Tag: बहस

  • अदालतले अपनाउनुपर्ने न्यायिक संयमबारे २६ वर्षअघि गणेशराज शर्माको बहस नोट

    अदालतले अपनाउनुपर्ने न्यायिक संयमबारे २६ वर्षअघि गणेशराज शर्माको बहस नोट

    काठमाडौं । नेपालमा कुनै व्यक्तिको मृत्युपछिमात्र योगदानको चर्चा हुन्छ र सम्मानित बन्छ । तर, नेपालको कानुनी अभ्यासमा स्वर्गीय गणेशराज शर्माको विशिष्ट पहिचान र सम्मान छ । उनी जीवित हुँदै पनि कानुनी क्षेत्रमा शिखर व्यक्ति थिए ।

    प्रखर राष्ट्रिय चिन्तनले ओतप्रोत शर्माले न्यायिक शुद्धता र निष्पक्षतामा सधैं जोड दिइरहे । वीपी कोइरालाको आत्मकथा उनले संकलन गरेका थिए । उनी नेपालको राजनीतिलाई समेत प्रभावित पार्न सक्ने वरिष्ठ कानुनविद् थिए ।

    सर्वोच्च अदालत गणेशराज शर्माका बहस र उनले पेश गरेका बहस नोटबाट धेरेपटक लाभान्वित हुन्थ्यो । अदालतलाई भित्री हृदयदेखि श्रद्धा गर्ने तथा बहसमा उपस्थित हुँदा आफ्नो अध्ययनको गहिराईका साथ प्रस्तुत हुने व्यक्तित्वका कारण उनका विचार र बहसलाई न्यायपालिकाले सधैं गम्भीरतापूर्वक लिन्थ्यो ।

    वरिष्ठ अधिवक्ता स्व. शर्माले न्यायिक संयमको सिद्धान्तसमेत व्याख्या गर्दै तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायसहितको इजलास समक्ष २०५२ साल साउनमा सर्वोच्च अदालतमा बुझाएको एकसठी बुँदे ‘बहस नोट’ आफैंमा एउटा न्यायिक हातेपुस्तिका बन्न सक्छ ।

    शर्मा गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी दुवै प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनको पक्षमा उभिएका थिए । मनमोहनले गरेको विघटनलाई सर्वोच्च अदालतको इजलासका बहुमत न्यायाधीशले बदर गरेका थिए ।

    त्यसबेला शर्माले पेश गरेको बहस नोटमा झल्केको शर्माको प्रखर बौद्धिकता एवम् न्यायिक आकांक्षा आजको सन्दर्भमा पनि उत्तिकै सार्थक हुने देखिएकाले न्यायिक संयमको सिद्धान्तबारे शमाले प्रस्तुत गरेको बुँदाको सार संक्षेप यहाँ पुन: उद्धृत गरिएको छ ।

    राजनीतिक मुद्दामा न्यायपालिका

    न्यायिक संयमको सिद्धान्त (थ्योरी अफ जुडिसियल रेस्ट्रेन्ट)ले संविधानसँग स्पष्ट रूपले बाझिएको अवस्थमा बाहेक कुनै कानुन वा संवैधानिक प्रावधानको विपक्षमा आदेश गर्नबाट न्यायपालिकालाई जोगाउँछ ।

    राजनीतिक प्रश्नको सिद्धान्त (पोलिटिकल क्वेस्चन डक्ट्रिन)ले विवादास्पद राजनीतिक मुद्दामा प्रवेश गर्नबाट न्यायपालिकालाई जोगाउँदै शक्ति पृथकीकरणको अभ्यासलाई जीवन्त राख्दछ । न्यायपालिकाले राज्यका अन्य अंगसँग द्वन्द्वको बाटो किन रोज्नुहुँदैन वा कसरी कार्यापलिका, व्यवस्थापिका र न्यायपालिकाबीचको परिभाषित अधिकारलाई न्यायिक संरक्षण प्रदान गर्ने भन्ने विषयमा न्यायिक अभ्यासका अनेकौं नजीरहरू नेपाल र प्रजातान्त्रिक विश्वमा स्थापित भएका छन् ।

    सार्वजनिक हक र सरोकारका कतिपय प्रश्नहरू राजनीतिक प्रकृतिका भएपनि कुनै संवैधानिक प्रावधानको व्याख्या र प्रचलनको तात्विक र गम्भीर प्रश्न उपस्थित हुँदा त्यस्ता विषयहरूमा सर्वोच्च अदालतले निर्णय गर्ने न्यायिक सक्रियता कायमै राखेका अनेकौं नजीरमध्ये बालकृष्ण नेउपाने निवेदक भएको टनकपुर व्यारेज सम्बन्धी सम्बत् २०४८ सालको रिट नम्बर १८५१ को मुद्दा हो ।

    बहुमतद्वारा समर्थित सम्माननीय प्रधानन्यायाधीश श्री विश्वनाथ उपाध्यायले व्यावहारिक औचित्यको सिद्धान्त प्रतिपादन गर्दै हरेक विवादको टुङ्गो लगाउने उपयुक्त निकाय अदालत नै हुन नसक्ने निष्कर्ष यसरी व्यक्त गर्नुभएको छ- ‘संविधानको धारा १२६ को उपधारा (२ ) मा उल्लेख भएका विषयहरू सम्बन्धी सन्धि वा सम्झौताबाट राष्ट्रलाई के कस्तो असर पर्छ भन्ने कुराको निर्णय कसले र कहिले गर्ने भन्ने कुरा बस्तुतः आफैंमा एउटा जटिल प्रश्न छ । सन्धि वा सम्झौताबाट राष्ट्रलाई कस्तो असर पर्छ भन्ने कुरा निर्णय गर्नको लागि त्यस्तो कानुनी र संवैधानिक पक्षका अतिरिक्त आर्थिक, प्राविधिक तथा अन्य विभिन्न पक्षहरूमा पनि विचार गर्नुपर्ने हुन्छ । सन्धि वा सम्झौताको असर के कति व्यापक गम्भीर वा दीर्घकालीन हुन् सक्दछ भन्ने कुरा कोरा तर्कको आधारमा वा सम्झौताका लिखतमा व्यक्त भएका कुराहरूबाट मात्र यकिन हुन सक्दैन । ‘गम्भीर’, ‘व्यापक’ र ‘दीर्घकालीन’ भन्ने सापेक्षिक कुरा हुन् जसको निरूपण सबै सम्बद्ध कुराहरूको समष्टिगत अध्ययन र विश्लेषणबाट मात्र हुन सक्दछ । यस स्थितिमा प्रश्न उठ्छ: के यस्त कुराहरू हेर्न र निर्णय गर्नको लागि अदालत उपयुक्त निकाय हो त ? होइन भने त्यो हेर्ने वा निर्णय गर्ने कसले ? यथार्थमा माथि उल्लेख भए अनुसार विभिन्न आधारमा निर्णय हुनुपर्ने यस्ता प्रश्नहरूको समाधान सरकार र संसदमा रहेका रहेका जनप्रतिनिधिहरूबाटै हुनु उपयुक्त देखिन्छ ।’

    विशेष इजलासका सम्माननीय प्रधानन्यायाधीशको त्यस रायमा राज्यका व्यवस्थापिका र कार्यपालिकाका अधिकार क्षेत्र अन्तर्गतका कुराहरूमा अहस्तक्षेपको न्यायिक संयमको सिद्धान्त स्थापित हुन गएको छ । न्यायिक व्याख्याको अन्तिम र सर्वोपरी अधिकार सर्वोच्च अदालतले कायम राख्दै संवैधानिक सर्वोपरिता र शक्ति पृथकीकरणको सिद्धान्तलाई पनि सर्वोच्च अदालतले अक्षुण्ण राख्ने सतर्कता आफ्ना फैसलाहरूद्वारा देखाएको छ ।

    न्यायिक व्याख्याको अन्तिम र सर्वोपरी अधिकार सर्वोच्च अदालतले कायम राख्दै संवैधानिक सर्वोपरिता र शक्ति पृथकीकरणको सिद्धान्तलाई पनि सर्वोच्च अदालतले अक्षुण्ण राख्ने सतर्कता आफ्ना फैसलाहरूद्वारा देखाएको छ ।

    सर्वोच्च अदालतको वृहद विशेष इजलासहरूबाट प्रतिपादित न्यायिक संयमको सिद्धान्तका साथै व्यवहारिक औचित्यको सिद्धान्त र राज्यका अन्य अंगहरूद्वारा सम्पन्न गरिने आफ्नो भूमिकाको सम्बन्धमा अहस्तक्षेपको न्यायिक सिद्धान्त पनि स्पष्टता र दृढताका साथ कायम राखिएको छ । त्यस्तै, कतिपय सन्दर्भमा राजनीतिक प्रश्नको सिद्धान्त अन्तर्गत राजनीतिक विवादको निरूपण गर्न तत्पर नरहेका नजीरहरू स्थापित गरेको छ ।

