Tag: लुम्बिनीको नयाँ बजेट

  • लुम्बिनीको नयाँ बजेट: चालु खर्च घट्यो, चुनावलक्षित ४० प्रचारमुखी कार्यक्रम

    लुम्बिनीको नयाँ बजेट: चालु खर्च घट्यो, चुनावलक्षित ४० प्रचारमुखी कार्यक्रम

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि परिमार्जनसहित नयाँ बजेट पारित गरेको छ ।

    अघिल्लो शंकर पोखरेल नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्धापन गरी बुधबार कुलप्रसाद केसीको सरकारले नयाँ बजेट ल्याएको हो ।

    लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री कृष्णध्वज खड्काले बुधबार सदनमा ४० अर्ब ९५ करोडको ९७ लाख बजेट प्रस्ताव गरेका थिए । सदनमा अर्थमन्त्रीले पेश गरेको बजेट छलफलसहित पारित भएको हो ।

    बजेटमा चालुतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार र पुँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख ९४ हजार र स्थानीयतह वित्त हस्तान्तरणतर्फ ४ अर्ब ८४ करोड २३ लाख ९६ हजारको बजेट संसदमा पेस गरेका थिए ।

    बजेटमा चालुतर्फको खर्च अघिल्लो सरकारले प्रस्ताव गरेको भन्दा ४% ले कम छ ।

    बजेटपछि मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारको ‘समृिद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारालाई मूर्तरुप दिनका लागि बजेटले अधिकतम् सम्बोधन गरेको बताएका छन् । त्यसका लागि प्रदेश सरकारले जनमुखी काम गर्ने उनले बताएका छन् ।

    नयाँ सरकारले पेश गरेको प्रतिस्थापन बजेटपछि उनले लोकतन्त्रको रक्षाको लागि अविछिन्नरुपमा विधि र प्रक्रियालाई पछ्याउँदै अगाडि बढ्ने बताए । लोकतन्त्रको असली साथी प्रतिपक्ष दलले सदन निरन्तर रोकेर विरोधका नाममा विरोध नगरी विधिलाई पालना गर्न उनको आग्रह थियो ।

    उनले जनतालाई सुशासन र परिवर्तनको अनुभूतिका दिनका लागि सबै जननिर्वाचित प्रदेशसभा सदस्यहरुको उत्तिकै दायित्व भएको बताउँदै सदनलाई सुचारुका गर्नका लागि सबै सकनरात्मक हुन अनुरोध गरे ।

    गठबन्धन सरकारमा एमालेबाहेकका सबै दल सहभागी छन् । यो बजेटलाई प्रमुख विपक्षी दल एमालेले सदनको मर्यादा मिचेर ल्याएको बताएको छ । ‘प्रमुख प्रतिपक्ष दल नै सहभागी छ्रैन, कानुनीरुपमै वैधता छैन, सरकारमा सहभागी दलमा विपक्षी दलका सांसद लगेर राखिएको छ, यस्तो सदनमा पेश गरेका बजेट कसरी वैध हुन्छ ?’ एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रश्न गरे । यद्यपि, सरकारले केही चुनावलक्षित प्रचारमुखी र लोकप्रिय कार्यक्रम ल्याएको छ ।

