Tag: भारत

  • टी-२० विश्व कप: भारतको भाग्य फैसला आज

    टी-२० विश्व कप: भारतको भाग्य फैसला आज

    काठमाडौं । आईसीसी टी–२० विश्व कपको समूह ‘दुई’ अन्तर्गत आइतबार न्युजिल्यान्ड र अफगानिस्तान भिड्दैछन् । एकदिवसीय विश्व कपको उपविजेता न्युजिल्यान्ड र भर्खरै विश्व कपमा लगातार स्थान बनाउन थालेको अफगानिस्तानबीच हुने आजको खेलको रौनक यसको नतिजामा मात्रै सीमित हुनेछैन ।

    प्रतियोगिताको उपाधि दाबेदार मानिएको भारतको भाग्यसमेत आज शेख जायद स्टेडियममा हुने यसै खेलमा निहीत रहने छ । विश्व कप सुपर–१२ को पहिलो खेलमा पाकिस्तानविरुद्ध १० विकेटको नतिजामा पराजित भएको भारतले दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटको पराजय भोगेको थियो ।

    समूह चरणका दुई खेलमा पराजित भइसकेको भारतसामू अहिले अन्य टोलीको नतिजामा निर्भर रहनुबाहेक विकल्प छैन । र, आजको खेलमा यदि न्युजिल्यान्डले अफगानिस्तानलाई पराजित गर्यो भने भारतको सेमिफाइनल प्रवेशको सम्भावना समाप्त हुनेछ ।

    तर, अफगानिस्तानले यदि न्युजिल्यान्डलाई पराजित गर्यो भने भारतको आशा जिवितै रहने छ । सुरुआती चार खेलमा सतप्रतिशत नतिजा निकाल्दै पाकिस्तान सेमिफाइलनमा पुगिसकेको छ । यस्तै, समूह ‘एक’ बाट इङ्ल्यान्ड र अस्ट्रेलियाले पनि अन्तिम चारमा स्थान बनाइसकेका छन् ।

    आजको खेलमा न्युजिल्यान्ड पराजित भएर भारतले आफ्नो अन्तिम खेलमा सोमबार नामिबियालाई पराजित गर्यो भने नेट रनरेटका आधारमा भारतले सेमिफाइनलमा स्थान बनाउने छ ।

  • ट्वान्टी-२० विश्वकपमा भारतको पहिलो जित, सेमिफाइनल पुग्न कति सम्भव ?

    ट्वान्टी-२० विश्वकपमा भारतको पहिलो जित, सेमिफाइनल पुग्न कति सम्भव ?

    एजेन्सी । सुरुआती दुई खेलमा पराजित भएपछि आलोचित र हतोत्साही बनेको भारतले आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर १२ अन्तर्गत समूह २ को आफ्नो तेस्रो खेलमा अफगानिस्तानलाई ६६ रनले हराएको छ ।

    यो जितले भारतलाई जितको लयमा फर्काउन सहयोग गर्नेछ भने सेमिफाइनल प्रवेशको सम्भावनालाई पनि जिवित राख्नेछ । तर त्यो सम्भावना निकै कम छ ।

    टस हारेर पहिले ब्याटिङ गरेको भारतले ओपनरहरु रोहित शर्मा (७४) र केएल राहुल (६९)ले अर्धशतकीय योगदान गरेपछि उत्कृष्ट सुरुआत गरेको थियो । अन्तिम ५ ओभरमा हार्दिक पण्ड्या र ऋषभ पन्तले विष्फोटक इनिङ खेल्दा भारतले २ सय को आंकडा पार गरेको हो ।

    हार्दिकले ३५ र ऋषभले २७ अविजित रन बनाएपछि भारतले २१०-२ को योगफल खडा गरेको थियो । दुवैले १३ बलको सामना गरेका थिए ।

    २११ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन मात्र बनायो । अफगानिस्तानका करिम जन्नत ४२ रनमा अविजित रहे । मोहम्मद नाबीले ३५ रन जोडे । भारतका बलर मोहम्मद शामीले सर्वाधिक ३ विकेट लिए । यस्तै रविचन्द्रन आश्विनले २ विकेट हात पारे ।

    भारत पहिलो खेलमा पाकिस्तानसँग दोस्रो खेलमा न्युजिल्यान्ड पराजित भएको थियो । शुक्रबार भारतले स्कटल्यान्डसँग खेल्नेछ । अब, सेमिफाइलन यात्रा तय गर्न भारतलाई दुबै खेल जित्नुपर्ने हुन्छ । यति मात्रै हैन अन्य खेलमा समेत भर पर्नुपर्ने हुन्छ ।

    सुपर–१२ को समूह–२ बाट सेमिफाइनल पुगिसकेको पाकिस्तानको ४ खेलमा ४ जितका साथ शीर्ष स्थानमा छ । अफगानिस्तान ३ खेलमा २ जित र १ हारसहित दोस्रो स्थानमा छ ।

    न्युजिल्यान्ड ३ खेलमा २ जित र १ हार सहित नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । नामिबिया ३ खेलमा १ जित र २ हार सहित पाँचौं स्थानमा छ । भारत ३ खेलमा १ जित र २ हारका साथ चौथो स्थानमा छ । स्कटल्यान्ड सुरुवाती ३ खेल नै हारेको छ ।

  • न्युजिल्याण्डसँग हारेपछि भारतलाई विश्वकपकाे समूह चरणबाटै बाहिरिने डर

    न्युजिल्याण्डसँग हारेपछि भारतलाई विश्वकपकाे समूह चरणबाटै बाहिरिने डर

    एजेन्सी । न्युजिल्याण्डसँगको खेलमा पनि पराजय भोगेपछि आईसीसी ट्वान्टी–२० विश्वकपमा भारतको आशा कमजोर हुँदै गएको छ । प्रतियोगिता सुरु हुनुअघिको उपाधि दावेदार भारत पहिलो खेलमा पाकिस्तानसँग हारेको थियो ।

    विराट कोहली नेतृत्वको भारतीय टोली आइतबार राती पनि अप्रत्यासित रुपमा कमजोर देखियो । दुवईान न्युजिल्याण्डले १११ रनको सामान्य लक्ष्य ३३ वल अगावै पूरा गरिदियो ।

    न्युजिल्याण्डले ब्याटिङतर्फ भारतलाई नियन्त्रणमा राख्नै ११०–७ को योगफलमा सीमित राखेको थियो । भारतले आफ्नो इनिङमा ८ चौका र २ छक्का प्रहार गरेको थियो ।

    अलराउण्डर रवीन्द्र जडेजाले सर्बाधिक रन बनाउने क्रममा १९ बलमाद अविजित २६ रनको पारी खेले । न्युजिल्याण्डका बायाँ हाते तीव्र बलर ट्रेन्ट बोल्टले ३ र लेगस्पिनर इश सोधीले २ विकेट लिए ।

    जवाफी व्याटिङ गरेको न्युजिल्याण्डका मार्टिन गुप्टिललाई जरप्रित बुमराहले २० रनको स्कोरमा आउट गरे । तर डेरित मिटेलले ३५ बलमा ४९ रनको स्कोर गरे । उनले कप्तान केन विलियमसनसँग मिलेर ७२ रनको साझेदारी गरे । विलियमसन ३३ रनमा अविजित रहे । स्टार खेलाडीले भरिएको भारतमाथिको यो प्रभावशाली विजयपछि न्युजिल्याण्डले पनि विश्वकप सुपर १२ अन्तर्गत समूह २ बाट सेमिफाइनलमा प्रवेशको सम्भावना बढाएको छ ।

    यो समूहमा पाकिस्तान ३ जितपछि शीर्ष स्थानमा, अफगानिस्तान ४ अंकसहित दोस्रो स्थानमा छ । न्युजिल्याण्ड र नामिवियाको २–२ अंक हुँदा स्कटल्याण्ड र भारत अंकविहीन छन् ।

     

  • भारतको त्रिपुरामा मुस्लिममाथि आक्रमण तीव्र, घर र मस्जिदहरुमा आगजनी

    भारतको त्रिपुरामा मुस्लिममाथि आक्रमण तीव्र, घर र मस्जिदहरुमा आगजनी

    त्रिपुरा । मस्जिद र मुसलमानहरुको बस्तीमा आक्रमण भएपछि भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा तनाब बढेको छ । आक्रमणपछि त्रिपुराको सुरक्षा अवस्था कडा पारिएको छ । प्रभावित क्षेत्रमा भेला हुन रोक लगाइएको छ । हिन्दूको एउटा समूह र प्रहरीबीचको झडपछि हिंसा भड्किएको थियो ।

    बंगलादेशमा हालै हिन्दूमाथि भएका आक्रमणको बिरोधमा हिन्दूहरुले प्रदर्शन गरेका थिए । बंगलादेशमा मुसलमान समुदायमा आबद्ध एउट समूहले गरेको हमलामा हिन्दूहरुका दर्जनौ घरमा आगो लगाउनुका साथै मन्दिर तोडफोड गरिएको थियो ।

    दुर्गा पूजा चलिरहेका बेला एउटा फेसबुक पोस्टमा मुस्लिम धर्मलाई निन्दा गर्ने एउटा सुनियोजित पोस्टपछि हिन्दू समुदाय आक्रमणमा परेका थिए । त्रिपुरामा पछिल्लो चार दिनमा धर्मसँग सम्बन्धित विषयमा १० भन्दाबढी स्थानमा धार्मिक हिंसा भएको छ ।

    सीमा सहर पेनिसगरमा मंगलबार राति मुस्लिमले चलाएको कैयौं पसल तथा मस्जिदहरुमा आगजनी गरिएका थिए । हिन्दूवादी संगटन विश्व हिन्दू परिषदको नेतृत्वमा एउटा ¥याली निकालिएलगत्तै हिंसा सुरु भएको थियो ।

