Tag: बजेट

  • प्रदेश २ : बजेट टेबल गर्न प्रतिपक्षीको अवरोध

    प्रदेश २ : बजेट टेबल गर्न प्रतिपक्षीको अवरोध

    जनकपुरधाम । प्रदेश २ सरकारले आगामी वर्षका लागि ल्याएको बजेट प्रतिपक्षी दलका सांसदहरुले टेबल गर्न अवरोध गरेका छन् । सांसद निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम बढाउनुपर्ने भन्दै उनीहरुले अवरोध गरेका हुन् ।

    आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले बजेट प्रस्तुत गरेपछि सभामुख सरोज यादवले ५:३० बजेसम्मका लागि सदन स्थगित गरेका थिए । त्यसपछि झण्डै डेढ घण्टा ढिलो बजेट टेबल गर्न बैठक बस्दा प्रतिपक्षी सांसदहरुले अवरोध गरेका हुन् ।

    सांसद सुन्दरबहादुर विश्वकर्माले बजेट फ्रिज हुनबाट जोगाउन समानुपातिक सांसदलाई २ करोड ५० लाख र निर्वाचित सांसदलाई ५ करोड बजेट निर्वाचन क्षेत्रको विकासका लागि दिनुपर्ने बताए ।

    सभामुख यादवले विरोध गर्न उभिएका प्रतिपक्षी सांसदहरुलाई बस्न आग्रह गरे पनि नमानेपछि १० मिनेटका लागि पुनः बैठक स्थगित गरिएको छ ।

  • लुम्बिनी प्रदेशद्वारा झण्डै ४१ अर्बको बजेट सार्वजनिक (पूर्णपाठ)

    लुम्बिनी प्रदेशद्वारा झण्डै ४१ अर्बको बजेट सार्वजनिक (पूर्णपाठ)

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

    आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले पेस गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख विनियोजन गरिएको जानकारी दिए ।

    स्थानीय तहमा वित्तिय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार रूपैयाँ विनियोजन गरिएको छ । गत वर्ष ३७ अर्ब ३५ करोडको बजेट सार्वजनिक गरिएको थियो ।

  • प्रदेश १ बजेट : आर्थिक वृद्धिदर ३.६ प्रतिशत पुग्ने अनुमान

    प्रदेश १ बजेट : आर्थिक वृद्धिदर ३.६ प्रतिशत पुग्ने अनुमान

    काठमाडौं । प्रदेश १ को बजेट भाषण शुरू भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बोहाङले चालु आवमा आर्थिक वृद्धिदर ३.६ प्रतिशत पुग्ने अनुमान गरे ।

    प्रदेश १ मा १.१८ प्रतिशतले आर्थिक वृद्धि दर ऋणात्मक बनेको छ ।

  • सातवटै प्रदेशमा आज बजेट भाषण, कोरोना रोकथाम प्राथमिकतामा

    सातवटै प्रदेशमा आज बजेट भाषण, कोरोना रोकथाम प्राथमिकतामा

    काठमाडौं । देशका सातवटै प्रदेशले आज आर्थिक वर्ष २०७८/७९ को वार्षिक आयव्यय विवरण सार्वजनिक गर्दैछन् । प्रत्येक वर्ष असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ ।

    आज प्रदेश १, वागमती र लुम्बिनीमा दिउँसो तीन बजे बजेट वाचन हुने छ । प्रदेश २, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे बजेट भाषणको तयारी छ । बजेट भाषणअघि गण्डकी र कर्णालीमा आजै नीति तथा कार्यक्रममाथि मतदान पनि हुने कार्यक्रम छ ।

    यसपालीको बजेटमा सबै प्रदेशले कोरोना महामारी रोकथामलाई प्राथमिकतामा राखेका छन् । प्रदेश १ र प्रदेश २ मा चालू आर्थिक वर्षको भन्दा बजेटको आकार घट्ने भएको छ । स्रोतको संकुचनका कारण ती प्रदेशले अघिल्लो वर्षभन्दा केही सानो आकारको बजेट पेश गर्न लागेका हुन् ।

    गण्डकीमा नयाँ सरकार बनेको चौंथो दिनमा नै बजेट सार्वजनिक हुन लागेको छ । अर्थमन्त्रीसमेत नियुक्त नभएको अवस्थामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेल स्वयम् बजेट भाषण गर्दैछन् । अघिल्लो सरकारले तयारी गरेको बजेटलाई नयाँ सरकारले सामान्य फेरबदल गरी अन्तिम रुप दिएको बुझिएको छ ।

  • स्वास्थ्य र कृषिमा केन्द्रित हुँदै लुम्बिनीको बजेट, ३९ अर्ब हाराहारीको आउने

    स्वास्थ्य र कृषिमा केन्द्रित हुँदै लुम्बिनीको बजेट, ३९ अर्ब हाराहारीको आउने

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको बजेटमा स्वास्थ्य र कृषिलाई बजेटमा प्राथमिकतामा राख्ने भएको छ । यसअघि सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा केन्द्रीत रहेर नै बजेट आउने प्रदेश सरकारले जनाएको छ ।

    सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री चौधरीले आगामी वर्षको बजेट स्वास्थ्य र रोजगारी सिर्जना गर्न उन्मुख हुने गरी आउने बताए । चौधरीले स्वास्थ्यलाई नै पहिलो प्राथमिकतामा राखेर बजेट तयार भइरहेको बताए । बजेटको ठूलो हिस्सा स्वास्थ्य, कृषि, बेरोजगारी अन्त्य, आर्थिक क्षेत्रको पुनरुत्थानमै केन्द्रित हुने उनले बताए ।

    प्रदेश सरकारले जेठ २५ मा पेश गरेको नीति तथा कार्यक्रम ३० गते बहुमतले पारित भएपछि असार १ गते बजेट ल्याउन सरकारलाई सहज भएको छ ।

    गतवर्ष ३७ अर्ब ३५ करोडको बजेट ल्याएको लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका लागि करिब ३९ अर्ब हाराहारीको बजेट ल्याउन लागेको छ । गतवर्षको तुलनामा २ देखि साढे ३ अर्ब बढीको बजेट आउने आर्थिक मामिला मन्त्रालय स्रोतले बताएको छ ।

    आगामी वर्षको बजेटमा सशर्त र समपूरक बजेटसहित झण्डै ४ अर्ब बजेट प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाउनेछ । त्यसबाहेक कोभिड कोषबाट खर्च गर्ने र महामारीमै खर्च गर्न मिल्ने गरी सरकारकै अर्थ विविध शीर्षकमा पनि ठूलै रकम रहनेछ ।

    सरकारले आगामी वर्षका लागि महत्वाकांक्षी र नयाँ योजना कुनै पनि समावेश गरेको छैन । गत वर्षदेखिका राम्रा मानिएका मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम, स्मार्ट कृषिलगायतका अभियानमुखी कार्यक्रम निरन्तर हुनेछन् ।

    त्यस्तै सडक, पुल, सिँचाइ, विद्युत्लगायतका पूर्वाधार विकासका क्रमागत योजनाका लागि पनि पर्याप्त बजेट व्यवस्थापन हुने आर्थिक मामिला तथा योजनामन्त्री चौधरीले बताए । रोजगारी सिर्जना गर्ने साना तथा मझौला उद्योग स्थापना, कृषिमा युवा सहभागिता, रोजगारी प्रवद्र्धन गर्ने सहकारी संस्थालगायतका कार्यक्रम पनि सरकारको प्राथमिकतामा छन् ।

  • प्रदेश २ को बजेट आकार घट्ने

    प्रदेश २ को बजेट आकार घट्ने

    जनकपुरधाम । मंगलबार सार्वजनिक हुने प्रदेश नम्बर २ को बजेट आकार अघिल्लो आर्थिक वर्षको तुलनामा सानो हुने भएको छ । प्रदेशका अर्थमन्त्री विजयकुमार यादवका अनुसार आगामी आर्थिक वर्ष २०७८/०७९का लागि ल्याउने बजेटको आकार तुलनात्मक रुपमा सानो हुनेछ । संघीय सरकारले पनि चालु आर्थिक वर्षका लागि भन्दा कम बजेट पाठाएको उनले बताए ।

    संघीय सरकारले समान्यकरण अनुदान बापत ७ अर्ब ३९ करोड ३४ लाख, राजश्वअन्तर्गत ९ अर्ब ९८ करोड २३ लाख, सशर्त अनुदान ५ अर्ब ९७ करोड ५२ लाख, विशेष अनुदान ५८ करोड ७९ लाख र समपूरक बजेट ३४ करोड ६९ लाख गरी कुल २४ अर्ब ६८ करोड ५७ लाख बजेट प्रदेशमा पठाएको छ ।

    संघीय सरकारले बिनियोजन गरेको बजेटमा प्रदेशको आन्तरिक अनुमानित रकम, आर्थिक वर्षको बजेटमा खर्च हुन नसक्ने रकम र आन्तरिक ऋण समावेश गरी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याउने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

    प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६/०७७ मा ३८ अर्व ७२ करोड ५६ लाख बजेट ल्याएको थियो । चालु आर्थिक वर्षमा ५ अर्ब घटाएर ३३ अर्व ५६ करोड ९ लाख बजेट ल्याएको थियो ।

    सरकारले ल्याएको नीति तथा कार्यक्रम आइतबार प्रदेशसभामा बहुमतले पारित भएपछि बजेट ल्याउने बाटो खुलेको हो ।

  • कृषि आधुनिकीकरणका नाममा १० अर्ब खर्च, उपलब्धी नगन्य

    कृषि आधुनिकीकरणका नाममा १० अर्ब खर्च, उपलब्धी नगन्य

    काठमाडौं । सरकारले तीन वर्षअघि महत्वाकांक्षी योजनाका रुपमा ल्याएको ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ कार्यान्वयन प्रभावकारी हुन सकेको छैन । देशलाई कृषिमा आत्मनिर्भर बनाउने भन्दै ल्याइएको उक्त कार्यक्रमले लक्ष्यित उपलब्धी हासिल हुन नसकेको सरोकारवालाहरु बताउँछन् ।

    १० वर्षमा एक खर्ब ३० अर्ब रुपैयाँ खर्च गर्ने उद्देश्य राखिएको यो परियोजनाअन्तर्गत तीन वर्षमा करिब ८ अर्ब खर्च भएको छ । कार्यक्रमका लागि छुट्याइएको रकम नै खर्च हुन सकेकाे  छैन ।

    मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन सरकारले ल्याएको उक्त परियोजना स्वागतयोग्य भए पनि कार्यान्वयन फितलो हुँदा कार्यक्रम सफल हुन नसकेको बताउँछन्, कृषिविज्ञ उद्धव अधिकारी ।

    ‘परियोजना सफल बनाउन सरकार नै गम्भीर देखिएन’ उनले भने, ‘सरकारी उदासिनताले राम्रो कार्यक्रम पनि सार्थक बन्न सकेन ।’

    सरकारले परियोजनाअन्र्तगत प्रमुख कृषि उपजहरुको विशिष्टीकृत क्षेत्र निर्माण गर्ने, निर्यातयोग्य कृषि वस्तुको मूल्य अभिवृद्धि गर्ने, कृषिलाई सम्माजनक नाफामूखी व्यवसायका रुपमा विकास गर्ने, व्यवसायिक कृषि उत्पादन केन्द्रको विकास गर्ने, व्यवासयिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र विकास गर्ने, कृषि उत्पादन र औद्योगिक केन्द्र (सुपर जोन) निर्माण गर्नेलगायत महत्वाकांक्षी योजना अघि सारेको थियो ।

    कृषि तथा पशुपंक्षी विकास मन्त्रलयका सचिव डा. योगन्द्रकुमार कार्की भने परियोजना सफल भएको दावी गर्छन् । भन्छन्, ‘मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन ल्याइएको यो परियोजनाअन्तर्गत धेरै कामहरु भएका छन्, जुन सफल छन् ।’

    नेपालका ७७ वटै जिल्लामा परियोजना लागू भएको छ । कार्कीका अनुसार परियोजनाअन्र्तगत सरकारले धान, मकै, गहुँ, फलपूmल र माछा उत्पादनमा लगानी गरेको छ । तर, तथ्यांकअनुसार चालू आर्थिक वर्षको नौ महिनामा २८ अर्बको तरकारी विभिन्न देशबाट नेपाल भित्रिएको छ । यसले सरकारी उक्त परियोजना प्रभावकारी नभएको पुष्टि गर्छ ।

    अहिले पनि प्रमुख अन्नबालीका रुपमा रहेको धान उत्पादनमा नेपाल आत्मनिर्भर हुन सकेको छैन । तर, यो परियोजना अन्तर्गत २४ ब्लक, ५ जोन र एक सुपरजोनमा धानबाली समावेश गरिएको छ । अहिले पनि नेपालमा भारत, इटाली, बहराइन, चीन, थाइलान्ड, कोरिया, जापान, मलेसिया, बंगलादेश, सिंगापुरलगायतका देशबाट धान नेपालमा आयात भइरहेको छ ।

    परियोजना अन्तर्गत गत वर्ष २ सय ५० कृषि पकेट क्षेत्र थप्ने, स्थानीय तहमा कम्तिमा एक कृषि पकेट क्षेत्र बनाउने भनिए पनि त्यसका लागि पर्याप्त बजेट छुट्याइएको छैन । जसकारण कार्यक्रम प्रभावकारी बन्न सकेको छैन ।

  • कोरोना संक्रमित, अस्पताल र खोपलाई प्राथमिकतामा राखेर वाग्मती प्रदेशको बजेट ल्याइने

    कोरोना संक्रमित, अस्पताल र खोपलाई प्राथमिकतामा राखेर वाग्मती प्रदेशको बजेट ल्याइने

    काठमाडौं । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले वाग्मती प्रदेशको आगमी बजेटमा कोभिड संक्रमित बिरामीको उपचार, अस्पतालको स्तरोन्नति र खोप लगाउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको बताएका छन् ।

    मन्त्री ढुङ्गेलले भने- आगामी बजेटमा प्रदेशका १३ वटै जिल्लालाई कोभिड संक्रमित बिरामीको उपचार, अस्पतालको स्तरोन्नति र खोप लगाउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको छ । प्रदेशका सबै जिल्लामा कृषिको उत्पादन, पशुपालन र रोजगारीलाई प्रत्यक्ष अवसर जुटाइनेतर्फ पनि बजेट विनियोजित गरिनेछ ।

    ढुङ्गेलले आगामी असार १ गते अपराह्न ३ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्ने तय भएको जानकारीसमेत दिए ।

    उनले प्रदेशमा कोभिड-१९ संक्रमणबाट प्रभावित विपन्न, दलित, आदिवासी जनजातिका परिवारलाई आयआर्जन गर्ने आर्थिक प्याकेज र उच्च शिक्षाको गुणस्तरीय वृद्धि गर्न प्रदेशमा विश्वविद्यालयको स्थापना गर्ने लक्ष्य राखिएको बताए ।

    मन्त्री ढुङ्गेलले प्रमुख प्रतिपक्षसँग सहकार्य र समन्वय गरेर प्रदेशमा सम्मानजनक राष्ट्रिय गौरवका आयोजना, भौतिक पूर्वाधारको निर्माण, सम्पदाको संरक्षण गर्ने र भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माणका लागि सङ्घीय सरकारसँग सहकार्य गरेर निर्माण कार्यलाई अघि बढाउनेतर्फ बजेटमा उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने जानकारी दिए ।

    उनले सरकारले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलसँग सहकार्य गरेर सबै जिल्लामा भौतिक पूर्वाधार, पर्यटन क्षेत्रको विस्तारमा गुरुयोजना तर्जुमा, कृषि सडक, सिँचाइ, खानेपानी, सुकुम्बासीलाई स्थायी बसोबास गराउने र आवश्यकताअनुरुप प्रदेशमा पुष्पलाल चक्रपथ सडक सञ्जाललाई जोड्न बजेट विनियोजन गरिने उल्लेख गरे ।

    उनले आगामी आर्थिक वर्षको वैशाखसम्ममा उपत्यकालगायत सात स्थानमा विद्युतीय बस सञ्चालन गर्नेतर्फ कार्यतालिका गरिसकिएको र आगामी ६ महिनाभित्रै ३० विद्युतीय बस खरीद गरी ल्याउनेतर्फ बोलपत्र आह्वान भइसकिएको तथा आगामी असार ७ गतेभित्रै उक्त बोलपत्रमा सम्झौता गरिनेतर्फ सम्बन्धित निकायले प्रक्रिया सुरु गरिसकिएको जानकारी दिए ।

    मन्त्री ढुङ्गेलले अघिल्लो आव २०७७/७८ मा करीब ५२ अर्बको बजेट ल्याएको भए पनि आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले केही प्रतिशत वृद्धि गरेर करीब ५४ अर्बको बजेट ल्याइने सम्भावना रहेको जानकारी दिए ।
    -रासस

  • बजेटपछि कति घट्यो विद्युतीय सवारीको मूल्य ? (सूचीसहित)

    बजेटपछि कति घट्यो विद्युतीय सवारीको मूल्य ? (सूचीसहित)

    काठमाडौं । बजेट भाषणले कर घटाएपछि नेपालमा विद्युतीय गाडीको मूल्य पनि घटेको छ । सरकारले जेठ १५ गते याएको नयाँ आर्थिक वर्षको बजेटले विद्युतीय गाडीमा लाग्ने भन्सार र अन्तशुल्क घटाएको थियो ।

    भन्सार र अन्तशुल्कको नयाँ दर बजेट भाषण भएकै दिनदेखि नै लागू हुने गरेको छ । त्यसअनुसार विद्युतीय गाडीको भन्सार र अन्तशुल्क जेठ १५ गतेबाट नै कार्यान्वयनमा आएको अर्थसचिव शिशिर ढुंगानाले बताए ।

    पहिलेका अर्थमन्त्री डा. युवराज खतिवाडाले विद्युतीय गाडीको अन्तशुल्क शून्यबाट ६० प्रतिशत र भन्सार शुल्क पनि वृद्धि गरी ४० प्रतिशत पुर्याएका थिए । त्यसपछि नेपालमा विद्युतीय गाडीको मूल्य वृद्धि भएर माग घटेको थियो । तर, आगामी वर्षको लागि आएको नयाँ बजेटले विद्युतीय गाडीको अन्तशुक घटाएको र भन्सार दर पनि ४० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ ।

    सरकारले नयाँ बजेटमार्फत विद्युतीय गाडीको भन्सार र अन्तशुल्क घटाएसँगै विद्युतीय गाडीको मूल्य घटेको छ ।

    नेपाली बजारमा हुन्डाई, बीवाईडी, एमजी, दिगो र डेरी लगायतका कम्पनीले विद्युतीय गाडी बिक्री गरिरहेका छन् । नेपालमा बिक्री हुँदै आएको विद्युतीय कारमा सबैभन्दा संस्तो डेरीको कार हो भने सबैभन्दा मंहगो हुन्डाईको रहेको छ ।

    कुन गाडीको नयाँ मूल्य कति ?

    डेरी

    नेपाली बजारमा विक्री हुने विद्युतीय कारमध्ये डेरीको इभी ७ कार नै सबैभन्दा सस्तो हो । भन्सार र अन्तशुल्क घटेपछि यो गाडीको नयाँ मूल्य १९ लाख ५० हजारमा झरेको छ । यसको पुरानो मूल्य २६ लाख ९९ हजार थियो ।

    नेपालमा डेरीका गाडी अटोहोस्टले बिक्री गर्दै आएको छ । सो कार चीनमा उत्पादन हुन्छ । इभी ७ मा १७ किलोवाट पावर क्षमताको लिथियम एनसीएम ब्याट्री हुन्छ ।

    अटोहोस्टका निर्देशक नवराज पौडेलले डेरीले उत्पादन गरेको इभी ७ र इआर ७ कारको मूल्य घटेको बताए ।

    उनले भने, ‘इभी कारको मूल्य २६ लाख ९९ सय हजारबाट घटेर १९ लाख ५० हजार कायम भएको छ । अर्को ईआर ७ कार पनि ९५ लाखबाट घटेर ६० लाख रुपैयाँ नयाँ मूल्य रहेको छ ।’

    इभी एकपटक चार्ज गरेपछि २६० किलोमिटर र इआर कार एकपटक चार्ज गरेपछि ३ सय किलोमिटर गुड्ने पौडेलले बताए ।

    दिगो

    दिगोले इ ८ कार नेपालमा बिक्री गर्दै आइरहेको छ । यो पनि चिनियाँ उत्पादन नै हो । इ ८ मा १५.२ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री प्रयोग गरिएको हुन्छ ।

    कम्पनीका अनुसार दिगोको इ ८ विद्युतीय कारको नयाँ मूल्य २१ लाख ९४ हजार ५ सय तोकेको छ । अन्तशुल्क र भन्सार घट्नुभन्दा पहिले २४ लाख ९४ हजार रूपैयाँ मूल्य थियो । यो कार २ घन्टामा नै फुल चार्ज हुन्छ । भने एकपटक चार्ज गरेपछि १५० किलोमिटर गुड्ने कम्पनीले बताएको छ ।

    बीवाईडी

    बीवाईडी कम्पनीले बीवाईडी एम ३ विद्युतीय कार नेपालमा बिक्री गरिरहेको छ । एम बीवाईडी ३ को नयाँ मूल्य ४८ लाख रहेको बिवाईडीका सेल्स हेड लुजाह महर्जनले बताए ।

    बीवाईडी एम ३ कारलाई फुल चार्ज गर्न ३ घन्टा समय लाग्छ भने एकपटक चार्ज गरेपछि ३१० किलोमिटर गुड्छ ।

    महर्जनले भने, ‘सरकारले भन्सार र अन्तशुल्क घटाएपछि विद्युतीय गाडीको माग बढेको छ । हामीले बिक्री गर्दै आइरहेको बीवाईडी एम ३ को पनि ६२ लाखबाट मूल्य घटेर ४८ लाख कायम भएको छ ।’

    सो कम्पनीले अब अन्य विद्युतीय गाडीहरु पनि नेपाल ल्याएर बिक्री गर्ने तयारी गरेको महर्जनले बताए ।

    हुन्डाई

    हुन्डाई कम्पनीले पनि गाडीको मूल्य घटाएको छ । हुन्डाईले नेपालमा कोना विद्युतीय गाडी बिक्री गर्दै आइरहेको छ ।

    बिक्रेता लक्ष्मी हुण्डाईले बजेटअघिको तुलनामा एउटा गाडीमा १८ लाख रुपैयाँसम्म मूल्य घटाइएको जानकारी दियो ।

    हुण्डाईले बिक्री गर्दै आएको ‘कोना’ विद्युतीय कारको नयाँ मूल्य ५६ लाख ९३ हजार तोकिएको छ । पहिले सो कारको मूल्य ७४ लाख ९६ हजार थियो ।

    एमजी

    एमजीले नेपालमा बिक्री गर्दै आएको एसयूभ इजेडएस विद्युतीय कारको पनि बजेटपछि मूल्य घटेको छ । कम्पनीका अनुसार पहिलेको तुलनामा अहिले ९ लाख मूल्य घटेको हो ।

    पहिले ६८ लाख ९९ सय हजार मूल्य पर्ने विद्युतीय इजेडएसको कारको मूल्य घटेर मूल्य ५९ लाख ९९ हजारबाट ५० लाख ९९ हजार कायम भएको छ ।

    माग बढ्ने आशा

    कर वृद्धि हुनुभन्दा पहिले नेपालमा विभिन्न कम्पनीका १ हजार थान विद्युतीय गाडी बिक्री हुने गरेका थिए । तर, गत वर्ष कर वृद्धिसँगै मूल्य बढेपछि उपभोक्ताले विद्युतीय गाडीमा चासो राख्न छोडे । अब फेरि विद्युतीय गाडीमा आकर्षण बढ्ने व्यवसायीको अपेक्षा छ ।

    अर्थमन्त्रीले पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारीसाधनलाई २०८८ सम्ममा विद्युतीय सवारीसाधनले विस्थापित गर्ने रणनीतिक योजनासमेत अघि सारेका छन् ।

    अहिले उपत्यकामा विद्युतीय बस र विद्युतीय टेम्पो सञ्चालनमा छन् भने त्यसका लागि ३१ वटा चार्जिङ्ग स्टेशन छन् । एक स्टेशनमा दैनिक २० देखि ३० वटा टेम्पोको ब्याट्री रिचार्ज गर्न मिल्छ । तर, पाँच वर्षयता भने विद्युतीय टेम्पोको नयाँ दर्तामा रोक लगाइएको छ । नेपालमा पछिल्लो समय विद्युतीय रिक्सा पनि सञ्चालन भइरहेका छन् ।

  • वीरेन्द्रनगरको नयाँ बजेट शिक्षा, स्वास्थ्य र स्वरोजगारमा केन्द्रित हुने

    वीरेन्द्रनगरको नयाँ बजेट शिक्षा, स्वास्थ्य र स्वरोजगारमा केन्द्रित हुने

    सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ सालका लागि ल्याउने बजेट शिक्षा, स्वास्थ्य र स्वरोजगारमा केन्द्रित गर्ने भएको छ ।

    नगर उपप्रमुख मोहनमाया ढकालले कोभिड महामारी यो वर्ष पनि कायम रहेको बताउँदै कोभिड महामारीबाट नगरवासीलाई जोगाउन शिक्षा, स्वास्थ्य र स्वरोजगारमुखी बजेट ल्याउने बताइन ।

    ‘कोरोना महामारीले हाम्रो नगरपालिकाको शिक्षा क्षेत्रलाई धरासायी बनाएको छ । सामुदायिक विद्यालयमा अध्ययनगर्ने विद्यार्थीहरुले वैकल्पिक शिक्षा प्रयोग गर्न सकेका छैनन् । यसले बालबालिकाको शैक्षिक क्रियाकलापमा ठूलो क्षति पु¥याएको छ । यो क्षतिलाई परिपूर्ण गर्नका लागि सबै विद्यालयमा प्रविधिमैत्री शिक्षक, आवश्यक स्रोत साधन र इन्टरनेटको व्यवस्थापन गर्न बजेटको व्यवस्था गर्नेछौं ।’ उनी भन्छिन्, ‘त्यसपछि स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन हुनेछ । स्वास्थ्य संरचना निर्माण गर्ने, ती संरचनालाई बढीभन्दा बढी प्रयोग गर्ने क्षेत्रमा लगानी गर्ने भएका छौं ।’

    त्यसका अलावा स्वरोजगारलाई प्राथमिकता दिइएको उनको भनाई छ । ‘कोभिडले हजारौं नागरिकलाई बेरोजगार बनाएको छ । महिला, युवाहरु अहिले घरमै बस्न बाध्य भइरहेका छन् । अझ भन्ने हो भने नीजि क्षेत्रमा रोजगारी गर्दै आइरहेका युवाहरु बेरोजगार भएका छन् । सामाजिक सुरक्षा पनि कमजोर बन्दै गइरहेको अवस्था छ ।’ उनी भन्छिन्, ‘त्यस संकटबाट जोगाउन साना साना सवरोजगारका कार्यक्रम ल्याउने तयारी गरेका छौं । यी तीनवटा प्रमुख प्राथमिकतालाई विकास निर्माणसँग जोडेर हामी अघि बढछौं ।’

    अहिले बजेट निर्माणकालागि नगरपालिकाका शाखा, वडा कार्यालयमा तयारी भइरहेको उनको भनाई छ । नगरपालिकाले यो पटक ठूला भौतिक संरचना निर्माणका लागि संघीय र प्रदेश सरकारसँग सहकार्य गर्ने बताउँदै आफ्नो बजेट सबै यी तिनै क्षेत्रमा लगानी गर्ने गरी नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने तयारी गरेको उनको भनाई छ ।

  • अर्थतन्त्रको वर्तमान परिसूचकलाई सर्वसाधारणले कसरी बुझ्ने ? (प्रश्नोत्तर-माला)

    अर्थतन्त्रको वर्तमान परिसूचकलाई सर्वसाधारणले कसरी बुझ्ने ? (प्रश्नोत्तर-माला)

    आर्थिक वर्ष २०७८/०७९ को बजेटमा समावेश भएका नीति कार्यक्रमहरुलाई कसरी बुझ्ने ? बजेटको बारेमा विज्ञहरुले मात्र टिप्पणी गरिरहेका बेला सर्वसाधारणले मुलुकको अर्थतन्त्रको सूचकलाई कसरी बुझ्ने ? सामान्य मान्छेले पनि बुझ्ने गरी नेकपा एमालेका स्कूल विभाग सचिव ईश्वरी रिजालले २९ वटा प्रश्नोत्तरमालाका रुपमा अर्थतन्त्रको वर्तमान परिसूचकलाई बुझाउन खोजेका छन् । सबैको लागि उपयोगी हुने ठानेर नेपाल चिन्तनमा पश्नोत्तर माला प्रस्तुत गरिएको छ ।

    १. आर्थिक वृद्धिदर ऋणात्मक भनेको के हो ? गत आर्थिक वर्षको आर्थिक वृद्धिदर कति प्रतिशतले ऋणात्मक भयो र यसको मुख्य कारण के हो ?

