Tag: धनुषा

  • कांग्रेस प्रदेश-२ को उप-सभापतिमा घिमिरेको उम्मेदवारी घोषणा

    कांग्रेस प्रदेश-२ को उप-सभापतिमा घिमिरेको उम्मेदवारी घोषणा

    जनकपुरधाम । नेपाली का‌ग्रेसका नेता प्रफुल्ल घिमिरेले प्रदेश-२ को उप-सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । जनकपुरमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले उपसभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    धनुषा क्षेत्र नम्बर ३ बाट का‌ग्रेस महाधिवेशन प्रतिनिधि चुनिएका घिमिरेले पार्टीका उप-सभापति बिमलेन्द्र निधीको समुहबाट उम्मेदवारी दिने बताए । पार्टीलाई सिद्धान्तनिष्ट र अनुशासित कार्यकर्ता निर्माण गर्ने अभियान चलाउन प्रदेश उपसभापतिमा उम्मेदवारी दिएकाे उनकाे भनाइ छ ।

    २०३६ सालमै नेविसंघबाट राजनीति सुरु गरेका उनी तरुण दलको जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य र जनकपुरस्थित राराब क्याम्पसका उपसभापतिसमेत भइसकेका छन् । उनी नेपाल पत्रकार महासंघ धनुषा शाखाको सदस्य पनि हुन् ।

    नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन आजबाट जनकपुरमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने प्रदेश अधिवेशनको उद्घाटन उपसभापति निधीले गर्नेछन् ।

    प्रदेश सभापतिका लागि प्रदेश संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले मात्र औपचारिक घोषणा गरेका छन् ।

  • छोरा नजन्माएको भन्दै श्रीमतीको हत्या

    छोरा नजन्माएको भन्दै श्रीमतीको हत्या

    जनकपुरधाम । ‘बझिनिया’ भन्दै धनुषाको सबैला नगरपालिकामा एक श्रीमानले श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ ।

    छोरा जन्ममाउन नसकेको भन्दै सबैला नगरपालिका ३ बस्ने ३५ वर्षीय लालबाबु साफीले ३० वर्षीया श्रीमती अजमेरी खातुनको घाँटी थिचेर हत्या गरेको मृतकका माइती पक्षकाे आरोप छ ।

    १३ वर्षअघि प्रेम विवाह गरेकी अजमेरीलाई लामो समयदेखि छोरा र दाईजोलाई लिएर साफी र उनका वहिनी नुरजहा खातुन, दाई मन्जुर साफीले मानसिक तनाव दिदै आएको खातुनका बुबा मोहम्मद आलमले बताए ।

    कार्तिक ८ गते राती रक्सी खाएर साफीले घरमा सुतिरहेका छोरीको घाँटी थिचेर हत्या गरेको उनको आरोप छ । मृतकको शरिरभरि ढाम देखिएको र घाँटीमा समेत डाम देखिएको उनको भनाइ छ ।

    किटानी जाहेरी दिएपनि प्रहरीले आरोपीलाई कारबाही गर्न तदारुकता नदेखाएको मृतककी आमा गुलशन खातुनले आरोप लगाइन् ।

    यता, ईलका प्रहरी कार्यालय सबैलाका प्रहरी उपरीक्षक राजेश सिग्देलले घटनामा भएलगतै मृतकका श्रीमान लालबाबु साफीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए ।

    घटनामा संलग्न अन्य आरोपीको खोजबिन गरिरहेको बताउँदै उनले भने, ‘चाडपर्वको कारण घटनाको अनुसन्धान केहि प्रभावित हुन पुगेको छ । अब अनुसन्धान अगाडि बढ्छ ।’

  • धनुषाका १६ पालिकामा एमाले अधिवेशन बाँकी

    धनुषाका १६ पालिकामा एमाले अधिवेशन बाँकी

    जनकपुरधाम । धनुषाको १६ पालिकामा तोकिएको समयमा नेकपा एमालेको अधिवेशन हुन सकेन ।

    मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा मात्र अधिवेशन सकिएको छ । मिथिलामा दीपक थापाको अध्यक्षतामा ७५ सदस्यीय र बटेश्वरमा रामखेलावन महतोको अध्यक्षतामा ६५ सदस्यीय नेतृत्व चयन गरिएको छ ।

    एमाले धनुषा अध्यक्ष राजकिशोर यादवले १६ पालिकामा अधिवेशन गर्न बाँकी रहेको बताए । उनका अनुसार केही वडामा विवाद देखिएको र सदस्यता नवीकरण नभएकोजस्ता प्राविधिक कठिनाइले अधिवेशन समयमा नभएको हो ।

    धनुषामा कुल १६९ वडा रहेकोमा १३० वटामा वडा अधिवेशन सम्पन्न भइसकेको अध्यक्ष यादवले बताए । बाँकी रहेको वडा र पालिकामा अधिवेशन छिट्टै सकिने उनले बताए ।

  • जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतभित्रै आत्महत्या

    जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा आज विहान एक थुनुवाले आत्महत्या गरेका छन् ।

    धनुषा प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रका अनुसार लक्ष्मीनिaयाँ गाउँपालिका घर भएका थुनुवा पल्टु रबिदासले आत्महत्या गरेका हुन् । उनी कुटपिट अंगभंग मुद्दामा पक्राउ परेका थिए ।

    थुनुवा रबिदासले आफूले लगाउने गञ्जी च्यातेर पासो बनाई भेन्टिलेशनमा झुण्डिएको डिएसपी मिश्रले जानकारी दिए । उनले घटना विषयमा थप अनुसन्धान भइरहेको बताए ।

  • धनुषाका चार जनप्रतिनिधिलाई माओवादीले सोध्यो स्पष्टीकरण, एमालेमा लागेको आरोप

    धनुषाका चार जनप्रतिनिधिलाई माओवादीले सोध्यो स्पष्टीकरण, एमालेमा लागेको आरोप

    जनकपुरधाम । एमालेमा लागेको आरोपमा धनुषामा एक मेयरसहित चार जनप्रतिनिधिलाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ ।

    माओवादी केन्द्र धनुषाका इन्चार्ज योगनारायण बरबरिया र सचिव दिपक यादवले विदेह नगरपालिकाका मेयर बेचनदास तत्मा, उपमेयर निलमदेवी मण्डल, सबैला नगरपालिकाकी उपमेयर निलुदेवी कापर र शहिदनगर नगरपालिकाकी उपमेयर शिलादेवी कापरलाई लिखित स्पष्टीकरण सोधेका हुन् ।

    एमाले र माओवादी ब्युँताउने सर्वोच्चको फैसलापछि पार्टी पुरानै अवस्थामा फर्किएपनि पार्टीको कार्यक्रमहरूमा के कति कारणले सहभागी नभएको ? भनी उनीहरूसँग जवाफ मागिएको छ । तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

    चारैजनालाई पठाइएको एकै व्यहोराको पत्रमा आफ्नो स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशीलता नदेखाएको भन्दै नेकपा माओवादी केन्द्र त्याग गरेको हो वा होइन् ? भन्ने प्रश्नसमेत सोधिएको छ ।

    उनीहरूले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई साथ दिएको भन्दै एक माओवादी नेताले भने, ‘पदमुक्त गर्ने प्रक्रिया पूरा गर्न स्पष्टीकरण सोधेका हौं । उनीहरूलाई कारवाही हुन्छ ढुक्क हुनुस् ।’

  • धनुषामा आजदेखि निषेधाज्ञा– विवाह गर्न छुट, बैंक खुल्ने

    धनुषामा आजदेखि निषेधाज्ञा– विवाह गर्न छुट, बैंक खुल्ने

    जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरसहित धनुषा जिल्लाभर आजबाट १० दिनका लागि निषेधाज्ञा सुरु भएको छ ।

    निषेधाज्ञा सुरु भएपछि बजारमा औषधि बाहेकका पसलहरु बन्द छ । बजारमा मानिसहरुको आवतजावत रोक्न ठाउँ-ठाउँमा प्रहरी परिचालन गरिएको छ । निषेधाज्ञाको पहिलो दिन भएकाले सडकमा मानिसहरु आवतजावत रोक्न प्रहरीलाई हम्मे परेको देखिन्छ ।

    खाद्य वस्तु, खाना पकाउने ग्याँस, निर्माण सामग्रीसँग सम्बन्धित व्यवसायहरु विहान ६ बजेदेखि ९ बजेसम्म खोल्न पाइने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । उनका अनुसार स्वास्थ्य सेवासँग सम्बन्धित पसलहरु भने चौसिबै घण्टा स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाइन्छ ।

    कोरोना महामारीले भयावह रुप लिन थालेको निकर्ष निकाल्दै डीसीसीएमसी धनुषाको बैठकले आज विहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाले कोरोना संक्रमण दर घट्ने अपेक्षा छ ।

    विवाह गर्न छुट

    निषेधाज्ञाको अवधिमा पनि स्वास्थ्य मापदण्ड अपनाएर विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्य गर्न पाइने निर्णय डीसीसीएमसीले गरेको छ । तर बढीमा १५ जनामा सहभागी हुन पाइने भनिएको छ ।

    विवाह ब्रतबन्धमा आवत जावतका लागि बढीमा २ वटा साना र एउटा ठूलो गाडीमा शुभविवाहको व्यानर राखेर सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी बास्तोलाको भनाई छ ।

    बैंकहरु खुल्ला रहने

    निषेधाज्ञाको अवधिमा पनि बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेको पाइएको छ । बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गर्ने वा नगर्ने विषयमा डीसीसीएमसीले कुनै निर्णय गरेको छैन ।

