Tag: बालुवाटार

  • देउवा भेट्न प्रचण्ड-माधव बालुवाटारमा

    देउवा भेट्न प्रचण्ड-माधव बालुवाटारमा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् ।

    एमसीसीसम्बन्धी विषय पेचिलो भइरहेका बेला देउवालाई भेट्न प्रचण्ड र नेपाल प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका हुन् । सत्तागठबन्धनमा आवद्ध तीन शीर्षस्थ नेताबीच एमसीसी र स्थानीय चुनावबारे छलफल भइरहेको बताइएको छ ।

    नेपाली कांग्रेस एमसीसीको पक्षमा छ भने माओवादी एमसीसी संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने लाइनमा छ । नेकपा एसले भने एमसीसीको विरोध गरिरहेको छ ।

    प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई संसदबाट पारित गराउने प्रतिवद्धतासहित लेखेको पत्र बाहिरिएपछि यसबारे आमचासो बढेको छ ।

  • बालुवाटार जग्गा प्रकरणमा मुछिएका सुवेदी दम्पती २१ दिनपछि छुटे

    बालुवाटार जग्गा प्रकरणमा मुछिएका सुवेदी दम्पती २१ दिनपछि छुटे

    काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र पत्नी माधवी २१ दिन प्रहरी हिरासतमा बसेर छुटेका छन् । बालुवाटारको जग्गा व्यक्तिका नाममा गराउन बिचौलियाको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

    काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान अपुरो रहेको भन्दै सीआईबीलाई फाइल फिर्ता पठाएपछि सुवेदी दम्पती मंगलबार छुटेका हुन् ।

    सीआईबी प्रमुख धिरजप्रताप सिंहले सरकारी वकिल कार्यालयको अनुमति लिएर उनीहरूलाई छाडिएको बताए । ‘तत्काल मुद्दा अघि बढ्ने अवस्था रहेन । त्यसैले उनीहरूलाई छाडिएको हो’, डीआईजी सिंहले भने ।

    किर्ते मुद्दामा पक्राउ परेको बढीमा २५ दिनभित्र अदालतमा मुद्दा दर्ता भइसक्नुपर्ने कानुनी व्यवस्था छ । सिंहले सरकारी वकिल कार्यालयले ६५ बुँदे निर्देशन दिएको र त्यसको अध्ययन गरेर थप अनुसन्धान अगाडि बढ्ने बताए ।

    यसअघि अनुसन्धानमा सरकारी वकिल कार्यालयले समेत सँगसँगै काम गरेको थियो । तर, मुलुकी फौजदारी अपराध संहिताअनुसार हद म्याद सकिन एक दिन बाँकी रहँदा सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन सीआईबीलाई नै फिर्ता पठाएको थियो ।

    सरकारी वकिल कार्यालयले मुलुकी ऐनअनुसार मुद्दा दर्ता हुने र त्यस ऐनमा किर्तेको हदम्याद नरहेको भन्दै अनुसन्धान पूर्ण भएपछि मात्र मुद्दा दर्ता हुने बताउँदै आएको छ । त्यसअघि प्रहरी अधिकारीले नै हदम्याद पुस २७ गतेसम्म रहेको बताउँदै आएका थिए ।

    प्रहरीले यस मुद्दामा करिब ४ सयजनालाई प्रतिवादी बनाउन प्रस्तावित राय दिएको थियो । हदम्याद सकिन लागेको भन्दै अन्तिम समयमा सुवेदीदम्पतीलाई पक्राउ गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाइएको थियो ।

  • बालुवाटार जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा, किर्ते तथा ठगीमा मुद्दा चलाउने तयारी (भिडिओ)

    बालुवाटार जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा, किर्ते तथा ठगीमा मुद्दा चलाउने तयारी (भिडिओ)

    काठमाडौं । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन विहिबार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो ।

    ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्यूरोले ३ सयजना भन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले प्रतिवेदन कार्यालयमा आइपुगेको बताए ।

    उनले सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी दिए । पौडेलले भने, ‘भर्खरै यहाँ मिसिल प्रहरीले बुझाउँदैछ । दर्ता गरेर अध्ययनका लागि हामी सरकारी वकिल तोक्छौँ । त्यसपछि सरकारी वकिलहरूले अध्ययन गर्नुहुन्छ । अध्ययन गरेपछि अनुसन्धान पूरा भएको अवस्था भयो भने चाहीँ मुद्दा चल्ने, नचल्ने निर्णय हुन्छ । चल्ने निर्णय भयो भने अभियोगपत्र तयार भएर अदालत जान्छ ।’

    प्रहरीले जतिजनालाई प्रतिवादी बनाएको भए पनि सरकारी वकिल कार्यालयले अध्ययन गरिसकेपछि प्रतिवादी घटबढ हुनसक्ने उनले बताए ।

    बालुवाटार जग्गा प्रकरणमा प्रहरी अनुसन्धानमा दोषी पाइएका ३ सयभन्दा बढीलाई पक्राउ गर्न अदालतले सीआईबीलाई अनुमति दिइसकेको छ ।

  • बालुवाटारमा गठबन्धन बैठक सुरू, माधव नेपाल अनुपस्थित

    बालुवाटारमा गठबन्धन बैठक सुरू, माधव नेपाल अनुपस्थित

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकअघि सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

    बैठक बस्न ढिलो भएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बाहिरिएका छन् । बाहिरिने क्रममा नेपालले ‘अर्काे बैठकमा जान लागेको’ प्रतिक्रिया दिएका छन् ।

    बैठक दिउँसो २ बजे तय गरिएको थियो । तर, ज्यापु दिवसको अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी भएकाले बैठक सवा एक घण्टा बित्दासम्म सुरू भएको थिएन ।

    सत्तारुढ गठबनन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी छन् ।

    प्रधानमन्त्री देउवाले संसद सुचारु गर्ने लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । नेकपा एमालेले भने सर्वदलीय बैठकमा नजाने बताइसकेको छ ।

  • प्रधानमन्त्रीले सय दिनसम्म आफ्नै सचिवालय किन बनाउन सकेनन् ?

    प्रधानमन्त्रीले सय दिनसम्म आफ्नै सचिवालय किन बनाउन सकेनन् ?

