Tag: पक्राउ

  • करिब सय किलो चाँदीका पाउजुसहित भारतीय नागरिक पक्राउ

    करिब सय किलो चाँदीका पाउजुसहित भारतीय नागरिक पक्राउ

    काठमाडौं । सशस्त्र प्रहरी सीमा सुरक्षा बलले चाँदीका तयारी गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    सशस्त्र प्रहरी बलको बीओपी स्वर्णपट्टीबाट खटिएको टोलीले बोदेबर्साइन नगरपालिका– ९ स्थित इँटा भट्टा नजिकबाट भारतको बिहार राज्य मधुवनी जिल्ला खुटौना ग्राम पञ्चायत– ११ कामट टोलका २२ वर्षीय वशिष्ठ चौधरीलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका चौधरीको साथबाट चार लाख ३८ हजार ९५७ रूपैयाँ बराबरको २८ जोडी ९४ किलो चाँदीको तयारी पाउजु बरामद गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलका प्रहरी उपरीक्षक प्रदीप खडकाले जानकारी दिए ।

    चौधरीले कम्मरमा लुकाएर ल्याउँदै गरेको अवस्थामा शंका लागेर जाँच गर्दा अवैध गहना फेला परेपछि बरामद गरिएको खडकाको भनाइ छ ।

    चौधरीलाई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

  • टेक्सासको अर्को एक विद्यालयबाहिर बन्दुकसहित विद्यार्थी पक्राउ

    टेक्सासको अर्को एक विद्यालयबाहिर बन्दुकसहित विद्यार्थी पक्राउ

    टेक्सास । अमेरिकाको टेक्सास राज्यको उभल्देस्थित एक विद्यालयमा भएको घातक गोलीबारीमा १९ विद्यार्थी र दुई शिक्षकको ज्यान गएको एक दिनपछि टेक्सासकै एउटा हाईस्कूल बाहिर एक विद्यार्थी बन्दुकसहित पक्राउ परेका छन् ।

    प्रहरीले टेक्सासको रिचर्डसन हाईस्कुलतर्फ राइफलसहित हिँड्दै गरेका संदिग्धलाई पक्राउ गरेको हो । संदिग्धबारे जानाकारी पुगेपछि तत्कालै उनी भएको स्थानमा प्रहरी पुगेको थियो । प्रहरी गतिविधिबारेमा नजिकका विद्यालयलाई जानकारी दिइएको थियो ।

    १८ वर्षीय बन्दुकधारीले एउटा प्राथमिक विद्यालयमा २१ जनाको हत्या गरेको भोलिपल्ट यो घटना भएको हो ।

  • बारामा पेस्तोलसहित दुई भारतीय पक्राउ

    बारामा पेस्तोलसहित दुई भारतीय पक्राउ

    बारा । बाराको सिम्रौनगढबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका–९ मा शनिबार अटोमेटिक चाइनीज पेस्तोल, म्याग्जिन र गोलीसहित दुई भारतीय युवकलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतीहारीका २३ वर्षीय पप्पुकुमार यादव र बिहारकै भेलावाका २२ वर्षीय अकलेशकुमार सिंह रहेका छन् ।

    सीमावर्ती भारतीय गाँउबाट मोटरसाइकलमा सवार भएर नेपाल प्रवेश गरेका दुवैजनालाई सशस्त्र प्रहरीले रोकेर चेकजाँच गर्दा चाइनिज पेस्तोल १ थान, त्यसमा लाग्‍ने २ राउण्ड गोली, १ थान म्याग्जिन २ थान, कटुवा पेस्तोल १ थान र त्यसको दुई राउण्ड गोली बरामद भएको जनाइएको छ ।

    पेस्तोल र गोलीसहित पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

  • साढे सात किलो कोकिनसहित दुईजना पक्राउ

    साढे सात किलो कोकिनसहित दुईजना पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे सात किलोग्राम कोकिनसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जम्बिएन र भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

    उनीहरुलाई केही दिनअघि प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो । जम्बिएन नागरिकलाई नेपाल भित्रँदै गर्दा विमानस्थलबाटै र भारतीय नागरिकलाई फलोअपपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

     

  • छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

    छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

    खोटाङ । छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन् । शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो ।

    आरोपित आचार्यलाई एमालेनिकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाइदिएका छन् । घटनालगत्तै प्रहरीचौकी नुनथलाबाट पुगेको प्रहरीले प्रिन्सिपल आचार्यलाई नियन्त्रणमा लिएको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

    शिक्षालयमा अध्ययनरत छात्रालाई पटक–पटक विभिन्न बहानामा यौनजन्य दुर्व्यहार गर्दै आएकोमा मंगलबार दुई छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको सूचनाका आधारमा आचार्यलाई प्रहरीको जिम्मा लगाइएको अनेरास्ववियुका अध्यक्ष मोहन संग्रामले बताए ।

  • युक्रेन आक्रमणको विरोध गर्ने रसियाली पत्रकार पक्राउ

    युक्रेन आक्रमणको विरोध गर्ने रसियाली पत्रकार पक्राउ

    काठमाडौं । रसियाले युक्रेनमाथि गरेको आक्रमणको विरोध गरेको भन्दै रसियाको प्रहरीले सरकारी संचारमाध्यममा कार्यरत एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

    अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार युरोपियन मुलुकले रसियामाथि लगाएको आर्थिक प्रतिबन्धको समाचार प्रसारण भइहेका बेला सम्पादक मन्डलकी ती महिला कर्मचारी ‘नो वार’ लेखेको पेपर लिएर स्टुडियो छिरेकी थिइन् ।

