Tag: बजेट

  • नेपाल ट्रेड युनियन कांग्रेसको १८ बुँदे बजेट सुझाव

    नेपाल ट्रेड युनियन कांग्रेसको १८ बुँदे बजेट सुझाव

    काठमाडौं । कोभिड १९ महामारीको दोस्रो लहरले मुलुकमा अप्ठ्यारो परिस्थिति सृजना भएको भन्दै नेपाल ट्रेड युनियन कांग्रेसले अर्थमन्त्री बिष्णु पौडेलाई १८ बुँदे बजेट सुझाव प्रस्तुत गरेको छ ।

    मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रमले राजनीतिक, आर्थिक र सामाजिक अवस्था थप जटिल र अनिश्चित भएको भन्दै युनियनले मुलुकको आर्थिक तथा सामाजिक अवस्थामा पर्न जाने बिशेष प्रभाव मध्यनजर गरी यसको व्यवस्थापन तथा न्युनीकरणको लागि आगामी बजेटको केन्द्रित गर्न आग्रह गरेको छ ।

    कोरोना भाइरसको प्रकोपसंग सुरक्षित जीवन र जीविकाका लागि संघर्षरत सम्पूर्ण श्रमजीविका लागि आगामी बजेटमा बिशेष चासो रहेको उसको भनाई छ ।
    स्वास्थ्य, सुरक्षाको लागि औषधि उपचार, अक्सिजन, शय्या, आईसीयू र भेन्टिलेटर लगायतको अभाव व्यवस्थापनको अतिरिक्त श्रमिकको आय, रोजगार र सामाजिक सुरक्षाको सुनिश्चितता अहिलेको प्रमुख आवश्यकता भएको भन्दै बजेट दिशामा यसतर्फ केन्द्रीत हुने बिश्वास महासंघले लिएको छ ।

    कोरोना भाइरस बिरुद्ध संघर्षमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी तथा श्रमिकलाई स्वास्थ्य सुरक्षा उपकरणका साथै बीमा कार्याक्रम ल्याइ प्रोत्साहन गर्नुपर्ने युनियनको भनाई छ ।

    साना तथा मझौला उद्योग र कृषि क्षेत्रको विकास र विस्तार गरी रोजगारीको सिर्जना गर्ने खालका कार्यक्रम बजेटमा प्रस्तुत गर्न भनिएको छ । कम आय भएका श्रमिक तथा स्वरोजगारलाई आयकर लगायत अन्य कर र कर्जाको व्याज मिनाहा गर्न आग्रह गरिएको छ ।

    शिक्षक तथा श्रमिकलाई निःशुल्क कोभिड भ्याक्सिन दिलाउने व्यवस्था गर्न, राष्ट्रिय सेवक कर्मचारीको पारिश्रमिक लगायतको आय कर को सीमा वृद्धि गरी सात लाख कायम गर्न, महंगी र मूल्य वृद्धिको आधारमा राष्ट्रिय सेवक कर्मचारी हरुको पारिश्रमिक समयानुकुल वृद्धि गर्ने महासंघले माग गरेको छ ।

    सीप, व्यावसायिक तालिम दिने संस्थाको कार्यक्रमलाई एकद्वार प्रणाली मार्फत संचालन एवं दक्ष जनशक्ति निर्माण गर्न विशेष कार्यक्रम सन्चालन ल्याउन आग्रह गरिएको छ ।

    ट्रेड यूनियन र व्यावसायिक संघ, संगठनको प्रतिनिधित्व हुने गरी एक अधिकार सम्पन्न रोजगार प्रर्वद्धन वोर्डको स्थापना गर्न माग गरिएको छ ।

    स्थानीयतहमा श्रमिकको पञ्जीकरण गरी परिचय पत्र ९राशन कार्ड० उपलव्ध गराउने र सोही परिचय पत्रका आधारमा अनौपचारिक क्षेत्रका श्रमिकलाई कोभिडसँग सम्बन्धित राहत उपलव्ध गराउने व्यवस्था गर्न भनिएको छ ।

    अनौपचारिक तथा स्वरोजगार क्षेत्रका सवै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गराउन आवश्यक रहेको देखिन्छ ।

    त्रीपक्षीय श्रम सल्लाहकार समिति गठन गर्ने, औद्योगिक तथा प्रतिष्ठानस्तरमा सामुहिक सौदावाजीको प्रक्रियालाई नियमित र प्रभावकारीरुपमा अघि बढाउने, महामारीजन्य रोगको सुरक्षाका लागि सवै प्रतिष्ठानतहमा श्रम ऐनको प्रावधान कार्यान्वयनमा ल्याउन , महामारीका कारण रोजगारी गुमाएका, खान वस्न नपाएका तथा विरामी परेका आप्रवासी नेपाली श्रमिकहरुको गन्तव्य मुलुकको दूतावास तथा कुटनीतिक नियोग मार्फत उद्धार गर्नका लागि पर्याप्त बजेट बिनियोजन गर्ने युनियनले सुझाव दिएको छ ।

    वैदेशिक रोजगारीवाट फर्किआएका नेपाली श्रमिकको अनुभव, सीप र साधनको प्रयोग गरी स्वदेशमै रोजगारीको सिर्जना र उद्यमशीलताको विकास गरी प्रभावकारी कार्यक्रम ल्याउनका लागि महासंघले आग्रह गरेको छ ।

    महामारीको संकटपूर्ण अवस्थामा श्रमिकको रोजगारी तथा सेवा सुविधामा कटौती, विभेद र शोषण हुन नदिन एवं आधारभूत श्रम मापदण्डको सुनिश्चित गर्न अनुगमन तथा निरीक्षण प्रणालीलाई प्रभावकारी बनाउन र बन्द तथा रुग्ण उधोगहरु सन्चालन गर्नका लागि आवश्यक बजेटको व्यवस्था गर्न नेपाल ट्रेड युनियन कांग्रेसले आग्रह गरेको छ ।

  • अर्थविद्को राय: बजेट कोरोना केन्द्रित होस्, नयाँ कार्यक्रम आउन सक्दैन

    अर्थविद्को राय: बजेट कोरोना केन्द्रित होस्, नयाँ कार्यक्रम आउन सक्दैन

    काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याउने तयारी सरकारले अन्तिम चरणमा पुर्‍याएको छ । जेठ १५ गते संसद बैठकबाट बजेट ल्याउने परम्परा भए पनि अहिले प्रतिनिधिसभा विघटित भएकाले अध्यायदेशमार्फत बजेट ल्याउन लागिएको हो ।

    संविधानको धारा ११४ ले प्रतिनिधि सभा र राष्ट्रिय सभा नभएको अवस्थामा मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रिपतिले अध्यादेश जारी गर्ने व्यवस्था गरेको छ । अब राष्ट्रपतिले यही धारमा टेकेर अध्यादेशमार्फत बजेट जारी गर्ने अर्थविद् चन्द्रमणि अधिकारी बताउँछन् ।

    कोरोना महामारीले अर्थतन्त्र थला परेका बेला सरकारले बजेटमार्फत कस्ता कार्यक्रमहरु ल्याउँछ भन्नेमा धेरैका चासो छ अहिले । सरकारले संसद बिघठन गरी यसै वर्ष मध्यावधि चुनावका पनि घोषणा गरेकाले यसका लागि ठूलै रकमको जोहो गर्नुपर्ने दवावमा अर्थ मन्त्रालय छ ।

    कस्तो बजेट ल्याउने ?

    अहिले नेपालको राजनीतिक संकट उत्कर्षमा पुगेको छ । कोरोना महामारीले देश जर्जर अवस्थामा पुगेका बेला उत्पन्न राजनीतिक संकटले बजेट निर्माणलाई पनि प्रभावित तुल्याइरहेको छ । यस्तो अवस्थामा आउने बजेटले देशको संकट समाधानका लागि आधारशीला खडा गर्नुपर्ने विज्ञहरु बताउँछन् । तर, राजनीतिक व्यक्तिहरु चाहिँ यो चुनावी सरकार भएकाले नयाँ कार्यक्रम बजेटमार्फत ल्याउन नसक्ने मत राखिरहेका छन् ।

    पूर्वअर्थमन्त्री वर्षमान पुनले यो वर्षको बजेटबाट धेरै अपेक्षा गर्न नसकिने बताए । उनको भनाइमा नेपालको संविधानले अध्यादेशमार्फत बजेट ल्याउने व्यवस्था नै गरेको छैन । तर, राष्ट्रिय सभामार्फत बजेट ल्याउन सकिने विकल्प रहेको उनी बताउँछन् ।

    यो समयमा पूर्ण स्वरुपको र जनतालाई केन्द्रमा राखेर बजेट आउनेमा उनी विश्वस्त छैनन् ।

    ‘अहिले आउने बजेट विशुद्धरुपमा कोरोना महामारी नियन्त्रणमा केन्द्रीत हुने गरी आउनुपर्छ । त्यो बाहेक कर्मचारीको नियमित तलव–भत्ताका लागि बजेट विनियोजन हुने हो । अन्य कुरा सोच्न सक्ने अवस्था छैन,’ उनले भने ।

    अर्थविद् अधिकारी पनि यो पूर्ण बजेट नहुने बताउँछन् ।

    उनी भन्छन्, ‘अहिलेको बजेटले मुख्य तीन कुरालाई हेर्नुपर्छ । पहिलो जनताको जीवनरक्षा नै हो । अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण नेपालको जनजीवन अस्तव्यस्त बनेको छ । त्यसैले पहिलो कुरा नै अहिलेको बजेटले कोरोना नियन्त्रण र यसको जोखिममा परेका क्षेत्रको उद्धारका लागि कार्यक्रम ल्याउनु पर्छ ।’

    अहिले ठप्प अवस्थामा रहेका उद्योग–व्यवसाय उकास्ने कार्यक्रमहरुलाई पनि बजेटले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

    ‘तेस्रो कुरा, अत्यावश्यक पूर्वधार र आयोजनाका कामहरु महामारी छ भनेर रोक्नु हुँदैन । तिनीहरुका लागि आवश्यक बजेट विनियोजन हुनुपर्छ ।’

    नयाँ कार्यक्रम आउन नसक्ने

    अध्यादेशमार्फत आउने बजेट कामचलाउ मात्र हुने भएकाले नयाँ कार्यक्रम आउन नसक्ने अर्थविद्को भनाइ छ ।

    पूर्वअर्थमन्त्री पुन भन्छन्, ‘यो बजेटमा नयाँ कुरा आउने छैनन् । अध्यादेशमार्फत ल्याइयो भने नयाँ कार्यक्रम, नयाँ शीर्षक तथा नयाँ नीति नियम हुनै सक्दैन । यदि त्यसरी आइहालेमा त्यो कार्यन्वयन हूँदैन र जनतालाई झुक्याउने किसिमको मात्र हुनेछ ।’

    अर्थविद् अधिकारीको भनाइमा पनि यसपालीको बजेट जोखिममा परिसकेको छ । साथै, वृहत छलफल नभएकाले बजेट परिपक्व पनि छैन ।

    ‘बजेट परिपक्व नभएको र यसको सिद्धान्त तथा प्राथमिकतामा पनि छलफल नभएकाले अपेक्षा धेरै गर्न सकिँदैन । तर, सरकारले अझै पनि जनतालाई प्रत्यक्ष लाभ हुने किसिमले केही कुरा भने राख्न सक्छ र कार्यन्वयन पनि गर्न सक्छ ।’

    पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री पनि बजेटमा सरकारले नयाँ कुरा ल्याउन नसक्ने बताउँछन् । उनका अनुसार अहिलेको सरकारले बजेट, कोरोना महामारी आदि कुरालाई भन्दा पनि राजनीति घटनाक्रममा समय व्यतीत गरेकाले नयाँ र उत्साहप्रदक बजेट आउने विश्वास छैन ।

    बजेट चुनाव र कोरोना केन्द्रित

    अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउन अन्तिम तयारी गर्दैगर्दा संसद विघटन भएर चुनाव घोषणा भयो । चुनाव घोषणा भएसँगै मन्त्रालयलाई स्रोतको दवाव परेको छ ।

    मन्त्रालयका प्रवक्ता महेश आचार्यका अनुसार बजटेको अन्तिम तयारीसहित कोरोना रोकथाम तथा नियन्त्रणका लागि बजेट केन्द्रित थियो । तर, अन्तिम समयमा आएर चुनाव हुने भनिएसँगै बजेट चुनावमा पनि केन्द्रित हुन पुगेको छ । यसका लागि मन्त्रालयले श्रोेत जुटाउने उनले बताए ।

    ‘सरकारले चुनाव गर्ने निणर्य गरेसँगै अर्थमन्त्रालयले त्यसलाई पनि प्राथमिकतामा राखेर बजेट निर्माण गर्नेछ,’ उनले भने ।

    सरकारले पहिला तय भइसकेका कार्यक्रमलाई कटौती नगरी बजेट ल्याउने पनि उनले प्रष्ट पारे । चुनावकै लागि भनेर पुरक बजेट नल्याइने उनको भनाइ छ ।

  • बजेटमा कर्मचारीको सुझाव- ५० प्रतिशत तलब वृद्धि, करार कर्मचारीको सेवा सुरक्षा ग्यारेन्टी

    बजेटमा कर्मचारीको सुझाव- ५० प्रतिशत तलब वृद्धि, करार कर्मचारीको सेवा सुरक्षा ग्यारेन्टी

    काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले कोभिड १९ रोकथाम,नियन्त्रण र उपचारमा खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सहयोगी कर्मचारीलाई शतप्रतिशत कोरोना जोखिम भत्ता उपलब्ध गराउन माग गरेको छ ।

    आगामी बजेटमा अर्थमन्त्रीसमक्ष लिखित सुझाव पेश गर्दै संगठनले कोरोनोको अवधिमा अन्य सेवा प्रवाहमा खटिने सबै कर्मचारीलाई २५ प्रतिशत कोरोना जोखिम भत्ता उपलब्ध गराउन माग गरेको छ ।

    आगामी साउनदेखि सबै कर्मचारीको शुरु तलबमानमा ५० प्रतिशत बृद्धि गर्न सुझाव दिइएको संगठनका अध्यक्ष केदार प्रसाद देवकोटाले बताए । कर्मचारी संगठनले आधारभूत तहका कर्मचारीको तलवमान र विशिष्ठ श्रेणीका सचिव तथा मुख्य सचिवको तलव अनुपात १ः५ कायम गर्न समेत माग गरेको छ ।

    संगठनले कर्मचारीहरुको पशोक भत्ता वार्षिक १५ हजार कायम गरी स्वदेशी कपडा उद्योग वा कम्पनीलाई प्रोत्साहन गर्न निजामती, सेना, प्रहरीलगायत राष्ट्रसेवकले प्रयोग गर्ने पोशाक नेपालमै उत्पादन गरिएको मात्र उपयोग गर्ने व्यवस्था मिलाउन अर्थमन्त्रीलाई सुझाव दिएको छ ।

    संगठनले करारमा काम गरिरहेका कर्मचारीहरुको तत्काल लगत कायम गरी कुने कारणबाट आयोजना वा कार्यालय खारेजी वा दरवन्दी कटौती तथा स्थायी कर्मचारीबाट पदपूर्ति भई विस्थापित भएकालाई अन्य कार्यालयमा करारमा कर्मचारी राख्दा ती विस्थापितमध्येबाट मात्र राख्ने गरी सेवा सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ ।

    अध्यक्ष केदार देवकोटा र महासचिव रेवन्त गौतमले बुझाएको २८ बुँदे बजेट सुझावमा प्रत्येक कर्मचारीलाई वर्षको एक पटक एक महिनाको तलवसहित ७ दिनको पर्यटन काज उपलब्ध गराई आन्तरिक पर्यटन प्रबद्र्धनमा लगाउन माग गरिएको छ ।

  • बजेट निर्माणको सकसः कोभिडको प्रहारमाथि चुनावको भार

    बजेट निर्माणको सकसः कोभिडको प्रहारमाथि चुनावको भार

    काठमाडौं । देशमा जारी राजनीतिक टकराव र संवैधानिक जटिलताको चेपुवामा परेको आगामी आर्थिक वर्षको नीति-कार्यक्रम तथा बजेट नियमित प्रक्रियाबाट नआउने निश्चित भएको छ । साथै, कोभिडको महामारीले बजेट निर्माणमा दवाव खेपिरहेका अर्थ मन्त्रालयका अधिकारीहरु हालै मध्यावधि चुनावको घोषणा भएपछि थप तिल्मिलाएका छन् ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिएको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी १५ जेठमा संसद वैठकमार्फत अर्थमन्त्रीले बजेट सार्वजनिक गर्नुपर्ने हुन्थ्यो । तर, अब संसद नै नरहेपछि अध्यादेशबाट बजेट ल्याउनुपर्ने वाध्यता भएको हो ।

    संघीय संसदको दुबै संसदमा नीति तथा कार्यक्रम, बिनियोजन बिधेयक, प्री-बजेट छलफल, मध्यकालीन खर्च संरचना, आर्थिक सर्वेक्षण प्रस्तुत गरेपछि मात्रै जेठ १५ गते बजेट ल्याउने नियमित संवैधानिक प्रावधान रहेको छ । वरिष्ठ अर्थबिद् चन्द्रमणि अधिकारी बजेट अगाडीको तालिका नै अवरुद्ध भएको र संसद विघटन भएकाले सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता नरहेको बताउँछन् ।

    ‘सरकारले बजेट अगाडिका प्रकृयाहरु नै पूरा नगरेकाले अब बजेट जेठ १५ गते नै आउनुपर्छ भन्ने बाध्यता छैन,’ उनले भने, ‘अध्यादेशमार्फत बजेट प्रस्तुत गर्ने तिथिका विषयमा संविधान बोलेको छैन ।’

    यद्यपि, अर्थ मन्त्रालयले भने नियमित तालिका अनुसार १५ जेठमा नै बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

    राष्ट्रिय योजना आयोगका पुर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल सरकारले बजेट नभई खर्च बिधेयक मात्र ल्याउन सक्ने बताउँछन् ।

