Tag: नेकपा एमाले

  • ईश्वर पोखरेलको घोषणा- केपी ओलीलाई कमजोर पार्ने गरी कुनै पदमा दाबी गर्दिनँ

    ईश्वर पोखरेलको घोषणा- केपी ओलीलाई कमजोर पार्ने गरी कुनै पदमा दाबी गर्दिनँ

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमालेको आउँदो महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर पार्ने गरी कुनै गतिविधि नहुने प्रष्ट्याएका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले विधानले पनि नमिल्ने भन्दै आफू तेस्रोपटक महासचिवको उम्मेदवार नबन्ने बताए । अहिले केपी ओली एकातिर र ओलीविरोधी सबै अर्कोतिर भएर मुलुकको राजनीति दुई ध्रुवमा बाँडिएको भन्दै पोखरेलले ओलीलाई झन् बलियो पार्न पार्टीमा एकमतका साथ सबै अघि बढ्नुपर्नेमा जोड दिए ।

    वरिष्ठ उपाध्यक्ष वा अध्यक्षमध्ये के बन्नुहुन्छ त भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘गठबन्धन एकातिर छ, अध्यक्ष ओली एकातिर हुनुन्छ । यो बेला उहाँलाई सबैको साथ चाहिन्छ । ओली अध्यक्षमा उठ्दा म त्यसको दाबेदार हुन्न । हामी सहमतिमा नेतृत्व छान्छौं ‘, पोखरेलले भने ।

    एमाले हटाउने र अर्को प्रधानमन्त्री तोक्ने परमादेशको निर्णयले मन्त्रिपरिषद्‍मा अदालत भागबण्डामा बसेको विषयले एमालेविरुद्धका चलखेल पुष्टि हुँदै गएको पोखरेलको भनाइ थियो । ‘व्यक्तिलाई प्रधानमन्त्री बनाउने परमादेशदेखि अहिलेसम्मको घटनाक्रम हेर्दा एमालेविरुद्ध कसरी अदालत प्रयोग भएको खुल्दै गएको छ, यसको फैसला जनताले गर्छन्’, उनले भने ।

    महासचिव पोखरेलले यो गञ्जागोलभन्दा ताजा जनादेशमा जानुपर्ने एमालेको एकमात्र जोड रहेको बताए । कसैसँग गठबन्धन गरेर नभइ एमाले एक्लै लड्ने र जनादेशबाट पुन: आउने उनको दाबी छ ।

  • शंकर पोखरेलको टिप्पणी- अर्ली इलेक्सनको डरले प्रचण्ड-माधवको निद हराम भएको छ

    शंकर पोखरेलको टिप्पणी- अर्ली इलेक्सनको डरले प्रचण्ड-माधवको निद हराम भएको छ

    काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा अर्ली इलेक्सनमा जान्छन् भन्ने चिन्ताले प्रचण्ड-माधवको निद हराम भएको टिप्पणी गरेका छन् ।

    नेकपा एमाले पर्यटन इलाका कमिटीको पाँचौ अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले मुलुक चुनावकै बाटोमा जाने बताए । कांग्रेसको सहारा नपाए कतै चुनाव जित्न नसक्ने भएकाले प्रचण्ड-माधव सकेसम्म चुनाव टार्न लागिरहने बताए ।

    पोखरेलले भने, ‘प्रचण्ड र माधव नेपाललाई कतै शेरबहादुर देउवाले अर्ली इलेक्सन गर्ने पो हुन् कि भनेर निद हराम भएको छ । उनीहरु सकेसम्म चुनाव नहोस र गठबन्धन सरकार चलिरहोस् भन्ने चाहान्छन् तर एमाले चुनावको सामना गर्न तयार छ ।’

    नेता पोखरेलले माधव नेपाल एमालेबाट छुटिएर गएको भन्दा ठूलो शक्ति नेकपा एकतापछि एमालेमै रहेका माओवादीबाट आर्जन भएकाले एमालेलाई कुनै घाटा नहुने बताए ।

  • निजामती सेवा विधेयक फिर्ता गरेर सरकारले गल्ती गरेको एमालेको टिप्पणी (भिडिओ)

    निजामती सेवा विधेयक फिर्ता गरेर सरकारले गल्ती गरेको एमालेको टिप्पणी (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘निजामती सेवा विधेयक-२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ ।

    एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय समितिमा समेत छलफल गरेर आएको सो विधेयक संसदबाट फिर्ता गरेर सरकारले बेठीक र उल्टो काम गरेको बताए । शुक्रबार संसद बैठकबाट बाहिरिने क्रममा उनले विधेयकहरूलाई फिर्ता लैजाने र अध्यादेशमार्फत् विधेयक ल्याउने काम गरे आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी दिए ।

    नेम्वाङले भने, ‘निजामती विधेयक लामो समय समितिमा छलफल भयो । बल्लबल्ल तपाईं-हाम्रो दबाबले संसदमा प्रवेश गर्‍यो । संसदमा त्यतिन्जेल रह्यो । अहिले आएर त्यसलाई फिर्ता लैजाने गरेर सरकारले बेठीक गर्‍यो । संसदमा विधेयक नै नल्याउने, भएको विधेयकलाई फिर्ता लैजाने अनि के गर्ने ?’

    सरकारले अध्यादेशको बाटो रोजेर निजामती सेवा विधेयक फिर्ता लिनु उपयुक्त नभएको नेम्वाङको तर्क थियो ।

  • पार्टी विभाजनबारे विष्णु पौडेलको टिप्पणी- मयल पखालिएर एमाले स्वस्थ भयो

    पार्टी विभाजनबारे विष्णु पौडेलको टिप्पणी- मयल पखालिएर एमाले स्वस्थ भयो

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले माधव नेपाल समूहलाई पार्टीभित्रको मयलको संज्ञा दिएका छन् । विभाजनपछि मयल पखालिएर पार्टी झनै स्वस्थ, सुन्दर र मजबुत भएको उनले दावी गरे ।

    नेकपा एमाले पाल्पा-काठमाडौँ सम्पर्क मञ्चले दसैँ-तिहारको अवसर पारी विहीबार राजधानीमा आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीबाट बाहिरिने माधव नेपाल समूहको निर्णयले आफूहरुलाई घाटा नहुने बताए ।

    उनले भने, ‘आमजनताको चाहना पार्टी एकढिक्का होस् भन्ने नै थियो । तर, पार्टीभित्रैको एउटा समूह पार्टीलाई क्षतविच्छेद गराउन चाहन्थ्यो । त्यही समूह अहिले बाहिरिएको हो । यसले पार्टीलाई घाटा होइन झनै राम्रो र सुदृढ बनाएको छ ।’

    पौडेलले थपे, ‘पार्टीभित्रको जो फोहोर र मयल थियो, अहिले बाहिरिएको भनेको त्यही मयल हो । मयल हट्दा त्यो ठाउँ झनै सफा र स्वस्थ पो हुन्छ ।’

    नेता पौडेलले नेकपा एमाले अहिले पनि ठूलो पार्टी भएको र अब आउने निर्वाचनपछि झनै ठूलो हुने दावी गरे ।

    उनले भने, ‘विकास गर्ने र जनताको आशा भएको पार्टी नेकपा एमाले नै हो । जनताले त्यो बुझ्नु भएकै छ । आगामी निर्वाचनबाट हामी ठूलो जनादेशसहित सरकारमा आउँनेछौँ ।’

  • प्रभुलाई माओवादीमै फर्काउन प्रचण्ड सक्रिय, साहनिकट २५ जनाद्वारा एमालेको प्रदेश कमिटी अश्वीकार

    प्रभुलाई माओवादीमै फर्काउन प्रचण्ड सक्रिय, साहनिकट २५ जनाद्वारा एमालेको प्रदेश कमिटी अश्वीकार

    काठमाडौं । नेकपा एमालेमा असन्तुष्ट रहेका नेता प्रभु साहलाई नेकपा माओवादी केन्द्रमै फर्काउन प्रचण्ड सक्रिय भएका छन् । साहले एमालेमा ८ बुँदे फरक मत राख्दै पछिल्लो समय विधान महाधिवेशन समेत बहिष्कार गरेका छन् ।

    साह एमालेका बैठकहरूमा पनि सहभागी छैनन् । आइटी आर्मीको ब्यानरमा रौतहटमा विभिन्न कार्यक्रम र किसानका समस्या उजागर गरिरहेका प्रभु साहसँग एमाले नेताहरूले गरेको वार्ता असफल भएको छ ।

    साहले नेकपा एकताको निरन्तरता भनेरमात्र मात्र नपुग्ने भन्दै व्यवहारमा पनि सोही अनुसारको विचार र संगठन हुनुपर्ने माग एमालेमा राखेका छन् । उनले जबजको साटो जनताको जनवाद भन्नुपर्ने र तत्कालीन माओवादीका नेताहरूलाई सोही बमोजिमको पद दिनुपर्नेलगायका माग राखेका छन् ।

    प्रदेश २ मा प्रभाव रहेका साहले आफूनिकट २१ जना प्रदेश कमिटी सदस्यलाई सामूहिक राजीनामा गराइसकेका छन् । तर, ज्वालाकुमारी साह, रामचन्द्र मण्डललगायतका नेताहरू भने अब प्रभु साहसँग छैनन् । उनीहरू एमालेमै क्रियाशील छन् । ज्वाला साह विधान महाधिवेशनमा प्रदेश २ बाट टोली नेता थिइन् ।

