Tag: बजेट

  • दुई वर्षअघिको श्रीलंकाकै स्थितिमा नेपाल, बजेट झन् खतरनाक !

    दुई वर्षअघिको श्रीलंकाकै स्थितिमा नेपाल, बजेट झन् खतरनाक !

    कुनै पनि देशको प्रमुख चालकशक्ति अर्थव्यवस्था वा अर्थप्रणाली हो अर्थात् अर्थव्यवस्था देशको इञ्जिन हो । यसलाई शरीरको रक्तप्रणालीसँग पनि तुलना गर्न सकिन्छ । रक्तप्रणालीमा समस्या उत्पन्न हुँदा शरीरमा विभिन्न समस्या पैदा हुन्छन् । हरेक अंगमा नकारात्मक प्रभाव पर्छ र अन्ततः समाप्त हुन्छ ।

    कोभिड–१९ महामारीले विगत दुई वर्ष यतादेखि विश्व अर्थतन्त्रमा अभूतपूर्व नकारात्मक प्रभाव परिरहेको छ । सबल र सक्षम भनिएका देशले समेत आर्थिक कठिनाइ झेलिरहेका छन् । त्यसमाथि रुस–युक्रेन युद्धको प्रभावले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी वृद्धि भएको छ । श्रीलंकाको आर्थिक संकटले यतिबेला विश्वको ध्यान खिचेको छ ।

    देशभित्रको चरम आर्थिक अव्यवस्था, चुलिँदो व्यापारघाटा र खस्किँदो रेमिट्यान्सका कारण यतिबेला नेपालमा विदेशी मुद्रा सञ्चिति दिनप्रतिदिन घट्दै गइरहेको छ । यो अवस्थाले भविष्यमा नेपालको अर्थतन्त्र धराशायी हुने हो कि भन्ने संशय छ, सर्वत्र ।

    अघिल्लो आर्थिक वर्ष (२०७७/०७८) को पहिलो तीन महिनासम्म देशमा करिब चौध महिनाको आयात थेग्नसक्ने विदेशी मुद्राको सञ्चिति थियो । लकडाउनले गर्दा बन्द व्यापार ठप्प थिए । देशबाट बाहिरिने रकम नगन्य थियो । त्यसैले विदेशी मुद्राको सञ्चिति सन्तोषजनक थियो ।

    यतिबेला नेपालले विदेशबाट वस्तु तथा सेवा आयात गर्ने क्षमता झण्डै पचास प्रतिशतले गुमाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले हामीसँग करिब चार महिनाको आयातलाई मात्र धान्नसक्ने विदेशी मुद्रा सञ्चिति छ । यो भनेको श्रीलंकाको दुई वर्षअघिको अवस्था जस्तै हो । विदेशी मुद्रा आर्जन गर्ने भरपर्दो र दीगो स्रोत हामीसँग छैन । यसरी विदेशी मुद्राको सञ्चिति घट्दै जाँदा हामीले भविष्यमा अत्यावश्यक वस्तु र सेवासमेत खरिद गर्न नसक्ने परिदृश्य देखिँदैछ ।

    कृषिलाई प्राथमिकता, अनुदान कार्यक्रम, कृषिजन्य आयातलाई ३० प्रतिशतसम्म कम गर्ने भन्ने कुरा राम्रो छ । तर कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा महत्वपूर्ण हो । वृद्धभत्ता दिने उमेर घटाउने कुरा प्रत्युत्पादक छ । सरकारी कर्मचारीको तलब वृद्धि गर्ने कुरा यो संकटको घडीमा व्यवहारिक होइन ।

    सरकार यस विषयमा मौन देखिन्छ । केपी ओली सरकारलाई जसरी पनि सत्ताच्यूत गर्ने उद्देश्यले निर्मित गठबन्धन र उसको सरकारले जेजस्ता आरोप लगाएर सरकार बनाएको थियो, त्यसलाई पुष्टि गर्ने आधार बनाउन सकेन । गठबन्धन सरकार निर्माणपछि अर्थतन्त्र झन् डामाडोल देखिएको छ ।

    नेपालको इतिहासमा नभएको बजेट होलिडेको प्रभाव जताततै परिरहेको छ । अर्थमन्त्रालय र सरकारको प्रमुख आर्थिक सल्लाहकार राष्ट्र बैंकबीच विश्वासको संकट छ । फरकफरक पृष्ठभूमि र स्वार्थबाट प्रेरित सत्तागठबन्धनले आशा जगाउने नीति, कार्यक्रम र योजना बनाउन सकिरहेको छैन ।

    पार्टी स्वार्थ र आसन्न निर्वाचनलाई ध्यानमा राखेर काम गरिरहेको छ । ‘सरकार कसरी चलाउनुपर्छ हामी देखाउँछौ’ भन्दै हौसिएर संसदमा भाषण गर्ने नेताहरु सत्तारोहणसँगै चुपचाप देखिएका छन् । पूर्ववर्ती सरकारले ल्याएका लोकप्रिय आयोजना र विकास निर्माणको श्रेय उसलाई नजाओस् भन्ने संकीर्ण सोच राख्दा पूँजिगत खर्च असाध्यै न्यून भयो ।

    अर्कातिर बैंकिङ प्रणालीमा तरलता अभाव चरम रुपमा देखिँदैछ । बैंकहरुको सापटी बजेटको आकारभन्दा माथि पुगेको छ । अनिवार्य नगद रिजर्भ राख्ने पैसा समेत छैन, उनीहरुसँग । अर्थतन्त्रमा देखापरेको यो संकट अल्पकालीन होइन । विगत दुई दशकदेखि नेपाली अर्थतन्त्रलाई बलियोसँग भरथेग गरिरहेको महत्वपूर्ण क्षेत्र वैदेशिक रोजगारीबाट प्राप्त भैरहेको रेमिटान्स घट्दै जानुले पनि अर्थतन्त्रको सम्भावित जोखिमलाई संकेत गर्छ । यसको स्थायी विकल्प अझै तयार हुन सकेको छैन ।

    वर्तमानमा देखिएको यस समस्याको दूरगामी प्रभाव मूल्यांकन गरी नीतिगत हिसाबले हस्तक्षेप नगर्ने हो भने हामी निकट भविष्यमा निस्कनै नसकिने कठिन दलदलमा फस्नेछौं । अर्थ मन्त्रालय हाँकिरहेका अर्थमन्त्रीलाई यो संवेदनशीलताले छोएजस्तो देखिन्न । वित्तीय अनुशासन कमजोर छ । अर्थतन्त्रको चक्रिय समस्याबारे बेखबर देखिन्छन्, अर्थमन्त्री । कोभिड प्रभावले थला परेका उद्योग व्यवसायको पुनरुत्थान गर्ने कुनै कार्यक्रम छैनन् बजेटमा ।

    सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संविधानले प्रत्याभूत गरेको समाजवादउन्मुख अर्थतन्त्र बनाउने कुरा हराएको छ भनेर स्वयं सत्तागठबन्धनका शीर्ष नेताले भन्दै छन् । यस्तो विषम परिस्थितिमा सरकारले सामुन्नेको संकटलाई पूरै नजरअन्दाज गरेर मीठा र काल्पनिक दूरगामी महत्वका महत्वाकांक्षी योजना ल्याएको छ । स्रोत र कार्यक्षमता बिर्सेर चुनावलक्षित पपुलिस्ट कार्यक्रम ल्याएको छ । मंसिरमा जसरी पनि प्रदेश र संघीय निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता छ । त्यसैले आर्थिक बर्ष २०७९ मा यो सरकारको आयु बढीमा छ महिना रहन्छ । वास्तविक रुपमा कार्यान्वयन गर्ने बेलामा अर्कै सरकार र अर्थमन्त्री आउने छन् । त्यस्तो अवस्थामा यो बजेटको के अर्थ रहला ? तैपनि बजेटमा प्रस्तुत भएका विषयउपर समीक्षा गरिनुपर्छ । किनकि बजेट अभिलेखमा रहने राजनीतिक दस्तावेज हो ।

    स्थिरता, उत्पादनशीलता उत्पादकत्व वृद्धि जस्ता उद्देश्य राम्रा छन् । तर यी उद्देश्य कसरी भेट्ने भन्ने ठोस योजना र कार्यक्रम छैन । बजेट छरपस्ट छ । आकार अस्वभाविकरुपमा ठूलो छ । यो बजेटले अर्थतन्त्रको संकटपूर्ण अवस्थालाई सम्बोधन गर्न सक्दैन । चुनावी वर्ष भएको हुँदा बजेटको ठूलो हिस्सा निर्वाचनमा खर्च हुनेछ । त्यसैले यो आवमा पनि पुँजीगत खर्च न्यून नै हुनेछ । सरकारको आम्दानी वा राजस्वले साधारण खर्चका लागि पनि नपुग्ने स्थिति छ ।

    पार्टी स्वार्थ र आसन्न निर्वाचनलाई ध्यानमा राखेर काम गरिरहेको छ । ‘सरकार कसरी चलाउनुपर्छ हामी देखाउँछौ’ भन्दै हौसिएर संसदमा भाषण गर्ने नेताहरु सत्तारोहणसँगै चुपचाप देखिएका छन् । पूर्ववर्ती सरकारले ल्याएका लोकप्रिय आयोजना र विकास निर्माणको श्रेय उसलाई नजाओस् भन्ने संकीर्ण सोच राख्दा पूँजिगत खर्च असाध्यै न्यून भयो ।

    विश्व बैंकका अनुसार अर्थतन्त्रको विश्वव्यापी वृद्धि सन् २०२१ को ५.५ प्रतिशतबाट घटेर २०२२ मा ४.१ प्रतिशत पुग्दैछ र अझ सन् २०२३ मा त ३.२ प्रतिशतमा झर्ने प्रक्षेपण छ । तर हाम्रो बजेटले ८ प्रतिशतको आर्थिक वृद्धि हुने आधारहिन तथ्यांक पेश गरेको छ । अर्थतन्त्रले लय समाएको कुरा अमूर्तरुपमा भनिएको छ । गतवर्षभन्दा १८ प्रतिशत बढी राजस्व संकलन गर्ने प्रक्षेपण हावादारी छ ।

    यतिबेला मुद्रास्फिति ७ प्रतिशत पुगेको छ । यो विगत पाँच वर्षकै उच्च हो । दैनिक उपभोगका अत्यावश्यक वस्तु तरकारी, खाने तेल, दाल, चामल आदिको मूल्य आकासिएको छ । आधारभूत आवश्यकता अन्तर्गतको अर्को क्षेत्र स्वास्थ्य सेवा र गैरखाद्य सामग्रीको मूल्य पनि चुलिएको छ । बेलैमा नियन्त्रण गर्ने उपाय नल्याउने हो भने यसै आर्थिक बर्षको अन्त्य सम्ममा मुद्रास्फिति झण्डै दोहोरो अंकमा पुग्ने निश्चित छ । तर बजेटमा महंगी ७ प्रतिशतमा नै सीमित रहने आधारहिन तथ्य प्रस्तुत गरिएको छ ।

    वीरगञ्ज–काठमाडौं रेल मार्ग बनाउने, काठमाडौंमा मेट्रो रेल संचालन गर्न सम्भाव्यता अध्ययन गर्ने कुरा समयसापेक्ष छैनन् । किनकि यी विषय पूर्ववर्ती सरकारको पालामा सर्बाधिक आलोचित विषय थियो । हिमाली सहर निर्माण गर्ने भन्ने योजनाको ठोस् आधार स्पष्ट छैन । यद्यपि पुष्पलाल मध्यपहाडी राजमार्गमा पर्ने १० वटा नयाँ शहर आयोजना सञ्चालन गर्न ३ अर्ब १० करोड बजेट छुट्याइनु राम्रो पक्ष हो ।

    कृषिलाई प्राथमिकता, अनुदान कार्यक्रम, कृषिजन्य आयातलाई ३० प्रतिशतसम्म कम गर्ने भन्ने कुरा राम्रो छ । तर कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा महत्वपूर्ण हो । वृद्धभत्ता दिने उमेर घटाउने कुरा प्रत्युत्पादक छ । सरकारी कर्मचारीको तलब वृद्धि गर्ने कुरा यो संकटको घडीमा व्यवहारिक होइन ।

    अघिल्लो सरकारले अघि सारेका महत्वपूर्ण योजनाहरु जस्तै सिद्धबाबा सुरुङ्ग मार्ग बनाउने कुरा, तिनाउमा बहुउद्देशीय सिग्नेचर पुल बनाउने कुरा, कालिगण्डकी पथान्तरणको कुरा यो बजेटमा पनि पर्नु सकारात्मक हो । विशेष आर्थिक क्षेत्र (सेज)लाई पूर्णरुपमा सञ्चालनमा ल्याउने कुरा, बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याउने कुरा, बुटवल औद्योगिक क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्ने भन्ने कुरा राम्रा छन् । तर १० हजार बिरुवा रोपेर हरित सहर बनाउने कुरा हावादारी छ । कार्यकर्ता भर्ती गर्ने र पोस्ने प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि स्वयं सेवक तयार गर्ने कुराले स्रोतसाधनको दोहन र दुरुपयोग मात्र हुन्छ । यी कार्यक्रमको उपादेयता छैन ।

    आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने कुरा राम्रो छ तर त्यसका लागि ठोस आधार र कार्यक्रम खोइ ? त्यस्तै १० हजार युवालाई उद्यमशीलता तालिम दिने कुरा अमूर्त छ । स्नातक र स्नातकोत्तर पास गरेका नवयुवालाई ९० दिनको अनिवार्य स्वयं सेवामा लगाउने कुरा गज्जब छ । खाना पकाउने एलपी ग्यासमा दिँदै आएको अनुदान घटाउने कुरा र एक परिवारलाई एक इण्डक्सन चुलो दिने कुरा राम्रो हो । तर लाखौंको संख्यामा आवश्यक पर्ने यस्तो चुलो आयात गर्दा ठूलो रकम बाहिरिने जोखिम रहन्छ । अर्को कुरा वितरणमा मनपरी नहोला भन्न सकिन्न । कोभिड महामारी र भूकम्पको बेला देखिएका अनियमितता दोहोरिने खतरा छ ।

    समग्रमा भन्दा बजेट वक्तव्य मिहिनेत गरेर लेखिएको असाध्यै राम्रो निबन्ध जस्तो छ । सुन्दा कर्णप्रिय लाग्छ । लगभग सबैकुरा समेटिएका छन् । तर व्यवहारिक रुपमा कार्यान्यन हुन्छ भनेर विश्वास गर्ने दरिलो आधार छैन । पपुलिष्ट कार्यक्रमहरु देख्दा लाग्छ यो वजेट गठबन्धन दलको लागि आगामी प्रदेश र संघीय चुनावको घोषणा पत्र हो कि ?
    (लेखक अर्थ मामिलामा चासो राख्छन्, प्रध्यापन पेसामा संलग्न छन् ।)

  • सुर्खेतका नौ र दैलेखका ११ पालिकाले कति-कति पाए बजेट ?

    सुर्खेतका नौ र दैलेखका ११ पालिकाले कति-कति पाए बजेट ?

    सुर्खेत । संघीय सरकारले कर्णालीका ७९ ओटै पालिकामा आगामी आर्थिक वर्ष २०७९–८० का लागि बजेट पठाएको छ ।

    दैलेखको आठबीस नगरपालिकाले ३६ करोड ५१ लाख, दुल्लु नगरपालिकाले ५५ करोड ४१ लाख, चामुण्डा विन्द्रासैनी नगरपालिकाले ३२ करोड ८६ लाख बजेट पाउँदा नारायण नगरपालिकाले ४३ करोड ४९ लाख पाएको छ ।

    यस्तै, गुराँस गाउँपालिकाले ३९ करोड ४८ लाख, ठाटीकाँधले २७ करोड ४६ लाख, डुंगेश्वर गाउँपालिकाले २६ करोड ८४ लाख बजेट पाएको छ ।

    त्यस्तै, नौमुलेले ३५ करोड ५९ लाख, भगवतीमाई गाउँपालिकाले ३२ करोड ७३ लाख, भैरवी गाउँपालिकाले २७ करोड ९१ लाख र महावु गाउँपालिकाले २९ करोड २४ लाख बजेट पाएका छन् ।

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ८१ करोड २२ लाख बजेट पाउँदा गुर्भाकोट नगरपालिकाले ५१ करोड ८६ लाख पाएको छ ।

    पञ्चपुरी नगरपालिकाले ४३ करोड ९९ लाख बजेट पाउँदा लेकबेशी नगरपालिकाले ४४ करोड ४२ लाख बजेट पाएको छ । भेरीगंगा नगरपालिकाले ४७ करोड २९ लाख बजेट पाएको हो ।

    गाउँपालिकातर्फ चिङ्गाडले २६ करोड ७५ लाख बजेट पाउँदा चौकुनेले ३८ करोड ३६ लाख बजेट पाएको छ ।

    त्यस्तै, बराहताल गाउँपालिकाले ४० करोड ७३ लाख बजेट पाउँदा सिम्ता गाउँपालिकाले ४१ करोड ४२ लाख बजेट पाएको हो ।

  • बजेट: गण्डकीलाई सबैभन्दा कम, कर्णाली प्राथमिकतामा

    बजेट: गण्डकीलाई सबैभन्दा कम, कर्णाली प्राथमिकतामा

    सुर्खेत । संघीय सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तरगत आर्थिक वर्ष २०७९–८० का लागि बजेट पठाएको छ ।

    अर्थ मन्त्रालयले प्रदेशमा पठाएको बजेटअनुसार सबैभन्दा बढी वागमती प्रदेशले पाएको छ । वाग्मती प्रदेशले २० अर्ब ३२ करोड ६६ लाख बजेट पाउँदा सबैभन्दा कम गण्डकी प्रदेशले पाएको छ । यो प्रदेशले १६ अर्ब ५४ करोड ३२ लाख बजेट अर्थ मन्त्रालयबाट पाएको छ । यस्तै, प्रदेश नम्बर एकले १९ अर्ब नौ करोड ९१ लाख बजेट पाएको छ भने मधेस प्रदेशले १९ अर्ब १५ करोड नौ लाख रुपैयाँ बजेट पाएको छ ।

    लुम्बिनी प्रदेशले १८ अर्ब ४७ करोड ६४ लाख बजेट पाउँदा कर्णालीले १८ अर्ब ३० करोड ६१ लाख पाएको छ । सुदूरपश्चिम प्रदेशले १७ अर्ब ५५ करोड ८३ लाख बजेट पाएको छ ।

    कर्णाली प्रदेशले समानीकरण अनुदानमार्फत न्यूनतम अनुदानअन्तरगत एक अर्ब ७९ करोड ८९ लाख पाएको छ भने सुत्रमा आधारित अनुदानबाट ८ अर्ब ५९ करोड ९१ लाख पाएको छ । त्यस्तै कार्यसम्पादनमा आधारित अनुदान ३१ करोड ७४ लाख पाएको छ ।

    सशर्त अनुदान ६ अर्ब ९८ करोड ८० लाख पाउँदा विशेष अनुदान शीर्षकमा ७९ करोड ७८ लाख रुपैंया पाएको छ । त्यस्तै, समपूरक अनुदान पुंजीगततर्फ कर्णालीले ७६ करोड ५० लाख पाएको छ ।

  • बजेटः गल्छी-रसुवागढी सडक स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड

    बजेटः गल्छी-रसुवागढी सडक स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड

    काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
    नेपाल र चीनबीच हुने व्यापारलाई सहज बनाउनका लागि निर्माण गरिएको गल्छी–रसुवागढी सडकको स्तरोन्नतिका लागि १ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

    आगामी आर्थिक वर्ष २०७९र८० को लागि गल्छी त्रिशूली बेत्रावती स्याफ्रुबेसीसम्मको ६२ किलोमिटर र स्याफ्रुदेखि रसुवागढीसम्मको १७ किलोमिटर सडकको स्तरोन्नतिको लागि बजेटको व्यवस्था गरिएको हो ।

    आइतबार संसदमा प्रस्तुत गरिएको बजेट, नीति तथा कार्यक्रममा उक्त योजना समावेश गरिएको हो । रसुवागढी नाका जोड्ने यो सडकको अहिले स्तरोन्नतिको काम भइरहको छ। गल्छी मैलुङ, मैलुङ स्याफ्रु र स्याफ्रु रसुवागढी गरी तीन भागमा विभाजन गरेर काम भइरहेको छ ।

    योजना प्रमुख निरज शाक्यका अनुसार गल्छी मैलुङ सडक खण्डमा कालोपत्रे गर्ने, मैलुङ स्याफ्रु सडक खण्डमा ग्राभेल गर्ने तथा स्याफ्रु रसुवागढी सडक खण्डमा पोल सार्ने काम भइरहेको छ ।

  • शिक्षामा २० प्रतिशत बजेट बढाउने विषयमा छलफल

    शिक्षामा २० प्रतिशत बजेट बढाउने विषयमा छलफल

    काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन् । शुुक्रबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनारायण पौडेलसँग मन्त्री पौडेलले शिक्षामा बजेटका आकार बढाउने विषयमा छलफल गरेका हुन् ।

    छलफलका क्रममा मन्त्री पौडेले विद्यालय शिक्षा, उच्च शिक्षा,प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधिको क्षेत्रमा आवश्यक बजेट नभएको भन्दै शिक्षामा २० प्रतिशत बजेटको आकार बढाउन आग्रह गरे ।

    मन्त्री पौडेलले विद्यालय शिक्षामा सबै माध्यमिक विद्यालयमा पुस्ततकालय, विज्ञान प्रयोगशाला र सूचना तथा प्रविधि, सबै शिक्षकका लागि तालिमको व्यवस्था, विपन्न छात्रवृत्तिको दायरा र रकममा वृद्धि, सात प्रदेशमा नमुना आवसिय केन्द्रीय विद्यालय स्थापना, विद्यालयको नक्शांकन, अंग्रेजी, गणित र विज्ञानको लागि ३ हजार शिक्षकका लागि दरबन्दी श्रृजनालगायतका कार्यक्रम मन्त्रालयले योजनामा राखेका बताए ।
    ‘शिक्षाको बजेट धेरै तलबमा जान्छ अहिले कोभिडको असरपनि विस्तारै कम हुँदै गएको छ,’ मन्त्री पौडेलले भने ‘शिक्षालाई जोड दिँदै मन्त्रालयले तोकेका प्राथमिकताका लागि बजेटको आकार बढाउन पर्‍यो ।’ उनले बालविकास शिक्षाका सहजकर्ताहरुले तलब भत्ता केन्द्रबाट उपलब्ध गराउने, अस्थायी र उमेर हद नाघेका शिक्षकहरुको लागि गोल्डेन हयन्सेक कार्यक्रम लागू गर्ने मन्त्रालयको योजना रहेको सुनाउँदै बजेटको आकार बढाउन आग्रह गरे ।

    यस्तै उच्च शिक्षामा ५० प्रतिशत सरकारी र सामुदायिक कलेजहरुको भवन निर्माण गर्ने, गुणस्तरीय शिक्षक उत्पादनका लागि शिक्षक तयारी पाठ्क्रम तथा पठनपाठनमा सुधार र शिक्षा विषय अध्ययन गराउने कलेजहरुको स्तरोन्निति, प्राविधिक धार (९–१२)को शैक्षिक कार्यक्रम ७ सय ५३ स्थानीय तहमा पुर¥याउने लक्ष्य रहेको मन्त्री पौडेलले छलफलमा राखे ।

    विज्ञान तथा प्रविधिको क्षेत्रमा सबै प्रदेशमा नाष्टको क्षेत्रीय कार्यालयहरु सञ्चालन गर्ने मन्त्रालयको तयारी भएकाले समेत सुनाए । शिक्षा मन्त्रालयले दिएको विषय सकारात्मक भएको बताउँदै योजना आयोगका उपाध्यक्ष पौडेलले गत आर्थिक वर्षमा भन्दा शिक्षामा बजेट थप गर्ने बताए ।

    ‘म शिक्षामा बजेट थप गर्ने विषयमा सहमत छु’ उहाँले भन्नुभयो, ‘शिक्षामा बजेट थपिदा सुदुरपश्चिम, कर्णालीका विद्यालयको गुणस्तर पनि वृद्धि हुनपर्‍यो ।’ शिक्षामा संविधानले २० प्रतिशतको ग्यारेन्टी गरेको बताउँदै डा. पौडेलले यो वर्ष शिक्षामा बजेट थप्ने विषयमा आफू सकारात्मक रहेको बताए ।

    प्रधानमन्त्रीसँग विद्यार्थीका लागि दिवा खाजासहितको कार्यक्रमलाई बजेट थप गर्ने विषयमा छलफल भएको छ उनले भने,‘मन्त्रालयले पनि प्राथमिकता तोकेको ठाउँमा हामी सम्बोधन गछौं ।’

  • बजेटको ६ महिने समीक्षा, कुन मन्त्रालयले कति गरे खर्च ?

    बजेटको ६ महिने समीक्षा, कुन मन्त्रालयले कति गरे खर्च ?

    काठमाडौं । आर्थिक वर्षको पहिलो ६ महिनामा परराष्ट्र मन्त्रालयले सबैभन्दा धेरै खर्च गरेको छ । त्यस्तै सबैभन्दा कम खर्च गर्नेमा श्रम मन्त्रालय रहेको छ ।

    उक्त अवधिमा परराष्ट्र मन्त्रालयले ६ अर्ब ७९ कारोड ९९ लाख बजेट विनियोजन भएकोमा २ अर्ब ९० करोड ६६ लाख अर्थात् ४२.७४ खर्च गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि विनियोजन भएको ५ अर्ब ९७ करोड २७ लाख रुपैयाँ बजेटमा २७ करोड ५ लाख अर्थात् ४.५३ प्रतिशत मात्रै खर्च भएको छ ।

    त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि ४ अर्ब ८ करोड ९७ लाख विनियोजन भएको थियो । जसमध्ये १ खर्ब ५६ अर्ब ५१ लाख अर्थात् ३८.२७ प्रतिशत खर्च भएको छ ।

    बजेट खर्च गर्न अन्य मन्त्रालयलाई दबाब दिने अर्थ मन्त्रालयले पनि २० प्रतिशत मात्रै खर्च गरेको छ । अर्थ मन्त्रालयका लागि ३८ अर्ब ८ करोड ६६ लाख विनियोजन भएको थियो । विनियोजित बजेटबाट खर्च ७ अर्ब ७३ करोड ८४ करोड अर्थात् २०.३४ प्रतिशत मात्रै खर्च भएको छ ।

    अर्थ मन्त्रालयको बजेट समीक्षा रिपोर्टअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि यो आर्थिक वर्षका लागि १० अर्ब ७३ करोड ९६ लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेटबाट मन्त्रालयले खर्च २ अर्ब ३१ करोड ३१ लाख अर्थात् २१.५४ प्रतिशत मात्रै खर्च गरेको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि ४२ अर्ब १४ करोड ४९ लाख बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेटमध्ये ७ अर्ब ४७ लाख अर्थात् १६.६२ प्रतिशत बजेट खर्च भएको छ ।

    कानून, न्याय तथा संसदीय मन्त्रालयको लागि ४८ लाख १३ करोड रुपैयाँ बजेट विनियोजनमा १३ करोड १९ लाख अर्थात् २७.०८ प्रतिशत मात्रै खर्च भएको छ ।

    कृषि तथा पशुपन्छी मन्त्रालयका लागि ३६ अर्ब २६ करोड ६४ लाख बजेट विनियोजन भएको थियो । त्योमध्ये ८ अर्ब ९७ करोड ३० लाख अर्थात् २७.७४ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

    खानेपानी मन्त्रालयका लागि २३ अर्ब ९२ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । यो अवधिमा सो मन्त्रालयले ३ अर्ब ६ करोड ५२ लाख अर्थात् १२.८१ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।

    त्यस्तै गृह मन्त्रालयका लागि १ खर्ब ५० करोड १५ लाख बजेट विनियोजन भएकोमा ६८ अर्ब २ करोड १६ लाख अर्थात् ४१.३५ प्रतिशत बजेट खर्च भएको छ । धेरै खर्च गर्नेको दोस्रो नम्बरमा गृह मन्त्रालय रहेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ५ अर्ब ९४ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । विनियोजन भएको बजेटबाट १ अर्ब ६३ करोड ९० लाख अर्थात् २७.५८ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

    वन तथा वातावरण मन्त्रालयका लागि १२ अर्ब २ करोड ८० लाख रुपैयाँ विनियोजन भएकोमा ३ अर्ब २३ करोड ९८ लाख अर्थात् २६.९४ प्रतिशत मात्रै खर्च भएको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब ७ करोड ५४ लाख रुपैयाँ विनियोजन भएको थियो । विनियोजन भएको बजेटबाट २ अर्ब १५ करोड ९६ अर्थात् ३०.५२ प्रतिशत मात्रै खर्च भएको छ ।

    विकासे मन्त्रालयका रुपमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५६ अर्ब २२ करोड बजेट विनियोजन भएको थियो । सो मन्त्रालयले २६ अर्ब १८ करोड १८ लाख अर्थात् १७.१० प्रतिशत खर्च गरेको छ ।

    महिला, बालबालिक तथा जेष्ठ नागरिक मन्त्रालयका लागि ८५ करोड ७७ लाख बजेट विनियोजन भएकोमा १७ करोड ५३ लाख अर्थात् २०.४४ प्रतिशत मात्रै खर्च भएको छ ।

    युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब १३ करोड ५१ लाख बजेट विनियोजन भएको थियो । सो मन्त्रालयले ३८ करोड ८२ लाख अर्थात् १८.१८ प्रतिशत मात्रै खर्च गरको छ ।

    रक्षा मन्त्रालयका लागि ५१ अर्ब ५३ करोड ९५ लाख विनियोजन भएकोमा २४ अर्ब ६९ लाख २९ लाख अर्थात् ४७.९१ प्रतिशत मात्रै खर्च भएको छ ।

    सहरी विकास मन्त्रालयका लागि ३० अर्ब ५७ करोड ९९ लाख बजेट विनियोजन भएको थियो । सो मन्त्रालयका लागि दिइएको बजेटबाट ५ अर्ब ७५ करोड ८३ लाख अर्थात् १८.७२ प्रतिशत मात्रै खर्च भएको छ ।

    त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विनियोजित ५८ अर्ब २६ करोड ७७ बजेटबाट २० अर्ब ४७ करोड ७७ लाख अर्थात् ३५.४१ प्रतिशत खर्च गरेको छ ।

    सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले २ अर्ब २३ करोड ४३ लाख अर्थात् ३१.०८ प्रतिशत मात्रै खर्च गरेको छ । सो मन्त्रालयलाई ७ अर्ब १८ करोड ९८ लाख बजेट विनियोजन भएको थियो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लागि १८ अर्ब ९५ करोड ६८ बजेट विनियोजन भएको थियो । सो मन्त्रालयले विनियोजन भएको बजेटबाट २ अर्ब ३० करोड २४ लाख अर्थात् १२.१५ प्रतिशत मात्रै खर्च गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि १ खर्ब ९७ करोड ४८ करोड बजेट विनियोजन भएकोमा १८ अर्ब ७७ करोड ५२ लाख अर्थात् १८.५९ प्रतिशत मात्रै खर्च भएको छ ।

    अर्थमन्त्रीले बेलाबेलामा सचिव बोलाएर पुँजीगत खर्च वृद्धि गर्न निर्देशन दिँदा पनि खर्च बढ्न सकेको छैन । पुँजीगत बजेटको खर्च गर्ने लक्ष्यमा पनि ९.९ प्रतिशतले गिरावट आएको छ ।

    बजेट समीक्षामार्फत अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकार पनि घटाएका छन् । उनले ८६ अर्ब रुपैयाँ बजेट आकार घटाएका हुन् ।

  • अब बजेटको बाटो खुल्यो, पुँजीगत खर्च समयमै सक्नेगरी संयन्त्र बनाउँछौं: अर्थमन्त्री

    अब बजेटको बाटो खुल्यो, पुँजीगत खर्च समयमै सक्नेगरी संयन्त्र बनाउँछौं: अर्थमन्त्री

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को विरोधका बाबजुद सरकारले संसदको दुवै सदनबाट बजेट पारित गरेको छ । सरकारले संसदको दुवै सदनबाट बजेट पारित गराएसँगै बजेटको कार्यान्वयन प्रक्रिया सुरु हुने भएको छ ।

    बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदैँ अर्थमन्त्री जनार्दन शर्माले अब राष्ट्रपतिबाट लालमोहर लागेपछि बजेट खुल्ने बताए ।

    सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणिकरण गरेर राष्ट्रपति समक्ष पठाएपछि बजेट आजैदेखि खुल्ने सम्भावना रहेको उनले बताए । उनले भने ‘राष्ट्रपतिज्यूबाट यसमा हस्ताक्षर भइसकेपछि, लालमोहर लागिसकेपछि बजेट खुल्छ । सम्भवत्ः आजै खुल्ने सम्भावना छ । सभामुखजीले त्यसलाई प्रमाणिकरण गरेर राष्ट्रपति समक्ष पठाउनुहुन्छ । त्यसपछि राष्ट्रपतिले लालमोहर लगाएपछि बजेट खुल्छ ।’

    अर्थमन्त्री शर्माले बजेट कार्यान्वयनका लागि विनियोजन भए अनुसार पुँजिगत खर्चलाई समयमै खर्च गर्नेगरी प्राथमिकता दिएर सरकारी संयन्त्रलाई परिचालन गर्ने बताए ।

  • विनियोजन विधेयक प्रतिनिधसभाबाट पारित, तर बजेट खर्च गर्न अझै केही दिन पर्खिनुपर्ने

    विनियोजन विधेयक प्रतिनिधसभाबाट पारित, तर बजेट खर्च गर्न अझै केही दिन पर्खिनुपर्ने

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको विनियोजन विधेयक प्रतिनिधिसभाको बैठकबाट आज पारित भएको छ । एमालेको अवरोधका बीच विधेयक पारित भए पनि बजेट खर्च गर्ने बाटो भने अझै खुलिसकेको छैन ।

    अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटमाथि गत भदौ २५ गते अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए । सो विधेयक प्रस्तुत भएको ७२ घण्टासम्म संसदबाट पारित गर्न नमिल्ने भएकाले संसद बैठंक ४ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

    भदौ ३० गतेसम्ममा सरकारले प्रतिस्थापन विधेयक संसदबाट पारित गर्न नसक्दा बजेटविहीनताको अवस्था सृजना भयो र सरकार खर्च गर्न नसक्ने अवस्थामा पुगेको छ । आज प्रतिनिधिसभाले प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधका बीच विनियोजन विधेयक पारित गरेको भए पनि सरकारले तत्काल बजेट खर्च गर्न पाउनेछैन ।

    अर्थमन्त्री जनार्दन शर्माले बजेट विनियोजन अध्यादेश, आर्थिक अध्यादेश र राष्ट्रको ऋण उठाउने अध्यादेशलाई प्रतिस्थापन गर्नका लागि विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयक संसदमा प्रस्तुत गरेका थिए । आज प्रतिनिधिसभाले विनियोजन विधेयक पास गरेपनि आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयक माथिको दफावार छलफलका लागि असोज ७ गतेको म्याद तोकिएको छ ।

    राष्ट्रियसभामा म्याद लिनका लागि आज विनियोजन विधेयकमात्रै प्रतिनिधिसभाबाट पारित भएको छ । विनियोजन विधेयकको आश्रित बिधेयककरुपमा आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयक पनि सँगै पारित गर्नुपर्ने हुन्छ । विनियोजन विधेयक राष्ट्रियसभाबाट पारित भएर आयपश्चात प्रतिनिधसभाले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाउने व्यवस्था छ ।

    राष्ट्रपतिले प्रमाणीकरण गरेर राजपत्रमा सूचना प्रकाशित गरेपछी मात्रै बजेट पास भएको मानिन्छ र त्यसपछि बल्ल सरकारले राष्ट्रिय ढुकुटीबाट खर्च गर्न सक्छ । यस प्रक्रियाका लागि अझै केही दिन पर्खिनुपर्ने भएको छ ।

    बजेट प्रमाणीकरण भएपछि मात्रै सरकारले खर्च गर्न पाउने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे बताउँछन् ।

    ‘प्रतिनिधिसभाले विनियोजन विधेयक पास गर्‍यो, अब राष्ट्रियसभामा पठाइन्छ । राष्ट्रियसभाले पास गरेपछि प्रतिनिसभामा फिर्ता पठाएर राष्ट्रपतिबाट प्रमाणीकरण गरी राजपत्रमा सूचना प्रकाशित भएपछि मात्रै सरकारले खर्च गर्न पाउँछ’, पाण्डले भने ।

    आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयक विनियोजन विधेयकसँग जोडिएका आश्रित विधेयक भएकाले विनियोजन विधेयक पनि सँगै पारित हुने पाण्डेले बताए । राष्ट्रियसभाबाट म्याद जारी हुनुपर्ने भएकाले आज विनियोजन विधेयकमात्रै प्रतिनिधसभामा प्रस्तुत गरिएको उनको भनाइ छ ।

    विनियोजन ऐन प्रमाणिकरण नहुँदासम्म खर्च नगर्न नमिल्ने महालेखा नियन्त्रक सुमनराज अर्यालले बताए ।

    ‘विनियोजन ऐन राष्ट्रपतिज्यूबाट प्रमाणिकरण नभइकन खर्च हुन सक्दैन । अहिले पनि बजेट निकासा र खर्च दुवै रोकिएको अवस्था छ’,अर्यालले भने । यद्यपि संघीय सञ्चिति कोषमाथि सिधै व्ययभार पर्ने र कानून आवश्यक नपर्ने खालका प्रकृतिका खर्च भइरहेको उनले जानकारी दिए ।

    राष्ट्रपति, उपराष्ट्रपति, संवैधानिक निकायका प्रमुखलगायतका पारिश्रमिकलगायतका अन्य संविधानले सिधै खर्च गर्न अधिकार दिएका बाहेक विनियोजन ऐनमार्फत व्यवस्थापन हुने खर्च रोकिएको अर्यालले बताए ।

  • प्रतिस्थापन विधेयक तत्काल पारित नहुने छाँट देखेपछि अर्थमन्त्रीले भने- केही समय खर्च रोकिन सक्छ(भिडिओ)

    प्रतिस्थापन विधेयक तत्काल पारित नहुने छाँट देखेपछि अर्थमन्त्रीले भने- केही समय खर्च रोकिन सक्छ(भिडिओ)

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले केही समय खर्च गर्ने अवस्था नहुन सक्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अर्थमन्त्री शर्माले संसदबाट विनियोजन विधेयक २०७८ पारित हुन समय लागेको खण्डमा केही समयका लागि खर्च गर्ने अवस्था नहुनपनि सक्ने बताएका हुन् ।

    उनले विधेयक पारित गर्नका लागि छलफल भने गरिरहेको उनले बताए । उनले भने, ‘अब विधेयक पारीत गर्न छलफल, वार्ता, सहमती हामी गरिराखेका छौँ । सहमती हुँदा त्यसलाई हामी सहमती अनुसार पारीत गर्छौ । नहुँदा नियमित प्रक्रिया पु¥याएर पारीत गर्छौ । पारीत गर्न केही समय ग्याप रह्यो भनेपनि त्यसपछि खर्च गर्ने हुन्छ । केही समयमा खर्च गर्ने अवस्था नहुन पनि सक्छ । तर हाम्रो कोसिस वार्ता, संवादतिर चलिराछ ।’

    अर्थमन्त्री शर्माले कर उठाउने विशेष व्यवस्था भएको भन्दै त्यस अन्र्तगत कर उठिराख्ने पनि बताए ।

     

  • बजेटले उद्योगमा असर परेको भन्दै फलाम छड उत्पादक व्यवसायी आन्दोलित

    बजेटले उद्योगमा असर परेको भन्दै फलाम छड उत्पादक व्यवसायी आन्दोलित

    काठमाडौं । नेपाल सरकारले प्रतिस्थापन विधेयक मार्फत् ल्याएको संशोधन बजेटमा भएको एक व्यवस्थाले फलाम छड उत्पादक व्यवसायी आन्दोलित भएका छन् ।

    सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी व्यवसायीहरुले एमएस विलेट बनाउन प्रयोग हुने कच्चा पदार्थ (स्पन्ज आइरन) को आयातमा लाग्दै आएको ५ प्रतिशत अन्तःशुल्क शुन्यमा राख्दा निश्चित व्यवसायिक घरानालाई पोस्ने र अन्य उद्योगलाई समस्या पर्ने बताएका हुन् ।

    सरकारले भने आफ्नो रोलिङ प्लान्टबाट एमएस विलेट उत्पादन गरी फलामे छड बनाउने उद्योगलाई प्रोत्साहन मिल्ने नीतिगत व्यवस्था गर्दा व्यापार घाटा कम गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्ने बताएको छ ।

    सरकारले सहुलियत दिएको स्पन्ज आइरनबाट छड निर्माण गर्दा गुणस्तर कम हुने र जोखिम बढाउने व्यवसायीहरुले बताएका छन् । पत्रु पगालेर बनाएको छडले नेपाल जस्तो भूकम्पीय जोखिम भएको देशमा दुर्घटना निम्तने भन्दै सबै सचेत हुन पनि व्यवसायीले आग्रह गरेका छन् ।

    सरकारको यो निर्णयले ६ वटा उद्योगलाई मात्र फाइदा पुग्ने र बाँकी २४ उद्योगमा नकारात्मक असर पर्ने भएकोले सरकारले गरेको निर्णय फिर्ता गर्न व्यवसायीहरुले माग गरेका छन् । सरकारले निर्णय फिर्ता नलिउन्जेल कारोबार रोकिने व्यवसायीहरुले बताएका छन् ।

    सरकारले सम्बन्धित पक्षहरुसँग छलफल नै नगरी बारम्बार नीतिपरिवर्तन गर्दा लगानीमा अस्थिरता पैदा हुने र लगानीको वातावरण खलबलिने र औद्योगिकरणलाई प्रत्यक्ष असर पर्ने बताएका छन् ।

    व्यवसायीहरुले फलाम छड उत्पादक व्यवसायीहरुले कच्चा पदार्थमा शुन्य प्रतिशत अन्तःशुल्क हुनु भनेको विश्व व्यापार संगठन (डब्ल्यूटिओ) को नीति बिपरित भएको बताएका छन् । पत्रु पगालेर डण्डी उत्पादन गर्दा पर्यावरणमा असर पर्ने भएकोले चीनमा यस्तो प्रविधिलाई बन्द गरिएको र भारतमा यस्ता उद्योगलाई कडा निगरानीमा राखिएको छ ।

    सरकारले एमएस विलेटको आयातमा अन्तःशुल्क बढाएको छ । पहिला प्रतिमेट्रिक टन १६५० रुपैयाँ लाग्दै आएको अन्तःशुल्क बढाएर २५ सय रुपैयाँ बनाइएको छ । यस्तै, एमएस विलेटको आयातमा भन्सार महशुल ४.७५ प्रतिशत बनाइएको छ । यसले उपभोक्तालाई प्रतिकेजी ५ रुपैयाँ महँगो पर्ने व्यवसायीहरुले बताएका छन् ।

  • प्रतिस्थापन विधेयक : आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य

    प्रतिस्थापन विधेयक : आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमार्फत ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य तय गरिएको छ ।

    अध्यादेश मार्फत प्रस्तुत भएको बजेटले लिएको ६.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई परिमार्जन गर्दै प्रतिस्थापन विधेयकमार्फत ०.५ प्रतिशत थपिएको हो ।

    आर्थिक वृद्धिदर लक्ष्य बढाइए पनि मुद्रास्फितिको दरलाई भने ६.५ प्रतिशतमा यथावत राखिएको छ ।

  • प्रतिस्थापन विधेयक: केपी ओलीले अघि बढाएका १४ सय सडक निर्माण स्थगित

    प्रतिस्थापन विधेयक: केपी ओलीले अघि बढाएका १४ सय सडक निर्माण स्थगित

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेट परिमार्जन गर्दै प्रतिस्थापन विधेयकमार्फत प्रत्यक पालिकाको केन्द्र जोडने गरि १४०० वटा सडक योजना खारेज गरेको छ। तत्कालीन एमालेको केपी ओली नेतृत्वको सरकारले एकैपटक थालेका ती सडकमा बजेट सुनिश्चितता नभएकाले खारेज भएका हुन् ।

    पूर्वाधार विकासमा पूर्वसरकारले ल्याएका देशभरका १४ सय सडक निर्माणलाई स्रोत अभावमै ल्याएको भन्दै अर्थमन्त्री शर्माले स्थगित गरिएको बताएका छन् ।

    आर्थिक दृष्टिकोणले निर्माण गर्न सक्ने सडकको नक्सांकन गरेपछि निर्माण गर्न सकिने उनले  बताए ।

    अर्थमन्त्रीले भने–आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्व तयारी नभएका प्रदेश तथा स्थानीइ तहबाट कार्यन्वयन गर्न सकिने प्रकृतिका करीव १४ सय सडक आयोजना आवश्यकता र औचित्यको आधारमा खारेजी वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने गरी हाल त्यस्ता आयोजनाको कार्यन्वयन स्थगित गरेको छु ।

  • अर्थमन्त्रीसँग विचार नमिलेको भन्दै चार सहसचिव अर्थमन्त्रालयबाट खेदिए

    अर्थमन्त्रीसँग विचार नमिलेको भन्दै चार सहसचिव अर्थमन्त्रालयबाट खेदिए

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विचार नमिलेको भन्दै चार सहसचिवलाई मन्त्रालयबाट धपाएका छन् । विष्णु पौडेलका निकटस्थ रहेको भन्दै उनीहरुलाई मन्त्रालयबाट बाहिर पठाउने योजना बनाइएको स्रोतले जनाएको छ ।

    अध्यादेशमार्फत ल्याएको बजेट लेखनको कोर टीममा संलग्न सहसचिवहरूलाई सरुवा गरिएको हो । अबको ३ दिन भित्रमा ४ सहसचिवहरू प्रदेश जाने तयारीमा रहेका छन् ।

    आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख सुमन दाहाल, बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख भुपाल बराल, अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र आन्तरिक राजस्व विभागका पूर्वप्रमुख झक्कप्रसाद आचार्य सरुवा हुने भएका छन् ।

    विचार नमिलेको भन्दै आफूसहितको पुरानो टिमलाई सरुवा गर्न लागिएको एक सहसचिवले बताए । प्रतिस्थापन विधेयक तयारीमा समेत आफूहरूसँग परामर्श नगरिएको ती अधिकारीले बताए ।

    प्रतिस्थापन विधेयक आफू अनुकूल परिवर्तन गर्नका लागि अर्थमन्त्री शर्माले अर्थमन्त्रालयभन्दा बाहिरका सहसचिवहरू अर्थमन्त्रालय तानेका छन् । उनले कृष्णहरी पुष्करलाई राजस्व सचिवको जिम्मेवारी सुम्पिएका छन् ।

    केन्द्रीय तथ्यांक विभागमा लामो समयसम्म काम गरेर सचिव बनेका सुमन अर्याललाई महालेखा नियन्त्रक बनाएका छन् । विधि र पद्धतिलाई भत्काएर अर्थमन्त्रालयभन्दा बाहिरका क्याडरमार्फत बजेटमा आफू अनुकूल संशोधनको प्रयास भएको अर्थमन्त्रालयले स्रोतले बतायो ।

    अर्थमन्त्रालका आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीको तजबिजमा कर्मचारी व्यवस्थापन गर्ने र बजेट संशोधनको काम भएको एक सहसचिवले बताए । बजेट प्रतिस्थापन विधेयकको तयारीमा बजेट महाशाखाभन्दा बाहिरबाटै काम भएपछि महाशाखा प्रमुख भुपाल बरालले आफूलाई हटाउन माग गरेका थिए ।

  • बजेट हेरफेर गर्न अर्थमा रातभर चटारो, आफूलाई हटाउन बजेट महाशाखा प्रमुखको माग

    बजेट हेरफेर गर्न अर्थमा रातभर चटारो, आफूलाई हटाउन बजेट महाशाखा प्रमुखको माग

    काठमाडौं । अर्थमन्त्रालयले ओली सरकारले अध्यादेश मार्फत ल्याएको बजेट परिमार्जन गर्न प्रतिस्थापन विधेयक तयार पारेको छ ।

    बजेट हेरफेर गर्न अर्थका अधिकारी रातभर जाग्राम बसेर प्रतिस्थापन विधेयकलाई अन्तिमरूप दिइएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । अर्थमन्त्री, अर्थमन्त्रीका आर्थिक सल्लाहकार तथा अर्थका केही सहसचिवको उपस्थितिमा विधेयकलाई तयार पार्ने काम भएको अर्थमन्त्रालय उच्च स्रोतले जनाएको छ ।

    अघिल्लो सरकारको बजेटमा स्रोत सुनिश्चित नभएका कार्यक्रम प्रतिस्थापन विधेयकले हटाएको छ । करिब साढे ४ खर्ब हाराहारीको बजेटका कार्यक्रमहरु स्रोत नै सुनिश्चित नगरी राखिएको भन्दै त्यसका स्थानमा गठबन्धन सरकारको कार्यक्रम राख्ने तयारी गरिएको छ । यसैगरी पर्यटन क्षेत्रलाई तत्काल पुनरुत्थान गर्न असम्भव रहेको निर्क्यौल गर्दै कृषिमा बजेट छुट्याउने तयारी भएको स्रोतले जनाएको छ । यसैगरी स्वास्थ्य क्षेत्रमा पनि बजेट बढाउने सरकारको तयारी छ ।

    प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वरूप परिवर्तन गरेर अर्को कार्यक्रम ल्याउने तयारी गरिएको छ । प्रधानमन्त्री शेरबहादुरले देउवाले झार उखाल्ने, ढल सफा गर्नेजस्ता काम खर्च गरेर रकमको दुरुपयोग भन्दै यसको मोडालिटी परिवर्तन गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रममा करिब १२ अर्ब बजेट विनियोजन गरिएकोथियो । यसैगरी १ खर्बले निर्यात प्रतिस्थापन गर्ने र आयात १५ खर्बको हाराहारीमा सीमित गर्ने गरी केही महत्वकांक्षी कार्यक्रमको तयारीमा अर्थमन्त्रालय लागेको छ ।