    राजनीतिक प्रतिस्पर्धाको विवादमा अदालत पस्न हुँदैन

    न्यायका सर्वमान्य सिद्धान्त बमोजिम नेपालमा अनुसरण गरिएका न्यायिक संयमको सिद्धान्तको समर्थनमा केहि विदेशी न्यायिक सामग्रीहरू उल्लेख गर्दा अत्यन्त पुरानो र प्रजातान्त्रिक ढाँचाको लिखित संविधान भएको मुलुक संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन मार्शलले मार्बरीविरुद्ध म्याडिसन मुद्दामा सन् १८०३ मा गर्नुभएको निर्णयमा व्यक्त भनाई त्यहाँ अद्यापि न्यायिक निरूपणमा उल्लेख भएको पाइन्छ:

    ‘अदालतको दायित्व नागरिक अधिकारका बारेमा निर्णय गर्नु हो, कार्यपालिका वा त्यसका अधिकारीहरूलाई कानुनले विवेक प्रयोग गर्न छोडिएदिएको विषयमा प्रवेश गर्नु होइन । राजनीतिक प्रकृतिका प्रश्न वा संविधान र कानुनले कार्यपालिकालाई छोडिदिएका अधिकारको प्रश्नमा यस अदाललते निर्णय गर्न सक्दैन ।’

    जनताको राजनीति (पोलिटिक्स अफ द पिपुल)का विषयमा अदालत प्रवेश गर्नु लोकतन्त्रको स्वास्थ्यका लागि हानिकारक भएको स्पष्ट सिद्धान्त अमेरिकी सर्वोच्च न्यायालयका जस्टिस फ्र्यांकफर्टरले सन् १९४६ मा कोलग्रोभविरुद्ध ग्रीन मुद्दामा कायम राख्नुभएको थियो ।

    ‘अदालतको दायित्व नागरिक अधिकारका बारेमा निर्णय गर्नु हो, कार्यपालिका वा त्यसका अधिकारीहरूलाई कानुनले विवेक प्रयोग गर्न छोडिएदिएको विषयमा प्रवेश गर्नु होइन । राजनीतिक प्रकृतिका प्रश्न वा संविधान र कानुनले कार्यपालिकालाई छोडिदिएका अधिकारको प्रश्नमा यस अदाललते निर्णय गर्न सक्दैन ।’

    विशुद्ध राजनीतिक प्रतिस्पर्धासँग सम्बन्धित प्रश्नलाई कानुनका अस्पष्ट शब्दावलीमा बेरेर अदालती व्याख्या गर्न थालियो भने संसद (काँग्रेस)को अस्तित्व नै खतरामा पर्ने भनी जोन मार्शलले फैसला गर्नुभएको देखिन्छ ।

    राजनीतिक प्रश्नहरूमा संलग्न नहुने न्यायिक संयमको सिद्धान्तको नयाँ सीमांकन गर्दा कुन विवादको निरूपण गर्ने र कस्तो विवादको निरूपण नगर्ने कुरा सन् १८४६ मा प्रतिपादित बेकर विरुद्ध कार मुद्दाको सिद्धान्तले स्पष्ट गरेको छ । नजीरका रुपमा उल्लेख हुँदा यस मुद्दालाई पोलिटिकल क्वेस्चन डक्ट्रिन उल्ट्याइएको अर्थमा लिनु गलत हुन्छ ।

    विशुद्ध राजनीतिक प्रतिस्पर्धासँग सम्बन्धित प्रश्नलाई कानुनका अस्पष्ट शब्दावलीमा बेरेर अदालती व्याख्या गर्न थालियो भने संसद (काँग्रेस)को अस्तित्व नै खतरामा पर्ने भनी जोन मार्शलले फैसला गर्नुभएको देखिन्छ ।

    किनभने यसमा अमेरिकी सर्वोच्च अदालतले केहि नयाँ कुरा भनेपनि शक्ति पृथकीकरणमा आधारित त्यस देशको प्रजातान्त्रिक प्रणालीमा कार्यकारिणी र व्यवस्थापिकाको अधिकारको परिधिलाई समाप्त पारेको छैन । व्याख्याको सर्वोपरी अधिकार ग्रहण गरेपनि संवैधानिक सर्वोच्चताको उल्लङ्घन सर्वोच्च अदालतले हालसम्म गर्न चाहेको छैन । यस सिद्धान्तमा उभिएर राजनीतिक प्रश्नहरूका साथ व्यवहारिक राजनीतिको कुरामा अमेरिकी न्यायिक टिप्पणीहरू प्रशस्त पाइन्छन् ।

    के सर्वोच्च अदालतले अन्तिम व्याख्याताको रुपमा आफ्नो अधिकार क्षेत्र अन्तर्गतका सबै संवैधानिक प्रश्नहरूको निरूपण र निर्णय गर्दछ ? अथवा के केहि संवैधानिक प्रश्नलाई न्यायिक निरूपणका लागि अनुपयुक्त पनि देख्दछ ? यस विषयमा अमेरिकी सर्वोच्च अदालतको विस्तृत दृष्टिकोण के रहेको छ भन्ने विषयमा विधिशास्त्रका विख्यात प्राध्यापक रोनाल्ड रोटुण्डाद्वारा लिखित मोडर्न कन्स्टिच्युसनल लः केसेज एण्ड नोट्स पुस्तकले विस्तृत विवेचना गरेको छ । न्यायपालिकाले सीमित र संयमित न्यायिक पुनरावलोकनको बाटो रोजेको जबर्जस्त मत यस विवेचनाले पेस गरेको छ ।

    त्यसैगरी, राजनीतिक प्रश्नहरूमा न्यायिक पुनरावलोकनको अधिकार सिमित रही आएको ऐतिहासिक विवेचना सहितका विस्तृत टिप्पणी कंग्रेसनल रिसर्च सोसाइटीले सन् १९७२ सम्मका मुद्दाहरूको अध्ययन गरी तयार पारेको कन्स्टिच्युसन अफ द युनाइटेड स्टेट्स अफ अमेरिका नामक प्रतिवेदनमा समेटिएको छ ।

    के सर्वोच्च अदालतले अन्तिम व्याख्याताको रुपमा आफ्नो अधिकार क्षेत्र अन्तर्गतका सबै संवैधानिक प्रश्नहरूको निरूपण र निर्णय गर्दछ ? अथवा के केहि संवैधानिक प्रश्नलाई न्यायिक निरूपणका लागि अनुपयुक्त पनि देख्दछ ? यस विषयमा अमेरिकी सर्वोच्च अदालतको विस्तृत दृष्टिकोण के रहेको छ भन्ने विषयमा विधिशास्त्रका विख्यात प्राध्यापक रोनाल्ड रोटुण्डाद्वारा लिखित मोडर्न कन्स्टिच्युसनल लः केसेज एण्ड नोट्स पुस्तकले विस्तृत विवेचना गरेको छ ।

    राजनीतिक प्रश्नको सिद्धान्तकै सम्बन्धमा प्रसिद्ध कानुनवेत्ता विलियम लकहार्ट समेत चार जना प्राध्यापकद्वारा लेखिएको पुस्तक कन्स्टिच्युसनल ल: केसेज एण्ड कमेन्ट्स पनि उल्लेखनीय छ । अमेरिकी सर्वोच्च अदालतले प्रतिपादन गरेको राजनीतिक प्रश्नसम्बन्धी सिद्धान्तदेखि हालसम्मका अवधारणाहरूको विस्तृत विवेचनाद्वारा राजनीतिक मुद्दामा न्यायालयले सीमित र संयमित अधिकार प्रयोग गर्दै आएको र त्यसलाई निरन्तरता दिनुपर्र्नेे आवश्यकता उनीहरूले औंल्याएका छन् ।

    राजनीतिक प्रश्नहरू समावेश हुँदैमा अदालतले स्वत: आफ्नो अधिकार क्षेत्र नै प्रयोग नगर्ने कुरा सर्वोच्च अदालतले मान्दैन । मुद्दामा निहित विवादको प्रकृतिलाई हेरेर अदालतले कुनै राजनीतिक प्रश्न न्यायिक निरूपणको हो कि होइन भनी निक्र्यौल गर्नुपर्ने दृष्टिकोण बेकर विरुध्द्ध कार मुद्दाले लिएको छ । राज्यको शक्ति पृथकीकरणको सिद्धान्तलाई ध्यानमा राखेर राज्यको एउटा अंगले आफ्नो विवेकीय अधिकार प्रयोग गर्ने कुरामा अर्को अंग अर्थात अदालतले आफ्नै विवेक प्रतिष्ठापित गर्न नमिल्ने सिद्धान्तलाई त्यसले मानेको छ ।

