Tag: बाढीपीडित

  • दार्चुला बाढीपीडितलाई हेलिकप्टरबाट खाद्यान्न, सय परिवारलाई सुरक्षित स्थानमा सार्न सुझाव

    दार्चुला बाढीपीडितलाई हेलिकप्टरबाट खाद्यान्न, सय परिवारलाई सुरक्षित स्थानमा सार्न सुझाव

    कैलाली । भदौ १३ गते आएको बाढीले प्रभावित भएका दार्चुला दुहुका नागरिकहरूलाई हेलिकप्टरमार्फत खाद्यान्न पुर्‍याइएको छ ।

    निजाङ खोलामा आएको बाढीले एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको थियो । बाढीमा बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन् । घटनाबाट करिब एक सय बढी नागरिक विस्थापित भएका छन् ।

    उनीहरूलाई अहिले प्रदेश सरकारको पहलमा स्थानीय तह र जिल्ला प्रशासनले हेलिकप्टरबाट खाद्यान्न पुर्‍याइरहेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

    ‘पहिलो चरणमा दुहूमा खाद्य संकट नहोस् भन्नको लागि ८० क्वीन्टल बढी चामल पठाएको छ,’ मन्त्री जोशीले नेपाल प्रेसलाई भनिन्, ‘अहिले नेपाली सेनाको हेलिकप्टरले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न पुराइरहेको छ । प्रदेश सरकारले यस अघि नै विपद् व्यवस्थापनको लागि रकम दार्चुला पठाइसेको थियो ।’

    प्रदेश सरकारले पठाएको रकमबाट अहिले स्थानीय तहले खाद्यान्न खरिद गरेर बाढी प्रभावित क्षेत्रमा पुर्‍याउने काम भइरहेको छ ।

    बाढीबाट दूहू वडा नम्बर १ र ५ का ठूलो क्षति पुर्‍याएको थियो । जिल्ला प्रशासन कार्यालय दार्चुलाको तथ्यांक अनुसार अहिले ३० घर पूर्ण रुपमा क्षति भएको छ भने ७० घर बस्न नमिल्ने अवस्थामा छ ।

    बाढीले ५ वटा झोलुंगे पुल र एउटा मोटरेवल पुल बगाएको छ । ५ वटा लघु जलविद्युत आयोजना, दुई बिद्यालय र वडा नम्बर १ को कार्यालयमा पनि बाढीले क्षति पुराएको छ ।

    घटना पछि विस्थापित भएका एक सय परिवारलाई सुरक्षित स्थलमा राख्ने बिषयमा पनि छलफल सुरु भएको मन्त्री जोशीले बताइन् ।

    ‘प्रमुख जिल्ला अधिकारीले सय परिवार त्यहाँ बस्न नसक्ने भन्दै प्रतिवेदन तयार गर्दै हुनुहुन्छ’ मन्त्री जोशीले भनिन् ‘हामी उहाँलाई व्यवस्थापन गर्ने विषयमा छलफल सुरु गरेका छौँ । ’

    अहिले बन्थली, नरुली, गुना, सतखोला र सिमारका एक सय परिवार आफन्त तथा विद्यालयमा बसिरहेका छन् । उनीहरुको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले टेन्ट लगायतका बन्दोबस्तका सामाग्रीहरू समेत पठाइएकोमन्त्री जोशीले बताइन् ।

    ‘पहिलो चरणमा अनुगमनको नाममा हेलिकोप्टरमा पुग्नु भन्दा उहाँहरूलाई आवश्यक पर्ने समाग्रीहरु पुराउन हामीले ध्यान दिएका थियौं,’ उनले भनिन्, ‘अब उहाँहरूलाई दिगो व्यवस्थापन गर्न पहल गर्छौं । ’

    भूमिसम्बन्धी अधिकार प्रदेश सरकारसँग नभएको हुँदा यस बिषयमा संघीय सरकारसँग समन्वय गर्ने उनले बताइन् ।

    दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले पनि एक सय परिवारलाई अन्यत्र सार्नुपर्ने अवस्था रहेको बताए ।

