Tag: भूमि आयोग

  • सत्तारुढ दलबीच भागबण्डा नमिल्दा भूमि आयोगमा समस्या, ८ महिनासम्म जिल्ला समितिले पूर्णता पाएन

    सत्तारुढ दलबीच भागबण्डा नमिल्दा भूमि आयोगमा समस्या, ८ महिनासम्म जिल्ला समितिले पूर्णता पाएन

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले विघटन गरेर पुनः गठन गरेको भूमि आयोगले आठ महिनासम्म पनि जिल्ला समितिलाई पूर्णता दिन सकेको छैन । देउवा सरकारले केशव निरौलाको अध्यक्षतामा आयोग पुनःगठन गरे पनि अझैसम्म जिल्ला समितिलाई पूर्णता दिन नसकेको हो । अहिलेसम्म ७१ जिल्लामा आयोगको जिल्ला समिति बनेको छ । अझै सात जिल्लामा समिति नै बन्न सकेको छैन ।

    ७७ जिल्ला समितिमा प्रत्येक जिल्लामा अध्यक्षबाहेक थप तीन जना जना नियुक्त गर्नुपर्नेछ । जहाँ अझै २ सय ३१ जना सदस्य नियुक्त गर्न बाँकी नै छ । खासगरी सत्तागठबन्धनमा रहेका दलबीच भागबण्डा नमिलेका कारण जिल्ला समितिले पूर्णता पाउन नसकेको हो ।

    महिला र दलितको सहभागिता पाँच प्रतिशत मात्रै

    भूमि आयोगको ७१ जिल्ला समिति अध्यक्ष नियुक्त हुँदा महिला र दलितको सहभागिता पाँच प्रतिशत मात्र छ । जहाँ चार जना महिला र चार जना दलितको मात्र प्रतिनिधित्व गराइएको छ ।

    अध्यक्ष नियुक्त भएको सूचीअनुसार महिलामा गोरखाको अध्यक्षमा कमला नहर्की, मनाङको अध्यक्षमा लक्ष्मीकुमारी लामा, डोल्पाको अध्यक्षमा मनकुमारी बुढा र मोरङको अध्यक्षमा शुसीला घिमिरे नियुक्त भएका छन् । यस्तै दलितमा सुनसरीको अध्यक्षमा भगीरथ खत्वे, म्याग्दीमा देवेन्द्र विक, रुकुम पूर्वमा दिपेन्द्रकुमार छन्त्याल र मुगुमा लालचन्द्र विक, डोटीमा जंग विक अध्यक्ष नियुक्त भएका छन् ।

    गठन आदेश संशोधन गरेर जिल्ला समिति सदस्यमा थप एक जना नियुक्त गर्ने र जिल्ला समिति सदस्यको योग्यता पनि प्रविणता प्रमाणपत्र तहबाट स्नातक तह बनाउने व्यवस्था गरिएको छ । यसबाट ७७ जिल्लामा दुई सदस्य पदका लागि हानाथाप भएपछि हरेक जिल्लामा एक–एक जना नियुक्त गर्ने गर्नेगरी ७७ जिल्लामा ७७ नेता कार्यकर्ता व्यवस्थापन गर्न सहज भएको छ । तर पनि अझै सरकारले आयोगका ६ जिल्ला समिति अध्यक्ष र दुई सय २१ जिल्ला सदस्य नियुक्त गर्न सकिरहेको छैन ।

    तर, आयोगको अध्यक्ष, उपाध्यक्ष तथा विज्ञ सदस्यको योग्यता भने पहिले स्नातक तह उत्तीर्ण हुनुपर्ने राखिए पनि पहिलो संशोधनमार्फत योग्यता नै हटाइएको छ । आयोगको अन्य सदस्य पदका लागि भने कम्तिमा पनि स्नातक तह उत्तीर्ण गरेर भूमि व्यवस्थापन वा जग्गा नापजाँचको क्षेत्रमा कम्तिमा १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ । जिल्ला समितिको विज्ञ सदस्यका लागि पनि कम्तिमा स्नातक तह उर्तीण गरी भूमि व्यवस्थापन, कानून वा जग्गा नापजाँचको क्षेत्रमा कम्तमिा १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

    तर, आयोगको अध्यक्ष, उपाध्यक्ष तथा सदस्य र जिल्ला समितिको अध्यक्ष तथा सदस्यको पदमा कार्यरत व्यक्तिको हकमा भने यो व्यवस्था लागू नहुने भनेर पहिले नै नियुक्त भइसकेका पदाधिकारीको बचाउ गरेको छ ।

    भाग मिलाउन गठन आदेश नै संशोधन

    राष्ट्रिय भूमि आयोग गठन आदेश, २०७८ अनुसार आयोगमा अध्यक्ष, उपाध्यक्ष र तीनजना विज्ञ सदस्यसहित ६ सदस्य रहने व्यवस्थालाई दोस्रो संशोधनमार्फत एक सदस्य थप गर्ने व्यवस्था गरिएको छ ।

    एक मन्त्रीका अनुसार आयोगले पूर्णता पाइसकेको भए पनि सत्तारुढ गठबन्धन दल राष्ट्रिय जनमोर्चाले आयोगमा आफ्नो भाग खोजेपछि चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले गठन आदेशलाई दोस्रो पटक संशोधन गर्दै एक सदस्य थप गर्ने निर्णय गरेको हो । त्यसैअनुसार सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय जनमोर्चाको तर्फबाट भैरव रेग्मीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ ।

    नियुक्ति र सपथग्रहण नै गुपचुप राख्ने प्रयास

    सरकारले आयोगका अध्यक्षदेखि सदस्यहुँदै जिल्ला समितिका अध्यक्ष नियुक्ति गुपचुपमै गरेको छ ।

    नियुक्ति गरेको निर्णय मात्र नभएर उनीहरुलाई काठमाडौंमा बोलाएर सफथग्रहणसमेत गुपचुपमै गराइएको छ । पहिलो चरणमा २०७८ पुस २१ गते र २८ जिल्लाका अध्यक्ष नियुक्त गरेर गुपचुपमै सफथग्रहण गराएको भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७८ चैत १७ गतेको मन्त्रिपरिषद्को बैठकबाट ४३ जिल्लाका अध्यक्ष नियुक्त गरेर गुपचुपमै त्यसैदिन पद तथा गोपनियताको सफथग्रहण गराएको छ ।