    – गत वर्षको कुल उत्पादन बृद्धिको तुलनामा चालु वर्षको उत्पादन वृद्धि घट्यो भने आर्थिक वृद्धिदर ऋणात्मक भएको मानिन्छ । मानौ, गत आर्थिक वर्षको कुल उत्पादन ४ करोड थियो, तर चालु आर्थिक वर्षको कुल उत्पादन ३ करोड मात्र भयो भने आर्थिक वृद्धिदर १ करोडले अर्थात २० प्रतिशतले ऋणात्मक हुन पुग्यो ।

    गत वर्षको हाम्रो आर्थिक वृद्धिदर २.१ प्रतिशतले ऋणात्मक भएको छ । यो कोभिड १९ महामारीबाट आर्थिक गतिविधि प्रभावित भएको कारणबाट हुन गएको हो ।

    २. बजेटले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर कति प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ?

    – ४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको छ ।

    ३ कुल गार्हस्थ्य उत्पादन भनेको के हो ?

    – मुलुकभित्र निश्चित समयवधि, विशेषगरी एक वर्षमा उत्पादित अन्तिम वस्तु तथा सेवाको बजार मूल्यको कुल जोडलाई नै कुल गार्हस्थ्य उत्पादन भनिन्छ । नेपालमा विशेष गरी कृषि, उद्योग र सेवाक्षेत्रमा हुने अन्तिम वस्तु तथा सेवा उत्पादनको बजार मूल्यलाई जोडेर कुलगार्हस्थ्य उत्पादन अर्थात जीडीपी निकालिन्छ । मानौ, कुनै एक कम्पनीले एक वर्षभित्र एक हजार मूल्यका एक सयवटा कुर्सि उत्पादन गर्दछ भने उसको जीडीपी एक लाख भयो । अर्को वर्ष उसले ९० वटामात्रै उत्पादन गर्न सक्यो भने त्यो वर्ष उसको जीडपी अघिल्लो वर्षभन्दा घटेर ९० हजार मात्र हुन्छ । अर्को वर्ष कुर्सि एक हजार थानै उत्पादन भयो, तर सो वर्ष कुर्सिको बजार मूल्य घटेर पाँचसय मात्र भयो भने उसको प्रचलित बजार मूल्यमा जीडीपी घटेर ५० हजार मात्र हुन आउँछ, तर आधार वर्षमा मापन गरिने वास्तविक जीडीपी भने समान नै रहन्छ ।

    कुर्सि, उद्योग अन्तर्गत पर्दछ । देशमा कुर्सि उद्योगमात्र होइन अनेकौं उद्योगहरू हुन्छन् । त्यससंगै कृषि क्षेत्रमा पनि धेरै थरीका उत्पादन हुन्छ । साथै सेवा क्षेत्रले पनि विविध प्रकारका सेवा उत्पादन गर्दछ । यी सबै क्षेत्रबाट प्राप्त भई अन्तिम प्रयोगमा आउने वस्तु तथा सेवाको प्रचलित मूल्यको योगफल नै कुल गार्हस्थ्य उत्पादन हो । कुल गार्हस्थ्य उत्पादनको मापन मुख्यतयाः उत्पादनको आधारमा, साथै व्यक्ति वा संस्थाको आम्दानी र खर्चको आधारमा पनि निकाल्ने गरिन्छ ।

    ४. गतवर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन प्रचलित मूल्यमा कति पुग्यो र चालु वर्ष कति पुग्ने अनुमान गरिएको छ ? साथै यसलाई कसरी गणना गरिएको हो ?

    – गतवर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ११२६ अमेरिकी डलर थियो भने चालु वर्ष ११९१ अमिरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

    नेपालमा भएको कुल गार्हस्थ्य उत्पादनलाई अमिरेकी डलरको प्रचलित सटही दर अनुसार भाग गरेपछि नेपालको जीडीपी अमेरिकी डलरमा बद्लिन्छ । बदलिएको अंकलाई पुनः नेपालको कुल जनसंख्यासंग भाग गरेपछि नेपालीहरूको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा आउँछ । यही विधिबाट गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको आंकडा र चालु वर्षको अनुमानित आंकडा निकालिएको हो ।

    ५. चालु आर्थिक वर्षमा बजेटले नेपालीहरूको प्रतिव्यक्ति खर्चयोग्य आय कति पुग्ने अनुमान गरेको छ र यस आंकडा कसरी निकालिएको हो ?

    – बजेटमा एकजना नेपालीले ११९१ डलर प्रतिव्यक्ति कुल गार्हस्थ्य अनुमान गरिएको छ, तर खर्चयोग्य आय भनेर १४८६ डलरको अनुमान पनि गरिएको छ । यस्तो फरक किन भन्ने प्रश्न उठ्न सक्दछ । यसको तात्पर्य के भने, कुल गार्हस्थ्य उत्पादनमा देशभित्रको आम्दानी मात्र जोडिएको हुन्छ भने विदेशमा गएर आर्जन गरेको आम्दानी जोडिएको हुँदैन । अहिले नेपालका नागरिक विदेशमा श्रम गरेर आम्दानी गरेका छन्, जस्लाई हामी रेमिट्यान्स भन्छौं । यो रेमिट्यान्स नेपालको कुल गार्हस्थ्य उत्पादनमा नजोडिए पनि व्यक्तिको खर्च योग्य आय भने हो । यही रेमिट्यान्सलाई समेत जोडेर नेपालीहरूको खर्चयोग्य आयको अनुमान निकालिएको हो, अर्थात नेपालीहरूको खर्चयोग्य आय १४८६ अमेरिकी डलर पुग्न सक्ने अनुमान गरिएको हो ।

    ६. बजेटले कुल गार्हस्थ्य उत्पादनको अनुपातमा कुल लगानी र कुल राष्ट्रिय बचत कति हुने अनुमान गरेको छ ?

    – कुल लगानी ३०.८ प्रतिशत र कुल राष्ट्रिय बचत ३१.४ प्रतिशत हुने अनुमान गरेको छ ।

    ७. मुद्रास्फिति भनेको के हो ? यो कसरी मापन गरिन्छ ? यसको वृद्धिदरबारे बजेटमा के उल्लेख गरिएको छ ?

    – मुद्राले बजारमा वस्तु वा सेवा खरिद गर्न सक्ने क्षमता घट्नुलाई मुद्र्रास्फीति भनिन्छ । अथवा वस्तु र सेवा खरिद गर्न बढी मुद्रा खर्चिनु पर्ने अवस्था नै मुद्रास्फिति हो । सरल भाषामा मुद्रास्फिति भनेको महङ्गी हो, जहाँ मानिसलाई अत्यावश्यक पर्ने वस्तु र सेवा खरिद गर्न बढी मुद्रा दिनु पर्ने हुन्छ । मुद्रास्फीति हुँदा आम्दानी क्रयशक्ति घट्छ । मुद्रास्फिति धेरै अवस्थाले सिर्जना गर्दछ, । अर्थतन्त्रमा आपूर्ति भन्दा समग्र माग बढेमा वा आपूर्ति घटेमा मुद्रास्फिति सिर्जना हुन्छ । विभिन्न कारणले माग बढ्ने अथवा आपूर्ति घट्ने वा महंगो हुने गर्दछ । स्फितिको अर्थ विस्तार वा फैलावट हुने हुँदा मुद्रासँग स्फिति शब्द जोडिएर बनेको मुद्रास्फितिको अर्थ मुद्राको ज्यादा विस्तार वा फैलावट भन्ने हुन्छ ।

    ८. यो कसरी मापन गरिन्छ ?

    – नेपाल राष्ट्र वैङ्कले खास-खास बेलामा पारिवारिक बजेट सर्वेक्षण गरेको हुन्छ । सर्भेक्षणबाट प्रत्येक घरपरिवारले आफ्नो आम्दानी कुन-कुन वस्तु तथा सेवामा कति कति मात्रामा खर्च गर्छन् वा आफ्नो बजेटको हिस्सा कुन वस्तु र सेवाको खरिदमा लगाउने गर्दछन् भन्ने आंकडा निकालिन्छ । यसरी निकालिने आंकडाले उपभोगको भार जनाउँछ । यसरी सर्वेक्षण गरी भार निकालिएको वर्षलाई आधार वर्ष मानिन्छ । यो वर्षमा छनोट भएका वस्तु तथा सेवाको मूल्यलाई सूचकांकको रूपमा १०० मानिन्छ । उपभोक्ता मूल्य सूचकांक निकाल्न ४९६ वटा वस्तु तथा सेवाहरू छनोट गरिएका छन् जसको मूल्य नियमितरूपमा मुलुकका ६० बजार केन्द्रहरूबाट संकलन गरिन्छ । आधार वर्षपछिका समयमा संकलन गरिने मूल्य आधार वर्षको तुलनामा आउने परिवर्तनको आधारमा सूचकांकलाई परिवर्तन गरिन्छ । यसरी छनोटमा परेका वस्तु तथा सेवाको मूल्यलाई सूचकांकमा परिणत गरे पछि उपभोक्ता भारले गुणन गरी जोडेर भारित औसत सूचक निकालिन्छ । यही भारित औसत सूचकांकमा आउने परिवर्तनको आधारमा मुद्रास्फिति निकालिन्छ ।

    ९. बजेटमा गत वर्ष र चालु वर्षमा मुद्रास्फिति दरबारे के उल्लेख छ ?

    – स्वास्थ्य जोखिमका बावजूद आपूर्ति श्रृंखला नियमित गर्न सकिएकाले मुद्रास्फिति नियन्त्रणमा छ । यसको दर गत वर्ष ६.७ प्रतिशत र चालु वर्षको ९ महिनामा ३.१ प्रतिशतमा सीमित रहेको छ ।

    १०. शोधानन्तर भनेको के हो ? बजेट अनुसार नेपालमा यसको अवस्था कस्तो छ ?

    – वाह्य देशहरुसँग आर्थिक कारोबारका सन्दर्भमा गर्नुपर्ने भुक्तानी र प्राप्तीको अन्तिम हिसावकिताव तथा सन्तुलनलाई नै शोधानन्तर भनिन्छ । जस्तै, निश्चित समयावधिमा वाह्य देशहरुसँग विभिन्न आर्थिक कारोबार गरेर नेपालले रु १ लाख रकम भित्र्यायो तर सोही समयावधिमा रु. ५० हजार बाहिर भुक्तानी गर्‍यो भने, शोधनान्तर रु. ५० हजारले बचतमा रहने भयो । वाह्य देशहरुसँग वस्तु तथा सेवाको आयात निर्यात, लगानीको आम्दानी, वाह्य लगानी, ऋण आदि जस्ता आर्थिक कारोबारहरू यसमा पर्दछन् । कारोबारको प्रकृतिको आधारमा शोधनान्तर खातालाई पुँजीगत खाता, वित्तीय खाता र चालु खाता विभाजन गरी कारोबारको रेकर्ड राख्ने गरिन्छ ।

    ११. हाल शोधानन्तर अवस्था कस्तो रहेको छ ?

    – २०७७ चैतमा शोधानन्तर ४२ अर्व ५४ करोड बचतमा रहेको छ ।

    १२. विप्रेषण भनेको के हो ? बजेट अनुसार यसको प्रवाह कस्तो छ ?

    – विदेशमा श्रम गरेर स्वदेशमा भित्रिने रकमलाई विप्रेषण भनिन्छ । नेपालमा विप्रेषणले गरिबी घटाउन र जीवनस्तर सुधार गर्न ठूलो भूमिका खेलेको छ । करिब ४० लाखभन्दा बढी नेपालीहरु विदेशी श्रमबजारमा कार्यरत रहेका छन् । कोभिड १९ को महामारीले विश्वका प्राय देशहरुका अर्थतन्त्र प्रभावित भए पनि नेपालमा आउने विप्रेषणमा कमी आएन । २०७७ चैतसम्म नेपालमा आएको विप्रेषण अघिल्लो वर्षको तुलनामा १६.५ प्रतिशतले बढेको छ ।

    १३. हाल हाम्रो विप्रेषणको प्रवाह कस्तो छ ?

    – विप्रेषण प्रवाहमा वृद्धि भएको छ ।

    १४. विदेशी विनिमय भनेको के ? यसको अवस्था कस्तो छ ?

    – वाह्य मुलुकसँगको कारोबारका लागि नेपाली मुद्रा भुक्त्तानी गर्न मिल्दैन । वा नेपालले अर्को मुलुकसँग कारोबार गर्दा नेपाली मुद्रा मान्य हुँदैन । तसर्थ वाह्य कारोवारका लागि सम्भव भए सम्वन्धित देशको मुद्रा वा त्यसो नहुँदा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मुद्राको आवश्यकता पर्दछ । यस्ता अन्तर्राष्ट्रिय कारोबारका लागि मान्यता प्राप्त मुद्रालाई विदेशी विनिमय भनिन्छ । अहिले अन्तर्राष्ट्रिय कारोबारका लागि केही मुद्राहरु जस्तै यूएस डलर, यूरो, जापनिज ऐन, पाउण्ड स्ट्रिलिङ, स्वीस फयाकं, क्यानिडियन डलर, अष्ट्रेलियन डलर आदि रहेका छन । यस्ता विदेशी मुद्रा वा यी मुद्रामा रहेका वित्तीय उपकरणहरूको संचितिलाई विदेशी विनिमय संचिति भनिन्छ । नेपालको सन्दर्भमा भारतीय, चाइनिज र अरेवियन देशका मुद्राहरू पनि विदेशी विनिमय संचितिको रूपमा रहेका छन् ।

    १५. हाल विदेशी विनिमयको सञ्चिति कति छ ?

    – विदेशी विनिमय सञ्चिति १४ खर्ब ३३ अर्व २७ करोड छ । जसले १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने छ ।

    १६. कर्जा र निक्षेप भनेको के हो ? यसको वृद्धिदर कस्तो छ ?

    – मुलतः निक्षेप भन्नाले बैंक तथा वित्तीय संस्थाहरूमा अवस्थित चल्ती, बचत र मुद्धती खातामा जम्मा गरिने रकमको अवस्थालाई बुझाउँछ । यसमा सर्वसाधारण र अन्य संघ संस्थाबाट पछि भुक्तानी गर्ने सर्तमा रकम लिइएको हुन्छ । यसैलाई निक्षेप भन्ने गरिन्छ ।

    – मुलतः बैंक तथा वित्तीय संस्थाहरूले घर, जग्गा, सुन, चाँदी, मुद्दती रसिद, ऋणपत्र, बचतपत्र लगायत धितो राखेर पछि भुक्तानी गर्ने सर्तमा ग्राहकहरूलाई दिइने रकमलाई नै कर्जा भन्ने गरिन्छ । उद्योग व्यवसाय र व्यापार, भौतिक पूर्वाधार निर्माण लगायतका कार्यहरूका लागि कर्जा दिने गरिन्छ । यसको आंकडाले देशमा उद्योगको स्थापना र सञ्चालन, व्यापार तथा व्यवसाय सञ्चालनको अवस्थालाई बुझाउँछ ।

    १७. हाल कर्जा र निक्षेपको वृद्धिदर कस्तो छ ?

    – कर्जा र निक्षेपको वृद्धिदर सकारात्मक रहेको छ ।

    १८. पूँजी बजार भनेको के हो ?

    – लामो समयावधिसम्म पुँजीको सञ्चालन र परिचालन गर्न सकिने बजारलाई पुँजी बजार भनिन्छ । यसमा स-साना बचतहरूलाई जम्मा गरेर पुँजीको निर्माण गरिन्छ । त्यसलाई ठूल्ठूला उद्योगधन्दा, कलकारखाना र भौतिक पूर्वाधार निर्माणमा लगाउन सकिन्छ । सरकारी वा निजीक्षेत्र दुवैलाई आवश्यक पर्ने पूँजी आपूर्तिको यो एउटा गतिलो माध्यम पनि हो । पुँजी बजार मुलुकको विकास-निर्माणमा लाग्ने जोसुकै व्यक्ति, संघ, सस्था र सरकारलाई समेत दीर्घकालीन समयका लागि रकम जम्मा गर्न र परिचालन गर्न पाउने एउटा भरपर्दो वित्तीय व्यवस्था हो । तसर्थ पुँजी बजारलाई देशको अर्थतन्त्र विकासको एक विम्वका रूपमा समेत लिने गरिन्छ । पूँजी बजारमा सेयर, धितोपत्र र ऋणपत्रहरूको विक्री गरेर पुँजी संकलन गर्ने गरिन्छ ।

    १९. बजेटमा पुँजी बजारको अवस्थाबारे के उल्लेख छ ?

    – पुँजी बजारमा कारोबार वृद्धि हुँदै गएको कुरा उल्लेख छ । साथै कोभिडको दोस्रो लहरका कारण यसमा चाप पर्ने अनुमान पनि बजेटमा उल्लेख छ । पछिल्ला महिनाहरूमा पुँजीबजारको रूपमा रहेको सेयर बजार उत्साहजनक रूपमा बढेको छ ।

    २०. चालु आर्थिक वर्षको पहिलो १० महिनासम्म गत वर्षको सोही अवधिको तुलनामा सरकारी खर्च र राजस्व संकलनको अवस्था के छ ?

    – सरकारी खर्च १६ प्रतिशतले र राजस्व संकलन १४.१ प्रतिशतले वृद्धि भएको छ ।

    २१. वैशाख मसान्तसम्म वैदेशिक सहायताको प्रतिवद्धता कति प्राप्त भएको छ ?

    – २ खर्व २ अर्व २८ करोड वैदेशिक प्रतिबद्धता प्राप्त भएको छ ।

    २२. प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण गत वर्षको दश महिनाको तुलनामा कति प्रतिशतले वृद्धि भएको छ ?

    – १५.७ प्रतिशतले वृद्धि भएर २ खर्व ९४ अर्व ३३ करोड पुगेको छ ।

    २३. प्रदेश र स्थानीय तहमा राजस्व कति बाँडफाँड भएको छ ?

    – ९१ अर्व ४७ करोड राजस्व बाँडफाँड भएको छ ।

    २४. चालु वर्षको पहिलो ९ महिनामा निर्यात र आयात कति प्रतिशतले वृद्धि भएको छ ?

    – निर्यात २०.२ प्रतिशतले र आयात १३.१ प्रतिशतले वृद्धि भएको छ ।

    २५. चालु वर्षमा कुल विनियोजनको कति प्रतिशत खर्च हुने संशोधित अनुमान छ ?

    – कुल विनिमयको ८५.९ प्रतिशत हुने अनुमान छ ।

    २६. विनियोजनमध्ये चालु खर्चतर्फ कति प्रतिशत र पुँजीगतर्फ कति प्रतिशत खर्च हुने संशोधित अनुमान रहेको छ ?

    – चालु खर्चतर्फ ९१.४ प्रतिशत र पुँजीगततर्फ ७१.३ प्रतिशत खर्च हुने अनुमान छ ।

    २७. वित्तीय व्यवस्थातर्फ कति प्रतिशतले खर्च हुने संशोधित अनुमान छ ?

    – वित्तीय व्यवस्थातर्फ ८५.२ प्रतिशतको अनुमान छ ।

    २८. चालु आर्थिक वर्ष वार्षिक लक्ष्यको तुलनामा कति प्रतिशत राजस्व संकलन हुने अनुमान छ ?

    – ९४.८ प्रतिशत राजस्व संकलन हुने अनुमान छ ।

    २९. वैदेशिक अनुदान, वैदेशिक ऋण तथा आन्तरिक ऋण कति परिचालन हुने अनुमान छ ?

