Tag: नेकपा एमाले

  • एमालेको प्रदेश १ कमिटीले पायो पूर्णता, माओवादी छाडेकाहरू समेटिए (सूचीसहित)

    एमालेको प्रदेश १ कमिटीले पायो पूर्णता, माओवादी छाडेकाहरू समेटिए (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले प्रदेश नम्बर १ को संगठन कमिटीलाई पूर्णता दिएको छ । पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेकाहरूलाई हटाएर, माधव नेपाल छाडेर एमालेमै बसेकाहरूलाई समेटेर ५८४ सदस्यीय प्रदेश कमिटी गठन गरिएको छ ।

    प्रदेश कमिटीको अध्यक्षमा देवराज घिमिरे छन् भने सचिवमा विनोद ढकाल छन् । १० बुँदे सहमतिबमोजिम तलका कमिटीहरूलाई जेठ २ अघिकै अवस्थामा फर्काएर प्रदेश कमिटीलाई पूर्णता दिइएको सचिव ढकालले बताए ।

    माओवादीबाट एकता प्रक्रियामा एमालेमा रहेका विभिन्न जिल्लाका नेताहरूलाई प्रदेश कमिटीमा समेटिएको छ । ओखलढुंगाका बालकृष्ण ढुंगेल, सुरेश थापा, केशव ढुंगेललगायत पूर्वमाओवादी नेताहरू एमालेको प्रदेश कमिटीमा समेटिएका छन् । नेकपा एकता बदर भएपछि माओवादीबाट एमालेमै बसेका ताप्लेजुङका पूर्व सभासद सञ्चपाल मादेन,पाँचथरका पूर्व सांसद श्रीप्रसाद जगेबुसहितका नेता पनि प्रदेश कमिटीमा समेटिएका छन् ।

    विधान महाधिवेशशनमा प्रदेश कमिटीका सबै सदस्यहरू सहभागी हुने भएकाले पूर्णता दिइएको हो ।

    एमालेको प्रदेश १ कमिटीको सूची यसप्रकार छ:-

  • एमसीसीबारे ओलीको टिप्पणी – नाइके नै मौन छन, हामी उफ्रेर के हुन्छ ?

    एमसीसीबारे ओलीको टिप्पणी – नाइके नै मौन छन, हामी उफ्रेर के हुन्छ ?

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी साहायता परियोजना एमसिसी सम्झौता गर्नेहरू सरकारमै रहेको भन्दै यसबारे नबोलेकोमा आफूले प्रश्न उठाएको बताएका छन् ।

    ‘गठबन्धनका नाइके सरकारमा छन्,’ मंगलबार सम्पादकहरूसँगको छलफलमा ओलीले भने, ‘ एउटा प्रधानमन्त्री छन्, अर्को ‘किङमेकर’(प्रचण्ड) छन् । यस्तो व्यक्ति भएको सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसी उल्लेख भएन । नआएपछि त्यो कुरा सम्झाएको हुँ ।’

    ओलीले सरकारले यसमा दृष्टिकोण अघि नसारेकाले आफूहरू मात्रै बोल्नुको औचित्य नहुने बताए । ‘जब सरकारले नै यसमा रुची राखेको छैन भने यस सम्बन्धमा मैले के भनिराख्नुपर्‍यो र ,’ उनले भने, ‘सरकारको दृष्टिकोण नै थाहा नपाइकन ताप्केभन्दा बिँड ताप्ने भन्छन् नि, हामी उफ्रेर के हुन्छ ?’

  • सम्पादकलाई ओलीको प्रश्न- आफ्ना बाआमालाई पनि तिमी भन्नुहुन्छ ?

    सम्पादकलाई ओलीको प्रश्न- आफ्ना बाआमालाई पनि तिमी भन्नुहुन्छ ?

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज आयोजना गरेको सम्पादकसँगको अन्तरक्रियामा फेरि एकपटक आदरार्थी शब्दबारे बहस भएको छ । एक सम्पादकले यो प्रसंग निकालेपछि ओलीले कडा जवाफ फर्काए ।

    ती सम्पादकले सञ्चारमाध्यमहरूले राष्ट्रपतिदेखि सर्वसाधारण सबैलाई एउटै भाषा प्रयोग गर्ने गरेको तर ओलीले बारम्बार गुनासो गरको भन्दै असन्तुष्टी जनाएका थिए । अबका १५ महिना यस्तो गुनासो सुन्नु नपर्ने भन्दै उनले सन्तोष व्यक्त गरेका थिए ।

    उनलाई बीचमा रोक्दै ओलीले प्रश्न गरे, ‘तपाईं आफ्नो बाआमालाई पनि तिमी भन्नुहुन्छ ?’

    सम्पादकले एउटा गीतको पंति भन्दै ‘तिमी’ भन्दा फरक नपर्ने बताए ।

    त्यसपछि ओलीले भने, ‘त्यो त गीतमा न हो । गीतमा त भगवानलाई पनि तँ भनिन्छ ।’

    उनले मुनामदनको ‘ईश्वर तैले रचेर फेरि..’ गीत सम्झाएका थिए । गीत र साहित्यमा तिमी, तँ जे भने पनि सञ्चारमाध्यमको भाषा आदरार्थी हुनुपर्ने उनको भनाइ छ ।

    यस विषयमा आफ्नो व्यक्तिगत गुनासो नभएको तर भाषिक समृद्धिको चिन्ता भएको उनले बताए ।

    ओलीले भने, ‘तपाईंहरूले भेदभावपूर्ण भाषा प्रयोग गर्नुभयो भनेको होइन । तिमी, तपाईं भन्ने, आदरभाव व्यक्त गर्ने, यो हाम्रो भाषिक समृद्धि हो । हाम्रो भाषा तिमी, तपाईं, हजुरमा व्यक्त हुन्छ । कसैले बोलाउँदा हामी ‘हजुर’भन्ने जवाफ दिन्छौं । हामी अरुको मात्रै सिको नगरौं ।’

    उनले थपे, ‘मलाई तिमी भनेको भनेर गुनासो गरेको होइन । मलाई त तिमी होइन तँ भने पनि हुन्छ ।’

  • सुदूरपश्चिम इन्चार्जबारे भीम रावलको कूटनीतिक जवाफ, भट्टको दावी- मै हुँ

    सुदूरपश्चिम इन्चार्जबारे भीम रावलको कूटनीतिक जवाफ, भट्टको दावी- मै हुँ

    काठमाडौं । एमालेभित्र १० बुँदे सहमति कार्यान्वयनमा सहजीकरण गर्न गठित कार्यदलको जिम्मेवारी भीम रावललाई दिएपछि मंगलबार पहिलो बैठक बस्यो ।

    १० बुँदे कार्यान्वयन समान रूपले नभइरहेको भनेर असन्तुष्ट रहेका रावललाई नै हिजो बसेको स्थायी कमिटी बैठकले संयोजकको जिम्मेवारी दिएपछि कार्यदल सक्रिय भएको छ ।

    पार्टी कार्यालयमा बसेको कार्यदलको पहिलो बैठकमा १० बुँदे कार्यान्वयन र विधान महाधिवेशनमा प्रतिनिधि चयन गर्नेबारे उब्जिएको विवाद समाधान गर्ने विषयमा छलफल भएको रावलले जानकारी दिए ।

    ‘कार्यदलको बैठकमा १० बुँदे सहमतिको कार्यान्वयन र विधान महाधिवशेनमा प्रतिनिधित्वको विषयमा जहाँ समस्या उत्पन्न भएका छन्, त्यसबारेमा हामीले छलफल गर्‍यौं,’ रावलले भने ‘त्यसका लागि उपयुक्त विधि र संरचनागत समाधानका विभिन्न उपायहरूका बारेमा छलफल गरेका छौं ।’

    १० बुँदे कार्यान्वयन र सुदूरपश्चिम इन्चार्जबारे भने रावलले कूटनीतिक जवाफ दिए । ‘१० बुँदेको कार्यान्वयन धेरै ठाउँमा भइसकेको छ,’ उनले भने, ‘जहाँ कार्यान्वयन हुन सकिरहेको छैन्, त्यसलाई पनि छिटो कार्यान्वयन गरेर जाने सहमति भएको छ।’

    आफैं १० बुँदे कार्यान्वयनको जिम्मेवारी पाएका रावलले सुदूरपश्चिम इन्चार्जबारे नरम हुँदै भने, ‘त्यो विषय १० बुँदे कार्यान्वयनको सन्दर्भमा आउँछ ।’

    कार्यदलमै रहेका र रावलसँग विवाद गरिरहेका लेखराज भट्टले तीन पक्षलाई ख्याल गरेर जानेबारे कुरा भइरहेको बताए । उनले भने, ‘तीनटा पक्षलाई ध्यानमा राखेर जेठ २, जेठ ३ र क्रियाशील साथीहरू जो पछिल्लो चरणमा काम गरिरहेका छन्, सबैलाई समेटेर लिने नै भन्ने भएको छ ।’

    सुदूपश्चिम इन्चार्ज को हो भन्ने पत्रकारहरुको प्रश्नमा हाँस्दै भट्टले जवाफ फर्काए- ‘सुदूरपश्चिमको इन्चार्ज त मै हुँ नि ।’

    कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे र भट्ट छन्।

     

  • सम्पादकहरूलाई ओलीले भने- सरकारलाई तपाईंहरूको खबरदारी पुगेन कि ? (भिडिओ)

    सम्पादकहरूलाई ओलीले भने- सरकारलाई तपाईंहरूको खबरदारी पुगेन कि ? (भिडिओ)

    काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमको खबरदारी नपुगेको टिप्पणी गरेका छन् । आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले संविधान मिचिँदा पनि सञ्चारमाध्यम मौन देखिएको गुनासो गरे ।

    ओलीले आफ्नो सरकारका पालामा सञ्चारमाध्यमबाट निकै खबरदारी भएको भन्दै धन्यवादसमेत दिएका थिए । सरकारले गल्ती नगरोस् भन्नका लागि खबरदारी आवश्यक रहेको उनको भनाइ थियो ।

    ओलीले भने, ‘एमाले आज सत्तापक्षबाट प्रतिपक्षमा गएको छ । सरकारमा छँदा हामीले सञ्चारमाध्यमबाट महत्वपूर्ण सहयोग पायौं । प्रधानमन्त्रीको हैसियतमा मैले पाएँ । त्यसका लागि धन्यवाद दिन चाहन्छु । सरकारले गल्ती नगरोस् भनेर अमूल्य सुझावहरू दिनुभयो । ती खबरदारीले हामीलाई गल्ती नगर्न प्रेरित गर्‍यो ।’

    त्यसपछि उनले थपे, ‘खबरदारी गरेन भने सरकार लापरवाह हुँदोरहेछ । जस्तो अहिलेको सरकारप्रति खबरदारी पुगेन कि जस्तो छ । संविधानको मतलब छैन । कानूनको मतलब छैन । सञ्चारमाध्यम उतै छन् । त्यसकारण सरकारले अनुकूलता ठानेको छ । जसले गर्दा सरकारले गल्ती गर्दैछ । संविधान मिचिँदा पनि सञ्चारमाध्यम चुपै लागेको जस्तो देखिएको छ ।’

  • एमालेको १० बुँदे कार्यान्वयन कार्यदलको बैठक, रिक्त केन्द्रीय सदस्यको मनोनयन सूची पनि बनाउने

    एमालेको १० बुँदे कार्यान्वयन कार्यदलको बैठक, रिक्त केन्द्रीय सदस्यको मनोनयन सूची पनि बनाउने

    काठमाडौं । नेकपा एमालेको आन्तरिक एकता कायम गर्न भएका १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलको बैठक केन्द्रीय कार्यालयमा सुरू भएको छ ।

    स्थायी कमिटीको सोमबारको बैठकले शंकर पोखरेललाई समेत कार्यदलमा थपेर भीम रावललाई संयोजकको जिम्मेवारी दिएको थियो । रावलको अध्यक्षतामा बसेको बैठकले १० बुँदे कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने बताइएको छ ।

    यही कार्यदलले केन्द्रीय कमिटीलगायतका निकायमा मनोनीत हुनेहरूको सूचीसमेत तयार पार्ने बताइएको छ । कार्यदलले १० बुँदेको रचनात्मक कार्यान्वयन गर्दै नेकपा एकता प्रक्रियाबाट एमालेमै रहेका पूर्वमाओवादी पक्षको समायोजनसमेत गर्नेछ ।

    माधव नेपालले नेकपा एमाले विभाजन गर्दा नेकपा एसमा लागेका केन्द्रीय सदस्य तथा त्यसअघि रिक्त रहेका समेत ठाउँमा नयाँ केन्द्रीय सदस्य मनोनयनका लागि सूची तय गर्न कार्यदलले म्याण्डेट पाएको छ ।

    विशेषगरी सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि भीम रावलले असन्तुष्टी जनाएका थिए । कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन् ।

  • भीम र लेखराजजीहरूको समझदारीमा सुदूरपश्चिम नेतृत्व मिल्छ : पृथ्वीसुब्बा गुरुङ (भिडिओ)

    भीम र लेखराजजीहरूको समझदारीमा सुदूरपश्चिम नेतृत्व मिल्छ : पृथ्वीसुब्बा गुरुङ (भिडिओ)

    काठमाडौं । नेकपा (एमाले) का नेता पृथ्वीसुब्बा गुरुङले १० बुँदे सहमति ९० प्रतिशत कार्यान्वयन भइसकेको बताएका छन् । उनले बाँकी विधान महाधिवेशनअघि नै टुंगिने दावी गरे ।

    ‘१० बुँदेको कुरा ९० प्रतिशत समाधान भइसक्यो,’ च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकारहरूसँग कुरा गर्दै गुरुङले भने, ‘जेठ २ मा फर्किनलाई एक/दुई जिल्लामात्रै बाँकी छ । त्यहाँ पनि हाम्रो कार्यदलले काम गरिरहेको छ । विधान महाधिवेशनअघि नै यो समाधान हुन्छ।’

    सुदूरपश्चिम प्रदेशमा पनि जिल्लाको कुरा टुंगिसकेको र इन्चार्जको कुरा कार्यदलको पहलमा पार्टी अध्यक्षले टुंग्याउने उनले बताए ।

    ‘सुदूरपश्चिममा पनि जिल्लाहरूमा सबैतिर समस्या समाधान भइसक्यो,’ गुरुङले भने,‘भीम रावल र लेखराज भट्टजीहरूबीच समझदारी कायम गरेर मिलाउने प्रयास भइरहेको छ । उच्चस्तीय कार्यदलको पहलमा अध्यक्षले टुंगाउनुहुन्छ ।’

  • अर्थमन्त्रीलाई एमाले सांसदको प्रश्न- कालो धनलाई सेतो बनाउँदा कुन श्रमजिवी जनताको हित हुन्छ ? (भिडिओ)

    अर्थमन्त्रीलाई एमाले सांसदको प्रश्न- कालो धनलाई सेतो बनाउँदा कुन श्रमजिवी जनताको हित हुन्छ ? (भिडिओ)

    काठमाडौं । जलविद्युतलगायत विभिन्न परियोजनामा लगानी गर्नेको सम्पत्तिको स्रोत २०८२ सालसम्म नखोजिने भन्ने बजेट विधेयकमा पेस भएको प्रावधानप्रति प्रमुख विपक्षी नेकपा एमालेले संसदमा प्रश्न उठाएको छ ।

    राष्ट्रियसभाको सोमबारको बैठकको शुरूमै उठेर एमाले सांसद परशुराम मेघी गुरुङले सदनको कारवाही अघि नबढाउन अध्यक्षलाई आग्रह गर्दै एमालेको विरोधको अर्को कारण कालो धनलाई सेतो बनाउन मार्ग प्रशस्त गर्ने सरकारको प्रयासप्रति पनि रहेको बताए ।

    गुरुङले अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गर्दै भने- अर्थमन्त्रीजी बडो क्रानितकारी नेता हुनुहुन्छ । उहाँको क्रान्तिकारिता कालो धनलाई सेतो बनाउनलाई हो ? कुन श्रमजिवी जनतालाई सहुलियत दिन उहाँले यस्तो प्रवधान राख्नुभएको हो ? श्रोत नखुलेको सम्पत्ति लगानी गर्न दिने व्यवस्थातले कुन राष्ट्रिय पुँजिपतिलाई सहुलियत हुन्छ ?

    संविधानले पनि गैरकानूनी आर्जनलाई सम्पत्तिको रूपमा नचिन्ने भन्दै एमाले सांसद गुरुङले केही व्यक्तिको गैरकानूनी आर्जनलाई वैधानिकता दिन यस्तो प्रावधान राखिएको आरोप लगाए ।

  • एमालेमा सात उपाध्यक्ष राख्ने सुझाव, स्थायी कमिटीमा थप छलफल गरेर निर्णय हुने

    एमालेमा सात उपाध्यक्ष राख्ने सुझाव, स्थायी कमिटीमा थप छलफल गरेर निर्णय हुने

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा सातजना उपाध्यक्ष राख्नेबारे स्थायी कमिटीमा थप छलफल हुने भएको छ ।

    केन्द्रीय सदस्यहरूले दिएको सुझावबारे अध्यक्ष केपी शर्मा ओलीले सकारात्मक सुझावलाई ग्रहण गरिने जवाफ दिएका छन् ।
    बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले तीनको ठाउँमा सात उपाध्यक्ष राख्नेबारे आएका सुझावलाई आउने स्थायी कमिटी बैठकमा राखेर थप छलफल गरिने बताए ।

    एमालेको प्रस्तावित विधान मस्यौदामा ३ उपाध्यक्ष राखिएको छ । तर, बैठकमा नेताहरूको व्यवस्थापनलाई समेत ध्यान दिँदै ७ उपाध्यक्ष राख्न सुझाव आए पनि यसबारे निर्णय नभएको उनले जानकारी दिए ।

  • एमालेको विधान महाधिवेशनमा ५ हजार प्रतिनिधि, कहाँबाट कति ?(भिडिओ)

    एमालेको विधान महाधिवेशनमा ५ हजार प्रतिनिधि, कहाँबाट कति ?(भिडिओ)

    काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा ५ हजार प्रतिनिधिले भाग लिने भएका छन् । असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुने विधान महाधिवेशनका प्रतिनिधि केन्द्रीय कमिटीले टुंगो लगाएको हो ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रवासका समेत गरी ५ हजार प्रतिनिधिले भाग लिने जानकारी दिए । विधान महाधिवेशनमा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्यले भाग लिनेछन् ।

    केन्द्रीय निकायमा निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मन्च पर्छन् । त्यस्तै केन्द्रीय विभागबाट सचिवसहित ५ जना सदस्यले भाग लिने भट्टराईले बताए ।

    जिल्ला कमिटीका पदाधिकारीसहित निर्वाचन क्षेत्रबाट एक महिला र कम्तीमा एकजना दलितले जिल्लाबाट प्रतिनिधित्व गर्नेछन् । त्यस्तै घोषित जनसंगठनबाट पदाधिकारीसहित वरिष्ठतम १० जना सदस्यले सहभागी हुने भट्टराईले बताए ।

