Tag: लालीगुँरास

  • जलवायु परिवर्तनकाे असर: माघमा फुल्यो, चैतमा ओइलायो लालीगुराँस

    जलवायु परिवर्तनकाे असर: माघमा फुल्यो, चैतमा ओइलायो लालीगुराँस

    गलेश्वर । सामान्यतया चैत÷वैशाखमा फुल्नुपर्ने लालीगुराँस यस वर्ष पुसमा कोपिला लागेर माघमा नै फुलेपछि चैतको तेस्रो सातासम्म आइपुग्दा स्थानीय जङ्गलका लालिगुराँस ओइलाएर झर्न लागेको छ ।

    जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिले हिमाली जिल्ला म्याग्दीका लेकाली क्षेत्रहरूमा समयअघि नै लालीगुराँस फुलेको हो । मौसमी परिवर्तनका कारण विगतका वर्षमा चैत/वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघदेखि नै फुलेपछि यहाँका जङ्गल र लेकाली क्षेत्रहरू समयअघि नै राताम्ये भएका थिए ।

    समयअघि फुलेर राताम्यै भएका लालीगुराँस हेर्न, तस्बिर खिच्न, टिकटक बनाउन र रमाउन लेकाली क्षेत्रमा आन्तरिक पर्यटकहरूको भीड लागेको थियो ।पछिल्लो समयमा जलवायु परिवर्तनका कारण वातावरणमा अस्वाभाविक परिवर्तन देखिँदा बाली पाक्ने, जङ्गली फलहरू पाक्ने र गुराँसको फूल फुल्ने समयमा पनि परिवर्तन आएको छ ।

    जिल्लाको उत्तरी क्षेत्र घोडेपानी, शिख, घार, राम्चे, नारच्याङलगायत क्षेत्रमा केही ढिलो गरी फागुनको पहिलो सातादेखि नै लालीगुराँस फुलेको छ भने पश्चिमी क्षेत्रका अधिकांश जङ्गलमा पुसको अन्तिम सातादेखि नै फुल्न सुरु गरेको लालीगुराँस अहिले ओइलाउँदै गएर झर्न थालिसकेको स्थानीयवासीले बताए ।

    मौसम परिवर्तनका कारण यस वर्ष चाँडै गुराँस फुलेपछि फुल्ने समयमा (चैत -वैशाख) ओइलाउन थालेको भकिम्लीका मनबहादुर श्रीषले बताउनुभयो । पश्चिमी क्षेत्रमा लालीगुराँस फुलेर ओइलाउँदै झर्न सुरु गरेपछि हेर्नेहरूको घोडेपानी क्षेत्रमा भीड लाग्न सुरु भएको पर्यटन व्यवसायीहरूले बताए । घोडेपानीका जङ्गलमा ढकमक्क गुराँस फुलेपछि आन्तरिक पर्यटकको भीड लागेको थियो ।

    ढकमक्क फुलेको लालीगुराँस देख्दा सबैको मन लोभ्याउने र आनन्द बनाउने गरेको छ । विश्वमा पाइने लालीगुराँसका ४२ प्रजातिमध्ये म्याग्दीका जङ्गलमा १६ प्रजातिका गुराँस पाइन्छन् भने नेपालमा ३२ प्रजातिका गुराँस पाइने अध्ययन प्रतिवेदनमा उल्लेख छ । फागुनदेखि वैशाखसम्म गुराँस फुल्ने मुख्य याम हो । गुराँस फुल्ने याम सुरु भएसँगै घोडेपानी क्षेत्र रातै भएको देख्न सकिन्छ । गुराँस फुल्न सुरु भएसँगै आन्तरिक पर्यटकको आगमन पनि बढेको स्थानीय होटल व्यवसायीहरूले बताए ।

    प्राकृतिक सुन्दरतासँगै ढकमक्क फुलेका विभिन्न प्रजातिका गुराँसले मनलाई आनन्दित बनाउनाका साथै शरिरमा शुद्ध अक्सिजनको माग केही क्षणका लागि भए पनि पूरा गर्न पाएकामा खुसी लागेको काठमाडौँबाट पारिवारिक भ्रमणका लागि घोडेपानी आउनुभएका वरिष्ठ कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले बताए ।

    उता पश्चिमी म्याग्दीको भकिम्ली, वरञ्जा, अर्मनलगायत रघुगङ्गा क्षेत्रका पाखापानी, कोटगाउँ, दग्नाम, दर्मिजा क्षेत्रमा भने लालीगुराँस फुलेर ओइलाएको छ । विगतका वर्षहरूमा भन्दा यस वर्ष छिटो फुलेको लालीगुराँसको प्राकृतिक रङ्गमा समेत परिवर्तन देखिएको रघुगङ्गा गाउँपालिका–४ दग्नामका वडाध्यक्ष रुकबहादुर गर्बुजाले बताए । रासस

  • जलवायु परिवर्तनको असरः पुसमै फुल्यो लालीगुराँस

    जलवायु परिवर्तनको असरः पुसमै फुल्यो लालीगुराँस

    गलेश्वर । चैत वैशाखमा फुल्ने लालीगुराँस पुसदेखि नै फुलेर म्याग्दीका ग्रामीण जङ्गल रातै देखिन थालेका छन् । त्यस्तै काफल, ऐसेलुजस्ता जङ्गली फल पनि बेमौसममा नै फल्न सुरु भएको छ ।

    फागुनको मध्यतिरबाट कोपिला लाग्न सुरु हुने लालीगुराँस पुसमा नै फुल्नु र जङ्गली फलहरुको मौसमीचक्र परिवर्तन हुन थालेपछि विश्वमा बढ्दै गएको तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण यस्तो भएको वातावरणविद्को भनाइ छ ।

    सधैँजसो फागुन महिनाको तेस्रो सातातिरै फुल्ने लालीगुराँस यसवर्ष पुस दोस्रो सातादेखि नै पश्चिम र उत्तरी म्याग्दीका जङ्गलमा फुलेको स्थानीयवासी बताउँछन् । लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ । ‘लालीगुराँस फूल फागुन–चैत महिनामा फूल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ’, ज्यामरुककोटका ६८ वर्षीय रामबहादुर खत्रीले भने। लालीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमासमेत यसको प्रभाव देखिएको बेनी नगरपालिका–५ का प्रेम शाहीले बताए।

    ‘अहिले पुसमा काफल पाकेको र गुराँस फुलेको पाइएको छ’, वातावरणविद् सुरज सापकोटाले भने, ‘पुसमा गुराँस फुल्नु र बेमौसमी फलफल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो ।’ विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् । उहाँका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामासमेत धेरै परिवर्तन देखिएका छन् । त्यसैगरी गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भू–भागमा पनि पाइन थालेका छन् ।

    समयको अन्तरालमा पृथ्वीको वायुमण्डल, हावाको गति र मौसममा भएको परिवर्तनका कारण पृथ्वी तथा यसको कुनै भागको औसत मौसममा आएको परिवर्तनलाई नै जलवायु परिवर्तन भनिन्छ । जलवायु परिवर्तनका कारण मौसममा फेरबदल हुने, वर्षा समयमा र नियमित नहुने, मौसमी फलफूल तथा तरकारीमा फेरबदल हुने, हिमगलन, अतिवृष्टि, अनावृष्टि, हुरीबतास हुनेजस्ता असर देखा पर्छन् । जलवायु परिवर्तनकै कारण महत्वपूर्ण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन् ।

    यसरी कहिले अत्यधिक वर्षा भई धनजनको विनाश हुने त कहिले पानी नै नपरी खेतीबाली तथा वन जङ्गलनै सुक्ने अवस्था आइरहेको छ । जलवायु परिवर्तनकै कारण नयाँ–नयाँ रोग देखिएका छन् । जुन विश्वकै लागि एक प्रमुख चुनौतीको विषय हो । यसको असर बढ्दै जाँदा नेपालको हिमाली क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी यार्सागुम्बालगायत वनस्पति पनि लोप हुने खतरा छ ।

    पृथ्वीमा वायुमण्डलको तापक्रम, हावाको बहाव र वर्षातमा हुने घटबढका कारण पृथ्वीको कुनै भागमा मौसममा हुने महत्वपूर्ण परिवर्तन नै जलवायु परिवर्तन हो । पृथ्वीको वायुमण्डलमा खासगरी नाइट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइड जस्ता ग्यासमा घटबढ भएमा खासगरी जलवायु परिवर्तन हुने गरेको मौसमविज्ञ बताउँछन् ।

    हाल पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साईड, नाइट्रोजन, मिथेनजस्ता ग्यासको मात्रा दिनप्रतिदिन बढ्दै गइरहेकाले वायुमण्डलमा असन्तुलन भई हतिरगृह ग्यास बढेर जलवायु परिवर्तन हुने गर्छ । जलवायु परिवर्तनका कारण मानव स्वास्थ्यमासमेत गम्भीर असर देखिन थालेका चिकित्सक तथा वातावरण विज्ञहरुले बताएका छन् ।

  • फुलेन लालीगुराँस, फलेनन् चुत्रो र ऐँसेलु

    फुलेन लालीगुराँस, फलेनन् चुत्रो र ऐँसेलु

    रासस । जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष हिमाली जिल्ला म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा प्राकृतिक फूल र फल फुल्न तथा फल्न नपाएपछि वसन्त ऋतुको आभाष हुन सकेको छैन । यी क्षेत्रका जङ्गलमा न लालीगुराँस फुलेको छ न चुत्रो, ऐँसेलुजस्ता यस याममा फल्ने वनफल नै फलेका छन् ।

    यतिबेला म्याग्दीका विभिन्न क्षेत्रमा लालीगुराँस फुलेर रमणीयस्थल बन्ने समय हो तर यस वर्ष लालीगुराँस फुल्ने मौसम शुरु भए पनि नफुल्दा न प्रकृति सुन्दर देखिएको छ, न त पर्यटकको चहलपहल नै शुरु भएको छ । जिल्लाका ज्यामरुककोट, भकिम्ली, रत्नेचौर, अर्मन, बरङ्जालगायतका क्षेत्रमा रहेका जङ्गलमा फुलेका गुराँससँग रमाउन र फोटो खिचाउन जाने आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल बढ्ने गर्दथ्यो ।

    फागुन र चैत महिनामा गुराँस फुल्ने समयमा पनि नफुल्दा चहलपहल नभएको हो । धार्मिक तथा पर्यटकीय महत्वसँग जोडिएको ज्यामरुककोट र भकिम्लीको स्वर्गाश्रम क्षेत्रमा यतिबेला लालीगुराँस फुलेर राताम्मै हुने गर्दथ्यो । यी क्षेत्रमा ठूला र सुक्न लागेका लालीगुराँसका बोट भएकाले पनि फुल्न छाडेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

    भएका बोटहरु सुक्दै जानु र नयाँ बोटबारे चासो नदिनुले पनि लालीगुराँसमा संरक्षणको अभाव खट्किएको ज्यामरुककोटका नारायण्ण शर्माले बताउनुभयो । यो समयमा लालीगुराँस फुलेर राताम्मे बन्ने भकिम्लीको स्वर्गाश्रम क्षेत्र पनि उराठ लाग्दो देखिएको स्वर्गाश्रम विकास समितिका सदस्य रामबहादुर पुनले बताउनुभयो । यस वर्ष हिउँदमा पानी नपरेकाले लालीगुराँस कम फुलेको उहाँको भनाइ छ । यस वर्ष फुलेका लालीगुराँस पनि साना कोपिला रहेको उहाँको कथन छ ।

    भौगोलिक उचाइगत विविधताले ठूलो घना जङ्गल रहेको यस क्षेत्रमा ऐँसेलु, चुत्रो, डिम्मर, मजिठो, सतुवा, नागबेलीसहित ६२ प्रजातिका जडीबुटी रहेको वन डिभिजन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी यस वर्ष यही मौसममा फल्ने वनफल पनि फलेका छैनन् । ऐँसेलु, काफल, चुत्रोलगायतका वनफलहरु नफलेको स्थानीयवासीले बताएका छन् । पछिल्लो समय जलवायु परिवर्तनको प्रभावले पनि लालीगुराँसलगायतका अन्य क्षेत्रमा प्रभाव परेको हो ।