Tag: नेकपा

  • नेपाल बन्दको प्रचारमा विप्लव माओवादीको मसाल जुलुस (तस्बिरहरू)

    नेपाल बन्दको प्रचारमा विप्लव माओवादीको मसाल जुलुस (तस्बिरहरू)

    काठमाडौं । पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध भोलि नेपाल बन्दको घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस निकालेका छन् ।

    कात्तिक २५ देखि चरणबद्ध आन्दोलनको घोषणा गरेको विप्लव नेकपाका कार्यकर्ताले काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा मसाल जुलुस निकालेका हुन् ।

    मूल्यवृद्धिबाट उपभोक्ता मारमा पर्ने भन्दै नेकपाले जनसरोकारको विषयमा मुकदर्शक भएर हेरिरहन नसक्ने भन्दै विप्लव नेकपाले विरोध गरेको छ । उसले मुल्यवृद्धि फिर्ता लिन पनि आग्रह गरेको छ ।

    काठमाडौंको डिल्ली बजारबाट पुतलीसडक चोकसम्म निस्किएको मसाल जुलुसका केही तस्बिरहरू:

  • प्रचण्डले भने- मेरो कारण नेकपा खारेज भएको भन्ने ओलीको अभिव्यक्ति भ्रामक र षडयन्त्रपूर्ण

    प्रचण्डले भने- मेरो कारण नेकपा खारेज भएको भन्ने ओलीको अभिव्यक्ति भ्रामक र षडयन्त्रपूर्ण

    काठमाडौं । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कारण नेकपा एकताको प्रयास असफल भएको भन्ने प्रधानमन्त्री केपी ओलीको भनाइ षडयन्त्रपूर्ण रहेको बताएका छन् ।

    प्रचण्डले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको भर्त्सना गरेका छन् । ट्वीटर ह्याण्डलबाट आफ्नो प्रष्टीकरण दिदै प्रचण्डले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आइतबार राति एमाले एकताको लागि माधव पक्षलाई आह्वान गर्दै अदालतले नभएर नेकपाको एकता प्रचण्डको कारण खारेज भएको बताएका थिए ।

    अदालतको आदेशपछि १५ दिनभित्र नयाँ नाम लिएर निर्वाचन आयोगमा जानका लागि आफूले आग्रह गर्दा प्रचण्डले नमानेको ओलीले बताएका थिए ।

    ओलीको सो अभिव्यक्तिलाई लिएर प्रचण्ड र माधव नेपालबीच पनि आज कुराकानी भएको थियो ।

  • स्वास्थ्यमन्त्रीलाई एमाले स्वास्थ्य विभागले दियो कोरोना नियन्त्रणसम्बन्धी दर्जन बढी सुझाव

    स्वास्थ्यमन्त्रीलाई एमाले स्वास्थ्य विभागले दियो कोरोना नियन्त्रणसम्बन्धी दर्जन बढी सुझाव

    काठमाडौं । नेकपा (एमाले)को स्वास्थ विभागले सरकारका मन्त्रीहरुलाई भेटी कोरोना नियन्त्रण सम्बन्धी दर्जन बढी सुझाव दिएको छ ।

    बुधबार विभागका तर्फबाट पूर्व स्वाथ्यमन्त्री समेत रहेका खगराज अधिकारी नेतृत्वको टोलीले उप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीलाई भेटेर ती सुझाव दिएका हुन् ।

    यस्ता छन् सुझाव

    १) स्वास्थ मन्त्रालयले १० देखी १५ वटाअपरेटरहरू राखी वेड, औषधी, अक्सिजन लगायतका सूचना पाउने र टोल फ्री लाइन व्यस्त नबनाउने

    २) वेड, आइसीयू, भेन्टिलेटरको सूचना अनलाइनमा अद्यावधिक गर्ने

    ३) जनस्वास्थ विपद घोषणा गर्ने, देशी विदेशी सहयोगको लागि अपील गर्ने

    ४) काठमाण्डौंमा एउटा र मोफसलमा एउटा लिक्विड अक्सिजन उद्योग खोल्ने र पहल गर्ने

    ५) अक्सिजनको खरीद, वितरण र प्रयोग प्रभावकारी बनाउने, प्लान्ट राख्न नसकिने ठाँउमा कन्सनट्रेटर ​पठाउने

    ६) औषधी र मेडिकल ​सामाग्रीको वितरण माग अनुसार गर्ने

    ७) औषधी र कच्चा पदार्थकोआयात अनुमति मागेका कम्पनीलाई सहज तरिकाले अनुमति दिने

    ८) वीर अस्पताललाइ एकीकृत कमान्ड अस्पतालका रूपमा सञ्चालन गर्ने

    ९) ऊच्चतहको अध्यनको तयारी गरेका चिकित्सक र स्वास्थ कर्मीहरूलाई काममा लगाउन प्रोत्साहन दिने

    १०) सही सूचना प्रवाह गर्न मिडिया काउन्सिललाई आफ्ना सदस्यहरूलाई सचेत पार्न आदेश दिने

    ११) प्रोजेक्सन गरी साप्ताहिक योजना लागू गर्ने

    १२) खोपका लागि विश्वव्यापी पहल गर्ने

    १३) ‘कन्ट्याक्ट ट्रेसिङ’ का लागि नेपाल टेलीकम र एनसेललाइ प्रयोग गर्ने

  • विप्लव नेकपामा विभाजन, धमलाको नेतृत्वमा जन-समाजवादी मञ्च गठन

    विप्लव नेकपामा विभाजन, धमलाको नेतृत्वमा जन-समाजवादी मञ्च गठन

    काठमाडौं । अन्तर्राष्ट्रिय मजदूर दिवसकै दिन पारेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा विद्रोह भएको छ । सरकारसँग वार्तामार्फत शान्ति प्रक्रियामा आएको एक महिना नबित्दै त्यस पार्टीका पोलिटव्यूरो सदस्य कृष्णप्रसाद धमला (कमरेड गम्भिर)को नेतृत्वमा नयाँ समूह गठन भएको हो ।

    सो समूहले शनिवार विज्ञप्ति जारी गरी गम्भिरको नेतृत्वमा हिमाल,पहाड,तराइ मधेश सबैका प्रतिनिधित्व सहित ५१ सदस्यीय जन समाजवादी मञ्च नेपालको स्थापना गरिएको जनाएको छ ।

    कोरोना लहरका कारण औपचारिक कार्यक्रम गर्न नसकिएको भन्दै धमलाले कोरोना कहरबाट छुटकारा पाउने लडाइमा होमिन आग्रह गरेका छन् ।

    विज्ञप्तिमा आन्दोलनले नेतृत्वलाई उचाइमा पुर्याउने तर नेतृत्वले नै जनता र क्रान्तिलाई धोखा दिएको भन्दै विप्लवको नाम नलिई अशन्तुष्टि व्यक्त गरिएको छ ।

  • माधव–प्रचण्डको सर्कुलर पछि झिकियो नेकपाको खाताबाट ३० लाख रकम

    माधव–प्रचण्डको सर्कुलर पछि झिकियो नेकपाको खाताबाट ३० लाख रकम

    कैलाली । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद बढेपछि धनगढीस्थित कृषि विकास बैङ्कको खातामा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ३० लाख रकम केन्द्रकै सर्कुलरपछि झिकिएको खुलेको छ ।

    कृषि विकास बैंकको ८२२५०१२६५४७७०१४ नम्बरको खातामा रहेको ३० लाख रकम १३ पुसमा गोप्य रुपमा झिकिएको थियो ।

    साबिक नेकपा प्रदेश अध्यक्ष कर्ण थापा, सचिव नेप बहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको हस्ताक्षर मध्ये कुनै दुई जनाको हस्ताक्षरले खाता सञ्चालन हुन सक्ने व्यवस्था गरिएको थियो ।

    पार्टीमा विवाद बढेपछि केन्द्रको निर्देशमा पार्टी सचिव चौधरी र कार्यालय सचिव सुबेदीले उक्त रकम झिकेका हुन् । १३ गते रकम झिकेर ७ दिन सम्म सम्म सुवेदीको ०८२१९०१२७५८७६०१७ नम्बरको खातामा राखेका थिए ।

    नेकपामा विवाद बढेपछि तत्कालिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले लिखित रूपमा सम्पत्तिको संरक्षण गर्न सर्कुलर गरेका थिए । उक्त सर्कुलर अनुसार रकम झिकिएको एमाले स्रोत बताउँछ ।

    ७ दिन सम्म उक्त रकम सुबेदीकै खातामा रह्यो । २० पौषमा सुबेदी र चौधरीको नाममा नेपाल बैङ्क लिमिटेडको बचत खाता नम्बर १३७०१००६९४६४०६०००००१ रकम जम्मा गरिएको थियो ।

    अहिले सुबेदी र चौधरी सहित एमालेमा माधव समूहका प्रदेश अध्यक्ष भानुभक्त जोशी गरी ३ जनाको संयुक्त रूपमा खाता छ ।
    १३ पौषमा कृषि विकास बैङ्कबाट रकम रकमान्तर गरेको र २० पौषमा नयाँ खातामा रकम जम्मा गरेको विषयलाई प्रदेश पदाधिकारीको बैठकले समेत अनुमोदन गरिसकेको छ ।

    ८ माघमा प्रदेश पार्टी कार्यालयमा बसेको बैठकले उक्त विषय अनुमोदन गरेको हो । बैठकमा तत्कालीन इन्चार्ज भीम रावल, सह इञ्चार्ज लक्ष्मण दत्त जोशी र सचिव नेप बहादुर चौधरी थिए ।

    उक्त बैठकमा तत्कालीन सह इन्चार्ज भानुभक्त जोशी र अध्यक्ष कर्ण थापा भने थिएनन् ।‘८ गतेको बैठकले पार्टीको रकम व्यक्तिको खातामा हुँदै नयाँ खातामा राखेको विषय अनुमोदन गरेको हो’ एमाले स्रोतले भन्यो ‘सबै कुरा केन्द्रकै निर्देशनमा भएको थियो ।’

    उक्त रकम एमाले र माओवादीका सांसद तथा मन्त्रीहरुबाट उठाइएको लेबी रहेको बताइएको छ ।‘सांसदबाट मासिक ८ हजार ५ सय र मन्त्रीहरूबाट मासिक १० हजार रकम उठाइँदै आएको थियो’ स्रोतले भन्यो ‘कसैले दिए कसैले दिएनन् ।’

    रकमान्तर र नयाँ खाता निर्माणमा भीम रावलको कुनै भूमिका नरहेको पार्टी सचिव दिनेश चन्द्र सुबेदी बताउँछन् ।
    ‘उहाँको त हस्ताक्षर नै चल्दैन । कसरी उहाँको भूमिका हुन्छ’ उनले भने ‘पार्टीको निर्णय अनुसार पार्टीको सम्पत्ति सुरक्षित गर्न यसो गरिएको हो ।’

  • प्रचण्डको पुनरावलोकन निवेदनमाथि निस्सा दिने नदिनेबारे आज सर्वोच्चले निर्णय गर्ने

    प्रचण्डको पुनरावलोकन निवेदनमाथि निस्सा दिने नदिनेबारे आज सर्वोच्चले निर्णय गर्ने

    काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल पचण्डले दायर गरेको पुनरावलोकन निवेदनमाथि निस्सा दिने/नदिनेबारे आज सर्वोच्च अदालतले निर्णय गर्दैछ ।

    एमाले-माओवादीलाई पुरानै अवस्थामा फर्काउने फैसला गत फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले गरेको थियो ।

    त्यसको विरुद्धमा माओवादी अध्यक्ष प्रचण्डले मंगलबार पुनरावलोकनको निवेदन दिएका थिए ।

    यहि निवेदनअनुसार आज सर्वोच्चले मुद्दा अगाडि बढाउने/नबढाउनेबारे टुंगो लगाउनेछ । सर्वोच्चले आज निस्सा प्रदान गरेको अवस्थामा मात्र यो मुद्दाको सुनुवाई अगाडि बढ्नेछ ।

     

