Tag: राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम

  • विपक्षी गठबन्धनका शीर्ष नेताले सम्पादकहरुसँग छलफल गर्दै

    विपक्षी गठबन्धनका शीर्ष नेताले सम्पादकहरुसँग छलफल गर्दै

    काठमाडौं । सरकारविरुद्ध सडक आन्दोलनमा समेत जाने निर्णय गरेको विपक्षी गठबन्धनले आज सञ्चारकर्मीहरुसँग पछिल्लो कदमको बारेमा अन्तरक्रिया गर्ने भएको छ ।

    अपरान्ह संसद भवनमा सम्पादकहरुसँग छलफल कार्यक्रम राखिएको नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार विपक्षी गठबन्धनका शीर्ष नेताहरु शेरवहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादव, माधवकुमार नेपाल र दुर्गा पौडेलले अन्तरक्रिया आयोजना गरेका हुन् ।

    सम्पादकहरुसँगको अन्तरक्रियापछि आजै राजनीतिक बिटमा काम गर्ने पत्रकारहरुसँग पनि अलग्गै छलफलको आयोजना गरिएको छ । विपक्षी गठबन्धनले बुद्धिजिवी र नागरिक समाजसँग पनि छलफल गर्ने भएको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्ध देउवाकै नेतृत्वमा विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

  • २० प्रतिशत युवालाई नीतिगत तहमा समेटिने छ : दाहाल

    २० प्रतिशत युवालाई नीतिगत तहमा समेटिने छ : दाहाल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताएका छन् ।

    एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिद्वारा आज आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’को भर्चुअल उद्घाटन समारोहका क्रममा अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताका बीचमा पुर्‍याउन शिक्षकलाई आग्रह गरे ।

    ‘नेपाली मौलिकताको जनवादी क्रान्तिको कोर्स पूरा भए पनि साम्राज्यवादविरुद्धको लडाइँ बाँकी नै छ’, उनले भने, ‘समाजवादी क्रान्तिबाट सामन्तवादका अवशेष समाप्त पार्न कम्युनिष्ट एकता र आन्दोलनबाट मात्र सम्भव छ ।’

    उनले चुनाव घोषणा गरिसकेको सरकारले संविधान प्रतिकूल मन्त्रिपरिषद् पुनः गठन गरेको जिकिर पनि गरे । उनले यतिबेला कोरोना महामारीविरुद्ध सबै एकताबद्ध भएर जुध्न पनि अनुरोध गरे ।

    सो अवसरमा सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले सरकार र राजनीतिक दलले शिक्षकका माग बेवास्ता गरेको आरोप लगाए । अध्यक्ष अधिकारीले भने, ‘सेना, प्रहरी र निजामती कर्मचारीलाई विभिन्न सेवा दिँदै गर्दा यो मुलुकभित्रकै श्रमजीवी शिक्षकलाई विभेद किन ?’

    कार्यक्रममा सातै प्रदेशका अध्यक्षले सङ्गठनको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो भर्चुअल ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’मा करीब एक हजार शिक्षकको सहभागिता रहेको सङ्गठनका केन्द्रीय महासचिव निमबहादुर केसीले जानकारी दिए ।