    अर्की महिला सहकर्मीले समाचार वाचन गरिरहेका बेला उनले पछाडिबाट ’नो वार’ लेखेको पेपर देखाएकी थिइन् । लगत्तै प्राविधिकहरुले अर्को स्क्रिन परिवर्तन गरेका थिए । लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको समाचारहरुमा उल्लेख गरिएको छ ।

    रसियाले युक्रेनमाथि गरिरहेको आक्रमणको विरोध रसियाभित्रै भइरहेका बेला पछिल्लो घटना घटेको हो । रसियाले केही दिनयता युक्रेनमाथिको आक्रमणलाई निरन्तरता दिइरहेको छ ।

  • चाबहिल मालपोतका खरदारसहित तीनजना घुससहित पक्राउ

    चाबहिल मालपोतका खरदारसहित तीनजना घुससहित पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, चाबहिलका खरदारसहित तीनजनालाई एक लाख ३५ हजार रुपैयाँसहित पक्राउ गरेको छ।

    बिहीबार साँझ उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। पक्राउ पर्नेमा खरदार लक्ष्मण बस्नेत, होटल व्यवसायी मीना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठ रहेका छन्।

    जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सेवाग्राहीबाट घुस लिँदालिँदै उनीहरु पक्राउ परेको अख्तियार जनाएको छ ।

  • कोटेश्वरमा ट्याक्सी जलाउन खोज्ने अखिल क्रान्तिकारीका मोक्तान पक्राउ

    कोटेश्वरमा ट्याक्सी जलाउन खोज्ने अखिल क्रान्तिकारीका मोक्तान पक्राउ

    काठमाडौं । गुडिरहेको ट्याक्सी रोकेर आगो लगाउन खोज्ने काभ्रेका मंगल मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।

    आज बिहान पौने ६ बजे कोटेश्वर चोकमा ट्याक्सीमा आगो लगाउन खोज्ने मोक्तान नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता हुन् ।

    गुडिरहेको बा २ ज ३०९० नम्बरको ट्क्यासीमा प्रट्रोल खन्याएर आगो लाउन खोज्दा प्रहरीले मोक्तानलाई नियन्त्रणमा लिएको हो ।

    एमसीसीलगायतको विरोधमा नेकपासहितका केही दलले आज नेपाल बन्दको आह्वान गरेका छन् ।

  • पक्राउ परेका बलात्कार अभियुक्त फेरि फरार, प्रहरीले मिलेमतोमा भगाएको आरोप

    पक्राउ परेका बलात्कार अभियुक्त फेरि फरार, प्रहरीले मिलेमतोमा भगाएको आरोप

    महोत्तरी । सेटिङ्गमा जुवा खेलाएको भन्दै यसअघि आलोचना व्यहोरेको महोत्तरीका प्रहरी फेरि अर्को घटनाका कारण चर्चामा रहेको छ ।

    जबरजस्ती करणी आरोपी जितु मण्डल फरार थिए । उनलाई प्रहरीले पक्राउ गर्यो । तर पक्राउपछि प्रहरी घेराबाटै उनी फेरि फरार भए । पीडितपक्षले प्रहरीको मिलेमतोमा अभियुक्तलाई भगाइएको आरोप लगाएको छ ।

    मण्डलविरुद्ध १० साउन २०७७ रातको ९ बजे जिल्लाको रामगोपालपुरकी एक महिलालाई जबरजस्ती करणी गरेको भन्दै पीडितपक्षले किटानी जाहेरी दिएका थिए । जिल्लाकै औरही नगरपालिका बस्ने २६ वर्षीय जितु मण्डलसहित सोही उमेरका खुस्रे मुखियाले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेसँगै उनीहरु फरार भएका थिए ।

    रातको ९ बजे सौच गर्न निस्किएकी महिलालाई दुईजनाले जबरजस्ती करणी गरेको प्रमाणहरु घटनास्थलबाट बरामद् भएको थियो ।

    ‘हामी न्यायको लागि सयौंपटक जिल्ला प्रहरी कार्यालय जलेश्वर पुग्यौं तर प्रहरीले खोजी हुँदै छ भन्दै टारेका थिए’, पीडित महिलाका देवरले गुनासो गरे ।

    फरार अभियुक्त जितु मण्डल शुक्रबार मामाघर आउने सुइको पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीले हत्कडीसहित अभियुक्त भागेको बताएको छ । तर प्रहरी कार्यालमानै रहेको दाबी स्थानीयको छ । पीडित महिलाका देवरले प्रहरीले अभियुक्त मण्डललाई मिलोमतोमा नै भगाएको आरोप लगाएका छन् ।

    करणी भएको ठाउँवाट मण्डल र मुखियाको ज्याकेट, मोबाइल समेत बरामद् भएको थियो ।

    घटनालाई नजिकबाट नियालेका वडा अध्यक्ष जितेन्द्र चौधरीले प्रहरीको अनुसन्धान शंकाको घेरामा रहेको बताए ।

    प्रहरीले भने जाहेरीपछि सुक्ष्म रुपमा अनुसन्धान भइरहेको दाबी गरेको छ । अपराधीलाई सजाय दिलाउन प्रहरीले हदैसम्मको प्रयास गरिरहेको एसपी दिनेश आचार्यले बताए । अभियुक्तलाई भगाइएको वा भागेको विषयमा छानबिन भइरहेको एसपी आचार्यले बताए ।

  • चोरीको झुठो सूचना दिने दुईजना पक्राउ

    चोरीको झुठो सूचना दिने दुईजना पक्राउ

    जनकपुरधाम । कार र नगद लुटेको भनेर झुठो सूचना दिने दुईजनालाई धनुषा प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।

    पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका– ७ का दीपनारायण यादव र उनका साथी आशाराम चौधरी रहेका छन् । सोमबार राति उनीहरु दुवै प्रहरीलाई फोन गरेर बा १९ च ६६१४ नम्बरको कार र कारभित्र रहेको दुई लाख रुपैयाँ श्रवणकुमार चौधरीलगायतका व्यक्तिले चोरी गरेको सूचना प्रहरीलाई दिएका थिए ।

