Tag: माधव नेपाल

  • गठबन्धन दलप्रति माधव नेपालको गुनासो- जिल्लाहरुको रिपोर्ट सुन्दा आशावादी हुने ठाउँ छैन (भिडिओ)

    गठबन्धन दलप्रति माधव नेपालको गुनासो- जिल्लाहरुको रिपोर्ट सुन्दा आशावादी हुने ठाउँ छैन (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महानगर र उपमहानगरपालिकाको भागबण्डाले गठबन्धनमा राम्रो सन्देश दिए पनि जिल्ला तहको रिपोर्ट आशावादी नरहेको बताएका छन् ।

    नेकपा स्थापना दिवसको अवसरमा शनिवार केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनमा रहेका अन्य दलले आफूहरुको अपमान गर्न खोजेको बताए ।

    अध्यक्ष नेपालले भने–तल जिल्लाहरुको रिपोर्ट सुन्दा आशावादी र उत्साही हुने अवस्था छैन । देशैभर हाम्रो पार्टीको संजाल छ,न्युनतम कम्तिमा पनि एउटा पालिका हामीले पाउनुपर्छ भन्ने हो । एमालेले जितेका ठाउँमा हाम्रो पहिलो हक रहन्छ । तर यहाँ गडबड गर्न खोजिएको छ ।

    अध्यक्ष नेपालले कांग्रेसमा एकथरी शक्ति गठबन्धन नहोस् भनेर लागेको बताए । उनले दुई दिन उम्मेदवारी मनोनयनको व्यवस्थाप्रति पनि शंका जनाउँदै तिकडम गर्न खोजिएको बताए ।

    ११ गते मनोनयन हेरेर १२ गते विद्रोही खडा गर्ने भनेर तिकडम गर्न खोजेको हुनसक्ने भन्दै केपी ओलीका तिकडमलाई आफूले पछार्ने नेपालले बताए ।

     

  • कपिलवस्तुको कपिलधाममा माधव नेपालका बुवाको शालिक अनावरण

    कपिलवस्तुको कपिलधाममा माधव नेपालका बुवाको शालिक अनावरण

    रुपन्देही । कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित कपिलधाममा संस्कृत साहित्यका विद्वान तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका पिता पण्डित स्वर्गीय मंगलकुमार नेपालको शालिक अनावरण गरिएको छ ।

    कपिल आरोज्ञ मन्दिर कपिलधाममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले नेपालको शालिक अनावरण गरेका हुन् ।त्यस्तै पाल्पामा जन्मेका पूर्वीय साहित्यका अध्येता तथा लेखक स्वर्गीय यादवप्रसाद कोइरालाको शालिकको अनावरण पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गरेका छन् ।

    सो अवसरमा नेपालले नेपाली कला, साहित्यको विकाससँगै बुद्धको जन्मस्थल लुम्बिनीसहित बुद्धले ज्ञान प्राप्त गरेको कपिलवस्तुको तिलौराकोट, कपिलधाम, रामग्रामलगायतका पर्यटकीयस्थलको विकासका लागि आफू लागिपर्ने बताए ।

    कार्यक्रममा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालकी बहिनी बसुन्धरा नेपाल, बाल साहित्यकार जोसिका कंडेलले स्वर्गीय मंगलकुमार नेपालको जीवनसम्बन्धी काव्य वाचन गरेका थिए । यस्तै गिता अन्जानले स्वर्गीय मंगलकुमार नेपालको जीवनी प्रस्तुत गरेकी थिइन् ।

    कार्यक्रममा बसुन्धरा नेपालले कपिलधामको प्रचारप्रसारका साथै यस ठाउँको विकासमा ध्यान दिनुपर्ने बताइन् । ऐतिहासिक महत्व बोकेको कपिलधाम अझैपनि पछाडि रहेको भन्दै लुम्बिनीमा कार्यक्रम गर्दा कपिलधाममा पनि प्याकेज ल्याउनुपर्नेमा उनको भनाइ थियोे ।

    योसंगै साहित्य तीर्थस्थलका रुपमा विकास भइरहेको कपिलधाममा २२ जनाको प्रतिमा स्थापित भएको छ । मुलुकका विभिन्न क्षेत्रका स्रष्टा, संस्कृतविद्, शिक्षासेवी, योगी, महापण्डित, नेपाली वाङमय र कलासाधनाद्वारा राष्ट्रको गौरब बढाउने व्यत्तीत्वका अर्धकदका शालिक यहाँ राखिएका हुन् । यहाँ मुलुकभरका एक सय एक स्रष्टाको प्रतिमा राख्ने योजना बनाइएको प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष ऋषि आजादले बताए ।

    सो कार्यक्रममा कपिलवस्तुका पशुपतिमणि त्रिपाठी, पूर्वीरुकुमका फत्तेकुमारी वली, रोल्पाका कविता उपाध्याय, रुपन्देहीका डिकबहादुर उपाध्याय, गुल्मीका नारायण ज्ञवाली, रुपन्देहीका गिरी श्रीसमगर र बाल साहित्यकार जोसिका कंडेललाई सम्मान गरिएको लुम्बिनी वाङ्मय प्रतिष्ठानका सचिव रुद्र ज्ञवालीले जानकारी दिए ।

    कार्यक्रममा लुम्बिनी वाङमय प्रतिष्ठान नेपालका कावा अध्यक्ष बालकृष्ण भट्टराई, राप्ती साहित्य परिषदको पूर्वअध्यक्ष पुरुषोत्तम खनाल, भेरी साहित्य समाजका अध्यक्ष हरि तिमिल्सिना, वरिष्ठ साहित्यकार हरिराज शर्मा, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाई, संस्कृतविद् राजेन्द्रकुमार आचार्यले सहजीकरण गरेका थिए । कार्यक्रममा सातवटा पुस्तक विमोचन गरिएको थियो ।

    आजादको अध्यक्षतामा नयाँ नेतृत्व चयन

    लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनले ऋषि आजादको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
    समितिको उपाध्यक्ष हरि पोखरेल, उपाध्यक्ष सिर्जना ज्ञवाली, महासचिव अर्जुनकुमार पौडेल, सचिव शेखर दहित, कोषाध्यक्ष लक्ष्मण ज्ञवाली निर्वाचित भएका छन् ।

    सदस्यहरुमा विक्रम शिशिर बाँके, मीना बराल बर्दिया, फत्तेकुमारी ओली रुकुम, कमलमणि देवकोटा दाङ, नवराज आचार्य, प्यूठान, कविता उपाध्याय रोल्पा, कृष्णकला भण्डारी पाल्पा, घनश्याम न्यौपाने परिश्रमी नवलपरासी, पशुपतिमणि त्रिपाठी कपिलवस्तु, तिलक लामिछाने रुपन्देही, कविता पन्थी गुल्मी, पिताम्बर बन्जाडे अर्घाखाँची निर्वाचित भएका छन् ।

  • माधव नेपाल भन्छन्- एमालेमा हेर्नुस् त १० भाईको बिजोग, कोही भन्छन् बहिनी पनि छन् (भिडिओ)

    माधव नेपाल भन्छन्- एमालेमा हेर्नुस् त १० भाईको बिजोग, कोही भन्छन् बहिनी पनि छन् (भिडिओ)

    काठमाडौं । नेकपा एमाले गलत व्यक्तिको कब्जामा परेकाले नयाँ पार्टी खोलेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन । काठमाडौंमा आयोजित पार्टीको दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    त्यही कारण आफूहरूले क्रान्तिकारी चेतका साथ क्रान्तिकारी पार्टी निर्माण गर्ने अभियानमा जुटेको उनले बताए ।
    ‘त्यहाँ बस्नुको मतलव दास हुनु हो, त्यहाँ बस्नुको मतलव दासता स्वीकार्नु हो, त्यहाँ बस्नुको मतलव मुख बुजो लगाएर बस्नुपर्ने हुन्छ,’ उनले भने,‘बोलिहाल्यो भने कार्बाहीको सिकार हुनुपर्ने हुन्छ, होइन भने निरीह भएर बस्नुपथ्र्यो ।’

    पार्टीको निर्देशनको अवज्ञा गरे पार्टीभित्रै अपमान सहनुपर्ने अवस्था देखिएको उनले बताए । उनले भने,‘चुप लाग्नुस्–चुप लाग्यो । निस्किनुस–निस्कियो । कसैले बोल्न खोज्यो त्यहाँका स्यालहुइयाँ साइबर स्यालले कराउथे एइइई चुप लाग चुप लाग १ भनेपछि आफ्नै बेइजती ।’

    एमालेमा अहिले विगतमा १० भाई समुह चलाएका नेताहरूको अवस्था बिजोग भएको अध्यक्ष नेपालले टिप्पणी गरे । ‘त्यहाँ हेर्नुस त १० भाईको कस्तो बिजोग छ रु १० भाई भन्यो भने कोइकोइ भन्छन् बहिनी पनि त छन् नि–दिदी । यो तपाईहरू आफू जान्नुहोस्,’ उनले भने ।