    यो संगठन सत्तारुढ भाजपा निकट मानिन्छ । ¥यालीमा भाग लिएका परिषदका कार्यकर्ताले चामिटिल्ला क्षेत्रमा एउटा मस्जिदमा आगजनी गरेका थिए । त्यसपश्चात त्यसपश्चात तीनवटा घर, तीन पसलमा तोडफोड गरियो भने दुईवटा पसलमा आगोलगाइयो । ती सबै मुस्लिमहरुका थिए । पिडितमध्ये एकजनाले प्रहरीमा उजुरी गरेका छन् ।

    हिंसा बढेपछि अधिकारीहरुले यहाँ धेरै मानिसहरु भेला हुन रोक लगाएका छन् । त्रिपुरा राज्यको तीनतर्फ बंगलादेशले घेरिएको छ । यहाँ २५ वर्षसम्म कम्युनिष्ट शासन अन्त्य भएर २०१८ भारतीय जनता पार्टी सत्तामा आएको थियो । करिब ४२ लाखको जनसंख्या भएको राज्यमा मुस्लिमहरु ९ प्रतिशतभन्दा कम संख्यामा छन् ।

  • भारतसँग मनोवैज्ञानिक त्रास ! दविएर खेल्दा चुक्यो नेपाल

    भारतसँग मनोवैज्ञानिक त्रास ! दविएर खेल्दा चुक्यो नेपाल

    काठमाडौं । पहिलोपटक साफ च्याम्पियनसीपको उपाधि जित्ने नेपालको सपना हिजो राति भंग भयो । भारतसँग ३–० को पराजयपछि नेपाल उपविजेतामा सिमित बनेको छ । यद्यपि, फाइनलसम्मको यात्रा पनि नेपालका लागि ऐतिहासिक नै हो ।

    फुटबलमा भारतसँगको हार नेपालका लागि कुनै नौलो र अनपेक्षित घटना होइन । हिजोको फाइनलमा पनि सातपटकको विजेता भारतलाई नै ‘फेभरेट’ मानिएको थियो । यद्यपि, नेपालले ९० मिनेट मैदानमा जसरी खेल्यो त्यो चाहिँ चिन्ताको विषय बनेको छ । नेपालको खेलमा कुनै पनि समय आक्रामकता झल्किएन । खेल जित्नेभन्दा भारतलाई रोक्ने ध्याउन्नमै देखिए खेलाडीहरु ।

    ९० मिनेटको खेलमा अधिकांश समय बल नेपालको पोष्ट वरिपरि नाचिरह्यो । भारतीय गोलकिपर अधिकांश समय फुर्सदमा देखिन्थे । खेलअवधिभर भारतको पोष्टमा नेपालले जम्मा एउटा खतरनाक प्रहार गर्यो, त्यो पनि दुई गोल खाइसकेपछि । त्यो डिफेन्डर रोहित चन्दको हेडिङ थियो, जुन टप बारमा लागेर बाहिरिन पुग्यो । त्यसबाहेक नेपालले गोलको गहकिलो मौकासमेत निकाल्न सकेन ।

    हिजोको खेल हेर्दा यस्तो प्रतित हुन्थ्यो कि नेपालको भिडन्त भारतसँग नभएर ब्राजिल वा अर्जेन्टिनाजस्ता फुटबल महाशक्तिसँग भइरहको थियो । एकदमै दविएर खेलिरहेका थिए खेलाडीहरु । मानौं प्रशिक्षकले उनीहरुलाई गोल गर्न होइन, गोल रोक्न मात्रै सिकाएर पठाएका थिए ।

    भनिन्छ नि खेलमा आक्रमण नै डिफेन्सको सबैभन्दा राम्रो तरिका हो । फुटबलमा यदि तपाईं आक्रमणको प्रयास गर्नुहुन्न भने कुनै न कुनै क्षण त विपक्षीले तपाईंको पोष्टमा बल छिराउँछ नै । नेपालले पहिलो हाफमा जेनतेन भारतलाई रोक्यो । तर, दोस्रो हाफको सुरुमै भारतले एक मिनेटभित्र दुई गोल दागेर नेपालको रक्षात्मक रणनीति चकनाचुर बनाइदियो ।

    हिजोका खेलमा नेपालको रणनीतमिाथि प्रश्न उठाउन सकिन्छ । फाइनल प्रतिस्पर्धामा कुनै पनि टिम उपाधिकै लागि भिड्ने हो । चाहे प्रतिस्पर्धी जति बलियो किन नहोस । तर, नेपाली टिमको प्रारम्भिक ११ मा एक मात्र स्ट्राइकर नवयुग श्रेष्ठ थिए । मनिष डाँगी र आयूष घलानजस्ता ‘इन फर्म’ स्ट्राइकरहरुलाई सुरुमै मैदानमा उतारेको भए नेपालको आक्रामक मानसिकता झल्किन सक्थ्यो । तर, उनीहरुलाई दोस्रा हाफका लागि साँच्दा नेपालको अग्रपंति फितलो भयो ।

    सम्भवतः प्रशिक्षकले पहिलो हाफमा भारतलाई रोक्ने र दोस्रोमा आक्रमण गर्ने रणनीति लिएका थिए । तर, दोस्रो हाफको सुरुवातमै दुई गोल खाएपछि नेपालको योजना भताभुंग भइहाल्यो । दुई गोल खाइसकेपछिको अवस्थामा खेलमा फर्किन यसै पनि कठिन हुन्छ । त्यसमाथि आफूभन्दा बलियो टोली छ भने त झन् दुरुह हुन्छ । नेपालले कम्तिमा एक गोल फर्काएको भए कागजी नतिजा प्रतिस्पर्धात्मक देखिन्थ्यो । तर सकेन । बरु अन्तिमतिर भारतले नै एक गोल थप्यो ०–३ को एकतर्फी नतिजा निकाल्यो ।

    हिजो दुई टिमको खेलस्तर हेर्दा यो नतिजालाई अस्वभाविक मान्न मिल्दैन । नेपालले जस्तो खेल्यो, त्यस्तै नतिजा व्यहोर्यो ।

    भारतसँग मनोवैज्ञानिक त्राश

    नेपाल र भारतबीचको खेल स्तरमा साह्रै ठूलो अन्तराल छैन । नेपालले चियाउनै नसक्ने प्रतिस्पर्धी होइन भारत । तर, विगतदेखि नै भारतसँग खेल्दा नेपाली टिमको मनोबल आफसेआफ कमजोर हुने गरेको पाइन्छ । कमजोर मनोबलकै कारण नेपाल जितको खोजीभन्दा पनि हार टार्नेमा बढी फोकस हुने गरेको छ ।

    नेपालको प्रमुख प्रशिक्षक भएर आएपछि अब्दुल्लाह अल्मुताइरीले नेपाली टिममा धेरै फेरबदल गरे । केही प्रतिभाशाली युवा खेलाडीहरु उनले जन्माए । नेपाली टिमको फिनिसिङमा सुधार देखियो । तर, भारतविरुद्धको कमजोर मानसिकता भने उनले झन् बढाइदिएका छन् ।

    साफ समूहचरण अन्तरगत भारतसँगको खेलअघि अब्दुल्लाह अल्मुताइरीले नेपालको जित्ने सम्भावना एक प्रतिशत मात्रै भएको बयान दिएका थिए । हुन त कतिपयले यसलाई उनको ‘माइन्ड गेम’ का रुपमा चर्चा गरे । तर, यस्तो बयानले टिमको मनोबल खस्किने र मनोवैज्ञानिक त्राश पैदा गर्नेतर्फ अल्मुताइरीले ध्यान दिएनन् ।

    समूह चरणको खेलमा नेपालले भारतसँग पूर्ण रक्षात्मक रणनीति अपनाएको थियो । नेपाललाई फाइनलमा पुग्नका लागि भारतसँग बराबरी नतिजा पर्याप्त भएकाले त्यसबेला रक्षात्मक खेल्नुलाई तर्कसंगत मान्न सकिएला । तर, फाइनलमा त जितकै लागि खेल्ने हो । फाइनलमा रक्षात्मक खेल्नु भनेको सिधै प्रतिस्पर्धीलाई उपाधि जित्ने बाटो सजिलो बनाइदिनु मात्र हो ।

    फिफा र्‍याङ्किङमा नेपालभन्दा भारत ६१ स्थान माथि छ । तर, नेपालले भारतभन्दा माथिल्लो वरियतामा रहेका देशहरुलाई कडा टक्कर दिएका धेरै उदाहरण छन् । हेड–टु–हेडमा नेपालभन्दा भारत धेरै अगाडि भए पनि प्रायजसो खेलहरुमा नेपालले भारतलाई जितका लागि संघर्ष गर्न वाध्य पारेको छ ।

    हालै काठमाडौंमा भएका दुई मैत्रीपूर्ण खेलमा पनि नेपाल यति फितलो देखिएको थिएन । एउटा खेलमा त नेपालले अग्रतासमेत लिएको थियो । तर, साफ च्याम्पिसनसीपका दुवै खेलमा नेपालले भारतलाई आफूमाथि हावी हुन दियो । यसले आगामी दिनमा भारतविरुद्ध नेपालको मानसिकता थप कमजोर गराउने निश्चित छ ।

    स्मरणीय यो छ कि प्रशिक्षक अल्मुताइरीले नेपाल आउनासाथ गरेको पत्रकार सम्मेलनमा भनेका थिए, अब नेपालले रक्षात्मक खेल्दैन (नो मोर डिफेन्स) । तर, भारतविरुद्ध नेपालको खेल शैलीले अल्मुताइरीको उक्त अभिव्यक्तिको भावलाई न्याय गरेन । अति रक्षात्मक बन्दा नेपालको एउटा सपना टुट्यो ।

    खेलाडीको मिहिनेत र प्रशिक्षकको समर्पण

    यो प्रतियोगितामा नेपालको समग्र प्रदर्शनलाई पुनरावलोकन गर्दा चाहिँ खुशी हुनुपर्ने ठाउँ धेरै छन् । माल्दिभ्स र श्रीलंकाविरुद्ध नेपालले स्पष्ट जित निकाल्दै उत्कृष्ट सुरुवात गरेको थियो । साफ च्याम्पियनसीपमा नेपालले पहिलोपटक श्रीलंकाविरुद्ध जित हासिल गरेको हो ।

