Tag: प्रभु साह

  • हारको डरले गठबन्धन सरकारले उपनिर्वाचन गराएन : प्रभु साह

    हारको डरले गठबन्धन सरकारले उपनिर्वाचन गराएन : प्रभु साह

    राजविराज। नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले हारको डरले गठबन्धन सरकारले चुनाव नगराएको आरोप लगाएका छन् ।

    शुक्रबार राजविराजस्थित राज रंगशालामा आयोजित नेकपा एमालेको नवौं सप्तरी जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता साहले उपनिर्वाचन नगराउनु सरकारको अक्षम्य अपराध गरेको बताए । विभिन्न जालझेल तथा षड्यन्त्रपूर्ण ढंगले परमादेशबाट आएको सरकार जनतामाझ जानबाट डराएको पुष्टि भएको उनको भनाई छ । एउटै विधि मानेर राष्ट्रिय सभाको चुनाव गर्न सक्ने सरकारले ६ महिनाभित्र अनिवार्य चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था लत्यानुले गठबन्धन सरकार जनताबाट बहिष्कृत रहेको पुष्टि भएको नेता साहले जीकिर गरे ।

    ‘पछिल्लो राजनीतिक उतारचढावको नतिजास्वरुप देशका विभिन्न क्षेत्र आज प्रतिनिधि विहीन छ । संविधानले नै एक वर्ष कार्यकाल बाँकी रहेको अवस्थामा अनिवार्य रुपमा ६ महिना भित्र उप निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।’ नेता साहले भने, ‘विभिन्न षड्यन्त्रपूर्ण ढंगबाट बनेको परमादेशी गठबन्धन सरकार जनताबाट डराईरहेको छ । चुनाव हारिन्छ कि भन्ने त्रासका बीच यो जनविरोधी सरकारले उपनिर्वाचन गर्न नचाहेर पुष्टि गरेको छ कि वर्तमान सरकार जनताबाट बहिष्कृत सरकार हो ।’

    ‘उहीँ विधि पद्धति मानेर राष्ट्रियसभा निर्वाचन गर्न सक्ने सरकार आखिर उपनिर्वाचन किन गर्न चाहिरहेको छैन । जनताको हकको हनन गर्न पाईदैन, सरकारसँग थोरै पनि नैतिकता बाँकी छ भने उपनिर्वाचन गराओस् । यो गठबन्धनलाई जनताले असली हैसियत देखाईदिने छन् ।’ नेता साहले थपे ।

    कार्यक्रममा प्रदेश ईन्चार्ज रघुवीर महासेठ, सहइन्चार्ज एवम् राष्ट्रिय सभा दलका नेता सुमन प्याकुरेल, सह-इन्चार्ज लिलानाथ श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

  • प्रचण्डका पछि किन लागिएछ भनेर अहिले लाज लाग्छ: प्रभु साह

    प्रचण्डका पछि किन लागिएछ भनेर अहिले लाज लाग्छ: प्रभु साह

    चितवन । नेकपा (एमाले)का नेता प्रभु साहले युद्धका बेला आफूहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिएको भए पनि अहिले सम्झेर लाज लाग्ने बताएका छन् ।

    मंगलबार चितवनको माडीमा आयोजित एमालेको कार्यक्रममा साहले अहिले प्रचण्ड पहिले जस्तो नभएको आरोप लगाए । ‘हामीलाई पनि लाज हुन्छ हामी किन यस्ताका पछि लागेछौं,’ उनले भने, ‘चुनाव लड्दा कम्युनिष्टका लागि भन्दै भोट माग्नुभयो, त्यसमा पाँच वर्ष पनि टिक्नु भएन ।’

    ‘भरतपुर काण्ड’ चितवनका लागि धब्बा भएको भन्दै त्यो मेटाउन जरुरी रहेको बताए । उनले अहिले पनि असली माओवादी एमालेमै रहेको दावी गरे।

  • प्रभु साहको प्रतिवद्धता– ओली जिउँदो हुँदासम्म निस्वार्थ साथ दिन्छु

    प्रभु साहको प्रतिवद्धता– ओली जिउँदो हुँदासम्म निस्वार्थ साथ दिन्छु

    चितवन । एमाले नेता प्रभु साहले अध्यक्ष ओली जिउँदो हुँदासम्म आफूले साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् । चितवनमा एमालेको भरतपुर महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता साहले भने– ओली अगाडि बढ्नुपर्छ, बढ्नुहुनेछ । उहाँ जिउँदो हुँदासम्म निस्वार्थ साथ दिनेछु, देशको सपना पूरा गर्न सबैले साथ दिनुपर्छ ।

    महाधिवेशनमा चितवनले आफ्नो तागत प्रस्तुत गर्नुपर्ने भन्दै चितवनका नागरिकले कम्युनिष्टको भोट लिएर कांग्रेसलाई दिनेहरुलाई सजाय दिनुपर्ने बताएका छन् ।

    उनले विगतको निर्वाचनमा भएको क्षतिपूर्तिसहित आगामी निर्वार्चनमा प्रदेश नम्बर २ एमालेमय बन्ने दावी गरे ।

    कार्यक्रममा चितवनमा २६ वर्षदेखि पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार वीरेन्द्रमणि पौडेल एमाले प्रवेश गरेका छन्। उनी नारायण टुडेका प्रकाशक तथा सम्पादक हुन् । पौडेलले जनताको मन जित्ने काम एमालेले गरेकाले पार्टी प्रवेश गरेको बताए ।

  • प्रभु साह एमालेमा सक्रिय, केन्द्रीय कमिटी बैठकमा पहिलोपटक सहभागी

    प्रभु साह एमालेमा सक्रिय, केन्द्रीय कमिटी बैठकमा पहिलोपटक सहभागी

    काठमाडौं । सर्वोच्च अदालतबाट नेकपा एकता बदरपछि एक प्रकारले स्वतन्त्र गतिविधि गर्दै आएका पूर्वमन्त्री प्रभु साह एमालेमा सक्रिय भएका छन् ।

    साह शुक्रबारको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी भएसँगै अब उनी माओवादीमा फर्किने वा अलग पार्टी बनाउने भनेर चलाइएका हल्ला गलत भएको केन्द्रीय सदस्य रामचन्द्र मण्डलले बताए ।

    साहले नेकपा विभाजनमा बेला तत्कालीन अध्यक्ष केपी ओलीलाई साथ दिएका थिए । उनले एमाले ब्युँतिएपछि आफूहरू नेकपा एकताकै निरन्तरता मान्ने सर्तमा मात्र सक्रिय हुने भन्दै ८ बुँदे माग राखेका थिए ।

    साहसँग अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेललगायतका नेताले निरन्तर छलफल गरेपछि उनी पार्टीमा सक्रिय भएका हुन् । उनीनिकट दुई नेताले शुक्रबारै केन्द्रीय सदस्यको सपथ लिएका छन् ।

  • प्रभु साहको आरोप- संघ र प्रदेशको उपचुनाव टार्न आयोग र सरकारको साँठगाँठ भयो

    प्रभु साहको आरोप- संघ र प्रदेशको उपचुनाव टार्न आयोग र सरकारको साँठगाँठ भयो

    काठमाडौं । नेकपा (एमाले) का नेता प्रभु साहले संघ र प्रदेशको रिक्त ठाउँमा ६ महिनाभित्र उपचुनाव गराउनु पर्ने संवैधानिक व्यवस्था रहेको भन्दै चुनाव नगराउन निर्वाचन आयोग र सरकारबीच साँठगाँठ भएको आरोप लगाएका छन् ।

    ‘प्रत्यक्ष निर्वाचित सांसद वा प्रदेश संसदको पद रिक्त भएमा बढीमा ६ महिनाभित्र चुनाव गराउनै पर्ने संवैधानिक व्यवस्थालाई समेत नजरअन्दाज एवं खिल्ली उडाउँदै मेरो निर्वाचन क्षेत्रलगायत देशका अन्य रिक्त स्थानहरूमा निर्वाचन आयोग र अहिलेको यो अपवित्र गठबन्धनको सरकारले हालसम्म पनि उपनिर्वाचन गराउन नसक्नु वा नचाहनु भनेको खेद एवं दु:खको विषयमात्र नभइ देशमा विधिको शासन, कानूनी राज्य एवं हाम्रो संवैधानिक हकको ठाडो बरखिलाफ एवं उपहास पनि हो,’ साहले फेसबुकमा लेखेका छन्।

    एमाले रोजेपछि साहलाई नेकपा (माओवादी केन्द्र) ले कारबाही गरिसकेको छ । दलीय अनुशासनको नाममा कारबाहीको डण्डा चलाउने प्रचण्डले पनि यसको जवाफ दिनुपर्ने उनले टिप्पणी गरेका छन् । साहले भनेका छन्, ‘जनतालाई लामोसमयसम्म जनप्रतिनिधिविहीन बनाइराख्ने निर्वाचन आयोग र अहिलेको अपवित्र गठबन्धनको सरकारको यो अक्षम्य अपराध हो ।’

    तत्काल नैतिकताको आधारमा राजीनामा गर्न वा सार्वजनिकरूपमा आत्मालोचित भइ माफी माग्दै रिक्त स्थानहरूमा चुनाव गराउन उनले माग गरेका छन् ।

  • प्रभु साह एमालेमा सक्रिय हुने, आजै ओलीसँग झापा जाँदै

    प्रभु साह एमालेमा सक्रिय हुने, आजै ओलीसँग झापा जाँदै

    काठमाडौं । नेकपा (एमाले)मा रहेर पनि असन्तुष्ट भइ निष्क्रिय बसेका बसेका नेता प्रभु साह अब पार्टीमा सक्रिय हुने भएका छन् । शुक्रबार सकिएको एमाले स्थायी कमिटी बैठकले उनीनिकट दुई जनालाई केन्द्रीय सदस्य बनाएपछि उनी पुनः सक्रिय हुन लागेका हन् ।

    साह एमाले अध्यक्ष केपी शर्मा ओलीले आजदेखि शुरु गर्ने झापा र मोरङ कार्यक्रममा सँगै जानेछन् । नेताहरु सुवास नेम्वाङ, लेखराज भट्टसहित साह पनि कार्यक्रममा सहभागी हुनेछन्।

