Tag: रमेश खरेल

  • काठमाडौंको मेयरमा उठ्ने तयारी गरेका रमेश खरेल पछि हटे, अब संसदीय चुनाव लड्ने घोषणा

    काठमाडौंको मेयरमा उठ्ने तयारी गरेका रमेश खरेल पछि हटे, अब संसदीय चुनाव लड्ने घोषणा

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेका नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेल ब्याक भएका छन् । आफ्नो पार्टीले मेयरमा उठ्न म्यान्डेट नदिएको उनले बताए ।

    खरेलले आफ्नै नेतृत्वमा सुशासन पार्टी गठन गरेका छन् । सोही पार्टीको तर्फबाट काठमाडौंमा मेयरमा लड्न लागेको समाचारहरु मिडियामा आएका थिए । खरेलले भने घोषणा गरिसकेका थिएनन् ।

    ‘मैले पार्टीका साथीहरुसँग सल्लाह गर्दा मेयरमा उठ्नुभन्दा सांसदमा उठ्नु ठिक हो भन्ने धेरैले राय दिनुभयो,’ खरेलले नेपाल प्रेससँग भने, ‘त्यसैले स्थानीय चुनावमा नउठ्ने निधो गरेको हुँ ।’

    महानगरपालिकाको मेयर एउटा सिमित दायरामा बाँधिनुपर्ने र २४सै घन्टा खटिनुपर्ने भएकाले पनि यो पद आफ्नो लागि उपयुक्त नहुने निस्कर्षमा पुगेको उनले बताए ।

    ‘सांसद भएँ भने देशव्यापी संगठन विस्तार गर्न पनि सकिन्छ, तर मेयर हुँदा सानो दायरामा बाँधिन्छ भन्ने कुरा साथीहरुले गर्नुभयो तर मलाई पनि ठिकै लाग्यो,’ खरेलले भने ।

    संसदको चुनाव लड्ने निश्चित भए पनि कहाँबाट लड्ने भन्ने निर्णय लिन बाँकी रहेको उनको भनाइ छ । ‘म भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध अभियानमा छु,’ उनले भने, ‘जुन निर्वाचन क्षेत्रमा नामुद भ्रष्टाचारी र ठगले उम्मेदवार दिन्छन्, त्यसैबाट लड्छु ।’

    उनले काठमाडौंको कुनै पनि निर्वाचन क्षेत्रबाट संसदीय चुनावमा उम्मेदवार दिन सक्ने बताए । महानगरको चुनावमा आफनाे पार्टीले उम्मेदवारी दिनुभन्दा अरु कुनै उम्मेदवारलाई समर्थन जनाउन सक्ने उनले संकेत गरे ।

  • पूर्वराजदूत रञ्जित रेको पुस्तकमा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको पूर्वडीआईजी खरेलको आरोप (भिडिओ)

    पूर्वराजदूत रञ्जित रेको पुस्तकमा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको पूर्वडीआईजी खरेलको आरोप (भिडिओ)

    काठमाडौं । नेपाल प्रहरीका पूर्व नायब महानिरिक्षक (डीआईजी) रमेश खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमा ः रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका छन् ।

    मंगलवार काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद् नेपालको पत्रकार सम्मेलनमा खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमा ः रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका हुन् ।

    उनले रञ्जित रेको पुस्तकमा नेपाललाई भुटान बनाउने उद्धृत गरिएको भन्दै यसको शान्तिपूर्ण बिरोध गर्नुपर्ने धारणा राखे । उनले काठमाडौं दुविधामा छ भन्ने शीर्षक राखेर पुस्तक प्रकाशन गर्दा समेत सरकार मौन रहेको भन्दै खेद प्रकट गरे ।

    उनले यसको सबै दोष राजनीतिक दलका नेतृत्व वर्गलाई जाने भन्दै नेताहरु नै भारतसँग लम्पसारवादमा गएको आरोप लगाए । पूर्व डिआईजी खरेलले कितावमा मात्रै नभएर भारतले देशका विभिन्न सीमामा पनि नेपालको राष्ट्रियतामाथि प्रहार गरेको बताउँदै पुस्तकमा नारायणकाजी श्रेष्ठ र विमलेन्द्र निधीको द्वेध चरित्र यथार्थ भएको टिप्पणी गरे ।

