Tag: राजीव गुरुङ

  • मन्त्री मनाङेको सम्पत्ति संसदमै खोजियो

    मन्त्री मनाङेको सम्पत्ति संसदमै खोजियो

    पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) को सम्पत्ति विवरण नबुझाएको विषय संसदसम्म पुगेको छ । प्रदेश सभाको शून्य समयमा बोल्ने सांसदले मन्त्री मनाङेको सम्पत्तिका बारेमा चासो व्यक्त गरेका हुन् ।

    करिव २ महिना पछि सुरु भएको गण्डकी प्रदेशसभामा बोल्दै नेकपा एमालेका सांसद कृष्णबहादुर थापाले सम्पत्ति विवरण नबुझाउनुको कारणबारे मन्त्री गुरुङले सभामुख मार्फत संसदमा जानकारी गराउन माग गरे ।

    शून्य समयमा बोल्दै उनले भने, ‘राजकीय पदमा जाने कोहीले पनि दुई महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ, हाम्रो गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्रीज्यूले २०७८ भदौ २७ मा मिडियामा जनाइएअनुसार नबुझाएको र युवालाई लगानी गरेकाले पैसा आउन बाँकी रहेको भन्नुभएकाले यसको वास्तविकता सभामुखमार्फत संसदलाई जानकारी गराइदिनु हुन आग्रह गर्दछु ।’

    आइतबार युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री मनाङेले आफु सँग के छ के छैन भन्नेमा आफै कन्फ्युज रहेको बताएका थिए । भने सम्पत्ति पनि साथीभाइहरुले लगेर फिर्ता नदिएको जनाएका थिए ।

  • मैले भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व गर्नु जरुरी देखियो : दीपक मनाङे

    मैले भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व गर्नु जरुरी देखियो : दीपक मनाङे

    दीपक मनाङेले जोगाइदिएको गण्डकीको प्रदेशसभा र उनकै भरमा टिकेको विपक्षी गठबन्धनको सरकारको भविष्य अझै पनि ढुक्क हुने अवस्थामा छैन । जसपाले कांग्रेसबाट धोखा हुन लागेको बताइरहेका बेला दीपक मनाङे भने शेरबहादुर देउवा, प्रचण्ड र बाबुराम भट्टराईलाई भेटेर राजनीतिक छलफल गर्न थालेका छन् ।

    पछिल्लो पटक प्रचण्डसँग वृहत् राजनीतिक छलफल भएको भन्दै फोटो सार्वजनिक गरेका मनाङेले आन्तरिक मामिला तथा कानून मन्त्रालय मागेको चर्चा चले पनि उनले अब भौतिक पूर्वाधार मन्त्रालयमा आँखा लगाएका छन् ।

    प्रदेशको राजनीतिमा कांग्रेस र माओवादीसँग सहकार्य गरेका उनी मनाङको राजनीतिमा भने एमालेको साथ छाड्न नसक्ने बताउँछन् । एमालेसँग मिलेर आफूले चुनाव जितेको भन्दै मनाङेले नेपाल प्रेससँग भने- यो कुरा चाहिँ अलि हाइलाइट गर्दिनुस् है, मनाङमा एमालेसँग मिलेर चुनाव लड्न पाइन भने म राजनीति नै गर्दिनँ ।

    आफू नैतिकताको राजनीति गर्ने व्यक्ति भएको भन्ने मनाङेसँग प्रचण्डसँगको भेटपछि टेलिफोनमा गरिएको कुराकानी प्रस्तुत छ नेपाल टकमा:

    तपाईंले प्रचण्डसँग भेट गरेको फोटो सार्वजनिक भएपछि धेरै प्रतिक्रिया आएका छन्, प्रचण्डसँगको भेटघाट कुन विषयमा केन्द्रित हो ?

    हाम्रो गण्डकीमा राम्रोसँग मिलेर काम गर्ने भन्ने हो । त्यसैको छलफल गर्नका लािग उहाँसँग भेटेको हो । प्रचण्डको केहि कुरा मनपर्छ मलाई, त्यसैले पनि भेटेको हो । जनजाती, दलित, मधेसीका विषयमा माओवादीको ठूलो योगदान छ । त्यो कुरा कसैले अस्वीकार गर्न मिल्दैन । माओवादीको विचारबाट मिलेर अघि बढेको हो नि । त्यसैले मैले भेटेको हो ।

    गण्डकीमा पुलिस एकदम ठीक छ क्या अहिले ! काठमाडौंमा जस्तो होइन क्या ! यहाँको जीवन श्रेष्ठ ठीक मान्छे रहेछ । पैसा- सैसा पनि उठाउँदैन यहाँको पुलिसले ।

    जसपालाई अर्थ मन्त्रालय दिने कुरा आएको छ । तपाईंको मन्त्रालय कुन हो अब ?

    अहिले चाहिँ सरकार नढाली नहुने भएकाले मैले आफ्नो भूमिका निर्वाह गरेको हो । मैले मन्त्रीका लागि केही पनि कुरा गरेको छैन र म गर्ने मान्छे पनि होइन । पदका पछि लाग्ने पनि मेरो बानी छैन । जहाँ खाली छ त्यहाँ दिइ नै हाल्छन् । संसद बचाउन मैले यस्तो गरेको हो ।

    तपाईंले त गृह मन्त्रालय मागेको भन्ने पनि थियो नि ?

    पहिले त्यसो सोचेको हो तर गण्डकीमा पुलिस एकदम ठीक छ क्या अहिले ! काठमाडौंमा जस्तो होइन क्या ! यहाँको जीवन श्रेष्ठ ठीक मान्छे रहेछ । पैसा-सैसा पनि उठाउँदैन यहाँको पुलिसले । त्यसो भएपछि गृह मन्त्रालयभन्दा पनि मनाङमा बाढी पहिरो गएको विषयले ध्यानाकर्षण पनि गराएको हो । मैले चाहिँ अब अलि विकास निर्माण गर्ने मन्त्रालय चलाउँ कि भन्ने सोचेको छु ।

    तपाईंले भौतिक पूर्वाधार मन्त्रालय दावी गर्ने त्यसो भए ?

    हाम्रो अहिले ७ वटा जिल्ला बाढी पहिरोबाट प्रभावित छ । त्यस क्षेत्रको चिन्ता हो । म आफै भौतिक पूर्वाधार मन्त्री भए हुन्थ्यो भन्ने हो । त्यो मन्त्रालयको नेतृत्व गर्नु एकदमै जरुरी र महत्वपूर्ण छ ।

    प्रचण्डलाई भेटेपछि तपाईं आउने चुनाव माओवादीबाट लड्ने भन्ने कुरा पनि आयो नि ?

    होइन म आउने चुनाव पनि स्वतन्त्र नै लड्छु । यो प्रदेशमा चाहिँ जसपा, जनमोर्चा र म मिलेर जान्छौं । किनभने यस्तो बेलामा पनि हामी मिलेको छौ । यी दुवै पार्टी पनि मलाई मन परेको छ । जनमोर्चाको लेडिज र जसपाको पनि लेडिज भएकाले मलाई राम्रो लागेको हो । एकदम राम्रा छन् क्या तिनीहरू । राजनीतिमा यस्तो हुनुपर्छ ।

    जसपाको महिला सांसदलाई मन्त्री बनाउन पनि लबिङ गर्दै हुनुहुन्छ होइन ?

    हो यार, मैले उहाँको खटन पटन देखेँ । हामीलाई राम्रो मान्छे चाहिने हो नि त । यस्तो व्यक्तिलाई मैले सहयोग गर्नुपर्छ । महिलालाई नेतृत्वमा ल्याउनुपर्छ । लेडिज भनेर नहुने रहेछ हेर्नुस्, केटाहरूजस्तो रक्सी खाएर त बिकेका छैनन् । केटाहरु त रक्सीमा बिक्छन् । महिला त कहिल्यै यस्तोमा बिकेको छैन नि त । जनमोर्चाको कृष्ण थापालाई हेर्नु त । यस्तो फटाहा व्यक्ति पनि नेता हुन्छ । पद त बेचेर खाए-खाए, फेरि मुद्दा पनि हाल्न भ्याए ।

    मदिराकै कुरा गरिहाल्नुभयो, अनि खेलकुद परिषदका सदस्य सचिवको बारेमा तपाईले चरित्रहत्या गर्ने कुरा किन बोलेको ?

    मैले थाहा पाएको हिसाबले जे भने भने, पर्सनल इस्युमा हामी जानु पनि हुँदैन हेर्नुस् । एक-अर्कोलाई सम्मान गर्ने कुरा छँदैछ । अब हेर्नुस् व्यक्तिगत कुरा चाहिँ नगरौं भन्ने मैले पनि सोचेँ , तर उहाँहरु परिवर्तन हुनुपर्‍याे । भ्रष्टाचार पनि गर्नु भएन । म परिवर्तन हुने भनेको नबोल्ने हो ।

    यसअघिको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तपाईंलाई सुधार गर्न खोजेको तर सकिन भन्नु भयो, तपाई नसुध्रिने नै हो ?

    पृथ्वीसुब्बा दाइले भनेको नराम्रो चाहिँ होइन । त्यसमा के हो भने मैले एक भोट हालेपछि उहाँ मुख्यमन्त्री हुने र मैले नहाल्दा सडकमा जाने अवस्था हुने रहेछ नि त ।

    तपाई यसलाई हाइलाइट गर्नुस् है, बदनाम गर्नेले मलाई गरिरहेको छ । मनाङमा त म एमालेसँग मिलेर लडेको हो अब पनि लड्छु । मिलेर जान सकिएन भने चुनाव नै लड्दैन । अगर मैले मनाङमा एमालेसँग मिलेर लड्न सकेन भने चुनावै लड्दिन ।

    मैले त मनाङको विकास हेर्ने हो । मलाई जिताउनमा पनि कसैको योगदान छैन । आफ्नो जिल्लामा बजेटको ओइरो हाल्ने तर मनाङजस्तो सडक समेत नभएको जिल्लामा बजेट नदिने । मैले यिनिहरूलाई नमस्ते गरेर बस्ने होइन ।

    मलाई जिताउन यिनीहरूको पनि केही योगदान छैन । त्यसैले मैले त मनाङको जनतालाई हेर्ने हो । मनाङलाई राम्रो बनाउनुपर्छ भन्ने हो ।

    भनेपछि अब मनाङमा पहिले जस्तो एमालेसँग मिलेर चुनाव नलड्ने हो ?

    अब तपाईं यसलाई हाइलाइट गर्नुस् है, बदनाम गर्नेले मलाई गरिरहेको छ । मनाङमा त म एमालेसँग मिलेर लडेको हो अब पनि लड्छु । मिलेर जान सकिएन भने चुनाव नै लड्दैन ।

    अगर मैले मनाङमा एमालेसँग मिलेर लड्न सकेन भने चुनावै लड्दिन । कमिटमेन्टभन्दा बाहिर जानु हुँदैन,सबैभन्दा ठूलो आफूले दिएको जमान हो ।

    हेर्नुस् मैले इथिक्स छाड्न मिल्दैन । नेताले बोलेपछि भगवानको बोलीजस्तो हुनुपर्छ । प्रदेशमा हामी मिलेर गयौं ठीक छ, तर जिल्लामा म कांग्रेससँग मिल्न सक्दिन ।

    प्रदेशका कांग्रेससँग म मिले भन्दैमा मनाङका कांग्रेसहरू खुसी नभए हुन्छ । एमालेसँग मिलेर मैले लड्न सकिन भने मैले राजनीति गर्दिनँ ।

    मलाई कस्तो अप्ठेरो थियो भने मैले नगर्नेवित्तिकै संसद विघटन हुन्छ । संसद विघटनको लागि त म मान्दिन नि ! मेरो ८३ वर्षको फुपू गएर मलाई भोट हालेर जिताएको छ । कहिल्यै नजाने मान्छेहरू गएर भोट हालेकाे छ ।

    म मन्त्रीको लागि बिक्दिन । मन्त्री पद केही होइन क्या । तर, मनाङमा चाहिँ म एमालेसँगै मिल्छु । त्यसो भएपछि मनाङमा म पनि जित्छु एमालेको पाल्दोन छोपाङ पनि जित्छ ।

    म कांग्रेस बन्न सक्दिनँ । राजनीति भनेको यसलाई नै भन्दो रहेछ । हाम्रो जिल्लामा एमालेको सांसद पाल्देनले जति विकास कसैले गर्दैन । त्यो मान्छे दुःख गर्ने मान्छे चाहिँ हो । मलाई यस्तै मान्छे मन पर्छ । हेर्नुस् मैले इथिक्स छाड्न मिल्दैन । नेताले बोलेपछि भगवानको बोली जस्तो हुनुपर्छ । प्रदेशमा हामी मिलेर गयौं ठीक छ, तर जिल्लामा म कांग्रेससँग मिल्न सक्दिन ।

    भनेको प्रदेश जोगाउनका लागि मात्र हो तपाईंले भूमिका निर्वाह गरेको हो ?

    मैले नगर्ने वित्तिकै संसद विघटन हुन्छ । म संसद विघटन गर्ने पक्षमा थिएन । मलाई ८० वर्षको बुढा आमा-बुवाले मत दिएका छन् । म उहाँहरूको भोट खेर हालेर संसद विघटन गर्ने पक्षमा भोट हाल्दिनँ । एउटा मन्त्रीको दाउमा जनताको भोट बेच्न चाहान्नँ ।

    भनेपछि प्रदेशको सरकारका मात्र सहकार्य हो कांग्रेस माओवादीसँग ?

    कुरा त्यही हो । राजनीति भनेको के हो थाहा हुँदैछ । मेरो क्षेत्रमा अरुले जित्ने सपना नदेखे हुन्छ । म राजनीतिक सिद्धान्त छोड्दैन । नेताको काम झुट बोल्ने होइन । भगवानको जस्तै नेताको बोली हुनुपर्छ भन्ने हो । प्रदेशमा हामी ४ वटा दल मिलेको हो तर मनाङमा एमाले र मैले नै हो जित्ने ।

    गण्डकी प्रदेश सरकारले कहिले पूर्णता पाउँछ ?

    म नगएर पूर्णता पाउन रोकिएको हो । म जाने वित्तिकै पूर्णता पाइहाल्छ । मनाङमा खाद्यान्न तथा राहत पुर्‍याउनका लागि काठमाडौं आएको हो । अहिले सरकार तथा गैरसरकारी निकायसँग हामीले सहयोग मागिरहेका छौं ।

  • दिपक मनाङे : ‘हाननीय’ देखि ‘माननीय’ सम्म

    दिपक मनाङे : ‘हाननीय’ देखि ‘माननीय’ सम्म

    काठमाडौं । हेर्दाहेर्दै पूर्व गुण्डानाइके दिपक मनाङे उर्फ राजीव गुरुङ मन्त्री बनेका छन् । गण्डकी प्रदेशमा सत्ताको छिनाझप्टी खेल उत्कर्षमा पुग्दा मनाङेलाई मन्त्री पदको चिठ्ठा परेको हो ।

    गण्डकी सरकारविरुद्ध पेश भएको अविश्वास प्रस्तावमा मतदान हुने दिन हिजो मनाङे संसदमा अनुपस्थित भएका थिए । अविश्वास प्रस्तावको पक्षमा भोट हाल्ने बताएका उनी मोबाइल स्वीच अफ गरेर अलप भएपछि कुनै पुरस्कार पाउने लख काटिएको थियो । नभन्दै उनले भोलीपल्टै मन्त्री पदको सपथग्रहण गरे ।

    नेपालमा अपराधिक पृष्ठभूमि भएका व्यक्तिहरु राजनीतिमा आएर माथिल्लो ओहदामा पुगेका उदाहरणको कमी छैन । ६ जनाको ज्यान जाने गरी भएका बम विष्फोटका प्रमुख अभियुक्त बबनसिंह देखि टिकापुर हत्याकाण्डका योजनाकार रेशम चौधरीसम्म चुनाव जितेर माननीय भएको देश हो । तर, उनीहरुभन्दा अघि बढेर दिपक मनाङेले सांसद मात्र होइन मन्त्री नै पड्काएका छन् ।

    गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्रालयको बागडोर पाएका मनाङेसँग त्यहाँका जनतालाई सायदै केही आशा होला । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि मनाङेमा कुनै ‘पोटेन्सियल’ देखेर मन्त्री बनाएका अवश्य होइनन् । प्रदेशसभामा एक भोटका लागि उनले यो अलोकप्रिय निर्णय लिएको प्रष्टै छ ।

    हाननीयदेखि माननीयसम्म
    दिपक मनाङे नेपालीहरुले धेरै समयदेखि सुन्दै आएको नाम हो, तर असल कारणले होइन । राजनीतिमा आउनुअघिसम्म उनी ‘गुण्डानाइके’ का रुपमा परिचित थिए ।

    ५० को दशकदेखि काठमाडौंको ठमेल केन्द्रित गतिविधिबाट उनी चर्चामा आएका हुन् । ०५०-५१ सालतिर उनी ठमेलका होटल-रेस्टुरेन्टहरुमा हप्ता असुली गर्थे । ठमेलका रेस्टुरेन्ट व्यवसायीबाट  सलामी उठाउने क्रममा मनाङे पटक–पटक पक्राउ परे र छुटे ।

    गुण्डागर्दीसँगै मनाङेले ठेक्कापट्टादेखि मनोरञ्जन क्षेत्रमा विभिन्न व्यवसाय गरेका थिए । जली पव डिस्कोबाट उनी यो क्षेत्रमा छिरेका हुन् । तर, त्यसमा उनले प्रत्यक्ष लगानी नगरी सलामी सेयर लिएका थिए । उनले होटल, डान्सबार र रेस्टुरेन्ट सञ्चालन गरेर राम्रै आम्दानी गरे । केहीलाई रोजगारी पनि दिए ।

    गुण्डागर्दी तथा व्यवसायका क्रममा अर्का गुण्डानाइके चक्रे मिलनसँग मनाङेको दुश्मनी सुरु भएको थियो । २०६१ सालमा चक्रे मिलनलाई धारिलो हतियारले प्रहार गरेको अभियोगमा पक्राउ परेका मनाङे केही समय जेल बसेर छुटेका थिए । ग्याङ फाइटका क्रममा मनाङेले चक्रेको हात छिनाइदिएका थिए ।

    सोही मुद्दामा २०६९ साल साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई  पाँच वर्ष जेल सजाय सुनाएको थियो । तर, लामो समय गोप्य राखिएको फैसला पाँच वर्षपछि २०७४ साल माघ २ गते सार्वजनिक भयो । त्यसपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।
    अन्ततः २०७५ वैशाख ६ गते उनी पक्राउ परे, जतिबेला उनी चुनाव जितर गण्डकी प्रदेश सभाको सांसद बनिसकेका थिए । उनलाई स्वयम्भूको तीनधारा क्षेत्रबाट पक्राउ गरिएको थियो । २०७५ साल पुस ५ गते सर्वोच्चको आदेशमा उनी रिहा भए । त्यसपछि उनले प्रदेश सभा सदस्यको सपथ खाएका हुन् ।

    संरक्षणको खोजीमा पार्टी चहार्दै
    गुण्डागर्दीका क्रममा बारम्बार पक्राउ पर्ने र छुट्ने भएपछि मनाङेले राजनीतिक संरक्षणको खोजी गर्न थाले । त्यसक्रममा उनले अहिलेसम्म उनले चारवटा पार्टी चहार्न भ्याइसकेका छन् ।

    सुरुमा केही समय उनलाई राप्रपाका पशुपति शम्शेर राणाले ओत दिए । उनी राणाका बडीगार्ड समेत बनेका थिए । तर, राणाबाट साथ पाउन छोडेपछि मनाङे कांग्रेसका किशार सिंह राठौरसँग नजिक भए । राठौरमार्फत उनी तरुण दलका गतिविधिमा सक्रिय हुन थाले । काठमाडौंमै बसेर लामा समय तरुण दल मनाङको सभापति भए ।

    २०६३ सालको परिवर्तन पछि लक्ष्मण थारुले माओवादी छाडेर अलग मोर्चा बनाएसँगै मनाङे उनका पछि लागे । तर, लक्ष्मणसँगको सहकार्य पनि पाँच वर्षभन्दा बढी टिकेन । अन्तमा उनी एमालेको छत्रछायाँमा पुगेका थिए ।

    मंसिरमा सम्पन्न प्रदेशको चुनावमा उनले एमालेबाट टिकट पाउन प्रयास गरेका थिए । तर नपाएपछि उनी स्वतन्त्र चनाव लडे र जिते पनि । मनाङ प्रदेश सभा क्षेत्र ख बाट स्वतन्त्र उम्मेदवारका रुपमिा उनी विजयी भएका हुन् । सो क्षेत्रमा उनलाई नेकपा एमालेले समर्थन गरेको थियो ।
    मनाङे एक हजार चार सय १० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए ।