प्रधानन्यायाधीशबिनाको इजलास कल्पना नगरिएको बताए ।

    श्रेष्ठले भने, ‘कुरा २ जनाको होइन, ११ जनाले मुद्दा हेर्न मिल्दैन भनेर सरकारी मान्छेले भन्नु गलत हो । आज सरकार पक्षको प्रस्तुति र भाषा सुन्दा विषय अझ बढ्ने संकेत देखिएको छ । हामीले प्रश्न उठाउने हो उठाइसक्यौं, तर स्टेटका मान्छेले न्यायालयको हुर्मत लिने काम गरेका छन् ।’

    विपक्षकै वकिल टीकाराम भट्टराईले कार्यपालिकाले न्यायपालिकालाई विघटनतर्फ लैजान चाहेको आरोप लगाए । भट्टराईले सरकारले अदालती प्रक्रिया र आदेशबारे टिप्पणी गर्न नपाउने जिकिर गरे ।

    भट्टराईले भने, कार्यपालिका जुन ढंगले चलेको छ,न्यायालय र लोकतन्त्रलाई जहाँ लान खोजिएको छ,त्यसको पूर्व संकेत देखिन थालेको छ । तर जस्तोसुकै कठिन परिस्थितिमा पनि कार्यपालिकाका जस्तासुकै धम्कीको सामना गर्न यो अदालत सक्षम छ ।’

  • राजीनामा रोक्न कानून व्यवसायी पनि सक्रिय, तीन वकिल पुगे माधव नेपाल निवासमा

    राजीनामा रोक्न कानून व्यवसायी पनि सक्रिय, तीन वकिल पुगे माधव नेपाल निवासमा

    काठमाडौं । नेकपा एमालेका माधव पक्षीय सांसदको राजीनामा रोक्न नेपाल निकट वकिलहरु समेत सक्रिय भएका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूले आश्वासन दिइसकेको भन्दै नेपालले राजीनामाबाट पछि हट्न आनाकानी गरेपछि वरिष्ठ अधिवक्ता शम्भु थापासहित तीन जना संविधानविद् सक्रिय भएका हुन् ।

    नेपाललाई अर्थमन्त्री विष्णु पौडेलले भेटेर फर्किएलगत्तै वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष शम्भु थापा, बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई र गोविन्द बन्दी नेपाल निवास कोटेश्वर पुगेका छन् ।

    नेपाललाई राजीनामा भन्दा मध्यमार्गी बाटोबाट एमालेभित्रै समाधान खोज्न उनीहरूले सुझाव दिएको स्रोतले जनाएको छ ।

    कानुन व्यवसायीसँग माधव नेपालले आफ्नो समूहका सांसदहरुले राजीनामा दिएपछि हुने सरकार गठनका प्रक्रियाको बारेमा समेत परामर्श गरेका छन् ।

     

  • लकडाउनमा निर्वाध हिँड्डुलको व्यवस्था गर्न कानून व्यवसायीको माग

    लकडाउनमा निर्वाध हिँड्डुलको व्यवस्था गर्न कानून व्यवसायीको माग

    काठमाडौं । नेपाल बार एसोसियसनले लकडाउनको समयमा कानून व्यवसायीहरूलाई आवागमनमा बाधा नहुने व्यवस्था गर्न माग गरेको छ ।

    बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले गृह मन्त्रालयलाई पत्राचार गर्दै कानून व्यवसायीहरूको सेवा पनि अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकोले परिचयपत्र, कालो कोट र बारको लोगोधारी कानून व्यवसायीलाई कुनै अवरोध नगरी आवागमनमा सहयोग पुर्‍याउने व्यवस्थाका लागि मातहतका कार्यालयलाई निर्देशन एवं परिपत्र गरिदिन अनुरोध गरेका हुन् ।

