Tag: पठाओ

  • यती एयरलाइन्सका यात्रुलाई पठाओ चढ्दा छुट

    यती एयरलाइन्सका यात्रुलाई पठाओ चढ्दा छुट

    काठमाडौं । पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राका लागि सम्झौता गरेका छन् ।

    सम्झौताअनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाइटबाट हवाई टिकट खरिद गर्दा पठाओको बाइक राइडमा २० प्रतिशत छुट पाउन सक्नेछन् भने कार लाइट (ट्याक्सी) मा ५० प्रतिशत (१७५ रुपैयाँ सम्म) छुट प्राप्त गर्न सक्नेछन् । यो अफर आजबाटै लागू भएको छ ।

    काठमाडौ उपत्यकाका यात्रुलाई एयरपोर्टसम्म जान र आफ्नो गन्तव्यबाट एयरपोर्ट फर्किएपछि स्थानीय गन्तव्यसम्म पुग्न सहजताका लागि यती एयरलाइन्स र पठाओले संयुक्त सहकार्यमा ‘सहज यात्रा’ अफर ल्याएका हुन् ।

    हवाई यात्रुलाई एयरपोर्ट जान र आउन सहज यात्रा होस् भन्ने उद्देश्यले यति एयरलाइन्ससँग सम्झौता गरिएको पठाओको मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन् । भविष्यमा यती एयरलाइन्सका सबै यात्रुलाई यो अफर लागू गर्ने योजना रहेको हमालले बताइन् ।

  • आज दिउँसो सित्तैमा पठाओ ट्याक्सी बुक गर्न सकिने

    आज दिउँसो सित्तैमा पठाओ ट्याक्सी बुक गर्न सकिने

    काठमाडौं । राइड सेयरिङ एप पठाओले आज दिउँसो नि:शुल्क ट्याक्सी चढ्न सक्ने व्यवस्था मिलाएको छ । पठाओ कार लाइट (ट्याक्सी) को दोस्रो एनिभर्सरीको अवसर पारेर दिउँसो २ बजेदेखि दुई बजेर २ मिनेटसम्म सो अफर लागू गरिएको हो ।

    सो अवधिभित्र पठाओको मोबाइल एपमार्फत कार लाईट (ट्याक्सी) बुकिङ गर्ने सबै सेवाग्राहीले नि:शुल्क ट्याक्सी चड्न पाउने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।

    पठाओमा ८ हजार ट्याक्सी आवद्ध भएको भन्दै हाल दैनिक २ हजार ५ सयले सक्रियरूपमा सेवा लिइरहेको बस्न्यात बताउँछन् ।

    एपमा नै भाडा देखिने भएकोले बार्गेनिङ समेत गर्न नपर्ने हुँदा राइडिङ सेयरिङ एप यात्रुका लागि सहज छ ।

    कोरोना जोखिमलाई ध्यान दिँदै पठाओले स्वास्थ्य मापदण्डलाई समेत कडाइका साथ लागू गरेको छ ।

    नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा शुरू गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा थालेको हो ।

    सन् २०२० सेप्टेम्बरबाट होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा शुरू गरेको पठाओले हाल ‘पठाओ बजार’ मार्फत ग्रोसरी सामान डेलिभरी शुरू गरेको छ ।

  • सवारीमा जोर-बिजोर प्रणाली सुरु भएपछि पठाओ राइड पुन: शुरु

    सवारीमा जोर-बिजोर प्रणाली सुरु भएपछि पठाओ राइड पुन: शुरु

    काठमाडाैं । कोरोना कहरका कारण भएको निषेधाज्ञामा रोकिएको पठाओको राइड सेयरिङ सेवा सरकारले सवारीमा जोर बिजोर प्रणाली लागू गरे सँगै असार ८ गते मंगलबारबाट पुन: सन्चालनमा आएकाे छ ।

    नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार राइड संचालन गरिने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताए । कोभिडको पूर्ण नियन्त्रण नभएको समयमा सकेसम्म घरमै बसेर सावधानी अपनाउन बस्न्यात सुझाउँछन।

