Tag: महिला उद्यमी

  • कोही ललिपप बनाउँदै, कोही ड्राइभिङ सेन्टर चलाउँदै

    कोही ललिपप बनाउँदै, कोही ड्राइभिङ सेन्टर चलाउँदै

    काठमाडौं । इलामकी दीपा गुरुङले २०६९ सालदेखि ‘ग्रीनसिटी इलाम ललिपप्’ उद्योग सञ्चालन गर्दै आएकी छन् । उद्योग संचालन गर्नुअघि उनी अरूकै ललिपप् उद्योगमा काम गर्थिन् । त्यहींबाट सिकेको सीपले उनलाई उद्यमीको बाटोमा डोर्यायो ।

    भन्छिन्, ‘एक वर्ष अरूको उद्योगमा काम गर्दा कसरी ललिपप् बनाउने भनेर सिकें र पछि आफैंले उद्योग स्थापना गरें । उद्योग स्थापना समयमा अलि डर लागेको थियो । तर, विस्तारै मेरो उद्योगबाट उत्पादित ललिपप्ले बजार लिन थाल्यो । पछि त, उद्योग संचालन गर्न धेरै सजिलो भयो ।’

    उनको अनुभवमा पहिलाभन्दा अहिले महिलाले उद्योग सञ्चालन गर्न सजिलो छ । उनले ५ लाख रुपैयाँ लगानीमा ६ जना कर्मचारी राखेर उद्योग शुरू गरेकी थिइन् । अहिले लगानी बढाएर ३५ लाख रुपैयाँ पुर्याएकी छिन् । उनको उद्योगमा अहिले ४० जनाले रोजगारी पाएका छन् ।

    गुरुङ भन्छिन्– काम शुरू गर्दा धेरै कठिनाइ भए पनि अहिले सबैले ‘सफल उद्यमी’ भन्दा खुशी लाग्छ । आज सबैले ‘राम्रो गरिस्’ भन्ने गरेका छन् ।

    आफैंले काम गर्न खोज्दा सहयोग नगर्नेहरू पनि अहिले ‘नयाँ उद्योग खोल्नका लागि के–के गर्नुपर्छ’ भनेर जानकारी लिन आउने गरेको उनी बताउँछिन् ।

    ०००

    काभ्रेकी लक्ष्मी थापा मगर पनि ‘सफल महिला उद्यमी’को रूपमा परिचित छिन् । ड्राइभिङ सेन्टर र होटल सञ्चालन गरेकी लक्ष्मीले सेन्टर सञ्चालन गर्न खोज्दा ‘समाजमा महिलाले ड्राइभिङ सेन्टर चलाउँदा बिग्रिन्छन्’ भन्ने गरेका थिए । तर, अहिले उनी अरूका लागि आदर्श पात्र बन्न पुगेकी छन् ।

    १३ वर्षअघि ५ लाख रुपैयाँमा शुरू गरेको ड्राइभिङ सेन्टरबाट करीब ३० हजारले ड्राइभिङ सिकिसकेका छन् । उनको ड्राइभिङ सेन्टरमा २० जनाले रोजगारी पाएका छन् भने राम्रो मुनाफा समेत कमाएकी छन् ।

    ड्राइभिङ सेन्टर शुरू गरेको तीन वर्षपछि उनले होटलमा पनि हात हालिन् । ३ लाख रुपैयाँको लगानीमा होटल सञ्चालन गर्दा उनले पाँच जनालाई रोजगारी दिएको तर कोरोनाको समयमा होटल बन्द भएकोले आफू समस्यामा परेको उनले बताइन् ।

    उनी भन्छिन्, ‘महिलाले काम शुरू गर्दा राम्रो हुँदैन भन्ने गरेका छन् । तर काम गर्दा सफल भएपछि राम्रो गरिस् भन्नेहरूको कमी हुने रहेनछ । मैले व्यवसाय शुरू गर्दा छोरी बिग्रन लागि भनेर घरकाले भन्ने गर्थे । र, ड्राइभिङ सेन्टरमा नै आए । केटाहरूले जिस्काउने पनि गरेका थिए । अहिले जिस्काउनेहरू पनि राम्रो कमाइ गरेको देखेर दंग परेका छन् ।’

    उनको बुझाइमा महिलालाई काम शुरू गर्न अझै पनि गाउँ, घर र समाज नै बाधक रहेको छ ।

    ०००

    रूपा श्रेष्ठले समूहमा मिलेर पधमी उद्योग प्रशिक्षण केन्द्र र पाथीभारा घरेलु प्रशिक्षण केन्द्र सञ्चालन गरेकी छिन् । शुरूमा पधमी उद्योग प्रशिक्षण केन्द्र ७ जना महिलाले ९० हजार लगानी गरेर सञ्चालनमा ल्याएको उनले बताइन् । केन्द्रले सिटीईभीटीबाट प्रशिक्षणको प्याकेज ल्याएर प्रशिक्षण दिने गरेको श्रेष्ठले बताइन् ।

    पाथीभारा घरेलु प्रशिक्षण केन्द्रमा तीन जनाको समूहले ५० हजार लगानी गरेर अचार र झोलालगायतको वस्तु उत्पादन शुरू गरेको उनले बताइन् । उनको समूहले १० वर्षअघि शुरु गरेको उद्योगमा ३० जनाले रोजगार पाएका छन् ।

    उनको समूहले ‘बजार कोसेली घर’ पनि सञ्चालनमा ल्याएको छ ।

    ०००

    एसएलसी दिएपछि भक्तपुरकी सबिका त्वानाबासुले परिवारले चलाइरहेको हार्डवेयर व्यवसायलाई नै निरन्तरता दिने सोच बनाइन् । उनको पूरै परिवार व्यवसायी थियो । परिवारमा केही काम गरेन भने मान्छे बिग्रिन्छ भन्ने प्रचलनै रहेको सबिका बताउँछिन् ।

    १३ वर्षअघि ३ लाख रुपैयाँमा हार्डवेयर शुरू गरेकी त्वानाबासुले अहिले करोडौंको बनाएकी छन् ।

    उनी भन्छिन्, ‘बजारमा सफल व्यवसायी हुन ठूलै संघर्ष र कामलाई निरन्तरता दिनुपर्छ । म एकल महिला हुँ । मैले बजारमा अन्य हार्डवेयरले भन्दा धेरै गरेकी छु तर पनि मलाई स्थान दिइँदैन । शायद एकल महिला भएर हुनसक्छ । समाजमा एकल महिलालाई हेर्ने परिपाटी नै नकारात्मक रहेको छ ।’

    अहिले उनले पाँच जनालाई रोजगारी दिएकी छिन् । बैंकले महिला र पुरुष व्यवसायीलाई समान व्याज लिन नहुने उनको तर्क छ । यही कारणले पनि महिलाहरू उद्योग वा व्यवसायको क्षेत्रमा आउन नसकेको उनको बुझाइ छ ।

    नेपाल ल क्याम्पसमा एलएलबी दोस्रो वर्षमा अध्ययन गरिरहेकी उनी कानूनकी विद्यार्थी समेत हुन् ।

    यससँगै पछिल्लो समय नेपालमा उद्योग सञ्चालन गर्ने महिलाको संख्या बढेको छ । राज्यले महिलाको नाममा उद्योग, कम्पनी दर्ता गर्दा छुट दिने व्यवस्था गरेका कारण पनि महिला उद्यमी बढेका हुन् । विभिन्न बैंकले महिला उद्यमीका लागि १५ लाख रुपैयाँसम्म बिना धितो ऋणको व्यवस्था गरिएको छ । कम्पनी र उद्योग नवीकरणमा समेत सरकारले छुट दिइरहेको छ ।

    नेपाल महिला उद्यमी महासंघका अनुसार अहिले देशमा साना, मझौला तथा ठूला गरी चार हजार महिला उद्यमी छन् ।

  • उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समिति विस्तार

    उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समिति विस्तार

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य रीता सिंहको सभापतित्वमा गठित महिला उद्यमी विकास समिति विस्तार भएको छ । समितिका सह–सभापतिमा सेवा सेक्युरिटिज प्रा।लि।का निर्देशक जुना माथेमा चुनिएकी छन् ।

    समितिका सदस्यहरूमा क्याण्डल एण्ड क्राफ्टसका प्रोपाइटर सुनिता वैद्य श्रेष्ठ,  किपिङ एण्ड रिसर्च सेन्टरका सिइओ महालक्ष्मी श्रेष्ठ, अर्वान गर्लका सहसंचालक निकिता आचार्य, कञ्चनजंघा टि स्टेटका प्रवन्ध निर्देशक शान्ता बाँस्कोटा छन् ।

    सिल्भर माउण्टेन स्कूल अफ मेनेजमेन्टका प्रवन्ध निर्देशक आभा शाह, हाउस अफ मेनेजमेन्ट प्रा।लि।का संस्थापक उपासना श्रेष्ठ र कीर्तिपुर उद्योग वाणिज्य संघका अध्यक्ष राज्यलक्ष्मी शाक्य रहेका छन् ।

    समितिमा विशेष आमन्त्रित सदस्यहरूमा लैगिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ पिंकी सिंह राणा, काभ्रे उद्योग वाणिज्य संघका सदस्य प्रमिला चण्डी श्रेष्ठ, उद्योग संगठन मोरङका प्रतिनिधि, वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधि रहेका छन् ।

    पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि, नेपालगंज उद्योग वाणिज्य संघका प्रतिनिधि, बुटवल उद्योग वाणिज्य संघका प्रतिनिधि, सुर्खेत उद्योग वाणिज्य संघका प्रतिनिधि, कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधि र भर्साटायल बुटिकका शोभा श्रेष्ठ रहेका छन् ।

    त्यसैगरी फोरमका सल्लाहकारहरूमा महासंघका पूर्व वरिष्ठ विज्ञ गोविन्द देव पाण्डे,  आनन्द शोभा ताम्राकार, रमेशमान डंगोल, महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य कमला श्रेष्ठ, महासंघको पर्यटन तथा हवाई उड्डयन समितिका सभापति विकास ज्योत्सना श्रेष्ठ रहेका छन् ।

    उक्त समिति विस्तार कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्यमशीलता विकास मार्फत मुलुकभित्र रोजगारी सृजना अहिलेको प्रमुख आवश्यकता रहेकाले उद्यमशीलता प्रवर्द्धनमा अवका सम्भाव्यता पहिचान सहित हाल संचालनमा रहेका तर कोभिडका कारण थलिएका साना उद्यमीहरूको पुनरूत्थानका लागि के गर्नुपर्छ त्यसमा केन्द्रीत हुन समितिलाई आग्रह गरे ।

    साथै उनले महिला उद्यमी विकास सम्बन्धी कार्यक्रमहरू संचालनका लागि योजनागत रुपमा अगाडी बढ्न पनि सुझाव दिए।

    समितिका सभापति सिंहको अध्यक्षतामा बसेको बैठकले आगामी दिनमा समितिले गर्ने उपयुक्त कार्यक्रमहरुबारे छलफल गर्न माघ १९ गते रणनीतिक बैठक ९क्तचबतभनष्अ ःभभतष्लन० आयोजना गर्ने निर्णय गरेको छ ।