    ‘विश्वासको मत गुमाइसकेको सरकारले अब ल्याउने बनेको खर्च बिधेयक हो,’ उनले भने ‘बजेट प्रस्तुत गर्ने आधार त सरकारले गुमाइसक्यो । बजेट ल्याउन निश्चित संवैधानिक प्रकृया पूरा गर्नुपर्नेमा केपी ओली नेतृत्वको सरकारले त्यसो गर्न चाहेन ।’

    कोभिड र चुनाव प्राथमिकतामा

    आगामी आर्थिक वर्षको बजेटमा कोभिड १९ ले स्रोत व्यवस्थापनको संकट पैदा गरेकै थियो, त्यसमाथि हालै सरकारले मध्यावधि चुनावको घोषणा गरेपछि अर्थमन्त्रालय चरम दवावमा परेको छ । चुनावका लागि सरकारले अर्बौं रकमको जोहो गर्नुपर्ने हुन्छ ।

    कोभिड रोकथाम तथा नियन्त्रण, अर्थतन्त्रको पुनरुत्थान तथा राहत र चुनावलाई प्राथमिकतामा राख्ने मन्त्रालयको तयारी छ । आगामी आर्थिक बर्षको बजेटका करिब ९० प्रतिशत कार्यक्रम कोभिड केन्द्रित हुने अर्थमन्त्रालय स्रोत बताउँछ । कामचलाउ भइसकेको सरकारले नयाँ कार्यक्रम घोषणा गर्न नमिल्ने विपक्षी दलहरुले बताएका छन् ।

    निर्वाचनका लागि अर्थमन्त्रालयले स्रोत सुनिश्चित गर्नैपर्ने मन्त्रालयका प्रवक्ता महेश आचार्य बताउँछन् ।

    ‘आगामी आर्थिक वर्षको बजेट कोभिड-१९ रोकथाम तथा नियन्त्रण, आर्थिक पुनरुत्थान तथा रोजगारी र निर्वाचन केन्द्रित हुन्छ,’ आचार्यले भने ।

    सरकारले घोषणा गरेको निर्वाचनका लागि बजेट व्यवस्था गर्न अप्ठ्यारो नभएको अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले बताए ।

    ‘निर्वाचन आयोगले माग गरे बमोजिमको बजेट खर्च तथा स्रोत सुनिश्चिता गर्ने काम अगाडी बढाइएको छ’, उनले भने ‘यसका लागि टेन्डर आव्हान गर्नुपर्ने होइन, बजेटमा केही अंक र कार्यक्रम थप गर्ने मात्रै हो ।’

    राष्ट्रिय योजना आयोगले कोभिड-१९ को महामारी तथा यसको दोस्रो लहरलाई ध्यानमा राखी बजेटको सिलिङ कम दिएको थियो । चालू आर्थिक वर्षमा पनि बजेट खर्च कम हुने तथा राजस्वको स्रोत संकुचित बन्ने सक्ने भएकाले बजेटको आकार बढाउने पक्षमा योजना आयोग सुरुदेखि नै थिएन ।

    अर्थमन्त्रालयले चालू आर्थिक वर्ष कोभिड-१९ का कारण स्रोतमा दवाव रहेको भन्दै नयाँ कार्यक्रम तथा आयोजना भन्दा पनि पुरानै परियोजना सम्पन्न गर्नतर्फ ध्यान केन्द्रित गर्न बिषयगत मन्त्रालयलाई भनेको थियो । आयोजना सुरु गर्नका लागि सम्पुर्ण काम पुरा भएका र नयाँ परियोजनाको सर्वेक्षणका लागि मात्रै बजेट माग गर्न अर्थमन्त्रालयले बिषयगत मन्त्रालयलाई अनुरोध गर्दै आएको थियो ।

    कतिपय बिषयगत मन्त्रालयले चालू खर्च समेत धान्न नपुग्ने गरी अर्थमन्त्रालयले बजेट बिनियोजन गरिरहेको भन्दै संसदीय समितिहरुमा गुनासो गरेका थिए ।

    कोरोना रोकथाममा विज्ञको जोड

    अहिलेको सरकारको मुख्य प्राथमकिता कोभिड-१९ बाट जनताको जीवन रक्षा र उद्योग व्यवसायको निरन्तरता हुनुपर्नेमा बिज्ञले जोड दिएका छन् । कोभिड-१९ को दोस्रो लहरका कारण बन्दाबन्दीको अवस्थामा रहेको उद्योग व्यवसायलाई राहत तथा पर्नस्थापना गर्दै रोजगारी संरक्षणमा सरकारको ध्यान हुनुपर्ने उनीहरु बताउँछन् ।

    चुनावभन्दा पनि अहिलेको आवश्यकता जनताको जीवनरक्षा र व्यवसायको संरक्षण भएको राष्ट्रिय योजना आयोगका पुर्वउपाध्यक्ष डा. पोखरेल बताउँछन् ।

    ‘कोभिड १९ बाट जनताको जीवनरक्षा गर्ने खालका कार्यक्रमहरु सरकारले ल्याउनुपर्छ,’ उनले भने ।

    वरिष्ठ अर्थविद् चन्द्रमणि अधिकारी राज्यको अहिलेको आवश्यकता जनताको जीवन रक्षा भए पनि निर्वाचनमा स्रोत बढी केन्द्रित हुने खतरा बढेको बताउँछन् ।

    ‘सरकारले केन्द्र र स्थानीय तहको चुनाबका लागि करिब १ खर्ब बजेटको सुनिश्चिता गर्नुपर्छ । त्यसैले सरकारको सम्पूर्ण ध्यान निर्वाचनको स्रोत सुनिश्चतातर्फ जाने भएकाले जनताको जीवन रक्षा र अर्थतन्त्रको पुर्नउत्थान ओझेलमा पर्ने खतरा छ,’ उनले भने ।

    पपुलिष्ट कार्यक्रम

    स्रोतको दवाव भए पनि सरकारले वृद्धभत्ता बढाउने लगायत केही लोकप्रियतामुखी कार्यक्रम बजेटमा समावेश गर्ने योजना बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमार्फत वृद्धभत्ता बढाउने भनेर सार्वजनिक कार्यक्रममा नै घोषणा गरेका थिए । त्यसैले सांकेतिकरुपमा थोरै परिमाणमा भए पनि वृद्धभत्ता बढाउनुपर्ने वाध्यता मन्त्रालयलाई छ ।

    अर्कोतर्फ गत बर्ष सरकारी कर्मचारीको तलब नबढेको भन्दै यो बर्ष बढ्न सक्ने समेत स्रोतको दावी छ । तर, महामारीले अर्थतन्त्र थिलथिलो भएका बेला सरकारी कर्मचारीको तलव बढाउँदा तीव्र विवाद सिर्जना हुन सक्ने चिन्तामा अधिकारीहरु छन् ।

    संसद विघटन भइसकेकाले आगामी आर्थिक बर्षको बजेटमा सांसद बिकास कोषमा बजेट बिनियोजन गर्नु नपर्ने भएको छ । त्यसको बजेट निर्वाचन केन्द्रीत कार्यक्रमहरुमा समावेश हुनसक्ने देखिन्छ ।

    अर्थमन्त्री बिष्णुप्रसाद पौडल राजनीतिक व्यक्ति भएकाले बजेटमा फरकपन महसुस गर्न सकिने अर्थमन्त्रालय स्रोत बताउँछन् । उनले बजेटमा केही नारामुखी कार्यक्रम समावेश गर्न चाहेका छन् ।

    पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले पपुलिष्ट कार्यक्रमभन्दा पनि अर्थतन्त्रको जग बसाउनेमा बढी ध्यान केन्द्रीत गरेका थिए । तर अर्थमन्त्री पौडेललाई भने पार्टी कार्यकर्ता र मतदातालाई रिझाउनुपर्ने वाध्यता छ । त्यसैले बजेट बितरणमुखी हुन सक्ने अर्थमन्त्रालय स्रोतको दाबी छ ।

    स्रोतको संकट

    नेपालले प्रत्येक आर्थिक वर्ष घाटा बजेट प्रस्तुत गर्ने गर्छ । राजस्व संकलनभन्दा बढी बजेट बिनियोजन अत्यधिक गर्ने गरिएको हुँदा त्यसलाई पूर्ति गर्न सरकारले आन्तरिक तथा वाह्य ऋण लिनुपर्ने हुन्छ ।

    आगामी आर्थिक वर्ष सरकारले बजेटमा राजस्वको दायरा र दर दुबै बढाउने अवस्था छैन । यो वैश्विक महामारीको असर संसारभर रहेकाले बैदेशिक अनुदान पनि कमै आउने देखिन्छ । चालू आर्थिक वर्ष अनुदानका लागि करिव ६० अर्बको प्रतिवद्धता आएपनि करिब १० अर्ब मात्रै प्राप्त भएको छ । त्यसैले चालू आर्थिक वर्ष बजेटको स्रोत व्यवस्थापन पनि आन्तरिक तथा बाह्य ऋणको हिस्सा महत्वपूर्ण बन्ने निश्चित छ ।

    कोभिड १९ को दोस्रो लहरका कारण बैशाख १६ गतेदेखी मुलुक निषेधाज्ञामा गइसकेको छ । यसले गर्दा बैशाखसम्ममा ८२ प्रतिशतको हाराहारीमा खुलेका उद्योग व्यवसायहरु पुन बन्द भएका छन् । अतिआवाश्यक बस्तु तथा सेवा, निर्माण तथा सेयर बजारबाहेक अन्य क्षेत्रहरु पुर्णरुपमा बन्द गरिएका छन् । उद्योग व्यवसाय बन्द रहेकाले आगामी आर्थिक बर्षको बजेटमा राजस्व संकुचित हुने देखिन्छ ।

    कोभिडको असर कम भएर रोजगारी तथा जनताको आम्दानी बढ्ने अवस्था नबनेसम्म आयातमा समेत कटौति भइ सरकारको भन्सार राजस्व, मूल्य अभिवृद्धि कर र प्रत्यक्ष कर प्रभावित हुने निश्चित छ । कोभिड १९ को तेस्रो लहर आएमा अवस्था थप भयावह बन्न सक्ने विश्लेषण भइरहेको छ ।

  • उद्योगी-व्यवसायी भन्छन्ः कोरोनाले ढालेको निजी क्षेत्रलाई उठाउने बजेट आओस्

    उद्योगी-व्यवसायी भन्छन्ः कोरोनाले ढालेको निजी क्षेत्रलाई उठाउने बजेट आओस्

    काठमाडौं । कोरोनाको दोस्रो धक्कापछि देशको उद्योग-व्यवसाय फेरि ठप्पप्राय बनेको छ । व्यवसायीहरु राहत तथा पुनरुत्थानका लागि सरकारको मुख ताकेर बसेका छन् ।

    सरकारले आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारीमा जुटिरहँदा आर्थिक क्षेत्रको पुनरुत्थानका लागि कस्तो कार्यक्रम आउँछ भन्नेमा व्यवसायीको चासो र चिन्ता छ । यसअघि २०७६ साल चैतबाट सुरु भएको लकडाउन करिव ९ महिनासम्म चल्दा देशको निजी क्षेत्र संकटमा परेको थियो । अतिआवश्यकीय बस्तु उत्पादन गर्ने उद्योग मात्रै सञ्चालन भएका थिए । अहिले पनि बैशाख १६ गतेबाट सुरु भएको निषेधाज्ञा जारी छ । कोरोना भाइरस नियन्त्रण गर्न भनेर गरिएको निषेधाज्ञा कहिले अन्त्य हुने हो भन्ने एकिन छैन ।

    निषेधाज्ञाकै बीच जेठ १५ गते नयाँ बजेट आउने छ । निजी क्षेत्रले पहिलेको लकडाउनमा पनि राहतको माग गरेका थिए । तर सरकारले स्रोत अभावका कारण प्रभावकारी राहत प्याकेज ल्याएन । अब आउने नयाँ बजेट पनि निर्वाचन केन्द्रित हुने भएको छ । सरकारले नयाँ निर्वाचनको मिति तोकिसकेको छ ।

    निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायतका निजी क्षेत्रले नयाँ बजेटले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै अर्थतन्त्रलाई चलायमान बनाउने र रोजगारी वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निषेधाज्ञा हुनुभन्दा पहिले महासंघले अर्थमन्त्रीसँग निरन्तर नयाँ बजेटको विषयमा छलफल गरिरहेको बताए ।

    उनले भने, ‘अब बजेट कसरी आउँछ भन्ने हो । सरकारले नयाँ बजेटमा कोरोनाले थला परेको अर्थतन्त्र माथि उठाउने कार्यक्रम ल्याउनुपर्छ । निजी क्षेत्रलाई चलायमान बनाउनु पर्छ ।’

    कारोनाका कारण समस्यामा परेका पर्यटन र साना तथा घरेलु उद्योगका लागि विशेष राहत प्याकेज ल्याउनु पर्ने उनको भनाइ छ । अब कोरोना कति समय रहन्छ र त्यसको असर के के हुन्छ भन्ने आधार बनाएर नयाँ बजेटले सम्बोधन गर्नुपर्नेमा गोल्छाले जोड दिए ।’

    नेपाल उद्योग परिसंघका अध्यक्ष शतिसकुमार मोरले देशको अर्थतन्त्र माथि उठाउनका लागि पूर्ण बजेट आउनुपर्ने बताए ।

    मोरले भने, ‘अहिले अर्थतन्त्र संकटमा छ । अब त्यो संकटलाई अन्त्य गर्न सरकारले निजी क्षेत्रको माग बजेटमार्फत सम्बोधन गर्नुपर्छ । नेपालमा नै उत्पादन वृद्धि गरेर व्यापार घाटा कम गर्नमा बजेट केन्द्रित हुनुपर्छ ।’

     

    नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले नेपालको वैदेशिक व्यापार घाटा कम गर्न बजेट केन्द्रित हुनुपर्ने बताए ।

    उनले भने, ‘कोरोनाको कारणले देशको अर्थतन्त्र थला परेको छ । अब यसलाई माथि उठाउनका लागि सरकारले निजी क्षेत्रका लागि राहत प्याकेज ल्याउनुपर्छ । सबैलाई कोरोना विरुद्दको खोप लगाउने व्यवस्था मिलाएर स्वास्थ्यको क्षेत्रलाई सम्बोधन गर्नुपर्ने छ ।’

    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले कोरोना महामारीको समयमा स्वास्थ्यलाई ध्यान दिंदै निर्माण क्षेत्रलाई पनि नयाँ बजेटले अगाडि बढाउनुपर्ने बताए ।

    ‘निर्माण उद्योगको पहिलेको भुक्तानीमा नै समस्या छ । नयाँ बजेटले त्यो समस्या समाधान गर्नुपर्छ । प्रदेशमा गएका आयोजनाको सम्बोधन भएको छैन । अब त्यो सम्बोधन हुनेगरी बजेट आउनुपर्छ । पहिलेको परियोजनाहरुलाई पुग्ने गरी बजेट दिएर मात्रै नयाँ परियोजना अगाडि बढाउनु पर्छ,’ सिंहले भने ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश सिंहले घरेलु तथा साना उद्योगहरु नै कोरोनाको सबैभन्दा धेरै मारमा पारेको र यसलाई माथि उठाउन सरकारले राहतको प्याकेज ल्याउनुपर्ने बताए ।

    उनले भने, ‘घरेलु तथा साना उद्योगलाई बैंकले लिलाम र व्याज तिर्न भनेर पत्र पठाइरहेका छन् । धेरै उद्योग बन्द हुने अवस्थामा छन् । व्यवसाय पुनरुत्थानका लागि विशेष प्याकेजको व्यवस्था नगरे साना उद्योगहरु बन्द हुने अवस्था छ ।’

    दुई वर्षसम्मको नवीकरण छुटका लागि सरकारलाई भनेको उनले बताए ।

    ‘१५ लाख रुपैयाँको विनाधितो सहुलियत कर्जाको सीमा वृद्धि गरेर २५ लाख पुर्‍याउन पर्छ,’ उनले थपे ।

  • सस्तो लोकप्रियता कमाउने खालको बजेट आउँदैन: प्रधानमन्त्री (भिडियो)

    सस्तो लोकप्रियता कमाउने खालको बजेट आउँदैन: प्रधानमन्त्री (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सस्तो लोकप्रियता कमाउने गरी बजेट नआउने बताएका छन् । अध्यादेशमार्फत बजेट आउने बताउँदै उनले विकास निर्माणलाई निरन्तरता दिए पनि कोभिड केन्द्रित बजेट ल्याउने बताए।

    ‘दुरगामी महत्वको बजेट आउँछ,’ बालुवाटारमा पत्रकारहरूसँगको अन्तरक्रियामा ओलीले भने, ‘अर्थतन्त्रको भविष्यप्रति गैरजिम्मेवार भएर बजेट आउँदैन । विकास निर्माणलाई निरन्तरता दिन्छौं तर कोभिड केन्द्रित हुन्छौं । जनताको जनधनलाई प्राथमिकता दिन्छौं।’

    उनले चुनावको मुखमा बजेट आउन लागेको भए पनि सस्तो लोकप्रियता कमाउने र चुनाव प्रभावित पार्ने बजेट नल्याउने बताए ।

  • कोरोना रोकथाममा कर्णाली प्रदेशद्वारा ९८ करोड बजेट निकासा

    कोरोना रोकथाममा कर्णाली प्रदेशद्वारा ९८ करोड बजेट निकासा

    सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यमा ९८ करोड ३० लाख रुपैयाँ निकासा गरेको छ ।

    सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले चालु आर्थिक वर्ष ०७७/०७८ मा मन्त्रालयमातहतका सबै जनस्वास्थ्य सेवाकार्यालय तथा अस्पतालमा कोरोना महामारी नियन्त्रण कार्यक्रमतर्फ ७३ करोड बजेट निकासा गरेको बताए ।