    नेपालमा सर्वोच्च अदालतले राधेश्याम अधिकारी, बालकृष्ण नेउपाने र हरिप्रसाद नेपाल समेतको मुद्दामा प्रतिपादन गरेको राजनीतिक प्रश्नउपर संयमको सिद्धान्तलाई माथि उल्लिखित अमेरिकी सर्वोच्च अदालतका विभिन्न निर्णयहरू र संवैधानिक कानुनका मान्यता प्राप्त ग्रन्थहरूको आधारमा विघटनको कारवाईका प्रति न्यायिक दृष्टिकोण स्थापित गर्न अवश्य नै मद्दत मिल्दछ ।

    अमेरिकी शासन पद्दतिको भिन्नताका कारण हाम्रो परिवेशमा जस्ताको त्यस्तै मिल्ने नजीर त्यस देशको संवैधानिक कानुनमा पाइन सम्भव छैन । तर, त्यस देशको सर्वोच्च अदालतले राजनीतिक प्रश्नहरूको सिद्धान्त अन्तर्गत यस प्रकारको राजनीतिक विवादको मुद्दा पर्न आएको भए कुन न्यायिक अवधारणा अनुसरण गर्ने थियो भन्ने अनुमानको लागि माथि उल्लिखित न्यायिक सिद्धान्त र टिप्पणीकारहरूका मान्य कानुनी धारणाले स्पष्ट दिशा निर्देश गर्दछन् । न्यायिक निरूपणका क्रममा कार्यपालिका वा विधायिकासँग अथवा अमेरिकाको सन्दर्भमा राष्ट्रपति संस्थासँग द्वन्द्वको बाटो रोज्नु हुँदैन भन्नेमा अमेरिकी न्यायपालिका सधैं सचेत रहेको देखिन आउँछ ।

  • असार २८ को प्रतीक्षा- देशको राजनीति पाँच न्यायमूर्तिको विवेकमा ‘बन्धक’

    असार २८ को प्रतीक्षा- देशको राजनीति पाँच न्यायमूर्तिको विवेकमा ‘बन्धक’

    काठमाडौं । प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रधानमन्त्रीको सिफारिस राष्ट्रपतिले सदर गरेसँगै न्यायालयमा पुगेको मुलुकको राजनीतिक भविष्यको निर्क्यौल एक सातामा हुने भएको छ ।

    गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसका आधारमा प्रतिनिधिसभा भंग गरी कात्तिक २६ गते पहिलो र मंसिर ३ गते दोस्रो चरणको निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

    त्यसविरुद्ध विघटित प्रतिनिधिसभाका १ सय ४६ जना सदस्यहरूले दिएको रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ मा निर्णय सुनाउने भएको छ । प्रतिनिधिसभा विघटनसँग सम्बन्धित विभिन्न ३० मुद्दा दर्ता भएकोमा शेरबहादुर देउवासहित विघटित प्रतिनिधिसभाका १ सय ४६ जना सदस्यहरुले दिएको रिटलाई संवैधानिक इजलासले अग्राधिकार दिएको थियो । रिटमाथिको निरन्तर सुनुवाइ सोमबार सकिएको छ । सोमबार नै नेपाल बार र सर्वोच्च बारका एमीकस क्यूरीले आफ्नो राय प्रस्तुत गरिसकेका छन् ।

    इजलासको विवाददेखि बहस सकिँदासम्म

    प्रतिनिधिसभा दोस्रोपटक विघटन गरिएको ४८ घण्टा नबित्दै सर्वोच्च अदालतमा त्यससम्बन्धी ३० रिट दर्ता भए । जसमध्ये ११ वटामा संवैधानिक इजलासमार्फत सुनुवाइ माग गरिएको थियो । जेठ १३ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गर्‍यो । जेठ १४ गते संवैधानिक इजलासमा रिटमाथिको सुनुवाइ शुरू भयो । यद्यपि रिट निवेदक पक्षले संवैधानिक इजलासमाथि नै प्रश्न उठाए । न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई समावेश गर्दा निष्पक्ष नहुने दावी निवेदकतर्फको थियो । श्रेष्ठले नेकपाको आधिकारीकता सम्बन्धी मुद्दाको फैसला गरेका थिए भने केसीले सो मुद्दामा पुनरावलोकन हुन नसक्ने फैसला गरेका थिए ।

    इजलासमाथि उठेको प्रश्नमा दुवै न्यायाधीशले अघिल्ला मुद्दाहरूसँग सरोकार नरहेकोले सो मुद्दा हेर्न बाधा नपर्ने राय दिए । त्यसमा असन्तुष्ट रहँदै संवैधानिक इजलासका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कार्कीले इजलासबाट अलग भएको घोषणा गरे । त्यसपछि प्रधानन्यायाधीश राणाले संवैधानिक इजलास पुनर्गठन गरे । श्रेष्ठ र केसीको स्थानमा न्यायाधीशद्वय मीरा केसी र ईश्वर खतिवडा समावेश भए । त्यसपछिको सुनुवाइमा पनि सरकारी पक्षले इजलास छाडिसकेका न्यायाधीशद्वय भट्टराई र कार्कीले निरन्तरता पाउन नहुने तर्क गरे । यद्यपि संवैधानिक इजलासले ‘इजलासबारे थप टिप्पणी सुन्न नचाहेको’ बताएपछि मुद्दाको निरन्त सुनुवाइ शुरू भयो ।

    अघिल्लोपटक प्रतिनिधिसभाको विघटन हुँदा महिनौसम्म बहस भएको थियो । यसपटक भने इजलासले बहसका लागि समय व्यवस्थापन गर्‍यो । जसअनुसार निवेदक पक्षलाई सुरुआती बहसका लागि १२ घण्टा , जवाफी बहसका लागि ३ घण्टा, सभामुखसहित सरकारी पक्षलाई १५ घण्टा र एमीकस क्यूरीलाई २ घण्टाको समय दिइएको थियो । सोही अनुसार निरन्तरको बहस सोमबार सकिएको छ । सोमबारको बहस सकिदै गर्दा असार २८ गते निर्णय सुनाइने जानकारी इजलासले दिएको छ ।

    राजनीतिलाई दिशानिर्देश गर्दै न्यायालय

    अघिल्लोपटक नै प्रतिनिधिसभा विघटन, नेकपा विवाद लगायतका विषय सर्वोच्चबाट छिनोफानो हुँदा न्यायालयबाट राजनीतिक ‘सेटमलेण्ट’ हुन थालेको टिप्पणी गरिएको थियो । यतिबेला झन् मुलुकको समग्र राजनीति न्यायालयको निर्णयमा निर्भर रहेको छ । सरकारले निर्वाचन घोषणा गरेर ७ अर्बभन्दा बढी रकम विनियोजन गरी निर्वाचन कार्यक्रम अगाडि बढाइसकेको छ । नेकपा एमालेभित्रको विवाद अदालतको आदेशसँग प्रत्यक्ष सम्बन्धित देखिन्छ । अदालतको आदेशबाट दलको आन्तरिक राजनीतिदेखि मुलुकको समग्र भविष्य निर्धारण हुने भएकोले २०७८ असार २८ को दिन निर्णायक हुने देखिन्छ । यसपटक फैसला आउँदा प्रतिनिधिसभा विघटन सदर वा बदरको मात्रै नभई राष्ट्रपतिको अधिकार र संविधानको धारा ७६ का प्रावधानहरुको व्याख्यासमेत हुने भएकोले दीर्घकालीन अर्थ राख्ने देखिन्छ ।

  • एमीकस क्यूरीबाट पाठकको राय- आफ्नो दलभन्दा बाहिर गएर अर्कोलाई समर्थन गर्न पाइन्न

    एमीकस क्यूरीबाट पाठकको राय- आफ्नो दलभन्दा बाहिर गएर अर्कोलाई समर्थन गर्न पाइन्न

    काठमाडौं । वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम सबै सांसद स्वतन्त्र छन् भनेर व्याखा गर्नु गलत हुने बताएकी छन् ।

    संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाइ सकिनै लाग्दा सोमबार एमीकस क्यूरीकातर्फबाट राय दिँदै पाठकले संविधानले बहुलवादमा आधारित बहुदलीय व्यवस्थाको परिकल्पना गरेको दावी गरिन् ।

    ‘७६(५) भनेको एकपटक मात्र प्रयोग हुने धारा हो,’ पाठकको मत छ, ‘यसको अर्को विकल्प छैन यो भनेको उपधारा २ को अर्को रूप हो। निर्वाचित प्रत्येक सदस्य स्वतन्त्र हुन्छन भन्ने मान्ने हो भने हामीले अंगीकार गरेको व्यवस्थाविपरीत हुन्छ।’