    – वैदेशिक अनुदान २७ अर्व ६ करोड, वैदेशिक ऋण १ खर्ब १० करोड र आन्तरिक ऋण २ खर्ब २३ अर्व परिचालन हुने संशोधित अनुमान छ ।

  • बजेट कार्यान्वयन गर्न सरकारले ठोस पहल लिन्छ : अर्थमन्त्री पौडेल

    बजेट कार्यान्वयन गर्न सरकारले ठोस पहल लिन्छ : अर्थमन्त्री पौडेल

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडलले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गर्न सरकारले ठोस पहलकदमी लिने बताए ।

    नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको बजेट कार्यान्वयनका चुनौती र तिनका समाधानका विषयमा गरेको भर्चुअल छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षका निम्ति ल्याइएको बजेट कार्यान्वयन हुनेमा आशंका नगर्न अनुरोध गरे ।

    उनले भने, ‘बजेटको कार्यान्वयन र निर्वाचनको विषय सँगसँगै अगाडि बढ्छ । एउटा छोड्नुपर्ने र एउटा समाउनुपर्ने विषय होइन । यी दुवै एकैसाथ बढाउनुपर्ने विषय हुन् । सरकारलाई निरन्तरतामा बुझ्नुपर्छ । वर्तमान सरकार बजेट कार्यान्वयनका निम्ति संकल्पवद्ध छ र यो बजेट कार्यान्वयन हुन्छ भन्ने मान्यतामा विश्वास गर्दछ । र त्यस हिसाबले पहलकदमी लिने कुरामा विश्वास गर्दछ ।’

    अर्थमन्त्री पौडेलले सरकार चुरेको संरक्षणमा प्रतिबद्ध रहेको बताउँदै चुरे क्षेत्रमा कुनैपनि प्रकारका उत्खनन् नहुने बताए । चुरे क्षेत्रबाट एक डोको माटो पनि नझिकिने प्रष्ट्याउँदै उनले भने, ‘चुरे संरक्षण नेपाल र नेपालीको सुन्दर भविष्यका निम्ति चुरेको संरक्षण सर्वाधिक महत्वपूर्ण विषय हो । चुरे क्षेत्रमा हामीले कुनैपनि प्रकारले उत्खनन्का कामहरु नगर्ने, माटो, ढुंगा, गिट्टी, बालुवा, कुनैपनि चिजहरु उत्खनन् नगर्ने, चुरे क्षेत्रको सम्पूर्ण रुपमा संरक्षण गर्ने दृष्टिकोण अघि सारिएको छ । चुरे, शिवालिक, भावर क्षेत्रबाट, नदी क्षेत्रबाट हामी एक डोको माटो वा एक डोको गिट्टी वा बालुवा पनि हामी उठाउँदैनौँ ।’

    कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षका लागि तय गरिएका विभिन्न कार्यक्रमहरुले मौद्रिक नीति र मौद्रिक व्यवस्थापनलाई असर पार्ने बताउँदै त्यसले चुनौती सिर्जना गर्ने बताए । अर्थ मन्त्रालयले बजेट कार्यान्वयनका निम्ति विभिन्न स्टेक होल्डरहरुसँग छलफल प्रारम्भ गरिसकेको बताउँदै राष्ट्र बैंकले पनि वित्तिय क्षेत्रले गर्ने काम प्रभावकारी बनाएर लाने सन्दर्भमा टास्क फोर्स गठन गरेर काम शुरू गरिसकेको गभर्नर अधिकारीको भनाइ थियो ।

    पूर्वअर्थसचिव शान्तराज सुवेदीले आगामी आवको स्रोत व्यवस्थापनमा चुनौती रहेको औंल्याए । वैदेशिक सहायता परिचालनमा गाह्रो हुनेतर्फ लक्षित गर्दै सुवेदीले आयोजना कार्यान्वयनको समस्या तथा सुशासनको पनि चुनौती हुनसक्ने भएकाले यसलाई बेलैमा सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

    नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले बजेट कार्यान्वयनको अवस्थाको मासिक रूपमा समीक्षा गर्न र आवश्यकता अनुसार पृष्ठपोषण प्रदान गर्न सरकार र निजी क्षेत्र सम्मिलित समिति बनाउनुपर्ने बताए । ठुला पूर्वाधार निर्माणमा नीजि क्षेत्र आकर्षित हुनेगरी बजेट वक्तव्य आएको भन्दै उनले स्थानीय तह र नीजि क्षेत्रको सहकार्यमा जोड दिए ।

    नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले बास्तविक रूपमा बजेट कार्यान्वयन भए, नभएको नियमन हुनुपर्ने बताए । कोरोनाविरुद्धको खोप नलगाएसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने भन्दै मल्लले अर्थतन्त्र चलायमान गराउनको निम्ति सबैलाई खोप उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कमर्सियल बैंकको तरलता मेन्टेन गर्न सकेमा बजेटको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने धारणा राखे ।

    अध्यक्ष गोल्छाले अर्थतन्त्रलाई चलायमान बनाउनको निम्ति कोभिड १९ विरुद्धको खोपको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

  • बजेटमा छुटैछुट, तर राजस्व लक्ष्य पहाडजत्रो

    बजेटमा छुटैछुट, तर राजस्व लक्ष्य पहाडजत्रो

    काठमाडौं । कोभिडको प्रभावले अर्थतन्त्र खुम्चेको बेला सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत राजश्व संकलनको महत्वाकांक्षी लक्ष्य राखेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आवमा ११ खर्ब ५१ अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेका छन् ।

    सरकारले चालू आर्थिक वर्षभन्दा १ खर्ब ४० अर्ब बढी अर्थात करिव १४ प्रतिशत धेरै राजस्व संकलनको लक्ष्य राखेको हो । चालु आवमा सरकारले बजेटमार्फत १० खर्ब ११ अर्ब ७५ करोडको राजस्व लक्ष्य लिएकोमा ९ खर्ब ५९ अर्ब मात्रै संकलन हुने संशोधित अनुमान गरेको छ ।

    कोभिड-१९ को रोकथामका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण अहिले देशभर उद्योग-व्यवसायहरू ठप्प छन । कोभिडको असरले अर्थतन्त्र नै नाजुक अवस्थामा पुगेका बेला सरकारले राजश्व बढ्ने कुनै आधार नदेखिएको विज्ञहरू बताउँछन् । समयमा नै खोपको खोप व्यवस्थापन गर्न नसकेमा वा कोभिडको तेस्रो लहर आएमा अर्थतन्त्र थप संकटमा पर्ने र बजेटले लिएका लक्ष्य हासिल गर्न चुनौतीपूर्ण हुने उनीहरूको भनाइ छ ।

    आगामी आर्थिक वर्षको बजेटमा सरकारले कोभिडका कारण उत्पन्न परिस्थितिको सामना गर्न मानव स्वास्थ्य र आर्थिक पुनरुत्थाानलाई मुख्य प्राथमिकतामा राखेको छ । बजेटमार्फत उद्योग-व्यवसाय तथा सर्वसाधारणलाई अनेकन सहुलियत तथा छुटहरू दिइएका छन् । कोभिडबाट अत्यधिक प्रभावित स्वास्थ्य, शिक्षा, पर्यटन, साना तथा मझौला उद्योग व्यवसायलाई कर छुटको व्यवस्था मिलाइएको छ । यस्तो सहुलियत र छुटल गर्दा सरकारको राजश्व स्रोत झन् खुम्चेको छ ।

    अर्थसचिव शिशिर ढुंगाना भने राजस्व प्राप्त गर्न नसकिने क्षेत्रमा करमा छुट दिइएको बताउँछन् । बजेट भाषणको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा उनले राजस्व प्राप्त हुने क्षेत्रमा करको दर परिवर्तन नगरिएको दावी गरेका थिए ।

    ‘कोभिडको प्रभाव कम हुँदै जाँदा समग्र मागमा पनि बृद्धि हुने भएकाले आर्थिक क्रियाकलाप पनि बढ्छ । हामीले राजस्व प्राप्त नहुने क्षेत्रमा कर छुट दिएको र आम्दानी प्राप्त हुने क्षेत्रमा करको दर परिवर्तन नगरेको हुँदा राजस्वको लक्ष्य भेट्टाउँछौ’, उनले भने ।

    सरकारले सबैभन्दा बढी राजस्व प्राप्त गर्ने पेट्रोलियम पदार्थको भन्सार महसुल दर तथा पूर्वाधार विकास करको दरहरूमा परिवर्तन गरेको छैन । त्यस्तै फलामजन्य कच्चा पदार्थ तथा निर्माणका सामग्रीहरू आयातमा लाग्ने भन्सार महसुल पनि यथावत राखिएको छ ।

    डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधन र यसका पाटपुर्जा आयात गर्दा लाग्ने भन्सार महसुल, मुल्य अभिवृद्धि कर, अन्तशुल्क र आयकरमा कुनै पनि परिवर्तन गरिएको छैन । सरकारले स्वास्थ्यलाई हानी गर्ने वस्तुहरू मदिरा, वियर, वाइन, चुरोट, सुर्तिजन्य तथा हल्का पेय पदार्थमा अन्तःशुल्क बढाइएको छ ।

    छुटले प्रोत्साहित गर्ने दावी

    कोभिडको प्रभाव कम भएमा सरकारको छुटसम्वन्धी नीतिका कारण राजस्व लक्ष्य हासिल गर्न कठिनाइ नहुने अर्थमन्त्रीका आर्थिक सल्लाहकार प्रकाशकुमार श्रेष्ठ बताउँछन् । करमा छुट तथा सहुलीयत दिइएका कारण राजस्व प्राप्ति सहज हुने उनको विश्वास छ ।

    ‘विगतमा कर निर्धारणमा चित्त नबुझाएका वा अन्य कुनै कारणले नतिरेका करदातालाई छुटको नीतिले प्रोत्साहन गर्नेछ,’ उनले भने ।

    मुद्दा खेपेर बस्नुभन्दा छुट दिएर भए पनि सरकारले राजस्व प्राप्त गर्ने नीति लिनुलाई सकारात्मकरुपमा लिनुपर्ने उनी बताउँछन् ।

    ‘कर तिर्न नसकेका वा करको दायराभित्र आउन नचाहेकाहरूलाई पनि छुट तथा सहुलियतले प्रोत्साहन गर्ने भएकाले राजस्व लक्ष्य भेटिन्छ’, उनले भने ।

    कोभिडको प्रभाव कम भयो वा समयमा नै खोपको व्यवस्थापन गर्न सकिएमा आर्थिक गतिविधि बढाउन यो कर नीतिले ठुलै मद्दत गर्ने श्रेष्ठले दावी गरे ।

    ‘छुटमा करको वक्यौता रकम तिर्न पाउँदा करदाता व्यवसाय गर्न प्रोत्साहित हुने भएकाले यसले आर्थिक गतिविधि चलायमान गराउँछ । यसबाट उत्पादन, रोजगारी बढ्ने संभावनासँगै अर्को वर्षको बजेटका लागि सरकारको राजस्वको आधार निर्माण हुन्छ’ उनले बताए ।

    आर्थिक मन्दीको समयमा सरकारले आफ्नो खर्च बढाउन सक्दा मात्रै अर्थतन्त्र चाँडो पुनः उत्थानतर्फ जाने भएकाले बजेटको आकार ठूलो बनाइएको समेत उनको भनाइ छ ।

    राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री कोभिड महामारीको अनिश्चिता र कर छुटको नीतिले गर्दा राजस्व लक्ष्य प्राप्त गर्न सहज नरहेको बताउँछन् ।

    ‘करमा थुप्रै प्रकारको छुट व्यवस्था गरिएकाले राजस्व संकलनमा कमी आउने देखिन्छ । अर्कोतर्फ कोभिड १९ को महामारीले अर्थतन्त्रलाई संकुचित बनाइदियो भने उक्त लक्ष्य हासिल गर्न झन् कठिन हुनेछ,’ उनले भने । सरकारले दिएको कर छुटले उद्योगी व्यवसायीको आम्दानी बढ्ने तर सरकारको राजस्व घट्ने अवस्था आउन सक्ने उनको भनाई छ ।

    उद्योगी व्यवसायीले करवापत प्राप्त छुटलाई अन्य क्षेत्रमा लगानी गरी लाभ प्राप्त सक्ने भए पनि र राज्यको स्रोत थप संकुचित बन्न सक्नेतर्फ सरकारको ध्यान नगएको उनी बताउँछन् ।

    अर्थविद् डा. चन्द्रमणी अधिकारी पनि राजस्व लक्ष्य भेटाउन चुनौतीपूर्ण नै रहेको बताउँछन् । कोभिड १९ का कारण आन्तरिक उत्पादन र आर्थिक बृद्धि ऋणात्मक रहेकाले राजस्व आयातमुखी देखिएको उनले बताए । सरकारले भन्सारमा पनि बिभिन्न छुटको व्यवस्था गरेकाले राजस्व लक्ष्य भेटाउन नसकिने उनको भनाइ छ ।

    ‘बजेटमार्फत करमा थुप्रै छुटको व्यवस्था गरिएको छ । सरकारले दिएको छुट बराबर अर्थतन्त्रमा उत्पादन हुन्छ वा हुँदैन भनेर तुलनात्मक अध्ययन भएको देखिदैन,’ उनले भने ‘सरकारको राजस्व बढ्ने आधार बजेटमा प्रस्तुत भएको छैन ।’

    के-के छन् छुट र सहुलियत ?

    सरकारले २० लाख रूपैयाँसम्म आम्दानी भएका उद्योग व्यवसायलाई ९० प्रतिशत छुट र २० लाखभन्दा माथिका ५० लाखसम्मलाई ७५ प्रतिशत र ५० लाखभन्दा माथि १ करोडसम्मलाई ५० प्रतिशत आयकर छुट दिने व्यवस्था गरेको छ ।

    होटल, ट्राभल, ट्रेकिङ, यातायात तथा हवाई सेवा, चलचित्र उद्योग र सञ्‍चार गृहको करयोग्य आयमा १ प्रतिशत मात्र आयकर लाग्ने छ भने यी व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर ७ वर्षबाट बढाएर १० पुर्‍याइएको छ । नोक्सानी ‘क्यारी फर्वाड’ गर्दा उद्योगी व्यवसायीहरूले प्रत्येक वर्षको आम्दानीबाट अघिल्ला वर्षको नोक्सानी घटाउन पाउने भएकाले सरकारलाई प्राप्त हुने करमा दिर्घकालिन असर पर्ने देखिन्छ ।

    त्यस्तै कम्पनी ऐन २०६३ र प्राइभेट रजिष्ट्रेसन ऐन २०१४ अनुसार आ.व २०७५/७६ सम्म बिबरण नबुझाएका तथा नवीकरण नगरिएका फर्म वा व्यवसायले असोज मासान्तसम्म विवरण बुझाएर नविकरण गरेमा ९० प्रतिशत शुल्क तथा जरिवाना छुटको व्यवस्था गरिएको छ । अर्थात १० प्रतिशतमात्रै छुट तथा शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

    २०७७ असार मसान्तसम्ममा कर निर्धारणमा चित्त नबुझाइ आन्तरिक राजस्व विभाग, राजस्व न्यायाधीकरण वा अदालतमा मुद्दा दायर गरेका झुट्टा र नक्कली बिजक बाहेकका करदाताले मुद्दा फिर्ता लिइ आगामी मंसिर मसान्तभित्रमा कर तिरेमा कर र व्याजमा बापतको रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै सयमभित्र कर दाखिला गरेमा बाँकी ब्याज, दस्तुर र जरिवाना पुर्णरुपमा मिनाहा हुने व्यवस्था गरिएको छ ।

    यसैगरी आयकर ऐन २०५८, अन्तशुल्क ऐन २०५८, मूल्य अभिवृद्धि कर ऐन २०५२ अनुसार अनुसार २०७६ असार मसान्तसम्म बक्यौता रहेको कर र सोको ब्याज आगामी मंसिर महिनासम्म बुझाएमा त्यसमा लाग्ने शुल्क, जरिवाना र थप दस्तुर मिनाहा हुने व्यवस्था बजेटमार्फत गरिएको छ ।

    तीन तहका सरकार मार्फत कोभिड १९ को उपचार रोकथाम तथा नियन्त्रणका उपचारकोषमा योगदान गरेमा करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्ने व्यवस्था मिलाइएको छ । व्यवसायिक प्रतिष्ठानहरूले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले कोभिड १९ को स्वास्थ्य सामग्री भएको खर्चलाई पनि आयकर गणना गर्दा खर्च कट्टी गर्ने व्यवस्था गरिएको छ ।

    निवृतिभरण बापतको करयोग्य आय गणना गर्दा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यसैगरी करदाताको करयोग्य आयमा प्रयोग भएका एलपी ग्यास तथा डिजल प्रयोगमा लाग्ने मुल्य अभिवृद्धि करकट्टी गर्ने व्यवस्था गरिएको छ ।

    अक्सिजन ग्याँस, लिक्विड अक्सिजन, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर लगायतका कोभिड १९ को उपचार तथा रोकथाम गर्नका लागि आवश्यक पर्ने औषधी आयात, उत्पादन तथा विक्री वितरणमा लाग्ने भन्सार महसुल, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क आगामी पुस मसान्तसम्म छुट दिने व्यवस्था गरिएको छ ।

    त्यसैगरी विद्युतीय सवारीसाधनमा लाग्दै आएको अन्तशुल्क पूर्णरूपमा खारेज गरी भन्सार महसुलमात्रै लाग्ने व्यवस्था गरिएको छ । अर्थात विद्युतीय सवारी साधनमा ४० प्रतिशत भन्सार शुल्क मात्रै लाग्ने व्यवस्था गरिएको छ ।

    विद्युतको उपयोग बढाउनका लागि १ प्रतिशतमा इन्डेक्सन चुलो आयात गर्न पाउने व्यवस्था गरिएको छ । रेफ्रिजेरेटर, ग्राइन्डर, राइसकुकर, पङ्खा लगायतका विद्युतीय उपकरणको अन्तःशुल्क खारेज गरी भन्सार महसुलसमेत घटाइएको छ ।

    शिशु स्वास्थ्य तथा पोषणलाई बढावा दिन भन्दै दुधको आयातमा लाग्ने भन्सार महसुल ५० प्रतिशतले घटाएको छ ।

    आन्तरिक वस्तुको उत्पादनमा लाग्दै आएको अन्तशुल्क हटाइएको छ । व्यवसायीक कृषि फर्ममा लाग्ने आयकरमा ५० प्रतिशत छुट र सहकारी मार्फत कृषि गर्ने फर्मका लागि आवश्यक पर्ने ढुवानीको सधान खरिदमा लाग्ने भन्सार महसुल ५० प्रतिशतले घटाइएको छ ।

    उत्पादनमूलक विशेष उद्योग स्थापना गर्न प्रोत्साहन गर्नका लागि आगामी आ.व देखि ५ वर्षसम्म प्रत्येक वर्ष १ प्रतिशतका दरले कर कटौति गर्दै १५ प्रतिशतसम्म पुर्याउने घोषणा बजेट मार्फत गरिएको छ । स्टार्टअप बिजनेशमा लाग्ने कर ५ वर्षका लागि सतप्रतिशत हटाइएको छ भने नीजि क्षेत्रका औद्योगिक प्रतिष्ठानले स्टार्टअप बिजनेश गर्ने उद्यमीका लागि १ लाखसम्म बिउ पुँजी उपलव्ध गराएमा करयोग्य आय गणना गर्दा कट्टी गर्ने पाउने व्यवस्था गरिएको छ ।

    स्वदेशी उद्योगले कच्चा पदार्थ उत्पादन गरी बिशेष उद्योगलाई बिक्री गरी प्राप्त हुने आयमा २० प्रतिशत र बिशेष उद्योगलाई निकासीबापत प्राप्त हुने आयमा १० प्रतिशत कर छुटको व्यवस्था गरिएको छ ।

    यसैगरी नेपालका बैंक तथा वित्तीय संस्थाबाट ऋण व्याज बापत भुक्तानी गर्नुपर्ने अग्रिम करको दर घटाइएको छ । सहकारी बैंक तथा सहकारी संस्था एक आपसमा ऋण लगानी गरी अग्रिम कर कट्टी गर्ने व्यवस्था खारेज गरिएको छ ।

    बाताबरणलाई प्रभाव पार्ने वस्तुहरूको प्रयोग गरी पुनर्उत्पादन गर्ने उद्योगलाई आगामी ३ वर्षका लागि ५० प्रतिशत र थप २ वर्षका लागि २५ प्रतिशत आयकरमा छुटको व्यवस्था गरिएको छ ।

    औद्योगिक क्षेत्रभित्र स्थानान्तरण नभएका उद्योगहरू स्थानान्तरण भएमा आगामी ३ वर्षका लागि ५० प्रतिशत र थप ५ वर्षका लागि २५ प्रतिशत आयकरमा छुटको व्यवस्था मिलाइएको छ ।

    अन्य हेरफेर

    सरकारले बजेटमार्फत मदिरा, वियर, वाइन, चुरोट, सुर्तीजन्य तथा हल्का पेय पदार्थमा अन्तःशुल्क बढाएको छ । साना करदाताहरूलाई लाग्दै आएको करको दर यथावत राखी आय बिबरण बुझाउने सिमा २० लाखबाट ३० लाख पुर्‍याइएको छ । निर्धारित कर बुझाउने करदाताको कारोबारको सीमा ५० लाखबाट १ करोड रुपैयाँ पुर्‍याइएको छ ।

    त्यस्तै उपभोक्ताले वस्तु तथा सेवाको खरिद गरी डिजिटल भुक्तानी प्रणालीमार्फत वस्तु खरिद गरेमा भ्याट बापतको १० प्रतिशत रकम तत्कालै फिर्ता हुने व्यवस्था गरिएको छ । डिजिटल माध्यमबाट कर भुक्तानीको व्यवस्था गरिने तथा चुहावट नियन्त्रण गरिने व्यवस्था मिलाइएको समेत बजेटमा उल्लेख गरिएको छ ।

  • ‘सांसद र नागरिकको चाहनाअनुरुपकै बजेट आउँछ’

    ‘सांसद र नागरिकको चाहनाअनुरुपकै बजेट आउँछ’

    कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याउने बजेटको तयारी तीव्र पारेको छ । बजेटका लागि प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्रालयले सांसदहरुसँग योजना माग गरेको छ । र, मन्त्रालयले बजेटमा प्रदेशका योजना प्राथमिकीकरणको काम गरिरहेको छ । असार एक गते प्रदेशसभामा प्रस्तुत हुने बजेटबारे प्रदेश सरकारका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मासँग नेपाल प्रेसका लागि शेरबहादुर थापाले गरेको कुराकानीः

    बजेटको तयारी कसरी गरिरहनु भएको छ ?

    अहिले हामीले मातहतका निकायहरुबाट बजेटका लागि आवश्यक कार्यक्रम माग गरिरहेका छौं । माग भएका कार्यक्रमबारे छलफल पनि भइरहेको छ । त्यस्तै अरु मन्त्रालयले तयार पारेको बजेटको सिलिङ र योजनाबारे पनि छलफल, अध्ययन भइरहेको छ ।

    साथै, हामीले बजेटका प्राथमिकता पनि तोकिसकेका छौं । समग्रमा हामी बजेट कायान्वयनमुखी र नतिजा देखिने प्रकारको बनाउनेमा केन्द्रित छौं ।

    बजेटका प्राथमिकता चाहिँ के–के हुन्, कसरी निर्धारण गर्नुभएको छ ?

    हामीले पहिलो प्राथमिकता कोरोना महामारी र यसले निम्त्याएको समस्या समाधानलाई नियन्त्रणलाई दिएका छौं । मूलतः स्वास्थ्य क्षेत्र सबल र सदृढ बनाउनेमा हाम्रो ध्यान केन्द्रित भएको छ ।

    दोस्रोमा हामीले बेरोजगारी समस्या समाधानलाई राखेका छौं । त्यससँगै पूर्वाधार विकास र शिक्षा क्षेत्रलाई पनि महत्व दिइनेछ ।

    प्रदेशसभामा ‘प्रि–बजेट’ छलफलबिनै बजेट ल्याउँदै हुनुहुन्छ । विगतमा जस्तो सरकारले ल्याएको बजेट प्रदेशसभाले उल्ट्याइदिने त होइन ?

    प्रदेशसभामा ‘प्रि–बजेट’ छलफल गर्ने अवस्था आयो भने हामी अझै तयारै छौं । सदनसँग जोडिएर काम गर्ने कुरामा कुनै समस्या छैन । अहिलेको विषम परिस्थितिलाई प्रदेशसभाले पनि बुझ्छ, बुझ्नुपर्छ ।

    मलाई बजेटप्रति सांसदले गर्ने अनुभूतिबारे राम्रो ज्ञान छ । म सांसदको मनोभावना बुझ्छु । प्रदेशसभा सदस्यहरुसँगको छलफलपछि नै बजेट ल्याउने हो । त्यसैले त्यस्तो समस्या हुन्छ जस्तो लाग्दैन ।

    हामी जनमुखी बजेट बनाउन चाहन्छौं । सांसदहरुका अधिकांश कुरा समेटछौं । जनताले अपेक्षा गरेका कुराभन्दा बाहिर कोही पनि जनप्रतिनिधि जान सक्दैनन् । जनताबाट निर्वाचित प्रतिनिधि नै जनताका लागि काम गर्ने भएकाले सबैको सल्लाहअनुसार नै हामी अघि बढछौं ।

    बजेट कार्यान्वयनको अवस्था दयनीय हुने गरेको छ । बजेट कति प्रतिशत कार्यान्वयन गर्नुहुन्छ ?

    अहिले प्रतिशत नै त नभनौं । तर कार्यान्वयनमुखी बजेट ल्याउँछौं । बजेट कायान्वयनको खाका, योजना बनाएरै बजेट ल्याउँछौं । सकेसम्म धेरै बजेट प्रभावकारी ढंगमा खर्च हुनेगरी नै बजेट ल्याउने हो ।

    बजेटको सिलिङ कति जति हुन्छ ?