    त्यस्तै अक्सिजनसहित कोभिड-१९ व्यवस्थापनका लागि ११ करोड ८० लाख रुपैयाँ र स्वास्थ्य सेवा निर्देशनालयमार्फत कोरोना नियन्त्रणका निम्ति १३ करोड ८० लाख गरी ९८ करोड ३० लाख रुपैयाँ बजेट निकासा गरिएको सचिव काप्रीले जनाए ।

    ‘त्यसअन्र्तरगत कोरोना रोकथाम तथा व्यवस्थापनका लागि कर्णाली प्रदेशका ३३ स्थानीय तह र सोअन्र्तरगतका रणनैतिक अस्पतालमा १२ करोड १२ लाख २० हजार रुपैयाँ बजेट निकासा गरेका छौं’, उनले भने, ‘प्रदेशका सबै जिल्ला अस्पतलामा ४०/४० लाखका दरले किनि अक्सिजन प्लान्ट स्थापना तथा सञ्चालनका लागि बजेट व्यवस्था गरिएको छ ।’

    त्यस्तै प्रदेशको दुई तिहाइ रिक्त स्वास्थ्य जनशक्तिमा हाल अत्यावश्यक जनशक्ति व्यवस्थापनका लागि १७६ जना सामूदायिक नर्स, ५८ जना कोभिड स्वास्थ्यकर्मी, दरबन्दी करारतर्फ १८३ चिकित्सक, नर्स तथा पारामेडिक्स स्वास्थ्यकर्मी परिचालन गरिएको उनले बताए। सरकारले प्रदेशका सबै जिल्लामा आइसीयू स्थापना र भेन्टिलेटर सञ्चालनका लागि बजेट व्यवस्था एवम् चिकित्सक तथा नर्सलाई अत्यावश्यक सघन उपचारसम्बन्धी तालिम प्रदान गरिएको उनको भनाइ छ ।

    सचिव काप्रीका अनुसार कर्णालीका जनताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर प्रदेश सरकारले स्वास्थ्य सेवा निर्देशनालय, जन÷स्वास्थ्य सेवा कार्यालय र अस्पताललाई अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन प्लान्ट, पावर ब्याकअप, रेम्डेसिभिर इन्जेक्सनलगायतका सामग्री खरिद कार्यका लागि बजेट व्यवस्था गरिएको छ ।

    त्यसैगरी प्रदेशमा रही काम गर्न प्रोत्साहन गर्ने हेतुले सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई १३५ प्रतिशतसम्म थप प्रोत्साहन रकम र कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीका लागि प्रदेश सरकारबाट ५०५ थप जोखिम भत्ताको व्यवस्था गरिएको छ ।

    स्थानीय अस्पताललाई १५ देखि २५ श्यया, हुम्ला, मुगु, डोल्पा जिल्ला अस्पताललाई ५० श्यया, कालिकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम जिल्ला अस्पताल र मेहलकुना अस्पताललाई १०० श्यया क्षमताको अस्पतालका रुपमा र प्रदेश अस्पताललाई ५०० श्यया क्षमताको अस्पतालका रुपमा स्तरोन्नति गर्ने योजना साथ अघि बढेको प्रदेश सरकारले जनाएको छ ।

    सामाजिक विकास मन्त्रालयका अनुसार सङ्घीय सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, स्वास्थ्य सेवा कार्यालय जाजरकोट, दैलेख, कालीकोट र हुम्ला (अस्पताल)मा २५/२५ श्यया गरी १५० श्यया एचडीयू खरिद प्रक्रियामा छन् भने प्रदेश अस्पताल सुर्खेका लागि थप ५० श्यया एचडीयू स्थापनाका लागि बजेट सुनिश्चितता प्राप्त भएको छ ।

    -रासस

  • लुम्बिनीमा गतवर्षकै हाराहारीमा बजेट ल्याउने तयारी, जनस्वास्थ्यमा केन्द्रित हुन सुझाव

    लुम्बिनीमा गतवर्षकै हाराहारीमा बजेट ल्याउने तयारी, जनस्वास्थ्यमा केन्द्रित हुन सुझाव

    रुपन्देही । कोराना महामारीले आमनागरिकको स्वास्थ्यमा संकट पारेकाले लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा स्वास्थ्य क्षेत्रमा विशेष बजेट व्यवस्था गर्न सरोकारवालाले सुझाव दिएका छन् ।

    महामारीले आक्रान्त भएकाहरुलाई सान्त्वना दिने गरी कोभिडले पारेको प्रभाव र क्षतिपूर्तिका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने उनीहरुको सुझाव छ । उद्योगी, व्यवसायी, प्रशासन लगायतका क्षेत्रका अनुभवी तथा विज्ञहरुले भर्चूअलमा कोभिड–१९ ले सर्वसाधारणदेखि उद्योग, व्यवसाय र रोजगारमा अत्याधिक प्रभाव पारेको हुँदा त्यो क्षेत्रको पुनः सञ्चालन र व्यवस्थापनका लागि विशेष बजेटसँगै योजना ल्याउनुपर्ने निष्कर्ष निकालेको हुन् ।

    आर्थिक अनुसन्धान केन्द्र नेपालले ‘लुम्बिनी प्रदेशको २०७८÷७९ को बजेटमा क्षेत्रगतरुपमा समेटिनुपर्ने पक्षहरु’ विषयमा आयोजना गरेको संवाद कार्यक्रममा सहभागीहरुले कोरोना महामारीपछिको समयलाई ध्यानमा राखेर बजेट तथा योजना तय गर्न सुझा दिएको अध्यक्ष हुमराज भुसालले जानकारी दिए ।

    कार्यक्रममा सहभागी प्रतिनिधिको जवाफ दिँदै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आगामी बजेट कोरोना केन्द्रित रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

    ‘क्रमागत योजनालाई निरन्तरता दिने हो, नयाँ योजना समेट्न सकिने अवस्था छैन, बजेट गतवर्षको भन्दा ठूला ल्याउन पनि सकिने अवस्था छैन, त्यही बजेटलाई पनि स्रोत जुटाउन समस्या पर्ने देखिएको छ,’ मन्त्री चौधरीले भने, ‘यस वर्ष कोरोनाबाट प्रभावित क्षेत्रलाई राहत तथा उत्थानका लागि विशेष महत्व दिइने छ । महामारीको बेलामा साधन र श्रोतको बढी आवश्यकता पर्ने भएकोले करमा बृद्धि गर्नुपर्ने पनि देखिन्छ ।’

    लुम्बिनी प्रदेश, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब बाबुराम अधिकारीले कोभिड ब्यवस्थापनको लागि कोभिड फण्ड स्थापना गर्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट हुनुपर्ने बताए । उनले भने, ‘कोभिडका कारण बैदेशिक रोजगारी गुमेको छ । आन्तरिक बेरोजगारी बढ्दो छ । सीप विकास तालिमलाई प्राथमिकता दिइ उपलब्धिमूलक बनाउनुपर्ने छ । र, कृषि उद्यमी तालिम दिई निब्र्याजी ऋण उपलब्ध गराउनुपर्ने देखिन्छ ।’

    प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले रोजगारी गुमाएकालाई विशेष कार्यक्रम, बाँझो जमिनलाई उर्बर बनाउने र चक्लाबन्दी कार्यक्रम सञ्चालन गर्दै स्वनिर्भर उद्योगमा जोड दिनुपर्ने बताए । लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थी र डा. पुरनमान बज्राचार्यले कोरोनाले प्रत्यक्ष प्रभाब पारेका कृषि, रोजगारी, पर्यटन र उद्योगलाई उकास्न बिशेष पहल गर्नुपर्ने र तत्कालीन महत्वका क्षेत्रहरु पहिचान गरी कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए ।

    कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक गुलाब धवल, लुम्बिनी प्रदेश, सहकारी विज्ञ डा. खगराज शर्मा, अर्थशास्त्री डा. राजेश केशर खनाल, लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम, नेपाल च्याम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, उद्योग बाणिज्य संघ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेललगायतले कोरोना प्रभावित क्षेत्र र जनजीवनलाई सामान्य बनाई पुनरुत्थानका लागि लुम्बिनी प्रदेश सरकारले विशेष प्राथमिकता दिई बजेट ल्याउन सुझाव दिएका थिए ।

    कार्यक्रममा सहभागीको धारणा समेटेर प्रतिवेदन बनाई विभागीय मन्त्रालयमा पेश गरिने केन्द्रका कोषाध्यक्ष अमर डिसीले बताए ।

  • प्रधानमन्त्रीले भने- संसद जिउँदै छ, अध्यादेशबाट बजेट ल्याउने आवश्यकता नै पर्दैन

    प्रधानमन्त्रीले भने- संसद जिउँदै छ, अध्यादेशबाट बजेट ल्याउने आवश्यकता नै पर्दैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छँदै अध्यादेशबाट बजेट नल्याइने प्रष्ट पारेका छन् । बजेटअघि नै संसद विघटन गरेर अध्यादेशबाट बजेट ल्याउने कतिपयको आशंकालाई चिर्दै ओलीले यस्तो बताएका हुन् ।

    संसद जिवितै भएको भन्दै ओलीले अध्यादेशको आवश्यकता नपर्ने बताए । ‘पार्लिआमेन्ट जिउँदै छ, त्यतातिर जाने आवश्यकता नै पर्दैन,’ सिंहदरबारमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगको वार्तापछि पत्रकारसँग ओलीले भने ।

    ओलीले अब एमाले एकजुट भइसकेको समेत प्रतिक्रिया दिए । ओली-नेपाल वार्तापछि एमाले भित्रको विवाद मिलाउन १० सदस्यीय कार्यदल बनाइएको छ ।

  • कूल बजेटको १५ प्रतिशत शिक्षामा विनियोजन गर्न सरकारलाई आग्रह

    कूल बजेटको १५ प्रतिशत शिक्षामा विनियोजन गर्न सरकारलाई आग्रह

    काठमाडौ । राज्यको सबैभन्दा प्राथमिकीकरणको महत्वपूर्ण क्षेत्र शिक्षा भएकाले आगामी बजेट विनियोजनमा यस क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने सुझाव दिइएको छ । मुलुकको गरिबी निवारण, विकास, आर्थिक वृद्धि, समानता र समृद्धिलगायत पक्षलाई सम्बोधन गर्ने आधार नै शिक्षा भएको हुँदा कूल बजेटको कम्तीमा १५ प्रतिशत यस क्षेत्रमा लगानी गर्न सरकारलाई आग्रह गरियो ।

    पूर्वप्राध्यापक पुष्कर बज्राचार्यले उच्च शिक्षाले देशको वास्तविक विकासलाई अघि बढाउने भए पनि राज्यले कलेज तहमा एक विद्यार्थीका लागि हाल खर्च गर्दै आएको वार्षिक ३७८ रुपैयाँमा अब निकै वृद्धि गर्न आवश्यक भएको बताए ।

    नेपाल कानून समाजद्वारा आज यहाँ आयोजित ‘आगामी बजेट र शिक्षा क्षेत्रका सवाल’ विषयको भर्चुअल अन्तरक्रियामा एक दशक अघि नै राष्ट्रिय बजेटको १७ प्रतिशत विनियोजन भएकामा पछिल्ला वर्षमा शिक्षामा ११ प्रतिशतमा खुम्चाइएको जनाउँदै सरकारलाई आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा बढोत्तरी गर्न सुझाव दिइयो ।

    मुलुकको शिक्षा प्रणाली गुणस्तर सुधारमा नवीनतम् प्रविधिको प्रयोग र अनुसन्धानमा जोड दिन आवश्यक रहेको जनाउँदै उनले शिक्षा क्षेत्रमा व्यापक सुधारको खाँचो रहेकाले शिक्षा विकासका रणनीति बनाएर अघि बढ्नुको विकल्प नरहेको टिप्पणी गरे ।

    खर्चको दक्षता र उपयोगी पाटो महत्वपूर्ण हुन्छ : डा. महत

    पूर्वअर्थमन्त्री डा. रामशरण महतले शिक्षाको क्षेत्रमा उपलब्धि हासिल बजेट विनियोजन भएर मात्र नहुने भएकाले खर्चको दक्षता र उपयोगी पाटो महत्वपूर्ण हुने धारणा राखे । उनले भने, ‘प्रतिफल र परिणाम जहाँ बढी निस्कन्छ, त्यसमा खर्च गर्नुपर्छ, सङ्घ, प्रदेश वा स्थानीय तह जुनसुकै बजेटले पनि शिक्षामै बजेटलाई प्राथमिकता दिनुपर्छ ।’

    निजी क्षेत्र र सहकारी क्षेत्रबाट पनि शिक्षा क्षेत्रमा उत्तिकै लगानी भइरहेको तथा सरकारी र निजी क्षेत्रबाट प्रदान हुँदै आएको शिक्षाको गुणस्तरमा झन् ठूलो खाडल कायम हुँदै गएको उनको गुनासो छ । राज्यले पछि परेका समुदाय र वर्गलाई प्राथमिकतामा राखेर विशेष कार्यक्रम तय गरी नगद सुविधा दिएर प्रोत्साहन गर्न आवश्यक रहेको जनाउँदै नेपाली कांग्रेसका नेता डा. महतले बजारमा आवश्यक जनशक्तिलाई हेक्का गर्दै प्राविधिक र व्यावसायिक शिक्षालाई प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए ।

    पूर्वअर्थमन्त्री महतले भने, ‘विज्ञान र प्रविधिको विकासमा जसले योगदान गर्न सक्छ त्यसलाई अनुदान दिएर प्रोत्साहन गर्नुपर्छ, विदेशीसँगको सहकार्यमा उच्च गुणस्तरको शिक्षा मुलुकमै उपलब्ध गराउनेतर्फ हामी अग्रसर हुनुपर्छ ।’

    कार्यक्रममा मुलुकमा बेरोजगार समस्या ठूलो भए पनि निर्माणको क्षेत्रमा आवश्यक दक्ष नेपाली श्रमिकको संख्या कमजोर रहेकाले नवीनतम् प्रविधियुक्त र प्राविधिक शिक्षामा राज्यले ध्यान पुर्‍याउन आवश्यक रहेको सुभाव दिइयो ।

    पछिल्ला वर्षमा देशको शिक्षा क्षेत्रमा भइरहेको राजनीतिक हस्तक्षेप र गुणस्तरको विषय धेरै उठ्दै आए पनि यस क्षेत्रमा निकै प्रगति भएको पाटोलाई पनि नकार्न नमिल्ने विज्ञको धारणा छ ।

    तथापि, राज्यको लगानीका तुलनामा लक्षित समूह र क्षेत्रगत तहमा प्रोत्साहन र गुणस्तरको विषयमा भने प्रश्न उठिरहेकै छ । लक्षित समुदाय गरीब र दलितलाई वितरण गरिएको छात्रवृत्ति अझै पनि न्यायोचित वितरण र खर्च भएको नदेखिएको सो कार्यक्रममा जानकारी दिइयो ।

    पूर्वप्राथमिक तहमा भर्ना ९६ प्रतिशत पुगे पनि उमेर समूह र कक्षाबीच तालमेल हुन नसकेको भए पनि सामाजिक न्याय, रुपान्तरण र प्रगतिका आधारमा क्रमश : प्रगति हासिल भइरहेकाले सन्तोष लिने धेरै ठाउँ रहेको बताइएको छ ।

    मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै सङ्घ, प्रदेश र स्थानीय तहमा विभिन्न शीर्षकमा शिक्षामा बजेट विनियोजन भए पनि तहगत रुपमा खर्चको विवरण राष्ट्रिय बजेटमा उल्लेख हुन नसक्दा बजेट कम भएजस्तो देखिएको केही विज्ञको भनाइ रह्यो । शिक्षा क्षेत्रका उन्नयनका लागि विनियोजित बजेटको अधिकांश हिस्सा तलब भत्तामै खर्च हुने भएका कारण गुणस्तर र अनुसन्धान ओझेलमा परेको बताइएको छ ।

    बजेट खर्चका प्राथमिकता पहिचान र कार्यान्वयनमा जोड दिने प्रतिबद्धतामा कमी नभए पनि विभिन्न कारणले ठोस रुपमा सम्बोधन हुन नसकेको जनाउँदै शिक्षा क्षेत्रका अनुभवी भन्छन्, कक्षा १ मा भर्ना हुने, २ कक्षामा नपुग्दै पढाइ छाड्ने संख्या राज्यका लागि सबैभन्दा ठूलो चुनौती छ ।’

    राज्यको आवश्यकताका जनशक्ति उत्पादन, शैक्षिक गुणस्तर पक्षलाई नहेरिएको मात्र होइन, पठनपाठनको प्रक्रिया झन्झटिलो, समस्या समाधानका लागि विश्लेषण गरी निकास दिने विद्यार्थी उत्पादनमा पनि हालको शिक्षा प्रणाली युग सुहाउँदो नरहेको टिप्पणी गरिएको छ ।

    निजी क्षेत्र र सरकारी क्षेत्र बीचको ठूलो भिन्नता रहे पनि समुदायको प्रयासले उत्कृष्ट नतिजा दिन सफल विद्यालयको अनुसरण गर्न लगाउने संयन्त्रलाई प्रभावकारी तुल्याउन आवश्यक रहेको सुझाव दिइएको छ ।

    राज्यले शिक्षा प्रणालीलाई ठीक ढङ्गले अघि बढाउन नसक्दा पछिल्लो एक दशकमा सात लाख ५० हजार विद्यार्थी उच्च शिक्षाका लागि विदेश गएका र त्यसका लागि २५ देखि ४० अर्ब बराबरको विदेशी उपलब्ध गराइएको तथ्याङ्क रहेको बताइएको छ ।

    कोभिड-१९ संक्रमणसँगै देशका ९४ लाख विद्यार्थीको पठनपाठन, परीक्षा र नतिजा प्रकाशनमा ठूलो चुनौती खडा गरिरहेको जनाउँदै विज्ञले भने, ‘बालबालिकालाई मोबाइल नचलाउ भन्ने शिक्षा मोबाइलमै लिनुपर्ने अवस्थाले झन् अन्यौलमा पारेको छ ।’

