Tag: बामदेव गाैतम

  • डिनर बैठकबारे गौतमको प्रष्टोक्ति- कुरा मिलेन, नमस्कार गरेर विदा भएँ

    डिनर बैठकबारे गौतमको प्रष्टोक्ति- कुरा मिलेन, नमस्कार गरेर विदा भएँ

    काठमाडौं । नेकपा एमोका नेता वामदेव गौतमले अध्यक्ष केपी ओलीसँगको डिनर बैठक सकारात्मक नभएको प्रष्ट पारेका छन् । विहीवार साँझको डिनर बैठकको बैठक मुख्य सचेतक विशाल भट्टराईले सार्वजनिक गरेका थिए ।

    गौतमले शुक्रवार विहान आफ्ना प्रेस संयोजक विश्वमणी सुवेदीमार्फत फागुन २८ गतेको निर्णय फिर्ता लिन आफूले गरेको आग्रह अध्यक्ष ओलीले अश्वीकार गरेपछि नमस्कार गरेर बालुवाटारबाट हिडेको बताएका छन् ।

    गौतमको वक्तव्यमा भनिएको छ, ‘उहाँले पार्टी काममा फर्कन अनुरोध गर्नुभयो । मैले गत फागुन २८ गते तपाईंले गर्नुभएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ । उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईसँग आउन सक्दिन भनेर जवाफ दिएँ । डिनर चल्दै थियो, नमस्कार गरेर म विदा भएँ ।’

    गौतम नेकपा विभाजन कालदेखिनै ओली र प्रचण्ड-माधव दुवै पक्षमा नलागी अलग अभियान चलाइरहेका छन् । पछिल्लो समय एमाले पुनःस्थापनापछि पनि गौतम कुनै पक्षमा छैनन् ।

  • बालुवाटारमा एमाले संसदीय दलको बैठक, बामदेवलाई पनि बोलाइयो

    बालुवाटारमा एमाले संसदीय दलको बैठक, बामदेवलाई पनि बोलाइयो

    काठमाडौं । पुस ७ मा नेकपा विभाजनपछि एकता अभियान चलाइरहेका एमाले उपाध्यक्ष बामदेव गौतमलाई संसदीय दलको बैठकमा आउन आग्रह गरिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आउन प्रमुख सचेतक विशाल भट्टराईले फोन गरेका हुन् ।

    गौतमले आफू यसबीचमा कुनै समूहमा नलागेको भन्दै बैठकमा आउनेबारे बिचार गर्ने जवाफ दिएको बताइएको छ । गौतम राष्ट्रियसभा सदस्य हुन् । गौतम पत्नी तुलसा भने एमाले पुनःस्थापनापछि अध्यक्ष केपी ओलीले बोलाएका बैठकमा सहभागी हुने गरेकी छन् ।

    सर्वोच्च अदालतको फैसलाले नेकपा भंग भएपछि राष्ट्रियसभामा एमालेको संसदीय दलको नेता खाली रहेको छ । यसअघि नेकपाका नेता दिनानाथ शर्मा माओवादीको दलको नेता बनेका छन् ।

    एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले नेपालप्रेससँगको अन्तर्वार्तामा आफूले राष्ट्रियसभामा प्रतिनिधि (दलको नेता) चाँडै तोक्न लागेको बताएका छन् ।

  • धुम्बाराहीमा सचिवालय बैठक बोलाउन ओली र प्रचण्डलाई वामदेवको आग्रह

    धुम्बाराहीमा सचिवालय बैठक बोलाउन ओली र प्रचण्डलाई वामदेवको आग्रह

    काठमाडौं । विभाजित नेकपा एकता अभियानका संयोजक तथा पार्टी उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

    गौतमले बुधवार प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीले ढिला नगरी राजीनामा दिनुपर्ने र राष्ट्रपतिले प्रेस विज्ञप्तिमार्फत अदालतको निर्णयको स्वागत गर्दै प्रतिनिधिसभा वैठक आह्वान गर्नुपर्ने बताएका हुन् ।

    गौतमले नेकपा विभाजनलाई अश्वीकार गर्दै दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाउन अनुरोध समेत गरेका छन् ।

    हाल धुम्बाराहीमा ओली पक्षको कार्यालय छ । गौतमले सर्वोच्चको फैसलालाई ऐतिहासिक भनेका छन् ।

  • को-को हुँदैछन् बामदेव गौतमको राष्ट्रिय अभियानका पदाधिकारी ?

    को-को हुँदैछन् बामदेव गौतमको राष्ट्रिय अभियानका पदाधिकारी ?

