Tag: बसपार्क

  • नयाँ बसपार्कको होटलमा एक महिलामाथि सामूहिक बलात्कारमा गर्ने नाै जना पक्राउ (नामावलीसहित अपडेट)

    नयाँ बसपार्कको होटलमा एक महिलामाथि सामूहिक बलात्कारमा गर्ने नाै जना पक्राउ (नामावलीसहित अपडेट)

    काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा एक महिलामाथि सामूहिक बलात्कार गर्ने नाै जना पक्राउ परेका छन् । अन्दाजी ३४ वर्षीया महिला माथि सामुहिक बलात्कार गरेकाे आरोपमा महानगरीय प्रहरी परिसर र महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर १० का २३ वर्षका हिक्मत नेपाली र २२ वर्षका रतन नेपाली, १९ वर्षका दिपक नेपाली, २३ वर्षका शिवहरि वुढा, २४ वर्षका युवराज वढुवाल र २५ वर्षका हस्त नेपाली रहेका छन् । यस्तै सोही नगरपालिका वडा नम्बर ११ का २४ वर्षका चन्द्र साउद, वडा नम्बर ६ का २१ वर्षका सुरेश सेजुवाल र अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर १२ घर बताउने कपिलवस्तु वुद्दभुमी बस्दै आएका ४३ वर्षका गोपालकुमार शिरिष रहेका छन् ।

    घटनामा संलग्न रहेको देखिएको भन्दै सात जनालाई म‌गलबार र थप दुइ जनालाइ बुधबार पक्राउ गरिएकाे परिसरले जनाएकाे हाे ।महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले उक्त जानकारी प्राप्त गरेलगत्तै महानगरीय प्रहरी परिसर काठमाण्डौबाट कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीसहितको अपराध अनुसन्धान कार्यमा संलग्न प्रहरी टोली र महानगरीय प्रहरी अपराध महाशाखाबाटसमेत संयुक्तरुपमा खटिएको अनुसन्धान टोलीले पीडित महिलालाई प्रसुतीगृहस्थित एकद्वार संकट ब्यवस्थापन केन्द्रमा लगी शारीरिक तथा मानसिक परीक्षण गराइएको थियो ।

    प्रारम्भिक अवस्थामा अनुसन्धान कार्यमा खटिएको प्रहरी टोलीबाट कहाँ, कुन स्थानमा कति जनाको संख्यामा रहेका ब्यक्ति घटनामा संलग्न रहेका भन्ने एकिन नरहेको शून्यको अवस्थामा पीडितको बयानबाट घटनाको बारेमा सूचना सङ्कलन गरी सिसिटिभि फुटेज र प्राविधिक बिश्‍लेषण लगायतको आधारमा थप अनुसन्धान गरी घटनामा संलग्न रहेका व्यक्तिलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए । पक्राउ गरेका व्यक्तिमाथी महानगरीय प्रहरी वृत्त महाराजगंजमा थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।

    सोमबार एकजनाले महिलालाई होटलमा लगेर गएको र पछि अर्का एकजनालाई फोन गरेर बोलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मंगलबार ती महिलालाई अर्को होटलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । पीडित महिला काठमाडौंमा एक्लै बस्ने गरेको थिइन । पक्राउ परेका सबैले आफू संलग्न रहेको स्वीकार गरिसकेका छन् ।

  • बसपार्क बन्द हुँदा यात्रु अलमलमा

    बसपार्क बन्द हुँदा यात्रु अलमलमा

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा सञ्चालन हुने सार्वजनिक यातायात पार्किङ हुँदै आएको पुरानो बसपार्क खाली गरेपछि बस चढ्न कहाँ जाने भनी यात्रु अलमलमा पर्ने गरेका छन् ।

    रत्नपार्कबाट दक्षिणकाली जाने सवारी खोजिरहनु भएका रामसुन्दर पौडेलले टुँडिखेल दुई फन्को मार्दासमेत बस भेट्टाउन सकेनन् । दुई महिनापछि असार १५ गतदेखि जोर बिजोर प्रणालीबाट काठमाडौँ उपत्यकामा सवारी चल्न थालेको थियो ।