    ‘उहाँहरू आफ्ना घरमा फर्किन सक्ने अवस्था छैन कतिको त घर पनि बाढीले बगायो’ उनले भने ‘विस्थापित सबैको लागि अन्यत्र जग्गा उपलब्ध गराउनु पर्ने देखिएको छ ।’

  • बर्दघाटका बाढीपीडितलाई ग्लोबल आईएमई बैंकको सहयोग

    बर्दघाटका बाढीपीडितलाई ग्लोबल आईएमई बैंकको सहयोग

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपरासी बर्दघाट सुस्तापश्चिमका बाढीबाट प्रभावितलाई राहत सामाग्री वितरण गरेको छ ।

    बाढीबाट घरबारविहीन भएकालाई जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त राहत बाँडिएको बैंकले जनाएको छ ।

    रामग्राम नगरपालिका- १८ पम्फापुरका १३५ परिवारलाई प्रति घरधुरी चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा मिनरल वाटरलगायतका सामग्री वितरण गरिएको हो ।

    बैंकको लुम्बिनी प्रादेशिक कार्यालयले रामग्राम नगरपालिकासँग समन्वय गरी शाखा कार्यालयहरू भुमही र परासीको संयोजनमा राहत बाँडेको हो ।

    ग्लोबल आइएमई बैंक लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख रवि श्रेष्ठ, रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता तथा वडाध्यक्ष गोपाल डिस्वा मगरको रोहवरमा राहत ती सामाग्री हस्तान्तरण गरिएको हो ।

  • मनाङका बाढीपीडित एक महिनादेखि त्रिपालमा

    मनाङका बाढीपीडित एक महिनादेखि त्रिपालमा

    मनाङ । गत जेठ ३१ रातिदेखि मर्स्याङ्दी नदीमा आएको बाढीपहिरोले असार १ गते हिमाली जिल्ला मनाङको तल्लो भाग डुबानमा पर्‍यो । जिल्लाको प्रवेशद्वार नासों गाउँपालिका-१ तालगाउँ पूर्णरूपमा डुबानमा परेपछि गाउँ नै विस्थापित भएको छ । नासोंका धेरै भाग डुबान र पहिराको कारण भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ ।

    त्यस्तै मनाङको सदरमुकाम चामेमा बाढीले पाँच घर डुबायो । सदरमुकाममा नै रहेको तातोपानी बगायो । घट्टेखोलामा आएको बाढीले पनि पाँच घर बगायो । मर्स्याङ्दी नदीको किनारमा धेरै बस्ती रहेकाले नदीको सतह बढेपछि डुबानमा पर्नुका साथै कटानले भौतिक संरचना बगाएको छ । मनाङवासीको घर पनि बगाएपछि उनीहरू एक महिना हुँदासम्म त्रिपालमुनि बस्न बाध्य भएका छन् ।

    चामेकी स्थानीयवासी सीता गुरुङ लगातार पानी परेपछि आएको बाढीले घर बगाएको र घर बगाएपछि बास र गाँसको समेत समस्या रहेको बताउछीन् । उनले बताइन्, ‘बाढीपहिरोले घर बगाएपछि एक महिनासम्म त्रिपालमा बास बस्न बाध्य भएका छौँ, लगातार पानी पर्न नरोकिँदा त्रिपालबाट पनि पानी चुहिन थालेको छ, मनाङ चिसो ठाउँ न हो, सुत्ने ठाउँमा पानीले रुझ्ने र ओढ्ने, ओछ्याउने कपडा नहुँदा समस्या भएको छ ।’

    लामो समयदेखि लगातार वर्षा हुँदा मनाङवासीलाई त्रिपालको बास बनाएको छ । त्रिपालमा बस्नसमेत पानी चुहिने, सुत्दा ओढ्ने ओछ्याउने न्यानो कपडा नहुँदा अर्को रोगको समस्या देखिनसक्ने अवस्था छ । निरन्तरको वर्षाले त्रिपालमा पानी जमेर चुहिने भएपछि बाढीपहिरो पीडित सङ्कटमा परेका छन् ।