    काठमाडौं । सरकार गठनको १ सय दिन पुगे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निजी सचिवालयसमेत गठन गर्न सकेका छैनन् ।

    सत्तारुढ गठबन्धनभित्र भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमै ८८ दिन लगाएका प्रधानमन्त्री देउवाले आफ्नै तजबिजमा गठन हुने निजी सचिवालयसमेत गर्न नसक्नुलाई ‘बालुवाटारको असफलता’ का रूपमा लिइएको छ ।

    प्रधानमन्त्री देउवाले आफ्ना सदाबहार सहयोगी भतिज भानु देउवालाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका छन् । त्यसबाहेक प्रधानमन्त्रीसँग नियमित रहने प्रमुख राजनीतिक सल्लाहकार, आर्थिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रेस सल्लाहकार, जनसम्पर्क सल्लाहकारजस्ता पदमा कसैलाई जिम्मेवारी दिइएको छैन ।

    प्रधानमन्त्री कार्यालयले सरकारी सञ्चारमाध्यममार्फत १ सय दिनका २४ उपलब्धी सार्वजनिक गराएको छ । सरकारले उपलब्धीका जतिसुकै सूची बनाएपनि आफ्नै सचिवालय गठन गर्न नसक्नु प्रधानमन्त्रीको असफलता नै हो ।

    मन्त्रिपरिषद्लाई पूर्णता दिन आफ्नै दलभित्र र सत्तारुढ दलहरूसँगको समन्वय मिलाउन प्रधानमन्त्रीलाई सकस पर्नु स्वभाविक थियो तर, व्यक्तिगत निर्णयमा गठन हुने सचिवालयसम्म बनाउन नसक्ने प्रधानमन्त्रीका रूपमा देउवा देखिएका छन् ।

    आकांक्षी मिलाउन सकस

    प्रधानमन्त्री देउवाले सचिवालय नै गठन गर्न नसक्नुको पहिलो कारण आकांक्षीहरू धेरै हुनु हो । प्रधानमन्त्रीको सचिवालयमा रहने पदका लागि आकांक्षा राख्नेहरू धेरै भएपछि निर्णय लिन प्रधानमन्त्रीले ढिलाइ गरेका हुन् । परराष्ट्र सल्लाहकारका लागि डा. दिनेश भट्टराई र गेजा शर्मा वाग्लेको नाम चर्चामा छ ।

    प्रेस सल्लाहकारका लागि प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, पूर्वअध्यक्ष समीरजंग शाह र गोविन्द परियार रेसमा रहेका छन् । परियार देउवा अघिल्लोपटक प्रधानमन्त्री छँदा प्रेस संयोजक थिए । प्रमुख राजनीतिक सल्लाहकारका रूपमा देउवानिकट कांग्रेस नेताहरूको नाम चर्चामा भएपनि देउवा स्वयं राजनीतिक सल्लाहकार नियुक्त नगर्ने पक्षमा छन् । प्रधानमन्त्रीको सल्लाहकार समूहबाहेक सचिवालयमा रहने अन्य कर्मचारीको नियुक्ति प्रक्रिया पनि रोकिएको छ ।

    बालुवाटारमा शक्ति संघर्ष

    प्रधानमन्त्रीको सचिवालय गठनमा भएको ढिलाइको दोस्रो कारण बालुवाटारभित्रको शक्ति संघर्ष पनि हो । सचिवालयमा दावी गर्नेमध्ये कोही देउवाका राजनीतिक सहयोगी छन् भने कोही प्रधानमन्त्री पत्नी आरजु राणाका विश्वासपात्र छन् । प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव बन्नेमै देउवाका दुई भतिज प्रकाश देउवा र भानु देउवा प्रतिस्पर्धामा थिए ।

    आरजुको रोजाइमा प्रकाश रहे पनि देउवाले लामो समयदेखि साथ दिएका भानुलाई सो जिम्मेवारी दिए । सल्लाहकार समूहका अन्य पदका आकांक्षीहरू बालुवाटार रिझाउन सक्रिय छन् । ‘बालुवाटारको नियुक्ति धेरैले आश गरेका छन् । तर, कसले कसलाई रिझाएर पाउने निश्चित छैन’, प्रधानमन्त्रीनिकट एक नेताले भने । प्रधानमन्त्री देउवाले राजनीतिक विषयमा महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री डा. प्रकाशशरण महतसँग बढी सल्लाह लिने गरेका छन् ।

    सचिवालय नबन्नु निराशाजनक

    प्रधानमन्त्री कार्यालयले सरकारी सञ्चारमाध्यममार्फत १ सय दिनका २४ उपलब्धी सार्वजनिक गराएको छ । सरकारले उपलब्धीका जतिसुकै सूची बनाएपनि आफ्नै सचिवालय गठन गर्न नसक्नु प्रधानमन्त्रीको असफलता नै हो ।

    वरिष्ठ पत्रकार एवं फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहाल प्रधानमन्त्री देउवालाई चुस्त सचिवालयको आवश्यक रहेको बताउँछन् ।

    संसदीय शासन प्रणाली भएकोले प्रधानमन्त्री पद व्यक्तिमात्रै नभएर मुलुककै कार्यकारी संस्था हो । मुलुकका हरेक स-साना विषयसँग सरोकार राख्नुपर्ने भएकोले प्रधानमन्त्रीका लागि सचिवालयको प्रबन्ध गरिएको हो ।

    सल्लाहकार समूहमार्फत प्रधानमन्त्रीले कुनैपनि विषयमा धारणा निर्माण गर्ने, आवश्यक निर्देशन दिनेदेखि सरकारको प्राथमिकता तय गर्नेसम्मका काम गर्नुपर्छ । त्यस्तै निजी सचिवालयमार्फत प्रधानमन्त्रीको गतिविधि चुस्त र व्यवस्थित हुन्छन् ।

    वरिष्ठ पत्रकार एवं फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहाल प्रधानमन्त्री देउवालाई चुस्त सचिवालयको आवश्यक रहेको बताउँछन् । ‘प्रधानमन्त्रीजीले योग्य र अनुभवी व्यक्तिहरू समेटेर चुस्त टिम बनाउनुपर्ने हो । त्यस्तो टिमले प्रधानमन्त्रीको पर्फमेन्स राम्रो बनाउन योगदान गर्छ । १ सय दिनसम्म सचिवालय नबन्ने कुराले सबैभन्दा घाटा प्रधानमन्त्रीलाई नै भएको छ’, दाहालले नेपाल प्रेससँग भने ।

    प्रधानमन्त्रीले सरकार र गठबन्धन टिकाउनमात्रै १ सय दिन लगाएको भन्दै दाहालले अब ‘डेलिभरी’ दिनुको विकल्प नरहेको बताए । ‘सरकार टिक्नुमात्रै प्रधानमन्त्रीको सफलता होइन । डेलिभरी दिन सक्नुपर्छ । यतिन्जेल गठबन्धनमा अल्मलिनुभयो होला अब ढिलो नगरी प्रभावकारी टिम बनाएर उहाँले काम देखाउनुपर्छ’, दाहालको भनाइ छ ।

    सचिवालय नहुँदा के फरक पर्छ ?