    समूह चरणअन्तरगत बंगलादेशविरुद्धको निर्णायक म्याचमा पनि नेपालले राम्रो प्रदर्शन गरेको थियो । गोलका लागि पेनाल्टीको सहारा लिनु परे तापनि खेलमा नेपालले बंगलादेशलाई दवावमा राखेकै हो ।

    खेलाडीहरुको कुरा गर्दा फेरि एकपटक किरणकुमार लिम्बुले दर्शकको मन जितेका छन् । हरेक म्याचमा उनले केही खतरनाक आक्रमणहरु विफल तुल्याउन सफल भए । यस्तै मनिष डाँगीले माल्दिभ्सविरुद्ध काउन्टर अट्याकमा गरेको गोललाई कुनै पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली खेलाडीले गरेको उत्कृष्ट गोलको सूचीमा राख्न सकिन्छ ।

    श्रीलंकाविरुद्ध आयूष घलानको प्रदर्शन पनि सम्झनलायक छ । उक्त खेलमा एउटा गोल र एउटा असिस्ट गरेका १७ वर्षका यी युवाले भविष्यका लागि आशालाग्दो सम्भावना देखाएका छन् । डिफेन्समा सँधैजस्तो रोहित चन्दले आफूलाई पर्खालका रुपमा उभ्याइरहे । अट्याकिङ मिडफिल्डर अञ्जन विष्ट पनि प्रभावकारी रहे । अन्य खेलाडीहरुले पनि सक्दो प्रयास गरे ।

    प्रमुख प्रशिक्षक अब्दुल्लाह अब्लुल्लाह अल्मुताइरीले नेपाली फुटबलप्रति देखाएको लगाव र समर्पण पनि यो प्रतियोगिताको चर्चायोग्य पक्ष रह्यो । टचलाइनमा बस्दा उनको व्यग्रतापूर्ण प्रस्तुतिले धेरै नेपालीहरुको मन पगालेको छ । अत्यधिक व्यग्रताकै कारण उनले दुईपटक पहेँलो कार्ड खान पुगेर फाइनल खेलमा प्रतिवन्धसमेत भोगे । नेपालले गरेको गोलमा अल्मुताइरीको सेलिब्रेसनले सामाजिक सञ्जालमा निकै चर्चा पायो ।

    यस प्रतियोगितामार्फत अल्मुताइरीले नेपालीहरुको अथाह माया बटुलेका छन् । तर, साफपछि आफू नेपाली टिममा नरहने घोषणा गरेर उनले सबैलाई खिन्न तुल्याए । आशा छ, उनले आफ्नो निर्णयमा पुनर्विचार गर्नेछन् ।

    समग्रमा भारतविरुद्धका दुई म्याचलाई छोड्ने हो भने साफ च्याम्पियनसीपको १३ औं संस्करण नेपालका लागि सुखद नै मान्नुपर्छ ।

    तस्विरहरु : एन्फा

     

     

     

     

  • नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज, कप्तान किरणले कीर्तिमान बनाउँदै

    नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आज, कप्तान किरणले कीर्तिमान बनाउँदै

    काठमाडौं । नेपाल र भारतका राष्ट्रिय फुटबल टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ । विहीबारको पहिलो खेलमा १–१ गोलको बराबरी खेलेका यी दुई टोलीबीचको खेल दशरथ रंगशालामा आज साँझ साढे ५ बजेदेखि सुरु हुनेछ ।

    सरकारले रंगशालाको पूर्ण क्षमताको एक तिहाई दर्शक राख्न अनुमति दिएसँगै विहीबार पनि ५ हजार दर्शकले प्रवेश पाएका थिए । आजको खेलमा पनि एन्फाले ५ हजार १ सय टिकट विक्री गर्ने बताएको छ । भीआईपी प्यारापिटका लागि २ हजार र साधारण प्यारापिटमा १ हजार टिकटशुल्क तोकिएको छ ।

    विहीबार अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा रोकिनुपरेको थियो । खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गरेर टिमलाई अग्रता दिलाए पनि दोस्रो हाफको सुरुआतमै अनिरुद्र थापाको गोलमार्फत भारतले बराबरी गरेको थियो ।

    आइतबारको खेल नेपाली कप्तान किरण चेम्जोङका लागि ऐतिहासिक हुनेछ । उनले नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेलको कीर्तिमान बनाउनेछन् । यसअघि यो कीर्तिमान पूर्व कप्तान विराज महर्जनको नाममा थियो ।

    विहीबारको खेलमा ७३ औं क्याप जितेर किरणले विराजको कीर्तिमान बराबर गरेका थिए । किरणले सन् २००८ मा एएफसी च्यालेन्ज कप अन्तर्गत लाओसविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।

    नेपाल र भारत निकै चिरप्रतिद्धन्द्धीका रुपमा रहेका छन् । नेपालले दक्षिण एशियाली स्तरमा भारतलाई मुख्य प्रतिद्धन्द्धीका रुपमा लिँदै आएको छ । अहिलेसम्म यी दुई टिम २० पटक खेलेका छन् । नेपालले एक खेलमात्र जितेको छ भने ६ खेल बराबरी गरेको छ । बाँकी खेल भारतको पोल्टामा गएको छ ।

    यो मैत्रीपूर्ण खेलपछि नेपाली टिम थप तयारीका लागि कतार जानेछ । जहाँ नेपालले दुई साता भन्दा बढीको समय विताएर साफ च्याम्पियनसिपका लागि उतैबाट माल्दिभ्स जानेछ ।

    अक्टोबर १ देखि १६ सम्म मालेमा हुने साफ च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको सेमिफाइनलबाट माथि जान सकेको छैन ।

  • तालीवानी कब्जाबारे भारत मौन, भारतसँगको सहकार्यका पक्षमा रहेका अफगानीको पक्षमा उभिने

    तालीवानी कब्जाबारे भारत मौन, भारतसँगको सहकार्यका पक्षमा रहेका अफगानीको पक्षमा उभिने

    दिल्ली । तालीवानी विद्रोहीले अफगानिस्तानको सत्ता कब्जा गरेपछि भारतले यसप्रति प्रतिक्रिया जनाएको छ। त्यहाँको विदेश मन्त्रालयले पहिलो पटक सार्वजनिक गरेको धारणामा तालीवानीबारे केही उल्लेख गरिएको छैन् ।

    काबु्लको सुरक्षा अवस्था बिग्रिएको उल्लेख गर्दै भारतले त्यहाँको अवस्था नजिकबाट नियालीरहेको, भारतीय नागरिकाका लागि लगातार रुपमा सुरक्षा ‘एडभाइजरी’ जारी गरेको उल्लेख गरिएको छ। त्यस्तै अफगानिस्तानमा रहेका शिख र हिन्दू प्रतिनिधिसँग सम्पर्कमा रहेको र भारत आउन चाहानेका लागि सहजिकरण गरिने बताइएको छ।

    विकास र शिक्षा जस्ता कुरामा भारतसँग आपसी सहकार्य गर्न चाहाने धेरै अफगानी नागरिक रहेको भन्दै उनीहरुको पक्षमा भारत उभिने विदेश मन्त्रालयको भनाइ छ।

  • भारतले आज ७५ औं स्वतन्त्रता दिवस मनाउँदै

    भारतले आज ७५ औं स्वतन्त्रता दिवस मनाउँदै

    एजेन्सी । भारतले आज ७५औं स्वतन्त्रता दिवस मनाइरहेको छ । कोरोना महामारीका कारण सीमित व्यक्तिहरुको उपस्थितिमा आज दिल्लीस्थित लालकिल्लामा औपचारिक कार्यक्रम सुरु भएको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसका अवसरमा आयाजित कार्यक्रमलाई सम्वोधन गरिरहेका छन् । कार्यक्रममा सेनाका जवान, ओलम्पिक पदक विजेता भारतीय खेलाडी तथा कोरोना महामारीको विरुद्धमा अग्रभागमा रहेर सेवा गर्नेहरु सम्मानित हुँदैछन् ।

    स्वतन्त्रता दिवसलाई मध्यनजर गरी राजधानी दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । संवेदनशील क्षेत्रमा ड्रोनद्वारा निरीक्षण गर्ने व्यवस्थाद मिलाइएको छ ।

    औपचारिक समारोहस्थल लालकिल्लामा प्रहरीले सर्वाधिक खोजीको सूचीमा रहेका आतंकबादीहरुको तस्बिर टाँसेको छ ।

     

  • भारतका दुई राज्यको सीमामा झडप, ६ जना प्रहरीको मृत्यु

    भारतका दुई राज्यको सीमामा झडप, ६ जना प्रहरीको मृत्यु

    एजेन्सी। भारतको असम-मिजोरम सीमा क्षेत्रमा हिंसात्मक झडप हुँदा आसाम राज्यका ६ जना प्रहरीले ज्यान गुमाएका छन् । दुई राज्यको सीमा क्षेत्रमा मिजोरम तर्फबाट आएका केही अराजक समूहले ढुँगामुढा गरेको आसाम प्रहरीले आरोप लगाएको छ ।

    आसाम प्रहरीले शुरुमा ढुँगा मुढा गरेको समूहबाट फायर खोलेको र झडपमा आफ्नो तर्फका ६ प्रहरी मारिएको जनाएको छ । यस घटनालाई लिएर दुबै राज्यका मुख्यमन्त्रीहरुले एकले अर्कालाई दोष लगाएका छन् ।

    आसामका मुख्यमन्त्री हिमत विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सीमानामा भएको झडपमा ज्यान गुमाएको बताएका छन् ।

    मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटमा भनाई पोष्ट गर्दै आसाम प्रहरीका ६ जवानले राज्यको संवैधानिक सीमाको रक्षा गर्दागर्दै आफ्नो जीवन दिएको उल्लेख गरेका छन् । ‘मलाई ठूलो चोट लागेको छ । आसाम पुलिसका ६ जना बहादुर जवानहरुले हाम्रो राज्यको संवैधानिक सीमाको रक्षा गर्दागर्दै आफ्नो जीवन दिएका छन् । मारिएका प्रहरी जवानका परिवारप्रति संवेदना छ ।’ मुख्यमन्त्री शर्माले ट्वीटरमा लेखेका छन् ।

    उता मिजोरम राज्यका गृहमन्त्री लालछमलियानाले आसाम प्रहरीका केहि जवानहरु मिजोरम राज्यको प्रहरी पोष्ट र सीआरपीएफको पोष्ट हुँदै जबर्जस्ती  प्रवेश गरेको बताएका छन् । मिजोरम राज्यको सीआरपीएफ र प्रहरीसँग भनाभन् भइरहेको अवस्थामा मिजोरम राज्यका स्थानीयबासीले प्रतिकार गर्न खोज्दा सो घटना घटेको गृहमन्त्री लालछमलियानाले बताए । उनले प्रतिकारमा आएका निशस्त्र आएका स्थानीयबासी माथि आसाम प्रहरीले लाठी चार्ज, अश्रुग्याँस र गोली प्रहारसमेत गरेको आरोप लगाएका छन् ।

    मिजोरम राज्यको सीआरपीएफका एडीजी संजीव रंजन ओझाले अग्लो स्थानमा रहेको मिजोरम प्रहरी र स्थानीयमाथि आसाम प्रहरीले केहि अश्रुग्याँस छाडेसँगै हिँसा भड्केको बताए । ‘दुबै तर्फबाट फायर खोलेपछि असम प्रहरीका ६ प्रहरीले ज्यान गुमाए,’ एडीजी ओझाले भने ।

    दुबै राज्यका मुख्यमन्त्रीहरुले केन्द्र सरकारको हस्तक्षेपको माग गरेका छन् । केन्द्र सरकारले दुबै राज्यका सीआरपीएफलाई बल प्रयोग गरी शान्ति बहाली गर्न निर्देशन दिए पछि दंगा शान्त भएको छ ।

    केन्द्र सरकारका गृहमन्त्री अमित साहले दुबै राज्यका मुख्यमन्त्रीहरुलाई सीमानाका बाट आ-आफ्नो प्रहरी फर्काउन आग्रह गरेपछि सीमामा तनाव कम भएको थियो ।

  • श्रीलंकाविरुद्धको एकदिवशीय शृंखला भारतले जित्यो

    श्रीलंकाविरुद्धको एकदिवशीय शृंखला भारतले जित्यो

    एजेन्सी । दोस्रो खेलमा ३ विकेटको रोमान्चक विजयसँगै श्रीलंकाविरुद्धको तीन एकदिवशीय शृंखला भारतले जितेको छ । कोलम्बोमा गएराति सम्पन्न दोस्रो एकदिवशीयमा दीपक चहरले आठौं नम्बरमा ब्याटिङ गरी ६९ रनको अर्धशतकीय योगदान गरेपछि भारतले जित हासिल गरेको हो ।

    २ सय ७६ रनको लक्ष्य पछ्याएको भारत १८ ओभरमा ११६-५ को नाजुक स्थितिमा थियो । उसका शीर्ष क्रमका ब्याट्सम्यानहरुले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । अर्धशतक बनाएर खेलिरहेका सूर्यकुमार यादव पनि आउट हुँदा भारत २७ ओभरमा १६०-६ को स्थितिमा पुग्यो । क्रुनाल पण्ड्याले पनि ३५ रनमात्र बनाउन सके ।

    तर आठौं विकेटका लागि दीपक चहर र तीब्र बलर भुवनेश्वर कुमारबीच ८२ रनको अविजित साझेदारी भयो र इनिङको ५ बल छँदै भारले खेल जित्यो र शृंखला जित निश्चित ग¥यो । चहरले ८२ बलमा ७ चौका र १ छक्कासहित ६९ रनको अविजित संयमित पारी खेले । कुमारले उनलाई १९ रन बनाएर साथ दिए । श्रीलंकाका वानिन्दु हसरंगाले ३ विकेट लिए पनि अन्तिम ओभरतिर घरेलु बलर निप्रभावी देखिएका थिए ।

    यसअघि टसजितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेटको क्षतिमा मध्यम योगफल बनाएको हो । उसका ओपनर आभिस्का फर्नाण्डोले ५० तथा मध्यक्रमका चरिथ असलंकाले ६५ रनको अर्धशतकीय योगदान गरेका थिए । चामिका करुणारत्नेले पनि ४४ रन बनाए ।

    बलिङमा भारतका भुवनेश्वर र युजवेन्द्र चहलले ३-३ विकेट लिए । चहरले बलिङबाट पनि २ विकेट लिएका थिए । उनी खेलकाे म्यान अफ द म्याचसमेत चुनिए ।

    शृंखलाको पहिलो खेलमा भारत आइतबार ७ विकेटले विजयी भएको थियो । एक खेल अगावै एकदिवशीय शृंखला जितेको भारतले त्यसपछि तीन खेलको ट्वान्टी-२० शृंखला पनि खेल्नेछ ।

  • शिखर धवनको कप्तानी इनिङ्समा श्रीलंकामाथि भारतको ७ विकेटको जित

    शिखर धवनको कप्तानी इनिङ्समा श्रीलंकामाथि भारतको ७ विकेटको जित

    एजेन्सी । पहिलो खेलमा ७ विकेटको आरामदायी जितसहित श्रीलंकाविरुद्धको एकदिवशीय शृंखलामा भारतले १-० को अग्रता लिएको छ ।

    कोलम्बोको प्रेमदाशा रंगशालामा घरेलु टोली श्रीलंकाले दिएको २ सय ६३ रनको लक्ष्य ३ विकेटको क्षतिमा पूरा गर्दा शिखर धवनले ८६ रनको कप्तानी पारी खेले ।

    शिखरले ९५ बलमा ६ चौका र १ छक्कासहित अवजित प्रदर्शन गर्दा अर्का ओपनर पृथ्वी शले २४ बलमा ४३ रन बनाए । धवनले दोस्रो विकेटका लागि इशान किसानसँग मिलेर ८५ रन तथा तेस्रो विकेटका लागि मनिस पाण्डेसँग ७२ रनको ठोष साझेदारी गर्दै टिमलाई जित दिलाएका हुन् ।

    इशानले ४२ बलमा ५९ रनको अर्धशतकीय पारी खेले । मनिसले २६ रन जोडे । सूर्यकुमार यादव ३१ रनमा अविजित रहे ।

    इसअघि टस जितेर पहिलो व्यटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ६२ रनको मध्यम योगफल खडा गरेको थियो । श्रीलंकाका लागि पुछारक्रममा व्यटिङमा आएका चामिण्डा करुणरत्नेले अविजित ४३ रन बनाए । अन्यले अपेक्षाकृत रन बनाउन सकेनन् ।

    नियमित कप्तान विराट कोहली, उपकप्तान रोहित शर्मा, मुख्य बलर जरप्रित बुमराह लगायतलाई आराम दिँदै दोस्रो रोजाईको टिम पठाएर हेपेको आरोप लागिरहेका बेला श्रीलंकाली टोलीका लागि त्यहि टोली नै पर्याप्त बन्यो । ३ एकदिवशीय र ३ ट्वान्टी-२० खेलको शृंखलाका लागि भारतीय टोली कोलम्बो पुगेको हो ।

  • भारतको उत्तरप्रदेशमा बस र लोडर ठोक्किँदा १७ जनाको मृत्यु

    भारतको उत्तरप्रदेशमा बस र लोडर ठोक्किँदा १७ जनाको मृत्यु

    एजेन्सी । भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । कानपुरमा गएराति यात्रुबस र लोडर ठोक्किँदा भएको दुर्घटनामा थप १० जना घाइते छन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार लखनउबाट दिल्लीका लागि छुटेको बस र लोडर जुधेका हुन् । मृत्यु हुनेहरु धेरैजसो लोडरमा सवार मजदुर छन् । घाइतेको कानपुर र इलाहाबादका अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनामा मृत्यु हुनेका परिवारलाई प्रदेश सरकारले दुई-दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मृतकका प्रति परिवारलाई दुई-दुई लाख रुपैयाँ दिने र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।

  • भारतमा मृत्युदरमा सुधार आएन, पछिल्लो २४ घण्टामा ३१ सयले गुमाए ज्यान

    भारतमा मृत्युदरमा सुधार आएन, पछिल्लो २४ घण्टामा ३१ सयले गुमाए ज्यान

    दिल्ली । भारतमा गत २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट ३ हजार १ सय २८ जनाको मृत्यु भएको छ । १ लाख ५२ हजार ७ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् भने २ लाख ३८ हजार २२ जना डिस्चार्ज भएका छन् ।

    भारतमा दैनिक संक्रमितको संख्यामा ओरालो लाग्दै आएको छ भने दैनिक मृत्युदरमा भने सुधार आउन सकेको छैन । अहिलेसम्म भारतमा कुल २ करोड ८० लाख भन्दा बढी संक्रमित भएका छन् भने २ करोड ५६ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    भारतमा कुल ३ लाख २९ हजार १०० जनाले ज्यान गुमाइसकेका छन् भने २० लाख २६ हजार ९२ जना संक्रिय संक्रमित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • काठमाडौंको राजनीतिक उथलपुथलबारे भारतको प्रतिक्रिया : यो नेपालको आन्तरिक मामिला हो

    काठमाडौंको राजनीतिक उथलपुथलबारे भारतको प्रतिक्रिया : यो नेपालको आन्तरिक मामिला हो

    काठमाडौं । प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा लगायत विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ ।

    नयाँ दिल्लीमा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले नेपालमा विकसित घटनाक्रमलाई भारतले नजिकबाट नियाली रहेको र ती आन्तरिक मामिला भएको बताए ।