  • रुपन्देहीमा भूमि आयोग थाल्यो काम, एमालेलाई बेवास्ता गरेको गुनासो

    रुपन्देहीमा भूमि आयोग थाल्यो काम, एमालेलाई बेवास्ता गरेको गुनासो

    रुपन्देही । अघिल्लो सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि प्रभावित भएको भूमिसम्बन्धी काम रुपन्देहीमा पुनः सुरु हुने भएका छन् । तर निर्वाचनको मिति घोषणा भइसकेको समयमा गरिएका सम्झौताले खासै अर्थ नराख्ने र आयोगले पूर्जा दिनसक्छ भन्नेमा विश्वास नै नलागेको फाराम भरेर बसेकाहरुको गुनासो छ ।

    यसअघि काम सुरु भएर रोकिएका रुपन्देहीका विभिन्न पालिकाले राष्ट्रिय भूमि आयोगसंग नयाँ सम्झौता गरेर रोकिएको कामको थालनी गरेका हुन् । तर राष्ट्रिय भूमि आयोगका रुपन्देही अध्यक्ष हरिबहादुर आचार्यले एमालेबाट निर्वाचित स्थानीय पालिकामा वास्ता नगरेपछि ती पालिकाका जनप्रतिनिधि कार्यकाल सकिने समयमा राजधानी पुगेर सम्झौता गर्न थालेका छन् ।

    रुपन्देहीको नयाँ आयोगले जिल्लामा यससम्बन्धी काम सुरु गरेर अन्तिम चरणमा पुर्याएका एमालेबाट निर्वाचित जनप्रतिनिधि भएका पालिकालाई खबर नै नगरी कांग्रेसबाट निर्वाचित भएका पालिकामा सुटुक्क बोलाएर सम्झौता गरेर गलत अर्थ लगाइएको तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरेले बताएका छन् ।

    आचार्यले कांग्रेस नेता हिराबहादुर खत्री प्रमुख भएको देवदहलाई पहिले बोलाएर सम्झौता गर्न लगाउने तिलोत्तमा, बुटवल, सैनामैनालगायत यससम्बन्धी काम सुरु गरेर अन्तिम चरणमा पुर्याएकालाई अन्तिमसम्म बेवास्ता गरेकाले सिधै काठमाडौं गएर सम्झौता गर्नुपरेको गुनासो यहाँका पालिकाको छ ।

    सरकारले नयाँ गठन गरेको राष्ट्रिय भूमि आयोगसंग यहाँका पालिकाहरुले कार्यसम्पादन कार्यसम्झौता गरेसंगै दोस्रो चरणको काम सुरु भएको छ । पछिल्लो पटक बुटवल उपहानगरपालिका र तिलोत्तमा नगरपालिकाले हालै राष्ट्रिय भूमि आयोगसँग कार्यसम्झौता गरेका छन् ।

    भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न तिलोत्तमा नगरपालिकाले आयोगसँग बुधबार र त्यसअघि बुटवल उपमहानगरपालिकाले कार्यसम्झौता गरिसकेको थियो ।
    बुटवल उपमहानगरका उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीसहितको टोली आयोगको काठमाण्डौस्थित कार्यालयमै पुगेर कार्यसम्झौता गरेको थियो ।

    त्यस्तै तिलोत्तमा नगरपालिकाबाट प्रमुख बासुदेव घिमिरे र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको टोली आयोगको काठमाडौंस्थित कार्यालयमा पुगेर बुधबार कार्यसम्झौता गरेको छ । यो सँगै अब यहाँका बुटवल र तिलोत्तमामा भूमि समस्या समाधानका बाँकी काम अघि बढ्ने छन् ।

    बुटवलमा दोस्रो चरण अन्तर्गत भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको प्रमाणित निस्सा वितरणको तयारी भइरहेको छ । तिनाउ–दानव कोरिडोरका क्षेत्रमा पुन नापजाँच समेत गरिएको र त्यसैका आधारमा निस्सा वितरणको तयारी भइरहेको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

    बुटवल उपमहानगरले यसअघि नै कार्यपालिका सदस्य रामचन्द्र क्षेत्रीको संयोजकत्वमा विज्ञहरू सम्मिलित कार्यदल बनाएर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरेको थियो ।

    तिनाउ–दानव करिडोर क्षेत्रमा रहेको जग्गा प्रभावित क्षेत्रका समु्दायको समेत सहभागितामा पुनः नापजाँच समेत गरिसकिएको र अब निस्सा वितरणको तयारी भइरहेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । बुटवलले समस्या समाधानका लागि यसक्षेत्रमै पहिलो पटक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि इन्ट्री भइ प्रमाणीकरण भएका निस्सा वितरणको तयारी भइरहेको प्रवक्ता रेग्मीको भनाइ छ ।

    रुपन्देहीका अन्य पालिकाहरुमा समेत अघिल्लो सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत् भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीहरुको लगत संकलन भइ अनलाइनमा इन्ट्री गरिएको थियो ।

    संकलित तथ्यांक इन्ट्री गर्ने र जग्गा नापजाँचको लागि कन्ट्रोल पोइन्ट राख्ने कार्य जारी रहँदै गर्दा अघिल्लो आयोग विघटन भएपछि ती कार्य रोकिएका थिए । वर्तमान सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोगसँग कार्यसम्झौता गरेसँगै अब प्रक्रियाअनुसार भूमि समस्या समाधानको काम अघि बढ्ने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

    बुटवलमा करिब २० हजार र तिलोत्तमा नगरपालिकामा झण्डै आठ हजार जनाले भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन फारम भरेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको रुपमा सात हजार ९ सय १८ जनाले लगत संकलन फारम भरेको तिलोत्तमा नगरपालिकाले जनाएको छ । तिलोत्तमाका ६१९ जनाले भूमिहीन दलित, १ हजार ७४० जनाले भूमिहीन सुकुम्बासी र ५ हजार ५५९ जनाले अव्यवस्थित बसोबासीको लगत संकलन फारम भरेको नगरका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

    नयाँ सम्झौताअनुसार आयोगले आवश्यक प्रक्रिया अघि बढाउनेछ भने तिलोत्तमा नगरपालिकाले जनशक्ति तथा अन्य व्यवस्थापकीय कार्य गर्नेछ । २०७४ सालको स्थानीय तह निर्वाचनबाट नगरपालिकामा जनप्रतिनिधि आएपछिको पहिलो कार्यपालिका बैठकले भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गर्ने निर्णय गरेको थियो ।

    भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधानका लागि नगरमा सर्वदलीय, सर्वपक्षीय संयन्त्र र छलफलमार्फत प्रभावकारी काम गरिएको बताउँदै सैनामैनाका प्रमुख चित्रबहादुर कार्कीले सुरु गरिएका कामलाई सार्थकता दिनेगरी लागिपरेको बताए । भूमिको स्वामित्व दिलाउने कार्यलाई आफूहरुले प्राथमिकतामा राखेको उनले स्पष्ट पारे ।

    जनप्रतिनिधि आएसँगै बुटवल, सैनामैना, तिलोत्तमा नगरपालिकाका कतिपय वडाका गाउँब्लक, सहरी ब्लकलगातमा सयौंको संख्यामा लालपुर्जा वितरण गरिसकिएको छ । बुटवल, तिलोत्तमा, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा यसअघि नै आयोगको लगत संकलन इकाई कार्यालय स्थापना गरेर आयोगको सूचनाअनुसार गतवर्षको माघदेखि नै काम अगाडि बढेका थिए ।

    जनप्रतिनिधि तथा कर्मचारीहरु टोल–टोलमैं पुगेर लगत संकलन गरेका थिए । वडाहरुबाट प्राप्त लगतलाई कम्प्युटरमा इन्ट्री गर्ने, फाइल स्क्यानिङ गर्नेलगायतका काम अघि बढ्दै गर्दा संघीय सरकार परिवर्तनपछि अघिल्लो आयोग विघटन भएपछि काम रोकिएको थियो । सरकार फेरिएसँगै फेरिने आयोगले पूर्जा पाउने आशा गरेका स्थानीयलाई भने आशा मरेको छ । पटक पटक कर्मचारी आउने लगत लिने र पुनः थन्काउने कामले निरन्तरता पाएकोले आशा मरेको बुटवलका जगत सिंजालीले बताए ।

    राष्ट्रिय भूमि आयोगका रुपन्देही अध्यक्ष हरिबहादुर आचार्य यसअघिको आयोगले तयार गरेका र रोकिएका कामबाटै अहिलेको आयोगले काम थालेको र सबै पालिकामा नयाँ सम्झौताअनुसार काम थालिने बताए ।

  • सुकुम्बासीको लगत संकलनका लागि भूमि आयोगको सूचना, २७ जिल्लाका ६८ स्थानीय तह पहिलो चरणमा (सूचीसहित)

    सुकुम्बासीको लगत संकलनका लागि भूमि आयोगको सूचना, २७ जिल्लाका ६८ स्थानीय तह पहिलो चरणमा (सूचीसहित)

    काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि निवेदन मागेको छ । आयोगले सार्वजनिक सूचना निकालेर ३५ दिनभित्र निवेदन दिन भनेको हो ।

    ‘भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरी मिति २०७८ माघ १८ गतेदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलक मार्फत पेस गर्नुहुन र आफूले आवाद कमोत गरेको जग्गाको नापनक्सा सम्बन्धित नापी टोली खटिएपश्चात गराउन यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ’, जारी सूचनामा उल्लेख छ ।

    पहिलो चरणमा २७ जिल्लाका ६८ स्थानीय तहका भूमिहीन सुकुम्बासीलाई निवेदन दिन आयोगले भनेको हो ।

    आयोगले इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, रौतहट, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरा ६८ स्थानीय तहका सुकुम्बासीसँग आयोगले निवेदन मागेको हो ।

    यसपछि थप जिल्लाका स्थानीय तहका सुकुम्बासीसँग आवेदन मागको प्रक्रिया थालिने बताइएको छ ।

  • भूमि आयोगले माघदेखि धनीपुर्जा दिने, राजनीतिक पूर्वाग्रह नराख्ने दावी

    भूमि आयोगले माघदेखि धनीपुर्जा दिने, राजनीतिक पूर्वाग्रह नराख्ने दावी

    चितवन । राष्ट्रिय भूमि आयोगले माघदेखि लालपुर्जा वितरण गर्ने तयारी गरेको छ । आयोगका अध्यक्ष केशव निरौलाले भरतपुरमा कुराकानी गर्दै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई माघदेखि लालपुर्जा दिने गरी काम सुरु गरेको बताए ।

    ‘थोरै संख्यामा पुर्जा बाँडेर मिडियामा प्रस्तुत हुन चाहेका छैनौं, उनले भने, ‘ठूलो संख्यामा पुर्जा बाँड्ने योजनामा छौं, गुणस्तरीय काम गर्न लागेका छौँ।’

    उनले प्रोपोगन्डा गरेर थोरै कामलाई आयोगले चर्चामा ल्याउन नचाहेको बताए । ‘सातै प्रदेशबाट सुझाव संकलन गरेर कार्ययोजना बनाउने छौँ’, उनले भने, ‘सबै दल, नागरिक समाजको प्रतिनिधित्व बढाएर वास्तविक सुकुम्बासीको पहिचान तथा वर्गीकरण गरिनेछ ।’

    विघटित भूमिसम्बन्धी समस्या समाधान आयोगले गरेका कामलाई स्वीकारेर आवश्यक छानबिन गरी अगाडि बढ्ने उनले बताए । ‘हिजोका कामलाई कुनै राजनीतिक दल वा कार्यकर्ताले गरेको बुझ्दैनौं’, उनले भने, ‘ती काम राज्यकै स्रोत साधन खर्चेर भएका हुन्, त्यसैलाई आधार मान्छौं ।’

    अदालती प्रक्रियाले ढिलो भए पनि अब कामलाई गति दिने उनले दावी गरे । उनले वास्तविक तथ्यांक नभएकाले स्थानीय तहहरुलाई सक्रिय बनाएर हकदावी लाग्नेहरुलाई पुर्जा दिइने बताए ।

    उनका अनुसार करिब १५ लाख सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पुर्जा बाँडिने लक्ष्य छ । यसपालिको आयोग बलियो भएकाले लालपुर्जा दिने काम पूरा हुने बताए ।

    आयोगका उपसचिव मणि रेग्मीले ३ वर्षभित्र लालपुर्जा वितरणको काम सकिने बताए ।

  • भूमि आयोग तत्काल गठन गर्न कांग्रेस जिल्ला सभापतिहरूको माग

    भूमि आयोग तत्काल गठन गर्न कांग्रेस जिल्ला सभापतिहरूको माग

    काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेलामा भूमिसम्बन्धी आयोग तत्काल गठन हुनुपर्ने आवाज उठेको छ ।

    कांग्रेस नेतृत्वमा सरकार गठन भएलगत्तै अघिल्लो सरकारले गठन गरेको देवी ज्ञवाली नेतृत्वको भूमि समस्या समाधान आयोग विघटन गरिएको थियो । नेकपा एमालेले भूमिहीनलाई जग्गा दिने बेलामा कांग्रेस सरकारले अवरोध गरेको आरोप लगाउँदै आएको छ ।