    आफ्नै दलका व्यक्तिको विरोधमा जान पाइने तर आफनै दलको र त्यसको सरकारको विरूद्ध जान नपाइने तर्क गर्दै उनले भनिन्, ‘आफ्नो नेतृत्वमा मलाई सरकार बनाऊ, मलाई समर्थन गर भनेर दलभित्र भन्न पाउँछ तर आफ्नो दलभन्दा बाहिर गएर अर्कोलाई समर्थन गर्न पाउँदैन ।’

    उपधारा ३ वमोजिम नियुक्त भएको प्रधानमन्त्रीले निरन्तर प्रधनमन्त्री बन्न चाहेको अवस्थामा मात्र विश्वासको मत लिनुपर्ने उनको तर्क छ । ‘उपधारा ३ वमोजिम नियुक्त भएको प्रधानमन्त्रीले निरन्तर प्रधनमन्त्री बन्न चाहेको अवस्थामा मात्र उसले विश्वासको मत लिनु पर्छ,’ पाठकले भनिन्, ‘संविधाले विश्वासको मत लिनु पर्छ भन्ने कतै तोकेको छैन।’

  • सरकारी पक्षको बहस सकिने, सभामुख पक्षको सुरु हुने

    सरकारी पक्षको बहस सकिने, सभामुख पक्षको सुरु हुने

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारी पक्षको बहस आज सकिँदैछ ।

    सोमबार महान्यायाधिवक्ता रमेश बडालको बहसबाट सरकारी पक्षको बहस सुरु भएको थियो । आज चियासत्र अगाडि सरकारी पक्षको बहस सकिदैछ ।

    संवैधानिक इजलासले मुद्दाका विपक्षीलाई बहसका लागि दिएको १५ घण्टामध्ये सभामुख बाहेकको सरकारी पक्षलाई १४ घण्टा समय दिइएको थियो । सो अवधिमा महान्यायाधिवक्ता बडालबाहेक नायब महान्यायाधिवक्ताहरु पदमप्रसाद पाण्डेय, विश्वराज कोइराला।

    टेकबहादुर घिमिरे र श्यामकुमार भट्टराईले बहस गरेका छन् । त्यस्तै सहन्यायाधिवक्ताहरु गोपालप्रसाद रिजाल, सञ्जीवराज रेग्मी लगायतले बहस गरेका छन् । प्रधानमन्त्री र राष्ट्रपतिका तर्फबाट नीजि कानून व्यवसायीका रुपमा वरिष्ठ अधिवक्ताहरु सुशील पन्त, बिजयकान्त मैनाली, अग्नि खरेल लगायतले बहस गरेका छन् ।

    आज सरकारी पक्षको बहस सकिएपछि सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् । मुद्दामा विपक्षी बनाइए पनि सभामुख पक्षका कानुन व्यवसायीले रिटको पक्षमा बहस गर्नेछन् । सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लवकुमार मैनाली र उपेन्द्रकेशरी न्यौपानेले बहस गर्नेछन् ।

    अधिवक्ताद्वय मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले पनि सभामुखको तर्फबाट बहस गर्नेछन् । संवैधानिक इजलासले सभामुख पक्षलाई दिएको १ घण्टामा आवश्यकता परे थप गरिदिने जनाएको छ ।

    सभामुख पक्षको बहसपछि रिट निवेदन पक्षले ३ घण्टा जवाफी बहस गर्नेछ भने एमिकस क्यूरीका ४ जना सदस्यले ३० मिनेटका दरले २ घण्टामा आफ्नो राय दिनेछन् ।

  • संवैधानिक इजलास : ‘आफैं मुद्दा हाल्ने अनि हु आर यू भन्ने ?’

    संवैधानिक इजलास : ‘आफैं मुद्दा हाल्ने अनि हु आर यू भन्ने ?’

    काठमाडौं । वरिष्ठ अधिवक्ता सुशील पन्तले आफैंले मुद्दा दिएको प्रधानमन्त्री र राष्ट्रपतिलाई ‘हु आर यू ?’ भनिएकोमा आपत्ति जनाएका छन् ।

    प्रधानमन्त्रीका तर्फबाट प्रतिनिधिसभा विघटनको मुद्दामा बहस गर्दै वरिष्ठ अधिवक्ता पन्तले आफ्नै ‘क्लाइन्ट’ ले विपक्षी बनाएकालाई कानून व्यवसायीले नचिन्नु गलत रहेको बताए । ‘अब यहाँ त हु आर यू रे । तपाईंको क्लाइन्टले विपक्षी बनाएपछि थाहा हुँदैन को हो भनेर ? विपक्षी चाहिँ प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई बनाउने अनि यहाँ आएर हु आर यू भन्ने ?’, पन्तले भने ।

    बहसका क्रममा पन्तले संविधानको धारा ७६ को ५ ले राष्ट्रपतिलाई विवेक प्रयोग गर्ने अधिकार दिएकोले राष्ट्रपतिको विवेकविरुद्ध मुद्दा लाग्न नहुने बताए ।

    ‘राष्ट्रपतिविरुद्ध मुद्दा लाग्छ कि नाइँ ? संविधानले राष्ट्रपतिले गरेको काममा मुद्दा लाग्दैन भनेको छ । मुद्दा लाग्छ भनेपनि राष्ट्रपतिको धारणा एकपटक नसुनी मुद्दा हाल्ने ? के राष्ट्रपतिलाई प्राकृतिक न्यायको सिद्धान्त लागू हुँदैन ?’, पन्तले भने ।

    रिट निवेदक पक्षबाट बहस गर्दै यसअघि वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति र प्रधानमन्त्रीलाई ‘हु आर यू’ भनेका थिए ।

  • महान्यायाधिवक्ताको प्रश्न- केरमेट गरेको कागज बुझाएर प्रधानमन्त्री बन्छु भन्ने ?

    महान्यायाधिवक्ताको प्रश्न- केरमेट गरेको कागज बुझाएर प्रधानमन्त्री बन्छु भन्ने ?

    काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपतिविरुद्ध मुद्दा हालेर शेरबहादुर देउवालगायतका रिट निवेदकहरूले आफ्नो इज्जत फालेको आरोप लगाएका छन् ।

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सरकारी पक्षबाट बहस गर्दै महान्यायाधिवक्ता बडालले देउवाले प्रधानमन्त्रीमा दावी गर्न बुझाएको लिखतकै वैधानिकतामाथि प्रश्न उठाए ।

    ‘त्यो कागज देउवालाई प्रधानमन्त्री बनाउनकै लागि तयार गरिएको हो त ? कतै कम्युटर टाइप छ, कतै हस्तलिखित छ, कतै टिपेक्स लगाएको छ । यो त मजाक हो । केरमेट गरेको कागज बुझाएर प्रधानमन्त्री बनाएन भन्ने ? ’, बडालले भने ।

    राष्ट्रपतिले संविधान बमोजिम नै ७६ (५) को सरकार बन्ने सम्भावना नदेखेको भन्दै बडालले राष्ट्रपतिविरुद्ध मुद्दा दिने र आरोपित गर्ने निवेदक पक्षले आफ्नै बेइज्जत गरेको दावी गरे । ‘राष्ट्रपतिले उहाँहरुको इज्जत जोगाइदिएकै हो । राष्ट्रपतिलाई मनपरी गाली गरेर उहाँहरुले राष्ट्रपतिको मात्रै होइन आफ्नै बेइज्जत गर्नुभएको छ’, उनले भने ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ को ३ अनुसारको सरकार सञ्चालन गर्न नचाहेकै कारण नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको भन्दै बडालले ७६ (५) को सरकार बन्न नसक्नुको दोष प्रधानमन्त्रीलाई दिन नमिल्ने बताए ।

    ‘राष्ट्रपतिले बहुमतको आधार हेर्ने हो । त्यस्तो आधार विवादास्पद वा शंकाजन्य भएमा अस्वीकार गर्ने छुट त हुन्छ नि’, बडालले भने । सोहीक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले ‘राष्ट्रपतिले आधार हेर्ने वा सिद्धान्त ?’ भनी प्रश्न गरेका थिए ।

  • प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकारमा नपर्ने सरकारी पक्षको तर्क

    प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकारमा नपर्ने सरकारी पक्षको तर्क

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मद्दामा सरकारी पक्षले संवैधानिक इजलासको क्षेत्राधिकारबारे प्रश्न उठाएको छ ।

    महान्यायाधिवक्ता रमेश बडालले आफूहरूले स्वीकार गरे पनि संवैधानिक इजलासमा सो मुद्दाको सुनुवाइ हुनु कानूनी दृष्टिले त्रुटिपूर्ण रहेको बताएका हुन् ।