    ८ बुँदे सर्त राखेर एमालेको विधान महाधिवेशनसमेत बहिस्कार गरेका साह अध्यक्ष ओलीसँगको संवादपछि सकरात्मक भएका हुन्।

    २०७७ पुस ५ मा संसद विघटन हुँदा अघिल्लो दिन विरोध गरेका साह भोलिपल्टै ओलीलाई साथ दिन पुगेका थिए । २०७७ फाग्न २३ मा सर्वोच्चले तत्कालीन नेपाल कम्युसिष्ट पार्टी अलग गरेपछि उनी माओवादी छाडेर एमालेतिर लागेका थिए।

  • माओवादीमा फर्किने हल्लाबारे प्रभु साहले भने- अस्थिरताका वाहक प्रचण्डको नेतृत्व स्वीकार्य छैन

    माओवादीमा फर्किने हल्लाबारे प्रभु साहले भने- अस्थिरताका वाहक प्रचण्डको नेतृत्व स्वीकार्य छैन

    काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता प्रभु साहले आफू माओवादीमा फर्किन लागेको भनी चलाइएका हल्ला खारेज गर्दै प्रचण्डको नेतृत्वमा कदापी नजाने प्रष्ट पारेका छन् ।

    साहले कपोकल्पित र भ्रामक प्रचारबाजीको खण्डन गर्ने भन्दै जारी गरेको विज्ञप्तिमा जनयुद्ध र हजारौं शहीदको अपमान गरेर खिचडी संसदीय व्यवस्थामा कुर्सीको खेल चलाएका प्रचण्डसँग कुनै हालतमा एकता हुन नसक्ने बताएका छन् ।

    शाहले भनेका छन्, ‘प्रचण्डकै कारण आज हजारौ योग्य नेपाली विदेश पलायन हुन बाध्य छ । आफ्नो व्यक्तिगत स्वार्थका कारण माओवादी आन्दोलनलाई टुक्रा टुक्रा गरी सिंगै देशलाई नै अस्थिरताको खाडलमा धकेल्ने प्रचण्डको नेतृत्वमा कोही पनि सच्चा माओवादी र क्रान्तिकारीहरू एकताबद्ध हुन सक्दैन ।

    आफू क्रान्तिकारीहरूको ध्रुवीकरणको पक्षमा रहेको भन्दै प्रचण्डलाई असफल र अविश्वसनीय व्यक्ति भनेका छन् । साह पछिल्लो समय एमालेमा पनि सक्रिय छैनन् । उनको ८ बुँदे माग एमालेले सम्बोधन गरेमात्र पार्टीमा क्रियाशील हुने बताएका छन् ।

    पछिल्लो पटकको वार्ता सकारात्मक भएपछि उनी पार्टी काममा फर्किने बताइएको छ । नेकपा एकताको निरन्तरताको रूपमा एमालेलाई अघि बढाउनुपर्ने उनको माग छ ।

  • प्रभु साह बालकोटमा, एमालेमै रहनेबारे नेताहरुसँग छलफल

    प्रभु साह बालकोटमा, एमालेमै रहनेबारे नेताहरुसँग छलफल

    काठमाडौं । नेकपा एमालेमा रहनका लागि ८ बुँदे शर्त राखेर पार्टीका कुनै गतिविधिमा नरहेका नेता प्रभु साह अध्यक्ष ओलीसँग छलफल गर्न बालकोट पुगेका छन् ।

    माओवादीमा फर्काउन प्रचण्डले पनि पहल गरिरहेका बेला प्रभु साह एमालेमै रहने विकल्प खोज्न बालकोट पुगेका हुन् । स्रोतका अनुसार साहसँग अहिले बालकोटमा उपमहासचिव बिष्णु पौडेल तथा शंकर पोखरेल,टोपवहादुर रायमाझी,लेखराज भट्ट लगायतका नेताहरुले छलफल गरिरहेका छन् ।

    साहका अधिकांश मागहरु पार्टीले पूरा गरिसकेको र नेकपा एकताकै निरन्तरता एमाले हो भनेर विधान महाधिवेशनको दस्तावेजमै आइसकेकाले अब पार्टीमा फर्केर क्रियाशील हुन नेताहरुले आग्रह गरेका छन् ।

    साहसँग यसअघि पनि अध्यक्ष ओली,महासचिव ईश्वर पोखरेल,नेता रामवहादुर थापा बादल लगायतले छलफल गरिसकेका छन् । उनले आफ्नो माग नेतृत्वले सम्बोधन गरेको भनेर सार्वजनिक रुपमा बोल्नुपर्ने भनेका छन् ।

    तर अध्यक्ष लगायत नेताहरुले पटक पटक सार्वजनिक रुपमा नेकपा एकताकै निरन्तर रुप एमाले भएको र अहिलेको एमाले जेठ २ अघिको निरन्तरता नरहेको भनिसकेकाले थप बोल्न नपर्ने शीर्ष नेताहरुको भनाइ छ ।

    साहले नेतृत्वमाथि दबाब बढाउन आफू निकट प्रदेश २ का २५ जना प्रदेश कमिटी सदस्यहरुलाई राजीनामा गराएका छन् । तर साहसँगै एमाले भएका ज्वालाकुमारी साहलगायत ठूलो पंक्ति एमालेमै रहने भएपछि उनी पनि दबाबमा छन् ।

  • प्रभुलाई माओवादीमै फर्काउन प्रचण्ड सक्रिय, साहनिकट २५ जनाद्वारा एमालेको प्रदेश कमिटी अश्वीकार

    प्रभुलाई माओवादीमै फर्काउन प्रचण्ड सक्रिय, साहनिकट २५ जनाद्वारा एमालेको प्रदेश कमिटी अश्वीकार

    काठमाडौं । नेकपा एमालेमा असन्तुष्ट रहेका नेता प्रभु साहलाई नेकपा माओवादी केन्द्रमै फर्काउन प्रचण्ड सक्रिय भएका छन् । साहले एमालेमा ८ बुँदे फरक मत राख्दै पछिल्लो समय विधान महाधिवेशन समेत बहिष्कार गरेका छन् ।

    साह एमालेका बैठकहरूमा पनि सहभागी छैनन् । आइटी आर्मीको ब्यानरमा रौतहटमा विभिन्न कार्यक्रम र किसानका समस्या उजागर गरिरहेका प्रभु साहसँग एमाले नेताहरूले गरेको वार्ता असफल भएको छ ।

    साहले नेकपा एकताको निरन्तरता भनेरमात्र मात्र नपुग्ने भन्दै व्यवहारमा पनि सोही अनुसारको विचार र संगठन हुनुपर्ने माग एमालेमा राखेका छन् । उनले जबजको साटो जनताको जनवाद भन्नुपर्ने र तत्कालीन माओवादीका नेताहरूलाई सोही बमोजिमको पद दिनुपर्नेलगायका माग राखेका छन् ।

    प्रदेश २ मा प्रभाव रहेका साहले आफूनिकट २१ जना प्रदेश कमिटी सदस्यलाई सामूहिक राजीनामा गराइसकेका छन् । तर, ज्वालाकुमारी साह, रामचन्द्र मण्डललगायतका नेताहरू भने अब प्रभु साहसँग छैनन् । उनीहरू एमालेमै क्रियाशील छन् । ज्वाला साह विधान महाधिवेशनमा प्रदेश २ बाट टोली नेता थिइन् ।

    साहले अलग पार्टी खोल्ने कि माओवादीमा फर्किने भन्नेबारे निर्णय गरि नसकेको तर वार्तामा रहेको उनीनिकट स्रोतले जनाएको छ । माओवादी अध्यक्ष प्रचण्डले सोमबार आयोजित एक कार्यक्रममा केही ठूलै नेता पार्टीमा फर्किन लागेको भन्दै नाम नखुलाउने बताएका थिए ।

    प्रचण्डको संकेत प्रभु साहतर्फ रहेको बताइन्छ । प्रभु साह र गौरीशंकर चौधरीलाई फर्काउन सकिने रिपोर्टिङ भएपछि प्रचण्डले पनि छलफल चलाउन खोजेको निकट स्रोतले जनाएको छ ।

    एमालेको विधान महाधिवेशनमा ६ सय भन्दा बढी पूर्वमाओवादीहरू सहभागी हुँदा प्रभु साहको समूह भने सहभागी भएको थिएन ।

  • एमाले छाड्ने प्रभु साहको संकेत, चाँडै क्रान्तिकारीहरूको ध्रुवीकरण हुने दावी

    एमाले छाड्ने प्रभु साहको संकेत, चाँडै क्रान्तिकारीहरूको ध्रुवीकरण हुने दावी

    गौर। पूर्वमन्त्री प्रभु साहले देशलाई अग्रगामी निकास दिन क्रान्तिकारी ध्रुवीकरण भइरहेको बताएका छन् ।

    रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा स्थानीयसँग अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन साहले संवैधानिक संकटमार्फत देशमा अस्थिरता र अराजकता बढ्दै गएको जीकिर गरे ।

    ‘देशमा राजनीतिक संकट गहिरिँदै गएको र उपलब्धि गुम्ने खतरा बढ्दै गएकोले क्रान्तिकारीहरूको ध्रुवीकरण आजको आवश्यकता बनेको छ । देशलाई अग्रगमनको बाटोमा डोर्‍याउने उद्देश्य बोकेका क्रान्तिकारीहरूबीच चाँडै एकता भएर एउटा सशक्त शक्ति निर्माण गर्नुपर्छ’, साहले भने ।

    यथास्थितिमा बसेर देशलाई सही निकास दिन नसकिने भन्दै उनले नयाँ ध्रुवीकरणमा जोडिन क्रान्तिकारी शक्तिहरूलाई आह्वानसमेत गरे ।