    लुम्बिनी सरकारले ल्याएका ४० चुनावलक्षित कायक्रम यस्ता छन्–

    १. प्रदेशमा १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने ।
    २. घरदैलोमा डाक्टर कार्यक्रम र प्रदेशभर निःशुल्क रक्तसञ्चार सेवा ।
    ३. जेष्ठ नागरिक र महिला तथा बालबालिका अस्पताल स्थापना गर्ने ।
    ४. क्यान्सर, मर्गौला र मुटुरोगीलाई थप दुई लाख दिने ।
    ५. मुटुरोगको उपचारलाई सर्वसुलभ गराउन लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा क्याथ ल्याब सेवा बिस्तार गर्न १० करोड र एमआरआई एवं सिटी स्क्यानसहितको स्वास्थ्य उपकरणका लागि १३ करोड बजेट ।
    ६. ७० वर्षमाथिका जेष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम ।
    ७. प्रदेशभित्र शैक्षिक गुणस्तर र भौतिक सुधारका लागि मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम ।
    ८. प्युठानमा लुम्बिनी सीप विकास प्रतिष्ठान स्थापना गर्ने ।
    ९. गरिबी निवारणका लागि एक पालिका एक सामुहिक कम्पनी, एक कम्पनी एक सामुहिक उद्यम कार्यक्रम ।
    १०. एक जिल्ला, एक पालिकामा सार्वजनिक सुलभ पसल ।
    ११. कृषि र औद्योगिक कर्जा प्रबाह गर्न तथा लुम्बिनी प्रदेशको सरकारी वित्तीय कारोबार गर्न लुम्बिनी प्रदेश बैंक स्थापना ।
    १२. विद्युतीय बस सेवा संचालन । तत्कालका लागि भैरहवा–बुटवल, नेपालगन्ज–कोहलपुर, भालुबाङ्ग–लमही र घोराही–तुलसीपुर रुटमा संचालन गर्ने ।
    १३. गण्डकी नदी त्रिवेणी–देवघाट र राप्ती नदिको खुङग्री–भालुबाङ्ग र भालुबाङ्ग–अगैया खण्डमा र्याफ्टिङ्ग संचालन गर्ने ।
    १४. लुम्बिनी र स्वर्गद्वारीको माटो, पानी र वस्तु प्रयोग गरी मायाको चिनो उत्पादन गर्ने सोभिनियर उद्योग संचालन गर्ने ।
    १५. प्रदेशका १२ वटै जिल्लामा नयाँ शहर र एकीकृत बस्ती विकास गर्ने ।
    १६. परम्परागत चुल्होको बिस्थापन गरी विद्युत खपत बढाउन सहुलियत दरमा विद्युतीय चुल्हो उपलब्ध गराउने ।
    १७. जलविद्युत्, सौर्यऊर्जा र वैकल्पिक ऊर्जाको प्रदद्र्धन गरी लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेश बनाउने ।
    १८. पूर्व–पश्चिम राजमार्गको सुरइनाका, धानखोला र रिहारमा जलाशय निर्माण गरी त्यसको बहुउपयोग गर्ने ।
    १९. एक हजार बिगाहा जग्गामा पिपिपी मोडेलमा सुगन्धित धान र प्याज उत्पादन गर्न आधुनिक कृषि फर्म संचालन गर्ने ।
    २०. कोभिड महामारीबाट प्रभावित उद्योगी व्यबसायीका लागि प्रदेश करमा छुटको व्यवस्था ।
    २१. महिला, दलित, जनजाति, अल्पसंख्यकलगायत लक्षित समूहका लागि रोजगारमूलक कार्यक्रम ।
    २२. कृषिजन्य उत्पादनको बजार प्रबद्र्धन गर्न भैरहवा, कृष्णनगर र नेपालगन्जमा स्तरीय तरकारी बजार स्थापना गर्ने ।
    २३. लुम्बिनीमा बौद्ध अन्तर्राष्ट्रिय बर्थिङ्ग सेन्टर स्थापना गर्ने ।
    २४. बुटवलमा धागो कारखाना, कपिलवस्तुमा कागज कारखाना र कपास खेती एवं उद्योगको स्थापना ।
    २५. स्वर्गद्वारीमा केवलकार, हिल स्टेसन, थिम पार्क र रुपन्देहीसहित प्रदेशका १२ वटै जिल्लामा हिल स्टेसनहरु निर्माण गर्ने ।
    २६. कपिलबस्तुलाई सांस्कृतिक शहरको रुपमा विकास गर्ने र प्रदेशका विभिन्न स्थानहरुमा सबै जातजातिका धर्म, भाषा, संस्कृति र पहिचान झल्किने सांस्कृतिक ग्रामहरु स्थापना गर्ने ।
    २७. जनयुद्ध र जनआन्दोलनका सहिद तथा बेपत्ता एवं द्वन्द्वपीडित परिवारलाई रोजगार कार्यक्रम ।
    २८. प्रदेश गौरवको आयोजनाको रुपमा प्रदेश राजधानीको व्यवस्थापन ।
    २९. लुम्बिनी विश्वविद्यालय व्यवस्थापान गर्ने ।
    ३०. डिजिटल प्रविधियुक्त ट्रायल सेन्टर र डिजिटल सवारीचालक अनुमतिपत्रको व्यबस्था ।
    ३१. लुम्बिनी प्रदेशका पत्रकारहरुको पत्रकार दुर्घटना बीमा, पत्रकार महासंघ लुम्बिनीको भवन निर्माण र संस्थागत विकास गर्ने ।
    ३२. प्रदेश परियोजना बैंक स्थापना गर्ने ।
    ३३. राजमार्ग र सार्वजनिक स्थानहरुमा सिसिटिभी र फ्री वाइफाईको व्यबस्था गर्ने ।
    ३४. राजस्व वृद्धि गरी आत्मनिर्भर प्रदेश स्थापना गर्न प्राकृतिक श्रोत साधनको उचित पहिचान, परिचालन, राजस्व प्रशासनमा सुधार र करका दायरामा वृद्धि गर्ने ।
    ३५. लुम्बिनी प्रदेशमा पुँजीबजार र बीमाको पहुँच बिस्तार गर्ने ।
    ३६. लुम्बिनी प्रदेशलाई आकर्षक लगानी हबको रुपमा विकास गरी राष्ट्रिय अन्तर्रास्ट्रिय लगानी आकर्षित गर्न लगानी सम्मेलन गर्ने ।
    ३७. तथ्यमा आधारित वैज्ञानिक योजना प्रणालीको विकास गर्न प्रदेश तथ्यांक कार्यालय स्थापना गरी योजना संकलन विश्लेषण गर्ने ।
    ३८. चालु प्रथम आवधिक योजनाको मध्यावधिक समीक्षा तथा मूल्यांकन गरी नयाँ योजना तर्जुमा गर्ने ।
    ३९. बजेट, योजना र सार्वजनिक खर्चलाई प्रभावकारी बनाइ विनियोजन कुशलता, कार्यान्वयन दक्षता र बित्तीय अनुशासन कायम गर्न मध्यमकालीन खर्चलाई विद्युतिय प्रणालीमा विकास गर्नेलगायत ।
    ४०. कला, साहित्यको संरक्षण सम्बद्र्धनमा विकास गर्ने ।