    महालेखा नियन्त्रक कार्यालयले चालु खर्च, तलव भत्तालगायतका अनिवार्य खर्चबाहेकका सबै बजेट ३ दिनका लागि निकासामा रोक लगाइसकेको छ । मन्त्रालयले तयार पारेको प्रतिस्थापन विधेयकमा अर्थमन्त्रालयका वरिष्ठतम सहसचिवहरू नै बेखबर बनेका छन् । बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख सहसचिव भुपाल बरालले आफूलाई सरुवा गर्न अर्थसचिव मधुकुमार मरासिनीलाई भनेको समेत स्रोतले बतायो । सुमन दाहालको स्थानमा उक्त महाशाखाको प्रमुख भएर बराल अर्थमन्त्रालय आएका थिए ।

    बरालले सरुवा मागेपछि उनको स्थानमा सहसचिव नारायण सापकोटालाई बोलाएर प्रतिस्थापन विधेयकको लेखनको काम लगाइएको छ ।

    बराललाई जानकारी नदिइ अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले प्रतिस्थापन विधेयक तयार पार्ने काम भएको छ । यसैगरी प्रतिस्थापन विधेयकमा राजस्व व्यवस्थापनका महाशाखा प्रमुख रामेश्वर दंगाललाई जानकारी नदिइ राजस्वको दर हेरफेर समेत गरिएको छ । उनलाई उप्रेतीको कोठामा प्रवेशमा निषेध गरिएको अर्थमन्त्रालय स्रोतले बतायो ।

  • ओली सरकारको बजेट परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी

    ओली सरकारको बजेट परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी

    काठमाडौं । केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेट परिमार्जनको तयारी थालिएको छ । यसको लागि अर्थमन्त्रालयले प्रतिस्थापन विधेयक सदनमा प्रस्तुत गर्ने भएको छ ।

    भदौ २३ वा २४ गतेमध्ये कुनै दिनमा पनि प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत हुने अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

    गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमअनुसार बजेटमा आवश्यक संशोधन गर्न लागिएको बताइएको छ । भदौ १० गते मन्त्रालयले अन्य मन्त्रालयका सचिवहरूको बैठक आयोजना गरी प्रतिस्थापन विधेयकका सम्बन्धमा सुझाव संकलनसमेत गरेको थियो ।

    देउवा नेतृत्वको सरकारले केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको सामाजिक सुरक्षा भत्ता अगाडि बढाउन स्वीकृति प्रदान गरिसकेको छ । सरकारले बजेटको आकारमा केही संशोधन गर्ने संकेत पनि गरेको छ । यद्यपि सरकारले बजेटमा ठूलो परिवर्तन गर्न सक्ने संभावना भने कम रहेको अर्थविद्हरू बताउँछन् । अर्थमन्त्री जनार्दन शर्मा ओली सरकारले ल्याएका कतिपय लोकप्रिय कार्यक्रम हटाउँदा विरोध हुनसक्ने चिन्तामा समेत छन् ।

    कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावमा केही कार्यक्रमहरू थप गर्ने संभावना रहेको छ । यसैगरी, खोप खरिदका लागि बजेट थप गरिने तयारी भएको अर्थमन्त्रालय स्रोतले बतायो । आफ्नो पहिलो प्राथमिकता खोप भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैतभित्र सबै नेपालीलाई खोप लगाइसक्ने घोषणा गरेकाले स्वास्थ्य क्षेत्रमा बजेट बढाउने तयारी गरिएको छ ।

    चालु खर्च , सञ्चालनमा रहेको परियोजना खर्च र अनिवार्य दायित्वमा सिर्जना भएका खर्च कटौती गर्ने सुविधा वर्तमान सरकारसँग नरहेको जानकारहरू बताउँछन् । यसैगरी राजस्व बढाउनका लागि अर्थमन्त्री शर्माले आन्तरिक राजस्व विभागलाई निर्देशन नै दिएकाले आन्तरिक राजस्वको स्रोतहरूमा हेरफेरको तयारी समेत गरिएको छ ।

    यसैगरी गठबन्धन सरकारले केही आफू अनुकूलका लोकप्रिय कार्यक्रमहरू थप गरी प्रतिस्थापन विधेयकमार्फत बजेटमा समावेश गर्न लागेको छ । सांसद विकास कोषको निरन्तरता पाउने सम्भावना उत्तिकै रहेको मन्त्रालयका एक अधिकारी बताउँछन् ।

  • ओली सरकारले ल्याएको बजेट परिमार्जन गरिँदै, प्रतिस्थापन विधेयकको तयारी थालियो

    ओली सरकारले ल्याएको बजेट परिमार्जन गरिँदै, प्रतिस्थापन विधेयकको तयारी थालियो

    काठमाडौं । सरकारले केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेट परिमार्जन गर्ने भएको छ । यसको लागि अर्थमन्त्रालयले प्रतिस्थापन विधेयकको तयारी थालेको छ ।

    नवगठित नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सरकारले प्रतिस्थापन विधेयकको तयारी थालेको हो । बिहीबार अर्थमन्त्रालयले अन्य मन्त्रालयका सचिवहरूको बैठक आयोजना गरी प्रतिस्थापन विधेयकका सम्बन्धमा सुझाव संकलन गरेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकका प्राथमिकताहरूबारे प्रकाश पार्दै विद्यमान अर्थतन्त्रलाई उत्पादनमुखी दिशातर्फ सोझ्याउने गरी कार्यक्रम परिमार्जन गरेर पठाउन निर्देशन दिएका छन् । अध्यादेश बजेट परिमार्जन गर्दा संघीयताको व्यवहारिक कार्यान्वयनलाई बल पुग्ने, वित्तीय अनुशासन कायम गर्ने तथा पुँजीगत खर्च बढाउने र पुँजी निर्माण गर्ने खालका कार्यक्रमहरूमा जोड दिएको उनको सचिवालयले जनाएको छ ।

    गरिबी घटाउने र रोजगारी बढाउने, सहज स्वास्थ्य सेवाको उपलब्धता, शिक्षा, कृषि र पर्यटनलगायतलाई प्राथमिकतामा राखेर परिमार्जन प्रस्ताव पठाउन विभिन्न मन्त्रालयहरूलाई भनिएको छ । मन्त्री शर्माले राष्ट्रिय गौरवका आयोजनाहरुको पुनर्परिभाषा र पुनर्तालिकीकरण, थन्किएर रहेको राज्यको सम्पत्ति र विभिन्न कोषहरुको एकीकृत परिचालनमा उचित ध्यान दिइने बताएका छन् ।

    बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले पुँजीगत खर्च बढाउनको लागि ‘रेगुलर ट्रयाकिङ्ग सिष्टम’ को अवधारणामा काम गर्न सुझाव दिएका छन् ।

    अर्थसचिव मधु कुमार मरासिनीले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गैरबजेटरी खर्च समेत गर्नुपर्ने बाध्यता आइलागेको भन्दै त्यसको परिपूर्तिको लागि रकम बचत हुने गरी कार्यक्रम परिमार्जन गरेर ल्याउन आग्रह गरे ।

  • लुम्बिनीका अर्थमन्त्री भन्छन्- अध्यादेशबाट ल्याएको बजेट कानूनसम्मत छैन, नयाँ ल्याउँछौं

    लुम्बिनीका अर्थमन्त्री भन्छन्- अध्यादेशबाट ल्याएको बजेट कानूनसम्मत छैन, नयाँ ल्याउँछौं

    रुपन्देही ।लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट कानुनसम्मत नभएकाले नयाँ बजेट ल्याउने घोषणा गरेका छन् ।

    लुम्बिनी प्रदेशको विकास र समृद्धिको लागि सरकारले न्यूनतम साझा कार्यक्रमसहित नयाँ बजेट बनाउन शुरु गरेको मन्त्री खड्काले बताए ।
    मंगलबार रिपोर्टर्स क्लबले बुटवलमा आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका खड्काले यस्तो बताएका हुन् ।

    अघिल्लो सरकारले सहमतिबाट बजेट ल्याऔं भन्दाभन्दै बलजफ्ती गरी अध्यादेशबाट ल्याएको बताउँदै उनले यसरी अध्यादेशबाट आएका र अलपत्र छाडिएका २ वटा विधेयकहरु फिर्ता ल्याएको बताए ।

    अघिल्लो सरकारले संघीयता कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै आफूहरुले आवश्यक नीति नियमहरु बनाएर अगाडि बढ्ने उनको दावी थियो । उनले संघीय सरकारका आयोजनाहरुलाई निरन्तरता दिँदै कामलाई चुस्त, दुरुस्त, पारदर्शिता र सुशासनमा जोड दिने बताए ।

    आफूहरुको मुख्य प्राथमिकता कोरोना रोकथाम र नियन्त्रणमा रहेको बताउँदै उनले भने‘मुलुक यतिबेला कोरोनाले थलिएको छ, तेस्रो लहरले थप क्षति नपुराओस् भन्ने उद्देश्यले प्रदेशवासीलाई खोप दिने तयारीमा छौं । हाम्रो पहिलो लक्ष्य भनेको कोरोना रोकथाम हो ।’

    मन्त्री खड्काले १८ वर्षभन्दा मुनिकालाई खोप लगाएर विद्यालयहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको दाबी गरे । कोरोना महामारीले बेरोजगार बस्न बाध्य भएका नागरिकहरुको लागि रोजगारीका अवसरहरु सिर्जना गर्ने विश्वास व्यक्त गरे । थला परेका व्यवसायीहरुलाई राहत प्रदान गरेर अगाडि बढ्न प्रेरित गर्ने उनको भनाई छ ।

    साक्षात्कार कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तथा पूर्वप्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीवि नेपालले सरकार परिवर्तन भइरहने र नयाँ सरकारसँगै नयाँ बजेट आउने खालको क्रियाकलापले योजनाहरु रोकिने, समयमै पूरा नहुने बताए ।

    सरकारले पुँजीगत खर्चमा जोड दिनुपर्ने बताउँदै उनले कोरोना महामारीले निम्न वर्गका नागरिकहरु समस्यामा परेको बताउँदै राहतका प्याकेजहरु तत्काल ल्याउन ध्यान दिन सरकारलाई आग्रह गरे ।

    नेपालले कोरोना भ्याक्सिनलाई प्राथमिकता दिनुपर्ने बताउँदै जनताको जीवन उत्थानको लागि राहतका कार्यक्रमहरु ल्याउनुपर्ने नेपालको भनाई थियो । उनले लुम्बिनीको विकासको लागि भैरहवा अन्तरर्राष्ट्रिय विमानस्थल, सिद्धबाबा सुरुङ मार्गको कामलाई छिटोभन्दा छिटो अगाडि बढाउन सुझाव दिए ।

    बुटवल पाल्पा सडक अन्तर्गत सिद्धबाबा क्षेत्रमा वर्षेनी कम्तीमा ५र७ जनाको ज्यान लिएको अवगत हुँदाहुँदै पनि राजनीतिक नेतृत्व तहले समाधानतर्फ गम्भीर रुपमा चासो नदिएको दुःखेसो पोखे ।

    उनले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले मुलुकको अर्थतन्त्र बलियो बनाउँने बताउँदै आर्थिक पुनरुत्थानलाई सहयोग पुर्याउने बताए । मौद्रिक नीतिले अर्थव्यवस्थामा मौद्रिक व्यवस्थापन, ब्याजदर व्यवस्थापन, वित्तीय क्षेत्र सुदृढीकरण, भुक्तानी प्रणालीमा सुदृढीकरण, विदेशी विनिमय व्यवस्थापन, वित्तीय पहुँच जस्ता उपायमार्फत नियमन र सन्तुलन कायम गरी समष्टिगत आर्थिक उद्देश्य प्राप्ति गर्न सघाउ पुर्याउने बताए ।

  • नयाँ बजेट ल्याउन पूर्वअर्थमन्त्रीको सुझाव, प्रतिस्थापन विधेयकका लागि आग्रह

    नयाँ बजेट ल्याउन पूर्वअर्थमन्त्रीको सुझाव, प्रतिस्थापन विधेयकका लागि आग्रह

    काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषदले पूर्णता पाएपछि मात्र नयाँ बजेटको कुरा टुङ्गो लाग्ने बताएका छन् ।

    बुधवार पूर्वअर्थमन्त्रीहरूसँगको छलफलमा शर्माले मन्त्रिपरिषदको पूर्णता र संसदको अंक गणितलाई मध्यनजर गरेर मात्र नयाँ बजेट प्रस्तुत गरिने बताएका छन् । मन्त्री शर्माले अहिले विकास निर्माणको कामभन्दा जनतालाई कोभिड खोप लगाउने कुरा नै मुख्य प्राथमिकतामा रहेको बताएका छन् । उनले विज्ञहरूको सुझाव लिएर अर्थतन्त्रलाई अहिलेको भन्दा गतिशील बनाउने प्रयत्न गर्ने बताएका छन् । उत्पादन र रोजगारी सृजनामा सहयोग पुग्ने खालका पूर्वाधार विकासलाई अगाडि बढाइने शर्माले बताए ।

    कार्यक्रममा पूर्वअर्थमन्त्री एवं पूर्वसभामुख कृष्णबहादुर महरा र पूर्वअर्थमन्त्री डा. रामशरण महतले अध्यादेश बजेटलाई प्रतिस्थापन गरेर पूर्णआकारको बजेट ल्याउनुपर्ने सुझाव दिएका छन् ।

    छलफलमा कसले के सुझाव दियो ?

    डा. रामशरण महत

    काम चलाउ सरकारले अध्यादेशबाट बजेट ल्याउनु गलत थियो । संसदको विश्वास प्राप्त सरकारले मात्र पूर्णआकारको बजेट ल्याउनुपर्छ । काम चलाउ सरकारले काम चलाउ बजेट मात्र प्रस्तुत गर्नुपर्ने हो, संसदको पुन:स्थापना हुने अवस्थामा पूर्ण आकारको बजेट ल्याउनु ठीक थिएन ।

    अध्यादेशलाई नै प्रस्तुत गर्ने काम भएको छ संसदमा, अध्यादेशमा भएका सकारात्मक कुरा समावेश गर्ने र नमिलेका कुराहरूलाई सच्याएर नयाँ बजेट ल्याउनुपर्दछ । कार्यान्वयन गर्नसक्ने बजेट ल्याउनुपर्दछ । वास्तविक बजेट ल्याउनु पर्छ, कृत्रिम बजेट प्रस्तुत गर्नुहुँदैन ।

    बजेटका लक्षहरू पूरा नहुने अवस्था आइराखेको हुन्छ । बजेटकाो आकार अनावश्यक रूपमा ठूलो बनाउने गरिएको छ । १३ अर्बभन्दा बढीको बजेट कार्यान्वयन हुन सक्दैन । १० महिनामा ८ सय अर्बजति मात्र खर्च हुने गरेको छ । साढे १६ सयको बजेट वास्तविक बजेट होइन यस्तो बजेट जिडिपीको ४० प्रतिशतको हाराहारीमा हुनपुग्यो । पुँजीगत खर्च कम हुने अवस्था जहिले पनि आउने गरेको छ । कार्यान्वयन गर्ने क्षमता कमजोर भएर यस्तो भएको हो यसलाई ध्यानमा राखेर बजेट प्रस्तुत गर्नुपर्छ । वितरणवादी बजेट बनाउनु हुँदैन । ठूलो बजेट बनाउनलाई ऋण लिने चलन छ । पहिले पहिले ८५ प्रतिशत राजश्व र वैदेशिक अनुदानको आधारमा बजेट बनाउने गरिन्थ्यो । तर, अहिले कुल बजेटको ३७ प्रतिशत ऋण लिएर बजेट बनाउने काम भयो ।

    आजभन्दा ६ वर्ष अगाडि कुल तिर्नुपर्ने ऋण जीडीपीको २५ प्रतिशत थियो तर अहिले ३८ प्रतिशत पुगिसकेको छ । प्रतिव्यक्ति ऋण भार ५२ हजार पुर्‍याइ सकिएको छ । यो ज्यादै नराम्रो स्थिति हो । जीडीपीको २ प्रतिशतसम्म मात्र आन्तरिक ऋण उठाउनुपर्दछ । हामीकहाँ जीडीपीको ६ प्रतिशत आन्तरिक ऋण पुर्‍याएर भावी पुस्तालाई अप्ठेरो पारिएको छ । कर्मचारीको संख्या घटाउनुपर्दछ । प्रशासनिक खर्च घटाउनुपर्दछ । सामाजिक सुरक्षाको कार्यक्रम सबैलाई एकैनासले हैन कि आम्दानीको स्रोत कमजोर हुनेहरुको लागि लक्षित गरेर व्यवस्था गर्नुपर्दछ ।

    प्रदेश सरकारले र स्थानीय सरकारले गर्नुपर्ने कामहरू पनि संघबाट घोषणा भएका छन् । यस्तो कुरा सच्याउनुपर्दछ । राजनैतिक हितलाई ध्यानमा राखेर बजेट बनाउने गरियो । वास्तविक खालको आकार हुनुपर्दछ । बैदेशिक ऋण बढाउनु हुँदैन । बजेटको मुख्य उद्देश्य कोभिड खोप सबै नेपालीलाई दिनुपर्दछ । नि:शुल्क खोप लगाउनुपर्दछ । स्वास्थ्य क्षेत्रको पूर्वाधारमा जोड गर्नु पर्दछ । राहत वितरणमा निम्न वर्गलाई समेट्नुपर्दछ । रोजगारी सृजनामा कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्दछ । नेपाललाई क्लीन इनर्जी पावर हाउसका रुपमा परिणत गर्ने खालको कार्ययोजना ल्याउनुपर्दछ । हाइड्रो प्रोजेक्टहरूको निर्माण सम्पन्न गर्ने कार्यक्रम ल्याउनुपर्दछ । जलविद्युत क्षेत्रमा बैदेशिक लगानी आकर्षित गर्नुपर्दछ ।

    रोजगारी खाली पैंसा बाँड्नेमा होइन कि जनशक्तिको दक्षता बद्धि गर्नेतर्फ खर्च गर्नुपर्छ । प्राविधिक तालिमको व्यवस्था गर्नुपर्दछ । क्षमतावान बनाएर मात्र बाहिरबाट आएको जनशक्तिलाई प्रतिस्थापन गर्न सकिन्छ । औद्योगिक क्षेत्रमा उत्पादन बढाउनको लागि काम गरौं । आयस्रोत नहुनेहरुलाई बरु भत्तासहितको सीप विकास गर्नुपर्दछ ।

    आयोजना छनोट गर्दा नयाँ आयोजनामा भन्दा पूराना आयोजना सम्पन्न गर्नेतर्फ ध्यान दिनुपर्दछ । बिनाअध्ययनका राजनीतिक स्वार्थका नयाँ नयाँ आयोजना छनोट गर्ने चलन छ । यसलाई तोड्नुपर्दछ ।

    रेल र पानीजहाजका सपना बाँड्नेभन्दा राम्रो रोड बनाउनुपरो । रेल नै चाहिने हो भने पनि राम्रोसँग अध्ययन गरेर मात्र त्यसबारे सोच्नुपर्छ । सडक सञ्जालले धान्न नसक्नेगरी व्यापार हुनथाल्यो भने मात्र रेलको जरुरी छ । तर, अझै २० वर्षसम्म सडक सञ्जालले नै धान्नसक्छ नेपालमा । रेल भनेको निकै महङ्गो छ । गाँउ गाँउमा १२ महिना चल्ने सडक बनाएर कृषि क्षेत्रको विकास गर्नुपर्दछ । आधारभूत आवश्यकता पूरा भइसकेपछि मात्र विलासिताको चरणमा प्रवेश गर्न सकिन्छ ।

    कृष्णबहादुर महरा

    अहिले पाँच दलको गठबन्धन सरकार छ । यो अवस्थालाई मध्यजनर गरेर सरकारको न्यूनतम साझा कार्यक्रम बनाउनुपर्दछ । सोही आधारमा नयाँ बजेट ल्याउनुपर्दछ ।

    मेरो राय अध्यादेश बजेटलाई प्रतिस्थापन गर्नुपर्दछ भन्ने छ । नयाँ बजेट नै ल्याउनुपर्दछ । पुरक बजेट ल्याउने चर्चा पनि भइरहेको छ तर त्यसो नगरी अध्यादेशलाई प्रतिस्थापन नै गरेर नयाँ बजेट ल्याउनुपर्दछ । कोभिड महामारीलाई कुशलतापूर्वक नियन्त्रण गरेर अर्थतन्त्रलाई चलाायमाान बनाउने खालको बजेट बनाउनुपर्दछ । कोभिड भन्याछ, राजश्वका स्रोतहरु बन्द गर्‍याछ । यसरी हुँदैन । आर्थिक क्रियाकलाप संचालन हुने वातावरण बनाउनमा प्राथमिकता दिनुपर्दछ ।
    बजेट कार्यान्वय प्रक्रियामा सुधार ल्याउनुपर्दछ । बजेट कार्यान्वयनमा ढिलाइ हुने काम रोकिएन । पुँजीगत खर्च बढाउन सकिएन । समयमा काम हुँदैन । जेठ असार तिर काम गर्ने प्रवृत्तिमा सुधार गर्नुपर्‍यो । बजेट कार्यान्वयन हुने खालको केही नयाँ कार्यक्रमहरु पनि ल्याउनुपर्‍यो । श्रम हामीसँग छ । स्रोत साधन हामीसँग छ । आन्तरिक स्रोतको कमी छैन । यसलाई उपयोग गर्नुपर्‍यो । मुलुकमा समृद्धिको चाहनालाई पूरा गर्ने हो भने आन्तरिक स्रोत साधनको उपयोग गर्ने खालको बजेट कार्यक्रम ल्याउनुपर्दछ ।

    वित्तीय हस्तान्तरण म अर्थमन्त्री हुँदा शुरू भएको हो । नियमनको प्रभावकारी मापदण्ड बनाएर वित्तीय हस्तान्तरण गर्न कञ्जुस्याइँ गर्नुहुँदैन । सबै प्रदेशका अर्थमन्त्रीहरूसँग निरन्तर छलफल गरी उनीहरुलाई सक्रिय तुल्याउनुपर्दछ । वित्तीय अराजकता आउन नदिनेतर्फ पनि ध्यान दिनुपर्दछ । ठूला आयोजना मात्र संघीय सरकारले संचालन गर्ने तर अन्य ससाना आयोजनाहरु प्रदेश र स्थानीय तहहरुलाई नै गर्न दिनुपर्दछ । यसरी मात्र संघीयताको राम्रोसँग कार्यान्वयन हुनसक्छ ।

  • ‘अध्यादेशबाट बजेट ल्याउनु गलत छ, सरकारविरुद्ध अदालत जान्छौं’

    ‘अध्यादेशबाट बजेट ल्याउनु गलत छ, सरकारविरुद्ध अदालत जान्छौं’

    कर्णाली प्रदेश सरकारले असार ३१ गते अध्यादेशमार्फत् बजेट ल्यायो । तर, उक्त प्रक्रियाप्रति विपक्षी दल नेकपा एमालेले असहमति जनाइरहेको छ । र, अध्यादेशविरुद्ध एमालेले अदालत जाने बताएको छ । यसबारे नेकपा एमालेका प्रमुख सचेतक गुलावजंग शाहसँग नेपाल प्रेसका लागि शेरबहादुर थापाले गरेको संक्षिप्त कुराकानीः

    बजेटप्रति तपाईंहरुको असहमति चाहिँ केमा हो ?

    सरकारले अध्यादेशमार्फत बजेट ल्याएको छ । बजेट अधिवेशन चलाउनु पथ्र्यो, बजेट सदनमार्फत ल्याउनु पथ्र्यो । त्यो सरकारले चाहेन ।

    असार एक गते संसदमा बजेट पेश गर्नुपर्ने छ, जेठको २० गते भइसक्दा पनि अधिवेशन सरकारले बोलाएको थिएन । कुनै सूचना, कुनै प्रक्रियामा सरकार अधिवेशन बोलाउने पक्षमा देखिएको थिएन । यसका लागि नेकपा एमालेका संसदीय दलका नेता यामलाल कंडेलको पहलमा सरकार अधिवेशन बोलाउन तयार भएको हो । सर्वदलीय बैठकमा सरकार आएपछि २४ गते सदन बोलाइ असरा एक गते सरकारले बजेट ल्याएको थियो ।

    त्यो बजेट ल्याउन हाम्रो मुख्य भूमिका थियो । वैशाख तीन गते एमालेका चार जना सांसदले फ्लोर क्रस गरेर माओवादीको सरकार जोगाइ दिएका थिए । उक्त सरकारमा उहाँहरु सहभागी भइरहेको समयमा जेठ २७ गते सर्वोच्चले एक आदेश दिएर उहाँहरुलाई एमाले नै भएको बताइदिएको थियो ।

    जेठ ३१ गते बिहान सर्वदलीय वैठक बस्ने कुरा थियो । सरकारले हतारमा बजेट ल्याएको छ । दुई बजे सदन बस्ने कुरा थियो, त्यो कुरालाई रोकेर, बजेट अधिवेशन अन्त्य गरेर, अध्यादेशमार्फत सरकारले जुन बजेट ल्याएको छ, त्यो गैरकानूनी र गैरसंवैधानिक छ ।

    बजेट कर्णालीवासीको पक्षमा पनि छैन । केही मान्छेका आसेपासेको पक्षमा बजेट आएको छ । त्यसैले हाम्रो बजेटप्रति असहमति छ ।

    तपाईंको दलबाट संसदमा २० जना हुनुहुन्छ । अध्यादेशबाट बजेट ल्याउनेमा तपाईंहरुको पनि हात छ नि, होइन र ?