    देशमा गम्भीर प्रकृतिको राजनीतिक संकट गहिरिँदै गइरहेको दावी गर्दै साहले लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको जिकिर गरे । एउटा मात्र जातिको वकालत गर्ने केही राजनीतिक दल तथा नेताहरू निहित स्वार्थमा तयार भएको वर्तमान संविधान र व्यवस्था नै यसको प्रमुख कारण भन्दै साहले कम्युनिष्टका नामधारी पार्टीहरु यथास्थितिमा विकल्प खोजिरहेको र यसको कुनै अर्थ नरहेको बताए ।

    ‘देशलाई अग्रगामी निकास दिनका लागि क्रान्तिकारीहरुको ध्रुवीकरण जरुरी छ । र छिटै क्रान्तिकारीहरुको एकीकृत शक्ति निर्माण हुँदैछ’, उनले भने ।

  • बैठकमा देखिन छाडेका प्रभु साहले एमालेमा राखे ८ बुँदे माग (सूचीसहित)

    बैठकमा देखिन छाडेका प्रभु साहले एमालेमा राखे ८ बुँदे माग (सूचीसहित)

    काठमाडौं । प्रभु साहको पार्टीगत हैसियत अहिले के हो ? उनी आइटी आर्मीको ब्यानरमा आफूलाई पूर्वमन्त्रीका रूपमा विभिन्न कार्यक्रमहरूमा उपस्थित गराइरहेका छन् ।

    तत्कालीन नेकपाका केन्द्रीय सदस्य साह पुस ५ को नेकपा विभाजनपछि केही दिन प्रचण्ड-माधव समूहमा थिए । त्यसपछि केपी ओली पक्षमा लागेर शहरी विकास मन्त्रीसमेत भएका साह सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी ब्युँतिएपछि पनि एमालेकै नेताका हैसियतमा थिए ।

    उनले विभिन्न मञ्चबाट प्रचण्डको चर्को विरोध पनि गरिरहेका थिए । तर, पछिल्लो समय भने उनी न त एमालेका बैठकमा उपस्थित छन्, न एमालेका कार्यक्रममै देखिन्छन् ।

    त्यसो भए प्रभु साह अहिले कुन पार्टीका नेता हुन् ? साहले आफू नेकपाको निरन्तरता भएको पार्टी खोजेको भन्दै एमाले नेतृत्वसमक्ष आफ्ना ८ बुँदे माग राखेका छन् । ती माग सम्बोधन नभए एमालेमा बस्न नसक्ने उनले बताएका छन् ।

    साह पछिल्लो समय रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टहरुसहितको पूर्वमाओवादी समूहको बैठकमा थिए । पूर्वमाओवादी समूहको तर्फबाट विभिन्न कमिटी र जनवर्गीय संगठनमा समावेश गर्ने सदस्यहरूको नाम तय गर्ने बैठक थियो त्यो ।

    यसबीचमा साहका मागका सम्बन्धमा महासचिव ईश्वर पोखरेल रहेको कार्यदलले पनि काम गरिरहेको एमालेले जनाएको छ । साहको हैसियत अहिले एमालेको केन्द्रीय सदस्य छ ।

    तर, उनले एमालेका स्थायी कमिटी सदस्य माग गरेका छन् । उनको मुख्य अन्तरविरोध भने प्रदेश २ मै देखिएको छ । नेकपाकालमा प्रदेश २ को अध्यक्ष रहेका साहलाई एमाले भएपछि भने सो जिम्मेवारीबाट हटाएर माओवादीबाट प्रमु साहसँगै एमाले बनेकी ज्वालाकुमारी साहलाई अध्यक्ष बनाइएको छ । प्रभु र ज्वालाको अन्तरविरोधमा अध्यक्ष ओलीले ज्वालालाई साथ दिएकोमा उनको चित्त बुझेको छैन ।

    जिल्ला कमिटी अध्यक्षहरू चयन गर्दा पनि ज्वालाले एकलौटी गरेको भन्दै प्रभु साहले अश्वीकार गरेका थिए । रौतहटमा राम्रो प्रभाव रहेका साह माओवादीबाट एमाले बनेका प्रतिनिधिसभाका चार पूर्वसांसदमध्ये सबैभन्दा बलियो जनाधार भएका नेता हुन् ।

    प्रभु साह निकट स्रोतले भने ज्वाला साहसँगको अन्तरविरोध अ‍ोलीले नै सिर्जना गरेको भन्दै नेकपा एकता अदालतबाट बदर भएपछिको सहमति कार्यन्वयन नहुँदा एमालेमा बस्न समस्या रहेको दावी गरेको छ ।
    साह निकट एक नेताले भने–एमाले नाम राख्ने तर नेकपाकै विधान र विचारलाई निरन्तरता दिने कुरामा मिलेन । प्रदेश २ कै सन्दर्भमा १ महानगरसहित ३ जिल्ला इन्चार्ज र ४ जिल्ला अध्यक्ष पूर्व माओवादीले पाउने सहमति पनि लागु भएन । वैचारिक विमतिका कुराहरु छन्,पदको विवाद होइन ।
    ओलीले साहलाई स्थायी कमिटी सदस्य उतिबेलै प्रस्ताव गरेपनि समग्रमा पार्टी एकताको भावना अनुसार चल्नुपर्ने माग रहेको उनी निकटहरुले बताएका छन् । आइटी आर्मीकै सन्दर्भमा ओली नकारात्मक रहेको साहको आरोप छ ।

    उनी आजको अवस्थामा पनि चुनाव जित्ने हैसियत राख्छन् । अहिले उनले आइटी आर्मी नामको मोर्चाबाट जनपरिचालन र कार्यकर्ता परिचालनको काम गरिरहेका छन् । उनले एमालेसमक्ष आइटी आर्मीलाई जनवर्गीय संगठनको मान्यता दिन माग गरेका छन् ।

    माओवादीमा हुँदा उनको लिगेसी बाबुराम भट्टराई हुँदै टोपबहादुर रायमाझीसँग थियो । आइटी आर्मीको उद्घाटनमा रायमाझी प्रमुख अतिथि थिए । प्रभु साहले एमालेलाई जेठ २ अघिको होइन जेठ ३ पछिको अवस्थामा लैजानुपर्ने माग गरेका छन् ।

    उनको आठ बुँदे मागमा जनताको बहुदलीय जनवाद होइन नेकपाले अपनाएको जनताको जनवादलाई महाधिवेशनमा लैजानु पर्ने माग समेत राखेका छन् । त्यस्तै एमालेको जेठ २ अघिको वैधानिक कमिटी र पदाधिकारीलाई कायम गर्दा माओवादीको केन्द्रको वैधानिक कमिटी र पदीय हैसियतअनुसार मिलान गर्नुपर्ने माग राखेका छन् ।

    प्रभु साहले एमालेको विधान महाधिवेशन होइन एकताको पार्टी महाधिवेशन हुनुपर्ने माग समेत गरेका छन् । उनका कतिपय माग पूरा गर्न नसकिने भए पनि अरु विषय सम्बोधन हुने एमाले स्रोतले जनाएको छ ।

    तर, साह भने एमालेमा रहन नसकिने ठाउँमा पुगेको उनीनिकट नेताहरू बताउँछन् ।

    साहले राखेका माग यसप्रकार छन् :

     

     

  • भूमिहीन सुकुम्बासीका विरुद्ध षड्यन्त्र गर्नेहरु कम्युनिष्ट हुन सक्दैन : प्रभु साह

    भूमिहीन सुकुम्बासीका विरुद्ध षड्यन्त्र गर्नेहरु कम्युनिष्ट हुन सक्दैन : प्रभु साह

    वीरगन्ज । पूर्वमन्त्री प्रभु साहले भूमिहीन सुकुम्बासीका विरुद्ध षड्यन्त्र गर्नेहरू कम्युनिष्ट हुन नसक्ने बताएका छन् ।

    शुक्रबार वीरगन्जमा आयोजित आईटी आर्मीको पर्सा जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारी निर्णयप्रति कडा आपत्ति जनाए । उनले गरिब, विपन्न एवम् सुकुम्बासीलाई पीडा दिने देउवा सरकारलाई साथ दिनेहरु कम्युनिष्टको खोल ओढेका प्रतिक्रियावादी सामन्त भएको जीकिर गरे । पूर्वमन्त्री साहले सुकुम्बासी समस्या समाधान गर्नुको सट्टा उल्टै सुकुम्बासी विरुद्ध षडयन्त्र गर्ने कार्य देउवा सरकारको चरम गैरजिम्मेवार कार्य रहेको र त्यसमा साथ दिने माधव नेपाल र प्रचण्ड कम्युनिष्टको नाममा कलंक रहेको बताए ।

    ‘वर्षौंदेखि लाखौं नेपाली सुकुम्बासी भएर बाँचिरहेका छन्, भूमिहीन सुकुम्बासीलाई लालपुर्जासहित जग्गा बाँड्ने उद्देश्यका साथ गठन भएको भूमि आयोग देउवा सरकारले खारेज गर्‍यो । जग्गा धनी लालपुर्जा दिने कार्य अन्तिम चरणमा पुगेको बेला यस्तो निर्णय देउवा एक्लैको होइन, यसको मुख्य सल्लाहकार केहि कथित कम्युनिष्टहरु हुन् । पूर्वमन्त्री साहले भने, ‘विपन्न तथा दलित विरोधी यस्ता हर्कत गर्ने कोही पनि कम्युनिष्ट हुन सक्दैनन् । ती कम्युनिष्टको खोल ओढेका प्रतिक्रियावादी सामन्त जमिनदारभन्दा बाहेक केही पनि होइनन् ।’

    साहले आज केही कथिक कम्युनिष्ट सहितको अपवित्र गठबन्धनको सरकारले गरीब विपन्न तथा दलितहरुको हक अधिकार खोस्ने काम गर्दैछ । जताततै हेरौं भ्रष्टाचार र लुटआतंक छ, अस्थिरता मच्चाउने खेलहरु निम्त्याइदैछ । यी तमाम वेतिथिका विरुद्ध लड्न आईटी आर्मी खडा गरेको बताए ।

