Tag: प्राविधिक शिक्षा

  • प्राविधिक शिक्षा ७५३ स्थानीय तहमै पुर्याउँछौं: शिक्षामन्त्री पौडेल

    प्राविधिक शिक्षा ७५३ स्थानीय तहमै पुर्याउँछौं: शिक्षामन्त्री पौडेल

    कास्की । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशका ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पु्याउने बताएका छन् ।

    कास्कीमा अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको भवन मंगलबार शिलान्यास गर्दै मन्त्री पौडेलले प्राविधिक तथा बहुप्राविधिक शिक्षा देशका सबै स्थानीय तहमा पुर्याउने बताएका हुन् ।

    ‘प्राप्त ज्ञानलाई उत्पादन र रोजगारसँगमा जोड्नुपर्छ’मन्त्री पौडेलले भने,‘मन्त्रालय प्रत्येक स्थानीय तहमा प्राविधिक र बहुप्राविधिक शिक्षालय स्थापना गर्ने काममा अघि बढेको छ ।’

    मन्त्री पौडेलले अन्नपूर्ण बहुप्राविधिक शिक्षालयलाई नमुनाका रुपमा अघि बढाउन आवश्यक बजेटका लागि आफूले पहल गर्ने बताए । मन्त्री पौडेलले ३ वर्षभित्र देशभरका विद्यालयको भौतिक संरचना बनाउने गरी मन्त्रालये योजना अघि बढाएको बताउँदै यस वर्षको राष्ट्रपति शैक्षिक सुधारको कार्यक्रम थप व्यवस्थित गरि कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।

    पढ्दै कमाउँदै कार्यक्रमले सिपलाई श्रमसँग जोड्ने बताउँदै ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई समावेश गर्ने बताए ।

    २०७६ साल असोज ७ गते आंगिक क्याम्पसको रुपमा सञ्चालन भएको अन्नपूर्ण बहुप्राविधिकको शैक्षिक भवन निर्माणका लागि सरकारले ५ करोड छुट्याएको छ ।

    निर्माणको ठेक्का पाएको रविना कन्ट्रक्सन प्रालिले ३ करोड ८७ लाख २७ हजार ७६ रुपैयाँमा ४ तले भवन एक वर्षभित्र बनाउने इन्जिनियर कृष्णप्रसाद शर्माले जानकारी दिए ।

    माछापुच्छ्रे माध्यमिक विद्यालयले अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी १४ रोपनी जग्गा ८० करोडमा खरिद गरी बुहप्राविधिक शिक्षालय निर्माणका लागि उपलब्ध गराएको संघीय सांसद दुर्गा विकले बताए । अहिले बहुप्राविधिक शिक्षालय घर भाडामा लिएर सञ्चालन भइरहेको छ ।

  • रुकुम पश्चिममा प्राविधिक शिक्षाकाे नाममा दर्जनौं विद्यार्थी ठगिए, सञ्चालक फरार

    रुकुम पश्चिममा प्राविधिक शिक्षाकाे नाममा दर्जनौं विद्यार्थी ठगिए, सञ्चालक फरार

    सुर्खेत । रुकुम पश्चिमका दुई ट्युसन सेन्टरले दुई वर्ष देखि सिटिइभिटीबाट मान्यता प्राप्त गरेको भन्दै विद्यार्थीबाट पैसा असुलेको पाइएको छ ।

    यहाँसम्म कि त्यहाँका दुई कलेज (ट्यूसन सेन्टर)ले दुई वर्षसम्म विद्यार्थीलाई झुलाएको र सिटिइभिटीको परीक्षा किन भएन भन्दा कलेज सञ्चालकले धम्क्याएका समेत पाइएको हो ।

    दुई वर्ष अघि मात्रै वेस्र्टन टेक्निकल प्राविधिक शिक्षालय, राप्ती नाईन इन्ष्टिच्यूट, अक्सफोर्ड टेक्निकल इन्ष्टिच्यूट, सानी भेरी शिषण सिकाइ केन्द्रले तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट ट्यूशन सेन्टरको अनुमति र राजश्व कार्यालयबाट पाना नम्बर ल्याएर ट्यूशन सेन्टरका नाउँमा कलेज नै चलाएका थिए ।