    प्रधानमन्त्रीको निजी सचिवालयले दैनिक कार्यतालिका तयार पार्ने, भ्रमण कार्यसूची, समय व्यवस्थापन र सुरक्षा व्यवस्थापनको काम गर्छ । प्रधानमन्त्री कार्यालयको वेबसाइटमा राखेका उल्लेखित कामहरू सचिवालय गठन नहुँदा प्रभावित हुन्छन् ।

    – प्रधानमन्त्रीसँग मन्त्री, पदाधिकारी, कूटनीतिज्ञ तथा विभिन्‍न व्यक्तिहरूको सम्पर्क तथा भेटघाटको प्रबन्ध मिलाउने र सोको अभिलेख व्यवस्थापन गर्ने ।

    – सल्लाहकारसँगको समन्वयमा प्रधानमन्त्रीको दैनिक कार्यतालिका तयार गर्ने ।

    – प्रधानमन्त्रीको भ्रमण कार्यक्रम, कार्यसूची तथा समय व्यवस्थापन र सुरक्षासम्बन्धी समन्वय गर्ने ।

    – प्रधानमन्त्रीबाट निर्देशन भएका राष्ट्रिय महत्वको विषयमा श्रव्य दृष्य कार्यक्रम उत्पादन र प्रसारणसम्बन्धी कार्यमा समन्वय गर्ने ।

    – प्रधानमन्त्रीसमक्ष प्राप्त हुने गुनासो, सुझाव तथा अन्य जनसम्पर्कसम्बन्धी व्यवस्थापकीय कार्य गर्ने ।

    – प्रधानमन्त्रीसमक्ष पेस गर्नुपर्ने निवेदन, प्रतिवेदन, ज्ञापनपत्र, फाइल लगायतका कागजातहरू पेस गर्ने र सोको अभिलेख राख्‍ने ।

    – प्रधानमन्त्रीबाट भएको निर्णय तथा निर्देशन कार्यान्वयनको लागि सम्बन्धित महाशाखामार्फत मन्त्रालयहरूमा पठाउने ।

    – प्रधानमन्त्रीको तर्फबाट हुने निर्देशन, सन्देश, शुभकामना तथा वक्तव्यको मस्यौदासम्बन्धी कार्य गर्ने ।

    – प्रधानमन्त्रीको अध्यक्षता वा संयोजकत्वमा हुने विभिन्‍न बैठकको समन्वय र सहजीकरण गर्ने ।

    – नेपाल सरकारका मन्त्रीहरूको आन्तरिक भ्रमणसम्बन्धी कार्यको सहजीकरण गर्ने ।

    – प्रधानमन्त्रीको निजी सचिवालयको पत्राचार, अभिलेख व्यवस्थापन तथा अन्य प्रशासनिक कार्य गर्ने ।

  • एमालेबिनाको सर्वदलीय बैठकमा को-को छन् ? (तस्बिरहरू)

    एमालेबिनाको सर्वदलीय बैठकमा को-को छन् ? (तस्बिरहरू)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आयोजित सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाहेकका दलका शीर्ष नेताहरू उपस्थित छन् ।

    बैठकमा कांग्रेसबाट प्रधानमन्त्री एवं सभापति देउवा, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव वेदुराम भुसाल सहभागी छन् ।

    त्यस्तै जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी छन् ।

    बैठकमा बोलाइएपनि प्रमुख प्रतिपक्षी नेकपा एमाले अनुपस्थित छ । एमालेका लागि छुट्याइएका कुर्सी खाली छन् ।

  • बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल, मन्त्रिपरिषद् विस्तार एजेण्डा

    बालुवाटारमा देउवा र प्रचण्डबीच छलफल, मन्त्रिपरिषद् विस्तार एजेण्डा

    काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा मन्त्रालय बाँडफाँट र विस्तारबारे छलफल भएको स्रोतले बताएको छ । ।

    यसअघि सत्तारुढ गठबन्धनमा राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको थियो । सहमतिअनुसार नै सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिइसकेको छ । गठबन्धनमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ५-५ मन्त्रालय राख्ने सहमति भइसकेको छ ।

    माओवादी, एकीकृत समाजवादी र जसपाले १-१ राज्यमन्त्रीसमेत पाउने सहमति भएको बताइन्छ । प्रधानमन्त्री देउवाले गठबन्धनका दलहरूसँग मन्त्रीको नाम मागे पनि जसपा अध्यक्ष उपेन्द्र यादव उपत्यकाबाहिर रहेकोले नाम दिन ढिलाइ भएको बताइन्छ । कांग्रेसमा पनि संस्थापनइतर पक्षले मन्त्रीको नाम देउवालाई बुझाइसकेको छैन ।

  • मन्त्रालयको भागबन्डा र मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनका नेताहरू बालुवाटारमा

    मन्त्रालयको भागबन्डा र मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनका नेताहरू बालुवाटारमा

    काठमाडौं । मन्त्रालयको भागबण्डा मिलाएर मन्त्रिपरिषद्लाई पूर्णता दिलाउने विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका नेताहरू भेला भएका छन् ।

    बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

    भोलिसम्म मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा रहेका गठबन्धनका नेताहरूले आज ठोस छलफल गरेर सबै विषय टुंग्याउने बताएका छन् । हिजो पनि यो विषयमा छलफल भएको थियो । तर, नेताहरू ठोस निष्कर्षमा पुग्न सकेका थिएनन्।

    छलफलपछि आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले आज यसबारेमा ठोस कुरा हुने बताएका थिए । एकीकृत समाजवादीका नेता बेदुराम भुसालले पनि कसले कति र कुन-कुन मन्त्रालय पाउने भन्ने विषय हिजोको छलफलबाट नटुंगिएको जानकारी नेपाल प्रेसलाई बताएका थिए ।

  • राजनीतिक दल सम्बन्धी अध्यादेश क्याबिनेटमा, कानून सचिवलाई बालुवाटार बोलाइयो

    राजनीतिक दल सम्बन्धी अध्यादेश क्याबिनेटमा, कानून सचिवलाई बालुवाटार बोलाइयो

    काठमाडौं । राजनीतिक दल सम्बन्धी अध्यादेशमा दल विभाजन सम्बन्धी व्यवस्था खुकुलो बनाउने विषय मन्त्रिपरिषद् बैठकमा प्रवेश गरेको छ ।

    गृह मन्त्रालयले तयार गरेको मस्यौदामाथि छलफल जारी छ । मस्यौदामा दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा कति प्रतिशत संख्या पुर्‍याउनुपर्ने भन्ने उल्लेख छैन ।

    ‘अध्यादेशको मस्यौदामा कति संख्या भए दल विभाजन हुने भन्ने ठाउँमा खाली राखिएको छ । आवश्यकता अनुसार निर्णयमा उल्लेख हुनेछ’, बालुवाटार स्रोतले नेपाल प्रेससँग भन्यो । अध्यादेशमा हस्ताक्षरका लागि कानून सचिवलाई पनि बालुवाटार बोलाइएको छ ।

    मन्त्रिपरिषदले पारित गरेको अध्यादेशमा कानून सचिवले हस्ताक्षर गरेर राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्छ । कानून सचिव उदयराज सापकोटा दल विभाजनका लागि आवश्यक संख्या उल्लेख नभएको अध्यादेशको मस्यौदा बोकेर बालुवाटार पुगेकोे प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

  • प्रधानमन्त्रीको किचन क्याबिनेटमै किचलो

    प्रधानमन्त्रीको किचन क्याबिनेटमै किचलो

    काठमाडौं । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको ३ साता बितिसक्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका शेरबहादुर देउवाको ‘किचेन क्याबिनेट’ मै किचलो बढेको छ ।