    साहले अलग पार्टी खोल्ने कि माओवादीमा फर्किने भन्नेबारे निर्णय गरि नसकेको तर वार्तामा रहेको उनीनिकट स्रोतले जनाएको छ । माओवादी अध्यक्ष प्रचण्डले सोमबार आयोजित एक कार्यक्रममा केही ठूलै नेता पार्टीमा फर्किन लागेको भन्दै नाम नखुलाउने बताएका थिए ।

    प्रचण्डको संकेत प्रभु साहतर्फ रहेको बताइन्छ । प्रभु साह र गौरीशंकर चौधरीलाई फर्काउन सकिने रिपोर्टिङ भएपछि प्रचण्डले पनि छलफल चलाउन खोजेको निकट स्रोतले जनाएको छ ।

    एमालेको विधान महाधिवेशनमा ६ सय भन्दा बढी पूर्वमाओवादीहरू सहभागी हुँदा प्रभु साहको समूह भने सहभागी भएको थिएन ।

  • ओलीसँग खिच्न नपाएको पोज नेताहरूसँग, जसलाई धेरै प्रतिनिधिले घेरे (तस्बिरहरू)

    ओलीसँग खिच्न नपाएको पोज नेताहरूसँग, जसलाई धेरै प्रतिनिधिले घेरे (तस्बिरहरू)

    काठमाडौं । गोदावरीमा जम्मा भएका एमाले प्रतिनिधिमध्ये प्राय:को अध्यक्ष केपी शर्मा ओलीसँग तस्बिर खिचाउने चाहना थियो । एमालेको प्रथम विधान महाधिवेशनमा करिब ६ हजार प्रतिनिधि सहभागी थिए । ती सबैले ओलीसँग तस्बिर खिचाउन व्यवहारिक कारणले पनि सम्भव थिएन । त्यसमाथि स्वास्थ्यमा केही असहजका कारण ओलीले आराम गर्नुपरेपछि त्यो झनै सम्भव बनेन ।

     

    आफ्नो स्वास्थ्यका कारण महाधिवेशन उद्घाटनको पहिलो दिन केही समय र समापनको केही समयमात्रै ओली महाधिवेशन स्थलमा देखिएका थिए । भौतिकरूपमा ओलीसँग तस्बिर खिचाउन नपाएपछि धेरैले अधिवेशन परिसर स्थलमा राखिएको उनको ठूलो प्रतिमासँग तस्बिर खिचाएका थिए ।

    त्यतिले मात्रै रहन नपुग्नेहरूले भने अध्यक्षपछिका नेताहरुसँग तस्बिर खिचाएका थिए । तस्बिर खिच्नका लागि जताततै कार्यकर्ताहरुले नेता घेरेको देखिन्थ्यो । नेताहरुलाई पनि कार्यकर्तासँग तस्बिर खिचाउन भ्याइ, नभ्याइ थियो ।

    नेताहरू भीम रावल, लेखराज भट्ट, प्रदीप ज्ञवाली, योगेश भट्टराई,गोकुल बास्कोटा र महेश बस्नेतसँग धेरैले तस्बिर खिचाउने मोह देखाएको हेर्न पाइन्थ्यो । साथै अनेरास्ववियू अध्यक्ष बनेकी सुनिता बरालको पनि ‘क्रेज’ देखिन्थ्यो । धेरै प्रतिनिधिहरूले उनीसँग पनि तस्बिर खिचाइरहेको देख्न सकिन्थ्यो ।

    नेपाल प्रेसले कैद गरेका केही तस्बिरहरू :

  • ओलीले केही टारे, केही अघि सारे (गोदावरीका सवाल-जवाफसहित)

    ओलीले केही टारे, केही अघि सारे (गोदावरीका सवाल-जवाफसहित)

    काठमाडौं । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीमा तीन दिनसम्म चलेर आइतवार सकिएको छ। करिब ६ हजार प्रतिनिधि सहभागी महाधिवेशनमा १० समूह बनाएर प्रस्तुत तीन प्रस्तावमाथि छलफल समेत गरिएको थियो ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठानिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन केही हेरफेरसहित हलबाट अनुमोदन समेत भएको थियो ।

    समूहगत छलफलमा तीनवटै प्रस्तावमाथि सुझाव र प्रश्न उठेका थिए। सांगठानिक र विधान संशोधन सम्बन्धी प्रस्तावमाथिका सुझाव र प्रश्न हल भए भने राजनीतिक प्रतिवेदनमाथिका जिज्ञासा अध्यक्ष ओलीले मेटाउने कोसिस गरेका थिए।

    आफ्नो प्रतिवेदनमा उठेका प्रश्नहरुमध्ये ओलीेले केहीको जवाफ दिए भने केहीको त्यतिकै टारिदिए। विधान महाधिवेशनको अन्तिम दिन प्रतिधिहरुलाई आश्वस्त पार्न खोजेका ओलीेले सबै प्रश्न र सुझावको पनि जवाफ दिएनन् ।

    यहाँ केही प्रतितिधिहरुले सोधेका मुख्य प्रश्नमा ओलीले कुनको कसरी जवाफ दिए र कुन टारे भन्ने बुझाउन खोजिएको छ ।

    केही प्रतिनिधि: व्यक्तिलाई ‘ब्रान्डिङ’ गर्नुहुँदैन । पार्टीलाई स्थागत रुपमा विकास गर्नुपर्छ ।

    वैचारिक भनिएको महाधिवेशनमा ओलीको ठूला–ठूला पोष्टर र प्रतिमा देखिन्थे । स्वाथ्य खराबीका कारण महाधिवेशनमा ओली खासै देखिएनन् । र, उपस्थित सबैले ओलीसँग तस्बिर खिचाउन सम्भव पनि हुँदैन्थ्यो । त्यसैले धेरै प्रतिनिधिले ओलीको प्रतिमासँग फोटो खिचाएर रहर पुरा गरेका थिए। महाधिवेनस्थलमा वितरण गरिएको पानीको बोतलमा समेत ओलीको तस्बिर छापिएको थियो । यसैलाई इंगित गर्दै केही प्रतिनिधिले नेतृत्वलाई देवत्वकरण गर्नुहुँदैन भन्ने सुझाव राखेका थिए ।

    यसबारे जवाफ दिने क्रममा ओलीले देवत्वरकरण आफूले पनि स्वीकार नगर्ने तर नेतृत्वको वरिपरि गोलबन्द भने हुने भनाइ राखेका थिए । नेतृत्वलाई खुइल्याउन अनेक प्रयास भएको उनको भनाइ थियो।

    ओली: केहीले के खोजेका, के सोचेका छन् भने यहाँ बहुत झगडा भइदिए हुन्थ्यो। मारामार भइदिए हुन्थ्यो । नेता कोही स्थापित हुन नपाए हुन्थ्यो । सब खुइलिए हुन्थ्यो, सबैलाई खुइल्याउन पाए हुन्थ्यो । आफ्नै भित्र अनेकथरी लान्छाना लगाउन पाएदेखि त्यसैलाई समातेर भन्न पाइन्थ्यो। अनि उनीहरु देवत्वकरणका कुरा उठाउँछन्। हामी कसैलाई देवता मान्दैनौं, देवत्वकरण गर्दैनौं ।

    तर, नेतृत्व हुन्छ, नेतृत्वको वरिपरी पार्टी एकीकृत हुन्छ । त्यो स्वभाविक हो । पुष्पलालका वारीपरी, पुष्पलालले अगाडि सारेका विचारका वरिपरी हामी सबै आजसम्म गोलबन्द भएका छौं । कार्लमार्क्सले अघि सारेका दर्शन, सिद्धान्त वरीपरि हामी गोलबन्द भएका छैनौं ? लेनिनका वरिपरि सिँगै रुस गोलबन्द भएन ? माओको वरिपरी सिँगै चीन गोलबन्द भएर क्रान्ति सम्पन्न गरेन ?

    पुष्पलाल हुँदा पुष्पलाललाई एउटा पनि महाधिवेशन गर्न दिइएन । तपाईं नेता हो भन्न छोडिएन तर हुर्मत लिने काम पनि सधैं गरियो । तपाईं नेता हो भन्ने तर महासचिव अर्कै बनिहाल्ने । एउटा भनाइ छ– नासान्त्य बहुनायका । नायकहरुको झगडा भयो भने सकिन्छ । नायकै नायक हुनुपर्छ तर एकतावद्ध नायक । (आफू वरिपरि रहेका नेताहरुलाई देखाउँदै) जस्तो हाम्रो टिम छ ।

    प्रतिनिधि: प्रतिष्पर्धी दलबारे प्रष्ट धारणा आएन । हाम्रो प्रमुख विरोधी दल कुन हो भन्ने कसरी खुट्याउने ?