    पहिले मनाङमा यति ठूलो बाढीपहिरो आएको थाहा नपाएको स्थानीयवासी छिरिङ दोर्जे लामाले बताए । यस वर्ष मर्स्याङ्दीमा आएको बाढीले मनाङलाई तहसनहस बनाएको उनले बताए । बाढी आउँदा बालबालिकालाई बचाए पनि घरमा रहेको खाद्यान्न, धन सम्पत्ति, प्राविधिक सामग्री निकाल्न नभ्याउँदा अन्यत्र आश्रय पाएको ठाउँमा ओढ्ने र ओछ्याउने कपडा नहुँदा समस्या भएको लामा बताउछन् ।

    यस वर्षको मनसुन सुरु हुनासाथ हिमाली जिल्ला मनाङ दैवी प्रकोपमा परे पनि सरकारले चासो नदिएको मनाङवासीको गुनासो छ । मनाङलाई सरकारले छुट्टै देश जसरी व्यवहार गरी आवश्यक सहयोगसमेत नगरेको उनीहरुको भनाइ छ । विपद्को समयमा समेत उचित राहत र विस्थापित मनाङवासीलाई सरकारले सहयोग नगरेको उनीहरु बताउँछन् ।

    बाढीपहिरो पीडितलाई त्रिपालसँगै आवश्यक न्यानो कपडा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । चिसोमा सबैलाई आवश्यक सहयोग प्रदान गरिएको उनको भनाइ छ । यद्यपि मनाङवासी बाढीपीडित भने चिसोमा कठ्याङ्ग्रिएर सुत्नुपर्ने अवस्थामा समेत सरकारसँग सहयोग अपिल नगरिएको बताउँछन् । रासस

  • कांग्रेस विपद् व्यवस्थापन समितिले बाढीपीडितलाई प्रतिपरिवार २५ हजार दिने (भिडियो)

    कांग्रेस विपद् व्यवस्थापन समितिले बाढीपीडितलाई प्रतिपरिवार २५ हजार दिने (भिडियो)

    काठमाडौं । नेपाली कांग्रेसको बाढी पहिरोपीडित विपद् व्यवस्थापन समितिले २०७८ बैशाखदेखि यताका बाढी पहिरो पीडितको परिवारलाई प्रति परिवार २५ हजार रुपैया दिने भएको छ ।

    बाढी पहिरो पीडित विपद् व्यवस्थापन समितिको बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा संयोजक मोहन बस्नेतले तत्कालका लागि प्रति परिवार २५ हजार रुपैया उपलब्ध गराउने निर्णय भएको जानकारी दिएको हो ।

    बाढी पहिरोपीडितको उद्धार तथा राहतको सम्बन्धमा सरकारलाई पार्टीको तर्फबाट कुनै पनि किसिमको भूमिका निर्वाह गर्नुपर्ने परिस्थितिमा सहज होस् भन्ने उद्देश्यका साथ यही असार ४ गते बसेको केन्द्रीय समिति बैठकले बाढी पहिरो पीडित विपद् व्यस्थापन केन्द्रीय समिति गठन गरेको थियो ।

    बाढी पहिरो लगायतका प्राकृतिक विपद् सधै आईरहने भएकाले नियमित क्यालेण्डर जस्तै गरि व्यहोर्नुपरेकाले यसको व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्य साथ समिति बनेको बताए ।

    उनले समितिले २०७८ साल यता बाढी पहिरो पीडीतहरुलाई मृतकका परिवारलाई प्रतिपरिवार २५ हजार रुपैया दिने निर्णय गरिसकेकाले त्यसका लागि स्रोत जुटाउने विषयमा समितिमा छलफल हुने बताए। उनले मुलुकभरबाट बाढी तथा पहिरोले पुराएको भौतिक र मानविय क्षतिबारे तथ्यांक संकलन गरि राहत उपलब्ध गराईने जानकारी दिए ।

    उनले समिति गठन गर्दा कांग्रेस सरकारमा नभएको र अहिले सरकारमा पुगेकाले अझै समितिको दायित्व बढेको बताए । बस्नेत संयोजकत्वको समितिमा सहसंयोजक दिव्यमणि राजभण्डारी, चिवमा किरण गिरी ,कोषाध्यक्षमा कल्पना चौधरी छन् ।