    संस्थापनइतरका कांग्रेस जिल्ला सभापतिहरूको भेलामा आयोग विघटनपछि देशैभरी कांग्रेसविरुद्ध प्रचार भइरहेको भन्दै तत्काल भूमि आयोग गठन गर्नुपर्ने आवाज उठेको हो ।

    मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बुले तत्काल भूमि आयोग गठन नगरे कम्युनिष्टहरूले गलत सन्देश प्रवाह गर्ने बताएका छन् । उनले कार्यकर्ता भर्ती गर्न नभई वास्तविक भूमिहीनलाई जग्गा दिनसक्ने आयोग बनाउनुपर्ने बताएका हुन् ।

    बैठकमा सहभागी एक नेताका अनुसार पार्टीको आन्तरिक विषयसंगै सरकारले गर्नुपर्ने कामकारवाही बारे पनि भेलामा आवाज उठेको छ । खाना सत्रअघि ९ जना जिल्ला सभापतिले आफ्नो धारणा राखेका छन् ।

  • भूमि आयोग विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुँदै, लुम्बिनीका तीन सांसदको पनि पेसी

    भूमि आयोग विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुँदै, लुम्बिनीका तीन सांसदको पनि पेसी

    काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीविरुद्ध विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

    न्यायाधीश ईश्वर खतिवडाको इजलासमा पेसी तोकिएको सो मुद्दामा ज्ञवालीसहित अधिवक्ता प्रवेश केसीलगायतको रिट पनि एकै ठाउँमा राखेर सुनुवाइ हुँदैछ ।

    आयोग विघटन गैरकानूनी र संविधानविपरीत रहेको दावी गर्दै उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ । ज्ञवालीले आइतबार रिट दर्ता गराएका थिए भने केसीले सोही विषयमा शुक्रवार नै दर्ता गराएका थिए ।

    यसैबीच खतिवडाकै इजलासमा लुम्बिनीका जसपाले पदमुक्त गराएका तीन प्रदेशसभा सदस्यहरुको रिटमाथि पनि आजै सुनुवाइ हुने भएको छ ।

    एमाले नेतृत्वको सरकारमा सहभागी भएका विजय यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेलाई जसपाले कारवाही गरी पदमुक्त गराएको छ ।

    उनीहरू आफूहरूमाथिको कारवाही गैरकानूनी भएको भन्दै अन्तरिम आदेश माग्दै अदालत गएका थिए । यसअघि दुईपटक स्थगित भएको मुद्दामा आज सुनुवाइ तोकिएको छ ।

  • भूमि आयोग खारेजीविरुद्ध इटहरीमा प्रदर्शन

    भूमि आयोग खारेजीविरुद्ध इटहरीमा प्रदर्शन

    इटहरी । भूमिसम्बन्धी आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध इटहरीमा प्रदर्शन गरिएको छ ।

    राष्ट्रिय भूमिहीन मञ्चको आयोजनामा भएको प्रदर्शन दिउँसो तीन बजेबाट सुरु भएको थियो । प्रदर्शनकारीहरूले इटहरी चोकको बजार हुँदै इटहरी उपमहानगरपालिका परिसरमा आएर प्रदर्शन गरेका थिए ।

    आयोग विघटनको निर्णय फिर्ता हुनुपर्ने र सुकुम्बासीले जमिन पाउनुपर्नेलगायतका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका थिए ।

  • भूमि आयोग विघटनविरुद्ध भूमिहीन संगठनको प्रदर्शन (तस्बिरहरू)

    भूमि आयोग विघटनविरुद्ध भूमिहीन संगठनको प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । भूमि सम्बन्धी आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध भूमिहीन सुकुम्बासीहरूले प्रदर्शन गरेका छन् ।

    नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको आव्हानमा कोटेश्वरमा प्रदर्शन गरिएको हो । आयोग खारेजीको सरकारको निर्णयले लाखौं भूमिहीनलाई चोट पुगेको संगठनको ठहर छ । प्रदर्शनको क्रममा संगठनले तत्काल निर्णय बदर नगरिए थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।

    आयोग खारेजको निर्णयविरुद्ध सर्वोच्च अदालतमा समेत दुई मुद्दा विचाराधीन छन् ।

    
    
     
     
  • भूमि आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै देवी ज्ञवाली सर्वोच्चमा, भोलि पेसी तोकियो

    भूमि आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै देवी ज्ञवाली सर्वोच्चमा, भोलि पेसी तोकियो

    काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै विघटित आयोगका अध्यक्ष देवी ज्ञवाली रिट लिएर आफैं सर्वोच्च अदालत गएका छन् ।

    यो मौलिक हकविरुद्ध रहेको भन्दै ज्ञवालीले उत्प्रेषणको आदेशबाट निर्णय बदर गर्न माग गरेका छन् ।

    शुक्रबार पनि आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो ।

  • भूमि आयोग विघटनको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट, आइतबारलाई पेसी

    भूमि आयोग विघटनको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट, आइतबारलाई पेसी

    काठमाडौं । सरकारले गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग विघटनको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    अधिवक्ता प्रवेश केसीले दर्ता गरेको रिटमाथिको सुनुवाइका लागि साउन २५ गते आइतवारको लागि पेशी तोकिएको छ । आयोग विघटन संवैधानिक र कानूनी दुवै हिसाबले गलत रहेको र संविधानले ग्यारेन्टी गरेको भूमि सम्बन्धी र दलितको हक सम्बन्धी मौलिक हकको विपरीत रहेको दावी गरिएको छ ।

    आवास र दलित सम्बन्धी मौलिक हक प्राप्त गर्न र भूमि ऐनको उद्देश्य प्राप्त गर्न आयोग बनाइएकाले आयोगको विघटन संविधानविपरीत रहेको रिट निवेदनमा उल्लेख छ । सरकारले पदाधिकारी हटाउन सके पनि आयोग विघटन गर्न नसक्ने जिकिर गरिएको छ ।

  • भूमि आयोग खारेजीविरुद्ध अखिल नेपाल किसान महासंघको प्रदर्शन (तस्बिरहरू)

    भूमि आयोग खारेजीविरुद्ध अखिल नेपाल किसान महासंघको प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । अखिल नेपाल किसान महासंघले भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।

    शेरबहादुर देउवा नेतृत्वको सरकारको उक्त निर्णयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासको कारण जोखिमपूर्ण जीवन विताउन बाध्य समुदायप्रति गम्भीर अन्याय भएको भन्दै महासंघले विरोध गरेको हो ।