    प्रहरीले श्रवणलाई फेला पारेपछि उनले आफूले चोरी नगरेको बयान दिएका थिए । त्यसपछि चोरीको सूचना दिने दीपनारायणलाई समेत बोलाएर प्रहरीले अनुसन्धान गर्दा झुठो सूचना दिएको कुरा खुलेको हो ।

    प्रहरी समक्ष दिपनारायण र कार मालिक भनिएका आशाराम चौधरीले रिसइबीका कारण श्रवणलाई फसाउन चोरीको नाटक गरेको स्वीकार गरेपछि उनीहरु दुवैजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरुले प्रहरी कर्मचारीहरुलाई गाली गलौज गरी अश्लील शब्दसमेत प्रयोग गरेका थिए । उनीहरुलाई सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा चलाइएको छ ।

    प्रहरीले जिल्ला प्रशासन कार्यालय धनुषाबाट १० दिनको म्याद लिएर उनीहरुमाथि थप अनुसन्धान तथा कारबाही अगाडि बढाएको छ ।

  • मानव बेचविखन मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

    मानव बेचविखन मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

    सिन्धुपाल्चोक । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका– ४ का चोपनाथ नेपाल पक्राउ परेका हुन् ।

    मानव बेचविखन तथा ओसारपसार मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतले १६ पुस २०५८ मा उनलाई १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो । तर उनी फरार थिए ।

    पक्राउ परेका नेपाललाई कारागार चलान गरिएको छ ।

  • दाङमा रक्सी खाएर स्थानीयलाई तर्साउने ७ जना पक्राउ

    दाङमा रक्सी खाएर स्थानीयलाई तर्साउने ७ जना पक्राउ

    काठमाडौं । रक्सी खाएर हतियार देखाउँदै स्थानीयालाई आतङ्कित बनाएको आरोपमा दाङ प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।

    तुल्सीपुर–३ भ्युडरमा उनिहरुले मादक पदार्थ सेवनपछि पेस्तोल आकारको लाइटर र हतियार देखाउँदै स्थानीयलाई तर्साएको आरोप प्रहरीको छ।

    पक्राउ पर्नेमा १६ देखि २५ वर्षसम्मका युवा छन्। प्रहरीले उनिहरुको साथबाट एउटा खुँडा, ३ वटा हँसिया र एउटा बन्चरो पनि बरामद गरेको प्रहरीले जनाएको छ। उनिहरुले खाली गोठमा बसेर मापसे गरेका थिए।

  • राहदानी बनाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

    राहदानी बनाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

    काठमाडौं । राहदानी बनाइदिन्छु भन्दै रकम लिई ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी वृत्त कालिमाटीबाट सुनसरी इटहरी-५ संगमचोक बस्ने ३५ वर्षीय मनोज सापकोटालाई ठगी आरोपमा पक्राउ गरेको हो ।

    उनले राहदानी बनाउन काठमाडौं आएका सर्लाही ईश्‍वरपुरका एक व्यक्तिलाई राहदानी बनाईदिने भनी १२ हजार रुपैयाँ लिएर सम्पर्कबिहीन भएका थिए ।

    उनीलाई ठगी, आपराधिक विश्‍वासघात तथा आपराधिक लाभसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २ सय ९० कार्टुन ‘रेड लेबल’ रक्सीसहित ४ जना पक्राउ

    २ सय ९० कार्टुन ‘रेड लेबल’ रक्सीसहित ४ जना पक्राउ

    काठमाडौं । राजधानीको दुई स्थानबाट प्रहरीले दुई सय ९० कार्टुन’रेड लेबल’सहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय सन्तोष चन्द्र पोखरेल, ३० वर्षीय शैलेश पन्त, २८ वर्षीय रविन पाख्रिन र ४० वर्षीय नारायणप्रसाद घिमिरे रहेका छन् ।

    महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सितापाइला र चाबहिलबाट रेड लेबलसहित अन्य मदिरा पनि बरामद गरेको छ।
    महाशाखाका प्रवक्ता कृष्ण पंगेनीले राजस्व छलीको आशंकामा मदिरा नियन्त्रणमा लिइएको बताए।

    ‘स्टिकर नभएकाले राजस्व छली भएको आशंका हो। तर मदिरा सक्कली हो की नक्कली हो भन्ने यकिन हुन बाँकी छु,’ पंगेनीले भने।

  • घोराही कारागारबाट फरार कैदी दिल्लीमा पक्राउ

    घोराही कारागारबाट फरार कैदी दिल्लीमा पक्राउ

    दाङ । घोराही कारागारबाट फरार भएका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस ८ गते अपराह्न उपचारको बहानामा प्रहरीकै मिलेमतोमा फरार भएका यामराज परियारलाई दाङ प्रहरीले भारतको राजधानी नयाँदिल्लीबाट माघ ९ गते पक्राउ गरेको हो ।

    परियारलाई प्रहरीले पक्राउ गरी दाङ ल्याएको छ । परियार कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका व्यक्ति हुन् । परियारलाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

     

  • भौतिकमन्त्री सोडारीका छोरा पक्राउ, ‘सवारी ज्यान मुद्दा’को अभियोग

    भौतिकमन्त्री सोडारीका छोरा पक्राउ, ‘सवारी ज्यान मुद्दा’को अभियोग

    कैलाली । सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले सोडारीलाई आइतबार पक्राउ गरेको हो ।

    सवारी ज्यान मुद्दामा सम्पर्कविहीन रहेका उनलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

