Tag: युरोपेली युनियन

  • युरोपेली युनियनले युक्रेनलाई हतियार सहयोग गर्ने, रुसमाथि हवाई प्रतिबन्ध

    युरोपेली युनियनले युक्रेनलाई हतियार सहयोग गर्ने, रुसमाथि हवाई प्रतिबन्ध

    कीभ । रुसी हमलाबाट आक्रान्त युक्रेनलाई युरोपेली युनियनले सहयोग गर्ने भएको छ । युरोपेली युनियनले युक्रेनलाई हतियार सहयोग गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।

    ईयूले युक्रेनलाई हतियार उपलब्ध गराउने निर्णय गरेको यो पहिलोपटक हो। हतियार सहयोगको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ईयूका अध्यक्ष उर्सुला भोन डर लेयनले यो इतिहास परिवर्तन गर्ने समय भएको बताइन् ।

    यससँगै उनले रुस र बेलारुसलाई लक्षित गरी नयाँ प्रतिबन्धको घोषणा गर्दै रुसमाथि युरोपेली हवाई क्षेत्र प्रतिबन्ध लगाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    युरोपेली संघले रूसका सबै विमानलाई युरोपको हवाई उडानमा प्रतिबन्ध लगाइएको छ भने रुसको सरकारी मिडिया रसिया टुडे र स्पुतनिक र तिनका अन्य कम्पनीहरूमा पनि प्रतिबन्ध लगाइएको छ ।

    लेयनले भनिन्, ‘हामी एउटा उपकरण विकास गर्दैछौं कि जसले युरोपमा गलत र आक्रामक समाचार फैलाउन प्रतिबन्ध लगाइनेछ।’

    साथै युरोपेली संघका सदस्य राष्ट्रहरूले युक्रेनका शरणार्थीलाई तत्काल राहत दिँदै शरण दिने सहमति गरेका छन् ।

    रुसले युक्रेनमाथि लगातार आक्रमण कारण लाखौं युक्रेनीले देश छाडेर छिमेकी र अन्य देशमा शरण लिइरहेका छन् ।

  • युरोपेली युनियनका नेताहरु कमजोर राष्ट्रहरुलाई १० करोड डोज खोप प्रदान गर्न सहमत

    युरोपेली युनियनका नेताहरु कमजोर राष्ट्रहरुलाई १० करोड डोज खोप प्रदान गर्न सहमत

    ब्रसेल्स । युरोपेली युनियनका नेताहरुले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरुलाई कोभिड-१९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका छन् । युरोपमा खोपको उपलब्धता निरन्तर बृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो ।

    ब्रसेल्समा आयोजित दुई दिने शिखर सम्मेलनमा सहभागी २७ राष्ट्रका सरकार एवं राष्ट्र प्रमुखहरुले विश्वमा देखिएको कोभिड-१९ विरुद्धको खोपको मागलाई सम्बोधन गर्न खोपको उत्पादन क्षमता बृद्धि गर्ने एउटा सम्झौतामा पनि सहमति जनाएका छन् ।

    नेताहरुले कोभिड-१९ को खोपको समतामूलक वितरण गर्नेतर्फ पनि आवश्यक गृहकार्य गर्न आह्वान गरेका छन् । उनीहरुले राष्ट्रसंघ मातहतको कोभाक्स कार्यक्रमलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । कोभाक्स मार्फत न्यून एवं मध्यम आय भएका मुलुकहरुमा समतामूलक रुपमा कोभिड-१९ को खोप उपलब्ध गराउने योजना छ ।

    तर विश्वकै ठूलो खोप उत्पादक कम्पनी भारतको सेरम इन्स्टिच्यूटले भारतमा कोभिड-१९ संक्रमण तिब्र रुपमा फैलिएको जनाउँदै यस वर्षको अन्त्यसम्ममा खोप निर्यात गर्न नसक्ने गत साता घोषणा गरेपछि कोभाक्सको कार्यक्रममा असर परेको थियो ।

    संयुक्तराज्य अमेरिका, बेलायत र इजरायलमा ठूलो संख्यामा खोप दिइए पनि अन्य युरोपेली मुलुकमा खोप लगाउनेक्रम ज्यादै सुस्त भएको भन्दै आलोचना भए पनि अहिले युनियनमा आबद्ध मुलुकमा खोप लगाउने कार्यमा व्यापक प्रगति भएको छ ।

    युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लायनले आगामी मे महिनाभित्रै युरोपेली मुलुकमा ३० करोड डोज खोप उपलब्ध हुने जानकारी गराएकी थिइन् । यस खोपबाट युनियनमा आबद्ध मुलुकका करिब ४५ करोड जनसंख्यामध्ये करिब ४६ प्रतिशतलाई कम्तीमा एक डोज खोप दिन पुग्नेछ ।

    पश्चिमा मुलुकमा खोप अभियान तिब्र गतिमा अगाडि बढे पनि कमजोर मुलुकहरुमा खोपको उपलब्धता ज्यादै न्यून छ । गत साता रोममा आयोजित स्वास्थ्य सम्मेलनमा इटालीका प्रधानमन्त्री मारियो ड्रागीले विश्वका १८० मुलुकमा करिब डेढ अर्ब डोज खोप दिइएको जानकारी गराएका थिए । उक्त खोपमध्ये न्यून आय भएका मुलुकमा ०.३ प्रतिशत खोप दिइएको छ जबकी विकसित मुलुकमा झण्डै ८५ प्रतिशतलाई खोप दिइएको छ ।

    कमजोर राष्ट्रहरुलाई खोप अनुदानमा दिइनुका साथै युरोपेली नेताहरुले स्थानीय स्तरमै खोप उत्पादन गर्नेतर्फ प्रोत्साहन गर्नु पर्नेमा जोड दिएका थिए ।

    तर युरोपेली युनियनले कुन खोप कमजोर राष्ट्रहरुलाई उपलब्ध गराउन लागेको हो भन्ने बारेमा केही खुलाइएको छैन । युरोपेली युनियनले हालसम्म फाइजर, मोडर्ना, अस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सन खोपलाई युरोपेली मुलुकका लागि अनुमति दिएको छ । संयुक्तराष्ट्र अमेरिकाले यसै महिनाको शुरुमा अस्ट्राजेनिका खोप आठ करोड डोज कमजोर मुलुकहरुलाई प्रदान गर्ने घोषणा गरेको थियो ।

  • युरोपेली युनियनले नेपाललाई २८ करोडको स्वास्थ्य सहायता उपलब्ध गराउने

    युरोपेली युनियनले नेपाललाई २८ करोडको स्वास्थ्य सहायता उपलब्ध गराउने

    काठमाडौं । कोभिड-१९ महामारीविरुद्ध युरोपेली आयोगले नेपाललाई २८ करोड (२ मिलियन युरो) बराबरको स्वास्थ्य सामाग्री तथा सहायता प्रदान गर्ने घोषणा गरेको छ ।

    ईयूले विहिबार विज्ञप्ती जारी गर्दै भाइरसविरुद्ध लड्न नेपाललाई उक्त मूल्य बराबरको स्वास्थ्य सामाग्री प्रदान गर्ने जनाएको हो । साथै, विज्ञप्तीमा ईयूले नेपालमा मेडिकल टीम पनि पठाउने जनाएको छ ।

    ईयूले टेलि मेडिसिन सेवाबाट आइसोलेसनमा बसेकाहरुको अनुगमन तथा उपचार, राष्ट्रिय आपतकालमा परिचालन हुने चिकित्सकहरुको टोली साथै अन्तर्राष्ट्रिय चिकित्सकको टोलीलाई पनि नेपालमा पठाउने जनाएको छ ।

    अक्सिजन ग्याँस सिलिन्डर, अक्सिजन कन्सेनट्रेटर, होम केयर किट्स, एन्टीजेन परीक्षण किट्स, पीपीई पनि प्रदान गर्ने ईयूले जनाएको छ । ईयूका अनुसार फिनल्यान्डले २ लाख सर्जिकल मास्क, ३ लाख ५० हजार चिकित्सक मास्क, ५२ हजार ५०० पञ्जा र ३० हजार आइसोलेसन गाउन्स पनि प्रदान गर्ने भएको छ ।

    ईयूका क्राइसिस म्यानेजमेन्ट संयोजक जेनेज लेनेर्कले महामारीको यो संकटमा युरोपेली युनियन नेपालसँगै उभिएको बताउँदै थप सहयोग गर्न तयार रहेको बताएका छन् ।