    बजेटले ठूला लक्ष्य राख्ने, कार्यान्वयन एकदमै कमजोर रहने अवस्थामा सुधार ल्याएर वास्तविकतामा आधारित भएर कार्यान्वयन गर्ने खालले बजेट निर्माण गर्न सुझाव दिँदै अर्थशास्त्रीहरुले भने, ‘ठूलो बजेट तर्जुमाले आन्तरिक र बाह्य ऋण बढाउँछ, भावी पुस्तालाई वित्तीय बोझ थपिन्छ ।’

    ‘भवनलाई होइन गुणस्तरलाई प्राथमिकता दिऔं’

    र्राष्ट्रिय योजना आयोगका सदस्य उषा झाले क्षमतावान् शिक्षकको छनोट, गुणस्तरीय शिक्षालाई भन्दा भवन निर्माणलाई प्राथमिकता दिँदा शिक्षामा राम्रो नतिजा हासिल हुन नसकेको हो । उनले भने, ‘आवश्यकता र चाहनाअनुसार होइन, तालमेल मिलाउने प्रवृत्ति बाधक छ, कतिपय गरिआएका काम नचाहिने छन्, गुणस्तर होइन, भवनलाई प्राथमिकता दिएका छौं, त्यसबाट परिणाम आउन्न ।’

    राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले आधारभूत तहको शिक्षा प्रदान गर्ने बालशिक्षकको तलब वृद्धि गर्न, विद्यार्थीलाई उपलब्ध गराइँदै आएको दिवा खाजा खर्च बढाउन सुझाव दिए ।

    नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले रोजगारीका लागि बजारमा बिक्री हुने जनशक्ति उत्पादन गर्ने गुणस्तर शिक्षामा बजेट विनियोजन गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

    नेपाल खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माले शिक्षा क्षेत्रमा निजी र राज्यका तर्फबाट गरिएको खर्च पर्याप्त भए पनि कतिपय कानूनी अड्चनका कारण शिक्षालाई युग सुहाउँदो बनाउन उल्झन खडा गरिरहेको बताए ।

    त्रिभुवन विश्वविद्यालय मानवशास्त्र सङ्कायका डिन कुसुम शाक्यले मुलुकलाई आत्मनिर्भर हुन विषयगत दक्ष गुणस्तरीय जनशक्ति कति चाहिन्छ त्यसको लेखाजोखा गरी त्यसमा लगानी केन्द्रित गर्न सुझाव दिए ।

    ‘अनुसन्धान र शिक्षा विकासमा बजेट चाहिन्छ’

    पूर्वशिक्षामन्त्री एवं नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले विद्यालय तहको अनिवार्य र निःशुल्क शिक्षा नागरिकको अधिकारका रुपमा व्याख्या गरिए पनि अधिकांश विद्यालयले कुनै न कुनै शीर्षकमा शुल्क लिएको अवस्था अन्त्य हुन आवश्यक रहेको बताएका छन् ।

    उनले भने, ‘शिक्षाका लागि विनियोजित बजेटको निश्चित प्रतिशत अनुसन्धान र शिक्षा विकासमा खर्च गर्ने प्रणाली हुनुपर्छ, अनुसन्धान र विकासका लागि निजी क्षेत्रलाई पनि राज्यले प्रोत्साहन गर्नुपर्छ, मुनाफाबाट आएको रकमको केही हिस्सा अनुसन्धान र विकासमा खर्च गर्नै पर्ने नीति बनाउनुपर्छ ।’

    कानून सङ्कायका डिन विजयसिंह सिजापतिले अनलाइनमा पढिरहेका विद्यार्थीको परीक्षा र रिजल्ट कसरी गर्ने भन्नेमा प्रक्रिया र विधि तय गर्न बजेट विनियोजनको खाँचो औँल्याएका छन् ।

    ‘बजेट अग्रगामी हुनुपर्छ’

    पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति खगेन्द्र भट्टराईले दश वर्षअघि शिक्षाका लागि १७ प्रतिशत बजेट विनियोजन भएको र अहिले घटेकामा असहमति जनाउँदै बजेट अग्रगामी र सदुपयोग गर्ने हुनुपर्नेमा जोड दिए । इन्जिनीयर मेदिनी अधिकारीले बजेटको आकारभन्दा पनि व्यक्तिको मानसिक र चिन्तन फेरिन आवश्यक रहेको जनाउँदै शिक्षालाई आधुनिक प्रविधिमा रुपान्तरण गर्दै लैजानुपर्ने बताए ।

    नीति प्रतिष्ठानका प्रमुख डा. विष्णुराज उप्रेती मुलुकका लागि आवश्यक प्राविधिक जनशक्ति यकिन गरी त्यसका आधारमा बजेट तर्जुमा गर्न तथा अरूको चाहना र दिएको पैसाका आधारमा नभई आवश्यकताका आधारमा आफ्नै विद्यार्थीलाई अनुसन्धानमा लगाउन सुझाव दिए ।

    ‘शिक्षकले पढाउने काम गरे तर सिकाएनन्’

    त्रिवी शिक्षा सङ्कायका डिन चित्रबहादुर बुढाथोकीले सरकार र विश्वविद्यालबीच शिक्षा क्षेत्रलाई कसरी अघि बढाउने भन्नेमा चासो, चिन्ता, योजना र तालमेल नह्ँदाको परिणाम विकृति र विसङ्गति मौलाएको बताएका छन् । उनले भने, ‘शिक्षक तयारी र नियुक्तिमा ध्यान नदिएका कारण गुणस्तर मुख्य चुनौती छ, शिक्षकबाट पढाउने काम गरिएको छ, सिकाउने काम भएको छैन ।’

    प्रतिनिधिसभा सदस्य खेमप्रसाद लोहनीले आधारभूत तहको विद्यालय शिक्षालाई व्यावहारिक र समायानुकूल बनाउँदै शिक्षक नियुक्ति तथा भवन निर्माणलाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिए ।

    र्राष्ट्रियसभा सदस्य परशुराम मेघी गुरुङले संविधानअनुसार प्रदेश र स्थानीय तहलाई शिक्षाको जिम्मेवारी भएर कार्यान्वयनका लागि समययानुकूलको शिक्षा ऐन तर्जुमा गर्न आवश्यक रहेको बताए ।

    अर्का सदस्य रामनारायण विडारीले धनी र गरीब एउटै विद्यालयमा पढ्नैपर्ने शिक्षा नीति बनाउन आवश्यक रहेको धारणा राखे । शिक्षक र समाजले भावी पुस्तालाई पनि आफूजस्तो बनाउन खोज्ने अहिलेको शिक्षा दिने नीति नै गलत रहेको उल्लेख गर्दै उनले भने, ‘मान्ने तन्त्र जान्ने कि नयाँ तन्त्र सिकाउने शिक्षा दिलाउने, शिक्षा र स्वास्थ्यमा बजेट बढाउनुपर्छ ।’

    प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिका सदस्य जीवनराम श्रेष्ठ र कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले नेपालको शिक्षालाई उन्नत, जीवन उपयोगी बनाउनेतर्फ समाजका सबै तह र तप्काबाट सुझाव तथा सहयोग आवश्यक रहेको बताए ।

    -रासस

  • हिमाली र उच्च पहाडी क्षेत्रको विकास गर्न बजेटमा छुट्टै कार्यक्रम ल्याउछौं- मन्त्री ठगुन्ना

    हिमाली र उच्च पहाडी क्षेत्रको विकास गर्न बजेटमा छुट्टै कार्यक्रम ल्याउछौं- मन्त्री ठगुन्ना

    काठमाडौं । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले हिमाली र उच्च पहाडी क्षेत्रको विकासका लागि आगामी वर्षको बजेटमा छुट्टै कार्यक्रम ल्याउने बताएका छन् ।

    प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको सोमबारको बैठकमा मन्त्रालयको बजेट कार्यान्वयन र आगामी बजेट सम्बन्धमा भएको छलफलमा मन्त्री ठगुन्नाले हिमाली र उच्च पहाडी क्षेत्रको विकासका लागि केन्द्रीय सरकारको कुनैपनि कार्यक्रम नभएकाले यसपटकको बजेट मार्फत नयाँ कार्यक्रम ल्याउन लागेको बताएका हुन् ।

    पहिला भएको ‘दुर्गम क्षेत्र विकास समिति’ कार्यक्रम पनि संघीयता आएसँगै कटौति गरिएकाले अहिले त्यस क्षेत्रका लागि केन्द्रीय सरकार अन्तर्गतको कुनै कार्यक्रम नरहेको पनि बताए । देशको विकास निर्माण समानुपातिक रुपमा गर्न पनि हिमाली र उच्च पहाडी क्षेत्रका लागि छुट्टै कार्यक्रम आवश्यक भएको स्पष्ट पारे ।

    यसबाहेक मन्त्रालयले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र अन्य विकास योजनाका कार्यक्रमहरुमा संघीय सांसदको आवाजलाई सम्बोधन गर्ने कुरालाई आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकता दिइने पनि जानकारी दिए।

    मन्त्रालयले झोलुङ्गे पुल, सडकपुल, तराई–मधेस समृद्धि कार्यक्रमलाई व्यक्ति विशेषको क्षेत्रमा धेरै जाने भन्दा पनि समग्र रुपमा सम्पूर्ण क्षेत्रमा कार्यक्रमहरु पुग्ने गरी बजेट विनियोजन गर्ने भएको छ ।

    मन्त्रालयका सचिव एकनारायण अर्यालले स्थानीय तहमा भएका बेथितिका कुराहरुलाई मन्त्रालयले हेर्ने अधिकार नभएको बताए । जसका कारण कुन स्थानीय तहमा कसरी कार्यक्रम तय भएको छ भन्ने जानकारी संघीय सरकारलाई नहुने समेत बताए । त्यसबाहेक स्थानीय तहमा जनशक्ति परिचालनमा पनि समस्या आउने गरेको उनको भनाइ छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीयता कार्यान्वयन, सहजिकरण, सुशासन र सेवा प्रवाह, स्थानीय पूर्वाधार विकास, वैदेशिक सहायता परिचालन र मानव संशाधन विकास सम्बन्धी काम गर्दछ ।

  • बजेट अभावले प्रदेश १ काे विकास प्रभावित, ५ अर्ब रकम पुगेन

    बजेट अभावले प्रदेश १ काे विकास प्रभावित, ५ अर्ब रकम पुगेन

    विराटनगर । बजेट अभावका कारण प्रदेश–१ को विकास निर्माणका काम प्रभावित भएको छ । चालु आर्थिक वर्षको नौ महिनामा बजेट अभावकै कारण थुप्रै विकास निर्माणका सम्झौता रोकिएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता पंकज भुर्तेलले बताए ।

    ‘मन्त्रालयले अहिले सम्पन्न भइसकेका ठेक्कालाई भुक्तानी दिने काम मात्र गरिरहेको छ’, प्रवक्ता भुर्तेलले भने,‘बजेट अभावमा नयाँ विकास निर्माणका काम र विभिन्न कार्यक्रम रोक्नु परेको छ ।’ बहुवर्षीय, ठेक्का भइसकेका र क्रमागत आयोजनाका, स्वास्थ्य, खानेपानी, सिँचाइ आदिका कार्यक्रम मात्र अहिले चालु रहेको उनले बताए ।

    प्रवक्ता भुर्तेलका अनुसार गत वर्षको तीन अर्ब रुपैयाँ यस वर्ष भुक्तानी गर्नु परेकाले बजेट अभाव भएको हो ।

    प्रदेश सरकारले यस वर्ष २ करोडदेखि डेढ अर्ब रुपैयाँसम्मका तीन सय बहुवर्षीय योजना तथा प्रदेशस्थित संघीय सरकारको बहुवर्षीय योजनाको काम सुरु गरेको छ । तर बजेट अभावका कारण सरकारले गौरव आयोजनाका रुपमा अघि सारेका आयोजना नै प्रभावित भएका छन् ।

    उदयपुरको चौदण्डीगढीमा अलपत्र खानेपानी योजनाको काम ।

    प्रदेश सरकारले बहुवर्षीय योजनालाई भने यथावत् राखेको छ । संघले हस्तान्तरण गरेका अधुरा र क्रमागत आयोजनाको रकम भुक्तान गर्न सवा अर्ब रुपैयाँ संघले प्रदान गरेको छ भने थप पैसा आउने तयारीमा छ ।

    सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ४० अर्ब ९० करोड रुपैयाँ अनुमानित बजेट विनियोजन गरेको थियो । त्यसमध्ये १३ अर्ब रुपैयाँ मात्रै प्राप्त भएकाले बजेट संकट चुलिएको हो । कोरानाका कारण अनुमानित राजस्व संकलन पनि हुन सकेन ।

    ५ अर्ब बजेट कटौति

    कोरोना भाइरस संक्रमण र लकडाउनका कारण प्रदेश १ सरकारले चालु आर्थिक वर्षमा करिब ५ अर्ब बजेट कटौती गरेको थियो । कोरोना नियन्त्रणका लागि आगामी वर्षसमेत स्रोत व्यवस्थापन गर्ने गरी १२ शीर्षकका बजेट कटौती गरिएको थियो ।

    मन्त्रालयका अनुसार चालू वर्ष खर्च हुन नसक्ने बजेटको बहुवर्षीय योजनाहरूमा रकमान्तर गरेको छ ।

    कटौती गरिएका शीर्षकमा सवारी खरिद, फर्निचर, सेवा, परामर्श, भत्ता, भ्रमण भत्ता, तालिम, करारमा कर्मचारी नियुक्ति, राजनीतिक नियक्तिलगायत छन् । तर सरकारले छनोट भएको योजनाका लागि १० प्रतिशत बजेट मात्रै रकमान्तर गर्न सक्ने प्रदेश विनियोजन ऐनमा व्यवस्था छ ।

    चालु वर्षको बजेट सञ्चित गरेर आउँदो वर्षको बजेट प्रभावित हुन नदिन स्रोत व्यवस्थापनमा समेत प्रदेश सरकार लागेको छ ।

    प्रदेश सरकारले चालु वर्ष सञ्चालन गरेको २ करोडदेखि डेढ अर्बसम्मका तीन सय बहुवर्षीय योजना तथा प्रदेशस्थित संघीय सरकारको बहुवर्षीय योजनाको काम भइरहेको छ । कतिपय विकास योजामा बजेट अभावमा भुक्तानीमा समेत समस्या छ ।

    यो वर्ष अघिल्लो आर्थिक वर्षभन्दा करिब २ अर्ब रुपैयाँ बजेट घटाएर प्रदेश सरकारले चालु आवका लागि ४२ अर्ब २० करोड चार लाख १२ हजार बजेट विनियोजन गरेको थियो ।

    सरकारले यस वर्ष १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात् ४६.२९ प्रतिशत चालुतर्फ र पुँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३ दशमलव ७१ प्रतिशत बजेट विनियोजन गरेको छ ।

    वित्तीय व्यवस्थापनतर्फ ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै अन्तरसरकारी वित्त हस्तान्तरणका लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ । उक्त बजेट आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँटबाट १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख र चालु आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब रहने पूर्वानुमान प्रदेश सरकारको थियो। प्रदेश सरकारले ३ अर्ब ८६ करोडको आन्तरिक राजस्व उठ्ने अनुमान गरेकोमा त्यो सवा अर्बमा खुम्चिएको छ ।

  • मन खुलाएर बजेट निर्माण गर्न सकिने अवस्था छैन: अर्थमन्त्री पौडेल (भिडियो)

    मन खुलाएर बजेट निर्माण गर्न सकिने अवस्था छैन: अर्थमन्त्री पौडेल (भिडियो)

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका छन् ।

    बुधबार नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यसपटक मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका हुन् ।

    कोभिडका कारण सिर्जित समस्या र बजेटको स्रोतको सिमितताका कारण बजेट निर्माण गर्दा खुम्चिनुपर्ने अवस्था रहेको बताए ।

    बजेटमा समावेश गर्नुपर्ने विषयमा अनेरास्ववियुले दिएको सुझाव अत्यन्तै महत्वपूर्ण भएपनि बजेटको स्रोत हेरेर निर्माण गर्नुपर्दा समस्या रहेको उनले जानकारी दिए ।

    कोभिडका कारण खुम्चिएको राजश्व, अन्तर्राष्ट्रिय सहयोग परिचालन र आन्तरिक ऋणको परिधि भित्रै रहेर बजेटको स्रोत निर्माण गरिने पनि प्रष्ट पारे । त्यसैले यसपटक मन खुलाएर, हात फैलाएर बजेट निर्माण गर्ने नभई खुम्चिएर निर्माण गर्नुपर्ने परिस्थिति रहेको अर्थमन्त्री पौडेलले बताए ।

    अनेरास्ववियुका अध्यक्ष ऐन महर सहितका विद्यार्थी नेताहरुले आगामी बजेटमा शिक्षा क्षेत्रका लागि कम्तिमा २० प्रतिशत बजेट छुट्याउन माग गरेका छन् ।

    शैक्षिक प्रमाणपत्रको आधारमा शैक्षिक र व्यवसायिक ऋण उपलब्ध गराउने विगतको घोषणालाई सहज र प्रभावकारी ढङ्गले कार्यान्वयनमा लैजान र बैंकका प्रत्येक शाखाले न्यूनतम २० जना विद्यार्थीलाई प्रमाणपत्र धितोमा ऋण उपलब्ध गराउने व्यवस्था गर्न माग गरेका छन् ।

    यस्तै सरकारी सेवा सुविधा र जागिरमा रहनेका छोराछोरीलाई अनिवार्य सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन पनि अनेरास्ववियुले माग गरेको छ ।

  • बजेट खर्चमा सुधार, तर लक्ष्यभन्दा तलै

    बजेट खर्चमा सुधार, तर लक्ष्यभन्दा तलै

    काठमाडौं । चालू आर्थिक वर्षमा पहिलेझैं सुस्त रहेको बजेट खर्चले चैत महिनामा केही गति लिएको छ । यद्यपि अझै पनि बजेटको लक्ष्यअनुसार खर्च हुन सकेको छैन ।