    उनीमाथि सवारी ज्यान मुद्दामा सोमबार म्याद थप गर्ने समेत डिएसपी जोशीले जानकारी दिए । ‘सवारी ज्यान मुद्दामा उहाँलाई नियन्त्रणमा लिएका छौँ ,’ डिएसपी जोशीले भने, ‘आज म्याद थप हुन्छ ।’

    डिएसपी जोशीकाअनुसार गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चलाएको जिपको ठक्करबाट ९९ बर्सिया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् । बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको जिपले ठक्कर दिदाँ घाइते भएकी न्यौपानेको उपचारका क्रममा नेपालगन्जमा पुस ११ गते मृत्यु भएको थियो ।

  • सशस्त्र प्रहरी जवानको परीक्षाका दुई नक्कली परीक्षार्थी पक्राउ

    सशस्त्र प्रहरी जवानको परीक्षाका दुई नक्कली परीक्षार्थी पक्राउ

    काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) को जवान भर्नाका लागि लिइएको लिखित परीक्षामा सहभागी दुई नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ ।

    शनिबार संचालन भएको परीक्षामा बागलुङको ढोरपाटन-६ का १८ वर्षीय निलकुमार अदै र धनकुटाको शहीदभूमी गाउँपालिका-५ का २७ वर्षीय सौहार्द राई नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको हो ।

    अदैले सुनिल पुन मगर र राईले योगेन्द्र राईको नाममा परीक्षा दिएको सशस्त्र प्रहरी बलले जनाएको छ । एपीएफका अनुसार थम्ब रिडर बायोमेट्रिक डिभाइसबाट नक्कली परिक्षार्थीको पहिचान गरिएको हो ।

  • करेन्ट चाउचाउको कार्टुनभित्र भेटियो ५० लाख, सौर्य एयरलाइन्सकी कर्मचारी पक्राउ

    करेन्ट चाउचाउको कार्टुनभित्र भेटियो ५० लाख, सौर्य एयरलाइन्सकी कर्मचारी पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाउचाउको कार्टुनमा लुकाएर राखेको ५० लाख रूपैयाँसहित एकजनालाई पक्राउ गरिएको छ ।

    सौर्य एयरलाइन्समार्फत शनिबार विराटनगरबाट काठमाडौं पठाइएको सो रकम विशेष सुराकीका आधारमा विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो ।

    विमानस्थल प्रहरी प्रमुख सुरेन्द्रप्रसाद मैनालीका अनुसार करेन्ट चाउचाउको कार्टुनभित्र राखिएको उक्त रकमसहित विमानस्थलमा संकलन गर्न आएकी सौर्य एयरलाइन्सकी कर्मचारी रेखा शाक्य पोखरेललाई पक्राउ गरिएको छ । उनी सौर्य एयरलाइन्सको काठमाडौं कार्यालयमा एसिस्टेन्ट पदमा कार्यरत हुन् ।

    बाहिर भद्रपुर लेखिएको रातो रङको मेल ब्यागमा करेन्ट चाउचाउको कार्टुनभित्र उक्त रकम फेला परेको थियो । कार्टुनभित्र एक हजार दरका ४ हजार ९ सय ५० वटा र ५ सय दरका एक हजार वटा नोटहरु थिए ।

    बरामद रकमसहित पोखरेललाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग बुझाइएको प्रहरीले जनाएको छ । १० लाखभन्दा बढीको कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने कानूनी प्रावधान छ ।

  • १४ महिने बालकलाई अपहरण गरी भारत भाग्न लागेका युवक प्रहरीको नियन्त्रणमा

    १४ महिने बालकलाई अपहरण गरी भारत भाग्न लागेका युवक प्रहरीको नियन्त्रणमा

    जनकपुर । १४ महिने बालकको अपहरण गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा एक युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी घर भइ हाल धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    बुधबार साँझ ७ बजे देखि हराएका रासलाल मुखियाका १४ महिने छोरा कृष्ण मुखियाको खोजतलास गर्ने क्रममा प्रहरी टोलीले बिहीबार अपराह्न करिब ४ बजे नगराईन नगरपालिका–२ स्थित नेपाल भारतको सीमाना नजिकै बच्चालाई लिएर भारततर्फ भाग्दै गरेको अवस्थामा ठाकुर पक्राउ परेका हुन् ।

    प्रहरीले बालक कृष्ण मुखियालाई उद्धार गरी मुखीयाको आमा संगीता मुखियाको जिम्मा लगाएको छ । पक्राउ परेका भारतीय युवक सुरेश ठाकुरलाई धनुषा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धन भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

  • छुरा हानेर युवकको हत्यामा संलग्न आरोपमा पाँचजना पक्राउ

    छुरा हानेर युवकको हत्यामा संलग्न आरोपमा पाँचजना पक्राउ

    सिरहा । सिरहा गोलबजार नगरपालिका-६ डोहटियाका एक युवकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।

    गत शनिबार बेलुका २६ वर्षीय रामकुमार सदायको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय २२ वर्षीय भुवनप्रसाद महतो, १९ वर्षीय श्रवणकुमार मण्डल, २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान र १९ वर्षीय धर्मेन्द्र यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहालका सूचना अधिकारी सुवास बुढाथोकीले जनकारी दिए ।

    उनकाअनुसार आरोपीमध्ये दुईजना गोलबजार र तीनजनालाई धनगढीमाई नगरपालिका जयपुरमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो ।

    पक्राउ परेकाहरूलाई बुधबार नै कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य थालेको प्रहरीले जानकारी दिएको छ ।

  • डाँका मुद्दाका फरार अजित, जसले पक्राउ पर्ने डरमा आफ्नै मृत्यु दर्ता गराए

    डाँका मुद्दाका फरार अजित, जसले पक्राउ पर्ने डरमा आफ्नै मृत्यु दर्ता गराए

    सुनसरी । दश वर्षअघिको घटनामा अदालतबाट दोषी ठहरिएका एक फरार आरोपीले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र बनाएर घरमा बसेको फेला परेको छ ।