  • प्रचण्डको निवेदनलाई निस्सा दिने कि नदिने भन्नेबारे बिहीबार निर्णय हुने

    प्रचण्डको निवेदनलाई निस्सा दिने कि नदिने भन्नेबारे बिहीबार निर्णय हुने

    काठमाडौं । एमाले र माओवादीलाई पूर्ववत अवस्थामै फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी अध्यक्ष प्रचण्डले दायर गरेको पुनरावलोकन निवेदनलाई निस्सा दिने कि नदिने भन्ने बारेमा बिहीबार निर्णय हुने भएको छ ।

    प्रचण्डले दर्ता गरेको पुनरवलोकनको निवेदनलाई अघि बढाउने वा नबढाउने निर्णय सर्वोच्चले गर्न बाँकी छ । त्यसका लागि बिहीबार सुनुवाइ हुन लागेको सर्वोच्च प्रशासन स्रोतले जनाएको छ ।

    सर्वोच्चले सो निवेदनमाथि पुनरावलोकनको निस्सा दियो भने मुद्दा अघि बढ्नेछ ।

    सर्वोच्च स्रोतले भन्यो, ‘न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फागुन २३ मा गरेको फैसलामाथि न्यायिक पुनरावलोकन हुने कि नहुने भन्ने निर्णय गर्न बिहीबारलाई सुनुवाइ तोकेको छ । पुनरावलोकन प्रक्रिया अघि बढ्न पनि सक्छ, नबढ्न पनि सक्छ ।’

  • प्रचण्डको निवेदन- सर्वोच्चको फैसलाले केपी ओलीको राजनीतिक अभिष्ट पूरा गरिदियो (पूर्णपाठ)

    प्रचण्डको निवेदन- सर्वोच्चको फैसलाले केपी ओलीको राजनीतिक अभिष्ट पूरा गरिदियो (पूर्णपाठ)

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको एकता बदर गर्ने फैसलाले केपी ओलीको अभिष्ट पूरा गर्न खोजेको आरोप लगाएका छन् ।

    फागुन २३ को फैसलाविरुद्ध न्यायिक पुनरावलोकन निवेदनमा प्रचण्डले ओलीको नाम नलिई सो फैसलाले कसैको राजनीतिक अभिष्ट पूरा गरिदिएको र कसैलाई असहज बनाइदिएको बताएका छन् ।

    रिट निवेदनमा भनिएको छ, ‘कसैको राजनीतिक अभिष्ट पूर्तिको लागि स्वतन्त्र न्यायालयबाट यस्तो इन्साफ हुने हो भने मुलुकमा अराजकताबाहेक केही पनि र कोही पनि बाँकी रहने छैन । त्यसको प्रत्यक्ष प्रभावको भागीदार स्वयं अदालत बन्नुपर्ने स्थिति आउन सक्छ ।’

    प्रचण्डले फैसलाले कसैलाई सहज र कसैलाई असहज परिस्थिति सिर्जना गरेको भन्दै रिटमा सो फैसला पुनरावलोकन हुनुपर्ने माग गरेका छन् ।

  • कोटेश्वरमा प्रचण्ड-माधव छलफल, एमाले-माओवादी ब्युँताउने फैसलाविरुद्ध पुनरावलोकनमा जाने

    कोटेश्वरमा प्रचण्ड-माधव छलफल, एमाले-माओवादी ब्युँताउने फैसलाविरुद्ध पुनरावलोकनमा जाने

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच बिहीबार पनि छलफल चलेको छ । कोटेश्वरस्थित व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा प्रचण्ड, माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच बैठक भएको स्रोतले जनाएको छ ।

    सर्वोच्च अदालतले नेकपा बदर गरी एमाले र माओवादीमा फर्काइदिएपछि पेरिसडाँडामा अन्तिम स्थायी कमिटी बैठक गरेर छुट्टिएका नेताहरूबीच यसबीचमा बैठक र छलफल भने चलिरहेका छन् ।

    सर्वोच्चको फैसलाविरुद्ध प्रचण्ड शुक्रबार न्यायिक पुनरावलोकनमा जाँदैछन् । यसका लागि माधव नेपालनिकट वरिष्ठ अधिवक्ता शम्भु थापाले पुनरावलोकनको फिराद लेख्नेलगायतका सबै काम गरिरहेका छन् ।

    एमालेको माधव नेपाल पक्षले सर्वोच्चको फैसला राजनीतिक र अचम्मको भएको टिप्पणी गर्दै न्यायिक पुनरावलोकन हुनुपर्ने बताइरहेको छ । यसै सन्दर्भमा छलफल गर्न नेताहरूबीच बैठक भएको प्रचण्डनिकट स्रोतले जनाएको छ ।

    प्रतिनिधिसभा पुनःस्थापनाको एक महिना बितिसक्दा पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन कांग्रेस अग्रसर नभएपछि प्रचण्ड-माधव पक्ष झस्किएको छ । विदेशी शक्तिले कांग्रेस र जसपालाई ओली हटाउनबाट रोकेको आशंका प्रचण्ड-माधवको छ ।

    सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरेको दिन चितवनमा रहेका प्रचण्ड र माधव नेपाल फागुन १२ गतेको आमसभा छाडेर काठमाडौं फर्की सीधै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए ।

    देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेपनि उनी हतारिएनन् । त्यसैबीचमा एमाले र माओवादी ब्युँतिएपछि प्रचण्ड-माधव पक्ष कमजोर बनेको छ । देउवाले सरकार परिवर्तनका लागि अग्रसरता लिएका छैनन् ।

    माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र जसपाले निर्णय नगरेको अवस्थामा देउवा सत्ता समीकरणको खेलमा नलाग्ने भएका छन् । माओवादी भने अविश्वास प्रस्तावमा कांग्रेस जसपा तयार नभएसम्म समर्थन फिर्ता लिँदा केपी ओली झन् बलियो बन्ने आशंकाले रोकिएको छ ।

    माधव नेपाल पक्षले ओलीलाई सत्ताबाट हटाउन सक्दा एमालेमा उनको प्रभाव कम गर्न सकिने भएकाले अविश्वास प्रस्तावमा जसपालाई सहमत गराउन प्रयास गरिरहेको छ ।

    यसबीचमा प्रचण्ड र माधव नेपालबीच पटक-पटक छलफल भए पनि विपक्षी दलहरू ओली हटाउन तयार नहुँदा संकटमा परेका छन् ।

  • एमाले-माओवादी ब्युँताउने फैसलाविरुद्ध प्रचण्ड न्यायिक पुनरावलोकनमा जाने, नेकपामै फर्काउन माग

    एमाले-माओवादी ब्युँताउने फैसलाविरुद्ध प्रचण्ड न्यायिक पुनरावलोकनमा जाने, नेकपामै फर्काउन माग

    काठमाडौं । नेकपा खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलकोनमा जाने भएको छ ।

    मंगलबार सिंहदरबारमा बसेको माओवादी स्थायी कमिटी बैठकले एमाले र मा‌ओवादी केन्द्र ब्युँताउने फागुन २३ को अदालतको फैसलाको पुनरावलोकन गरी नेकपामै फर्काउन माग गर्ने निर्णय गरेको हो ।

    माओवादी केन्द्रीय कमिटी बैठकले पनि पुनरावलोकनमा जाने यसअघि नै निर्णय गरिसकेको छ ।

    मंगलबार बिहान शीर्ष नेतृत्वले पुनरावलोकनमा जाने विषयमा कानून व्यवसायीहरूसँग छलफल गरेको थियो ।

    कानून व्यवसायीहरूले सुझाव अनुसार चाँडै पुनरावलोकनमा जाने प्रमुख सचेतक देव गुरुङले बताए ।

  • सन्ध्या तिवारी भन्छिन्- सर्वोच्चको फैसला स्वीकार्छौं तर ओली नेतृत्वको एमालेमा मिसिंदैनौं

    सन्ध्या तिवारी भन्छिन्- सर्वोच्चको फैसला स्वीकार्छौं तर ओली नेतृत्वको एमालेमा मिसिंदैनौं

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता विवाद समाप्त गर्दै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने गरी हिजो फैसला गर्‍यो ।

    यो फैसलाले हाल निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्रका नाममा दर्ता रहेका दुई पार्टी खारेज हुने भएका छन् ।

    अहिले सन्ध्या तिवारीको नेतृत्वमा रहेको एमाले र गोपाल किराँतीको नेतृत्वमा माओवादी केन्द्रको नाम दर्ता छ । सर्वोच्चको फैसलापछि यी दुवै समूहले पार्टीको नाम फेर्छन् वा अदालतको ढोका ढक्ढकाउँछन् भन्ने प्रश्न उब्जिएको छ । तेस्रो विकल्प भनेको किराँती प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा र तिवारी ओली नेतृत्वको एमालेमा समाहित हुने हो ।

    यस विषयमा नेपाल प्रेस ले आयोगमा दर्ता एमालेकी अध्यक्ष तिवारीलाई प्रश्न गर्दा उनले सर्वोच्चको फैसला स्वीकार गर्ने बताइन् । तर, आफूहरू केपी ओली नेतृत्वको एमालेमा समाहित नहुने उनको भनाइ छ ।

    ‘हामीलाई अदालतको फैसलामा कुनै गुनासो छैन, पार्टीको नाम फेर्ने प्रक्रिया अगाडि बढाउनेछौं,’ तिवारीले भनिन् ।
    यस विषयमा छलफल गर्न आज उनको समूहको वैठक बसेको थियो । बैठकमा नाम फेर्नेबारे छलफल भएको तर नयाँ नाम प्रस्तावित नभइसकेको तिवारीले बताइन् । अदालतबाट अहिलेसम्म नाम परिवर्तन गर्नुपर्ने विषयमा आफूलाई कुनै पत्राचार नभइसकेको उनले बताइन् ।

    ‘तपाईंहरूले आखिर एमाले नै चाहनुभएको थियो, जुन ब्युँतिसकेको छ, फेरि अलग पार्टी किन चाहियो त ?’ भन्ने प्रश्नमा तिवारीले स्पष्ट जवाफ दिइनन् ।

    ‘हाम्रो आफ्नै विचार छ, संगठन छ, त्यसैले छुट्टै अगाडि बढ्नेछौं’, उनले भनिन् ।

  • प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक बस्दै

    प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक बस्दै

    काठमाडाैं । नेकपा पार्टीलाई नै सर्वोच्च अदालतले मान्यता दिन अस्वीकार गरेपछि छलफलका लागि प्रचण्ड-माधव पक्षका शीर्ष नेताहरुकाे बैठक आज बस्दैछ ।

    प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सर्वोच्च अदालतको पछिल्लो फैसला बारे छलफल गर्न बैठक बिहान ११ बजे बोलाइएको हो।

    ‘सर्वोच्च अदालतको एउटा इजलासले आज हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बारेमा गरेको फैसला , त्यसको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा  ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीको बैठकबाट निर्णय लिइनेछ’ बैठकबारे उनले भने।

    सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपालाई दिएपछि सत्ताधारी नेकपाको एकीकरण संकटमा परेको छ। साविककै एमाले र माओवादी केन्द्र ब्युँतिने फैसला अदालतको छ।

  • साबिक एमालेको प्रतिक्रिया- फैसलाले सही ठाउँमा पुर्‍यायो

    साबिक एमालेको प्रतिक्रिया- फैसलाले सही ठाउँमा पुर्‍यायो

    काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएर एमाले माओवादी ब्युँताइदिएलगत्तै साबिक एमालेले यसलाई स्वागत गरेको छ ।

    केपी ओली नेतृत्वको नेकपाका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्चको फैसलाले नेकपाको जारी विवादलाई सकारात्मक ढंगले समधान गर्न मद्दत पुगेको प्रतिक्रिया दिएका छन् ।

    नेपाल प्रेस सँग कुरा गर्दै ज्ञवालीले भने, ‘फैसलाले हामीलाई २०७५ जेठ ३ अघिको अवस्थामा फर्काइदिएको छ । अब एकता गर्ने हो भने नयाँ आधारबाट शुरू हुनुपर्छ । पुरानो एकताले कम्युनिष्‍ट आन्दोलनलाई अघि बढाउन सकेन । यो फैसलाले सकारात्मक निकास दिएको छ ।’

    ज्ञवालीले अब माओवादीसँग पुनः एकता गर्ने हो भने राजनीतिक, वैचारिक, संगठनात्मक र नेतृत्वका सबै विषयमा नयाँ ढंगले छलफल गर्नुपर्ने हुन्छ । यो फैसलाले हामीलाई सही ठाउँमा पुर्‍याएको छ । अरु कुरा विस्तृत फैसला हेरेपछि मात्र भन्छौं ।’