    असार २२ गते मङ्गलबारदेखि उपत्यकामा सबै सवारीसाधन सञ्चालन गर्न पाउने गरी खुला गरिए पनि बस खोज्न कहाँ जाने भनी अलमलमा पर्नु परेको भैँसीपाटी जाने सवारी कुर्नुभएकी रीता मगर सुनाउँछन् ।

    नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जारी बन्दाबन्दीका बेला करीब एक महिनाअघि खुलामञ्चको उत्तरी कुनामा निर्माण गरिएको बसपार्क खाली गरिएको थियो । खुलामञ्चमा बसपार्क बनाएर सम्पदा मास्न खोजेको भन्दै सम्पदा बचाउ अभियानलगायतले विरोध गर्दै आएका थिए । खुलामञ्चको बसपार्क खाली गरिएपछि हाल तालाबन्दी गरी राखिएको छ । बसपार्क बन्द गरेको सूचना नपाएका यात्रु त्यहाँ पुगेर तालाबन्दी गरिएको बसपार्क हेरेर सवारी खोज्दै भौँतारिने गरेका छन् ।

    काठमाडौं महानगरपालिका–२८ बागबजारस्थित पुरानो बसपार्क पाँच वर्षअघि भ्यूटावर बनाउन खाली गरिएपछि खुलामञ्चमा बस पार्किङ गरिँदै आएको थियो । भ्यू टावर निर्माण सम्पन्न भएपछि त्यसको भूइँ तलामा बसपार्क राख्ने सम्झौता महानगरपालिकाले गरेको छ । वडा नं २८ का अध्यक्ष भाइराम खड्गी बसपार्क हटाएपछि बस चढ्न कहाँ जाने भनी धेरै यात्रु वडा कार्यालयमै गुनासो गर्न आउन थालेको बताउँछन् ।

    छिटो बसपार्कको व्यवस्था मिलाउन महानगरका नगर प्रमुख विद्यासुन्दर शाक्यलाई अनुरोध गरिएको उनी बताउँछन् । महानगरको वातावरण विभागलाई पनि समस्या समाधानको पहल गर्न पत्राचार गरिएको वडा कार्यालयले जनाएको छ । बसपार्क नभएपछि हाल काठमाडौँ, ललितपुर र भक्तपुरका तीन जिल्लाका विभिन्न स्थानमा चल्ने सार्वजनिक यातायात टुँडिखेल घुमेर पुरानै मार्गबाट गन्तव्यमा जाने गरेका छन् ।

    पुरानो बसपार्कबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानका साथै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका विभिन्न स्थानमा समेत सवारी आवतजावत हुँदै आएको थियो । महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता सञ्जीव सर्वदास बसपार्क नभएका कारण सवारी नपाइएका सम्बन्धमा गुनासो भए यात्रुले १०३ नम्बरमा फोन गरेर जानकारी गराउन सक्ने बताउँछन् ।

    यसरी गुनासो गरेपछि कहाँको सवारी कहाँ पाइन्छ भनी यात्रुलाई सहजीकरण गरिने गरिएको उनले बताए । मङ्गलबारदेखि यातायातमा कायम जोर बिजोर प्रणाली हटाइए पनि अझै अपेक्षाकृत सवारीसाधन सडकमा ननिस्किएको महाशाखाले जनाएको छ । महाशाखाले गएको २४ घण्टामा सडक नियम पालना नगर्ने एक हजार ८१६ सवारीलाई कारवाही गरेको छ ।

  • बसपार्क नहुँदा यात्रु नपाएको चालकहरूको गुनासो

    बसपार्क नहुँदा यात्रु नपाएको चालकहरूको गुनासो

    काठमाडौं । लामो समयपछि सडकमा गुड्न पाएका सार्वजनिक सवारीसाधनले यात्रु भने पर्याप्त पाउन सकेका छैनन् । २०७८ बैशाख १६ गते देखि ग्यारेजमा थन्किएका ठूला सवारीसाधन २ महिना पछि मंगलबार देखि सञ्चालन हुन थालेका छन् ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार गरेको निषेध आदेश अनुसार काठमाडौं उपत्यकाभित्र मात्र सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन जोर बिजोर प्रणाली अनुसार मंगलबारदेखि सञ्चालन हुन थालेका हुन् ।

    बल्लतल्ल जोरविजोर प्रणाली अनुसार एक दिन विराएर सवारी साधन सञ्चालन गर्न पाएपनि काठमाडाैं महानगरपालिकाले रत्नपार्कस्थित बसपार्क हटाएपछि मर्कामा परेका गुनासो चालकहरुले गरेका छन् ।

    सिट क्षमताको आधा संख्यामा यात्रु बोक्नुपर्ने र त्यही संख्या पनि पुग्न नसक्दा गाडी सञ्चालनका लागि आवश्यक इन्धन पुराउन पनि धौंधौ भएको उनीहरुको गुनासो छ । महानगरले तोकिएका बस स्टेशनमा यात्रु ओराल्न र चढाउनका लागि अत्यन्तै कम समय मात्रै बस रोक्न दिएपछि यात्रु खोज्नका लागि टुंँडिखेल वरपरि घुमेको घुमेई गर्नुपरेको गुनासो चालकले गरेका छन् ।

    उनीहरुले यातायात मजदुरको समस्यालाई सरकारले आत्मसाथ गर्न नसकेको र अवहेलना गरेको आरोप लगाए । बुुढानिलकण्ठ रत्नपार्क रुटमा बस चलाउने चालक हिरारत्न सरकारले जति भने पनि आफुहरुको दुख नसुन्ने गरेको गुनासो गर्छन ।

    २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायातका साधनलाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र अनिवार्य रुपमा भौतिक दुरी कायम गर्दै चलाउन दिइएपनि त्यस भन्दा कम सिट क्षमताका सवारी साधनलाई अझै पनि सञ्चालनको अनुमति दिईएको छैन ।

    माईक्रोबसका चालक तथा सहचालकहरु राज्यले यातायात क्षेत्रका मजदुरलाई अवहेलना गरेको र उनीहरुको समस्या नबुझेको गुनासो गर्छन् । साथै काठमाण्डौ महानगरले रत्नपार्कबाट बसपार्क हटाउने निर्णय पनि अव्यवहारिक भएको दाबी उनीहरुको छ । बुढानिलकण्ठ रत्नपार्क रुटका सहचालक लिलाराज गिरी बैकल्पिक स्थान नतोकी बसपार्क हटाउँदा यात्रु, व्यवसायी तथा सवारी चालकहरु पनि समस्यामा परेको बताए ।

    यसैबीच काठमाडौै जिल्ला प्रशासन कार्यालयले मंगलबार देखि जोरविजोर प्रणालीमा ठूला सार्वजनिक सवारी साधनलाई उपत्यकाका तीन जिल्लामा संञ्चालन गर्न पाउने निर्णय गरेपछि सवारी साधनहरु तुरुन्तै सडकमा गुड्न थालेका छन् ।

    अटोमोबाईल व्यवसायीहरु भने लामो समय देखि ग्यारेजमा थन्किएका सवारी साधन सामान्य मर्मत विना सडकमा निकाल्न नहुने तर्क गर्छन् । अटोमोबाईल व्यवसायी मधुसुधन सिग्देल मेसिनरी सामानहरु संञ्चालन नगरि थन्काएर राख्दा विभिन्न पाटपुर्जामा समस्या आउने भएकाले लामो समय थन्किएका सवारीसाधनको अवस्था चेक गराएर मात्रै बाहिर निकाल्नुपर्ने बताए ।

    विना चेकजाँच नै सवारी साधन सडकमा ल्याउँदा दुर्घटना हुन सक्ने भन्दै उहाँले सबैलाई आ आफ्ना सवारीसाधनको सामान्य चेकजाँच गराउन आग्रह गरे ।