    काठमाडौं । राजनीतिक रुपमा विभाजित तर कानुनी रुपमा मान्यता पाइनसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई फुट्न नदिने बामदेव गौतमको अभियान बुधवारबाट औपचारिक रुपमा शुरु हुँदैछ ।

    साबिक नेकपाको उपाध्यक्ष रहेका गौतम पार्टी विभाजनपछि दुवै समूहमा लागेका छैनन् । गौतमको पार्टी एकता राष्ट्रिय अभियान बुधवार धोविघाटबाट औपचारिक रुपमा घोषणा हुने गौतम निकट नेता हरि पराजुलीले बताए ।

    पार्टी एकता राष्ट्रिय अभियानको संयोजक गौतम आफैं हुनेछन् भने हरि पराजुली सहसंयोजक बन्ने भएका छन् । त्यस्तै पार्टी एकता राष्ट्रिय अभियानको सचिव बाबुराम थापा रहने बताइएको छ ।

    अभियानमा चार जना सहसचिव र कोषाध्यक्ष पनि रहने पराजुलीले बताए । पदाधिकारी र अन्य अभियानका सदस्यहरुको नाम भने बुधवारै बस्ने कार्य सम्पादन समितिको बैठकपछि सार्वजनिक गरिने उनले बताए ।

    यो अभियानमा बामदेवलाई सधैं साथ दिँदै आएका केशवलाल श्रेष्ठ,बलराम बास्कोटा जस्ता नेताहरु सामेल छैनन् । उनीहरु प्रचण्ड माधव पक्षमा लागेका छन् भने बामदेवका अरु धेरै सहयोगीहरु यसअघिनै केपी ओली पक्षमा लागेका छन् ।

    पूर्व कृषिमन्त्री पराजुली विभाजनअघिकै नेकपाका केन्द्रीय सदस्य हुन् । उनी प्रचण्ड माधव पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका थिए । तर अब बामदेव गौतमको एकता अभियानको सहसंयोजक हुनेछन् ।

    सचिव बन्न लागेका बाबुराम थापा नेकपाका युवा नेता हुन् । तेह्रथुमका थापा युवा संघका पूर्व उपाध्यक्ष हुन् भने अहिले किसान महासंघमा छन् । थापा पार्टी विभाजनपछि कतै खुलेका छैनन् ।

    गौतमको राष्ट्रिय अभियानमा पार्टी एकता पक्षधर दुवै पक्षमा नखुलेका देशभरका नेता कार्यकर्ता सहभागी हुने दावी गरिएको छ । केन्द्रमा संयोजक, सहसंयोजक, सचिव र चार सहसचिव सहित कोषाध्यक्ष रहनेछन् भने जिल्ला तहसम्म सोही संरचना बनाइने पराजुलीले बताए ।

  • जसले अध्यक्ष दिन्छ त्यही समूहमा जान्छुः बामदेव गौतम

    जसले अध्यक्ष दिन्छ त्यही समूहमा जान्छुः बामदेव गौतम

    काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफू पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने बताएका छन् । सोमबार पत्रकारहरुसँग कुरा गर्दै नेता गौतमले जुन समूहले अध्यक्ष दिन्छ त्यही समूहमा जाने र पार्टी एकताका लागि प्रयास गर्ने प्रष्ट पारे ।

    ‘म कुनै समूहमा जानका लागि अभियान चलाएको होइन’, उनले भने, ‘जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकता गर्दछु ।’ उपाध्यक्ष गौतमले आफूले पार्टीमा गुटबन्दी नगरेकाले आफ्नो पक्षमा कोही नभएको प्रष्ट्याए । ‘मैले पार्टीमा गुटबन्दी नगरेकाले मसँग कोही पनि केन्द्रीय सदस्य छैनन्, मसँग अहिले हरि पराजुलीभन्दा कोही छैनन्’, उनले थपे ।

    नेता गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताए । ‘आयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न भन्ने सन्देश दिएको छ, यसले अब पार्टी एकतामा सहयोग गर्दछ ।’ उनले एकता अभियान सर्वोच्च अदालतको निर्णयपछि झन सशक्त हुने भन्दै त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना आवश्यक रहेको बताए ।

    उनले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पनि आफूले एक गराएको भन्दै पुनः अहिले फुट्न थालेको पार्टीलाई पनि एक बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘त्यति बेला नै मैले एमाले र माओवादी केन्द्रलाई एक बनाइ नेकपा बनाएको थिए’, उनले भने, ‘अब पनि एकता अभियानबाट म दुवै समूहलाई एकतामा ल्याउँछु ।’ उनले ओली र दाहाल–नेपाल समूह दुवैको जित हुने गरी अबको एकता हुने दावी गरे ।

    नेता गौतमले दुवै समूहलाई एकतामा ल्याउनका लागि यही माघ १४ गतेदेखि पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन् । एकता अभियानका संयोजकमा गौतम, सह–सयोजकमा हरि पराजुली र सचिवमा बाबुराम थापा छन्। एकता अभियानसँगै नेता गौतमले लेखेको ‘जनताको बहुदलीय जनवाद’ (तुलनात्मक अध्ययन), ‘२१औं शताब्दीको कम्युनिष्ट पार्टी’ र ‘नेपाली जनताको समृद्धिको कार्यक्रम र बहुदलीय समाजवाद’ नामक तीन पुस्तक सार्वजनिक गर्ने कार्यक्रम छ ।

    अभियान घोषणाको दिन ५१ केन्द्रीय सदस्य र १७५ कार्यसम्पादन समिति घोषणा गरिनेछ । उनले आफ्नो दुवै पक्षका ठूला नेताको साथ आफूलाई नभए पनि साना नेता भने साथ रहेको स्पष्ट पारे । उपाध्यक्ष गौतमले नेकपाको अन्तरिम विधानमा पनि सहमतिमै पार्टी चल्ने भएकाले कसैको इच्छा लाग्दैमा पार्टी फुटाउन नपाइने बताए । दुवै अध्यक्ष सहमत भए मात्र पार्टी फुट्ने उनको भनाइ छ । उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आफ्नो समूहमा आउन बोलाइरहेको जानकारी दिए ।

     

  • वामदेवलाई ठीक लागेको तीनबुँदे प्रस्ताव के थियो ?