    महालेखा नियन्त्रकको कार्यालयका अनुसार चैतमा औसत दैनिक साढे तीन अर्ब रुपैयाँ बजेट खर्च भइरहेको छ । शुक्रवार एकैदिन सरकारले ११ अर्ब ९५ करोड रुपैयाँ खर्च गर्यो । बजेटको संशोधित लक्ष्य भेट्न अब बाँकी १०० दिनमा ७ खर्ब ३ अर्ब रुपैयाँ बजेट खर्च गर्नुपर्ने हुन्छ । यस हिसाबले दैनिक ७ अर्ब ३ करोड रुपैयाँका दरले खर्च गर्नुपर्ने छ ।

    चैतमा भएको बजेट खर्चमध्ये ४० अर्ब २६ करोड रुपैयाँ चालू खर्च हो । यस्तै, पुँजीगत खर्च १३ अर्ब ५७ करोड रुपैयाँ भएको छ भने वित्तीय व्यवस्थातर्फ १६ अर्ब १७ करोड मात्रै खर्च भएको छ ।

    फागुन मसान्तसम्मका आठ महिनामा सरकारको कुल ५ खर्ब ७१ अर्ब खर्च गरेको थियो । चैतको २० गतेसम्म त्यसमा ७० अर्ब थपिएर ६ खर्ब ४१ अर्ब रुपैयाँ खर्च भएको छ । यो घोषित बजेट (१४ खर्ब ७४ अर्ब) को ४३.४९ प्रतिशत हो ।

    अर्थ मन्त्रालयले माघ २७ गते बजेटको अर्धवार्षिक पुनरावलोकनमार्फत बजेटका आकार संशोधन गर्दै १३ खर्ब ४४ अर्ब रुपैयाँमा झारेको थियो । उक्त संसोधनलाई आधार मान्दा अहिलेसम्मको खर्च करिब ४८ प्रतिशत हुन आउँछ ।

    वार्षिक बजेटमा चालूतर्फ ९ खर्ब ४९ अर्ब बजेट बिनियोजन भएकोमा अद्र्धबार्षिक समिक्षामार्फत ९६ प्रतिशत अर्थात ९ खर्ब १४ अर्बमा झारिएको थियो । अहिलेसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ चालू खर्च भएको छ, जुन संसोधित अनुमानको करिब ५४ प्रतिशत हो । त्यस्तै पुँजीगततर्फ ३ खर्ब ५३ अर्ब रुपैयाँ बजेट बिनियोजन भएकोमा अर्धवार्षिक समीक्षामार्फत २ खर्ब ८३ अर्बमा झारिएको थियो । हालसम्म ९३ अर्ब २६ करोड रुपैयाँ अर्थात संशोधित अनुमानको करिब ३३ प्रतिशत मात्रै पूँजीगत बजेट खर्च भएको छ ।

    त्यस्तै वित्तीय व्यवस्थातर्फ सरकारले १ खर्ब ७२ अर्ब रुपैयाँ बजेट बिनियोजन भएकोमा १ खर्ब ४७ अर्ब अर्थात ८५ प्रतिशत खर्च गर्ने संसोधित अनुमान गरिएको थियो । हालसम्म ५१ अर्ब ६७ करोड रुपैयाँ अर्थात संसोधित अनुमानको करिब ३५ प्रतिशत मात्रै खर्च भएको छ ।

    बिनियोजित बजेटको आधारमा भने कुल बजेट खर्च ४३.१९ प्रतिशत, चालू खर्च ५२.३१ प्रतिशत, पुँजीगत २६.४३ प्रतिशत र वित्तीय ब्यवस्थातर्फ २९.९ प्रतिशत मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाउँछ ।

    राजश्व संकलन सन्तोषजनक

    सरकारले कुल १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा हालसम्म ६१.४५ प्रतिशत अर्थात ६ खर्ब २१ अर्ब रुपैयाँ संकलन गरिसकेको छ । करतर्फ ५ खर्ब ७६ अर्ब र गैह्रकरतर्फ ४४ अर्ब ९९ करोड रुपैयाँ संकललन भएको हो ।

    अनुदान र अन्यप्राप्ति सहित कुल हालसम्म ६ खर्ब ६६ अर्ब अर्थात ६२.१९ प्रतिशत संकलन भइसेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाउँछ । सरकारले अर्धवार्षिक समीक्षा सरकारले आन्तरिक ऋणसहित राजस्व संकलनको लक्ष्य १० खर्ब ७४ अर्ब रुपैयाँ, बैदेशिक ऋण २ खर्ब ३५ अर्ब र अनुदान ३५ अर्ब संकलन गर्ने संशोधित लक्ष्य लिएको थियो ।

    चैतमा दैनिक २.५ अर्ब रुपैयाँ राजश्व संकलन भएको छ । फागुन ३१ गतेसम्म ५ खर्ब ७१ अर्ब संकलन भएको थियो ।

    संशोधित लक्ष्य भेट्छौः अर्थ मन्त्रालय

    अर्थमन्त्रालयका प्रवक्ता सुमन दाहाल यो वर्ष खर्च संरचनामा सुधार भएकाले चैतदेखि खर्च बढ्न सुरु भएको बताउँछन् । चालू खर्च साउन १ गतेदेखि नै हुने भए पनि विकास–निर्माणको भुक्तानी दोस्रो र तेस्रो चौमासिकबाट हुने भएकाले समग्र पुँजीगत खर्च कम देखिएको उनको भनाइ छ ।

    ‘सरकाले चालू खर्च साउन १ देखि नै गरे पनि विकास खर्चको भुक्तानी ढिला हुँदा अन्तराल देखिनु स्वभाविक नै हो,’ उनले भने ।

    पहिलो चौमासिकमा निर्माणका कामहरुको टेन्डरहरु लाग्ने, दोस्रो र तेस्रो चौमासिकबाट बजेट खर्च सुरु हने उनी बताउँछन् । अबको १०० दिनमा तीब्ररुपमा बजेट खर्च हुने र संशोधित लक्ष्य हासिल हुने दाहालको भनाई छ ।

    ‘यो बर्ष खर्च गर्ने प्रणालीमा गरिएको सुधार, १५ करोडभन्दा माथिका आयोजनाको अनलाइन अनुगमन र राष्ट्रिय गौरबको आयोजनामा सीसी क्यामरा जडान गरी कामलाई तिब्रता दिइकाले संशोधित लक्ष्यनुसार काम भइरहेको छ । भन्सार बिभागको तथ्यांकले पनि कोभिडपछि विकास निर्माणको काम तिव्ररुपमा अगाडी बढेको देखिन्छ । बिगतमा मासिकरुपमा ५ अर्ब हाराहारीमा बस्तु आयात हुने गरेकोमा अहिले दैनिक साढे ८ अर्बको हाराहारीमा आयात भइरहेको छ,’, उनले भने ।

    चैतमा बैंकिङ प्रणालीमार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह भएकोमा राष्ट्र बैंकले २६ अर्ब ३ करोड रुपैयाँ ट्रेजरी बिलमार्फत आन्तरिक ऋण उठाएको छ । त्यस्तै ५ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको वस्तु आयात भएको छ ।

    खर्च नबढे तरलतामा दवाव

    अपेक्षित विकास खर्च हुन नसक्दा त्यसको प्रभाव बैंकको तरलतामा पर्ने गर्छ । तरलतामा दवाव परे व्यादजर बढ्न सक्ने बैंकर्स बताउँछन् ।

    सरकारले राजस्व संकलन गरेर ढुकुटीमा थुपार्ने तर आवश्यक खर्च नगर्दा बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाब हुन जान्छ । त्यसपछि बैंकहरुले निक्षेपकर्तालाई आकर्षित गर्न मुद्दती तथा साधारण बचतको ब्याजदर बढाउनुपर्ने भएकाले कर्जाको पनि ब्याजदर बढ्ने सक्ने बैंकर्सको भनाइ छ । सरकारले चैत महिनामा अपेक्षित खर्च नगरे ब्याजदर ०.५ प्रतिशतदेखि १ प्रतिशतको बीचमा बढ्न सक्ने उनीहरु बताउँछन् ।

    बैंकहरुले पछिल्लो समय आक्रमकरुपमा कर्जा बिस्तार गरिरहँदा निक्षेप संकलनको अवस्था भने कमजोर देखिन्छ । फागुन महिनामा ८८ अर्ब रुपैयाँ कर्जा लगानी गर्दा ३९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकनुसार बाणिज्य बैंकहरुले ३८ खर्ब ७४ अर्ब निक्षेप संकलन गरेकोमा ३४ खर्ब ८५ करोड रुपैयाँ कर्जा बिस्तार गरेका छन् । यसअनुसार सीसीडी अनुपात ७७.७६ प्रतिशत रहेको छ ।

    बिकास बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ६ अर्ब निक्षेप संकलन गर्दा ४ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । कोभिडका कारण नेपाल राष्ट्र बैंकले सीसीडी अनुपात ८० बाट बढाएर ८५ प्रतिशत पुर्‍याएकाले अहिलेको अवस्थामा पनि बैंकहरुले करिब १.५ खर्बको हाराहारीमा कर्जा प्रवाह गर्न सक्ने अवस्था रहेको बैंकर्सका अध्यक्ष भुवन दाहाल बताउँछन् ।

    अहिलेको अवस्थामा पनि बैंकहरुले नेट निक्षेप कर्जाको अनुपात करिव २४ प्रतिशत कायम राखेकाले १५० अर्ब कर्जा प्रवाह गर्न सकिने उनको भनाइ छ ।

    ‘तर अहिले मासिकरुपमा कर्जा प्रवाह ८० अर्ब जति भइरहेको छ, यता सरकारले थप ४० अर्ब जति कर उठायो भने तरलतामा दवाव पर्न सक्छ’, सरकारले चैतको अन्तिम साताबाटै खर्च बढाएमा पनि तरलतामा खासै ठूलो असर नपर्ने बताउँदै दाहालले थपे, ‘यदि सरकारले खर्च नै गरेन भने ब्याजदर आधा प्रतिशत वा १ प्रतिशतसम्म बढ्न सक्छ, तर पुरानो अवस्थामा जस्तो १२/१३ प्रतिशत पुग्दैन ।’

  • नयाँ बजेटबारे सुझाव दिन निजी क्षेत्र छलफलमा, कर घटाउनुपर्नेमा व्यवसायीको जोड

    नयाँ बजेटबारे सुझाव दिन निजी क्षेत्र छलफलमा, कर घटाउनुपर्नेमा व्यवसायीको जोड

    काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ को बजेटका लागि सुझाव दिन निजी क्षेत्रहरू आन्तरिक छलफलमा जुटेका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अर्फ कर्मश र साना उद्योगी व्यवसायीका छाता संगठन नयाँ बजेटका लागि सरकारलाई सुझाव दिन आन्तरिक छलफलमा जुटेका हुन् ।

    अर्थ मन्त्रालयले बजेट निर्माणको लागि चैत्र ७ गते सुझाव मागेको थियो । वैशाख ५ गतेभित्र सुझाव पेश गर्न मन्त्रालयले नीति तथा कार्यक्रमका सम्बन्धमा संघसंस्था, विज्ञ, बुद्धिजिवी, राजनीतिक दल, नागरिक समाज र पेशागत संघ संस्थालगायतलाई आग्रह गरेको थियो ।

    कोरोनाले करिब ९ महिना बन्द भएको बजार खुलेपछि नेपालको अर्थतन्त्र चलायमान हुने क्रममा छ । नयाँ आउने बजेट पनि अर्थतन्त्रलाई कसरी चलायमान बनाउने र समस्यामा परेका उद्योगधन्दालाई सहज बनाउने भन्नेमा केन्द्रित हुने व्यवसायी बताउँछन् ।

    नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नयाँ बजेटमा महासंघले मन्त्रालयलाई के–के सुझाव दिने भन्नेबारे छलफल सुरु भएको बताए ।

    उनले भने, ‘कोरोनापछि निजी क्षेत्र समस्यामा छ । नयाँ बजेटमा कर घटाउने विषय पनि समावेश भएको छ ।’

    उनले प्राप्त स्रोत /साधको प्रयोग गरेर रोजगारी वृद्धि गर्नका लागि सरकारलाई सुझाव दिने बताए । ‘उद्योगधन्दाले प्रयोग गर्ने कच्चा पदार्थको भन्सार दर कम गर्ने विषय पनि सुझावको रुपमा समेटिने छ,’ श्रेष्ठले भने ।

    उद्योगले लिएको ऋणको ब्याज दिन नसक्ने अवस्थामा लिलाम गर्नुपर्ने अवस्था रोक्न सहुलियतपूर्ण ऋण र ब्याजदर वृद्धि रोक्ने कुरा पनि सुझावमा समेटिने श्रेष्ठले बताए ।

    नेपाल उद्योग परिसंघले सुझावका लागि कमिटी निर्माण गरेर छलफल अगाडि बढाएको छ । परिसंघका राजस्व समितिका संयोजक तथा सुझाव समितिका सदस्य राउल अग्रवाल पनि सुझाव दिनेबारे छलफल सुरु भएको बताउँछन् ।

    ‘अहिले व्यक्तिगत विवाहितलाई ५ लाख र अविवाहितलाई ४ लाखसम्मको आयकर छुट छ । अब आयकर छुटको सीमा बढाएर १० लाख पुर्‍याउनुपर्ने सुझाव छ,’ अग्रवालले भने ।

    वृद्धिभन्दा पनि करको दायर वृद्धि गर्ने कुरा सुझावमा समेटिने उनले बताए । अग्रवालले भने, ‘लकडाउनको बेला बन्द रहेका उद्योगमा पनि डिमान्ट शुल्क जोडेर बिजुलीको बिल अएको छ । त्यो डिमान्ट शुल्क छुट हुनुपर्ने कुरा हामीले समेट्ने छौं ।’

    कोरोनाका कारण समस्यामा परेका उद्योगधन्दाका लागि पुनर्कर्जा र ब्याज वृद्धि नियन्त्रणलाई नयाँ बजेटले समेटनुपर्ने अग्रवालले बताए ।
    नेपाल चेम्बर अफ कर्मशले पनि नयाँ बजेटमा के सुझाव दिने भनेर छलफल सुरु गरेको छ । नेपाल चेम्बर अर्फ कर्मशका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले चेम्बरमा सुझावको विषयबारे छलफल चलिरहेको बताए ।

    उनले भने, ‘शेयर कारोबारी जसरी जग्गा कारोबार गर्ने व्यक्तिहरूलाई पनि ब्रोकरको व्यवस्था गरेर करको दायरामा ल्याउनु पर्ने सुझाव छ । सबै क्षेत्रमा एकद्वारा प्रणाली लागू गरेर अगाडि बढ्नुपर्ने छ ।’

    उद्योगलाई चाहिने कच्चा पदार्थको भन्सारदर कम गर्दै उद्योग स्थापनाका लागि आकर्षक र स्वदेशी व्यापार वृद्धि गर्ने नीति सुझावमा समावेश हुने मल्लले बताए ।

    नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले सरकारले नेपालमा नै गाडी उत्पादन गर्न सहयोग गर्ने भनिरहेको बेला भन्सारण र पार्टपूर्जामा ५० प्रतिशत छुट दिने व्यवस्था नयाँ बजेटको सुझाव रुपमा दिने बताए ।

    उनले भने, ‘सरकारले नेपालमा गाडी उत्पादनको कुरा अगाडि बढाएको छ । त्यसका लागि पार्टपूर्जा र भन्सार शुल्कमा छुट दिनुपर्ने कुरा छ । भ्याटलाइ घटाएर १० प्रतिशतमा झार्नु पर्ने हाम्रो सुझाव हुनेछ ।’

    नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले भने सरकारले महासंघ, परिसंघ र चेम्बरको मात्रै बजेटमा सुझाव लिने गरेको बताए ।

    उनले भने, ‘सरकारले निजी क्षेत्र भनेर हामीलाई चिनेको छैन । हामी लकडाउनपछि सटर भाडा, कर र बैंकको ब्याजले समस्यामा छौं । सहुलियतपूर्ण कर्जा र पुनर्कर्जा पाउन सकेका छैनौं । बजेटमा साना व्यवसायीले सहज र सरल तरिकाले कर्जा व्यवस्था गर्न सुझाव दिनेछौं ।’
    ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष तथा घरेलु महासंघका उपाध्यक्ष मोहन कटुवालले अर्थमन्त्रालयलाई पठाउने सुझावबारे छलफल सुरु भएको बताए ।

    उनले भने, ‘साना उद्योगधन्दा धेरै बन्द हुने अवस्थामा छन् । साना उद्योगलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था र बैंकको ब्याजदरमा केही हेरिदिन हामीले सुझाव पठाउने छौं ।’

    व्यक्ति वा संस्थालाई सुझाव पठाउन मन लागेमा अर्थ मन्त्रालयको वेभसाइटमा गएर बजेट सजेसन ट्याव तथा इमेलमार्फत् दिन सकिने व्यवस्था मन्त्रालयले गरेको छ ।

  • बजेट तथा कार्यक्रम निर्माणका लागि अर्थले माग्यो सुझाब

    बजेट तथा कार्यक्रम निर्माणका लागि अर्थले माग्यो सुझाब

    काठमाडौं । अर्थमन्त्रालयले आगामी आर्थिक बर्ष २०७८/७९ को बजेट तथा कार्यक्रम निर्माणका लागि विभिन्न सरोकारवाला निकायसँग सुझाव मागेको छ ।

    मन्त्रालयले सरोकारवाला संघ, संस्था , बुद्धिजिवि , बिज्ञ , राजनीतिक दल , व्यवसायी , समाजसेवी , कर्मचारी , सञ्चारजगत तथा नागरिकहरुलाई सुझाव बैशाख ५ गते सम्म पठाउन आग्रह गरेको हो।

    अर्थमन्त्रालयको वेवसाइड वा इमेल मार्फत बजेट निर्माण सम्वन्धि सुझाव पठाउन सकिने मन्त्रालयले जनाएको छ ।

  • नयाँ बजेट : पुरानै आयोजनालाई निरन्तरता दिन अर्थको आग्रह (भिडियो)