    उनले लामो समय सञ्चालनमा नरहेका सवारी साधनको स्टार्ट, ब्रेक तथा इन्जिनमा नै समस्या देखिने भएकाले बिना चेकजाँच बाहिर निकाल्दा दुर्घटना हुन सक्ने खतरा औल्याए ।

  • रोकिएन घर फर्किनेको भीड, मनपरी भाडा असुल्दै व्यवसायी (भिडियो)

    रोकिएन घर फर्किनेको भीड, मनपरी भाडा असुल्दै व्यवसायी (भिडियो)

    काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनेपछि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरियो ।

    निषेधाज्ञाको तयारीसँगै थातथलो फर्कनेहरूका लागि २ दिनको समय दिइएको थियो । तर, निषेधाज्ञा लम्बिएसँगै त्यो बेला घर नगएकाहरूको भीड बढ्न थालेको छ ।

    धादिङ, चितवान, हेटौंडा, वीरगञ्ज, बुटवल, झापा, कैलाली, कञ्चनपुर, बाँके र बर्दियालगायत कलंकीको बाटो भएर जाने बस प्रत्येक दिन छुटिरहेका छन् ।

    उपत्यकाका विभिन्न ठाउँबाट ३ घण्टासम्म पैदल हिँडेर कलंकी, बालकुमारी पुल नजिकको चोकलगायतको ठाउँमा भेला भएर यात्रुहरू घर गइरहेका छन् ।

    निषेधाज्ञाको मौका छोपेर काउन्टरले गाडी भाडा भने मनलागी असुल गरिरहेका छन् । घर जानैपर्ने बाध्यताको फाइदा उठाएर मनपरी भाडा लिइरहेको पीडित यात्रुको भनाइ छ ।

    सामान्य अवस्थाको भन्दा अहिले ४ गुणासम्म बढी भाडा लिएर बसले यात्रु ओसारिरहेका छन् । समान्य समयमा काठमाडौंबाट चितवन हुँदै हेटौंडा जाँदा ५०० भाडा थियो । अहिले हेटौंडासम्म यात्रा गर्दा बसले १ हजार देखि २ हजार रुपैयाँसम्म भाडा उठाइरहेका छन् । अन्य ठाउँमा पनि गाउँ जानेहरुले जति भन्यो त्यति भाडा तिर्न पर्ने अवस्था रहेको छ ।

    वीरगञ्जबाट काठमाडौं यात्रु लिन आएका बसका चालक कमल कार्कीले टिकट काट्नेले यात्रुसँग १ हजार देखि २ हजारसम्म लिने गरेको बताए । तर, हामीले भने प्रति यात्रु १ हजार मात्रै पाउँछौं ।

    कार्कीले भने, ‘यस्तो कोरोनाको समयमा यात्रु बोक्न आउँदा हामीले प्रति यात्रु १ हजार मात्रै पाउने हो । टिकट काट्नेले प्रति व्यक्ति नै ५ सयदेखि १ हजार रुपैयाँसम्म कमिसन खाने गरेका छन् । काठमाडौं आउँदा खाली आउनु पर्ने भएकाले पनि दोब्बर भाडा लिएका हौं । बसमा तेल हालेर १५ देखि २० हजार मात्रै जोगिन्छ । त्यही जोगिएको पैसाबाटै साहुलाई भाडा दिने हो । हामी चालकले पाउने भनेको धेरैमा ५ हजार मात्रै हो । बन्द नभएको समयमा पनि हामीले ४ हजारसम्म पाउने गरेका थियौं ।’

    साँझको समयमा काठमाडौंबाट यात्रु चढाएर हिँडेपछि ट्राफिक प्रहरीले कतै पनि पास नमाग्ने र चेकिङ पनि नगर्ने कार्कीले नेपाल प्रेससँग बताए ।

    कालीकोटका हंस शाही पनि निषेधाज्ञामा नै गाउँ जानका लागि कलंकी आएर आस कुरिरहेका थिए । उनी ललितपुरबाट हिँडेर कलंकी आइपुगेका हुन् ।

    शाहीले भने, ‘पहिलेभन्दा अहिले गाउँ जानका लागि भाडा धेरै नै लिरहेका छन् । घरबाट जसरी पनि आउनु पर्छ भनेकोले धेरै भाडा तिरेर पनि गाउँ जान लागेको हो । नगरपालिकाले नै काठमाडौंमा समस्या परेर बसेकाहरुलाई गाउँ लाने बसको व्यवस्था गरेको छ ।’

    त्यस्तै कलंकीबाट आफ्नो घर जान लागेका व्यक्ति हुन् कैलालीका खगेन्द्र जोशी । पढ्नका लागि २ महिनाअघि र्कीतिपुर आएर बसेका जोशीले भने, ‘शुरूमा २२ गतेसम्म मात्रै बन्द भनिएको थियो । पछि बढाउँदै गएको छ । हामी काम गर्दै पढ्नेलाई लामो समय बन्द हुँदा समस्या पर्ने भएर नै गाउँ जान लागेका हौं । पहिले काठमाडौं आउँदा १३ सयमा आएको अहिले जाँदा २ हजार भाडा तिरेर जान लागेको छु ।’

    गाउँमा नै १० दिन क्वारेन्टाइनमा बस्ने कुरा भएर जान लागेको जोशीले बताए ।

    ट्राफिक प्रहरीले केही दिनअघि धेरै भाडा असुल्ने काउन्टरका केही व्यक्तिलाई पक्राउ गरेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता डीएसपी सुनिमजंग शाहले पास भएका बस र साना गाडीहरू मात्रै सडकमा गुडेको बताए ।

    शाहले भने, ‘विवाह, मृत्यु संस्कार र जिल्ला प्रशासन काठमाडौंले दिएको पास भएका बसहरू मात्रै सञ्चालन भएको छ । यात्रुले धेरै भाडा लिए भनेर जानकारी गराएको ठाउँमा सम्बन्धित ठाउँमै पुगेर कारवाही गरिरहेका छौं ।’

    पास नभएका गाडीहरू सडकमा गुडे रोक्ने गरेको शाहले बताए ।

    कसरी आउछन् यात्रु बसको सम्पर्कमा ?

    घर फर्कनुपर्नेहरू नयाँ बसपार्कको हटलाईन नम्बरमा सम्पर्क गर्छन् । त्यहाँ सम्पर्क गरेपछि सम्बन्धित काउन्टर वा व्यक्तिको सम्पर्क नम्बर यात्रुलाई दिइन्छ र त्यही नम्बरमा सम्पर्क गरेको आधारमा बस चढेर जान पाइन्छ ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण दर फैलनुको पछाडि आवतजावत नरोकिनु रहेको बताए ।

    ‘धेरै कोरोना संक्रमित भएको ठाउँबाट मान्छे अन्य ठाउँ जाँदा कोरोना संक्रमण फैलिन सक्ने जोखिम हुन्छ । संक्रमण धेरै भएको ठाउँका मान्छेहरु सकेसम्म पहिले बसेकै ठाउँमा बस्दा कोरोना फैलिन पाउँदैन । पहिले पनि धेरै संक्रमित भएको ठाउँबाट अन्य शहर वा गाउँमा मान्छेहरू गएकाले नै कोरोना फैलिएको थियो’, पुनले भने, ‘अहिले पनि त्यस्तो नहोला भन्न सकिँदैन । कोरोना संक्रमणको लक्ष्यण नदेखिए पनि कोरोना संक्रमण हुन सक्ने भएकोले गाउँ गएकाहरू पनि १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ । क्वारेन्टाइनमा बस्दा गाउँमा कोरोना सर्ने डार कम हुन्छ ।’

    कोरोना संक्रमण धेरै भएको स्थानबाट गाउँ गएकाहरुलाई स्थानीय तहहरुले नै क्वारेन्टाइनको व्यवस्था गरेर १४ दिन क्वारेन्टाइनमा राख्न सके कोरोना संक्रमण फैलिन र काम गर्न सहयोग मिल्ने पुन बताउँछन् ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सरकारले यातायात व्यवसायीलाई यात्रु गाउँ लैजानेबारे कुनै जानकारी नै नदिएको बताए । तर, सडकमा आफ्नै तरिकारले भाडा तोकेर बसहरु भने सञ्चालन भइरहेको छ ।

    सिटौलाले भने, ‘राज्यले आपतकालीन अवस्थामा गाउँमा यात्रु लैजाने सकरी भनेर महासंघलाई कुनै जानकारी दिएको छैन् । यातायात व्यवस्था विभाग र ट्राफिक कार्यलयसँग मिलाएर आफ्नै तरिकाले बस सञ्चालन भइरहेको छ ।’

    कोरोना महामारीको समयमा सबैले स्वास्थ्यको मापदण्ड पूरा गरेर सुरक्षित तवरले यात्रुलाई गाउँ पुर्‍याउनु पर्ने समयमा आफ्नै मनोमानी तरिकाले सब सञ्चालन भइरहेको सिटौलाले बताए ।

  • बाहिरिनेलाई सम्हाल्नै गाह्रो, भित्रिनेलाई भरेदेखि पर्छ साह्रो (भिडियोसहित)

    बाहिरिनेलाई सम्हाल्नै गाह्रो, भित्रिनेलाई भरेदेखि पर्छ साह्रो (भिडियोसहित)

    काठमाडौं । कोरोनाको नयाँ भेरिएन्टसहितको संक्रमण तीव्र गतिमा फैलिएपछि हुन लागेको लकडाउनका कारण उपत्यका छाड्ने सर्वसाधारणको संख्या आज बिहानसम्म १ लाख नाघेको छ ।

    अर्कातिर, उपत्यका भित्रिने नाकामा प्रहरीले बुधबार राति १२ बजेदेखि कडाइ गर्नका लागि विशेष योजना बनाएको छ ।

    सोमबार मन्त्रिपरिषद् बैठकले उपत्यकामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेसँगै मंगलबारमात्रै ४५ हजार सर्वसाधारणले उपत्यका छाडेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।

    तर, उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारी भने मंगलबार रातिसम्म ५२ हजारभन्दा बढीले उपत्यका छोडेको दावी गर्छन् ।

    जिल्ला प्रहरीको तथ्यांकअनुसार, काठमाडौंबाट देशका विभिन्न भागका लागि प्रस्थान गर्ने लामो दूरीका ५ हजार सवारीसाधन विभिन्न नाकाबाट बाहिरिएको एसपी वस्नेतले बताए । तर, ट्राफिक प्रवक्ता अधिकारीका अनुसार उपत्यकाका तीनै जिल्लाको विवरणका आधारमा ८ हजार सवारी साधन मंगलबार बाहिरिएका छन् ।

    त्यो क्रम बुधबार बिहानदेखि तीव्र रूपमा बढेको र बुधबारमात्रै २ लाखभन्दा बढी सर्वसाधारणले उपत्यका छाड्ने अनुमान ट्राफिक प्रहरीको छ । उसले गरेको अनुमानअनुसार, बुधबार विहान १० बजेभित्र १ लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

    बुधबार राति १२ बजेसम्म उपत्यका छोड्ने र भित्रिने यात्रुका हकमा कुनै कडाइ नगरिएको, तर त्यसपछि फरकखाले सुरक्षा नीतिका साथ प्रहरी परिचालित हुने भएको छ ।

    उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख एसएसपी उमेश रञ्जितकारका अनुसार बुधबार राति १२ बजेपछि उपत्यका भित्रिने यात्रुका हकमा उपत्यकास्थित तीनैवटा जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको मापदण्डका आधारमा व्यवहार गरिनेछ ।

    निषेधाज्ञा अवधिभर स्वास्थ्य, सुरक्षा, सञ्चार, खाद्यान्न ढुवानीसहितका अत्यावश्यक क्षेत्रसँग सम्बन्धित सवारी साधन र व्यक्तिलाई अवागमनमा अवरोध नगरिने एसएसपी रञ्जितकारले बताए ।