    उनी थप्छन्, ‘अत्यावश्यक काममा निस्कनै पर्दा आफ्नो सवारी नहुने ब्याक्तीहरुको लागि पठाओ सुरक्षीत बिकल्प हुन सक्छ। भिडभाड नहुने र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइने भएकाले यात्राका लागि पठाओ सहज हुन सक्छ।’

    नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो।

    हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि सुरु गरेको छ। सामान अर्डर गरेको एक घण्टामै होम डेलिभरी दिने गरी जेठ ३० गते देखी सुरु गरिएको पठाओ बजार परीक्षणका क्रममा छ।

  • टुटल र पठाओले सेवा थाल्दै

    टुटल र पठाओले सेवा थाल्दै

    काठमाडौं । सार्वजनिक यातायात नखुले पनि राइड सेयरिङ कम्पनी पठाओ आज रातिबाट र टुटल भोलिबाट सञ्चालनमा आउने भएको छ । निजी सवारीसाधनमा सरकारले लगाएको जोरबिजोर प्रणाली अनुसार नै टुटल र पठाओलगायत राइड सेयरिङ कम्पनी सञ्चालन हुने भएका हुन् ।

    टुटलका सीईओ शिक्षित भट्टले सरकारको नियम अनुसार भोलिबाट टुटल सञ्चालन गर्ने बताए । उनले भने, ‘सरकारले बाइकलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्न अनुमति दिएको छ । सरकारको जोरबिजो प्रणाली अनुसार नै टुटलले सेवा दिने छ ।’

    बाइक सञ्चालन हुने भएपछि राइड सेयरिङ कम्पनीहरूले पनि सेवा भोलिबाट सुरू गर्ने भट्टले बताए । पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले आज रातिदेखि पठाओ संचालन हुने बताए ।

    उनले भने, ‘पहिलेको भन्दा पेट्रोलमा प्रतिलिटर २५ रुपैयाँ वृद्धि भएको छ । हामीले भाडा बढाउन पनि छलफल गरिरहेका छौं । तेलको मूल्य धेरै बढेको कारणले अब भाडा पनि वृद्धि गर्ने तयारीमा हामी छौं । कति वृद्धि गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।’

  • पठाओ सञ्चालक भन्छन्ः हामीलाई अरुले होइन, जनताले संरक्षण गरेका छन्

    पठाओ सञ्चालक भन्छन्ः हामीलाई अरुले होइन, जनताले संरक्षण गरेका छन्

    काठमाडौं । निजी सवारी साधनमार्फत यात्रु ओसारपसार गराउँदै आएका राइड सेयरिङ कम्पनीहरु नेपालमा बारम्बार विवादमा आइराख्छन् । यस्ता कम्पनीको सेवाले जनतामा सकारात्मक छाप परेको भए पनि कतिपयले उनीहरुमाथि कानूनी प्रश्न उठाउने गरेका छन् । यस्तो प्रश्न उठाउनेमा सबैभन्दा अगाडि छन् ट्याक्सी व्यवसायीहरु ।

    हालै मात्र ट्याक्सी व्यवसायीको झुण्डले एक पठाओ राइडरमाथि हातपात गरे । आफूहरुको पेशा धरापमा पार्ने गरी यात्रु ओसारपसार गरेको भन्दै पठाओ राइडरमाथि ट्याक्सी ड्राइभरले कुटपिट गर्दा सामाजिक सञ्जाल पठाओको समर्थनमा उभिएको थियो । त्यस घटनापछि पठाओले आफ्ना राइडरहरुलाई पहेँलो ज्याकट लगाउन निषेध गरेको छ ।

    कम्पनीले अब आफ्ना राइडरहरुलाई कसरी सुरक्षा दिन्छ ? व्यवसायको कानूनी धरातल कमजोर रहेको विषयलाई उसले कसरी हेरेको छ ? सरकारसँग कम्पनीका मागहरु के छन् ? यी यावत विषयमा हामीले पठाओका क्षेत्रीय निर्देशक असिम मान सिंह बस्न्यातसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, कुराकानीको मुख्य अंशः

    पठाओ र ट्याक्सी व्यवसायीबीच विवादको चुरो के हो ? किन पठाओ राइडरमाथि ट्याक्सी चालकले हमला गरे ?