    ओलीले पेस गरेको प्रतिवेदनमा कांग्रेसलाई दलाल पुँजीपतिहरुको प्रतिनिधि भनिएको छ। माओवादी पार्टीप्रति नरम रहेको प्रतिवेदन प्रचण्डप्रति भने आक्राम छ। प्रचण्डलाई अस्थिर र चरम अवसरवादी भनिएको छ। शास्त्रीय कम्युनिष्ट पार्टीमा प्रमुख दुश्मन पार्टी करार गर्ने प्रचलन हुन्छ । प्रतिनिधिहरुको आवाज पनि प्रमुख विरोधी पार्टी किटान गरिनुपर्‍यो भन्ने थियो । ओलीले भने यसको जवाफ दिँदै त्यस्ता कुरामा शास्त्रीय हुन नुहने भन्दै एमालेसँग जोड विवाद गरिरहेको छ त्यसलाई नै विरोधीका रुपमा बुझ्न भनेका थिए ।

    जनतालाई भन्नुपर्‍याे–बाटो बनाउनु पनि समाजवाद हो । पुल बनाउनु पनि समाजवाद हो । खानेपानी गाउँ–गाउँमा पुर्‍याउनु समाजवाद उन्मुख हो । स्कुल राम्रा बनाउनु समाजवाद उन्मुख हो । वेरोजगारी दिने होइन, रोजगारी दिने शिक्षा हो । कृषिको बजारीकरण हो ।

    ओली: हामी धेरै अलमलिन हुँदैन । हामी कहिलेकाँही सिद्धान्त र व्यवहारमा अलमलिन्छौं । विरोधीले थप्पड हानीसक्छ गालामा अनि हामी शास्त्र पल्टाउन थाल्छौं । शास्त्रले के भन्छ, यो गालामा हान्ने विरोधी हो कि होइन ? यत्ति सारो शास्त्रवादी हुन जरुरी छैन् । जो तपाईंसँग लडिराख्या छ, त्यो विरोधी हो । जो तपाईंसँग लडिराख्या छैन्, सँगै काम गरिराख्या छ त्यो मित्र हो । हाम्रो पार्टीका विग्रेका मान्छे को हुन, जो छाडेर गए । जो यहाँ छन् सप्रेका छन् भन्ने प्रमाण यो भन्दा बढी केही चाहिन्छ ? छर्लङ्गै छ नि । हाम्रो सरकार ढाल्न ककसले भूमिका खेले, जसले हामीलाई प्रतिपक्षमा पुर्‍याए । कम्युनिष्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनु अग्रगमन र क्रान्तिकारी हो भनेर गए, नेकपा (एमाले)को सरकार ढालेर क्रान्ति गर्‍याैं भने ।

    प्रतिनिधिः समाजवादसम्मको यात्राबारे प्रष्ट दृष्टिकोण आएन । हामीले कसरी समाजवादसम्मको यात्रा गर्ने ?

    यसको जवाफ दिँदै ओलीले समाजवादलाई सजिलो गरि बुझ्नुपर्नेमा जोड दिए । माथिल्लो तहमा समाजवादमाथि शास्त्रीय शब्दावली प्रयोग गरेर सैद्दान्तिक बहस गर्न सकिए पनि आम जनताले त्यो नबुझ्ने भन्दै जनताको भाषामा त्यो बुझाउनुपर्ने ओलीको भनाइ थियो ।

    ओली: गाउँ घरका दिदीबहिनी, दाजुभाइले उन्नतस्तरको समाजवाद, अलि तल्लो स्तरको साझजवाद, उन्मुख समाजवाद भनेर बुझ्नुहुन्न । यो सबै के–के हो, कस्तो कस्तो हुन्छ ? कति लामा सिङ, कति लामा कान हुन्छन् भन्ने थाहा पाउँदैनन् । जनताले थाहा पाउनेगरि हामीले भन्ने कुरा चाहिँ के हो भने हाम्रो देश विकास हुनुपर्छ, यहाँ शुशासन हुनुपर्छ । भ्रष्टाचारको अन्त्य हुनुपर्छ र समृद्ध देश हुनुपर्छ । हरेक नेपालीले रोजगारी पाउने, खाने बस्ने ठाउँ पाउने हुनुपर्छ । हरेक नेपालीले खाना पाउनुपर्‍याे, लगाउन पाउनुपर्‍याे। बस्ने आवास पाउनुपर्‍याे । छोराछोरी पढाउन सक्ने अवस्था हुनुपर्‍याे । विरामी हुँदा औषधि उपचार पाउनुपर्‍याे, अकाल मृत्यु हुन भएन । र, सुविधा सम्पन्न जीवन बाँच्दै जान पाउनुपर्‍याे ।

    धेरै जटिल बनाउन आवश्यक छैन। हामीले छलफल गर्दा, केही सैद्धान्तिक, केही वैचारिक र केही परम्परागत शब्दावलीको प्रयोग गर्न सक्छौं । तर, जनताको बीचमा जाँदा त्यो भनेको के हो भनेर मुर्त चित्र हामीले कोर्न सक्नुपर्छ । जनतालाई भन्नुपर्‍याे–बाटो बनाउनु पनि समाजवाद हो । पुल बनाउनु पनि समाजवाद हो । खानेपानी गाउँ–गाउँमा पुर्‍याउनु समाजवाद उन्मुख हो । स्कुल राम्रा बनाउनु समाजवाद उन्मुख हो । वेरोजगारी दिने होइन, रोजगारी दिने शिक्षा हो । कृषिको बजारीकरण हो ।

    प्रतिनिधि: दलाल पुँजीवादबारे थप ब्याख्या गर्दै यसविरुद्ध लडाइँ कसरी लड्ने भन्नेबारे प्रष्ट पार्नुपर्‍याे ।

    नेपालमा दलाल पुँजीवाद हावी भएको भन्दै ओलीले पछिल्लो समय आक्रामक टिपप्णी गर्ने गरेका छन् । नेपालका धनाढ्यले पैसा धेरै कमाउने तर कर कम तिर्ने गरेको भन्ने ओलीको टिप्पणीप्रति नेपालका एकमात्र अर्बपति विनोद चौधरीले असन्तुष्टि जनाएका थिए। ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा पनि दलाल पुँजीवादबारे उल्लेख गरेका छन् । प्रतिनिधिले यसको थप व्याख्या गर्नुपर्ने र यसविरुद्ध कसरी पार्टी लड्ने भन्नेबारे पनि प्रष्ट पार्नुपर्ने सुझाव दिएका थिए। ओलीले यसको पनि जवाफ दिए । उनले पुँजीवाद के हो भन्नेबारे व्याख्या गरे तर त्यसविरुद्ध पार्टी यसरी लड्छ भन्नेबारे चाहिँ प्रष्ट पारेनन्।

    ओली: आज राष्ट्रिय पुँजीको विकास, बाह्यि दलाल पुँजी जो उत्पादनमुलक हुँदैन् । रोजगारी दिए पनि अत्यन्त सानो रोजगारी देला तर, रोजगारी मुलक हुँदैन । कमिसनमा बढ्ता जोड दिन्छ । कमिसन एजेन्टका रुपमा काम गर्छ। कानुन छल्छ । कालो धनका रुपमा काम गर्छ । र, त्यसले ब्युरोक्रेसी, राजनीति वा राजनीतिक तहरुलाई प्रयोग गर्छ । दुरुपयोग गर्छ । त्यसको आडमा आफ्नो अनुचित धन्धा चलाउँछ । अनुचित मुनाफाखोर, कालो धन्धा चलाउँछ । तिनीहरुले उत्पादन शक्तिहरुलाई सक्षम, सबल बनाउन, आत्मनिर्भर बनाउ मद्यत गर्दैन । त्यसले असमानताको खाडल बनाउँछ । प्रतिव्यक्ति आय, कूल ग्रास्थ उत्पादन हेर्‍याे भने देश धनी भयो भन्ने देखिन्छ । किनभने केही व्यक्तिका हातमा खर्बौं थुप्रिन्छ र बाँकी गरिब हुन्छन् । त्यसले एउटा नक्कली तथ्यांक खडा गर्छ । नक्कली चित्र खडा गर्छ देशको । देश गरिब हुन्छ तर त्यसले चित्र चाहिँ धनीको खडा गर्छ । हामीसँग हुँदै नभएको पैसा पनि हामीसँग छ कि जस्तो देखिन्छ । यो कृत्रिम कुरा हो । त्यो कृत्रिम अर्थतन्त्र हो।

    प्रतिनिधि: जबजको सान्दर्भिकता सकियो भन्ने धारणाको जोडदार खण्डन गर्नुपर्छ ।

    एमाले नेता घनश्याम भुसालले ओलीको राजनीतिक प्रतिवेदनमा जबजबारे गरिएको व्याख्यामा असहमति जनाउँदै छुट्टै लिखित प्रस्ताव अघि सारेका थिए । केन्द्रीय कमिटीमा प्रतिवेदनमाथि छलफल गर्दा भुसालले फरक मत राखेको भए पनि महाधिवेशनमा पनि त्यसको अस्तित्व थाहा पाइएन । भुसालले आफ्नो लिखित प्रस्तावमा जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्दान्त भन्नु अति हुने उल्लेख गरेका थिए। त्यसैलाई लक्षित गर्दै केही प्रतिनिधिले यसको खण्डन चलाउनुपर्ने माग गरेका थिए। जबज के हो र के होइन भन्नेबारे ओलीले जवाफ दिए । जबज कार्यक्रम र सिद्दान्त दुवै भएको ओलीको जवाफ थियो।