    निगरानी गरिने स्थान

    बुधबार राति १२ बजेदेखि देशका विभिन्न भागबाट राजधानी उपत्यका भित्रिने विभिन्न नाकामा प्रहरीको अवरोधक टोली तैनाथ हुने भएको छ ।

    नागढुंगा हुँदै उपत्यका भित्रिन चाहने यात्रुलाई झ्याप्लेखोलादेखि नै अवरोधमा पर्ने छन् । त्यस्तै, भीमफेदी-फर्पिङ रुटबाट उपत्यका छिर्ने नाका हुमाने भञ्ज्याङ, कान्तिराजपथ हुँदै उपत्यका छिर्ने नाका भट्टेडाँडा, वीपी राजमार्ग हुँदै उपत्यका छिर्ने नाका साँगा भञ्ज्याङ र मेलम्ची हुँदै उपत्यका छिर्ने जहरसिंहपौवालगायतका नाकामा प्रहरीले कर्डन ड्युटी खटाउने गरी योजना बनाएको छ ।

    ‘तर, स्वास्थ्य, सुरक्षा र सञ्चारलगायतका अत्यवश्यक सेवामाथि कुनै अवरोध हुने छैन’, एसएसपी रञ्जितकारले भने, ‘उहाँहरूले यात्राका क्रममा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरे, नगरेको अनुगमन गरिनेछ । यदि मापदण्ड पालना नगरेको भए जोसुकैमाथि पनि हामी कारवाही गर्न सक्छौँ ।’

    मास्क अनिवार्य

    प्रहरीले मास्कबिना यात्रा गर्ने यात्रुलाई ५० रूपैयाँ जरिवाना गरी मास्क अनिवार्य लगाइदिने नीति अबलम्बन गरेको छ । यो जिम्मेवारी ट्राफिक प्रहरीलाई दिइएको छ ।

    उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीका अनुसार, सवारीसाधनमा सीट संख्याभन्दा बढी यात्रु राखिएमा र दुरीसम्बन्धी मापदण्ड पालना नगरिएमा त्यस्ता सवारी साधनमाथि कारवाही गरिएको बताए ।

    सम्हाल्नै गाह्रो

    आ-आफ्नो थातथलो जानका लागि हतारिएका सर्वसाधारणले यात्राका क्रममा स्वास्थ्यसम्बन्धी मापदण्ड व्यापक रुपमा उल्लंघन गरिरहेका छन् ।

    बुधबार बिहानैदेखि नागढुंगामा केन्द्रित भएका ट्राफिक प्रवक्ता अधिकारी भन्दै थिए, ‘जति सम्झाउँदा पनि मान्दैनन्, कतिलाई कारवाही गर्नु ?’

    बुधबार कलंकीचोकदेखि शुरू भएको ट्राफिक जामको लहर धादिङस्थित खानी खोलासम्म पुगेको थियो । ‘गाडीभरि यात्रु खचाखच छन्, तिनलाई उतार्ने कि जाम खुलाउने, बडो तनावमा छौँ हामी’, प्रवक्ता अधिकारीले भने ।

    तर, आँखाले देखेसम्म स्वास्थ्य मापदण्ड पालना नगर्ने यात्रुलाई आफूहरूले कारवाही गरिरहेको चेकपोष्ट प्रहरी, थानकोटका इन्स्पेक्टर याम बञ्जाडेले बताए । ‘ट्राफिक प्रहरीसँग समन्वय गरेर हामी यो कामलाई कडाइँका लागि कार्यान्वयन गर्दैछौँ’, उनले भने ।

    प्रहरी प्रमुख नै संक्रमित

    कोरोनाको नयाँ भेरिएन्टसहितको संक्रमणबाट उपत्यका प्रहरी कार्यालयका प्रमुख (एआईजी) हरिबहादुर पाल स्वयं नै ग्रस्त भएका छन् ।

    मंगलबार उनको पीसीआर रिपोर्ट पोजिटिभ भएपछि महाराजगञ्जस्थित प्रहरी अस्पतालको आइसोलेसन वार्डमा राखिएका छन् । तर, उनको स्थिति सामान्य रहेको एसएसपी रञ्जितकारले बताए ।