  • एमाले-माओवादी एकता बदर, फेरि मिल्ने भए आयोग जान परमादेश

    एमाले-माओवादी एकता बदर, फेरि मिल्ने भए आयोग जान परमादेश

    काठमाडौं । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आधिकारिकता दिएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता पनि बदर भएको छ ।

    सर्वोच्चको फैसलामा आयोगले एकीकरणको मान्यता दिनुपूर्वकै दलहरु नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) अस्तित्वमा रहेको उल्लेख गरिएको छ ।

    यी दुई पार्टी २०७५ जेठ ३ गते एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी बनेका थिए ।

    सर्वोच्चको फैसलामा ती दलहरू अब उप्रान्त एकताका लागि तयार भएमा राजनीतिक दलसम्बन्धी ऐन तथा प्रचलित कानून बमोजिम गर्न गराउन निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरेको छ ।

  • प्रचण्ड-माधव पक्षीय नेकपा संसदीय दलको बैठक बस्दै

    प्रचण्ड-माधव पक्षीय नेकपा संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) को संसदीय दलको बैठक बस्ने भएको छ। बैठक दिउँसो एक बजे सिंहरदबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।

    प्रमुख सचेतक देव गुरुङले बैठकमा ओलीपक्षीय सांसदहरूलाई पनि आमन्त्रित गरिएको बताए ।

    विभाजित नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षले पनि शनिबारका लागि संसदीय दलको बैठक डाकेको छ। शनिबार दिउँसो सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बोलाइएको बैठकमा प्रचण्ड-माधव पक्षलाई समेत बोलाइएको छ।

    सबै सांसदहरुलाई एसएमएसमार्फत आमन्त्रण गरिएको प्रमुख सेचतक विशाल भट्टराईले जानकारी दिए।

    संघीय संसदमा सग्लो नेकपाका १७४ सांसद छन् ।

  • सुवास नेम्वाङले भने- निर्वाचन आयोगले मान्यता दिएको नेकपाको बैठक बसेको छैन

    सुवास नेम्वाङले भने- निर्वाचन आयोगले मान्यता दिएको नेकपाको बैठक बसेको छैन

    काठमाडौं । नेकपा संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले नेकपाको कुनै बैठक नै नबसेको भन्दै आफू लगायत कतिपय नेताहरुमाथि कारबाही भनी आएको प्रचारबारे अनभिज्ञता प्रकट गरेका छन् ।

    प्रचण्ड-माधव पक्षीय नेकपा केन्द्रीय कमिटी बैठकले नेम्वाङसहित महेश बस्नेत, कर्ण थापा, शान्ता चौधरी, सूर्य थापा, विशाल भट्टराईलगायतका ७ जना नेतालाई केन्द्रीय सदस्यबाट निलम्बनको घोषणा गरेको थियो । प्रचण्ड-माधव पक्षले नेम्वाङलाई दलको नेताबाट राजीनामा गर्न निर्देशन समेत दिएको थियो ।

    सो घोषणाबारे आफू जानकार नभएको भन्दै नेम्वाङले निर्वाचन आयोगले मान्यता दिएको नेकपाको तर्फबाट यसबीचमा कुनै बैठक नै नबसेको बताए । संसदीय दलको आफू निर्वाचित उपनेता रहेको र दलको नेता केपी शर्मा ओलीले बैठक बोलाएको आफूलाई थाहा नभएको नेम्वाङले बताए ।

    नेपाल प्रेससँग कुरा गर्दै नेम्वाङले भने, ‘निर्वाचन आयोगले नेकपाको मुख्य पदाधिकारीका रुपमा प्रथम अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेललाई पदाधिकारी मानेको छ । अध्यक्षको निर्देशनमा महासचिवले बोलाउने बैठक बाहेक अरु चिन्दैनौं भनेर आयोगले भनिसकेको अवस्थामा पार्टीको तर्फबाट कुनै बैठक नै बसेको छैन ।’

    नेम्वाङले संसद सचिवालयलगायत सक्षम (लेजिमेट) निकायबाट आफूहरुलाई कुनै सोधपुछ नभएको भन्दै कथित कारबाहीका निर्णय कसरी कहाँबाट भए भन्ने आफूलाई जानकारी नभएकाले कुनै टिप्पणी गर्न लायक विषय नै नरहेको बताए ।

  • विप्लवसँग वार्ता– कांग्रेसको स्वागत, प्रचण्ड माधव पक्षको प्रश्न (भिडियो)

    विप्लवसँग वार्ता– कांग्रेसको स्वागत, प्रचण्ड माधव पक्षको प्रश्न (भिडियो)

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्ने सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वागत गरेको छ । सरकारले विप्लव नेतृत्वकाे नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गर्नु सकारात्मक भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

    वार्ता सकारात्मक भए पनि सरकार र विप्लव  नेतृत्वकाे नेकपा दुवैले प्रचार वा शक्तिसञ्चयको विषय बनाउन नहुने शर्माको भनाइ छ । ‘शान्तिपूर्ण राजनीति नै निकास हो । त्यसका लागि सार्थक पहल भएको हो भने स्वागतयोग्य छ । तर प्रचारबाजी गर्ने र शक्तिसञ्चय गर्ने प्रयास मात्रै हो भने त्यसको परिणाम सुखद हुनेछैन’, शर्माले भने ।

    त्यस्तै नेकपा प्रचण्ड–माधव पक्षका नेता गंगालाल तुलाधरले भने सरकारले समस्या समाधान गर्न नभई रणनीतिक रुपमा वार्ताको ‘प्रपञ्च’ रचिएको बताए । संसद विघटनको कदम असफल भइसकेपछि जनताको ध्यान मोड्न प्रधानमन्त्रीले नयाँ प्रयोग गरेको तुलाधरको टिप्पणी छ ।

    ‘बृहत्तर शान्तिको पक्षमा हो भने हामी सबै खुशी हुन्छौं तर यो वार्ता एक प्रपञ्च हो जस्तो लाग्दैछ । आफ्नो असफलता छोप्न शान्तिप्रक्रियाको प्रपञ्च गरिएको हो भन्ने लाग्छ’, तुलाधरले भने ।

  • प्रचण्डको दाबी- केपीको एउटा सेटिङ सकियो, निर्वाचन आयोगवाला सेटिङ भत्किँदै छ (भिडियो)

    प्रचण्डको दाबी- केपीको एउटा सेटिङ सकियो, निर्वाचन आयोगवाला सेटिङ भत्किँदै छ (भिडियो)

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको मान्यता र सूर्य चिन्ह आफूले नै पाउने दाबी गरेका छन्।

    सोमबार पेशागत महासंघको एकता घोषणा सभालाई राजधानीमा सम्बोधन गर्दै प्रचण्डले सर्वोच्चले आफूहरूको पक्षमा फैसला गर्ने भनेर आफूले भनेको र त्यसै अनुसार भएको भन्दै पार्टीको आधिकारिकता पनि आफूहरूले पाउने दाबी गरे।

    ‘मैले भनेको थिएँ-सर्वोच्चले फैसला जनताको पक्षमा नै गर्छ । अर्को हुनै सक्दैन भनेर सार्वजनिक मञ्चबाट भन्ने गर्थे । मैले कुनै सेटिङ गरेर भनेको होइन’ प्रचण्डको भनाइ छ, ‘अहिले पनि निर्वाचन आयोगसँग भएको पटक-पटक छलफल, जनभावना र राजनीतिक दल सम्बन्धी ऐनका आधारमा भन्छु- पार्टीको मान्यता हामीले पाइ नै सक्यौं । सूर्य चिन्ह हामीले पाइ नै सक्यौं । अब खाली घोषणा हुन बाँकी मात्रै हो ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सर्वोच्चमा सेटिङ छ भनेर भ्रम छरेको अरोप लगाउँदै प्रचण्डले अब निर्वाचन आयोगवाला सेटिङ पनि भत्किने दाबी गरे ।

    ‘अब अर्को सेटिङ पनि भत्किँदै छ, निर्वाचन आयोगवाला सेटिङ’ प्रचण्डले भने, ‘हेर्नुहोला मैले त्यत्तिकै भनेको होइन । मैले बुझेर भन्दैछु । केही समयभित्रै निर्वाचन आयोगले यो उहाँहरूको आधिकारिक पार्टी होइन, आधिकारिक पार्टी बहुमतवाला पार्टी नै हो । सूर्य चिन्ह र नाम हाम्रै हो भन्ने फैसला हुन्छ । एक इन्च पनि शंका गर्नु पर्दैन । म यो कुरा विश्वासका साथ भन्न सक्छु ।’

    उनले ओलीको सेटिङको भ्रममा परेका कार्यकर्ता पनि विस्तारै फर्किन लागेको दाबी गरे । प्रचण्डले भने, ‘उहाँहरूले भन्नुभएको थियो, सेटिङ गरेका छौं, भइहाल्छ अब । सर्वोच्चले त हाम्रै अनु्सार गर्छ भनेर देशभरि अभियान चलाउनुभयो । धेरै मान्छे सेटिङको भ्रममा लागेका थिए । अब विस्तारै फर्किँदै हुनुहुन्छ साथीहरू ।’

    प्रचण्डले सूर्य चिन्ह ओली पक्षतिर जान्छ भनेर भ्रममा नपर्न पनि कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘सूर्य उतै हुन्छ भनेर केही साथीहरू उतै लाग्नु भएको छ भने छिटो ब्युँझनुहोला । तपाईंहरू निद्रामा पर्नुभएको छ । लठ्याइनुभएको छ ।

     

  • संसदमा दर्ता भएको अविश्वास प्रस्तावबाट पछि हट्यो प्रचण्ड-माधव पक्ष

    संसदमा दर्ता भएको अविश्वास प्रस्तावबाट पछि हट्यो प्रचण्ड-माधव पक्ष

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले पुस ५ गते प्रतिनिधिसभा विघटनपछि दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव संसदका आगामी अधिवेशनमा अघि नबढाउने भएको छ ।

    ९० जना सांसदको हस्ताक्षरसहित दर्ता गरिएको प्रस्तावको वैधानिकतामाथि समेत प्रश्न उठेको र कांग्रेस, जसपालगायतका दलहरुले सो प्रस्तावलाई समर्थन जनाउने सम्भावना समेत नदेखिएपछि आफ्नो प्रस्ताव अघि बढाउनबाट प्रचण्ड-माधव पक्ष पछि हटेको हो ।

    सोमबार बिहान बसेको सचिवालय बैठकमा समेत यसबारेमा छलफल भएको र अन्य दलहरुसँग समेत परामर्श गरेर नयाँ ढंगले जानुपर्ने देखिएकाले अहिले सो प्रस्तावको सन्दर्भमा थप कदम नचालिने प्रचण्ड-माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले बताए ।

    पुस ५ गते दर्ता भएको प्रस्तावमा वैकल्पिक प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अघि सारिएको छ । तर, सोही प्रस्तावमा अन्य दलले जस्ताको तस्तै सहमति नजनाउँदा अप्ठेरो हुने देखिएपछि पहिले नेकपा विभाजनको कानूनी मान्यता समेत टुंगो लगाएर नयाँ ढंगले अघि बढ्नुपर्ने उनले बताए ।

    पूर्वसभामुख समेत रहेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने प्रतिनिधिसभा पुनःस्थापनासँगै संसदमा विचाराधीन विधेयक र प्रस्तावहरु स्वतः सक्रिय हुने बताए । यद्यपि अविश्वास प्रस्ताव दर्ता गर्नेले फिर्ता लिन सक्ने उनको भनाइ छ ।

    सभामुखले समेत यसबारेमा परामर्श गर्ने भएका छन् । प्रचण्ड-माधव पक्ष नेकपा संसदीय दलबाट ओलीलाई हटाउने प्रक्रियामा भने नजाने भएको छ । पहिले दर्ता गरिएको अविश्वास प्रस्तावका हस्ताक्षरकर्तामध्ये ६ जना सांसदले फिर्ता लिइसकेका छन् ।