    प्रवक्ता अरिन्दम बागचीले भने- ‘नेपाल आफ्नै लोकतान्त्रिक प्रक्रियाभित्रबाट समस्या समाधान गर्न सक्षम छ भन्ने भारतको विश्वास छ ।’

    छिमेकी मित्रराष्ट्र भएको नाताले भारतले नेपालको शान्ति, समृद्धि र स्थायित्वको यात्रामा साथ दिने पनि जनाएको छ ।

  • भारतमा अहिलेसम्मकै सर्वाधिक मृत्यु, एकैदिनमा ४,५०० ले ज्यान गुमाए

    भारतमा अहिलेसम्मकै सर्वाधिक मृत्यु, एकैदिनमा ४,५०० ले ज्यान गुमाए

    दिल्ली । कोरोनाभाइरस संक्रमणको कारण भारतमा अहिलेसम्मकै धेरैजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पछिल्लो ४ हजार ५ सय २९ जनाको मृत्यु भएको छ ।

    दैनिक मृत्यु हुनेको संख्यामा भारतले अमेरिकालाई समेत उछिनेको छ । संक्रमण दर घटेपनि भारतमा मृत्यु हुनेको संख्यामा कमी आएको छैन ।

    थप २ लाख ६७ हजार ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ भने ३ लाख ८९ हजार ८ सय ५१ जना डिस्चार्ज भएका छन् ।

    भारतमा अहिलेसम्म २ करोड ५४ लाख जनामा संक्रमण पुष्टि भएको छ भने २ करोड १९ लाख जना संक्रमण मुक्त भएका छन् ।

    मुत्यु हुनेको कूल संख्या २ लाख ८३ हजार २ सय ४८ रहेको छ भने संक्रिय संक्रमित संख्या ३२ लाख २६ हजार ७ सय १९ छ ।

     

  • भारतमा शनिवार चार लाख बढी संक्रमित, चार हजार भन्दा बढीको मृत्यु

    भारतमा शनिवार चार लाख बढी संक्रमित, चार हजार भन्दा बढीको मृत्यु

    नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा ४ लाख नयाँ संक्रमित फेला परेका छन् । भारतमा यो सहित कूल संक्रमितको संख्या २ करोड १८ लाख ९२ पुगेको छ ।

    भारतमा लगातार तेस्रो दिन ४ लाखभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ ।

    भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा थप ४ हजार १८७ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । यो सहित भारतमा कोभिडको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या २ लाख ३८ हजार २७० पुगेको हो ।

    हाल विश्वमै कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या संयुक्तराज्य अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ । संयुक्तराज्य अमेरिकामा ५ लाख ९४ हजार तथा ब्राजिलमा ४ लाख १९ हजारको ज्यान गइसकेको छ ।

    भारतमा अझै पनि ३७ लाख २३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । मन्त्रालयका अनुसार हालसम्म एक करोड ७९ लाख ३१ हजार व्यक्ति कोभिड-१९ बाट संक्रमणमुक्त भएका छन् ।

    भारतमा कोभिड-१९ को दोस्रो लहरका कारण जनजीवन अस्तव्यस्त भए पनि भारत सरकारले देशव्यापी पूर्ण लकडाउन नगर्ने बताएको छ । कतिपय भारतीय राज्यहरुमा रात्रिकालीन निषेधाज्ञा वा आंशिक लकडाउन गरिएको छ । राजधानी नयाँ दिल्लीमा आगामी मे १० सम्मका लागि लकडाउन गरिएको छ ।

    गत जनवरीमा देशव्यापी खोप अभियान सञ्चालन गरिएको भारतमा हालसम्म करिब १६ करोड ७४ लाख व्यक्तिलाई कोभिड-१९ को खोप दिइसकिएको छ । १८ वर्षभन्दा माथिका व्यक्तिका लागि गत मे १ तारिखबाट खोप अभियान शुरु भइसकेको छ ।

    यसैबीच, बिहीबारसम्म भारतमा कोभिड-१९ को ३० करोड नमुना परीक्षण गरिएको छ । शुक्रबार एकै दिन १८ लाख नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

  • भारतमा विहिबार एकैदिन चार हजारको मृत्यु, चारलाख १२ हजार संक्रमित

    भारतमा विहिबार एकैदिन चार हजारको मृत्यु, चारलाख १२ हजार संक्रमित

    नयाँ दिल्ली । कोरोनाभाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ९८० जनाको मृत्यु भएको हो ।

    योसँगै भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या दुई लाख ३० हजार १६८ पुगेको छ । भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएको पाइएको छ ।

    केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा देशभरी गरेर कुल चार लाख १२ हजार २६२ जना सङ्क्रमित भएको जानकारी दिएको छ । एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

    भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल दुई करोड १० लाख ७७ हजार ४१० जना सङ्क्रमित भएका छन् ।

    पछिल्लो २४ घण्टामा भारतमा तीन लाख २९ हजार ११३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड ७२ लाख ८० हजार ८४४ पुगेको छ ।

    भारतमा अहिले पनि ३५ लाख ६६ हजार ३९८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भइरहेकै अवस्थामा रहेका छन् ।

    भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार यही मे ५ तारिखसम्ममा भारतमा २९ करोड ६७ लाख ७५ हजार २०९ कोभिडको नमुना परीक्षण गरिएको छ । ती मध्ये १९ लाख २३ हजार १३१ जनाको बुधबार परीक्षण गरिएको हो ।

    भारतमा अहिलेसम्म १६ करोड २५ लाख १३ हजार ३३९ मात्राको कोरोनाभाइरसविरुद्धको खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ ।

    भारतमा कोरोनाको परीक्षण र खोप अभियान एकातिर चलिरहेको छ भने अर्कोतिर कोरोनाभाइरसबाट सङ्क्रमित भएका र मृत्यु भएकाहरुको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दो छ ।

  • भारतमा सोमबार ३ लाख ६८ हजार संक्रमित, ३४ सयको मृत्यु

    भारतमा सोमबार ३ लाख ६८ हजार संक्रमित, ३४ सयको मृत्यु

    दिल्ली । भारतमा सोमबार ३ लाख ६८ हजार १४७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३,४१७ जनाको मृत्यु भएको छ ।

    भारतमा कूल संक्रमित संख्या १ करोड ९९ लाख पुगेको छ । जसमध्ये ३४.१३ लाख सक्रिय संक्रमित छन् । २ लाख १८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

    महाराष्ट्र, कर्नाटका, उत्तर प्रदेश, केरला, राजस्थान, गुजरात, छत्तिसगढ, आन्ध्र प्रदेश, तामिलनाडु र पश्चिम बंगालमा सर्वाधिक संक्रमित भेटिएका छन् ।

    भारतको सर्वोच्च अदालतले आइतबार प्रभावित राज्यमा पूर्ण लकडाउन गर्न केन्द्र र राज्य सरकारलाई निर्देशन दिइसकेको छ ।

  • भारतमा आज झन्डै ४ लाख संक्रमित थपिए, ३,६०० जनाको मृत्यु

    भारतमा आज झन्डै ४ लाख संक्रमित थपिए, ३,६०० जनाको मृत्यु

    दिल्ली । भारतमा आइतबार एकैदिन ३ लाख ९२ हजार ४८८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६८९ जना संक्रमितको मृत्यु भएको छ ।

    ३ लाख ७ हजार जना निको भएका छन् ।

    भारतमा कूल संक्रमित संख्या १ करोड ९५ लाख पुगेको छ । कूल मृत्यु संख्या २ लाख १५ हजार पुगेको छ । सक्रिय संक्रमित संख्या ३३ लाख ४९ हजार पुगेको छ ।

  • विधानसभा चुनाव मतगणना सुरु : केरलाले जोगाउँदैछ भारतमा कम्युनिष्टको साख

    विधानसभा चुनाव मतगणना सुरु : केरलाले जोगाउँदैछ भारतमा कम्युनिष्टको साख

    दिल्ली । भारतका पाँच राज्यमा सम्पन्न विधान सभा निर्वाचनको मतगणना सुरु भएको छ । मतगणना सुरु भएसँगै ती राज्यको प्रारम्भिक नतिजा आउन सुरु भएको छ ।

    पश्चिम बंगाल, तामिलनाडु, केरला, पाण्डुचेरी र आसममा सम्पन्न चुनावको मत गन्न सुरु भएको हो । भारतीय संचारमाध्यमले आ-आफ्नै ढंगले एक्जिट-पोल सार्वजनिक गरिरहेका छन् ।

    केरलाको १४० सिटमध्ये ९२ सिटसहित कम्युनिष्ट दल एलडीएफले अग्रता हासिल गरिरहेको छ । कांग्रेसले नेतृत्व गरेको युनाइटेड डेमोक्र्याटिक फ्रन्ट (युडीएफ) ४५ सिटसहित दोस्रो स्थानमा पछ्याइरहेको छ ।

    बीजेपी ३ सिटसहित पुछारमा छ केरला राज्यमा । केरलामा चार दशकदेखि कांग्रेसले नेतृत्व गरेको युडीएफ र कम्युनिष्टले नेतृत्व गरेको एलडीएफबीच रस्साकस्सी हुनेगथ्र्यो तर यसपटक कम्युनिष्ट पार्टीले झन्डै दोब्बर मतान्तरले अग्रता हासिल गरिरहेको छ ।

    परम्परागत कम्युनिष्ट प्रभाव रहेको केरलाका १४० सिटमा एलडीएफले बहुमत ल्याउने अपेक्षा गरिएको छ । २०१६ मा एक सिट जितेको बीजेपीले यसपटक भने केही सिट बढाउने अपेक्षा छ ।

    यसपटक केरलामा मुख्यमन्त्री पिनाराय विजयन, ११ जना उनका मन्त्रिपरिषद् सदस्यहरु, प्रतिपक्षी दलका नेता रमेश चेन्नीथाला, बरिष्ठ कांग्रेस नेता ओमन च्यान्डीसहित कूल ९५७ जना उम्मेदवार थिए ।

