Tag: रुपा सुनार

  • शिक्षामन्त्रीविरुद्ध रुपा सुनारको रिटमा दुवै पक्ष झिकाउन अदालतको आदेश

    शिक्षामन्त्रीविरुद्ध रुपा सुनारको रिटमा दुवै पक्ष झिकाउन अदालतको आदेश

    काठमाडौं । आफूमाथि जातीय भेदभावविरुद्ध सञ्चारकर्मी रूपा सुनारले दायर गरेको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई अदालतमा छलफलको लागि बोलाएको छ ।

    कोठा भाडा प्रकरणमा चर्चामा आएकी सञ्चारकर्मी रूपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

    सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले असार २९ गते सो घटनाबारे भइरहेका अनुसन्धान प्रक्रियासम्बन्धी प्रमाणसहित उपस्थित हुन आदेश दिएको हो ।

    दलित भएका कारण काठमाडौं बबरमहलकी सरस्वती प्रधानले डेरा भाडामा नदिएपछि उनले कानूनी कारवाहीको माग गर्दै जिल्ला प्रशासन र प्रहरीमा जाहेरी दिएपछि प्रधानलाई प्रहरीले हिरासतमा लिएको थियो ।

    उनलाई हाजिरी जमानीमा छाडिएपछि शिक्षामन्त्री श्रेष्ठले आफ्नो गाडीमा राखेर घर पुर्‍याएका थिए । जातीय भेदभाव तथा छुवाछुतजस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरी अभियुक्तलाई पदीय ओहोदा र सरकारी पद तथा स्रोत समेको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगेर जिम्मा लिएको भन्दै सुनारले अदालत गुहारेकी थिइन् ।

    उनले उच्च पदस्थ व्यक्तिहरूमार्फत मुद्दाको अनुसन्धानमा बाधा गर्न सक्ने भएकाले घरबेटी सरस्वती प्रधानलाईसमेत तत्काल पक्राउ गर्न अन्तरिम आदेश माग गरेकी थिइन् ।

  • रुपा सुनार सर्वोच्चमा- शिक्षामन्त्रीलाई बर्खास्ती र सरस्वतीलाई तत्काल पक्राउ गर्न अन्तरिम आदेश माग

    रुपा सुनार सर्वोच्चमा- शिक्षामन्त्रीलाई बर्खास्ती र सरस्वतीलाई तत्काल पक्राउ गर्न अन्तरिम आदेश माग

    काठमाडौं । कोठा भाडा प्रकरणमा चर्चामा आएकी सञ्चारकर्मी रूपा सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

    दलित भएका कारण काठमाडौं बबरमहलकी सरस्वती प्रधानले डेरा भाडामा नदिएपछि उनले कानूनी कारवाहीको माग गर्दै जिल्ला प्रशासन र प्रहरीमा जाहेरी दिएपछि प्रधानलाई प्रहरीले हिरासतमा लिएको थियो ।

    उनलाई हाजिरी जमानीमा छाडिएपछि शिक्षामन्त्री श्रेष्ठले आफ्नो गाडीमा राखेर घर पुर्‍याएका थिए । जातीय भेदभाव तथा छुवाछुतजस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरी अभियुक्तलाई पदीय ओहोदा र सरकारी पद तथा स्रोत समेको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगेर जिम्मा लिएको सुनारको रिटमा उल्लेख छ ।

    उनले संवैधानिक अनधिकृत कार्य गर्ने शिक्षामन्त्री श्रेष्ठलाई तत्काल पदबाट हटाई जातीय छुवाछुत तथा अन्य सामािजक भेदभाव ऐन बामेजिम अनुसन्धान तथा कारवाहीको माग गरेकी छन् ।

    त्यस्तै सरकारी वकिलको कार्यालयलाई समेत विपक्षी बनाएकी छन् । सुनारको रिटमा मुद्दाको प्रमाणहरु नष्ट गर्न सक्ने र उच्च पदस्थ व्यक्तिहरूमार्फत मुद्दाको अनुसन्धानमा बाधा गर्न सक्ने भएकाले घरबेटी सरस्वती प्रधानलाईसमेत तत्काल पक्राउ गर्न अन्तरिम आदेश माग गरेकी छन् ।

  • घरबेटीलाई लिफ्ट दिएको विषयमा प्रधानमन्त्रीद्वारा शिक्षामन्त्रीको ध्यानाकर्षण (भिडियो)