    वास्तवमा पठाओ र ट्याक्सीबीच कुनै विवाद छैन् । हाम्रो सम्वन्ध समधुर नै छ । कुरा नबुझेर त्यो अवस्था सिर्जना भएको हो । ट्याक्सी चालकले पहिले पठाओको राइडर हो भन्ने सोचेका रहेछन् । तर, उनीहरु हाम्रा राइडर होइनन् ।

    त्यसोभए समाचारमा कसरी आयो पठाओ राइडर कुटिएको कुरा आयो ?

    उनी हामीसँग जोडिएको भए पनि घटना भएको बेलामा अफलाइन थिए । त्यस्तो अवस्थामा हाम्रो राइडर भन्न मिल्दैन ।

    पठाओको परिभाषाअनुसार एउटा अनुरोध रिसिभ गरेर पुरा गर्ने समयसम्म मात्रै उ पठाओको राइडर हुने हो । पठाओमा नै जाँदाजाँदै पनि अन्य प्लेटफर्म प्रयोग गर्न सकिन्छ ।

    त्यो दिनको घटनामा एकजना पठाओ राइडरले बाटोमा बसेर अफलाइन मान्छे तानिरहेका थिए । त्यो हाम्रो रेकर्डमा रहँदैन । पठाओ एपभन्दा बाहिर बसेर ट्याक्सीले बोक्न लागेको यात्रुसँग सस्तोमा म लान्छु भनेको कारणले झडप भएको हो । ती व्यक्ति पठाओलगायतका अन्य एपमा पनि आवद्ध थिए ।

    पठाओको कुन राइडरमाथि हमला भएको हो भन्न पनि तपाईंहरुलाई ३ दिन लाग्यो, पठाओसँग डाटा बेस गतिलो छैन ?

    अहिलेसम्म ८० हजारभन्दा धेरै राइडर पठाओमा जोडिनु भएको छ । ८० हजारमा १५ सय महिला हुनुहुन्छ । कोरानापछि हामीले थोरैलाई मात्रै सक्रिय बनाएका छौं । जसमा १६ हजार जति मात्रै छन् ।

    पठाओले राइडरसँग २० प्रतिशत शुल्क मात्रै लिन्छ तर केही सुविधा दिँदैन भन्ने आरोप छ नि ?

    यो गलत हो । सुविधा दिँदैन भन्ने होइन । हामीले बीमाको व्यवस्था गरेका छौं । तर बीमा दाबी गर्न पठाओको एपमा बुक भएअनुसारको यात्रु र पठाओ राइडरले यात्रा गरेको र गराएको हुन पर्दछ ।

    राइड सेयरिङ कम्पनीहरुमध्ये बीमा गराउने पठाओ मात्रै हो । हामीले बीमा सुरु गरेको ३ महिना भएको छ । र बीमा भुक्तानीसमेत पाएका छन् ।

    पठाओजस्तै अन्य धेरै एप सञ्चालनमा छन् । तपाईंहरुको शुल्क पनि अरुभन्दा अलि महंगो छ । घटाउनुहुन्न ?

    हाम्रो शुल्क घटाउनु पर्ने अवस्था छैन । प्रतिशत र कमिसनले मात्रै शुल्क निर्धारण गर्ने भन्ने हुँदैन । कम्पनीको सेवा र सुविधा कस्तो छ भन्ने कुरा आउँछ ।

    अन्य कम्पनीले शुल्क नै नलिई पनि सञ्चालन गरेका छन् । तर ती कम्पनी किन चल्न सकेका छैनन् त ? हाम्रो सञ्चालन खर्च पनि अरुको भन्दा धेरै भएकाले शुल्क अलि धेरैजस्तो देखिएको हो । शुल्क अनुसार सेवा र सुविधा दिइरहेका छौं ।

    हामीले शुल्क घटाउँदै जाने हो भने हाम्रो कल सेन्टर र सुविधाहरु पनि घट्दै जानेछ । त्यसैले शुल्क घटाउँदैनौ ।

    यात्रुले पठाओ बुक गर्दा बाइक नम्बर एउटा आउँछ, पछि यात्रु लिन अर्कै नम्बरको आउँछ । यस्तो किन हुन्छ ?

    पठाओमा आएर बदमासी गर्ने एक जमात छ । उनीहरुलाई हामीले पहिले पनि कारवाही गरेका थियौं । पठाओमा जोडिएर गलत गरेपछि हामीले उनीहरुलाई सेवा लिने र दिने अनुमति बन्द गर्यौं । पछि साथीभाईबाट पठाओमा दर्ता गरेर अझै वदमासी गरिरहनु भएको छ ।

    हामीले बदमासी गर्ने राइडरहरुलाई पनि अब पुलिसमा गएर कारवाही गर्ने छौं । यात्रुलाई पनि बुक गर्दा एउटा र लिन आउँदा अर्काे आयो भने प्रयोग नगर्नु भन्ने गरेका छौं । यस्तो अवस्थामा दुर्घटना भयो भने बीमाको रकम सहजै प्राप्त हुँदैन ।

    पठाओको एउटा ज्याकेटको नै २ हजार रुपैयाँ ठटाउने गर्नुभएको छ । महंगो भएन र ? पठाओको राइडरले नै अन्दोलन गर्नुपर्ने अवस्था पनि आएको थियो नि ?

    ज्याकेट हामीले सुरुमा सित्तैमा पनि वितरण गरेका थियौं । सुरुमा थोरैलाई दिने योजना थियो । तर माग धेरै भएपछि हामीले निशुल्क दिन नसक्ने भयौं ।

    हामीले ज्याकेटसँगै एउटा किटको नै व्यवस्था गरेका थियौं । त्यो हामीले बिक्री गरेको पनि हैन । त्यसका लागि अन्य कम्पनीलाई जिम्मा दिएका थियौं । किट व्यवस्था गर्दा पठाओले १ रुपैयाँ पनि पैसा लिएको छैन ।

    जहाँसम्म आन्दोलनको कुरा छ, त्यो चाहिँ गलत तरिकाले पठाओमा जोडिएकाहरुले गरेका हुन् । पठाओमाथि आन्दोलन गर्न एउटा समूह परिचालित नै छ ।

    नेपालको कानूनले रातो नम्बर प्लेट भएको सवारीसाधनले यात्रु ओसारपसार गर्न पाइदैन भनेको छ । तर, पनि सरकारबाट राम्रै संरक्षण पाइरहनुभएको छ होइन ?

    पुरानो कानूनमा रातो र कालो नम्बर प्लेटले के-के काम गर्ने भन्ने थियो । तर बाग्मती प्रदेशको निर्माणाधीन कानूनले रातो नम्बर प्लेट भएका सवारी साधनलाई पनि राइड सेयरिङ कम्पनी सञ्चालन गर्न दिने भनेको छ । अहिले यातायातको विषय संघीय सरकारले भन्दा पनि प्रादेशीक सरकारले नै हेर्ने हो । पाटन उच्च अदालतले पनि सरकारलाई चलाउन मिल्ने कानून निर्माण गर्नु र राइडसेयरिङ कम्पनीहरुलाई नरोक्नु भनेर परामादेश जारी गरेको छ ।

    सरकारले हामीलाई संरक्षण गरेको हैन । कानून बाझिएको बेला अदालतले सञ्चालन गर्नु भनेकोले नै अहिले सञ्चालन भहिरहेको हो ।

    ट्याक्सी व्यवसायीले हामी पठाओमाथि मुद्दा हालेर जसरी पनि बन्द गराउँछौं भनिरहेका छन् नि ?

    ट्याक्सी व्यवसायीले पाटन उच्च अदालतमा मुद्दा हालेर हारिसक्नुभएको छ । उहाँहरुले पुनः मुद्दा हाल्न पाउनुहुन्छ । सर्वच्च अदालतले बन्दै गर्नुपर्छ भन्यो भने हामीले बन्द नै गर्नु पर्छ । पाटन अदालतले सञ्चालन गर्नु भनेकोले अब बन्द हुँदैन होला ।

    हामी समय अनुसार परिवार्तन नभएको भए आज हामी पञ्चायतको कानुनमा नै हुने थियौं । समयको माग अनुसार कानुन परिवर्तन हुँदै जान्छ । हामीलाई विश्वास छ, राइड सेयरिङ कम्पनी सञ्चालन गर्ने कानुन बन्छ ।

    ट्याक्सी व्यवसायीले कानुनअनुसार कर तिरेको र तर राइड सेयरिङ कम्पनीले कर नतिरेको कुरा पनि त छ नि ?

    पठाओले हरेका वर्ष आफ्नो दायित्वमा आएको भ्याट तथा आयकर तिरिरहेको छ । हामीले जसरी ट्याक्सीले सायद आयकर तिरेको छैन होला ।

    सामाजिक सञ्जालमा पठाओको पक्षमा माहोल बनेको देखिन्छ, यसको कारण के होला ?

    राम्रो काम गरेकाले नै हामीलाई जनताले साथ–सहयोग र संरक्षण गरेका हुन् । हामीले जाने र सके जति राम्रो गर्ने प्रयास गरेका छौं । कानुन निर्माण, सेवा र रोजगारीका लागि लगातर काम गर्ने प्रयास गरेकाले नै हाम्रो पक्षमा माहोल भएको होला ।

    पठाओमा जोडिएका ट्याक्सीहरु मिटरमा गुड्ने ट्याक्सीभन्दा महंगो भएको जनगुनासो छ, यसलाई कसरी सम्वोधन गर्नुहुन्छ ?

    मिटरमा गुड्ने ट्याक्सीभन्दा पठाओमा जोडिएर यात्रा गर्ने ट्याक्सीको ८६ रुपैयाँ बढी भाडा आउँछ । चालकले गर्ने फोन र प्रयोग गर्ने डाटा पनि त्यो शुल्कमा जोडिन्छ । ८६ रुपैयाँ बढि भाडा आए पनि सुरक्षित र सरल हुने भएकाले पठाओमा जोडिएको ट्याक्सी नै यात्रुले रोजेका हुन् ।

    तपाईंले भन्नुभयो मिटरमा गुड्ने ट्याक्सीभन्दा ८६ रुपैयाँ महंगो छ भनेर, अनि कसरी पठाओले ट्याक्सीसँग प्रतिस्पर्धा गरिरहेको छ त ?

    यो भनेको समाज परिवार्तन हो । दिनभर घाममा यात्रु कुरेर बस्नु पर्दैन । पठाओमा जोडिएको ट्रक्सीले एपमार्फत यात्रुलाई सेवा दिन पाउँछन् ।

    राम्रो जागिर खाएको व्यक्ति पनि केही कमाइ गरौं भनेर १/२ घन्टा पठाओमा जोडिन सक्छन् । यसले आर्थिक अवस्था राम्रो हुन्छ ।

    सरकारसँग तपाईंहरुका माग के–के छन् ? सरकारले के गरिदियो भने तपाईंहरुलाई सहज हुन्छ ?

    हामी साढे २ वर्षदेखि राइड सेयरिङको कानुन निर्माण लागि घच्घच्याइरहेका छौं । सरकारले पनि कानुन निर्माणको काम अगाडि बढाएको छ । हामी सम्वन्धित निकायमा गएर कानुन निर्माणको पहल गरिरहेका छौं । सरकारले पनि यसलाई कानुन निर्माण गरेर सहज र सरल बनाइदिए हामीलाई सजिलो हुने थियो ।

    पठाओको सेवा देशैभर विस्तार गर्ने केही योजना छ ?

    हामीले बाग्मती प्रदेशमा सेवा विस्तारको लागि योजना बनाइरहेका छौं । उपत्यकाभन्दा बाहिर बाग्मती प्रदेशका शहरहरुमा पठाओ विस्तार गर्ने छौं । उपत्यकासँगै जोडिएका सहर र देशैभर राइड सेयरिङबाट हुनसक्ने विकासका कामहरु हामीले गर्ने छौं ।

    काठमाडौं उपत्यकामा ट्याक्सीलाई पठाओसँग जोड्नु भयो, अन्य सहरहरुका अटो जोडिन्छन् ?

    अहिले हामीले बाइक, स्कुटर, ट्याक्सी र फुडलाई जोडेका छौं । पठाओका अन्य अप्सनहरु पनि छन् । ती अप्सनमा गएर अरु यातायातको साधन जोड्न सकिने छ ।

    पठाओमा कतिसम्मको बीमा हुन्छ ?

    नेपालको एउटा मात्रै राइड सेयरिङ कम्पनी पठाओ हो, जसले ६ लाखसम्मको बीमा गरिरहेको छ ।

    पठाओको दैनिक वा मासिक आम्दानी र खर्चको अवस्था के छ ?

    दैनिक वा महिनाको कमाइ भन्न गारो छ । हामी लकडाउनको समयमा घाटामा थियौं । हाम्रो सञ्चय र खर्च दुबै भहिरहेको हुन्छ । अहिले अलिकति पैसा बचेको छ । त्यो पैसा उपत्यकाभन्दा बाहिर पठओ सञ्चालन गर्दा खर्च हुन्छ ।

    पठाओमा महिला यात्रुमाथि हुन सक्ने दुव्र्यवहार रोक्ने के–कस्ता उपाय अबलम्बन गरिरहनुभएको छ ?

    महिलामाथि दुव्र्यवहार भयो भने त्यो सिधै फौजदारी अपराधमा जान्छ । पठाओ प्रयोग गर्दा यात्रु वा राइडरलाई दुव्र्यवहार भएमा पठाओको टोलिले प्रहरीमा गएर सहयोग गर्ने छ । अहिलेसम्म त्यस्तो घटना घटेको छैन ।

    हामीले पठाओमा जोडिने बेलामा नै राइडरलाई दुव्र्यवहार भनेको के–के हो र यसको दण्ड–सजाय के के हुन्छ भनेर जानकारी गएका हुन्छौं ।

    एउटै राइडरले किन सबै प्रकारका राइड सेयरिङ एप प्रयोग गरिरहेका छन् ?

    राइडरले आफ्नो तरिकाले राइड सेयरिङ एपको प्रयोग गर्न पाउनुहुन्छ । उहाँहरुको इच्छाअनुसार फरक–फरक एपमा पनि जोडिनसक्ने स्वतन्त्रता छ ।

    सार्वजनिक यातायातमा सरकारले भाडादर तोकेको छ, तर तपाईंहरु आफैं भाडा तोकेर चलाइराख्नु भएको छ । यो कति उचित हो ?

    हाम्रो भाडादर मार्केटले तोकेको छ । हाम्रो वेस रेट ४५ रुपैयाँ हो । र प्रतिकिलोमिटर १५ रुपैँया हो । यात्रुको माग अनुसार भाडादर निर्धाण हुन्छ ।

    भाडादर निर्धारण गर्दा सरकारसँग छलफल गर्नु पर्दैन ?

    हामीले कानुन नभएको कारण सरकारसँग छलफल गर्न सकेनौं । सरकारको विभिन्न निकायमा भाडाको विषयमा बुभ्mन जाँदा उहाँहरुले पनि कानुन नै नभएको बताउनु हुन्छ । भाडादर मात्रै होइन राइडरले कर कुन ठाउँमा गएर कसलाई कति तिर्ने भन्ने पनि प्रश्न छ ।

    पठाओले सरकारलाई प्रतिवर्ष कति कर तिर्छ ?

    हामीले सरकारलाई अघिल्लो वर्ष करिब साढे ४ करोड कर तिरका हौं ।

    पठाओमा जोडिएर विहानदेखि बेलुकासम्म राइड गर्ने राइडरले कति कमाउँछन् हाला ?

    प्रतिमहिना हामीलाई २० प्रतिशत बुझाएर ६० हजारसम्म कमाइरहनु भएको छ । धेरै कमाउनेहरुले ८० हजारसम्म कमाउनु भएको छ । मेहनतका साथ काम गर्नेले सबै खर्च कटाएर ४० हजारसम्म बचाउनुहुन्छ ।

    अन्य यात्रु बोक्ने एप प्रयोगमा आएपछि पठाओको विजेनेसमा असर गरेको छैन ?

    छैन् । लकडाउनपछि हाम्रो ६ देखि ८ प्रतिशतले यात्रुहरु वृद्धि हुनुभयो । हाम्रो पठाओमा प्रतिदिन ८० हजारसम्म टिप आउने गरेको छ । ५५ देखि ८० हजारसम्मले प्रतिदिन सेवा लिने गरेका छन् ।

    ट्याक्सीले नै विरोध गरिरहेको समयमा पठाओमा कति ट्याक्सी जोडिएका छन् ?

    लकडाउनभन्दा पहिले ५ हजार ५ सय ट्याक्सी जोडिनु भएको थियो । लकडानभन्दा पछि २५ सय ट्याक्सी हामीसँग जोडिनु भएको छ ।

    पहिले राइडरलाई पठाओको ज्याकेट नलगाए कारवाही गर्ने भन्नुभयो, अहिले ज्याकेट लगाए कारवाही गर्ने भन्नुभएको छ । किन दोहोरो मापदण्ड ?

    पहिले प्रहरीको अनुरोधमा पठाओको ज्याकेट प्रयोग गरिएको थियो । र अहिले पनि प्रहरीकै अनुरोधमा ज्याकेट हटाएका हौं । ज्याकेट लगाएपछि बाटोमा बसेर मान्छे ठग्न सजिलो भएको कारणले पनि ज्याकेट बन्द गरिएको हो ।

    हामीलाई ठगी भयो भनेर पनि उजुरी परेको रहेछ । पहिले सिडियो कार्यालयले नै फुल सुटमा हिँड्नु भनेर आदेश दिएको थियो । पछि पुनः ज्याकेटको कारणले झडप हुने भएकाले ज्याकेट बन्द भएको हो ।

    ट्याक्सीले पनि पहिले एपबाट सञ्चालन गर्छु भन्दा सरकारले रोकेको रहेछ, तपाईहरुलाई एपबाट सञ्चालन गर्न दिइयो, प्रधानमन्त्री कार्यालयले पनि पठाओ नरोक्नु भनेर पत्र पठाएछन्, खास के करणले हो ?

    ट्याक्सीलाई एपबाट सञ्चालन गर्न कसले र कसरी नदिएको हो हामीलाई थाहा छैन । ट्याक्सी युनियनका साथीहरुले एउटा एपलाई प्रोमोट गरिरहनुभएको छ । ट्याक्सी युनियनका साथीहरु नै लुकिछिपी पठाओ चलाइरहनुभएको छ ।

    प्रधानमन्त्री कार्यालयले पठाओलाई जोगाएको भन्ने कुरा होइन । प्रधानमन्त्रीले राइड सेयरिङ नरोक्ने भन्दा पठाओको नाम त्यति धेरै सुनिएको पनि थिएन । त्यति बेला हामीभन्दा अर्काे कम्पनी प्रख्यात थियो । त्यो कम्पनीलाई बचाउँदा हामी बाँचेको हो ।

    सुरुमा त प्रहरीले पठाओलाई समाएको थियो ? कसरी समस्या समाधान गर्नुभयो ?

    प्रहरीले समाउँदा पठाओ सुरु भएको ३ महिना पनि भएको थिएन । त्यस बेला मैले कोही चिनेको थिइनँ र म नेपालमा पनि थिइनँ ।

    पठाओलाई पक्राउ गर्दा सामाजिक सञ्जालमा आक्रोश पोखिएका थिए । हामीसँग प्रतिस्पर्धामा भएका अन्य कम्पनीकाहरुले प्रधानमन्त्रीलाई गएर प्रष्ट पार्नुभयो । मिडियाले पठाओ र अर्काे एक कम्पनीलाई रोक्यो भनेर लेखे र प्रधानमन्त्रीले यो दुईवटा कम्पनीलाई नरोक्नु भनेर भनिदिनुभयो ।

    त्यसपछि मान्छेले पठाओ भन्ने कम्पनी पनि छ भनेर प्रयोग गर्न थाहा पाएका थिए । म त्यतिखेर आत्तिएर के गर्ने र कसरी अगाडी जाने भन्ने छलफलमा नै थिएँ ।

    पठाओ सञ्चालन गर्ने योजना चाहिँ कसरी बनाउनुभएको हो ?

    म र मेरा साथीहरु अन्य कुनै कम्पनीमा काम गरिरहेका थियौं । हामी उबर सञ्चालनको लागि अगाडि बढिसकेका थियौं । तर त्यो सञ्चालन गर्न सकेनौ । पछि त्यही कम्पनीमा भएका केही साथीहरु मिलेर पठाओ सञ्चालन गरेका हौं ।

    पठाओले यात्रु ओसारपसार बाहेक केही नयाँ सेवा दिने योजना पनि बनाएको छ ?

    हामीले नयाँ सेवा दिने योजना बनाइरहेका छौं । घरमा नै पाकेको खाना र सप्लाइ गर्ने सेवा दिइरहेका छौं र यसलाई अझ राम्रो गर्ने प्रयास गरिरहेका छौं ।

    आफ्नो सामान कतै पठाउन पर्यो भने त्यो सामानको पनि सेवा दिने सोचका साथ हामी अगाडि बढिरहेका छौं । ४ महिनासम्ममा केही न केही नयाँ हामीले बजारमा ल्याउने छौं ।

    कम्पनी स्थापना गर्दा यति माथि पुगिन्छ भन्ने सोच राख्नुभएको थियो ?

    थिएन । सुरु गर्दा १० हजार टिप हाम्रो लागि सपना थियो । २० हजार टिप भनेको हाम्रो केही वर्षपछिको लक्ष्य थियो ।

    पठाओ विदेशी कम्पनीसँग जोडिएको छ । नेपालबाट विदेशमा कति पैसा पठाउछ ?

    यो अमेरिकन कम्पनी हो । तर, हामीले अहिलेसम्म १ रुपैयाँ पनि विदेश पैसा पठाएका छैनौं ।

  • पठाओको समर्थनमा ट्वीटर ट्रेन्डिङ

    पठाओको समर्थनमा ट्वीटर ट्रेन्डिङ

    काठमाडौं । नेपालमा माइक्रो ब्लगिङ प्लेटफर्म ‘ट्वीटर’ मा आईएमविथपठाओ अर्थात् ‘म पठाओको साथमा छु’ ट्रेन्डिङको एक नम्बरमा परेको छ ।

    राइड सेयरिङ प्लेटफर्म पठाओका राइडरलाई ट्याक्सी ड्राइभरले कुटपिट गरेपछि चर्चा बढेको पठाओको प्रभाव सामाजिक सञ्जालमा पनि परेको छ ।

    ट्याक्सी व्यवसायी र पठाओबीच बेलाबेलामा विवाद बढ्दै गएको छ । पठाओले आफ्नो पेसा खोसेको भन्दै ट्याक्सी व्यवसायीले विरोध गर्दै आएका छन् । तर, यात्रामा बार्गेनिङ गर्नु नपर्ने र प्रविधिमैत्रीका कारण अधिकांस यात्रुको रोजाइमा राइड सेयरिङ प्लेटफर्म पर्ने क्रम बढेको छ ।

    अहिले सामाजिक सञ्जालमा प्राय सबैखाले पोष्टहरू ह्सास ट्यागसहित आइएमविथपठाओ देखिएका छन् ।