    एमाले भित्र भद्रगोलको स्थिति छ । चाहे केन्द्रमा होस् या प्रदेशमा । अहिले हाम्रो दलमा अन्तरविरोध चर्केको छ । त्यसको असर यहाँ पनि पर्यो ।

    फ्लोर क्रस गरेका चार जनालाई एमालेकै सदस्यको रुपमा अदालतले पुनःस्थापित गरेको आदेश कर्णाली प्रदेशसभाका सभामुखले पढेर

    सुनाएपछि उहाँहरु एमालेको ‘रो’मा आउनुपर्थ्याे  । उहाँहरु नआइसकेपछि हामीले यो सरकार अवैधानिक, असंवैधानिक छ भनेका थियौं ।

    गैरकानूनी रुपमा यो सरकार बनेको छ भनेर हामीले आवाज उठाएका हौं । हामीले हाम्रा सांसद खोजी गरिरहँदा सरकारले वास्ता नै गरेन । सरकारले बजेटमाथि छलफल नै गर्न चाहेन ।

    अधिवेशनलाई अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने काम सरकारले गरेको छ । यसमा हाम्रो के गल्ती छ र ! अब हामी त्यसको कानूनी उपचार खोज्छौं । केही दिनअघि सर्वोच्च अदालतले दिएको १६७ पृष्ठको आदेशमा अध्यादेशबाट बजेट ल्याउनु उपयुक्त हुँदैन भनेको छ ।

    आर्थिक वर्षको अन्तिम एक महिनामा सरकारले १२ अर्ब गरेछ । यसलाई कसरी लिनुहुन्छ ?

    कर्णाली प्रदेशले गत वर्ष ३३ अर्बको बजेट पेश गर्दैगर्दा एघार महिनामा करिब नौ अर्ब, असारको एक देखि २५ गतेसम्म सात अर्ब खर्च गरेको छ । २५ देखि ३० गतेसम्म पाँच अर्ब बजेट खर्च गरेको छ । र, आर्थिक वर्षको अन्तिम एक महिनामा मात्रै सरकारले १२ अर्ब गरेछ । यसबाट सरकार भ्रष्टाचारमा लिप्त, गैरकानूनी रुपमा काम गर्ने, अराजनीतिक ढंगले चल्ने कुरा प्रष्ट हुन्छ । अरु के भन्नु !

    सरकारले धमाधम रकमान्तर गर्दै बजेट बाँडेको आरोप पनि छ । के भन्नुहुन्छ ?

    म सार्वजनिक लेखा समितिको सदस्य पनि हो । समितिमा सरकार आफैंले बनाएको कार्यविधिमा वैशाखपछि रकमान्तर नगर्ने व्यवस्था छ ।

    तर जेठ लागिसकेपछि पनि करौडौं रकम रकमान्तर गरिएको छ, बाँडिएको छ । सरकारले ऐन, नियम, नियमावली, कार्यविधि त मान्नु पर्यो नि ! नभए अख्तियार या अदालत जानुको विकल्प हुँदैन ।

  • लुम्बिनीमा अध्यादेशबाट आयो बजेट

    लुम्बिनीमा अध्यादेशबाट आयो बजेट

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले २ वटा अध्यादेश जारी गरेपछि सरकारलाई अध्यादेशबाट बजेट ल्याउन बाटो खुलेको हो । सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत जस्ताको तस्तै ल्याइएको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताए ।

    आज बिहान बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख यादवले लुम्बिनी प्रदेश विनियोजन अध्यादेश, २०७८ र लुम्बिनी प्रदेश आर्थिक अध्यादेश जारी गरेका हुन् ।

    शुक्रबार सहमतिमा बजेट पास गर्न विपक्षीलाई गरेको आग्रह तथा थप समय माग्दा विपक्षीले नदिएपछि एमालेले सदन बहिस्कार गरेर बाहिरिएको थियो । सरकारले बिहीबार राती नै बजेट अधिवेशन अन्त्य गरेको छ भने शुक्रबार बिहानै २ वटा अध्यादेश जारी गरेको छ ।

    प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीका अनुसार राजकाज नै नचल्ने गरी अवरोध आए पछि अध्यादेश ल्याउनुपरेको बताए ।

    उनले आजैबाट प्रदेशभरी भैपरि आउने खर्च र उठाउनुपर्ने राजश्व नै अन्यौलमा पर्ने अवस्था आएपछि अध्यादेश ल्याउनुपरेको बताए ।

    प्रदेशसभामा बजेट पास हुने अवस्था नदेखेपछि विहीबारसत्तापक्ष एमालेले प्रदेशसभा बैठक बहिस्कार गरेको थियो । बजेटका सम्बन्धमा छलफलका सबै प्रक्रिया पुरा गरेर मतदानको चरणमा प्रवेश गर्नुअघि प्रदेश सरकारका मन्त्रीहरु र सांसदहरुले बैठक छाडेर हिँडेपछि आज १ बजेसम्मका लागि सभामुख पूर्णबहादुर घर्तीले बैठक सारेका थिए ।

    सरकारले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर यो विषयमा जानकारी दिने सरकारका प्रवक्ता मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

  • ओली सरकारकै बजेटमा टेकेर मौद्रिक नीति आउने, बजेट फेरिए के हुन्छ ?

    ओली सरकारकै बजेटमा टेकेर मौद्रिक नीति आउने, बजेट फेरिए के हुन्छ ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकमा आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी थालेको छ । यही बीचमा सरकार फेरिए पनि मौद्रिक नीति परम्पराअनुसार साउनको पहिलो साता नै सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ ।

    ओली सरकारले निर्माण गरेका बजेटमा टेकेरै केन्द्रीय बैंकले मौद्रिक नीतिको गृहकार्य गरिरहेको हो । अहिले देउवा नेतृत्वको सरकार बनेपछि अघिल्लो सरकारले ल्याएको बजेटको भविष्य अन्योलमा परेको छ । सरकारले अघिल्लो बजेट खारेज गरेर नयाँ ल्याउन सक्ने चर्चाहरू पनि भइरहेका छन् । त्यसैले मौद्रिक नीतिपछि बजेट परिवर्तन वा उल्लेख्य संशोधन भयो भने त्यसले वित्तीय अराजकताको अवस्था आउने देखिएको छ ।

    सरकारले नयाँ बजेट ल्याएमा वा बजेट संशोधन गरेमा मौद्रिक नीति पनि पुन: संशोधन गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । अध्यादेशमार्फत प्रस्तुत भएको बजेटले व्यापक मात्रामा वितरणमुखी कार्यक्रमहरू अघि सारेको थियो । गठबन्धन सरकारले नयाँ बजेटमा ती कार्यक्रमहरूलाई निरन्तरता दिन नचाहेमा मौद्रिक नीति परिवर्तन गर्नुपर्ने दबाब नेपाल राष्ट्र बैंकलाई पर्ने देखिन्छ ।

    पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको वजेटलाई आधार मानेर नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याएमा वित्तीय अस्थिरता उत्पन्न हुने अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेल बताउँछन् । पुरानै बजेटलाई आधार मानेर मौद्रिक नीति आएमा गठबन्धन सरकारसँगको स्वार्थ बाझिने भएकाले वित्तीय नीति र मौद्रिक नीतीबीच द्वन्द्व निम्तिने खतरा बढेको उनको भनाइ छ ।

    ‘अघिल्लो सरकारको विस्तारमुखी र वितरणमुखी बजेटलाई सपोर्ट गर्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । केन्द्रीय बैंकले पुरानै वित्तीय नीतिलाई आधार मानेर बजेट ल्यायो भने गठवन्धन सरकारलाई वित्तीय स्थिरता कायम गर्न कठिनाइ उत्पन्न हुन सक्छ,’ उनले भने ।

    नेपाल राष्ट्र बैंकले साउनको पहिलो साताभित्र मौद्रिक नीति ल्याउने गर्छ । मौद्रिक नीतिलाई केही समय रोकेर भए पनि सरकारको नीतिसँग तादम्य मिल्ने गरी बनाउनुपर्नेमा अर्थशास्त्री प्याकुरेलले जोड दिएका छन् ।

    सरकारसँग स्वार्थ बाझिने गरी मौद्रिक नीति आएमा त्यसले अर्थतन्त्रमा वित्तीय संकट पैदा गर्ने भएकाले अर्थमन्त्रीले समेत यस विषयमा हस्तक्षेप गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

    तत्काल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र एकजना आर्थिक सल्लाहकार नियुक्ति गरी अर्थमन्त्री अगाडि बढ्नुपर्ने सुझाव डा. प्याकुरेलको छ ।

  • बजेट संशोधनदेखि पुनर्लेखनसम्मको चर्चा, विश्वासको मतअघि निर्णय लिन कठिन

    बजेट संशोधनदेखि पुनर्लेखनसम्मको चर्चा, विश्वासको मतअघि निर्णय लिन कठिन

    काठमाडौं । नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै आगामी आर्थिक वर्षको बजेटका कार्यान्वयनका विषयमा विभिन्न टिकाटप्पणीहरु भइरहेका छन् । केपी ओलीको सरकारले अध्यादेशमार्फत प्रस्तुत गरेको बजेटको भविष्य अन्योलमा परेको छ ।

    गठबन्धन सरकार ओली सरकारको बजेटलाई जस्ताको त्यस्तै कार्यान्वयनमा गर्ने मुडमा देखिँदैन । नेपाली कांग्रेस तथा माओवादीसहितको गठबन्धनले बजेट अध्यादेशमार्फत ल्याउँदा नै त्यसको विरोध गरेको थिए । उनीहरूले ओली सरकारलाई संसद नभएकाले पूर्णआकारको बजेट नल्याउनसमेत भनेका थिए । तर, अर्थमन्त्री विष्णु पौडेलले विपक्षीहरूको दबाबलाई नकार्दै पूर्णआकारको बजेट अध्यादेशमार्फत ल्याए ।

    विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्थामा पुरानै बजेटलाई संशोधन गरी अगाडि बढ्ने गठबन्धन सरकारको तयारी छ । अर्थमन्त्री जनार्दन शर्मा तथा गृहमन्त्री बालकृष्ण खाँडले आगामी बजेटको सन्दर्भमा अर्थविद् तथा सरोकारोवालाहरूसँग छलफल गरेर अगाडि बढ्ने प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

    अघिल्लो सरकारले बढाएको तलव, वृद्धभत्ता यो सरकारले परिवर्तन गर्न सक्ने अवस्था छैन । बजेटमार्फत कोभिड-१९ का लागि राहत तथा पुनरुत्थानका प्याकेजहरू थप गर्न सक्ने र गठबन्धनका कार्यक्रमहरू समावेश गर्ने सक्ने अवस्था भने रहेको विज्ञहरूको भनाइ छ ।

    यो सरकारले ३० दिनभित्र संसदबाट बहुमत प्राप्त गर्ने सक्ने अवस्था बनेमा संसद मार्फत नयाँ बजेट प्रस्तुत सक्ने एकथरि विज्ञको भनाइ छ । तर, संविधानले जेठ १५ गते नै बजेट ल्याउनुपर्ने किटानी गरेकाले अरु मितिमा बजेट ल्याउनु कति संवैधानिक हुन्छ भन्ने प्रश्न उठ्छ । साथै, बजेट नयाँ रूपमा प्रस्तुत गरे पनि चालु दायित्व तथा दीर्घकालीन दायित्वका कारण ठूलो परिवर्तन गर्ने ठाउँ भने नरहेको जानकारहरू बताउँछन् ।

    अघिल्लो सरकारले बढाएको तलव, वृद्धभत्ता यो सरकारले परिवर्तन गर्न सक्ने अवस्था छैन । बजेटमार्फत कोभिड-१९ का लागि राहत तथा पुनरुत्थानका प्याकेजहरू थप गर्न सक्ने र गठबन्धनका कार्यक्रमहरू समावेश गर्ने सक्ने अवस्था भने रहेको विज्ञहरूको भनाइ छ । बजेटमा व्यवस्था भएका केही परियोजनाहरू हटाउन सक्ने तथा करका दरहरू परिवर्तन गर्नसक्ने उनीहरू बताउँछन् ।

    त्यस्तै सरकारले संघीय संसदमार्फत प्रिबजेट छलफल, नीति तथा कार्यक्रम, राष्ट्रको ऋण उठाउने विधेयक र आर्थिक ऐनमा संसोधन गरी संसदबाट पारित गराई अगाडि बढाउन सक्ने पनि कांग्रेसनिकट अर्थशास्त्रीहरूको दावी छ ।

    बजेट पुनर्लेखन गर्नुपर्छः डा. महत

    नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले अल्पमतको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने बताए ।

    ‘अल्पमतको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई अदालतको फैसलाले वैधता दिँदैन । अब बन्ने बहुमतको सरकारले संसदमा नयाँ बजेट प्रस्तुत गर्नुपर्छ,’डा. महतले नेपाल प्रेसलाई बताए ।

    संसदमा प्रि-बजेट छलफल गराइ राष्ट्रपतिमार्फत नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

    आगामी आवमा प्रस्तुत भएका चालु खर्चलाई निरन्तरता र नयाँ कार्यक्रमलाई लागत-लाभ विश्लेषण गरेर अगाडि बढ्नुपर्ने उनको मत छ । अहिले सरकारले जस्तो अनावश्यक बजेट आकार बढाएर बजेटको घाटा र ऋण बढाउन नहुनेमा डा. महतले जोड दिए ।

    ‘यो सरकारले कुल गार्हस्थ्य उत्पादनको २५/२६ प्रतिशत हुनुपर्ने ऋण बढाएर ४० प्रतिशत पुर्‍याएको छ भने आन्तरिक ऋण पनि जीडीपीको २ प्रतिशतभन्दा बढी उठाएको छ । यसले अर्थतन्त्रमा ऋणको गलपासोमा पर्नसक्छ,’ उनले भने ।

    विश्वासको मतले निर्धारण गर्छः क्षेत्री

    योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री सरकारले यो बजेट मानेर जाने परिस्थितिसमेत आउनसक्ने बताउँछन् । चारवटा पार्टीको गठबन्धन मिलेर यो सरकार निर्माण भए पनि विश्वासको मत प्राप्त गर्नुपर्ने भएकाले परिस्थिति अनुकुल नभएको उनको भनाइ छ ।

    ‘सरकारले विश्वासको मत प्राप्त गर्न सकेन भने यही बजेटलाई नै कार्यान्वयनमा लिएर जानुपर्ने पनि हुनसक्छ’, क्षेत्रीले भने, ‘समयले उहाँहरूलाई त्यति अनुकूलता दिएको छैन । विश्वासको मत प्राप्त गर्न नसक्दा चुनावमा जानुपर्ने हुन्छ सक्छ ।’

    नेकपा एमाले सशक्त प्रतिपक्षका रूपमा संसदमा प्रस्तुत हुने भएकाले सरकारले बहुमत प्राप्त गर्न नसकेमा नयाँ बजेट वा बजेटमा संशोधन गर्न नसक्ने उनी बताउँछन् ।

    ‘विश्वासको मत प्राप्त गर्नुसक्नु भएन भने त नयाँ बजेट प्रस्तुत गरेर अगाडि बढ्ने ठाउँ रहँदैन । नयाँ बजेट वा संशोधन गर्न खोज्यो भने उहाँहरूको पनि विरोध हुन्छ’,उनले भने ।

    विश्वासको मत प्राप्त गर्ने अवस्था रहेमा नयाँ बजेट बनाएर अगाडि बढ्ने उचित हुनेमा क्षेत्रीले जोड दिएका छन् ।

    नयाँ बजेट ल्याउने सुविधा छ : खनाल

    अर्थविद डिल्लीराज खनाल संसद पुनःस्थापना भइसकेकाले अध्यादेशमार्फत प्रस्तुत भएको बजेटलाई संसदमा प्रस्तुत गर्ने वा नयाँ बजेट ल्याउने सुविधा सरकारसँग भएको बताउँछन् ।

    ‘सर्वोच्च अदालतले संसद पुन:स्थापना गरिदिएकाले बजेट दुवै सदनमा प्रस्तुत गरी अनिवार्यमा पास हुनैपर्छ । यसले गर्दा सरकारले अध्यादेशमार्फत आएको बजेट वा नयाँ बजेट बनाएर अगाडि बढ्न सक्छ,’डा. खनालले भने ।

    ओली सरकारले अध्यादेशमार्फत प्रस्तुत गरेको बजेटको प्रक्रियामाथि नै प्रश्न उठाइएकाले नयाँ बजेट प्रस्तुत हुने संकेत खनालको छ ।

    बजेटका कार्यक्रम परिर्वतन गर्न कठिनः डा. सुवेदी

    पुर्वअर्थसचिव डा. शान्तराज सुवेदी यो बजेटमा राजनीतिक र कानूनी जटिलता भए पनि कार्यान्वयनमा जाने बताउँछन् ।

    ‘राजनीतिक र कानूनी जटिलताका प्रश्न बजेटमाथि रहेका छन् । आगामी सरकारले नयाँ बजेट नै प्रस्तुत गरे पनि बजेटका कार्यक्रमहरु परिवर्तन गर्नसक्ने खासै ठूलो स्पेस छैन’, सुवेदीले बताए ।

    बजेटमा भएका चालु खर्च तथा अनिवार्य दायित्व परिवर्तन गर्नसक्ने ठाउँ नरहेको उनले बताए । वृद्धभत्ता तथा कर्मचारीको तलवमा परिवर्तन गर्न नमिल्ने उनको तर्क छ । सञ्चालनमा रहेका साना ठूला तथा राष्ट्रिय गौरवका आयोजनामा जाने खर्च समेत काटौती गर्न सक्ने अवस्था नरहेको सुवेदी बताउँछन् ।

    विगतमा अध्यादेशबाट ल्याइएका बजेट

    नेपालमा वार्षिक बजेटको ७० वर्षको इतिहासमा १० पटकभन्दा बढी अध्यादेशमार्फत बजेट प्रस्तुत भएका छन् । नेपालमा प्रजातन्त्रको पुन:स्थापनापछि पहिलोपटक आव २०४७/४८ मा तत्कालीन अर्थमन्त्री देवेन्द्रराज पाण्डेले अन्तरिम बजेट प्रस्तुत गरेका थिए । २०५१ सालमा नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण मध्यावधि निर्वाचन घोषणा भएपछि तत्कालीन अर्थराज्यमन्त्री महेश आचार्यले अध्यादेशमार्फत बजेट प्रस्तुत गरे । २०५१ असार २७ गते प्रतिनिधिसभा विघटन भएपछि असार ३१ गते अध्यादेशमार्फत बजेट प्रस्तुत गरिएको थियो ।

    सोही वर्ष निर्वाचन भएपछि मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार गठन भयो र नयाँ प्रतिनिधिसभाबाट तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले पूर्णआकारको बजेट ल्याएका थिए । त्यस्तै आर्थिक वर्ष २०५९/६० सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा पूर्वअर्थमन्त्री मधुकरशम्शेर राणाले संसद भङ्ग गरी अध्यादेशमार्फत बजेट प्रस्तुत गरेका थिए ।

    नेपालमा वार्षिक बजेटको ७० वर्षको इतिहासमा १० पटकभन्दा बढी अध्यादेशमार्फत बजेट प्रस्तुत भएका छन् । नेपालमा प्रजातन्त्रको पुन:स्थापनापछि पहिलोपटक आव २०४७/४८ मा तत्कालीन अर्थमन्त्री देवेन्द्रराज पाण्डेले अन्तरिम बजेट प्रस्तुत गरेका थिए ।

    २०६१/६२ सालमा भरतमोहन अधिकारीले अध्यादेशमार्फत बजेट प्रस्तुत गरेका थिए । आ.ब २०६७/६८ मा व्यवस्थापिका संसदमा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डले बजेट प्रस्तुत गर्न खोज्दा माओवादीले संसदमा अवरोध गरी झडप भएपश्चात संसद अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत बजेट प्रस्तुत भएको गरिएको थियो ।

    आर्थिक वर्ष २०६९/७० मा राजनीतिक अस्थिरताका कारण दुईपटक अध्यादेशमार्फत बजेट प्रस्तुत भएको छ । तत्कालीन पूर्वअर्थमन्त्री वर्षमान पुनले पुरक बजेट प्रस्तुत गरेका थिए । त्यस्तै पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठन भएको चुनावी सरकारका अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अध्यादेशमार्फत पूर्णआकारको बजेट प्रस्तुत गरेका थिए ।

    संविधानसभाको दोस्रो निर्वाचनका गराउनका लागि उक्त बजेट पूर्णआकारमा प्रस्तुत गरिएको थियो । संसद नरहेको समयमा अध्यादेशमार्फत प्रस्तुत भएका बजेटहरू संसद सञ्चालन भएपछि गठन हुने सरकारहरुले प्रस्तुत गरेका छन् । केही अपवादलाई छोडेर बहुमतबाट बन्ने सरकारले नयाँ बजेट प्रस्तुत गरेका नजिरहरू रहेका छन् ।

  • लुम्बिनीमा बजेटमाथिको छलफल सकियो, दुई दिनपछि निर्णयार्थ पेश हुने

    लुम्बिनीमा बजेटमाथिको छलफल सकियो, दुई दिनपछि निर्णयार्थ पेश हुने

    रुपन्देही । सत्तापक्ष र विपक्षी गठबन्धनको पेचिलो विषय बनेको लुम्बिनी प्रदेशसभामा आर्थिक वर्ष २०७८/ ०७९ को बजेट माथिको छलफल सकिएको छ ।

    असार १ गते प्रस्तुत भएको बजेटमाथि आइतबारबाट छलफल सुरु भएको थियो । सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै विपक्षी गठबन्धनले असार ६ गतेको सदन बहिस्कार गरेपछि ९ गते बोलाइएको थियो । विपक्षीले पुनः बहिस्कार गर्ने भएपछि २७ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

    आइतबार आयव्यय अनुमानमाथिको सामान्य छलफल भए पनि सोमबारबाट आर्थिक वर्ष २०७८/७९ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विद्येयकमा छलफल सुरु भएको हो ।

    मन्त्रालयहरुको विभिन्न शीर्षकमा समष्टिगत छलफलमा छलफलमा भाग लिंदै विपक्षी सांसदहरुले अल्पमतको सरकारले बजेट ल्याएको भन्दै प्रतिक्रिया दिएका थिए ।

    त्यस्तै बजेट कार्यकर्तालाई बांडिएको भन्दै आलोचनासमेत भएको थियो । सत्तापक्षका सांसदले भने विकास र समृद्धिलाई लक्षित गरेर बजेट आएको बताएका थिए ।

    मंगलबार छलफल सकिएपछि अब बिहीबार प्रदेशका मन्त्रीहरुले बजेटमा उठेका प्रश्नको जवाफ दिनेछन् । सोही दिन बजेट निर्णयार्थ पेश हुनेछ । सरकारलाई वैधानिकताको प्रश्न उठाएको विपक्षी गठबन्धनले सरकारलाई अध्यादेशबाट बजेट ल्याउन रोक्नका लागि प्रकृयामा लगेको आंकलन गरिएको छ ।

    सरकारले विपक्षी गठबन्धनले उठाएजस्तैगरी सरकारसंग बहुमत नगुमेको जनाएको छ । सरकारमा सहभागी जसपाका ३ सहित ४ सांसदको अदालती टुंगो र एमालेबाट माओवादी प्रवेश गरेकी सांसद विमला वलीलाई एमालेले कारबाही गर्न पठाएको प्रकृया अगाडि नबढ्दासम्म एमालेले कानुनीरुपमा आफ्नो राजनीतिक बहुमत भएको दावी गर्दै आएको छ । यही कारणले पनि यो विषय दुवै पक्षको लागि पेचिलो बनेको हो ।

  • कर्णालीमा बजेट सिध्याउने चटारो, २५ दिनमा सात अर्ब खर्च

    कर्णालीमा बजेट सिध्याउने चटारो, २५ दिनमा सात अर्ब खर्च

    सुर्खेत । आर्थिक वर्ष सकिनै लाग्दा कर्णालीमा बजेट सिध्याउने चटारो बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा नौ अर्ब खर्च गरेको कर्णाली सरकारले पछिल्लो २५ दिनमा सात अर्ब रुपैयाँ बढी खर्च गरेको छ ।

    आर्थिक वर्ष २०७७/०७८ को कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेटमा जेठ मसान्तसम्म नौ अर्ब सात करोड ९२ लाख ६२ हजार एक सय ६६ खर्च भएको थियो । असार महिनाको २५ गतेसम्म १६ अर्ब ८२ करोड ७९ लाख खर्च भएको छ ।

    प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख मानवहादुर वमका अनुसार सरकारले चालु बजेटतर्फ ४९ दशमलव २५ र पुँजीगततर्फ ५० दशमलव ३४ प्रतिशत खर्च गरेको छ ।

    ‘कोरोना महामारी हुनु, कार्यान्वयन संयन्त्रको तुलनामा बजेटको आकार ठूलो हुनु, तयारीविनाका आयोजनालाई बजेट दिइनु, समयमै बजेटको बाँडफाँट नहुनुलगायतका कारण बजेट खर्च हुन सकेन’ लेखा कार्यालय प्रमुख भन्छन्, ‘मुख्यमन्त्री–मन्त्री– सचिव–कार्यालय प्रमुखबीचको कार्यसम्पादन करारको कार्य औपचारिकतामा सीमित रहनुले पनि खर्चमा समस्या भयो ।’