    पश्चिम बंगालको २९२ सिटमध्ये तृणमूल कंग्रेस १८१ सिटसहित अगाडि छ । बीजेपीले ८६ सिटसहित दोस्रो स्थानमा छ । कंग्रेस ३ सिटसहित पुछारमा छ । यसपटक सबैभन्दा बढी फाइदा बीजेपीलाई भएको छ जसले सिटसंख्या दोब्बर संख्यामा वृद्धि गरेको छ ।

    तामिलनाडुमा डीएमके १३८ र एडीएमके ९५ सिटसहित अगाडि बढेका छन् । केन्द्र शासित राज्य पाण्डुचेरीमा बीजेपी ११ सिटसहित अग्रणी छ । कांग्रेसले पाँच सिटसहित बीजेपीलाई पछ्याइरहेको छ ।

    आसाममा बीजेपी ८३ सिटसहित अगाडि छ । ४१ सिटसहित कांग्रेससहितको गठबन्धनले बीजेपीलाई पछ्याइरहेको छ । मतगणनाको नतिजा आज मध्यरातसम्म आउने अपेक्षा गरिएको छ ।

  • भारतका ५ राज्यमा मतगणना सुरु, पश्चिम बंगालमा ममता बेनर्जीको पार्टीको अग्रता

    भारतका ५ राज्यमा मतगणना सुरु, पश्चिम बंगालमा ममता बेनर्जीको पार्टीको अग्रता

    एजेन्सी । भारतमा हालै विधानसभा मतदान सकिएका पाँच राज्यको ८ सय २२ सिटका लागि मतगणना सुरु भएको छ । पश्चिम बंगाल, आसाम, केरल, तामिलनाडू र पान्डीचेरीमा मतगणना भइरहेको छ ।

    मतगणनाको प्रारम्भिक रुझान अनुसार नेपालसँग सीमाना जोडिएको पश्चिम बंगालमा ममत बेनर्जी नेतृत्वको पार्टी तृणमूल कांग्रेसले अग्रता लिएको छ । पश्चिम बंगालमा १ सय ४३ स्थानमा तृणमूल कांग्रेस र १ सय २२ स्थानमा भारतीय जनता पार्टी (बीजेपी)को अग्रता छ ।

    तामिलनाडूमा डीएमकेको गठबन्धनले १ सय ११ स्थानमा अग्रता बनाएको छ भने एआईए डीएमके पार्टीले ९६ स्थानमा अग्रता लिँदै डीएमकेलाई पछ्याइरहेको छ ।

    केरलमा सत्तारुढ लेफ्ट डेमोक्र्याटिक फ्रन्ट (एलडीएफ)ले भारी अग्रता हासिल गरेको छ । उसले ८२ स्थानमा अग्रत बनाउँदा युनाइटेड डेमोक्र्याटिक फ्रन्ट (यूडीएफ)ले ५० स्थानमा अग्रता हासिल गरेको छ ।

    आसाम र पन्डीचेरीमा भारतीय जनता पार्टीको अग्रता छ । आशाममा भारतीय जनता पार्टीले ८० स्थान र भारतीय कांग्रेसले नेतृत्व गरेको युनाइटेड प्रोग्रेसिभ अलायन्स (यूपीए)ले ३६ स्थानमा अग्रता बनाएको छ । पन्डीचेरीमा भाजपाले १२ र यूपीएले ५ स्थानमा अग्रता बनाइरहेको छ ।

  • दिल्लीमा अक्सिजन र बेड नपाएपछि जन्मभूमि फर्किएका दुई नेपालीको बाटोमै मृत्यु

    दिल्लीमा अक्सिजन र बेड नपाएपछि जन्मभूमि फर्किएका दुई नेपालीको बाटोमै मृत्यु

    काठमाडौं । भारतको राजधानीका दिल्लीका सरकारी र निजी अस्पतालमा भौतारिँदा अक्सिजन र बेड नपाएपछि उपचारका लागि नेपाल ल्याउने क्रममा दुईजना नेपालीको उत्तर प्रदेशमा मृत्यु भएको छ ।

    कोभिड संक्रमित दुई प्रवासी नेपालीलाई दिल्लीबाट एम्बुलेन्समा नेपाल ल्याउने क्रममा नुवाकोटका हरी रौला र बैतडीका मनोज भट्टको बाटोमै निधन भएको प्रवासी नेपाली अभियन्ता आरबी खड्काले बताएका छन् ।

    हरि रौला दिल्लीको पहाडगन्जमा रामराजा होटलका सन्चालक हुन् । त्यस्तै मोनज भट्ट प्रवासी नेपालीहरुबीच सामाजिक अभियन्ताका रुपमा परिचित थिए ।

    उनीहरु दुवैजनाको कोभिडको उपचार नपाएका कारण उत्तर प्रदेशको मुरादाबादमा निधन भएको खड्काले बताएका छन् ।

    उनका अनुसार भारतमा स्वास्थ्य प्रणाली अत्यन्तै खराब छ र प्रवासी नेपालीहरुको अवस्था वेहाल छ । दिल्ली लगायत कतै पनि अस्पतालमा अक्सिजन र बेड पाइने सम्भावना छैन ।

    प्रवासी नेपालीहरु जीवन जोगाउन र मर्नु परे पनि आफ्नै जन्मभूमिमा मर्ने भन्दै नेपाल फर्किन थालेका छन् ।

  • भारतको डरलाग्दो आँकडा: एक सातामै २५ लाख संक्रमित, १७ हजारको मृत्यु

    भारतको डरलाग्दो आँकडा: एक सातामै २५ लाख संक्रमित, १७ हजारको मृत्यु

    एजेन्सी । भारतमा कोरोनाको महामारी दिनदिनै भयावह बन्दै गएको छ । प्रत्येक दिन विश्वमै सबैभन्दा बढी संक्रमित थपिरहेका छन् भने मृत्युदर पनि बढिरहेको छ ।

    भारतीय मिडियाका अनुसार पछिल्लो २४ घन्टाभित्र त्यहाँ ३ लाख २० हजार मानिसहरु संक्रमित भने २ हजार ७ सय ६६ जनाको मृत्यु भयो । तीन लाखभन्दा बढी संक्रमित थपिएको यो लगातार छैठौं दिन हो । यसै गरी २ हजारभन्दा बढी मरेको लगातार सातौं दिन हो ।

    कोरोनाको महामारी सुरु भएयताकै सबैभन्दा डरलाग्दो आँकडा अप्रिलमा देखिएको छ । त्यसमा पनि पछिल्लो सात दिनको आँकडाले झन् अत्याउँछ । अप्रिल महिनामा अहिलेसम्म ३४ हजार ५ सय ९५ जनाले ज्यान गुमाएकोमा तीमध्ये १७ हजार ३ सय ३३ जनाको मृत्यु पछिल्लो सात दिनमा भएको हो ।

    महामारी सुरुभए यता सबैभन्दा बढी मृत्युको रेकर्ड गत वर्षको सेप्टेम्बरमा कायम भएको थियो । तर, त्यसलाई अप्रिलका एक साता बाँकी रहँदै त्यो रेकर्ड तोडिएको छ । यसैगरि, गत मार्च महिनाभन्दा अप्रिलमा ६ गुणा बढीले ज्यान गुमाएका छन् ।

    संक्रमितको संख्या पनि अप्रिलमा उच्च दरले बढेको छ । अप्रिलमा हालसमम ५० लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।

    आँकडा लुकाएको आरोप

    कोरोना महामारीले विष्फोटक रुप लिएका शीर्ष तीन देशमा भारत पर्छ । मृत्यु हुनेको संख्याका आधारमा हेर्दा अप्रिलमा ब्राजिलपछि भारत दोस्रो र अमेरिका तेस्रो स्थानमा छन् । सरकारी आँकडा अनुसार ब्राजिलमा अप्रिल महिनामै ७५ हजारले ज्यान गुमाएका छन् ।

    तर, भारतले सरकारले सार्वजनिक गर्ने आँकडामा भने प्रश्न उठ्दै आएको छ । सरकारले संक्रियत र मृतकको संख्या वास्तविकभन्दा थोरै देखाइरहेको त्यहाँकै सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । विभिन्न शहरमा पत्रकारहरुले स्थानीय सरकारले सार्वजनिक गरेको संख्या भन्दा १० गुणा बढीको मृत्यु भएको रिपोर्टिङ गरेका छन् ।

    उदाहरणका लागि गत विहीबार कानपुरमा ३२ जनाको मृत्यु भएको आँकडा सरकारले दियो । तर, एक स्थानीय अखबारले शहरका विभिन्न मसानघाटनमा ४ सय ७६ वटा शव जलेको रिपोर्टिङ गरेको थियो, जसमध्ये धेरैजसो कोरोनाबाटै मरेका थिए ।

    अहिल भारतका अस्पतालहरु कोरोनाका बिरामीले भरिभराउ छन् । ती अस्पतालमा बेड र अक्सिजनको हाहाकार उत्पन्न भएको छ ।

  • भारतमा कोरोनाको विकराल रुप: अक्सिजन नपाएर मर्दैछन् विरामी, संक्रमित र मृतक संख्यामा दिनदिनै कीर्तिमान

    भारतमा कोरोनाको विकराल रुप: अक्सिजन नपाएर मर्दैछन् विरामी, संक्रमित र मृतक संख्यामा दिनदिनै कीर्तिमान

    एजेन्सी । भारतका अस्पतालहरुले अक्सिजनको अभावकै कारण आफ्ना विमारीहरु मरिरहेको बताएका छन् । किनभने कोरोना संक्रमित र मृतकको आँकडाले दिनदिनै नयाँ कीर्तिमान बनाइरहेका छन् ।

    भारतमा पछिल्लो तीन दिनको बीचमा करिव १० लाख मानिस संक्रमित भएका छन् । शनिबार २४ घण्टाको अवधिमा ३ लाख ३६ हजार ७८६ नयाँ संक्रमित फेला परेका छन् ।