    त्यसैगरी समितिका सदस्यहरुमा भूमिबहादुर गुरुङ, रामबहादुर विष्ट, बहादुर सिंह थापा, राजीव विक्रम, तिर्थबहादुर लामा, ललितजंग शाही, देवराज चालिसे, नगिना यादव छन् । त्यसैगरी आमन्त्रित सदस्यहरुमा पुर्व गृहसचिव जनार्दन नेपाल, दीर्घबहादुर केसी, चेतनाथ ढकाल, रहेका छन् । सबै पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरु सभापति एंवम् प्रधानमन्त्री शेर बहादुर देउवाले मनोनित गरेका थिए ।

     

  • मेलम्ची क्षेत्रका १ सय ३ जना बाढीपिडितलाई सेनाले गर्यो उद्धार

    मेलम्ची क्षेत्रका १ सय ३ जना बाढीपिडितलाई सेनाले गर्यो उद्धार

    काठमाडौं । बिगत केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावित देशका विभिन्न स्थानमा खोज, उद्धार तथा राहत वितरण कार्यलाई निरन्तरता दिएको छ । शुक्रबार बाढी पहिरोको कारण विस्थापित भएका सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका गणेशबगर इलाकामा बसोवास गर्दै आएका ४३ जना र सुरक्षा गुल्म मेलम्ची वरपर बसोवास गर्दै आएका ६० जना गरि जम्मा १ सय ३ जनालाई नेपाली सेनाको उद्धार टोलीले खाली जमीनमा अस्थायी बासस्थानको व्यवस्था गरि राहत सामाग्री वितरण गर्न सहयोग गरेको छ ।

    मुस्ताङको घरपझोङ्ग गाउँपालिका-४ स्याङ्ग गाउँ बस्तिमा स्याङ्ग खोलाको बहाव बढेको हुँदा खोलाको पानी बस्तीमा पस्न सक्ने देखिएकोले पुर्व तयारी अनुरुप खटिएको फौजले खोला किनारमा ग्याबिन जालिमा ढुङ्गा भर्ने कार्य पनि गरेको छ । प्युठानको मल्लरानी गाउँपालिका-३ धरमपानीस्थित बर्वोटका हिराबहादुर विक छापेखोला तर्ने क्रममा खोलाले बगाई वेपत्ता भएकोमा उनको शव उद्धार कार्यमा खटिएका नेपाली सेनाको टोलीले सरुमारानी गाउँपालिका-१ बाङ्गेसालको मियावस्ती नजिक रहेको राप्ति नदिको बीच भागमा फेला पारेको छ ।

    मनाङका विभिन्न स्थानमा बाढी पहिरोको कारण जोखिममा परेका ८१ जनालाई पनि नेपाली सेनाको एमआई-१७ हेलिकप्टरबाट उद्धार गरि सुरक्षित स्थानमा लगिएको छ । यस्तै शनिबार सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका-१ स्थित याङ्ग्री ईलाकाका बाढी पहिरो प्रभावित स्थानीयवासीको लागि मेलम्चीबाट नेपाली सेनाको एमआई-१७ हेलिकप्टरमार्फत २९ जनालाई उद्धार गरि काठमाण्डौं ल्याइएको छ ।

    सिन्धुपाल्चोककै हेलम्बु गाउँपालिका-४ स्थित ग्याल्थुम र माझिटार ईलाकामा नेपाली सेनाको उद्धार टोलीले बाढीबाट विस्थापित भएका परिवारलाई बस्नको लागि दुई स्थानमा ७-७ वटा गरी जम्मा १४ वटा अस्थायी बासस्थानको व्यवस्था गरेको जनाएको छ ।

    आइतबार गृह मन्त्रालयबाट प्राप्त भएको राहत सामग्रीमा चामल, दाल, चिनी, नुन तथा अन्य खाद्य वस्तु र पाल-टेन्ट नेपाली सेनाको हेलिकप्टर मार्फत मनाङको चामे, थाचे, ओडार, ताल तथा सिन्धुपाल्चोक जिल्लाको क्युल र अन्य स्थानमा ढुवानी गरेको छ ।