    भेलाले युवा नेता सन्तोष पटेलको संयोजकत्वमा आईटी आर्मीको पर्सा जिल्ला कमिटी गठन गरेको हो । वीरगन्जस्थित पदम पार्टी सेन्टरमा आयोजित कार्यक्रममा संविधानसभा सदस्य इस्लाम हवारी, नेताहरु पवन तिवारी, अमिताभ बच्चन दासलगायतको सहभागिता थियो ।

  • सर्वोच्चमा प्रभु साहको जिकिर- म एमाले र माओवादीको मतबाट जितेको हुँ, प्रचण्डको कारवाही अवैध

    सर्वोच्चमा प्रभु साहको जिकिर- म एमाले र माओवादीको मतबाट जितेको हुँ, प्रचण्डको कारवाही अवैध

    काठमाडौं । सांसद पदमा पुर्नवहाली माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका तत्कालीन माओवादीका चार नेतामध्ये प्रभु साहले अरुको भन्दा थप जिकिर गरेका छन् ।

    उनले आफू एमाले र माओवादी केन्द्रको साझा घोषणापत्र र साझा उम्मेदवार भएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएकोले कुनै पार्टीको नेताले आफ्नो पार्टी त्याग गरेको आरोप लगाएकै भरमा पद रिक्त नहुने जिकिर गरेका छन् ।

    सर्वोच्च अदालतमा दयार गरिएको रिटमा साहले आफूलाई एमाले र माओवादी केन्द्र दुवैको समर्थन,विश्वास र उम्मेदवारी प्राप्त भएकाले माओवादी अध्यक्ष प्रचण्डले एकतर्फी रुपमा गरेको कारवाही स्वीकार्य नहुने जिकिर गरेका छन् ।

    उनले चुनावकै बेला निकट भविष्यमा पार्टी एकीकरण गर्ने भनेर साझा उम्मेदवार बनेको र साझा घोषणा पत्र लिई जनतामा गएको कारण दुवै दलहरु एक ठाउमा रहुन् भन्ने मनसाय राखी गरिएको कार्य दल त्यागको परिभाषाभित्र नपर्ने बताएका छन् ।

    साहले आफूले दल त्याग नगरेको भन्दै माओवादी केन्द्रको २०७७ चैत १ र २ गते बसेको केन्द्रीय समिति बैठकले पुष्पकमल दाहाललाई अधिकार प्रत्योजन गरिएको आधारमा स्पष्टीकरण सोधेर कारवाही गरेको भन्ने व्यहोरा नै झुटो रहेको जिकिर गरेका छन् ।

    केन्द्रीय समिति सकिनु एक दिनअघि नै आफूलाई स्पष्टीकरण पत्र बुझाएको र कुनै कानूनी प्रक्रिया पूरा नगरी सांसद पद रिक्त गर्ने दुषित मनोभावनाको साथ कार्य गरिएकोले सबै निर्णय बदर गर्न उनले माग गरेका छन् ।

    फागुन २३ को फैसलापछि नेकपाको अर्को नाम लिएर निर्वाचन आयोग जान छाडेर अदालतले दिएको १५ दिनको समय नपुग्दै आफूहरुमाथि भएको कारवाही अवैध हुने जिकिर साहको छ ।

     

  • प्रभु साहको टिप्पणी- न्यायाधीशले आफूलाई राजा ठान्न थाले

    प्रभु साहको टिप्पणी- न्यायाधीशले आफूलाई राजा ठान्न थाले

    काठमाडौ । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता प्रभु साहले सर्वोच्च अदालतको फैसलाले दलीय शासन प्रणालीको हत्या गरेर देशमा द्वन्द्व निम्त्याएको टिप्पणी गरेका छन् ।

    संवैधानिक असफलताले नै न्याय निरुपण गर्ने न्यायाधीशहरूलाई राजाको हैसियतमा पुर्‍याएको साहको भनाइ छ । दलीय अनुशासन वा प्रणालीको वास्ता नगरी मनपरि ढंगले जुनसुकै अस्वभाविक निर्णय गर्ने राजाको विगत रहेको भन्दै साहले आजको निर्णय गर्ने न्यायाधीशले आफूलाई राजा ठानेर फैसला सुनाएको आरोप लगाए ।

    संसद पुन:स्थापना गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई परमादेशबारे प्रतिक्रिया जनाउँदै पूर्वमन्त्री साहले सर्वोच्च अदालतको संसदमा दलीय व्हीप नलाग्ने आदेश यो व्यवस्थाकै विडम्बना भएको उनले बताएका छन् ।

    दलीय शासन व्यवस्था प्रणालीमा दलीय अनुशासन लागू हुँदैन भन्ने निर्णय गरेर सर्वोच्च अदालतले दलीय प्रणालीको आत्माको हत्या गरेको उनको टिप्पणी छ । पूर्वमन्त्री साहले अदालतको फैसलाले दलीय प्रणालीको खुट्टा भाँचिएको र व्यवस्थालाई नै अपांग बनाइदिएको बताए ।

    ‘दलीय शाशन प्रणाली वर्तमान व्यवस्थाको आत्मा हो, र दलीय प्रणालीको आत्मा हो दलीय अनुशासन । आज सर्वोच्च अदालतले दलीय अनुशासन लागू हुँदैन भन्ने जुन फैसला गरेको छ, यसले दलीय प्रणालीको आत्माको हत्या भएको छ । यसले देशमा द्वन्द्व चर्काउने बाहेक केही गर्न सक्दैन ।’ उनको भनाइ थियो ।

    साहले भने, ‘तपाईं हामीले हेरिरहेका छौँ कि जुन ढंगले न्यायालय राजनीतिमाथि हावी भएको छ, यो सबै गलत संवैधानिक प्रावधानकै उपज हो । आजको सर्वोच्च अदालतको फैसलाले वर्तमान व्यवस्था र संविधान असफल भईसक्यो भन्ने पुष्टि गरेको छ ।’

  • प्रभु शाहको मागः नागरिकता अध्यादेश रोक्ने न्यायाधीशलाई महाअभियोग !

    प्रभु शाहको मागः नागरिकता अध्यादेश रोक्ने न्यायाधीशलाई महाअभियोग !

    काठमाडौं । पूर्वमन्त्री तथा एमाले नेता प्रभु शाहले नागरिकतासम्वन्धी अध्यादेशमा रोक लगाउन सर्वोच्चले गरेको अन्तरिमक आदेशको आलोचना गरेका छन् । यो आदेश गर्ने न्यायाधीशमाथि नै महाअभियोग लगाउनुपर्ने उनको माग छ ।

    फेसबुकमा स्टाटस लेख्दै शाहले उक्त माग गरेका हुन् । उनले सर्वोच्चको फैसलालाई अप्रत्याशित र गैरजिम्मेवारीपूर्ण भन्दै यसले मुलुकमा संकट निम्त्याउने जिकीर गरेका छन् ।

    शाह लेख्छन्, ‘यो आदेशले नेपाली नागरिकलाई आफ्नै देशमा शरणार्थी बनाउने, जनतामा राज्यप्रति अविश्वास बढ़ाउने र अराजकता फैलाएर मुलुकमा संकट निम्त्याउने भएकोले यसमा संलग्न न्यायाधीशहरुलाई महाअभियोग लगाउन जरुरी छ ।’

    संवैधानिक व्यवस्था अनुरूप आएको महत्वपूर्ण अध्यादेश कार्यान्वयनमा रोक लगाउनुले विगतमा सम्मानित सर्वोच्च अदालतको फैसला, विधिको शासन र शक्ति सन्तुलनको सिद्धान्त विपरीत रहेको उनले टिप्पणी गरेका छन् ।

  • नागरिकता अध्यादेशले खुशी छु: प्रभु साह

    नागरिकता अध्यादेशले खुशी छु: प्रभु साह

    काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री एवम् एमाले नेता प्रभु साहले नेपाल नागरिकता अध्यादेश २०७८ प्रमाणीकरण भएकोमा आफू असाध्यै खुशी भएको बताएका छन् ।

    आइतबार राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि नेता साहले आफ्नो अथक प्रयासबाट लाखौं जनताको नागरिकतासम्बन्धी समस्या समाधान हुने अन्तिम विन्दुमा पुगेकोमा हर्षित भएको बताए ।

    ‘नागरिकता नपाएको अवस्थामा लाखौं युवायुवती राज्यविहीन महसुस गर्दै सेवा सुविधाबाट बञ्चित रहेको हुँदा उनीहरूले नागरिकता पाउनुमा म खुशी छु । यसका लागि प्रधानमन्त्री एवम् राष्ट्रपतिलाई विशेष धन्यवाद दिन्छु’, उनले भने ।

  • अराजकता र अस्थिरतावादीको कारण देश मध्यावधिमा जान बाध्य भयो : प्रभु साह

    अराजकता र अस्थिरतावादीको कारण देश मध्यावधिमा जान बाध्य भयो : प्रभु साह

    काठमाडौं । निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले अराजकता र अस्थिरतावादीकै कारण देश मध्यावधि निर्वाचनमा जान बाध्य भएको बताएका छन् ।

    शुक्रवार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार नबनेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछी प्रतिक्रिया जनाउदै निवर्तमान मन्त्री साहले अस्थिरता र अराजकता मच्चाउन खोज्नेहरुको अतिवादको कारण देश ताजा जनादेशमा जान बाध्य भएको बताए ।

    संसदीय मुल्य मान्यता, विधि विधान र दलिय अनुशासन कुरा गर्नेहरुले नै त्यस विपरीतको गतिविधि देखाएर देशलाई बन्धक बनाएको तथा अराजक र अस्थिरतावादी फैलाउने हर्कतले हद नाघेपछि देश मध्यावधिमा गएको बताए । देशमा स्थिरता चाहने कोही पनि लोकतन्त्रवादीहरुले चुनावको विरोध गर्न नसक्ने बताए ।

    तपाईं हेर्न सक्नुहुन्छ, बहुमतको मातहतमा अलपमत रहने दलीय प्रणाली मान्छौ भन्नेहरु जसपाको १२ जनाले २० जनामाथि, नेकपा(एमाले) को २६ जनाले ९५ जनामाथि शासन गर्ने लालसासाथ आफ्नो दलको विरुद्ध अरु दलको नेतालाई प्रधानमन्त्री बनाउन तल्लीन छन ।