    यीबाहेक प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले भाग लिने भट्टराईले बताए ।

  • जबज र समाजवादमा जाने बाटोबारे एमाले बैठकमा अध्यक्ष ओलीलाई घनश्यामको प्रश्न-(भिडिओ)

    जबज र समाजवादमा जाने बाटोबारे एमाले बैठकमा अध्यक्ष ओलीलाई घनश्यामको प्रश्न-(भिडिओ)

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले समाजवादमा जाने आधार र जनताको बहुदलीय जनवादको आधिकारिक परिभाषा हुनुपर्ने बताएका छन् ।

    केन्द्रीय कमिटी बैठकमा आफूले राखेका फरक विचारबारे जानकारी दिँदै भुसालले समाजवादमा जाने आधार के हुन् भन्ने बारेमा अध्यक्ष केपी शर्मा ओलीको दस्तावेजमा प्रष्ट नआएकाले यसबारेमा आफूले ध्यानाकर्षण गराएको बताए ।

    पत्रकारसँग कुरा गर्दै भुसालले भने, ‘दस्तावेजमा धेरै राम्रा र आवश्यक कुराहरू आएका छन् तर केही आधारभूत कुराहरू नपुगेका छन् भन्ने मेरो भनाइ हो । कम्युनिष्ट आन्दोलनले ठूलो धक्का खाएको छ,यसमा हाम्रा के कति कमजोरी रहे त्यसबारेमा दुनियाका सामु नलुकाइ भन्नुपर्छ । त्यस्तै समाजवादको बाटो के हो भन्ने पनि प्रष्ट हुनुपर्छ ।’

    भुसालले एमालेले अवलम्बन गरिरहेको जनताको बहुदलीय जनवाद दृष्टिविहीनले हात्ती छामेजस्तो भएको भन्दै यसको ठोस र आधिकारिक परिभाषा पार्टीले गर्नुपर्ने आफ्नो धारणा रहेको बताए ।

  • एमाले बैठक : विधान महाधिवेशनका प्रतिनिधि घट्ने, प्रदेशलाई यथावत र विभागलाई ५ जना

    एमाले बैठक : विधान महाधिवेशनका प्रतिनिधि घट्ने, प्रदेशलाई यथावत र विभागलाई ५ जना

    काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनका लागि तोकिएका प्रतिनिधिको संख्या घटाइने भएको छ । यसअघि ३ हजार प्रतिनिधि रहने भनिएकामा अब त्यो संख्या घट्ने भएको हो ।

    केन्द्रीय कमिटीको जारी बैठकमा संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेलले व्यवस्थापन गर्न जटिल भएको भन्दै संख्या घटाउने प्रस्ताव राखेकामा त्यसमाथि छलफल भइरहेको छ ।

    एक केन्द्रीय सदस्यका अनुसार प्रदेशबाट प्रतिनिधि घटाउनेबारे छलफल भए पनि यथावत नै हुने भएको छ ।

    त्यस्तै जिल्ला कमिटीका पदाधिकारीसहित बढीमा ७ जना र केन्द्रीय विभागबाट यसअघि १० जना भनिएकोमा अब ५ जना सहभागी हुनेगरी प्रस्ताव अघि बढेको छ ।

    अन्य क्षेत्रबाट पनि प्रतिनिधित्व घटाइने भएको छ ।

  • माधव नेपाललाई ओलीको जवाफ- एमालेलाई टर्च बालेर खोज्ने कुरा मच्छरले हात्ती खाएजस्तै

    माधव नेपाललाई ओलीको जवाफ- एमालेलाई टर्च बालेर खोज्ने कुरा मच्छरले हात्ती खाएजस्तै

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सरकारबाट हट्दैमा आत्तिनुनपर्ने बताएका छन् । क्षणिकरुपमा धक्का खाएको भए पनि पार्टी सम्हालिएर अगाडि बढेको भन्दै उनले चुनावमा के भनेर भोट माग्ने भन्ने अवस्था नरहेको बताए ।

    पार्टी केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलको क्रममा आएको सुझावबारे जवाफ दिँदै ओलीले आफ्नो नेतृत्वको सरकारले जनता र देशको पक्षमा काम गरेको बताए । ‘हामीले देश र जनतापक्षमा धेरै असाधारण कामहरू गरेका छौं, चुनावमा कसरी भोट माग्ने होला भन्ने अवस्था छैन,’ ओलीले भने, ‘एउटा पनि काम नगरेकाहरू त चुनावमा जाने भन्दैछन्, हामी किन डराउने ?’ एमालेलाई सरकारबाट हटाइए पनि पार्टीलाई ठूलो नोक्सान नभएको उनले बताए ।

    ‘अहिले एकछिन कुनै कारणले धक्का खायौं, सेटब्याक भयो तर हामीलाई खासै नोक्सान भएन । सम्हालिएर अघि बढ्यौं । फेरि पनि सम्हालिएरै अघि बढ्नेछौं,’ ओलीले भने । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको अभिव्यक्तिलाई पनि ओलीले जवाफ दिए ।

    ‘मच्छरले निदाएको बेला सिंगै हात्ती खाएको सपना देख्नु र माधव नेपालले आगामी चुनावमा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु उस्तै हो,’ ओलीले भने ।

  • एमाले केन्द्रीय कमिटी बैठक : समूहगत छलफलको सुझावमाथि नेतृत्वले जवाफ दिँदै

    एमाले केन्द्रीय कमिटी बैठक : समूहगत छलफलको सुझावमाथि नेतृत्वले जवाफ दिँदै

    काठमाडौं । नेकपा एमालेको आजको तेस्रो दिनको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । केन्द्रीय कमिटीअघि स्थायी समिति बसेको थियो ।

    दुई दिनका लागि बोलाइएको केन्द्रीय समिति बैठक शनिबार नसकिएपछि एमालेले आज पनि निरन्तरता दिएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा नेतृत्वले समूहगत छलफलबाट आएको सुझावको जवाफ दिन थालेका छन् ।

    बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि उठेको सवालबारे उपमहासचिव विष्णु पौडेलले जवाफ दिइरहेका छन् ।

    एमालेले प्रस्तावमाथि गर्न १० समूह बनाएको थियो । पौडेलपछि राजनीतिक प्रतिवेदनमाथिको सवालबारे अध्यक्ष केपी शर्मा ओली र सांगठनिक प्रतिवेदनमाथिको सुझावबारे महासचिव ईश्वर पोखरेलले जवाफ दिने कार्यसूची छ ।

  • एमाले स्थायी समिति बैठक जारी, समूहगत सुझाव र १० बुँदेमा उठेका विषयमाथि छलफल

    एमाले स्थायी समिति बैठक जारी, समूहगत सुझाव र १० बुँदेमा उठेका विषयमाथि छलफल

    काठमाडौं । नेकपा एमालेको आजको तेस्रो दिनको केन्द्रीय समिति बैठकअघि स्थायी कमिटी बैठक बसिरहेको छ । स्थायी कमिटीमा समूहगत छलफलबाट आएको सुझावले प्रवेश पाएको छ ।

    त्यस्तै भीम रावललगायतका नेताले उठाएको १० बुँदे कार्यान्वयनलगायतका विषय पनि स्थायी कमिटीको एजेण्डा छ ।

    दुई दिनका लागि बोलाइएको केन्द्रीय समिति बैठक शनिबार नसकिएपछि एमालेले आज पनि निरन्तरता दिएको छ ।

    शुक्रबारदेखि जारी बैठकको ती प्रस्तावमा छलफल गर्न बनाएको १० समूहको सुझावबारे पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेललगायतले जवाफ दिने छन् ।

    शनिबार समूहगत सुझाव पेस गर्ने काममात्रै भएकाले अध्यक्ष केपी शर्मा ओलीलगायतले जवाफ दिने काम नसकिएकाले बैठक लम्बिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

    अध्यक्ष ओलीले राखेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले राखेको सांगठानिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संधोधन प्रस्तावमा छलफल चलेको थियो ।

  • एमालेका १० टोलीको सुझाव: कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने, ७ उपाध्यक्ष राख्नुपर्ने

    एमालेका १० टोलीको सुझाव: कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने, ७ उपाध्यक्ष राख्नुपर्ने

    काठमाडौं । नेकपा (एमाले)मा कार्यकारी पदमा दुई पटकभन्दा बढी रहन नपाइने र उपाध्यक्ष र सचिव ७-७ जना राख्नुपर्ने सुझाव प्राप्त भएको छ।

    दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनका लागि प्रस्तुत तीनवटा दस्तावेजमाथि समूहगत छलफल गर्दा नेताहरुले यस्तो सुझाव दिएका हुन् ।

    १० वटा समूह बनाएर तीन दस्तावेजमाथि छलफल भएको थियो। सबै समूहको निष्कर्ष नेताहरुको व्यवस्थापनका लागि ७ उपाध्यक्ष राखेर प्रदेश र्इन्चार्जको भूमिका दिनुपर्ने रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए।

    हाल प्रस्ताव गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष ३ जना मात्रै राख्ने उल्लेख गरिएको छ।

    अध्यक्ष ओली पुनः दोहोरिने भएकाले नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापाहरूको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न छ।

    हाइप्रोफाइल नेता भएकाले उनीहरु महासचिवभन्दा तल नबस्ने भएकाले ३ उपाध्यक्ष मात्रै राख्दा अप्ठ्यारो हुने केन्द्रीय सदस्यहरुको सुझाव छ।