    गठबन्धनमा न्यूनतम साझा कार्यक्रम, मन्त्रालय बाँडफाँट र पार्टीभित्र महाधिवेशन र भागबण्डाको तनावमा रहेका प्रधानमन्त्री देउवालाई आफ्नै निकटस्थहरूको ‘किचलो’ समेत मिलाउनुपर्ने झमेला आइलागेको छ ।

    नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आफ्नो सचिवालय समेत गठन गर्न सकेका छैनन् । देउवाको सचिवालयमा बस्न चाहनेहरूको सूचीमात्रै होइन स्वार्थसमेत बाझिन थालेको छ । सचिवालय गठन गरिनसक्दै निकटस्थहरूको विवादले बालुवाटारलाई तनाव दिएको छ । देउवा प्रधानमन्त्री भएसँगै सामाजिक सञ्जालमा उनको सक्रियता बढेको थियो ।

    फेसबुक, ट्वीटर, इन्स्टाग्राम र भाइबरमा सक्रियता बढाएका देउवालाई सामाजिक सञ्जाललाई टाउको दुखाइको विषय बनेको छ । देउवाको अघोषित सचिवालयबाट ‘मलाई शेरबहादुर देउवा मनपर्छ किनभने’ शीर्षकका भिडियो सार्वजनिक भएसँगै देउवाको ‘किचन क्याबिनेट’ मा किचलो शुरू भएको हो ।

    देउवाको सचिवालयले उनको गुणगान गाउँदै बनाएको भिडियो सन्देश कांग्रेसवृत्तमा हाँसो र विवादको विषय बनेको समाचार सबैभन्दा पहिले नेपाल प्रेसले लेखेको थियो । त्यसयता थप २ भिडियो सार्वजनिक भए । जसमध्ये एकमा ललितपुरकी बेबी राजभण्डारीले देउवाकै पहलमा नेपालमा ‘महिलालाई ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको’ बताएकी छिन् । अर्को भिडियोमा माइती नेपालकी संस्थापक एवं वागमती प्रदेशकी पूर्वप्रमुख अनुराधा कोइरालाले ‘देउवा चौबिसै घण्टा खटिने र सबैलाई रिझाउने’ स्वभाव मनपर्ने बताएकी छिन् ।

    यी भिडियोबारे सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । यसैबीचमा देउवाका विश्वासपात्र मानिने कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले नै प्रधानमन्त्रीको सचिवालयप्रति सार्वजनिकरूपमा कटाक्ष गरेका छन् । महामन्त्री खड्काले त प्रधानमन्त्रीको सचिवालयको कामलाई ‘गाईजात्रा’ भनी टिप्पणी गरेका छन् । ‘शेरबहादुर देउवाज्यूका बारेमा सामाजिक सञ्जालमार्फत शुरू गरिएको भिडियो गाईजात्रा तत्काल बन्द गर्न प्रधानमन्त्रीको सचिवालयलाई विशेष अनुरोध गर्दछु’, खड्काले फेसबुकमा लेखेका छन् ।

    खड्का स्वयं सरकार सञ्चालमा सहयोग गर्न गठित सर्वदलीय कार्यदलका संयोजक हुन् । दिनहुँ बालुवाटार पुग्ने खड्काले सामाजिक सञ्जालमै प्रधानमन्त्रीको सचिवालयको कामको आलोचना गर्नुलाई कांग्रेसवृत्त ‘असमान्य घटना’ का रूपमा लिइएको छ । त्यस्तै प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले राम्रो काम गरे जनता वा पार्टी आफैले भिडियो बनाउने भन्दै प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण गराएका छन् । देउवाको ‘किचन क्याबिनेट’ कै दुई मुख्य नेताको आलोचना बालुवाटारभित्रै बढ्दो विवादको उदाहरण मात्रै हो ।

    ‘अरुले गरेको भए जे भने पनि हुन्थ्यो तर पार्टीको महामन्त्री र प्रवक्ताले नै प्रधानमन्त्रीको सचिवालयको कामबारे आलोचना गर्नु भनेको गम्भीर विषय हो । यो विषय बालुवाटारभित्रै सल्टिनुपर्ने थियो तर सार्वजनिक भएकाले विवाद चर्कै छ भन्ने बुझ्नुपर्छ’, देउवानिकट एक नेताले भने । ती नेताका अनुसार देउवा पक्षमा विगतदेखि नै ‘उपगुट’ हरूको द्वन्द्व भएपनि सत्तामा पुगेसँगै छताछुल्ल हुन थालेको हो । महामन्त्री र प्रवक्ताको टिप्पणीबारे पनि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । अधिकांशले आफ्ना सभापति र प्रधानमन्त्रीलाई भेटेरै सुझाव दिनुको साटो किन सार्वजनिक गरियो ? भनेर प्रश्नसमेत गरेका छन् ।

    प्रधानमन्त्रीको अघोषित सचिवालयमा सक्रिय रहेकाहरू भने केही व्यक्तिले अनावश्यक विवाद झिक्न खोजेको बताउँछन् । ‘हामी प्रधानमन्त्रीसँग सल्लाह गरेरै काम गरिरहेका छौ । कतिपयलाई प्रधानमन्त्रीको काम हामीले गरेको नै चित्त बुझेको छैन । त्यसैले हामीलाई गलत देखाउन दुष्प्रचार भइरहेको छ’, बालुवाटारमा सक्रियमध्येका एकले भने ।

    कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको गुट विगतमा झै ‘एकतावद्ध’ छैन । संस्थापन समूहमै उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री डा.प्रकाशशरण महत लगायतको आ-आफ्नै उपगुट सक्रिय छन् । पछिल्लो समय गृहमन्त्री बालकृष्ण खाणले समेत बालुवाटारको कामकारवाहीमा प्रत्यक्ष सरोकार राखेका छन् ।

    ‘अहिले बालुवाटारमा कसले प्रभाव जमाउने भन्ने लडाइँ छ । सबैलाई मैले नै शेरबहादुरलाई बनाएको भन्ने छ । प्रधानमन्त्रीले नै हस्तक्षेप नगर्ने हो भने बालुवाटारमा वितण्डा हुनसक्छ’, देउवा समूहकै एक नेताले भने ।

  • बालुवाटारमा गठबन्धन कार्यदलको बैठक, न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिइने

    बालुवाटारमा गठबन्धन कार्यदलको बैठक, न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिइने

    काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलको बैठक अहिले बालुवाटारमा बसिरहेको छ । बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र प्राथमिकतालाई अन्तिम रूप दिनेबारे छलफल भइरहेको छ ।

    कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको कार्यदलमा कांग्रेसका डा. मिनेन्द्र रिजाल र रमेश लेखक , माओवादीका वर्षमान पुन र देवप्रसाद गुरुङ तथा जसपाका महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ सदस्य छन् ।

    कार्यदलले न्यूनतम साझा कार्यक्रमको खाका बनाइसकेको छ । खाकालाई अन्तिम रुप दिन बाँकी रहेकोले छलफल जारी रहेको कार्यदलका एक सदस्यले जानकारी दिए ।

  • प्रधानमन्त्री र विप्लवबीच बालुवाटारमा भेटवार्ता

    प्रधानमन्त्री र विप्लवबीच बालुवाटारमा भेटवार्ता

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् । विप्लवले पछिल्लो समय नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् ।

    प्रधानमन्त्रीसँगको भेटवार्ताको क्रममा विप्लवको साथमा नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला पनि छन् । छलफलमा गृहमन्त्री बालकृष्ण खाण उपस्थित छन् ।

    शान्ति प्रक्रियामा आएसँगै अघिल्लो सरकारसँग भएको तीनबुँदे सम्झौता कार्यान्वयनका लागि विप्लवले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको बताइएको छ ।

    यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका नेता डा. बाबुराम भट्टराईलगायतका नेतासँग विप्लवले छलफल गरिसकेका छन् ।

  • कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा बस्दै

    कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा बस्दै

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक २ बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेदेखि बैठक तय भएको छ । यसअघि प्राय: बूढानीलकण्ठमा बस्ने बैठक आज प्रधानमन्त्री देउवा बालुवाटारमा सरेसँगै बैठकस्थल परिवर्तन गरिएको हो ।

    बैठक महाधिवेशन, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने बताइएको छ ।

    त्यस्तै क्रियाशील सदस्यता छानविन समितिले गरिरहेको काम र तयार पारेको प्रतिवेनमाथि बैठकमा छलफलको एजेण्डा छ ।

  • मुसलधारे वर्षाबीच ओलीको बिदाई : बालुवाटारदेखि बालकोटसम्म

    मुसलधारे वर्षाबीच ओलीको बिदाई : बालुवाटारदेखि बालकोटसम्म

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बिदावारी भएर निजी निवास बालकोट फर्केका छन् ।

    काठमाडौंमा भइरहेको मुसलधारे वर्षाका बीच युवा संघका कार्यकर्ताले उनलाई बालुवाटारबाट स्कर्टिङ गरेर बालकोट लगेका हुन् । ओलीलाई बालुवाटारबाट लैजान सयौंको संख्यामा कार्यकर्ता र सवारीसाधनहरूको लस्कर लगाइएको थियो ।

    कार्यकर्ताले ओलीको पक्षमा नारावाजी गरेका थिए ।

  •  यसरी बालुवाटारबाट निस्किए ओली (तस्बिरहरू)

     यसरी बालुवाटारबाट निस्किए ओली (तस्बिरहरू)

    काठमाडौं । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन् ।

    सर्वोच्च अदालतको आदेशबमोजिम देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले बुधबार बालुवाटार छाडेका हुन् ।

    ओली बालुवाटारबाट निस्कँदै गर्दा नेकपा एमालेनिकट युवा विद्यार्थी स्कटिङका लागि बालुवाटार पुगेका थिए ।

    हेर्नुहोस् ओलीले बालुवाटार छाड्दै गर्दाको केही तस्बिर

     

     

     

    
    
    
    
    
    
  • देउवाको सपथग्रहण बेलुका ६ बजे, ओलीले भोलि बालुवाटार छोड्ने

    देउवाको सपथग्रहण बेलुका ६ बजे, ओलीले भोलि बालुवाटार छोड्ने

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहण आज बेलुकी ६ बजेका लागि तय भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा उनको सपथ ग्रहण हुने छ ।

    सर्वोच्च अदालतको परामादेश कार्यान्वयन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन् । आज सपथग्रहणपछि सानो आकारको मन्त्रिमण्डल बनाउने देउवाले तयारी गरेका छन् ।

    यसैबीच निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोली सरकारी निवास बालुवाटार त्याग्ने भएका छन् । बुधबार बिहान ११ बजे उनी बालुवाटारबाट आफ्नो निजी निवास बालकोट सर्न लागेको स्रोतले बतायो ।

  • बालुवाटारमा प्रदर्शन गर्ने नागरिक अगुवाहरू पक्राउ

    बालुवाटारमा प्रदर्शन गर्ने नागरिक अगुवाहरू पक्राउ

    काठमाडौं । वृहत नागरिक आन्दोलनमा सहभागी नागरिक अगुवाहरूले आज बालुवाटारमा प्रदर्शन गरेका छन् ।

    चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा उनीहरूले विरोध जनाएका हुन् । सर्वोच्चको आदेशविपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै गरिएको प्रदर्शनमा सञ्जिव उप्रेती, नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायत सहभागी थिए ।

    केहीलाई प्रहरीले पक्राउ गरी भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखेको छ ।

    प्रदर्शनका क्रममा स्वास्थ्य सेवा हो, व्यापार होइन, जनस्वास्थ्यमा प्रतिगमन भयो जस्ता प्लेकार्डहरू बोकिएको थियो ।

  • बालुवाटार बैठकमा प्रधानमन्त्रीले राखे जसपा नेताहरूसँग यस्तो प्रस्ताव

    बालुवाटार बैठकमा प्रधानमन्त्रीले राखे जसपा नेताहरूसँग यस्तो प्रस्ताव

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू राष्ट्रिय सहमतिको सरकार बनाउन अग्रसर भएको भन्दै जसपाका नेताहरूलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

    बालुवाटारमा जसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूसँगको छलफलमा प्रधानमन्त्रीले राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेको वार्तामा सहभागी एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले नेपाल प्रेसलाई बताए ।

    जसपा सरकारमा सहभागी हुन तयार नै रहे पनि एक-दुई दिन अझै समय लाग्ने उनले बताए । जसपा ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने निश्चित भइसकेको छ ।

    पार्टीभित्र सर्वसम्मत निर्णय बनाउने वा कार्यकारिणी समितिमा पनि बहुमत जुटाएर निर्णय गर्नका लागि ठाकुर पक्षले समय मागेको स्रोतले जनाएको छ । एकले अर्को पक्षलाई कारवाहीको तयारी गरेका बेला कानुनी रुपमा पनि दल विभाजन हुँदा आधिकारिकता पाएर सरकारमा सहभागी हुन खोजेको जसपाका नेताहरूले बताएका छन् ।

    बालुवाटारमा आज भएको छलफलमा एमालेबाट प्रधानमन्त्री तथा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र नेता सुवास नेम्वाङ सहभागी थिए ।

    त्यस्तै जसपाबाट अध्यक्ष ठाकुरसहित राजेन्द्र महतो, शरदसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण सहभागी थिए ।

    नागरिकता अध्यादेश, मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य हुने बताएको छ ।

  • प्रधानमन्त्रीको दावी- नेताहरू अराजक बन्दै छन्, देशको लागि अनिष्ठ भइरहेको छ

    प्रधानमन्त्रीको दावी- नेताहरू अराजक बन्दै छन्, देशको लागि अनिष्ठ भइरहेको छ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशको लागि अनिष्ठ हुने काम भइरहेको बताएका छन् ।

    तेश्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भइरहेको बताए ।

    माधवकुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसको प्रभाव पर्नु स्वभाविक भएको ओलीको टिप्पणी छ । उनले भने, ‘तीनले खाएको सपथ झुटो हो, तीनका सपथ बेइमानी हो । तीनका सपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ । अहिले तीनले खाएका सपथ सम्झनुहोस् त । तीनले कहाँ कहाँ सपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् । जब नेतृत्व तहबाट त्यस प्रकारका कामहरू हुन्छन् । नेतृत्व तह अनुशासनहीन र अराजकता उत्रिन्छ । सम्मानीय राष्ट्रपतिज्यूकोमा गएर एकजनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ । शरम छैन । जब नेतृत्व तह यस्तो हुन्छ माथिबाटै धमिलो पानी बगेपछि तल संग्लो कहाँबाट आउँछ ? माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भईरहेको छ । यो चिन्ताको विषय छ ।’

    राजनीतिक दल र तीनका नेताहरु अनुशासनहीन, अराजक, पार्टी निर्देशनविपरीत फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्के उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना नेपालमा भएको प्रधानमन्त्री ओलीले बताए ।

    आफ्नो सरकार ढाल्नका लागि विश्वासको मतदान नगरेर बाहिर बस्ने त कहिले अर्को सरकार बनाउन गरिएको कसरत दलीय अनुशासन, मर्यादा, प्रणाली संसदीय प्रणालीविरुद्ध भएको टिप्पणी गरे ।

    विभिन्न चरणको आन्दोलन र राजनीतिक योगदानका कारण संवैधानिक र कानूनी हिसाबले राज्यका सबै अंगमा महिलाको ३३ प्रतिशत सुनिश्चितताको उपलब्धी प्राप्त भएपनि कतिपयलाई यही उपलब्धि चित्त नबुझेकोप्रति प्रधानमन्त्रीको गुनासो छ ।

  • ‘मिसन पत्रकारितावाला’ ले सरकारको कामको उपलब्धि देखेनन् : प्रधानमन्त्री

    ‘मिसन पत्रकारितावाला’ ले सरकारको कामको उपलब्धि देखेनन् : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संचारमाध्यमले सरकारले गरेका कामको उपलब्धि देख्दै नदेखेको गुनासो गरेका छन् । आइतबार बालुवाटारमा प्रेस चौतारीआवद्ध पत्रकारहरूसँगको अन्तरक्रियामा ओलीले ‘मिसन पत्रकारितावाला’ ले धेरै बनावटी कुरा गर्ने गरेको आरोप लगाए।

    ‘केही त मिसन पत्रकारितावाला छन्,’ ओलीले भने, ‘उपलब्धि देख्दै नदेख्ने । कमजोरी छैन भने बनावटी कुरा बनाउने । मार्मिक कथा बनाउने । मार्मिक स्थितिलाई आफ्नो पक्षमा प्रयोग गर्ने ।’

    ओलीले सरकार महामारी नियन्त्रणमा पुरै लागेको र पछिल्ला केही दिनमा कोरोना संक्रमण दर स्थिर रहेको भन्दै अब त्यो घट्ने विश्वास व्यक्त गरे । उनले सरकार अब सबैलाई खोप लगाउने कुरामा केन्द्रित हुने बताए ।

  • चुनावको तयारीका लागि बालुवाटारमा निर्वाचन आयोगसँग प्रधानमन्त्रीको छलफल

    चुनावको तयारीका लागि बालुवाटारमा निर्वाचन आयोगसँग प्रधानमन्त्रीको छलफल

    काठमाडौं । सरकारले कात्तिक २६ र मंसिर ३ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि निर्वाचन आयोगसँग छलफल थालेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख निर्वाचन आयुक्तसहित आयुक्तहरुसँग निर्वाचनको लागि आवश्यक तयारी र सरकारको तर्फबाट चाहिने सहयोगका बारेमा छलफल गर्दैछन् ।

    विहान ११ बजे शुरु भएको बैठकमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र पूर्व महान्यायाधिवक्ता अग्नि खरेल समभागी छन् ।

    त्यस्तै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयुक्तहरु बैठकमा सहभागी छन् ।

  • मन्त्रिपरिषद् बैठकलगत्तै महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटारमा

    मन्त्रिपरिषद् बैठकलगत्तै महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटारमा

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।

    मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने निर्णय गराएसँगै उनीहरू बालुवाटार पुगेका हुन् ।

    अहिलेसम्म तटस्थ बस्दै आएका ठाकुर र महतो मन्त्रिपरिषद्को निर्णयलगत्तै बालुवाटार पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

  • बालुवाटारमा छलफल : जसपा सरकारमा नआउन्जेल पहिलेकै मन्त्री यथावत

    बालुवाटारमा छलफल : जसपा सरकारमा नआउन्जेल पहिलेकै मन्त्री यथावत

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र नयाँ अनुहारलाई मन्त्रिपरिषदमा सामेल गर्ने भएका छन् ।

    आज साढे दुई बजे सपथग्रहणपछि प्रधानमन्त्रीले अधिकांश पुरानै मन्त्रीलाई निरन्तरता दिने जानकारी बालुवाटारमा आफूनिकट नेताहरूलाई गराएका छन् ।

    प्रधानमन्त्रीसँग भेट गरेका एक एमाले नेताले भने, ‘अब बजेटको तयारी भइरहेको र जसपाको सरकारमा आउने बारे छलफल चलिरहेकाले तत्काल पहिलेकै टिमलाई निरन्तरता दिने कुरा गर्नुभएको छ । सायद अधिकांश पुरानै मन्त्री हुन्छन् ।’

    जसपा अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतोले तत्काल सरकारमा जानुअघि मधेशका अरु मुद्दा पनि सम्बोधन हुँदा आफूहरुलाई सजिलो हुने बताएकाले कम्तीमा एक महिना मन्त्रिपरिषद् पुनर्गठन नहुने ती नेताले बताए ।

  • बालुवाटारमा एमाले स्थायी कमिटी बैठक, ओलीलाई सबै अधिकार दिने

    बालुवाटारमा एमाले स्थायी कमिटी बैठक, ओलीलाई सबै अधिकार दिने

    काठमाडौं । माधव नेपाल पक्षका माग सम्बोधन गर्नका लागि नेकपा एमाले स्थायी कमिटीको बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहेको छ ।

    माधव नेपालसँग वार्ता गर्न र माधव पक्षका मागलाई सम्बोधन गर्न एमाले स्थायी कमिटीले सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने बताइएको छ ।

  • ओलीलाई महन्थले भने- विश्वासको मत दिँदैनौं, तटस्थ रहन्छौं

    ओलीलाई महन्थले भने- विश्वासको मत दिँदैनौं, तटस्थ रहन्छौं

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ ।

    वरिष्ठ नेता राजेन्द्र महतोसहित बालुवाटार पुगेका ठाकुरले जसपाका मागहरू पूरा भइनसकेकोले विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

    ‘हाम्रा मागहरू अझै पूरा भएका छैनन् । माग पूरा नभएको अवस्थामा हामीले तपाईलाई विश्वासको मत दिन सक्दैनौं’, ठाकुरलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