    अहिले नै यति उति त नभनौं । तर, गत वर्षकै जस्तो ३३–३४ अर्ब हाराहारीकै बजेट आउँछ ।

     

  • बजेट बहस: निजी शैक्षिक क्षेत्रलाई उपेक्षा उस्तै, अपेक्षा धेरै

    बजेट बहस: निजी शैक्षिक क्षेत्रलाई उपेक्षा उस्तै, अपेक्षा धेरै

    जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गर्नुभयो । उच्च प्राथमिकता दिँदै शिक्षा क्षेत्रमा कुल एक खर्ब ८० अर्ब ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

    अध्यादेशमार्फत ल्याइएको यो बजेट समग्रमा लोकप्रिय र जनमुखी रहेको बताइन्छ । कोरोना महामारीकै बीचमा आएको बजेटमा लगभग सबैजसो क्षेत्रलाई खुशी बनाउने प्रयास गरिएको छ । तर, मुलुकको शिक्षा क्षेत्रको ठूलो हिस्सा ओगटेको र गुणस्तरीय शिक्षा दिइरहेको निजी शिक्षा क्षेत्रलाई भने यसले अपेक्षितरूपमा समेट्न सकेको देखिँदैन ।

    कोरोनाको मारले थला परेका नेपालका १० हजार हाराहारीमा रहेका निजी क्षेत्रका संस्थागत विद्यालयले सरकारसँग राहतको अपेक्षा गरेको थियो, तर बजेटले सम्बोधन गर्न सकेन । फलस्वरूप बजेटबाट अन्य धेरै क्षेत्र खुसी हुँदा पनि निजी शिक्षा क्षेत्र निराश छ

    निजी शैक्षिक क्षेत्रको परिणामलाई देखाएरै आफ्नो शैक्षिक शाख जोगाइरहेको छ । तर सरकारले बजेटमार्फत लगभग ६ खर्बको लगानी रहेको र करिब दुई लाखले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेको शिक्षाको यो विशाल क्षेत्रको समस्यालाई सम्बोधन गरेन । यसले सरकारले निजी शैक्षिक क्षेत्रको योगदानलाई अझै पनि मूल्याङ्कन गर्न नसकेको प्रष्ट हुन्छ ।

    सरकारी शिक्षामा बजेटको व्यवस्था

    सरकारले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रमा सबैभन्दा ठूलो बजेट विनियोजन गरेको छ । आगामी वर्षका लागि शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरिएको छ । शिक्षा क्षेत्रमा विनियोजन गरिएको बजेट ५ वर्षयताकै बढी हो । चालु वर्षमा शिक्षा क्षेत्रका लागि कुल बजेटमध्ये १ खर्ब ७१ अर्ब ७१ करोड अर्थात् कुल ११.६४ प्रतिशत रकम विनियोजन गरिएको थियो ।

    विगतका वर्षहरूको तुलनात्मक अध्ययन गर्दा सरकारले आर्थिक वर्ष २०६७/०६८ मा सबैभन्दा बढी राष्ट्रिय बजेटको १७ दशमलव ११ प्रतिशत बजेट शिक्षामा छु्ट्याएको थियो । यसपटक सरकारले शिक्षा क्षेत्रलाई बढी महत्व दिएको प्रष्ट देखिन्छ ।

    यो वर्ष पनि सरकारले दुई वर्षदेखि सुरू गरेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिँदै १० अर्ब बजेट विनियोजन गरेको छ । यस्तै बालविकासका शिक्षकको पारिश्रमिक १५ हजार पु¥याउनका लागि ५ अर्ब ५५ करोड छुट्याएको छ । सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्न ८ अर्ब ३२ करोड र सामुदायिक विद्यालयका शिक्षकको दरबन्दी मिलानमा २ अर्ब ६६ करोड बजेट राखिएको छ ।

    सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट र नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रम निर्माण गर्न १ अर्ब २० करोड छुट्याइएको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण उपलब्ध गराउने कार्यक्रम, कक्षा १२ सम्मका सबै छात्र तथा छात्रालाई पाठ्यपुस्तक वितरणका लागि गरी कुल ४ अर्ब ७९ करोड छुट्याइएको छ । तर निजी शिक्षातर्फ संस्थागत विद्यालयका समस्याबारे भने बजेट पूर्णतः मौन रहेको पाइन्छ ।

    तथ्याङ्कमा निजी शिक्षा क्षेत्र

    नेपालमा हाल झण्डै १० हजार निजी वा संस्थागत विद्यालयहरू छन् । उच्च शिक्षा र मन्टेश्वरीलाई छुट्याएर हेर्ने हो भने हाल निजी विद्यालयहरूमा झण्डै २५ लाख ५० हजार विद्यार्थीहरू अध्ययनरत छन् ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रको (२०१९–२०)को प्रतिवेदनअनुसार नेपालमा प्राथमिक तहदेखि माध्यमिक तहसम्ममा सामुदायिक र संस्थागत गरी कुल ८१ लाख २७ हजार १ सय ८३ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये संस्थागत विद्यालयमा २५ लाख ४४ हजार २५ जना (लगभग ३१ प्रतिशत ) र सामुदायिक विद्यालयमा ५५ लाख ८३ हजार १ सय ५८ जना ( लगभग ६९ प्रतिशत) रहेको उल्लेख छ ।

    संस्थागत विद्यालयमा करिव २ लाख ५० हजार शिक्षक कर्मचारी कार्यरत छन् । उनीहरूमा आश्रित जनसङ्ख्या करिव १२ लाख रहेको छ । यसैगरी यस्ता विद्यालयहरूमा वार्षिक ३० अर्ब खर्च भएको तथ्याङ्कले देखाउँछ । यो कुल शिक्षामा सरकारले छुट्याएको बजेटको ठूलै हिस्सा हुन आउँछ ।

    निजी शैक्षिक सञ्चालकहरूले विद्यालय शिक्षामा हालसम्म करिब ६ खर्ब रूपैयाँ लगानी गरेका छन् । उनीहरूले विद्यालयको भौतिक संरचना, पूर्वाधार विकास, जनशक्ति व्यवस्थापनलगायतमा उक्त रकम लगानी गरेका हुन् । निजी विद्यालयहरूको वार्षिक कारोबार (विद्यार्थीबाट उठेको शुल्क ) करिब दुई खर्ब रूपैयाँ पुगेको बताइन्छ । करिब दुई लाख पचास हजारलाई रोजगारी दिएको निजी क्षेत्रसँग कुल विद्यार्थी संख्याको करिब ३१ प्रतिशत अर्थात् करिब २५ लाख विद्यार्थी अध्ययनरत छन् ।

    मुलुकको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी)मा शैक्षिक क्षेत्रको योगदान ७ दशमलव २३ प्रतिशत छ । जीडीपीमा शिक्षा क्षेत्रको योगदान बढ्दो क्रममा छ । २०७३ र ७४ मा ६ दशमलव ८३ प्रतिशत रहेको शिक्षाको योगदान गत वर्ष ७ दशमलव २३ प्रतिशतमा पुगेको हो । यस आधारमा पनि निजी शैक्षिक क्षेत्रमा आर्थिक गतिविधि बढ्दो छ ।

    शिक्षामा निजी क्षेत्रको योगदान

    नेपालको शैक्षिक गुणस्तर विकासमा निजी विद्यालयको महत्वपूर्ण योगदान छ । निजी विद्यालयका विद्यार्थीहरूले राष्ट्रिय बोर्ड परीक्षा होस् वा अन्य कुनै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता होस्, सबैमा आफूलाई अब्बल साबित गर्दै आएका छन् ।

    एसईई परीक्षाको विगत र वर्तमानको मूल्यांकन गर्ने हो भने शिक्षाको सवालमा राज्यको शाख र प्रतिष्ठा नै निजी स्कूलले बचाएको देखिन्छ । पछिल्ला १० वर्षको एसएलसी.वा एसईई परीक्षाको नतिजाको उत्तीर्ण प्रतिशत मात्रैलाई हेर्ने हो भने पनि राज्यले खरबौँ लगानी गरिरहेका सामुदायिक विद्यालयको उत्तीर्ण प्रतिशत पुगनपुग ३० प्रतिशतको हाराहारीमा मात्रै देखिन्छ भने राज्यको एक रूपैयाँ पनि प्रत्यक्ष आर्थिक लगानी नरहेका निजी विद्यालयको उत्तीर्ण प्रतिशत लगभग ९० प्रतिशत रहेको देखिन्छ ।

    निजी विद्यालयको रिजल्टलाई अलग्याएर हेर्ने हो भने केही दुई चार सामुदायिक विद्यालयको नतिजाबाहेक आम सरकारी विद्यालयको नतिजा अझै पनि २० –२५ प्रतिशतभन्दा माथि उठ्न सकेको छैन । नेपालका समग्र सामुदायिक स्कुलहरूको शैक्षिक गुणस्तर र परिणाम अत्यन्तै दयनीय, भयावह र टिठलाग्दो नै छ ।

    वर्सेनि खरबौँको लगानी गरेका सरकारी अर्थात् सामुदायिक विद्यालयहरूको नतिजा प्रतिशत अपेक्षितरूपमा माथि उठ्न सकेको पाइँदैन । प्रतिफलको हिसाबले नेपालको शिक्षा क्षेत्रका लागि सामुदायिक विद्यालयहरूमा बजेट लगानी बालुवामा पानी खन्याएसरह भएको छ । यसर्थ मूलतः मुलुकको समग्र शैक्षिक गुणस्तर निजी शिक्षाले नै धानेको पाइन्छ ।

    महामारीको मारमा निजी शिक्षा क्षेत्र

    कोरोना महामारीले संस्थागत विद्यालयलाई नराम्रोसँग थला पारिसकेको छ । गत वर्षदेखि नै विद्यालय बन्द हुँदा उनीहरूको नियमित मासिक शुल्क उठ्न सकेको छैन । आर्थिक अभावका कारण कतिपय विद्यालयहरू बन्द भइसकेका छन् । घरभाडा, शिक्षक र कर्मचारीको खर्च, अन्य सञ्चालन खर्च र बैंकको ब्याज तिर्न नसक्ने अवस्थाका कारण लगभग ५० प्रतिशत विद्यालय अब खुल्नै नसक्ने अवस्थामा पुगिसकेको बताइन्छ ।
    कतिपय विद्यालय खुलेपछि हुने व्ययभार धान्न नसक्ने भएर पुनः नखुल्ने अवस्थामा छन् । साडे दुई लाख शिक्षक कर्मचारीमध्ये अधिकांशको रोजगारी गुमिसकेकोे छ । कोभिड लम्बिँदै जाँदा यो संख्या अझै बढ्न सक्छ । गुणस्तरीय शिक्षा दिइरहेका विद्यालयहरू बन्द हुँदाको नकारात्मक असर अन्ततः मुलुकलाई नै पर्ने निश्चित छ ।

    विद्यार्थीबीच विभेद

    लगानीका हिसाबले सरकारले निजी र सामुदायिक विद्यालयका विद्यार्थीबीच विभेद गरेको छ । सरकारले सामुदायिक विद्यालयमा ठूलै हिस्सा लगानी गरेको छ । बजेटमा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई दिवा खाजा र निशुल्क पुस्तक वितरणका लागि अरबौँ रकम विनियोजन गरिएको छ । तर निजी विद्यालयमा अध्ययनरत पच्चीसौँँ लाख विद्यार्थीका लागि भने सरकारले कुनै किसिमको सेवा–सुविधा उपलब्ध गराउन सकेको छैन । उनीहरूप्रति राज्यको दायित्व नै नभएझैँ यसतर्फ कुनै चिन्ता वा सरोकार राखेको देखिँदैन ।

    सरकारले बाल विकास केन्द्रका शिक्षकका लागि मासिक १५ हजार, विद्यालय कर्मचारीका लागि मासिक १५ हजार र विद्यालय कर्मचारी (लेखापाल)का लागि पनि मासिक १५ हजार नै व्यवस्था गरेको छ । यो राम्रो पक्ष हो तर, त्योभन्दा निकै कम पारिश्रमिक र सेवासुविधामा काम गर्न वाध्य निजी शैक्षिक क्षेत्रका करिब साडे दुई लाख शिक्षक–कर्मचारीका बारेमा सरकारकोे स्पष्ट दृष्टिष्कोण र मापदण्ड खोई ? उनीहरूका बारेमा सरकारको दायित्व र जिम्मेबारी के त ? बजेटले केही सम्बोधन गर्न सकेको छैन ।

    सबै सार्वजनिक विद्यालयहरूमा निशुल्क इन्टरनेटको व्यवस्था गर्ने र विद्यार्थीलाई ल्यापटप खरिद गर्न सहुलियत दिने भनिएको छ । यो सुविधा र सहुलियत संस्थागत विद्यार्थीले पाउने कि नपाउने ? बजेट मौन छ । दलित तथा पिछडिएका विद्यार्थीका लागि निशुल्क उच्च माविसम्म शिक्षा उपलब्ध गराउने भनियो तर संस्थागत विद्यालयमा अध्ययनरत दलित तथा पिछडिएका विद्यार्थीहरूले के सुविधा पाउने ? त्यो पनि स्पष्ट छैन । अब स्वाभाविक प्रश्न उठ्छन्, के संस्थागत विद्यालयमा अध्ययनरत दलित विद्यार्थी यो देशका दलित नागरिक नै होइनन् त ? सरकारले आफ्ना नागरिकहरूलाई यसरी विभेद गर्न मिल्छ ?

    सबै स्थानीय तहमा प्राविधिक शिक्षा स्थापना गर्ने भनिएको छ । त्यो स्वीकृति संस्थागत विद्यालयले पाउने कि नपाउने ? बजेट मौन रहेको छ । के संस्थागत विद्यालयमा पढ्ने लाखौं विद्यार्थी प्राविधिक शिक्षाबाट वञ्चित हुनैपर्ने हो ? के निजी विद्यालयमा पढ्ने विद्यार्थी यो देशका विद्यार्थी नै होइनन् ? उनीहरूले खाजा खानु नै पर्दैन ? के निजी विद्यालयका छात्राहरू नेपालका छात्रा नै होइनन् ? के उनीहरू महिनावारी नै हुँदैनन् र उनीहरूलाई सेनेटरी प्याड नै आवश्यक पर्दैन ? के निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पुस्तक नै चाहिँदैन ? के निजी विद्यालयमा पढ्ने गरिब, दलित, जनजाति र मधेसी नेपालका नागरिक नै होइनन् ? उनीहरू छात्रवृत्तिबाट वञ्चित हुनैपर्छ ? तमाम प्रश्न र विषयहरू छन् जुन बजेटमा समेटिएका छैनन् ।

    महामारी र संकटको यो घडीमा पनि सरकार बजेटमार्फत् शिक्षामा वर्ग विभाजन गरेर आफ्नो निष्पक्ष अभिभावकीय दायित्वबाट विचलित भएको छ । बजेटमार्फत सरकारले गरेको यो पक्षपातपूर्ण व्यवहार नाजायज मात्रै होइन, समानता र विभेदविरूद्ध अनि मौलिक हक र मानवअधिकारविरुद्धको गम्भीर विषय पनि हो ।

    निजी विद्यालयका मागप्रति सरकार उदासीन

    संस्थागत विद्यालयले सरकारसँग शिक्षक–कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि राहत प्याकेजको अपेक्षा गरेका थिए । अनलाइन कक्षाका लागि आवश्यक ईन्टरनेट सुविधा र भर्चुअल कक्षाका लागि शैक्षिक सामग्रीमा छुटको माग गरेका थिए । लकडाउन अवधिभरको बिजुली पानी, टेलिफोन शुल्क तथा अन्य शुल्क छुट र घरभाडा छुटको अपेक्षा गरेका थिए ।

    गत वर्षदेखि नै संस्थागत विद्यालयहरूले बैंक ऋणको व्याजमा छुट तथा व्यावसायिक निरन्तरता कर्जा अनि पुनर्कजा व्यवस्था लगायतका माग गरेका थिए । तर बिडम्बना, महामारीको मारले संकटमा परेका निजी क्षेत्रका शैक्षिक संस्थाहरूलाई जोगाउन सरकारले बजेटमार्फत कुनै सम्बोधन नै गर्न सकेन । सरकारले त्यसतर्फ चासो देखाउन सकेन । निजी शिक्षा क्षेत्रलाई समेटेर कुनै राहत प्याकेज ल्याउन सकेन । सरकारले निजी विद्यालयहरूलाई सधैझैं यो संकटको घडीमा पनि पूर्णतः उपेक्षा गरेको छ । निजी विद्यालयका व्यक्तिहरू देशका नागरिक होइनन् जस्तो व्यवहार गरेको छ । लोककल्याणकारी राज्य र अभिभावकीय दायित्वबाट सरकार चुकेको देखिन्छ । पन्छिएको देखिन्छ ।

    अन्त्यमा, राज्य निजी संस्था, सरकारी वा व्यक्ति सबैको अभिभावक हो । संकटमा परेका निजी क्षेत्रका शैक्षिक संस्थालाई जोगाउनु सरकारको दायित्व हो । आम अभिभावकले रूचाएको, माया गरेको, विश्वास गरेको निजी शिक्षाबारे यो संकटकोे बेलामा नसोच्ने हो भने समग्र शिक्षा क्षेत्र नै डामाडोल र अस्तव्यस्त नहोला भन्न सकिन्न । यो राज्यकै सफलता र असफलतासँग जोडिएको विषय पनि भएकोले यस विषयमा पुनर्विचार हुनु जरूरी छ ।

  • रुपन्देहीका कुन स्थानीय तहले कति पाए बजेट ? (सूचीसहित)

    रुपन्देहीका कुन स्थानीय तहले कति पाए बजेट ? (सूचीसहित)

    रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा देशभरका नगरपालिकाहरुमध्ये रुपन्देहीको तिलोत्तमा नगरपालिका सबैभन्दा बढी अनुदान पाएको छ । तिलोत्तमा नगरपालिकाले कुल ८३ करोड ३७ लाख बजेट प्राप्त गरेको हो ।

    यो बजेटमा सबैभन्दा कम बजेट अनुदान पाउने सिराहाको कर्जन्हा नगरपालिले २७ करोड ६४ लाख रुपैया प्राप्त गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमध्ये झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्नेछ ।

    विनियोजित बजेटमध्ये आगामी वर्ष ३ खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ वित्तीय हस्तान्तरणका माध्यमबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण हुने र त्यो मध्ये प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड रुपैयाँ वित्तीय हस्तान्तरण हुनेछ ।

    यसरी गएको रकममध्ये गाउँपालिकामा १ खर्ब ३९ अर्ब १९ करोड, नगरपालिकामा १ खर्ब २३ अर्ब ९६ करोड, उपमहानगरपालिकामा ९ अर्ब ७६ करोड र महानगरपालिकाहरुमा १० अर्ब ९ करोड रुपैयाँ हस्तान्तरण भएको छ ।

    नेपाल सरकारले समानीकरण अनुदान (कार्यसम्पादनमा आधारित अनुदान, न्यूनतम अनुदान, सुत्रमा आधारित अनुदान), ससर्त अनुदान, समपुरक अनुदान गरी स्थानीय तहलाई अन्तर सरकारी वित्तीय हस्तान्तरण गर्दै आएको छ ।

    लुम्बिनी प्रदेशका उपमहानगरपालिकाहरुमध्ये सबैभन्दा बढी घोराही उपमहानगरपालिकाले एक अर्ब तीन करोड ५५ लाख प्राप्त गर्दा तुल्सीपुर उपमहानगरपालिकाले ९१ करोड ५८ लाख,नेपालगञ्ज उपमहानगरपालिकाले ९४ करोड ६१ लाख र बुटवल उपमहानगरले ७८ करोड ९७ लाख प्राप्त गरेको अर्थमन्त्रालयले सार्वजनिक गरेको बजेटमा उल्लेख छ ।

    त्यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिकाले ५४ करोड १५ लाख, सिद्धार्थनगर नगरपालिकाले ५३ करोड ४३ लाख, सैनामैना नगरपालिकाले ४२ लाख ६५ लाख र देवदह नगरपालिकाले ४२ करोड ६० लाख, बर्दघाट नगरपालिकाले ४९करोड ३३ लाख सुनवल नगरपालिकाले ४६ करोड ४८ लाख रामग्राम नगरपालिकाले ५१ करोड ६ लाख, प्राप्त गरेका छन् ।

    त्यसैगरी बाणगंगा नगरपालिकाले ६३ करोड ६६ लाख तानसेन नगरपालिकाले ६१ करोड ५ लाख मुसीकोट नगरपालिकाले ४७ करोड १८लाख सन्धीखर्कले ५९ करोड ५ लाख प्राप्त गरेका छन् ।

    त्यसैगरी रोल्पा नगरपालिकाले ३९ करोड ३८ लाख, प्युठान नगरपालिकाले ४३ करोड ४ लाख लमही नगरले ४४ करोड ६९ लाख कोहोलपुर नगरले ५५ करोड ९ लाख र बार बर्दिया नगरपालिकाले ५५ करोड ७१ लाख प्राप्त गरेका छन् ।

    संघीय सरकारले स्थानीय तहलाई त्यहाँको जनसंख्या, भूगोल, पालिकाको महत्वको आधारमा न्यूनतम अनुदान उपलब्ध गराउँदै आएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले न्यूनतम अनुदान ८ करोड २५ लाख प्राप्त गर्दा तिलोत्तमाले ५ करोड, देवदहले ३ करोड ७५ लाख, लुम्बिनी सांस्कृतिक नगरपालिकाले ४ करोड २५ लाख, सिद्धार्थनगरपालिकाले ४ करोड र सैनामैनाले ३ करोड ७५ लाख प्राप्त गरेका छन् ।
    स्थानीय सरकारलेहरुले संघीय र प्रदेश सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत् प्राप्त हुने बजेट समेतको आधारमा आगामी आर्थिक वर्षको लागि आफ्नो बजेट सार्वजनिक गर्छन् ।

    आगामी आर्थिक वर्षमा रुपन्देहीको ओमसतिया गाउँपालिकाले २८ करोड ६० लाख, कञ्चन गाउँपालिकाले ३३ करोड ७५ लाख, कोटहीमाई गाउँपालिकाले २८ करोड ९० लाख, गैडहवा गाउँपालिकाले ३२ करोड ७८ लाख, मर्चवारी गाउँपालिकाले ३० करोड ९५ लाख, मायादेवी गाउँपालिकाले ३५ करोड ८८ लाख, रोहिणी गाउँपालिकाले ३४ करोड १९ लाख, शुद्धोधन गाउँपालिकाले ३१ करोड ४३ लाख, सम्मरीमाई गाउँपालिकाले ३२ करोड ७५ लाख र सियारी गाउँपालिकाले ३८ करोड ५० लाख अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत् संघीय सरकारबाट बजेट प्राप्त गरेका छन् ।

  • छाया अर्थमन्त्रीले भने- बजेटमा जनमत प्रभावित पार्ने दुराशय

    छाया अर्थमन्त्रीले भने- बजेटमा जनमत प्रभावित पार्ने दुराशय

    काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमार्फत सरकारले जनमत प्रभावित गर्ने दुराशय राखेको आरोप लगाएको छ । सरकारले बजेटमा राखेका भ्रमपूर्ण योजना कार्यान्वयन हुन नसक्ने चेतावनी पनि कांग्रेसले दिएको छ ।

    आज पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेसले बजेटबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा पार्टीका नेता डा. मिनेन्द्र रिजालले लिखित वक्तव्य पढेर सुनाएका थिए । वक्तव्यमा सरकारले लिएका राजश्वका लक्ष्यहरु सफल नहुने उल्लेख छ । सरकारलाई खबरदारी गर्न कांग्रेसले गठन गरेको ‘छाया सरकार’ को रिजाल अर्थमन्त्री हुन् ।

    ‘जनमत प्रभावित गर्ने सरकारी दुराशय बजेट वक्तव्यमा देखिन्छ,’ रिजालले भने, कर्णप्रिय नाराको आवरण दिएर देशको ऋण मात्रै बढाउने काम भएको छ । बजेटका योजना कार्यान्वयन हुन सक्दैनन् ।’

    सरकारले भनेजसस्तो आर्थिक वृद्धि हासिल नहुने उनले बताए । यो बजेटले जनतामा कुनै आशा जागृह गर्न नसक्ने पनि उनको भनाइ थियो ।

  • ‘सुगरकाेटेड गरिएको बजेट, अर्थतन्त्रका लागि हितकर छैन’

    ‘सुगरकाेटेड गरिएको बजेट, अर्थतन्त्रका लागि हितकर छैन’

    काठमाडौं । आर्थिक बर्ष २०७८/७९ को बजेट सार्वजनिक भएसँगै यसको पक्ष र विपक्षमा बहसहरु भइरहेका छन् । बजेटलाई हेर्ने दृष्टिकोणमा राजनीतिक दलका नेता त विभाजित हुने नै भए, अर्थविदहरुमा पनि मतैक्य छैन ।

    तर, आइतबार एक कार्यक्रममा उपस्थित पूर्वअर्थमन्त्री र कांग्रेसनिकट अर्थविदहरुले बजेटको एकस्वरमा आलोचना गरे । कांग्रेसमातहतको ‘स्कुल अफ डेमोक्रेसी’ले आयोजना गरेको बजेट समिक्षा कार्यक्रममा उनीहरुको साझा धारणा थियो- बजेट देशको अर्थतन्त्र उकास्नेभन्दा चुनाव केन्द्रीत भयो । साथै बजेटको कार्यान्वय चुनौतिपूर्ण रहेको उनीहरुको भनाइ छ ।

    पुर्वअर्थमन्त्री रामशरण महत, पूर्वगर्भनर चिरञ्जीवी नेपाल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा. शकर शर्मा, प्रा.डा गोविन्द्रराज पोखरेल, डा. जगदिश पोख्रेरल र अर्थशास्त्री डा. विश्व पौडेल बजेट बहसमा सहभागी थिए ।

    नेपाली कांग्रेसका नेता तथा पुर्वअर्थमन्त्री डा. महतले कृत्रिम हिसावमा बजेटको आकार बढाएर चुनावमुखी कार्यक्रमहरु प्रस्तुत गरिएको आरोप लगाए । संवैधानिक बिधि पद्धति तथा मुल्य र मान्यताबिपरित बजेट आएको उनको टिप्पणी थियो ।

    ‘सरकारले अनुचित तरिकाले बजेट ल्याएकोले आगामी यो कार्यान्वयन नै हुँदैन,’ उनले भने, ‘सर्वोच्च अदालतको फैसलापछि बन्ने वा निर्वाचनपछि आउने सरकारले ल्याउने बजेटमा यो बजेटका केही कार्यक्रमले मात्रै निरन्तरता पाउनेछन् ।’

    बजेटका लक्ष्यहरु पनि अस्वभाविक रहेको उनले बताए । ११ खर्ब पनि बजेट खर्च नहुने अर्थतन्त्रमा खर्चभन्दा ५० प्रतिशतले बढाएर बजेटको लक्ष्य निर्धारण गरिएको उनको भनाइ छ ।

    ‘स्रोतको सुनिश्चिता नगरी चुनाव तथा कार्यकर्तालाई रकम बाँड्ने गरी बितरणमुखी बजेट आएको छ,’ डा. महतले भने ।

    सरकारले बजेटमार्फत ६.५ प्रतिशतको महत्वाकांक्षी आर्थिक बृद्धिको लक्ष्य राखिएको उनले बताए । अघिल्लो बर्षको आर्थिक बृद्धि ८.५ प्रतिशतको राख्दा ऋणात्मक र चालू ७ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य राख्दा करिब २ प्रतिशतको हुनसक्ने अनुमान भइरहेको वेला आगामी आर्थिक बर्ष पनि उक्त लक्ष्य पुरा नहुने उनले भविष्यवाणी गरेका छन् ।

    सरकारले जथाभावी बाह्य ऋण लिएको बताउदै डा. महतले भने, ‘करिव ६ बर्षअगाडि म अर्थमन्त्री हुँदा सार्वजनिक ऋण २५.६ प्रतिशत थियो । अहिले आएर ४० प्रतिशत पुगेको छ । त्यतिवेला प्रतिव्यक्ति २६ हजार ऋण रहेकोमा यो सरकारले ४ बर्षमा प्रतिव्यक्ति ५२ हजार ऋण पुर्याएको छ ।’

    अनावश्यकरुपमा समाजिक सुक्षा भत्ता र तलवहरु बृद्धि गरिएको भन्दै महतले रोष प्रकट गरे । कर्मचारीको तलब बृद्धिका सम्वन्धमा कानून मिचिएको उनको टिप्पणी थियो ।

    अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पुर्वउपाध्यक्ष शंकर शर्माले आगामी आर्थिक बर्षको बजेट १५ औ योजनाको लक्ष्यलाई धक्का पुग्ने गरी प्रस्तुत गरिएको बताए । सरकारले चालूतर्फ जाने खर्च लुकाउनका लागि बजेटको अनुसचि १ नै परिवर्तन गरेको आरोप उनले लगाए ।

    ‘बजेटको प्रस्तती नै फरक छ । चालु खर्चका शिर्षकहरुलाई तोडमोड गरेर बजेटको अनुसुची १ फरक तरिकाले प्रस्तुत गरिएको छ । तलब, भत्ता, सामाजिक सुरक्षा, लगायतका खर्चका शिर्षकहरु देखाइएको छैन,’ उनले भने ।