  • बजेट कार्यान्वयनमा फेरि चुक्यो सरकार, असारे खर्च पनि कोभिडले प्रभावित

    बजेट कार्यान्वयनमा फेरि चुक्यो सरकार, असारे खर्च पनि कोभिडले प्रभावित

    काठमाडौं । चालू आर्थिक बर्ष पनि बजेट खर्च गर्ने सवालमा सरकार कमजोर देखिएको छ । आ.ब २०७७/७८ का लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेकोमा असार १७ गतेसम्ममा ६८.६४ प्रतिशत मात्रै खर्च भएको छ ।

    अहिलेसम्मको खर्चको अवस्था हेर्दा चालू खर्च लक्ष्यनजिक रहे पनि पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फको खर्च अपेक्षत छैन । सरकारले ९ खर्ब ४८ अर्ब रुपैयाँ चालू खर्चका लागि बिनियोजन गरेकोमा पछिल्लो तथ्यांकअनुसार हालसम्म ७ खर्ब ६६ अर्ब अर्थात ८०.८२ प्रतिशत भएको छ । तर पूँजीगतर्फ ३ खर्ब ५२ अर्ब बजेट बिनियोजन भएकोमा १ खर्ब ६३ अर्ब अर्थात ४६.२ प्रतिशत मात्र खर्च भएको छ । यस्तै, वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब विनियोजित वजेटमध्ये ८१ अर्ब ३७ करोड अर्थात ४७.५९ प्रतिशत मात्रै वजेट खर्च भएको देखिन्छ ।

    राजस्व संकलनान सरकार संशाेधित लक्ष्यको नजिक छ । १० खर्ब ११ अर्ब वजेट मार्फत राजस्व संकलनको लक्ष्य राखिएकोमा करिब ८ खर्ब ४५ अर्ब रुपैयाँ अर्थात ८३.५५ प्रतिशत राजस्व संकलन भएको छ । कर राजस्वतर्फ ९ खर्ब १२ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा ७ खर्ब ८८ अर्ब अर्थात ८६.५९ प्रतिशत राजस्व उठेको छ । त्यस्तै गैह्रकर राजस्व ९८ अर्ब ८० करोड संकलन हुने अनुमान प्रस्तुत भएकोमा ५४ अर्ब ४८ करोड अर्थात ५५.४६ प्रतिशत मात्रै असुल उपर भएको छ । ६० अर्ब ५२ करोड अनुदान आउने सरकारले लक्ष्य राखेकोमा करिब १० अर्ब अर्थात १६.६५ प्रतिशत मात्रै प्राप्त भएको छ ।

    माघ १० गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दै बजेट खर्च तथा राजस्व संकलनको लक्ष्य घटाएका थिए । कुल विनियोजित वजेटको ९१.१९ प्रतिशत अर्थात १३ खर्ब ४४ अर्ब मात्रै खर्च हुने अर्धवार्षिक समीक्षामा उल्लेख गरिएको थियो । जसमध्ये चालू खर्च ९६.४ प्रतिशत, पूँजीगत खर्च ८०.२० प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८५ प्रतिशत वजेट खर्च हुने उल्लेख गरिएको छ । सरकारको स्रोतवाट संकलन हुने आन्तरिक ऋणसहित राजस्वको सहित लक्ष्य १० खर्ब ७४ अर्ब र बाह्य ऋण २ खर्ब ३५ अर्ब रुपैयाँ संकलन गर्ने बताइएको थियो ।

    जेठ १५ गते बजेट मार्फत कुल विनिजित वजेटको ८५.९ प्रतिशत अर्थात करिब १२ खर्व ६७ अर्ब रुपैयाँमा मात्रै खर्च हुने तेस्रो संशोधित अनुमान प्रस्तुत गरिएको छ । जसमध्ये चालूतर्फ ९१.४ प्रतिशत, पूँजीगततर्फ ७१.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८५.२ प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको छ ।

    कूल राजस्वको ९४.८ प्रतिशत संकलन हुने अनुमान गरिएको छ । यसैगरी २७ अर्ब ६ करोड वैदेशिक अनुदान तथा १ खर्ब ६५ अर्ब वैदेशिक ऋण र २ खर्ब २३ अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य तेस्रो संशाेधनमार्फत गरिएको छ ।

    तेस्रो संशाेधननुसार सरकारले वजेटको चालू खर्च, राजस्व, आन्तरिक तथा वाह्य ऋणको लक्ष्य भेटाउन सकिने भएपनि अन्य पूँजीगत खर्च, वित्तीय व्यवस्था र बैदेशिक अनुदानको लक्ष्य भेटाउन नसकिने देखिएको छ ।

    अर्थमन्त्रालयका अनुसार कोभिड १९ तथा विकास केन्द्रित मन्त्रालयको कमजोर खर्च प्रणालीका कारण पूँजीगत तथा वित्तीय व्यवस्था तर्फको वजेट खर्च हुन नसकेको हो । मन्त्रालयका प्रवक्ता महेश आचार्य भने, ‘चालू खर्चमा अनिवार्य दायित्व सृजना गर्ने प्रकृतिका खर्च समावेश हुने भएकाले चालूको लक्ष्यनजिक पुग्ने देखिन्छ । तर, कोभिड १९ तथा विकासे मन्त्रालयले वजेट खर्च गर्न नसक्दा पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फको खर्चको लक्ष्य भेटाउन सकिने अवस्था छैन ।’

    चालू आर्थिक वर्ष सकिन अझै केही दिन बाँकी रहेकाले वजेटको तेस्रो संसोधनअनुसारको राजस्वको लक्ष्य भेटाउन सकिने आचार्य बताउँछन् ।

    बजेट कार्यान्वयनको दीर्घरोग

    लक्ष्यनुसारको बजेट खर्च नहुने नेपालको पुरानै समस्या हो । अर्थतन्त्रको आकार तथा क्षमताभन्दा ठूलो आकारको वजेट प्रस्तुत गर्ने, विकास निर्माणको काममा ठेक्कासम्वन्धी स्पष्ट नीति तथा मापदण्डको अभाव, सरकारी खर्च गर्ने निकाय तथा ठेकेदारको कम्मजोर क्षमताजस्ता कारणले नेपालमा विनियोजित वजेट पूर्णरुपमा खर्च हुन सकेको छैन ।

    राजस्वले चालू खर्च नधान्ने तथा विकासका लागि ऋण उठाउनुपर्ने वाध्यताका कारण तेस्रो चौमासिकमा गएर एकैचोटि हचुवामा बजेट खन्याउने गरिएको छ । पछिल्ला दुई वर्षमा कोभिड चैत महिनाबाट नै सुरु भएकाले विकास वजेट हुनसकेको छैन । ऋणदाताहरुले खर्च गरेको आधार प्रस्तुत भएपछि मात्रै भुक्तानी दिने गरेका छन् ।

    विज्ञ भन्छन्ः लक्ष्य महत्वाकांक्षी, प्रणाली कमजोर

    वर्षको अन्तिममा आएर वजेट खर्च हुँदा व्यापकरुपमा स्रोतान्तर तथा रकमान्तर गरी स्रोतको दुरुपयोग हुने गरेको जानकारहरु बताउँछन् । सरकारले महत्वाकांक्षी लक्ष्य राख्ने तर कार्यान्वयन प्रणालीमा सुधार गर्न नसकेको उनीको तर्क छ । बजेट खर्चका सम्वन्धमा केही अर्थविदको प्रतिक्रिया जस्ताको तस्तैः

    सरकार यथार्थभन्दा पनि प्रचारवादी भयाे
    पूर्व अर्थमन्त्री डा. रामशरण महत

    सरकारले अर्थतन्त्रको क्षमताभन्दा ठूलो आकारको बजेट ल्याउने प्रवृत्ति छ । तर कार्यान्वयन क्षमता कमजोर भएका कारण बजेट खर्च हुन नसकेको हो ।

    यो सरकार बढी महत्वकांक्षी भएर धाकधम्की धेरै लगाउने र वजेटको लक्ष्यहरु ठूला-ठूला राख्ने गरेको छ । कार्यान्वयन गर्ने क्षमता भने देखिएन । कुनै पनि कार्यक्रमको पूर्वतयारी तथा अध्ययन नगरी बजेटमा सिधै समावेश गरेर प्रचारात्मक ढंगले बजेट प्रस्तुत गरिएकाले पनि कार्यान्वयन नभएको हो ।’

    आर्थिक बृद्धिको लक्ष्य नै हेर्नुस् । गत वर्ष सरकारले ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राख्यो तर २ प्रतिशतले ऋणात्मक भयो । चालू आर्थिक वर्ष ७ प्रतिशतको लक्ष्य राखेकोमा २ प्रतिशत पनि हासिल हुने अवस्था छैन । त्यसैले यो सरकार यथार्थभन्दा पनि प्रचारात्मक कुरामा मात्रै विश्वास गर्छ भन्ने पुष्टि हुन्छ ।

    अनुगमन र मूल्यांकनको पाटो कमजोर
    डा. शंकर शर्मा

    पर्याप्त तयारीविना आयोजनाहरु वजेटमा समावेश गर्नु तथा अनुगमन र मूल्यांकनको पाटो कमजोर हुनुले वजेट खर्च गर्ने प्रणालीमा सुधार हुन सकेको छैन । जबसम्म हामीले अघिल्लो वर्ष आयोजनाको पर्याप्त तयारी गरेर क्यालेण्डर तयार गर्दैनौं, तबसम्म वजेट खर्चमा सुधार हुने देखिदैन ।

    जग्गा प्राप्ति, डीपीआर लगायतका सम्पुर्ण काम सम्पन्न गरेर टेण्डर प्रक्रिया अगाडि बढाउने गरी मात्रै वजेटमा कार्यक्रम समावेश गर्नुपर्ने शर्माको मत छ । सरकारी निकाय तथा निर्माण व्यवसायीको खर्च गर्ने क्षमतामा सुधार गर्न नसक्दा वजेट खर्च कम हुने गरेका छ ।

    आयोजना समयमा नै सम्पन्न गर्नका लागि आर्थिक पाटोलाई भन्दा वढी प्रावधिक पाटोलाई महत्व दिनुपर्छ । आयोजनामा राजनीतिक हस्तक्षेप कम गर्ने र आयोजना प्रमुखलाई ढुक्कसँग काम गर्ने वातावरण निर्माण गरिदिएमा आयोजनाले गति लिन सक्छ ।

    गत आर्थिक वर्ष र चालू आर्थिक वर्ष कोभिड १९ का कारण पनि कम वजेट खर्च भएको अने । सबैभन्दा वढी खर्च तथा काम हुने समयमा कोभिड–१९ ले असर गर्‍यो । चालू आर्थिक वर्ष मनसुन पनि अलिक चाँडो आयो । तर, यसले हामीलाई कामहरु चाँडो गर्नुपर्छ भन्ने पाठ सिकाएको छ ।

    बजेटको विधि-प्रकृया र खर्च संयन्त्रमा सुधार आवश्यक
    अर्थविद् डा. डिल्लीराज खनाल

    नेपालमा असार लागेपछि वजेट खर्च गर्ने तयारी हुन्छ । गत वर्ष पनि पुँजीगत खर्च ५० प्रतिशतभन्दा कम भएको थियो । चालू आर्थिक वर्षको अवस्था पनि त्यस्तै छ ।

    वजेट खर्चमा सुधार गर्ने हो भने हामीले बजेट निर्माण गर्ने विधि, प्रकृया, खर्च गर्ने संयन्त्र र क्षमतामा सुधार गर्नुपर्छ । यसमा सुधार गर्न नसक्दा बजेट खर्चलाई परिणामुखी तथा उत्पादनमुलक बनाउने भन्दा पनि खर्चका लागि खर्च गर्ने जस्तो देखिन्छ ।

    हामीले वजेटपूर्व र वजेटपछि प्रणालीगतरुपमा वजेट खर्चमा सुधार गर्नुपर्छ भनेर सुझाव दिए पनि सुनवाइ भएको छैन । पराम्परागत हाम्रो बजेट खर्च गर्ने प्रणालीमा सुधार नभएको परिणामको उपज अहिलेको बजेटमा प्रतिबिम्बित भएको देखिन्छ ।

    बजेट खर्च नहुँदा यसका बहुपक्षीय असरहरु देखिन्छन् । समयमा नै वजेट खर्च नगर्ने प्रवृत्तिका कारण व्यापकरुपमा रकमान्तर हुने, स्रोतको सदुरुपयोग हुने, गरिएको कामको गुणस्तर तथा दिगो नहुने समस्या हुन्छ । खर्चका लागि खर्च गर्ने यो पुरानै प्रवृत्तिको निरन्तरताले हाम्रो सम्वृद्धिको यात्रालाई धक्का लागेको छ । आर्थिक विकास, उच्च तथा दिगो आर्थिक विकास गरी समुन्नत अर्थतन्त्र निर्माणमा टेवा नपुर्‍याउने भएकाले यो गम्भीर प्रकृयाको समस्या हो भन्ने मलाई लाग्छ ।

    परिस्थितिको आँकलन भएन
    प्रा.डा. चन्द्रमणि अधिकारी

    मैले चालू आर्थिक वर्षको वजेट प्रस्तुत हुनेवेलामा नै यो वजेट पनि संकटमा पर्यो भनेको थिएँ । कोभिड १९ तथा परिस्थितिलाई ध्यानमा नराखी वजेट प्रस्तुत गरिएकाले खर्चमा समस्या आउनु स्वभाविक हने ।

    कोभिडले अर्थतन्त्रका उत्पादन, रोजगारी, उपभोग र व्यापार तथा व्यवसायमा पारेको असरका वारेमा सघनरुपमा अध्ययन नगरी वजेट प्रस्तुत गरौं । त्यस्तै विगतमा वजेट खर्च हुन नसक्ने तथ्यको खोजी गरेर बजेट आउन सकेको छैन । चालू आवको वजेट पनि परिस्थितिभन्दा पराम्परागत शैलीमा आयो । हामीले हालको अवस्थाको राम्रोसँग आंकलन गर्न नसक्दा वजेट खर्च हुन सकेन ।

    बजेट वैज्ञानिक ढंगबाट निर्माण गरी पूर्ण तयारी अवस्थामा रहेका आयोजना मात्रै राख्नुपर्‍याे । वजेट आउनुभन्दा अगाडि नै टेण्डरका कागजातहरु पूरा गर्नुपर्छ । त्यसपछि मात्रै वजेट प्रस्तुत गर्ने, तालिका निर्माण र ठेक्का आव्हान, मूल्यांकन र अवार्ड भदौभित्रमा नै सम्पन्न गर्न सक्ने हो भने मात्रै बजेट खर्च समयमा नै हुन्छ ।

    त्यस्तै डिजिटल माध्यमको उपयोग र तीनै तहका सरकारहरुबीच उपयुक्त तालमेल कायम गरी काम अगाडि बढाउन आवश्यक छ ।

    राजनीतिक अस्थिरताले बजेट खर्च प्रभावित
    पूर्व गभर्नर दीपेन्द्रवहादुर क्षेत्री

    वजेटको अंक र विनियोजन कार्यक्रमबीच तालमेल देखिएन । वजेट विनियोजन गर्ने तर स्रोत उपलव्ध नगराउने परिपाटी देखिन्छ ।

    अर्कोतर्फ ५ जना मन्त्रीले आएर देश चलाउनुपर्ने अवस्था आयो । यसले गर्दा पनि बजेट कार्यान्वयन प्रभावित हुने देखिन्छ । अर्कोतर्फ चुनावको समय पनि छ । सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुमा पर्याप्त वजेट विनियोजन गरेको छैन । वजेटमा समावेश भएका नयाँ कार्यक्रमका डिपीआर तथा जग्गा प्राप्ती र मुआव्जामा नै विबाद देखिन्छ ।

    वजेट खर्चमा प्रभावकारीरुपमा नहुँदा जनतामा निराशा छाएको छ । राजनीतिक विवादको हल गरेर, उचित जनशक्ति व्यवस्थापन गरेर अगाडि वढ्ने हो भने मात्रै वजेट खर्च प्रभावकारी हुनेछ । यो सरकार राजनीतिक विवादमा नै उल्झिएकाले प्रणालीगत संरचना गर्न नसक्दा त्यसको प्रतिफल वजेट खर्चमा पनि देखिएको हो भन्ने लाग्छ ।

  • दमकको बजेटको नारा: ‘निरोगी शहर’देखि ‘मनमोहन भत्ता’सम्म( पूर्णपाठ)

    दमकको बजेटको नारा: ‘निरोगी शहर’देखि ‘मनमोहन भत्ता’सम्म( पूर्णपाठ)

    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकलाई स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन विकासका दृष्टिले मुलुककै नमूना बनाउन  नीति तथा योजना अघि सारिएको छ ।

    नगरको वर्तमान जनप्रतिनिधिको कार्यकालको अन्तिम बजेट भएको हुँदा यसअघिका सबै अधुरा विकासे परियोजना नयाँ आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ विकास निर्माणमा बजेट विनियोजन गरिएका छन् ।

    एक अर्ब ३८ करोडको बजेट

    नगरपालिकाले आगामी आव २०७८÷७९ का लागि एक अर्ब ३८ करोड ४५ लाख ९९ हजारको बजेट निर्माण गरेको छ । नगरले भौतिक पूर्वाधारको साथै आर्थिक, सामाजिक विकासका गतिलाई अघि बढाउने उद्देश्यले कृषि, उद्योग, वाणिज्य तथा पर्यटन, सहकारी, पशुपक्षी विकास, शिक्षा, युवा तथा खेलकूद, स्वास्थ्य तथा सामाजिक सुरक्षा र संरक्षण, खानेपानी, सरसफाइ, लैङ्गिक समानता र सामाजिक समावेशीकरणलगायतका क्षेत्रका लागि ४२ करोड ५२ लाख ६९ हजार बजेट विनियोजन गरेको छ ।

    त्यसैगरी वातावरण संरक्षण, विपद् व्यवस्थापन र सुशासनलगायतका क्षेत्रमा नगरले आठ करोड ९७ लाख ६८ लाख बजेट छुट्याइएको छ । नगरपालिकाले सङ्घीय सरकारले तोकेअनुरुप नै विद्यालयमा कार्यरत बालशिक्षिका र कर्मचारीलाई प्रतिव्यक्ति मासिक सात हजार उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको छ । सामाजिक सुरक्षा कोषमा आवद्ध नहुन्जेलसम्म करार कर्मचारीले पाए सहर संचय कोषको सुविधामा आवद्ध गराउने गरी बजेटको व्यवस्था गरिएको छ ।

    कृषिक्षेत्र जनजीविकाको महत्वपूर्ण आधार भएको हुँदा कृषकलाई प्रोत्साहन गर्न अनुदान तथा निःशुल्क सेवाको व्यवस्था गर्न रु एक करोड नौ लाख बजेट विनियोजन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि नगरपालिकामा रोजगार सेवा केन्द्र स्थापना भइसकेको हुँदा ‘नजाऊँ विदेशमा, सम्भव छ आफ्नै ठाउँमा’ भन्ने नारा तयार गरेर नगरले अभियान सञ्चालन गरिरहेको छ ।

    नगरपालिकाले पर्यटकीय गन्तव्यमा फ्रि वाइफाइको व्यवस्था गर्ने, नगर क्षेत्रभित्र रहेका धार्मिक, सांस्कृतिक, पुरातात्विक स्थान, मठमन्दिर, गुम्बा, ग्रामथान तथा महाराजथान, माङ्गहिम, मदरसा, चर्च आदिको संरक्षण गरिनुका साथै छुट्टाछुट्टै स्थानको प्रोफायल तयार गर्ने योजना बनाएको छ ।

     

    निरोगी शहर दमक

    दमक नगरपालिकाले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा बजेटमा नगरलाई ‘निरोगी शहर’ बनाउने प्रण गरिएको छ । पच्चीस शय्यामा सञ्चालन भइरहेको दमक अस्पताललाई आगामी आवमा ५० शय्यामा विस्तार गरिने र त्यसको सञ्चालनमा लाग्ने ११ करोड नगरपालिकाको आन्तरिक स्रोतबाट व्यहोर्ने नगर उपप्रमुख गीता अधिकारीले बताइन्।

    कोभिड–१९ को सङ्क्रमणबाट नगरवासीलाई जोगाउन विपद् व्यवस्थापन कोषमा दुई करोड ५० लाख बजेट छुट्याइएको र अग्रपङ्क्तिमा रही काम गर्दै आएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सुविधा र प्रोत्साहन दिइने उनले बजेटमा उल्लेख गरेकी छन् । घरमै सुत्केरी गराउने कार्य शून्यमा पुर्‍याउने लक्ष्य लिएर सुत्केरीलाई अस्पताल पुर्‍याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था नगरपालिकाले मिलाउने भएको छ । अशक्त र ज्येष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा घरघरमै पुर्‍याइने जनाइएको छ ।

    महिलाको पाठेघर र स्तन क्यान्सर परीक्षणका लागि निःशुल्क व्यवस्था मिलाइएको र विपन्न, दलित तथा आदिवासी जनजातिका लागि मुटु, मिर्र्गौला र क्यान्सरसम्बन्धी रोगको उपचारमा नगरपालिकाले आर्थिक सहायता प्रदान गर्ने नीति लिएको उपप्रमुख अधिकारीले बतााइन्। नगरवासीलाई निःशुल्करूपमा कोरोनाविरुद्धको खोप छिटो लगाउन सङ्घीय र प्रदेश सरकारसँग पहल गर्ने तथा नयाँ आवमा ७०० गरिब परिवारको स्वास्थ्य बीमा गराउन लाग्ने शुल्क नगरपालिकाले व्यहोर्ने भएको छ ।

    महिला स्वास्थ्य स्वयंसेविकालाई ६० वर्षे उमेर हद पूरा गरेपछि एकमुष्ठ ६० हजार निवृत्तिभरण उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ । नगरपालिकाले नगरभित्रका सञ्चार माध्यममा कार्यरत सबै पत्रकारको स्वास्थ्य बीमा गरिदिने र सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराएर मासिक रकम प्रदान गर्ने भएको छ ।

    ‘कच्ची सडकमुक्त’ नगर दमक

    नगरभित्रका सबै कच्ची सडकलाई आउँदो आवभित्रै ग्राभेल गरिसकेर नगरलाई ‘कच्ची सडकमुक्त’ बनाउने नगरपालिकाको महत्वाकाङ्क्षी योजना छ । नगर प्रोफाइलअनुसार दमक क्षेत्रभित्र अझै पनि १९ दशमलव ४७ प्रतिशत परिवार सहज प्रकारको सडक पहुँचमा छैन । नगरभित्र ग्राभेल सडक ३२० किलोमिटर, पक्की सडक ५५ किलोमिटर र कच्ची सडक १४३ किलोमिटर रहेको छ ।

    उपप्रमुख अधिकारीका अनुसार आव २०७८/७९ को बजेट कार्यान्वयन भइसक्दा नगरका सबै कच्ची सडक ग्राभेल भइसक्ने छन् भने सहज प्रकारको सडकको पहुँचमा सबै नगरवासीलाई पुर्‍याउने कार्य सम्पन्न हुनेछ । नयाँ बजेटमा २०० किलोमिटर सडकलाई ग्राभेल, २० किलोमिटर ग्राभेलको मर्मतसम्भार र १० किलोमिटर सडक पक्की तथा कालोपत्र गरिने भनिएको छ ।

    नगरपालिकाले सडक पूर्वाधार विकासका लागि आव २०७८/७९ का लागि  ५२ करोड १० लाख ७६ हजार बजेट विनियोजन गरिएको र  चार करोड वडागत बजेटको व्यवस्था गरिएको छ ।

    ‘मनमोहन भत्ता’को शुरुआत

    सङ्घीय सरकारले सामाजिक सुरक्षा भत्ता दिएजस्तै दमक नगरपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएकालाई वार्षिक दुई हजारका दरले ‘मनमोहन अधिकारी स्मृति सामाजिक सुरक्षा भत्ता’ प्रदान गर्ने भएको छ ।

    ज्येष्ठ नागरिकको मोतियाविन्दु र प्रोस्टेटको उपचार नगरपालिकाले निःशुल्करूपमा गरिदिने भएको छ भने सबै वडामा ज्येष्ठ नागरिकको भेटघाट र बसिबियाँलो गर्ने थलोका रूपमा ज्येष्ठ चौतारी निर्माण गरिने जनाइएको छ । नगरभित्र सञ्चालित निजी अस्पताल, स्वास्थ्य क्लिनिक, होमियो र आयुर्वेदिक क्लिनिकमा परिचयपत्रका आधारमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण निःशुल्क बनाइने भएको छ ।

    कृषिमा अनुदानै अनुदान

    कृषि क्षेत्रमा बढ्दो निराशालाई आशामा बदल्न दमक नगरपालिकाले व्यावसायिक तथा सामूहिक खेतीमा प्रशस्त अनुदान दिने कार्यक्रम ल्याएको छ । ‘कृषिमा प्रोत्साहन, अनुदानै अनुदान’ कार्यक्रमअन्तर्गत नगरभित्रका कृषि समूह तथा कृषि सहकारीलाई सिँचाइका लागि खपत भएको विद्युत् महसुलमा शतप्रतिशत अनुदान दिने भएको छ ।

