Tag: महिला दिवस

  • महिला दिवसमा परिसंघले गर्‍यो महिला र पुरुषलाई सम्मान

    महिला दिवसमा परिसंघले गर्‍यो महिला र पुरुषलाई सम्मान

    काठमाडौं । नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय महिलालाई सम्मान गरेको छ । साथै महिलालाई अघि बढ्न उत्प्रेरित गर्न सहयोग गर्ने पुरुषलाई पनि परिसंघले सम्मान गरेको छ ।

    काठमाडौंमा आयोजित कार्यक्रममा परिसंघले रेणु शर्मा, कमला उप्रेती, उमा तामाङ, शर्मिला श्रेष्ठ, प्रकृति भट्टराई बस्नेत, प्रतिमा थापा, अलिशा श्रेष्ठ, निलम पाण्डे, अनुपमा खुँजेली, उपाशना पौडेल, आँचल कुँवर, सुमिति शाक्य, गीता श्रेष्ठ, सोना खातिक र महिलाबाट नेतृत्व प्रदान भएको गोरखकाली गुल्मलाई सम्मान गरेको हो । नेपाल पेपर क्राफ्टलाई पनि सम्मान गरिएको छ ।

    महिलालाई प्रोत्साहन गर्ने प्रभुराम भण्डारी, शम्भु धमला, अभयशंकर श्रेष्ठ, डम्बर खनाल, विक्रम श्रेष्ठ, दिनेशबहादुर श्रेष्ठ, अमिरप्रताप राणा, ललितकुमार लोहिया, डा रवीन्द्र खुँजेली, द्विराज शर्मा, अरुणध्वज अधिकारी, इयान ओक्ले वाल, निर्वाण चौधरी र प्रनेश शर्मालाई सम्मान गरिएको छ।
    राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी प्रधान सिंहले नयाँ पुस्तालाई उद्यमशीलतातर्फ प्रोत्साहन गर्न आग्रह गरिन् । परिसंघका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले महिलालाई अर्थतन्त्रको मूलप्रवाहमा ल्याउँदै दिगो आर्थिक विकासको आधार तयार गर्नुपर्नेमा जोड दिए ।

    परिसंघअन्तर्गतको वुमन लिडरसिप फोरमकी सभापति छाँया शर्माले भविष्यको दीगोपनका लागि आजैबाट लैंगिक समानताका लागि काम गर्नुपर्ने बताइन् । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस आज मनाइँदैछ ।

  • महिलाका समस्या अन्त्य गर्न हामी प्रयासरत छौंः मुख्यमन्त्री शाही

    महिलाका समस्या अन्त्य गर्न हामी प्रयासरत छौंः मुख्यमन्त्री शाही

    सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीकाे दूरदराजका बस्तीमा दुःख, कष्ट, विभेद, अनेक प्रकारका समस्या झेलिरहेका महिला समुदायको समस्या समाधान गर्न प्रदेश सरकार प्रयत्नरत रहेको बताएका छन् ।

    विश्वभरका महिलाहरुको महान् उत्सव १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री शाहीले जनसंख्याको आधा हिस्सा ओगटेका महिलाले हरेक क्षेत्रमा पुरुषसरह समान अवसरको उपभोग गर्न पाउने वातावरण तयार गर्नु सबैको दायित्व रहेको बताए ।

    ‘लोकतान्त्रिक गणतन्त्र नेपालको लागि विभिन्न कालखण्डमा भएका आन्दोलनको बलमा बनेको हाम्रो संविधानले प्रत्येक महिलालाई विना भेदभाव समान वंशीय हक, राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति एवं पारिवारिक मामिलामा समान हकलगायतका अधिकार सुनिश्चित गरेको छ ।’ उनले भनेका छन्, ‘संविधानप्रदत्त हकअधिकारको सुनिश्चितता गर्न गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य र रोजगारीको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्दै सामाजिक पछौटेपन, अन्धविश्वास र कुरीतिका कारण महिलाले भोग्नुपरेका समस्या अन्त्यका लागि प्रदेश सरकारले विशेष प्रयास गरिरहेको छ ।’

    प्रदेश सरकारले कार्यान्वयनमा ल्याएका ‘बैंक खाता छोरीको–सुरक्षा जीवनभरिको’, ‘छोरीबुहारी छात्रवृत्ति’, ‘मुख्यमन्त्री महिला दलित आयआर्जन’ लगायतका कार्यक्रमहरुले महिला र पुरुषबीच रहेको विभेद अन्त्यका लागि महत्वपूर्ण कोसेढुंगाको काम गर्ने विश्वास मुख्यमन्त्रीकाे छ ।