    चालू खर्च ९० प्रतिशत खर्च हुने, तर पुँजीगत खर्च ८० प्रतिशत खर्च पनि नहुने अवस्था देखिएको उनले बताए । राजस्वको सम्पुर्ण हिस्सा चालू खर्च धान्नमा नै खर्च हुँदा बिकास गर्नका लागि ऋण माग्नुपर्ने अवस्था रहेको शर्माको टिप्पणी छ ।

    ‘बाह्य ऋण तथा अनुदान पनि बजेटमा राखिएको लक्ष्यनुसार प्राप्त गर्न सकिने अवस्था देखिदैन । कोभिडका कारण नेपाल मात्रै होइन बिश्व नै प्रभावित भएको छ भन्नेतर्फ ध्यान पुगेको देखिदैन् । यही हिसावमा ऋण र खर्चको अवस्था भयो भने हामी आर्थिकरुपमामा पनि खतरापुर्ण अवस्थामा पुग्नेछौं,’ उनले भने ।

    शर्माले बजेटमार्फत प्रदेश र स्थानीय तहमा जाने समपुरक र बिशेष अनुदान घटाइनु तथा सशर्त अनुदान बढाइनले स्थानीय तहको स्वयत्तामाथि प्रश्न उठेको बताए ।

    ‘सशर्त अनुदानको खर्च बढाउदै छ केन्द्रीय सरकारले । सशर्त अनुदान बढ्दै जाँदा प्रदेश सरकार र स्थानीय तहको स्वयत्ततामाथि प्रश्न उठेको छ’, शर्माले भने ।

    बृद्धभत्ता तथा सामाजिक सुरक्षा भत्तामा नेपाल दक्षिण एसियामा सबैभन्दा बढी खर्च गर्ने राष्ट्र भएको उनले बताए । मितव्ययिताको कुरामा सरकार निकै कमजोर देखिएको भन्दै शर्माले बजेटमार्फत बजेटमार्फत लिएको ६.५ प्रतिशतको आर्थिक बृद्धि हासिल हुन कठिन रहेको उल्लेन गरे ।

    राजनीतिक महत्वकांक्षा हावीः डा. गोविन्द पोखरेल

    राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा गोविन्द पोखरेलले आगामी आर्थिक बर्षको बजेटमा राम्रा–नराम्रो पक्षहरु दुबै रहेको बताए । अर्थमन्त्रीले ३ घण्टा लगाएर प्रस्तुत गरिएको ५ सय बुँदाको बजेटमा रोजगारी सृजनाका लागि राम्रै कार्यक्रम ल्याइएको उनको भनाइ छ ।

    बजेटले सबै बिषय छोएको छोएको भन्दै पोखरेलले यो नै बजेटको कमजोरी पक्ष भएको औंल्याए ।

    ‘बजेटमा अर्थशास्त्रीय भुमिकाभन्दा पनि राजनीतिक महत्वकांक्षा प्रस्तुत गरिएको छ’, उनले भने ।

    रेलमार्ग, सुरुङ्गमार्ग, चुरे संरक्षण, युरेनियम जस्ता उडन्ते कुराहरु पनि बजेटमा समावेश भएको भन्दै उनले आलोचना गरे । कार्यान्वय हुन नसकेका प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आनुनिकीकरण कार्यक्रम, च्यालेन्ज फण्ड जस्ता असफल कार्यक्रम प्रस्तत भएको भन्दै कतिपय पुर्वतयारी नभएका आयोजनाहरु राखिएकाले यो बजेट कार्यान्वयन हुन नसक्ने दावी गरे ।

    बजेटले लिएको महत्वकांक्षा पुरा गर्नका लागि संयन्त्र निर्माण गर्न नै १ बर्षभन्दा बढी समय लाग्ने भएकाले बजेट अनुशासनभन्दा बाहिर गएको पोखरेल बताउँछन् ।

    ‘कार्यकर्ता सजिलो गरी पाल्नेगरी खर्च बजेट आएको छ । राजनीतिकरुपमा प्रतिपक्षी दलले यसमा हस्तक्षेप तथा निरन्तर खवरदारी गरेर बजेट खर्चलाई नियन्त्रणको प्रयास गर्नुपर्छ,’ उनले भने ।

    सुरक्षा संयन्त्रलाई १३ प्रतिशतले बजेट बढाइएकोप्रति उनले आपत्ति जनाए ।

    ‘कृषि तथा उर्जाभन्दा बढी बजेट सुरक्षामा किन बजेट किन छुट्याइएको हो ?’ उनले प्रश्न गरे ।

    यो सरकारले मात्रै ५ खर्ब ६० अर्ब ऋण लिएको उल्लेख गर्दै पोरखेलले भने, ‘यही अनुपातमा ऋण बढ्दै गयो भने अबको दुई बर्षमा ५२ प्रतिशत ऋण पुग्ने देखिन्छ । यसले मुलुकको अर्थतन्त्रलाई गम्भीर मोडमा पुर्याउँछ,’ उनले भने ।

    चिनी लेपन गरिएको बजेट : डा. जगदिशचन्द्र पोखरेल

    राष्ट्रिय योजना आयोगका पुर्वउपाध्यक्ष जग्दिशचन्द्र पोखरेलले बजेटको खर्च र आम्दानीको हिसाव तथा अर्थमन्त्रालयको फम्र्याटअनुसार हेर्दा बजेटमा खोट लगाउन ठाउँ नभएको बताए ।

    ‘बजेटको खर्च, आम्दानी र पार्टीको घोषणापत्रका आधारमा हेर्दा साधारण मानिसले बजेटमा खोट लगाउने ठाउँ छैन,’ उनले भने ‘तर खर्चका स्रोतको व्यवस्थापन, खर्चको क्षमता, संस्थागत क्षमतालाई हेर्ने हो पहुँचवाला कार्यकर्तामा बजेट पुग्छ ।’

    अर्थशास्त्रीय दृष्टिकोणमा प्रस्तुत बजेट फितलो भएको पोखरेलको भनाई छ । यो बजेटले खानेपानी, बिद्युत सित्तैमा दिने भनेको तर पुँजी निर्माणका बिषयमा मौन रहेको उनको भनाइ छ ।

    ‘चालु खर्च बढाउनका लागि बजेटको आकार बढाइए पनि आम्दानीका स्रोतहरुले पुँजीगत खर्च पुग्ने देखिदैन । चालू खर्च सतप्रतिशत खर्च हुन्छ,’ पोखरेलले भने ।

    यसले अर्थतन्त्रमा ठुलो चुनौति सृजना गर्ने र अवस्था सम्हाल्न गाह्रो हुने चेतावनी पोखरेलको छ ।

    ‘यो सरकारले बजेट ल्याएन, घोषणापत्र ल्यायो, यसले अर्थतन्त्रमा बिग्रह ल्याउने संभावना उच्च देखिन्छ,’ उनले भने ।

    बजेटको स्रोत जुटाउनका लागि बैदेशिक ऋण लिने भनिए पनि विगतको अनुभव हेर्ने हो भने बैदेशिक ऋण नआउने गरेको उनी बताउँछन् । यो सरकारले बिगत ४ बर्षमा नीतिगत निरन्तरता दिन पनि नसकेको टिप्पणी उनले गरे । विद्युतीय सवारी सधानको करमा पटक-पटक खेलवाड गर्नुले पनि सो कुरा प्रमाणित गरेको पोखरेलको टिप्पणी छ ।

    ‘बिद्युतीय सरकारी सवारी साधनमा युवाराज खतिवडाले १२० प्रतिशत कर बढाए, तर अहिलेको अर्थमन्त्रीले पुन ४० प्रतिशतमा झारेका छन् । किन यस्तो गरियो त्यसको जवाफ खोज्नुपर्छ,’ उनले भने ।

    ‘अर्थशास्त्रीय दृष्टिकोणबाट हेर्ने हो भने सुगर कोटेड देखिन्छ’, पोखरेलले भने ।

    कार्यान्वयनमा जटिलता : डा.विश्व पौडेल

    अर्थशास्त्री डा. विश्व पौडेलले बजेट ठुलो आकारमा प्रस्तुत भए पनि कार्यान्वयनको पाटो चुनौतिपुर्ण रहेको बताए । अध्यादेशमार्फत बजेट ल्याइने बजेट पुर्ण आकारमा आउनु तथा बजेट प्रस्तुत गर्ने समयको बिषयमा प्रश्न गर्ने सकिने पौडेलको तर्क छ ।

    यो बजेटले पनि विगतमा बजेट खर्च गर्न नसकेको अवस्थालाई ध्यान नदिएको उनले बताए । ठुलो आकारको बजेट प्रस्तुत गरेर वितरणमुखी तथा लोकप्रिय कार्यक्रमहरु समेटेको टिप्पणी पौडेलले गरे ।

    कोभिडका संक्रमणको उपचार रोकथाम तथा नियन्त्रण र खोप खरिदका लागि २६ अर्ब बजेट आउनु सकारात्मक भएको उनले बताए ।

    ‘कोभिड-१९ का लागि २६ अर्ब बजेट बिनियोजन भएको छ । यो उचित भए पनि स्वास्थ्य सामग्री तथा खोप खरिदमा हुने भ्रष्टाचारलाई सरकारले नियन्त्रण गर्नुपर्छ,’ पौडेलले भने ।

    दिर्घकालिन सम्पत्ति सृजना नगर्ने खालका र सित्तैमा रोजगारी दिने जस्ता कार्यक्रम आगामी बजेटमा प्रस्तुत गर्नु अनुचित भएको उनी बताउँछन् । यस्ता कार्यक्रम भन्दा पनि रोजगारी सृजना गर्ने खालका कार्यक्रम बजेट मार्फत आउनुपर्नेमा उनले जोड दिए । निम्न आय भएका वर्गका व्यक्तिहरुले बजेटमार्फत आयमा कर छूट नपाएको पौडेलले बताए ।

    यो बजेटले पनि नीजि कम्पनी खोल्नका लागि लाइसेन्सको व्यवस्थालाई खारेज गर्न नसकेको पौडेलले बताए । यसले गर्दा उत्पादनशील उद्योग भन्दा घरजग्गा तथा बैदेशिक रोजगारीले फस्टाउने मौका पाएको उनले बताए ।

    ‘लाइसेन्सराजले गर्दा उत्पादनशील क्षेत्र भन्दा पनि जग्गा तथा बैदेशिक क्षेत्रले फस्टाउने मौका पाएको छ’, उनले भने ।

    मुद्रास्फिति ६.५ प्रतिशतमा राख्न कठिन छ : डा .चिरञ्जीवी नेपाल

    पूर्वगर्भनर डा. चिरञ्जीवी नेपालले मुद्रास्फिति सरकारले लिएको सिमाभित्र राख्न कठिन भएको बताए । सरकारले बजेटमार्फत राखेको २ खर्ब ५० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्यका कारण बाह्य क्षेत्रमा दबाब पर्ने भएकाले मुद्रास्फिति बढ्ने उनको भनाइ छ ।

    ‘आन्तरिक ऋण कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशत उठाउने लक्ष्य राखिएको छ जबकि राष्ट्र ऋण उठाउने कानुनमा ५ प्रतिशतभन्दा बढी उठाउन नपाउने व्यवस्था छ,’ उनले भने, ‘यसले गर्दा मुद्रास्फिति बजेटको लक्ष्यको सिमाभित्र राख्न कठिन छ ।’

    संसद पुनस्र्थापनजा भएर अर्को सरकार बन्यो भने यो बजेटको बैधानिकता प्रश्न उठ्ने नेपालले बताए । नेपालले बजेट अर्थ राजनीतिक दस्ताबेज भएपनि पुर्ण राजनीतिक दस्तावेजको रुपमा सरकारले प्रस्तुत गरेको उनले टिप्पणी गरे ।

    ‘बजेटको स्वामित्व वर्तमान सरकारले लिन पाउने वा नपाउने भन्ने प्रश्न चिन्ह समेत खडा भएको छ,’ उनले भने ।

  • सात प्रदेश र ७५३ स्थानीय तहले कति रकम पाए  (सूचीसहित)

    सात प्रदेश र ७५३ स्थानीय तहले कति रकम पाए  (सूचीसहित)

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरण गरिएको छ ।

    वित्तीय सामान्यीकरण, समपूरक, सशर्त र विशेष अनुदान शीर्षकमा सो बजेट छुट्याइएको हो ।

    प्रदेश र स्थानीय तह अनुसार कति छ बजेट ? हेर्नुस् सूची

  • कर्णालीको सन्दर्भमा बजेट प्रभावकारी नभएको माओवादीको प्रतिक्रिया, एमाले भन्छ- उत्कृष्ट

    कर्णालीको सन्दर्भमा बजेट प्रभावकारी नभएको माओवादीको प्रतिक्रिया, एमाले भन्छ- उत्कृष्ट

    सुर्खेत । संघीय सरकारले शनिबार अध्यादेशद्धारा बजेट ल्याएपछि कर्णालीमा मिश्रित प्रतिक्रिया आएको छ । सत्तारुढ दल नेकपा एमालेले बजेट उत्साहप्रद रहेको बताएको छ भने नेकपा माओवादी केन्द्रले कर्णालीका सन्दर्भमा फेल भएको प्रतिक्रिया दिएको छ ।

    नेकपा माओवादी केन्द्रका नेता एवम प्रदेश सभा सदस्य विन्दमान विष्टले बजेट कर्णालीमा सन्दर्भमा फेल भएको बताएका छन् । उनले कर्णालीवासीलाई ललिपप देखाउने र अन्यत्र विकास गर्ने संघीय सरकारको पुरानै आचरण बजेटमा प्रष्ट देखिएको बताउँदै यो बजेटले जनताको जीवनस्तर माथि नउठाउने प्रतिक्रिया दिए ।

    ‘सिद्धार्थ राजमार्ग र सुर्खेत कोहलपुर सडकका लागि गत वर्ष तीन अर्ब थियो । त्यो पैसाले सिद्धार्थ राजमार्ग बनाइयो । यो वर्ष सात अर्ब भनिएको छ । त्यो पनि यता आउँदैन । कर्णाली राजमार्गको सुर्खेत–खुलालु र नाग्म गमगढी सडकलाई दुइ लेनको बनाउने भन्दै एक अर्ब बीस करोड बजेट विनियोजन भएको छ । यो बजेट प्रति खण्ड साठी करोड हुन आउँछ । साठी करोडले कर्णाली राजमार्गमा केहि परिवर्तन हुँदैन । विगतमा दुइ चार मोड निर्माण गरेजस्तै हो ।’ विष्ट भन्छन्, ‘बजेट कार्यान्वयनमूखी भन्दा पनि प्रचारमुखी आएको छ । केहि पपुलिष्ट कार्यक्रम बाहेक कर्णालीका सन्दर्भमा फेरि पनि हेपाहा बजेट नै आएको छ ।’

    उनले कर्णालीका जनता जहिल्यै अभावमा बाँचिरहेको बताउँदै यसतर्फ सरकारको बजेट सकारात्मक नभएको बताए । ‘जहाँ विकास भइरहेको छ त्यहाँ बजेट दिइएको छ । जहाँ विकास आवश्यक हो त्यहाँ खासै बजेट छैन । विकासका लागि कर्णाली हात्ती हो भने बजेट जिराको रुपमा दिने भनिएको छ,’ उनी भन्छन्, ‘कर्णालीका नागरिकको यो बजेटले केहि पनि परिवर्तन ल्याउँदैन । यो बजेटले कर्णालीको विकासको नेतृत्व गर्न सक्दैन ।’

    नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज एवम कर्णाली प्रदेश सभा सदस्य यामलाल कँडेल बजेट प्रशंसा गर्न लायक रहेको प्रतिक्रिया दिए । ‘बजेटले सबै वर्ग, जाती क्षेत्र, लिंग समेटेको छ । समग्रमा हेर्दा बजेट प्रशंसायोग्य छ,’ कँडेल भन्छन्, ‘कोभिडको मारमा देश परिरहेको अवस्थामा परिस्थिति अनुरुपको बजेट आउनु सकारात्मक हो । कर्णालीका सवालमा अझै धेरै योजनाहरु समेटिनुपथ्र्यो तर जति समेटिएका छन ती उत्साहप्रद रहेका छन् ।’

    उनी संघीय सरकारको बजेट कार्यान्वयनमा तीनै तह जिम्मेवार भइ काम गर्न सकेको खण्डमा कर्णालीको विकास हुने अपेक्षा गर्छन । ‘बजेटमा उल्लेख गरिएका कुरामा सबै तहका जनप्रतिनिधिको ध्यान जान आवश्यक छ । जस्तो उदाहरणका लागि सरुवा रोग अस्पतालका लागि गतवर्ष ८ करोड रुपैंया सामाजिक विकास मन्त्रालयमा आएको थियो, त्यो फ्रिज भएर गयो । मेडिकल कलेजको वोर्ड राखेको एक वर्ष भन्दा बढी भएको छ । कार्यान्वयनमा प्रदेश सरकार र स्थानीय तहले ध्यान दिएका छैनन् । आवश्यक समन्वय नगर्दा समस्या भएको हो,’ उनी भन्छन् ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले बजेट सबैको चित्त बुझाउने खालको आएको बताए । ‘बजेट सबैको चित्त बुझाउने खालको आएको छ । बजेट चुनावमुखी पनि आएको छ,’ उनले भने, ‘बजेट राम्रो ल्याउने तर कार्यान्वयन नहुने समस्या छ । बजेट पूरै कार्यान्वयनमा गएको खण्डमा ठीकै छ ।’

    वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदी भने बजेट वितरणमुखि आएको प्रतिक्रिया दिन्छन् । ‘हाम्रा लागि नयाँ कुरा के आयो र ? बजेट हेर्दा रुप राम्रो छ, सारमा कार्यान्वयन गर्न जटिल छ,’ उनले थपे, ‘बजेटले नागरिकलाई लोभ्याउन सफल भएको छ तर यो बजेटले एकै वर्षमा प्रतिफल दिन मुस्किल छ । ’

    लेकबेसी नगरपालिका सुर्खेतका प्रमुख गगनसिंह सुनारले बजेट राम्रो भए पनि राज्यको श्रोतले धान्छ कि धान्दैन भन्ने कुरा प्रमुख भएको बताए । उनले बजेट कोभिड, शिक्षा र स्वास्थ्यमा केन्द्रित भएको आएको बताउँदै त्यो भने राम्रो पक्ष भएको बताए । ‘कर्मचारी, ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकहरुलाई थप सुविधा दिने निर्णय भएको छ । यसका अतिरिक्त बजेटमा थप राम्रा कामहरु आएका छन् । समग्रमा हेर्दा यो बजेट सयमा ७५ नम्बर दिन लायक छ ।’

     

  • सांसद विकास कोषको खारेजीः पूर्वसांसदहरु के भन्छन् ?

    सांसद विकास कोषको खारेजीः पूर्वसांसदहरु के भन्छन् ?

    काठमाडौं । सरकारले सांसद विकास कोषका रुपमा चिनिँदै आएको विवादित स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रम बजेटमार्फत खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै कार्यक्रम खारेज गरेको घोषणा गरेका हुन् ।

    संसद विकास कोषमार्फत राज्यकोषको ठूलो रकम दुरुपयोग भएको भनेर आलोचना हुँदै आएको थियो । विज्ञहरुले यो कार्यक्रमको अवधारणामा समेत प्रश्न उठाएका थिए । अहिले संसद नभएको बेलामा यस कार्यक्रमका लागि बजेट विनियोजन नहुने पक्का भए पनि सरकारले कार्यक्रम नै खारेज गरिदिएर एउटा विवादित विषयको अन्त्य गरेको छ ।

    कार्यक्रम खारेजीप्रति विघटित संसदका सांसदले मिश्रित प्रतिक्रिया जनाएका छन् । सांसदहरु नीति निर्माणमा मात्रै केन्द्रित हुनुपर्नेमा सिद्धान्तत: सबै सहमत भए पनि कार्यक्रम पूर्णरुपमा खारेज भएकोमा भने उनीहरु विश्वस्त छैनन् ।

    तीन प्रमुख पार्टीका तीन सांसदले नेपाल प्रेससँग कोष खारेजीका विषयमा व्यक्त गरेको धारणा उनीहरुकै शब्दमाः

    सैद्धान्तिक हिसाबले ठीक छ

    देवेन्द्र पौडेल
    पूर्व सांसद, नेकपा (माओवादी केन्द्र)

    संसद नै नभएका बेला संसद विकास कोषका लागि कसरी बजेट राख्न मिल्थ्यो त ? यो वर्षलाई खारेज होला, तर सधैंलाई होइन होला । अर्को सरकार आएपछि कस्तो बजेट बनाउँछ, के अर्थ नीति ल्याउँछ, त्यसमा भर पर्छ ।

    सैद्धान्तिक हिसाबले सांसदहरु बिकास गर्न हिँड्ने होइन, नीति बनाउने हो । संविधान, कानून बनाउने र प्रणालीलाई स्थापित गर्ने मात्र उनीहरुको जिम्मेवारी हो भने सांसदहरुलाई बिकास बजेट बाँड्न मिल्दैन । नेपालमा फरक अभ्यास छ । जनतालाई ‘कन्भिन्स’ गरेर सांसदसँग होइन, तीन तहका सरकारसँग बजेट माग्ने प्रणालीमा जाँदा राम्रो हुन्छ ।

    हामीले उठाइरहेको कुरा हो

    पुष्पा भुसाल
    पूर्व सांसद, नेपाली कांग्रेस

    पहिले पनि हामीले यसको खारेजीबारे संसदमा कुरा उठाएकै हो । हामीले सांसद विकास कोष आवश्यक छैन भनेका थियौं । संसद भएका बेला यो सरकार कानमा तेल हालेर बस्यो । तीन तहलाई बलियो बनाउने गरी बजेट ल्याउनुपर्छ भनेर हामीले हिजो उठाएको कुरा त सत्य सावित भयो ।

    तर, अहिले ल्याइएको बजेटको औचित्य छैन । बजेटलाई सरकारले एकलौटी ढंगबाट राजनीतिकरण गर्ने र चुनावमुखी बनाउने कोसिस गरेको छ । जनमुखी बजेट नबनाएर ऋणको बोझ जनतालाई बोकाउने काम मात्रै गरेको छ ।

    सधैंलाई खारेज भएको होइन

    महेश बस्नेत
    पूर्व सांसद, नेकपा (एमाले)

    संसद विघटन भएको बेला बजेट खारेज हुनु स्वभाविकै हो, तर सधैका लागि कार्यक्रम खारेज भएको होइन होला । नेपालजस्तो देशमा सांसदहरु विधिनिर्माता मात्रै भएर बस्न सक्दैनन् । उनीहरु विकासका पहलकर्ता पनि हुन् । त्यसैले सांसद विकास कोष कार्यक्रम भविष्यमा हुनैपर्छ, पछि बजेट छुट्याउनै पर्छ ।

  • ९ खाले सामाजिक सुरक्षा भत्ता- लोपोन्मुख जातिदेखि बाल पोषणसम्म कसको कति ? (सूचीसहित)

    ९ खाले सामाजिक सुरक्षा भत्ता- लोपोन्मुख जातिदेखि बाल पोषणसम्म कसको कति ? (सूचीसहित)

    काठमाडौं । २७ वर्षअघि तत्कालीन नेकपा एमालेको अल्पमतको सरकारले एक सय रुपैयाँबाट शुरु गरेको बृद्धभत्ता अब ४ हजार रुपैयाँ पुगेको छ । संयोग नै मान्नुपर्छ यसपटक पनि एमालेको अल्पमतकै सरकारले बृद्धभत्तासहित सीमान्तकृत र अपांगता भएका तथा अन्य लक्षित समुदायको सामाजिक सुरक्षा भत्तामा उल्लेख्य बृद्धि गरेको छ ।

    शनिबार आगामी आर्थिक वर्ष २०७८/०६९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत बृद्धि गरेको बताए ।

    उनका अनुसार बढेको भत्ता साउन १ गतेबाट कार्यान्वयनमा आउने गरी सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताएका छन् ।

    ९ प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्वि गरेको अर्थमन्त्री पौडेलले बजेटमा घोषणा गरे पनि जेष्ठ नागरिको भत्ता भने १ हजार वृद्वि भएको घोषणा गरे । यसअघि ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिले ३ हजार मासिक भत्ता खाइपाइ आए पनि ३३ प्रतिशतले वृद्वि हुन आउँदा ९ सय ९० रुपैयाँ बढेर ३ हजार ९ सय ९० हुन आउँछ । तर यसलाई उनले सिधै ४ हजार पुर्‍याइदिएका छन् ।

    यस्तो किन गरिएको होला भन्ने नेपाल प्रेसको प्रश्नमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेतले हिसाव मिलाउनका लागि ४ हजार घोषणा गरिएको हुनसक्ने अनुमान गरे ।

    उनले भने, ‘सामाजिक सुरक्षा भत्ता वृद्वि गर्दा प्रतिशतमा हुन्छ । तर पछि हिसाव मिलाउन रुपैयाँमा र पैसामा पनि हुन आउँछ । यस्तो अवस्थामा केहि रुपैयाँ तलमाथि गरेर ठ्याक्कै हिसाव मिलाएर मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षा भत्ता दर कायम गर्छ ।’

    लक्षित समुदाय खुसी

    राष्ट्रिय जेष्ठ नागरिक महासंघले सामाजिक सुरक्षा भत्ता बढेकोप्रति स्वागत तथा खुसी व्यक्त गरेको छ । संघका अध्यक्ष मदनदास श्रेष्ठले ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिको ३३ प्रतिशतका दरले १ हजार बढेकोमा खुसी व्यक्त गरे । उनले भने, ‘जेष्ठ नागरिकको भत्ता १ हजार बढाइ दिएकोमा सरकारलाई धन्यवाद । जेष्ठ नागरिकलाई यसले राहत महशुस गराएको छ ।’

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सुरुका दुई वर्ष बृृद्धभत्ता बढाएको थिएन । तर प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्दै आएका थिए । प्रधानमन्त्री ओली नेतृत्वकै सरकारका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेटमा सामाजिक सुरक्षा भत्ता एक हजार बढाएका थिए ।

    एमालेको ९ महिने सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले आर्थिक वर्ष २०५१/५२ को बजेटमा पहिलो पटक सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेका हुन् । त्यसबेला सामाजिक सुरक्षा भत्ता पाउने उमेर ७५ वर्ष तोकिएको थियो भने मासिक भत्ता जम्मा १ सय रुपैयाँ मात्रै थियो । २०६० सालमा अधिकारीले नै वृद्धभत्ता वृद्धि गरी मासिक १ सय ७५ रुपैयाँ पुर्‍याएका हुन् ।

    २०६५ सालमा तत्कालीन एकिकृत नेकपा माओवादी हाल जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले वृद्धि गरेर मासिक ५ सय रुपैयाँ पुर्‍याए । २०७१ सालमा कांग्रेसका अर्थमन्त्री डा. रामशरण महतले एक हजार पुर्‍याए । अर्को वर्ष २०७२ सालमा अहिलेकै अर्थमन्त्री विष्णु पौडेलले १ हजार रुपैयाँ बढाएर मासिक २ हजार पुर्‍याएका थिए । उक्त रकमलाई २०७६ सालमा डा. युवराज खतिवडाले मासिक ३ हजार पुर्‍याएका हुन् ।

    मानव अधिकारका लागि महिला, एकल महिला समूहले पनि सामाजिक सुरक्षा भत्ता बढ्नुलाई सकारात्मक रुपमा लिएको छ । समूहका अध्यक्ष कुन्दा शर्माले यसले एकल महिलामा उत्साह थपिएको बताइन् ।

    उनले भनिन्, ‘बजेट आउँदै गर्दा म लगायत अरु एकल महिलाले पनि सुनिरहेका थियौं । जेष्ठ नागरिको भत्ता बढ्यो । अब हाम्रो के हुन्छ भनेर सोचिरहेका थियौं । सबै सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढ्यो भन्ने सुनेपछि हामी सबै खुसी भयौं ।’

    देशभरका एकल महिला कोभिडको मारमा परिरहेका बेला सामाजिक सुरक्षा भत्ता बढ्दा महामारीले बढाएको निराशा पनि केहि आशामा परिणत भएको अध्यक्ष शर्माले बताइन् ।

    राष्ट्रिय अपांग महासंघले भने आफ्नो माग अनुसार सामाजिक सुरक्षा भत्ता नबढाए पनि खुसी व्यक्त गरेको छ । यसले अतिअशक्त र पूर्ण अशक्त अपांगता भएका व्यक्तिलाई सम्बोधन गरेको महासंघका महासचिव राजु बस्नेतले बताए । तर सर्वोच्च अदालतले दिएको आदेश अनुसार भने अझै पनि कम रहेको उनको भनाइ छ ।

    सामाजिक सुरक्षा तथा संरक्षणमा अरु के समेटियो ?