    विधान संशोधन प्रस्तावमा पोलिट्यू्रो नराख्ने उल्लेख छ । तर, समूहगत छलफलमा पोलिटब्यूरो कायमै राख्नुपर्ने आवाज उठेको छ।

    त्यस्तै अध्यक्षको नेतृत्वमा रहने गरी प्रस्ताव गरिएको ७ सदस्य रहने केन्द्रीय सचिवालय पनि नराख्न केन्द्रीय सदस्यहरुले सुझाव दिएका छन्।

    विधान संशोधन मस्यौदामा पदाधिकारीमध्येबाट ७ जनाको केन्द्रीय सचिवालय बनाउने प्रस्ताव गरिएको थियो। यो बनाउँदा बनाउँदा अध्यक्षको तजबिज चल्ने र स्थायी कमिटी अर्थहीन हुने चिन्ता कतिपयको थियो।

    यसअघि नेकपामा पनि सचिवालयको अभ्यास गरिएको थियो।

  • एमाले छाड्ने प्रभु साहको संकेत, चाँडै क्रान्तिकारीहरूको ध्रुवीकरण हुने दावी

    एमाले छाड्ने प्रभु साहको संकेत, चाँडै क्रान्तिकारीहरूको ध्रुवीकरण हुने दावी

    गौर। पूर्वमन्त्री प्रभु साहले देशलाई अग्रगामी निकास दिन क्रान्तिकारी ध्रुवीकरण भइरहेको बताएका छन् ।

    रौतहटको ईशनाथ नगरपालिकाको औरैयामा स्थानीयसँग अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन साहले संवैधानिक संकटमार्फत देशमा अस्थिरता र अराजकता बढ्दै गएको जीकिर गरे ।

    ‘देशमा राजनीतिक संकट गहिरिँदै गएको र उपलब्धि गुम्ने खतरा बढ्दै गएकोले क्रान्तिकारीहरूको ध्रुवीकरण आजको आवश्यकता बनेको छ । देशलाई अग्रगमनको बाटोमा डोर्‍याउने उद्देश्य बोकेका क्रान्तिकारीहरूबीच चाँडै एकता भएर एउटा सशक्त शक्ति निर्माण गर्नुपर्छ’, साहले भने ।

    यथास्थितिमा बसेर देशलाई सही निकास दिन नसकिने भन्दै उनले नयाँ ध्रुवीकरणमा जोडिन क्रान्तिकारी शक्तिहरूलाई आह्वानसमेत गरे ।

    देशमा गम्भीर प्रकृतिको राजनीतिक संकट गहिरिँदै गइरहेको दावी गर्दै साहले लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको जिकिर गरे । एउटा मात्र जातिको वकालत गर्ने केही राजनीतिक दल तथा नेताहरू निहित स्वार्थमा तयार भएको वर्तमान संविधान र व्यवस्था नै यसको प्रमुख कारण भन्दै साहले कम्युनिष्टका नामधारी पार्टीहरु यथास्थितिमा विकल्प खोजिरहेको र यसको कुनै अर्थ नरहेको बताए ।

    ‘देशलाई अग्रगामी निकास दिनका लागि क्रान्तिकारीहरुको ध्रुवीकरण जरुरी छ । र छिटै क्रान्तिकारीहरुको एकीकृत शक्ति निर्माण हुँदैछ’, उनले भने ।

  • देशभर १० बुँदे कार्यान्वयन नभएकोबारे अध्यक्षसँग जवाफ मागेको हुँ : झपट रावल (भिडिओ)

    देशभर १० बुँदे कार्यान्वयन नभएकोबारे अध्यक्षसँग जवाफ मागेको हुँ : झपट रावल (भिडिओ)

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सुदूरपश्चिमका नेताहरूले १० बुँदे सहमति लागू नभएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

    शुक्रबार बैठक शुरू भएलगत्तै झपट रावलले सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन हुन नदिइएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

    उपाध्यक्ष भीम रावल र अर्का नेता भानुभक्त जोशीले पनि १० बुँदे सहमति कार्यन्वयनमा असमानता देखिएको भन्दै समान कार्यान्वयनको लागि अध्यक्ष केपी शर्मा ओलीको जवाफ मागेका थिए ।

    तीन नेताले १० बुँदेबारे प्रश्न राखेपछि अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकलगत्तै स्थायी कमिटी बसेर सुदूरपश्चिममा देखिएको समस्या समाधान गर्ने आश्वासन दिएको एक केन्द्रीय सदस्यले बताए ।

    आफूले बैठकमा राखेको भनाइबारे झपट रावलले बाहिर संवाददाताहरुलाई जानकारी गराए । ‘भदौ १० गते बसेको केन्द्रीय कमिटीको बैठक एकताको पहिलो बैठक हो,’ आफूले बैठकमा राखेका भनाइबारे उनले भने, ‘त्यो १० बुँदे सहमति कार्यान्वनयको बैठक पनि थियो । त्यसपछि १३ गते अन्तर पार्टी निर्देशन समेत जारी गरेको थियो ।’

    रावलले थपे, ‘यसलाई व्यवहार नउतारिएको हुनाले यसको बारेमा के हो ? नेतृत्व तहका बीचमा यसबारेमा एक रुपता नभएको हुनाले यसबारे प्रष्ट पारियोस्, त्यसपछि अन्य विषयमा छलफल गरौं भनेर मैले पार्टी अध्यक्षसँग माग गरेँ ।’

    अध्यक्षले दिएको जवाफबारे जानकारी गराउँदै उनले भने, ‘पार्टी अध्यक्षले यसलगत्तै स्थायी कमिटी बैठक बस्नेछौं र त्यहाँ छलफल गर्नेछौं भनेर भन्नु भएको छ।’

     

  • एमालेमा ३ उपाध्यक्ष: कसरी होला ६ जना हाइप्रोफाइल नेताको व्यवस्थापन ?

    एमालेमा ३ उपाध्यक्ष: कसरी होला ६ जना हाइप्रोफाइल नेताको व्यवस्थापन ?

    काठमाडौं । नेकपा (एमाले) को आसन्न विधान महाधिवेशनमा पेस हुन लागेको विधान संशोधन मस्यौदामा उल्लेखित केही प्रावधान नेताहरूका लागि सकस बन्ने देखिएको छ।

    विशेषगरी दुई विषयले नेतृत्वको आकांक्षी नेताहरूलाई अप्ठ्यारो पार्ने देखिएको छ । ७० वर्षीय उमेर हद र ३ जनामात्रै उपाध्यक्ष रहने व्यवस्थाले नेताहरूका लागि चुनौती बन्नेछ ।

    विधानको प्रस्तावित मस्यौदामा अध्यक्ष र वरिष्ठ नेतासहित तीन उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र सात सचिव रहनेगरी पदाधिकारी व्यवस्था गरिएको छ ।

    अध्यक्ष केपी शर्मा ओलीले आउँदो महाधिवेशनमा अध्यक्ष दोहोरिने औपचारिक घोषणा गरिसकेका छैनन् । तर, उनीनिकट नेताहरूले ओली दोहोरिने बताइरहेका छन् । नेपाल प्रेससँगको हालैको अन्तर्वार्तामा शंकर पोखरेलले आउने एउटा चुनाव र महाधिवेशन एमाले केपी ओलीकै नेतृत्वमा जाने बताएका थिए।

    र, ७० वर्षे उमेर हदले पनि उनलाई अझै एकपटक अध्यक्ष हुन रोक्दैन । किनकी उमेरको हिसाबले पनि उनी फागुन १० गतेमात्र ७० वर्षका हुन्छन् तर मंसिरमै महाधिवेशन हुँदा उनलाई उमेर हद पनि लाग्दैन ।

    विधानको ७० वर्षे प्रावधान र ओली दोहोरिने अवस्थामा त्यसको प्रत्यक्ष असर भने हालका एमालेका उपाध्यक्ष र महासचिवलाई पर्नेछ । एमालेमा हाल रहेका शीर्ष नेतामध्ये ओलीपछिका सबैभन्दा सिनियर ईश्वर पोखरेल हुन् ।

    अध्यक्षमा ओली दोहोरिँदा दोस्रो पुस्ता भनिएका तर उमेर र राजनीतिक योगदानका आधारमा पहिलो पुस्ताकै नेता रहेका ईश्वर पोखरेल, सुवास नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापाहरूलाई असर पर्ने छ ।

    उनीहरू अब एक कार्यकालमात्र कार्यकारी कमिटीमा रहन पाउँछन् । अध्यक्षबाहेक सबै पदको अनुभव लिइसकेका यिनीहरू सबैको अबको लक्ष्य नै पार्टी नेतृत्व अर्थात अध्यक्ष नै हो । तर, अप्ठ्यारो के छ भने केपी ओली अघि सरेको अवस्थामा उनीहरू अध्यक्ष हुने सम्भावना छैन ।

    यस्तोमा उनीहरूको व्यवस्थापन हुने भनेको उपाध्यक्षमै हो । अध्यक्ष बन्न नपाएकोमा सन्तुष्ट रहे पनि उनीहरूलाई सकसमा पार्ने अर्को विषय पनि छ । त्यो हो तीनजना मात्रै उपाध्यक्ष रहने व्यवस्था ।

    अधिकांश हाईप्रोफाइल नेता भएकाले उनीहरू महासचिवभन्दा तल बस्ने देखिन्न । महासचिवमा १ र उपाध्यक्षमा ३ जना गरी ४ जनाको व्यवस्थापन भए पनि ६ नेतामध्ये अरुको व्यवस्थापन कसरी हुन्छ भन्ने प्रश्न हो ।

    ३ उपाध्यक्षमात्रै रहने व्यवस्था विधान अधिवेशनले पनि अनुमोदन गरे माथि उल्लेखितमध्ये तीन नेता बाहिरिनुपर्ने छ । उनीहरू उपमहासचिव र सचिवमा बस्ने अवस्था पनि रहँदैन ।

    विधान संशोधन गरी नेकपा (एकीकृत समाजवादी) मा जस्तै धेरै उपाध्यक्ष राखेको खण्डमा भने नेता व्यवस्थापनको सकस हट्ने छ । अन्यथा उनीहरू पदाधिकारी नपाउँदा पनि चित्त बुझाएर पार्टीमै बस्नुपर्ने छ र ११ औं महाधिवेशनमा अध्यक्ष ओलीसँगै पार्टीबाट बाहिरिनुपर्ने छ ।

    एमाले केन्द्रीय कमिटी बैठकमा ७ उपाध्यक्ष राखेर प्रादेशिक इन्चार्जको जिम्मा दिँदा नेताहरूको व्यवस्थापन पनि हुने र सिनियर नेता कसैले बाहिरिन नपर्ने विषय पनि प्रवेश भएको छ ।

  • विधान महाधिवेशनमा पेस गर्ने प्रस्तावमाथि छलफल गर्न एमालेले बनायो १० समूह

    विधान महाधिवेशनमा पेस गर्ने प्रस्तावमाथि छलफल गर्न एमालेले बनायो १० समूह

    काठमाडौं । नेकपा (एमाले) ले आसन्न विधान महाधिवेशनमा पेस गर्ने विभिन्न प्रतिवेदनमाथि छलफल समूह बनाएको छ । शुक्रबार शुरू भएको केन्द्रीय कमिटी बैठकमा ती प्रस्ताव छलफल गर्न समिति बनाइएको हो ।

    सात प्रदेशसहित उपत्यका विशेष कमिटी, प्रवास र जनसंगठन तथा विभागहरू रहनेगरी १० वटा टोली बनाइएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।

    ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

    त्यस्तै महासचिव ईश्वर पोखरेलले सांगठानिक र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गरेका थिए। भोलि बिहान ११ बजे पुनः बैठक बसेर समूहगत छलफलको निष्कर्ष समेटेर तीनवटै प्रस्ताव पारित गरिनेछ।

    दशवटै समूहले आ आफ्ना टोली नेता छानेर छलफल गर्ने र शनिवारको बैठकमा सुझाव पेश गरिने अर्का केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले जानकारी दिए ।

    एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदैछ ।

  • बैठकमा देखिन छाडेका प्रभु साहले एमालेमा राखे ८ बुँदे माग (सूचीसहित)

    बैठकमा देखिन छाडेका प्रभु साहले एमालेमा राखे ८ बुँदे माग (सूचीसहित)

    काठमाडौं । प्रभु साहको पार्टीगत हैसियत अहिले के हो ? उनी आइटी आर्मीको ब्यानरमा आफूलाई पूर्वमन्त्रीका रूपमा विभिन्न कार्यक्रमहरूमा उपस्थित गराइरहेका छन् ।

    तत्कालीन नेकपाका केन्द्रीय सदस्य साह पुस ५ को नेकपा विभाजनपछि केही दिन प्रचण्ड-माधव समूहमा थिए । त्यसपछि केपी ओली पक्षमा लागेर शहरी विकास मन्त्रीसमेत भएका साह सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी ब्युँतिएपछि पनि एमालेकै नेताका हैसियतमा थिए ।

    उनले विभिन्न मञ्चबाट प्रचण्डको चर्को विरोध पनि गरिरहेका थिए । तर, पछिल्लो समय भने उनी न त एमालेका बैठकमा उपस्थित छन्, न एमालेका कार्यक्रममै देखिन्छन् ।

    त्यसो भए प्रभु साह अहिले कुन पार्टीका नेता हुन् ? साहले आफू नेकपाको निरन्तरता भएको पार्टी खोजेको भन्दै एमाले नेतृत्वसमक्ष आफ्ना ८ बुँदे माग राखेका छन् । ती माग सम्बोधन नभए एमालेमा बस्न नसक्ने उनले बताएका छन् ।

    साह पछिल्लो समय रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टहरुसहितको पूर्वमाओवादी समूहको बैठकमा थिए । पूर्वमाओवादी समूहको तर्फबाट विभिन्न कमिटी र जनवर्गीय संगठनमा समावेश गर्ने सदस्यहरूको नाम तय गर्ने बैठक थियो त्यो ।

    यसबीचमा साहका मागका सम्बन्धमा महासचिव ईश्वर पोखरेल रहेको कार्यदलले पनि काम गरिरहेको एमालेले जनाएको छ । साहको हैसियत अहिले एमालेको केन्द्रीय सदस्य छ ।

    तर, उनले एमालेका स्थायी कमिटी सदस्य माग गरेका छन् । उनको मुख्य अन्तरविरोध भने प्रदेश २ मै देखिएको छ । नेकपाकालमा प्रदेश २ को अध्यक्ष रहेका साहलाई एमाले भएपछि भने सो जिम्मेवारीबाट हटाएर माओवादीबाट प्रमु साहसँगै एमाले बनेकी ज्वालाकुमारी साहलाई अध्यक्ष बनाइएको छ । प्रभु र ज्वालाको अन्तरविरोधमा अध्यक्ष ओलीले ज्वालालाई साथ दिएकोमा उनको चित्त बुझेको छैन ।

    जिल्ला कमिटी अध्यक्षहरू चयन गर्दा पनि ज्वालाले एकलौटी गरेको भन्दै प्रभु साहले अश्वीकार गरेका थिए । रौतहटमा राम्रो प्रभाव रहेका साह माओवादीबाट एमाले बनेका प्रतिनिधिसभाका चार पूर्वसांसदमध्ये सबैभन्दा बलियो जनाधार भएका नेता हुन् ।

    प्रभु साह निकट स्रोतले भने ज्वाला साहसँगको अन्तरविरोध अ‍ोलीले नै सिर्जना गरेको भन्दै नेकपा एकता अदालतबाट बदर भएपछिको सहमति कार्यन्वयन नहुँदा एमालेमा बस्न समस्या रहेको दावी गरेको छ ।
    साह निकट एक नेताले भने–एमाले नाम राख्ने तर नेकपाकै विधान र विचारलाई निरन्तरता दिने कुरामा मिलेन । प्रदेश २ कै सन्दर्भमा १ महानगरसहित ३ जिल्ला इन्चार्ज र ४ जिल्ला अध्यक्ष पूर्व माओवादीले पाउने सहमति पनि लागु भएन । वैचारिक विमतिका कुराहरु छन्,पदको विवाद होइन ।
    ओलीले साहलाई स्थायी कमिटी सदस्य उतिबेलै प्रस्ताव गरेपनि समग्रमा पार्टी एकताको भावना अनुसार चल्नुपर्ने माग रहेको उनी निकटहरुले बताएका छन् । आइटी आर्मीकै सन्दर्भमा ओली नकारात्मक रहेको साहको आरोप छ ।

    उनी आजको अवस्थामा पनि चुनाव जित्ने हैसियत राख्छन् । अहिले उनले आइटी आर्मी नामको मोर्चाबाट जनपरिचालन र कार्यकर्ता परिचालनको काम गरिरहेका छन् । उनले एमालेसमक्ष आइटी आर्मीलाई जनवर्गीय संगठनको मान्यता दिन माग गरेका छन् ।

    माओवादीमा हुँदा उनको लिगेसी बाबुराम भट्टराई हुँदै टोपबहादुर रायमाझीसँग थियो । आइटी आर्मीको उद्घाटनमा रायमाझी प्रमुख अतिथि थिए । प्रभु साहले एमालेलाई जेठ २ अघिको होइन जेठ ३ पछिको अवस्थामा लैजानुपर्ने माग गरेका छन् ।

    उनको आठ बुँदे मागमा जनताको बहुदलीय जनवाद होइन नेकपाले अपनाएको जनताको जनवादलाई महाधिवेशनमा लैजानु पर्ने माग समेत राखेका छन् । त्यस्तै एमालेको जेठ २ अघिको वैधानिक कमिटी र पदाधिकारीलाई कायम गर्दा माओवादीको केन्द्रको वैधानिक कमिटी र पदीय हैसियतअनुसार मिलान गर्नुपर्ने माग राखेका छन् ।

    प्रभु साहले एमालेको विधान महाधिवेशन होइन एकताको पार्टी महाधिवेशन हुनुपर्ने माग समेत गरेका छन् । उनका कतिपय माग पूरा गर्न नसकिने भए पनि अरु विषय सम्बोधन हुने एमाले स्रोतले जनाएको छ ।

    तर, साह भने एमालेमा रहन नसकिने ठाउँमा पुगेको उनीनिकट नेताहरू बताउँछन् ।

    साहले राखेका माग यसप्रकार छन् :

     

     

  • तस्बिरमा हेर्नुस् विधान मस्यौदामा छलफल गर्न च्यासल पुगेका एमाले नेताहरू

    तस्बिरमा हेर्नुस् विधान मस्यौदामा छलफल गर्न च्यासल पुगेका एमाले नेताहरू

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिठी बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान भवन च्यासलमा हुने बैठक भोलिसम्म चल्नेछ ।

    बैठकमा सहभागी हुन नेताहरू बैठकस्थल पुगिसकेका छन् ।

    बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । सम्भवतः यही वैठकले यी सबै विषयहरू पारित गर्नेछ ।

    अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    नेकपा एमालेको विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।

    
    
     
     
    
  • केन्द्रीय सचिवालय र कार्यालयको नयाँ संरचना प्रस्ताव, पोलिटव्यूरो र वैकल्पिक सदस्य खारेज

    केन्द्रीय सचिवालय र कार्यालयको नयाँ संरचना प्रस्ताव, पोलिटव्यूरो र वैकल्पिक सदस्य खारेज

    काठमाडाैं । नेकपा एमालेको आसन्न विधान महाधिवेशनमा पेश हुन लागेको विधान संशोधन मस्यौदामा केन्द्रीय सचिवालयको व्यवस्था थपिएपछि खैलाबैला मच्चिएको छ ।

    यसअघि एमालेको विधानमा दैनिक कार्य सन्चालन लगायत पार्टीका देशभरका कार्यक्रमहरुको संयोजन तथा व्यवस्थापन गर्न महासचिवको संयोजकत्वमा केन्द्रीय सचिवालय रहने व्यवस्था थियो ।

    आजबाट शुरू केन्द्रीय कमिटी बैठकमा पेस भएको मस्यौदामा महासचिवको संयोजकत्वमा केन्द्रीय कार्यालय र अध्यक्षको नेतृत्वमा केन्द्रीय सचिवालयको प्रस्ताव गरिएको छ ।

    कतै नेकपाकालीन कार्यकारी निकायकै रूपमा केन्द्रीय सचिवालयलाई स्थापित गर्न खोजिएको हो कि भन्ने आशंका कतिपय केन्द्रीय सदस्यले गरेका छन् । प्रस्तावित विधान मस्यौदामा अध्यक्षको नेतृत्वमा पदाधिकारीमध्येबाट ७ सदस्यीय सचिवालय रहने भनिएको छ ।

    त्यस्तै महासचिवको नेतृत्वमा ५ सदस्यीय केन्द्रीय कार्यालय रहने भनिएको छ । केन्द्रीय कार्यालय भइसकेपछि सचिवालय किन चाहियो रु भन्ने प्रश्न कतिपयले उठाएका छन् ।

    स्थायी कमिटीले गरेका निर्णयहरू दैनिन्दिन कार्यान्वयन गर्नेगरी सचिवलाय प्रस्ताव गरिएको छ । यद्यपि एमालेका आधिकारिक कमिटीको संरचनामा भने सचिवालय राखिएको छैन ।

    एमालेका अध्यक्ष र वरिष्ठ नेतासहित तीन उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र सात सचिव रहनेगरी पदाधिकारी प्रस्ताव गरिएको छ । यीमध्येबाट ७ जनाको सचिवालय बनाउँदा अध्यक्षको तजबिज चल्ने भएकोले आशंकाको नजरले कतिपयले हेरेका छन् ।

    एमालेको प्रस्तावित विधानमा २२५ सदस्यीय केन्द्रीय कमिटी र ३५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरिएको छ । यसअघि एमालेमा रहेका पोलिटव्यूरो र वैकल्पिक केन्द्रीय सदस्यको संरचना खारेज गरिएको छ ।

    ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालको हद भने कायमै राखिएको छ ।

  • गठबन्धनलाई ओलीको सुझाव- एमालेसँग लड्ने भए ‘पञ्चेगुट’ एकताबद्ध भएर आऊ

    गठबन्धनलाई ओलीको सुझाव- एमालेसँग लड्ने भए ‘पञ्चेगुट’ एकताबद्ध भएर आऊ

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय सत्तारुढ गठबन्धनलाई ‘पञ्चेगुट’को संज्ञा दिएका छन् । एमालेसँग लड्ने भए एकताबद्ध भएर आउन उनले गठबन्धनलाई सुझाव दिए ।

    काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्द ओलीले भने, ‘यत्तिकै लिरिखिरी पाराले एमालेसँग लड्न सक्दैनौं । मन्त्रिमण्डल बनाउन नसक्नेले एमालेसँग लड्ने धाक लगाउने ?’

    अरु पार्टी सबै मिल्दा एमालेको कम्मर कम्मर आउने उनले बताए ।

    ‘एमालेविरुद्ध के-के न गरेउँ भन्छन् । एमालेलाई खुब नोक्सान पारेउँ भन्छन् । तर, सबै मिल्दा पनि कति छन् ? हाम्रो कम्मर-कम्मर आइपुग्छन् । त्यत्ति न हो ।’

    एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी पार्टी र अध्यक्ष माधव नेपाललाई उनले कटु व्यंग्य गरे ।

    ‘फुटेको एउटा टुक्रो एकीकृत पार्टी रे,’ ओलीले भने, ‘पदाधिकारी पनि भर्न मान्छे नभएर खाली छोडेका छन् । ’

    नेपाललाई लक्षित गर्दै उनले थपे, ‘यसो टिभीमा हेरेको अध्यक्ष माधव नेपालभन्दा (हाउभाउसहित) गमक्क परेर मुस्कुराउँदा रहेछन् ।’

  • ओलीको कटाक्ष – महासभामा हिँडेका परराष्ट्रमन्त्री प्लेनमा घुर्दै, सोच्दै ! (भिडिओ)

    ओलीको कटाक्ष – महासभामा हिँडेका परराष्ट्रमन्त्री प्लेनमा घुर्दै, सोच्दै ! (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारले हतारमा परराष्ट्रमन्त्री नियुक्त गरेर संयुक्त राष्ट्रसंघमा भाग लिन पठाएको विषयमा आलोचना गरेका छन् । बिनातयारी सुटकेसमा कपडा बोकेर हतारमा हिँडेका परराष्ट्रमन्त्रीले देशको सही प्रतिनिधित्व गर्न नसक्ने उनले बताए ।

    काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा बोल्दै ओलीले भने, ‘तराईतिर भन्छन् नि, चट् मंगनी पट सादी । एउटा मन्त्री फ्याट्ट तोकिए । नियुक्त गरिए । हतार-हतार सपथग्रहण भयो । सुटकेस लिएर एयरपोर्ट । के ताल हो ? के प्रतिनिधित्व गर्ने, के बोल्ने ? के भन्न जाने ? कपडाको ब्याग बोकेर प्रतिनिधित्व हुन्छ ? खोइ तयारी ?’

    उनले व्यंग्य कसे, ‘कपडा, टाइसुटले प्रतिनिधित्व हुन्छ ? प्लेनमा जाँदा सुतेर चिन्तन-मनन गर्ने हो ? विशिष्ट श्रेणीको सिटमा यसो ढल्केर, घुर्दै सोच्दै.. घुर्दै सोच्दै…। यो हालत छ देशको ।’

    राष्ट्रसंघको महासभा छ भनेर सरकारले हिजोमात्रै थाहा पाएको ओलीले बताए ।

    ‘७५ दिनसम्म महासभा छ भन्ने थाहा नपाउने सरकार । हिजो झल्यास्स सम्झेछ । अस्ति सुरु भइसक्यो सरकारले हिजो बिहानै थाहा पाएछ । एकजना भाग्यमानीलाई च्याप्प समातेर नियुक्ति दिइयो, अनि सपथग्रहण… ’

    एमालेसँग लड्नेहरूले एकताबद्ध भएर आउ पञ्चेगुट एकजुट भए आउ यत्तिकै लिरिखिरी पाराले । मन्त्रीमण्डल बनाउन नसक्ने एमालेसँग लड्ने धाक लाउने ?

  • ओलीले भने- सिस्नुजस्तो सरकार छ, जता छोयो त्यतै पोल्ने (भिडिओ)

    ओलीले भने- सिस्नुजस्तो सरकार छ, जता छोयो त्यतै पोल्ने (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई सिस्नुसँग तुलना गरेका छन् । सरकारलाई जता छोयो त्यतै पोल्ने उनको टिप्पणी छ ।

    काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘कस्तो सरकार आयो आयो । अचम्म लाग्छ । सिस्नुजस्तो । जता छोयो त्यतै पोल्छ । अर्को चुनावमा यसलाई तातोपानी लगाएर ठीक पार्नुपर्छ ।’

    आफ्नो नेतृत्वको सरकार थप दुई वर्ष टिकेको भए अन्य पार्टीहरुको ‘सटर बन्द हुने’ दावी उनले गरे ।

    ‘हाम्रो एमालेको सरकार दुई वर्ष टिकेको भए विचराहरूको राजनीतिको सटर बन्द हुन्थ्यो । घ्यार्र सटर तान्नुहुन्थ्यो । त्यसैकारण हटाउनुपरो,’ ओलीले भने । आफ्नो सरकारले विकासको लहर ल्याएको उनले बताए ।

    ‘हामीले राजमार्गै राजमार्ग बनायौं, धरहरा उठायौं, रानीपोखरी बनायौं । अब हामीले बनाइदिएको नयाँ घरमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सर्दैछन् । एकपटक ताली बजाउनुस् न । उहाँले रिवन काट्नु्हनेछ, बत्ती बाल्नुहुनेछ । हामीले तार जोडिदिएका छौं, उहाँले प्लग ठ्याक्क थिच्नुहुनेछ । मलाई खुसी लाग्छ ।’

  • राष्ट्रिय सभागृहमा एमालेको बृहत् भेला (तस्बिरहरू)

    राष्ट्रिय सभागृहमा एमालेको बृहत् भेला (तस्बिरहरू)

    काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको बृहत् भेला राष्ट्रिय सभागृह काठमाडौंमा जारी छ । भेलालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

    उपत्यका विशेष प्रदेश कमिटीले भेलाको आयोजना गरेको हो । भेलालाई महासचिव ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरूले सम्बोधन गरेका छन् ।