    पत्रमा हरेक अदालती कामकारवाही पूर्ण रुपमा स्थगन हुने अवस्था नरहेको र न्यायिक सेवा लिन चाहने नागरिकलाई सेवा दिन कानून व्यवसायीहरू कार्यक्षेत्रमा उपस्थित हुनुपर्ने भएकोले सहज वातावरण बनाइदिन अनुरोध गरिएको छ ।

  • बलात्कार मुद्दा मिलाइदिने भन्दै पीडकसँग पैसा असुल्ने वकिल पक्राउ

    बलात्कार मुद्दा मिलाइदिने भन्दै पीडकसँग पैसा असुल्ने वकिल पक्राउ

    पोखरा । बलात्कार गरेको आरोपमा पक्राउ परेका एक प्रतिवादीको मुद्दा मिलाइदिने प्रलोभन देखाएर पैसा असुल्ने एक जना वकिल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार ५८ वर्षीय अधिवक्ता लक्ष्मीबहादुर घिमिरेलाई पक्राउ गरेको हो ।

    लमजुङ दोर्दी गाउँपालिका-३ स्थायी घर भएका घिमिरे पुरानो कानुन व्यवसायी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

    घिमिरेले जबर्जस्ती करणी आरोप पक्राउ परेका आरोपीसँग मुद्दा मिलाइदिने भन्दै एक करोड रुपैयाँ माग गरेको पाइएकाले पक्राउ गरिएको डिएसपी हमालले जानकारी दिए ।

    ‘सुरुमा पीडकसँग एक करोड रूपैयाँ माग गरेका रहेछन् । पछि बार्गेनिङ चल्दै जाँदा १५ लाखमा कुरा मिलेको रहेछ,’ डिएसपी हमालले भने, ‘त्योमध्ये एक लाख १० हजार रुपैयाँ क्यास लिइसकेको रैछ । बाँकी १२ लाखको चेक लिँदा लिँदै राष्ट्र बैंक चोकमा प्रतिनिधि समायौं ।’

    प्रहरीले फागुन १९ गते राष्ट्र बैंक चोकबाट बलात्कार मुद्दा मिलाइदिने भन्दै पीडक परिवारसँग चेक बुझिरहेकोबेला २ जनालाई पक्राउ गरेको थियो । त्यतिबेला प्रहरीले उनीहरूबाट उनीहरूबाट कामना सेवा विकास बैंकको ६/६ लाखका दुई वटा चेक, अन्य विभिन्न बैंकका चेक तथा भौचर, विभिन्न कम्पनीका ४ थान मोबाइल फोन बराबद गरेको थियो ।

    ‘उनीहरूको बयानका क्रममा बुझ्दै जाँदा यसको मास्टरमाइन्ड ‘वकिल साप’ पो रहेछन्,’ डिएसपी हमालले भने । पक्राउ परेका घिमिरेलाई ४ दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी हमालले जानकारी दिए ।

    ‘पहिले पक्राउ परेका २ जनालाई ठगी मुद्दामात्रै थियो । तर, अहिले आएको नयाँ अध्यादेश अनुसार बलात्कारजन्य घटनामा मेलमिलाप गर्न नपाइने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बलात्कारका मतियार ठहरिएका छन्,’ उनले भने, ‘घिमिरेलाई त्यही अनुसार कानुनी कारबाही हुन्छ ।’

    पोखराकै एक युवतीलाई पटकपटक बलात्कार गरेको आरोपमा ६ महिनादेखि फरार अभियुक्त करिब २० दिनअघि पक्राउ परेका थिए । पक्राउ परेका ती ५७ वर्षीय पुरुषको मुद्दा मिलाइदिने भन्दै पैसा असुल्ने खोजेको आरोपमा ३ जना पक्राउ परिसकेका छन् ।

    यो पनि पढ्नुहोस्

    बलात्कार मुद्दा मिलाइदिन्छौं भन्दै करोडौं पैसा माग्ने दुई जना पक्राउ