    कृषि चुन र माटो परीक्षण सेवा निःशुल्क पाइने तथा जैविक मलमा ५० प्रतिशत अनुदान प्रदान गर्ने नगरको नीति रहेको छ । वैदेशिक रोजगारीको साटो स्वदेशमै कृषि उद्यममा लाग्न प्रोत्साहित गर्ने उद्देश्यले सामूहिक खेतीमा नगरपालिकाले प्राथमिकता दिएको छ । यसका लागि नगरपालिकाकाले ‘खनौँ आफ्नो माटो, छोडौँ विदेशको बाटो’ नारा तय गरेको छ । ‘बालीमा विषादी, स्वास्थ्यमा बर्बादी’ अभियान सञ्चालन गरी नगरले विषादीको प्रयोग न्यूनीकरण गर्ने र जैविक खेतीलाई प्रोत्साहित गर्ने भएको छ ।

  • सुदूरपश्चिम प्रदेश : अर्थमन्त्रीको कुलदेवता मन्दिरलाई १ करोड

    सुदूरपश्चिम प्रदेश : अर्थमन्त्रीको कुलदेवता मन्दिरलाई १ करोड

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा मन्दिर निर्माणका लागि १९ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।

    सोही क्रममा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आफ्नो कुलदेवताको मन्दिरमा पनि बजेट विनियोजन गरेका छन् । बाजुराको खप्तड छेडेदेह गाउँपालिका-४ मा रहेको ज्यूलेख मन्दिर निर्माणका लागि एक करोड रूपैयाँ विनियोजन गरिएको हो ।

    सुदूरपश्चिम सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि एक सय ७२ वटा मन्दिर, चर्च र गुम्बा निर्माण गर्न १६ करोड ७२ लाख बजेट विनियोजन भएको छ । जसमा एउटा चर्च, तीनवटा गुम्बा र बाँकी सबै मन्दिर छन् ।

    उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पर्यटन क्षेत्रमा विनियोजन गरेको बजेटको झन्डै एक तिहाइ बजेट धार्मिक संस्थामा दिइएको छ ।

  • एक उपमहानगरपालिकासहित ७२ स्थानीय तहले तोकिएको समयमा बजेट ल्याउन सकेनन्, तीन वटा सम्पर्कबाहिर

    एक उपमहानगरपालिकासहित ७२ स्थानीय तहले तोकिएको समयमा बजेट ल्याउन सकेनन्, तीन वटा सम्पर्कबाहिर

    काठमाडौं । मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये ७२ स्थानीय तहले आगामी आर्थिक वर्ष ०७८/०६९ को बजेट तोकिएको समयमा ल्याउन सकेनन् । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघको तथ्यांकअनुसार ६ सय ८१ स्थानीय तहले मात्रै बजेट ल्याएका छन् ।

    कानून अनुसार हरेक वर्ष असार १० गतेभित्र स्थानीय तहले वार्षिकय बजेट सार्वजनिक गर्नुपर्छ । तर, ७२ स्थानीय तहले यो म्यादभित्र बजेट ल्याउन नसकेका हुन् । ७ वटै प्रदेशका ४ सय ६० गाउँपालिकामध्ये ४१७ अर्थात ९१ प्रतिशत गाउँपालिकाले बजेट सार्वजनिक गरे पनि ४० वटा अर्थात् ९ प्रतिशत गाउँपालिकाले ल्याएका छैनन् ।

    महासघका अनुसार अनुसार ३ वटा गाउँपालिकाले बजेट ल्याए-नलाएको जानकारी नै छैन । सम्पर्कमा नरहेकामध्ये २ वटा गाउँपालिका लुम्बिनी प्रदेशका र एउटा गण्डकी प्रदेशका गाउँपालिका रहेको महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए ।

    ३४ प्रतिशत गाउँपालिका प्रदेश २ का

    सबैभन्दा बढी ३४ प्रतिशत प्रदेश २ का गाउँपालिकाले बजेट ल्याउन नसकेको पाइएको छ । प्रदेश २ का जम्मा ५९ वटा गाउँपालिकामध्ये ६६ प्रतिशत अर्थात ३९ गाउँपालिकाले बजेट ल्याए भने ३० स्थानीय तहले बजेट ल्याउन सकेनन् ।

    दोस्रोमा कर्णाली प्रदेशका १३ प्रतिशत गाउँपालिकाले पनि बजेट ल्याउन सकेनन् । जम्मा ५४ गाउँपालिकामध्ये ८७ प्रतिशत अर्थात ४७ गाउँपालिकाले बजेट ल्याए पनि ७ वटा स्थानीय तहले ल्याउन नसकेका हुन् ।

    यस्तै गण्डकी प्रदेशका ७ प्रतिशत गाउँपालिकाले बजेट ल्याउन सकेनन् । जम्मा ५८ गाउँपालिकामध्ये ९१ प्रतिशत अर्थात ५३ ले ल्याए भने ४ वटाले ल्याउन सकेनन् । गण्डकी प्रदेशको एउटा गाउँपालिका भने सम्पर्कमा नआएको गाउँपालिका राष्ट्रिय महासंघले जनाएको छ ।

    यस्तै प्रदेश १ र बागमती प्रदेशका ५-५ प्रतिशत गाउँपालिकाले बजेट ल्याएनन् । प्रदेश १ मा जम्मा ८८ गाउँपालिकामध्ये ८४ ले ल्याए भने ४ वटाले ल्याउन सकेनन् । बागमती प्रदेशका ७४ गाउँपालिकामध्ये ७० ले बजेट सार्वजनिक गर्दा ४ गाउँपालिकाले गर्न सकेनन् ।

    सुदूरपश्चिम प्रदेशका जम्मा ५४ गाउँपालिकामध्ये ५३ ले बजेट ल्याए भने एउटाले ल्याउन सकेन । लुम्बिनी प्रदेशका ७३ गाउँपालिकामध्ये ७१ ले बजेट ल्याए भने २ वटा गाउँपालिका सम्पर्कमा नआएको महासंघले जनाएको छ ।

    २९ नगरपालिकाले सकेनन्

    नेपाल नगरपालिका संघको तथ्यांकअनुसार ७ वटै प्रदेशमा २ सय ७६ नगरपालिका, ११ उपमहानगरपालिका र ६ महानगरपालिकामध्ये ९० प्रतिशत अर्थात २ सय ६४ ले आगामी आर्थिक वर्ष २०७८/०७८ को बजेट सार्वजनिक गरे । तर १० प्रतिशत अर्थात २९ स्थानीय तहले भने तोकिएको समयमा बजेट सार्वजनिक गर्न नसकेको नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले नेपाल प्रेसलाई जानकारी दिए ।

    उनका अनुसार सबैभन्दा बढी प्रदेश २ का २१ नगरपालिकाले बजेट ल्याउन सकेनन् । प्रदेश २ का ७७ नगरपालिकामध्ये ४८ स्थानीय तहले बजेट नल्याएको व्याञ्जुले बताए ।

    नेपाल नगरपालिका संघका अनुसार प्रदेश २ मा बजेट सार्वजनिक नगर्ने स्थानीय तहमा एउटा उपमहानगरपालिका पनि रहेको छ । बाराको कलैया उपमहानगरपालिकाले बजेट ल्याएको छैन । बाँकी नगरपालिकामा खडक नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बोदे बरसाइन नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, कर्जन्हा नगरपालिका, मिथिला बिहारी नगरपालिका, विदेह नगरपालिका, हंसपुर नगरपालिका, औरही नगरपालिका रहेका छन् ।

    यस्तै बजेट नल्याउनेमा बलवा नगरपालिका, भँगाहा नगरपालिका, रामगोपालपुर नगरपालिका, लोहरपट्टी नगरपालिका, बलरा नगरपालिका, गरुडा नगरपालिका, सिम्रौनगढ नगरपालिका, पर्सागढी नगरपालिका र बहुदरमाई नगरपालिका रहेका छन् ।

    प्रदेश १ जम्मा ४९ नगरपालिकामध्ये ४५ ले बजेट ल्याए पनि ४ वटा नगरपालिकाले सकेका छैनन् । प्रदेश १ का बजेट नल्याउनेमा चैनपुर नगरपालिका, पाँचखपन नगरपालिका, लालिगुँरास नगरपालिका रहेका छन् ।

    यस्तै तेस्रोमा कर्णाली प्रदेशका २५ वटा नगरपालिकामध्ये २३ नगरपालिकाले बजेट सार्वजनिक गरे पनि २ वटा नगरपालिकाले बजेट ल्याएनन् । जसमा बागचौर नगरपालिका र ठूलो भेरी नगरपालिका रहेका छन् ।

    बागमती प्रदेशका ४५ नगरपालिकामध्ये ४४ ले ल्याउँदा एउटा मात्रै भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले बजेट ल्याउन सकेन । गण्डकी प्रदेशका २७ नगरपालिकामध्ये २६ ले बजेट ल्याउँदा भानु नगरपालिकाले पनि बजेट ल्याएन । तर लुम्बिनी प्रदेशका ३६ वटै र सुदूरपश्चिमका ३४ वटै नगरपालिकाले तोकिएकै समयमा बजेट सार्वजनिक गरेका छन् ।

    १ सय ११ स्थानीय तह मात्र प्रविष्ट

    स्थानीय तहले बजेट सार्वजनिक गरिसकेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्ने व्यवस्था छ । हालसम्म १ सय ११ स्थानीय तहले मात्र बजेट सार्वजनिक गरेको भनेर मन्त्रालयको पोर्टलमा प्रविष्ट गराएका छन् ।

    मन्त्रालयको पोर्टलमा उल्लेख गरिएअनुसार जम्मा स्थानीय तहमध्ये १४ दशमलव शुन्य ८ प्रतिशतले बजेट सार्वजिनक गरेपछि प्रविष्ट गरेका छन् । ८५ दशमलव ९२ प्रतिशत अर्थात ६ सय ४७ स्थानीय तहले प्रविष्ट नगराएकाले बजेट सार्वजनिक नगरेको देखिन्छ ।

    सरकारले सबै स्थानीय तहलाई नगर सभामा बजेट पेश भएको विवरण पठाउन परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै बजेट सभामा पेश गरेको तथा सभाबाट स्वीकृत भएको विवरण मन्त्रालयको पोर्टलमा प्रविष्ट गरी त्यसको जानकारी मन्त्रालयलाई गराउन भनेको हो ।

    बजेट पेश गर्नुभन्दा पनि पारित कहिले भयो भन्नेले अर्थ राख्ने मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव बसन्त अधिकारीले नेपाल प्रेससँग बताए ।

    उनले भने, ‘१० गते बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था हो । दिनले त्यस्तो खासै अर्थ राख्दैन । तर कानूनी व्यवस्था भएकाले पालना त गर्नुपर्छ नै । तर असार मसान्तसम्म पारित भएन भने समस्या आउँछ ।’

    २०७५/०७६ मा १ सय ५१ स्थानीय तहले अघिल्लो वर्ष बजेट पेश नगरेको महालेखा परिक्षकको प्रतिवेदनले देखाएको थियो । बजेट नल्याउने स्थानीय तहमाथी कारवाहीको कुनै व्यवस्था गरिएको छैन । अघिल्लो आर्थिक वर्षमा ५ वटा स्थानीय तहले आगामी वर्षको बजेट सार्वजिनक भइसक्ने मिति टरिसक्दा समेत सार्वजनिक गरेनन् । पछिल्लो समय तोकिएको समयमा बजेट नल्याउने स्थानीय तहलाई अनुदान समानिकरण नदिनुपर्ने माग उठ्दै आएको छ भने राज्यले दिने अनुदान रकम पनि कटौती गनुपर्ने आवाज उठ्न थालेको छ ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा २ तथा अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा ३ अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र सम्बन्धित गाउँ वा नगरसभामा बजेट पेश गर्नुपर्ने प्रावधान रहेको छ । स्थानीय तहले ढिलोमा असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानूनी व्यवस्था गरेको छ । मुलुकभर ७ सय ५३ स्थानीय तहमध्ये ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका छन् ।

  • बजेट विथोलिएपछि चिरीबाबुको आरोपः ३ नम्बरका वडाध्यक्ष सँधै मेरो विरोध गर्छन्

    बजेट विथोलिएपछि चिरीबाबुको आरोपः ३ नम्बरका वडाध्यक्ष सँधै मेरो विरोध गर्छन्

    काठमाडौं । नगरसभाको बैठक बहुमत सदस्यले बहिष्कार गरेपछि ललितपुर महानगरपालिकाले आज आफ्नो वार्षिक बजेट सार्वजनिक गर्न सकेको छैन । यस सम्वन्धमा महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एकजना वडाध्यक्षले नगरसभा विथोलेको गुनासो गरेका छन् ।

    बिहीबार विहान ११ बजेका लागि बोलाइएको नगरसभा वैठक नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका प्रतिनिधिले बहिस्कार गरेका थिए । मेयर महर्जनले नीति तथा कार्यक्रम पेश गर्दा छलफल गर्न नदिएको भन्दै उनीहरुले नगरसभा बहिष्कार गरेका हुन् ।

    मेयर महर्जन भने वडा नं। ३ का वडाध्यक्षले जहिले पनि आफ्नो विरोध मात्रै गर्दै आएको बताउँछन् ।उनी भन्छन्, ‘श्रीगोपाल महर्जनले के कारण मेरो विरोध गरिरहेका छन् भन्ने बुझ्न सकेको छैन । मैले त उहाँलाई त्यस्तो केही गरे जस्तो लाग्दैन ।’

    श्रीगोपालकै कारण नगरसभामा बजेट ढिला पेस भएको महर्जनले बताए । उपमेयरले नगरसभाको बैठक बोलाउदा पनि ३ नम्बरका वडा अध्यक्ष बैठकमा आउन नमान्ने गरेको उनको आरोप छ । ‘अब कानुनअनुसार नै ३ दिनपछि नयाँ बजेट आउँछ,’ उनले भने ।

    ललितपुरका मेयर चिरीबाबु महर्जनलाई नगरसभाका सदस्यहरुले आगामी वर्षका लागि ल्याउन लागिएको बजेट पढेर पास गर्र्नु भनेपछि मेयरले सभाका सदस्यलाई चुनाव जितेर आउनुस् भनेपछि नगरसभा रोकिएको छ ।

    ललितपुर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जनले भने नगरसभा सदस्यले नयाँ बजेट पढेर मात्रै पास गर्नुपर्छ भन्दा मेयरले नराम्रो जवाफ फर्काएको आरोप लगाए ।

    उनले भने, ‘पढेर बजेट पास गर्ने हो भने अर्को पटक चुनाव जितेर आउनु भन्न्भयो । हामीले बजेटभित्र के–के हटाउन र थप्न पर्ने छ भन्ने कुरा पढेर मात्रै थाहा पाउँछौं भन्दा पनि आफ्नो मात्रै कुरा राख्नुभयो । त्यसैले नगरसभामा रहेका ९२ सदस्यहरुमध्ये ६६ जनाले महानगरको सभा बहिकार गर्ने निर्णय गरेको हौं ।’

    अघिल्लो वर्षको बजेट ल्याउने बेलामा पनि मेयरले नगरसभाका सदस्यहरुलाई पेलेर नै गएको उनको आरोप छ । ‘यस वर्ष पनि त्यस्तै गर्न सकिन्छ भन्ने थियो होला । तर हामीले पोहोर कोरोना भएको कारणले चुप लागेर बजेट पास गरेका थियौं । यस वर्ष कानुनअनुसार बजेट नआएकाले हामीले पास नगराएका हौं । हामी पनि चुनाव जितेर नै आएका प्रतिनिधि हौं । मेयरको मात्रै एकलौटी चल्दैन ।’

    उनले थपे, ‘मेयर भनेको गाडीको चालक हो भने सहचालक हौं । चालकलाई कसरी अगाडि लैजाने भन्ने आफ्नो पनि भूमिका हुने महर्जनले बताए ।

    अब के हुन्छ ललितपुरको बजेट ?
    नगरसभाले बजेट पास नगरे असार १३ गते नयाँ बजेट ल्याउन मिल्ने प्रावधान छ । मयेरले अब ३ पटक लगातार नगरसभा बोलाउन सक्छन् । ३ पटकसम्ममा पनि सभाले बजेट पास नगरे जम्मा सदस्यको २५ प्रतिशत संख्याले बजेट पास गराएर नयाँ बजेट ल्याउन सक्ने स्थानीय सरकारको कानुनमा व्यवस्था रहेको महर्जनले बताए ।

    ‘हामी कानुनअनुसार चल्ने भएकाले मेयरले बोलाएको नगरसभामा गएर बजेट पास गराउने छौं । नियमानुसार काम गर्नुपर्छ भनेर मेयरलाई सिकाएको मात्रै हो । हामी हाम्रो वडाको बजेट अब ३ दिनपछि पास गराएर ल्याउने छौं,’ महर्जनले भने ।

    ललितपुर बाहेक अन्य ठाउँमा पनि बजेट पास गर्न समस्या भएको छ । रौतहटको मौलापुर नगरपालिको बजेट पास गर्ने बेला दुई पक्षबीच झडप नै भयो ।

    माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका पूर्वमन्त्री एवं नेता प्रभु साह नगरसभाका प्रमुख अतिथि थिए । साह पक्षका कार्यकर्तासँग नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव पक्ष, नेपाली कांग्रेस र जसपा कार्यकर्ताबीच झडप भएको हो ।

  • पोखरा महानगरले ल्यायो ६ अर्ब २७ करोड रुपैयाँको बजेट

    पोखरा महानगरले ल्यायो ६ अर्ब २७ करोड रुपैयाँको बजेट

    काठमाडौं । असार १० गतेसम्ममा स्थानीय तहहरुले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थानुसार पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८/८९ को बजेट प्रस्तुत गरेको छ।

    पोखरा महानगरपालिका मेयर मानबहादुर जीसीले बुधवार नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आज उक्त महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी छिन् । महानगरपालिकाले कुल ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

    जसमध्ये संघीय सरकार प्राप्त हुने वित्तीय हस्तान्तरणवाट २ अर्ब ५६ करोड १६ लाख अर्थात ४१ प्रतिशत , प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट ९ करोड २८ लाख अर्थात १.५ प्रतिशत, संघीय सरकारको राजस्व बाँडफाँडवाट ३१ करोड २१ लाख ९४ हजार ५ , प्रदेश सरकार राजस्व बाडँफाडँवाट ६ करोड १८ लाख अर्थात १ प्रतिशत, आन्तरिक आयबाट २ अर्ब २२ करोड अर्थात ३५ प्रतिशत संकलन हुने र अपुग हुने १ अर्ब ३ करोड ७५ लाख रुपैयाँ रकम गत आ.व को सञ्चित बचत र चालू आर्थिक वर्षको बचत हुने रकमबाट स्रोत व्यवस्थापन गर्ने महानगरपालिकाले जनाएको छ ।

    कुल विनियोजित बजेट मध्ये २ अर्ब ९४ करोड ९० लाख रुपैयाँ अर्थात ४६।४ प्रतिशत , पुँजीगत तर्फ ३ अर्व ३६ करोड ८० लाख अर्थात ५३।६ प्रतिशत रकम विनियोजन गरेको छ ।

    त्यस्तै कुल खर्च मध्ये महानगरपालिको कार्यालय तर्फ २८ करोड ८६ लाख अर्थात १४ प्रतिशत,सामाजिक विकासतर्फ १२ करोड ७९ लाख अर्थात २ प्रतिशत , शिक्षातर्फ १ अर्ब ४२ करोड ८७ लाख अर्थात २२।७५ प्रतिशत, कृषि तर्फ १४ करोड ४९ लाख अर्थात २.३ प्रतिशत , स्वास्थ्यतर्फ ४० करोड २२ लाख अर्थात ६.४ प्रतिशत, वडा कार्यालय तर्फ ४१ करोड ६० लाख अर्थात ६.६ प्रतिशत, पुर्वाधार तर्फ २ अर्ब ८६ करोड ९० लाख अर्थात ४५.७ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

    महानगरपालिकाको तिव्ररुपमा सहरीकरण भइरहेको क्षेत्रमा उपभोक्ता समूहहरुबाट १० करोड सहयोगको प्रतिवद्धता र ‘हाम्री बनाउछौं हाम्रो महानगरपालिका’ अन्तर्गत १० करोड रुपैयाँ गरी कुल २० करोड विनियोजन गरिएको छ । त्यस्तै वडा भवन , विद्यालय,स्वास्थ्य चौकी जस्ता भवन निर्माण र मर्मत संभारका लागि महागरपालिकाले ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।

    ‘हाम्रो पोखरा उज्यालो पोखरा’ अभियान अन्तर्गत सडक वत्तीका लागि विद्युत प्राधिकरणले १३ करोड र यसको कुल लागतमा महानगरपालिकाले ५० प्रतिशत बजेट दिने प्रतिवद्धता जनाएको छ ।

    त्यस्तै सडक सफा गर्ने १ थान ब्रुमर खरिदका लागि २ करोड ५० लाख विनियोजन गरेको छ । त्यस्तै महानगरपालिकाले पुर्वाधार प्रयोग परिक्षण प्रयोगशाला निर्माणका, एम्वुलेन्स तथा दमकल खरिद, सरसफाइका लागि ल्याण्डफिल्ड साइड निर्माण, खानेपनीको पाइपलाइन विस्तार जस्ता कार्यक्रमहरुमा महागरपालिकाले बजेटको प्रवन्ध गरेको छ ।

    ‘आहा रारा गोल्ड कप’लाई महानगरपालिकाको चिनारीको रुपमा विकास गर्ने महानगरपालिकाले प्रतिवद्धता जनाएको छ भने विभिन्न विद्यालयस्तरीय खेलकुदलाई आवश्यक बजेट विनियोजन गरिएको छ ।

    शिक्षातर्फ महानगरपालिका १ अर्ब ४९ करोड रुपैयाँ विनियोजन गरेको छ । महागनगरपालिकाले वडा कार्यालयहरुले खर्च गर्न सक्ने गरी ३९ करोड ६० लाख रुपैयाँ वजेट विनियोजन गरेको छ ।

    डिजिटल कर प्रणालीका लागि महानगरपालिकाले ६४ लाख रुपैयाँ विनियोजन गरेको छ । पोखरा महानगरापालिकालाई डिजिटल पोखरा निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी कृषि तथा सिचाईका लागि १० करोड, जेष्ठ नागरिकको भत्ताका लागि ६ करोड बजेट विनियोजन गरेको छ ।

  • काठमाडौं महानगरको बजेटः १८ अर्ब ९५ करोड ७७ लाख, के-केमा दिइयाे कर छुट ?