    पार्टी फुटाएर माधव नेपालले नेकपा एस दर्ता गरेपश्चात एमालेले केन्द्रदेखि तल्लो तहसम्म अझ सशक्त भएर एकढिक्काका साथ अघि बढ्ने र जनताको अभिमतद्वारा पुन: सत्तामा आउने उद्घोषसहित भेला, बैठकलाई तीव्र बनाएको छ ।

     
     
     
     
     
     
     
     
     
  • एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

    एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

    काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक भोलि बिहान ११ बजेदेखि तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुरू हुने छ।

    दुई दिनसम्म चल्ने बैठकको मुख्य एजेन्डा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र संशोधन प्रस्तावमाथि छलफल गरेर पारित गरिने रहेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    असोज ३ र ४ गते बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशनसम्बन्धी प्रस्तावहरूमाथि छलफल गरेर केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको थियो ।

  • भोजपुर एमालेमा १० बुँदे कार्यान्वयन, एकताको सन्देश दिँदै पदाधिकारी हेरफेर (सूचीसहित)

    भोजपुर एमालेमा १० बुँदे कार्यान्वयन, एकताको सन्देश दिँदै पदाधिकारी हेरफेर (सूचीसहित)

    भोजपुर । १० बुँदे सहमति कार्यान्वयन गर्दै जेठ २ मा फर्काइएको नेकपा एमाले भोजपुर कमिटीका पदाधिकारी हेरफेर गरिएको छ ।

    पार्टी विभाजनपछि पहिलोपटक हिजो एमाले जिल्ला कमिटीको बैठक तथा कार्यकर्ता भेला भएको थियो । पार्टीलाई तल्लो तहसम्म सशक्त उपस्थिति गराउने उद्घोषसहित जिल्ला नेतृत्वमा जुझारु टिम अघि बढाइएको हो । पदाधिकारी हेरफेरमा हिजो एमाले विभाजनको क्रममा समानान्तर कमिटीमा रहेकाहरूलाई पनि जिम्मेवारी दिइएको छ । भने केहीले त्याग गरेका छन् ।

    २०७५ जेठ २ को संरचनामा अध्यक्ष रहेका प्रेमकुमार राई अध्यक्ष नै छन् । उनी हतुवागढी गाउँपालिका प्रमुख पनि हुन् । उपाध्यक्ष देवीराम चौलागाईंको ठाउँमा शरणकुमार राईलाई जिम्मेवारी दिइएको छ । माधव पक्षको समानान्तर कमिटीका अध्यक्ष बनेका राईले पार्टी फुटप्रति असन्तुष्टी जनाउँदै एमालेमै रहने निर्णय गरेका थिए । साविक कमिटीमा सचिव रहेका राईको ठाउँमा मक्कर खड्कालाई ल्याइएको छ ।

    जिल्लामा समानान्तर कमिटी बनेपछि एमालेको संस्थापन पक्षले अखिलका नेता खड्कालाई उपाध्यक्ष र पौवादुङ्मा गाउँपालिका अध्यक्ष किरण राईलाई सचिव बनाइएको थियो । पदाधिकारी परिवर्तनसँगै किरणले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । सहसचिवमा धर्म किरातीलाई ल्याइएको छ । उनी माओवादीबाट एमाले प्रवेश गरेका हुन् । साविकमा सन्देश पौडेल सहसचिव थिए ।

    जिल्ला कमिटीमा समानान्तर कमिटीमा रहेका सदस्यहरूलाई समेत मर्ज गरिएको छ । अब एमाले भोजपुर एकताको सन्देश बोकेर ठोस रणनीतिका साथ जनस्तरसम्म अभियान लिएर जाने सचिव खड्काले नेपाल प्रेसलाई बताए ।

    कात्तिक ६ गते वडा र कात्तिक ९ गते सबै स्थानीय तहका कमिटीको अधिवेशन गर्ने निर्णय पनि भेलाले गरेको छ । हिजोको कार्यक्रममा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई, केन्द्रीय सदस्य हरिबहादुर राई, अध्यक्ष प्रेमकुमार राई, उपाध्यक्ष देवीराम चौलागाईं, सचिव शरणकुमार राई, पूर्वसांसद धनहर्क राईलगायतका नेता/कार्यकर्ता उपस्थित छन् ।

    नेकपा एसले भने केही दिनअघि वीरजंग राईको नेतृत्वमा १५५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिसकेको छ । वीरजंग साविक कमिटीमा सचिवालय सदस्य थिए ।

  • सरकारलाई ‘ग्रहण’ को संज्ञा दिँदै ओलीले भने- त्यतातिर नहेर्नू, अशुभ हुन्छ

    सरकारलाई ‘ग्रहण’ को संज्ञा दिँदै ओलीले भने- त्यतातिर नहेर्नू, अशुभ हुन्छ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीको मुख थुन्न सरकारले पदक बाँडेको टिप्पणी गरेका छन् ।

    मंगलवार मदन भण्डारीको जीवनीबारे लेखिएको पुस्तक ‘श्वेत शार्दुल’ सार्वजनिकीकरण कार्यक्रममा ओलीले न्यायाधिश, वकिल र पत्रकारलाई पदक वितरण गरेपछि सरकारको विरोधमा कसैले नबोल्ने पनि बताएका हुन् । आफ्नो सरकारको पालामा विरोध गर्ने बुद्धिजिवी र नागरिक समाजहरूले अहिले देउवा नेतृत्वको सरकारले रत्नपार्कमा बसेर वितरण गरेको जस्तो ह्वारह्वार पदक वितरण गर्दा पनि विरोध नगरेकोप्रति असन्तुष्टी व्यक्त गरे ।

    ओलीले भने, ‘अस्तिको दिन वितरण गरिएको जस्तो पदक हामीले वितरण गरिएको भए बाबा । अहिले त निर्णय खारेज गर्ने अदालतलाई पनि वितरण गरिदिएको छ, बहस गर्ने वकिललाई पनि वितरण गरिदिएको छ कसले बहस गर्ने ? विरोधमा बोल्ने टेलिभिजन, अखबार आदी इत्यादीलाई पनि वितरण गरिदिएको छ ति पनि चुपचाप कसले बोल्ने ? कस्तो सबैतिर ढ्याकढ्याक्ती ढोका थुन्ने । कतैबाट आवाज नआओस् । कतैबाट विरोधको स्वर नआओस् । कतैबाट उज्यालो नछिरोस् । सबैतिर अन्धकारमा चलाउने । विरोधी नै रहेनन् ।’

    ‘म प्रधानमन्त्री भएको बेला यसरी वितरण गरेको भए ओहो । के हुन्थ्यो ? बुद्धिजिवीहरूले के भन्थे ? नागरिक समाज के भन्थ्यो ? आज रमाइलो छ सबै चुपचाप छन् । सञ्चो छ । शान्त छ ।’

    अध्यक्ष ओलीले गठबन्धनले आकांक्षीलाई २५ जनाभित्र समेट्न नसकेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको टिप्पणीगरे । सरकारले युवापुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको ओलीको आरोप छ । उनले वर्तमान सरकारलाई ग्रहणको संज्ञा दिँदै त्यतातर्फ नहेर्न अनुरोध गरे ।

    सरकारतर्फ हेरे अशुभ हुने तर्क गर्दै ओलीले भने, ‘जनतामा राजनीतिप्रति निराशा, वैराग्य भाव, विरक्ति, वितृष्णा पैदा गर्ने कोसिस भएको छ । दिउँसै पनि ग्रहण लाग्यो भने ग्रहणतिर नहेर्नु भन्छन् । अहिले ग्रहण लागेको छ । यो ग्रहणतिर हेर्ने काम छैन । यो ग्रहण लागेको छ । अशुभ छ । २५ मा सहज हुन उहाँहरूलाई सहज भइराखेको छैन । देशको बहुमुल्य समय बर्बाद भो । चिन्ता हो । दुरुपयोग भो चिन्ता हो ।’

    उनले पदकका आँखा हुन्थे र आँशु हुन्थे भने सर्माएर बरबर रुन्थ्यो भनेर व्यंग्य गरे । ‘धरधर रुन्थ्यो पदक । बोल्न जान्दथ्यो भने त्यसले नारा लगाउथ्यो उफ्रिएर । जान्ने हो भने मान्छेले होइन पदकले पनि विद्रोह गर्थ्यो’, ओलीले भने ।

  • जेठ २ मा फर्कियो भोजपुर एमाले (तस्बिरहरू)

    जेठ २ मा फर्कियो भोजपुर एमाले (तस्बिरहरू)

    भोजपुर । नेकपा एमाले भोजपुर जिल्ला कमिटी जेठ २ मा फर्किएको छ । १० बुँदे सहमति कार्यान्वयनको क्रममा पार्टीलाई २०७५ जेठ २ को संरचनामा फर्काइएको हो ।

    पार्टी विभाजनपछि पहिलोपटक एमाले जिल्ला कमिटीको बैठक तथा कार्यकर्ता भेला आयोजना गरिएको छ । बैठकमा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई, केन्द्रीय सदस्य हरिबहादुर राई, अध्यक्ष प्रेमकुमार राई, उपाध्यक्ष देवीराम चौलागाईं, सचिव शरणकुमार राई, पूर्व सांसद धनहर्क राईलगायतका नेता तथा कार्यकर्ता उपस्थित छन् ।