    घरबेटीलाई लिफ्ट दिएको विषयमा प्रधानमन्त्रीद्वारा शिक्षामन्त्रीको ध्यानाकर्षण (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिरासतमा रहेकी घरबेटीलाई छुटाउन पुगेको विषयमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको ध्यानाकर्षण गराएका छन् । आवेशमा आएर यस्तो काम नगर्न प्रधानमन्त्रीले सचेत गराएको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी गराए ।

    आज एक पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले शिक्षामन्त्री श्रेष्ठको कामलाई ‘दुर्भाग्यपूर्ण’ समेत बताए ।

    उनले भने, ‘गाडीमा चढाएर लैजानु दुर्भाग्यपूर्ण हो । राम्रो काम होइन । हाम्रो सम्माननीय प्रधानमन्त्रीले हिजो मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । मन्त्रीज्यू आवेशमा आएर यस्तो काम नगर्नुहोस् है, यो ठीक भएन भन्नुभएको छ । यसमा प्रधानमन्त्री स्वयम्को पनि ध्यानाकर्षण भएको छ ।’

    एक दलित युवतीलाई कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो । ३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा लिफ्ट दिएका थिए । यो विषयको सर्वत्र आलोचना हुँदै आएको छ ।

  • प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- जातीय विभेदमा राज्य कहाँ उभिने ?

    प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- जातीय विभेदमा राज्य कहाँ उभिने ?

    काठमाडौं । नेपाली कांग्रेसले जातीय विभेद गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी घरधनीलाई छुटाउन शिक्षामन्त्री नै सहभागी भएको घटनाले राज्यकै भूमिकामाथि गम्भीर प्रश्न उब्जाएको भन्दै आपत्ति जनाएको छ ।

    एक विज्ञप्ति जारी गर्दै कांग्रेसले रुपा सुनार र सरस्वती प्रधानबीचको जातीय विभेद प्रकरणमा सरकारकै मन्त्रीको भूमिकाले एक पक्षधरताको प्रष्ट सन्देश दिन खोज्नु कानूनी र नैतिक कोणबाट प्रश्न उब्जिएको उल्लेख गरेको छ ।

    ‘राज्यको भूमिका जिम्मेवार बनाउन सकिन्न भने हिजो गाइएका समानताका गीत र आज संविधानमा लेखिएका न्यायका अक्षरको मूल्य के बाँकी रहन्छ प्रधानमन्त्रीज्यू ? प्रश्न रुपा सुनार र सरस्वती प्रधानबीचको संवाद र विवादको मात्रै होइन, प्रश्न यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्ने हो’, प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी कस्तो समाज, कस्तो संस्कार र कस्तो न्याय प्रणाली स्थापित गर्न चाहन्छौं भन्ने प्रश्न हो । सस्तो राजनीति चाहन्छौं कि जिम्मेवार ढंगले विषयको उठान र निदान गर्ने राज्य व्यवस्था चाहन्छौं भन्ने पनि हो ।’

  • सरस्वती र रुपाको फोन कल : के भनेकी थिइन् सरस्वतीले ? (अडियोसहित)

    सरस्वती र रुपाको फोन कल : के भनेकी थिइन् सरस्वतीले ? (अडियोसहित)

    काठमाडौं । दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधान छुटिसकेपछि यो विषयले उत्पन्न गरेको बहस थामिएको छैन । सरस्वती विरुद्ध प्रमाण नपुगेको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नमिल्ने बताएको छ ।

    रुपा सुनारले आफूमाथि भएको जातीय विभेदको मुख्य प्रमाणका रुपमा एउटा अडियो रेकर्ड प्रहरीमा पेश गरेकी थिइन् । कोठा नपाउने भएपछि सरस्वतीलाई फोन गरेकी रुपाले मोबाइलमा सो कुराकानीको अडियो रेकर्ड गरेकी थिइन् । सो अडियो अहिले सामाजिक सञ्जालबाट बाहिरएको छ ।

    अडियोमा सुनिएको संवाद यस्तो छः

    सरस्वती : बोल्दैछु नानी

    रुपा : ए, अँ दिदी के भयो ? म दिउसो आको थेँ नि ।

    सरस्वती : अँ अँ अँ । कोठाको लागि ?

    रुपा : हजुर हजुर अँ ।

    सरस्वती : कोठाको लागि अब यसो भयो नि नानी । हजुरमा छ, त्यही भएर नमिल्ने भयो के नानी । है, नरिसाउ ल ?

    रुपा : ए, के रे दिदी ?

    सरस्वती : हजुरआमा छ । त्यही भएर अब उ गर्छ के मा’ ले ।

    रुपा : ए, हजुरआमा हुँदाखेरी चैं हाम्रो जातको मान्छे बस्न नमिल्ने ?