    काठमाडौं महानगरको बजेटः १८ अर्ब ९५ करोड ७७ लाख, के-केमा दिइयाे कर छुट ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित आर्थिक वर्ष २०७८/७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजारको बजेट तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेको छ ।

    काठमाडौं महानगरपालिकाको नगर सभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले सो रकमको बजेट प्रस्तुत गररेकी हुन् ।
    स्थानीय सरकार सञ्चालन ऐन-२०७४ ले निर्धारण गरेको काम, कर्तव्य, अधिकार र २०७८ असार ६ गते पारित नीति तथा कार्यक्रमलाई मूर्तरूप दिन बजेट प्रस्तुत गरेको उपप्रमुख खड्गीले जानकारी दिइन्।

    बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।
    उपप्रमुख खड्गीले महानगरपालिकाको आर्थिक वर्ष २०७८ /७९ को बजेट प्रस्तुत गर्न पाउँदा गौरव महसुस भएको जानकारी दिइन् ।

    ‘प्रस्तावित बजेटमा कोभिड-१९ महामारीले निम्त्याएको जटिल परिस्थितिको सम्बोधन, महानगरवासीको विकासप्रतिको उत्कृट चाहना, गतवर्ष गरिएको सेवाग्राही सर्वेक्षणमा महानगरवासीबाट प्राप्त सुझावहरू, विगतमा बजेट कार्यान्वयनमा देखिएका समस्याको सम्बोधन गरिएको छ,’

    उनले भनिन् ‘२०७८ असार ६ गते पारित काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम, नेपालको संविधानर स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले तोकेका जिम्मेवारीहरू, पन्ध्रौं योजनाले निर्दिष्ट गरेका शहरी विकास एवम् अन्य विषयगत क्षेत्रका नीति, रणनीति र कार्यनीतिहरू, नेपाल सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बागमती प्रदेश सरकारका नीतिहरूलाई मध्यनजर गरी आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रम तर्जुमा गरिएको छ ।’

    आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रममा सङ्घ, प्रदेशले लिएका उद्देश्यहरूसमेत परिपूर्ति गर्न स्थानीय स्रोत र साधनको अधिकतम परिचालन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सघाउ पुर्‍याउने उदेश्य लिएको उनले जानकारी दिइन् ।

    ‘नेपालको संविधानले निर्दिष्ट गरेको शासकीय संरचना बमोजिम स्थानीय सरकारलाई प्राप्त अधिकारको प्रभावकारी कार्यान्वयन गर्ने, समतामूलक, सामाजिक न्यायमा आधारित भई सामाजिक सुरक्षा कार्यक्रमहरू सञ्चालन गर्ने, महानगरवासी समक्ष गरिएका प्रतिबद्धताहरूलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्ने उदेश्य राखिएको प्रस्तावित बजेटमा उल्लेख छ ।’

    बजेटमा ती उद्देश्यहरू हासिल गर्न कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धन जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।

    महानगरपालिकाले आगामी आर्थिक वर्षमा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रममा ५० प्रतिशत विमा शुल्क व्यहोर्न बजेट विनियोजन गरेको छ । यसैगरी ज्येष्ठ नागरिक विशिष्टीकृत सेवा सहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन गरेको छ ।

    ‘मेयर उज्यालो कार्यक्रम, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्रत्येक वडामा कम्तिमा एउटा सार्वजनिक शौचालय, प्रत्येक वडामा एक नमुना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा पार्क, ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्यलगायतका सेवा सुविधाहरूलाई पनि बजेटमा समावेश गरिएको छ ।

    त्यस्तै महानगरपालिकाले ज्येष्ठ नागरिक मिलन केन्द्र, मेलमिलापबाट स्थानीय विवाद समाधानलाई प्राथमिकता, अपाङ्गता भएका महानगरवासीहरुका लागि सहयोग, मानवअधिकार प्रवद्र्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, आधारभूत शहरी भौतिक पूर्वाधार, संस्कृति तथा सम्पदा संरक्षण, स्थानीय भाषाको संरक्षण र प्रवद्र्धन, उद्यमशिलता प्रवद्र्धन, विद्युतीय शासनको प्रवद्र्धन, युवासँग मेयर, पौरखी मेला, खेलकूदको विकास, जीवन निर्वाहका लागि पारिश्रमिक लगायतका कार्यक्रमका लागि पनि बजेट विनियोजन गरेको छ ।

    कर बक्यौतामा लाग्ने जरिवाना छुट
    त्यसैगरी आजै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रस्तुत गरेको काठमाडौं महानगरपालिका आर्थिक विधेयक, २०७८ मा कोभिड-१९ को प्रभावलाई मध्यनजर गरी करदाताहरुबाट असूल हुन बाँकी रहेको आर्थिक वर्ष २०७६/०७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुट गर्ने प्रस्ताव उल्लेख गरिएको छ । त्यसैगरी आजै उपप्रमुख खड्गीले काठमाडौं महानगरपालिका विनियोजन विधेयक, २०७८ नगरसभामै प्रस्तुत गरे ।

    उपप्रमुख खड्गीले प्रस्तुत गरेको विधेयकमा आर्थिक वर्ष २०७८/७९ को सेवा र कार्यहरुका लागि संचित कोषबाट खर्च गर्ने अधिकार र अनुमानित व्यय समेत उल्लेखित छ ।

    सम्पत्ति करमा ९० प्रतिशतसम्म छुट
    त्यसैगरी विधेयकमा महानगरपालिकाबाट संकलन हुने राजस्व प्रणालीलाई ब्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन राजस्व संकलन सफ्टवेयरलाई अद्यावधिक गरी लागु गर्ने पनि उल्लेख छ ।

    ‘कोभिड-१९ को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर आर्थिक वर्ष २०७८र७९ को सम्पत्ति करमा थप ८० प्रतिशत छुट हुनेछ,’ विधेयकमा उल्लेख गरिएको छ,’ ‘सबै करदाताहरुका लागि २०७८ पुस मसान्तसम्म सम्पत्ति कर चुक्ता गरेमा १० प्रतिशत छुट हुनेछ ।’

    बहाल करमा दशप्रतिशत वा पच्चीस हजार रुपैंयासम्म छुट
    कोभिड–१९ को प्रभावले परेको असरलाई मध्यनजर गरी घर धनीले बुझाउने बार्षिक बहाल कर रकमको दशप्रतिशत वा पच्चीस हजार रुपैंया मध्ये जुन रकम कम हुन्छ सो रकम छुट हुनेछ ।

    यस प्रावधान बमोजिमको बहाल करमा छुट प्राप्त गर्न सम्बन्धित घर धनी र बहालमा लिने प्राकृतिक वा कानुनी ब्यक्तिका विच भएको बहाल सम्झौता अनिवार्यतः पेश गर्नु पर्नेछ,’ विधेयकमा भनिएको छ ।

    व्यवसायीले सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिए व्यवसाय करमा ५० प्रतिशत छुट
    काठमाडौं महानगर क्षेत्र भित्र मानिसहरुको बढी भिडभाड हुने र सार्बजनिक शौचालयको अभाव रहेको स्थानका होटल, रेष्टुरेन्ट पसल जस्ता ब्यवसायहरुले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्बसाधारणका लागि समेत निःशुल्क सेवा दिन सहमत भई महानगरपालिकासँग सहकार्य गरे त्यस्ता व्यवसायमा लाग्ने व्यवसाय करमा थप पचास प्रतिसत छुट हुने विधेयकमा व्यवस्था गरिएको छ ।
    कुन–कुन करमा कति–कति छुट ?
    महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ देखि कर वक्यौतामा लाग्ने जरिवान सबै छुट गरेको छ । त्यसैगरी सम्पत्ति करमा ९० प्रतिसतसम्म छुटको व्यवस्था गरेको छ । त्यस्तै बहाल करमा पनि महानगरपालिकाले १० प्रतिशत वा २५ हजार मध्ये जुन कम हुन्छ सो रकम छुटको प्रस्ताव गरेको छ ।

    त्यसैगरी विधेयकमा व्युटिपार्लर र सैलुन व्यवसायमा पनि व्यवसाय कर नलिने घोषणा गरेको छ । होटल, रेष्टुरेन्ट पसल जस्ता व्यवसायहरुले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्बसाधारणका लागि समेत निःशुल्क सेवा उपलब्ध गराएमा व्यवसाय करमा ५० प्रतिसत छुट दिने पनि घोषणा गरेको छ । आठ प्रकृतिका सेवाहरु निशुल्क उपलब्ध गराउने पनि आर्थिक विधेयकमा उल्लेखित छ ।

     

  • अन्योलमा लुम्बिनीको बजेट: सरकारको वैधतामाथि विपक्षीको प्रश्न, आज पनि संसद बहिष्कार गर्ने

    अन्योलमा लुम्बिनीको बजेट: सरकारको वैधतामाथि विपक्षीको प्रश्न, आज पनि संसद बहिष्कार गर्ने

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारमाथि नै वैधताको प्रश्न उठाउँदै विपक्षी दलले आज पनि प्रदेशसभा बैठक बहिष्कार गर्ने रणनीति बनाएका छन् । विपक्षीले बजेटमाथि छलफलका लागि आह्वान गरिएको बैठक निरन्तर बहिष्कार गर्दै आएका छन् ।

    सरकारले असार १ गते ल्याएको बजेटमाथि छलmिल गर्न ६ गते बोलाइएको प्रदेशसभा बैठक विपक्षीले बहिष्कार गरेपछि आजसम्मका लागि स्थगित भएको थियो । आजको बैठकको शुरुमै विशेष समय लिएर माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीको बोल्ने र बहिष्कार गरेर निस्कने योजना विपक्षीले बनाएका छन् ।

    प्रदेशसभामा एमाले र जसपाको महन्थ ठाकुर पक्ष सरकारमा छ भने नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह र जनमोर्चाले विपक्षी गठबन्धन बनाएका छन् ।

    नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले आज पनि संसद नचल्ने संकेत गरेकी छन् । ‘सरकारलाई आफ्नो वैधानिकता प्रष्ट पार्न हामीले धेरै पटक आग्रह गरेका छौं, त्यो विषय नटुंगिएसम्म बजेटका विषय अगाडि बढ्न दिदैनौं’, उनले नेपाल प्रेससँग भनिन् । तर एमालेले सदन चलाउन विपक्षीलाई आग्रह गरिरहेको बताएको छ । एमालेका प्रमुख सचेतक भूमीश्वर ढकालले सरकारले सदन चलाउन विपक्षीलाई आग्रह गरिरहेको बताए ।

    गठबन्धनले सरकारमा सहभागी जसपाका ४ सांसदको अदालती छिनोफानो नहुँदासम्म संसद बहिष्कार गर्ने रणनीति बनाएका हुन् ।

    सरकारको वैधानिकतामाथि विपक्षी प्रश्न

    सरकारको बहुमतमाथि प्रश्न उठाइरहेका विपक्षी ४ दलले बजेटभन्दा अगाडि सरकारको वैधानिकता प्रष्ट हुनुपर्ने दावी गरिरहेका छन् ।

    सरकारलाई अध्यादेशबाट बजेट ल्याउन रोक्ने योजनामा नीति तथा कार्यक्रम प्रस्तुत र छलफल हुँदा लचक बनेर प्रदेशसभा चल्न दिएका विपक्षी दलले बजेट पास भए सरकार बलियो हुने भएकाले त्यो भन्दा अगाडि नै असफल बनाउन खोजेका छन् ।

    वैशाख ६ गते प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । मुख्यमन्त्री शंकर पोखरेलले वैशाख १९ गते राजीनामा दिइ बहुमतको एकल सरकार गठन गरेका थिए । तर सोही दिनदेखि नै विपक्षीले पनि आफूहरुको बहुमत रहेको दावी गर्दै आएका छन् ।

    गठबन्धनमा रहेको जसपाको बहुमत सांसदलाई सरकारमा सहभागी गराएका मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेकाले विपक्षी दलहरुले विश्वासको मत दिन दवाव दिँदै बजेट पास हुन नदिने योजना बनाएका छन् ।

    शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारले निरन्तरता पाउने कि नपाउने भन्नेबारे दलहरूको आ–आफ्नै दावी छ । विपक्षी दलहरुले सरकारको गठन प्रक्रिया नै असंवैधानिक रहेको दावी गर्दै आएका छन् भने सरकारले प्रदेशसभामा आफ्नो पूर्ण बहुमत रहेको दावी गर्दै आएको छ ।

    सरकार र विपक्षीलाई जसपाकै भरोसा

    प्रदेशसभामा ६ जना सांसद रहेको जसपा सत्ता जोगाउने र नयाँ बनाउने दुवै तर्फ लागेको छ । महन्थ ठाकुर पक्षका ४ जना सरकारमा सहभागी छन् भने उपेन्द्र यादव समूहका २ जना विपक्षी गठबन्धनमा छन् ।

    प्रदेश सरकारलाई निरन्तरता दिन भूमिका निर्बाह गरेका जसपा नेपालका ४ जना प्रदेशसभा सदस्यको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । आफूमाथि भएको कारवाहीलाई चुनौती दिँदै ती चार सदस्यले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले निवेदकको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो ।

    प्रदेशसभामा सहभागी जसपाका चार सांसद सन्तोष पाण्डेय, विजयबहादुर यादव, कल्पना पाण्डेय र सम्झना शर्मा रायमाझीले आफूमाथि भएको कारवाहीलाई चुनौती दिँदै सर्वोच्चमा रिट निवेदन दिएसँगै प्रदेश सरकार परिवर्तन गर्ने विपक्षी गठबन्धनको प्रयास पनि थन्किएको थियो ।

    अहिले मुख्यमन्त्री शंकर पोखरेल संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री भएका छन् । तर जसपाका चार सांसदले दायर गरेको रिट निवेदनका सम्बन्धमा इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको अवस्थामा वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा २ बमोजिम जानुपर्ने हुन्छ । त्यो अवस्थामा विपक्षीहरुले सरकार ढाल्नका लागि अर्को प्रयास गर्नेछन् ।

    लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धन पनि सर्वोच्च अदालतको नयाँ आदेशको प्रतीक्षा गरिरहेको छ । त्यसैले प्रदेशसभा बैठकमा बजेटमाथि छलफल गर्न नदिई बैठक बहिस्कारको योजना बनाएको हो ।

    माओवादी केन्द्रले सरकारको साथ छाडेसँगै मुख्यमन्त्री पोखरेलले जसपामा ४ जना सांसदलाई सरकारमा सामेल गराएर तत्कालका लागि सरकारमाथिको संकट टारेका हुन् ।

    प्रदेशसभाको अंकगणित

    बैशाख १९ गते मुख्यमन्त्री शंकर पोखरेल संविधानको धारा १६८ को उपधारा (१) अनुसार एकल बहुमतको सरकारको दावीसहित मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । तर आफू थप बलियो बन्न उनले जसपाका ४ जना सांसदलाई सरकारमा सहभागी गराएका छन् । त्यसैले वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम रहेको विपक्षी गठबन्धनको दावी छ ।

    संविधानको धारा १६८ को उपधारा १ बमोजिमको सरकारले प्रदेशसभामा विश्वासको मत लिइरहनु पर्दैन । तर उपधारा २ बमोजिमको सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

    प्रदेशसभामा अहिले कुल सदस्य संख्या ८३ छ । प्रदेशसभा बहुमतका लागि ४२ जना सांसदको समर्थन आवश्यक हुन्छ । सोही आधारमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको हो ।

    लुम्बिनी प्रदेशसभामा सबैभन्दा ठूलो दल एमाले हो । एमालेसँग हाल ३८ सांसद छन् भने जसपाका महन्थ ठाकुर पक्षका ४ गरी ४२ सांसद सरकारको पक्षमा छन् ।

    विपक्षी गठबन्धन नेकपा माओवादी केन्द्रसँग सभामुुखबाहेक १८, नेपाली कांग्रेससँग १९, जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष) २ र राष्ट्रिय जनमोर्चा १ गरी ४० जना छन् ।

  • बैजनाथमा एकल पुरुषलाई भत्ता, बुटवलमा श्रम बैंक, भैरहवामा कृत्रिम पर्यटकीय क्षेत्र

    बैजनाथमा एकल पुरुषलाई भत्ता, बुटवलमा श्रम बैंक, भैरहवामा कृत्रिम पर्यटकीय क्षेत्र

    रुपन्देही । लुम्बिनी प्रदेशका केही स्थानीय सरकारले ल्याएको नीति तथा कार्यक्रममा केही आकर्षक र नमूना योजना समावेश गरिएका छन् ।

    आफ्नो कार्यकालको अन्तिम बजेटमा ती पालिकाले स्वास्थ्य, कृषि, शिक्षालाई विशेष प्राथमिकतामा राख्दै केही नयाँ योजना अगाडि सारेर चर्चामा आएका छन् ।

    बैजनाथमा एकल पुरुषलाई भत्ता

    बाँकेको बैजनाथ गाउँपालिकाले ६० वर्ष उमेर नाघेका एकल पुरुषलाई भत्ता दिने भएको छ ।

    त्यस्ता पुरुषलाई सामाजिक सुरक्षा भत्ता कार्यक्रमअन्तर्गत कार्यक्रम सञ्चालनमा ल्याइने अध्यक्ष मानबहादुर रुचाल ठकुरीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको हो ।

    यसैगरी उच्च शिक्षा पढ्न चाहने छात्राहरुलाई छात्रवृत्ति उपलब्ध गराइनुका साथै शिक्षामा प्रविधि जोड्ने उद्देश्यले प्रधानाध्यापकलाई कम्प्युटर शिक्षा र ल्यापटप उपलब्ध गराउने, नमुना विद्यालय निर्माणको पूर्वाधार तयार गर्ने, शिक्षक अनुदान कार्यक्रम लागू गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

    कोरोना कहरबाट प्रभावित परिवार जसले कोभिड–१९ बाट ज्यान गुमायो, उनीहरुका परिवारलाई आर्थिक सहयोग गर्ने, प्रकोप व्यवस्थापन कोष निर्माण गर्ने, निकुञ्ज परिसरमा हुने मानवीय क्षतिलाई विपदसरह मानेर राहत तथा क्षतिपूर्ति दिनेलगायत कार्यक्रम छन् ।

    प्रस्तुत नीति तथा कार्यक्रममा पूर्वाधार विकास, कृषि, पशु, पर्यटन घरेलु तथा साना उद्योग, सहकारी, बालबालिका, महिला, अपांगता, दलित आदिवासी जनजाति अल्पसंख्यक, ज्येष्ठ नागरिक युवा, खानेपानी तथा सरसफाइ, स्वास्थ्य, धर्म संस्कृति, शिक्षा, वन वातावरण तथा विपत् व्यवस्थापन, सार्वजनिक सेवा सुशासन तथा क्षमता विकास, विधायन तथा वित्तीय अनुशासनलगायतका महत्वपूर्ण क्षेत्र समेटेको छ ।

    बुटवलमा रोजगारी सिर्जना गर्न श्रम बैंक

    बुटवल उपमहानगरपालिकाले रोजगार सिर्जनाका लागि उपमहानगरले सञ्चालन गरेको उद्यम विकास कार्यक्रमलाई थप प्रभावकारिताका साथ निरन्तरता दिई श्रम बैक र श्रम डेक्स सञ्चालन गर्ने भएको छ ।

    स्वास्थ्य, शिक्षा, रोजगारी र वातावरणमैत्री पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर ल्याएको नीति कार्यक्रममा प्रमुख शिवराज सुवेदीले रोजगार सिर्जन ागर्न श्रम बैंक ल्याएको बजानकारी दिए । स्वरोजगारिता वृद्धि गर्ने, सीप सिकाउने र करिब सबै श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने नीति बुटवलले लिएको छ ।

    त्यस्तै यातायात क्षेत्रका श्रमिक, औद्योगिक क्षेत्रका श्रमिकलाई लक्षित गरी घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने पनि नीति कार्यक्रममा घोषणा गरिएको छ । विगतबाट सञ्चालित मेयर युवा इलम र उपप्रमुख महिला उद्यम विकास कार्यक्रमलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

    त्यस्तै अपांगता भएका व्यक्तिले संचालन गरेको उद्योग–व्यवसायमा लाग्ने करमा शतप्रतिशत छुट दिने, एकल महिलाको नाममा संचालित व्यवसाय र एकीकृत सम्पत्ति करमा छुट दिने नीति समेत नगरपालिकाले लिएको छ ।

    धुर्कोटमा कृषि ऋण अनुदान

    गुल्मीको धुर्कोट गाउँपालिकाले कृषि अनुदान, प्रविधि एवम् कृषि ऋणको ब्याजमा अनुदान दिने भएको छ ।

    पालिका प्रमुख भुपाल पोखरेलले नीति तथा कार्यक्रममा २५ रोपनी भन्दा बढी जग्गामा हरियो तरकारी उत्पादन गर्ने किसानलाई तीन वर्षसम्म अनुदान दिने व्यवस्था गरेको बताए । उनले व्यवयायिक कृषि खेतीलाई व्यस्थित गर्न यस्तो योजना ल्याएको जानकारी दिए ।

    भैरहवामा कृत्रिम पर्यटकीय गन्तव्य

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पालिका क्षेत्रभित्र कुनै पनि पर्यटकीय गन्तव्य नभएपछि लुम्बिनी आउने पर्यटकलाई लक्षित गर्दै कृत्रिम पर्यटकीय गन्तव्य बनाउने भएको छ । नजिकै रहेको बुद्ध जन्मस्थल लुम्बिनी र गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलसंग जोडिदै पर्यटन विकासमा जोड दिने गरी आगामी बर्षको लागि नीति तथा कार्यक्रममा यस्तो योजना ल्याइएको हो ।

    पर्यटन, उद्योग, व्यापार र शिक्षा हराभरा बुद्धभूमि सिद्धार्थनगरको इच्छा भन्ने थेगोलाई आत्मसात गर्दै आएको सिद्धार्थनगर(भैरहवा)का नगर प्रमुख हरि प्रसाद अधिकारीले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए ।

    प्रकृतिले हामीलाई पर्यटकलाई आकर्षित गर्नसक्ने त्यस्तो कुनै कुरा दिएको छैन तर हामीसंग उपलब्ध श्रोतसाधन, अव्यवस्थित खोलानालाको समेत उचित प्रयोग गर्दै पर्यटकलाई आकर्षित गर्ने गन्तव्यहरु ब्नाउने योजना ल्याएका छौ, नगर प्रमुख अधिकारीले भने । हाम्रो शहर पर्यटकीय शहर होइन तर हामी कृत्रिम वस्तुहरुको माध्यमबाट पनि पर्यटकीय शहर बनाउन लागिपरेका छांै र नीति तथा कार्यक्रममा पर्यटन विकासका लागि जोड दिइएको छ– नगर प्रमुख अधिकारीले भने ।

    लुम्बिनी क्षेत्र, अन्तर्राष्ट्रिय विमानस्थलजस्ता महत्व र अवसरहरुलाई आधार मानी सोही बमोजिम पर्यटकीय कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    नगरपालिकामा पर्यटनको प्रवद्र्धधन तथा विकासका लागि पर्यटन गुरुयोजना तयार गरी सोको कार्यान्वयनबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटनको विकास गर्ने, नगर क्षेत्र भित्रका पर्यटकीय गन्तव्यको पहिचान, सम्वद्र्धन, प्रचार प्रसारका लागि स्थानीय पर्यटन व्यवसायीसंग सहकार्य गर्दै अघि बढ्ने, सार्वजनिक निजी सहकारीको अवधारणा अनुरुप नगर क्षेत्रमा पर्यटन सूचना केन्द्र सञ्चालन गर्ने, एक वडा एक उद्यान/पार्क निर्माण कार्यलाई अभियानको रुपमा सञ्चालन गरी हरित शहर(ग्रिन सिटी)को अवधारणा बमोजिम सिद्धार्थनगरलाई बाह्रैमहिना फूल फुल्ने शहरको रुपमा विकास गर्ने योजना नीति तथा कार्यक्रममा उल्लेख छ ।

     

  • स्थानीय तहको बजेटः केमा घटाउने, केमा बढाउने ?

    स्थानीय तहको बजेटः केमा घटाउने, केमा बढाउने ?

    संविधानअनुसार स्थानीय तहले आगामी साता बजेट ल्याउँदै छन् । निर्वाचित जनप्रतिनिधिले अहिलेको कार्यकालमा ल्याउने अन्तिम एवम् पाँचौ बजेट हो, यो ।

    विगतका बजेटको समीक्षा गर्दै निर्वाचनताका मतदातासामू गरेका प्रतिवद्धता पूरा गर्नका लागि उनीहरुलाई यो अन्तिम मौका हो । तर, कोरोना कहरका कारण चौथो वर्षको बजेट कार्यान्वयन प्रभावित हुन पुग्यो । र अहिले पनि विकास बजेटलाई भन्दा संकटसँग जुध्न धेरै बजेट विनियोजन गर्नुपर्ने वाध्यता छ । यो समयमा नयाँ सोच, योजनासँगै दृढतापूर्वक बजेट ल्याउन आवश्यक छ ।

    सुरुवाती वर्षहरुमा स्थानीय तहको लगानी उद्देश्यविहीन र छरपष्ट थियो । तर पछिल्ला वर्षहरुमा क्रमशः परिणाम देखिने क्षेत्रतर्फ बजेट रुपान्तरित हुन थालेका छन् । यसअघि सडक पूर्वाधारहरुको विस्तार, पालिका र वडा कार्यालयका भवन निर्माण, अस्पताल र विद्यालय पूर्वाधारहरुको निर्माण, कृषिको व्यवसायीकरण र यान्त्रीकीकरण, खेलकुद मैदान, साँस्कृतिक सम्पदाहरुको जिर्णोद्धार र डिजिटल प्रविधिको प्रवद्र्धन जस्ता देखिने कामहरुमा ठूला लगानी भए ।

    यसका अलावा सामाजिक सुरक्षाका पूरक कार्यक्रमहरु, लक्षित वर्गमा संरक्षणमुखी कार्यक्रमहरु, खानेपानी आयोजनाहरु र केही जागरणमूलक अभियानहरुमा समेत स्थानीय तहको बजेट राम्रै लगानी भएको पाइन्छ ।

    यसबीच आगामी वर्षको बजेटमा यी रणनीति अपनाउनु आवश्यक छ–

    कोभिड सेन्ट्रिक होइन, सेन्सिटिभ बजेट

    धेरै विद्धान र सरकारी अधिकारीहरुले स्थानीय तहहरुलाई ‘कोभिड संकट व्यवस्थापनमैत्री’ बनाउन मार्गदर्शन गरिरहेका छन्, तर वास्तविकता त्यस्तो होइन ।

    एक वर्षदेखि जारी कोभिड १९ बाट सिर्जित संकटहरुको सामना गर्नेक्रममा स्थानीय तहहरुमा पर्याप्त सिकाई हाँसिल भएको छ । सुरुवाती महिनाहरुमा जस्तो अन्धाधुन्ध बजेट खर्च गर्ने वाध्यता यसपटक छैन । गतसाल धेरै खर्च गरिएका क्षेत्रहरु सरसफाई सामग्री, विपन्न राहत, क्वारेन्टाइन, सिमाना र सहरबाट गाउँ फर्काउने यातायातलगायतमा यो वर्ष खर्चको आवश्यकता पदैृन ।

    त्यसको सट्टा यसपटक एम्बुलेन्स, स्वास्थ्य उपकरण, अस्पताल, आइसियू, अक्सिजनजस्ता महामारीपछि पनि उपयोगमा आउने क्षेत्रहरुमा खर्च गरियो, जसले गर्दा समग्र खर्चको प्रवृत्ति पूँजी निर्माणतर्फ केन्द्रित भयो । तसर्थ आगामी वर्ष कोभिडकै लागि भनेर स्थानीय तहले ठूलो रकम खर्च गर्नु पर्दैन ।

    त्यसैले स्थानीय तहहरुले आगामी वर्षको बजेटमा कोभिडलाई ख्याल गर्नु त सान्दर्भिक छ तर कार्यक्रमहरुलाई त्यसैको सेरोफेरोमा मात्र केन्द्रित गर्न जरुरी देखिन्नँ ।