    एमाले विवादमा समानान्तर कमिटीको अभ्यास गरेर पार्टी फुटलाई साथ नदिएका नेता/कार्यकर्ताहरू पनि बैठकमा सहभागी छन् । माधव नेपालको समानान्तर जिल्ला कमिटीमा अध्यक्ष बनेका शरणकुमार राई एमाले जिल्ला कमिटीको पुरानो संरचनाको सचिवकै हैसियतमा बैठकमा सहभागी छन् ।

    बीचमा एमाले भोजपुरले उपाध्यक्षमा मक्कर खड्का र सचिवमा किरण राईलाई जिम्मेवारी दिएको थियो । उपाध्यक्ष रहेका देवीरामलाई भने केन्द्रीय सदस्य मनोनीत गरिएको थियो ।

    यो बैठक तथा भेलाले पार्टीलाई तल्लो कमिटीसम्म पुरानै संरचनामा फर्काउने साथै नयाँ रणनीतिका साथ कार्ययोजना अघि सार्ने बताइएको छ ।

    नेकपा एसले भने केही दिनअघि वीरजंग राईको नेतृत्वमा १५५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिसकेको छ ।

  • गोकुल बास्कोटाको टिप्पणी- माधव नेपाल घाम झु्ल्केपछि सुकेर जाने शीतको थोपा

    गोकुल बास्कोटाको टिप्पणी- माधव नेपाल घाम झु्ल्केपछि सुकेर जाने शीतको थोपा

    पोखरा । पूर्वसञ्चारमन्त्री तथा नेकपा एमालेका नेता गोकुल बास्कोटाले माधव नेपाललाई घाम उदायपछि सुकेर जाने शीतको संज्ञा दिएका छन् ।

    पोखरामा पत्रकारहरूसँग कुरा गर्दै नेता बास्कोटाले भने, ‘माधव नेपालको पार्टीको अस्तित्व घाम नझुल्किदासम्मको शीत जस्तो हो, घाम झुल्किएपछि सकिन्छ ।’

    चुनाव भएपछि माधव नेपालको अस्तित्व सकिने उनको भनाइ थियो । भ्रममा परेर माधव नेपालको पछि लागेकाहरू एमालेमा फर्कने उनको दावी छ । माधव नेपाल पार्टीद्रोही भएको आरोप उनले लगाए ।

    पार्टी फुटेको नभइ काचुँली फेरेको भन्दै उनले भने, ‘नेकपाले काँचुली फेरेको छ, कोईली कराउँदै गर्दा पार्टीले नयाँ पालुवा फेर्छ ।’

    अध्यादेशले बनाएको पार्टी र परमादेशले बनाएको सरकारले काम गर्न नसक्ने बास्कोटाले बताए । एमसीसीमा आफूहरू सकारात्मक भए पनि देशको राष्ट्रियता खल्बलाउने खालको सहमति एमालेलाई मान्य नहुने उनको भनाइ छ ।

  • संविधानसभा सदस्य फुर्वासहित मकवानपुरका माओवादी जिल्ला नेता एमालेमा प्रवेश

    संविधानसभा सदस्य फुर्वासहित मकवानपुरका माओवादी जिल्ला नेता एमालेमा प्रवेश

    काठमाडौं । नेकपा माओवादी नेता तथा मकवानपुरबाट २०६४ सालको पहिलो संविधानसभामा निर्वाचित सभासद दिलबहादुर घिसिङ (फुर्वा) नेकपा एमालेमा प्रवेश गरेका छन् । फुर्वा पछिल्लो समय मोहन वैद्य नेतृत्वको माओवादीमा थिए ।

    घिसिङसँगै मकवानपुरकी माओवादी नेता वरिना बल तामाङ, राजेश गहतराजलगायतका नेता मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पार्टी प्रवेश गरेका हुन् ।वरिना माओवादी जनयुद्धमा लागेकी नेता हुन् । पछिल्लो सफल उद्यमीका रुपमा परिचित छिन् ।

    सो अवसरमा अध्यक्ष ओलीले नेकपाबाट प्रचण्ड माओवादीको एउटा हिस्सा लिएर अलग भए पनि अहिलेको एमाले नेकपाकै निरन्तरता रहेको भन्दै माओवादीमा रहेका कार्यकर्ता एमालेमै समाहित हुनुपर्ने बताए ।

    नवप्रवेशीलाई महासचिव ईश्वर पोखरेल, सांसद कृष्णप्रसाद दाहाल,मकवानपुरका एमाले नेताहरू हिदम लामा र महेश बर्तौलाले स्वागत गरेका थिए ।

  • ओलीको प्रतिवेदनमा घनश्यामको टिप्पणी- जबजलाई मार्गदर्शक सिद्धान्त भन्नु अतिशयोक्ति (दस्तावेजसहित)

    ओलीको प्रतिवेदनमा घनश्यामको टिप्पणी- जबजलाई मार्गदर्शक सिद्धान्त भन्नु अतिशयोक्ति (दस्तावेजसहित)

    काठमाडौं । नेकपा (एमाले) का नेता घनश्याम भुसालले पार्टी विभाजनलाई ‘वैरी हँसाउने घटना’को संज्ञा दिएका छन्। आइतबारदेखि जारी एमाले स्थायी कमिटी बैठकमा पेस भएका प्रतिवेदनमाथि टिप्पणी गर्दै भुसालले यस्तो धारणा राखेका हुन्।

    ‘पार्टी विभाजन अनपेक्षित, वैरी हँसाउने घटना थियो,’ भुसालले राखेको लिखित धारणामा भनिएको छ, ‘त्यसमा रहेका
    कमिकमजोरीबाट सिकेर, पार्टीका वैचारिक, सैद्धान्तिक तथा सांगठानिक प्रस्तावहरूमा समेत आधारित भएर भविष्यमा कम्युनिष्ट एकताको पहलकदमी हामी आफैंले लिनु पर्नेछ ।’

    बहुदलीय जनवादले मार्गदर्शक सिद्दान्तका रुपमा काम नगर्ने पनि भुसालको भनाइ छ । ‘जनताको बहुदलीय जनवादबारे हामीले क. मदन भण्डारीको देहान्तपछि छलफल गर्न छोडेका छौँ, ’ भनिएको छ, ‘उहाँले जनताको बहुदलीय जनवादलाई कार्यक्रमको रूपमा अगाडि सार्नुभएको थियो । छैठौँ महाधिवेशनमा त्यसलाई सिद्धान्त निर्माणको कुनै आधार नै नदिइकन सिद्धान्त भनियो ।’

    भण्डारीले कार्यक्रमका रूपमा थपेका सबै विशेषता अभ्यास गरिसकिएको भन्दै उनले यो मार्गदर्शक सिद्दान्त नबन्ने दावी गरेका छन् । ‘क. मदनले नयाँ जनवादी कार्यक्रममा १४ वटा विशेषता थपेको हुँदा त्यसलाई जनताको बहुदलीय जनवादी कार्यक्रम भन्नुपर्छ भन्नु भयो,’ भुसालको भनाइ छ, ‘ती १४ विशेषता हामीले अभ्यास नै गरिसकेका छौँ । यसर्थ अब पनि कार्यक्रमका रूपमा त्यसले हामीलाई मार्गदर्शन गर्छ भन्नु अतिशयोक्ति हुन्छ ।’

  • प्रचण्ड भन्छन्- घनश्याम, योगेश, गोकर्ण केपीलाई नेपालकै भ्रष्ट भन्थे, सबैले आत्मसमर्पण गरे

    प्रचण्ड भन्छन्- घनश्याम, योगेश, गोकर्ण केपीलाई नेपालकै भ्रष्ट भन्थे, सबैले आत्मसमर्पण गरे

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले विभाजनको विपक्षमा उभिएका १० नेताहरूले आत्मसर्मपण गरेको टिप्पणी गरेका छन् ।

    सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टजस्ता आफूलाई अलि वैचारिक दावी गर्ने नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपालकै भ्रष्ट नेता भन्ने गरेको बताए ।

    ‘जसले अलि वैचारिक भन्थे ती मान्छे सबैले आत्मसर्मपण गरे,’ उनले भने, ‘केपीको निरंशुकता पनि थाहा छ तिनीहरूलाई, नेपालको एउटा भ्रष्ट नेता हो । झेली नेता हो भन्ने पनि थाहा छ उहाँहरूलाई । मलाई त उहाँहरूले सिकाएको हो, यो यति भ्रष्ट, बेइमान, यति छली ।’

    प्रचण्डले थपे, ‘यति जाली मान्छे छ भनेर हामीलाई सिकाएको चाहिँ घनश्याम, योगेश, गोकर्ण लगायको १० जनाको टिम छ नि, उहाँहरूले हो हामीलाई सिकाएको छ । हामीलाई दरोसँग टेक्नुहोस्, हामी छौं साथमा भन्नेहरू पनि उहाँहरु नै हो । तर, लास्टमा त सबैले आत्मसमर्पण गर्नुभयो । अनौठो लागेको छ हामीलाई ।’

    झलनाथ खनाल, माधव नेपाल लगायतले नयाँ पार्टी गठन गरेकोलाई प्रचण्डले आफूहरूको मेहनतको फल लागेको रुपमा व्याख्या गरे । ‘पद प्रतिष्ठाका लागि विचार, सिद्धान्त पोलेर खान लाज नमान्नेहरुको जामात रहेछ त्यहाँ,’ उनले भने, ‘हामीले छन् त मान्छे त भन्ठान्यौं । धेरै मेहनत पनि गर्‍यौं । हुन त मेहनतको फल लागेको पनि छ । झलनाथ, माधवजस्ता पुरानो पिँढीका साथीहरू अगाडि बढ्न जमर्को पनि गरिराख्नु भएको छ । हामीले सहयोग गरेका छौं, त्यहाँ पनि ।’