  • संसद सचिवालयको अभिलेखमा विशाल भट्टराई नै नेकपाको मुख्य सचेतक

    संसद सचिवालयको अभिलेखमा विशाल भट्टराई नै नेकपाको मुख्य सचेतक

    काठमाडौं । संसद सचिवालयले सत्तारुढ नेकपाको संसदीय दलको मुख्य सचेतकका रुपमा विशाल भट्टराईलाई मान्यता दिएको छ । प्रधानमन्त्री तथा दलका नेता केपी शर्मा ओलीले शुक्रबार देव गुरुङलाई मुख्य सचेतकबाट हटाई भट्टराईलाई नियुक्त गरेका थिए ।

    शनिबार सार्वजनिक विदा भएकाले आइतबारदेखि भट्टराईलाई सत्तापक्षको मुख्य सचेतकले पाउने सवारी लगायतका सुविधाको प्रक्रिया अघि बढाइएको हो । ‘हामीलाई नयाँ नियुक्तिको पत्र प्राप्त भएको छ’ स‌ंघीय स‌सद सचिवालयका प्रवक्ता डा‍. रोजनाथ पाण्डेले भने, त्यसै अनुसार सचिवालयले उहाँको कार्यकक्ष निर्माण गरेको छ, र आजैदेखि सेवा सुविधा गणना हुनेछ ।’

    उनका अनुसार  भट्टराईले सवारी सुविधा बुझिसकेका छन् भने सचिवालयले पनि नेकपाको प्रमुख सचेतकका रुपमा पत्राचार गर्न शाखामा पत्राचार गरेको छ ।

    सचिवालयले नेकपा मुख्य सचेतकका रुपमा देव गुरुङले प्रयोग गरेका गाडी सुविधा फिर्ताका लागि आग्रह गर्ने भएको छ । आफैंले फिर्ता नगरेमा पत्राचार गरिने र फिर्ता नभए सचिवालयले नै गाडी फिर्ता गर्ने एक उच्च अधिकारीले बताए ।

    कानून र सम्बन्धित संसदीय दलको विधान अनुसार दलको नेताले मुख्य सचेतक र सचेतक नियुक्ति गर्न पाउने भएकाले सचिवालयले यसमा नेकपाको विवादभित्र पस्न नमिल्ने ती अधिकारीले नेपाल प्रेसलाई बताए ।

  • प्रदीप ज्ञवालीको टिप्पणी: प्रचण्ड-माधवले सोचेझैं छैन केपी ओलीलाई हटाउन

    प्रदीप ज्ञवालीको टिप्पणी: प्रचण्ड-माधवले सोचेझैं छैन केपी ओलीलाई हटाउन

    काठमाडौं । केपी ओली नेतृत्वको नेकपाका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेकपा कानूनीरूपमा विभाजन नहुँदासम्म प्रचण्ड-माधवले सोचेजस्तो प्रधानमन्त्री हटाउन सहज नरहेको दाबी गरेका छन् ।

    आइतबार सिंहदरबारमा नेपाल प्रेससँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले सर्वोच्चको फैसलालगत्तै लड्डू बाँडेर खुसी साटेकाहरूको उत्साह अब भुइँमा झरेको भन्दै ‘सोचेझैं रैनछ’ भन्ने अवस्थामा पुगिसकेको बताए ।

    ज्ञवालीले भने, ‘नेकपा कानूनीरूपमा विभाजन नहुँदासम्म संविधानको धारा ७६ (१) अनुसारको प्रक्रियाबाट सरकार फेर्न सकिन्न । उहाँहरूले सोचेजस्तो सहज छैन । धारा ७६ भित्रैबाट विकल्प खोज्ने हो भने उहाँहरू त्यो विधिमा आउनुपर्छ । उपनेतालाई दलका नेताविरुद्धको अविश्वास प्रस्ताव दिएर बैठक बोलाउन भन्नुपर्छ । त्यो नगरेसम्म उहाँहरूले अन्यत्र बैठक बसेर वैधानिक हुन्न ।

    मन्त्री ज्ञवालीले प्रचण्ड-माधव पक्षले संसदीय दलभित्रको प्रक्रियाबाट भागेर सीधै संसदमा अविश्वास प्रस्ताव लैजानलाई पनि सजिलो नरहेको विश्लेषण सुनाए । उनले सर्वोच्च अदालतको फैसलाले मुलुकको राजनीतिलाई झन् जटिल र अस्थिर बनाइदिएको टिप्पणी गरे ।

    प्रवक्ता ज्ञवालीले भने, ‘उहाँहरू सीधै अविश्वास प्रस्तावमा जम्प गर्नुभयो भने पनि त्यसका लागि वैकल्पिक प्रधानमन्त्रीको नाममा सहमति हुनुपर्छ । एक त नेकपा फुटेकै छैन भनेर कांग्रेस, जसपाले भनिरहेका छन् । अर्कोतिर उहाँहरूले नेकपाभन्दा बाहिरबाट प्रधानमन्त्री बनाउन लागेपछि उहाँहरुसँग भएका सांसदहरु कति त्यहाँ अडिन्छन् । यी धेरै कुरा हेर्न बाँकी छ ।’

    नेकपाको कानूनी विभाजन किन भएन ? कतै ओली पक्षको दबाबका कारण त होइन ? ज्ञवालीलाई पत्रकारले सोधेको जिज्ञासामा उनले प्रचण्ड-माधव पक्ष त्यसबाट हच्किएको दाबी गरे । उनले ओली पक्षले त विभाजनलाई स्वीकार नै नगरेको र प्रचण्डलाई अध्यक्ष कायमै राखेको बताए ।

    ज्ञवालीले भने, उहाँहरु विभाजनको औपचारिक बाटोमा किन जानुभएन भन्दा पहिलो कुरा उहाँहरू वैधानिक हामी हौं भनेर तलदेखि माथिसम्मको पार्टी कब्जा गर्न चाहनुहुन्छ । तर, दुई अध्यक्ष र महासचिवले बोलाएको बाहेक अरु बैठक वैधानिक हुन्न । दोस्रो कुरा, विभाजन गर्नका लागि अध्यक्ष र महासचिवको हस्ताक्षर अनिवार्य छैन, त्यसो गर्दा उहाँहरुले अर्को दल दर्ता गरेको मानिन्छ र उहाँहरुसँग कति सदस्य छन् भन्ने कुराले कानूनी मान्यता पाउँदैन ।’

    निर्वाचन आयोगले नेकपाको विधान अनुसार निर्णय गरेको भन्दै ज्ञवालीले सहमतिको विधान आयोगमा पेश गरेर, असहमतिबाट निकास खोज्ने तरिका नै गलत भएको ज्ञवालीले बताए ।

    मन्त्री ज्ञवालीले प्रतिनिधिसभामै उपस्थित भएर जवाफ दिन्छु र संसद फेस गर्छु भन्दा प्रधानमन्त्रीको नैतिकतामाथि प्रश्न उठाउनुको औचित्य नरहेको समेत बताए । उनले विगतमा मनमोहन अधिकारीले पनि प्रतिनिधिसभा पुनःस्थापनापछि संसद फेस गरेको भन्दै ओलीले मनमोहनकै बाटो अँगालेको बताए ।

    सर्वोच्च अदालतको फैसला आफूहरुले स्वीकार गरे पनि यसले मुलुकको कार्यकारीलाई कमजोर र निरीह बनाएको तथा राजनीतिलाई थप जटिल र सधैंका लागि अस्थिरताको ढोका खोलेको टिप्पणी मन्त्री ज्ञवालीले गरे ।

    उनले भने, ‘सर्वोच्चको फैसलाले राजनीतिक प्रणालीमा गम्भीर विचलन खडा गरेको छ । यसका असरहरू भविष्यमा देखिंदै जानेछन् । जनताले खोजेको स्थिरता सरकारमा हो । तर, फैसलाले संसद स्थिर हुने स्थिर सरकार भने दिन नसक्ने अवस्था ल्यायो । अदालतले सीमित सरकारको व्याख्या गरेर गम्भीर प्रश्न उब्जाएको छ ।’

  • प्रचण्ड-माधवलाई हच्काउने नेकपा संसदीय दलको यो विधान !

    प्रचण्ड-माधवलाई हच्काउने नेकपा संसदीय दलको यो विधान !

    काठमाडौं । नेकपा विभाजनको सकस केन्द्रीय कमिटीबाट अब संसदीय दलमा सरेको छ । निर्वाचन आयोगले केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपालाई मात्रै चिनेकाले संसद अधिवेशन शुरू हुनुअघि कुन प्रक्रियामा जाने भन्नेमा अर्को जटिलता थपिएको छ ।

    प्रधानमन्त्री केपी ओली पक्षले कानूनी रूपमा पार्टी विभाजन नभएकाले प्रतिनिधिसभामा बहुमतप्राप्त संसदीय दलको नेता हटाउने वैधानिक प्रक्रियामा आउन प्रचण्ड-माधव पक्षलाई चुनौती दिएको छ । होइन भने दल विभाजनका लागि नयाँ दल दर्ता गर्न जानुपर्ने ओली पक्षको भनाइ छ ।

    प्रचण्ड-माधव पक्ष भने संसदीय दलको प्रक्रियामा जान चाहँदैन । यसका मुख्य दुई कारण छन् । पहिलो,ओलीलाई दलको नेता र पार्टी सदस्यबाटै कारबाही गरिसकेको हुनाले फेरि उनैलाई बैठक बोलाइदेऊ भनेर जाँदा आफूले गरेका कारबाहीको औचित्य सकिन्छ ।

    दोस्रो भनेको, संसदीय दलको प्रक्रियामा जाँदा ओली पक्ष माथि पर्छ । दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक सबै ओली पक्षकै छन् । त्यसमाथि संसदीय दलको नेताबाट ओलीलाई हटाउन आवश्यक पर्ने सुविधाजनक बहुमत पनि निश्चित छैन । केही सांसदहरूको ओहोरदोहोर चलिरहँदा दलमा ओली नै बहुमतमा पुग्ने सम्भावना छ ।

    संसदीय दलको वैधानिक प्रक्रियाबाट जाँदाका खतरा देखेरै प्रचण्ड-माधव पक्षले निर्वाचन आयोगले चाँडो पार्टी विभाजनलाई वैधानिकता देओस् भन्ने चाहेको छ । आयोगलाई औपचारिक र अनौपचारिक रूपमा पनि प्रचण्ड-माधव पक्षले दबाब दिइरहेको छ । तर, आयोगको प्राथमिकता अहिले त्यो देखिएको छैन । ऋषि कट्टेलको नेकपाको मुद्दा फागुन २० मा फैसला नहुन्जेल आयोगले पनि कुनै निर्णय दिने सम्भावना छैन ।

    विपक्षी नेपाली कांग्रेस र जसपाले सत्ता समीकरणको प्रस्ताव लिएर गएका प्रचण्ड-माधवलाई पहिले कुन नेकपा हो प्रष्ट भएर आउन भनेका छन् । नेकपाले औपचारिक रूपमा विभाजनको मान्यता नपाउँदासम्म सत्ता गठबनन्धनको तस्बिरसमेत प्रष्ट नहुने भएकाले प्रचण्ड-माधवलाई हतारो छ भने ओली पक्षलाई हाइसञ्चो देखिन्छ ।

    प्रचण्ड-माधव पक्षका नेता रघुजी पन्तले शनिवार एक कार्यक्रममा संसदीय दलको प्रक्रियाबाट जानै नहुने बताएका थिए । ओलीलाई हटाउन संसदीय दलको प्रक्रियाबाट जाँदा धेरै खालका सम्भावनाहरू हुने भएकाले अब संसदभित्रै ‘टसल’ हुने पन्तको भनाइ छ । अब सडकमा छरिएको राजनीति सोहोरिएर संसदमा पुग्ने उनले बताए ।

    ओलीले हालै प्रमुख सचेतकका नियुक्त गरेका विशाल भट्टराईले भने प्रचण्ड-माधव पक्षले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको हो भने पहिले विधान अनुसार संसदीय दलको बैठक माग गर्ने र अविश्वास प्रस्ताव उपनेतामार्फत लैजाने अधिकार रहेको बताए । उनले दल विभाजन नहुँदासम्म संसदमा दलको नेताको अनुमतिविना सांसदले कुनै प्रस्ताव लैजान समेत नपाउने दाबी गरे ।

    के छ नेकपाको विधानमा ?

    ८ पुसमा प्रचण्ड-माधव पक्षले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको थियो । अर्का अध्यक्ष माधवकुमार नेपालको प्रस्ताव प्रचण्डलाई दलको नेता चयन गरिएको थियो । जतिबेला प्रतिनिधिसभा विघटनमा थियो ।

    प्रचण्ड दलको नेता बनेको निर्णय राजनीतिक मात्र भएकाले यसको वैधानिकताका लागि दलभित्रैबाट प्रक्रिया थाल्नुपर्ने संविधानविद विपिन अधिकारी बताउँछन् । प्रचण्ड-माधव पक्षले निर्वाचन आयोगको निर्णयअघि नै ओलीलाई दलबाट हटाउने हो भने विधान अनुसारको प्रक्रिया पुर्‍याउनुपर्ने उनको भनाइ छ । नत्र सरकार गठन प्रक्रिया लम्बिनेछ ।

    नेकपाको संसदीय दलको विधानले दलको नेता अविश्वासको प्रस्ताव पारित हुँदा मात्रै हट्ने कल्पना गरेको छ। विवाद निरूपणका अन्य विकल्प विधानले दिएको छैन । विधानको दफा ३१ मा संसदीय दलका नेताले विश्वासको मत लिनसक्ने र ३२ मा अर्को अविश्वास प्रस्ताव दर्ता हुनसक्ने व्यवस्था गरिएको छ ।

    दफा ३१ मा ‘दलको नेताले आफ्नो कार्यकाल भित्र कुनै बखत आफूमाथि दलको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतको लागि दल समक्ष प्रस्ताव राख्न सक्ने’ उल्लेख छ ।

    केपी ओली आफैंले विश्वासको मतका लागि दलसमक्ष प्रस्ताव राख्न सक्छन् । तर, त्यसमा प्रचण्ड-माधव पक्ष सहभागी नभए औचित्य छैन । १७३ जना प्रतिनिधिसभा सदस्य र ५० जना राष्ट्रियसभा सदस्य रहेको संघीय संसदीय दलमा सभामुख र राष्ट्रियसभा अध्यक्ष बाहेक २२१ जना सदस्यमध्ये बहुमत ओलीले देखाउन सके पनि नेकपा विभाजन नहुँदासम्म उनै स्वतः प्रधानमन्त्री हुन्छन् ।

    दफा ३२ को (१) अनुसार दलको सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा एक चौथाइ सदस्यले दलको नेतामाथि विश्वास छैन भनी लिखितरूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्नेछन् । दलको उपनेताले प्रस्तावको सूचना पाएको १५ दिनभित्र बैठक बोलाउन प्रमुख सचेतकलाई निर्देशन दिनुपर्नेछ ।

    ओलीपक्षीय केही नेताले दलको नेता र उपनेता आफूहरूसँगै भएकाले आफूहरूले नबोलाई बैठक कसरी बस्छ भन्ने प्रश्न पनि उठाइरहेका छन् । त्यस्तो अवस्था आएमा विधानले त्यसको पनि समाधान दिएको छ।

    दफा ७ को (घ) मा ‘दलको बैठक बस्न आवश्यक छ भनी विषय र कारण खुलाई दलको सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा २५ प्रतिशत सदस्यहरूले दलको नेता समक्ष लिखित सूचना दिएमा सूचना प्राप्त भएको मितिले ७ दिन भित्र संसदीय दलको बैठक बोलाउनुपर्ने’ व्यवस्था गरिएको छ।

    प्रचण्ड-माधव पक्षले ओलीलाई संसदीय दलको नेताबाट हटाउँदा विधानले व्यवस्था गरेका कुनै पनि प्रक्रिया अबलम्बन गरेको छैन । वैधानिकताको प्रश्न उठ्दा त्यसले मान्यता नपाउने अवस्था रहन्छ ।

    तर, प्रचण्ड-माधव पक्ष ओलीलाई पार्टीको साधारण सदस्यबाटै कारबाही गरिसकिएकाले त्यो प्रक्रिया अपनाउन जरुरी नरहेको तर्क गर्छ । ‘पार्टीबाटै निष्काशित गरिएको अवस्थामा, पार्टीको सदस्य नै नरहेको अवस्थामा दलभित्र विश्वासको मत लिनुको खास अर्थ छैन’ सांसद कृष्णभक्त पोखरेलको भनाइ छ।

    अनिश्‍चयमा अविश्वास प्रस्ताव

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन सिफारिस गरे लगत्तै प्रचण्ड-माधव पक्षले संसदमा अविश्वास प्रस्ताव दर्ता गरेको थियो । ५ पुसमा अविश्वासको प्रस्ताव दर्ता गर्दा प्रचण्ड-माधव पक्षले ९० जना सांसदको हस्ताक्षर थियो ।

    तीमध्ये गौरीशंकर चौधरी,प्रभु साह, शेरबहादुर तामाङ, भैरवबहादुर सिंह, यज्ञ बोगटी र माया ज्ञवाली अहिले ओलीतिर लागिसकेका छन् । त्यसबेला घनश्याम भुसाल र योगेश भट्टराईको हस्ताक्षर थिएन । संसदीय दलमा अहिले कसको बहुमत छ भन्नेमा दुवै पक्ष निश्चिन्त छैनन् ।

    संसद पुन:स्थापना भइसकेको अवस्थामा पहिले नै दर्ता गरिएको अविश्वास प्रस्ताव सक्रिय हुन्छ कि हुँदैन ? पहिलेकै अविश्वास प्रस्तावलाई अगाडि बढाउने या नयाँ प्रस्ताव लैजाने भन्नेमा प्रचण्ड-माधव पक्ष अझै स्पष्ट भइसकेको छैन ।

    कानूनविद् समेत रहेका प्रचण्ड-माधव पक्षीय सांसद कृष्णभक्त पोखरेल आफूहरू यसबारे अझै छलफलमा रहेको बताउँछन्। अविश्वास प्रस्तावको अवस्था के हुन्छ भन्नेबारेमा पनि खासै स्पष्टता नभएको उनको भनाइ छ ।

    ‘हामी यसमा छलफल गरिरहेका छौं’ पोखरेल भन्छन्, ‘ यसको ‘स्टाटस’ पनि अलिकति धरमर नै छ । संसद विघटन भएपछि भएको हुनाले त्यसको प्रभाव शून्य नै हो कि भन्ने लाइनबाट पनि कुरा छ । त्यो प्रक्रिया अगाडि बढ्ने, नबढ्ने अझै स्पष्ट भएको छैन ।’

    पहिले दर्ता भएको अविश्वास प्रस्तावको अवस्था के होला भन्ने प्रश्नमा संसद सचिवालय पनि अझै प्रष्ट छैन । प्रवक्ता रोजनाथ पाण्डे यस विषयमा अहिलेसम्म छलफल नभएको र धेरै कुरा सभामुखको तजबिजमै निर्भर रहने बताउँछन् ।

    ‘सभामुखले कसरी निर्णय गरेर जानुहुन्छ, त्यसबारे अहिलेसम्म थाहा छैन’  उनको भनाइ छ, ‘त्यो चाहिं आउने दिनमा राजनीतिक घटनाक्रमले बताउने कुरा हो । प्रस्तावलाई अगाडि बढाउने, नबढाउने कुरा सभामुखको हातमा हुन्छ । संसदीय कारबाहीमा भएको कुरामा अदालतमा प्रश्न पनि उठ्दैन । सभामुखको तजबिजले धेरै कुराहरू व्यवस्थित गरेको हुन्छ ।’

  • कसको हिम्मत छ ? अविश्वास प्रस्ताव ल्याए हुन्छ : उपप्रधानमन्त्री पोखरेल

    कसको हिम्मत छ ? अविश्वास प्रस्ताव ल्याए हुन्छ : उपप्रधानमन्त्री पोखरेल

    काठमाडौं । उपप्रधानमन्त्री तथा नेकपाको ओली पक्षका नेता ईश्वर पोखरेलले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन विपक्षीलाई चुनौती दिएका छन् । उनले प्रधानमन्त्रीले अविश्वास प्रस्तावको डटेर सामना गर्ने बताए ।

    शुक्रबार ओलीपक्षीय अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । अविश्वासको प्रस्तावको सामना गर्दा आउने परिणामलाई स्वीकार गर्ने उनको भनाइ छ ।

    ‘केपी ओली संसदको सर्वोच्चतालाई मान्छन् । त्यहाँ सामना गर्छन् । तिम्रो हिम्मत छ भने अविश्वासको प्रस्ताव ल्याउ, त्यो अविश्वासको प्रस्तावको सामना गर्छन् केपी ओलीले । केपी ओलीको नेतृत्वमा रहेको नेकपाले ती सबै लोकतान्त्रिक विधिबाट आउने कुराहरुको सामना गर्छन्, तिमी सबैले बुझ’ उनले भने ।

    पोखरेलले थपे, ‘संसद बोलाउने कुराको हामी प्रक्रियामा अगाडी बढ्छौ, संसदको सामना गर्छौं । कसको हिम्मत छ ? अविश्वासको प्रस्ताव ल्याउ, त्यसको डटेर हामी सामना गर्छौ । त्यो अविश्वासको प्रस्तावको सामना गर्दा जे परिणाम हुन्छ, त्यसलाई स्वीकार गर्छौ । यो सबैले बुझे हुन्छ ।’

    उपप्रधानमन्त्री पोखरेलले केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने बताए । संसदमा अविश्वासको प्रस्तावको सामना गरेर लोकतन्त्र प्रतिको प्रतिबद्धतालाई ओलीले पुनः एकपटक प्रमाणित गर्ने उनको भनाइ छ ।

    उनले भने, ‘केपी ओलीले बिचमै छोड्छन् कि भन्ने खालका कुराहरु तपाईंहरुलाई लागेको हुनसक्छ । म केपी ओलीको सरकारको टिमको एउटा जिम्मेवार मन्त्री भएको नाताले तपाईंहरुलाई पूर्ण जवाफदेहिताका साथ भन्न चाहन्छु । केपी ओली लोकतन्त्रमा विश्वास गर्ने, संस्थागत ढंगले, लोकतान्त्रिक ढंगले गरिएका अभ्यासहरुमा विश्वास गर्ने व्यक्ति भएको हुनाले संसदको सामना गर्नुहुन्छ । तर, सडकमा भुस्याहा कुकुर जस्तो कराउनेहरुले नारा लगाउदैमा आफ्नो जिम्मेवारीबाट कहिल्यै पनि पन्छिनुहुने छैन ।’

    उपप्रधानमन्त्री पोखरेलले सबैभन्दा ठुलो फैसला दिने न्यायाधीसहरु जनता भएकाले आफुहरु जनताले गर्ने फैसलाको प्रतिक्षामा रहेको बताए । सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको उनको गुनासो छ ।

    कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले आफ्नो पार्टी निर्वाचन अथवा सदनमा भिड्न तयार रहेको बताए ।

    उनले भने, ‘संसद पुर्नस्थापना होस् या निर्वाचन होस्, हाम्रो टिम केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी र संस्था निर्वाचनमा भिड्न होस् या सदनमा भिड्न होस् हर क्षेत्रमा तयार छ । हर मोर्चामा लड्न तयार छ । हामी थाकेका छैनौँ । हामी आत्तिएका छैनौँ । हामी मात्तिएका छैनौँ ।’

    मन्त्री रायमाझीले पुनः मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको पनि दाबी गरे ।

  • सांसद माया ज्ञवालीले भनिन्- ‘अविश्वास प्रस्ताव पुरानो हो, अहिले म ओली पक्षमा छु’

    सांसद माया ज्ञवालीले भनिन्- ‘अविश्वास प्रस्ताव पुरानो हो, अहिले म ओली पक्षमा छु’

    काठमाडौं । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्‍वास प्रस्तावमा हस्ताक्षर गरेकी नेकपा सांसद माया ज्ञवालीले आफू प्रचण्ड-माधव पक्षमा नरहेको घोषणा गरेकी छन् ।

    ज्ञवाली पुनःस्थापित प्रतिनिधिसभामा समानुपातिक सांसद हुन् । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये ९० जनामा उनको पनि नाम थियो । नेपाल प्रेससँग कुरा गर्दै ज्ञवालीले अहिले आफू सत्ता पक्षमै रहेको बताइन् । यसबीचमा वामदेव गौतमको पार्टी एकता अभियानसँग समेत उनी संलग्न भएकी छन् ।

    ज्ञवालीले भनिन्, ‘म केपी ओली नेतृत्वको पार्टीमा छु र पार्टी एकता होस् भनेर वामदेव गौतम कमरेडलाई पनि साथ दिएकी हुँ । संसदमा भोलि के प्रस्ताव आउँछन् त्यो फरक कुरा हो, तर म पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पक्षमा छु अहिले ।’

    आफू यसबीचमा ओलीपक्षीय अखिल नेपाल महिला संघको अभियानमा समेत जोडिएको उनले बताइन् । ज्ञवाली दासढुंगा दुर्घटनामा निधन भएका तत्कालीन एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितकी पत्नी हुन् ।

  • नेकपामा एकताको आवाज गाढा, तर सम्भावना टाढा

    नेकपामा एकताको आवाज गाढा, तर सम्भावना टाढा

    काठमाडौं । सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापना गरिदिएसँगै नेपालको राजनीति पुनः पुस ५ अघिको अवस्थामा फर्किएको छ । देशको राजनीति सर्लक्कै पछाडि फर्किए पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद पुस ५ भन्दा धेरै अघि बढिसकेको छ ।

    ओली पक्ष र प्रचण्ड–माधव पक्षमा विभक्त भइसकेको छ नेकपा । प्रचण्ड–माधव पक्षले केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष मात्रै नभएर पार्टीको साधारण सदस्यबाट समेत हटाएर माधव नेपाललाई अध्यक्ष चयन गरिसकेको छ ।

    उता ओली पक्षले पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकारी अधिकार खोसिसकेको छ । यद्यपि ओली समूहले प्रचण्डलाई पार्टी अध्यक्षमा कायम राखेको छ र अन्य नेतालाई पनि कारबाही गरेको छैन । नेकपाको तल्लो तहमा भने दुवै पक्षले अर्को पक्षलाई कारबाही गर्दै कमिटी पुनर्गठन गरिसकेका छन् ।

    नेकपा राजनीतिक विभाजनको गहिराइमा पुगिसके पनि कानूनी विभाजनमा भने गइसकेको छैन । यस्तोमा धेरैले नेकपा मिल्दियोस् भन्ने मनोकामना राखेका छन् । पार्टी भित्र र बाहिरबाटै पनि कतै नेकपा फेरि मिल्नुपर्छ र मिलि पो हाल्छ कि भन्ने आशा प्रकट भइरहेकै छन् ।

    उपाध्यक्ष वामदेव गौतम त पार्टी फेरि मिलाउनुपर्ने भन्दै त्यसमा लागिपरिसकेका छन् । गौतम नेकपा विभाजनलगत्तै एकता अभियानमै लागेका थिए । आफ्नो नेतृत्वमा नेकपा एकता अभियान शुरू गरेका उनले संसद पुनःस्थापना भएपछि फेरि त्यसलाई बलियो गरी उठाइरहेका छन् ।

    केपी ओलीलाई पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाउन आह्वान गरेका गौतमले बिहीबार खुमलटारमै गएर प्रचण्डलाई भेटी पार्टी एकताको पहल गर्न प्रस्ताव गरेका छन् । उनले यस्तै प्रस्ताव ओलीसमक्ष पनि राख्ने बताएका छन् ।

    गौतम मात्रै होइन, अन्य नेताले मिल्नुपर्ने मत राखिरहेका छन् । विशेषगरी पूर्व एमाले पृष्ठभूमिका दुवै पक्षका नेता पार्टी पुनः एक बनाउनका लागि आ–आफ्नो तहबाट अनौपचारिक संवादमा जुटेका छन् । तर त्यसले परिणाम ल्याउँछ भन्नेमा उनीहरू नै विश्वस्त छैनन् ।

    सर्वोच्च अदालतले संसदको पुनःस्थापना गर्ने फैसला गरे लगत्तै केन्द्रीय सदस्य विष्णु रिजालले सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगको अलमलले नेकपाका नेतालाई फेरि एकपटक ठण्डा दिमागले सोच्ने मौका दिएको भन्दै पार्टी मिलाउनतिर लाग्नुपर्ने मत सामाजिक संजालमा राखे ।

    रिजालले लेखेका छन्– कालो बादलमा पनि चाँदीको घेरा हुन्छ । सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगको अलमलले नेकपाका नेतालाई फेरि एकपटक ठण्डा दिमागले सोच्ने मौका दिएको छ । धेरै बिग्रिए पनि अन्तिम पटाक्षेप हुन बाँकी नै भएकाले एकताका लागि आ–आफ्नो ठाउँबाट सोच्ने र योगदान गर्ने वेला आएको छ ।

    पछिल्ला घटनाबाट पाठ सिक्दै सबै नेताले आ–आफ्ना सीमा र सबलता बुझ्न सक्दा नेकपा एकीकृत रूपमा अघि बढ्ने उनको धारणा छ । पार्टी मिल्नै पर्ने मत अर्का केन्द्रीय सदस्य ठाकुर गैरेको पनि छ । फेसबुकमा ‘अबको अभियान एकताबद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माणको हुने’ लेखेका गैरे हिजो पार्टी एकीकरण गरेको नेतृत्व अहिले त्यसलाई बचाउनेतिर नलाग्दा बेइमानी हुने बताए ।

    नेपाल प्रेससँग उनले भने– हिजो पार्टीलाई एकीकरण गर्ने नेतृत्वले आफूले गरेको एकीकरणलाई बचाउने र त्यसलाई बलियो बनाउने भूमिका खेल्नुपर्छ । त्यसो नगर्ने हो भने त्यो नेताको बेइमानी हुन्छ ।

    मुख्य नेतृत्वको अनिच्छा

    गैरेले चाहेअनुसार पार्टी मिलाउने काममा हिजो पार्टी एकीकरण गरेको मुख्य नेतृत्व दिलचस्पी दिइरहेको छैन । नेकपाको एउटा पक्षको नेतृत्व गरिरहेका प्रचण्ड र माधव नोल फेरि ओलीसँगै मिलेर जान नसकिने बताइरहेका छन् ।

    आफूले गल्ती गरेको भनेर झुक्न आएको खण्डमा मात्रै ओलीसँग मिल्न सकिने बताइरहेका उनीहरू मूल पार्टी आफूहरू भएको भन्दै ओली पक्षलाई आफूतिर आउन आह्वान गरिरहेका छन् । अर्कातिर ओली पक्ष आफ्नो हार भएको मान्न तयार छैन् ।

    पार्टी मिलाउनतर्फ मुख्य नेताले देखाएको अनिच्छाले नेकपाको एकता अभियान चलाइरहेका गौतमलाई पनि दिक्दारी लागेको छ । पार्टी एकताको शुरुआत दुई अध्यक्षले गर्नुपर्ने भए पनि त्यसो नगरेको प्रति उनको गुनासो छ ।

    ‘पार्टी एकताको निम्ति शुरू गर्नुपर्ने दुई अध्यक्षले हो’ गौतम भन्छन्, ‘दुवै अध्यक्षले पार्टी एकीकरण गर्ने विषय उठाउनुभएन । पार्टी त विभाजन भइसक्यो अब मिल्न सक्दैन भन्ने प्रचण्डको भनाइ आयो र पार्टी फुटाएको हामीले होइन फुटाएको केपी ओलीले हो भनेर भन्नुभएको छ । पार्टी फुटाउने काम प्रचण्ड माधवहरूले हो भनेर यतातिर भनेको छ ।’

    उल्टै पार्टी फुटाएको आरोप आफूलाई लगाएको प्रति पनि गौतमको चित्त दुःखाइ छ । उनी भन्छन्, पार्टी फुटाउने वामदेव हो भनेर दुवैले आ–आफ्नो तरिकाले भन्नुभएको छ । जसले जे काम गर्नुभएको छ त्यसको जिम्मा नलिने चलन छ । राम्रो भए मात्रै आफूले जिम्मा लिने नराम्रो भयो भने त्यसको दोष अरूलाई लगाउने चलन छ ।

    प्रचण्ड–माधव पक्षीय नेता गेरै प्रतिनिधिसभा विघटन गलत थियो भनेर ‘रियलाइज’ गरेर ओली पक्ष पार्टीमा नआउँदासम्म एकताको वातावरण नबन्ने बताउँछन् । ‘संसद विघटन असंवैधानिक हो भन्ने कुरा न्यायालयले पुष्टि गर्यो उनको भनाइ छ, ‘तर पनि त्यसलाई रियलाइज नगर्ने कुरा गलत हुन्छ । यत्रो घटना भइसकेपछि त्यसको नैतिक जिम्मेवारी लिएपछि यसले एकताको वातावरण बनाउँछ । त्यसलाई स्वीकार नगर्दाखेरी त्यसले अर्को बाटो लिन्छ ।’

    नेता महेश बस्नेतका कुरा सुन्ने हो भने ओली पक्ष हार्न कदापि तयार हुने छैन् । कानूनी रूपमा एकीकृत भए पनि राजनीतिक रूपमा पार्टी विभाजित भइसकेको भन्दै बस्नेत हाललाई पार्टी मिल्ने विश्वास आफूमा नरहेको बताउँछन् ।

    अबको राजनीति पनि केपी ओलीको वरिपरि नै घुम्ने र समृद्धिका नारालाई जनताले चुनावमा अनुमोदन गरिदिने आत्मविश्वास उनी प्रकट गर्छन् ।

    बस्नेतको विश्लेषण छ– मूलतः राजनीति अब केपी ओली वरिपरि घुम्छ । विकास र समृद्धिका नारालाई जनताले साथ दिनेछन् । फेरि पनि निर्वाचनका दौरान केपी ओलीले आफ्नो मत प्रकट गर्नुहुन्छ । उहाँले चुनाव जित्ने सम्भावना व्यापक रूपमा छँदैछ ।

    ओली पक्षको यस्तो आत्मविश्वासको कारण के हो ? पुस ५ यताको दुई महिनाले आफूहरूमा त्यस्तो आत्मविश्वास जगाइदिएको तर्क बस्नेतको छ । उनको तर्क छ– दुई महिनाको अवधिमा उहाँले बहुमत ल्याउने कुरा गाह्रो गाह्रो होला कि भन्ने हामीलाई लागेको थियो, अब दुई वर्षको अवधि हामीले समय प्राप्त गरेका छौं । हामी व्यापक रूपमा संगठन निर्माणमा लाग्छौं । जनताको लहर र उभार हामीतिर आएको छ, त्यसलाई समेट्दै आगामी निर्वाचनमा हामी जान्छौं ।

    ठूलै उथलपुथलविना नेकपा फेरि मिलिहाल्ने सम्भावना नरहेको नेताको भनाइबाट थाहा लाग्छ । यद्यपि पार्टी मिल्नुपर्छ भन्ने दबाब भने नेकपा भित्र रहिरहनेछ । यसका बाबजूद पनि पार्टी एकता अभियानमा लागिरहने ओठोट गैरे व्यक्त गर्छन् । उनी भन्छन्, आजको आज नभए पनि फेरि ‘लेफ्ट मूभमेन्ट’लाई एकताबद्ध गर्ने कुरामा लागिरहन्छौं ।

    मिल्न बाध्य पार्ने यी दुई ‘फ्याक्टर’

    मुख्य नेतृत्वकर्ताको अनिच्छाको बाबजूद यी दुई ‘फ्याक्टर’ले भने नेकपालाई मिल्न पुस गरिरहने छन् ।

    पहिलो हो, संसदीय दलमा पार्टी विभाजनको जटिलता । राजनीतिक रूपमा विभाजित भइसकेको भए पनि नेकपा कानूनी रूपमा अझै एकीकृत नै छ । एकातिर निर्वाचन आयोगले आधिकारिकता टुंग्याउन अलमल गरिरहेको अवस्था छ भने अर्कोतिर संसदीय दलबाट पार्टी विभाजन गर्न कठिनाइ छ ।

    प्रचण्ड–माधव पक्षले संसदीय दलका नेता ओलीलाई हटाएर प्रचण्डलाई निर्वाचित गरेको घोषणा गरिसकेको भए पनि वैधानिक रूपमा त्यसको छिनोफानो भइसकेको छैन । संसदीय दलका नेता र उपनेता दुवै ओली पक्षतिर छन् भने प्रमुख सचेतक देव गुरुङलाई दलका नेताको हैसियतले ओलीले हटाइसकेका छन् ।

    संसदीय दलको बैठक राखेर ओलीलाई वैध रूपमै हटाइहाल्ने प्रचण्ड–माधव पक्षको हतारोमा ओली पक्षीय नेता ईश्वर पोखरेलको यो भनाइ तगारो बन्न सक्छ । पोखरेलको प्रश्न छ– ‘संसदीय दलको बैठक कसले बोलाउने हो ? दलको नेता वा उपनेताले बोलाउने हो कि होइन ? अनि जसले बोलाएर पनि संसदीय दलको बैठक बस्छ ?

    अर्कातिर ठूलो मतान्तरमा दुवै पक्षले सांसदलाई आफ्नो पक्षमा पार्न सकेका छैनन् । हाललाई त्यसको अन्तर चार पाँच मात्रै छ । प्रचण्ड–माधव पक्षमा ८७ सांसद रहँदा ८४ सांसद ओली पक्षतिर पनि छन् । संसदीय दलको यस्तो अंकगणितले पनि नेकपा विभाजन सहज नरहेको देखाउँछ ।

    दोस्रो हो, कांग्रेसलाई सत्ता दिन नहुने मत । अहिले नेकपाका दुवै पक्षले सत्ता समीकरणका लागि कांग्रेसलाई मुख्य सहयोगी मान्नुपर्ने बाध्यता आइलागेको छ । कि कांग्रेसलाई प्रधानमन्त्री दिनुपर्छ कि उसलाई राम्रो हिस्सा दिएर सत्ता साझेदारीका लागि मनाउन सक्नुपर्छ । तर, नेकपा भित्र कांग्रेसलाई सत्ताको मुख्य सिटमा बसाल्नुहुँदैन भन्ने ठूलो मत छ ।

    बुधबार राजधानीको एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओली पक्षीय नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले त्यसलाई इंगित गरे । प्रचण्ड–माधवहरू गैरकम्युनिष्ट पार्टीको नेतृत्वमा सरकारलाई पुर्याउन लागिपरेको उनको आरोप छ ।

    ‘प्रधानमन्त्रीले कम्युनिष्ट पार्टीको दुई तिहाइ हुँदाहुँदै विघटन गरेर संकटमा पारे भन्ने कुरा गर्नुहुन्छ’ उनको भनाइ छ, ‘उहाँहरूले जितेको जितको परिणाम के हो त भन्दाखेरि कम्युनिष्ट पार्टीको नेतृत्व होइन गैर कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकारका लागि भिख माग्न हिंड्दै हुनुहुन्छ ।’

    पोखरेल मात्रै होइन लामो समय माधव नेपाललाई साथ दिएका र हालै कतैतिर नखुलेका नेता लालबाबु पण्डितको पनि त्यसप्रति असन्तुष्टि छ । आफू कांग्रेसलाई प्रधानमन्त्री बनाउने कुराको विपक्षमा रहेको उनको भनाइ छ । पण्डितले भने–बहुमतप्राप्त पार्टीले अर्कोलाई प्रधानमन्त्री बनिदेऊ भन्दै जानु दुर्भाग्यपूर्ण हो । यो जनमतको अपमान समेत भएकाले म यसको विपक्षमा उभिन्छु र नेतृत्वलाई बेलैमा जानकारी गराउन चाहन्छु ।

    यसका अलावा जुन कुनै बेला भए पनि विभक्त भएर चुनावमा जाँदा आउने परिणाम राम्रो नहुने कुराले पनि नेकपाको विभाजनलाई रोक्न बाध्य पार्न सक्छ । यी कुराप्रति मूल नेतृत्वले कत्तिको ध्यान दिन्छ ? यो भने समयले नै बताउला ।

  • ऋषि कट्टेलको मुद्दामा सुनुवाई सकियो, नेकपाको फैसला फागुन २० मा

    ऋषि कट्टेलको मुद्दामा सुनुवाई सकियो, नेकपाको फैसला फागुन २० मा

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता सम्बन्धी मुद्दाको अन्तिम फैसला फागुन २० गते हुने भएको छ । ऋषि कट्टेलले दायर गरेको रिटमाथिको सुनुवाई आज सकिएको छ ।

    न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाईपछि निर्णय सुनुवाईको मिति तोकिएको हो । कट्टेल २०७५ मंसिरमा नेकपा आफ्नो नाममा दर्ता रहेको भन्दै निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टीलाई आधिकारिकता दिएको विरोधमा रिट दायर गरेका थिए ।

    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी बनेको थियो । सोही नामको पार्टी त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको दर्ता रहेकाले पछि ब्राकेटमा नेकपा राखिएको थियो ।

    ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाको दर्ता खारेज गर्न माग गर्दै कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएकोमा आयोगले उनको दाबी खारेज गरेपछि कट्टेल अदालत गएका थिए । अदालतमा पटक पटक सुनुवाई स्थगित हुँदै आएकोमा दुई वर्षपछि अब फैसला हुने भएको छ ।

    अदालतले कट्टेलको पार्टीलाई आधिकारिकता दियो भने हाल राजनीतिक रुपमा विभाजित तर कानूनी रुपमा एकै रहेको नेकपाको भविष्य के हुन्छ ? यो प्रश्न पनि उठेको छ ।

  • खुमलटार पुगेर प्रचण्डसँग वामदेवले भने- पार्टी एकताको पहल गर्नुस्

    खुमलटार पुगेर प्रचण्डसँग वामदेवले भने- पार्टी एकताको पहल गर्नुस्

    काठमाडौं । विभाजित नेकपा एकता अभियानका संयोजक तथा पार्टी उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको पहल गर्न प्रचण्डसँग प्रस्ताव गरेका छन् ।

    बिहीबार दाहाल निवास खुमलटार पुगेका गौतमले प्रतिनधिसभा पुन:स्थापनापछि पार्टी एकता गर्ने जिम्मा तपाईंकै काँधमा आएको भन्दै पुन: एकीकरणको पहलका लागि प्रचण्डसँग छलफल गरेको गौतमनिकट स्रोतले बताएको छ ।

    सर्वोच्चको फैसलासँगै प्रचण्डले आफूलाई विजयी महसुस गरेकोले पार्टी एकताको पहल गर्ने जिम्मेवारी पनि उनले नै लिनुपर्ने गौतमले बताउँदै आएका छन् ।

    प्रचण्डले गौतमसँग प्रधामन्त्रीको कार्यशैलीमा भर पर्ने प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

  • ओलीपक्षीय स्थायी समिति बैठक स्थगित

    ओलीपक्षीय स्थायी समिति बैठक स्थगित

    काठमाडौं । विभाजित नेकपाको ओली पक्षको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ ।

    प्रधानमन्त्रीसहित नेताहरुको व्यस्तताका कारण बैठक स्थगित भएको महासचिव बिष्णु पौडेलले जानकारी दिए । पार्टीको भावी रणनीतिबारे एकचरण छलफल भइसकेको र अन्य पक्षसँग पनि छलफल गर्नुपर्ने भएकाले स्थायी समिति बैठक सारिएको हो ।

    स्थायी समिति बैठक बुधबार बसेको थियो । बैठकमा प्रधानमन्त्रीले सर्वोच्चको फैसलाअनुसार प्रतिनिधिसभा अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने जानकारी दिएका थिए ।

  • ओलीपक्षीय नेकपा स्थायी समिति बैठक आज पनि बस्दै

    ओलीपक्षीय नेकपा स्थायी समिति बैठक आज पनि बस्दै

    काठमाडौं । विभाजित नेकपाको ओली समूहको स्थायी समिति बैठक आज पनि बस्दैछ । सर्वोच्च अदालतको फैसलापछि फेरिएको राजनीतिक परिदृश्यमा आफ्नो समूहको एकमत बनाउन ओली समूह गृहकार्यमा छ ।

    हिजो भएको बैठकमा प्रधानमन्त्रीले सर्वोच्चको फैसaलाअनुसार प्रतिनिधिसभा अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने जानकारी दिएका थिए ।

  • पार्टी एकीकरणको पहल आफूलाई विजयी भएँ भन्नेले गर्नुपर्छ : वामदेव

    पार्टी एकीकरणको पहल आफूलाई विजयी भएँ भन्नेले गर्नुपर्छ : वामदेव

    विभाजित नेकपा एकता अभियानका संयोजक तथा पार्टी उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मालोचना गर्दै राजीनामा दिन सुझाव दिएका छन् । प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै उल्टाएपछि नैतिकताको आधारमा पनि राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने गौतमको भनाइ छ । पछिल्ला राजनीतिक घटनाक्रम र अबको परिदृश्यमा केन्द्रित रही गौतमसँग गरिएको कुराकानीको अंश :

    प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई कसरी लिनुभएको छ ?

    सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको यो निर्णयले नेपालको संविधानको संरक्षण गरेको छ । यो निर्णयले नेपाली जनताको सार्वभौम अधिकारलाई पुन:स्थापित गरेको छ । र, यसले स्वेच्छाचारी तरिकाले जे मनलाग्यो त्यही गर्दै हिंड्न पाइँदैन भनेर अनुशासन बोध पनि गराएको छ । त्यसैले यो निर्णय नेपालको संविधान बमोजिम, नेपालको संविधानको मर्म र भावना बमोजिम र हामीले निर्माण गरेको संविधानको अक्षरसँग पनि सम्बन्धित बनाएर निर्णय भएको छ । प्रतिनिधिसभा भङ्ग गर्ने काम असंवैधानिक हो र यससित सम्बन्धित भएर सरकारले जति पनि काम गरेको छ त्यो सबै असंवैधानिक हुन् भनेको हुनाले प्रतिनिधिसभा मात्रै पुन:स्थापित होइन अरु धेरै कामहरू पनि असंवैधानिक भएको हुनाले खारेज हुन्छन् । ज्यादै ठूलो ऐतिहासिक महत्व राख्ने निर्णय भएको छ । मैले यसलाई ऐतिहासिक निर्णय भनेर भनेको छु ।
    मन्त्रिपरिषद्ले गरेको एउटा निर्णयले राष्ट्रिय राजनीति, पार्टीभित्रको राजनीति सबै खलबलिएको थियो ।

    अब कोर्स कताबाट शुरू गर्नुपर्छ र कसले पहलकदमी लिनुपर्छ, कसको के भूमिका हुनुपर्छ ? तपाईले उठाउँदै आउनुभएको पार्टी एकताको कुरा अब कुन शिराबाट शुरु हुन्छ ?

    पार्टी एकताको निम्ति शुरू गर्नुपर्ने दुईवटा अध्यक्षले हो । दुवै अध्यक्षले पार्टी एकीकरण गर्ने विषय उठाउनुभएन । पार्टी त विभाजन भइसक्यो अब मिल्न सक्दैन भन्ने प्रचण्डको भनाइ आयो र पार्टी फुटाएको हामीले होइन फुटाएको केपी ओलीले हो भनेर भन्नुभएको छ । पार्टी फुटाउने काम प्रचण्ड माधवहरूले हो भनेर यतातिर भनेको छ अनि साइड बाई साइड पार्टी फुटाउने वामदेव हो भनेर दुवैले आ-आफ्नो तरिकाले भन्नुभएको छ । जसले जे काम गर्नुभएको छ त्यसको जिम्मा नलिने चलन छ । राम्रो भएमात्रै आफूले जिम्मा लिने नराम्रो भयो भने त्यसको दाेष अरुलाई लगाउने, आफैं गरेका काममा पक्षपोषण गर्न सकिएन भने उहाँको कामलाई सहयोग गर्नेहरूलाई अगाडि सार्ने र उनीहरूले गर्दाखेरि नै यो सबै भएको भनेर भन्ने चलन छ । एउटा हुँदाखाँदाको पार्टी नेपाली जनताले विश्वास गरेको त्यस्तो पार्टीलाई फुटाएर उहाँहरु हिंड्नुभएको छ । यो पुन:स्थापनाले यो बीचमा भएका क्रियाकलापलाई पनि पुन:स्थापित गर्नुपर्छ । यद्यपि सर्वोच्च अदालतले गरेको निर्णय हाम्रो पार्टीभित्र लागू हुँदैन । पार्टीभित्र पार्टीको विधान लागू हुन्छ । त्यसैले पार्टीका नेताहरुले त्यो गर्नुभएन भने हामी पार्टी एकता राष्ट्रिय अभियानमा सामेल भएकाहरूले एकता गर्नको निम्ति पहलकदमी गर्छौं र यो निरन्तर अगाडि बढ्छ ।

    कहाँबाट शुरू हुनुपर्छ ?