    लगानी ठूला पूर्वाधारमा होइन, साना तर धेरैमा

    आगामी वर्ष स्थानीय तहले ठूला ठूला पूर्वाधार संरचना निर्माण गर्ने महत्वाकांक्षी कार्यक्रमहरुलाई स्थगित गर्नुपर्ने हुन्छ । नयाँ पूर्वाधारहरुको निर्माण सुरु गर्दा कार्य सम्पन्न हुन नसकी अलपत्र पर्ने र बजेटको प्रतिफल नागरिकहरुले तत्काल अनुभूत गर्न नपाउने अवस्था आउन सक्छ । तसर्थ विगत वर्षहरुमा सुरु गरिएका आयोजनाहरुलाई नै सम्पन्न गर्नेतर्फ लगानी केन्द्रित गर्नुपर्छ ।

    ठूला संरचनाका लागि संघीय र प्रदेश सरकारबाट जे जस्तो कार्यक्रमहरु आए, ती नै यसपटकका लागि पर्याप्त छन् । त्यसैले स्थानीय तहको बजेट साना र मझौला आकारका स्थानीय पूर्वाधारमा केन्द्रित गर्नुपर्दछ ।

    ठूला आकारका आयोजनाको लागि लामो अवधिको ठेक्का प्रक्रियामा जानुपर्ने हुन्छ र चालु वर्षमै कार्य सम्पन्न हुँदैन । तर सानाको लागि स्थानीय उपभोक्ता वा सिमित व्यवसायीमार्फत तत्काल काम गराउन सकिन्छ ।

    यान्त्रीकीकरण होइन, मानवीय श्रम खपत बढाउने

    यसपटक गाउँ/नगरपालिकाहरुले ठूला आकारका मेसिन औजार र आधुनिक उपकरणहरुको प्रयोगलाई न्यूनीकरण गर्ने एवं श्रमको कुशलता र प्रयोगलाई अधिकतम पार्ने प्रयास गर्नुपर्दछ । ठूला यन्त्र–उपकरण स्थानीय लगानीमा तयार हुँदैनन् र तिनीहरुकोे भूक्तानी पनि ठूला सहर वा विदेशतिर पठाइन्छ । तर श्रमको उपयोग गर्दा आफ्नै ठाउँका बेरोजगारहरुलाई आम्दानीसहित व्यस्त राख्न सकिन्छ ।

    एउटा बुल्डोजरले एक दिनमा १०० जना श्रमिक बराबर काम गर्छ र भूक्तानी पनि सोही अनुसार लैजान्छ । आगामी दिनहरुमा शहरबाट अनौपचारिक क्षेत्रको रोजगारी गुमाएर गाउँ फर्केका श्रमजिवी यूवाहरुको ठूलो उपस्थिति हुनसक्छ ।

    उनीहरुलाई उत्पादनमूलक काममा व्यस्त राख्न सकेमा मात्र समाजमा नकारात्मकता र निराशा फैलिन पाउँदैन ।
    तसर्थ शान्ति अमनचयन र सामुदायिक खुसीका लागि पनि स्थानीय यूवाहरुलाई आफ्नै ठाउँमा आयआर्जनसहितको सहभागिताका लागि श्रमिक केन्द्रित विकास रणनीतिमा जोड दिनुपर्ने देखिन्छ ।

    तडकभडक घटाउने, किफायती र पारदर्शिता बढाउने

    सुरुवाती वर्षहरुमा स्थानीय सरकारका प्रमुख उपप्रमुखहरुको सेवा सुविधाप्रतिको चासोलाई आमनागरिकहरुले मन पराएनन् । सवारी साधन, कार्यस्थलको साजसज्जा र निस्फिक्री दौडधुपले मानिसहरुमा नकारात्मक भावना बढाइदियो भने अर्कोतर्फ यसले सरकारी प्रशासनिक खर्चमा पनि नजानिँदो पाराले बढोत्तरी ल्याइदियो ।

    तसर्थ आगामी वर्ष सम्भावित निर्वाचनको परिवेशलाई ख्याल गर्दै स्थानीय तहहरुले आफ्ना अड्डाहरुको साजसज्जालाई न्यून गर्ने र जनप्रतिनिधिहरुको देखासिकीलाई हदैसम्म घटाउनेतर्फ ध्यान दिनुपर्दछ ।

    त्यसैगरी कर्मचारीहरुलाई दिइँदै आएका अतिरिक्त भत्ता र अतिथि सत्कार खर्चहरुलाई न्यून गर्नेतर्फ पनि सोच्नु पर्दछ । आउँदो वर्ष साना सवारी साधनहरुको खरिदलाई पूर्णतः रोक्नु पर्नेछ भने अत्यावश्यक कामबाहेक भवन, अचल सम्पत्ति र सवारी साधनहरु भाडामा लिने कार्य पनि अनुचित हुनेछ ।

    प्राथमिकताको पहिचान, छिटोछरितो कार्यान्वयन

    स्थानीय जनप्रतिनिधिहरुले आगामी वर्षका लागि न्यून प्राथमिकताका क्षेत्र पहिचान गर्न कुशलता देखाउनु पर्दछ । मुख्य पर्यटकीय गन्तव्यहरुलाई छाडेर अधिकांश पालिकाहरुले पर्यटकीय पूर्वाधारहरुमा लगानी गर्नु आगामी वर्षका लागि अनुत्पादक हुनेछ ।

    विद्यार्थी संख्या घटिरहेका अधिकांश सामुदायिक विद्यालयहरुमा शिक्षकको अस्थायी दरबन्दी सिर्जना, नयाँ कक्षाकोठा निर्माण र साधनस्रोत थप गर्न बजेट विनियोजन गर्न हुँदैन । खेलकुद मैदान र कभर्ड हलका लागि स्थानीय तहहरुले ठूल्ठूला लगानी गरिरहेको देखिन्छ ।

    तर संकटका बेला यस्ता कुराहरु पनि प्राथमिकता प्राप्त क्षेत्र हैनन् । विनियोजित बजेटलाई संस्थागत ढंगले स्वचालित कार्यान्वयन प्रणालीमा जाने गरी कार्यालयको प्रशासनिक दक्षता अभीवृद्धि गर्न र कर्मचारी संयन्त्रलाई उत्प्रेरणा थपिने विषय क्षेत्रमा कार्यक्रम केन्द्रित हुनुपर्दछ ।

    वार्षिक कार्यक्रम र बजेटका प्राथमिकताहरु

    जनताको चाहना, सुदृढ स्वास्थ्यको कामना

    स्थानीय तहहरुले आफ्ना नियमित स्वास्थ्य संरचना र विपद् प्रतिकार्यसम्बन्धी पूर्वाधार व्यवस्थापनमा आगामी वर्षको लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्नेछ । स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली खडा गर्ने, स्थानीय स्वास्थ्यकर्मीका अतिरिक्त विशेषज्ञ सेवा प्राप्ति एवं मनोपरामर्शकताहरुको सेवा उपलब्ध गराउने कार्यतर्फ ध्यान दिनुपर्दछ ।

    यस वर्ष अस्पताल, स्वास्थ्य केन्द्र र स्वास्थ्य इकाईहरुका भवन संरचना सुधार र यन्त्र उपकरण विस्तारमा विशेष ध्यान दिनुपर्नेछ । त्यसैगरी प्रयोगशाला, बहिरंग सेवा, आकस्मिक लाइफ सपोर्ट सिस्टमसम्बन्धी उपकरणहरु थप गर्ने, जनचेतनामूलक अभियान सञ्चालन गर्ने, टेलिमेडिसिन सुविधा स्थापना गरी विशेषज्ञ सेवा पुर्याउने र खोप तथा निःशुल्क औषधि वितरणलाई अझै परिणाममुखी बनाउने कार्यमा ठूलो मात्रामा बजेट विनियोजन गर्नुपर्दछ ।

    नयाँ सडक नखनौं, भएकालाई सुधारौं

    आगामी वर्ष स्थानीय तहहरुले नयाँ सडकको रेखांकन गर्ने कार्यलाई सकेसम्म बन्द गर्नुपर्दछ । हालसम्म निर्माण भएर पनि हिउँदमा मात्र गाडी गुड्ने सडकहरुलाई नै सुधार र स्तरोन्नति गरी बाह्रैमहिना सवारी चल्नसक्ने भरपर्दो र सुरक्षित बनाउन बजेटको व्यवस्था गर्नुपर्दछ । यसका लागि वडा र पालिका केन्द्र जोडिने वा बस्ती र राजमार्ग जोड्ने साना सडक एवं कृषि सडकहरु चौडा पार्ने, मोड सुधार गर्ने, नाली वनाउने, कमजोर सतहमा सोलिङ गर्ने, रिटेनिङ वाल लगाउने र अप्ठेरा छेऊकुनामा प्याराफिटहरुको निर्माण गर्ने कार्यलाई व्यापक रुपमा अघि वढाउनु पर्दछ ।

    उपरोक्त प्रकृतिका कार्य गर्न मेशिनभन्दा श्रमशक्तिकै आवश्यकता पर्ने हुनाले यसबाट रोजगारी सिर्जना भइ स्थानीय अर्थतन्त्रमा समेत योगदान पुग्नेछ ।

    ख्याल गरौं अन्नबाली, खाद्य सुरक्षित नेपाली

    कृषि विकास र प्रवद्र्धन स्थानीय सरकारको आगामी बजेटमा महत्वपूर्ण प्राथमिकता क्षेत्र हुनु पर्दछ । कृषिअन्तर्गत पनि यसपटक व्यवसायिक खेतीको बहसबाट केही बाहिर निस्किएर आममानिसलाई खाद्यान्नबालीको उत्पादनतर्फ उत्प्रेरित गर्नुपर्दछ ।

    अघिल्ला वर्षहरु झैं नगदेबाली, मसलावाली वा फलफुल र तरकारीको उत्पादनमा मात्र लगानी वढाएर खाद्य सुरक्षाको ग्यारेन्टी गर्न सकिंदैन । उपरोक्त बालीहरुको विश्वव्यापी बजारमूल्य असन्तुलित र अनिश्चित भइरहेको सन्दर्भमा नागरिकहरुको दैनिक छाक टार्न मिल्ने खालका धान, गहुँ, मकै, कोदो जस्ता खाद्य बालीहरुको उत्पादनमा स्थानीय तहले जोड लगाउनु पर्दछ ।

    यस्तो बेला अलैंची र अदुवाले आममानिसको छाक टर्दैन, तसर्थ त्यसलाई पाखा भित्तामा मात्र प्रोत्साहित गरेर सधैंझै अन्नबाली फल्ने खेतबारीमा अन्नकै फसल लगाउन कृषकहरुलाई उन्नत बिऊ–मल र यन्त्रउपकरणसहित प्रोत्साहन गर्नुपर्ने हुन्छ ।

    खनौं पानी–पोखरी सिंचाई, सघाउँ घरेलु किसानलाई

    कृषियोग्य भूमीमा सिंचाई सुविधा विस्तार गर्नको लागि पानीको भरपर्दो स्रोत नभएका पहाडी क्षेत्रमा सिंचाई पोखरीहरुको निर्माणलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्नेछ । हरेक टोलबस्ती र खेतबारीलाई पायक पर्नेगरी वर्षातको पानी संकलन हुने खालका साना ठूला पोखरीहरुको निर्माण गर्नुपर्दछ ।

    त्यस्ता पोखरीहरुमा सम्भव भएसम्म माछापालन गर्न सिकाउने र बस्ती वरिपरिको करेसाबारीमा सिंचाई गरेर तरकारी खेती बढाउन सकिनेछ । यसका लागि प्रत्येक वडामा धेरै संख्यामा यस्ता पोखरीहरु निर्माण गर्नेगरी बजेट विनियोजन गर्नुपर्दछ । यसप्रकारको प्रयासले सिंचाईमा मात्र नभइ समग्र जमिनको सतहमा पानीको संचिति र रिचार्ज बढाउनसमेत टेवा पुग्नेछ ।

    एग्रो ट्रेडिङ कम्पनी बनाऔं, कृषि बजारको दुःख हटाऔं

    स्थानीय तहहरुले चार वर्षमा कृषिको व्यवसायिक उत्पादनमा लगानी केन्द्रित गरे पनि बजार पहुँच विस्तारमा ध्यान दिन नसकेको पाइएको छ । किसानहरुलाई उत्पादन गर्न लगाउने तर बेच्ने ठाउँ उपलब्ध नगराउँदा दीर्घकालमा उत्पादक शक्ति निरुत्साहित हुँदै गएका थिए ।

    तसर्थ स्थानीय तहहरुले कृषि विकासको पूर्णचक्रमा अभाव महसुस भएको बजार पूर्वाधारलाई सन्तुलित, निश्चित र दीगो बनाउने साप्ताहिक हाट बजारहरुको प्रवद्र्धन गर्ने, बजार केन्द्रहरुमा भण्डारगृह निर्माण गर्ने र राजमार्ग बिन्दुहरुमा कृषि उपज बिक्री आउटलेटहरु स्थापना गर्नुपर्ने हुन्छ ।

    त्यसैगरी छिटो बिग्रने खालका तरकारी र फलफुल बालीहरु लामो समय जोगाउन सकिने गरी चिस्यान केन्द्रहरु निर्माण गर्ने, चिलिङ सुविधासहितको ढुवानी साधनहरु उपलब्ध गराउने र ठूला सहरमा बजारको ग्यारेन्टी हुनेगरी आफ्नै बिक्री केन्द्रहरु खोल्न सकिनेछ ।

    उपरोक्त कार्यहरु गर्न र कृषि बजारको सञ्जाललाई प्रभावकारी वनाउन गाउँ–नगरपालिकाअन्तर्गत छुट्टै एग्रो कम्पनी स्थापना गर्नेगरी बजेटको व्यवस्था गर्नु आवश्यक छ ।

    जोगाऔं भविश्यको सहारा, फेरौं विद्यालयको मुहार

    आगामी वर्ष स्थानीय तहहरुले विद्यालय शिक्षाको ब्यवस्थापकीय संरचनामा पर्याप्त ध्यान दिनुपर्ने देखिन्छ । सहरबाट गाउँ पसेका र आर्थिक शिथिलताले आम्दानी गुमाएका परिवारका केटाकेटीहरु निजी विद्यालयबाट सरकारी विद्यालयतर्फ स्थानान्तरण हुने सम्भावना धेरै छ । यसका लागि कक्षाकोठा, फर्निचर, पाठ्यपुस्तक र दिवा खाजा जस्ता व्यवस्थापनका क्षेत्रमा स्थानीय तहको थप बजेट आवश्यक हुनसक्छ ।

    यसैगरी कोभिड संक्रमणबाट रोक्न साविक विद्यालयहरुका कतिपय कक्षाको पठनपाठन विद्युतीय माध्यमबाट सञ्चालन गर्नुपर्ने हुनसक्छ । यसका लागि आवश्यक कनेक्टिभिटी र इलेक्ट्रोनिक पूर्वाधारहरुको बन्दोवस्तका लागि बजेट विनियोजन गर्नुपर्दछ । संघीय र प्रदेश सरकारले विद्यालय शिक्षामा ल्याएका कार्यक्रमहरुलाई प्रभावकारी कार्यान्वयन गर्न समपूरक कार्यक्रमहरु तर्जुमा गर्नुपर्ने देखिन्छ ।

    सहुलियत कर्जामा सहकारी, उद्यमशीलता र रोजगारी

    विगतमा घरेलु तथा लघु उद्यम प्रवद्र्धनका लागि इच्छुक उद्यमीहरुले ग्रामीण क्षेत्रमा कृषिमा आधारित र सहरी क्षेत्रमा अनौपचारिक व्यवसायका लागि ऋण प्राप्त गर्न विद्यमान संरचनाबाट सफल देखिएनन् । काम गर्न चाहने कमजोर हैसियतका उद्यमीहरु पुँजी प्रवाहका लागि बैंकहरुले सम्पत्ति धितो माग्ने हुँदा उनीहरु ऋणको पहुँच बाहिर छन् ।

    उपरोक्त सन्दर्भमा आगामी वर्ष घरेलु र लघु उद्यमीहरुलाई व्यापकरुपले ऋण प्रवाह गर्ने प्रयोजनका लागि सहकारी संस्थाहरुलाई परिचालन गर्न स्थानीय तहहरुले आफ्नो बजेट लगानी गर्नुपर्नेछ ।

    ठूलो संख्यामा इच्छुक उद्यमीहरुलाई सस्तो ब्याजदरमा ऋण प्रवाह गर्न स्थानीय सहकारीहरुलाई अनुदान दिने र सोही अनुपातमा सहकारीले ऋणको ब्याजदर न्यून गर्ने गरी व्यवस्था मिलाउनु पर्नेछ ।

    सहर–बजारका कौसीबारी, राखौं सदाबहार हरियाली

    ठूला सहर र बजार केन्द्रहरुमा हरित क्षेत्रको अभाव हुँदा प्रदूषण बढ्दै गएको छ । मानिसहरु गैरकृषि कार्यमा संलग्न हुने र आफूले खपत गर्ने फलफुल तथा तरकारीसमेत टाढाबाट ल्याउनुपर्ने अवस्था छ ।

    कृषि क्षेत्रबाट सहर–बजारमा ल्याइने तरकारी र फलफूलमा विषदीहरुको प्रयोग गरेर लामो समयसम्म नसड्ने प्रबन्ध मिलाइने हुँदा सहरका बासिन्दा हानिकारक विषादीयुक्त तरकारी र फलफूलको उपभोगमा बाध्य छन् । यसबाट उत्पन्न संकटलाई न्यून गर्न ठूला सहरबजारमा घरका छाना र कौसीमा फूल र तरकारी खेती गर्न व्यापक प्रयासहरु अघि बढाउनु पर्दछ ।

    यसबाट घरेलु फोहरमैलाको आन्तरिक खपत हुने, सहरमा बस्नेहरुमा शारीरिक परिश्रमको आवश्यकता बढ्ने, तरकारीको आयातमा कमी आउने तथा हरियाली प्रवद्र्धन हुने जस्ता सकारात्मक परिणामहरु देखिनेछन् ।

    यसका लागि स्थानीय तहहरुले फोहरबाट मल बनाउने प्रविधि, तरकारीका बिउबिजन र प्राविधिक परामर्श सेवाको उपलब्धताको लागि पर्याप्त बजेट र कार्यक्रम राख्नुपर्दछ ।

    खानी, पानी र जवानी, भित्र्याउँ निजी लगानी

    स्थानीय तहहरुले आगामी वर्ष पूर्वाधार र सेवाहरुको स्थापनामा निजी लगानीकर्ताहरु भित्र्याउन आवश्यक कार्यक्रमहरु प्रस्ताव गर्नुपर्दछ । आफ्ना स्थान विशेषका तुलनात्मक लाभ र सम्भावनाहरुलाई आंकलन गरेर प्रशोधन उद्योगहरु स्थापना गर्न, कृषि र पशुपालनका ठूला फर्महरु स्थापना गर्न, निजी शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरु खोल्न, जलविद्युत् र सौर्यऊर्जा प्लान्टहरु निर्माण गर्न, चिस्यान केन्द्रहरु खोलेर व्यावसायिक भण्डारणको सुविधा दिन निजी लगानीकर्ताहरुलाई प्रोत्साहित गर्नुपर्दछ ।

    यसका लागि स्थानीय तहहरुले सम्भाब्य जमिनको खोजी गरी आधारभूत पूर्वाधार निर्माण गरिदिने, दक्ष श्रमिकहरुको तयारीमा सिपमूलक तालिम सञ्चालन गर्ने र लगानीमैत्री संस्थागत संरचनाहरु बनाउनेतर्फ बजेट विनियोजन गर्नु उपयूक्त हुन्छ ।

  • सात प्रदेशको बजेट : ठूलो वाग्मतीको, सानो गण्डकीकाे

    सात प्रदेशको बजेट : ठूलो वाग्मतीको, सानो गण्डकीकाे

    काठमाडौं । देशका सातवटै प्रदेशले आज आगामी आर्थिक बर्ष २०७८/७९ का लागि आयव्यय विवरण प्रस्तुत गरेका छन् । असार १ मा प्रदेशहरुले बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

    यस वर्ष अधिकांस प्रदेशले प्राथमिकतामा कोभिड-१९ रोकथाम तथा आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेका छन् । वितरणमुखी कार्यक्रमहरुमा पनि कञ्जुस्याइ गरिएको छैन । संघमा जस्तै प्रदेशहरुको पनि चालू खर्चभन्दा पुँजीगत खर्चका विनियोजन धेरै छ ।

    प्रदेश सरकारहरुले कोभिडका कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रमा कर तथा नविकरण शुल्कमा छुट दिने प्रतिवद्धता व्यक्त गरेका छन् । केही प्रदेशले पुर्वधार निर्माण तथा आर्थिक बिकासका लागि उल्लेख्य विनियोजन गरेका छन् ।

    वागमति प्रदेश र गण्डकी प्रदेशले सांसद विकास कोषलाई निरन्तरता दिएका छन् । त्यस्तै कोभिड-१९ का कारण मृत्यु भएका परिवारका सदस्य तथा बालबालिकालाई मासिक ३ हजारदेखि ५ हजारसम्म दिने व्यवस्था प्रदेश सरकारको बजेटमा गरिएको छ ।

    गण्डकी प्रदेशको मन्त्रिपरिषद्ले पुर्णता नपाएका कारण नवनियुक्त मूख्यमन्त्रीले बजेट प्रस्तुत गरेका थिए भने अन्य प्रदेशका सम्वन्धित आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् । प्रदेश २ मा भने संसद विकास कोषको रकम अपुग भएको भन्दै बजेट टेबल गर्न प्रतिपक्षी सांसदले अवरोध गरेका छन् ।

    कुन प्रदेशको कति ?

    प्रदेश नम्बर १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशले गत बर्षको तुलनामा आकार घटाएर बजेट प्रस्तुत गरेका छन् । आकारमा सबैभन्दा ठुलो वाग्मती प्रदेशले र सबैभन्दा सानो गण्डकी प्रदेशले बजेट ल्याएका छन् ।

    वागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले कुल ५७ अर्ब ७२ करोड ९ लाख रुपैयाँको बजेट प्रस्तुत गरे । त्यसमध्ये चालु खर्चतर्फ २६ अर्ब १ करोड रुपैयाँ अर्थात ४५ प्रतिशत, पूँजीगततर्फ २९ अर्ब ७० करोड अर्थात ५१ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २ अर्ब रुपैयाँ अर्थात ४ प्रतिशत बजेट बिनियोजन गरिएको छ ।

    विनियोजित खर्चको स्रोत व्यवस्थापन गर्न कर राजस्ववाट २३ अर्ब ८२ करोड, अन्य राजस्वबाट ६ अर्ब ८२ करोड, संघिय सरकारबाट प्राप्त हुने वित्तीय अनुदान १६ अर्ब ९२ करोड रुपैयाँ, विविध प्राप्ति १ अर्ब ५ करोड र चालू आवको राजस्व बचतबाट ९ अर्ब १० करोड खर्च व्यहोरिने उल्लेख गरिएको छ ।

    गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ । चालुतर्फ ४३.५ प्रतिशत र पुँजीगततर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत छुट्याइएको छ ।

    लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले पेस गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख विनियोजन गरिएको जानकारी दिए । स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार रूपैयाँ विनियोजन गरिएको छ ।

    आर्थिक बर्ष २०७८÷७९ को लागि प्रदेश १ सरकारले ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको छ । बजेटको ४६.३ प्रतिशत अर्थात १५ अर्ब ५ करोड ३५ लाख पुँजीगत खर्चका लागि छुट्याइएको छ भने १४ अर्ब १६ करोड १५ लाख अर्थात ४३.६ प्रतिशत चालु खर्च रहेको छ ।

    प्रदेश १ सरकारले गत आर्थिक बर्षमा ल्याएको भन्दा करिव ८ अर्ब रुपैयाँले घटाएर बजेट प्रस्तुत गरेको छ । गत आर्थिक बर्ष २०७७÷७८ को लागी प्रदेश १ सरकारले ४० अर्ब ८९ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

    प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ । उक्त प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बिजयकुमार यादवले बजेट प्रस्तुत गर्दै कुल बजेटको चालुतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख र वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन गरेका छन् ।

    त्यस्तै सुदुरपश्चिम प्रदेशले आगामी आर्थिक वर्षका लागि ३० अर्व ३३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उक्त प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले गत आर्थिक वर्षको भन्दा ३ अर्व ५ करोडले बजेट घटाएर प्रस्तुत गरेका छन् ।

    कुल विनियोजनमध्ये चालूतर्फ १० अर्ब ६६ करोड, पुँजीगततर्फ १७ अर्ब ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । यस प्रदेशको बजेटले पनि स्वास्थ्य सेवा विस्तार तथा पुर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

    कर्णाली प्रदेश सरकारले आव २०७८/०७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले मंगलबार सदनमा प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको भन्दा एक अर्ब ८० हरोड ६६ लाख ३६ हजारले बढि हो । चालु आर्थिक वर्षमा सरकारले ३३ अर्ब ७४ करोड बजेट ल्याएको थियो ।

    बजेटमा पूँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार, चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र वित्तियतर्फ (३,३९,९९,५३,०००) ३ अर्ब ३९ करोड ९९ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।