    पूर्वडीआईजी खरेलले भने, ‘काठमाडौं दुविधामा छ, भन्ने यो पुस्तकको शीर्षक हो, यसको सबै दोष हाम्रा राजनीतिक लिडरहरुलाई जान्छ, हामी मित्र राष्ट्रसँग राम्रो सम्बन्ध बिस्तार गर्न चाहन्छौँ तर हाम्रा शासकहरु दुविधामा भए, लम्पसारवादमा विश्वास गरे, व्यक्तिगत स्वार्थका लागि नेपाल–भारतको नाता व्याख्या गर्न थाले, जसकारण भारतले हामीलाई हेप्यो, कितावमा मात्र होइन, हाम्रो राष्ट्रियतामाथि भारतले प्रहार गरेको छ, हाम्रो निकम्मापनका कारण हामी हेपिएका छौँ, नेपाल सरकार यो किताव सार्वजनिक भएको १५ दिन हुँदा समेत मौन छ, हामीले शान्तिपूर्वक यसको बिरोध गर्नुपर्छ, पुस्तकमा लेखिएका नारायणकाजी श्रेष्ठ र विमलेन्द्र निधीको द्वेध चरित्र भने यथार्थ हो ।’

    कार्यक्रममा नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेमसिंह बस्नेतले नेपाललाई भूटान बनाउनुपर्छ भन्ने कुरा पुस्तकमा लेखिएको भन्दै नेपालीहरुले पुस्तक जलाउनुपर्ने बताए ।

    उनले नेपालका लागि यो भन्दा ठूलो अपमान अरु नहुने भन्दै उनले नेपालीहरु अब बीर गोर्खाली भएर जाग्नुपर्ने बेला आएको बताए ।

    उनले नेपाललाई भूटान बनाएर भारतको अधिनमा राख्ने कुरा रञ्जित रे र भारतीयहरुको दिवा सपना भएको उल्लेख गर्दै उनले सरकारमा सहभागी र नेपालको मुलधारमा रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कितावको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्नु नेपालको अपमान भएको बताए ।

    सहायक रथी बस्नेतले भने, ‘नेपाललाई भूटान बनाउने कुरा लेखिएको छ, यो पुस्तक पठन योग्य छैन, सबै नेपालीहरुले जलाउनुपर्छ, जसले भूटान बनाएर आफ्नो अधिनमा राख्न खोज्छ भने यो भन्दा ठूलो अपमान नेपालका लागि अरु केही हुँदैन, यो सम्भव छैन, नेपाललाई भूटान बनाएर आफ्नो अधिनमा राख्न खोज्नु भारतको दिवा सपना हो, प्रचण्डको अध्यक्षतामा यो किताव लञ्च गरेर ताली बजाउनेहरु धिक्कार छ ।’

    पूर्व सहायक रथी बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाले पटक पटक एमसीसी पास हुन्छ भनेपनि यो सर्वजनिक विषय भएको भन्दै यसरी राष्ट्रघात गरेर बोल्नेहरुलाई राजद्रोहीको मुद्दा लगाउनुपर्ने बताए ।

  • राजनीतिमा होमिदै रमेश खरेलः गणतन्त्र मान्ने, ‘विचौलीया प्रदेश’ नमान्ने

    राजनीतिमा होमिदै रमेश खरेलः गणतन्त्र मान्ने, ‘विचौलीया प्रदेश’ नमान्ने

    काठमाडौं । डेढ वर्षअघि ‘हाम्रो नेपाल सुशासन अभियान’ सुरुवात गरेका पूर्व डीआईजी रमेश खरेलले अब त्यसलाई पार्टीमा रुपान्तरण गर्ने तयारी गरेका छन् ।

    नेपाल प्रहरीको डीआईजी बढुवाबाट असन्तुष्ट भएर अवकासअघि नै राजीनामा दिएर बाहिरिएका खरेलले २९ फागुन २०७६ मा अभियान शुरु गरेका थिए ।

    राजधानीमा एउटा उद्घाटन समारोह आयोजना गरेका उनले देवेन्द्रप्रसाद सिटौला, डा. नारायण घिमिरे, राजकुमार यादव र रोशन श्रेष्ठ रहेको केन्द्रीय कार्यकारी परिषद बनाएका थिए ।

    पार्टी निर्माणको प्रक्रिया

    पार्टी निर्माणको प्रारम्भिक चरण अन्तर्गत खरेलले रत्नपार्कमा एउटा कार्यक्रम गरेर अपील गरेका छन् ।

    ‘शान्ति बाटिकामा अपील गरेका छौं,’ नेपाल प्रेससँग उनले भने, ‘यसलाई हामी पार्टीमा बदल्न चाहान्छौं । यो अपील लिएर हामी ठाउँ–ठाउँमा जान्छौं । सबैसँग छलफल गर्छौं अनि त्यसलाई कम्पाइल गर्छौं ।’

    उनले थपे, ‘त्यसबाट हाम्रो अवधारणा पत्र बनाउँछौं । त्यसपछि त्यही विचारलाई बोक्ने पार्टीमा परिणत हुने हाम्रो चाहाना छ ।’