    नयाँ बजेट : पुरानै आयोजनालाई निरन्तरता दिन अर्थको आग्रह (भिडियो)

    काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका आधार र मार्गदर्शनबारे जानकारी गराउँदै पूर्वनिर्धारित समयमा सिलिङभित्र रहेर बजेट प्रस्ताव गर्न विभिन्न बिषयगत मन्त्रालयहरूलाई आग्रह गरेको छ ।

    उक्त कार्यक्रम बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख धनीराम शर्माले सकेसम्म नयाँ आयोजना थप नगर्न मन्त्रालयलाई आग्रह गरेका छन् ।

    पुराना आयोजनाहरू नै सम्पन्न हुन नसकिरहेको अवस्थामा नयाँ आयोजना थप गर्नुको कुनै औचित्य नहुने शर्माले बताएका छन् । नयाँ आयोजना थप गर्नुभन्दा पनि नयाँ आयोजनाबारे अध्ययन गर्न उनले विषयगत मन्त्रालयहरूलाई सुझाएका छन् ।

  • नयाँ बजेट पेश गर्न मन्त्रालयलाई चैत १५ सम्मको म्याद, यस्ता छन् बजेट माग गर्ने आधार

    नयाँ बजेट पेश गर्न मन्त्रालयलाई चैत १५ सम्मको म्याद, यस्ता छन् बजेट माग गर्ने आधार

    काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका आधार र मार्गदर्शनबारे जानकारी गराउँदै पूर्वनिर्धारित समयमा सिलिङभित्र रहेर बजेट प्रस्ताव गर्न मन्त्रालयहरूलाई आग्रह गरेको छ ।

    मुख्य सचिव, सचिवहरू, राष्ट्रिय योजना आयोगका सदस्यसहित अर्थ मन्त्रालयमा आयोजित बजेटपूर्वको छलफल कार्यक्रममा अर्थ मन्त्रालयले आर्थिक पुनरूत्थान र रोजगारी सिर्जना, ठूला पूर्वाधार आयोजना कार्यान्वयनमा निरन्तरता, कृषि क्षेत्रको विकास, सामाजिक विकासमा निरन्तर लगानी, क्षेत्रगत र प्रादेशिक सन्तुलन र दीगो विकास लक्ष्यलाई बजेट निर्माणका मुख्य आधारका रूपमा प्रस्तुत गरेको हो ।

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले बजेट निकासामा अर्थ मन्त्रालय थप सरलिकृत गर्न जरुरी रहेको बताए ।

    मुख्य सचिव शंकरदास बैरागीले बजेटमा रचनात्मक छलफलबाट कार्यान्वयनमुखी बजेट आउने बताए । उनले बजेट कार्यान्वयन म्याट्रिक्स बनाउन पनि जरुरी रहेको सुझाएका छन् ।

    अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कार्यक्रमहरुको राम्रोसँग विश्लेषण गरी बजेट प्रस्ताव गर्न जरुरी रहेको उल्लेख गर्दै सिलिङलाई प्रभावकारी बनाउन आग्रह गरे ।

    राजस्व सचिव रामशरण पुडासैनीले आवश्यकताका आधारमा बजेट बनाउनुपर्ने भन्दै राजस्व बढाउने कार्यक्रमलाई पनि ध्यान दिन जरुरी रहेको बताए ।

    अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले एकातिर बजेट खर्च भएन भन्ने र अर्कीतिर स्रोत पुगेन भन्ने जस्ता विरोधाभाष हटाउने गरी काम गर्नुपर्ने बताए ।

    बजेट तथा कार्यक्रम महाशाखा प्रमुख धनीराम शर्माले चालु आर्थिक वर्षको कार्य सम्पादनलाई पनि आधार बनाउनुपर्नेमा जोड दिँदै मितव्ययिता सम्बन्धी मापदण्ड पालना गर्न आवश्यक रहेको जानकारी दिए ।

    कार्यक्रममा सचिवहरुले संघ, प्रदेश र स्थानीय तहको बजेटमा समन्वय हुनुपर्ने, नीति तथा कार्यक्रम र बजेटबीच तालमेल हुनुपर्ने, दोहोरी पन हटाउनु पर्ने, प्राथमिकता निर्धारण गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।

    अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालका अनुसार मन्त्रालयहरुले यही चैत १५ गतेभित्रमा अर्थमन्त्रालयमा बजेट प्रस्ताव गर्नुपर्ने कार्यतालिका रहेको छ ।

    बजेट निर्माण सम्बन्धी मुख्य मार्गदर्शनहरू

    • अनिवार्य दायित्व र स्रोत सहमति दिइएका विषयहरु सिलिङ समावेश गरेपछिमात्र अन्य आयोजना र कार्यक्रममा बजेट प्रस्ताव गर्ने ।

    • मध्यकालीन खर्च संरचना तयार गरी बजेट पेश गर्नुपर्ने । उपलब्धि सूचकहरू स्पष्टरूपमा उल्लेख हुनुपर्ने ।

    • आयोजना वर्गिकरण सम्बन्धी मापदण्डमा आधारित भएर मात्र आयोजना प्रस्ताव गर्ने ।

    • बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड बमोजिम बहुवर्षीय ठेक्का लगाउनुपर्ने आयोजनाको लागि मापदण्डबमोजिम पुग्दो बजेट विनियोजन हुनपर्ने ।

    • खर्च सम्बन्धी क्रियाकलापमा नै तयारी साथ बजेट प्रस्ताव गर्ने ।

    • बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड बमोजिम बहुवर्षीय ठेक्का लगाउनुपर्ने आयोजनाको लागि मापदण्डबमोजिम पुग्दो बजेट विनियोजन हुनपर्ने ।

    • खर्च सम्बन्धि क्रियाकलापमा नै तयारी साथ बजेट प्रस्ताव गर्ने ।

    • नयाँ कार्यक्रम प्रस्ताव गर्दा मोडालिटीमा स्पष्टता भएर मात्र बजेट प्रस्ताव गर्ने ।

    • ठूला र रणनीतिक महत्वका आयोजनालाई उच्च प्राथमिकतामा राख्ने ।

    • वित्तीय हस्तान्तरणमार्फत सञ्चालन हुने कार्यक्रममा प्रदेश र स्थानीय तहलाई शुरू बिनियोजनबाटै हस्तान्तरण प्रस्ताव गर्ने ।

    • तयारी सम्पन्न नभएका आयोजनामा बजेट प्रस्ताव नगर्ने। नयाँ आयोजनाको अध्ययनका लागि बजेट प्रस्ताव गर्ने ।

    • दीगो विकास, लैंगिक र जलवायू परिवर्तनका सूचकहरुमा क्रियकलापमा नै कोडिङ गर्ने ।

    •सशर्त अनुदानतर्फका प्रदेशबाट कार्यान्वयन गरिने आयोजना र कार्यक्रममा सम्बन्धित क्षेत्रगत मन्त्रालयसँग छलफल गरिने ।

    • ५० करोड भन्दा बढी लागतका आयोजना परियोजना बैंकमा समावेश भएको हुनुपर्ने ।

    • चालु आर्थिक वर्षको कार्यसम्पादनलाई बजेट छलफलको आधार बनाइने ।

    • चालु वर्षमा सिर्जित दायित्व सकेसम्म अर्को वर्ष नसार्ने ।

    • आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र नियमावलीका विषयमा लेखा उत्तरदायी अधिकारीले जिम्मेवारी लिनुपर्ने ।

    • सार्वजनिक खर्चमा मितव्ययिता सम्बन्धि मापदण्डको पालना गर्ने ।

    • कार्य सञ्चालन खर्चमा सकभर बजेट वृद्धि प्रस्ताव नगर्ने ।

    • भौतिक प्रगतिको अनुमान गरेर मात्र बजेट छलफलमा पठाउने ।

    • बजेट बक्तव्यमा समावेश गर्ने विषयको मस्यौदा तयार गरी पठाउने। आर्थिक सर्भेक्षण र वार्षिक प्रतिवेदनका लागि आवश्यक तथ्यांकहरु समयमानै पठाउने ।

     

     

     

  • अर्थ मन्त्रालयलाई राहत- संसद पुनःस्थापनाले ५० अर्बको बोझ हट्यो

    अर्थ मन्त्रालयलाई राहत- संसद पुनःस्थापनाले ५० अर्बको बोझ हट्यो

    काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनको मुद्दालाई बदर गरिदिएपछि राज्यलाई चुनावी खर्चको भार घटेको छ । चुनावका लागि निर्वाचन आयोगले ४० देखि ५० अर्ब रुपैयाँ खर्च हुने बताउँदै आएको थियो ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अर्धवार्षिक समीक्षामार्फत निर्वाचन आयोगले प्रारम्भिक रूपमा ७ अर्ब बजेट माग गरेकोमा स्रोतको सुनिश्चितता भइसकेको बताएका थिए । १७ र २७ वैशाख २०७८ मा हुने भनिएको निर्वाचन रद्द भएपछि यो रकम निर्वाचन आयोगमा पठाउनुपर्ने छैन । साथै, अरू ठूलो रकमको जोहो गर्नुपर्ने बोझबाट अर्थ मन्त्रालय मुक्त भएको छ ।

    यस वर्ष चुनावको नियमित तालिका नभएकाले चालु आर्थिक वर्षको बजेटमा यसका लागि कुनै रकम छुट्याइएको थिएन । तर, प्रधानमन्त्रीले हठात् संसद भंग गरेपछि राष्ट्रिय ढुकुटीमा दबाब परेको थियो ।

    बजेट खर्चकै जोहोका लागि अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षामार्फत चालु खर्च ९६.४ प्रतिशतमा सीमित गर्ने रणनीति लियो । त्यसबाट बचेको रकम तथा चैत १५ गतेसम्म ‘सरेन्डर’ भएका परियोजनाको रकम निर्वाचनका लागि दिने योजना बनाइएको थियो ।

    चुनाव नहुने भएपछि निर्वाचन आयोगले सृजना गरेको दायित्व बाहेक अन्य रकम निकासा दिनु नपर्ने अर्थ मन्त्रालयले जानकारी दिएको छ । हालसम्म आयोगले निर्वाचनको तयारीका लागि करीब ३२ देखि ३५ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

    अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख धनीराम शर्मा निर्वाचन आयोगको निर्देशिकामा मात्रै सहमति जनाएको तर बजेट निकासा नदिएको बताउँछन् ।

    ‘७ अर्बमध्ये आयोगले तत्काल करीब ३२ करोड रुपैयाँ माग भएको थियो । आयोगले सिर्जना गरेका खर्चको दायित्वको भुक्तानी अर्थ मन्त्रालयले दिन्छ । त्योबाहेक दिनुपर्दैन’, शर्माले भने ।

    सरकारले यो आर्थिक वर्ष कुल बजेटको ९१.१९ प्रतिशत अर्थात् १३ खर्ब ४४ अर्ब मात्रै खर्च हुने बताइसकेको छ । त्यसैले सरकारले चुनावका लागि स्रोत व्यवस्थापन गरेको खर्च अब नियमित बजेट खर्चमा रूपान्तरण हुने अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

    चुनाव भएको भए ?

    राजनीतिक क्षेत्र र जनमानसमा तीव्र विरोध भएपछि चुनावलाई लिएर निजी क्षेत्रको एउटा पंक्ति चाहिं उत्साहित थियो । आमचुनावले देशको अर्थतन्त्रलाई चलायमान बनाउने र उद्योग–व्यवसाय मौलाउने आशा उनीहरूले गरेका थिए ।

    राज्यको ढुकुटीबाट चुनावका लागि हुने खर्चको ठूलो हिस्सा देशभित्रै रहन्छ । करीब ५० अर्बको हाराहारी रकम यसरी बजारमा प्रवाहित हुँदा कोरोनाले सुस्ताएको अर्थतन्त्र गतिमान बन्न सक्ने विश्लेषण कतिपय अर्थशास्त्रीले पनि गरेका थिए । तर, त्योभन्दा राज्यको ५० अर्ब जोगिनु सुखद कुरा भएको बताउँछन् अर्थविद् केशव आचार्य ।

    ‘सरकारले ५० अर्ब खर्च गर्दा त्यही अनुसारका आर्थिक गतिविधि हुनेथिए । निर्वाचनको प्रचारप्रसारका लागि राजनीतिक दलहरूले मुलुकभर चुनावी कार्यक्रम गर्ने भएकाले शहरदेखि ग्रामीण क्षेत्रको अर्थतन्त्र चलायमान हुनसक्थ्यो ।

    चुनावले वस्तु तथा सेवाको माग बढाउने भएकाले आयात पनि बढ्न सक्थ्यो । सँगै सरकारलाई भन्सारबाट प्राप्त हुने राजस्व पनि बढ्न सक्थ्यो । तर अर्थतन्त्रमा उत्पादन र उत्पादकत्व भने बढाउने थिएन ।

    बरु चुनाव भएको भए अर्थतन्त्रमा चर्को मूल्यवृद्धिको सम्भावना थियो । अनौपचारिक तथा अवैध रकमहरू अर्थतन्त्रमा आउँदा त्यसले अस्थिरता बढाउने संभावना थियो । राज्यको ढुकुटीको रकम जोगिएको छ । यसलाई निर्वाचन नहुँदाको फाइदाको रूपमा लिन सकिन्छ, उनले भने ।

    अर्का अर्थविद् चन्द्रमणि अधिकारी भने चुनाव हुनु र नहुनुले नेपालको अर्थतन्त्रमा खासै तात्विक फरक नपार्ने बताउँछन् ।

    ‘अहिले कोभिडको कारण विश्व अर्थतन्त्र नै ऋणात्मक अर्थात् मन्दीको गहिरो चपेटामा छ । नेपालको अर्थतन्त्रमा पनि कोभिडले ठूलो क्षति पुर्‍याएको छ । त्यसैले ५० अर्ब रुपैयाँ खर्च हुनु हात्तीको मुखमा जीरा जस्तै हो,’

    उनले थपे, ‘म गणितीय रूपमा अर्थतन्त्रमा यही हुन्छ भन्न सक्दिनँ तर पछिल्लो राजनीतिक अस्थिरतासँग निर्वाचन जोडिएको थियो । त्यसले उद्योगी/व्यवसायी तथा लगानीकर्तामा उत्साहको अवस्था थिएन । फेरि नेपालको प्रशासन संयन्त्र पनि ठीक छैन र यसले स्थायी सरकारको रूपमा काम गर्न सकेको छैन । निर्वाचन भएको भए कर्मचारीतन्त्रमा विचलन आउने हुँदा त्यसले अर्थतन्त्रमा नराम्रो असर गर्न सक्थ्यो ।’

  • राजनीतिक अन्योलबीच बजेटको गृहकार्य शुरु, योजना आयोगले पठायो सिलिङ

    राजनीतिक अन्योलबीच बजेटको गृहकार्य शुरु, योजना आयोगले पठायो सिलिङ

    काठमाडौं । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा सकिएसँगै अर्थ मन्त्रालय आगामी बजेटको तयारीमा जुटेको छ । संसद विघटनपछि उत्पन्न राजनीतिक अन्योलका बीच मन्त्रालयका अधिकारीहरुले बजेटको गृहकार्य थालेका हुन् ।

    नेपालको संविधान अनुसार हरेक वर्ष जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्रीले संसद बैठकमा बजेट भाषण गर्ने परम्परा रहे पनि यसपालि प्रतिनिधिसभा विघटित अवस्थामा भएकाले अध्यादेशमार्फत बजेट ल्याउनुपर्ने हुन्छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेको खण्डमा भने राजनीतिले नयाँ मोड लिनेछ र त्यसले बजेट निर्माण प्रक्रिया प्रभावित बन्न सक्छ । अहिले चाहिं यही सरकार कम्तीमा जेठ १५ सम्म जान्छ भन्ने हिसाबले बजेटको छलफल थालिएको स्रोतले बतायो ।

    सामान्यतः बजेट निर्माण प्रकृयामा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र सम्बन्धित विषयगत मन्त्रालयहरु संलग्न रहन्छन् । यसमा अर्थ मन्त्रालयले नेतृत्वदायी भूमिका निर्वाह गर्छ । विष्णु पौडेल अर्थमन्त्री भएपछि उनले ल्याउने यो पहिलो बजेट हुनेछ । १५ औं योजना, राज्यको मार्गनिर्देशक सिद्धान्त, दिगो विकासको लक्ष्य र सरकारले लिएका अन्य लक्ष्यहरुलाई आधार बनाई आगामी आर्थिक वर्षको बजेट बनाइने अर्थ मन्त्रालयले जनाएको छ ।

    राष्ट्रिय योजना आयोगले विषयगत मन्त्रालयसँग नयाँ परियोजना, चलिरहेको परियोजना र आवश्यक खर्चका सम्बन्धमा छलफल सकेर बजेटको सिलिङ अर्थ मन्त्रालयमा पठाइसकेको स्रोतले बतायो । आयोगले सिलिङ निर्धारण गरेपछि स्रोत व्यवस्थापनका लागि अर्थ मन्त्रालयले छलफल थालेको छ ।

    चालु आवको बजेट खर्चको आधारमा आयोगले पठाएको सिलिङमा तलमाथि हुन सक्ने बताइएको छ । अर्थ मन्त्रालयले मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाई १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ खर्च हुने संशाेधित अनुमान गरेको थियो । उक्त संशोधित अनुमानअनुसार रकम खर्च हुन सक्यो भने सिलिङमा केही रकम थप भएर आउन सक्ने अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ‘ठ्याक्कै यतिकै सिलिङ आउँछ भन्न सकिने अवस्था छैन, बजेट कति खर्च हुन्छ भन्नेमा पनि भर पर्छ’ उनले भने ।

    अर्थ मन्त्रालयका प्रवक्ता डा. रामप्रसाद घिमिरेले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रकृया शुरु भएको बताए । ‘प्रदेशका आर्थिक मामिला सल्लाहकारहरुलाई बाेलाएर एक चरणको छलफल भइसकेको छ । अब पूर्व अर्थसचिवहरुलाई बाेलाएर छलफल गर्दैछौं। योजना आयोगले बजेटको सिलिङ पठाइसकेको हुँदा अब बजेट निर्माणको प्रकृया शुरु भयो भन्दा फरक पर्दैन’ घिमिरेले भने ।