    अनाथ, दलित, अपांगता भएका र विपन्न परिवारका बालबालिकालाई प्रदान गरिने बाल संरक्षण अनुदानको रकममा एक तिहाईले वृद्धि गरेको पनि बजेटमा भनिएको छ । अशक्त, असहाय, एवम् परित्यक्त व्यक्तिको संरक्षणको दायित्व, नेपाल सरकारले वहन गर्ने उल्लेख छ । सबै प्रकारका बालश्रमको अन्त्य गरिने, आवश्यक सेवा, सुविधा, उपचार र वासको प्रवन्ध गरी सडक मानमुक्त नेपाल निर्माण गरिनेछ अर्थमन्त्री पौडेलले बताए ।

    बालबालिकाको खोजतलास, संरक्षण तथा पुनर्स्थापना गरी सडक बालबालिकामुक्त नेपालको अवधारणा कार्यान्वयन गरिने र यस कार्यमा क्रियाशील संघसंस्थालाई प्रोत्साहन गर्न अनुदान उपलब्ध पनि गराइने छ ।

    सबै प्रदेशमा अपांगता पुर्नस्थापना केन्द्र स्थापनका लागि सम्भाव्यता अध्ययन गरिने, बौद्धिक अपांगता भएका बालबालिकाको उपचार सेवालाई सहज र प्रभावकारी बनाइने, अपांगता भएका व्यक्तिले प्रयोग गर्ने सहायक सामग्रीको उत्पादन गर्ने संस्थालाई अनुदान उपलब्ध गराउने व्यवस्थालाई निरन्तरता पनि दिएको छ । सार्वजनिक भौतिक संरचना, पूर्वाधार तथा यातायातका साधन अपांगमैत्री बनाइने बजेटमा उल्लेख छ ।

  • अर्थमन्त्रीको गृहजिल्लामा यस्तो छ बजेटको प्राथमिकता

    अर्थमन्त्रीको गृहजिल्लामा यस्तो छ बजेटको प्राथमिकता

    रुपन्देही । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको गृहजिल्ला रुपन्देहीमा यो पटक धेरै नयाँ योजनामा बजेट आएको छैन । तर नियमित रहेका योजनामा आकर्षक रकम विनियोजन भएका छन् ।

    अर्थमन्त्रीले रुपन्देहीमा रहेका राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको गौतम बुद्ध विमानस्थल र लुम्बिनी विकास गुरुयोजनाका लागि आवश्यक बजेट विनियोजन गरेका छन् ।

    गौतमबुद्ध विमानस्थलका लागि ३ अर्ब ५३ करोड, लुम्बिनी क्षेत्रको विकासका लागि १ अर्ब ५० करोेड रकम विनियोजन भएको छ । त्यसैगरी बजेटमा बुटवल भैरहवा मेघा सिटी र सिद्धबाबा सुरुङ मार्गका लागि अवश्यक बजेट व्यवस्थापन भएको छ ।

    बजेटमा लामो समयदेखि पूरा हुन नसकेको लुम्बिनी गुरुयोजना आगामी २ वर्षभित्र पूरा गर्ने प्रतिबद्धतासहित बजेट बिनियोजन भएको छ ।

    अर्थमन्त्रीले यो क्षेत्रका हरेक कार्यक्रममा आउँदा प्राथमिकताका साथ उठाउने लुम्बिनी विकास गुरुयोजनाको क्षेत्रलाई फराकिलो बनाउँदै कपिलवस्तु र नवलपरासीका बुद्धस्थलहरु लुम्बिनी, तिलौराकोट, देवदह, रामग्रामलाई समेटेर बृहत्तर गुरुयोजना बनाउने विषयलाई बजेटमा समेटेका छन् । यसका लागि १ अर्ब ५० करोड विनियोजन गरिएको छ । उनले कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न पहल थालिने बताएका छन् ।

    यसका साथै केही योजनाहरुमा बजेट थपिएको छ भने चर्चामा रहेका केही योजनालाई बजेट आएको छ ।

    भौतिक पूर्वाधार, पर्यटन, उद्योग, स्वास्थ्य, पूर्वाधार, खानेपानी, खेलकुदलगायतका क्षेत्रका केही पुराना योजनामा बजेट छुट्याएका छन् भने केही नयाँ योजना थपेका छन् ।

    रुपन्देहीको भैरहवामा निर्माणाधीन विमानस्थलको लागि आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ५३ अर्ब विनियोजन गरिएको छ । विमानस्थल निर्माण सम्पन्न गर्न र दोस्रो टर्मिनल भवन निर्माणका लागि अर्थमन्त्री पौडेलले बजेट विनियोजन गरेका छन् । निर्माणको काम अन्तिम चरणमा पुगेको विमानस्थलमा दोस्रो टर्मिनल भवन बनाउने प्रक्रिया शुरु भएको छ ।

    कालीगण्डकी–तिनाउ डाइभर्सनको डीपीआर आउँदो वर्ष पूरा गरेर काम शुरु गर्ने विषयले पनि बजेटमा महत्व पाएको छ ।

    रुपन्देहीसहित लुम्बिनी प्रदेशमा अन्य महत्वपूर्ण आयोजनाहरुलाई अर्थमन्त्रीले विशेष प्राथमिकतामा राखेर बजेट छुट्याएका छन् । सिंचाई र जलविद्युतका लागि महत्वपूर्ण मानिने नौमुरे जलविद्युत आयोजना, तिनाउ नदी नियन्त्रणका लागि पनि बजेट परेको छ ।

    बाँकेको सिक्टा सिँचाइका लागि १ अर्ब ५६ करोड बजेट विनियोजन गर्दै २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

    पाल्पामा मौसम मापन गर्न राडर स्थापना, प्रदेशमा भूमि बैंक स्थापना गरेर १ वर्षभित्र सञ्चालनमा ल्याउने, अंग्रेज फौजलाई हराएको बुटवलको जीतगढीलाई संरक्षण गरी विस्तृत अध्ययन गर्ने, पाल्पामा लिफ्ट खानेपानी, लुम्बिनीमा सांस्कृतिक स्मार्ट सिटी, बुटवल–भैरहवालाई मेगा सिटी बनाउने, पश्चिम नवलपरासीको बर्दघाटमा ट्रमा सेन्टर स्थापना गर्ने जस्ता योजना बजेटमा समेटिएका छन् ।

    केही समयदेखि चर्चामा रहेर केही महिनाअघि मात्रै शिलान्यास भएको रुपन्देहीको मोतिपूरको औद्योगिक क्षेत्र २ वर्षभित्र पूरा गरिने बजेटमा उल्लेख छ ।
    रूपन्देहीको तिलोत्तमामा बन्ने बुटवल मेडिकल कलेजको डीपीआर पूरा गरी निर्माणको काम शुरू गर्ने, रूपन्देहीको बेलहियामा मालबाहक गाडी पार्किङ गर्न ‘पार्किङ ग्राम’ बनाउने योजना बजेटमा छन् ।

    केही दिनअघि मात्रै ग्लोबल टेण्डर भएको सिद्धबाबा क्षेत्रको सुरुङमार्ग निर्माणका लागि बजेटको व्यवस्था गर्ने, सिद्धार्थ राजमार्गलाई डेलिकेटेड राजमार्ग बनाउने बुटवल–कोहलपुर सडकलाई चार लेनको बनाउनका लागि आवश्यक बजेट विनियोजन भएको छ । यस्तै बजेटले भैरहवामा क्रिकेट मैदान, नवलपरासीको त्रिवेणीदेखि देवघाटसम्म जलमार्ग, सिद्धार्थनगरमा सडक, ढल, खानेपानीका लागि पूर्वाधार बनाउन बजेट विनियोजन भएको छ ।

    बुटवल भैरहवा लुम्बिनीका लागि चल्ने विद्यतीय बस चलाउन अनुदान दिने र बुटवलमा विद्युत् तार भूमिगत गर्ने योजना पनि बजेटमा छ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा पूर्वाधार बनाउन पनि बजेट छुट्टिएको छ ।

    बुटवल र सैनामैनाको सीमानामा रहेको कर्साघाट कृषि योजनालाई राष्ट्रिय योजनामा समावेश गरी बजेट विनियोजन गरिएको छ भने दक्षिणी सीमानामा रहेको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शहरको विकास गर्ने योजना बजेटमा समावेश भएको छ ।

     

  • बजेटबारे अर्थविदको प्रतिक्रिया- हेर्दा राम्रो, तर कार्यान्वयन हुन गाह्रो

    बजेटबारे अर्थविदको प्रतिक्रिया- हेर्दा राम्रो, तर कार्यान्वयन हुन गाह्रो

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्बभन्दा बढीको बजेट शनिबार सार्वजनिक गर्‍याे। ‘सबैलाई खुशी पार्ने’ प्रयास गरेको बजेटबारे अर्थविदहरुले भने आलोचनात्मक प्रतिक्रिया दिएका छन् ।

    सरकारले अध्यादेशमार्फत बजेट ल्याउनु नै गल्ती भएको उनीहरुको भनाइ छ । साथै, बजेट हेर्दा राम्रो भए पनि कार्यान्वयनमा आउन कठिन रहेको उनीहरु बताउँछन् ।

    अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/८९ का लागि ल्याएको बजेटबारे तीन अर्थविद डा. विश्वम्भर प्याकुरेल, डा. विमल कोइराला र डा. चन्द्रमणी अधिकारीको प्रतिक्रिया उनीहरुकै शब्दमाः

    डा. विश्वम्भर प्याकुरेल

    आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेश मार्फत आएको छ । यो नै सबैभन्दा खतरा देख्छु म । हेर्दा धेरै राम्रो सबै कुरालाई समेटेजस्तो । यो बजेटमा नभएको कुरा केही छैन । कर्मचारी, पत्रकार, सैनिकलगायत सबैलाई खुसी बनाएको छ ।

    साथै, बजेटको आकार बढाएर करिब साढे १६ अर्बको बनाइएको छ । विद्यार्थीलाई सटिर्फिकेटका आधारमा २५ लाख दिने भनिएको छ । उपभोक्तालाई २० हजार लिटर पानी निशुल्क दिने भनिएको छ । कोरोना नियन्त्रणका लागि ठूलो रकम छुट्याइएको छ ।

    दैनिक उपभोग्य सामान सरकारी निकायबाट खरिद गर्ने हो भने २० प्रतिशत छुट दिएको छ । निजी क्षेत्रलाई राहत दिएको छ । पर्यटन क्षेत्रमा भएका व्यवसायीलाई राहत दिएको छ । हरेक क्षेत्रमा ‘कमिटमेन्ट’ गरेको छ । कार्यक्रम थुप्रै ल्याएका छन् अर्थमन्त्रीले ।

    कृषिलाई आधुनिकीकरण गर्ने भनेको सुनेकै राजाको पालादेखि हो । आजसम्म कृषिको हाल वेहाल छ । त्यो पनि यसमा समेटिएको छ । सायद यस्तो बजेट आउँदा नागरिक खुसी नै हुन्छन् होला । तर, मेरो एउटै मात्र भनाइ के हो भने, यो सरकारको स्थायित्वमा नै प्रश्नचिन्न खडा छ । सर्बोच्चमा मुद्धा चलिरहेको छ । यो सरकार रहन्छ वा रहँदैन । भोली यो सरकारको विकल्पमा संसद पुर्नस्थपना भएर नयाँ सरकार आयो भने यो बजेटले ठूलो खतरा निम्त्याउन सक्छ । यो सरकारले सृजना गरेको आर्थिक लागतलाई नयाँ आउने सरकारले आफ्नो दायित्वमा लिन्छ भन्न सकिदैन ।

    नयाँ सरकार आएको खण्डमा त्यसले संसदमा यो बजेट नमानेर अर्को बजेट ल्यायो भने त्यसवखत यो मुलुक झन् अनिश्चिताको बाटोमा जाने खतरा बढ्छ । जसले गर्दा मुलुकमा अस्थिरता पैदा हुन्छ । यो बजेटले छुनु पर्ने कुरालाई छोएको भए पनि सरकारको स्थायित्व नभएकाले अहिले पूर्ण बजेट नल्याएर सानो आकारको बजेट ल्याएको भए राम्रो हुन्थ्यो ।

    साथै, यो बजेटमा कतिपय कुरा शंकास्पद देखिन्छन् । जस्तो अहिलेको बजेटमा सार्वजानिक ऋण घटाउनु भएको छ । पहिलो ४६.७ थियो अहिले ३७.३ मा झार्नु भएको छ, यो शंकास्पद् छ । साथै, यसको आर्थिक वृद्धिदर महत्वकांक्षी छ । अहिले कोरोनाले थलिएको अर्थतन्त्रमा ६.५ प्रतिशत आर्थिक वृद्धि हुन्छ भनिनु पत्याउन सकिने कुरा होइन् । कार्यान्वयन हुने पक्ष अत्यन्त न्यून छ । मुख्य कुरा त यस्तो संकटको बेलामा स्थायी सरकारको जस्तो बजेट ल्याइएको छ, त्यो नै गल्ती भएको छ ।

    डा. विमल कोइराला

    अहिले जे न हुनु पर्थ्यो त्यही भयो । मैले त शुरुदेखि नै के भन्दै आएको थिएँ भने यो सरकारले अध्यादेशमार्फत बजेट ल्याउने नै होइन । ल्याउनु पर्ने बाध्यता नै पर्‍यो भने पनि असारको अन्तिममा मात्र ल्याउनु पर्थ्यो । त्यस वखत ल्याउँदा पनि सीमित कुरालाई मात्र हेरेर ल्याउनु पर्ने हुन्थ्यो ।

    कोभिड नियन्त्रण र चुनाव भएको खण्डमा चुनावका लागि बजेट छुट्याउनु पर्थ्याे । यी दुई कुराभन्दा बढी गरेर बजेट ल्याउनु पनि हुँदैनथ्यो । तर, सरकारले अहिले अध्यादेशमार्फत नै पूर्ण बजेट पो ल्यायो । पूर्ण बजेट पनि यस्तो आयो कि तीन घण्टा पढेर । भएभरका कुरा ल्याइएको छ । गफै मात्र बढ्ता छ । जनतालाई लोभ्याउने किसिमका राम्रा–राम्रा कुरा गरेर । राम्रा–राम्रा शब्द र नारा राखेर ल्याइएको छ ।

    कार्यान्वय नै हुन नसक्ने किसिमले बजेट ल्याइएको छ । यो बजेट अर्थ–राजनीतिक हिसाबले बेकामे नै छ । आर्थिक पक्षबाट हेर्दा, वित्त सन्तुलनको हिसावले हेर्दा पनि समष्टिग संरचना भत्काउने प्रयास गरिएको छ । हाम्रो राजश्व र आयले साधारण खर्च पनि धान्न नसक्ने अवस्थाको बजेट छ । वित्तीय अनुशासन कायम नगरी ल्याएको बजेटले नयाँ सरकार आएमा त्यसलाई पनि भार पार्ने देखिन्छ । सबैथरीकालाई रिझाउने बजेट आयो ।

    डा. चन्द्रमणि अधिकारी

    बजेटले नागरिकको स्वास्थ्य र जीवनालाई प्राथमिकतामा राखेको छ । साथै, खोपलाई पनि प्राथमिकतामा राख्नु धेरै राम्रो छ ।

    स्थानीय तहमा अनुदान बढाएको छ । त्यो पनि धेरै राम्रो काम गरेको छ । तर, बजेट ठूलो आकारको आयो । यो कार्यान्वयन हुन गाह्राे छ । यसमा साधारण खर्च परिचालन गर्न गाह्राे छ । ऋणको आकार पनि ठूलो भयो । यो पूर्णकालीन सरकारको जस्तो बजेट आयो । यो सरकार पूर्णकालीन होइन् । हेर्दा राम्रो तर कार्यान्वयन हुन गाह्रो बजेट आयो ।

    यी पनि पढ्नुस्

    लचिला अर्थमन्त्रीको ‘लोकप्रिय’ बजेट : सबैलाई खुशी पार्ने प्रयास

    सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्णपाठ)

    बजेटमा आएका यी कार्यक्रम, जसले जनताको सबै पंक्तिलाई समेट्यो (सूचीसहित)

  • पशुपति क्षेत्रको गुरुयोजना विस्तार गर्न ३५ करोड रुपैयाँ

    पशुपति क्षेत्रको गुरुयोजना विस्तार गर्न ३५ करोड रुपैयाँ

    काठमाडौं । पशुपति क्षेत्र विकास संरक्षण गुरु योजना विस्तारका लागि आगामी आर्थिक वर्षमा ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रस्तुत गरेको बजेट वक्तव्यमा आर्थिक वर्ष २०७८/२०७९ मा पशुपति क्षेत्रका सम्पदा पुनःनिर्माणलाई तीव्रता दिइने उल्लेख छ ।

    यसैगरी लुम्बिनी विकास गुरुयोजनाका काम दुई वर्षमा सम्पन्न गरिने लक्ष्य बजेट वक्तव्यमार्फत राखिएको छ । यसका लागि एक अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । धनुषा जिल्लाको जनकपुरस्थित जानकी मन्दिर क्षेत्र र कपिलवस्तु जिल्लाको तिलौराकोट क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्न आगामी आर्थिक वर्षदेखि प्रक्रिया अघि बढाइने भएको छ । यसअघि यी क्षेत्रमा पुरातत्व विभागले उत्खनन गरेको थियो । विभागले दुवै स्थानमा ऐतिहासिक, पुरातात्विक महत्वका चिजबीज भेटिएको जनाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने घोषणा गर्दै आएको थियो ।

    आगामी आवमा चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमा राममन्दिर स्थापना गर्न बजेट विनियोजन गरिएको छ । राम, सीता र लक्ष्मणको मूर्ति बनाई गत रामनवमीमै अयोध्यापुरी लगिएको छ । आदर्श राजा रामको जन्म अयोध्यापुरीमै भएको जनाई सरकारले राम मन्दिर निर्माणलाई प्राथमिकतासाथ अघि बढाएको हो ।

    देशभरको संस्कृति झल्कने गरी काठमाडौंको कीर्तिपुरमा निर्माणाधीन सांस्कृतिक सङ्ग्रहालय दुई वर्षमा सम्पन्न गरिने प्रतिबद्धता बजेट भाषणमा गरिएको छ । यसैगरी महत्वपूर्ण धार्मिक तीर्थस्थल पाथीभरा, हलेसी, गढीमाई, स्वर्गद्वारी, चन्दननाथलगायतका गुरुयोजना निर्माण गरी धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ ।

  • सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्णपाठ)

    सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्णपाठ)

    काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ ।

    जसमध्ये चालु खर्चतर्फ संघले खर्च गर्न ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत , पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब अर्थात २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात १२.६ प्रतिश विनियोजन गरेको छ ।

    त्यस्तै वित्तीय हस्तातरणतर्फ ३ खर्ब ८६ अर्ब अर्थात २३.५ प्रतिशत रहेको छ । उक्त स्रोत व्यवस्थापनका लागि राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ र वैदेशिक अनुदानतर्फ ६३ अर्ब ३७ र राजस्वबाट अपुग हुने रकममध्ये आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब र बाह्य ऋणबाट ३ खर्ब ९ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।

    आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठ) हेर्नुस्:

  • नयाँ बजेट : मौसम सम्बन्धी जानकारीका लागि छुट्टै टिभी च्यानल

    नयाँ बजेट : मौसम सम्बन्धी जानकारीका लागि छुट्टै टिभी च्यानल

    काठमाडौं । मौसम सम्बन्धी सूचना प्रवाहका लागि सरकारले छुट्टै टेलिभिजन सञ्चालन गर्ने भएको छ ।

    मौसम सम्बन्धी सूचना संकलनका लागि पाल्पा र उदयपुरमा मौसमी राडार र काठमाडौं उपत्यकामा एक्स बेन्ट राडार जडान गरिने अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत जानकारी दिए ।

    ‘टेलिभिनजनमा मौसमी च्यानल सञ्चालन गरिने छ’, उनले भने ‘थप स्थानमा जल तथा मौसम मापन केन्द्र स्थापना गर्न बजेट व्यवस्था गरेको छु ।’

  • स्वास्थ्य मन्त्रालयको बजेटमा भारी वृद्धि ,१ खर्ब २२ अर्ब ७७ करोड रूपैयाँ विनियोजन

    स्वास्थ्य मन्त्रालयको बजेटमा भारी वृद्धि ,१ खर्ब २२ अर्ब ७७ करोड रूपैयाँ विनियोजन

    काठमाडौं । सरकारले कोरोना महामारी तथा रोकथामलाई समेत ध्यान दिँदै स्वास्थ्य मन्त्रालयलाई भारी बजेट छुट्याएको छ ।

    नयाँ बजेटमार्फत सरकारले १ खर्ब २२ अर्ब ७७ करोड रूपैयाँ विनियोजन गरेको हो ।

    निरोगी नेपाललाई नागरिक जागरण कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य वीमाअन्तर्गत ५० प्रतिशत घरपरिवारलाई पहुँच ल्याउनका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

  • महिला स्वास्थ्य स्वयंसेविकाले १२ हजार पाउने

    महिला स्वास्थ्य स्वयंसेविकाले १२ हजार पाउने

    काठमाडौं । सरकारले नयाँ बजेटमार्फत महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको भत्तामा सतप्रतिशत वृद्धि गरेको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्तामा शत प्रतिशत वृद्धि गरी १२ हजारको घोषणा गरेका छन् ।

    मातृ तथा शिशुको स्वास्थ्य संरक्षणमा महिला स्वास्थ्य स्वयंसेविका पिलर मानिन्छन् ।

  • डा. महत भन्छन्- वृद्धभत्ता र कर्मचारीको तलब वृद्धि अहिले राज्यको ढुकुटीले धान्न मुस्किल पर्छ

    डा. महत भन्छन्- वृद्धभत्ता र कर्मचारीको तलब वृद्धि अहिले राज्यको ढुकुटीले धान्न मुस्किल पर्छ

    सरकारले अध्यादेशमार्फत जेठ १५ गते आगामी आर्थिक वर्ष २०७७/७८ का लागि वार्षिक बजेट प्रस्तुत गर्दैछ । विपक्षी दलहरूले यो सरकार कामचलाउ भइसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने दावी गरे पनि सरकारले भने पूर्ण बजेट नै ल्याउने तयारी गरेको छ ।

    कोभिड-१९ ले उत्पन्न गरेको स्वास्थ्य तथा आर्थिक संकटका बीच सरकारले कस्तो बजेट ल्याउला भनेर सबै क्षेत्रले चासो लिइरहेका छन् । पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महत भने यो सरकारले ल्याउने बजेट कामचलाउ मात्रै हुने बताउँछन् । अध्यादेशमार्फत बजेट ल्याउनु नै अवैधानिक हुने उनको टिप्पणी छ ।
    नेपाल प्रेससँगको वार्तामा डा. महतले कर्मचारीको तलव र वृद्धभत्ताजस्ता लोकप्रियतामुखी योजना ल्याउन अहिले ठिक नहुने बताए ।

    ‘यस्ता कुराहरू राज्यको ढुकुटीले धान्न सक्दैन,’ उनले भने, ‘यो केवल चुनावलाई सोचेर मतदाता प्रभावित गर्ने ध्याउन्न मात्र हो ।’

    प्रस्तुत छ, डा. महतसँग गरिएको संवाद:

    सरकारले बजेट भाषणको अन्तिम तयारी गरिरहेको छ । के अध्यादेशमार्फत बजेट ल्याउनु संविधानबमोजिम हुन्छ ?