    आफुलाई संसदको जननी भन्ने कांग्रेसले संसदीय अभ्यास र मर्यादा विपरीत अरु दलको सांसदको हस्ताक्षरको दुरुपयोग गर्ने अप्राकृतिक ढंगले प्रधानमन्त्री बन्न खोज्ने जस्ता हर्कतहरु देखाईरहेका छन् । नेता साहले भने, त्यति मात्र होइन, एकातिर दलीय अनुशासनको नाममा सांसदलाई पैकेटमा लिएर हिडने र बिनाकारण स्वेच्छाचारी ढंगले मन नपर्ने सांसदलाई बर्खास्त गर्ने, अर्कोतिर स्वतन्त्रको नाममा आफ्नो पार्टीको विरुद्ध अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर समेत गर्ने , यी दुबै किसिमको अतिवाद छ । यी र यस्ता हर्कत गर्ने अराजक र अनैतिकवादीहरुको कारण नै आज देश मध्यावधिमा जान बाध्य भएको छ ।

    देश लामो समयदेखि अन्यौलता एवं अनिर्णयको भूमरीमा फसेको र दुषित संसदीय खेलबाट जनता निराश भैसकेकोले ताजा जनादेशबाट मात्र निकाश दिन सकिने उनको भनाई छ । अस्पष्ट व्यवस्थाले जन्माएको अराजकताका कारण भईरहेका भद्दा खेल रोक्न लोकतन्त्र र अग्रगमन पक्षधरहरुलाई चुनावको स्वागत गर्दै अगाडि बढ्न अपिल समेत गरेका छन् ।

    मुलुक लामो समयदेखि अन्र्तघात, अस्थिरता, अन्यौलता एवं अनिर्णयको भूमरीमा घुमिरहेको सन्दर्भमा अहिलेको दुषित संसदीय खेलबाट आर्जित एवं निराश भैसकेको देश र जनतालाई ठोस एवं सही निकाश दिन अहिलेको मौजूदा व्यवस्थामा मध्यावधि चुनाव अर्थात ताजा जनादेश नै सर्वोत्तम विकल्प छ । नेता साहले भने, त्यसैले सार्वभौम सत्ता सम्पन्न आम नेपाली जनतामाथि विश्वास गर्ने सम्पुर्ण लोकतन्त्र पक्षधरहरुले यस निर्णयको जोड़दार स्वागत गर्न जरूरी छ ।

    नेता साहले विभिन्न अराजक हर्कत हुनुमा पनि भद्दा, विकृत एवं दलाल नोकरशाही पुँजीवादी व्यवस्था नै रहेकोले त्यसको परिमार्जन बारे पनि सोच्ने बेला आइसकेको बताए ।

  • गोदावरीमा तयार भयो देशकै ठूलो सभागृह, प्रधानमन्त्रीले उद्घाटन गर्ने (फोटो-भिडियो)

    गोदावरीमा तयार भयो देशकै ठूलो सभागृह, प्रधानमन्त्रीले उद्घाटन गर्ने (फोटो-भिडियो)

    ललितपुर । गोदावरीमा निर्माणाधिन नेपालकै सबैभन्दा ठूलो सभाहलको निर्माण अन्तिम चरणमा पुगेको छ ।

    करिब ३ हजार क्षमताको सभाहल निर्माणको काम ९९ प्रतिशत काम सम्पन्न भएको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय बबरमहलले जनाएको छ ।

    बैशाख ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी गरिएको सो सभाहलको शुक्रबार शहरी विकास मन्त्री प्रभु शाहले निरीक्षण गरेका छन ।

    भवनभित्र २ वटा भिभिआईपी कक्ष बनाईएको छ । आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएकाले यही बैशाख ३१ गते प्रधानमन्त्रीबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको शहरी विकास मन्त्रालयका सचिव ई. रमेश प्रसाद सिंहले जानकारी दिए ।

    उदाउँदो सूर्यको आकृतिमा बनाईएकाले सभाहललाई गोदावरी सनसाईज नाम दिईएको सचिव ई. सिंहले बताए  ।

    गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित ४३ रोपनी १५ आना क्षेत्रफल जग्गामा बनाईएको सो सभाहलको भौतिक संरचनाले मात्रै ११ रोपनी १३ आना चर्चेको छ ।

    ३ रोपनी क्षेत्रफलमा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैचा तथा हरियाली र १३ रोपनीमा पार्किङ्ग र अन्य कार्यका लागि छुट्याईएको छ । ध्वनी अवशोषित, भुकम्प प्रतिरोधी सो सभाहलमा कम्तिमा पनि ३ हजार जना सहभागी भएर बैठक गर्न सक्ने छन् ।

    केसी समानान्तर जेभी काठमाण्डौले निर्माण ठेक्का लिएको सभाहलको लागत ८१ करोड, ६ लाख ४ सय ३ रुपैया रहेको छ । सभाहल अन्तराष्ट्रिय विमानस्थलबाट १५ दशमलब ८ किलोमिटर र चक्रपथबाट ९ दशमलब ५ किलोमिटर दुरीमा रहेको छ ।

    मन्त्री शाह मन्त्रालय र विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका कर्मचारी सहित सभाहलको निरीक्षणमा जानुभएको थियो ।

     

  • माओवादीबाट निर्वाचित रौतहटका अधिकांश जनप्रतिनिधि एमाले बनेपछि कारवाही

    माओवादीबाट निर्वाचित रौतहटका अधिकांश जनप्रतिनिधि एमाले बनेपछि कारवाही

    काठमाडौं । रौतहट जिल्लाबाट निर्वाचित नेकपा माओवादी केन्द्रका अधिकांश स्थानीय तहका जनप्रतिनिधि नेकपा एमालेमा लागेपछि पद रिक्त गराउन माओवादीले प्रक्रिया अघि बढाएको छ ।

    जिल्लाका दुई नगरपालिका र एक गाउँपालिकामा माओवादीले प्रमुख जितेको छ भने ७ स्थानीय तहमा उपप्रमुख जितेको छ । तीमध्ये यमुनामाई गाउँपालिका प्रमुखसहित अन्य दुई उपप्रमुखबाहेक अन्य सबै प्रभु साहसँगै एमाले भएका छन् ।

    माओवादी केन्द्रको प्रदेश कमिटी सदस्यसमेत रहेका मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरियाका मेयर सियाराम कुशवाहलाई एमाले प्रवेश गरेको भन्दै सो पार्टीले निष्कासन गरेको हो ।

    त्यस्तै मौलापुरका उपमेयर गौरीशंकरप्रसाद जयसवाल, फतुवा विजयपुरकी उपमेयर कान्तिदेवी महतो, देवाही गोनाहीकी परनिया देवी, माधवनारायणपुरकी उपाध्यक्ष सिमलकुमारी साह र यमनुमाइ गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साहलाई पार्टीबाट निष्कासन गरिएको माओवादीले जनाएको छ ।

    माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरू एमालेका गतिविधिमा संलग्न रहेकोले पार्टीबाट कारवाही गरी पद रिक्त गरिदिन निर्वाचन आयोगलाई पत्राचार गरिएको माओवादी जिल्ला सचिव देवेन्द्र पटेलले बताएका छन् ।

    रौतहटमा माओवादी केन्द्रको ९० प्रतिशत हिस्सा प्रभु साहको व्यक्तिगत प्रभावमा थियो । सो शक्ति प्रभुसँगै एमाले भएको छ ।

  • सांसद पदबाट मुक्त भएका मन्त्री आज सिंहदरवार नजाने, पुनः सपथग्रहणको तयारी

    सांसद पदबाट मुक्त भएका मन्त्री आज सिंहदरवार नजाने, पुनः सपथग्रहणको तयारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रको कारवाहीपछि प्रतिनिधिसभा सदस्य पदबाट मुक्त भएका चारजना मन्त्री आजदेखि मन्त्रालय नजाने भएका छन् ।

    उनीहरुलाई प्रधानमन्त्रीले चाँडै नै सोही मन्त्री पदमा पुनर्नियुक्ति गर्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

    प्रतिनिधिसभा सदस्य नरहेपछि मन्त्रीबाट स्वतः पदमुक्त हुने भएकाले पुनर्नियुक्ति नहुन्जेल मन्त्रालय नजाने शहरी विकासमन्त्री प्रभु साहले बताए । उनीहरुले पुनः मन्त्री पदमा नियुक्त भएर सपथग्रहण गर्नुपर्ने हुन्छ ।

    प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइने नेम्वाङले बताए । सोही व्यवस्था अनुसार मणि थापा र दावा लामा मन्त्री कायम छन् ।

    ६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी त्यतिन्जेल मन्त्री हुन पाउँछन् । उपचुनावमा उनीहरु एमालेबाट उम्मेदवार बन्ने निश्चित नै छ ।

    उनीहरुले प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गर्ने निर्णयविरुद्ध कानूनी उपचार खोज्नेबारे समेत छलफल गरिरहेको स्रोतले जनाएको छ । यसबारेमा टुंगो भने लागेको छैन ।

    माओवादीले गृहमन्त्री रामवहादुर थापाको राष्ट्रियसभा सदस्य पदबाट खारेज गर्ने सूचना दिइ नसकेकाले बादल समेत पदमुक्त भएपछि एकैपटक पुनर्नियुक्ति गर्नेबारे पनि छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

    ढिलोमा आइतवारसम्म पुनःनियुक्ति र सपथग्रहण हुने स्रोतले जनाएको छ ।

    ‘छबिलाललाई प्रचण्ड बनाउने इतिहास’

    यसैबीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका एमाले केन्द्रीय सदस्य सूर्य थापाले रायमााझी, भट्ट, प्रभु साह र गौरीशंकरले पद प्रतिष्ठाका लागि नभएर निष्ठाको राजनीति गरेकाले सबथोक हैसियत त्याग गर्ने स्पिरिटका साथ लामो यात्रामा अघि बढेको बताएका छन् ।

    थापाले भनेका छन्, ‘उहाँहरुले हिजो छविलाललाई प्रचण्ड बनाउन जीवन लगाएको गौरवमय इतिहास साक्षी छ ।’