  • उद्धारको पर्खाइमा मनाङको नासोंका बाढीपीडित

    उद्धारको पर्खाइमा मनाङको नासोंका बाढीपीडित

    मनाङ । मनाङको नासों गाउँपालिकाको बाढीपहिरोबाट क्षतिग्रस्त क्षेत्रमा अहिलेसम्म सुरक्षा निकाय पुग्न सकेको छैनन् । यही असार १ गतेदेखि परेको अविरल वर्षाका कारण सो क्षेत्रका स्थानीयवासी विस्थापित भएका बताइएको छ । एक स्थानबाट अर्को स्थानमा जानै नसकिने गरी बाढीपहिराले नासों क्षेत्रलाई कटान गरेपछि सम्बन्ध विच्छेद नै बनाइदिएको छ ।

    नासो–१ ताल गाउँ, ३ धारापानी, ४ ओडार, ५ थोँचे, ६ र ७ तिल्चे र ८ ताचै बाढीपहिरोबाट सबैभन्दा धेरै प्रभावित भएको क्षेत्र हो । प्रभावित स्थानको केही सुरक्षित स्थानमा बसेका स्थानीयवासीमा विभिन्न समस्या देखापर्न थालेको छ ।

    पहिलो चरणमा नै प्रभावित क्षेत्रमा खाद्यान्न र खानेपानीको समस्या आएको स्थानीय बासिन्दाले बताएका छन् । बाढीपहिराबाट स्थानीय विस्थापित भएको आज ६ दिन बितिसकेको छ । जिल्लाका कुनै पनि सुरक्षा निकाय स्थलगत निरीक्षणमा नआएको स्थानीयवासीले गुनासो गरेका छन् ।

    वर्षाको सुरुवातमै जिल्लालाई बाढीपहिराले उठीबास लगाएको हो । बाढीपीडित परिवारले बाढीपहिराले वितण्डा मच्चाएको र अबका दिन आफूहरू कहाँ बस्ने, के गर्ने भन्ने विषयमा सोच्न नसकेको बताएका छन् । पीडितले तत्कालका लागि भए तापनि गाँस, बास र कपासका खाँचो भएको रहेको जनाउँदै सहयोगका लागि सरकार र दाताहरूसँग हारगुहार मागिरहेका छन् ।

    सशस्त्र प्रहरी बल नं ३२ गुल्म, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली उक्त स्थानमा जाने प्रयास भइरहेको र निरन्तर वर्षाले अबरोध पुर्‍याएको जनाइएको छ ।

    जिल्लाको तल्लो भेगमा गत मङ्गलबार मर्स्याङ्दी नदीमा आएको बाढील बस्तीहरू डुबानमा परेको छ । अहिले बस्ती सबै बगरमा परिणत भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । जिल्लाको चार स्थानीय तहमध्ये तीन स्थानीय तहमा पूर्णरूपमा क्षति पुगेको छ ।

    जिल्लाको विभिन्न स्थानमा रहेका आठ झोलुङ्गे र दुईवटा पक्की पुल बाढीपहिराले बगाएको उनले बताए । जिल्लामा पहिलोपटक विभिन्न स्थानीय खोला र मर्स्याङ्दीमा आएको बाढीपहिरोबाट ठूलो क्षति भएको यहाँका स्थानीयवासीले बताएका छन् । पुलमात्र होइन यहाँ जलविद्युत्, सडक, सञ्चारका तार पनि बाढीले बगाएर लगेको छ ।

    यहाँका सरकारी कार्यालय, वित्तीय संस्था, होटेल, टहरा र घरहरूमा पूर्णरूपमा क्षति पुर्‍याएको छ । बाढीले पुल, सडक बगाएपछि यातायातका बाटो पूर्णरूपमा सम्बन्ध विच्छेद भएको छ । जिल्लाभरि दुई सय घरपरिवारका एक हजार नागरिक पूर्णरूपमा विस्थापित भएको प्रशासनले जनाएको छ ।

    ७० प्रतिशत सडकमा क्षति

    बाढीपहिरोका कारण यहाँ करीब ७० प्रतिशत सडकमा क्षति पुगेको छ । यस वर्षको मनसुनको सुरुवातमै अत्यधिक वर्षा हुँदा जिल्लामा व्यापक क्षति पुगेको हो । पहिराको जोखिम अझै कायमै रहेको प्रहरीले जनाएको छ ।

    यसैबीच चामे गाउँपालिका वडा नं ४ र ५ मा थुनिएको मर्स्याङ्दी नदी खोलिएको छ । सशस्त्र प्रहरी र स्थानीय प्रशासनको समन्वयमा थुनिएको नदी खुलाइएको हो । शनिबार दिउँसो वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको थियो । निरन्तर वर्षा भइरहँदा चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मर्स्याङ्दी नदी थुनिएको थियो ।

    तत्कालका लागि जोखिम टरे पनि जोखिम भने कायम नै रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउए । चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको थियो ।
    रासस

  • सिन्धुपाल्चोकका बाढीपीडितलाई निगमले राहत दिने

    सिन्धुपाल्चोकका बाढीपीडितलाई निगमले राहत दिने

    काठमाडौं । सिन्धुपाल्चोकका बाढीपीडित परिवारलाई नेपाल आयल निगमले खाना पकाउने ग्यास सहयोग गर्ने भएको छ ।

    मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका बाढीपीडितलाई आयल निगमले एक/एक थान ग्यास, ३० वटा ग्यास चुलो र केही खाद्यान्न राहतस्वरूप उपलब्ध गराउने भएको हो । जिल्ला विपत्‌ व्यवस्थापन समितिसँग समन्वय गरी राहत बाँड्न लागिएको निगमले विज्ञप्ति निकालेर जनाएको छ ।

    सिन्धुपाल्चोकको मेलम्ची बजारसहित आसपासका क्षेत्रमा बाढीले सयौं परिवारलाई घरबारविहीन बनाएको छ ।

  • बाढीपीडितका ६ वर्ष- हटेन त्रिपालमूनिको बास, छैन सरकारको आश

    बाढीपीडितका ६ वर्ष- हटेन त्रिपालमूनिको बास, छैन सरकारको आश

    सुर्खेत । २०७१ साउन २९ गते सुर्खेत जिल्लाभर भारी वर्षापछिको बाढीले ठूलो क्षति पु¥यायो । ६ वर्षअघि बाढीले घरखेत बगाएपछि विस्थापित भएका सुर्खेतका १ हजार ४५ परिवार अहिलेसम्म पनि पालबाट घरमा फर्किएको छैन ।

    पुस महिनाको मध्यमा जाडो बढिरहेको छ । बाढीपीडित गरिव नागरिकलाई चिसोबाट जोगाउन न राज्य गम्भीर बनेको छ न उनीहरु न्यानो कपडा किन्ने हैसियदमा छन् ।

    रातभरिको शीतले पाल चुहिने गरेको छ । बालबालिकामा निमोनियाको उच्च जोखिम छ । स्थानीय, प्रदेश र केन्द्र सरकारले अहिलेसम्म नागरिकको दुःखलाई नजरअन्दाज गरिरहेका छन् । २०७१ सालमा आएको बाढीमा परी एकसय ३४ जनाको मृत्यु भएको थियो । जसमध्ये ९६ जना अझै वेपत्ता छन् ।

    बराहताल गाउँपालिकाको वडा नं. २ गिरीघाटमा बस्दै आएकी पार्वती कामीको जीवनमा भेरीको बाढीले बज्रपात भयो । जीवनमा सबैभन्दा ठूलो विपत्ती व्यहोर्नु प¥यो । घर, खेत, आठ वर्षीया नातिनी, ७० वर्र्षीया सासुआमा र भान्जालाई गुमाइन् । तर आफूले भने रातभर किमुको रुखमा चढेर ज्यान जोगाइन् ।