    निर्णय अविलम्ब सच्याउन माग गर्दै महासंघका जिल्ला अध्यक्ष बलराम धितालले काठमाडौंका सीडीओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

    ‘नेपालको संविधानले प्रदत्त गरेको अधिकारअनुसार गठन गरिएको आयोगले धमाधम काम गरिरहेको सबै स्थानीय तहसँग कार्यसम्पादन सम्झौतासमेत गरी, भूमिहीनको लगत संकलन, प्रमाणीकरण गरी भूमिहीनलाई जमिन वितरण गर्न आवश्यक जमिनको चाँजोपाँजोसमेत मिलाएको अवस्थामा आयोग विघटन गर्ने सरकारको निर्णयले भूमिहीनले फेरि जमिन पाउने अधिकारबाट बञ्चित भएका छन्’, ज्ञापन पत्रमा भनिएको छ, ‘राजनीतिक प्रतिशोध लिने मनसायले गरिएको यस निर्णयले भूमिहीनमाथि घोर अन्याय भएको हुँदा आयोग खारेज गने उक्त निर्णय अविलम्ब सच्याउन माग गर्दछौं ।’

  • भूमि आयोग खारेजविरुद्ध सुर्खेतका सुकुम्बासी संगठित, आन्दोलन गर्ने चेतावनी

    भूमि आयोग खारेजविरुद्ध सुर्खेतका सुकुम्बासी संगठित, आन्दोलन गर्ने चेतावनी

    सुर्खेत । भूमि आयोग खारेज गर्ने सरकारको निर्णय विरुद्ध सुर्खेतमा सुकुम्बासीहरूले ५०१ सदस्यीय संघर्ष समिति गठन गरेका छन् ।

    वीरेन्द्रनगर-२ कोलडाँडामा पुस्तौंदेखि बस्दै आएका सुकुम्बासीहरूले लालपुर्जा पाउने अन्तिम तयारी भइरहेको समयमा सरकारले भूमि आयोग विघटन नै गर्नु गलत भएको बताउँदै दबाबका लागि समिति बनाएका हुन् ।

    संघर्ष समितिका संयोजकमा मोहन सुनार छन् । समितिले भोलि वडा कार्यालयमा भूमि आयोगले सिफारिस गरे अनुसारको लालपुर्जा पाउँ भन्दै ज्ञापन पत्र पेस गर्ने तयारी पनि गरेको छ । ‘भूमि आयोगले हाम्रा समस्या समधानका लागि अन्तिम तयारी गरिसकेको थियो । केही महिनामा नै हामीले लालपुर्जा पाउने अवस्था आइसकेको थियो, ’ संयोजक सुनारले भने, ‘तर सरकारले आयोगका अहिलेसम्मका काम नै कामै नलाग्ने गरी खारेज गरेका कारण अब हामीले राज्यबाट कहिले लालपूर्जा पाउने भन्ने प्रश्न उब्जिएको छ । हामीलाई अरु भन्दा पनि लालपूर्जा चाहिएको छ । राज्यले हाम्रो माग सुनुवाइ गर्नुको साटो उल्टो हामीलाई तनाव दिने काम गरेको छ । यसको विरुद्धमा हामी आवाज उठाउँछौं ।’

    सुकुम्वासी, भूमिहिनका माग पूरा गराउन आफूहरू आन्दोलन गर्न बाध्य भएको भन्दै संयोजक सुनारले भने, ‘अहिले हामीले वडा स्तरबाट आन्दोलन शुरू गरेका छौं । भोलिका दिनमा राज्यले हाम्रो माग सम्वोधन नगरेको खण्डमा यो आन्दोलनलाई जिल्लाभरि विस्तार गर्ने योजना बनाएका छौं । आधा लाख भूमिहिनका माग प्रति सरकार गैरजिम्मेवार बन्न पाइदैन ।’ सरकारले भूमिहीनका मागलाई बेवास्ता गर्दै चरम राजनीति गरेको उनको आरोप छ ।

  • भूमि आयोग खारेजीविरुद्ध सुकुम्बासी बस्तीबाट युवा संघको प्रदर्शन (तस्बिरहरू)

    भूमि आयोग खारेजीविरुद्ध सुकुम्बासी बस्तीबाट युवा संघको प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । भूमि आयोग खारेज गर्ने देउवा सरकारको निर्णयविरुद्ध राष्ट्रिय युवा संघले प्रदर्शन गरेको छ ।

    युवा संघका कार्यकर्ताले कालो ब्यान र प्लेकार्डसहित मनोहराको सुकुम्बासी बस्तीबाट जुलुस निकालेका छन् । केपी ओली नेतृत्वको सरकारले १२ लाख करिब १२ लाख भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानको तयारी गरिरहेकोमा अहिलेको सरकारले आयोग नै खारेज गरेर जनघाती काम गरेको युवा संघको ठहर छ ।

    मंगलबारको मन्त्रिपरिषद् बैठकले ओली नेतृत्वको सरकारले गठन गरेको भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो । राष्ट्रिय युवा संघका इन्चार्ज एवं एमाले नेता महेश बस्नेतले सुकुम्बासीलाई लालपूर्जा दिने अन्तिम अवस्थामा आयोग नै खारेज गरेकाले सो निर्णय फिर्ताका लागि सरकारलाई बाध्य बनाउन संघर्ष गरेको बताए ।

    नेकपा एमालेले हिजो विज्ञप्ति निकालेर भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय अविलम्ब सच्याउन माग गरेको थियो ।  प्रवक्ता प्रदीप ज्ञवालीले भूमि आयोग खारेजीको निर्णयले संविधानले सुनिश्चित गरेको मौलिक हकको हनन गरेको र ऐन बमोजिम गठन भएको आयोज खारेजीले सरकार दलित र भमिहीनविरोधी रहेको पुष्टी भएको टिप्पणी गरेका छन् ।

  • भूमि आयोगको विघटन गरीब विरोधी हर्कतको पराकाष्ठा: पूर्वमन्त्री साह

    भूमि आयोगको विघटन गरीब विरोधी हर्कतको पराकाष्ठा: पूर्वमन्त्री साह

    काठमाडौं। पूर्वमन्त्री प्रभु साहले भुमिसम्बन्धि समस्या समाधान आयोग विघटन गर्नु सरकारको गरीब विरोधी हर्कतको पराकाष्ठा भएको बताएका छन् ।