  • प्रचण्डले मेरा मतदातालाई अपमान गर्ने अपराध गरे: मन्त्री साह

    प्रचण्डले मेरा मतदातालाई अपमान गर्ने अपराध गरे: मन्त्री साह

    काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले जनताबाट निर्वाचित सांसदको पद खोसेर प्रचण्डले मतदाताको अपमान गर्ने अपराध गरेको बताएका छन् ।

    मङ्गलबार प्रचण्डले मन्त्री साहसहित ४ जना सांसदलाई पदमुक्त गरेपछि प्रतिक्रिया जनाउदै मन्त्री साहले चुनाव जिताउन केही योगदान नगरेको प्रचण्डले आफुलाई पदमुक्त गर्न कुनै पनि नैतिकताले नमिल्ने बताए ।

    तीन पटक चुनाव जित्दासमेत आफ्नो चुनावमा कहिले पनि प्रचण्डको उपस्थिति, घोषणापत्र वा पोस्टर केही पनि प्रयोग नगरेको बताउदै मन्त्री साहले आफ्नो व्यक्तित्व र मतदाताको विश्वासको बलमा चुनाव जितेको जनप्रतिनिधिलाई हटाउने प्रचण्डको कदमले जनताको मत र लोकतन्त्रको अपमान भएको जीकिर गरे ।

    ‘मैले अहिलेसम्म तीन पटक चुनाव जितेको छु । कुनै पनि चुनावमा न त प्रचण्डलाई आफ्नो क्षेत्रमा लगेँ, न त प्रचण्डको घोषणा पत्र न त पोस्टर नै प्रयोग गरेको हुँ । आफ्नो व्यक्तित्व र जनताको विश्वासले चुनाव जितेको छु । आफु एक मत पनि बढाउन नसक्ने प्रचण्डहरुले जनताको मतबाट निर्वाचित जनप्रतिनिधिलाई पदमुक्त गर्ने कुन नैतिकताले दिन्छ ?’ मन्त्री साहले भने, ‘जनताको मतादेशको कदर गर्न नसक्नेले लोकतन्त्र, विधि र पद्दतिको कुरा गर्न सुहाँदैन । प्रचण्डको यो कदमले मेरो मतदाताको अपमान भएको छ, यो ठूलो अपराध हो ।

    आफुलाई मत दिने रौतहट क्षेत्र नम्बर ३ का एक जना मतदाता पनि आफुबाट नाखुस नभएको मन्त्री साहले बताए ।

    आफ्नो प्रभावले एक मत पनि बढाउन नसक्ने प्रचण्ड हजारौँ मतदाताको साथबाट निर्वाचित सांसद पदको मालिक हुन खोज्नु हास्यास्पद रहेको मन्त्री साहको जीकिर छ । सांसद पदबाट हटाउने प्रचण्डको कदम निरंकुताको पराकाष्टा भएको मन्त्री साहको भनाई छ ।

    जनमतको अपमान गर्ने प्रचण्डलाई चुनावमार्फत आफ्नो असली हैसियत देखाउनसमेत मन्त्री साहले चुनौती दिए । चुनावको नामबाट मात्र आफु आतंकित हुने प्रचण्डहरुले छलछाम र कानुनी षड्यन्त्रको बलमा नभई प्रत्यक्ष चुनावमा सहभागी भए प्रचण्डको हैसियत थाहा हुने उनको भनाई छ ।

  • प्रभु साहको टिप्पणी– एमालेको समेत मतबाट निर्वाचित सांसदमाथि प्रचण्डको प्रतिगामी हमला

    प्रभु साहको टिप्पणी– एमालेको समेत मतबाट निर्वाचित सांसदमाथि प्रचण्डको प्रतिगामी हमला

    काठमाडौं । शहरी विकासमन्त्री प्रभु साहले तत्कालीन एमाले र माओवादीको साझा घोषणापत्र र संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि प्रचण्डले प्रतिगामी हमला गरेको आरोप लगाएका छन् ।

    रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद साहसहित माओवादीका चार प्रत्यक्ष निर्वाचित सांसदहरुको पद रिक्त गराउन माओवादी केन्द्रले संसद सचिवालयमा सूचना दर्ता गराएकोमा उनले यसलाई अनैतिक र प्रतिगामी हमला भनेका छन् ।

    साहले विज्ञप्तिमार्फत निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने खेलले आफूलाई कथित संसद पुनःस्थापनाको पक्षधर बताउनेहरु नांगो भएको टिप्पणी गरेका छन् ।

    साहले भनेका छन्- आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता/सहकार्य गर्ने,नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिईराख्नेहरुले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित प्रतिनिधिप्रतिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै पनि नैतिकताले सुहाउँदैन ।

    एमाले केन्द्रीय सदस्य समेत रहेका साहले प्राविधिक र कानूनी आडमा संसद र जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि अनुचित हमलाको दुस्प्रयास गर्नु आफैंमा प्रतिगामी कार्य रहेको बताएका छन् ।

    साहले माओवादी पार्टीले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ पनि सार्वजनिक गरेका छन् । चैत २ गते उनले अध्यक्ष प्रचण्डलाई सम्बोधन गरेर पठाएको स्पष्टीकरणमा आफू पार्टी एकताको अभियानमै दृढतापूर्वक लागेको यो अभियानमा लाग्दा अमूक पार्टीको केन्द्रीय कमिटी सदस्य जस्ता कुरा गौण रहेको जनाएका छन् ।

    माओवादीले मंगलवार संसद सचिवालयमा लेखराज भट्ट, टोपवहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले दल त्याग गरेको सूचनासहित सांसद पद खारेजीको निवेदन दर्ता गराएको छ ।

    नेकपा माओवादी केन्द्रले सोधेको स्पष्टीकरणमा साहकाे जवाफ

  • प्रभु साह र गौरीशंकर चौधरीलाई माओवादीमै फर्काउने प्रचण्डको प्रयास, छलफल निरन्तर

    प्रभु साह र गौरीशंकर चौधरीलाई माओवादीमै फर्काउने प्रचण्डको प्रयास, छलफल निरन्तर

    काठमाडौं । नेकपा एमालेमा गएका नेताद्वय प्रभु साह र गौरीशंकर चौधरीलाई माओवादी केन्द्रमै फर्काउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयास गरिरहेका छन् ।

    माओवादी केन्द्रका एक केन्द्रीय सदस्यका अनुसार शाह र चौधरीसित प्रचण्डले निरन्तर छलफल गरिरहेका छन् । उनका अनुसार उनीहरु माओवादीमा फर्कने सम्भावना बढेको छ ।

    प्रचण्डले एमालेमा गएका अरु नेता तथा सांसदलाई पनि फर्काउने प्रयास गरिरहेको ती नेताले बताए । ‘अरुसित खासै छलफल भएको छैन, तर साह र चौधरी निरन्तर संवादमा छन् । सम्भवतः उहाँहरु फर्कनुहुन्छ’, उनले भने ।

    शाह र चौधरी अहिलेको सरकारमा पनि छन् । शाह सहरी विकास मन्त्री छन् भने चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुन् ।

     

  • माधव-प्रचण्डहरू जति गिडगिडाए पनि प्रधानमन्त्री पद पाउँदैनन्: मन्त्री साह

    माधव-प्रचण्डहरू जति गिडगिडाए पनि प्रधानमन्त्री पद पाउँदैनन्: मन्त्री साह

    गौर । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्रीको पद पाउन जति गिडगिडाएपनि प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीको पद पाउन नसक्ने बताएका छन् ।

    शुक्रबार पर्साको छिपहरमाई गाउँपालिकाद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका मन्त्री साहले जति षड्यन्त्र र छल गरे पनि प्रचण्ड-माधवको प्रधानमन्त्री बन्ने सपना साकार नहुने बताए ।

    जनताले झण्डै दुईतिहाई बहुमतसहित देशकै ठूलो पार्ती बनाएको भए पनि प्रचण्ड र माधव नेपालले पार्टी ध्वस्त बनाएको बताउँदै मन्त्री साहले उनीहरू आफैँले खनेको खाल्डोमा फस्ने जिकिर गरे ।

    ‘संसद पुनर्स्थापनापछि प्रचण्ड र माधव नेपाल सांसद किनबेच गरेर गणितीय फोहोरी खेलमार्फत् प्रधानमन्त्री बन्ने सपना देखिरहेको भए पनि पूरा हुँदैन,’ मन्त्री साहले भने, ‘सत्ता हत्याउन प्रचण्ड र माधव नेपालले रोपेको अस्थिरताको काँडाले उनीहरूलाई घोच्छ ।’

    ‘संसद पुनर्स्थापनापछि प्रचण्ड माधवहरू प्रधानमन्त्री पदको सपना देख्न थालेका छन् । हुन पनि किन नहोस्, यसैको लागि त आफनै पार्टीको सरकार बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र दुई तिहाई कम्युनिष्ट जनमतलाई टुक्राउने काम गरेका थिए,’  मन्त्री साहले भने, ‘तर जति छटपटाए पनि, जति गिडगिडाएपनि माधव प्रचण्डहरूले प्रधानमन्त्री पद पाउन सक्दैनन् । किन कि अरूका लागि खाल्डो खन्नेहरू त्यसमा आफैँ पर्ने गर्छन् । तपाई हेर्न सक्नुहुन्छ आज उहाँहरूलाई कसैले विश्वास गरिरहेको छैन ।’

    ‘नयाँ सरकार निर्माणका लागि गणितिय फोहोरी खेलको सुरुआत भएको छ । माधव-प्रचण्डहरूले अहिले सांसद किनबेच र अस्थिर सरकार बनाउने फोहोरी खेल खेल्ने अवसर पाएकोमा लागि उत्सव मनाइरहेका छन् । तर उनीहरूले रोपेको काँडाले उनीहरूलाई नै घोच्ने छ,’ मन्त्री साहले थपे, ‘जनताले झण्डै दुई तिहाई बहुमतसहित नेकपालाई ठूलो पार्टी बनायो । तर सत्ताको लोभमा पार्टीलाई ध्वस्त बनाइदिएको । भनिन्छ, अरूका लागि खाल्डो खन्यो भने आफैँ फस्नुपर्छ । ठीक त्यस्तै हालत माधव र प्रचण्डहरूको भएको छ ।’