    बाढीमा बग्दाबग्दै बाँचेकी पार्वतीलाई अहिलेसम्म पनि बाँच्नकै लागि संघर्षरत छिन् । ६ वटा जाडो त्रिपालमै काटेकी पार्वती भन्छिन्, ‘न हर्ष छ, न कसैले केहि देलान भन्ने आशा नै बाँकी छ । यस्तो जाडोमा बच्चाहरुलाई कसरी रोग र भोकबाट जोगाउने भन्ने चिन्ताले अरु सोच्न भ्याइन्नँ ।’

    पञ्चपुरी नगरपालिकाको तिखाकुनामा पालको छाप्रो बनाइ बस्दै आएका सर्जन थापालाई पनि सरकारप्रति विश्वास उडिसकेको छ । ‘मत माग्ने समय नजिकै आएको भन्ने सुनेको छु, पहिला चुनावमा घर बनाइदिने आश्वासन पुरा नगरेका नेताहरु यो वर्ष कस्तो आशा देखाएर मत माग्ने हुन थाहा छैन,’ उनी भन्छन्, ‘तर यो कठ्यांग्रिने जाडोमा जसरी हाम्रो मन चिसिएको छ, चुनावमा मत माग्न आउने नेतालाई बैशाखको टन्टलापुर घाममा त्यसै चिसो बनाएर पठाउने हो ।’

    न घर रह्यो, न जग्गा जमिन बाँकी रह्यो । लामो समयको लकडाउनले ज्यालादारीका काम गर्न पनि पाइएन । यस्तोमा उनीहरुको दुःख झनै बढेको छ ।

    वीरेन्द्रनगर नगरपालिका–७ महिला विकास केन्द्रमा पालमूनि बस्दै आइरहेकी विमला दमाईलाई यो वर्षको जाडोले ठूलै दशा निम्त्याएको महसुस भएको छ । ‘लकडाउनका कारण आम्दानी नभएको यो समयमा आएको जाडो मौसममा एउटा सिरक पनि किन्न सकिएन,’ विमला भन्छिन्, ‘६ वर्ष भइसक्यो हाम्रो त्रिपालमा जाडोयाममा तातो आएन ।’ मजदूरी गरेर पेट पाल्ने विमलाका लागि यो वर्षको जाडो कतै अभिसाप बनेर आउने हो की भन्ने चिन्ताले ग्रस्त बनाएको छ ।

    चिसो मौसमले झनै चिन्तामा पार्छ, विमलालाई । चिसो मौसममा लगाउने न न्यानो कपडा छ, न त्रिपालले शीत थेग्यो छ । उनी भन्छिन्, ‘हाम्रा पालमा भ्वाङ परिसके, सरकारको मन कडा रहेछ, अलिकति पग्लीएको भए हामीलाई राहत हुन्थ्यो कि ?’

    यसरी त्रिपालमै चिसो रात कटाउनेहरुको संख्या सानो छैन । विस्थापितमध्ये वीरेन्द्रनगर नगरपालिकामा ३ सय २२, पञ्चपुरीमा २ सय १४, बराहताल गाउँपालिकामा २ सय ५९, चौकनेमा ६, भेरीगंगामा १ सय ९८, गुर्भाकोटमा ३४ र लेकवेशीमा १२ परिवार हाल विभिन्न अस्थायी शिविरहरुमा बसिरहेको सरकारी तथ्यांक छ ।

    यता, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी भने चालू आर्थिक वर्षमा कोरोनाका कारण बाढी पीडितको व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको कारण प्रक्रिया लम्बिएको बताउँछन् ।

    ‘हामीले अघिल्लो आर्थिक वर्षमा ६ करोड भन्दा बढी रकम बाढीपिडितको घर निर्माणका लागि पालिकालाई हस्तान्तरण गरिसकेका छौं । पालिकाले अनुगमन गर्ने, भवन निर्माण भए नभएको हेर्ने र भुक्तानी दिने काम गरेका छन् । अधिकांश जग्गा भएकाहरुले घर निर्माण थालेर पहिलो किस्ता वापतको रकम लिइसकेका छन्,’ उनले भने, ‘जग्गा नभएका पीडितहरुका लागि समस्या भएको छ । जग्गाको खोजी कार्य सरकारले गरिरहेको छ । त्यो हुने वित्तिकै यो समस्या पनि समाधान हुन्छ ।’