    सुनसरीको साविक चाँदबेला—१ (हाल इनरुवा ७) का डाँका मुद्दामा फरार प्रतिवादी अजित मियाँले आफ्नो मृत्यु प्रमाणपत्र बनाएर १० वर्ष घरमै बसोबास गरेको खुलेको हो ।

    फरार रहँदै आएका मियाँलाई प्रहरीले सोमबार घर नजिकैबाट दिउँसो पक्राउ गरेको हो । तत्कालीन भादगाउँ सिनवारी—६ (हाल रामधुनी— ५) बस्ने जैयस कुमार साहको घरमा १७ भदौ २०६८ राति डाँका डकैतीमा तीन जनाको संलग्नता रहेको खुलेको थियो । अन्य दुई जनालाई प्रहरीले तत्काल पक्राउ गर्न सफल भए पनि मियाँ फरार थिए ।

    उनीहरू तीनै जनालाई जिल्ला अदालतले ११ असार २०७५मा जनही ६ वर्ष कैद र ९९ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाका अनुसार मियाँले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र समेत बनाएका कारण पक्राउ गर्न ढिलाइ भएको जानकारी दिए ।

    उनले २७ पुस २०७४ मा आफ्नो मृत्यु भएको भनी स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट मृत्यु दर्ता प्रमाणपत्र बनाएका थिए । प्रहरीले उनलाई पटक पटक पक्राउ गर्न प्रयास गर्दा उनले अजितको मृत्यु भइसकेको भन्दै आफूलाई अजितको भाइ अजिजको रूपमा चिनाउँदै आएका थिए ।

    घटनाका पीडित र अर्का अभियुक्त लुचाई शर्मा खत्वेले उनी नै अजित भएको सनाखत गरेपछि मात्र पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।

    सुनसरी प्रहरीले अजितसँगै एकै दिन ४२ जना फरार आरोपीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका ४२ जनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेस गरिएको छ । अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला भए पनि आरोपीहरू फरार रहँदै आएका थिए ।

    लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्न प्रहरीले अभियान नै सञ्चालन गरेको थियो । चार महिनाको अवधिमा सुनसरीबाट ५६५ जना फरार प्रतिवादीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

    उनीहरूबाट ११९ वर्ष आठ महिना आठ दिन कैद भुक्तान र २६ लाख ७२ हजार ९०६ रुपैया जरिवाना असुल भएको पनि प्रहरीले जनाएको छ ।

  • चितुवाको छालासहित चारजना पक्राउ

    चितुवाको छालासहित चारजना पक्राउ

    सुर्खेत। बराहताल गाउँपालिका-५ बड्डीचौरबाट चितुवाको छालासहित चारजना पक्राउ परेका छन् ।

    तीन थान चितुवाको छालासहित जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा अछामको पञ्चदेवल नगरपालिका-८ का कमल शाही, चक्रबहादुर शाही, रामारोशन गाउँपालिका-४ का ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-२ का विमल शाही रहेका छन्।

    बड्डीचौर बजारमा रहेको प्रेम होटलको कोठा नम्बर ३ बाट उनीहरुलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

  • जुवाखालबाट ६ लाख रुपैयाँसहित कांग्रेस जिल्ला सभापति पक्राउ

    जुवाखालबाट ६ लाख रुपैयाँसहित कांग्रेस जिल्ला सभापति पक्राउ

    काठमाडौं । बौद्धस्थित एक जुवाखालबाट दोलखाका कांग्रेस जिल्ला सभापति वर्मा लामासहितका जुवाडे पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा बिहीबार राति जुवाघरमा छापा मार्दा कांग्रेस नेता समातिएका हुन्। जुवाखालबाट ६ लाख रुपैयाँ पनि बरामद भएको छ ।

    दशैंअघिमात्र जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित लामा २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा पराजित भएका थिए भने त्यसअघि मेलुङ गाउँपालिका अध्यक्ष उठेर एमालेका नरबहादुर श्रेष्ठसँग पराजित भएका थिए ।

    लामासहित कांग्रेसका रामेछाप जिल्लाका केही नेता पनि रहेको तर उनीहरु भने भाग्न सफल भएको बताइएको छ । गत वर्ष पनि तिहारको दिन जुवा अखडामा छापा हान्दा कांग्रेस नेता तथा पूर्व गृहराज्यमन्त्री इन्द्र बानिया, तत्कालीन पर्यटन राज्यमन्त्री तथा हाल नेकपा एसका नेता धनवहादुर बुढा भाग्न सफल भएका थिए भने अन्य प्रतिष्ठित व्यवसायीहरु पक्राउ परेका थिए ।

     

  • आठ लाख रुपैयाँ अवैध रकमसहित भारतबाट आएका तीन नेपाली पक्राउ

    आठ लाख रुपैयाँ अवैध रकमसहित भारतबाट आएका तीन नेपाली पक्राउ

    कैलाली । अवैध रकमसहित भारतबाट आएका तीनजनालाई पक्राउ परेका छन् । बझाङ मस्टा १ कोटदेवलका मुकेश खडका, किरण खड्का र नारायण खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट ८ लाख ६९ हजार नेपाली रुपैयाँ, ३२ सय भारती रुपैयाँ, सुनको जस्तो देखिने ३४.३६० मिलिग्राम गहना , चाँदी जस्तो देखिने ७३७.८७ ग्राम गहना बरामद् गरेको जिल्ला प्रहरी कार्यालय कैलाली जानकारी दिएको छ ।