    बुधबार फेसबुकमार्फत आपत्ति जनाउदै पूर्वमन्त्री साहले भूमिहीन सुकुम्बासीहरुलाई जग्गा धनी लालपुर्जा दिने कार्य अन्तिम चरणमा पुगेको बेला सरकारले गैरजिम्मेवारीपूर्ण ढंगले आयोग विघटन गरेर जनिविरोधी काम गरेको बताएका हुन् ।

    केही कथित कम्युनिष्टसहितको देउवा सरकारको हर्कतले वर्तमान शासन प्रणाली र विधिको शासनमाथि नै गम्भीर प्रश्न खडा भएको पूर्वमन्त्री साहको ठहर छ ।

    उनले सत्ता स्वार्थका लागि बनेको अपवित्र गठबन्धनको सरकार गरिब, विपन्न तथा दलितहरुको आवास निर्माणसँग सम्बन्धित जनता आवास तथा सुरक्षित नागरिक आवास कार्यक्रमप्रति समेत उदासीन रहेको आरोप लगाएका छन् ।

    ‘भूमिहीन सुकुम्बासीहरुलाई जग्गा धनी लालपुर्जा दिने कार्य अन्तिम चरणमा पुगेको बेला कथित केहि कम्युनिष्ट सहीतक़ो वर्तमान देउवा नेतृत्वको सरकारले गैरजिम्मेवारी पूर्ण ढंगले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरी विपन्न तथा दलित विरोधी हर्कतको पराकाष्ठा नै पार गरेको देखिन्छ ।’पूर्वमन्त्री साहले भने, ‘सत्ता स्वार्थका लागी बनेको यो अपवित्र गठबन्धनको सरकारले गरीब विपन्न तथा दलितहरुको अवास निर्माणसंग सम्बन्धित जनता अवास र सुरक्षीत आवास कार्यक्रमप्रति समेत उदासीनता राख्दै आएकोमा सत्ता गठबन्धनबाट सुरुवातमैं नेपालको संविधानको मर्म र भावना विपरीत लाखौं लाख भूमिहिन सुकुम्बासी जनतालाई आतंकीत (त्रसित) बनाउन जुन रुपमा भूमि आयोग विघटनको निर्णय भएको छ, यो निश्चय नै दुखद, दुर्भाग्यपूर्ण एवं खेदजनक विषय हो ।’

    सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान गरी लालपुर्जा वितरणको तयारी गरिरहेको आयोगलाई सरकारले मंगलबार खारेज गरेको हो ।

  • भूमि आयोग खारेजीको निर्णय सच्याउन एमालेको माग

    भूमि आयोग खारेजीको निर्णय सच्याउन एमालेको माग

    काठमाडौं ।नेकपा एमालेले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय अविलम्ब सच्याउन माग गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बुधवार प्रेस विज्ञप्ति गारी गर्दै जनताको मौलिक हकमाथि प्रहार गर्ने सरकारको निर्णयको निन्दा गरेका छन् ।

    एमालेले भूमि आयोग खारेजीको निर्णयले संविधानले सुनिश्चित गरेको मौलिक हकको हनन गरेको र ऐन बमाजिपम गठन भएको आयोज खारेजीले सरकार दलित र भमिहीन विरोधी रहेको पुष्टि भएको दावी गरेको छ ।

    १२ लाख भन्दा बढी भूमिहीन सुकुमबासीहरुले जग्गा पाउने बेलामा आयोग खारेजी गरिएको भन्दै राजनीतिक प्रतिशोध र पुर्वाग्रहका आधारमा आयोग विघटन गर्ने निर्णय खारेज गर्न एमालेले माग गरेको छ ।

  • भूमि आयोग खारेजीको प्रस्ताव मागियो, १२ लाख भूमिहीनको जग्गा प्राप्ति प्रक्रिया अन्योलमा

    भूमि आयोग खारेजीको प्रस्ताव मागियो, १२ लाख भूमिहीनको जग्गा प्राप्ति प्रक्रिया अन्योलमा

    काठमाडौं । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोगका सबै संरचना खारेज गर्ने प्रस्ताव अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट केन्द्रीय भूमि आयोग र ७७ जिल्लाकै भूमि समस्या समाधान आयोगहरु एकमुष्ठ खारेजीको प्रस्ताव उठाउन भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।

    मन्त्रालयले आयोग विघटनको प्रस्ताव उठाएको र आजै वा अर्को मन्त्रिपरिषद बैठकबाट खारेज गर्ने गरि प्रक्रिया अघि बढेको प्रधानमन्त्री कार्यालयका एक सचिवले नेपाल प्रेसलाई बताए । आयोगका पदाधिकारी हटाउँदा अदालतबाट अन्तरिम आदेश लिएर फर्किने भएकाले आयोग नै खारेज गर्न लागिएको स्रोतले जनाएको छ ।

    भूमि आयोगका अध्यक्ष देवी ज्ञवालीले भने राजनीतिक प्रतिशोध लिनका लागि दलित र भूमिहीनले जग्गा पाउनुपर्ने संवैधानले दिएको मौलिक हक नखोस्न आग्रह गरेका छन् । उनले पदाधिकारी हटाए पनि आयोग खारेज गर्न नहुने बताए ।

    आयोगले हालसम्म १२ लाख भन्दा बढी भूमिहीनको लगत लिएर कम्प्युटर सिस्टममा राखिसकेको छ । त्यस्तै भूमिहीनलाई वितरण गर्नका लागिग ५ हजार ३ सय २४ विघा जग्गाको लगत समेत लिइसकेको ज्ञवालीले बताए । भूमिहीन पहिचान गरी जग्गा वितरण गर्न ७४३ स्थानीय तहसँग कार्य सम्पादन सम्झौतासमेत भइसकेको अवस्थामा आयोग विघटन गर्दा लाखौं भूमिहीनले फेरि पनि जग्गा नपाउने उनले बताए ।

    आयोग विघटन नगर्न भनेर प्रधानमन्त्रीसँग ज्ञवालीले भेट्न खोजे पनि भेट भएको छैन । यसबीचमा उनले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर राजनीतिक प्रतिशोधको नाममा भूमिहीनमाथि अन्याय नगर्न आग्रह गरेको बताए ।

    यसैबीच आयोगका केन्द्र र जिल्ला कर्मचारीलाईसमेत विदामा राखेर काम नगर्न मौखिक निर्देशन मन्त्रालयबाट पठाइएको छ ।

  • ७७ जिल्लामा कसरी काम गर्दैछ भूमि आयोग ?

    ७७ जिल्लामा कसरी काम गर्दैछ भूमि आयोग ?

    काठमाडौं । भूमि र भूमिहीनका समस्या समाधान गर्न पछिल्लो पटक बनेको भूमी आयोगले १० महिनापछि पूर्णता पाएको छ । आयोगको ७७ वटै जिल्लामा तीन सदस्यीय समिति बनिसकेको छ । यससँगै अब आयोगले कसरी काम गर्छ ? भन्ने आमचासो छ ।

    संगठनात्मक संरचना

    जिल्लामा अध्यक्ष, विज्ञ सदस्य र एक सदस्य गरी ३ सदस्यीय जिल्ला समिति गठन भएको छ । ७७ वटै जिल्लामा गरी कुल दुई सय ३१ जना आयोगका पदाधिकारी हुनेछन् । तीमध्ये सुदूरपश्चिम प्रदेशका दुई जनाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छैनन् ।

    समितिमा सम्बन्धित डिभिजन वन कार्यालयका प्रमुख, नापी कार्यालयका प्रमुख, भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख पदेन सदस्य रहने छन् भने जिल्ला समन्वय अधिकारी सदस्य सचिवका रुपमा रहनेछन् ।

    जिल्ला समितिको बैठकमा सम्पूर्ण सदस्य संख्याको ५१ प्रतिशत सदस्य उपस्थित भए कोरम पुगेको मानिनेछ । जिल्ला समितिको बैठकसम्बन्धी कार्यविधि समितिले नै निर्धारण गरेबमोजिमको हुने आयोगका सदस्य जगत देउजाले बताए ।

    उनका अनुसार जिल्ला समितिका अध्यक्ष र सरकारले मनोनयन गरेका सदस्यको पदावधि जिल्ला समिति विघटन नभएसम्म कायम रहनेछ । जिल्ला समितिको सचिवालय सम्बन्धित जिल्लाको जिल्ला समन्वय समितिको कार्यालयमा रहनेछ ।

    कसरी गर्छ काम ?

    अब जिल्ला समितिले आवश्यक कार्ययोजना र कार्यतालिका बनाई काम गर्नुपर्ने आयोगका अध्यक्ष देवी ज्ञवालीले नेपाल प्रेसलाई बताए । ज्ञवालीका अनुसार जिल्ला समितिले समितिका पदेन सदस्यसित मिलेर कार्ययोजना बनाउनेछन् ।

    आयोगले काम थाल्नुअघि देशभरका ७ सय ५३ वटै स्थानीय तहसँग सम्झौता गर्नुपर्छ । अहिलेसम्म आयोगले ४ सय ५० स्थानीय तहसँग सम्झौता गरिसकेको अध्यक्ष ज्ञवालीले जानकारी दिए । बाँकी स्थानीय तहसँग सम्झौता गर्ने काम जारी रहेको उनले बताए । उनका अनुसार हिमाली जिल्ला र काठमाडौं उपत्यकाका स्थानीय तहसँग सम्झौता हुन बाँकी छ ।

    कतिपय जिल्ला समितिले कार्यालय स्थापना गरेर काम शुरु गरिसकेका छन् । आयोगले यसअघि नै स्थानीय तहलाई भूमिको स्थितिबारे लगत राख्न परिपत्र गरिसकेको थियो । अहिले जिल्ला समितिले स्थानीय तहले संकलन गरेको लगत अध्ययन गरिरहेको छ ।

    जिल्ला समितिले आयोगले दिएको अधिकारको अधीनमा रहेको काम गर्नुपर्नेछ । समितिले कार्यक्षेत्रसँग सम्बन्धित विषयमा प्रदेश सरकार र जिल्ला भित्रका स्थानीय तहसँग आवश्यक समन्वय गरी काम गर्नुपर्ने भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश, २०७६ मा उल्लेख छ ।

    उक्त आदेश अनुसार जिल्ला समितिका पदाधिकारीले जिल्लाबाट भएका कामकारबाहीको प्रगति विवरण मासिक रुपमा आयोगमा पठाउनुपर्नेछ । र आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने छ ।

    अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने क्रममा देखिएका समस्या जिल्लास्तरमा समाधान गर्न नसके केन्द्रलाई जानकारी गराउनुपर्नेछ । र केन्द्रले विवादको छिनोफानो गर्नेछ ।

    विवाद समाधान भएपछि आयोगले पहिचान र प्रमाणीकरण भएका जग्गाको नक्सा स्रेस्ता तयार गरी जग्गाधनी प्रमाणपुर्जा बनाएर जिल्ला समितिलाई दिनेछ । जिल्ला समितिले स्थानीय तहहुँदै भूमिहीनलाई पुर्जा दिनेछ । केन्द्रले बनाएका योजना तथा कार्यक्रम जिल्ला समितिले कार्यान्वयन गर्नुपर्ने छ ।

    आयोगले आफ्नो र जिल्ला समितिका लागि आवश्यक पर्ने बजेटको अनुमानित लागत तयार गरी निकासाको लागि भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउनुपर्नेछ । बजेट माग गर्दा वार्षिक कार्यक्रम, कार्ययोजना समेत पेश गर्नुपर्नेछ ।

    बजेट निकासाका लागि माग प्राप्त भएपछि गरिबी निवारण मन्त्रालयमा मन्त्रालयले अर्थमन्त्रालयमा पठाउने छ । जिल्ला समितिको कार्य सञ्चालनका लागि छुट्टै बैंक खाता खोल्नुपर्नेछ । जिल्लाका सदस्य सचिव, लेखा अधिकृत वा लेखापालको संयुक्त दस्तखतबाट खाता सञ्चालन हुनेछ ।
    आयोगले ७ सय ५३ वटै स्थानीय तहलाई १० महिनाअघि नै भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन र प्रमाणीकरण गर्नका लागि परिपत्र गरिसकेको थियो ।

    कर्मचारी व्यवस्थापन

    जिल्ला समितिका लागि आवश्यक पर्ने कर्मचारी प्रमुख जिल्ला अधिकारीले जिल्लास्थित कार्यालयबाट काजमा खटाउनुपर्नेछ । तर फिल्ड कार्यको लागि आवश्यक प्राविधिक कर्मचारी आयोगको सिफारिसमा अस्थायी दरबन्दी स्वीकृत गरी नापी विभागले काजमा वा करारमा नियुक्त गरी उपलब्ध गराउनेछ ।

    पदाधिकारीको सेवा/सुविधा

    आयोगका अध्यक्षले राज्यमन्त्री सरह र सदस्यले राजपत्राङ्कि विशिष्ट श्रेणीको अधिकृतले सहर तलब, भत्ता र सवारी साधनको सुविधा पाउने छन् । कामका लागि कार्यक्षेत्रमा खटिने जिल्ला समितिका अध्यक्ष तथा सदस्यले प्रचलित कानूनबमोजिम कर्मचारीले पाए सरहकै दैनिक तथा भ्रमण भत्ता पाउनेछन् ।

    भूमि सम्बन्धि समस्या समाधान आयोग गठन आदेशमा आयोग तथा जिल्ला समितिका अध्यक्ष सदस्य र आयोग वा जिल्ला समितिको काममा खटिएका कर्मचारी वा उसको परिवारले यस आदेश बमोजिमको जग्गा लिन नपाउने भनिएको छ ।

    को हुन् भूमिहीन सुकुम्बासी ?

    भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड, २०७७ अनुसार अव्यवस्थित बसोबासी भन्नाले सरकारी, ऐलानी, पर्ती वा सरकारी अभिलेखमा वन जनिएको भएता पनि कम्तिमा १० वर्षदेखि आवाद कमोत गरी घर टहरा बनाई बसोबास गरेका व्यक्तिलाई जनाउँछ ।

    भीमिहीन सुकुम्बासी भन्नाले नेपाल राज्यभित्र आफ्नो वा आफ्नो परिवारको स्वामित्वमा जग्गा जनिम नभएको र आफ्नो वा आफ्नो परिवारको आय आर्जन, स्रोत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असमर्थ व्यक्तिलाई भनिएको छ । यसले त्यो व्यक्तिप्रति आश्रित परिवारका सदस्य समेतलाई जनाएको छ ।

  • माधव नेपाललाई ओलीको आरोपः भूमि आयोग बनेपछि छाती पिटीपिटी रुदै हुनुहुन्छ (भिडियो)

    माधव नेपाललाई ओलीको आरोपः भूमि आयोग बनेपछि छाती पिटीपिटी रुदै हुनुहुन्छ (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको इतर समूहका अध्यक्ष माधवकुमार नेपालले देशमा भूमिहीनको समस्या समाधानमा अवरोध गरेको आरोप लगाएका छन् ।

    कृषि क्षेत्रका समस्या समाधान गर्न बनेको आयोगमाथि नेपालले मुद्दा हाल्न लगाएर काम गर्न नदिएको उनको दावी छ । किसान महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘विगतमा उहाँले कृषि क्षेत्रका समस्या समाधान गर्न बनको आयोगलाई कामै गर्न दिनुभएन । यसपटक पनि आयोग बनेपछि छाती पिटीपिटी रोइरहनुभएको छ ।’ नेपाललाई कृषि क्षेत्रको ज्ञान र अनुभव केही नभएको ओलीले टिप्पणी गरे ।

    ‘उहाँले कहिल्यै हलो समातेको छैन । नजोति खान पाएपछि किन जोत्नुपरो । धान कसरी रोप्छन् थाहा छैन । उहाँले रोपेको छैन । उहाँ किसानका समस्या, कृषि क्षेत्रका समस्या बुझ्नै चाहनुहुन्न । अनि आफ्ना मान्छे परेनन् भनर एकजना वकीललाई मुद्दा हाल्न लगाउनुभो’ ओलीले भने ।

    उनले थपे, ‘मैले हिजो साथीहरूलाई एउटा प्रश्न सोधेको थिएँ । नेपालमा कृषि समस्या समाधानमा वाधा हाल्ने एउटा नेताको नाम बताउनुस् त । उहाँहरूले सही जवाफ दिनुभएको थियो । तपाईंहरुलाई पनि सोध्छु । कोहो वाधक ?’ (सहभागीले एक स्वरमा माधव नेपाल भनेपछि… ) ‘हो, सही आयो । सप्पै एकैचोटि पास हुनुभयो । कति छर्लंग छ कुरो । दुईमतै छैन । कसैको फरक मत छैन । माधव नेपाल हो जसले किसानका समस्या समाधान गर्न आफ्नै मन्त्री दलबहादुर राना, शारदा सुवेदी मेरो होइन भन्नुभयो । मेरो मान्छे होइन, त्यसकारण यो हुँदैन भन्नुभयो ।’

    ‘यसपटक पनि खुब रोक्न खोज्नुभएको थियो, पर्नुभो फेला पद्मा अर्यालको । मुद्दा हाल्न खोज्नुभएको थियो । तमासा गर्नुभएको थियो । पद्मा अर्याललाई बोलाएर हप्काउन खोज्नुभयो । मेरा मान्छे र तेरा मान्छे भन्ने हो भने को हुन् तपाईंका मान्छे ? देवी ज्ञवाली कसका मान्छे ? मेरो त होइन, जात थर ठाउँ गोत्र केही मिल्दैन ’, ओलीले भने ।

  • तिलोत्तमामा लगत संकलन इकाई स्थापना

    तिलोत्तमामा लगत संकलन इकाई स्थापना

    रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भूमि सम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाई कार्यालय स्थापना गरिएको छ ।

    आयोगसंग हालै भएको कार्यसम्झौता अनुसार तिलोत्तमाले लगत संकलन इकाई स्थापना गरेको हो । इकाई कार्यालयको नगर प्रमुख बासुदेव घिमिरेले शुभारम्भ गरे ।

    तिलोत्तमा नगरस्तरीय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी लगत संकलन एवं सहजीकरण समितिको पहिलो बैठकपछि इकाई स्थापना गरिएको हो ।

    नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवं राजनीतिक दलका प्रमुख र सदस्यलगायत सहभागी समितिको बैठकले इकाईमा रहने प्राविधिक तथा अन्य १६ जना कर्मचारीहरुको व्यबस्थापन गर्नेलगायतका निर्णय गरेको प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

    उनका अनुसार बैठकले अनुसूची २ बमोजिमको विवरण आयोगमा पठाउने, प्रशासनिक काम तत्काल मिलाउने र त्यसपश्चात् आयोगलाई सुचना प्रकाशित गर्न अनुरोध गर्ने लगायतका निर्णयसमेत गरेको छ ।

    सो अवसरमा नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकामा जनप्रतिनिधि आएसंगै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अव्यवस्थित बसोबासी तथा सार्वजनिक जग्गाको लगत संकलन गर्नेलगायतका कामलाई प्राथमिकता दिइएको स्पष्ट पारे ।

    अब आयोगसंग भएको कार्यसम्झौता अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउने काम अघि बढ्ने उनको भनाइ छ । इकाई कार्यालयमार्फत् आयोगले बनाएको फारमको ढांचाअनुसार लगत संकलन गरिने उनले बताए ।