    ओली: अलिअलि अलमल पर्न खोजेको देखिन्छ–यो कार्यक्रम हो कि सिद्दान्त हो कि ? कार्यक्रम हो भने सिद्दान्त होइन, सिद्दान्त हो भने कार्यक्रम होइन। यो कार्यक्रम पनि हुन सक्छ, सिद्दान्त पनि हुन सक्छ । तर, यो सिद्दान्त पनि हो, कार्यक्रम पनि हो । यसभित्र दर्शनका पक्षहरु पनि छन्। पाइला सार्नु र हिँड्नु उही कुरा हो । पाइला सार्दै गरेर हामी हिँड्छौं, हिँड्दै जाँदा यात्रा हुन्छ । जबज कार्यन्वयनका सन्दर्भमा त्यतिबेला सैद्धान्तिक पक्ष नभएका होइनन् । पाँचौं महाधिवेशनमा मदन भण्डारीले कार्यक्रम प्रस्तुत गरिरहँदा त्याहाँ सैद्दान्तिक पक्ष नभएका होइनन् । तर, हामीले त्यसलाई कार्यक्रमका रुपमा त्यसलाई त्याहाँ प्रस्तुत गर्यौं‍ । छैटौंमा सिद्दान्तका रुपमा स्वीकार गर्यौं ।

    ओलीले जे टारे

    निर्वाचन प्रणालीबारे
    हालको निर्वाचन प्रणाली महंगो भएको भनेर धेरै जनप्रतिनिधिले आवाज उठाएका थिए । निर्वाचन बढी खर्चिलो भएकाले निर्वाचन प्रणालीमा व्यापक सुधार गर्नुपर्ने धारणा धेरैको थियो। यस्तो आवाज गण्डकी प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश र उपत्यका विशेष प्रदेश कमिटी समूहबाट जोडदार रुपमा उठेको थियो । हाल नेकपा (माओवादी केन्द्र)ले पनि निर्वाचन प्रणाली बदलेर पूर्ण समानुपातिकमा जानुपर्ने आवाज उठाइरहेको छ। ओलीले भने यसबारे केही धारणा राखेनन्।

    प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री
    पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको वकालत गर्नुपर्ने कुरा प्रतिनिधिले उठाएका थिए। विशेषगरि प्रदेश २ र जनवर्गीय संगठन समूहबाट प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणालीमा पार्टीले जोड दिनुपर्ने कुरा उठाइएको थियो । हुन त यसअघि पनि एमालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीकै वकालत गरेको थियो । तर, संविधान भनाउँदा कम्प्रोमाइज गर्नुपर्ने भएकाले एमालले यसलाई छाडेको थियो । पछिल्लो समय एमाले यसबारे खासै बोलेको सुनिन्न। ओलीले पनि यसमा मौन रहे ।

    एमसीसीबारे
    प्रतिनिधिहरुले अमेरिकी साहायता परियोजना एमसीसीबारे पनि कुरा उठाएका थिए। गण्डकी र कर्णाली प्रदेश समूहबाट एमसीसीबारे पार्टीको प्रष्ट धारणा हुनुपर्ने सुझाव आएको थियो । ओली यसबारे पनि मौन रहे । यद्यपि अन्य कार्यक्रममा ओलीले एमसीसीबारे सत्तारुढ दल नै नबोलिरहेको भन्दै एमाले यसमा अघि सर्न आवश्यक नरहेको बताउने गरेका छन् । सत्तारुढ दलको धारणा आएपछि एमालेले पनि आफ्नो धारणा तय गर्ने ओलीले बताउने गरेका छन् । सरकारमा रहँदा पनि ओली यसलाई पारित गर्ने पक्षमा थिए।

  • एमालेले बोलायो स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला (तस्बिरहरू)

    एमालेले बोलायो स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेले कार्यकाल सकिन ६ महिना बाँकी रहेका स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरेको छ । पार्टीको विधान महाधिवेशनमा सहभागी हुन आएका स्थानीय तहका प्रमुख उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुखसहितको राष्ट्रिय भेला आयोजना गरिएको छ ।

    स्थानीय तह विभागले आयोजना गरेको भेलालाई अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जिसस महासंघकी निवर्तमान अध्यक्ष सीता सुन्दासले जानकारी दिइन् ।

    भेलामा नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु र गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले आ-आफ्नो प्रस्तुति दिँदैछन् । कार्यक्रममा पार्टी र जनप्रतिनिधिहरूबीचको अन्तर सम्बन्धका बारेमा विभागका प्रमुख देवेन्द्र दाहालले कार्यपत्र प्रस्तुत गर्नेछन् भने भेलामा समृद्धिको अभियानमा केपी ओली सरकारले तीन वर्षमा गरेका कामहरूको समीक्षा हुने ब्यान्जुले बताए । स्थानीय तहमा पनि नेकपा एमाले सबैभन्दा ठूलो दल हो ।

    तस्बिरहरू : उमेश कार्की । 

  • ओलीको टिप्पणी- विरोधीहरू म बाँचेको र जनता कार्यकर्ताले माया गरेको देखेर चिन्तित छन् (भिडिओ)

    ओलीको टिप्पणी- विरोधीहरू म बाँचेको र जनता कार्यकर्ताले माया गरेको देखेर चिन्तित छन् (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नेतृत्व स्थापित नहोस् र झगडा होस् भन्ने सोचेर व्यक्तिको देवत्वकरणको हल्ला चलाइएको टिप्पणी गरेका छन् ।

    विधान महाधिवेशन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेमा कसेको देवत्वकरण नभएको भन्दै नेतृत्वको वरिपरि सबै गोलबन्द भएको बताए ।

    ओलीले भने, ‘मलाई पार्टीको अगुवा र प्रिय साथीको रूपमा जनविश्वास दिनुभएको छ एक थोपो पनि तलमाथि हुन दिने छैन । एमालेलाई बहुमतमा पुर्‍याएर मधुकैटवले हल्लाउन नसक्ने खालको सुदृढ स्थितिमा स्थापित गर्नेछु ।’

    ओलीले नास्यत बहुनायक भन्ने संस्कृत श्लोक सुनाउँदै नायकै नायकको बीचमा आफू नेतृत्वमा स्थापित भएको बताए । विगतमा पनि मदन भण्डारीमाथि यस्तै प्रहार हुने गरेको र पुष्पलाललाई महाधिवेशन गर्न समेत नदिइएको भन्दै ओलीले आफूमाथि प्रहार गरेर एमाले कमजोर बनाउने प्रयास भइरहेको ओलीले बताए ।

    अध्यक्ष ओलीले भने, ‘अहिले विरोधीहरू मुख्यतः दुई कुराले चिन्तित छन् । एउटा म बाँचिरहेकोमा चिन्तित छन् । अर्को कार्यकर्ता र जनताले माया गरेको देखेर चिन्तित छन् । म किड्नी फेरेर पनि बाँचिरहेकोमा उनीहरूलाई चिन्ता छ । म बाँचे त मेरो के दोष ?’

  • ‘चैतको महाधिवेशन नपर्खी कात्तिकमै प्रचण्ड-माधवले पार्टी फुटाउन खोजे, एमाले जोगाउने कार्यकर्तालाई धन्यवाद’

    ‘चैतको महाधिवेशन नपर्खी कात्तिकमै प्रचण्ड-माधवले पार्टी फुटाउन खोजे, एमाले जोगाउने कार्यकर्तालाई धन्यवाद’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत चैतमा महाधिवेशन गर्ने र नयाँ नेतृत्व हस्तान्तरण गर्ने भनिएकोमा प्रचण्ड-माधव समूहले कात्तिकमै आफूलाई हटाउने षडयन्त्रस्वरूप पार्टी विभाजन गरेको आरोप लगाएका छन् ।

    विधान महाधिवेशनको समापन समारोहमा आफूले पेस गरेको राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओलीले प्रचण्ड-माधवले पार्टी एकीकरणको बाटो छाडेर सत्ता गुटबन्दीमार्फत पार्टी ध्वस्त पार्न खोजेपछि आफूले जोगाएको बताए ।

    ओलीले भने, ‘चैतमा महाधिेशन गर्ने भनेको कात्तिकको अन्तिममा गएर अध्यक्ष र प्रधानमन्त्रीलाई हटाउन १३ पन्ने आरोपपत्र पेश गरियो । एकीकरणको बाटो छाटेर पार्टी ध्वस्त बनाउन खोजिएपछि पार्टी जोगाउन हामीले जे गर्‍यौं त्यो सही थियो । त्यो विकट स्थितिमा पार्टीलाई जोगाउन देशभरका कार्यकर्ता जो जो उभिनुभयो तपाईंहरूलाई धन्यवाद छ । यो पार्टी सग्लो रहनुको मुख्य हकदार तपाईंहरू हो ।

    एमालेको मुख्य दुश्मन को हो भन्ने प्रश्न उठेको भन्दै ओलीले जसले कम्युनिष्ट पार्टीको सरकार ढालेर कांग्रेसलाई बुझाए उनीहरू नै जनता र एमालेका दुश्मन भएको ओलीको भनाइ थियो ।

  • एमालेको लोगो परिमार्जन, सूर्यभित्र सुनौला रङको हँसिया हथौडा

    एमालेको लोगो परिमार्जन, सूर्यभित्र सुनौला रङको हँसिया हथौडा

    काठमाडौं । नेकपा एमालेले पार्टीको लोगोमा परिमार्जन गरेको छ । विधान महाधिवेशनबाट पार्टीले यसअघि प्रयोग गर्दै आएको लागोमा परिमार्जन गरेको हो ।