    रिट निवेदकहरूले गरेको दावी बमोजिम संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दा आउनै नपर्ने महान्यायाधिवक्ता बडालको दावी छ । ‘निवेदकहरूले रिटमा के लेख्नुभयो र अदालत कहाँनेर झुक्कियो ? यो संवैधानिक इजलासमा आइपुग्नुपर्ने मुद्दा नै होइन । जुन धारा टेकेर मुद्दा दिइएको छ, त्यो धाराको कुरा यहाँ उठेन’, बडालले भने । उनले २०३१ सालको नजीर उल्लेख गर्दै भने, ‘२०३१ सालको एक फैसला अनुसार पक्षको सम्मति वा स्वीकृति भएर मात्रै हुँदैन । इजलासलाई मुद्दा हेर्ने अधिकार क्षेत्र पनि पाउनुपर्छ । यो इजलासमा यो मुद्दा ल्याउन निवेदकहरूले झुक्याएका छन् ।’

    महान्यायाधिवक्ता बडालले इजलासले निर्दलीय पञ्चायती व्यवस्था रहने वा नरहने निर्क्यौल दिनुपर्ने समेत बताए । ‘यो बहुदलीय व्यवस्था हो कि होइन ? मित्रहरूको बहस सुन्दा हामी २०४६ सालको अन्त्यतिर छौं जस्तो लाग्यो । हामी त निर्दलीय पञ्चायती व्यवस्था राख्ने कि फाल्ने भन्नेमा निर्णायक बहस गर्दै रहेछौं’, बडालले भने ।

  • भीमार्जुन आचार्यको जिकिर- अदालतले राष्ट्रपतिको कदमलाई मान्यता दिए संविधान सकिन्छ

    भीमार्जुन आचार्यको जिकिर- अदालतले राष्ट्रपतिको कदमलाई मान्यता दिए संविधान सकिन्छ

    काठमाडौं । संवैधानिक इजलासमा शेरबहादुर देउवाको पक्षबाट बहसमा भाग लिएका अधिवक्ता भीमार्जुन आचार्यले सर्वोच्च अदालतले राष्ट्रपतिको कदमलाई मान्यता दिएमा नेपालका संविधान समाप्त हुने जिकिर गरेका छन् ।

    दश मिनेट समय पाएका आचार्यले संवैधानिक इजलासले यसअघिको फैसलामै सरकार बनाउने प्रक्रिया संसदभित्रै खोज्नु पर्ने र एकपछि अर्को प्रक्रियामा जानु पर्ने लेखिएको बताए ।

    आचार्यले भने, ‘अदालतले राष्ट्रपतिको कदमलाई मान्यता दियो भने संविधान जान्छ । धारा ७६ का सबै उपधारा अनुसार केपी ओलीमात्र प्रधानमन्त्री बन्नु पर्छ अरु बन्न सक्दैनन्, पाउँदैन भन्ने त संविधानले व्यवस्था गरेको छैन । ७६ (५) र ७६ (२) बीच फरक छ । उपधारा ५ अनूसार एउटा सदस्य पनि मेम्बर पनि आधार पेस गर्न सक्छ भन्ने हो ।’

  • रमण श्रेष्ठको आरोप- राष्ट्रपति ‘श्री ७’ हुन खोज्नुभयो

    रमण श्रेष्ठको आरोप- राष्ट्रपति ‘श्री ७’ हुन खोज्नुभयो

    काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनबारेको मुद्दा आजपनि सुनुवाइ जारी छ । रिट निवेदकको तर्फबाट पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले आजको बहस थालेका छन् ।

    श्रेष्ठले अघिल्लो पटक संसद विघटन हुँदा प्रधानमन्त्रीको विशेषाधिकारबारे बहस भएको र अहिले राष्ट्रपतिको विशेषाधिकारबारे बहस गर्नुपरेको बताए । उनले राष्ट्रपतिले आफूलाई श्री ५ भन्दा माथि ‘श्री ७’ को स्थानमा राख्न खोजेको आरोप लगाएका छन् ।

    संसद विघटनको सम्भावनालाई निस्तेज पार्नकै लागि संविधानमा धारा ७६ को ५ को व्यवस्था उल्लेख गरिएको भन्दै अधिवक्ता श्रेष्ठले राष्ट्रपतिले आफूले गरेको काममा कसैले प्रश्न गर्न नसक्ने दावी गर्नु गलत भएको बताए ।

    ‘पहिले पहिले श्री ५ भन्ने हुन्थे । अहिले राष्ट्रपतिले आफूलाई श्री ५ भन्दामाथि श्री ७ मा राख्न खोज्नुभएको छ । धारा ७६ को ५ मा मैले जे गरेपनि हुन्छ भन्ने राष्ट्रपतिको दावी गलत छ’, श्रेष्ठले भने । उनले विगतमा राजा राष्ट्रप्रमुख हुँदा समेत नदिइएको अधिकार गणतन्त्रमा सेरेमोनियल राष्ट्रपतिले अभ्यास गर्न खोज्नु असंवैधानिक भएको जिकिर गरे ।

    संविधानप्रति राष्ट्रपति पनि जवाफदेही हुनुपर्ने भन्दै श्रेष्ठले संविधानको धारा ७६ का सबै अधिकार आफूसंग रहेको दावी गर्न नमिल्ने बताए । उनले विगतमा सर्वोच्चले शाही आयोग खारेज गरेर राजाको अधिकारको व्याख्या गरिदिएको स्मरण गराउँदै अहिले संसद पुनःस्थापना गरेर राष्ट्रपतिको अधिकार व्याख्या गरिदिनुपर्ने बताए ।

  • देउवाको पक्षमा २३६ र ओलीको पक्षमा ११६ जनाको वकालतनामा (सूचीसहित)

    देउवाको पक्षमा २३६ र ओलीको पक्षमा ११६ जनाको वकालतनामा (सूचीसहित)

    काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गरी आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले विघटित प्रतिनिधिसभाका १४६ सांसदसहित दायर गरेको रिटमाथि संवैधानिक इजलासमा बुधबारदेखि निरन्तर सुनुवाइ शुरु भएको छ ।

    इजलासमा बहसका लागि देउवा पक्षका वकिलहरूलाई जम्मा १२ घण्टा समय तोकिएको छ । सो समयभित्र देउवा पक्षका कति कानून व्यवसायीले बहस गर्ने भन्ने उनीहरूले नै तय गर्नु पर्नेछ ।

    देउवाको पक्षबाट बहस गर्न २३६ जनाले वकालतनामा लेखाएका छन् । तर यी सबैले बहस गर्न पाउने देखिँदैन । शुरूको दिन वरिष्ठ अधिवक्ता शम्भु थापा, महादेव यादव, गोविन्द बन्दीलगायतले बहस गरेका छन् ।

    देउवाको पक्षबाट हरिहर दाहाल, मुक्ति प्रधान, रमण श्रेष्ठ, शेरबहादुर केसी, बद्रीबहादुर कार्की लगायतले बहस गर्दैछन् । वकालतनामा लेखाएकामध्ये धेरै कमले मात्र बहस गर्न पाउने देखिन्छ ।

    देउवाको पक्षबाट बहस गर्ने अधिकांश कांग्रेस, माओवादी र एमालेको माधव नेपाल समूहका वकिल छन् ।

    त्यस्तै विपक्षी प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षबाट बहस गर्न ११६जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन् । प्रधानमन्त्रीको पक्षबाट बहस गर्नेमा अधिकांश नेकपा एमालेनिकट वकिल छन् भने केही जसपा निकट र पूर्वराजा पक्षधर पनि छन् ।

    प्रधामन्त्रीको पक्षबाट वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, सुशीलकुमार पन्त, महेश नेपाल, सुरेन्द्र महतो, सुरेन्द्र भण्डारी, अग्नि खरेल लगायतले बहस गर्नेछन् । महान्यायाधिवक्ता रमेश बडाललगायतले सरकारको पक्षबाट जवाफ दिने समेत समय पाउँनेछन् ।

    यसअघि सरकार पक्षलाई समय कम दिइएको गुनासो आएपछि यसपटक रिट निवेदकहरुको तर्फबाट १२ घण्टा र प्रत्यर्थीको तर्फबाट ३ घण्टा जवाफ र बहसका लागि थप १२ घण्टासहित १५ घण्टाको समय सरकार पक्षले पाएको छ ।
    सभामुख अग्नि सापकोटाको तर्फबाट भने ५ जनाले वकालतनामा लेखाएका छन् ।

    वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, श्यामप्रसाद खरेल, लबकुमार मैनाली, मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले सभामुखको पक्षबाट बहस गर्नेछन् ।

  • महादेव यादवको जिकिर-सर्वोच्च अदालतबाटै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश हुनुपर्छ