    वामदेवलाई ठीक लागेको तीनबुँदे प्रस्ताव के थियो ?

    काठमाडौं । नेकपा सम्बद्ध केही कानून व्यवसायीले पार्टी विभाजनमा तटस्थ रहेका उपाध्यक्ष वामदेव गौतमलाई पार्टी एकता जोगाउन तीनबुँदे प्रस्ताव बालुवाटारमा पुर्‍याउन सुझाव दिए पनि प्रधानमन्त्री पक्षबाट तीनवटै प्रस्ताव अस्वीकार गरिएको चर्चा चलेको छ ।

    ती तीन बुँदा थिए- प्रतिनिधिसभा पुनर्स्थापना, नेकपा दुवै समूहको संयुक्त सरकार र एक-एक वर्ष केपी ओली र प्रचण्डले आलोपालो प्रधानमन्त्री चलाउने ।

    तर यी तीनै प्रस्ताव अस्वीकार भएको गौतम निकट स्रोतले दाबी गरेको छ । कुनै पनि अवस्थामा प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन भन्ने जानकारी आएपछि यो च्याप्टर क्लोज भएको गौतम निकट स्रोतले नेपाल प्रेसलाई बतायो ।

    यो प्रस्ताव गौतमकै थियो त ?

    स्रोत भन्छ– गौतम आफ्नै नभएर कुनै वकिलको थियो र यो प्रस्तावमा उनी पनि सकारात्मक थिए । तर कुनै हालतमा प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन भन्ने जवाफ आएपछि यो सम्भावनाको अन्त भयो ।

    पार्टी विभाजनमा कतै नलागेका गौतम अब सर्वाेच्च अदालतको फैसला नआउन्जेल तटस्थ रहने स्रोतले जनाएको छ ।

    उनी शनिवारमात्रै प्रचण्डले बोलाएर खुमलटार पुगेका थिए । त्यहाँ प्रचण्ड माधव नेपाल लगायतका नेतासँग उनले छलफल गरेका थिए ।

    गौतमले आफू प्रतिनिधिसभा विघटनको विपक्षमा रहेको बताएका थिए । तर उनले जे गरे पनि एकताको लागि ठाउँ बाँकी राखेर मात्र आफ्ना कदम चाल्न प्रचण्डलाई आग्रह गरेका थिए ।

  • वामदेव दुवैतिर नजाने, बादल आज पनि छलफलमै

    वामदेव दुवैतिर नजाने, बादल आज पनि छलफलमै

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‌‍(नेकपा) औपचारिक विभाजनका लागि दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्न लागेका बेला उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल भने अन्तिम बेलासम्म पनि कतै खुलेका छैनन् ।

    गौतमले आज ओली र प्रचण्ड–माधव नेपाल पक्ष दुवैले आयोजना गरेका बैठकमा सहभागी नहुने नेपाल प्रेसलाई बताए । पार्टी विभाजनका लागि हुन लागेका बैठकमा गएर फुटको साक्षी नबस्ने उनले प्रष्ट पारे । तर विभाजन भइसकेपछि एकातिर लाग्नैपर्ने बाध्यतामा उनी छन् ।

    पूर्व माओवादी समूहमा पनि बादल पक्ष विभाजित छ । देव गुरुङ, पम्फा भुसाललगायतका नेता बादल निकट भए पनि उनीहरु प्रचण्डसँग छन् । तर बादल स्वयं भने दुवै पक्षका भेला र बैठकमा सहभागी भएका छैनन् ।

    आज कुन समूहको बैठकमा सहभागी हुने वा दुवै समूहमा नलाग्ने भन्ने अझै निश्चित नभएको गृहमन्त्रालयका सल्लाहकार समेत रहेका बादल निकट केन्द्रीय सदस्य सूर्य सुवेदी ‘पथिक’ले बताए । उनका अनुसाार बादल आज पनि बिहानैदेखि आफू निकट नेताहरुसँग छलफलमा छन् ।

    सुवेदीले भने–हामी आज पनि छलफलमै छौं । हिजो केही साथीहरुसँग छलफल भयो । देशभरिका साथीहरुसँग छलफलपछि सामूहिक निर्णयमा जान्छौं । अहिले नै हामी कुन बैठकमा जाने भन्ने निष्कर्षमा पुगिसकेका छैनौं ।

    बादल पक्षका ३५ जना केन्द्रीय सदस्य रहेको र यसबीचमा केही थपघट भएको सुवेदीले बताए ।