    धनगढीस्थित होटक अमन प्लाजाबाट १२ गते उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय कैलालीकाको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

  • वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन गर्ने पक्राउ

    वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन गर्ने पक्राउ

    काठमाडौं । एक महिलालाई बेल्जियममा काम लगाइदिन्छु भन्दै बैंकक पुर्‍याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँको सिनामङ्गलबाट एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा बागलुङ गल्कोट नगरपालिका–४ का ४४ वर्षीय राजेन्द्र खड्का रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । खड्काले पीडित महिलालाई बेल्जियमको होटेलमा काममा लगाइदिने, मासिक एक लाखदेखि डेढ लाख तलब हुन्छ भनी प्रलोभनमा पारी विभिन्न मितिमा आठ लाख ५४ हजार रुपैयाँ लिई दुई वर्षअघि यसरी बेचबिखन गरेको ब्यूरोले जनाएको छ ।

    गिरोहले भैरहवाबाट भारतको गोरखपुर, कोलकाता हुँदै थाइल्याण्डमा खड्काको कोठामा अर्का भारतीय अभियुक्त परविन्दर सिंहसमेतले यौनशोषण गरी धम्की दिई मलेशिया लगी अलपत्र पारेकामा आफन्तको सहयोगमा एक वर्षअघि महिला नेपाल आउन सफल भएकी प्रहरीले जनाएको छ । उनीहरुले महिलालाई कम्बोडियासमेत पुर्‍याएको फेला परेको छ ।

    त्यसपछि उनको जाहेरीका आधारमा ब्यूरोबाट खटिएको प्रहरीले फरार रहेका खड्कालाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाइएको छ । उनलाई जिल्ला अदालत काठमाडौँबाट चार दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसापसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी उपरीक्षक अनुराग द्विवेदीले जानकारी दिए ।

  • ठगी गरेको आरोपमा दलित जनजाती उथान केन्द्र बाराका प्रोग्राम कोडिनेटर पक्राउ

    ठगी गरेको आरोपमा दलित जनजाती उथान केन्द्र बाराका प्रोग्राम कोडिनेटर पक्राउ

    रौतहट । अबैध रुपमा रकम उठाएर ठगी गरेको अभियोगमा प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बौधीमाई नगरपालिका- १ बस्ने दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर २४ वर्षीय बिकेश जयसवाल रहेका छन् ।

    उनलाई ठगी गरेको नगद ६० हजार ७ सय रुपैयाँ सहित सोमबार प्रहरीले पक्राउ गरेको हो । कोभिड-१९ ले अफ्ठ्यारोमा परेका विभिन्न महिलाहरुको लागि मानविय सहायता स्वरुप यूएनडिपीले प्रभु बैंक शाखा कार्यालय गौर रौतहटमार्फत पठाएको रकम निकाल्न आएका महिलाहरुसँग बिकेशले  ३ हजार ३ सयका दरले अबैध रुपमा पैसा उठाएर ठगी गर्ने गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले सोही बैंकको गेट अगाडिबाट उनलाई पक्राउ गरी जाँच गर्ने क्रममा झोलाभित्रबाट आपराधिक लाभ (एक्सटर्सन) लिने मनसायले ठगी गरेको उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो।

    जयसवाललाई जिल्ला अदालत रौतहटबाट म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

  • आफ्नै श्रीमतीलाई वेचेर भारतको बेश्यालयमा पुर्याउने तामाङसहित २ जना पक्राउ

    आफ्नै श्रीमतीलाई वेचेर भारतको बेश्यालयमा पुर्याउने तामाङसहित २ जना पक्राउ

    काठमाडौं । आफ्नै श्रीमतीलाई वेखविखन गरेर भारतको बेश्यालयमा पुर्याउने गर्ने श्रीमानसहित २ जना पक्राउ परेका छन् । मानव बेचविखन अनुसन्धान ब्यूरोले काठमाडौं महानगरपालिका वडा नम्बर २६ का पीडितका श्रीमान चन्द्रबहादुर तामाङ र बेचविखनमा संलग्न नुवाकोट दुप्चेश्चर गाउँपालिका १ का पासाङ तामाङलाई पक्राउ गरेको हो ।

    उनिहरुलाई काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको तथा अन्य फरार प्रतिवादीको खोजी कार्य जारी रहेको व्यूरोका प्रवक्ता एवम सूचना अधिकारीसमेत रहेका प्रहरी उपरीक्षक (एसपी) अनुराजकुमार द्धिवेदीले नेपाल प्रेसलाई जानकारी दिए । पक्राउ परेका दुइजनामाथी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार कारवाही हुनेछ ।

    यसरी बेचिएकी थिइन पीडित महिला
    काठमाडौंको बबरमहलका २६ वर्षका नाम परिवर्तित उशा र ३४ बर्षका बबरमहलका चन्द्रबहादुर तामाङविच प्रेम सम्बन्धबाट बिवाह भएको हो । उनीहरुबाट ५ जना छोरा छोरीको जन्म भइसकेको थियो । उनै श्रीमान तामाङले श्रीमती उशालाई २०७१ सालमा एक लाख ६० हजार रुपैयाँ लिएर पासाङ तामाङलाई जिम्मा लगाए । पासाङ तामाङ्गले काम लगाई दिन्छु भनेर बालाजुको होटलमा लगेर एक महिलाको जिम्मा लगाए । उक्त महिलाले घरयासी काममा लगाई मासिक १० हजार दिने बहानामा आफ्नो कोठामा लिएर ३ दिनसम्म राखेर आफ्नै भिनाजु भनिएका व्यक्तिलाई बोलाएर जिम्मा लगाइन ।