    महादेव यादवको जिकिर-सर्वोच्च अदालतबाटै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश हुनुपर्छ

    काठमाडौं । वरिष्ठ अधिवक्ता महादेव यादवले सर्वोच्च अदालतबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषित गर्नुपर्ने जिकिर गरेका छन् । रिट निवेदक देउवाको तर्फबाट बहसमा भाग लिएका यादवले परमादेशमार्फत देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने जिकिर गरेका हुन् ।

    यादवले भने, ‘पटक-पटक संविधानविरोधी काम प्रधानमन्त्रीबाट भएको छ । पटक-पटक संसद विघटन भैरहनुले दुराशयको कुरा उठ्छ । संविधानप्रति बारम्बार प्रहार गर्ने काम भयो । त्यसैले परमादेश दिनुपर्छ । प्रधानमन्त्रीमा देउवाको दावी पुगेको छ ।’

    यादवले बहुमत सांसदको हस्ताक्षर भन्दा बलियो दावी अरु हुन नसक्ने भन्दै देउवालाई अदालतबाटै प्रधानमन्त्रीको पदमा नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने बताए । उनले प्रधानमन्त्री नियुक्तिका लागि सांसदहरू स्वतन्त्र हुने भन्दै दलीय ह्वीप नलाग्ने दावी गरे ।

  • संवैधानिक इजलासमा रिट निवेदकको पक्षबाट बहस, देउवालाई प्रधानमन्त्रीको सपथ गराउन आदेश माग

    संवैधानिक इजलासमा रिट निवेदकको पक्षबाट बहस, देउवालाई प्रधानमन्त्रीको सपथ गराउन आदेश माग

    काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख रिट निवेदक शेरबहादुर देउवाको पक्षबाट बहस सुरू भएको छ । बहस सुरूआत गर्दै वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ (५) बमोजिमको सरकार बन्ने अवस्था हुँदा हुँदै राष्ट्रपतिले बन्न नदिएको जिकिर गरे ।

    उनले बनिसकेको सरकार घोषणा गर्न अवरोध भएकाले त्यो अवरोध अदालतले हटाउनुपर्ने माग गरे । धारा ७६ (५) सरकार गठनका लागि नयाँ व्यवस्था भएकाले बहुमत सांसदको हस्ताक्षर लिएर गएका देउवाको दावी राष्ट्रपतिले अस्वीकार गर्ने अवस्था नरहने जिकिर गरे ।

    प्रधानमन्त्रीमा केपी ओलीबाहेक अरुलाई स्वीकार नगर्ने दुराशय देखिएको भन्दै अन्तरिम आदेश माग गरे । उनले धारा ७६ (५) को सरकार बनि सकेको जिकिर गर्दै संसद पुनःस्थापना र देउवालाई सपथ गराइनुपर्ने बताए ।

    यादवपछि वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस सुरू गर्दै अन्तरिम आदेश माग गरेपछि न्यायाधीश ईश्वर खतिवडाले अन्तरिम आदेश दिने आधार के भन्ने प्रश्न गरेका छन् ।

  • कार्यपालिकाले न्यायपालिकालाई विघटनतर्फ लैजान चाहेको रिट पक्षका वकिलको आरोप

    कार्यपालिकाले न्यायपालिकालाई विघटनतर्फ लैजान चाहेको रिट पक्षका वकिलको आरोप

    काठमाडौं । संवैधानिक इजलासमा ११ जना न्यायाधीश बस्न नमिल्ने भनी सरकार पक्षका वकिलले पेस गरेको निवेदनले प्रधानन्यायाधीशमाथि नै प्रश्न उठेको भन्दै रिट पक्षका वकिल रमण श्रेष्ठले ध्यानाकर्षण गराएका छन् ।

    बहसमा भाग लिँदै श्रेष्ठले सबै न्यायाधीश खराब छन् भन्ने विषयलाई इजलासमा किन प्रवेश दिइयो भन्दै आपत्ति जनाएका हुन् । उनले प्रधानन्यायाधीशबिनाको इजलास कल्पना नगरिएको बताए ।

    श्रेष्ठले भने, ‘कुरा २ जनाको होइन, ११ जनाले मुद्दा हेर्न मिल्दैन भनेर सरकारी मान्छेले भन्नु गलत हो । आज सरकार पक्षको प्रस्तुति र भाषा सुन्दा विषय अझ बढ्ने संकेत देखिएको छ । हामीले प्रश्न उठाउने हो उठाइसक्यौं, तर स्टेटका मान्छेले न्यायालयको हुर्मत लिने काम गरेका छन् ।’

    विपक्षकै वकिल टीकाराम भट्टराईले कार्यपालिकाले न्यायपालिकालाई विघटनतर्फ लैजान चाहेको आरोप लगाए । भट्टराईले सरकारले अदालती प्रक्रिया र आदेशबारे टिप्पणी गर्न नपाउने जिकिर गरे ।

    भट्टराईले भने, कार्यपालिका जुन ढंगले चलेको छ,न्यायालय र लोकतन्त्रलाई जहाँ लान खोजिएको छ,त्यसको पूर्व संकेत देखिन थालेको छ । तर जस्तोसुकै कठिन परिस्थितिमा पनि कार्यपालिकाका जस्तासुकै धम्कीको सामना गर्न यो अदालत सक्षम छ ।’

  • संवैधानिक इजलास विवाद- न्यायाधीशहरू नै विभाजित, आज आदेश आएन

    संवैधानिक इजलास विवाद- न्यायाधीशहरू नै विभाजित, आज आदेश आएन

    काठमाडौं । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश हट्नुपर्ने भन्ने विपक्षी कानून व्यवसायीहरुको दबाबपछि भएको बहसमाथि आन्तरिक छलफल भए पनि इजलासमै एक मत नभएपछि आज कुनै आदेश जारी भएन ।

    संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूसँग प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संयुक्त रूपमा र न्यायाधीशहरूबीच बेग्ला-बेग्लै छलफल भए पनि कुनै आदेश जारी नभएको सर्वोच्च स्रोतले जनाएको छ ।

    प्रधानन्यायाधीशसहित सबै न्यायाधीशहरू सर्वोच्च अदालतबाट बाहिरिएका छन् । स्रोतका अनुसार भोलि संवैधानिक इजलासमै यसबारे आदेश सुनाइनेछ । विपक्षीले इजलासमा बस्न नमिल्ने भनेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आफूहरू कुनै वकिलले भनेका भरमा इजलासबाट बाहिर नजाने अडान लिएका छन् ।

    स्रोतका अनुसार वरिष्ठतम न्यायाधीश दीपक कार्की र आनन्दमोहन भट्टराईले फरक मत राखेका छन् ।

  • प्रतिनिधिसभा विघटनको मुद्दामा आजदेखि जवाफी बहस

    प्रतिनिधिसभा विघटनको मुद्दामा आजदेखि जवाफी बहस

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्दाको संवैधानिक इजलासमा सुनुवाइको क्रममा आजदेखि जवाफी बहस शुरू भएको छ ।

    रिटको विपक्षमा सरकारी वकिल र सभामुखको तर्फबाट शुक्रबारदेखि बहस सकिएपछि आइतबारदेखि रिट निवेदकका तर्फबाट जवाफी बहस शुरू भएको हो । त्यसपछि सर्वोच्च अदालतका अनुसार जवाफी बहसपछि एमिकस क्यूरीले सुझाव दिनेछ ।

    एक साताभित्र यी सबै प्रक्रिया सकिएपछि फैसला आउनेछ ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट दर्ता भएका थिए ।

    सबै रिटमाथि माघ ४ देखि बहस शुरू भएको थियो ।

  • संवैधानिक इजलासमा बहस सकियो, आइतबारदेखि जवाफी बहस

    संवैधानिक इजलासमा बहस सकियो, आइतबारदेखि जवाफी बहस

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्दाको संवैधानिक इजलासमा सुनुवाइको क्रममा जारी बहस सकिएको छ । सरकारी वकिल र सभामुखको तर्फबाट आजदेखि बहस सकिएको हो ।

    सर्वोच्च अदालतका अनुसार आइतबारदेखि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि एमिकस क्यूरीले सुझाव दिनेछ ।

    एक साताभित्र यी सबै प्रक्रिया सकिएपछि फैसला आउनेछ ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट दर्ता भएका थिए ।

    सबै रिटमाथि माघ ४ देखि बहस शुरू भएको थियो ।

  • अग्नि खरेलको प्रश्न- धारा ७६ को २ बमोजिमको सरकार हो भने दुई दलहरु कुन-कुन हुन् ?

    अग्नि खरेलको प्रश्न- धारा ७६ को २ बमोजिमको सरकार हो भने दुई दलहरु कुन-कुन हुन् ?