  • चितवनलाई नमुना शहर बनाउने मेरो सपना साकार हुँदैछ : मन्त्री साह

    चितवनलाई नमुना शहर बनाउने मेरो सपना साकार हुँदैछ : मन्त्री साह

    भरतपुर। शहरी विकास मन्त्री प्रभु साहले चितवनलाई नमुना शहर बनाउने आफ्नो सपना साकार हुँदै गएको बताएका छन् ।

    शनिवार चितवनको भरतपुरमा नेकपाद्वारा आयोजित वृहत् जनसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य एवम् प्रदेश २ का अध्यक्षसमेत रहेका मन्त्री साहले चितवनको विकासका लागि आफू लामो समयदेखि क्रियाशील रहेको बताए ।

    चितवनमा शहरी पूर्वाधारको द्रुत निर्माण गरी शैक्षिक, व्यापारिक एवम् पर्यटकीय केन्द्र बनाउने आफ्नो सपना रहेको र सोही बमोजिम कार्यहरु अगाडि बढाइएको मन्त्री साहको भनाई छ ।

    शनिवार नै शहरी विकास मन्त्रालयले १ अर्ब २१ करोडमा बनाउन लागेको भरतपुर सिटी हलको शिलान्यास समेत गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास भएको सिटी हल मन्त्री साहले नै पहिलो कार्यकालको बेला अगाडि बढाएका थिए । चितवनको विकाससंग जोडिएको भरतपुर सिटी हल लामो प्रयास र तयारी पछि अगाडि बढेकोमा मन्त्री साहले खुशी व्यक्त गरे ।

    मन्त्री साहले चितवनलाई नेपालकै एक नमुना शहर निर्माणको लागि आफुलाई साथ दिन चितवनवासीलाई आह्वान गरे ।

    “मलाई स्मरण छ, म पहिलो पटक शहरी विकास मन्त्री हुँदा चितवनलाई तीव्र विकासको दिशा कार्य अगाडि बढाएको थिएँ । भरतपुरसहित समग्र चितवनलाई नै एउटा नमुना शहर बनाउने आफ्नो त्यो सपना साकार हुँदै गएको देखिरहेको छु ।”

    मन्त्री साहले भने, “आज दोस्रो पटक पुनः शहरी विकास मन्त्रीको रुपमा तपाईंहरुको अगाडि छु । यस विचमा चितवनमा अर्बौंको विकास निर्माणको काम भएको छ । उहिले शुरु गरेका योजनाहरुले अहिले कार्यान्वयन हुँदैछ । चितवन एउटा तीव्र विकासको दिशामा अगाडि बढ्दैछ ।”

    “आज तपाइँहरुले देख्नुभयो, सम्मानीय प्रधानमन्त्रीज्यूले भरतपुर सिटी हलको शिलान्यास गर्नुभयो । सडक विस्तारको शिलान्यास गर्नुभयो । यो सब चितवनको विकासको लागि छ ।” मन्त्री साहले थपे, “म भन्न चाहन्छु, चितवनको हुँ भन्नेहरूलाई एकपटक सोध्नुस् यहाँ जे जति काम भएको छ त्यो कसले गरेको हो ? त्यो सबै काम प्रभु साहले गरेको हो । र आग्रह गर्न चाहन्छु तपाईं हामी मिलेर मात्र चितवनको विकास गर्न सक्छौं । यसमा मलाई साथ दिनुहोस् ।”

    कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा वादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललगायतको उपस्तिथि रहेको थियो ।

  • १५ दिन भित्र आयोजनाको काम भए नभएको विवरण पठाउन सहरी विकास मन्त्री साहको निर्देशन

    १५ दिन भित्र आयोजनाको काम भए नभएको विवरण पठाउन सहरी विकास मन्त्री साहको निर्देशन

    काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले कुनै पनि परियोजना ठेक्का गर्दा ठेकेदारले पेश गरेको कार्यतालिका बमोजिम काम भए नभएको तथा त्यसमा सम्बन्धित निकायको तर्फबाट भएका कामकारवाहीको विवरण १५ दिन भित्र पठाउन निर्देशन दिएका छन् ।

    मन्त्री साहले आइतबार एक परिपत्र जारी गर्दै मन्त्रालय मातहतका निकायबाट सम्पूर्ण आयोजनाको विस्तृत विवरण माग गरेका हुन् । खरिद सम्झौता गरेबमोजिम काम नभई रुग्ण बनेका आयोजनालाई रुग्ण हुन नदिन गरिएका प्रयास तथा ठेकेदारलाई नियम बमोजिम कारवाही लगायतका कार्यको विवरण समेत माग गरिएको मन्त्री साहको सचिवालयले जनाएको छ । रुग्ण तथा निर्माणाधीन आयोजनाको निर्माण कार्यलाई प्रभावकारी बनाउन यस्तो निर्देशन दिइएको सचिवायलयको भनाइ छ ।

    निर्देशन पछि प्राप्त हुने विवरणबाट आयोजनाको स्थिति र शहरी विकास मन्त्रालय मातहतका निकायको क्षमता तथा काम कारवाहिको स्थिती पनि थाहा हुने विश्वास मन्त्री साहको छ । त्यसै बमोजिम निर्माण कार्यलाई प्रभावकारी बनाउन कदम चाल्ने तयारीमा मन्त्री साह रहेको मन्त्री साहको सचिवालयको बुझाइ छ ।

    कुनै पनि आयोजना खरिद सम्झौता भएपछि ठेकेदारले काम सम्पन्न गर्ने कार्यतालिका पेश गरेको हुन्छ । त्यसै बमोजिम तोकिएको समयभन्दा अगावै काम सम्पन्न गरे प्रोत्साहन रकम तथा ढिलाई गरे १० प्रतिशतसम्म जरिवाना तिराउनुपर्ने कानुनी व्यवस्था छ । काममा ढिलाई भए सुरुमा ताकेता पत्र काट्ने, त्यसपछि मोबिलाइजेसन रकम कट्टा गर्न, अझ अटेर गरे धरौटी रोक्का गर्ने र अन्तिममा ठेक्का रद्द गर्ने प्रक्रिया सरकारी पक्षले अपनाउने गरेको छ । तर प्रायजसो आयोजनामा कुनै प्रक्रिया नै नअपनाई रुग्ण भएको पाइन्छ ।

  • मधेशमा केपी ओलीको जयजयकार छ, ३२ मध्ये २० सिट जित्छौं– प्रभु साह

    मधेशमा केपी ओलीको जयजयकार छ, ३२ मध्ये २० सिट जित्छौं– प्रभु साह

    काठमाडौं । शहरी विकासमन्त्री समेत रहेका ओली पक्षीय नेकपाका प्रभावशाली नेता प्रभु साहले ललिता निवास बालुवाटारको जग्गा व्यक्तिलाई दिलाउन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको हात रहेको आरोप लगाएका छन् ।

    प्रधानमन्त्रीय शासन प्रणालीमा मन्त्रिपरिषद्बाट भएका निर्णयको मुख्य दोषी प्रधानमन्त्री नै हुने भएकाले अरुलाई मात्र दोषी बनाएर अख्तियारले तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिएको साहले बताए ।

    ओली पक्षधर नेकपा प्रदेश १ सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै साह प्रचण्ड र माधव नेपालमाथि खनिएका हुन् । उनले यही विषय आफूले फेसबुक स्टाटसमा लेख्दा पार्टीमा स्पष्टीकरण दिनुपरेको समेत सुनाए ।

    साहले भने– भ्रष्टाचारमा चुर्लुम्म डुबेका (प्रचण्ड–माधव नेपालहरु)ले देश बनाउछौं भन्नु गोरुले दूध दिन्छ भने जस्तै हो । तराई मधेशमा केपी अ‍ोलीको पक्षमा ठूलो लहर आएको छ । प्रचण्डले मधेशका एजेण्डा व्यापार गरे, जनताले उनलाई लखेट्छन् ।

    साहले तराई–मधेश क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नरुचाइएको भनिए पनि त्यो गलत भएको दावी गरे । साहले ओलीको तराई–मधेशमा जयजयकार भएको दावी गरे।

    उनले भने– केपी ओलीले तीस वर्षअघि जे बोल्नु भएको थियो, अहिले पनि त्यही बोल्नु भएको छ । तराई मधेशमा केपीजीको जयजयकार छ । अहिले कति सडकहरु बनिरहेका छन्, तराइमा विकास भएको छ ।

    उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचानसहितको संघीयताको कुरा गरे पनि धोका माात्रै दिएको बताए । ‘जनयुद्धका बेलादेखि अहिलेसम्म प्रचण्डले फरक बोले’ उनले भने, ‘मधेशी जनता सत्य र अग्रगनको पक्षमा लागेका छन् । उनीहरुलाई थाहा छ– झुट बोल्ने को हुन्।’

    तराईका ३२ निर्वाचन क्षेत्र मध्ये २० क्षेत्रमा आफूहरुले जित्ने समेत दावी उनले गरे। साहले भने– तराईका ३२ वटा सीटमध्ये २० वटा आएन भने मलाई सोध्नुहोला ।’

  • पदको लोभमा प्रचण्डले माओवादी विचारको व्यापार गरेः प्रभु साह

    पदको लोभमा प्रचण्डले माओवादी विचारको व्यापार गरेः प्रभु साह

    मलङ्वा । शहरी विकास मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ओली पक्ष)का नेता तथा प्रभु साहले प्रचण्डले माओवादी पहिचान बेचेर खाइसकेको बताएका छन्।

    मंगलबार नेकपा सर्लाही जिल्ला कमिटीद्वारा सदरमुकाम मलङ्वामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले प्रचण्डले अब माओवाद वा माओवादी विरासतको कुरा गर्न नहुने टिप्पणी गरे।

    ‘आज प्रचण्डजीले माओवादको कुरा गर्दै हुनुहुन्छ,’ उनको भनाइ छ, ‘नेता साहले भने, ‘पदको लोभमा माओवादी विचारको यतिसम्म व्यापार गर्नुभयो कि अचेल उहाँले माओको अनुहार पनि बिर्सिनुभएको छ। तपाईंले कतै देख्नुभएको छ माओको तस्वीर राखेको ?’

    कार्यक्रममा नेकपा सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री इश्वर पोखरेल, स्थायी कमिटी सदस्यद्वय सत्यनारायण मण्डल र रघुवीर महासेठ, प्रदेश सचिव एवम् राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठलगायतका नेताहरुको उपस्थिति रहेको थियो।

  • नेपाल–प्रचण्डको अन्तर्घात र अराजकताले देशमा अस्थिरता निम्त्यायोः प्रभु साह

    नेपाल–प्रचण्डको अन्तर्घात र अराजकताले देशमा अस्थिरता निम्त्यायोः प्रभु साह

    गरुडा । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अन्तर्घात र अराजकताले देशमा अस्थिरता निम्त्याएको बताएका छन् ।

    बिहीबार रौतहटको गरुडामा नेकपा (ओली पक्ष) जिल्ला कमिटीद्वारा आयोजित सभालाई सम्बोधन गर्दै प्रदेश नम्बर २ का अध्यक्षसमेत रहेका नेता साहले नेपाल र प्रचण्डले पटक–पटक अन्तर्घातको कारण पार्टी क्षतविक्षत अवस्थामा पुगेको र मुलुकलाई संकटतर्फ उन्मुख गराएको बताए । नेपाल र प्रचण्डले आफ्नो पार्टी र आफ्नै पार्टीको सरकारविरुद्ध कदम–कदममा धोखा र षडयन्त्र गरेको नेता साहको भनाइ थियो ।

    ‘दुनियाँमा कतै सुन्नुभएको छ, आफ्नै पार्टीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको कुरा ? यो त कांग्रेसले पनि आफ्नो सरकारको विरुद्ध कहिल्यै गरेन । तर केही कम्युनिष्टहरुले आफ्नै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याए। तपाइँहरुले देख्नुभयो होला, त्यसमा प्रभु साहको पनि नाम छ’ नेता साहले भने, ‘मैले असार महिनामा फरक प्रयोजनका लागि संसदीय दलमा गरेको हस्ताक्षरको दुरुपयोग गरेर आफ्नै पार्टीको सरकारविरुद्ध षड्यन्त्र गरेका माधव नेपाल र प्रचण्ड विगत तीन वर्षदेखि पार्टी भित्र अन्तर्घातमाथि अन्तर्घात गर्दै आएका हुन् ।’

    ‘माधव नेपाल र प्रचण्डको छलछामका कारण पार्टी र सरकार संचालनमा असहज भएपछि संसद विघटन गर्नुपर्यो । जनताको ताजा मतादेश हासिल गर्न आह्वान गरिएको यो प्रक्रियालाई चुनौती दिंदै अदालतमा गएपछि पनि निरन्तर सडकमा प्रदर्शन गर्ने र निचस्तरको गाली गरेर हिंड्ने अराजकहरुले देशमा द्वन्द्व सृजना गर्न खोज्दैछन्’, नेता साहले थपे, ‘पार्टीको कुनै बैठकबिनै सरकार र पार्टीविरुद्ध षड्यन्त्र गर्ने यस्ता प्रतिक्रान्तिकारी अस्थिरतावादीलाई पहिचान गरी निस्तेज गरौं ।’

    कार्यक्रममा स्थायी कमिटी सदस्य एवम् प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, प्रदेश सचिव सुमन प्याकुरेललगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य बबन सिंहले पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका थिए ।

  • कार्यभार सम्हाल्दै मन्त्री साहले भनेः निर्वाचन सरकारको पहिलो प्राथमिकता (भिडियो)

    कार्यभार सम्हाल्दै मन्त्री साहले भनेः निर्वाचन सरकारको पहिलो प्राथमिकता (भिडियो)

    काठमाडौं । नवनियुक्त शहरी विकास मन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभा निर्वाचन गर्नु रहेको बताएका छन् । शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै नवनियुक्त मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन गर्नु रहेको बताएका हुन् ।

    मन्त्रालयले पनि निर्वाचन केन्द्रित काम गर्ने उनले बताए । यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा मन्त्रालयले त्यसैलाई प्रभावकारी रुपमा अगाडि बढाउने बताए ।

    सरकारको मुख्य कार्यभार निर्वाचन प्रभावकारी बनाउने भएकोले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचनमा केन्द्रित हुने मन्त्री साहको भनाइ छ । उनले भने, ‘यो सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन गर्ने हो । मन्त्रालयको काम पनि निर्वाचन केन्द्रित गरेर गर्छौं । यो वर्षको बजेट आइसकेको छ । निर्धारित कार्यक्रम पनि बनिसकेको छ । ’

    मन्त्री साहले मन्त्रालयले विकासको काम प्रभावकारी बनाउने बताए । कोरोना महामारी फैलिइरहेको अवस्थामा महामारीबाट नेपाललाई अझै सुरक्षित गर्न थप सजगता अपनाउने उनको भनाइ छ ।

     

  • प्रचण्ड समूहले फरक मतलाई निषेध गरेको प्रभु साहको आरोप

    प्रचण्ड समूहले फरक मतलाई निषेध गरेको प्रभु साहको आरोप

    काठमाडौं । प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाका नेता प्रभु साहले माधव नेपाललाई अध्यक्ष बनाइएकोमा आफ्नो असहमति कायम राख्दै दुई अध्यक्ष प्रणालीलाई अश्वीकार गर्ने बताएका छन् ।

    बिहीबार प्रेस विज्ञप्ति जारी गरी नेकपा केन्द्रीय सदस्य साहले दुई अध्यक्ष प्रणालीले पार्टी र सिंगो व्यवस्थानै अस्तव्यस्त बनाएको भन्दै प्रचण्ड नेतृत्वको समूहले विगतको त्यही गल्तिलाई दोहोर्याएको आरोप लगाएका छन् ।

    साहले विज्ञप्ति भनेका छन्– असफल सिद्ध भइसकेको दुई अध्यक्षीय प्रणली जस्तो गम्भीर विषयमा छलफल नै नगरी भएको गलत निर्णयप्रति औपचारिक एवम् अनौपचारिक रुपमा पटक–पटक सुझाव एवम् विमति जाहेर गर्दागर्दै पनि निषेध एबम् निरंकुशताको शैलीमा अगाडि बढेकोप्रति मेरो गम्भीर असहमति एवम् आपत्ति छ ।

    उनले देश र जनतालाई घात गर्ने दुई अध्यक्षीय प्रणली अश्वीकार गर्न सबैमा अनुरोध गरेका छन् ।

  • माधव नेपाललाई अध्यक्ष बनाइएकोमा प्रभु साहको फरक मत

    माधव नेपाललाई अध्यक्ष बनाइएकोमा प्रभु साहको फरक मत

    काठमाडौं । बबरमहलमा सम्पन्न केपी ओली विरोधी नेकपाको केन्द्रीय कमिटी बैठकमा पूर्व माओवादी समूहका नेता प्रभु साहले फरक मत राखेका छन् । माधव नेपाललाई अध्यक्ष चयन गरिएकोमा उनले फरक मत राखेका हुन् ।

    साहले पार्टीमा दुई अध्यक्ष हुनु हुँदैन भनेर फरक मत राखे पनि उनको प्रस्तावमा आज छलफल भएन । आफू पार्टीमा एकल अध्यक्ष हुनुपर्छ भन्ने पक्षमा रहेको उनले बताए । माधव नेपाल र प्रभु साह दुवै रौतहटका हुन् ।

    स्थानीय अन्तरविरोधका कारण साह माधव नेपालको विपक्षमा छन् । उनले नेपाललाई अध्यक्ष बनाइएकोमा आफ्नो सहमति नरहेको बताएका छन् ।

  • अहिलेको संसद विघटन लगायतका संकट गलत संवैधानिक व्यवस्थाको उपज : प्रभु साह

    अहिलेको संसद विघटन लगायतका संकट गलत संवैधानिक व्यवस्थाको उपज : प्रभु साह

    गौर । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरिनु संविधानको मर्म र जनादेश विपरीत रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले आपत्ति जनाएका छ ।

    नेता साहले यो परिघटना वर्तमान त्रुटिपूर्ण संविधानको उपज रहेको जीकिर गरेका हुन् ।
    नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले लगभग दुई तिहाईको बहुमतको साथ स्थिरता र तीव्र विकासको दिशामा अघि बढ्नुको सट्टा चुनावको विकल्प रोज्नु आत्मघाती भएको बताएका हुन् ।

    नेपालको संविधान विश्वको अन्य राष्ट्रको भन्दा फरक र अन्य सबैखाले शासकीय स्वरुपहरुको खिचडी भएकोले संसद बिघटन जस्ता विभिन्न असंवैधानिक कार्यहरू भईरहेको बताए ।

    ‘विश्वको जुनसुकै राष्ट्रहरुमा शासकीय स्वरुप एउटा निश्चित सिद्धान्त(मूल्य र मान्यता)को आधारमा तय गरिएको हुन्छ तर नेपालको शासकीय स्वरुप विपरीत सिद्धान्तहरुको खिचडी हो ।’ नेता साहले भने, ‘सामन्तवादी, पुँजीवादी र दलाल (पुँजीवादी, सर्वहारावादी पश्चगामी, यथास्थितिवादी र अग्रगामी बिचार र सोचवाला पार्टीहरुको निहित स्वार्थमा तयार भएको कनफ्यूजन व्यवस्थाले गर्दा नै यस्तो परिणाम देखिएको हो ।यसमा शक्ति पृथकीकरण र शक्ति सन्तुलनको तालमेलको पनि अभाव छ । जसले गर्दा अस्थिरता र अराजकता अझ बढ़ने निश्चित छ ।’

    नेता साहले थपे, ‘अहिले देशमा देखिएको संसद विघटनको घटना पनि त्यसकै उपज हो । जुन आपत्तिजनक छ ।’