    ती कलेजको आधिकारिकता विवाद र विद्यार्थीको भविष्य अन्यौलमा पुगेको खबर पछि त्यहाँ अध्ययनरत विद्यार्थीले कलेज सञ्चालकबाट केहीले दोब्बर पैसा पाएका थिए । केहीले अझैपनि रकम पाएका छैनन् ।

    ‘पुस २७ गतेबाट हामी आन्दोलनमा छौं । जिल्लामा सिटिइभिटीबाट मान्यता प्राप्त कलेज भन्ने, फिस लिने, आधिकारिकतबाारेमा जानकारी नहुने, भर्ना हुने र अन्तिममा विद्यार्थीको भविष्य चौपट पार्ने यहाँ चलन नै देखियो ।’ अनेरास्ववियु केन्द्रीय अनुशासन कमिटिका सदस्य तुल देवकोटाले नेपालप्रेससँग भने, ‘रुकुममा प्राविधिक कलेज छैन । सिटिइभिटिले कसैलाई मान्यता दिएको छैन तैपनि विद्यार्थीलाई ठगी गर्ने कार्य भइरहेको हुँदा अहिले हामी आन्दोलित छौं ।’
    उनले १८ महिने कम्प्यूटर अपरेटरको नाममा ६५ हजारका दरले विद्यार्थीहरुबाट रकम उठाइएको बताए ।
    ३३ जना विद्यार्थीले आफूहरुकहाँ ठगिएको बताउँदै जानकारी दिएको र त्यहि आधारमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइएको देवकोटाको भनाई छ ।

    ‘हामीलाई भर्ना हुने समयमा विभिन्न प्रलोभन देखाएर चालिस जना पुर्याइएको, भर्ना भएदेखि हालसम्म बिल नदिइएको, अँध्यारो कोठामा लुकाएर अध्यापन गराइएको हो ।’

    नाम उल्लेख नगर्ने शर्तमा आन्दोलनरत एक विद्यार्थीले भने, ‘अध्ययन गरेको दुई वर्ष पुग्दा पनि किन परीक्षा लिइएन भनेर प्रश्न सोध्दा सञलकसहितले धम्क्याए । अन्यले त हामीलाई विप्लवको आरोपमा जेलमा हालिदिन्छौं भनेर पनि धम्कि दिए । आफ्नो भविष्य चौपट हुने देखेका कारण हामीले प्रशासनमा उजुरी दिएका हौं ।’

    उनले गलत कार्य गर्नेलाई कारवाही गर्न माग गरेको बताउँदै अहिले जिल्ला प्रहरी कार्यालय अगाडी अनेरास्ववियुले धर्ना दिइरहेको बताए ।टिएनटी प्राविधिक शिक्षालयका सञ्चालक तिलक डांगी अहिले फरार भएका छन् ।

    ‘हामीलाई मार्कसिट चाहिएको हो भनेर कुरा गरिदिन विद्यार्थीले सहयोग मागेपछि हामी टिएनटी कलेजमा गएका हौं ।’ देवकोटाले भने, ‘अर्को, स्यार्पुदह इन्जिनियरिङ्ग कलेज पनि त्यस्तै रहेछ । जिल्ला प्रशासन कार्यालयले छानविन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बनेको छानविन समितिले पनि त्यो काम अवैधानिक भन्दै नौ पृष्ठको प्रतिवेदन सिडियोलाई हस्तान्तरण गरेको छ ।’

    स्यार्पुदहका सञ्चालक झलक शेर्पाली भने अहिले प्रहरीको हिरासतमा छन् । जिल्ला प्रशासन कार्यालय रुकुमका निमित्त प्रमुख शेरबहादुर पुनले कलेज सञ्चालकले लेभल दुईको अनमति लिएर विद्यार्थीलाई ठगेको पाइएको बताए ।

    ‘हामीले बनाएको छानविन समितिको निष्कर्ष कलेज सञ्चालकको गल्ती भएको पाएका छौं । उनीहरु विरुद्ध ठगी मुद्दा दर्ता भएको छ । एक जना सञ्चालक नियन्त्रणमा छन्, अर्का फरार भएको भएपनि सुरक्षा निकायको निगरानीमा रहेका छन् ।’ उनले भने, ‘ति अर्का व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिन्छ र कारवाही गर्छ । यसमा कुनै कारण नै छैन ।’