    भेटमा प्रधानमन्त्री ओलीले जसपाको माग पूरा गर्ने क्रम शुरू भइसकेको र अन्य माग पूरा गर्न पनि सरकार सकारात्मक रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत नदिए पनि विपक्षी गठबन्धनमा सहभागी नहुन आग्रह समेत गरेका छन् ।

  • देउवालाई यी तीन सन्देश सुनाएर महन्थ-राजेन्द्र बालुवाटार पुगे

    देउवालाई यी तीन सन्देश सुनाएर महन्थ-राजेन्द्र बालुवाटार पुगे

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवासँग डेढ घण्टा लामो छलफलपछि जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

    पछिल्लो समय ओलीसँगै संवाद र सहकार्यमा रहेका ठाकुर र महतो पछिल्लो घटनाक्रम बारे परामर्श गर्न बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीले भोलि विश्वासको मत लिन प्रतिनिधिसभा बैठक बोलाएका छन् ।

    ठाकुर र महतोले देउवालाई मुलतः तीनवटा सन्देश दिएका छन् । ती विषय उनीहरुले बालुवारटामा समेत जानकारी गराएका छन् ।
    देउवालाई ठाकुरले प्रष्टसँग भनेका छन्-

    १ः विश्वासको मतमा जसपा तटस्थ बस्छ,उपेन्द्र यादवजीको कुरामा नलाग्नुहोस् ।

    २ः वैकल्पिक सरकारको सम्भावना अहिले छैन ।

    ३ः सबै मिलेर निर्वाचनतर्फ मुलुकलाई लैजाऔं ।

    वार्तामा सहभागी स्रोतका अनुसार जसपाको भर परेर कुनै निर्णय नलिन देउवालाई सुझाव दिएका छन् ।

  • एमाले स्थायी कमिटीको आकस्मिक बैठक जारी

    एमाले स्थायी कमिटीको आकस्मिक बैठक जारी

    काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक शुरू भएको छ ।

    अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघिबाट शुरू भएको हो । बैठकमा प्रधानमन्त्रीले सदनबाट विश्वासको मत लिन वैशाख २७ गते तय गरिएको बैठक र दलहरूसँग भएका छलफलको बारेमा जानकारी दिइने बताइएको छ ।

    माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस, माओवादीसहितका दलसँग गठबन्धन गरेर अलग्गै उम्मेदवार उठाउन लागेको सन्दर्भमा एमाले बैठक बस्न लागेकाले थप कारवाहीको सम्भावना रहेको बताइएको छ ।

    एमाले केन्द्रीय कमिटीले कारवाही लगायतका निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ ।

  • एमाले बैठकमा ओलीको ब्रिफिङ- मैले लेनिनको शैली अपनाएँ, तर अर्को पक्षले एकता चाहेन

    एमाले बैठकमा ओलीको ब्रिफिङ- मैले लेनिनको शैली अपनाएँ, तर अर्को पक्षले एकता चाहेन

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाकालमा जस्तै पार्टी कब्जा गर्ने ढंगले माधव नेपालहरु आएको हो भने त्यो सम्भव नहुने प्रष्ट पारेका छन् ।

    दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकलाई शुक्रवार सम्बोधन गर्दै अध्यक्ष ओलीले अझै पनि पार्टीमा माधव पक्षलाई समेटेर लैजान आफू लचिलो बनेर प्रस्तुत भएको जानकारी बैठकलाई गराएका छन् ।

    एक केन्द्रीय सदस्यका अनुसार ओलीले माधव नेपाल र योगेश भट्टराईसँगको कुराकानीमा नेपाल एकताप्रति इमान्दार नदेखिएको बताएका छन् ।

    ओलीको भनाइ उदृत गर्दै ती सदस्यले भने, ‘म अझै पनि लचिलो भएर आएको छु। मेरो माधब नेपाल, योगेश भट्टराई लगायतका नेताहरूसँग भेटघाट भयो। दुई कदम पछाडि, एक कदम अगाडि बढेर हिँड्नु पर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरें । तर, साथीहरूको पार्टी एकताबद्ध बनाउन कुनै पहल, महसुस र अनुभूति देखिँदैन । पार्टी खोस्ने ढंगले कोही आएको हो भने त्यो सम्भव छैन ।’

    ओलीले प्रचण्ड र माधव नेपालका कारण पार्टी विभाजन भएको भन्दै आफूलाई साधारण सदस्यबाट समेत हटाउने दुस्साहस गरेको बताएका थिए । बैठकमा ओलीले अहिले पनि केही व्यक्ति एमाले कब्जा गर्न सकिन्छ कि भनेर आएको टिप्पणी गरेका छन् ।

    ओलीले बैठकमा भने, ‘अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लाग्ने । पार्टीकै नेताहरूविरुद्ध विषबमन गर्ने । सरकारको आलोचना गर्ने । आन्दोलनका इमान्दार पंक्तिलाई बदनाम गराउने समाप्त गर्ने हिसाबले लागेका छन । एमाले खोस्ने हिसाबले कोही आएको छ भने त्यो सम्भव छैन, अब यो पार्टीले हिजोबाट नयाँ उचाइ लिएको छ ।’

    आजको बैठकमा स्थायी कमिटी गठन, अनुशासनको कारवाही, कार्य विभाजन र समसामयिक प्रस्तावमाथि छलफलको एजेण्डा राखिएको छ ।

  • झलनाथसहित माधव पक्षका नेताहरू बालुवाटारमा

    झलनाथसहित माधव पक्षका नेताहरू बालुवाटारमा

    काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बालुवाटारमा शुरू भएको छ ।

    अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनालसहितका माधव पक्षका नेताहरू सहभागी भएका छन् । बैठकमा मञ्चपट्टी प्रधानमन्त्रीको दायाँतर्फ वामदेव गौतम र झलनाथ खनाल बसेका छन् भने बायाँतर्फ ईश्वर पोखरेल र सुवास नेम्वाङ छन् । माधवकुमार नेपाल र भीम रावल भने उपस्थित छैनन् । सुरेन्द्र पाण्डे भने बैठकस्थल पुगेर एकछिनमै निस्किएका छन् ।

    माधव पक्षधरका केन्द्रीय सदस्यहरूको आजै भएको छलफलले संसदीय दलको बैठकमा भाग लिने निष्कर्ष निकालेको थियो । नेकपा एमालेभित्र बसेर पार्टीलाई बलियो र गतिशील बनाउनका लागि तथा विधि र पद्दतिमा चलाउनका लागि संघर्ष गर्ने निर्णय भएको नेता रघुजी पन्तले जानकारी दिएका छन् ।

    एमाले पुनःस्थापनापछि तीनपटक दलको बैठक बस्दा पनि माधव नेपाल पक्ष सहभागी भएको थिएन । पछिल्लो पटक चैत ७ गतेको बैठक चलिरहेका बेला माधव नेपाल पक्षले बैठकमा आउन नसक्नुको लिखित कारण पठाएको थियो ।