    अब एमालेको लोगोमा रातो पृष्ठभूमिमा सूर्यभित्र सुनौला रंगको हँसिया हथौडा रहने उपमहासचिव विष्णु पौडेलले जानकारी दिए । यसअघि एमालेको लोगोमा सूर्यभित्र सीपीएन यूएमल बीचमा सानो आकारको हँसिया हथौडा थियो ।

    अब यो लोगो नै पार्टीको आधिकारिक हुने पौडेलले बताए ।

  • एमालेमा ७० वर्षे ब्याख्या- बीचमै उमेर कटे पनि पूरै कार्यकाल जिम्मेवारी निर्वाह गर्ने

    एमालेमा ७० वर्षे ब्याख्या- बीचमै उमेर कटे पनि पूरै कार्यकाल जिम्मेवारी निर्वाह गर्ने

    काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेर हद कायम राख्दै त्यसको थप व्याख्या गरेको छ । ७० वर्ष पूरा भएपछि कार्यकारी पदबाट बिदा हुने कि नहुने भन्ने विधान महाधिवेशनका सहभागीहरूको प्रश्नको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले ७० वर्ष पूरा नहुँदसम्म कुनै पनि पदमा उम्मेदवार बन्न पाउने बताए ।

    कुनै व्यक्ति कार्यकारी पदमा निर्वाचित भएपछि बीचमै ७० वर्ष पुगेमा पनि उसले सो कार्यकाल भरी जिम्मेवारी निर्वाह गर्ने पौडेलले जानकारी दिए ।

    उदाहरणका लागि अध्यक्ष केपी शर्मा ओली फेरि अध्यक्ष निर्वाचित भएमा यसबीचमा ७० वर्ष पूरा भए पनि उनले पूरै ५ वर्ष अध्यक्षको जिम्मेवारी सम्हाल्न पाउँनेछन् ।

  • एमालेका सबै कमिटीमा सिलिङ तोकियो, वडादेखि प्रदेशसम्मको आधार संख्या ५०

    एमालेका सबै कमिटीमा सिलिङ तोकियो, वडादेखि प्रदेशसम्मको आधार संख्या ५०

    काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीबाहेक मातहतका कमिटीमा रहने सदस्यहरूको सिलिङ तोकेको छ । ठूला र भद्दा कमिटीहरूले गर्दा पार्टी संगठन लथालिंग भएको भन्दै विधान महाधिवेशनबाट सदस्यको सिलिङ तोकिएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिए ।

    अब एमालेका सबै कमिटीको आधार संख्या ५० हुनेछ । प्रदेश कमिटीमा ५० सदस्य आधार रहने र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका आधारमा एक क्षेत्रबराबर ५ जनाको दरले थपिने पौडेलले जानकारी दिए ।

    उदाहरणका लागि कर्णाली प्रदेशमा आधार संख्या ५० हुनेछ भने १२ निर्वाचन क्षेत्रबाट पाँच-पाँच जनालाई थपेर ११० जनाको कमिटी बन्नेछ । जिल्ला कमिटीमा पनि आधार संख्या ५० राखेर प्रदेशसभा निर्वाचन क्षेत्रबाट १५ जनाको दरले थपिनेछन् । यो हिसाबले एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा अब एमालेको जिल्ला कमिटी ८० सदस्यीय हुनेछन् ।

    पालिका कमिटीको हकमा पनि ५० आधार संख्या रहने र प्रत्येक वडाबाट ५ जनाको दरले थपिनेछन् । अब त्योभन्दा बढी संख्यामा कमिटी गठन हुन नपाउने पौडेलले बताए ।

    एमालेको केन्द्रीय कमिटी २२५ सदस्यी रहनेछ । सबै कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गर्ने व्यवस्थासमेत विधानमै राखिएको छ ।

  • एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव थपियो, १५ सदस्यीय पदाधिकारी

    एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव थपियो, १५ सदस्यीय पदाधिकारी

    काठमाडौं ।नेकपा एमालेले वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष राख्ने भएको छ । यसअघि ३ उपाध्यक्ष भनिएकोमा सहभागीको सुझावअनुसार विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्षसहित ५ उपाध्यक्ष राख्ने निर्णय भएको उपमहासचिव बिष्णु पौडेलले सुनाए ।

    यसअघि १३ पदाधिकारी रहेकामा अब १५ पदाधिकारी हुने भएका छन् । त्यस्तै यसअघि विधानबाट हटाइएको उपमहासचिव पद फिर्ता भएको छ । तर, यसअघि दुई उपमहासचिव रहेकामा अब एकमात्र उपहासचिव हुनेछन् ।

  • एमालेको केन्द्रीय सदस्य बन्ने योग्यता संशोधन, स्थायी कमिटीको संख्या बढाइयो

    एमालेको केन्द्रीय सदस्य बन्ने योग्यता संशोधन, स्थायी कमिटीको संख्या बढाइयो

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य हुनका लागि तोकिएको योग्यता संशोधन भएको छ । विधान महाधिवेशनमा प्रस्तुत मस्यौदामा छलफलपछि सहभागीहरूले दिएको सुझावअनुसार संशोधन गरिएको जानकारी हलमा उपमहासचिव विष्णु पौडेलले बताएका छन् ।

    यसअघि तोकिएको पार्टी सदस्य भएको १५ वर्ष हुनुपर्ने भन्ने प्रावधान हटाएर १० वर्ष कायम गरिएको छ । त्यस्तै केन्द्रीय सदस्य बन्नका लागि केन्द्रीय निकायको सदस्य भएको वा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य भएको व्यक्ति योग्य हुने भएको छ ।

    त्यस्तै केन्द्रीय विभागको सचिव वा सदस्य, जिल्ला कमिटीको पदाधिकारी वा दुईपटक सदस्य भएको तथा प्रदेश कमिटी सदस्य भएको व्यक्ति केन्द्रीय सदस्यको उम्मेदवार बन्न योग्य हुनेछन् ।

    पौडेलले विधान महाधिवेशन हलमा जानकारी दिँदै महिला, दलित,सीमान्तकृत र अपांगता भएका व्यक्तिको हकमा ७ वर्ष सदस्य भएको र एकपटक जिल्ला कमिटी सदस्य भएको व्यक्ति केन्द्रीय सदस्यको लागि योग्य बन्नेछ ।

    उपमहासचिव पौडेलले सहभागीको सुझावलाई ध्यान दिँदै नयाँ पुस्तालाई पनि नेतृत्वमा विकास गर्न ४५ सदस्यीय स्थायी कमिटी बनाइने बताए । यसअघि ४१ सदस्य भनिएको थियो ।

  • राजकुमार लेखी ५५ जना नेता-कार्यकर्तासहित एमालेमा प्रवेश

    राजकुमार लेखी ५५ जना नेता-कार्यकर्तासहित एमालेमा प्रवेश

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट राजीनामा दिएका आदिवासी जनजाति नेता राजकुमार लेखी आजबाट औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    एमालेको विधान महाधिवेशन समापन समारोहअघि आयोजित कार्यक्रममा लेखीसहित ५५ जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । लेखी साविक जसपा र नवगठित लोसपाको केन्द्रीय कार्यकारिणी समितिमा थिए ।

    नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष रहिसकेका लेखी २०७४ सालको निर्वाचनमा सप्तरीबाट तत्कालीन राजपाको प्रदेशसभा सदस्य उम्मेदवार थिए । उनी २०६८ सालमा नेपाल नागरिक पार्टी गठन गरेर एमालेबाट बाहिरिएका थिए ।

    एमालेमा हुँदा उनी केन्द्रीय संघीय मामिला विभागको सदस्य थिए । लेखीले एक दशकपछि घर फर्किएको भन्दै एमालेबाहेक अन्यत्र रहेर समृद्धि र समावेशीताको नेतृत्व नहुने देखेर पार्टी प्रवेश गरेको बताएका छन् ।

  • एमाले विधान महाधिवेशन समापन समारोह: जवाफ दिँदै नेताहरू (लाइभ)

    एमाले विधान महाधिवेशन समापन समारोह: जवाफ दिँदै नेताहरू (लाइभ)

    काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन आज सकिँदैछ ।

    ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा तीन दिनदेखि जारी महाधिवेशन राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित गर्दै समापन गर्न लागिएको हो ।

    १० समूहमा विभाजित प्रतिनिधिहरूले प्रतिवेदनमाथि समूहगत छलफलपछि दिएका सुझावउपर प्रतिवेदन प्रस्तुतकर्ता नेताहरूले जवाफ दिएर महाधिवेशन सकिनेछ ।

    अहिले उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिइरहेका छन् । त्यसपछि महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदनमाथि उठेका जिज्ञासाहरुको जवाफ दिने कार्यसूची छ ।

    विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गर्ने कार्यसूचि छ । त्यसै गरी समसामयिक प्रस्ताव पनि महाधिवेशनले पारित गर्ने एमालेले जनाएको छ ।

    शुक्रबार अध्यक्ष ओलीले उद्घाटन गरेको महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी छन् ।

  • गोदावरीमा एमाले नेता/कार्यकर्ताको देउडा नाच (तस्बिरहरू)

    गोदावरीमा एमाले नेता/कार्यकर्ताको देउडा नाच (तस्बिरहरू)

    काठमाडौं । तीन दिनदेखि जारी नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजना गरिएको महाधिवेशनमा देशभरबाट करिब ६ हजार एमाले नेता/कार्यकर्ता सहभागी छन् ।