    आफूले पार्टी स्थापना गरेपछि जहीँतहीँ बाक्लो भीड लागिरहेको उनले बताए ।

  • प्रचण्डपथमा माधव नेपाल- पद र अवसरमा नातागोता हाबी हुँदै

    प्रचण्डपथमा माधव नेपाल- पद र अवसरमा नातागोता हाबी हुँदै

    काठमाडौं । संयोग नै मानौं,विहीवारको मन्त्रिपरिषद बैठकले सत्ता गठबन्धनका शीर्ष नेताहरुका पारिवारिक सदस्यलाई विभिन्न नियुक्तिमा अवसर दियो । किस्ता किस्तामा सार्वजनिक भएको निर्णय अनुसार माओवादी अध्यक्ष प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रियसभा सदस्यमा मनोनित भए ।

    सोही दिनको निर्णयबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका बहिनी ज्वाइँ कैलाश पोखरेल र माओवादी नेतृ तथा मन्त्री पम्फा भुसालका बहिनी ज्वाइँ बासुदेव मिश्र पनि राजदूत नियुक्तिका लागि सिफारिस भए ।

    प्रधानमन्त्री शेरवहादुर देउवाको युवाकालीन मित्र ज्योति प्याकुरेल पनि राजदूत नियुक्तिका लागि सिफारिस हुँदै सबैभन्दा बढी चर्चा भने माधव नेपालका ज्वाइँले अवसर पाएकोमा भयो । जबकी विवादस्पद र स्वार्थ बाझिने व्यक्तिहरु राजदूतमा नियुक्ति सिफारिस भएका छन् ।

    तर चर्चा भने माधव नेपालको बिधि पद्दति अन्ततः आफन्त र नातागोताको नियुक्तिका लागि रहेछ भनेर उडाउने ढंगले भइरहेको छ । के माधव नेपालले यसपटक पार्टी बनाइसकेपछि आफन्त र परिवारलाई प्राथमिकता दिएका हुन् त ? नेकपा एसभित्रै पनि यसबारेमा चर्चा हुन थालेको छ ।

    माधव नेपालमाथि आरोप लगाउनुअघि केही नियुक्ति र जिम्मेवारी पाएका व्यक्तिहरु हेरौं,जसका कारण माधव नेपालमाथि पार्टीलाई आफ्ना मान्छे भर्ति गर्ने अवसरका रुपमा प्रयोग गरेको आरोप लागिरहेको छ ।

    माधव नेपालका बहिनी ज्वाइ पोखरेलले राजदूत नियुक्ति अवसर पाएकै दिन गोविन्द बन्दी कानून मन्त्री बने । बन्दी माधव नेपालको पारिवारिक नातेदार हुन् । माधव नेपालकी छोरी र नेकपा एसकै सांसद तथा पूर्व मन्त्री सोम प्रसाद पाण्डेका छोराबीच विहे भएपछि यी दुई नेता सम्धी बने ।

    पार्टी विभाजनमा लाग्ने पटक्कै इच्छा नहुँदा नहुँदै पनि पाण्डे अहिले नेकपा एसमा छन् । उनी विभाजनको बेला सनाखत गर्न समेत अन्तिममा पुग्दा अवसर पाएनन् र अदालतको आदेशका आधारमा अहिले एसमा छन् । माधव नेपालसँग पारिवारिक सम्बन्ध नै बिग्रने भएपछि आफू एमालेबाट बाहिरिएको उनले केही नेतालाई बताएका थिए ।

    तीनै सोम प्रसाद पाण्डे र नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दी साँढु हुन् । सोम पाण्डेकी पत्नीको निधन भइसकेको छ । बहिनी रक्षा बस्याल बन्दीको श्रीमती हुन् । त्यहि नाताका कारण बन्दी माधव नेपालको रोजाइमा परेको बताइन्छ ।

    बन्दीलाई मन्त्री बनाउन माधव नेपालले नेकपा एमाले विभाजन अघि नै निर्दलीय व्यक्तिका रुपमा सिफारिस गरेका थिए । अहिले नेकपा एसका धेरै निर्वाचित सांसद मन्त्रीका आकांक्षी हुँदाहुँदै बन्दीले चान्स पाए ।

    यो पछिल्लो नियुक्ति हो । एमाले विभाजन नहुँदै माधव नेपालले आफ्नो कोटाबाट लामो समयदेखि स्वकीय सचिवको भूमिका रहेका र पारिवारिक नाता समेत पर्ने यादवचन्द्र शर्मालाई वागमति प्रदेश प्रमुखका नियुक्ति दिलाए । त्यसबेलै माधव नेपाल निकट नेताहरुले आलोचना गरेका थिए ।

    यादवको नियुक्तिपछि नेकपा एस बन्यो । एसको केन्द्रीय समितिमा कान्छा भाइ सरोज कुमार उपाध्याय र गोविन्द बन्दी पनि समेटिए । तर बन्दीले केन्द्रीय सदस्य बस्न अश्वीकार गरे । उपाध्याय अहिले नेकपा नेकपा एसको इन्जिनियर विभागको इन्चार्ज छन् । नेपालका अर्का स्वकीय सचिव मोहन गौतम पनि केन्द्रीय सदस्य छन् । उनी भने राजनीतिक योग्यताकै आधारमा बनेका हुन् ।

    त्यसो त माधव नेपालका माइला भाइ अनिल कुमार उपाध्याय पनि कृषि विकास वैंकको सिइओ छन् । तर उनको नियुक्ति भने केपी ओली नेतृत्वको सरकारकै पालामा भएको थियो । अनिललाई माधव नेपाल आफू प्रधानमन्त्री भएका बेला नियम संशोधन गरेर हङकङको महावाणिज्य दूत बनाउँदा पनि विवाद भएको थियो ।

    नेकपा एसका नेताहरुबीच माधव नेपालले आफन्त र झलनाथ खनालले ‘मालवाला’ खोजेर नियुक्ति दिने गरेको भन्दै आलोचना हुने गरेको छ । माओवादी अध्यक्ष प्रचण्डमाथि परिवारवादको आरोप लाग्नेृ गरेकोमा पछिल्लो समय माधव नेपाल पनि प्रचण्डपथमा हिँड्न लागेको नेकपा एसका एक नेताले बताए ।

     

  • माधव नेपालसहित चार सांसद पक्ष रहेको मुद्दामा सुनुवाइ हुँदै

    माधव नेपालसहित चार सांसद पक्ष रहेको मुद्दामा सुनुवाइ हुँदै

    काठमाण्डौं । नेकपा (एमाले)बाट अगल भएर छुट्टै दल नेकपा (एकीकृत समाजवादी) स्थापना गरेको लामो समयपछि एमाले वरिष्ठ नेताको हैसियतबाट माधवकुमार नेपालले दायर गरेको रिट निवेदनमा बिहीबार सुनुवाइ हुँदै छ ।

    रिट निवेदक नेपालसँगै एमाले उपाध्यक्ष भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे रहेका छन् ।

    उनीहरू पक्ष रहेको रिटको न्यायाधीश द्वय टंकबहादर मोक्तान र नहकुल सुवेदीको इजलासमा हुँदै छ ।  तत्कालीन एमालेमा असन्तुष्ट रहँदा उनीहरूले पार्टीले स्पष्टीकरण सोधेर सांसद पदबाट हटाउने गरिएको कारबाही प्रक्रिया सुरु गरेपछि रोक्न माग गर्दै  २०७८  वैशाख ९ मा रिट दायर गरेका थिए ।

    रिटमा प्रारम्भिक सुनुवाइ गर्दै  २०७८ वैशाख १३  मा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले सांसद पदबाट नहटाउनु भन्ने निवेदकहरूको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

  • माधव नेपाललाई ओलीको कटाक्ष: हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ? (भिडिओ)

    माधव नेपाललाई ओलीको कटाक्ष: हामीले दिएको झुम्के बुलाकी फुकाल्नु पर्दैन ? (भिडिओ)

    काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले लगाएदिएको ‘झुम्के बुलाकी’ लाएरै माधवकुमार नेपालसहितले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएका भन्दै कटाक्ष गरेका छन् ।

    राजीनामा नदिइ देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत दिएकोतर्फ लक्षित गर्दै भने ‘उहिले उहिले श्रीमतीले श्रीमान् मन परेन र अर्कोसँग विहे गर्ने मन भए गहना फुकालेर दिन्थे, अनि, हामीले दिएको झुम्के बुलाकी लगाएर जाने ? फुकाल्नुपर्दैन ?’

    उनले देउवा नेतृत्वको सरकारलाई दक्षिणपन्थीको संज्ञा दिएका छन् । यस्तो सरकार बनाउन माधव नेपालले संसद्को पछाडि बसेर लुसुक्क–लुसुक्क मत दिएको आरोप लगाए ।

    अध्यक्ष अ‍ोलीले एमालेको सरकारले गरेको राम्रा काम मात्रै जनतालाई सुनाएर मत माग्न आग्रह गरे । सरकारको भने खान मात्रै चिन्ता रहेको टिप्पणी गरे ।

  • होली मनाउँदै माधव नेपालले भने: आउने चुनावमा कलमले कमाल देखाउँछ (भिडिओ)

    होली मनाउँदै माधव नेपालले भने: आउने चुनावमा कलमले कमाल देखाउँछ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कलमले कमाल देखाउने बताएका छन् । होली पर्वका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा कलम चुनाव चिह्नलाई जनताले साथ दिने बताए ।

    निर्वाचनमा प्रगतिशील र प्रतिगामीबीच प्रतिस्पर्धा हुने भन्दै नेपालले जनताले प्रगतिशील विचारलाई साथ दिनुपर्ने बताए । ‘आउने चुनावले जनतालाई फैसला गर्ने अधिकार दिएको छ । प्रगतिशील भूमिका खेल्नेहरुलाई अवसर दिनुपर्छ भने प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ’ नेपालले भने ।

    सो क्रममा नेता नेपालले समाजवादीको चुनाव चिह्न कलम सत्य र न्यायको प्रतीक रहेको उल्लेख गरे । ‘सत्य र न्यायको प्रतीकका रुपमा रहेको कलमले अबको चुनावमा कमाल गर्नुपर्छ । कलमको प्रचार र पार्टीको संगठन निर्माणमा हामी सक्रिय भएर लागौं’, उनले भने ।

    सो क्रममा अध्यक्ष नेपालले क्षणिक स्वार्थका लागि सञ्चारमाध्यमहरुले सत्यको संप्रेषण गर्न छाड्न नहुने बताए ।

  • माधव नेपालको दावीः केपी ओलीले देश झण्डै सिध्याएका थिए, हामीले बचायौं

    माधव नेपालको दावीः केपी ओलीले देश झण्डै सिध्याएका थिए, हामीले बचायौं

    काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौता यथास्थितिमा पारित हुन नसक्ने अडान दोहोर्‍याएका छन् ।

    एमसीसीलाई इन्डो प्यासेफिक रणनीतिको अंग बनाउने गरी केपी ओलीको सरकारले सम्झौता गरेको र आफूहरुले त्यो षडयन्त्रलाई भत्काएको उनले दावी गरे ।

    पार्टीनिकट प्राध्यापकहरुको संगठनलाई सम्वोधन गर्दै विशुद्ध आर्थिक सहयोगको परियोजनाका रूपमा मात्रै एमसीसी स्वीकार गर्न सकिने बताए । सरकारभन्दा देश र जनताको स्वाभिमान ठूलो कुरा हुने उनको भनाइ छ ।

    नेपालले भने, ‘एमसीसीलाई इन्डो प्यासेफिकको अंग बनाएको केपी ओलीको सरकारले हो । ओली सरकारका मन्त्री प्रदिप ज्ञवालीले यस्तो कागजमा सही गरेर आएका हुन् । हामीले जोडदार विरोध गरिसकेपछि अहिले बाइडेनको सरकारले त्यसबाट नेपालको नाम काट्न लगाए । नत्र त केपी ओलीले सिध्याइसकेका थिए नेपाललाई ।’

    नेपाल कुनै पनि देशको सुरक्षा रणनीतिको अंग बन्न नसक्ने नेपालले स्पष्ट पारे । छिमिकी राष्ट्रको सुरक्षामा आँच आउने गरी नेपालले कुनै पनि काम गर्न नसक्ने पनि उनको भनाइ थियो ।

    यद्यपि, एमसीसी सम्झौता निशर्त हुनुपर्छ भनेर आफूहरुले नभनेको नेपालले बताए । उनले भने, ‘जुन उद्देश्यका लागि अनुदान दिइएको छ, त्यसमै खर्च हुनुपर्छ भन्ने कुरालाई चाहिँ अनुचित मान्नु हुँदैन ।’

    नेपालले एमसीसी सम्झौताको विषयलाई जोडेर एमालेले सभामुख र आफूसहित पार्टीका नेताहरुलाई अपदस्थ गर्न खोजेको भन्दै आपत्ति जनाए । उनले यसलाई अपराधिक मानसिकताको संज्ञासमेत दिए । आफूहरुका लागि सरकारभन्दा देश र जनता ठूलो हुने उनको भनाइ छ ।

     

  • प्रचण्डको फोनपछि पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौं फर्किए माधव नेपाल

    प्रचण्डको फोनपछि पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौं फर्किए माधव नेपाल

    काठमाडौं । राजनीतिक सरगर्मी बढेसँगै पार्टीका विभिन्न कार्यक्रमका लागि कैलाली गएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौं आएका छन् ।

    सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच सहमति हुने करिब निश्चित भएपछि माधव नेपाल पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौं आएका हुन् ।

    सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको टेलिफोन संवादपछि नेपाल काठमाडौं आउन लागेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।

    नेपालसँगै नेकपा एसका नेता एवम् पर्यटनमन्त्री प्रेम आले र नेतृ गरिमा शाह पनि गएका थिए ।

    उनीहरु हिजो धनगढीमा आयोजित युवा संघ र महिला संघको कार्यक्रममा सहभागी थिए । आज माधव नेपाल पार्टीको बुद्धिजिवी परिषद्को कार्यक्रममा प्रमुख अतिथि हुने कार्यक्रम तय थियो ।

    कांग्रेसले गठबन्धनको औचित्य सकिएको निष्कर्ष निकालिरहँदा माधव नेपाल भने अझै गठबन्धन तोडिनु नहुने लाइनमा छन् ।

  • माधव नेपालको गाडी छेक्दै युवाले भने- एमसीसी खारेज गर (भिडिओ)

    माधव नेपालको गाडी छेक्दै युवाले भने- एमसीसी खारेज गर (भिडिओ)

    काठमाडौं । सत्ता गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई केही युवाहरूले अमेरिकी सहायता परियोजना (एमसीसी) खारेज गर्न आग्रह गरेका छन् ।

    पार्टीनिकट अनेरास्ववियूले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा केही युवाहरूले नेपालको गाडी रोक्दै एमसीसीबारे धारणा मागेका थिए ।

    उनीहरूले एमसीसी खारेज गर्नुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।

  • पार्टी र कार्यकर्ताबाट हार खाएर माधव नेपालले एमाले त्यागे : पृथ्वीसुब्बा गुरुङ

    पार्टी र कार्यकर्ताबाट हार खाएर माधव नेपालले एमाले त्यागे : पृथ्वीसुब्बा गुरुङ

    लुम्बिनी । नेकपा एमालेका उपमहासचिव एवं पृथ्वीसुब्बा गुरुङले पार्टी र कार्यकर्ताबाट हार खाएर माधव नेपालले पार्टी त्यागेको टिप्पणी गरेका छन् ।

    लुम्बिनीमा भएको प्रेस चौतारी नेपालको विस्तारित केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेता गुरुङले नेपालले एमालेलाई आरोप लगाए पनि विकल्प भने दिन नसकेको बताए ।

    ‘माधव नेपालले पटक-पटक विभिन्न आरोप लगाउनुभो तर विकल्प कहिल्यै दिनुभएन’, उनले भने, ‘अन्तिममा पार्टी र कार्यकर्ताबाट हार खाएर एमाले नै त्याग्नुभयो ।’

  • ओलीलाई कंस, रावण र हिटलरसँग तुलना गर्दै माधव नेपालले भने – वाक्क भएर विद्रोह गर्‍यौं (भिडिओ)

    ओलीलाई कंस, रावण र हिटलरसँग तुलना गर्दै माधव नेपालले भने – वाक्क भएर विद्रोह गर्‍यौं (भिडिओ)

    सल्यान । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अब इतिहासको विषय भइसकेको भन्दै सूर्य चिन्हमा ग्रहण लागिसकेको टिप्पणी गरेका छन् ।

    सल्यानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा अब कोही पनि बस्न नसक्ने दाबी गरे । नेपालले एमाले अध्यक्ष केपी ओलीलाई कंस,रावण र हिटलरसँग तुलना गर्दै आफूहरू वाक्क भएर विद्रोह गरेको बताए ।

    नेपालले भने, ‘सूर्यमा ग्रहण लागिसक्यो । अब कलम लिएर आएका छौं, अबको चुनावमा सूर्यमा होइन कलममा भोट हाल्नुपर्छ । एमाले त अब समाप्त भइसक्यो ।’

    ओलीप्रति चरम घृणा प्रकट गर्दै नेपालले देशकै खराब नागरिकको संज्ञा दिए । अब एमालेलाई कसैले पनि भोट नदिने भन्दै सबै जनता नेकपा एसको पक्षमा उभिएको दाबी नेपालले गरे ।

  • सभामुखलाई माधव नेपालको ढाडस-  अघि बढ्नुस्, हामी तपाईंको साथमा छौं

    सभामुखलाई माधव नेपालको ढाडस-  अघि बढ्नुस्, हामी तपाईंको साथमा छौं

    कास्की । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताएका छन् । नेकपा एमालेद्वारा जारी संसद अवरोधलाई लक्षित गर्दै नेपालले सभामुखलाई दृढताका साथ अघि बढ्न आड दिएका छन् ।

    नेकपा एस गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा उनले कानुनको शासनपालना गर्ने र संविधानको सर्वोच्चताको स्वीकार गर्नेहरूले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुपर्ने बताए । उनले भने, ‘सभामुखज्यू तपाईं एक्लो हुनुहुन्न, तपाईंको साथमा हामी पनि छौँ । दृढताका साथ अगाडि बढनुहोस् ।’

    तत्कालीन एमाले पार्टीबाट विद्रोह गरेर कम्युनिष्ट आन्दोलन जोगाउन र बचाउन कानूनको आधारमा साहसिक कदम चालिएको उनको दाबी छ । उनले नेपालको राजनीतिमा कम्युनिष्ट पार्टीलाई स्थापित गर्दै माक्र्सवाद र लेनिनवादप्रति पूर्ण प्रतिबद्ध रहेर कम्युनिष्ट मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गरी बेतिथि, गरिबीलाई समाप्त गरेर सुन्दर समाजको निर्माणमा आफ्नो पार्टी लाग्ने बताए ।

    कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले गण्डकी प्रदेशमा आगामी दिनमा एकीकृत समाजवादीलाई पहिलो पार्टीका रुपमा स्थापित गरिने दाबी गरे ।
    – रासस

  • सत्तागठबन्धनका नेताको आक्रोश- विघटन सही सिद्ध गराउन संसदमा एमालेको अवरोध

    सत्तागठबन्धनका नेताको आक्रोश- विघटन सही सिद्ध गराउन संसदमा एमालेको अवरोध

    काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरूले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले निरन्तर संसद अवरोध गरेर विघटनलाई सही सिद्ध गर्न खोजेको भन्दै आक्रोश पोखेका छन्।

    लामो समयदेखि संसद अवरुद्ध पार्दै आएको एमालेले हिजो सुरू भएको हिउँदे अधिवेशनको पहिलो बैठमा पनि त्यसलाई निरन्तरता दिएपछि नेताहरुले आक्रोश पोखेका हुन् ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता एमव् सत्तारुढ गठबन्धनले बनाएको राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले दुई-दुई पटक गरेको संसद विघटन सही सिद्ध गर्न निरन्तर संसद अवरोध गरेको आरोप लगाएका छन् ।

    ‘६ महिनाको समयमा दुई-दुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गर्दैछन्,’ पौडेलले समाजिक संजालमार्फत भनेका छन्, ‘संसद चलाउँछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतिका सामु समर्पण गरेको ठहर्नेछु ।’

    पौडेलले यसालई आपत्तिजनक क्रियाकलाप भन्दै यसतर्फ सचेत रहन नागरिकको ध्यानाकर्षण गराएका छन् ।

    त्यस्तै सत्तारुढ गठबन्धनको अर्को सहयात्री दल माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि एमालेको आलोचना गरेका छन् । ‘नेकपा (एमाले) ले संघीय संसदको बैठक लगतार अवरुद्ध गरिरहेर लोकतन्त्रलाई लज्जास्पदरूपमा प्रहार गरिरहेको छ,’ श्रेष्ठको टिप्पणी छ, ‘अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठ हो यो। लोकतान्त्रिक मान्यतालाई आत्मासात गर्दै संसद सुचारु गर्न नेकपा(एमाले) लाई गम्भीर अपील गर्दछु ।’

    गठबन्धनका अर्का नेता नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले इटहरीमा आयोजित एक कार्यक्रममा संसद अवरुद्ध गर्नुको औचित्य नरहेको बताएका छन् । लोकतन्त्रको रक्षाका लागि वामपन्थी तथा लोकतान्त्रिक गठबन्धन एवं प्रतिगमनकारी र दक्षिणपन्थीको गठबन्धन रहेको नेपालको भनाइ छ ।

    नेकपा एमालेले संसद् अवरुद्ध गरेका विषयमा सञ्चारकर्मीले राखेका प्रश्नको जवाफ दिँदै नेपालले कुनै पनि दलले संसद अवरुद्ध गर्नुको औचित्य नरहेको स्पष्ट पारे ।

  • माधव नेपालको आरोप– केपी ओली राजतन्त्र फर्काउन चाहन्छन्

    माधव नेपालको आरोप– केपी ओली राजतन्त्र फर्काउन चाहन्छन्

    रुपन्देही । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको भूत जोगाउने कोसिस भइरहेको र त्यसको संरक्षण नेकपा एमाले तथा केपी ओली समूहले गरेको आरोप लगाएका छन् ।

    समाजवादी प्रेस संगठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले भने– भूतको संरक्षण सुरु भएको छ, सलबलाउन र सहकार्य गर्ने भनेर वाणीहरु आइरहेको छन्, केही गतिविधि सुरु भएका छन्, यसले अग्रगामी शक्तिहरुलाई थप बलियो बनाउँछ ।

    एमाले, राप्रपा र पूर्वराजाप्रति आक्रोशित बनेका नेता नेपालले पूर्वराजा ज्ञानेन्द्रलाई भने– किन बरबराएको ? चुपचाप बस्ने, नभए राप्रपामा आएर राजनीति गर्ने कि नयाँ दल खोल्ने ।

    इतिहासमा हराएका शक्तिलाई खोजीखोजी ल्याउने प्रयत्न नगर्न राप्रपा र एमालेलाई आग्रह गर्दै उनले आन्दोलनबाट प्राप्ति उपलब्धीलाई असफल पार्न कसैले नसक्ने बताए ।

    त्यस्तै उनले राष्ट्रियसभा चुनावमा गठबन्धन मिलेर उम्मदवारी तयार गर्ने समेत बताए । कतिपयले गठबन्ध टुटाउने प्रयाससमेत गरेको बताउँदै गठबन्धन नटुट्ने उनको भनाइ छ ।

    नेता नेपालले भने – ‘केपी ओलीविरुद्धको गठबन्धन एउटा मोर्चा हो, यो मोर्चा टुटाउन केही व्यक्ति लागेका पनि छन्, विषबमन पनि गरेको सुन्छौं गठबन्धनका विषयमा तर ख्याल रहोस् आगामी सबै तहका निर्वाचनमा ढुक्कसँग गठबन्धन कायम रहन्छ, एमालेलाई खोज्ने बनाउँछौं ।’

  • ओलीको भाषण नसुनी उठेर हिँडे माधव नेपाल

    ओलीको भाषण नसुनी उठेर हिँडे माधव नेपाल

    काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एकसाथ मञ्चमा देखिए । तर, ओलीको भाषण नसुनिकन नेपाल उठेर हिँडेका छन् ।

    करिब पाँच महिनापछि पहिलोपटक आली र नेपालले मञ्च सेयर गरेका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि एक वर्षपछि ओलीसँगै देखिए । नेपाल र प्रचण्ड ओलीभन्दा पहिल्यै कार्यक्रमस्थलमा उपस्थित भएका थिए । ओली आउँदा कांग्रेस अध्यक्ष शेरबहादुर देउवाले उठेर स्वागत गरेका थिए भने नेपाल र प्रचण्डले बसीबसी नमस्कार गरेका थिए ।

    नेपाल र प्रचण्डले गरेको भाषण ओलीले सुने । उनीहरू दुवैले आलीप्रति परोक्ष कटाक्ष गरेका थिए । ओलीले बोल्ने पालोमा भने नेपाल उठेर हिँडिसकेका थिए । प्रचण्डले भने ओलीको भाषण सुन्ने धैर्यता देखाए ।

  • एमालेले देश र जनतालाई भुलेपछि त्याग्नुपर्‍यो : माधव नेपाल

    एमालेले देश र जनतालाई भुलेपछि त्याग्नुपर्‍यो : माधव नेपाल

    जनकपुरधाम । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा एमाले त्याग्नुपरेको बताएका छन् ।

    धनुषाको शहिदनगर नगरपालिकाको तिनकोरियामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘नेकपा एमाले विदेशको दलालीमा लाग्यो । त्यसैले घर त्यानुपरेको छ । र अहिले सत्य र न्यायका लागि नयाँ पार्टी गठन गरी अगाडी बढेका छौं ।’ उनले न्याय र सत्यको जीत हुने पनि बताए ।

    ‘५२ वर्षदेखि कम्यूनिष्टमा लागेका छौं’, उनले भने, ‘ठूला ठूला काम गरेका छौं । राजाको शासन उखेलेर फाल्यौं । भनेका थियौं– जो हमसे टकराएगा चुर चुर होजाएगा ।’

    उनले आफूहरु प्रजातन्त्र, लोकतन्त्र, जनताको अधिकार र सम्मान तथा सत्य मर्यादाको पक्षमा उभेको बताए ।

    उनले नेकपा एकिकृत समाजावदी जहिल्यै जनताको सुःख दुःखमा साथ दिने प्रतिवद्धता जनाए । कृषि क्षेत्रमा क्रान्ति र रोजगारी सृजना गरी सबैको जीवन राम्रो बनाउन आफूहरु लागिपरेको बताए । कलम सत्यको पक्षमा उभिन्छ भन्दै चुनाव चिन्ह कलम लिएर जनतामाझ आएको उनको भनाई थियो ।

    उनले अब पालिका, राष्ट्रियसभा, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने भन्दै चुनावमा जितेपछि जनताको काम गर्ने, सिंचाई र मलखादको व्यवस्था गर्ने पनि बताए ।

    उनले विरोधीले कान लिएर काग भाग्यो भनेपछि कागको पछाडी दौड्न नहुने कार्यकर्तालाई सुझाव दिए । हिम्मत र बुलंदीको साथ अगाडी बढेपछि जित हुने पनि बताए ।

  • माधव नेपालले भने- सर्वोच्चको समस्या समाधानमा प्रधानमन्त्रीले पहल गर्नुपर्छ (भिडिओ)

    माधव नेपालले भने- सर्वोच्चको समस्या समाधानमा प्रधानमन्त्रीले पहल गर्नुपर्छ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या समाधानमा जोड दिएका छन् । त्यसका लागि प्रधानमन्त्रीको हैसियतमा शेरबहादुर देउवाले पहल गर्नुपर्ने नेपालले बताए ।

    नेकपा एस सुदूरपश्चिम कार्यालयको उद्घाटनका लागि धनगढी पुगेका नेपालले पत्रकारसँगको जिज्ञासामा साझा धारणा बनाएर राम्रो वातावरणमा छिटो समाधान हुनुपर्ने बताए ।

    गठबन्धनमा पनि यसबारे छलफल भएको भन्दै नेता नेपालले भने, ‘यसबारे सबै पक्षको ध्यानाकर्षण गराउने निर्णय भएको छ र प्रधानमन्त्रीले यसको निम्ति आफ्नो हैसियतबाट पनि पहल गर्नुपर्छ ।’

  • गन्तव्य चतरा: प्रचण्डले भैँसी पुजेको क्षेत्रमा माधव नेपालको यज्ञ उद्घाटन

    गन्तव्य चतरा: प्रचण्डले भैँसी पुजेको क्षेत्रमा माधव नेपालको यज्ञ उद्घाटन

    इटहरी । २०६६ माघ २९ गते तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ सुनसरीको चतरा आए । पहिलोपटक प्रधानमन्त्री भएका उनले चतरा आएको कुरा हेडलाइन बन्यो । प्रचण्डले चतरा आएर भैँसी पूजा गरे ।

    श्री रामानन्दाचार्य सेवापिठ चतराधाममा आएका प्रचण्डले ज्योतिषी मधुसुधन रिजालको सल्लाह अनुसार भैँसी पूजा गरे । आफूलाई धर्म नमान्ने बताउँने प्रचण्डको भैँसी पूजा देशभर हेडलाइनको विषय बन्यो ।

    नर्वेको द कार्टिक युनिभर्सिटी अफ नर्वेमा ‘शान्ति तथा द्वन्द’ रुपान्तरण विषयमा सन २०१६ मा स्नातकोत्तर गरेका केशव दाहालको थेसिसमा समेत भैँसी प्रकरण अटेको थियो ।

    प्रचन्डको भैँसी पुजा भएको लगभग बाह्र वर्ष पुग्नै लाग्दा शुक्रबार अहिलेको सत्ता गठबन्धनका प्रचण्डका सहयात्री नेकपा एसका अध्यक्ष माधव नेपालले पनि चतरामै आए । यज्ञ उद्घाटन गरे । आफ्नै पार्टीका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसँग आएका नेपालले यज्ञ उद्घाटन गरे ।

    इटहरीका मेयर द्वारिकलाल चौधरीको घरमा भएको भेटघाटदेखि विराटनगर विमानस्थलको पत्रकार सम्मेलनको चर्चामा यज्ञ उद्घाटन गरेको भने चर्चा भएन ।

    प्रथम जगतगुरु पीठ प्राचीत हरिद्धार चतरा धाममा भएको धन धान्यान्चल श्रीमद् भागवत ज्ञान महायज्ञको उद्घाटन गरेका थिए नेपालले । उद्घाटन कार्यक्रमको व्यानरै बनाएर नेकपा एसका भात्रि संगठनहरुको व्यापक प्रचार गरेका थिए ।

  • माधव नेपालको ब्रिफिङ– हाम्रो पार्टीप्रति ह्वात्तै आकर्षण बढ्यो, एमाले छाड्नेको लहर चलेकाे छ

    माधव नेपालको ब्रिफिङ– हाम्रो पार्टीप्रति ह्वात्तै आकर्षण बढ्यो, एमाले छाड्नेको लहर चलेकाे छ

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीप्रति आकर्षण बढेको बताएका छन् । शुक्रबार केन्द्रीय कमिटीका एजेन्डा तय गर्न बसेको स्थायी कमिटी बैठकमा पार्टी गठनदेखि अहिलेसम्मको अवस्थाबारे ‘ब्रिफिङ’ गर्दै उनले अन्य पार्टी छाडेर नेकपा एसमा आउनेको लहर चलेको पनि बताए।

    ‘हामीले पार्टी गठन गरिसकेपछि सबैतिर निकै राम्रो प्रतिक्रिया आएको छ,’ उनको भनाइ छ, ‘सबैतिर नेकपा एमाले छोडेर हाम्रो पार्टीमा आउन तयार हुँदाहुँदै पनि अरुलाई पनि लिएर आउन भनेर उहाँले अलमल गर्नु भएको थियो। त्यस्ता कमरेडहरु पनि अहिले धमाधम आउँदै हुनुहुन्छ ।’

    नेपालले एमाले छाडेर आउने, अन्य पार्टीबाट प्रवेश गर्ने र सहकार्य गर्न चाहनेहरु बढेको बताए। ‘अर्कोतिर विभिन्न पार्टी छोडेर आउनेक्रम पनि जारी छ। र, एमाले छाडेर आउने र अन्य पार्टी छोडेर आउने लहर चलेको छ । र विभिन्न पार्टीहरुसँग हाम्रो कुराकानी पनि चलिरहेको छ,’ नेपालले भने। डडेलधुरामा सिंगै जिल्ला कमिटी नेकपा एसमा आएको उदारण दिँदै उनले यसले आफूहरुमा उत्साह प्रदान गरेको बताए।

    अरु पार्टीले पनि सहकार्यको प्रस्ताव राखेको उनको भनाइ छ । ‘विभिन्न दलले हामीसँग राजनीतिक छलफल गर्नका लागि पनि प्रस्ताव राखेका छन्,’ नेपालले बैठकमा जानकारी गराउँदै भने, ‘कतिपयसँग विभिन्न तहमा छलफल भएका छन् । उहाँहरु हामीप्रति आर्कषित हुनु भएको छ र सहकार्य गर्न चाहानु भएको छ ।’

    नेपालले आफ्ना विरुद्ध एमालेले झुटा प्रचार गरिरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्न पनि आग्रह गरे। ‘हाम्रो विपक्षमा केपी गुट खुलेर लागिरहेको छ,’ उनको भनाइ छ, ‘हाम्रा विरुद्धमा झुटा प्रचार गरिरहेको छ । त्यसको चोटिलो प्रतिवाद गर्ने कुरामा हाम्रोमा कमीकमजोरी भइरहेको छ ।’

  • सूर्यमा ग्रहण लागिसक्यो, चुनावमा गठबन्धनले केपी गुटको पत्तासाफ गर्छ: माधव नेपाल

    सूर्यमा ग्रहण लागिसक्यो, चुनावमा गठबन्धनले केपी गुटको पत्तासाफ गर्छ: माधव नेपाल

    डडेलधुरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको टिप्पणी गरेका छन् ।

    बुधबार आयोजित पार्टीको कार्यक्रममा नेपालले एमालेमा रहँदा आफूले नै सूर्य चिन्ह ल्याएको भए पनि अब त्यसमा ग्रहण लागिसकेको दाबी गरे।

    ‘सूर्य चिन्ह ल्याउने मान्छे मै हुँ,’ नेपालले भने, ‘तर के गर्ने त्यही अहिले सूर्य चिन्हमा ग्रहण लागेको छ । अहिले हामी कलम लिएर अघि बढेका छौं । अब जनताले चिन्ने छन् न्यायको पक्षमा उभिने कलम नै हो ।’

    पाँच पार्टीको गठबन्धन बनेको भन्दै नेपालले आउने चुनावमा ‘केपी ओली गुट’ पत्तासाफ हुने दाबीसमेत गरे । ‘आउने चुनावमा पाँचै पार्टी मिलेर जाने छौं, केपी गुटको पत्तासाफ हुने छ ।’

    ‘आउने चुनावमा केपी गुटको कति सिट आउँछ त्यो टर्च बालेर खोज्नुपर्छ भनेर मैले भनिसकेको छु,’ उनले थपे ।

  • माधव नेपालको दावीः चुनावपछि एमाले भन्ने पार्टी टर्च बालेर खोज्नुपर्छ

    माधव नेपालको दावीः चुनावपछि एमाले भन्ने पार्टी टर्च बालेर खोज्नुपर्छ

    हेटौँडा। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्ने दावी गरेका छन् । शनिबार हेटौँडामा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ‘एमाले पत्तासाफ हुने’ भन्दै आफ्नो पार्टी शक्तिका रुपमा उदाउने पनि दावी गरे ।

    ‘हामी यो देशको महत्वपूर्ण शक्तिको रुपमा उदाउँदैछौं,’ नेपालले भने, ‘केपी ओलीको समूह आउने चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुग्न गइरहेको छ।’

    उनले अगाडि थपे, ‘दम्भको घडा फुट्नेवाला छ। केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौजमा लागेका छन्। उनीहरूको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन्। हामी त्यस्तो गर्ने छैनौं ।’

    नेपालले पाँच दलीय गठबन्धनको संरचना बनाउने र त्यसलाई आउँदो चुनावसम्मका लागि केन्द्रदेखि स्थानीय स्तरसम्म विस्तार गर्ने पनि बताए।

  • कार्यकर्तालाई माधव नेपालले भनेः ढुक्क हुनुस्, हामी अरु पार्टीमा मिसिने छैनौं

    कार्यकर्तालाई माधव नेपालले भनेः ढुक्क हुनुस्, हामी अरु पार्टीमा मिसिने छैनौं

    काठमाडौं । नवगठित नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुसँग मिसिने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । सत्तारुढ पाँचदलीय गठवन्धन भने कायम रहने उनले बताए ।

    पार्टीको पहिलो केन्द्रीय समिति बैठकमा बोल्दै नेपालले आफ्नो पार्टीको संगठन देशव्यापीरुपमा फैलिरहेको दावी गरे । ‘हामीलाई कसैसँग मिसिनुपर्ने आवश्यकता छैन,’ नेपालले भने, ‘यदि कसैले भ्रम फैलाउन खोज्छ भने हामीलाई नसोधी सिधै खण्डन गरिदिनुभए हुन्छ । पत्रिकामा यस्तो आयो भनेर अलमलमा पर्नु पर्दैन ।’

    पार्टीले व्यापक कार्यकर्ताको संगठन बनाएको भन्दै नेपालले यसलाई सशक्त र प्रभावकारी बनाउन निर्देशन दिए । उनले पाँच दलीय गठवन्धन नटुट्ने समेत बताए ।

    ‘सरकारलाई समर्थन गरेका सबै दलहरुसँग हाम्रो सुमधुर सम्बन्ध छ, यो गठबन्धन टुट्ने छैन,’ नेपालले भने ।

  • माधवको एमाले सिध्याउने अर्को असफल प्रयास

    माधवको एमाले सिध्याउने अर्को असफल प्रयास

    अब यो निष्कर्ष निकाल्न सजिलो छ कि एमाले सिध्याउने माधव नेपालको सारा प्रयास ब्यर्थ हुने छ । सिर्जनाभन्दा विनासका लागि जन्मिएको उनको दलले गर्नैसक्ने जति विनास गरिसकेको छ । अब त्यो दल ‘रन वे’मै हराउनेछ । यसले राजनीतिक उडान भर्ने सम्भावना लगभग सकिएको छ ।

    करिब ७० बर्षको उमेरमा माधब नेपालले मञ्चन गरेको कुरूप राजनीतिक दृश्य धेरैलाई रुचेको छैन । सार्वजनिक स्थलमा उनको जुन मुखाकृति देखिन्छ, त्यो पश्चातापको प्रतिबिम्ब हो ।

    चार वर्षदेखि उनका हरेक कदमले एमाले र एमालेका शुभचिन्तक एवम् सहयोगीहरुलाई दुःखी बनाएको छ भने उसका दुश्मनहरुलाई हर्षित । करिब ९५ प्रतिशत एमाले समर्थक उनको कदमलाई रुचाउँदैनन् ।

    पदको लोभमा गरिएको विभाजन औचित्यहीन छ । माधव नेपाल देउवा र प्रचण्डबाहेक सबका अगाडि रक्षात्मक स्थितिमा छन् । र सशंकीत पनि छन् । किनकि, देउवा–प्रचण्डले जुनकुनै बेला माधव नेपालको साथ छाड्न सक्छन् ।

    कसैकसैले उनको पार्टीलाई ‘कुण्ठा समाजवादी’को नाम दिएका छन् । उनको दलप्रति एमालेबाट निर्वाचित प्रतिनिधि र अन्य सार्वजनिक व्यक्तित्वले देखाएको उदासिनता देखाएका छन् ।

    यसले उक्त दलका लागि भविष्यमा दरिद्र स्थितिमा पुर्याउने निश्चित छ । एमालेले विगतका विभाजनबाट धेरै सिकेको छ । पार्टी फुटाउनेहरुको स्थिति सबैलाई थाहा छ ।

    करिब १७ हजार निर्दोष नेपालीको हाताहतीको कालो धब्बा लागेको माओवादी अझै उदण्ड छ । उसले एमाले एकताको भर्याङ चढेर धेरै सर्वाजनिक पदको मर्यादा स्खलित गरेको छ । माओवादीलाई भविष्यको चिन्ता छैन, किनभने ऊ डिलमा पुगिसकेको छ । त्यसले माओवादी जसरी पनि एमाले सिध्याउने दाउमा छ ।

    अतिस्वार्थी प्रचण्ड नेतृत्वको माओवादीसँग एमालेले एकता नै गर्नु हुँदैनथ्यो । त्यसैले त माओवादीसँगको एकता भंग हुँदा धेरै एमालेले खुसी मनाए ।

    सर्वसत्तावादी कांग्रेसको व्यवहारबाट पनि एमाले कार्यकर्ता प्रडाडित छन् । अबको चुनावमा एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग नै हुने हो । अब फेरि पनि कांग्रेसले एमालेलाई दुख दिनेछ । त्यस्तो कांग्रेससँग माधव नेपालले घाँटी जोड्नु स्वभाविक होइन ।

    अहिले नेपालको राजनीतिक दुई ध्रुवमा विभाजित छ । एक, एमाले, अर्को एमालेइतर । अरु सम्पूर्ण शक्ति एमालेलाई कमजोर बनाउन लाग्नेछन् । यस्तो एमाले एकढिक्का हुनुको विकल्प छैन ।

    आवेश वा उत्तेजनामा एमाले छाडेकाहरु पनि एमालेमै फर्कनु बुद्धिमानी हुनेछ । माधव नेपाल र केही सीमित मान्छेहरु जसरी पनि एमाले सिध्याउनै लागेका थिए । विगतमा पार्टीको नेतृत्व गर्दा पनि माधव नेपालले एमालेलाई निकै कमजोर बनाएकै हुन् ।

    निर्वाचित जनप्रतिनिधि र अधिकांश कार्यकर्ता एकताकै पक्षमा हुँदा पनि माधव नेपालले पार्टी फुटाएरै छाड्ने नीति लिनु गलत थियो । अहिले उनलाई पार्टी फुटाउनुपर्ने औचित्य पुष्टि गर्न निकै कठिन छ ।

    कुनै विचार, सिद्दान्त नमिलेर पार्टी फुटाउने निर्णयमा पुगेका होइनन्, माधव नेपाल । मात्रै पदीय भागबण्ड र पार्टी अध्यक्ष ओलीप्रतिको इगोबाहेक उनीसँग कुनै त्यस्तो कारण छैन ।

    माधव नेपालले कुनै पनि कार्यक्रममा भाषण गर्दा विकासको, समृद्धिको कुरा गर्दैनन् । आफूहरुलाई भाग दिइएन, अपमान गरियो भन्दाबाहेक केही भन्दैनन् ।

    महाधिवेशनबाट निश्चित समयका लागि चुनिएका अध्यक्षलाई स्वीकार्नै नसक्नु उनको ठूलो कमजोरी थियो । एमाले सिध्याउन खोजेमा माओवादी अध्यक्ष प्रचण्डसँगको साँठगाँठ निश्चय नै अस्वभाविक थियो । वास्तवमा प्रचण्ड र माधव नेपालको मिसन एउटै थियो, एमालेको नामोनिसान मेटाउने । तर, उनीहरुको त्यो मिसन असफल भइसकेको छ ।

    नीति, पद्धति, र सिद्धान्तको रोमाञ्चकारी बखान गर्ने माधव मण्डली ओलीलाई शक्तिबाट हटाएर आफ्नो सत्ता मजबुत गर्न प्रचण्ड र देउवाको चरणमा पुगेसँगै उनीहरुको पाखण्डपन मुखरित आयो ।

    संसदले कामै गर्न नसक्ने भएपछि ताजा जनादेशमा जाने कुरा स्वभाविक थियो । तर त्यहीं निहुँमा माधव–प्रचण्ड देउवा शरणमा गए । त्यो ठीक थिएन ।

  • भागबण्डा विवाद मिलाउन प्रचण्ड सक्रिय, हात्तीवनमा माधव र उपेन्द्रसँग छलफल

    भागबण्डा विवाद मिलाउन प्रचण्ड सक्रिय, हात्तीवनमा माधव र उपेन्द्रसँग छलफल

    काठमाडौं । सत्तारुढ गठबन्धनका कांग्रेसबाहेक अन्य तीन शीर्ष नेताबीच सरकारमा सहभागिता र एमसीसी विवादबारे छलफल भएको छ ।

    हात्तीवनस्थित सिटी स्केप अपार्टमेन्टमा माओवादी अध्यक्ष प्रचण्ड,नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हो । छलफलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् ।

    एमसीसीका सन्दर्भमा कांग्रेस र सत्ता गठबन्धनका अन्य दलबीचमै कुरा मिलेको छैन । त्यस्तै माधव नेपाल र उपेन्द्र यादवबीच मन्त्रालय बाडफाँडमा समेत विवाद भएकाले प्रचण्डले मध्यस्थता गरिरहेका छन् ।

    प्रचण्डकै पहलमा आजको वार्ता भएको स्रोतले जनाएको छ । उद्योग र भौतिक पूर्वाधार मन्त्रालयमा दुवै दलले दावी गरेका छन् । यसअघि सत्तारुढ गठबन्धनको बैठकमै नेपाल र यादवबीच विवाद भएको थियो ।

  • एकीकृत समाजवादीलाई झलनाथको साथ

    एकीकृत समाजवादीलाई झलनाथको साथ

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले माधव नेपाल नेतृत्वमा नवगठित नेकपा (एकीकृत समाजवादी) प्रति समर्थन जनाएका छन् ।

    हाल नयाँ दिल्लीको एपोलो हस्पिटलमा उपचाररत खनालले नयाँ पार्टीलाई साथ र समर्थन हुने बताएको उनको निजी सचिवालयले जनाएको छ।

    नवठित पार्टीमा खनाल वरिष्ठ नेता प्रस्ताव गरिएका छन् ।

  • सनाखतका लागि माधव नेपाल र महन्थ ठाकुरलाई आयोगले बोलायो

    सनाखतका लागि माधव नेपाल र महन्थ ठाकुरलाई आयोगले बोलायो

    काठमाडौं । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूलाई सनाखतका लागि भदौ ९ गते बोलाइएको छ ।

    निर्वाचन आयोगले भदौ ९ गते सम्बन्धित दलको केन्द्रीय समितिमा रहेका नेताहरुलाई नागरिकतासहित सनाखतका लागि उपस्थित हुन निर्देशन दिएको छ । सनाखत सम्पन्न भएपछि आयोगले प्रक्रिया पुर्‍याएर नयाँ दल दर्ताको प्रमाणपत्र दिनेछ ।

    राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेश जारी भएपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल दर्ताको निवदेन आयोगमा दिइएको छ । त्यस्तै जसपा नेपालका महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि पनि आयोगमा निवेदन परेको छ ।

  • आयोगलाई एमालेले भन्यो- निष्कासित भइसकेका ९ जनाले दल विभाजनमा गरेको हस्ताक्षर गैरकानूनी

    आयोगलाई एमालेले भन्यो- निष्कासित भइसकेका ९ जनाले दल विभाजनमा गरेको हस्ताक्षर गैरकानूनी

    काठमाडौं । नेकपा एमालेले माधव नेपाल अध्यक्ष बनेर दल दर्ताका लागि निवेदन परेको नेकपा एमाले (समाजवादी)को को नाम कानून बमोजिम दिन नमिल्ने जनाएको छ ।

    एमाले निर्वाचन विभागका नेताहरु आज आयोग पुगेर एमालेको नाम कसैलाई डुप्लिकेशन हुने गरि नदिन ध्यानाकर्षण गराएका हुन् । त्यस्तै एमालेले केन्द्रीय सदस्यसहित सांसद र पार्टी सदस्यबाट निष्कासन गरिसकेका १४ जनामध्ये ९ जनाले केन्द्रीय कमिटी सदस्यका हैसियतमा दल विभाजनमा हस्ताक्षर गरेको पनि मान्य नहुने बताएको छ ।

    आयोगमा पुगेका एमाले नेताहरुले राजनीतिक दल सम्बन्धी ऐनका दफा २८ अनुसार ह्वीप उल्लंघन गरेको भने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले दिएको लिखित जानकारीका आधारमा उनीहरुलाई केन्द्रीय कमिटी बैठकले कारवाही गरेकाले उनीहरुले भदौ १ गतेअघि नै केन्द्रीय सदस्यको हैसियत गुमाइसकेको दावी गरेका हुन् ।

    एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेलले एमालेको नामसँग जुध्ने अर्को दल दर्ता हुन नसक्ने बताए । त्यस्तै एमालेले साधारण सदस्यबाट समेत निष्कासन गरेर निर्वाचन आयोगलाई जानकारी दिइसकेका व्यक्तिले केन्द्रीय सदस्यका रुपमा एमाले दल विभाजनमा गरेको हस्ताक्षर वैधानिक नहुने उनले बताए ।

    एमालेले साउन २५ गतेको केन्द्रीय कमिटी बैठकको निर्णयबाट माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गरि पद रिक्त गराउन संसद सचिवालयलाई र उनीहरु केन्द्रीय सदस्यमा नरहेको विवरण निर्वाचन आयोगलाई बुझाएको थियो ।

    कारवाही परेका १४ जनामध्ये माधव नेपाल,मुकुन्द न्यौपाने,विरोध खतिवडा,निरा जैरु,रामकुमारी झाँक्री,जीवनराम श्रेष्ठ,कल्याणी खड्का मेटमणी चौधरी र सरला यादव एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् ।

    एमाले विभाजनका लागि आवश्यक २० प्रतिशत संसदीय दलबाट नपुगेपछि केन्द्रीय कमिटीबाट गरिएको थियो । तर एमालेले माधव नेपालसहित ९ जना एमालेको केन्द्रीय कमिटी सदस्य नरहेको दावी आयोग समक्ष गरेको छ ।

    एमालेको केन्द्रीय कमिटीका ५८ जनाले हस्ताक्षर गरेको भनिएकामा केहीले हस्ताक्षर फिर्ता लिएको,केहीले असहमति जनाएको र ९ जनाको हस्ताक्षर मान्य नहुने भएकाले माधव नेपाल नेतृत्वको दल दर्ता हुन नसकने र एमाले विभाजन हुन नसक्ने तर्क पूर्व महान्यायाधिवक्ता रमेश बडालले गरेका छन् ।

    बडालले भने–एमाले दल विभाजनका लागि २० प्रतिशत पुर्याउन जसको हस्ताक्षर लगिएको छ उनीहरुमध्ये ९ जना एमालेको केन्द्रीय समितिमा नरहेको भन्ने लिखित जानकारी भदौ १ गते नै आयोगमा पुगेको छ । भदौ २ गते आएको दल दर्ताका निवेदनमा उनीहरुको नाम कसरी मान्य हुन्छ ?

    एमालेले हतार हतार दल विभाजन गर्नका लागि दर्ता प्रक्रियाका कार्य अघि बढाइएकोमा समेत आशंका व्यक्त गरेको छ ।

  • एमाले केन्द्रीय सदस्य- जसले अन्तिम घडीमा माधवको साथ छाडे (सूचीसहित)

    एमाले केन्द्रीय सदस्य- जसले अन्तिम घडीमा माधवको साथ छाडे (सूचीसहित)

    काठमाडौं । फागुन २३ गते सर्वोच्च अदालतबाट नेकपा एमाले ब्युँतिदा ८९ जना केन्द्रीय सदस्यको साथ पाएका माधवकुमार नेपालले बुधवार पार्टी विभाजन गर्दा स्थायी कमिटीका अधिकांश नेतासहित ३७ जना केन्द्रीय सदस्यको साथ गुमाएका छन् ।

    नेपालले दल दर्ताका लागि निवेदन दिएको एमाले समाजवादीको ९५ सदस्यीय केन्द्रीय समितिमा साबिक एमालेका ५८ जना केन्द्रीय सदस्य समेटिएका छन् । यसबीचमा पशुपति चौलागाईंको निधन र गणेश पहाडी, बिष्णु रिजाल तथा सोम मिश्रले माधव गुट छाडेपछि पनि उनीसँग ८६ जना केन्द्रीय सदस्य थिए ।

    पार्टी विभाजनको बेला आइपुग्दा नेपालसँग रहेका दोस्रो र तेस्रो पुस्ताका प्रभावशाली नेताहरु रहेनन् । पार्टीभित्रको अन्तरसंघर्षमा माधव नेपालका मुख्य भरोसा बन्दै आएका देशब्यापी प्रभाव भएका नेताहरु किन विभाजनमा गएनन् ?

    उनीहरु अझै पनि एमाले एकताको पक्षमा क्रियाशील हुने भनिरहेका छन् । तर दल नै अर्को बनिसकेपछि उनीहरुको एकता अभियान ठहराबमा पुगेको छ । अब दश बुँदे सहमति अनुसार एमालेमा सक्रिय हुने कि माधव नेपालको पार्टीमा लाग्ने ? हाल माधवको पार्टी विभाजनमा साथ नदिएका नेताहरुसँग दुई विकल्पमात्र छन् ।

    यी हुन् माधव नेपालको साथ छाड्नेहरु :

    यी पनि पढ्नुस्

    यस्तो छ माधव नेतृत्वको एमाले समाजवादीको केन्द्रीय समिति (सूचीसहित)

    उत्तरार्धमा माधव नेपालले लिएको कठिन निर्णय

    नयाँ पार्टी गठनपछि नेपालले भनेः कम्युनिष्ट आन्दोलनको विसर्जन रोक्न वैधानिक विद्रोह

    वागमतिमा एमालेको नयाँ सरकार, माधव नेपाललाई छाड्नेले पाए मुख्यमन्त्री र मन्त्री

  • शंकरदेवमा माधवपक्षीय अखिल फोर्सद्वारा सेनिटरी प्याड मेसिन सहयोग (भिडियो)

    शंकरदेवमा माधवपक्षीय अखिल फोर्सद्वारा सेनिटरी प्याड मेसिन सहयोग (भिडियो)

    काठमाडौं । माधव नेपालपक्षीय अखिल फोर्सले सेनिटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ ।

    सोमवार शंकरदेव क्याम्पसमा अनेरास्ववियूको समन्वयमा केन्द्रीय अखिल फोर्सले सेनिटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको हो । फोर्सले देशभरका विद्यार्थीका मागहरूमा केन्द्रित रही रचनात्मक काम गर्ने योजनाअनुरूप मेसिन वितरण गरिएको अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए । उनका अनुसार देशभरका आंगिक क्याम्पसहरूमा सेनिटरी प्याड भेन्डिङ मेसिन वितरण गरिनेछ ।

    शंकरदेव क्याम्पसकी उपप्रमुख मिखा श्रेष्ठले आंगिक कलेजहरूमा धेरै कुराहरू आवश्यक रहेकोले यस्ता कामहरू गर्दै जान सुझाव दिइन् । महिलाहरुको लागि अखिल फोर्सको यो कार्य उल्लेखनीय भएको भन्दै श्रेष्ठले कलेजका शौचालयमा धेरै समस्या भएको बताइन् ।

     

  • नेपाल निवासमा फेरि पुगे प्रचण्ड, एमाले विवाद र सरकारमा सहभागिता छलफलका एजेण्डा

    नेपाल निवासमा फेरि पुगे प्रचण्ड, एमाले विवाद र सरकारमा सहभागिता छलफलका एजेण्डा

    काठमाडौं । मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबण्डा टुंगो लगाउनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्तारुढ गठबन्धनका एक सूत्रधार एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् ।

    प्रायः दैनिकजसो प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भइरहेका छन् र सधैँ प्रचण्ड नेपाल निवास पुग्ने गरेका छन् । एमाले एकता वा विभाजनको निर्णायक चरणबाट गुज्रिरहेका बेला प्रचण्ड र नेपालबीचको वार्तालाई अर्थपूर्णरूपमा लिइएको छ । शुक्रबार पनि प्रचण्डले माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

    शनिवार देउवा र प्रचण्डबीचको छलफलमा पनि माधव पक्षलाई सरकारमा सहभागी गराउने समझदारी बनेको नेताहरूले बताएका छन्

    माधव पक्षको सहभागिता नटुंगिएकै कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । नेपालले आज निर्णय गरेमा सोमबार मन्त्रिपरिषद् विस्तार हुने र नेपाल पक्षलाई कम्तीमा ६ मन्त्रालय दिने समझदारी समेत बनेको छ ।

  • माधव नेपालको चेतावनी- फेरि फर्केर प्रधानमन्त्री बन्न कसैले जालझेल नगरोस् (भिडियो)

    माधव नेपालको चेतावनी- फेरि फर्केर प्रधानमन्त्री बन्न कसैले जालझेल नगरोस् (भिडियो)

    काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव नेपालले फेरि पनि प्रधानमन्त्री बन्न बन्छु कि भन्ने ठानेर जालझेल नगर्न चेतावनी दिएका छन्।

    ‘यो प्रतिनिधिसभालाई विघटन गर्ने फेरि दुस्साहस अब कसैले नगरोस्,’ शनिबार राजधानीमा अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘फेरि पनि फर्केर प्रधानमन्त्री बन्छु कि भन्ने ठानेर जालझेल, षड्यन्त्र कसैले नगरोस् । जे गर्नु छ, पारदर्शी तरिकाले हुनेछ ।’

    नेता नेपालले सर्वोच्चको फैसलाले संविधानको रक्षा गरेको र सांसदहरूले पनि आफूलाई जोगाउन संघर्ष गरेको बताए।

    ‘भर्खरै सर्वोच्च अदालतले जुन फैसला गरेको छ, त्यसले लामो समय संवैधानिक बाटोमा गएको देशलाई, लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई ठीक बाटोमा ल्याउने काम गरेको छ,’ उनले भने, ‘संविधानको संरक्षण गरेको छ, सहि व्याख्या गरेको छ। र, ती सबै सांसदहरू, प्रतिनिधिसभाका सदस्यहरू जसले संविधानको रक्षा गर्न, प्रतिनिधिसभाको रक्षा गर्न र आफैलाई जोगाउन रोकेका छन् भोट खसालेर।’

    फेरि राजतन्त्र कसैले फर्काउन चाहे त्यो आफूलाई सह्य नहुने उनको चेतावनी छ। ‘राजतन्त्र फर्केर फेरि आउने छैन पनि। ल्याउन कसैले कोसिस गर्छ भने गर्तमा फ्याकिने,’ उनले भने, ‘हामीले रगत बगाएर ल्याएको संविधानको रक्षा गर्छौं हामी । यो संविधान कसैले कुल्चने कोसिस गर्छ भने त्यो हामीलाई सह्य छैन् ।’

     

  • नारदमुनिले मागे अडियो रेकर्ड- माधव नेपालले अभद्र व्यवहार गरे, मलाई बाहिर जा भन्ने को हुन् उनी ?

    नारदमुनिले मागे अडियो रेकर्ड- माधव नेपालले अभद्र व्यवहार गरे, मलाई बाहिर जा भन्ने को हुन् उनी ?

    काठमाडौं । संसदीय समितिको बैठकमा आज भएको घटनालाई लिएर एमाले सांसद नारदमुनि रानाले संसद सचिवालयसँग अडियो रेकर्डिङ माग गरेका छन् । रानालाई एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालले बैठकमा थर्काउँदै राजीनामा दिएर निस्किन आदेश दिएका थिए ।

    अन्तर्राष्ट्रिय सम्वन्ध समितिको बैठकमा निम्त्याइएका कैलाली ५ का सांसद रानासँग वरिष्ठ नेता नेपालको राजनीतिक विवाद भएको थियो । संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै रानाले बैठकको श्रव्यदृष्य आवश्यक परेको हुँदा उपलब्ध गराउन आग्रह गरेका हुन् ।

    सांसद रानाले माधव नेपालले आफूमाथि अभद्र व्यवहार गरेको बताए । संसदीय समिति बैठकको सबै रेकर्ड सुनेर कारवाही होस् भनि आफूले अडियो मगाएको उनको भनाइ छ ।

    रानाले भने, ‘माधव नेपाल को हुन् मलाई बैठकबाट बाहिर जा भन्ने ? संसदीय समितिमा माधव नेपाल र म बराबर हैसियतमा छौं ।’

    राजनीतिक विवाद माधव नेपालले नै सुरु गरेको उल्लेख गर्दै रानाले थपे, ‘परमादेशबाट नियुक्त भएका प्रधानमन्त्रीलाई मैले जनादेशबाट भनिरहनुपर्ने हो ?’

    याे पनि पढ्नुस् :

    संसदीय समितिमा माधव नेपालको उत्तेजना : प्रतिगमनको मतियार, राजीनामा दिएर निस्किनुस् ! (भिडियो)

  • शंखमुलमा माधव पक्षको स्थायी कमिटी सदस्यहरूको छलफल, भीम रावल पनि सहभागी

    शंखमुलमा माधव पक्षको स्थायी कमिटी सदस्यहरूको छलफल, भीम रावल पनि सहभागी

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी सदस्यहरूको बैठक शंखमुलस्थि एक क्याफेमा जारी छ ।

    एमालेको विघटित कार्यदलमा रहेका नेपाल पक्षका सदस्यहरूले बैठक बोलाउन माग गरेपछि नेता नेपालले नेताहरू बोलाएर छलफल थालेका हुन् ।

    बैठकमा भीम रावल पनि सहभागी छन् । यसअघि भएको बैठकमा भने रावल सहभागी थिएनन् । लगत्तै माधव नेपाल टोखास्थित निवासमा गएर रावललाई भेटेका थिए ।

  • माधव नेपालको सचिवालयले भन्यो- ओलीसँग भेट्ने समय तय भएको छैन

    माधव नेपालको सचिवालयले भन्यो- ओलीसँग भेट्ने समय तय भएको छैन

    काठमाडौं । नेकपा एमालेको एकताका लागि अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भइरहेको भनिएका बेला नेपालको सचिवालयले जानकारी नभएको जनाएको छ ।

    नेपालका स्वकीय सचिव मोहन गौतमले ओली र नेपालबीच भेट भएको वा हुने भन्ने समाचारमा सत्यता नरहेको र भेट्ने समय पनि तय नभएको बताएका छन् ।

    गौतमले भनेका छन्- विभिन्न सन्चार माध्यमहरूमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली बीच आज भेट भएको र हुने तय भएको भन्ने समाचारहरू आइरहेकोमा उहाँहरू बीच भेट नभएको र भेट्ने समय तय पनि नभएको कुरा सम्बन्धित सबैमा स्पष्ट पार्दछु ।