    यो बजेट संविधान बमोजिम हुने कुरै भएन । बजेट भनेकै निर्वाचित तथा बहुमत सहितको विश्वासको मत प्राप्त गरेको सरकारले संसदमा बजेट प्रस्तुत गर्ने हो । जेठ १५ गते संसदको दुई सदनको संयुक्त बैंठकमा बजेट प्रस्तुत हुनुपर्ने संविधानमा उल्लेख छ । अहिले राजनीतिक संकट तथा संसद अभावको अवस्था छ । अहिलेको सरकारले विश्वासको मत प्राप्त गरेको पनि छैन र संसद पनि विघटन गरिएको छ ।

    सर्वोच्च अदालतमा संसद पुन:स्थापना तथा धारा ७६ (५) बमोजिम नयाँ सरकार बनाउनका लागि रिट दायर गरेको अवस्था छ । यो अवस्थामा अहिले अध्यादेशमार्फत बजेट प्रस्तुत गर्न सक्ने सम्भावना नै छैन । साथै संविधानमा नै अध्यादेशमार्फत बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था पनि छैन ।

    त्यसो भए विकल्प के त ? देश बजेटविहीन त रहन सक्दैन होला ?

    यदि प्रतिनिधि सभाको पुन:स्थापना नभएर असारको अन्त्यसम्म संसदको अभाव रह्यो भने श्रावणको १ गतेदेखि नयाँ आर्थिक वर्षका लागि नयाँ आय/व्यय खर्च विवरण र सामान्य खर्चको निरन्तरताका लागि कामचलाउ बजेट अध्यादेशमार्फत ल्याउन सकिन्छ । तर, त्यसमा पनि केवल नयाँ कुरा र कर थपघट नगरिकन भएका चालु कार्यक्रमलाई निरन्तरता दिनका लागि कामचलाउ बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ ।

    तपाईँहरूले भनेजस्तो कामचलाउ बजेटमा के-के गर्न सकिन्छ र के गर्न सकिन्न ?

    अहिलेको सरकारले पूर्ण बजेट ल्याउनै सक्दैन र यो बजेटले नयाँ कार्यक्रम ल्याउने पनि होइन । कामचलाउ बजेट भनेको सरकारले भएका चालु गतिविधिहरूलाई निरन्तरता दिने किसिमको सामान्य बजेट हो ।

    अहिले कोरोना संकट छ । यसलाई कसरी नियन्त्रण गर्न आवश्यकछ । देशमा राजनीति संकटको अवस्था पनि छ । त्यसलाई कसरी सामधान गर्ने भन्ने अहिलेको मुख्य विषय हो । कामचलाउ बजेटमा आफ्ना स्वार्थका लागि र निर्वाचनमा फाइदा लिने उद्देश्यले नयाँ कार्यक्रम घोषणा गर्ने होइन । पूर्ण बजेट प्रस्तुत गर्ने काम त बहुमत प्राप्त सरकारको मात्र हो । यो सरकार कामचलाउ भएकाले कामचलाउ बजेटमात्र प्रस्तुत गर्नु पर्छ ।

    तपाईले भनेजस्तो कामचलाउ बजेटले अहिले देशको संकटलाई सामाधान गर्न सक्ला ?

    अहिले कामचलाउ बजेट ल्याउँदा भइरहेको देशको संकटलाई सामधान गर्ने गतिविधि समावेश हुन्छ । जस्तो अहिले कोरोना विरुद्धको खोपको पहिलो आवश्यकता छ । यो ल्याउन सरकारले विभिन्न देशबाट सहयोग प्राप्त गर्नु पर्नेछ । स्वास्थ पूर्वाधारका क्षेत्रमा धेरै कुरा गर्नु पर्ने छ । अहिले अस्पताल बेड, अक्सिजन, भेन्टिलेटर, स्वास्थ्य सामग्रीहरू क्वारेन्टाइन र आइसोलेशनको व्यवस्थालगायत स्वास्थ्य विशेषज्ञ आदि सबै कुराको पनि अभाव छ । सरकारले अहिले जसरी बजेटमार्फत नै कार्यक्रमलाई अघि बढाइरहेको छ, यसको निरन्तरताका लागि मात्र कामचलाउ बजेट ल्याउन सकिन्छ ।

    आगामी बजेटका अन्य प्राथमिकताहरू के-के हुनुपर्छ ? आर्थिक पुनरूत्थानका लागि के कस्ता कार्यक्रम ल्याउनुपर्ला ?

    मैले पहिल्यै भनिसकेँ, अहिले बजेट प्रस्तुत गर्ने अवस्थै छैन । पूर्ण बजेट बनाउँदा पो प्राथमिकतामा धेरै कुरा पर्छन् । यदि पूर्ण बजेट भएको भए स्वास्थ्य क्षेत्र, कोरोना संक्रमणबाट मानवीय र भौतिक क्षति न्यूनिकरण, बेरोजगारी समस्या समाधानका लागि केन्द्रित हुनुपर्ने थियो । अहिले पनि आम्दानीका स्रोत नभएका असहाय, अपाङ्गहरू छन् । यस्तालाई आर्थिक सहयोग नै गर्नुपर्ने अवस्था पनि रहन्छ । राहतको व्यवस्था गर्नुपर्छ । कृषिमा व्यवसायीकरण गर्दै आधुनिकीकरण गर्नुपर्ने हुन्छ । प्राविधिक र सीपमूलक तालीमको व्यवस्था गर्ने र नेपालमा बजार मागको आवश्यक्ता अनुसार रोजगारी सिर्जना गर्ने हुनुपर्छ ।

    तर, अहिले अनुत्पादक क्षेत्रमा नेपालले धेरै पैसा खर्च गरिरहेको छ । जस्तो प्रशासनिक क्षेत्रमा धेरैभन्दा धेरै खर्च भएको छ । तर, उत्पादनमूलक क्षेत्रमा धेरै रकम विनियोजन भएको छैन र भएको विनियोजित रकम पनि खर्च भएको छैन । जति खर्च भएको छ त्यो पनि दक्षतापूर्ण तरिकाले भएको छैन । वर्तमान सरकारको प्रवृत्ति के छ भने कृत्रिम ढंगले ठूला-ठूला लक्ष्य राख्ने, कार्यान्वयन गर्ने क्षमता चाहिँ राख्दै नराख्ने । पूँजीगत क्षेत्रमा दक्षतापूर्वक खर्च नगर्ने, साथ-साथै प्रशासनिक खर्च र अनुत्पादक क्षेत्रमा चालु खर्चलाई जसरी पनि वृद्धि गर्ने प्रवृति देखिन्छ ।

    अनुत्पादक क्षेत्र र प्रशासनिक क्षेत्रमा सेवा-सुविधामा खर्च बढाउने प्रवृति देखिन्छ । विभिन्न क्षेत्रमा नियुक्ति पनि व्यवसायिक आधारमा भन्दा पनि राजनीतिक संलग्नताका आधारमा भएको देखिन्छ । प्रशासनिक खर्च अत्यन्त बढाइएको छ । यी सबै कुरालाई घटाएर उत्पादनमूलक क्षेत्रमा खर्च बढाउने गर्नुपर्छ । साथै व्यवस्थापनको क्षमता वृद्धि गर्नु पर्ने हुन्छ ।

    सरकारले सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब बढाउने कुरा छ । के अहिलेको स्थितिमा राज्यको ढुकुटीले त्यो धान्न सक्छ ?

    अहिलेको परिस्थितिमा सामाजिक सुरक्षा भत्ता र कर्मचारी तलब जुन ढंगले बढाउने चर्चा छ राज्यको ढुकुटीले धान्न मुस्किल पर्नेछ । अहिले सामाजिक सुरक्षाका लागि सबैभन्दा धेरै खर्च गर्नेमा दक्षिण एसियामै नेपाल अगाडि छ । जीडीपीको ४ प्रतिशत सामाजिक सुरक्षामा मात्र खर्च हुन्छ । यति ठूलो अनुपातमा सामाजिक सुरक्षाका लागि खर्च हुने हाम्रै मात्र मुलुक हो । अन्यत्र कहीँ पनि अति अनुपातमा खर्च हुँदैन ।

    नेपालमा प्रदान गरिने न्यूनतम पारिश्रमिक दर हाम्रो भन्दा ठूलो अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र बंगलादेशको भन्दा बढी छ । अब तलब पनि बढाउने, वृद्धा भत्ता पनि बढाउने योजना अहिले निहित राजनीति स्वार्थबाट प्रभावित भएको देखिन्छ । निर्वाचनमा प्रभाव पार्ने मुख्य चेष्टा हो ।

    सामाजिक सुरक्षाको ध्यान सामाजिक सुरक्षाको कानून अनुरुप तथा असहाय, अपाङ्ग छ र गरिबीको रेखामुनी छ त्यसतर्फ जानुपर्छ । यस्ता आम्दानीका स्रोतहरूको अभाव भएका परिवारलाई मात्र आर्थिक सहायता आवश्यकता पर्छ । हुनेखाने सम्पन्न व्यक्तिलाई कानुन अनुसार योगदानमा आधारित सुरक्षा भत्ता बाहेक अन्य रकम बाँढ्नु उपयुक्त हुँदैन । सम्पन्नलाई किन सहायता चाहियो ? निजी स्वार्थको लक्ष्य राखेर यस्तो सार्वजनिक खर्च बढाउने गतिविधि यो सरासर गलत हुनेछ । यो वितरणवादी हुन्छ, जुन गलत प्रवृति हो । यसलाई सुधार गर्नुपर्छ ।

    सरकारले चुनावको घोषणा गरेको छ । संसदीय चुनाव र यही आर्थिक वर्षमा स्थानीय चुनाव पनि गर्नुपर्ने अवस्था छ । त्यसका लागि कति बजेट छुट्याउनुपर्ला ?

    सुन्नुस्! अहिले निर्वाचनका लागि बजेट छुट्याउनुपर्ने केही छ ? अहिले निर्वाचन गर्नुपर्छ भन्ने जरुरी देखिँदैन । स्थानीय निर्वाचन पनि आउन अझै केही समय बाँकी नै छ । स्थानीय तहको निर्वाचनलाई केही समय बढाएर पछि गर्दा पनि उचित हुनेछ । राष्ट्रिय निर्वाचन सम्पन्न भएपछि मात्र स्थानीय निर्वाचन गर्न उपयुक्त हुनेछ ।

    यो सरकार कार्तिक/मंसिरमा निर्वाचन गराउने भनेर लागिरहेको छ । यो अनावश्यक रूपमा खर्च वृद्धि गराउने काम हो । अहिले देश कोरोना संक्रमणबाट गुज्रिरहेको छ । यो अवस्थामा निर्वाचन गर्दा प्रचार-प्रसार तथा भीडभाड, आमसभा आदि इत्यादि गर्ने समय छ ? यदि गरेको खण्डमा कोरोना संक्रमण अझ बिस्तार भयो भने ठूलो संकट आउँदैन ।

    जस्तो अहिले हेर्नुस् न, हिन्दुस्तानका केही प्रदेशमा भएको चुनावले कस्तो विकराल रूप लियो । कोरोनाको दोस्रो चरणले क्षत-विक्षत बनायो । यो अनुभवले पनि अहिले चुनाव गर्न सक्ने अवस्था नै छैन ।

    यो सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेट कति कार्यान्वयन भएको पाउनुभएको छ ? अहिलेको आर्थिक अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

    यो सरकारको ठूला-ठूला लक्ष्यहरू धोषित गर्ने प्रवृति छ । तर, कार्यान्वयन चाहिँ उनीहरूले गर्न सक्दैनन् । कार्यान्वयन क्षमताको अभाव छ । त्यसैले म भन्छु सरकारले ठूला-ठूला प्रचारात्मक कुरा गरेर मात्र हुँदैन । राम्रो अध्ययन गरेर कार्यान्वयनको तयारी गर्नुपर्छ । क्षमता वृद्धि गर्नुपर्छ ।

    गएको आर्थिक वर्षमा साढे ८ प्रतिशत आर्थिक वृद्धि हुने कुरा गरिएको थियो । वृद्धि हुनु त कता हो कता, २ प्रतिशतले पो ह्रास आयो । यस वर्ष पनि ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने भनिएकोमा वृद्धिदर २ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ । त्यस्तै विभिन्न क्षेत्रमा जेजति लक्ष्य राखिएको थियो, सो पूरा भएको देखिँदैन ।

    बजेटको आकार पहिलेको भन्दा बढाउन सकिने अवस्था छ कि छैन ? कति आकारको बजेट ल्याउनु ठीक होला ?

    बजेटको आकार अहिल्यै नै यति नै भन्न सकिने अवस्था छैन । चालु आर्थिक वर्षमा १४ खर्ब ७५ अर्ब बजेट राखिएकोमा करिब ११ खर्ब बजेट खर्च होला भन्ने अनुमान छ । यो वर्ष अव्यवहारिक रूपले बजेटको आकार बढाउनु उचित छैन् । गत वर्षको जस्तो ठूलो बजेट राख्नु पर्ने छैन ।

    यो वर्ष जति खर्च भएको छ, त्यसको आधारमा आगामी वर्षको बजेट अनुमान गर्न सकिन्छ । भएन भने अहिले खर्च भएको रकमभन्दा १०/२० प्रतिशत वृद्धि गराउन सकिन्छ । म त सुन्दैछु १७ खर्बको बजेट ल्याउने प्रस्ताव राखिएको छ रे । त्यस आकारमा बजेट आवश्यक पर्ने देखिँदैन् ।

    आन्तरिक ऋण बढाउने वर्तमान सरकारको प्रवृत्ति छ । विगतमा आन्तरिक ऋण निकै बढाइएको छ । राजश्व हेर्ने, वैदेशिक सहायता हेर्ने तथा बजेट घाटा निकै ठूलो बनाउनु हुँदैन । जीडीपीको २ प्रतिशतभन्दा बढी आन्तरिक ऋण बढाउने उचित देखिँदैन । तर यहाँ ५/६ प्रतिशतसम्म आन्तरिक ऋण लिने घोषणा गरिएको छ ।

    बजेटका लागि स्रोतको अभाव हुने भनिएको छ । कोभिड-१९ रोकथाम, आर्थिक पुनरुत्थान र चुनावका लागि ठूलो पैसा चाहिने देखिन्छ । त्यसको जोहो कसरी हुन सक्ला ?

    कोभिडका लागि त बजेटमा पनि हुन्छ । वैदेशिक सहायता पनि प्राप्त गर्न सकिन्छ । त्यसमा कुनै शंका छैन । यदि चुनाव हुने नै भयो भने जथाभावी खर्च गर्ने अवस्था छैन अहिले । चुनाव अहिले घोषणा गर्नु ठीक नै छैन । र, सर्वोच्चमा मुद्दा परिरहेको अवस्थामा संसद पुनर्स्थापना पनि हुनसक्छ । त्यसैले अहिले चुनावको आवश्यकता नपर्न पनि सक्छ ।

    यदि चुनाव भएको खण्डमा ३० अर्बमाथि नै खर्च हुन्छ भन्ने चर्चा छ । यति ठूलो खर्च गर्नुपर्ने जरुरी छैन । वर्तमान संसद्को अवधि ५ वर्षको हो । ५ वर्ष पुगेपछि मात्र चुनाव गर्नुपर्छ । अझै हामीलाई आशा छ अदालतले संसद पुन:स्थापना गर्नेछ र चुनावमा राज्यको ठूलो धनराशी खर्च हुनबाट रोकिने छ ।

    यदि अहिलेको सरकार परिवर्तन भएर नयाँ सरकार बन्यो भने यो बजेट खारेज गरेर अर्को पूरक बजेट ल्याउन सक्छ ?

    कथंकदाचित बजेट अध्यादेशमार्फत आयो भने, सरासर गलत हो । त्यो खारेज नै गर्नुपर्छ । र, संसद पुर्नस्थापना भएपछि उसैले बजेट प्रस्तुत गर्नेछ । यदि त्यसो नभएको खण्डमा निर्वाचन नै भयो भने पछि निर्वाचित सरकारले अध्यादेशमार्फत ल्याएको बजेट अन्त्य गरी पूर्ण बजेट ल्याउने छ ।

    तपाई यतिबेला अर्थमन्त्री हुनुभएको भएको कस्तो बजेट ल्याउनु हुन्थ्यो ?

    मैले अघि नै भनिसके बजेट कस्तो हुनुपर्छ भनेर । प्राथमिकताका क्षेत्र माथि नै उल्लेख गरिसकेको छु । खाली धाकधक्कु लगाउने बजेट मैले प्रस्तुत गर्दिन थिएँ । दीर्घकालीन विकास कसरी गर्ने, कोरोनालाई कसरी नियन्त्रण गर्ने, आर्थिक गतिविधिलाई कसरी पुनरुत्थान गर्न सक्ने, रोजगारीका अवसर कसरी सिर्जना गर्ने, कृषि, उद्योग तथा पर्यटनआदि क्षेत्रको पुर्नस्थापना कसरी गर्ने, शिक्षा, स्वास्थ्य, सामाजिकलगायत विभिन्न क्षेत्रलाई प्रामिकताका आधारमा अध्ययन गरेर जहाँ आवश्यकता छ त्यहाँ बजेट पुर्‍याउँनु पर्छ । जतिसक्दो उत्पादनमुलक क्षेत्रमा खर्च गर्नुपर्छ । यी सबै कुरालाई ध्यानमा राखेर बजेट निर्माण गर्नुपर्छ ।

    सरकारले नीति तथा कार्यक्रम बिना नै बजेट ल्याउने तयारी गरेको छ, त्यो कति संवैधानिक हुन्छ ?

    सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट संसदमा प्रस्तुत भएपछि छलफल पश्चात धन्यवादको प्रस्ताव पास गर्नु पर्नेछ । त्यपछि बजेट प्रस्तुत हुनेछ । तर, हाल संसदको अभावमा त्यो भइरहको छैन् । संसद हुँदै पनि प्रि-बजेट छलफल गर्नुपर्ने हो । त्यो पनि गरिएको छैन । तसर्थ यस सम्बन्धमा सरकारका गतिविधिहरू गलत भएका छन् । अहिले सरकारले अध्यादेशमार्फत बजेट घोषणा गर्नु अनुचित र गलत हो ।

  • १६ खर्ब आसपासको बजेट आउँदै, ९० प्रतिशत कार्यक्रम कोभिड केन्द्रित हुने

    १६ खर्ब आसपासको बजेट आउँदै, ९० प्रतिशत कार्यक्रम कोभिड केन्द्रित हुने

    काठमाडौं । सरकारले अध्यादेशमार्फत ल्याउन लागेको बजेटको तयारी अन्तिम चरणमा पुगेको छ । स्रोतका अनुसार अर्थमन्त्रालयले १६ खर्ब आसपासको बजेटको प्रारुप तयार पारेको छ, जसमा अधिकांश कार्यक्रम कोभिडकेन्द्रित हुनेछन् ।

    विपक्षीहरुले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नसक्ने दावी गरिरहेका बेला सरकारले ठूलो आकारको बजेट ल्याउने तयारी गरेको हो । गत वर्ष कोभिडकै कारण बजेटको आकार घटाइएको थियो । यस वर्ष भने स्रोतको संकटकै बीच बजेटको आकार बढाउने मन्त्रालयले तयारी गरेको छ ।

    आर्थिक वर्ष २०७८/०७९ का बजेट करिब १६ खर्बको आसपासमा रहने अर्थमन्त्रालय स्रोत बताउँछ । अन्तिम जोडघटाउ बाँकी नै रहेकाले बजेटको अंक ठ्याक्कै भन्न सकिने अवस्था भने छैन ।

    ‘अहिले नै बजेटको आकार यति हुन्छ भन्न अर्थमन्त्रीले पनि सक्नुहुन्न’ अर्थमन्त्रालयका एक अधिकारीले भने । तर योजना आयोगले पठाएको सिलिङ र बजेटको अंकगणितलाई हेर्दा १६ खर्बको हाराहारीमा बजेट आउने सम्भावना रहेको ती अधिकारी बताउँछन् । ‘केही अर्ब तलमाथि हुनसक्छ’, उनले भने ।

    करिब १६ खर्बको बजेट आएमा मध्यकालीन खर्च संरचना अनुमान नजिक बजेट प्रस्तुत हुने देखिन्छ । मध्यकालीन खर्च संरचनाले आर्थिक बर्ष २०७८/०७९ का लागि १६ खर्ब ९७ अर्ब रुपैयाँको बजेटको सिलिङ तोकेको छ ।

    चालू आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्बको बजेट प्रस्तुत गरिएको थियो । कोभिड १९ का कारण राजस्व तथा आम्दानीको स्रोत संकुचित हुने भएपछि ५९ अर्बले बजेटको सिलिङ घटाइएको थियो ।

    स्रोत व्यवस्थापनका लागि आगामी आर्थिक बर्षको बजेटमा राजस्व २० प्रतिशत बृद्धि गर्ने लक्ष्य राखिएको छ । महेश दाहाल नेतृत्वको राजस्व परामर्श विकास समितिले २० प्रतिशत राजस्व बृद्धि गर्न सकिने आधारहरु सहित प्रतिवेदन पेस गरेको थियो ।

    त्यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त व्यवस्थापन आयोगले ५.५ प्रतिशतसम्म आन्तरिक ऋणको सीमा बृद्धि गर्नका लागि सरकारलाई अनुमति दिएको छ । जसअन्तर्गत करिब २ खर्ब ३५ अर्बसम्म सरकारले आन्तरिक ऋण विकास खर्चका लागि उठाउन सक्ने भएको छ ।

    त्यस्तै वाह्य ऋण पनि सरकारले बृद्धि गर्ने देखिन्छ । आगामी आर्थिक वर्षको बजेटमा राजस्वबाट करिब १० खर्व ५० अर्ब र आन्तरिक तथा बाह्य ऋण मार्फत ५ खर्ब ५० अर्ब रुपैयाँको स्रोत व्यवस्थापनका लागि खर्च गर्ने देखिन्छ ।

    चालू आर्थिक वर्ष सरकारले कर तथा गैह्र कर राजस्वमार्फत १० खर्ब १० अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । त्यस्तै बाह्य ऋण २ खर्ब २५ अर्ब र बाह्य ऋण २ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो ।

    आगामी आर्थिक वर्षको बजेटमा सरकारले चुनाव केन्द्रित केही लोकप्रिय कार्याक्रमहरु समावेश गर्नेछ । बृद्धभत्तासहित सामाजिक सुरक्षाभत्ता ५ हजारसम्म पुर्‍याउने, कर्मचारीको तलव २० प्रतिशतले बढाउने, उद्योगी-व्यवसायीलाई राहत दिने, युवा केन्द्रित लोकप्रिय कार्यक्रमहरु आगामी बजेटमा प्रस्तुत गर्न लागिएको अर्थमन्त्रालय स्रोत बताउँछ ।

    बृद्ध वा युवा, व्यापारी तथा कर्मचारीलाई खुसी बनाउने खालको बजेट ल्याएर चुनावमा मतदाता प्रभावित पार्ने सोच सरकारले राखेको स्रोतको भनाइ छ । बर्तमान अर्थमन्त्री बिष्णुप्रसाद पौडेल अर्थतन्त्रको विज्ञभन्दा पनि राजनीतिक व्यक्ति भएकाले लोकप्रिय बजेट ल्याउन चाहन्छन् ।

    यद्यपि, बजेटको ठूलो कोभिड-१९ को रोकथाम तथा नियन्त्रण र अर्थतन्त्रको पुनरुत्थानका लागि छुट्याउनुपर्ने वाध्यता छ । निजी क्षेत्रलाई राहत र रोजगारी संरक्षण, स्वास्थ्य सामग्री तथा खोप खरिद, अस्पताल निर्माण तथा अक्सिजन प्लान्ट निर्माण लगायतका कार्यक्रममा बजेट केन्द्रित हुने अर्थमन्त्रालय स्रोतले बतायो । कोभिडका कारण बजेटको ठूलो हिस्सा स्वास्थ्य क्षेत्रमा विनियोजन हुने निश्चित छ ।

    के आउला आर्थिक प्याकेज ?

