Tag: माओवादी सम्मेलन

  • माओवादीमा प्रचण्ड निर्विकल्प- स्थायी समितिका सबै नेताको बहुपदीय व्यवस्थापन

    माओवादीमा प्रचण्ड निर्विकल्प- स्थायी समितिका सबै नेताको बहुपदीय व्यवस्थापन

    काठमाडौं । अहिले दलहरूको ‘महाधिवेशन सिजन’चलेको छ । संसदका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसले महाधिवेशन सकिसकेका छन् ।

    महाधिवेशनबाट केही पुरानै दोहोरिएका छन् भने केही नयाँ अनुहार नेतृत्व (पदाधिकारी) मा आएका छन् । संसदको तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) पनि राष्ट्रिय सम्मेलन गर्दैछ ।

    पुस ११-१३ सम्म हुन लागेको सम्मेलनले नेतृत्वसमेत चयन गर्ने भनिएको छ । माओवादी नेताहरूले भने राष्ट्रिय सम्मेलन नीतिमा बढी र नेतृत्वमा कम केन्द्रित हुने बताएका छन् । तर, भित्रभित्रै माओवादी पदाधिकारीमा पर्न नेताहरूमा दौडधुप सुरू भइसकेको छ ।

    अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विकल्प छन् । माओवादीका कुनै पनि नेताहरूले प्रचण्डको विकल्प खोजेको अहिलेसम्म सुन्न पाइएको छैन् । स्थायी समिति सदस्य गिरीराजमणि पोखरेल प्रचण्ड नेताहरूको पनि नेता भएको भन्दै अहिले नै विकल्प खोजीहाल्ने स्थितिमा पार्टी नरहेको बताउँछन् ।

    ‘कमरेड प्रचण्ड नेपालको सामन्तवादविरोधी आन्दोलनलाई यो ठाउँमा ल्याउने मूल नेतृत्व हो,’ साताअघिको नेपाल प्रेससँगको अन्तर्वार्तामा पोखरेलले भनेका थिए, ‘उहाँ नेताहरूको नेता हो । नेतृत्व भनेको त्यतिकै जन्मिदैन । एउटा संघर्षको प्रक्रिया हुन्छ । अहिलै नै उहाँको विकल्प खोज्ने भन्ने कुरा छैन ।’

    अध्यक्षपछिको कार्यकारी पद महासचिव भएकाले यस पदका दाबेदार पनि धेरै छन् । कृष्णबहादुर महरा, देव गुरुङ, हरिबोल गजुरेल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मालगायत महासचिवका दाबेदार हुन् ।

    आगामी राष्ट्रिय सम्मेनलपछि पनि माओवादी अध्यक्ष प्रचण्ड नै हुन्छन् भन्ने कुरामा दुविधा रहेन । यद्यपि तीन दशकभन्दा बढी समयदेखि निरन्तर नेतृत्वमा रहेको भन्दै प्रचण्डको आलोचना गर्नेहरू पनि छन, मुख्यतः माओवादी पार्टीबाहिर ।

    माओवादीमा मुख्य चासो अध्यक्षभन्दा पनि महासचिव को होला भन्ने छ । किनभने अध्यक्षपछिको कार्यकारी पद महासचिव नै हो । र, अबको महासचिव नै प्रचण्डको उत्तराधिकारी बन्ने सम्भावना पनि रहन्छ ।

    माओवादीको अन्तरिम विधान २०७८ ले पार्टीलाई बहुपदाधिकारीमा लैजाने भनेको छ । हालको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव भनिएको छ । तर, विधानमा कुन पदाधिकारीको संख्या कति हुने भन्न उल्लेख छैन ।

    राष्ट्रिय सम्मेलनबाट हालको पदाधिकारी सम्बन्धी व्यवस्था संशोधन हुने निश्चित छ । नेताहरूको व्यवस्थापनमा सकस हुने भएकाले पनि हालको विधान परिर्वतन हुने निश्चित छ । त्यसका लागि नेता देव गुरुङको नेतृत्वमा विधान संशोधन कार्यदल समेत बनाइसकिएको छ ।

    ‘आएका सुझावहरू संकलन गर्दै लगेर राष्ट्रिय सम्मेनलनमा पेस गर्छौं,’ गुरुङले नेपाल प्रेससँग भने, ‘सम्मेलनले पदाधिकारी थप्ने भन्यो भने थप हुन्छ, नथप्ने भन्यो भने हुँदैन ।’

    २३ फागुनमा सर्वोच्चबाट पुन:स्थापित भएको माओवादी केन्द्रले नेकपाकालीन स्थायी कमिटी सदस्यहरूलाई नै निरन्तरता दिएको छ । नेकपामा स्थायी समिति सदस्य रहेका अरुले नै अहिले निरन्तरता पाएका छन् ।

    माओवादीले विधान संशोधन गरेर पदाधिकारीको संरचना एमालेको जस्तै बनाउने सम्भावना छ । जसमा वरिष्ठ उपाध्यक्ष पनि हुने छ । एमालेमा ईश्वर पोखरेललाई व्यवस्थापन गर्न वरिष्ठ उपाध्यक्ष थपिए जस्तै माओवादीमा बरियतामा प्रचण्डपछि रहेका नारायणकाजी श्रेष्ठका लागि त्यो थपिने छ ।

    एमालेमा १९ पदाधिकारी छन् । माओवादीले पनि १२ देखि १५/१६ को हाराहारीमा पदाधिकारी राख्ने देखिन्छ । यद्यपि माओवादी नेता हरिबोल गजुरेल भद्दा कमिटी र पदाधिकारी बनाउनु संगठनात्मक समस्याको समाधन नभएको बताउँछन् ।

    ‘हाम्रो सकेसम्म जोड केन्द्रीय समिति पनि सानो र पदाधिकारी पनि थोरै बनाउने हुन्छ,’ नेपाल प्रेससँग उनले भने, ‘ठूलो कमिटी निर्माण गरेर मात्रै केही हुँदैन । हामीले जनयुद्ध सुरू गर्दा ३५ जनाको मात्रै केन्द्रीय कमिटी थियो ।’

    स्थायी समितिका सबै पदाधिकारी !

    एमालेसँग एकता हुँदा माओवादीको सांगठनिक संरचना लथालिङ्ग थियो । एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीमा (नेकपा) मा माओवादीले ४० प्रतिशत हिस्सा पाएको थियो । त्यस्तै अनुसार नेताहरूको प्रतिनिधित्व विभिन्न कमिटीमा भएको थियो ।

    २३ फागुनमा सर्वोच्चबाट पुन:स्थापित भएको माओवादी केन्द्रले नेकपाकालीन स्थायी कमिटी सदस्यहरूलाई नै निरन्तरता दिएको छ । नेकपामा स्थायी समिति सदस्य रहेका अरुले नै अहिले निरन्तरता पाएका छन् ।

    रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा एमालेतिर गएपछि हाल माओवादीका १४ स्थायी समिति सदस्यमात्रै छन् ।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, पम्फा भुसाल, हरिबोल गजुरेल, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, गणेश साह, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र चक्रपानी खनाल स्थायी समिति सदस्य छन् ।

    माओवादीको नयाँ पदाधिकारी टिम यीनै स्थायी समिति सदस्यबाट बन्ने सम्भावना छ । र, स्थायी समितिका सबै सदस्य पदाधिकारी पर्ने सम्भावना छ ।

    महासचिवः प्रचण्डलाई अप्ठ्यारो परे महरा

    अध्यक्षपछिको कार्यकारी पद महासचिव भएकाले यस पदका दाबेदार पनि धेरै छन् । कृष्णबहादुर महरा, देव गुरुङ, हरिबोल गजुरेल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मालगायत महासचिवका दाबेदार हुन् ।

    तर, यी मध्ये वर्षमान पुन र जर्नादन शर्मा बलिया दाबेदार हुन । प्रचण्डको आग्रहमा अन्य नेताहरू पछाडि हटेर अरु पदाधिकारीमा व्यस्थापन हुन सक्छन् । तर, पुन र शर्मा महासचिवबाट कुनै पनि हालतमा पछाडि नहट्ने मुडमा छन् । उनीहरू दुवैजनाको पार्टीभित्र केन्द्रदेखि स्थानीय तहसम्म गुट छ ।

    जिम्मेवारीका हिसाबले पनि उनीहरूले नै पार्टीभित्र धेरै भूमिका पाएका छन् । अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा माओवादीका संगठन विभाग प्रमुख हुन् । संगठन विभाग पार्टी भित्र संगठन विस्तारका लागि महत्वपूर्ण मानिन्छ ।

    अर्थमन्त्री भएका कारण स्रोतसाधन पनि भएका कारण शर्मा अहिले पार्टीको काममा देश दौडाहा गरिरहेका छन् । यी मौकामा उनले पार्टी संगठनलाई आफ्नो लयमा ढाल्ने कोसिस गरिरहेका छन् ।

    यो पनि पढ्नुहोस् : वर्षमान माओवादीको ‘डिफ्याक्टो’ महासचिव, नयाँ विधानले केन्द्रीय कार्यालयमा शक्ति केन्द्रित

    अर्कातिर पुनले पनि उत्तिकै महत्वपूर्ण जिम्मेवारी पाएका छन् । पछिल्लो कार्य विभाजनबाट उनी पार्टीको स्कुल विभाग ईन्चार्ज बनाइएका छन् । माओवादीको अन्तरिम विधानमा पार्टी कार्यालयमा धेरै शक्तिकेन्द्रित गरिएको छ । यस हिसाबले माओवादीभित्रै कतिपय पुनलाई ‘डिफ्याक्टो’ महासचिवसमेत मान्छन् ।

    पुन हाल चीनमा उपचाररत छन् । उनी पनि पार्टीको संगठन निर्माणका लागि पूर्वदेखि पश्चिमसम्म पुगिरहन्थे । पुनले पनि पार्टी केन्द्रदेखि स्थानीयतहसम्म गुटको निर्माण गरेका छन् ।

    यद्यपि उनी बिरामी भएको लाभ जनार्दनले लिइरहेका छन् । वाईसीएल, अखिल क्रान्तिकारीलगायतका संगठनमा शर्माले आफूनिकटलाई नेतृत्वमा ल्याएका छन् ।

    वर्षमान पुन र जर्नादन शर्मा महासचिवका बलिया दाबेदार हुन । प्रचण्डको आग्रहमा अन्य नेताहरू पछाडि हटेर अरु पदाधिकारीमा व्यस्थापन हुन सक्छन् । तर, पुन र शर्मा महासचिवबाट कुनै पनि हालतमा पछाडि नहट्ने मुडमा छन् । उनीहरू दुवैजनाको पार्टीभित्र केन्द्रदेखि स्थानीय तहसम्म गुट छ ।

    पुनको क्षमता राजनीतिक रणनीति निर्माणमा छ भने शर्माको दक्षता त्यसलाई कार्यान्वयन गर्नेमा । एमाले र माओवादी एकीकरण गरेर नेकपा बनाउनेमा शर्माको योगदान थियो भने पुन त्यो धेरै टिक्छ भन्नेमा विश्वस्त थिएनन् । आखिर भयो पनि त्यस्तै । तीन वर्षमै नेकपा भंग भयो । संसद विघटनविरुद्ध आन्दोलन र हालको गठबन्धन निर्माणमा भने पुनको योजना र योगदान रहेको मानिन्छ ।

    दुवै प्रचण्डका लागि उत्तिकै प्रिय हुन । यीमध्ये कुनै एकलाई ‘सेलेक्सन’ गर्नु प्रचण्डका लागि निकै गाह्रो पनि छ । त्यसैले यसमा ‘इलेक्सन’ हुन सक्छ । शर्मा त यसका लागि तम्तयार भएर बसेका छन् । उनले पछिल्लो समय प्रचण्डपथ ब्युँताउने कुरालाई निकै जोडतोडका साथ उठाइरहेका पनि छन् ।

    उता चीनमा रहेका पुन पनि उपचार छोट्याएर सम्मेलनअघि नै नेपाल आउने तयारीमा छन् । पुननिकट नेताहरू उनी चाँडै नेपाल आउने र महासचिवमा दावेदारी प्रस्तुत गर्ने बताउँछन् । ‘उहाँ चाँडै नेपाल आउनुहुन्छ र आफ्नो दाबेदारी पेस गर्नुहुन्छ,’ उनीनिकट एक नेता भन्छन्, ‘उहाँ महासचिवको बलियो दाबेदार हो । उहाँ कुनै पनि हालतमा पछि हट्नुहुन्न ।’

    दुवैजनाले अडान नछोडे महासचिवमा चुनाव हुने सम्भावना पनि छ । पछिल्लो समय विवाद भएका ठाउँमा माओवादीले चुनावसमेत अवलम्बन गर्न थालिसकेको छ । चुनाव भए कसले जित्छ यसै भन्न सकिने अवस्था छैन ।

    के हुन्छ भन्ने कुरा अध्यक्ष प्रचण्डमै निर्भर रहने छ । मिलाउन नसकेको अवस्थामा उनले चुनावको विकल्प खोली दिन पनि सक्छन् । चुनावले पार्टीका गुटगत विग्रह ल्याउने ठानेमा उनले महासचिवमा तेस्रो पात्रलाई पनि अघि सार्न सक्छन् ।

    यस्तोमा कृष्णबहादुर महरा महासचिव हुन सक्छन् । महरालाई अघि सार्दा उनी दुवैले मान्ने अवस्था पनि रहन्छ । र, महराले नै विप्लव, वैद्यलगायतसँग पार्टी एकीकरणका लागि वार्ताको पहलसमेत गरिरहेका छन् । उनलाई अघि सार्दा पार्टी एकीकरणमा सहज हुन्छ भन्ने ठम्याइमा प्रचण्डअघि बढ्न पनि सक्छन् । अर्थात महरा प्रचण्डको संकट मोचक पनि बन्न सक्छन् ।

    अन्य पदाधिकारीमा व्यवस्थापन

    महासचिवबाहेकका पदमा भने त्यति गाह्रो हुने देखिँदैन । हाल स्थायी समिति सदस्य रहेकाहरूलाई पदाधिकारीमा व्यवस्थापन गरिनेछ ।

    प्रचण्डपछिको वरीयतामा रहेका नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष रहने लगभग निश्चित छ । महरा महासचिव नरहे उपाध्यक्षमा निश्चितजस्तै छ । त्यसपछि पम्फा भुसाल, हरिबोल गजुरेल, देव गुरुङ र गिरीराजमणि पोखरेल लगायतका नेताहरू पनि उपाध्यक्षमा रहने सम्भावना छ ।

    उपमहासचिवमा मात्रिका यादव, देवेन्द्र पौडेल, शक्ति बस्नेत, चक्रपाणी खनाल, गणेश साहलगायतको सम्भावना छ ।

    सचिवमा लिलामणि पोखरेल, शशी श्रेष्ठ, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, हितमान शाक्य, लेखनाथ न्यौपाने, महेन्द्रबहादुर शाहीलगायतको सम्भावना छ ।

  • माओवादीको राष्ट्रिय सम्मेलनमा १५ सय ३३ प्रतिनिधि, अतिथि नबोलाउने (भिडिओ)

    माओवादीको राष्ट्रिय सम्मेलनमा १५ सय ३३ प्रतिनिधि, अतिथि नबोलाउने (भिडिओ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ प्रतिनिधि हुने भएका छन् ।

    पुस ११ देखि १३ गतेसम्म हुने प्रथम राष्ट्रिय सम्मेनलमा विभिन्न क्षेत्रबाट ती प्रतिनिधि चयन भएर आउने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

    महराका अनुसार प्रदेशबाट प्रतिनिधित्व गर्ने संख्या ८ सय ३ हुने छ । त्यस्तै आयोजकका तर्फबाट १ सय ७९ हुने छन् ।

    त्यस्तै सल्लाहकारबाट १ सय ४९ हुने छन् ।

    केन्द्रीय प्रतिनिधि २७ जना हुने छन् भने ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १ सय २५ जना प्रतिनिधि हुने छन् । जम्मा प्रतिनिधिको ५ प्रतिशत ७३ जना मनोनीत हुने छन् । केन्द्रीय विभागबाट १ सय २ र आयोगबाट ७५ जना प्रतिनिधि हुनेछन् ।

    महराले मनोनीत प्रतिनिधिमा पूर्वजनमुक्ति सेना, अन्य पार्टीबाट एकतामा आएका र छुटेकाहरू हुने बताए ।

    महाधिवशेन नभइ राष्ट्रिय सम्मेलन भएकाले देश भित्र र बाहिरबाट कुनै पनि अतिथिलाई आमन्त्रित नगर्ने महराले बताए । ‘राष्ट्रिय सम्मेलन भएकाले कसैलाई नबोलाउने, ठूलो तामझाम पनि हुँदैन’, उनले भने ।

    त्यस्तै भक्तपुर, ललितपुर र काठमाडौंका प्रवेशद्वारमा स्वागत द्वार राखिने भएको छ । सहरका मुख्य ठाउँहरुमा सम्मेनलबारे पोष्टर राखिने छ ।

  • माओवादी राष्ट्रिय सम्मेलनका लागि कर्णालीबाट ८८ प्रतिनिधि छानिए

    माओवादी राष्ट्रिय सम्मेलनका लागि कर्णालीबाट ८८ प्रतिनिधि छानिए

    सुर्खेत । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाएको छ । ११ पुसबाट हुने काठमाडौंमा हुने सम्मेलनका लागि कर्णाली प्रदेशबाट ८८ जना प्रतिनिधि सहभागी हुनेछन् ।

    पार्टीको सर्कुलर अनुसार १५ सय सदस्यबराबर एकजना सम्मेलन प्रतिनिधि र संघीय संसद्को निर्वाचन क्षेत्रबाट दुईजना प्रतिनिधि छनोट गरिएको माओवादी केन्द्र कर्णाली प्रदेशले जनाएको छ ।

    कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी रुकुमपश्चिमबाट १५ र सबैभन्दा कम डोल्पा जिल्लाबाट तीनजना प्रतिनिधि छनोट छन् । अन्य जिल्लाबाट राष्ट्रिय सम्मेलनका लागि सहभागी हुने प्रतिनिधिमा सल्यान र कालीकोटबाट ११-११ जना, सुर्खेत र जाजारकोटबाट १०-१० जना छनोट भएका छन् ।

    मुगुबाट पाँचजना, दैलेख, जुम्ला र हुम्लाबाट सात-सात जना प्रतिनिधि छनोट भएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिइन् ।

  • माओवादी सम्मेलन : प्रदेश १ मा बन्यो पदाधिकारीविहीन समिति

    माओवादी सम्मेलन : प्रदेश १ मा बन्यो पदाधिकारीविहीन समिति

    बिराटनगर । नेकपा (माओवादी केन्द्र) को प्रदेश १ मा पदाधिकारीविहीन समिति गठन गरिएको छ । पदाधिकारी चयनमा सकस परेपछि २ सय ५९ सदस्यीय प्रदेश कमिटी चयन गरिएको हो ।

    अकांक्षी धेरै भएकाले पदाधिकारी भने चयन हुन सकेका छैनन् ।

    केन्द्रीय सदस्य इन्द्र आङ्बोका अनुसार समिति सदस्यहरूको नाम सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

    प्रदेश अध्यक्षका लागि आङ्बो, सुरेशकुमार राई, हेमराज भण्डारी र सुदन किराती आकांक्षी छन् । र, मुख्य प्रत्यासी आङ्बो र राई रहेको बताइएको छ ।

    प्रदेश समितिको बैठक बसेर पदाधिकारी चयन गर्ने छ ।

    विधानअनुसार अध्यक्ष एक, उपाध्यक्ष महिलासहित तीन, सचिव एक, सहसचिव तीन र कोषाध्यक्षसहितका पदाधिकारी चयन गर्नुपर्ने छ ।

  • माओवादी राष्ट्रिय सम्मेलनका प्रतिनिधि १५ सय, खाने र बस्ने व्यवस्था आफैं गर्नुपर्ने (परिपत्रसहित)

    माओवादी राष्ट्रिय सम्मेलनका प्रतिनिधि १५ सय, खाने र बस्ने व्यवस्था आफैं गर्नुपर्ने (परिपत्रसहित)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनका प्रतिनिधि करिब १ हजार ५ सय हुने भएका छन् । आगामी पुस ११-१३ गतेसम्म सम्मेलन गर्न गइरहेको माओवादी केन्द्रले प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्नेछ । त्यस्तै १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन हुने छन् ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको आन्तरिक परिपत्रअनुसार प्रत्येक प्रदेशले कम्तीमा १ जना घाइते र अपांगता भएकालाई प्रतिनिधि चयन गर्नुपर्ने छ ।

    केन्द्रीय दस्यहरू स्वतः सम्मेलनका प्रतिनिधि हुने छन् । प्रत्येक केन्द्रीय विभागबाट ३/३ जना प्रतिनिधि छानिने छन् । त्यस्तै केन्द्रीय कार्यालयबाट ५ प्रतिशत प्रतिनिधि मनोनीत हुने छन् । माओवादीले राष्ट्रिय सम्मेलनमा सहभागी हुने आयोजक एवम् प्रतिनिधिहरूलाई प्रतिनिधि शुल्क २ हजार तोकेको छ ।

    सबै प्रतिनिधिहरुले खाने, बस्नेलगायतका खर्चको व्यवस्थापन आफैं गर्नु पर्नेछ । प्रतिनिधिहरूको सबै व्यवस्थापनको जिम्मा सम्बन्धित प्रदेशको हुने परिपत्रमा उल्लेख छ।

    राष्ट्रिय सम्मेलनका लागि माओवादीले वडा र पालिका सम्मेलन गरिसकेको छ भने मंसिर २५ गते प्रदेश सम्मेलन गर्दैछ ।

  • एमालेको कुम्भमेलासँग हाम्रो सम्मेलनको तुलनै हुँदैनः प्रचण्ड (भिडिओ)

    एमालेको कुम्भमेलासँग हाम्रो सम्मेलनको तुलनै हुँदैनः प्रचण्ड (भिडिओ)

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आसन्न राष्ट्रिय सम्मेलनबाट पार्टीले नयाँ विचारको संश्लेषण गर्ने बताएका छन् । हाल जारी एमालेको महाधिवेशनलाई ‘कुम्भमेला’ संज्ञा दिँदै माओवादी सम्मेलन त्योभन्दा फरक हुने दाबी गरे ।

    पार्टीका स्थानीय तह र पार्टी शाखा समितिका सम्मेलन उद्घाटन समारोहलाई भर्चुअल सम्बोधन गर्दै प्रचण्डले इतिहासको नयाँ संश्लेषण गर्ने गरी आफूले राष्ट्रिय सम्मेलनका लागि दस्तावेज लेखिरहेको बताए ।

    उनले भने, ‘यस सम्मेलनबाट हामी नयाँ उचाइमा उठ्नेछौं । इतिहासको नयाँ संश्लेषण गर्नेछौं । समाजवादी आन्दोलनले, समाजवाद निर्माणको प्रक्रियाले नयाँ जीवन र गति प्राप्त गने छ ।’

    प्रचण्डले पार्टीको हेडक्वार्टरमा सुझाव र आलोचना पठाएर राष्ट्रिय सम्मेलनलाई वैचारिक संश्लेषणको थलो बनाउन कार्यकर्तालाई आग्रह गरे ।

    उनले थपे, ‘अरु कोही पार्टी विचारबारे सोच्ने र बहस गर्ने स्थितिमा छैनन् । हिजो हामीले एउटा कुम्भमेला देख्यौं । त्यहाँ विचारलाई कुनै ठाउँ छैन । भ्रम दिने कोशिष मात्रै छ । तथाकथित अधिवेशन हो त्यो । तीभन्दा भिन्न हामी विचारलाई संगठनात्मक आचार व्यवहारलाई ध्यान दिनेछौं । ती तथाकथित अधिवेशन र हाम्रो विचार संस्लेषणको अभियानमा कुनै तुलना हुँदैन ।’

    शान्तिप्रक्रियामा आएपछि आफ्नो पार्टीभित्र विचार संश्लेषणको पक्षमा कमजोरी भएको प्रचण्डले स्वीकार गरे । यसमा आत्मसमीक्षा गरिएको उनको भनाइ छ ।

    ‘यो प्रक्रियामा हाम्रो पार्टी पनि अरु बुर्जुवा पार्टीजस्तै व्यक्तिगत स्वार्थमा जाने खतरा देखियो । त्यसैले बेलैमा कमिकमजोरी सच्याउनेतिर लाग्नुपर्छ । निर्मम आत्मसमीक्षा गर्नुपर्छ । त्यही संकल्पको प्रक्रियामा विभिन्न सम्मेलनमा छौं,’ प्रचण्डले भने ।

    पार्टीप्रति जनताको आकर्षण बढेको भन्दै उनले केही महिनाभित्र माओवादी १ नम्बर पार्टी बन्ने दाबी गरे ।

  • प्रचण्डको गृहजिल्लाका पालिकास्तरीय नेतृत्वको दाबेदारमा पूर्वलडाकु बढी

    प्रचण्डको गृहजिल्लाका पालिकास्तरीय नेतृत्वको दाबेदारमा पूर्वलडाकु बढी

    चितवन । नेकपा (माओवादी केन्द्र) को पालिकास्तरीय नेतृत्वका लागि पूर्वजनमुक्ति सेनामा काम गरेका धेरै आकांक्षी देखिएका छन् । चितवनका सातैवटा स्थानीय तहको नेतृत्वका लागि पूर्वलडाकुहरूको दौडधुप बढेको हो ।

    अध्यक्षको आकांक्षीमा भरतपुर महानगर र माडी नगरपालिकामा ३/३ जना, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा ४/४ जना, खैरहनी र कालिका नगरपालिकामा ६/६ जना, राप्तीमा २ जनाको नाम चर्चामा छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला तथा निर्वाचित क्षेत्र भएकाले चितवनमा नेतृत्वका लागि रस्साकस्सी बढेको छ ।

    प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने माडी र भरतपुरबाट नेतृत्वमा आउने व्यक्ति चासोका रूपमा हेरिएको छ । भरतपुर समिति अध्यक्षमा ईश्वर सापकोटा सुमन, रामचन्द्र अधिकारी र अञ्जान तिमिल्सिनाको नाम चर्चामा छ । सुमन जनयुद्धका घाइते पनि हुन् । उनले युद्धकालमा करिब ३ सय जना जनमुक्ति सेनाको कमाण्डर भएर काम गरेका थिए । वाईसीएल चितवन अध्यक्ष भएर पनि काम गरिसकेका छन् । रामचन्द्र अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष भएयता राजनीतिमा बढी सक्रिय छन् । अञ्जान सेनाको जागिर छाडेर जनमुक्ति सेना बनेका व्यक्ति हुन् । उनले जनमुक्ति सेनाहरूलाई प्रशिक्षण दिने गर्दथे ।

    माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चितवन इञ्चार्ज इश्वरी भट्टराईका अनुसार चितवनको पालिकास्तरको नेतृत्वमा ४ सय ७९ जना आउँनेछन् । महानगरमा ९९ जना, अन्य ५ पालिकाहरूमा ६५ जना र इच्छाकामना गाउँपालिकामा ५५ जना पदाधिकारीमा आउँनेछन् । भट्टराईले सातवटै पालिकामा आकांक्षी धेरै देखिए पनि सर्वसम्मत नेतृत्व चयन हुने दाबी गरे ।

    माओवादी केन्द्र भरतपुर समितिका अहिलेका अध्यक्ष ईश्वर सापकोटा ‘सुमन’ ले चितवनका ७ वटै स्थानीय तहको नेतृत्वमा धेरै पूर्वजनमुक्ति सेना आकांक्षी बनेको बताए । ‘पदाधिकारीदेखि समिति सदस्य बन्न चाहने धेरै तत्कालीन जनमुक्ति सेना छन्’, उनले भने, ‘आकांक्षीहरूलाई व्यवस्थापन गरेरै सर्वसम्मत नेतृत्व चयन गराइने छ ।’

    माडीमा अध्यक्षका लागि अहिलेका अध्यक्ष प्रभु महतोसहित ओमनाथ पाण्डे र डण्डापाणीले दाबी गरिरहेका छन् । प्रभु बघौडा मध्यवर्ती उपभोक्ता समितिको २ कार्यकाल अध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन् । उनी अखिल क्रान्तिकारीका केन्द्रीय सचिवसमेत थिए । ओमनाथ तत्कालीन शिक्षामन्त्री स्वर्गीय धनिराम पौडेलको सचिवालयमा काम गरेका व्यक्ति हुन् । पार्टीको राप्ती-लुम्बिनी प्रदेशमा काम गरेका थिए । डण्डपाणी पौडेल जनयुद्धमा घरपरिवार नै सामेल गराएका व्यक्ति हुन् । जनयुद्धका बेला उनले एक छोरालाई गुमाएका छन् ।

    रत्ननगर नगरपालिकामा अध्यक्ष ओम लामिछाने, मेयरका उम्मेदवार राजु अम्गाई, तत्कालीन बिग्रेड कमाण्डर दीपक शाही र श्याम बरालको नाम चर्चामा छ । इच्छाकामनामा अध्यक्ष प्रताप गुरुङ, प्रमोद पोखरेल, रामहरी सिलवाल, हरि थापा दाबेदार छन् । खैरहनीमा अध्यक्ष लक्ष्मी ढकाल, रुद्रबहादुर खड्का, रामेश्वर पोखरेल, विमला बराइली, अर्जुन कार्की, ज्ञानु विसुराल छन् । व्यवसायी विसुराल बाहेक सबै जनमुक्ति सेना हुन् ।

    कालिकामा अहिलेका अध्यक्ष सरिता लामा, देवीप्रसद ढकाल, बुद्धि पाण्डे, तुलबहादुर विक, नविन बिसी, कर्णबहादुर अग्रे आकांक्षी छन् । उनीहरू पनि पूर्वलडाकु हुन् । राप्तीमा अहिलेका अध्यक्ष रामचन्द्र पाण्डक र मानबहादुर स्याङबो चर्चामा छन् । मानबहादुर घाइते जनमुक्ति सेना हुन् ।

    माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा चितवन इञ्चार्ज इश्वरी भट्टराईका अनुसार चितवनको पालिकास्तरको नेतृत्वमा ४ सय ७९ जना आउँनेछन् । महानगरमा ९९ जना, अन्य ५ पालिकाहरूमा ६५ जना र इच्छाकामना गाउँपालिकामा ५५ जना पदाधिकारीमा आउँनेछन् । भट्टराईले सातवटै पालिकामा आकांक्षी धेरै देखिए पनि सर्वसम्मत नेतृत्व चयन हुने दाबी गरे ।

    ‘चितवनका ९८ वडामै सर्वसम्मत नेतृत्व चयन गरेका थियौँ, पालिकामा पनि त्यही अभ्यास हुनेछ’, उनले भने, ‘सकेसम्म आज साँझै नेतृत्व टुंगो लगाइनेछ ।’ भट्टराईका अनुसार भरतपुर महानगरको सम्मेलन भरतपुर विमानस्थलनजिकैको सीजीआर रिसोर्टमा हुनेछ । केन्द्रीय सदस्य तथा महानगर इञ्चार्ज रेणु दाहालले सम्मेलनको उदघा्टन गर्नेछिन् । बसन्तपुर स्थित माडी क्याम्पसमा हुने माडी नगरसम्मेलनको जिल्ला सहइञ्चार्ज गंगा बेलबासेले उद्घाटन गर्नेछिन् ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहजिल्ला तथा निर्वाचित क्षेत्र भएकाले चितवनमा नेतृत्वका लागि रस्साकस्सी बढेको छ ।

    टाँडी गंगा प्लाजमा हुने रत्ननगर सम्मेलनको जिल्ला इञ्चार्ज इश्वरी भट्टराईले गर्नेछन् । थकाली सेवा समाजको भवनमा हुने इच्छाकामना गाउँपालिका सम्मेलनको प्रदेश सांसद तथा जिल्ला सहइञ्चार्ज घनश्याम दाहाल ‘अविनाश’ र खैरहनी बैंक्वेटमा खैरहनी सम्मेलनको प्रदेश सदस्य रमेश रेग्मीले उद्घाटन गर्ने योजना छ । खोलेसिमलस्थित कालिका बैंक्वटमा हुने कालिका नगरसम्मेलनको केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज ज्ञानु बस्नेतले उदघाटन गर्ने छिन् । प्रदेश सचिवालय सदस्य यमबहादुर परियारले खुरखुरे बजारमा रहेको बैंक्वेटमा राप्ती नगरसम्मेलनको उद्घाटन गर्नेछन् ।

    जिल्ला इञ्चार्ज भट्टराईले आयोजकहरूबाहेक वडातहबाट निर्वाचित १ हजार ५ सय ५० प्रतिनिधिहरू नगर सम्मेलनमा सहभागि हुने बताए । उनका अनुसार महानगरबाट ४ सय जना, हरेक ५ स्थानीय तहबाट २ सय गाउँपालिकाबाट १ सय ५० जना सहभागी हुनेछन् ।

    पालिकास्तरीय सम्मेलनले प्रदेश सम्मेलन प्रतिनिधि पनि छनौट गर्नेछ । महानगरमा ५२ जना, माडीमा १५, रत्ननगरमा ९, इच्छाकामनामा ३, खैरहनी र राप्तीमा ५/५ जना, कालिकामा ८ जना प्रदेश प्रतिनिधिहरू चयन हुनेछन् ।

  • सिन्धुपाल्चोकका ९५ वडामा माओवादीको सम्मेलन सकियो, सबैमा सर्वसम्मत नेतृत्व

    सिन्धुपाल्चोकका ९५ वडामा माओवादीको सम्मेलन सकियो, सबैमा सर्वसम्मत नेतृत्व

    सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकमा एकैदिन ९५ वडामा सम्मेलन गरेको छ । १०३ मध्ये आठ वडामा भने सम्मेलन हुन नसकेको माओवादी केन्द्रले जानकारी दिएको छ ।

    जिल्लाका सबै वडामा एकैदिन सम्मेलन सम्पन्न गर्ने योजना भएपनि केही प्राविधिक कारणले सम्मेलन हुन नसकेको माओवादी केन्द्र सिन्धुपाल्चोकका संयोजक गोविन्द पराजुलीले जानकारी दिए ।

    सम्मेलन सकिएका सबै वडाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको उनले बताए । सबै वडाहरुमा आन्तिरक एकता मजबुत बनाउँदै नेतृत्व चयन भएको छ पराजुलीले भने–‘कतै पनि निर्वाचन गर्नु परेन, सबै नेता, कार्यकर्ताहरुको सहयोगले सम्मेलन सम्पन्न भयो ।’

    सम्मेलन गर्न बाँकी रहेका वडाहरुमा मंसिर १० गतेभित्र गर्ने माओवादीले जानकारी दिएको छ । बाँकी वडाको सम्मेलन सकिएपछि मंसिर ११ गते पालिका सम्मेलन हुनेछ ।

    माओवादीले पहिलोपटक वडा तहसम्म सम्मेलन गरेर नेतृत्व छनोट गरेको थियो । वडा सम्मेलनमा माओवादी केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सापकोटा, माधव सापकोटा, युवराज दुलाल, नेताहरु सरल सहयात्री, जिल्ला संयोजक गोविन्द पराजुलीलगायतका नेताहरु वडा वडामा पुगेका थिए ।

    वडा सम्मेलनको अवसरमा कांग्रेस, एमालेलगायतका पार्टी परित्याग गरेर सयौ माओवादीमा प्रवेश गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य युवा नेता माधव सापकोटाले जानकारी दिए ।

    कांग्रेस, राप्रपा, एमालेहुँदै अहिले माओवादी केन्द्रसहित प्रमुख राजनीतिक दलहरु आफ्नो अधिवेशन, सम्मेलनका लागि गाउँगाउँमा पुग्दा स्थानीयलाई चुनावी झल्कोको रुपमा लिएका छन् ।

  • २७ वर्षपछि माओवादीमा आन्तरिक निर्वाचनलाई आत्मसाथ, उम्मेदवारी शुल्कसमेत तोकियो

    २७ वर्षपछि माओवादीमा आन्तरिक निर्वाचनलाई आत्मसाथ, उम्मेदवारी शुल्कसमेत तोकियो

    काठमाडौं । भूमिगत संघर्षबाट शान्तिपूर्ण राजनीतिमा आएर डेढ दशक बिताइसकेको माओवादी केन्द्रले अब पार्टीभित्र आन्तरिक निर्वाचनलाई पनि आत्मसाथ गर्ने भएको छ ।

    आगामी पुस ११-१३ मा राष्ट्रिय सम्मेलन गर्न लागेको माओवादीले सहमतिमै नेतृत्व चयनमा जोड दिएको भए पनि निर्वाचनको विकल्प पनि खुला राखेको छ ।

    माओवादीले अहिलेसम्म आफ्नो जीवनकालमा निर्वाचनबाट नेतृत्व चयन गरेको छैन । टुटफुट र संसदीय राजनीतिको तितोमीठो अनुभव संगाल्दै यहाँसम्म आइपुगेको माओवादीले अब सहमति हुन नसकेको ठाउँमा निर्वाचनबाट नेतृत्व चयन गर्ने भएको हो ।

    यसअघि पनि माओवादीमा सम्मेलनहरू हुने गरेका भए पनि नेतृत्व भने पार्टी नेतृत्वको तजबिजमै छनोट हुने गरेका थिए । नेकपामा करिब तीन वर्ष एमालेसँग संगत गरेको माओवादीले एमालेको सिको गर्दै आफ्नो सांगठानिक अवस्था मजबुत गर्न सेल, वडा, पालिका, प्रदेश र केन्द्रसम्म सम्मेलन गर्न लागेको हो ।

    सर्वसम्मत नभइ निर्वाचन हुने भएको खण्डमा माओवादीले उम्मेदवारी शुल्कसमेत निर्धारण गरेको छ । माओवादीको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार वडा पदाधिकारीको उम्मेदवार बन्नेले १ सय रूपैयाँ शुल्क निर्वाचन समितिलाई तिनुपर्ने छ । वडा सदस्यको उम्मेदवारीका लागि ५० रूपैयाँ तोकिएको छ ।

    पालिका पदाधिकारीमा उम्मेदवारी दिनेले ५ सय र सदस्यकोको लागि ३ सय निर्धारण गरिएको छ । त्यस्तै प्रदेश पदाधिकारीले १ हजार र सदस्यले ५ सय रूपैयाँ तिनुपर्ने छ ।

    भोलिदेखि निर्वाचन कार्यालय स्थापना हुने

    निर्वाचन प्रयोजनका लागि वडा, पालिका र प्रदेशस्तरीय निर्वाचन समिति बनेर उनीहरुलाई निर्वाचन प्रक्रियाका बारेमा प्रशिक्षण समेत दिइसकेको श्रेष्ठ बताउँछन् । वडामा ३ जना, पालिकामा ५ र प्रदेशमा ७ जनाको निर्वाचन समिति बनाइएको छ ।

    श्रेष्ठका अनुसार भोलिदेखि सबै वडा, पालिका र प्रदेशमा निर्वाचन कार्यालय स्थापनाको काम शुरु हुने छ । माओवादीले मंसिर ४ मा वडा, ११ गते पालिका र २५ गते प्रदेश सम्मेलन गर्दैछ ।

    प्यानल बनाउन नपाउने

    माओवादीले प्यानलबद्ध चुनावलाई भने निषेध गरेको छ । पार्टीमा गुटबन्दी मौलाउने भन्दै प्यानलगत उम्मेदवारी दिन नपाइने र त्यस अनुसारको प्रचार-प्रसार गर्न नपाइने आचारसंहिता बनाइएको निर्वाचन आयोग प्रमुख श्रेष्ठले जानकारी दिए ।

    चितवनमा महाधिवेशन गर्न गइरहेको प्रमुख प्रतिपक्षी एमालेले पनि विधानमै प्यानलवद्ध चुनाव लड्न नपाइने व्यवस्था गरेको छ ।

    तीन लाख नेता/ कार्यकर्ताको छनोट हुने

    सेल र टोल बाहेकका समितिमा करिब तीन लाख नेता कार्यकर्ताको छनोट हुने श्रेष्ठ बताउँछन् ।

    ६ हजार ७ सय ४३ वडामा औसत ३० सदस्यीय समिति बन्दामात्रै पनि २ लाख भन्दा बढी आवद्ध हुने र त्यस भन्दा माथिका पालिका, प्रदेश र केन्द्रीय समितिमा गरि थप एक लाखले जिम्मेवारी पाउने श्रेष्ठको भनाइ छ ।

    माओवादीमा पालिका र प्रदेश समितिको पदाधिकारी संख्या ७ हुनेछ । जसमा अध्यक्ष-१, उपाध्यक्ष-३, सचिव-१, सहसचिव-१ र कोषाध्यक्ष-१ रहने छन् ।

    बहुपदीय प्रणालीमा जान लागेको माओवादीको केन्द्रीय समिति २ सय ९९ जनाको हुनेछ । केन्द्रमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवहरू रहने छन् ।