    तथ्यांक, सूचना र विवरण संकलन तथा परामर्श, राय, सल्लाह र सुझाव लिने काम भइरहेको प्रवक्ता घिमिरेले बताए । बजेट तयारीमा अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा, राजस्व व्यवस्थापन महाशाखा, अन्तर्राष्ट्रिय आर्थिक सहायता महाशाखा, आर्थिक नीति विश्लेषण महाशाखा, योजना अनुगमन तथा मूल्यांकन महाशाखाको महत्वपूर्ण भूमिका हुन्छ ।

    पूर्व सचिव महेश दाहालको संयोजकत्वमा रहेको राजस्व परामर्श समितिको नेतृत्वमा भन्सार विभाग र आन्तरिक राजस्व विभागले बजेटका लागि स्रोत व्यवस्थापनको छलफल गरिरहेका छन् । यो आवको बजेट निर्माणमा राजस्व परामर्श समितिले अहम् भूमिका खेल्दैछ । समितिको नेतृत्वमा आन्तरिक राजस्व विभाग र भन्सार विभागले आगामी बजेटका लागि स्रोतको व्यवस्थापन तथा राजस्व स्रोतको पहिचान गर्नेछन् ।

    भन्सार विभागले सम्बन्धित सबै सरोकारवाला उद्योगी–व्यवसायीसँग भन्सारका दरहरु तथा भन्सार शुल्क संकलन सम्बन्धी विषयमा छलफल भइरहेको जनाएको छ ।

    विभागका महानिर्देशक सुमन दाहालले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रकृया विगतका भन्दा फरक र नयाँ तरिकाले अगाडि बढेको नेपाल प्रेसलाई बताए ।

    ‘नेपालको इतिहासमा पहिलोपटक राजस्व परामर्श समितिको नेतृत्वमा हामीले बजेट निर्माण प्रकृया अगाडि बढाएका छौं। आन्तरिक राजस्व विभाग र भन्सार विभागले आगामी वर्षको स्रोत व्यवस्थापन कसरी गर्न सकिन्छ, करको संरचना कस्तो हुनसक्छ र कुन–कुन क्षेत्रका करका दरहरु परिवर्तन गर्न सकिन्छ भन्नेलगायत विषयमा छलफल गरिरहेका छन्’ उनले भने ।

    आर्थिक विधेयकहरूको अनुसूची, वैदेशिक सहायता संलग्न आयोजनाहरूको श्रोत पुस्तिका, बजेट वक्तव्यको प्रारम्भिक मस्यौदा रातो पुस्तिका, सार्वजनिक संस्थानको प्रगति विवरण अर्थात् पहिलो पुस्तिका, आर्थिक सर्भेक्षण, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक, आर्थिक विधेयक र पेश्की खर्च विधेयकलगायतका पुस्तिकाहरुको विषयमा प्रारम्भिक छलफल शुरु भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

    राजनीतिक अन्योलको असर

    संसद विघटनपछि विकसित नयाँ राजनीतिक परिस्थितिले पनि बजेट निर्माणमा केही अन्योल थपेको छ । विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले के फैसला गर्छ भन्नेले बजेट निर्माणलाई प्रभावित तुल्याउन सक्छ ।

    यदि अदालतले संसद पुनर्स्थापनाको फैसला गर्‍यो भने त्यसपछि सरकारकै भविष्य संकटमा पर्नेछ । नयाँ सरकार बनेमा त्यसले फेरि शून्यबाट छलफल शुरु गर्न सक्छ ।

    संसद पुनर्स्थापना भएन र तोकिएको समयमै निर्वाचन भयो भने त्यसपछि बन्ने नयाँ संसदमा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ । निर्वाचनपछि बन्ने सरकारले त्यो बजेटलाई अन्तिम रुप दिनेछ ।

    समयमा नै चुनाव भएन र निर्वाचनको मिति सार्यो भने हालका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नै अध्यादेशमार्फत बजेट प्रस्तुत गर्नेछन् । चुनावी आचारसंहिता लागू हुने कारणले गर्दा यसरी आउने बजेटमा कुनै पनि नयाँ आयोजना प्रस्तुत गर्न मिल्दैन । विगतका परियोजना र अनिवार्य दायित्व वहन गर्नका लागि कामचलाउ बजेट आउन सक्छ ।

    राजनीतिक डिस्कोर्समा आउने परिवर्तनअनुसार बजेट प्रस्तुत हुने अर्थमन्त्रीका आर्थिक सल्लाहकार प्रकाश श्रेष्ठ बताउँछन् । चुनाव हुने अवस्था सृजना भयो भने नयाँ संसदमा नयाँ सरकारद्वारा बजेट प्रस्तुत हुने उनको भनाइ छ ।

    ‘समयमा चुनाव भएमा नयाँ सरकारले बजेट प्रस्तुत गर्छ, भएन भने अध्यादेशमार्फत बजेट आउँछ’ श्रेष्ठले भने, ‘सो बजेट अनिवार्य दायित्व र पुराना आयोजनाका लागि आवश्यक खर्च व्यवस्थापनमा मात्रै केन्द्रित हुनेछ ।’

    विगतको दृष्टान्त

    २०५१ सालमा तत्कालीन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफ्नै पार्टीका सांसदले असहयोग गरेका थिए । त्यसपछि कोइरालाले संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरे । संसद विघटन भएपछि तत्कालीन अर्थ राज्यमन्त्री महेश आचार्यले २०५१ साल असार ३१ गते अध्यादेशमार्फत आर्थिक वर्ष २०५१–५२ को बजेट प्रस्तुत गरेका थिए ।

  • अर्थमन्त्री र फिल्मकर्मी भेट : बजेटमा सरकारले फिल्मलाई कर र भन्सारमा सहुलियत दिने

    अर्थमन्त्री र फिल्मकर्मी भेट : बजेटमा सरकारले फिल्मलाई कर र भन्सारमा सहुलियत दिने

    काठमाडौं । कोभिड प्रभावित राहत, भन्सार र मनोरञ्जन करमा छुट लगायतका माग राख्दै नेपाली फिल्मकर्मीको डेलिगेसनले अर्थमन्त्री विष्णु पौडेललाई भेट गरेको छ ।

    अर्थ मन्त्रालयमा आयोजित भेटमा चलचित्र संघका पूर्वअध्यक्षहरु र पदाधिकारी सहभागि थिए । सरकारले फिल्म क्षेत्रलाई कोभिड प्रभावित क्षेत्रको रुपमा सूचिकृत गरेपनि अर्थ मन्त्रालयमा आएर फाइल रोकिएको थियो ।

    सरकारकै उक्त निर्णयलाई कार्यान्वयन गर्नुपर्ने माग फिल्मकर्मीले गरेका थिए । नेपाल प्रेससँग कुरा गदै चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानले यो मागमा अर्थमन्त्री सकारात्मक भएको र चाँडै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    भारतबाट ल्याइने फिल्म निर्माण र हलका उपकरण भन्सार मिनाहा गर्न पनि संघले माग गरेको छ । दुईवर्षदेखि फिल्म उपकरण नेपालमा आयात हुन सकेको छैन । यसअघि साढे दुई प्रतिशत भन्सार शुल्क र चलचित्र विकास बोर्डको सिफारिस भए सरकारले ल्याउन अनुमति दिन्थ्यो ।

    केही वर्षको लागि भएपनि चलचित्र क्षेत्रलाई करमुक्त गर्न पनि संघले माग राखेको छ । साथै, मनोरञ्जन कर मिनाहा गर्नुपर्ने माग छ । अहिले विभिन्न शीर्षकमा ३३ प्रतिशत कर फिल्म व्यवसायीले सरकारलाई बुझाइरहेका छन् । कर र भन्सार सम्बन्धी मागलाई आगामी बजेटमा सम्बोधन गर्ने प्रतिबद्धता अर्थमन्त्री पौडेलले व्यक्त गरेका छन् ।

    भेटमा काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापित, चलचित्र संघका पूर्व अध्यक्षहरु नकिम उद्दिन, प्रदीप उदय लगायत सहभागि थिए ।

  • ६ महिनाको बजेट खर्चः कुन मन्त्रालयको कति ?

    ६ महिनाको बजेट खर्चः कुन मन्त्रालयको कति ?

    काठमाडौं । सरकार आफैंले एक वर्षका लागि छुट्याएको विकास बजेट खर्च गर्न नसक्ने दीर्घरोगको अझै उपचार हुनसकेको छैन । यसपालि त झन् कोरोनाको बहाना मिलेको छ ।

    आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले १४ खर्ब ४६ अर्बको बजेट सार्वजनिक गरेको थियो । त्यसमा चालु खर्च ९ खर्ब १४ अर्ब, पूँजीगत खर्च २ खर्ब ८३ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान छ । महत्वाकांक्षी बजेट ल्याए पनि सो अनुरूप खर्च गर्न नसक्दा सरकारले बजेटको आकार नै घटाएको छ ।

    आर्थिक वर्षको पहिलो ६ महिनाको आँकडा हेर्ने हो भने पूँजीगत खर्चको अवस्था नाजुक देखिन्छ । अर्थ मन्त्रालयका अनुसार साउनदेखि पुस मसान्तसम्मको अवधिमा केवल १४ प्रतिशतको हाराहारीमा खर्च भएको छ । बजेटको लक्ष्य हासिल गर्न अब बाँकी ६ महिनामा ८६ प्रतिशत खर्च गर्नुपर्ने हुन्छ ।

    मन्त्रालयगत आधारमा हेर्दा अधिकांश मन्त्रालयको खर्च अवस्था सन्तोषजनक छैन । ६ महिनामा सबैभन्दा धेरै बजेट रक्षा मन्त्रालयले खर्च गरेको छ । सबैभन्दा थोरै खानेपानी मन्त्रालयले खर्च गरेको छ ।

    कुन मन्त्रालयको खर्च कति ?

    अर्थ मन्त्रालय
    अर्थ मन्त्रालयका लागि आर्थिक वर्ष २०७६/७७ का लागि ३४ अर्ब ५५ करोड ७० लाख बजेट विनियोजन भएकोमा ६ महिनासम्ममा ५ अर्ब २४ करोड १६ लाख अर्थात् १५.१७ प्रतिशत मात्रै खर्च भएको छ ।

    मन्त्रालयका अनुसार मिलेनियम च्यालेन्ज कर्पाेरेशनको सम्झौता संघीय संसदबाट अनुमोदन नभएको र सहुलियतपूर्ण कर्जाको व्याज अनुदान शोधभर्ना समयमै माग नभएको कारण मन्त्रालयको खर्च न्यून रहेको हो ।

    उद्योग, वाणिज्य तथा आपूर्ति
    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ का लागि १० अर्ब १८ करोड ६४ लाख बजेट विनियोजन भएकोमा ६ महिनासम्ममा १ अर्ब ७९ करोड ८२ लाख अर्थात् १७.६५ प्रतिशत खर्च भएको छ ।

    औद्योगिक ग्रामको रकम खर्च नभएको र बीउ पूँजी कोषको कार्यक्रम सञ्चालनमा ढिलाइ हुनुलगायतका कारणले विनियोजित रकमको खर्च कम भएको सरकारको अर्धवार्षिक बजेट समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

    कृषि तथा पशुपन्छी विकास
    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि आर्थिक वर्ष २०७६/७७ का लागि २९ अर्ब ३२ करोड ७६ लाख विनियोजन भएको थियो । यसमध्ये पहिलो ६ महिनासम्ममा ८ अर्ब २१ करोड ९७ लाख अर्थात् २८.०३ प्रतिशत खर्च भएको छ ।

    प्रतिवेदनका अनुसार अनुदान निर्देशिका निर्माणमा ढिलाइ, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयनमा भएको विलम्ब, स्थानीय तहमा निर्माण हुने खाद्य भण्डार सम्बन्धी कार्यमा ढिलाइ हुँदा खर्च कम भएको हो ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि आर्थिक वर्ष २०७६/७७ का लागि ८ अर्ब २२ करोड ६९ लाख विनियोजन भएको थियो । यसमध्ये आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब ९७ करोड ७५ लाख अर्थात् २४.०३ प्रतिशत मात्रै खर्च भएको छ ।

    प्रतिवेदन अनुसार स्थलगत नापी कार्यक्रम कार्यान्वयनमा भएको ढिलाइ तथा भूमि बैंक सम्बन्धी कानून र कार्यविधि निर्माणमा ढिलाइ तथा गरिब पहिचान र परिचयपत्र वितरणको कार्य समयमा नै सञ्चालन नभएको कारण खर्च कम भएको हो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा
    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ का लागि ८ अर्ब ३९ करोड ४० लाख विनियोजन भएको थियो । विनियोजन भएको बजेट मध्ये १ अर्ब २ करोड ७२ लाख अर्थात् १२.२४ प्रतिशत मात्रै पहिलो ६ महिनामा खर्च भएको छ ।

    प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट स्थानीय तहमा हस्तान्तरण हुन ढिलाइ भएकाले सो मन्त्रालयको खर्च कम भएको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

    वन तथा वातावरण
    वन तथा वातावरण मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ का लागि १२ अर्ब ५७ करोड १८ लाख विनियोजन भएकोमा ३ अर्ब ५९ करोड ५९ लाख अर्थात् २३.९१ प्रतिशत मात्रै पहिलो ६ महिनामा खर्च भएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
    संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ का लागि ५ अर्ब ६६ करोड २८ लाख विनियोजन भएको थियो । विनियोजन भएको बजेटबाट १ अर्ब ६५ करोड ४२ लाख अर्थात् २९.२१ प्रतिशत मात्रै पहिलो ६ महिनामा खर्च भएको छ ।

    प्रतिवेदन अनुसार बजेट बाँडफाँट समयमा नै हुन नसक्नु, पर्यटन पूर्वाधार विकास र स्थानीय लागत कम साझेदारी पर्यटन पूर्वाधार निर्माणमा विनियोजित रकम खर्च नहुँदा खर्च कम भएको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासन
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ का लागि २९ अर्ब ९ करोड २६ लाख विनियोजन भएको थियो । विनियोजन भएको बजेटबाट पहिलो ६ महिनासम्ममा २ अर्ब ७८ करोड ८७ लाख अर्थात् १३.९४ प्रतिशत मात्रै खर्च भएको छ ।

    प्रादेशिक तथा स्थानीय सडक पूर्वाधार विकासका कार्यक्रम र स्थानीय तहको प्रशासकीय भवन निर्माणमाा ढिलाइ भएको कारणले खर्च कम भएको समीक्षा प्रतिवेदनमा जनाइएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिंचाइ
    ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका लागि आर्थिक वर्ष २०७६/७७ का लागि ४१ अर्ब ५१ करोड २९ लाख विनियोजन भएको थियो । पहिलो ६ महिनामा ५ अर्ब ७८ करोड ८७ लाख अर्थात् १३.९४ प्रतिशत मात्रै खर्च भएको छ ।

    प्रतिवेदन अनुसार वैकल्पिक ऊर्जाको कार्यविधि समयमा संशोधन नहुनु र नदी जन्य सामग्रीको उपलब्धतामाा कठिनाई तथा विद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने मेसिनरी तथा उपकरण समयमा नै नआएको कारण सो मन्त्रालयको खर्च कम भएको हो ।

    सञ्चार तथा सूचनाप्रविधि
    सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका लागि आर्थिक वर्ष २०७६/७७ का लागि ७ अर्ब १३ करोड ४२ लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेटबाट पहिलो ६ महिनासम्ममा २ अर्ब ६ करोड ३ लाख अर्थात् २८.८८ प्रतिशत मात्रै खर्च भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात
    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आर्थिक वर्ष २०७६/७७ का लागि १ खर्ब ३४ अर्ब २९ करोड ४४ लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेट पहिलो ६ महिनासम्ममा २५ अर्ब २७ करोड २२ लाख अर्थात् १८.८२ प्रतिशत मात्रै खर्च भएको छ ।

    वैदेशिक स्रोतको उपयोग प्रभावकारी नहुनु, सरकारी वनको समस्या तथा पोल र खानेपानीको पाइप स्थानान्तरणमा समस्या रहेको कारणले सो मन्त्रालयको खर्च कम भएको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

    शहरी विकास
    शहरी विकास मन्त्रालयमा आर्थिक वर्ष २०७६/७७ का लागि २३ अर्ब २० करोड ६१ लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेटबाट ७ अर्ब ६० करोड १७ लाख अर्थात् २३.६० प्रतिशत मात्रै पहिलो ६ महिनामा खर्च भएको छ ।

    प्रतिवेदन अनुसार सुरक्षित नागरिक आवास कार्यक्रम र विशेष भवन निर्माणमा ढिलाइ भएको तथा सघन शहरी विकास कार्यक्रम कार्यान्वयन समयमा नै हुन नसकेको कारणले सो मन्त्रालयको खर्च कम भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि आर्थिक वर्ष २०७६/७७ का लागि ६० अर्ब ६७ करोड ८८ लाख बजेट विनियोजन भएको थियो । सो आवको पहिलो ६ महिनासम्ममा ११ अर्ब २२ करोड ५० लाख अर्थात् १८.५ प्रतिशत मात्रै खर्च भएको छ ।

    प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम र परिवार कल्याण कार्यान्वयनमा ढिलाइ भएको छ । अधिकांश रकम सशर्त अनुदान वापत वित्तीय हस्तान्तरण भएको तर रकम खर्च नभइसकेकोले अपेक्षित खर्च हुन नसकेको हो ।

    शिक्षा, विज्ञान तथा प्रविधि
    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आर्थिक वर्ष २०७६/७७ का लागि ५५ अर्ब ८६ करोड ८९ लाख बजेट विनियोजन भएकोमा पहिलो ६ महिनामा १९ अर्ब ३१ करोड १९ लाख अर्थात् ३४.५७ प्रतिशत मात्रै खर्च भएको छ ।

