Tag: मोटरसाइकल

  • मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एकजना घाइते

    मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, एकजना घाइते

    सर्लाही । सर्लाहीको कविलासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् ।  सोमवार मलंगवा–नवलपुर सडक खण्डअन्तर्गत कविलासी नगरपालिका–१०, सलेमपुरमा प्रदेश २–०३–०१८ प ९६८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

    दुर्घटनामा मोटरसाइकल चालक मलंगवा नगरपालिका–३, निवासी २७ वर्षीय तौखिन मिकरानीको मृत्यु भएको  प्रहरीले जनाएकाे छ । दुर्घटना लगत्तै मिकरानीलाई उद्धार गरी प्रादेशिक अस्पताल  मलंगवा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

    मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षका मकबुल लहरी सफी गम्भीर घाइते भएका छन् । उनलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपश्चात थप उपचारका लागि वीरगन्ज रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ ।

    तीव्र गतिमा रहेको मोटरसाइकल सडक छेउमा रहेको बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएकाे प्रत्यक्षदर्शीले बताएकाे प्रहरीकाे भनाइ छ । मिकरानीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

  • टीभीएस रेडर मोटरसाइकल सार्वजनिक

    टीभीएस रेडर मोटरसाइकल सार्वजनिक

    काठमाडौं । एक्स्क्लयूजिव शोरुमबाट टीभीएस रेडर सार्वजनिक भएको छ । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले बुटवलमा रेडर सार्वजनिक गरेको हो ।

    कम्पनीले बुधबार युवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गत अत्याधुनिक फिचर्स नयाँ मोटरसाइकल टीभीएस रेडर सार्वजनिक गरेको हो ।

    कार्यक्रमा चर्चित गायक राम कृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी र हास्य कलाकार राजा राजेन्द्र पोखरेल लगायतको उपस्थिति थियो।

  • नेपालमा मोटरसाइकल एसेम्बलका लागि ४ मापदण्ड तोकियो

    नेपालमा मोटरसाइकल एसेम्बलका लागि ४ मापदण्ड तोकियो

    काठमाडौं । पछिल्लो समय केही कम्पनीहरूले विदेशबाट सामान ल्याएर मोटरसाइकल एसेम्बल गरिरहेका छन् । नेपालमा हाल गोल्छा अर्गनाइजेशन र जगदम्बा मोटर्सले कम्पनीले पेट्रोलबाट चल्ने बाइक एसेम्बल गरिरहेका छन् । अन्य बाइक बिक्रेता कम्पनीले पनि नेपालमा नै एसेम्बल गर्न प्लान्ट स्थापनाको काम गरिरहेका छन् ।

    उद्योग विभागले मोटरसाइकल एसेम्बल गर्ने उद्योगका लागि ४ वटा मापदण्ड तोकेको छ । पाटपुर्जा आयात गरी बाइक एसेम्बल गर्ने उद्योगका लागि सरकारले नयाँ मापदण्ड ल्याएको हो ।

    मापदण्ड अनुसार एसेम्बल गरिएका मोटरसाइकलमा हुने मूल्य अभिवृद्धि, एसेम्बल उद्योगले दिनुपर्ने रोजगारी, आन्तरिक उत्पादनको प्रयोग र वातावरणीय जोखिम न्यूनीकरणका विषय समेटिएको छ । उद्योगले पहिलो १ वर्ष १० प्रतिशत मूल्य अभिवृद्धि गर्ने छ । ५ वर्षसम्म ३० प्रतिशतको दरले मूल्य अभिवृद्धि गर्नुपर्ने सर्त तोकेको छ ।

    एसेम्बल गर्ने उद्योगले पहिलो वर्ष थोरैमा ५० जना कर्मचारी रोजगारी दिनुपर्ने छ ।

    एसेम्बल भएको बाइकमा एसेम्बल गर्ने उद्योगल ५ वर्षभित्र कम्तीमा १० प्रतिशत नेपालमै बनेका सामान प्रयोग गर्नुपर्ने मापदण्ड तोकेको छ ।