    सम्मेलन हलको प्रांगणमा प्रतिनिधिहरूले सुदूरपश्चिमको मौलिक परम्परा देउडा प्रस्तुत गरेका छन् । देउडा संस्कृतिको संरक्षण र प्रचारप्रसार गर्दै नेताहरू लेखराज भट्टलगायतका महिला तथा पुरुष प्रतिनिधिले देउडा नाचेका हुन् ।

    महाधिवेशनमा प्रस्तुत राजनीतिक, सांगठानिक प्रतिवेदनमाथिको समूहगत छलफलपछि सुझाव पेस गर्ने काम सकिएको छ । त्यसउपर उठेका सवाल तथा सुझावबारे प्रतिवेदन प्रस्तुतकर्ताहरू अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिँदैछन् ।

     
     
     
     
  • एमालेमा पोलिटव्यूरो खारेज, अध्यक्षको नेतृत्वमा पदाधिकारी रहेको केन्द्रीय सचिवालय बन्ने

    एमालेमा पोलिटव्यूरो खारेज, अध्यक्षको नेतृत्वमा पदाधिकारी रहेको केन्द्रीय सचिवालय बन्ने

    काठमाडौं । नेकपा एमालेमा अब पोलिटव्यूरो कमिटी नरहने भएको छ । केन्द्रीय कमिटीपछि स्थायी कमिटी रहनेछ । अध्यक्षको नेतृत्वमा पदाधिकारीहरू सदस्य रहेको केन्द्रीय सचिवालय गठन हुने व्यवस्था विधानमा प्रस्ताव गरिएको छ ।

    अध्यक्ष,५ उपाध्यक्ष, महासचिव र ६ जना सचिव रहेको सचिवालय अब एमालेमा शक्तिशाली निकाय बन्ने देखिएको छ । त्यस्तै महासचिवको नेतृत्वमा सचिवहरू रहेको केन्द्रीय कार्यालय रहने भएको छ ।

    एमालेले बढीमा ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने प्रस्ताव विधानमा गरेको छ । विधान महाधिवेशनमा प्रस्तुत मस्यौदामा केन्द्रीय सदस्य हुन कम्तीमा १५ वर्ष पार्टी सदस्य हुनुपर्ने व्यवस्था समेत राखिएको छ ।

  • घाँटीमा समस्या र ज्वरोका कारण ओलीको प्रतिवेदन वाचनको जिम्मा शंकर पोखरेललाई

    घाँटीमा समस्या र ज्वरोका कारण ओलीको प्रतिवेदन वाचनको जिम्मा शंकर पोखरेललाई

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घाँटीमा समस्या आएपछि विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन वाचन गर्ने जिम्मा शंकर पोखरेललाई दिइएको छ ।

    केही दिनदेखि ज्वरोसमेत आइरहेको र घाँटीमा समस्या रहेकाले लामो प्रतिवेदन वाचन गर्न अप्ठेरो भएकाले पोखरेललाई दिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले नेपाल प्रेसलाई जानकारी दिए ।

    प्रतिवेदन वाचन गर्दा गर्दै ओलीलाई घाँटीमा समस्या भएकोले पानी पिएपछि आराम गरेका छन् । बाँकी प्रतिवेदन पोखरेलले वाचन गरेका छन् ।

  • ओलीको प्रतिवेदन- माधव नेपालको योजना बुझेर बेलैमा छाड्नेलाई धन्यवाद (पूर्णपाठ)

    ओलीको प्रतिवेदन- माधव नेपालको योजना बुझेर बेलैमा छाड्नेलाई धन्यवाद (पूर्णपाठ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुखले समेत सहयोग गरेको आरोप लगाएका छन् ।

    विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले एमाले विभाजनका प्रयास रोक्न आफूले हदैसम्म लचिलो बनेको समेत बताएका छन् ।

    ५७ पृष्ठको राजनीतिक प्रतिवेदनमा ओलीले राष्ट्रिय, अन्तर्राष्ट्रिय र पार्टीभित्रको आन्तरिक विषयाको विस्तृतमा व्याख्या गरिएको छ । अध्यक्ष ओलीले १० बुँदे सहमतिको पृष्ठभूमी केलाउँदै माधव नेपालको पार्टी विभाजन प्रयासमा साथ नदिने सबैलाई विशेष धन्यवाद र स्वागत गरेका छन् ।

    अध्यक्ष ओलीले नेकपाको एकता प्रचण्डले तोडेको समेत बताएका छन् । कम्युनिष्ट पार्टीको सरकार ढाल्नलाई प्रचण्ड माधवले सुरूदेखि नै षड्यन्त्र गरेर नेकपा विभाजन गरेको आरोप लगाएका छन् ।

    ओलीको प्रतिवेदनको पूर्णपाठ यस प्रकार छ :-

  • एमालेको विधानबाट वरिष्ठ नेता पद पनि हटाइयो, ५ उपाध्यक्ष रहने

    एमालेको विधानबाट वरिष्ठ नेता पद पनि हटाइयो, ५ उपाध्यक्ष रहने

    काठमाडौं । नेकपा एमालेले पार्टीको विधानबाट वरिष्ठ नेताको पद हटाएको छ । यसअघि निवर्तमान अध्यक्ष वरिष्ठ नेता रहने वैधानिक व्यवस्था रहेको थियो ।

    अब एमालेमा पदाधिकारी भनेर अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव र ६ सचिवसहित १३ जनामात्र रहने छन् । त्यस्तै केन्द्रीय अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १२ सदस्य हुने व्यवस्था गरिएको छ ।

    यसअघि आयोगमा अध्यक्ष र सचिवमात्र हुने व्यवस्था थियो । एमालेमा अहिले पूर्व पार्टी प्रमुखहरू कोही पनि नरहेकाले वरिष्ठ नेता पद नराखिएको हो ।

    यो पनि पढ्नुहोस् :

  • एमालेमा उपमहासचिव पद खारेज, कम्तीमा एक तिहाई महिलासहित २२५ सदस्यीय केन्द्रीय कमिटी

    एमालेमा उपमहासचिव पद खारेज, कम्तीमा एक तिहाई महिलासहित २२५ सदस्यीय केन्द्रीय कमिटी

    काठमाडौं । नेकपा एमालेले उपमहासचिव पद खारेज गरी ५ उपाध्यक्ष रहने प्रस्ताव विधान महाधिवेशनमा लगेको छ ।

    विधान महाधिवेशनमा पेस भएको अन्तिम मस्यौदामा अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव, ६जना सचिव र २२५ जना केन्द्रीय सदस्य रहने प्रस्ताव छ ।

    यसअघि तीन उपाध्यक्ष र २ उपमहासचिवको व्यवस्था गरिएको थियो । त्यस्तै एमालेले केन्द्रीय कमिटीमा कम्तीमा एक तिहाई महिलासहित समावेशी केन्द्रीय कमिटी गठन गर्ने प्रस्तावसमेत लगेको छ ।

  • कम्युनिष्ट अन्तर्राष्ट्रिय गीतसँगै सुरू भयो एमालेको विधान महाधिवेशन (तस्बिरहरू)

    कम्युनिष्ट अन्तर्राष्ट्रिय गीतसँगै सुरू भयो एमालेको विधान महाधिवेशन (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरू भएको छ ।

    अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भएको सम्मेलनको सुरूमा कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय गीत बजाइएको थियो । एमालेका पछिल्ला कार्यक्रममा यो गीत बज्न छाडेकामा महाधिवेशनबाट फेरि सो गीतबाट सुरूआत गरिएको हो ।

    अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोवाइलको बटम थिचेर लोगो अनावरण गर्दै महाधिवेशनको उद्घाटन गरे ।

    विधान महाधिवेशनमा देशभरका ६ हजारभन्दा बढी प्रतिनिधि भेला भएका छन् । ३ दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन आजै अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् ।

    शनिबार समूहगत रुपमा छलफल गरी आवश्यक सुझावसहित ती प्रतिवेदनहरू पारित हुनेछ । विधान महाधिवेशनले पार्टीको नीति र विधि तय गर्ने पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

    एमालेले पहिलोपटक पार्टीको नीति निर्माणमा केन्द्रित भएर विधान महाधिवेशन आयोजना गरेको हो । एमालेको राष्ट्रिय महाधिवेशन मंसिरको दोस्रो आयोजना हुनेछ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • विधान महाधिवेशनका लागि यस्तो बन्यो एमालेको अध्यक्ष मण्डल (सूचीसहित)

    विधान महाधिवेशनका लागि यस्तो बन्यो एमालेको अध्यक्ष मण्डल (सूचीसहित)

    ललितपुर । नेकपा एमालेको प्रथम विधान महाधिवेशन सञ्चालनका लागि अध्यक्ष मण्डल घोषणा भएको छ । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा र अनुमोदन गरिएको छ ।

    अध्यक्ष मण्डलमा रहेकाहरूको नामावली यसप्रकार छ:-

    केपी शर्मा ओली- संयोजक

    युवराज ज्ञवाली- सदस्य

    अष्टलक्ष्मी शाक्य- सदस्य

    रामबहादुर थापा- सदस्य

    सुवासचन्द्र नेम्वाङ – सदस्य

    सत्यनारायण मण्डल – सदस्य

    छविलाल विश्वकर्मा – सदस्य

  • नेकपा एमालेको प्रथम विधान महाधिवेशन

    नेकपा एमालेको प्रथम विधान महाधिवेशन

    ललितपुर । नेकपा एमालेको प्रथम विधान महाधिवेशन गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरू भएको छ । महाधिवेशनमा देशभरबाट झण्डै ६ हजार प्रतिनिधि भेला भएका छन् ।

    अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भएको सम्मेलनको सुरूमा कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय गीत बजाइएको थियो । एमालेका पछिल्ला कार्यक्रममा यो गीत बज्न छाडेकामा महाधिवेशनबाट फेरि सो गीतबाट सुरूआत गरिएको हो ।

  • गोदावरीमा ८ हजार एमालेलाई ‘ए वान’ को दिवा भोज (तस्बिर/भिडिओ)

    गोदावरीमा ८ हजार एमालेलाई ‘ए वान’ को दिवा भोज (तस्बिर/भिडिओ)

    काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुन पुगेका प्रतिनिधिहरुलाई होटल ए वान प्यालेसले खानाको व्यवस्था गरेको छ । प्रतिस्पर्धाको आधारमा ए वानले एमालेका प्रतिनिधिलाई खाना खुवाउने जिम्मेवारी पाएको केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

    विहान ९ बजेदेखि ११ बजेसम्म खाना खाने समय भएकाले २६ वटा काउन्टरबाट व्यवस्थित ढंगले खानाको व्यवस्थापन भएको ए वानका सञ्चालक राकेश श्रेष्ठले नेपाल प्रेसलाई बताए । त्यसका लागि ३ सय जना कर्मचारी खटिएको उनले जानकारी दिए ।

    दिउँसो एक छाक खाना खुवाउने जिम्मा पाएको ए वानले दालभात, तरकारी, खसी र कुखुराको मासुलगायतका व्यञ्जनको व्यवस्था गरेको छ ।

    स्वस्थ र सफा खाना खुवाउने चेन पार्टी प्यालेस तथा होटलका रुपमा स्थापित ए वानका काठमाडौं उपत्यकामा मात्र २० वटा शाखा रहेको उनले बताए ।

    ए वान होटल,ए वान पार्टी प्यालेस र ए वान रेष्टुरेन्ट सन्चालन गर्ने टिममा रामेछापका युवा व्यवसायी छन् । २ घण्टाभित्र खाना खुवाइ सक्ने गरी ८ हजार जनासम्मलाई पुग्ने परिकार तयार पारिएको श्रेष्ठले बताए ।

  • एमालेको विधान महाधिवेशनमा कडा सुरक्षा, मुख्यमन्त्रीको समेत खानतलासी (तस्बिरहरू)

    एमालेको विधान महाधिवेशनमा कडा सुरक्षा, मुख्यमन्त्रीको समेत खानतलासी (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेको विधान महािधवेशनस्थलमा सुरक्षा व्यवस्था कडा गरिएको छ । प्रहरीका उच्च अधिकारीहरु समेत सम्मेलनस्थलमा खटिएका छन् ।

    महाधिवेशन प्रतिनिधिहरुलाई कडा सुरक्षा जाँच र खानतलासीपछिमात्र भित्र प्रवेश दिइएको छ । पार्टीका नेता र मुख्यमन्त्री समेत चेकिङमा परेका छन् ।

    ठूलो संख्यामा सहभागी भएकाले कुनै अवान्छित व्यक्तिहरूबाट अप्रिय घटना नहुन् भनेर सुरक्षा जाँचमा कडाई गरिएको प्रहरीले जनाएको छ ।

    तस्बिरहरू : उमेश कार्की । 

  • तस्बिरमा हेर्नुस् विधान महाधिवेशनका लागि गोदावरी पुगेका एमाले प्रतिनिधिहरू

    तस्बिरमा हेर्नुस् विधान महाधिवेशनका लागि गोदावरी पुगेका एमाले प्रतिनिधिहरू

    गोदवारी । नेकपा एमालेको प्रथम विधान महाधिवेशनका प्रतिनिधिहरु गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा पुग्ने क्रम जारी रहेको छ ।

    मध्यान्ह १२ बजेपछि उद्घाटन हुने विधान महाधिवेशनका प्रतिनिधिलाई बिहान ९ देखि ११ बजेसम्म खाना खाने समय दिइएकाले बिहानै ७ बजेदेखि नै प्रतिनिधिहरु गोदावरी पुगेका हुन् ।

    ६ हजार प्रतिनिधिहरुका लागि गोदवारीमा व्यवस्था गरिएको छ । देशभरबाट आएका प्रतिनिधिहरू गोदावरीमा भेला हुँदैछन् ।

    
    
     
  • एमालेको ४७७ सदस्यीय वागमती प्रदेश कमिटी- शीर्ष वरीयतामा अष्टलक्ष्मी, बादल नै इन्चार्ज (सूचीसहित)

    एमालेको ४७७ सदस्यीय वागमती प्रदेश कमिटी- शीर्ष वरीयतामा अष्टलक्ष्मी, बादल नै इन्चार्ज (सूचीसहित)

    काठमाडौं । विधान महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमालेले वागमती प्रदेश कमिटीलाई पूर्णता दिएको छ ।

    आनन्द पोखरेल अध्यक्ष र खेम लोहनी सचिव रहेको ४ सय ७७ सदस्यीय प्रदेश महाधिवेशन आयोजक कमिटी गठन भएको जानकारी केन्द्रीय कार्यालयलाई गराइएको अध्यक्ष पोखरेलले बताए ।

    विहीबार टुंगो लागेको प्रदेश महाधिवेशन आयोजक कमिटीका सदस्यहरुले भोलिदेखि सुरू हुने विधान महाधिवेशनमा भाग लिन पाउनेछन् । प्रदेश कमिटीको इन्चार्जमा रामवहादुर थापा बादल नै कायम रहेका छन् ।

    यसअघि १० बुँदे सहमति अनुसार जेठ २ अघिका इन्चार्जहरु नै कायम हुने भनिए पनि वागमतीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीसमेत रहेकाले सहमतिमै नेतृत्व टुंगो लागेको हो ।

    शाक्यलाई प्रदेशको शीर्ष स्थानमा राखेर काशिनाथ अधिकारी, अरुण नेपाल, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ र डोरमणी पौडेल सहइन्चार्ज राखिएको छ । केन्द्रीय सदस्य रचना खड्कालाई पनि पदाधिकारी तहमा राखिएको छ ।

    हेर्नुहोस् वागमती प्रदेश कमिटीको सूची :-

  • एमाले विधान अधिवेशनको तयारी सकियो, यसरी हुनेछ व्यवस्थापन (कार्यसूचीसहित)

    एमाले विधान अधिवेशनको तयारी सकियो, यसरी हुनेछ व्यवस्थापन (कार्यसूचीसहित)

    काठमाडौं । नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन भोलिदेखि सुरू हुँदैछ । महाधिवेशनको ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा दिउँसो साढे १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।

    महाधिवेशन तयारीबारे विहीबार मूल व्यवस्थापन समितिले गरेको पत्रकार सम्मेलनमा व्यवस्थापन र कार्यक्रमबारे जानकारी दिइएको छ । जस अनुसार उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप महासचिव विष्णुप्रसाद पौडेले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने छन्।

    महाधिवेशनको दोस्रो दिन असोज १६ गते समूह छलफल र समूह नेताबाट सुझावहरुको प्रस्तुति गरिनेछ । तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोता हरुको समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।

    अन्य व्यवस्थापन

    महाधिवेशनमा छ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागितामा हुनेछ। प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको बताइएको छ।

    मंचमा पदाधिकारी एवं स्थायी कमिटीका सदस्यहरुको सिट व्यवस्थापन गरिएको छ । मूल सभाहलमा ३ हजार प्रतिनिधिहरु रहनेछन् भने हलको दायाँ वायाँको खाली हलहरूमा १/१ हजार प्रतिनिधिहरूको लागि बस्ने प्रबन्ध गरिएको छ ।

    हलको दायाँ वायाँका प्यासेजहरुको माथिल्लो खाली भागमा टेन्ट टाँगेर थप आवश्यक पर्न सक्ने १-१ हजार क्षमताका हल निर्माण गरिएको छ । समूह गत छलफलका लागि पनि व्यवस्थित स्थानहरु तय गरिएको बताइएको छ।

    महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, गाडीका चालकहरू सबैको लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमै व्यवस्थापन गरिएको बताइएको छ ।

    महाधिवेशन अवधिभर हरेक दिन विहान ९ देखि ११ वजेसम्म खानाको समय छुट्याइएको छ । दिउँसोको लागि खाजाको प्याकेट प्रबन्ध गरिएको छ । र, साँझको खाना बसेकै स्थान वा आफ्नै व्यवस्थापनमा खाने व्यवस्था मिलाइएको छ ।

    निजी साधन नभएका प्रतिनिधि कमरेडहरुको लागि ललितपुरस्थित सात दोबाटोमा झण्डासहित बसहरुको व्यवस्था गरिनेछ । ट्राफिक तथा पार्किङको पनि यथासंभव व्यवस्थापन गरिएको बताइएको छ।

    महाधिवेशन सम्पन्न गर्नको निम्ति अनेरास्ववियू, युवा संघ नेपाल, जिफन्ट र खेलकुद महासंघबाट २ सयको संख्यामा स्वयंसेवकहरूको व्यवस्था गरिएको बताइएको छ।