    खानेपानी
    खानेपानी मन्त्रालयका लागि आर्थिक वर्ष २०७६/७७ मा २८ अर्ब ८ करोड १० लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेटमध्ये पहिलो ६ महिनामा २ अर्ब ५४ करोड १६ लाख अर्थात् ९.०५ प्रतिशत मात्रै खर्च भएको छ ।

    खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले कोरोनाको कारणले पहिलो ६ महिनामा ९.०५ प्रतिशत मात्रै बजेट खर्च भएको बताए ।

    उनले भने, ‘कोरोनाको कारणले जनशक्तिको अभाव भएपछि काम हुन सकेन । त्यसैले बजेट कम खर्च भएको हो ।’ मन्त्रालयको दोस्रो चौमासदेखि मात्रै बजेट खर्च धेरै हुने गरेकोले पनि अब बजेट खर्च हुने समय आएको उनले बताए ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा आर्थिक वर्ष २०७६/७७ का लागि ८५ करोड ८९ लाख बजेट विनियोजन भएकोमा पहिलो ६ महिनामा १३ करोड ९७ लाख अर्थात् १३.२७ प्रतिशत मात्रै खर्च भएको छ ।

    पूर्व तयारीविना प्रस्ताव भएका कार्यक्रमहरू कार्यान्वयन नहुँदा खर्च कम भएको हो ।

    युवा तथा खेलकुद
    युवा तथा खेलकुद मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ का लागि १ अर्ब ८३ करोड ९५ लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेटबाट ६ महिनामा ३६ करोड ४५ लाख अर्थात् १९.८२ प्रतिशत मात्रै खर्च भएको छ ।

    रक्षा
    रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ का लागि ५० अर्ब २५ करोड ८६ लाख बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमा सबैभन्दा धेरै खर्च सो मन्त्रालयको भएको छ । पहिलो ६ महिनामा २२ अर्ब ७३ करोड ९८ लाख अर्थात् ४५.८५ प्रतिशत खर्च भएको छ ।

    गृह 
    गृह मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ का लागि १ खर्ब ३५ अर्ब ९८ करोड ८३ लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेटबाट पहिलो ६ महिनामा ५२ अर्ब ७९ करोड ३४ लाख अर्थात् २२.९९ प्रतिशत मात्रै खर्च भएको छ ।

    कानून, न्याय तथा संसदीय व्यवस्था
    कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ का लागि ४७ करोड ८७ लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेटबाट पहिलो ६ महिनामा ११ करोड अर्थात् २२.९९ प्रतिशत मात्रै खर्च भएको छ ।

    परराष्ट्र 
    परराष्ट्र मन्त्रालयको आर्थिक वर्ष २०७६/७७ का लागि ६ अर्ब २८ करोड ९८ लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको पहिलो ६ महिनामा २ अर्ब ७० करोड ८१ लाख अर्थात् ४३.०६ प्रतिशत खर्च भएको छ ।

  • बजेटको अर्धवार्षिक समीक्षा : आकार घटाइयो, कोभिडविरुद्ध खोप र निर्वाचन प्राथमिकता

    बजेटको अर्धवार्षिक समीक्षा : आकार घटाइयो, कोभिडविरुद्ध खोप र निर्वाचन प्राथमिकता

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अर्थमन्त्रालयमा आयोजित अर्धवार्षिक समीक्षामा अर्थमन्त्री विष्णु पौडेलले सरकारको प्राथमिकता निर्वाचन र कोभिडविरुद्धको खोपमा रहेको समेत बताए ।

    ६ महिनाको बजेट खर्चको अनुमानका आधारमा यस आर्थिक वर्षको बजेट १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँको मात्र हुने अर्थ मन्त्रालयले जनाएको छ । यसमा अनिवार्य दायित्व र पूर्वसहमति दिइएका आयोजनाको बजेट कटौती नहुने मन्त्री पौडेलले बताएका छन् ।

    संशोधित अनुमानअनुसार चालु खर्च ९ खर्ब १४ अर्ब, पूँजीगत खर्च २ खर्ब ८३ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब रूपैयाँ विनियोजन गरिएको छ ।

    सरकारले पछिल्लो तीन वर्षदेखि निरन्तर बजेटको आकार समीक्षामा घटाएको छ । शुरुमा  महत्त्वाकांक्षी बजेट ल्याउने र त्यो कार्यान्वयन गर्न नसकेपछि आकार घटाउने गरेको हो । अघिल्ला अर्थमन्त्री डा. युवराज खतिवडाले दुईवटा बजेटको आकार घटाएका थिए।

     

  • कोरोनाको बजेट स्थानीयतहमा भत्ता र आन्तरिक व्यवस्थापनमै सकियो

    कोरोनाको बजेट स्थानीयतहमा भत्ता र आन्तरिक व्यवस्थापनमै सकियो

    काठमाडौं  । ओखलढुङ्गाका स्थानीय तहमा कोरोना व्यवस्थापन शीर्षकमा गरिएको खर्च अनियमितता भएको बताइएको छ ।

    विश्वमै महामारीका रूपमा फैलिएको कोरोनाको सङ्क्रमण रोकथामका लागि छुट्टै कोष खडा गरेर खर्च गरेका स्थानीय तहले सङ्क्रमण रोकथामका ठोस योजनामा भन्दा आन्तरिक व्यवस्थापनका शीर्षक र कर्मचारी भत्तामा बढी रकम खर्चे गरेका छन् ।

    कोरोना कहरमा काम गरेको भनेर मानेभञ्ज्याङ गाउँपालिकाका ७१ कर्मचारीले १५ लाख ८३ हजार ५८६ रुपैयाँ भत्ता बुझेका छन् ।

    कोरोना रोकथाममा ३८ लाख ५२ हजार ९३९ खर्च गरेको मानेभञ्ज्याङले क्वारेन्टिन निर्माणमा दुई लाख ९१ हजार ८५० रुपैयाँ र औषधिजन्य सामग्री खरिदमा चार लाख ७८ हजार ८७६ रुपैयाँ खर्च गरेको छ ।

    अन्य रकम कर्मचारी भत्ता, खाद्यान्न खरिदलगायतका विविध शीर्षकमा खर्चिएको छ । खिजीदेम्बा गाउँपालिकाले कोरोना कहर शुरु भएको २०७६ चैतदेखि २०७७ असारसम्ममा करिब ९० लाख रुपैयाँ रकम खर्च गरेको छ ।

    कोरोना सङ्क्रमण रोकथाम शीर्षकबाट चार महिनामा ८९ लाख ४४ हजार ९७९ रुपैयाँ खर्च गरेको खिजीदेम्बा गाउँपालिकाले जोखिम भत्ता रु ११ लाख ३२ हजार ३५० कर्मचारीलाई वितरण गरेको छ ।

    स्वास्थ्यकर्मी जोखिम भत्ता शीर्षकमा गाउँपालिकामा खटिएका सबै स्वास्थ्यकर्मी र केही कर्मचारीलाई जोखिम व्यवस्थापनमा खटिएवापत ५० प्रतिशतदेखि शतप्रतिशत भत्ता दिइएको छ ।

    कोरोना कहरमा जिल्लामा सबैभन्दा बढी करिब ९० लाख रुपैयाँ रकम खर्च गरेको खिजीदेम्बा गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समन्वय समितिको बैठक भत्ता र खाजा, खाना शीर्षकमा ९२ हजार ८९२ रुपैयाँ खर्च विवरण सार्वजनिक गरेको छ ।

    गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेविकासहितको संरचना हुँदाहुँदै कोरोना रोकथामका लागि सूचना सहजकर्ता राखेर पारिश्रमिकमा सात लाख ५३ हजार १३१ रुपैयाा खर्च गरेको छ ।

    नौ वडा रहेको खिजीदेम्बामा प्रत्येक वडामा दुईका दरले १८ जना सूचना सहजकर्ता दुई महिनासम्म परिचालन गरेको थियो । कोरोना कहरमा अलपत्र परेका नागरिकको अवस्था पहिचान, वडा–वडामा रहेका दीर्घरोगी, अशक्त र असङ्गठित क्षेत्रका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्न, राहत वितरणमा सहयोेग गर्न, विपद् तथा उद्धारलगायतका काम गर्न सहजकर्ता राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलको भनाइ छ ।

    कर्मचारी भत्तामा ११ लाख ३२ हजार ३५० रुपैयाँ र सूचना सहजकर्ता परिचालनमा सात लाख ५३ हजार १३१ रुपैयाँ खर्च गरेको खिजीदेम्बाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सम्बन्धित कर्मचारीका लागि अत्यावश्यक सूचना प्रवाहका लागि सञ्चार खर्च ७७ हजार ५०० रुपैयाँ भुक्तानी दिएको छ ।

    सन्देशमूलक सूचना प्रवाह र गाउँ सचेतनाका लागि गरिएको माइकिङलगायत खर्च दुई लाख ९२ रुपैयाँ हजार छ । त्यसैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई अत्यावश्यक कार्यका लागि गाउँपालिका बाहिर र वडा टोलबस्तीमा जाँदाको सवारी भाडामा एक लाख ३५ हजार २१० रुपैयाँ खर्च गरेको छ ।

    खिजीदेम्बामा अलपत्र नागरिक उद्धारमा मात्रै १५ लाख ५३ हजार रुपैयाा खर्च भएको छ । ल्याब असिस्टेन्ट, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि भ्रमण भत्ता ८९ हजार ४२५ रुपैया गाउँपालिका, वडा, स्वास्थ्य संस्था तथा प्रहरी चौकीको संलग्नतामा बस्तीस्तरमा विभिन्न स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम, छपाइ र अन्य विविध खर्च ९८ हजार ३२० देखाइएको छ ।

    कोरोना कहरमा स्थानीय तहमा खटिएका कर्मचारीले मात्रै होइन, प्रहरीले समेत जोखिम भत्ता लिएको छ । जिल्लाका सिद्धिचरण नगरपालिका, मानेभञ्ज्याङ गाउँपालिका र खिजीदेम्बा गाउँपालिकाले प्रहरीलाई भत्ता दिने निर्णय गरेका थिए ।

    मानेभञ्ज्याङ र सिद्धिचरणले प्रहरीलाई दिएको रकमको विवरण सार्वजनिक गरेका छैनन् । खिजीदेम्बाले भने प्रहरी जोखिम भत्ता शीर्षकमा ६९ हजार ९६ रुपैयाँ खर्च देखाएको छ । कर्मचारीले भत्ता लिएको विषयले मानेभञ्ज्याङमा विवाद उत्पन्न भयो ।

    सबै कर्मचारीले समान हिसाबले भत्ता नपाएको भन्दै असन्तुष्टि बढेको थियो । राहत र सङ्क्रमण रोकथाममा भन्दा बढी भत्तामा रकम खर्च गरेको भनेर गाउँपालिकाका स्थानीयवासीले आलोचना गरेका छन् ।

    स्वास्थ्यका ४१ कर्मचारीले आठ लाख ४९ हजार २८६ रुपैयउाँ र आठ वडासचिवसहित गाउँपालिकाका ३० कर्मचारीले छ लाख ५४ हजार ३०० रुपैयाँ प्रोत्साहन भत्ताका रूपमा लिएको पाइएको छ ।

    पालिकाका विभिन्न वडाको स्वास्थ्यचौकीमा कार्यरत ४१ कर्मचारी र पालिकाका ३० गरी ७१ कर्मचारीले कोरोना भत्ता लिएका थिए । गाउँपालिका तथा जिल्लाकै मुख्य प्रवेशमार्ग हर्कपुरको हेल्थडेस्कमा खटिएका स्वास्थ्यका कर्मचारीलाई ८० हजार रुप्ैयाँ भत्ता दिइएको छ ।

    तीन महिनासम्म हेल्थडेस्कमा पालैपालो खटिएका २१ स्वास्थ्यकर्मीलाई दैनिक २५० का दरले भत्ता दिइएको गाउँपालिकाले जनाएको छ । कोरोना सन्त्रासको समयमा हर्कपुर हेल्थडेस्कमा खटिएका केही स्वास्थ्यकर्मीले अझै भत्ता पाएका छैनन् ।

    मानेभञ्ज्याङ–२ वाक्सा स्वास्थ्यचौकीका प्रमुख किशोर पोखरेलले दिने भनिएको भत्ता नपाएको गुनासो गरे । “हामी स्वास्थ्यकर्मीलाई काममा लगाउँदा भत्ता र खाजा खर्च पनि दिने भनियो तर पछि पालिकामा कार्यरत कर्मचारीले शतप्रतिशत भत्ता लिए  । स्वास्थ्यका कर्मचारीले कोरोना कहरको समयमा खटिएकाले प्रोत्साहन भत्ता लिनु स्वभाविक देखिए पनि वडा तथा गाउँपालिकाका कर्मचारीले प्रोत्साहन भत्ता लिनु अस्वाभाविक भएको स्थानीय युवा अर्जुन राईले बताए

    खर्च धेरै नतिजा कम
    ओखलढङ्गाका स्थानीय तहहरुले कोरोना नियन्त्रण तथा क्वारेन्टिन व्यवस्थापनमा करोडौँ रकम खर्च गरेका छन् । खर्च धेरै भए पनि त्यसको नतिजा भने कम देखिएको छ ।

    अधिकांश पालिकाले कारोना नियन्त्रण तथा क्वारेन्टिन निर्माण, व्यवस्थापनमा लाखौँ बजेट खर्च गरे पनि कुनै क्वारेन्टिन मापदण्डअनुसारका थिएनन् ।

    अहिले ती क्वारेन्टिन सबै हटाइसकिएको छ । जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा १९ लाख ८७ हजार ४० रुपैयाँ खर्च गरेको छ ।

    नगरपालिकाले पाँच लाख ७८ हजार ९३६ रुपैयाँ को औषधि खरिद गरेको सूचना अधिकारी नइन्द्रराज राईले जानकारी दिए । । क्वारेन्टिन स्थापनाका लागि दुई लाख १८ हजार ७३२ रुपैयाँ खर्च भएको छ । नगरपालिकाले ओखलढुङ्गा सदरमुकाममा रहेको ओखलढुङ्गा क्याम्पसमा ५० शय्याको क्वारेन्टिन स्थापना गरेको थियो ।

    लिखु गाउँपालिकाले कोरोना रोकथाम नियन्त्रण तथा उपचारको काममा १३ लाख ५७ हजार ८३० रुपैयाँ खर्च गरेको छ ।

    जिल्लाका स्थानीय तहहरुले गत आवमा नागरिक लक्षितभन्दा कर्मचारीको सेवा सुविधा र खरिदका शीर्षकमा बढी रकम खर्च देखाए पनि चालु आवको खर्च विवरण कुनै स्थानीय तहले सार्वजनिक गरेका छैनन् ।

    गत चैतमा कोरोनाको सङ्क्रमण शुरु भएलगत्तै जिल्लाका सबैजसो स्थानीय तहले छुट्टै कोरोना कोष स्थापना गरेका थिए । उक्त कोषमा सङ्घ र प्रदेश सरकारबाट प्राप्त कोरोना रोकथाम शीर्षकको रकम र आवश्यकताका आधारमा विकास बजेटलाई समेत रकमान्तर गरेर राखिएको थियो ।

    कोषमार्फत एकद्वार प्रणालीबाट कोरोना रोकथाममा खर्च गरेर गर्ने योजना सार्वजनिक गरेका स्थानीय तहले आन्तरिक व्यवस्थापनमा लाखौँ रकम खर्च गरेका छन् ।

    केही स्थानीय तहले विवरण सार्वजनिक गरेपछि सङ्क्रमण रोकथामका नाममा अनियमित खर्च भएको भनेर आलोचना शुरु भएपछि अन्य स्थानीय तहले विवरण लुकाएका छन् ।

     

  • लुम्बिनी प्रदेशः ५ महिनामा १५ प्रतिशत बजेट खर्च

    लुम्बिनी प्रदेशः ५ महिनामा १५ प्रतिशत बजेट खर्च

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ५ महिनामा (साउनदेखि मंसिरसम्म) १५ प्रतिशत बजेट खर्च गरेको छ ।
    जसमा चालु खर्च १९ दशमलव ३९ प्रतिशत रहेको छ भने पूँजीगत खर्च ११ दशमलव ९० प्रतिशत रहेको छ ।

    प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख दिपक ज्ञवालीका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले १५ अर्ब २ करोड २४ लाख ४८ हजार बजेट बिनियोजन गरेकोमा यो पाँच महिनामा २ अर्ब ११ करोड ३० लाख रुपैयाँ अर्थात १४ दशमलब शुन्य ७ प्रतिशत बजेट खर्च भएको छ ।

    त्यस्तै सामाजिक विकास मन्त्रालयले ५ अर्ब ६० करोड ५६ लाख ६१ हजार बजेटबाट १४ दशमलव ९८ प्रतिशत खर्च गरेको जानकारी दिएको छ ।

    त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४ अर्ब ७२ लाख ८६ हजार बजेटबाट १७ करोड ७४ लाख १७ हजार ९ अर्थात ४ दशमलव ४३ प्रतिशत बजेट खर्च गरेको छ ।

    २ अर्बको बजेट रहेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले पनि सोही समयमा १९ दशमलव ९३ प्रतिशत बजेट खर्च गरेको छ ।
    आर्थिक मामिला तथा योजना मन्त्रालयले १२ करोड ६९ लाख ९७ हजार बजेटबाट २ करोड खर्च भएको छ ।

    आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ७० करोडको बजेटबाट ४ करोड ८४ लाख ६ हजार १ सय ४ रुपैया अर्थात ६ दशमलव ८३ प्रतिशत बजेट खर्च भएको जानकारी दिएको छ ।

    प्रदेश सभा सचिवालयले २५ करोड ९९ लाख ९९ हजार बजेटमा ५ करोड अर्थात २१ दशमलव ७४ प्रतिशत बजेट खर्च गरेको छ ।

    चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३६ अर्ब ३५ करोड २५ लाखको बजेट विनियोजन गरेको छ ।