    सरस्वती : अँ अँ । हामीलाई त केही छैन । उहाँलाई चैं मिल्दैन । है, नरिसाउ ल नानी ।

    रुपा : हुन्छ दिदी हुन्छ । हेहेहेहे…

    सरस्वती : अर्को छ भने साथीभाइ सोधिदेउ । है ।

    रुपा : हुन्छ दिदी हुन्छ ।

    सरस्वती : आउन । कहिलेकाहीँ यसो आउन है ।

    रुपा : हुन्छ दिदी हुन्छ ।

    सरस्वती : ल ।

  • पक्राउ परेकी घरबेटीलाई ३ दिन हिरासतमै राखेर अनुसन्धान गरिने

    पक्राउ परेकी घरबेटीलाई ३ दिन हिरासतमै राखेर अनुसन्धान गरिने

    काठमाडौं । सञ्चारकर्मी रुपा सुनारको उजुरीका आधारमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानले ३ दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको छ । दलित भनेर रुपालाई कोठा भाडामा नदिएको आरोपमा प्रहरीले आज उनलाई पक्राउ गरेको थियो ।

    महानगरीय प्रहरी परिसर टेकुका अनुसार सरस्वतीलाई ३ दिनको म्याद लिएर आइतबार पक्राउ गरिएको हो । परीसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले नेपाल प्रेसलाई भने, ‘जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर पक्राउ गरिएको छ । अब ३ दिन हिरासतमै राखेर अनुसन्धान गरिन्छ ।’

    अनुसन्धानबाट आरोप प्रमाणित भएमा आवश्यक कारवाही प्रक्रियाका लागि प्रहरीले अदालतमा मुद्धा पेश गर्ने उनले बताए । तर, ३ दिनको अनुसन्धानबाट मुद्धा किनारा नलागे म्याद थपिन पनि सक्ने उनको भनाइ छ ।

    बस्नेतले भने, ‘तीन दिनअगाडी नै किनारा लाग्यो भने यो विचमा पनि मुद्धा अदालतमा पेश हुन सक्छ । यदि ३ दिनमा टुंगो लागेन भने म्याद थप गर्नुपर्ने हुनसक्छ ।’

    रुपाले असार १ गते बवरमहलमा घर भएकी घरधनी सरस्वती प्रधानले सबै कुरा मिलेपछि दलित भन्ने थाहा पाएर कोठा भाडामा नदिएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन् ।

    आफुमाथी जातीय विभेद भएको उनको गुनासो छ । जाहेरी परेको ३ दिनपछि प्रहरीले प्रधानलाई पक्राउ गरेर नियन्त्रणमा लिएको हो ।

  • दलित भनेर कोठा नदिने घरबेटीविरुद्ध रुपाको जाहेरी

    दलित भनेर कोठा नदिने घरबेटीविरुद्ध रुपाको जाहेरी

    काठमाडौं । तल्लो जात भनेर कोठा भाडा नदिएको आरोप लागेका घरबेटीविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता भएको छ । विहीबार केही पत्रकारसहित पुगेकी पीडित रुपा सुनारले जाहेरी दर्ता गरेकी हुन् ।

    काठमाडौं महानगरपालिका-११ बबरमहलका ५८ वर्षिया सरस्वती प्रधानविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी दिइएको हो ।

    रुपाका अनुसार घरबेटी प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेकी थिइन् । दलित समुदायको भन्ने थाहा पाएपछि भने भाडा दिन इन्कार गरेको रुपाले जाहेरीमा उल्लेख गरेकी छन् ।

    रुपाका अनुसार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा १२ बजे नै जाहेरी दर्ता गर्न गए पनि प्रहरीले प्रमाण नपुगेको भन्दै दर्ता गर्न मानेको थिएन । करिब ५ घण्टासम्मको दबाबपछि प्रहरीमा जाहेरी दर्ता गरेको रुपाले फेसबुकमार्फत बताएकी छन् ।

    उनले लेखेकी छन्,‘१२ बजेदेखिको निरन्तर दवावले ४ बजेर ५० मिनेटमा बल्ल प्रहरीमा जाहेरी दर्ता गर्न सफल भइयो । साथ दिनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद । लडाइँ अझै बाँकी छ ।’

  • ‘सबै कुरा मिलेपछि घरबेटीले जात सोधे, अनि….’

    ‘सबै कुरा मिलेपछि घरबेटीले जात सोधे, अनि….’