    कोरोना महामारीप्रति संवेदनशील हुँदै मास्क, सेनिटाइजरको प्रयोग र थर्मल गनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको बताइएको छ। मिडियाको लागि महाधिवेशनमा सहभागी हुन छुट्टै पासको प्रबन्ध आवश्यक नपर्ने र मिडिया सेन्टरबाट टिभी क्यामेराले लाईभ गर्न सक्ने व्यवस्था मिलाइएको बताइएको छ।

  • संसद सुचारु गर्न एमालेलाई सर्वदलीय बैठकको आग्रह (भिडिओ)

    संसद सुचारु गर्न एमालेलाई सर्वदलीय बैठकको आग्रह (भिडिओ)

    काठमाडौं । सर्वदलीय बैठकले संसद सुचारु गर्ने विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संघीय संसदमा अवरोध जारी रहँदा जनतासँग प्रत्यक्ष सरोकार राख्ने काममा बाधा पुग्ने भन्दै वार्ताबाट समाधान खोज्न एमालेलाई आग्रह गर्ने निर्णय गरेको हो ।

    बैठकपछि बाहिरिँदै सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संवादबाट निकास खोज्न एमाले तयार नहुनु दुःखद रहेको बताए । ‘यसअघि सभामुखले बोलाएको बैठकमा पनि प्रमुख प्रतिपक्ष आएन । आज प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउँदा पनि एमाले अनुपस्थित रह्यो ।

    यसबाट एमाले संवाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ । आजको बैठकमा संसदलाई निर्वाध र मर्यादित हिसाबले अगाडि बढाउन एमाले र मुख्य विपक्षी दलको नेताले सकारात्मक भूमिका खेल्नुपर्छ भन्ने धारणा व्यक्त भएको छ’, कार्कीले पत्रकारहरूसँग भने ।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षसँग निरन्तर संवाद गरिने बताएका थिए । ‘उहाँहरू आज आउनुभएन तर पनि म कुरा गर्छु । एमालेसँग निरन्तर छलफल गरेर निकास खोज्छौं’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै कार्कीले भने ।

    राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहमतिका लागि अग्रसरता लिन प्रधानमन्त्रीले अग्रसरता लिनुपर्यो भनी आग्रह गरेकैले बैठक बोलाइएको पनि कार्कीले जानकारी दिए ।

    आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने एमालेबाहेक दलका नेताहरू उपस्थित थिए ।

  • काठमाडौं महानगरका माओवादीका वडाध्यक्ष उम्मेदवार अमगाईँसहितको टोली एमाले प्रवेश

    काठमाडौं महानगरका माओवादीका वडाध्यक्ष उम्मेदवार अमगाईँसहितको टोली एमाले प्रवेश

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद अमगाईँसहित काठमाडौं महानगरका खेलकुद विकास समिति अध्यक्ष अरुण बस्नेतलगायतको समूह विहीबार एमालेमा प्रवेश गरेको छ ।

    एमाले काठमाडौंले तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजना गरेको कार्यक्रममा अमगाईँ र बस्नेतसहित काठमाडौंका ५५ जना माओवादी नेता कार्यकर्ता प्रवेश गरेको एमाले जिल्ला सचिव दीपक निरौलाले बताए ।

    नवप्रवेशीलाई एमालेका वागमती प्रदेश सहइन्चार्ज काशिनाथ अधिकारी, अरुण नेपाल, प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल, सचिव खेम लोहनी, काठमाडौं महानगर कमिटी अध्यक्ष निर्मल देउलालगायतले स्वागत गरेका थिए ।

    अमगाईँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादीबाट काठमाडौं महानगरपालिका वडा नम्बर १० को वडाध्यक्ष उम्मेदवार थिए । उनीसहित अन्य चारजना वडा सदस्यका उम्मेदवार पनि एमाले प्रवेश गरेका छन् ।

    अमगाईँले केपी ओलीको नेतृत्वमा मात्र मुलुक समृद्ध हुने देखेर आफूसहितको टोली एमालेमा लागेको बताए । उनीसहित महानगर सदस्य विमला थापा मगर, गोमा बराल, देवेन्द्र परियार, निर्मला परियार, विन्दा रखाललगायत ५५ जना एमाले प्रवेश गरेका हुन् ।

  • एमालेले छान्यो काठमाडौंबाट विधान महाधिवेशनमा भाग लिने २१ प्रतिनिधि (सूचीसहित)

    एमालेले छान्यो काठमाडौंबाट विधान महाधिवेशनमा भाग लिने २१ प्रतिनिधि (सूचीसहित)

    काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको नाम टुंगो लगाएको छ । बुधबार बसेको जिल्ला कमिटी बैठकले पार्टीले तोकेको मापदण्डअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट एक महिलासहित २० जना र दलित प्रतिनिधित्व समेत तोकेर टुंगो गलाएको सचिव दिपक निरौलाले बताए ।

    काठमाडौं जिल्ला इन्चार्ज कृष्णगोपाल श्रेष्ठसहित सहइन्चार्जहरू रामेश्वर फुयाल, नारायण सिलवाल, सुरेन्द्र मानन्धर र रुपनारायण श्रेष्ठसमेत उपस्थित भएको बैठकले विधान महाधिवेशनका प्रतिनिधि छनौट गरेको निरौलाले बताए ।

    अध्यक्ष कृष्ण राई र सचिव दीपक निरौलासहितका पदाधिकारी स्वतः विधान महाधिवेशनका प्रतिनिधि हुन्छन् । असोज २० गते जिल्ला कमिटी बैठक बोलाउने र २२ गते सबै कमिटीका पदाधिकारीको प्रशिक्षण भेला हुने उनाले बताए ।

    बैठकले सचिव निरौलाको संयोजकत्वमा पार्टी सम्पर्कमा नरहेका र नेकपा एसमा सनाखत गरेपछि निष्क्रिय रहेका जनप्रतिनिधिहरूसँग छलफल गरेर उनीहरुको भूमिका प्रष्ट पार्न कार्यदल गठन गरेको छ ।

    कार्यदलमा मणिराम फुयाल,तेज ढकाल, रामेश्वर बोहरा र केशरत्न बज्राचार्य रहेका छन् । सो कार्यदलले असोज २० गतेभत्रि प्रतिवेदन बुझाउनेछ ।

    एमालेको विधान महाधिवेशनमा प्रतिनिधित्व गर्ने १० वटा निर्वाचन क्षेत्रका प्रतिनिधि क्षेत्र नम्बर १ देखि १० सम्म क्रमशः यस प्रकार छन् ।

    १. धन ब. अछामी

    २. श्रृजन शर्मा

    ३. विश्वराज श्रेष्ठ

    ४. तेज ढकाल

    ५. मोहन विष्ट

    ६. विश्वनाथ लामिछाने

    ७. विश्वराम सापकोटा

    ८. नीमा ध्याम्चो लामा

    ९. अनन्त सिग्देल

    १०. जनक रिजाल

    महिला

    १. विष्णु भुसाल

    २. हिरादेवी पोखरेल

    ३. तारा पुडासैनी

    ४. अन्जु शर्मा

    ५. अनिता लामा

    ६. विन्दा बुढाथोकी

    ७. गिता थिङ

    ८. विजयलक्ष्मि शाही

    ९. रति जोशी

    १०.विन्दु महर्जन

     

    उत्पिडित समुदाय

     संगम गहतराज

  • एमालेको प्रदेश १ कमिटीले पायो पूर्णता, माओवादी छाडेकाहरू समेटिए (सूचीसहित)

    एमालेको प्रदेश १ कमिटीले पायो पूर्णता, माओवादी छाडेकाहरू समेटिए (सूचीसहित)

    काठमाडौं । नेकपा एमालेले प्रदेश नम्बर १ को संगठन कमिटीलाई पूर्णता दिएको छ । पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेकाहरूलाई हटाएर, माधव नेपाल छाडेर एमालेमै बसेकाहरूलाई समेटेर ५८४ सदस्यीय प्रदेश कमिटी गठन गरिएको छ ।

    प्रदेश कमिटीको अध्यक्षमा देवराज घिमिरे छन् भने सचिवमा विनोद ढकाल छन् । १० बुँदे सहमतिबमोजिम तलका कमिटीहरूलाई जेठ २ अघिकै अवस्थामा फर्काएर प्रदेश कमिटीलाई पूर्णता दिइएको सचिव ढकालले बताए ।

    माओवादीबाट एकता प्रक्रियामा एमालेमा रहेका विभिन्न जिल्लाका नेताहरूलाई प्रदेश कमिटीमा समेटिएको छ । ओखलढुंगाका बालकृष्ण ढुंगेल, सुरेश थापा, केशव ढुंगेललगायत पूर्वमाओवादी नेताहरू एमालेको प्रदेश कमिटीमा समेटिएका छन् । नेकपा एकता बदर भएपछि माओवादीबाट एमालेमै बसेका ताप्लेजुङका पूर्व सभासद सञ्चपाल मादेन,पाँचथरका पूर्व सांसद श्रीप्रसाद जगेबुसहितका नेता पनि प्रदेश कमिटीमा समेटिएका छन् ।

    विधान महाधिवेशशनमा प्रदेश कमिटीका सबै सदस्यहरू सहभागी हुने भएकाले पूर्णता दिइएको हो ।

    एमालेको प्रदेश १ कमिटीको सूची यसप्रकार छ:-