    पार्टी घोषणाअघि अपील लिएर देशका मुख्य–मुख्य सहरमा पुग्ने र राष्ट्रिय पार्टी कस्तो हुनुपर्छ भनेर सुझाव संकलन गर्ने योजना रहेको उनले बताए ।

    ‘यो पार्टी घोषणा गर्ने पहिलो चरण हो,’ खरेलले भने, ‘पार्टी घोषणा गर्नुभन्दा पहिले देशका मुख्य–मुख्य ठाउँमा गएर सबैको विचार लिन्छौं । उहाँहरुले राष्ट्रिय पार्टी कस्तो हुनुपर्छ, कस्ता मान्छे सामेल हुनुपर्छ भन्ने सुझाव दिनुहुन्छ, त्यसलाई समेट्छौं ।’

    ‘राम्रा मान्छेहरुको टिम बनाउ भन्ने हाम्रो अभियान हो । टिम बनिसकेपछि यसलाई हामी पार्टीमा परिवर्तन गर्छौं,’ उनले भने ।

    गणतन्त्रविरुद्ध नजाने, संघीयतामा ‘परिमार्जन’

    नयाँ बन्ने पार्टीको नाम, यसले बोक्ने विचार र सांगठनिक संरचना कस्तो हुने भन्ने विषय खरेलले अझैं टुंग्याइसकेका छैनन् ।

    छलफलबाट आएका विचारहरुलाई समेट्ने र अघि बढ्ने उनको योजना छ । ‘अहिले धेरै केही पनि सोचेका छैनौं, यसकै लागि हामी देशदौडाहा गर्छौं,’ खरेलले भने, ‘अरु साथीहरुले के भन्नुहुन्छ । यो गर्दा राम्रो होला, यो विचारले राम्रो होला, यो विचारले समृद्धि आउला भन्ने दृष्टिकोण उहाँहरुले दिनुहुन्छ । ती सबैलाई भेला पारेर अनि त्यसमा व्यापक छलफल गरेर हामी निचोड निकाल्छौं ।’

    वैचारिक विषय प्रष्ट भइनसकेको भने पनि उनले गणतन्त्र मान्ने र केही परिर्माजनसहितको संघीयता अंगाल्ने बताए । राजतन्त्रको पक्षमा उनी उभिने खतिपयको आशंकालाई चिर्दै खरेलले भने, ‘अब हामी राजतन्त्रको पक्षमा जाँदैनौं । संघीयतामा पनि नेपाल जस्तो देशमा हिमाल, पहाड र मधेश जोड्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

    प्रदेशहरुले विचौलीयाको मात्रै काम गरेको भन्दै यो तह नै आवश्यक नहुने उनको भनाइ छ । ‘सातवटा प्रदेश हामीलाई आवश्यक पनि छैन,’ उनको भनाइ छ, ‘प्रदेश विचौलीया भयो, धेरै माननीय भए । दिनु भन्दा लिनुमा उहाँहरुको ध्यान केन्द्रित भयो ।’

    प्रदेश हटाएको संघीयता कस्तो हुन्छ त भन्ने प्रश्नमा उनको जवाफ छ– ‘केन्द्रपछि सिधै स्थानीय तह बलियो हुन्छ । विचौलीया प्रदेश हटाउनुपर्छ भन्ने अहिलेसम्मको मान्यता हो । यसको कुनै उपादेयता देखिएन ।’

    चुनौतीपूर्ण बाटो

    देशको राजनीति पुराना पार्टीकै कब्जामा रहेका बेला नयाँ पार्टी स्थापित गर्नु आफैंमा चुनौतिपूर्ण हो । यस्तोमा खरेलले कसरी पार्टी स्थापना होला भन्ने प्रश्न उनीतिर सोझिन्छ । ‘यो त जनताले मुल्यांकन गर्ने कुरा हो,’ खरेल भन्छन्, ‘नागरिकहरु असाध्यै बाठो भइसके, उनीहरुले मुल्यांकन गर्ने हो ।’

    सुशासनका पक्षमा उभिने र इमान्दारिताका साथ आफूहरुले काम गर्ने उनको भनाइ छ ।

    ‘हामी प्रतिवद्धताका साथ, इमान्दारिताका साथ, एउटा भिजनका साथ अगाडि बढ्न चाहन्छौं,’ उनी भन्छन्, ‘हाम्रो भनाइ र गराईमा एकरुपता हुन्छ । हामी जे भन्छौं, त्यो गर्छौं ।’

    ‘राष्ट्रियता, सुशासन र समृद्धिलाई मुल नारा दिएर नेपालवाद प्रवद्र्धन गर्ने हाम्रो मुल मन्त्र हुन्छ । हामी आयातलाई विस्थापनलाई प्राथमिकता दिन्छौं र नेपाली उत्पादनमै जोड दिन्छौं,’ उनले भने ।