    काठमाडौं । सञ्चारकर्मी रुपा सुनारले मंगलबार फेसबुकमा एउटा भिडियो पोस्ट गरिन् । भिडियोमा उनले आफू कोठा खोज्ने क्रममा दलित भएकै कारण घरबेटीले अस्वीकार गरेको अनुभव सेयर गरेकी छिन् ।

    ‘काठमाडौंको बबरमहलस्थित प्रधान थरका घरबेटीको घरमा कोठा खाली थियो । उहाँले सुरुमा हुन्छ, मिलेर बस्नुपर्छ भनेर भन्नुभएको थियो । अन्तिममा जातको कुरा आएपछि उहाँले म दलित भएकै कारण कोठा दिन अस्वीकार गर्नुभयो,’ सुनारले नेपाल प्रससँग भनिन् ।

    रुपालाई कोठा चाहिएको थियो । उनलाई साथीले भनिन्, ‘बबरमहलमा एउटा घरमा कोठा खाली छ । घरबेटी कोही बस्ने छ भने लिएर आऊ भनेका छन् । जाऔं ।’

    उनी साथीहरूसँग कोठा खाली भएको घरमा बुझ्न गइन् । उनलाई कोठा मनपर्‍यो । महिला घरबेटीले भनिन्, ‘राम्रोसँग बस्नुपर्छ, अबेला आउने, हल्लाखल्ला गर्ने मान्छे धेरै ल्याउने कामचाहिँ गर्न पाइन्न ।’

    ‘मैले हामी पढ्ने र काम गर्ने मान्छे त्यस्तो हल्लाखल्ला हुँदैन । राम्रैसँग बस्ने हो भन्यौं । उहाँले ठीक छ आफ्नै छोरीहरू जस्तो मान्छे, एउटै घरको मान्छे जस्तो भएर बस्नुपर्छ । भाडामा बस्नेलाई पनि हामीले हेप्नुहुँदैन । भाडामा बस्नेले पनि अरुको घरजस्तो गरी बस्नुहुँदैन भन्नुभयो,’ उनले सुनाइन्, ‘मलाई कोठा मन पर्यो, ममीलाई पनि कोठा हेर्न ल्याउँछु भनेँ ।’

    रुपाका अनुसार त्यसपछि घरबेटीले उनलाई जात सोधे । उनले आफू दलित भएको बताइन् । जात सुन्नेबित्तिकै ती घरबेटी मौन बसेको उनी बताउँछिन् ।

    ‘मेरो साथीरू पनि के गर्ने गर्ने भएर नबोली बसे । उहाँले पछि अन्कनाएर खबर गर्छु है भन्नुभयो र नम्बर माग्नुभयो,’ रुपाले भनिन्, ‘मलाई त्यतिबेलै नराम्रो लागिसकेको थियो । तर सबै साथीहरूको अगाडि केही पनि फरक परेको छैन जस्तो गरेँ ।’

    त्यहाँबाट खिन्न भएर फर्किएपछि उनको साथीलाई ती घरबेटीले कल गरे ।

    ‘तपाईंले यस्तो मान्छे ल्याउनुभएछ । हामी अर्को जातको मान्छे राख्दैनौं । हाम्रो देउता छ, पूजा गर्नुपर्छ, समस्या हुन्छ,’ घरबेटीले भने ।

    पछि आफैंले फोन गर्दा पनि उही जवाफ पाएको रुपाले बताइन् । ‘यदि म दलित नभएको भए बस्न पाउँथे । म दोस्रो दर्जाकी भएँ, म बोल्न सक्ने हुँदाहुँदै पनि यस्तो विभेद खेप्नुपरेको छ । बोल्न नसक्नेले कति विभेद खेप्नुपर्छ होला,’ उनको दुखेसो छ ।

    प्रहरीमा उजुरी गर्दै

    मंगलबारको घटनविरुद्ध आफू कानुनी बाटोमा जाने उनले बताइन् । ‘हिजो दिउँसोको घटनाविरुद्ध आज प्रहरीमा उजुरी दिने तयारी गरेको छु । म डराउने, विभेद सहने र चुप लाग्नेहरूमा पर्दिनँ,’ उनले लेखेकी छन् ।

    ‘मुलुकी फौजदारी सहिंता २०७४’ को दफा १६६ मा जातपातको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने स्पष्ट छ । उपदफा २ भनिएको छ,’ उपदफा १ बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुनेछ र राष्ट्रसेवकले यस दफामा लेखिएको कसुर गरेका थप ती महिनासम्म कैद सजाय हुनेछ ।’