    भिनाजु भनिने व्यक्तिले सुनौली नाका हुँदै रेलमा राखेर भारतको नयाँदिल्लीस्थित म्हेण्डो तामाङको घरमा पुर्याए । म्हेण्डो तामाङले ३ दिनसम्म आफ्नो घरमा राखि एक जना मान्छेको जिम्मा लगाएर भारतको आग्रामा रहेको बेश्यालयमा पुर्याएर ८ महिनासम्म जबरजस्ती बेश्याबृत्तिमा लगाए । फेरी दाई लिन आएको भन्दै झुक्याएर म्हेण्डो तामाङको घरमा लिएर ६४ नम्बर गल्लीमा रहेको कोठीमा राखेर बेश्याबृत्तिमा लगाए ।

    पीडित महिला नेपाली राजदुतावास र शक्ती समुहको सहयोगमा गत जेठ ३१ गते नेपाल फर्किन सफल भएकी हुन् । नेपाल फर्किएपछि गत भदौ १ गते पीडित महिलाले मानव वेचबिखन अनुसन्धान व्यूरोमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुर मुद्दामा जाहेरी दरखास्त दिएकी थिईन । उक्त मुद्दा दर्ता भएपछि असोज १३ गतेका दिन फरार रहेका चन्द्रबहादुर तामाङ र असोज १४ गते पासाङ तामाङला व्युरोको टोलीले पक्राउ गरेको हो ।

  • चक्कु प्रहार गरी हत्या गरेको आरोपमा बूढानीलकण्ठबाट एक युवक पक्राउ

    चक्कु प्रहार गरी हत्या गरेको आरोपमा बूढानीलकण्ठबाट एक युवक पक्राउ

    काठमाडौं । चक्कु प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा ताप्लेजुङका ३५ वर्षीय प्रदीप लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

    विराटनगर घर भइ बूढानीलकण्ठ नगरपालिका-८ भंगाल बस्दै आएका ३० वर्षीय राज खड्कालाई चक्कु प्रहार गरी लिम्बुले गम्भीर घाइते बनाएको प्रहरीले बताएको छ ।

    गम्भीर घाइते खड्काको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

  • डीआईजीको नाम लिएर प्रहरी विद्यालयका शिक्षकसँग ६ लाख ‘डिल’ गर्ने महिला पक्राउ

    डीआईजीको नाम लिएर प्रहरी विद्यालयका शिक्षकसँग ६ लाख ‘डिल’ गर्ने महिला पक्राउ

    जनकपुरधाम । प्रदेश २ प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारको नाम लिएर रकम ‘डिल’ गर्ने एक महिला पक्राउ परेकी छन् । सर्लाही घर भएकी सुशिला दाहाललाई विहीबार रौतहट प्रहरीले पक्राउ गरेको हो ।

    रौतहट गरुडामा रहेको नेपाल प्रहरी विद्यालयका शिक्षक उदासकुमार पाण्डेलाई स्थायी गरिदिने आश्वासनमा उनले ६ लाखको डिल गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेले नेपाल प्रेसलाई बताए ।

    ती महिलाले प्रहरी विद्यालयका प्रिन्सिपल, डीआईजी र अर्का एक व्यक्ति मिलेर स्थायी गराइदिने त्यसका लागि ६ लाख लाग्ने भनेर फोनमा शिक्षक पाण्डसँग गरेको कुराकानीको अडियो रेकर्डसमेत छ । केही मिनेट कुरा गरिसकेपछि डीआइजी सा’पको कल आयो भन्दै उनले फोन काटेकी छिन् । फोनमा शिक्षक पाण्डेले दाहाललाई दिदी भनेर सम्बोधन गरेका छन् ।

    शिक्षक पाण्डे र पक्राउ परेकी दाहालबीचको कुराकानीले घटनामा डिआइजी रञ्जितकारलाई पनि शंकाको घेरामा तानेको भन्दै स्रोतले उनी डीआईजीकै सम्पर्कमा रहेकी र सोही कारण शिक्षक पाण्डे उनीसँग स्थायी गराउन वार्गेनिङका लागि तयार भएको बताएको छ ।

    प्रहरी विद्यालयमा ५ वर्षदेखि करारमा कार्यरत पाण्डेले गत चैत १६ मा शिक्षक पदपूर्तिको लिखित परीक्षामा नाम निकालेका थिए । त्यसपछि उनी अन्तर्वार्तामा सहभागी भए । प्रदेश २ प्रहरी कार्यालयका डीएसपी छेदिलाल कामती, इन्सपेक्टरद्वय सुरेश अधिकारी र राजन ढकालले अन्तर्वार्ता लिएका थिए ।

    टेलिफोन रेकर्ड पाण्डेले नै सार्वजनिक गरेको प्रहरी अधिकारीको अनुमान छ ।

  • करिब ४० लाख मूल्य बराबरको चाँदीसहित सोनार पक्राउ

    करिब ४० लाख मूल्य बराबरको चाँदीसहित सोनार पक्राउ

    जनकपुरधाम । रौतहट प्रहरीले ३९ लाखभन्दा बढी रुपैयाँको ४० किलोग्राम चाँदीसहित एक युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका २२ का ३५ वर्षीय विद्यानन्द साह सोनार रहेका छन् । गौर नगरपालिका– ४ स्थित बसपार्कबाट साहलाई चाँदीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    शंका लागेर चेकजाँच गर्दा सोनारले बोकेको २ झोलाबाट ४० किलोग्राम चाँदी बरामद भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले जानकारी दिए ।

    उनका अनुसार बरामद चाँदी ३९ लाख ४४ हजार मूल्य बराबरको रहेको छ । पक्राउ परेका सोनारलाई चाँदीसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।

  • कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नाइके पक्राउ

    कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारतीय नाइके पक्राउ

    कैलाली । कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेमध्येका एकजना भारतीयलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