    प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक चलिरहेका बेला पार्टीका सांसदहरूको भूमिकाका बारेमा छलफल गर्न दलको बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

    प्रतिनिधिसभामा १२० एमाले सांसदमध्ये माधव नेपाल पक्षमा हाल ३५ जना छन् ।

  • महन्थलगायतका जसपा नेता बालुवाटारमा

    महन्थलगायतका जसपा नेता बालुवाटारमा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न जनता समाजवादी पार्टी (जसापा) का नेताहरू बालुवाटार पुगेका छन् ।

    सम्भावित सत्ता समीकरणका लागि प्रधानमन्त्रीसँग छलफल गर्न जसपाका नेताहरू महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण बालुवाटार पुगेका हुन् ।

    बालुवाटारनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच सोमबार साँझ पनि छलफल भएको थियो ।

    सत्ता सहकार्यका लागि आवश्यक छलफल गर्न एमाले र जसपा नेताहरू रहेको कार्यदल समेत बनेको थियो ।

    सत्ता समीकरणका लागि प्रधानमन्त्री ओलीसँग महन्थ ठाकुर लगायतका नेताहरूले सघन संवाद बढाएपछि बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतका नेताहरू भने असन्तुष्ट बनेका छन् ।

  • यस्तो देखियो बालुवाटार चियापानको माहोल (फोटो/भिडियो)

    यस्तो देखियो बालुवाटार चियापानको माहोल (फोटो/भिडियो)

    काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसद र केन्द्रीय सदस्यहरुमाझ आज बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरे ।

    नेकपा एमाले पुनःस्थापित भएको खुसियालीमा प्रधानमन्त्री निवास बालुवाटारमा एमालेका सांसद र केन्द्रीय सदस्यहरूले नाचगानसमेत गरेका थिए ।

     
     
     
     
     
     

  • ओलीको चियापानमा जाने माधव नेपाल पक्षका चार सांसद को-को हुन् ?

    ओलीको चियापानमा जाने माधव नेपाल पक्षका चार सांसद को-को हुन् ?

    काठमाडौं । बालुवाटारमा आयोजना गरिएको चियापान कार्यक्रम बहिष्कार गरेपनि माधव नेपाल पक्षका केही नेता उपस्थित भएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार केन्द्रीय सदस्य र सांसदहरूका लागि चियापान आयोजना गरेका थिए ।

    माधव पक्षमा खुलेका सांसदहरू गोपाल बम, नजमा खातुन, माया ज्ञवाली, समिना हुसेन, गंगा चौधरी ‘सत्गौवा’ र केन्द्रीय सदस्य केशवलाल श्रेष्ठ बालुवाटार गएका हुन् ।

    यसअघि प्रधानमन्त्रीविरुद्ध प्रचण्ड-माधव पक्षले दर्ता गरेको अविश्वास प्रस्तावमा बम, हुसेन र ज्ञवालीले हस्ताक्षर गरेका थिए ।

  • बालुवाटारमा चियापान, बैकुण्ठ महतले नचाए एमाले सांसदलाई

    बालुवाटारमा चियापान, बैकुण्ठ महतले नचाए एमाले सांसदलाई

    काठमाडौं । नेकपा एमाले पुनःस्थापित भएको खुसियालीमा प्रधानमन्त्री निवास बालुवाटारमा एमालेका सांसद र केन्द्रीय सदस्यहरु नाचेका छन् ।

    प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापानमा सहभागीहरूलाई गायक बैकुण्ठ महतले छमछमी नचाएका हुन् ।

    महतले ‘अधिकार खोज्नेको कर्तब्य चाहिँ खोइ ?’ भन्ने गीत गाएपछि यसअघि प्रचण्ड-माधव पक्षमा हस्ताक्षर गरेकी सांसद माया ज्ञवालीसमेत नाचेकी थिइन् । महत र प्रिया भण्डारीले यो गीत पुस ७ गते नेकपा फुटेपछि गाएका थिए ।

    चियापानमा माधव नेपाल पक्षका नेताहरू भने सहभागी भएका छैनन् । ओलीले पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरूलाई आज चियापानका लागि बालुवाटारमा बोलाएका हुन् ।

    माधव नेपाल पक्षले फागुन २८ गतेको निर्णय बदर हुनुपर्ने माग गरेको छ । तर, अध्यक्ष ओलीले ती सबै विषय केन्द्रीय कमिटी बैठकमा छलफल गरिने भन्दै नेपाल पक्षको शर्त अस्वीकार गरेका छन् ।

  • माधव नेपाल पक्षका केन्द्रीय सदस्यको मोबाइलमा जब बालुवाटारको एसएमएस पुग्यो…

    माधव नेपाल पक्षका केन्द्रीय सदस्यको मोबाइलमा जब बालुवाटारको एसएमएस पुग्यो…

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षसहित सबै केन्द्रीय सदस्यहरुलाई चैत ३ गते चियापानका लागि बालुवाटारमा बोलाएका छन् ।

    चैत ७ गतको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा ओलीले केन्द्रीय सदस्यहरूलाई चियापानका लागि प्रधानमन्त्री निवास बोलाएका हुन् ।

    आइतवार अपरान्ह माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको मोबाइलमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीको एसएमएस एकैपटक गएको थियो ।

    अध्यक्ष ओलीले एकलौटी ढंगले जिम्मेवारी हेरफेर गरेपछि माधव नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । सो भेलाको अघिल्लो दिन पारेर ओलीले चियापान आयोजना गरेका हुन् ।

    माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई बालुवाटारको एसएमएस आएपछि उनीहरु आफूलाई मात्र आएको हो कि भनेर एक अर्कामा बुझ्न थाले । यसअघि झुक्किएर सुरेन्द्र पाण्डे र राजेन्द्र राईलाई शुक्रबारको बैठकको एसएमएस पुगेको थियो ।

    त्यस्तै हो कि भनेर सोधपुछ गर्दा चियापानको निम्तो अरुलाई पनि गएको रहेछ । चियापानमा जाने वा नजाने भन्नेबारे भने नेताहरुसँग छलफल गरेपछि टुंगो लाग्ने एक केन्द्रीय सदस्यले बताए ।

  • विप्लव बालुवाटारमा, प्रधानमन्त्रीकै गाडीमा सभागृह जाँदै

    विप्लव बालुवाटारमा, प्रधानमन्त्रीकै गाडीमा सभागृह जाँदै

    काठमाडौं । २ वर्षपछि सार्वजनिक भएका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच एक्ला-एक्लै वार्ता भएको छ ।

    काठमाडौं आएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता टोली सहित पुगेका विप्लवले प्रधानमन्त्रीसँग भने एक्लै भेट गरेका हुन् ।

    केहीबेर दुई नेताबीच वार्तापछि सँगै राष्ट्रियसभागृहमा जाने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । विप्लव र प्रधानमन्त्री एउटै गाडी चढेर सभागृहमा संयुक्त हस्ताक्षर र सम्बोधनका लागि जाँदैछन् ।