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा जारी सुनुवाइको क्रममा सोमबारदेखि सरकारको तर्फबाट बहस शुरू भएको छ ।

    बहसमा भाग लिँदै महान्यायाधिवक्ता अग्नि खरेलले रिट निवेदकले आफ्नो निवेदनभन्दा बाहिर रहेर प्र‍श्‍न उठाएको जिकिर गरेका छन् ।

    त्यस्तै केपी ओली नेतृत्वको सरकार संविधानको धारा ७६ को उपधारा २ बमोजिम गठन भएको दाबी मान्‍ने हो भने संयुक्त सरकारमा कुन-कुन दल सहभागी छन् ? देखाउन विपक्षीलाई चुनौती दिएका छन् ।

    ‘विघटन बदर गरिपाउँ भन्ने रिट हाल्ने अनि राजपत्रमा आएको छैन भनेर प्रश्न उठाउनु उपयुक्त भएन श्रीमान । निवेदनभन्दा बाहिर गएर प्रश्नहरु उठाइएको छ श्रीमान । निवेदकले नै ७६ को १ को सरकार भन्नुभएको छ, खरेलले भने, ‘तर, बहस गर्दा त्यसविपरीत धारणाहरू आए । यदि ७६ को २ बमोजिमको सरकार हो भने ती २ दलहरू कुन हुन् ? निवेदकले ती दलको अस्तित्व देखाउन सक्नुपर्छ । यदि सरकार ७६ २ को सरकार हो भन्ने हो भने ती दलहरु छुट्टाछुट्टै अस्तित्वमा रहेको ठहर्छ श्रीमान ।’

    खरेलले भने, ‘राजपत्रबारे प्रष्ट पार्नुपर्ने देखियाे श्रीमान् । राजपत्रमा २ कुरा हुन्छ । एउटा प्रकाशित भएपछि लागू हुन्छ । दाेस्राे लागू गरेपछि प्रकाशित गरिन्छ । रमण श्रेष्ठजी महान्यायाधिवक्ता भएकाे बेलामा पनि धेरै राजपत्रहरु निर्णय कार्यान्वयनमा गएपछि मात्रै प्रकाशित भएका छन् ।’

  • रिट निवेदकका तर्फको बहस सकियो, भोलिदेखि सरकार पक्षको बहस हुने

    रिट निवेदकका तर्फको बहस सकियो, भोलिदेखि सरकार पक्षको बहस हुने

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दामा रिट निवेदकहरूको तर्फबाट जारी बहस आइतबारदेखि सकिएको छ ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासमा माघ ४ गतेदेखि सुनुवाइ भइरहेको छ । सोमबारदेखि सरकारको तर्फबाट बहस हुने अदालत स्रोतले जनाएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी प्रतिनिधि सभाको नयाँ चुनाव घोषणा गरेपछि सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएको थियो ।

  • प्रधानमन्त्री ‘हुतीहारा’ भनेपछि विडारीलाई भनियो- वरिष्ठज्यू ! अपशब्द नबोल्नुस्

    प्रधानमन्त्री ‘हुतीहारा’ भनेपछि विडारीलाई भनियो- वरिष्ठज्यू ! अपशब्द नबोल्नुस्

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलासमा बहस गर्दा अपशब्द प्रयोग नगर्न वरिष्ठ अधिवक्ता रामनारायण विडारीलाई सचेत गराएका छन् ।

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ चलिरहँदा बहस गर्ने क्रममा राष्ट्रिय सभाका सांसद समेत रहेका बिडारीले प्रधानमन्त्रीलाई ‘हुतीहारा’ र कसको रिसले कसको काख फोहोर गर्नेजस्ता शब्द प्रयोग गरेपछि इजलासबाट उनलाई रोकिएको हो ।

    करिव आधा घण्टा बहस गरेका विडारीले सरकार चलाउन पनि असफल र पार्टी चलाउन पनि असफल हुतीहारा प्रधानमन्त्री भनेका थिए । उनले सौताको रिसले पोइको काख फोहोर गर्ने नेपाली उखानलाई समते बिम्बका रूपमा प्रयोग गरेपछि इजलासबाट रोकिएको हो ।

    बिडारीलाई प्रधानन्यायाधीश राणाले भने, ‘वरिष्ठ ज्यू ! यस्ता अपशब्दहरु यहाँ प्रयोग नगर्नुस्, आफ्नो बहस छोट्याउनुस् ।’

  • रमणले मागे ५ घण्टा, १ घण्टाभन्दा दिन सकिन्न- प्रधानन्यायाधीश

    रमणले मागे ५ घण्टा, १ घण्टाभन्दा दिन सकिन्न- प्रधानन्यायाधीश

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ चलिरहँदा बहसको समय कति पाउने भन्ने विवाद चलेको छ ।

    एकैजनाले दुई दिनसम्म बहस गर्दै जाँदा लामो समय लाग्ने भएपछि संवैधानिक इजलासले समय तोकेको छ ।

    तर, शुक्रवार रामनारायण विडारीपछि बहस गर्न उभिएका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले ५ घण्टा समय मागेपछि केहीबेर सवाल जवाफ चलेर इजलास अवरुद्ध भएको छ । नेकपाका तत्कालीन प्रमुख सचेतक देव गुरुङसहितका रिट निवेदकको तर्फबाट बहस गर्न उभिएका रमणले ५ घण्टा समय मागेका हुन् ।

    अब गुरुङ सहितको निवेदकको तर्फबाट रमणले अन्तिम बहस गर्ने भन्दै ५ घण्टा मागिए पनि प्रधानन्यायाधीशले भने एक घण्टाभन्दा बढी समय दिन नसकिने बताएपछि केहीबेर समयकै लागि विवाद चलेको हो ।

    समयको नाममा विवाद बढेपछि राणाले भने, ‘तपाईंलाई ५ घण्टा दिने हो भने अरु साथीहरुलाई कति दिने ? तपाईं आफ्नो भनाइ बहस नोटमा दिन सक्नुहुन्छ । तपाईं विद्वान हुनुहुन्छ तीन महिना, तीन वर्ष पनि लाउनुहोला तर हामीले त निश्चित समयमा किनारा लगाउनुपर्छ ।’

    करिब १५ मिनेटको विवादपछि रमणले १ घण्टा समय पाएका छन् ।

  • संसद विघटनको लम्बेतान बहसः दिनहुँ उस्तै प्रश्नोत्तरले अदालती समय भक्षण

    संसद विघटनको लम्बेतान बहसः दिनहुँ उस्तै प्रश्नोत्तरले अदालती समय भक्षण

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर अर्को प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरिन् । यो राजनीतिक परिघटापश्चात सिंगै देशको ध्यान सर्वोच्च अदालततिर केन्द्रित छ ।

    राजनीतिक दल, मिडियादेखि सर्वसाधारणसम्मले सर्वोच्च अदालतमा प्रत्येक दिन हुने सुनवाइलाई चासोपूर्वक पछ्याइरहेका छन् । सर्वोच्चले देशको भावि दिशालाई निर्देश गर्ने भएकाले पनि विषय राष्ट्रिय महत्वको बनेको हो । तर, लम्बेतान न्यायिक प्रक्रियाले गर्दा तत्काल सर्वोच्चले मुद्दा किनारा लगाउन सक्ने स्थिति छैन ।

    यति महत्वको विषयलाई छिट्टै किनारा लगाउन सके कम्तीमा वार या पारको अवस्थामा देश पुग्थ्यो भन्ने धेरैले सोचिरहेका छन् । अहिलेकै प्रक्रियाबाट जाँदा यो मुद्दाको छिनोफानो हुन महिनौं लाग्ने देखिन्छ । यतिसम्म कि कतिपयले सरकारबाट घोषित निर्वाचन मितिसम्म पनि सर्वोच्चको फैसला नआउने हो कि भन्ने आशंकासमेत गर्न थालेका छन् ।

    किन हुन्छ ढिलाइ ?

    प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा उस्तै प्रकिृतिका १३ वटा रिट दायर भएका थिए । यी सबै रिटलाई एकीकृत गरेर सुनवाइ भइरहेको छ । तर, पनि फैसलामा जान ढिलाइ हुनुको मुख्य कारण हो मुद्दामा संलग्न वकीलहरूको भीड ।

    संसद विघटनको मुद्दामा पक्ष र विपक्षमा बहस गर्नेहरूको ठूलै जुलुस छ । विघटनविरुद्धको रिटको पक्षमा बहस गर्न डेढ सयभन्दा बढी कानून व्यवसायीले वकालतनामा बुझाएका छन् । त्यस्तै विपक्षी (सरकार) का तर्फबाट ८० भन्दा बढी कानुनविद्ले वकालतनामा बुझाएका छन् । यसरी कुल मिलाएर झण्डै अढाई सय कानून व्यवसायी यो मुद्दामा संलग्न छन् । उनीहरू सबैले बहसको मौका पाउनुपर्ने भएको फैसलामा जान ढिलाइ भएको हो ।

    सर्वोच्चले मुद्दालाई चाँडो किनारा लगाउन विभिन्न प्रयास नगरेको होइन । सर्वोच्चमा सातामा दुई दिनमात्रै संवैधानिक इजलास बस्ने प्रचलन थियो । संसद विघटनको मुद्दामा भने दैनिक नै संवैधानिक इजलास बस्दै आएको छ ।

    घोषित चुनाव आउन तीन महिनामात्रै बाँकी रहेको अवस्थामा अदालतको निर्णय आउन ढिलाइ भएर कतै ‘लगनपछिका पोते’ बन्न त होइन भन्ने चिन्ता कतिपय कानून व्यवसायीले व्यक्त गरेका छन् ।

    संवैधानिक इजलासले ढिलै भए पनि बहसलाई छोट्याएर छिटो निष्कर्षमा पुग्न खोजेको देखिन्छ । अहिले रिट निवेदकका तर्फबाट बहस गरिरहेका वकीलहरूलाई १५-१५ मिनेटको समयसीमा दिइएको छ । नत्र यसअघि एकैजना वकीलले ४-५ घन्टासम्म बहस गर्थे । अहिले पनि निवेदकहरूले नै बढी समय लिने गरेको र कतिपय अवस्थामा इजलासले पनि घण्टौसम्म बहसको छुट दिएको देखिन्छ ।

    एउटै विषय भएकाले न्यायाधीश र वकीलहरूबीच हुने प्रश्नोत्तर पनि लगभग उस्तै हुन्छन् । न्यायाधीशले सोध्ने प्रश्न र वकीलले गर्ने तर्कहरू बारम्बार दोहोरिएका छन् । यसले गर्दा महत्वपूर्ण अदालती समयको नष्ट भइरहेको छ ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी अब बहसमा धेरै समय खर्चन नहुने बताउँछन् ।

    ‘यसलाई चाडो टुंग्याउनुपर्छ । धेरै विषयवस्तु त इजलासको सामु आइसकेका छन् । लामो बहस आवश्यक छैन । पक्षका वकीलहरूले पनि बहस छोट्याउन सहयोग गर्नुपर्छ,’ त्रिपाठीले नेपालप्रेससँग भने ।

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइको क्रममा बहस गर्दै ।

    नेपाल बार एसोसियसनका पूर्वमहासचिव अधिवक्ता सुनील पोखरेल पहिलो दिन नै बहस व्यवस्थापनको विषय उठे पनि इजलासले वेवास्ता गर्दा लामो समय लागेको बताउँछन् । ‘पहिलो दिन नै हामीले बहस व्यवस्थापन गरौं भनेका थियौं । त्यतिबेला नै पक्ष र विपक्षलाई समय छुट्याइदिएको भए यति समय लाग्दैनथ्यो,’ पोखरेलले नेपाल प्रेससँग भने ।

    इजलासले वकीललाई नभई पक्ष वा विपक्षलाई समय तोक्नुपर्ने पोखरेलको सुझाव छ । ‘अझै पनि बहस व्यवस्थापन गर्न सकिन्छ । पक्ष र विपक्षलाई निश्चित घण्टा तोकिदिने हो भने उनीहरू आफैं व्यवस्थापन गरेर बहसमा आउँछन् । जसले मुद्दालाई छिटो बनाउन सक्छ,’ पोखरेलले भने । इजलासले सबैलाई बहस खुला गर्नुको साटो लिखित धारणा मागेर पनि बहस छोट्याउन सक्ने उनले बताए ।

    विगतको दृष्टान्त

    नेपालमा प्रजातन्त्र पुन:स्थापनायता विभिन्न प्रधानमन्त्रीले अल्पायूमा संसद विघटन गरेका छन् । ती विघटनविरुद्ध पनि सर्वोच्च अदालतमा रिट दायर भएको थियो, र फैसला हुन लामै समय लागेको थियो ।

    २०५१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद भंग गरेपछि परेको मुद्दामा सर्वोच्चले २ महिना लगाएर फैसला गर्‍यो । यस्तै, २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको संसद विघटन सम्बन्धी मुद्दामा फैसला दिन सर्वोच्चले साढे २ महिना लगायो । कोइरालाले गरेको विघटनलाई सर्वोच्चले सदर गरेको थियो भने मनमोहनले गरेको विघटनलाई उल्टाएको थियो ।

    २०५४ सालमा तत्कालीन प्रधानमन्त्री सुर्यबहादुर थापाले गरेको विघटन सिफारिसमा तत्कालीन राजा वीरेन्द्रको मागअनुसार सर्वोच्च अदालतले महिना दिनभित्रै संसद विघटन वैधानिक नहुने राय दिएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५९ जेठ ८ गते संसद विघटन गरेपछि सर्वोच्चमा पुगेको मुद्दामा डेढ महिनामा फैसला आएको थियो ।

    संसद विघटनविरुद्ध विगतमा पनि अदालतले लामो समय लिएर निर्णय गरेको देखिन्छ । जानकारहरू यसपटक विगतमा भन्दा बढी समय लाग्ने सम्भावना बढेको बताउँछन् । संवेदनशीलताको दृष्टिकोणले आम नेपाली र अन्तर्राष्ट्रिय समुदाय समेतको ध्यान सर्वोच्चले खिचेको छ । संविधानसभाबाट निर्मित संविधानको कार्यान्वयन र निरन्तरताको समेत प्रश्न उठ्न थालिसकेकाले बहसलाई नै छोट्याए छिटो निष्कर्षमा पुग्नुपर्ने दबाब सर्वोच्चलाई छ ।

    झारखण्डको इतिहास दोहोरिने चिन्ता

    प्रतिनिधिसभा विघटनसँगै सरकारले निर्वाचनको घोषणासमेत गरिसकेको छ । आगामी वैशाख १७ र २७ गते दुई चरणमा नयाँ चुनाव गर्ने भनिएको छ । घोषित चुनाव आउन तीन महिनामात्रै बाँकी रहेको अवस्थामा अदालतको निर्णय आउन ढिलाइ भएर कतै ‘लगनपछिका पोते’ बन्न त होइन भन्ने चिन्ता कतिपय कानून व्यवसायीले व्यक्त गरेका छन् ।

    वरिष्ठ अधिवक्ता त्रिपाठीले भारतको झारखण्ड विधानसभा विघटनविरुद्धको मुद्दामा जस्तो अवस्था आउन दिन नहुने बताउँछन् ।

    ‘झारखण्डमा विधानसभा विघटनविरुद्धको मुद्दामा यति लामो बहस भयो कि बहस नसकिदै चुनाव आइहाल्यो । अदालतले मुद्दाको फैसला नदिई चुनावमा जानुपर्ने अवस्था बन्यो । त्यसबाट पाठ सिक्नुपर्छ,’ त्रिपाठीले भने ।

  • राजपत्रको विषयलाई लिएर संवैधानिक इजलासमा वकीलहरूको बाझाबाझ

    राजपत्रको विषयलाई लिएर संवैधानिक इजलासमा वकीलहरूको बाझाबाझ

    काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी सूचना राजपत्रमा छापिएको सन्दर्भमा त्यसको आधिकारिकता जाँच हुनुपर्ने विषय उठेपछि संवैधानिक इजलासमा केहीबेर पक्ष र विपक्षका वकीलहरुबीच बाझाबाझ भएको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइका लागि इजलास शुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले सरकारले ब्याकडेटमा राजपत्र प्रकाशित गरेर वेबसाइटमा राखेको भन्दै त्यसको आधिकारिकता जाँच हुनुपर्ने बताएका थिए ।

    त्यसको लगत्तै महान्यायाधिवक्ता अग्नि खरेल र बरिष्ठ अधिवक्ता सुशील पन्तले सबै प्रक्रिया कानुनबमोजिम भएको भन्दै राजपत्रको बारेमा अनावश्यक हौवा खडया गर्न खोजिएको भन्दै प्रतिवाद गरेका थिए । त्यसक्रममा दुवै पक्षका वकिलहरुबीच केहीबेर बाझाबाझकै अवस्था देखिएको थियो ।

    यसैबीच रिट निवेदकको तर्फबाट तीन पेज लामो निवेदन इजलासमा पेश भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदक विघटित प्रतिनिधिसभाका सदस्यहरु देव गुरुङ, कृष्णभक्त पोखरेल,शशी श्रेष्ठ र रामकुमारी झाँक्री सहितले राजपत्रको आधिकारिकता जाँच होस् भनेर निवेदन पेश गरेका छन् ।

    उनीहरु चारैजना इजलासमा उपस्थित भएका छन् ।