    सोमबार राति नेपाल–भारत सीमास्थित दोधारा–चाँदनी नगरपालिका–८ को भारतीय तस्करले सशस्त्र प्रहरीमाथि कुटपिट गरेका थिए ।

    सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेमध्येका नाइके अर्जुन कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

    ‘भारतीय प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ’, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले भने ।

    तस्करी नियन्त्रण गर्ने क्रममा कुमारसहितका भारतीय तस्करले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परी ३ सशस्त्र प्रहरी घाइते भएका थिए ।

  • अदालतले सजाय तोकेका २ जना ५ वर्षपछि पक्राउ

    अदालतले सजाय तोकेका २ जना ५ वर्षपछि पक्राउ

    कैलाली । कैलालीमा ५ वर्षदेखि फरार दुई जना पक्राउ परेका छन् । कैलाली जोशीपुर गाउँपालिका –१ का ३० वर्षीय रवि कुमार चौधरी र कैलारी गाउँपालिका १ का ५२ वर्षीय राजकर्ण कठरियालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

    चौधरीलाई बहुविवाह मुद्दामा जिल्ला अदालतले १ वर्ष कैद र २५ हजार जरिवाना तथा कठरियालाई वन मुद्दामा ५ महिना १० दिन कैद र २० हजार जरिवानाको सजाय सुनाइएको थियो।

    तर सजाय भुक्तान नगरी चौधरी २०७३ चैत्र २३ गतेदेखि र कठरिया ०७३ असोज १२ गतेदेखि फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    पक्राउ परेकाहरू मध्ये एकजनालाई सोमबार जिल्ला अदालत मर्मत कारागार चलाइन भइसकेको र थप एक जनालाई मंगलबार अदालत बुझाइने जिल्ला प्रहरी कार्यालय कैलालीक प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिस्टले जानकारी दिए ।

  • संखुवासभा हत्याकाण्ड : एकै परिवारका ६ जनाको हत्या आरोपमा थप ६ जना पक्राउ

    संखुवासभा हत्याकाण्ड : एकै परिवारका ६ जनाको हत्या आरोपमा थप ६ जना पक्राउ

    सङ्खुवासभा । गत भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले थप छ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्की र उनका बुबा, काका, काकी तथा दुई छोरामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ  । हत्या आरोपित लोकबहादुर र उनका भाइ नरेशबाहेक अन्य पाँच जनामाथि अनुसन्धान थालिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको भनाइ छ । अहिलेसम्म प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको आधिकारिक जानकारी कसैलाई दिएको छैन ।

    अनुसन्धानका क्रममा रहेकाले अहिले नै सबैको विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीको भनाइ छ । लोकबहादुरका भाइ नरेशका साथबाट मृतक रञ्जना कार्कीको मोबाइल फेला परेपछि प्रहरी अनुसन्धान लम्बिएको हो । लोकबहादुर र नरेशसँगको बयानका आधारमा प्रहरीले थप पाँच जनालाई अनुसन्धानको दायरामा ल्याएको बताइएको छ ।

    घटनाको सातौँ दिन लोकबहादुरलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । मृतक रञ्जनाको हराएको मोबाइल प्रहरीले फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थलमा केन्द्रित बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए । हत्या आरोपमा पक्राउ परेका लोकबहादुरको घरबाट गत बिहीबार मोबाइल भेटिएको थियो ।

    रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो । मोबाइल स्वीच अफ भएकाले प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको थियो । घटनाबारे थप प्रमाण फेला परेपछि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयबाट छ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान सुरु गरेका छन् ।

    घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशङ्का भएपछि फेरि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । थप अनुसन्धान र सुरक्षाका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको १० जनाको टोली घटनास्थलमै थियो । हत्या आरोपमा गत आइतबार प्रहरीले लोकबहादुरलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ । उनलाई भदौ २८ गते बिहान मादी-१ स्थित तेजबहादुर कार्कीसहित उनकी आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमा कार्कीको वीभत्स रूपमा सामूहिक हत्या गरेको आरोप छ । रासस

  • रेडपाण्डाको छाला र दुई लाख नगदसहित चारजना पक्राउ

    रेडपाण्डाको छाला र दुई लाख नगदसहित चारजना पक्राउ

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगर– ८ खजुरास्थित होटल मानसरोवरको कोठा नम्बर ११५ बाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

    प्रहरी निरीक्षक कनक शाहीका अनुसार पक्राउ पर्नेमा कालिकोटको रास्कोट नगरपालिका– ८ का मनबहादुर बुढा, ठाँटिकाँध गाउँपालिका– १ का विष्णु रावत, नारायण नगरपालिका– १० का नरेन्द्र थापा र पूर्णबहादुर बस्नेतलाई नियन्त्रणमा लिइएको हो ।

    सूचनाका आधारमा खानतलासी गर्दा खाटको सिरानीमुनि लुकाई छिपाई राखेको कालो रंगको हाते झोला भित्र रातो खैरो रंगको रेडपाण्डाको छाला एक थान, मोबाईल ५ थान फेला परेको हो । उनले भने, ‘प्रारम्भिक अनुसन्धानमा चारैजनाले वीरेन्द्रनगरकै एक स्थानबाट त्यहाँ ल्याएको र छालालाई होटलमा ल्याएबापत जनही ५० हजार रुपैयाँ लिइसकेको बताएका छन् ।’

  • फार्मेसी काउन्सिलको नक्कली प्रमाणपत्र बनाउने पक्राउ

    फार्मेसी काउन्सिलको नक्कली प्रमाणपत्र बनाउने पक्राउ

    काठमाडौं । नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई हालै पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

    उनले नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली लाइसेन्स, नक्कली कागजातलगायतका विभिन्न नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ ।

    केसीलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत पाटनबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस