Tag: पर्यटन बोर्ड

  • पर्यटन बोर्डमा अख्तियार पस्यो, आर्थिक कारोबारका कागजात माग

    पर्यटन बोर्डमा अख्तियार पस्यो, आर्थिक कारोबारका कागजात माग

    काठमाडौं । पछिल्लो सयम विवादसँगै आर्थिक पारदर्शितामा प्रश्न उठेपछि नेपाल पर्यटन बोर्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नजर परेको छ ।

    निलम्बनमा परेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले अनियमितता गरेको उजुरीपछि अख्तियारले केही योजनासँग सम्बन्धित कागजात तत्काल पठाउन भनेको स्रोतले बतायो ।

    सीईओ रेग्मीले आफ्नो कार्यकक्ष निर्माणमा सार्वजनिक खरिद ऐनविपरीत जथाभावी खरिद गरी भुक्तानी दिएको, त्रिभुवन विश्वविद्यालयसँग पर्यटन क्षेत्रको हितभन्दा पनि व्यक्तिगत लाभ पुग्ने गरी प्रक्रिया पूरा नगरी ५ करोडको परियोजना संचालन गरेको, बोर्डको उद्देश्यभन्दा फरक प्रयोजनमा होटलमा भएको खर्चको भुक्तानी गरेकोजस्ता काममा अनियमितता भएको उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।

    यो पनि पढ्नुहोस् : के गर्दैछ पर्यटन बोर्डको छानबिन समिति ? कस्ता छन् रेग्मीमाथिका आरोप ?

    विवादमा तानिए पछि निलम्बित रेग्मीमाथि छानबिन गर्न पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा समिति बनाइएको छ । पुस २ को बोर्ड बैठकले सो समितिलाई प्रतिवेदन पेस गर्न १५ दिनको समय सीमा तोकिएको छ । पर्यटन बोर्डलाई व्यक्तिगत फाइदामा मात्र बढी प्रयोग गरेको र आफन्तसँग मिलेर मनखुसी करोडौं रकम व्यक्तिगत लाभ हुने गरी खर्च गरेको जस्ता आरोप रेग्मीमाथि छ ।

    २०७६ माघ १४ गते चार वर्षका लागि नियुक्त भएका रेग्मी दुई वर्ष कार्यकाल बाँकी छँदै बेलायतबाट फर्कँदा ६ बोतल रक्सी ल्याउने क्रममा भन्सार विभागका कर्मचारीमाथि हातपात गरेको भिडिओ सार्वजनिक भएपछि झन् विवादमा तानिएका थिए ।

    पर्यटन क्षेत्रलाई कम बुझेको र नीजि क्षेत्रसँग कुनै सहकार्य नगरी काम गरेको भन्दै पर्यटन प्रवर्द्धनमा रेग्मीबाट केही आशा गर्न नसकिने पर्यटन व्यवसायीहरूले टिप्पणी गर्दै आएका छन् ।

  • विमानस्थलमा पर्यटन बोर्डका सीईओ र भन्सारका कर्मचारीबीच लफडा

    विमानस्थलमा पर्यटन बोर्डका सीईओ र भन्सारका कर्मचारीबीच लफडा

    काठमाडौं । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मी र भन्सार विभागका कर्मचारी विवाद भएको छ । लण्डनबाट स्वदेश फर्किने क्रममा विमानस्थलमा चेकजाँचका क्रममा रेग्मीले हातपात गरेको कर्मचारीले आरोप लगाएका छन् ।

    भाइटीकाको दिन बिहान सीईओ रेग्मी लण्डनबाट नेपाल आएका थिए । स्रोतका अनुसार उनले ६ बोतल मदिरा साथमा ल्याएका थिए । एक व्यक्तिले विदेशबाट आउँदा १ लिटर मात्रै मदिरा ल्याउन पाउने कानूनी व्यवस्था रहेको छ ।

    भन्सार जाँचपासमा खटिएका नासु सुमन थापाले ६ बोतल मदिरा देखेपछि रेग्मीलाई सोधपुछ गरेका थिए । उनीहरूबीच त्यहीँबाट विवाद सुरू  भएको बताइएको छ ।

    रेग्मीमाथि भन्सार ऐनअनुसार कारबाही चलाउँदै ५ हजार जरिवाना गराइएको छ । घटनापछि गरिएको मेडिकल टेस्टमा रेग्मीले मदिरासेवन गरेको पुष्टी भएको स्रोतको दाबी छ ।

    ३ दिनको कार्यक्रमका लागि पर्यटनमन्त्री प्रेम आले र सचिव यादव कोइरालासँगै सीईओ रेग्मी लण्डन गएका थिए । फर्कँदा त्रिभुवन विमानस्थलमा मन्त्री र सचिव विमानस्थलको भीआईपी लाउञ्जबाट निस्किए । तर, पर्यटन बोर्डका सीईओ रेग्मी आम यात्रुसँगै जाँचपासमा आएका थिए ।

  • पर्यटन बोर्ड र टानबीच पर्यटनसम्बन्धि सम्झौता (भिडियो)

    पर्यटन बोर्ड र टानबीच पर्यटनसम्बन्धि सम्झौता (भिडियो)

    काठमाडौं । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौंता भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको हो ।

    कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले ले नेपाल पर्यटन बोर्डको गल्ती भए सुझाव दिन तर अन्यथा नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरे । उनले राज्यले ध्यान दिन नसकेको बेलामा पर्यटन बोर्डले ७० हजार म्याण्डेजदेखि १ लाख म्याण्डेजको काम खोज्नु भनेको आफैँमा उदाहरणीय काम भएको बताए ।

    उनले नेपाल एउटै भएकोले विदेशमा गएर प्रचारप्रसार गर्दा एकैप्रकारको प्रचार गर्न अनुरोध गरे । अध्यक्ष सुवेदीले यसका लागि बिस्तृत छलफल गरेर अघि बढ्नुपर्ने बताए ।

    प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले भने,‘कोरोनाको यस्तो बेलामा पनि हामीले नेपाललाई चिनाउन भिडियो, अडियोहरु बनाइरहेका छौँ, हामी अहिले पहिला भन्दा अझै अग्रसर भएर काम गरिरहेका छौँ, संसारभर नै एक प्रकारले नेपाललाई प्रेजेन्ट गर्दा म गएर एक तरिकाले गर्छु, अमेरिकाको दूतावासले अर्को तरिकाले गर्ला, त्यस्तो नहोस्, नेपाल एउटै हो, त्यसलै बरु हामी डिस्कस गरौँ, के कस्तो खालको नेपाल चिनाउन खोजिएको हो ग्लोबली ?हामी कन्फ्यूज नगरौँ, भनेर अहिले नेपाल पर्यटन बोर्डले त्यतातिर पनि काम गरिरहेको छ, पर्यटन बोर्ड मूल उद्देश्य छोडेर बाहिर गएको छैन, हामी पर्यटन व्यवसायीहरु पलायन नभइ काम गरौँ ।’

    कार्यक्रममा ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन विकासको लागि समूहगत रुपमा काम गरिरहेको बताए ।

    उनले पर्यटन व्यवसायसँग जोडिएका सबै श्रमीकहरुको सहकार्य र सहयोगमै टानले आफ्नो काम अघि बढाइरहेको जानकारी दिए । पर्यटन बोर्डसँगको यो सम्झौताको काम टानले दत्तचित्त गर्ने बताउँदै अध्यक्ष सुवेदीले सबै साथीहरुलाई जोडेर अन्तिममा गोल हान्ने काम टानको हातमा रहेको बताए ।

    अध्यक्ष सुवेदीले भने,‘हामीले सम्पूर्ण पर्यटसँग रिलेटेड श्रमीकहरुलाई रोजगारी दिनुपर्नेछ, त्यसले टान पनि एउटा पात्र भएको हुनाले टानले यो सम्झौता गरिरहेका छौँ, खासगरी नेपाल टुरिजम बोर्डसँग सहकार्य र रिलेशन बढाउने कुरोमा अहिलेको टानको कार्यसमिति दत्तचित्त भएर लाग्नेछ, तपाईहरुले गरेको कामहरुमा दाहिने हात भएर अगाडि बढ्नेछ, टानको अहिलेको कार्यसमितिको समयवधि केही समय मात्र बाँकी छ, तर आउने कार्यसमितिले पनि हाम्रा गाइडलाइन, पदचापलाई फलो गर्नेछन्, यस अर्थमा पनि हामीले सम्पूर्ण टीमको तर्फबाट यो कार्यक्रमलाई अघि बढाउनेछौँ ।’

    अध्यक्ष सुवेदीले टानले अब ढिला नगरीकन नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर पर्यटन विकास र प्रवद्र्धनको कामलाई अघि बढाउने बताए । टानले के गर्यो भन्ने प्रश्न आइरहेको बताउँदै अध्यक्ष सुवेदीले टान सम्बन्धित सबै निकायसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

  • प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी बजेट ल्याउन पर्यटन बोर्डलाई सुझाव

    प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी बजेट ल्याउन पर्यटन बोर्डलाई सुझाव

    काठमाडौं । पर्यटन क्षेत्रका विज्ञहरूले कोरोना महामारीबाट थलिएको पर्यटनलाई पुनरुत्थान गर्न संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरी बजेट ल्याउन नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन् ।

    उनीहरूले यो सयममा पर्यटकीय गतिविधि ठप्प हुँदा बोर्डको बजेटको आकार समेत खुम्चिने भन्दै भएको बजेटबाट सीमित तर प्रभावकारी काम गर्न समेत बोर्डलाई सुझाव दिए ।

    बोर्डले आव २०७८/७९ को बजेटका सन्दर्भमा बिहीबार आयोजना गरेको भर्चुअल अन्तरक्रियामा विज्ञहरूले सीमित स्रोतको अधिकतम प्रयोग हुने गरी कार्यक्रम तर्जुमा गर्न माग गरेका छन । उनीहरुले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै खोपको सुनिश्चितता गर्न र पर्यटनलाई चलायमान बनाउदै लैजानु पर्नेमा जोड दिए । पूर्वगभर्नर दिपेन्द्रपुरुष ढकालले पर्यटन प्रवर्द्धन गर्न संघीय सरकारले बोर्डलाई अनुदान दिनु पर्ने औंल्याए ।

    विज्ञ डा. विष्णुप्रसाद गौतमले विगतमा भएका कार्यहरूको समीक्षा गर्दै तीनै तहका सरकारबीच समन्वय गरेर बजेट निर्माण तथा पर्यटन प्रर्वद्धनका कार्यक्रम ल्याउनु पर्ने धारणा राखे । अर्का विज्ञ डा. प्रेम शर्माले तत्काल अन्तर्राराष्ट्रिय पर्यटक आउने सम्भावना कम रहेकोले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने खालको बजेट तर्जुमा गर्न सुझाव दिए । यस्तै विज्ञहरू प्राध्यापक डा. सोमप्रसाद खतिवडा, रामचन्द्र सेडाइ, चेतनाथ कंडेल तथा सूर्यकिरण श्रेष्ठले बोर्डले सरोकारवालाई समेटेर कम्तीमा २ देखि ३ वर्षको रिकभरी र रिभाइवल योजना बनाउनु पर्ने सुझाव दिए ।

    विज्ञहरू डा. आलोक राई, रमेश उपाध्याय र पशुपति न्यौपाने र ज्ञानेन्द्ररत्न तुलाधरले कोभिड चुनौतीसँगै अवसर पनि भएकोले यो समयमा जनशक्ति विकास, पर्यटकीय प्रडक्टको विकास गर्दै डिजिटल मार्केटिङमा जोड दिनु पर्ने बताए । यसैगरी पर्यटन व्यवसायीहरू विजय अमात्य, विक्रम पाण्डे काजी र सिएन पाण्डेले स्रोतको कमी भएको अवस्थामा प्राथमिकता निर्धारण गरेर काम गर्न आग्रह गर्दै पूर्वाधार भन्दा नयाँ पर्यटकीय प्रडक्ट र बजारीकरणलाई जोड दिनेगरी बजेट बनाउन बोर्डलाई आग्रह गरे ।

    अन्तरक्रियामा बोर्डका उपाध्यक्ष तथा स्रोत व्यवस्थान एवं कार्यक्रम तथा बजेट व्यवस्थापन समितिका संयोजक चन्द्रप्रसाद रिजालले कोभिडको कारण पर्यटन व्यवसाय ठप्प भएको अवस्थामा बोर्ड बजेट निमार्णको चरणमा रहे पनि सीमित साधनबाट अधिकतम काम गर्ने गरी आफूहरूले तयारी गरिरहेको जानकारी दिए । उनले विज्ञहरूका सुझावलाई समेटेर बोर्डले नीतिगत सुधारका काम अगाडि बढाउने बताए । उनले थोरै बजेट भए पनि सातै प्रदेशमा केही देखिने गरी काम गर्ने योजनामा बोर्ड रहेको र विज्ञहरुका सुझावले बजेट निर्माणमा सहयोग पुग्ने बताए ।

    बोर्डका अर्का सदस्य कृष्ण शाह तथा पम्फा पौडेल धमलाले कठिन परस्थितिमा पनि बोर्डले स्रोत व्यवस्थापनका लागि विभिन्न निकायहसँग समन्वय गरिरहेको जानकारी दिए ।

    यसैबीच बिहीबार नै बोर्डले बजेटका सनर्दभमा सञ्चारकर्मीसँग पनि अन्तरक्रिया आयोजना गरेको थियो । कार्यक्रममा पत्रकारहरुले स्रोतको अभावका समयमा सीमित तर प्रभावकारी योजनामा मात्र रकम खर्च गर्न, डिजिटल मार्केटिङ र आन्तरिक पर्यटन प्रवर्द्धनका कार्यक्रम ल्याउन बोर्डलाई सुझाव दिए ।

  • कोभिडपछि पहिलोपटक अन्तर्राष्‍ट्रिय पर्यटन प्रवर्द्धनमा जाँदै पर्यटन बोर्ड

    कोभिडपछि पहिलोपटक अन्तर्राष्‍ट्रिय पर्यटन प्रवर्द्धनमा जाँदै पर्यटन बोर्ड

    काठमाडौं । कोभिड–१९ पछि नेपाल पर्यटन बोर्डले  पहिलो पटक अन्तर्राष्‍ट्रिय जगतमा पर्यटन प्रवर्द्धनका लागि भौतिक उपस्थिति जनाउने भएको छ । बोर्डले भारतमा आयोजना हुने ‘साउथ एशियाज ट्रावल एण्ड टुरिजम एक्सचेन्ज (साटे)’ मा सहभागिता जनाउने भएको हो ।

    मार्च २४ देखि २६ तारिखसम्म भारतको गे्रटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगम सहित विभिन्न २५ ओटा कम्पनी सहभागी हुने छन् ।

    पर्यटन प्रर्वद्धनका लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीति अनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको पर्यटन बार्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले जानकारी दिए ।

    ‘भारतमा पनि विस्तारै पर्यटकीय गतिविधि बढिरहेको छ । तर भारतले अझै धेरै मुलुकहरुका लागि प्रवेशाज्ञा नखोलिरहेको सन्र्दभमा यो कार्यक्रममा नेपालको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरेका छौं,’ उनले भने ।

    साटेको प्रभावकारिता हेरेर क्रमशः भारतका अन्य पर्यटन बजारमा पनि पर्यटन प्रर्वद्धनका कार्यक्रमहरुमा सहभागिता जनाइने सीईओ रग्मीले जानकारी दिए ।

    पछिल्लो पटक सरकारले नेपाल भारत यातायात सुचारु गर्ने निर्णय गरेको र नेपाल भारत दुवै देशबाट दैनिक दुई वटा हवाई उडान समेत भइरहकाले यो कार्यक्रम नेपालको पर्यटन प्रर्वद्धन गर्न सहयोगी हुने बोर्डको धारणा छ ।

    पर्यटन बोर्डले भारतीय पर्यटकलाई नेपालमा आर्कषित गर्न सीमा क्षेत्र, हिल स्टेशन तथा अन्य पर्यटकीय स्थलहरुका छुट्टा–छुट्टै रणनीति आवश्यकता पहिचान गरि सोही अनुरुपको रणनीति बनाएको सीइओ रेग्मीले बताए ।

    भारतमा हुने साटेमा पर्यटनसँग सम्बन्धित क्षेत्रीय तथा अन्तरराष्ट्रिय पर्यटन उद्योग, बिक्रेता र पर्यटनसँग सम्बन्धित संघ संस्था तथा व्यक्तित्वहरुको सहभागिता रहने गर्छ ।
    भारत सरकारको पर्यटन मन्त्रालयको सहयोगमा हुने साटेलाई दक्षिण एशियाको महत्वपूर्ण पर्यटन एक्सचेन्ज मेलाका रुपमा लिने गरिन्छ ।

    कोभिडको संक्रमण पछि नेपाल पर्यटन बोर्डले डिजिटल माध्यमबाट विभिन्न अनतरराष्ट्रिय मञ्चहरुमा नेपालको पर्यटन प्रर्वद्धनको काम गरेपनि भौतिक रुपमा सहभागिता जनाउने यो पहिलो कार्यक्रम हो ।

    नेपालले सन् २०२० मा जनवरी ८ देखि १० तारिखमा भारतको गे्रटर नोयडामै आयोजना भएको साटेमा समेत सहभागीता जनाएको थियो । गत वर्ष नेपालबाट विभिन्न ३६ वटा संस्था कम्पनीहरुले सहभागीता जनाएका थिए ।

    यो वर्ष कोरानाको कारण सहभागी हुन जाने कम्पनीहरुको संख्या केही घटेपनि कोभिडको खोप आइसको अवस्थामा भारतीय बिक्रेतालाई विभिन्न प्याकेज मार्फत आर्कषित गरिने निजी क्षेत्रका सहभागीको धारणा छ । जस अनुसार सहभागी कम्पनीहरुले विभिन्न खालका प्याकेज समेत तयार पारेका छन् ।

     

  • पर्यटन बोर्डले पायो पूर्णता, तीनजना सदस्य नियुक्त

    पर्यटन बोर्डले पायो पूर्णता, तीनजना सदस्य नियुक्त

    काठमाडौं । नेपाल पर्यटन बोर्डमा तीनजना सदस्य नियुक्त भएका छन् । छनौट समितिले सिफारिस गरेका ५ जनामध्येबाट पर्यटनमन्त्री भानुभक्त ढकालले शुक्रवार चन्द्र रिजाल, ङावाङिमा शेर्पा र कृष्ण शाहलाई नियुक्त गरेका हुन् ।

    धादिङका चन्द्र रिजाल टानका पूर्वअध्यक्ष हुन् भने ओखलढुंगाका ङावा निमा शेर्पा नेपाल कोरिया पर्यटन प्रवर्द्धनमा क्रियाशील व्यवसायी हुन् । त्यस्तै इलामका शाह पनि पर्यटन क्षेत्रका व्यवसायी हुन् ।

    मन्त्रालयका सहसचिव तारानाथ अधिकारीको संयोजकत्वमा गठित समितिमा पर्यटन बोर्डका पूर्वसदस्य राजेन्द्र सापकोटा र पूर्ण कुँवर सदस्य थिए । समितिले यी तीनजनासहित हरिभक्त श्रेष्ठ र सिएन पाण्डेको नाम सिफारिस गरेको थियो ।

  • राहत प्याकेज कागजमा मात्र सीमित, पर्यटन व्यवसायी मारमा

    राहत प्याकेज कागजमा मात्र सीमित, पर्यटन व्यवसायी मारमा

    काठमडौं । पर्यटन क्षेत्रलाई जोगाउनका लागि तत्काल दुई\तीन प्रतिशतमा ‘सफ्ट लोन’ को व्यावस्था गर्नुपर्ने पर्यटन व्यवसायीले बताएका छन् ।
    बिहीबार भएको पर्यटन बोर्डको स्थापना दिवसमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै पर्यटन व्यवसायी दीपक महले सो कुरा बताएका हुन । कोरोना माहामारीका कारण पर्यटन व्यावसाय शून्यमा झरेकाले यसलाई तत्काल पुर्नस्थपना गर्नुपर्ने उनले बताए ।

    सरकारले राहात प्याकेज ल्याएपनि त्यसको कार्यन्वयन नहुँदा कागजमा मात्र राहात हेरेर बस्नुपरेको उनको गुनासो थियो । ‘सरकारलाई हामी कर बुझाउँछौ । विदेशी रुपैयाँ आर्जन गर्नमा सवैभन्दा धेरै पर्यटन क्षेत्रको योगदान छ । तर, अफ्ट्यारो पर्दा व्यवसायीलाई बचाउँने काम सरकारको होइन ?,’ उनले रोष प्रकट गरे ।

    पर्यटन व्यवसायीले आफूसँग भएको संचित बचतले अहिलेसम्म धानेको र अबका दिन झन विक्राल हुनसक्ने भन्दै यसलाई समयमा नै व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।

    कार्यक्रममा बोल्दै उनले भने अबको केही वर्ष नेपालको पर्यटनलाई आन्तरिक पर्यटनले धान्ने छ । यसका लागि आन्तरिक पर्यटनलाई जोड दिनु नै अहिलेको विकल्प हो ।

    कार्यक्रममा पर्यटन मन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्र देशको मेरुदण्ड भएकाले यसको विकासमा लाग्नु पर्ने बताए । आफू छोटो समयका लागि पर्यटन मन्त्री भएर आएको भन्दै यो समयमा राम्रो काम गर्ने बताए ।

    कार्यक्रममा बोर्डका सिइओ डा.धनन्जय रेग्मीले लकडाउन पछि बोर्डले के–के काम गर्‍यो त्यसको जानकारी दिएका थिए ।