    आर्थिक क्षेत्रको पुनरुत्थानका लागि पनि उल्लेख्य रकम विनियोजन गर्ने तयारी सरकारले गरेको छ । सहुलियतपूर्ण कर्जा तथा पुनःकर्जा, बिद्युत महसुल तथा डिमाण्ड शुल्कमा छुट, उद्योगी-व्यवसायीलाई ब्याजदरमा छुट, व्यवसायीक निरन्तरता कर्जा, रोजगारी लगायतका क्षेत्रमा आगामी आर्थिक वर्षको बजेटले सम्वोधन गर्ने अर्थ मन्त्रालयको भनाई छ ।

    गत वर्ष पनि सरकारले बजेट पुनरुत्थानका विभिन्न योजना अघि सारेको थियो । बिद्युत शुल्क तथा महसुलमा छुट दिइएको थियो । घरायशी उपभोक्ताले १० युनिटसम्मको बिद्युत खपतलाई निशुल्क, १५० युनिट खपत गर्नेलाई २५ प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई १५ प्रतिशत विद्युत महसुलमा छुट दिने व्यवस्था बजेटमा गरिएको थियो ।

    त्यस्तै कोभिड-१९ का कारण प्रभावित उत्पादनमुलक उद्योगलाई डिमाण्ड शुल्कमा छुट दिने र लोड कम हुने समयको बिद्युत खपतमा ५० प्रतिशत महसुल छुटको ब्यवस्था बजेटमार्फत गरिएको थियो ।

    सरकारले बिद्युतको महसुल तथा डिमाण्ड शुल्कमा उद्योगी व्यवसायीलाई दिएको राहतले यो वर्ष पनि निरन्तरता पाउने देखिन्छ । गत वर्षको बजेटले अति प्रभावित पर्यटन तथा होटल व्यवसायसहित कृषि घरेलु तथा मझौला उद्यमका लागि १ खर्ब रुपैयाँ पुनःकर्जा ५ प्रतिशत ब्याजदरमा उपलव्ध गराउने व्यवस्था गरेको थियो । साथै यस क्षेत्रमा प्रभावित ५ प्रतिशतमा कर्जा उपलब्ध गराउन ५० अर्ब रुपैयाँको कोष ब्यवस्था गत वर्षको बजेट मार्फत गरिएको थियो ।

    त्यस्तै हवाइ उड्ड्यनको राहतका लागि ल्याण्डिङ पार्किङ शुल्क, बायु सञ्चालन अनुमति नविकरण दस्तुर, उडान योग्यता दस्तुर र हवाई इन्धनमा लाग्ने पुर्वाधार करमा छुटको व्यवस्था चालू आर्थिक बर्षको बजेटले गरेको छ । यस्तो कार्यक्रमले आगामी वर्ष पनि निरन्तरता पाउने व्यवसायीले अपेक्षा गरेका छन् ।

    थप राहतको माग

    आगामी आर्थिक वर्षको बजेटमा कोभिड-१९ को खोप खरिद र थप राहत प्याकेजको माग गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा बताउँछन् ।

    ‘हामीले अर्थमन्त्री तथा अर्थसचिवज्युलाई कोभिड-१९ को रोकथामका लागि खोप खरिद र कोभिड प्रभावित अर्थतन्त्रको संरक्षणका लागि राहत प्याकेजको माग गरेका छौं,’ उनले भने ‘गत वर्षको राहतलाई निरन्तरता दिँदै कर तथा भ्याटको दरमा छुटको माग गरेका छौं ।’

    उद्योग-व्यवसायको मुख्य लागत ब्याजदर तथा कर भएकाले यसमा छुट दिन सके बस्तुको लागत घट्न गई उपभोक्ताको उपभोग्य क्षमता बढ्ने उनको भनाई छ । भ्याटको दर १३ प्रतिशतबाट १० प्रतिशतमा झार्न महासंघका तर्फबाट आफुहरुले सुझाव दिएको अध्यक्ष शेखर गोल्छाको भनाई छ ।

    त्यस्तै साना तथा मझौला उद्योगी-व्यवसायीलाई व्यवसाय निरन्तरता कर्जाको व्यवस्था र सहुलियत दरमा कर्जाको व्यवस्था गर्नका लागि समेत बजेटमा सुझाव प्रस्तुत गरिएको छ । यसमा अर्थमन्त्रालय सकारात्मक रहेकाले आफ्नामागहरु बजेटमार्फत सम्वोधन हुने अपेक्षा गोल्छाले व्यक्त गरे ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवाल राहत कार्यक्रमको व्यवहारिक कार्यान्वयनमा बजेट केन्द्रीत हुनेमा आफु विश्वस्त रहेको बताउँछन् । चालू आर्थिक वर्षको बजेटमा करिब १.५ खर्बको राहत आए पनि लघु घरेलु साना तथा मझौला उद्योगी-व्यवसायीले कानूनी जटिलताका कारण सहुलियत कर्जा तथा पुनःकर्जा उपयोग गर्न नसकेको उनले बताए ।

    सहुलियत तथा पुनःकर्जा र ऋणको पुनःतालीकरणका उपयोगका लागि नियमित कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्ने तथा व्यवसायका आधारमा कर्जा नविकरण हुने ब्याजदरसम्वन्धी कार्यविधिका कारण साना तथा मझौला व्यवसायी मर्कामा परेको कटुवालको भनाइ छ ।

    ‘हाम्रो अधिकांश साना व्यवसायी साथीहरु इमान्दार छन् । कर्जा पनि समयमा तिर्छन् । तर व्यवसायका आधारमा नभई व्यक्तिगत ऋण लिएका छन् । त्यसैले हामीले यो व्यवस्थालाई अलिक परिवर्नतन गर्न भनेका छौं,’ उनले भने, ‘व्यक्तिगत कर्जा लिएका कारण साना उद्योगी-व्यवसायीले बजेटमा व्यवस्था भएमोजिम आधा पनि कर्जा लिन पाएनन् भने कर्जा पुनःतालिकरण त हुने कुरै भएन ।’

  • आईसीयू र भेन्टिलेटरको लागि ४१ अस्पताललाई डेढ अर्ब बजेट

    आईसीयू र भेन्टिलेटरको लागि ४१ अस्पताललाई डेढ अर्ब बजेट

    काठमाडौं । कोभिड-१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आईसीयू र आईसीयू भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित गरेको छ ।

    जसमा पिडियाट्रिक आईसीयूतर्फ ताप्लेजुङ अस्पताल, संखुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल, सोलुखुम्बु अस्पताल, ओखलढुङ्गा अस्पताल, रंगेली अस्पताल, सुनसरी अस्पताल, सर्लाही अस्पताललाई तीन तीन करोड रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

    यस्तै बारा अस्पताल, रामेछाप अस्पताल, दोलखा अस्पताल, रत्ननगर अस्पताल, भक्तपुर नगर अस्पताल, रसुवा अस्पताल, पर्वत अस्पताल, स्याङ्जा अस्पताल, म्यादी अस्पताललाई तीन तीन करोड रुपैयाँ छ ।

    पाल्पा अस्पताल, रोल्पा अस्पताल, पृथ्वीचन्द्र अस्पताल, मुसीकोट अस्पताल, मुगु अस्पताल र मेहलकुना अस्पताललाई पनि तीन तीन करोड रुपैयाँको सहमति दिइएको छ ।

    सेती प्रादेशिक अस्पताललाई ६ करोड, गजेन्द्रनारायण अस्पताललाई ९ करोड, तुल्सीपुर अस्पताललाई ९ करोड र भक्तपुर अस्पताललाई १२ करोड रुपैयाँ सुनिश्चित गरिएको अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए ।

  • निर्वाचन आयोगका पूर्वप्रमुखहरुले भने- मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने बजेट नल्याऊ

    निर्वाचन आयोगका पूर्वप्रमुखहरुले भने- मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने बजेट नल्याऊ

    काठमाडौं । निर्वाचन आयोगका पाँचजना पूर्वप्रमुख आयुक्तहरुले आगामी कात्तिक र मंसिरमा प्रस्तावित प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित पार्ने खालका कुनै पनि कार्यक्रम बजेटमा नल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

    पूर्वप्रमुख आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल ,नीलकण्ठ उप्रेती, अयोधीप्रसाद यादव पूर्वकार्यवाहक प्रमुख आयुक्त दोलखवहादुर गुरुङले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्न नहुने बताएका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘काम चलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्त भित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्ने गरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर्दछौं । ‘

    उनीहरूले निर्वाचन आयोगलाई समेत यसबारेमा सजग गराउन आग्रह गरेका छन् ।

  • नीति तथा कार्यक्रम यस वर्ष नआउने, बजेट भाषण प्रधानमन्त्री कार्यालयमा

    नीति तथा कार्यक्रम यस वर्ष नआउने, बजेट भाषण प्रधानमन्त्री कार्यालयमा

    काठमाडौं । प्रतिनिधिसभा विघटन भएकाले सरकारले यस वर्ष नीति तथा कार्यक्रम नल्याउने भएको छ । आगामी आर्थिक वर्षको बजेट भने अध्यादेशमार्फत ल्याउने तयारी छ ।

    जेठ १५ गते अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बजेट भाषण गर्ने भएका छन् । दुवै संसदको संयुक्त वैठकमा बजेट भाषण गर्ने परम्परा रहेकोमा यसपाली प्रतिनिधिसभा नरहेकाले वैकल्पिक उपाय अपनाइएको हो । बजेट भाषणभन्दा एक महिना अगाडि नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत गर्ने प्रचलन पनि यसपाला तोडिएको छ । नीति तथा कार्यक्रममा टेकेर बजेट निर्माण हुने गरेको थियो ।

    बजेट भाषणका अन्य प्रक्रियाहरु पनि छाँटिएका छन् । सरकारले संसद विघटन गरी चुनाव घोषणा गरेकाले बजेट निर्माण सम्वन्धी संसदीय प्रकृयाहरु अगाडि बढ्न पाएनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अल्पमतमा रहेकाले पारित नहुने डरका कारण उसले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेन । यसले गर्दा बजेट अगाडी हुनुपर्ने प्रक्रिया तथा छलफलहरु हुन सकेनन् ।

    विपक्षी दलका नेता तथा बिज्ञहरु सरकारले बजेट संसदमा प्रस्तुत नगरेकाले नयाँ कार्यक्रम नसमेट्न दवाव दिइरहेका छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा संविधानको संघीय आर्थिक प्रणालीका मस्यौदाकार शंकर शर्मा अध्यादेशमार्फत बजेट आउने संविधानमा परिकल्पना नगरिएको बताउँछन् ।

    ‘यसरी संसद विघटन होला र अध्यादेशमार्फत बजेट प्रस्तुत होला भनेर परिकल्पना गरिएन । संविधानसभामा यस बिषयमा खासै प्रश्नहरु पनि उठेका थिएनन्,’ उनले भने,’ सरकारले विगतका नजीर तथा परम्परालाई आधार बनाएर नैतिकता र अनुशासनभित्र रही बजेट प्रस्तुत गर्न सक्छ ।’

    साउनसम्म चालू आर्थिक वर्षको बजेटले खर्च धान्ने भएकाले बजेट प्रस्तुत नगर्दा उचित हुनेमा उनको जोड छ । तर सरकारले बजेट प्रस्तुत गर्ने अन्तिम तयारी गरिसकेको छ । सरकारले बजेटमार्फत करका दरहरु परिवर्तन नगरे पनि बृद्धभत्ता ५ हजार पुर्‍याउने र सरकारी कर्मचारीको तलवभत्ता बढाउने सम्भावना छ ।

    यस्तो वेलामा सरकारले लोकप्रिय कार्यक्रमहरु प्रस्तुत गरेमा अर्को सरकारले रोक्न नसक्ने शर्माको तर्क छ ।

    ‘सरकारले यो बेला लोकप्रिय कार्यक्रम ल्यायो भने त्यो कार्यान्वयनमा जान्छ, अर्को सरकारले रोक्न सक्दैन । सरकारले सामाजिक सुरक्षा भत्ता तथा कर्मचारीको तलव-भत्ता बृद्धि गरिदियो भने त्यो कार्यान्वयनमा जान्छ,’ उनले भने ।

    बर्तमान संविधानमा संसद चाल” रहेको समयमा जारी भएका अध्यादेशले ६० दिनभित्र कानूनी मान्यता नपाएमा स्वत खारेज हुने व्यवस्था भए पनि संसद नरहेको समय अवधि नतोकिएकाले जनुसुकै समयसम्म अध्यादेशले कानूनी मान्यता पाउने कानूनबिद्हरु बताउँछन् ।

    अध्यादेश मार्फत बजेट आएमा त्यसले कानूनी मान्यता पाउन समस्या छैन । देखिन्छ । नयाँ सरकारले भने अध्यादेश मार्फत आएको बजेटलाई निरन्तरता दिन वा नदिने सक्ने अर्थबिद् शर्माको भनाई छ । नयाँ सरकारले पुरक अनुमान पनि प्रस्तुत गर्न सक्ने उनी बताउँछन् ।

    सरकारले संविधानबिपरित बजेट ल्यानलागेको भन्दै सर्वोच्चअदालतमाअन्तिरम आदेशको मागगर्दै रिटहरु दर्ता हुनथालेका छन् ।

    बजेट निर्माण अगाडिका प्रक्रिया

    बजेट प्रस्तुत गर्नभन्दा १ महिना अगाडि नै संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । तर गत वर्ष प्री बजेट छलफलपछि नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो ।

    नीति तथा कार्यक्रममा सांसदले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएपछि संसदबाट पारित हुने गर्दछ । बजेट प्रस्तुत गर्नुभन्दा १५ दिनअगावै संसदमा अर्थमन्त्रीले आर्थिक बिनियोजन बिधेयक बजेटको प्राथकिता सिद्धान्त (कर प्रस्तावबाहेक) प्रस्तुत गर्नुपर्ने र यसमा आएका सुझावलाई समावेश गरी विनियोजन बिधेयक पास गर्ने प्रचलन रहेको छ । यसलाई प्री-बजेट छलफल पनि भन्ने गरिन्छ । अर्थमन्त्रीले आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गरेपछि मात्रै जेठ १५ गते बजेट प्रस्तुत गरिन्छ ।

    बजेट प्रस्तुत गरेपछि लगत्तै बस्ने संसदको बैठकमा आर्थिक बिधेयक प्रस्तुत गर्नुपर्ने कानूनी वाध्यता रहेको छ । आर्थिक बिधेयकमार्फत बजेटले लिएका कार्यदिशा, खर्च तथा आयका स्रोत तथा करका दरमा गरिएका परिवर्तनका विषयमा सदनमा छलफल भएपछि मात्रै बजेट पारित हुने गर्दछ । तर संसद बिघटन गरिएकाले आगामी आर्थिक वर्षको बजेटमा यस्ता कुनै पनि प्रकृयाहरु अपनाइएको छैन ।

    यसै बीचमा सरकारले संसद विघटन गरेर चुनावको घोषणा गरेकाले यो सरकार कामचलाउ बनेको छ । कामचलाउ सरकारले प्रस्तुत गर्ने बजेटमा नयाँ कार्यक्रम समावेश गर्न नमिल्ने जानकारहरुले बताउँदै आएका छन् ।

  • अर्थ मन्त्रालयमा रातिसम्म चटारो, यस्तो छ कोर टिम

    अर्थ मन्त्रालयमा रातिसम्म चटारो, यस्तो छ कोर टिम

    काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माण प्रक्रिया अहिले उत्कर्षमा पुगेको छ । बजेट प्रस्तुत हुन ३ दिनमात्र बाँकी छँदा अर्थमन्त्रालयका अधिकारीहरू चरम व्यस्तता र दबाबमा छन् ।

    प्रतिनिधिसभा विघटन गरिएकाले आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत आउँदैछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीको कार्यालयबाट बजेट भाषण गर्ने तयारी गरेका छन् । बजेट निर्माणमा सक्रिय नेतृत्व गरिरहेका अर्थमन्त्री पौडेल संसदमा बजेट प्रस्तुत गर्न नपाउँदा भने खिन्न बनेको स्रोतको भनाइ छ ।

    संसदमा बजेट प्रस्तुत गर्न नपाउने थोरै अर्थमन्त्रीको सूचीमा उनी पनि परेका छन् । यसअघी नेपाली कांग्रेसका अर्थराज्यमन्त्री महेश आचार्य र रामशरण महत, एमालेका सुरेन्द्र पाण्डे, भरतमहोन अधिकारी, माओवादीका वर्षमान पुनले संसदमा बजेट पेस गर्न पाएका थिएनन् । पछिल्लो करिब ३० वर्षीय संसदीय इतिहासमा ९ पटकभन्दा बढी बजेट अध्यादेशमार्फत प्रस्तुत गरिएको छ । वर्तमान संविधान जारी भएपछि भने यो पहिलोपटक हो ।

    बजेट निर्माण अन्तिम चरणमा

    गत फागुनमा राष्ट्रिय योजना आयोगले सिलिङ पठाएसँगै बजेट निर्माणको काम अर्थमन्त्रालले थालेको थियो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय संघ तथा प्रदेशमा बाँडफाँड हुने सशर्त, समपुरक, विशेष अनुदानको सूत्र पठाएको थियो भने सरकारको आन्तरिक राजस्व कार्यालय तथा भन्सार कार्यालयले राजस्व र करका दर तथा दायराबारे अर्थमन्त्रालयलाई सुझाव प्रस्तुत गरेका थिए । पूर्वसचिव महेश दाहालको नेतृत्वमा रहेको राजश्व परामर्श विकास समितिले बजेटमा राजस्वका नयाँ संभावित स्रोतका बारेमा प्रतिवेदन बुझाइसकेको छ ।

    त्यसैगरी विषयगत मन्त्रालयहरूले राष्ट्रिय योजना आयोगको सिलिङभित्र रहेर बजेट माग गरी अर्थमन्त्रालयसँग छलफल समेत सम्पन्न गरिसकेका थिए । त्यस्तै प्रदेशका मुख्यमन्त्रीहरूसँग अन्तरवित्त परिषदमा बजेट सम्बन्धी छलफल गराई आवश्यक सुझावहरू बजेटमा समावेस गर्ने काम सम्पन्न भइसकेका छन् ।

    मन्त्रीस्तरीय निर्णयमा हस्ताक्षर गर्दै अर्थमन्त्री पौडेल ।

    पूर्वअर्थमन्त्री, पूर्वमुख्यसचिव, पूर्वअर्थसचिव तथा अर्थशास्त्रीहरू, विभिन्न पेशागत संघ-संगठन, दातृ निकायहरू छलफल गरी बजेटको मस्यौदा अन्तिम अवस्थामा पुगेको हो । त्यस्तै राष्ट्रिय योजना आयोगको १५ औं योजना, दीगो विकासका लक्ष्यहरू, सरकारका प्राथमिकतालाई बजेटमा समावेश गरिएको अर्थमन्त्रालयले बताएको छ । मध्यकालीन खर्च संरचना र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन २०७६ का अधिनमा रहेर बजेट निर्माण गरिएको मन्त्रालयको दावी छ ।

    अर्थमन्त्रालयले तयार पार्ने आर्थिक सर्वेक्षण, नीति तथा कार्यक्रम, बजेट वक्तव्य, रातो पुस्तिका अर्थात् आयव्ययको विवरण, पहिलो पुस्तिका अर्थात सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, सेतो पुस्तिका, वैदेशिक सहायता सम्वन्धी आयोजनाहरूको स्रोतपुस्तिका लगायत एक दर्जनभन्दा बढी पुस्तिकाहरू तयार भइसकेका छन् ।

    अर्थमन्त्रीको चटारो

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माणमा राजनीतिक नेतृत्व गरिरहेका छन् । अर्थतन्त्रका ज्ञाता नभए पनि बजेटको आकार, प्राथमिकता र केही महत्वपूर्ण कार्यक्रमहरूमा उनको चासो रहेको स्रोतले बतायो । अर्थमन्त्रीका रूपमा यो उनको दोस्रो बजेट हो ।

    कोभिड-१९ को आवश्यक सतर्कता अपनाउदै अर्थमन्त्रालयले विगत १ महिनादेखि बजेट निर्माणको गृहकार्य तीव्र पारेको छ । अर्थमन्त्रीसहित बजेट निर्माणको कोर टिम र अर्थमन्त्रालयका कर्मचारीहरू शनिबार पनि कार्यालय आइरहेका छन् । उनीहरू बिहान ८ बजेदेखी बेलुकी ६ बजेसम्म मन्त्रालयमा व्यस्त हुन्छन् ।

    अर्थमन्त्री पौडेलले राजनीतिक भेटघाटलाई कम गरी बढी समय बजेटको तयारीमा लगाइरहेको अर्थमन्त्रीका प्रेस संयोजक भुवन केसीले बताए । ‘वैशाखदेखि नै उहाँ बिहान ८ बजे अर्थमन्त्रालय आउने राति अबेर निस्कने गर्नुभएको छ,’ उनले भने ।

    स्वास्थ्य समग्री आयात तथा अक्सिजन प्लान्ट निर्माणका लागि स्रोत व्यवस्थापन गर्न र अन्य अतिवाश्यक काम लागि अर्थमन्त्रीले केही समय छुट्याउने गरेका छन् । विकास तथा आयोजनाका काम बजेट अभावमा नरोकियोस् भन्नेमा पनि अर्थमन्त्रीको चासो रहेको छ । उनले मेलम्ची आयोजनाको काम अगाडि बढाउन, गरिबहरूको परिचयपत्र वितरण र ३९५ स्थानीय तहमा अस्पताल निर्माणका लागि ६ अर्ब १२ करोड बजेट निकासाका लागि सहमति दिएका थिए ।

    अर्थमन्त्रीले बजेटमा कोभिडको रोकथाम र आर्थिक पुनरउत्थानको प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।

    यस्तो छ कोर टिम

    बजेटको प्राविधिक तयारीमा अर्थसचिव शिशिरकुमार ढुङ्गाना, राजस्वसचिव रामशरण पुडासैनी, अर्थमन्त्रालयका ५ सदस्य सहसचिवहरूको मस्यौदा लेखन टोली र अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ सहितको कोर टिम संलग्न छ ।

    फागुन १९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयनुसार फागुन २३ गते अर्थमन्त्रालयका ‘आर्थिक नीति विश्लेषण महाशाखाका’ प्रमुख डा. रामप्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय बजेट मस्यौदा लेखन टोली निर्माण गरिएको थियो । टोलीमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमूख धनीराम शर्मा, प्रशासन महाशाखाका प्रमुख सुमन दाहाल, राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दङ्गाल र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल रहेका छन् । बजेट मस्यौदा लेखन टीममा डा. रामप्रसाद घिमिरे, रामेश्वर दङ्गाल र सुमन दाहाल नयाँ अनुहार हुन् भने अरु सबैजना चालू आर्थिक वर्षको बजेट निर्माण टिममा संलग्न भई काम गरिसकेका प्रशासक हुन् ।

    अर्थसचिवका रूपमा शिशिरकुमार ढुंगाना र राजस्वसचिव रामशरण पुडासैनीको यो दोस्रो बजेट हो । राजस्व सचिवका रूपमा ढुंगानाले अर्थमन्त्री डा. युवराज खतिवडाका पालामा बजेट निर्माणको टिममा रहेर काम गरिसकेका छन् । अर्थसचिव हुनुभन्दा अगाडि उनी प्रधानमन्त्री कार्यालय सचिव रहेर केही समय काम गरेका थिए । अर्थमन्त्रालयअन्तर्गत नै रहेर आफ्नो करिअर गुजारेका ढुंगाना बजेट निर्माणमा अनुभवी र दक्ष मानिन्छन् ।

    बजेट मस्यौदा लेखन टिममा रहेका सहसचिव डा. रामप्रसाद घिमिरे फागुन १४ गते अर्थमन्त्रालय तानिएका थिए । उनलाई अर्थमन्त्रालयमा आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी दिइएको छ । यसअघि उनी श्रम मन्त्रालयबाट प्रदेश २ को सामाजिक विकास मन्त्रालयहुदैँ गण्डकी प्रदेशकाे सामाजिक विकास मन्त्रालयकाे सचिवका रूपमा काम गरेका थिए । श्रम मन्त्रालयमा रहँदा उनले सामाजिक सुरक्षा कार्यक्रम, मलेसिया र जापानसँग श्रम सम्झौता गराउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

    अहिले घिमिरेले अर्थमन्त्रालयमा बजेट मस्यौदा लेखनको टोली नेताको भूमिका निर्वाह गरिरहेका छन् । घिमिरे र राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दंगाल तथा प्रशासन महाशाखाका प्रमुख सुमन दाहाल पहिलोपटक बजेट मस्यौदा लेखनको टिममा रहेर काम गरिरहेका छन् । दंगाल गत पुसमा गण्डकी प्रदेशको सचिवबाट अर्थमन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा र प्रवक्ताको जिम्मेवारी हुँदै राजस्व महाशाखाको जिम्मेवारी पाएका हुन् । यसअघि उनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सहसचिव एवम प्रवक्ताबाट सरुवा भएर भन्सार विभागकाे महानिर्देशकमा रही ६ महिना काम गरेका थिए ।

    प्रशासन क्षेत्रमा आफ्नो कार्यक्षेत्र बनाएका सुमन दाहाल सहसचिव भएपछि अर्थमन्त्रालयको प्रशासन महाशाखामा तानिएका थिए । उनी रामेश्वर दंगालपछि भन्सार विभागको महानिर्देशकको रूपमा करिब डेढ वर्ष काम गरेर त्यहाँबाट अर्थमन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा र प्रवक्ताको जिम्मेवारी निर्वाह गर्दै पुन: प्रशासन महाशाखा रही बजेट मस्यौदा लेखनको काममा व्यस्त छन् ।

    बजेट निर्माणको सम्पूर्ण कामहरू अन्तिम चरणमा पुगेको अर्थमन्त्रालयका प्रवक्ता तथा सहसचिव महेश आचार्य बताउँछन् । ‘अहिले बजेट निर्माणको कोर टिमले तीव्ररूपमा काम गरिरहेको छ, अबको दुई दिनमात्रै रहेकाले केही अंकगणितीय जोडघटाउ र भेरिफाइ गर्ने कामहरू भइरहेको छ,’ उनले भने ।

    त्यस्तै बजेट तथा कार्यक्रम महाशाखा प्रमुख धनीराम शर्माले डा. युवराज खतिवडाको दुई वटा बजेट लेखन मस्यौदा टोलीमा रहेर काम गरिसकेका छन् । बजेट तथा कार्यक्रम महाशाखाले राष्ट्रिय योजना आयोगसँग प्रत्यक्ष सम्पर्कमा रही बजेट निर्माण तथा लेखनमा महत्वपुर्ण भुमिका निर्वाह गर्छ । बजेट तथा कार्यक्रम महाशाखाले बजेटको आकार तथा सिलिङ्ग निर्धारण गर्ने र अन्य विषयगत मन्त्रालयसँग बजेट निर्माण तथा नयाँ आयोजना र कार्यक्रमका विषयमा छलफलको नेतृत्व गर्ने गर्दछ । यस बिषयमा महाशाखा प्रमुख शर्मासँग ३ वर्षको अनुभव रहेको छ ।

    अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल पनि बजेट निर्माण कोर टिममा रहेर काम गरिरहेका छन् । गत वर्ष पनि उनी उक्त महाशाखामा रही बजेट निर्माण कार्यमा संलग्न रहेका थिए ।

    बजेट निर्माणको सम्पूर्ण कामहरू अन्तिम चरणमा पुगेको अर्थमन्त्रालयका प्रवक्ता  समेत रहेका सहसचिव महेश आचार्य बताउँछन् । ‘अहिले बजेट निर्माणको कोर टिमले तीव्ररूपमा काम गरिरहेको छ, अबको दुई दिनमात्रै रहेकाले केही अंकगणितीय जोडघटाउ र भेरिफाइ गर्ने कामहरू भइरहेको छ,’ उनले भने ।