    जसले मैले जितेको छु भनेर भन्नुभएको छ उहाँबाट शुरू हुनुपर्ने हो । हिजो प्रचण्डले विभिन्न मिडियामा बोल्नुभएको प्रतिक्रिया मैले सुने । उहाँले चाल्नुभएको कदम सही सावित भएको छ केपी ओलीले चाल्नुभएको कदम गलत सावित भएको छ र त्यो असंवैधानिक छ भनेर भन्ने छ । यस्तो अवस्थामा फेरि पुनः पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो । उहाँले भन्नुपर्ने हो । पराजित भएकोले भनेर त अरुले मान्दैनन् । त्यसैले जसले आफूलाई म विजयी भए भनेर भन्छ उसले भन्ने हो । तर, प्रचण्डले त्यस्तो भन्नुभएको मैले पाइनँ । पार्टी एकता हुन्छ, पार्टी एकता गर्नुपर्छ अब सबै साथीहरू एकजुट हुनुहुन्छ म उहाँहरुलाई आव्हान गर्छु एकता हुनको निम्ति भनेर भन्नु भन्दा अब सबै मैले बनाएको पार्टीमा आउनुहोस् भनेर भन्नुहुन्छ । त्यो भएर जिम्मेवारी कसैले पनि लिनुभएन । लिनुपर्ने जिम्मेवारी यसपटक प्रचण्डले हो । माधव नेपालले हो । पार्टी फुटिसक्यो त्यो फुटेको पार्टी गइसक्यो अब हामीसँग भएको पार्टीमा आउनुपर्छ भन्ने उहाँहरुको अभिव्यक्ति पाइयो । त्यो अभिव्यक्ति उहाँहरुको निम्ति त सही होला तर मलाई राम्रो लागेन ।

    अब तपाईं चाहिं के गर्नुहुन्छ ?

    मैले औपचारिक र अनौपचारिक रूपमा एकताको निम्ति प्रयत्न गर्ने हो । पहिला म दुईवटा अध्यक्षलाई नै गएर भन्छु महासचिवलाई भन्छु पार्टी एकताको निम्ति पहल गर्नुहोस् भनेर । केपी ओलीले असंवैधानिक काम गर्नुभयो तर असंवैधानिक काम गरेपछि सर्वोच्च अदालतले त्यसलाई सुधार गरिसक्यो । उहाँको कदम असंवैधानिक छ भनिसकेपछि उहाँले पार्टीमा फर्केर आएर आत्मालोचना गर्नुपर्छ । मैले यस्तो गरें त्यसको सजाय सर्वोच्च अदालतको संवैधानिक इजलासले दिइसकेको छ अब म आत्मालोचना गर्दै एकीकृत पार्टीमा आउँछु र अरुहरु पनि हामी एकीकृत पार्टीलाई अगाडि बढाउनको निम्ति लागौं भनेर उहाँले भन्नुपर्ने हो । उहाँले त्यो भनेको अहिले सम्म मैले सुनेको छैन । त्यसो भएर हामीहरुले नै सबै काम गर्नुपर्ने भयो । अरु एकताको पक्षमा रहेका साथीहरु जति हुनुहुन्छ अब हामी एकताबद्ध हुन्छौं र नेतृत्वलाई हामीले एकतामा आउनको निम्ति एकताबद्ध हुनको निम्ति एउटा ठूलो दबाब सिर्जना गर्ने हो त्यो गर्छौं ।

    सर्वोच्च अदालतको हिजोको निर्णयबाट सरकार प्रमुख र राष्ट्रपति माथि नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन ?

    नैतिकताको प्रश्न नीति मान्नेहरूलाई उठ्दो रहेछ । जसले नैतिकता मान्दै मान्दैन उसको निम्ति नैतिकताको प्रश्न पनि उठ्दो रहेनछ । तर, म के ठान्छु भने लामो समय कम्युनिष्ट आन्दोलनमा लागेकाहरुले यो नैतिकता बुझ्नुहुन्छ । त्यो भएर प्रधानमन्त्री ओलीले चाल्नुभएको कदम असंवैधानिक भइसकेपछि उहाँले गर्नुभएको काम गलत भइसकेपछि आफूलाई सच्याउनको निम्ति राजीनामा तुरुन्तै गर्नुपर्छ । हिजै राजीनामा गर्नुपर्थ्यो । सर्वोच्च अदालतको निर्णय बाहिर आउने वित्तिकै राजीनामा गर्नुपर्थ्यो अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन । म फेरि पनि यही सूचना केन्द्रबाट भन्न चाहन्छु उहाँले तुरुन्तै राजीनामा गर्नुहोस् । राजीनामा गरेर पार्टी एकताको आव्हान गर्नुहोस् । मैले गल्ती गरेको थिएँ म आफूलाई सच्याउन चाहन्छु त्यसैबापत मैले राजीनामा गरिसकेको छु र अब नयाँ किसिमले एकताबद्ध भएर अगाडि बढौं भनेर उहाँले भन्नुपर्छ ।

  • धुम्बाराहीमा सचिवालय बैठक बोलाउन ओली र प्रचण्डलाई वामदेवको आग्रह

    धुम्बाराहीमा सचिवालय बैठक बोलाउन ओली र प्रचण्डलाई वामदेवको आग्रह

    काठमाडौं । विभाजित नेकपा एकता अभियानका संयोजक तथा पार्टी उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

    गौतमले बुधवार प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीले ढिला नगरी राजीनामा दिनुपर्ने र राष्ट्रपतिले प्रेस विज्ञप्तिमार्फत अदालतको निर्णयको स्वागत गर्दै प्रतिनिधिसभा वैठक आह्वान गर्नुपर्ने बताएका हुन् ।

    गौतमले नेकपा विभाजनलाई अश्वीकार गर्दै दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाउन अनुरोध समेत गरेका छन् ।

    हाल धुम्बाराहीमा ओली पक्षको कार्यालय छ । गौतमले सर्वोच्चको फैसलालाई ऐतिहासिक भनेका छन् ।

  • प्रचण्ड-माधव पक्षीय नेकपा संसदीय दलको बैठक बस्दै

    प्रचण्ड-माधव पक्षीय नेकपा संसदीय दलको बैठक बस्दै

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले आजै संसदीय दलको बैठक बोलाएको छ । अपरान्ह ४ बजे दलको बैठक बोलाइएको पुनःस्थापित प्रतिनिधिसभाका सदस्य झपट रावलले बताए ।

    प्रतिनिधिसभा पुनःस्थापनापछि अबको कदमबारे सांसदहरुलाई जानकारी गराउन बैठक बोलाइएको हो । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड माधव पक्षले दलको नेताबाट केपी ओलीलाई हटाएको घोषणा गर्दै प्रचण्डलाई नेता चयन गरेको थियो ।

    कानुनी रुपमा नेकपा विभाजन भइनसकेकाले दलको नेताबाट ओलीलाई हटाउने हो भने पनि प्रचण्ड माधव पक्षले वैधानिक प्रक्रियामा जानुपर्ने हुन्छ । त्यसबारे पनि बैठकमा छलफल हुनसक्ने अर्का सांसद कृष्णभक्त पोखरेलले बताए ।

    पुनःस्थापित प्रतिनिधिसभामा प्रचण्ड-माधव पक्षका सांसद कति छन् भन्ने पनि आजको बैठकबाट थाहा हुनेछ ।

  • नेम्वाङको प्रतिक्रिया- कानूनी शासन मान्ने शक्ति हौं, अदालतको फैसलाअनुसार अघि बढ्छौं

    नेम्वाङको प्रतिक्रिया- कानूनी शासन मान्ने शक्ति हौं, अदालतको फैसलाअनुसार अघि बढ्छौं

    काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले सदर नगरिदिएको भए पनि आफूहरूले फैसलालाई मानेर अघि बढ्ने प्रधानमन्त्री केपी शर्मा नेतृत्वको नेकपाका नेता सुवास नेम्वाङले बताएका छन् ।

    आफूहरु कानूनी शासन मान्ने शक्ति भएको र फैसलालाई शिरोधार्य गरेरै अगाडि बढ्ने नेम्वाङको प्रतिक्रिया छ। नेपाल प्रेससँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘हामी कानूनी शासन मान्ने शक्ति हौं। स्वतन्त्र न्यायपालिकालाई संविधानको व्याख्याता मानेको छ । अब उसले गरेको फैसला नै सर्वाेपरि रहन्छ ।’

    अदालतको फैसला कस्तो लाग्यो त ? भन्ने प्रश्नमा पूर्व सभामुख एवम् नेकपा संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले भने, ‘अब उसले गरेको फैसलाले राजनीतिक रूपमा रहेका कतिपय समस्याहरूलाई सुल्झाउन सकेको छैन होला । त्यो कोणबाट प्रश्नहरू उठेको देखिन्छ । तर, मूल रूपमा संविधानको व्याख्याता भनेको सर्वोच्च अदालत नै हो ।’

    आफ्नो कदमको अनुमोदन नभएपछि प्रधानमन्त्रीले नैतिकतका आधारमा अब राजीनामा दिन्छन् या संसदको सामना गर्छन् भन्नेबारे प्रष्ट भइनसकेको नेम्वाङले बताए। उनले भने, ‘उहाँले अहिले त्यसबारेमा केही भन्नुभएको छैन ।’

    मंगलबार बेलुका प्रधानमन्त्रीका संचार सल्लाहकार सूर्य थापाले सामाजिक संजालमार्फत प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने बताएका थिए ।

  • प्रधानमन्त्री ओलीले बोलाए नेकपा स्थायी समिति बैठक

    प्रधानमन्त्री ओलीले बोलाए नेकपा स्थायी समिति बैठक

    काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएका छन् । पार्टी विभाजनपछि ओली पक्षीय स्थायी समितिको बैठक पहिलोपल्ट बस्न लागेको हो ।

    पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारी निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि ओलीले आफूपक्षीय स्थायी समितिको बैठक बोलाएका हुन् ।

    ओली पक्षमा साविकको नेकपाका ४४ मध्ये १६ जना स्थायी समिति सदस्यहरु छन् ।

     

  • ओलीले भने- प्रचण्ड र माधव हल बाँधेर मैकहाँ आइपुग्न बेर छैन

    ओलीले भने- प्रचण्ड र माधव हल बाँधेर मैकहाँ आइपुग्न बेर छैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको सम्भावित फैसला राजनीतिक अस्थिरतालाई मलजल गर्ने गरी नआउने विश्वास व्यक्त गरेका छन् ।

    राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफू जस्तोसुकै परिस्थिति सामना गरेर आएको व्यक्ति भन्दै जे फैसला आए पनि डटेर अघि बढ्ने बताए ।

    ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने भन्दै कथम् कदाचित भएछ भने पनि प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्ने सम्भावना एक प्रतिशत पनि नरहेको बताए । पार्टी फुटाएर बहुमतको सरकार ढाल्ने र अरुलाई प्रधानमन्त्री बनिदेऊ भन्दै हल बाँधेर हिंड्ने अवस्थामा प्रचण्ड-माधव पुगेको ओलीको टिप्पणी छ ।

    प्रधानमन्त्रीले भने, ‘काल्पनिक रूपमै भने पनि लौ प्रतिनिधिसभा पुनःस्थापना भएछ रे, त्यसपछि विचरा प्रचण्ड, माधवजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिंड्नुहुन्छ । प्रधानमन्त्री भइदिनुस् भन्दै कहिले उत्तर, कहिले दक्षिणतिर जानुहुन्छ । खोजेर हिंड्दा हिंड्दै मैकहाँ आइपुग्न बेर छैन ।’

    ओलीले देशलाई अस्थिरतातर्फ लैजाने फैसला अदालतले गर्छ भन्ने आफूलाई विश्वास नरहेको बताए । उनले सूर्य चिन्ह आफूले २०४७ सालमा निर्वाचन आयोगमा दर्ता गराएको भन्दै प्रचण्ड फर्केर पेरिसडाँडा गइसकेकाले चिन्ह कसले पाउँछ भन्ने विवाद नै नरहेको बताए ।