  • काठमाडौंबाट हराएका मोटरसाइकल चितवनमा भेटिए

    काठमाडौंबाट हराएका मोटरसाइकल चितवनमा भेटिए

    चितवन । चितवन प्रहरीले मोटरसाइकल चोरी कार्यमा संलग्न भएका २ जनालाई सार्वजनिक गरेको छ । चोरीका मोटरसाइकलका पार्टपुर्जा बेचविखन गर्ने २ जनालाई पक्राउ गरेको हो ।

    उनीहरुले काठमाडौंबाट मोटरसाइकल चोरी गरी चितवन ल्याएर बेच्ने गरेका थिए । पक्राउ पर्नेमा भरतपुर–२१ पार्वतीपुरका रोदित श्रेष्ठ र बारा कलैया–६ का कृष्ण शाह छन् ।

    पक्राउ परेका श्रेष्ठले आफ्नै घरमा सञ्चालन गरेको मोटरसाइकल वर्कसपमा चोरी गरी ल्याइएका मोटरसाइकलका पाटपुर्जा फेरबदल गरेर बिक्री गर्ने गरेको चितवन प्रहरी प्रमुख ओम अधिकारीले बताए ।

    ‘चोरको मिलेमतोमा मोटरसाइकल ल्याउने, खरिदबिक्रि गर्ने गरेको पाइयो’, उनले भने, ‘नम्बर प्लेटनै फेरेर राखिएको अवस्थामा फेला पारेका थियौँ ।’ उनका अनुसार साउन २५ गते पाटन अस्पतालको गेटबाट,२७ गते काठमाडौंकाे बसन्तपुर क्षेत्रबाट र ललितपुर झम्सिखेल, १९ गते काठमाडौंकाे बाफल सिथ्त महेश कन्ट्रक्सन प्रालि अगाडि बाटोबाट हराएका मोटरसाइकलहरु लुकाईछिपाई चितवन ल्याएर राखेको अवस्थामा फेला परेको थियो ।

    वकर्सपबाट २ वटा बुलेट, २ वटा पल्सर (२२० सीसी), १ वटा पल्सर एनएसन र २ मोटरसाइकलको भाइजर नियन्त्रणमा लिएको छ । मोटरसाइकल खोल्ने–जोड्ने पार्टपुर्जा, सामानहरु झिकिएका पुराना मोटरसाइकल सहितका समाग्री समेत जफत गरेको छ ।

    यसैबीच, चितवन प्रहरीले एटुजेड मोबाइल पसलबाट चोरी भएका सामानहरुसहित २ जनालाई पक्राउ गरेको छ । भदौ १२ गते विहान दिउँसो रत्ननगर–२ टाँडीबजारमा रहेको पसलबाट सटरको ताल्चा फोरेर ६ लाख ३३ हजार बराबरको सामान चोरी भएको थियो ।

    प्रहरीले १९ थान मोबाइल, ४ थान घडी, १ थान ल्यापटप र १ थान चोरीमा प्रयोग भएको साइकलसहित हिजो दिउसो चोरी कार्यमा संलग्नहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ–४ स्थायी घर भएर हाल चितवनको खैरहनी–१ ज्यामिरेमा बस्दै आएका २२ वर्षिय कृष्ण तामाङ र अर्का १ नाबालक पक्राउ परेका छन् ।

    ४ जनालाई चोरी कसुरमा जिल्ला अदालतबाट अनुमति लिएर थप अनुसन्धान भैरहेको चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । आरोप प्रमाणित भएमा पक्राउ परेका दुवलाई ३ वर्ष कैद र ३० हजारसम्म जरिवाना हुनसक्नेछ ।

     

  • हराएका २४ वटा मोटरसाइकल फेला पारी धनीलाई बुझाइयो

    हराएका २४ वटा मोटरसाइकल फेला पारी धनीलाई बुझाइयो

    काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका २० मोटरसाइकल र चार स्कुटर फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो ।

    महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सवारी साधन एकान्त ठाउँमा पार्किङ गर्दा हराउने गरेको बताए । हराएका सवारी साधनमध्ये अधिकांश सवारी साधन उपत्यकाका वरिपरि जिल्लामा प्रयोग हुने गरेको महाशाखाले जनाएको छ ।

    मोटरसाइकल उपत्यकाका नागार्जुन, पुतलीसडक, ठमेल, बालाजु, कपन, सानेपा, महाराजगञ्ज, एकान्तकुना, राधेराधे, सामाखुशी, टोखा, पाटन अस्पताललगायतका स्थानबाट हराएका हुन् ।

    महाशाखाका अनुसार पछिल्लो समय हराएका वा चोरी भएका मोटरसाइकलमध्ये अधिकांश पल्सर मोटरसाइकल रहेका छन् । चोरी भएका मोटरसाइकललाई ग्रामीण इलाकामा लगेर नम्बर प्लेट र स्वरूप परिवर्तन गर्ने, नक्कली कागजपत्र बनाएर बेचबिखन गर्ने गरेको पाइएको महाशाखा प्रमुख भट्टराईले बताए ।

    रासस

  • चोरिएका २३ मोटरसाइकल धनीलाई जिम्मा

    चोरिएका २३ मोटरसाइकल धनीलाई जिम्मा

    काठमाडौं । ट्राफिक प्रहरीले विभिन्न समयमा चोरी भई भेटिएका २३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार विभिन्न समयमा चोरी भई भेटिएका २३ वटा मोटरसाईकल आफ्नै कार्यालयमा सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको हो ।

    लकडाउनपछि खोजी गरि भेटिएका मोटरसाइकलहरु आज सम्बन्धित सवारी धनीलाई बुझाइएको एसएसपी जनक भट्टराईले जानकारी दिए । हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर मोटरसाइकल  ११ वटा अन्य कम्पनीका रहेका छन ।

    एसएसपी भट्टराईले आफूहरु सवारी साधन चोरी हुनै नदिने अभियानमा लागि परेको पनि बताए । सकेसम्म चोरी नै हुन नदिने, भए तत्काल खोजी सम्बन्धित सवारी धनीलाई बुझाउने आफूहरुको अभियाननै रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    महाशाखाले १५ दिन अघि पनि ५० वटा चोरी भएका मोटरसाईकल फेला पारी धनीलाई बुझाएको थियो । एसएसपी भट्टराईले हालसम्म चोरी भएका मोटरसाइकल गरी ७० प्रतिशत मात्रै भेटने गरेको पनि जानकारी दिए ।

    महाशाखाले हाल काठमाडौं उपत्यका र त्यस वरपरका जिल्लामा मात्रै हराएको मोटरसाईकलको खोजी गर्दै आएको छ ।

    अव भने त्यसको दायरा देशभर पुर्‍याउने योजना बनाइएको एसएसपी भट्टराईले बताए । चोरी भएका सबै मोटरसाइकल पत्ता लगाउन पनि यसको खोजीको दायरालाई देशभर बनाउनुपर्ने अवस्था आएको महाशाखाले  स्पष्ट पारेको छ ।

     

  • मोटरसाइकल चोर्ने दुई जना पक्राउ

    सुनसरी । मोटरसाइकल चोरी गरेको आरोपमा धरानबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ  ।

    पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-८ बुद्दमार्गका रोशन मास्के र धनकुटा साँगुरीगढी गाउँपालिका-८ तातोपानी बस्ने रवि राई रहेका छन ।

    उनीहरुलाई धरान उपमहानगरपालिका-१९ स्थित सडकबाट पार्किङ गरी राखेको को.१८ प ३९७९ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    धरान उपमहानगरपालिका-२० स्थित सुन्तले भन्ने ठाउँमा सवारी साधनहरुको चेकजाँच गर्ने क्रममा बुधबार उनीहरुलाई धरानबाट बिष्णुपादुका हुदै धनकुटातर्फ चोरी गरि लैजादै गरेको अवस्थामा उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

    चोरी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको  ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।