    दिल्लीको जयपुर गोल्डेन अस्पतालमा शनिबार राती अक्सिजन नपाएर २० जना संक्रमितको निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । भारत सरकारले भने रेल सेवा र भारतीय वायु सेनालाई आवश्यक उपकरण आपूर्तिका लागि तैनाथ राखिएको बताएको छ ।

    शनिबार २४ घण्टाको अवधिमा भारतभर २६ सय २४ जनाको मृत्यु भएको छ । शुक्रबार यो संख्या २२ सय ६३ थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भारतको अहिलेको स्थितिलाई ‘महाविनाशकारी अवस्था’को रुपमा चित्रण गरी कोरोनाले कतिसम्म क्षति गर्छ भन्ने उदाहरण बनेको बताएको छ ।

    सन् २०२१ को सुरुआतमा भारतले कोरोनालाई परास्त गरेको ठानेको थियो । फेब्रुअरीको मध्यतिर सवा अर्ब जनसंख्या रहेको भारतमा ११ हजार नयाँ संक्रमित देखिएका थिए । भारतले खोप उत्पादन गरी निर्यातसमेत गर्न थालेको थियो । मार्चमा त्यहाँका स्वास्थ्यमन्त्रीले कोरोनाबिरुद्धको लडाईं अन्त्यतिर पुगेको बताएका थिए ।

    तर त्यतिबेलै देखि नयाँ कोरोना संक्रमित फेला पर्न थालेका थिए । नयाँ भेरिएन्टको प्रवेश भइसकेपछि पनि त्यहाँ सार्वजनिक समारोह, कुम्भमेला लगायतका गतिविधि रोकिएन । यही महिनाको सुरुआतमा हरिद्वारमा आयोजित कुम्भमेलामा लाखौं तीर्थयात्री सहभागी थिए ।

    राजधानी दिल्लीका अस्पतालहरुले आफ्नो सामर्थ्यको अन्तिम अवस्थामा रहेको चेतावनी दिएका छन् । होली फ्यामिली अस्पतालले आईसीयूसहित आफ्ना सबै बेडहरु भरिभराउ रहेको जनाएको छ ।

    ‘लगभग सबै अस्पताल अन्तिम स्थितिमा छन् । अक्सिजन पाइएन भने हामीले कुनै पनि रोगका विरामीको उपचार गर्नै सक्दैनौं,’ दिल्लीका एक चिकित्सकले बीबीसीसँग भने, ‘अक्सिजन नपाएको अवस्थामा १ मिनेटभित्र ती बिरामीको मृत्यु हुन्छ । भेन्टिलेटरमा रहेका बिरामीलाई उच्च प्रवाहको अक्सिजन जरुरी हुन्छ । उनीहरुले त्यो सुविधा पाएनन् भने अधिकांशले मृत्युवरण गर्न बाध्य हुनेछन् ।’

  • आइसीयूमा आगलागी हुँदा मुम्बईको एक अस्पतालमा १३ कोरोना बिरामीको मृत्यु

    आइसीयूमा आगलागी हुँदा मुम्बईको एक अस्पतालमा १३ कोरोना बिरामीको मृत्यु

    भारत । कोभिडका बिरामी उपचाररत मुम्बईको एक अस्पतालको सघन उपचार कक्ष, आईसीयूमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार शुक्रबार बिहान लागेको आगो निभाइएको र जीवित चार बिरामीलाई अन्य अस्पतालमा सारिएको छ ।

    भारतमा कोरोनाको दोस्रो लहर चलिरहँदा यस्तो घटना भएको हो । दोस्रो लहरका कारण अस्पतालमा बिरामीको भीड छ र तिनमा अक्सिजन, आईसीयू शय्या र भेन्टिलेटरको कमी भएको छ।

    शुक्रवार भारतमा तीन लाख ३२ हजार सात सय ३० जनामा सङ्क्रमण पुष्टि भएको छ । यो संक्रमित र मृत्यु संख्या अहिलेसम्मकै सर्वाधिक भएको बताइएको छ ।

    शुक्रबार थप २,२६३ जनाको मृत्यु भएको छ जुन भारतमा हालसम्मको सर्वाधिक दैनिक मृत्यु सङ्ख्या हो।

    महाराष्ट्र राज्यमा पर्ने मुम्बईभन्दा ७० किलोमिटर पर रहेको विरार क्षेत्रको विजय वल्लभ अस्पतालमा आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन । मुख्यमन्त्रीले घटनाबारे अनुसन्धान गर्न आदेश दिएका छन् ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई दुःखद भनेका छन्। मोदीले बढ्दो संक्रमणले स्वास्थ्य सेवामा दबाब परेपछि प्रभावित राज्यका मुख्यमन्त्रीसँग आज छलफल गरेका छन् ।

    भारतको उच्च न्यायलयले शुक्रवारसम्म अक्सिजन, औषधि र खोप आपूर्ति एवम् उपचारको राष्ट्रिय योजना बुझाउन सरकारलाई आदेश दिएको छ।

    दुई दिनअघि महाराष्ट्रको अर्को अस्पतालमा भेन्टिलेटरमा अक्सिजन रोकिँदा २४ कोभिड बिरामीको मृत्यु भएको बताइएको थियो। नासिकको जाकिर अस्पतालमा अक्सिजन ट्याङ्की भरिँदै गर्दा अक्सिजन फुस्किएर त्यस्तो भएको जनाइएको थियो।

  • कोरोनाका कारण भारतमा भयावह अवस्था, सहयोग गर्ने चीनको इच्छा

    कोरोनाका कारण भारतमा भयावह अवस्था, सहयोग गर्ने चीनको इच्छा

    एजेन्सी । भारतमा कोरोनाको दोस्रो लहरले देशको स्वास्थ्य प्रणालीलाई तहसनहस बनाइदिएको छ । देशभरका अस्पतालमा अक्सिजनको समेत अभाव रहँदा कोरोना संक्रमितहरु उपचार नपाई मृत्युवरण गर्नुपरेका समाचारहरु सार्वजनिक हुन थालेका छन् ।

    विहीबार २४ घण्टामा मात्र भारतमा ३ लाख १४ हजार ८ सय ३५ जना नयाँ संक्रमित पहिचान भएका छन् । त्यही अवधिमा २ हजार १ सय भन्दा बढीको निधन भएको छ । राजधानी दिल्लीसहित देशका मुख्य शहरका अस्पताल विरामीले भरिएका छन् र उनीहरुलाई अत्यावश्यक मेडिकल अक्सिजन पुर्‍याउन सकिएको छैन ।

    भारतमा अहिलेसम्म १ करोड ६० लाखभन्दा धेरै नागरिक कोरोना संक्रमित भएका छन् । एकैदिन सबैभन्दा धेरै पहिचान हुने कीर्तिमानमा पनि भारतले अमेरिकालाई उछिनेको छ । स्थानीय सन्चारमाध्यमले भयावह स्थितिले अझै कति दिन निरन्तरता पाउने हो त्यसबारे अनुमान गर्न नसकिने बताएका छन् ।

    यस्तो अवस्थामा एसियाली पावरहाउस चीनले छिमेकी मुलुकमा कोरोनाको बढ्दो संख्या र मेडिकल अक्सिजनको अभावमा चिन्ता व्यक्त गर्दै आवश्यक सहयोगको इच्छा व्यक्त गरेको भारतीय अखवार टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।

    भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले गत साता मेडिकल अक्सिजनको आयातबारे बिचार गरिरहेको बताएको थियो । तर उनीहरुको प्राथमिकतामा चीन परेको थिएन । भारतले खाडी देश तथा सिंगापुरबाट मेडिकल अक्सिजन ल्याउने योजना बनाइरहेको बताइएको छ ।

    विहीबार चीनको विदेश मन्त्रालयले महामारीसँग लड्नका लागि अत्यावश्यक सामाग्रीको अभाव हुनुजस्तो गम्भीर अवस्थामा सहयोगका लागि हात अगाडि बढाएको बताएको छ । उसले कोभिड-१९ जस्तो सामा मानव सभ्यताको साझा सत्रुबिरुद्ध अन्तर्राष्ट्रिय एकजुटता अपरिहार्य रहने पनि उल्लेख गरेको छ ।

    भारतले गत वर्ष पनि चीनबाट मेडिकल उपकरण आपूर्ति गरेको थियो । दुवै देशले अन्य दक्षिण एसियाली देशहरुमा कोरोना खोप आपूर्ति गर्दै आएका छन् ।

  • अमेरिका, बेलायत, न्यूजिल्यान्ड र हङकङद्वारा भारत नजान निर्देशन, एकैदिन ३ लाख संक्रमित थपिए

    अमेरिका, बेलायत, न्यूजिल्यान्ड र हङकङद्वारा भारत नजान निर्देशन, एकैदिन ३ लाख संक्रमित थपिए

    दिल्ली । भारतमा बुधबार एकैदिन झन्डै ३ लाख कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा परिवार कल्याण महाशाखाका अनुसार २ लाख ९४ हजारमा नयाँ भाइरस संक्रमित पुष्टि भएको हो ।

    अहिलेसम्मकै दोस्रो सर्वाधिक संक्रमित संख्या भएको जनाइएको छ । मंगलबार २ लाख ९४ हजार २९१ संक्रमित थपिएका थिए ।

    महामारीयता पहिलोपटक एकैदिन मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । २,०२३ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा थप ६२ हजार जना संक्रमित थपिएका छन् ।

    भारत विश्वमै चौंथो सर्वाधिक मुलुक बनेको छ । भारतमा संक्रमित संख्या बढ्दै गएपछि अमेरिका, बेलायत, हङकङ, न्यूजिल्यान्ड लगायतका मुलुकले आफ्ना नागरिकलाई भारत नजान ट्राइभल एड्भाइजरी जारी गरेका छन् ।

    अमेरिकाले आफ्ना नागरिकलाई भारत नजान निर्देशन दिएको छ । बेलायतले भारतबाट बेलायत आउन रोक लगाएको छ । हङकङ र न्यूजिल्यान्डले उडान बन्द गरेका छन् ।

  • भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५० लाख नाघ्यो

    भारतमा कोरोना सङ्क्रमित संख्या १ करोड ५० लाख नाघ्यो

    भारत । कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या १ करोड ५० लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।सो मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार कोरोना शुरु भएयता भारतमा हालसम्म १ करोड ५० लाख ६१ हजार ९१९ जना कोरोना सङ्क्रमित भएका छन् ।

    भारतमा कोरोनाभाइरसबाट एकै दिनमा २ लाख ७३ हजार ८१० सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा १ हजार ६१९ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको सोमबार जनाइएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या १ लाख ७८ हजार ७६९ पुगेको देखिएको छ ।

    भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने १९ लाख २९ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा १ लाख २८ हजार १३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या १ करोड २९ लाख ५३ हजार ८२१ पुगेको छ ।

    भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १२ करोड ३८ भन्दा लाख व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

    भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी ३ प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    भारतमा आइतबार मात्रै १३ लाख ५६ हजार १३३ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ । अप्रिल १९ सम्म कूल २६ करोड ७८ लाख भन्दा बढीले कोरोना परीक्षण गरिएको पनि परिषदले उल्लेख गरेको छ ।

    भारतको राष्ट्रिय राजधानी दिल्ली सवभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा आइतबार एकै दिनमा २५ हजार ५०० जना कोरोना भाइरस सङ्क्रमित भएका १६१ जनाको मृत्यु भएको छ ।

  • भारतमा एकैदिनमा २ लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु

    भारतमा एकैदिनमा २ लाख ३४ हजार सङ्क्रमित, १३ सयको मृत्यु

    भारत । कोरोनाभाइरसबाट एकैदिनमा २ लाख ३४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।एकैदिनमा यति धेरै सङ्क्रमित भएको यो नै पहिलो पटक भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

    उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण मात्रै १३ सय भन्दा बढीको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा एक दिनमा एक हजार ३४१ जनाको मृत्यु भएको उल्लेख छ ।

    योसँगै देशभरी अहिलेसम्म कोरोनाका कारण कुल मृतकको सङ्ख्या १ लाख ७५ हजार ६४९ पुगेको मन्त्रालयले जनाएको छ ।त्यसैगरी पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार ६९२ जना सङ्क्रमित भएसँगै कुल सङ्क्रमितको सङ्ख्या एक करोड ४५ लाख २६ हजार ६०९ पुगेको अधिकारीहरुले जनाएका छन् ।

    भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित रहेकाहरुको सङ्ख्या १६ लाख ७९ हजार ७४० पुगेको मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख २३ हजार ३५४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

    भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएरपनि मुक्त भइसकेकाहरुको कुल सङ्ख्या १ करोड २६ लाख ७१ हजार २२० पुगेको छ । भारतीय मेडिकल रिसर्च काउन्सीलले गत शुक्रबार मात्रै देशभरी १४ लाख ९४ हजार ३९७ जनाको कोरोना परीक्षण गरिएको जनाएको छ ।

  • भारतमा एकै दिनमा कोभिड-१९ सङक्रमित संख्या २ लाख १७ हजार

    भारतमा एकै दिनमा कोभिड-१९ सङक्रमित संख्या २ लाख १७ हजार

    भारत । गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या १ करोड ४२ लाख ९१ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

    भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी शुरु भएयता एक दिनमा २ लाख १७ हजार भन्दा बढी संङ्क्रमित हुनु बिहीबार पहिलो पटक भएको समाचारमा जनाइएको छ । यसअघि बुधबार एक दिनमा २ लाख भन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए ।

    कोरोना सङ्क्रमणबाट बिहीबार एकैदिनमा १ हजार १८५ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७४ हजार नाघेको छ ।पछिल्लो केहीदिनदेखि भारतमा दैनिक १ लाखभन्दा बढी सङ्क्रमित हुदै आएका थिए भने, बुधबार र बिहीबार २ लाख भन्दा बढी सङ्क्रमित भएका हुन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।

    भारतमा हाल १५ लाख ६९ हजार ७४३ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म ११ करोड ७२ लाख २३ हजार भन्दा बढी व्यक्तिहरु खोप लगाइसकेका छन् ।

    विगत केही दिनहरुमा कोभिड १९ को सङ्क्रमण उच्च रहेको छ । सङ्क्रमण बढ्दै गएपछि विद्यालयहरुले परीक्षा रद्द र स्थगित गर्दै आएको छ ।भारतको पश्चिम बंगालमा बाँकी रहेको चार चरणमा मतदान के गर्ने भन्ने विषयमा निर्वाचन आयोगको सहभागीतामा शुक्रवार एउटा महत्वपूर्ण बैठक बस्ने जनाइएको छ ।

    राष्ट्रिय राजधानी दिल्ली एक सावधानी उपायको रुपमा एक साताको कर्फ्यू शुक्रवार रातिबाट शुरु भएको छ ।

  • भारतमा आज १ लाख ८४ हजार संक्रमित थपिए, मुम्बईमा दुई साता लामो लकडाउन घोषणा

    भारतमा आज १ लाख ८४ हजार संक्रमित थपिए, मुम्बईमा दुई साता लामो लकडाउन घोषणा

    मुम्बई । भाइरस संक्रमण ब्यापकरुपमा फैलिएपछि बुधबारदेखि भारतको महाराष्ट्र राज्यमा दुई साताका लागि लकडाउन घोषणा गरिएको छ ।

    मंगलबार भिडियो सम्बोधन गर्दै मुख्यमन्त्री उद्धव ठाकरेले बुधबार साँझदेखि १५ दिनका लागि राज्यभर कडा लकडाउन गर्ने घोषणा गरेका हुन् । कोरोनाभाइरस नियन्त्रणका लागि गठित कार्यदलसँगको छलफलपछि ठाकरेले लकडाउन घोषणा गरेका हुन् ।

    भारतमा बुधबार १ लाख ८४ हजार संक्रमित थपिएका छन् । भारतको कूल संक्रमित संख्या १ करोड ३८ लाख पुगेको छ । २४ घण्टामा १,०२७ जनाको मृत्यु भएको छ ।

    भारतले अमेरिकी खोपहरु फाइजर र जोन्सन एन्ड जोन्सनलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ ।

  • भारतमा सोमबार १ लाख ६८ हजार संक्रमित थपिए

    भारतमा सोमबार १ लाख ६८ हजार संक्रमित थपिए

    दिल्ली । भारतमा एकैदिन १ लाख ६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ सक्रिय संक्रमित संख्या १२ लाख १ हजार पुगेको छ ।

    भारतमा कूल संक्रमित संख्या १ करोड २१ लाख नाघेको छ । मृत्यु संख्या १ लाख ७० हजार पुगेको छ ।

    महाराष्ट्र, छत्तिसगढ, कर्नाटका, उत्तर प्रदेश र केरला कोभिडबाट सबैभन्दा बढी प्रभावित भएका छन् । यी राष्ट्रमा ८६ प्रतिशत कोभिडसँग सम्बन्धित मृत्यु भएको छ ।

  • भारतमा आइतबार १ लाख ५२ हजार संक्रमित, दिल्लीका शिक्षण संस्था अनिश्चितकालको लागि बन्द

    भारतमा आइतबार १ लाख ५२ हजार संक्रमित, दिल्लीका शिक्षण संस्था अनिश्चितकालको लागि बन्द

    दिल्ली । भारतमा आइतबार १ लाख ५२ हजार ८७९ कोरोना संक्रमित थपिएका छन् । भारतमा सक्रिय संक्रमित संख्या ११ लाख नाघेको छ ।

    सोही अवधीमा ८३९ जनाको मृत्यु भएको छ । कूल संक्रमित संख्या १ करोड ३३ लाख पुगेको छ ।

    १ लाख ६९ हजार जनाको मृत्यु भएको छ ।

    संक्रमण ह्वात्तै बढेपछि भारतको राजधानी दिल्लीका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द भएका छन् । मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको संक्रमित अवस्थालाई निकै गम्भिर भएको बताएका छन् ।

  • भारतमा एकैदिन १ लाख ३१ हजार कोरोना संक्रमित थपिए

    भारतमा एकैदिन १ लाख ३१ हजार कोरोना संक्रमित थपिए

    दिल्ली । भारतमा एकैदिन २४ घण्टामा १ लाख ३१ हजार जना कोरोना संक्रमित थपिएका छन् । यो संक्रमण संख्या एकदिनमा भेटिएको अहिलेसम्मकै सर्वाधिक भएको जनाइएको छ ।

    त्यहाँ २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ । त्यहाँ कोरोना संक्रमित फेला पर्ने दर ९.२१ प्रतिशत पुगेको छ ।

    राजधानी दिल्लीको सर गंगाराम अस्पतालका ३७ डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुले कोरोना खोप लगाइसकेका थिए । संक्रमित डाक्टरहरुमध्ये ३२ जना होम क्वारेन्टिनमा रहेको र ५ जना अस्पताल भर्ना भएका छन् ।

  • भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै एक लाख २७ हजार सङ्क्रमित

    भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै एक लाख २७ हजार सङ्क्रमित

    दिल्ली । भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएका हुन् ।

    केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्मकै सवैभन्दा धेरै एकैदिन एक लाख २६ हजार ७८९ जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । पछिल्लो विवरणसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड २९ लाख २८ हजार ५७४ पुगेको छ ।

    पछिल्लो एक दिनमा भारतमा ६८५ जनाको कारोनभाइरसका कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६६ हजार ८६२ पुगेको छ ।

    भारतमा अहिलेपनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या नौ लाख १० हजार ३१९ रहेको छ । यसअघि एकैदिनमा सवैभन्दा धेरै बुधबार एक लाख १५ हजार ७३६ जना सङ्क्रमित भएका थिए ।

    पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।