Tag: नाट्टा

  • नाट्टा नेतृत्वका लागि दुई समूहको प्रतिस्पर्धा

    नाट्टा नेतृत्वका लागि दुई समूहको प्रतिस्पर्धा

    काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आज हुन गइरहेको निर्वाचनका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । नाट्टा निर्वाचनमा रमेश थापा र विनय बस्नेत समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेर चुनावी माहोल बनाउन दुवै समूह लागि परेका हुन् ।

    मुनसन ट्राभल्स एण्ड टुर्सका सञ्चालक थापा लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी बस्नेत कोशी टुर एन्ड ट्राभलका सञ्चालक छन् । पर्यटन व्यवसायमा उनको पनि लामो अनुभव छ । अध्यक्षका प्रत्यासी थापाले कोभिड महामारीबाट थलिएको पर्यटन क्षेत्रको पुनरोत्थानका लागि सक्रिय भूमिका निर्वाह गर्ने बताए।

    अर्का अध्यक्षका प्रत्यासी बस्नेतले कोभिड महामारीपछि ट्राभल तथा टुर अपरेटर व्यवसाय धराशायी अवस्थामा पुगेको भन्दै आफ्नो प्यानलले जितेमा व्यवसाय प्रवद्र्धनका साथै बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

    थापाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा प्रमोद दाहाल, उपाध्यक्षमा वरुण मेहता, महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा र सहकोषाध्यक्षमा राजा शाक्य प्रत्यासी छन् । त्यस्तै सदस्यमा ढकनाथ काफ्ले, नमराज भेटुवाल, परशुराम घिमिरे, डेन्डी शेर्पा, महेश कोइराला (दीपक), राम शोभित नायक, श्रद्धा जोशी र सवला भण्डारीले उम्मेदावरी दिए ।

    त्यसैगरी बस्नेत प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुधीरकुमार उपाध्याय, सुनिल शर्मा, महासचिवमा जिश्वाँ तुलाधर श्रेष्ठ, सचिवमा प्रज्ञा शर्मा, कोषाध्यक्षमा सुदर्शन नेपाल र सहकोषाध्यक्षमा गीता ढकाल रेजु उम्मेदवारको प्रत्यासी छन् । त्यस्तै कार्यसमिति सदस्यमा विष्णु पाण्डे, सुदर्शन पौडेल, साधुराम थापा सुरज, दिनेश मैनाली, सन्तोष गुरुङ, चुडा जिम्बा, सुमनलाल श्रेष्ठ र राजकुमार पाठक रहेका छन् ।

    नेपालमा दर्ता भएका झण्डै दुई हजार ८०० ट्राभल्स एन्ड टुर कम्पनी रहेको बताइन्छ । हाल नाट्टामा ४०० सदस्य रहेको संस्थाले जनाएको छ ।

  • विदेशीलाई स्वदेश फर्कने वातावरण निर्माण गर्न माग

    विदेशीलाई स्वदेश फर्कने वातावरण निर्माण गर्न माग

    काठमाडौं । नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल भ्रमणमा आएका विदेशी नागरिकलाई आफ्नो देश फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ ।

    नाट्टाका कार्यवाहक अध्यक्ष विनय बस्नेतले मङ्गलबार विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमणले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशी पर्यटक अलपत्र परेको भन्दै स्वदेश फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका हुन् ।

    ‘नेपाल आएका विदेशी पर्यटक आफ्नो भ्रमण सम्पन्न गरी आफ्नो गन्तव्यमा जानलाई रोकिएको अवस्थामा त्यस्ता पर्यटकको विवरण सङ्कलन गरी यसै आधारमा आवश्यक गन्तव्यको पहिचान गरी कम्तीमा प्रत्येक साता दुई/तीनवटा नियमित उडान गर्नुपर्छ’, नाट्टाका कावा अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    नाट्टाले मे २५ देखि नियमित उडानका लागि अनुमति प्रदान गर्न, नियमित उडानबाट आवतजावत गर्ने विदेशी तथा नेपाली नागरिकलाई कोरोना संक्रमणलाई दृष्टिगत गरी पूर्ण रुपमा स्वास्थ्य मापदण्ड लागू गराउन आग्रहसमेत गरेको छ । चार्टर उडानमा अत्यधिक हवाई भाडा महङ्गो भएको भन्दै नाट्टाले अन्तरर्राष्ट्रिय गन्तव्यका लागि चार्टर उडान अनुमति प्रदान नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    -रासस