    बैंकहरुले सीमित समयमा सेवा प्रवाह गर्ने सूचना जारी गरेको छ । आइतवारदेखि विहीवारसम्म विहान १० बजेदेखि २ बजेसम्म र शुक्रवार विहान १० बजेदेखि १ बजेसम्म सेवा प्रवाह गर्ने बैंकहरुले जारी गरेको सूचनामा उल्लेख छ ।

  • कोरोना पीडितका लागि आएको राहत सामाग्री कुहिएपछि…

    कोरोना पीडितका लागि आएको राहत सामाग्री कुहिएपछि…

    जनकपुरधाम । कोरोना महामारीको असर कम गर्न भन्दै सरकारले देशव्यापी लागू गरेको लकडाउनको असर विपन्न वर्गमा ज्यादा पर्‍यो । मजदूरी गरेर जीविका चलाउनेहरु घरबाट बाहिर निस्कन पाएनन् । गरिब जनतालाई भोकले मर्न नदिन प्रदेश सरकारले उपलब्ध गराएको राहत सामाग्री धनुसाको विदेह गाउँपालिकाले कुहाएर नालामा फालेको पाइएकको छ ।

    तीनकोरिया चोकमा रहेको नगरपालिका कार्यालय नजिकै नालामा राहत सामग्री फालिएको अवस्थामा स्थानीयले देखेका हुन् । उक्त सामग्री लामो समयसम्म नबाँडेर थन्काएपछि बिग्रेर गन्हाउन लाग्दा फालिएको बताइएको छ ।

    नगरपालिका प्रमुख बेचन दासले वितरण नभएको राहत सामग्री बिग्रेपछि फालेको स्वीकार गरे । ‘प्रदेश सरकारले पठाएको सबै सामान फालेको हैन । बाँड्ने बेलामा बोरा च्यातिएकाले ५/६ बोरा वितरण हुन सकेको थिएन् । त्यो राहत सामग्री मात्र फालेका हौं,’ उनले थोरै मात्र फलिएको दावी गरे पनि नालामा कम्तिमा ५०/६० बोरा चामल र त्यत्तिकै मात्रामा आलू, दाल लगायतका खाद्य सामाग्री फालिएका छन् ।

    प्रदेश सरकारले प्रति परिवार २५ किलो चामल, ५ किलो दाल, २ लिटर तेल, चिनी, नुन, सावुन लगायतका सामग्रीको प्याकेज बनाएर गरिब विपन्नलाई बाँड्न नगरपालिकालाई उपलब्ध गराएको थियो । कति पोका राहत सामग्री नगरपालिकामा आएको थियो भन्ने बारेमा प्रमुख दासले बताउन चाहेनन् ।

    गरिब विपन्नलाई वितरण नगरी राहत सामग्रीको दुरुपयोग गरेको भन्दै जानताले जनप्रतिनिधिलाई कारबाही गर्न माग गरेका छन् । स्थानीयवासी रामकुमार मण्डलल राहतको दुरुपयोग गर्नेमाथि छानविन गरी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरे ।

    यता, राहत सामग्री फालेको विषयमा वडाअध्यक्षहरु भने अनभिज्ञ छन् । नगरपालिकाको कार्यालय रहेको वडा ७ का अध्यक्ष श्यामकुमार यादवले राहत सामग्री फालेको विषयमा प्रमुखले कुनै जानकारी नगराएको बताए ।

  • धनुषामा एकैदिन दुई पुरुषको शंकास्पद हत्या

    धनुषामा एकैदिन दुई पुरुषको शंकास्पद हत्या

    जनकपुरधाम । धनुषामा एकैदिन दुई जनाको शंकास्पद हत्या भएको छ । बिहीवार विहान क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडियास्थित आँपको बगैंचामा परिचय खुल्न नसकेका एक पुरुषको शव भेटियो । आज विहानै औरही गाउँपालिका २ कपटौलस्थित खेतबारीको बगैचामा पनि एक पुरुष मृत फेला परेका हुन् ।

    पर्सा पकडियास्थित आँप बगैचामा फेला परेको पुरुषको पहिचान खुल्न सकेका छैन । उनलाई कसैले हत्या गरेर बगैचामा फालेको हुनसक्ने स्थानीयको अनुमान छ । तर प्रहरीले घटनाको अनुसन्धान भइरहेको मात्र बताएको छ ।

    यस्तै कपटौलमा मृत फेला परेका ४० वर्षीय पुरुष औरही गाउँपालिका ३ का विजय मण्डल रहेको प्रहरीले जनाएको छ । उनलाई गम्छाले घाँटी थिचेर हत्या गरेको देखिएको स्थानीय बताउँछन् । चैते धान रोप्न गएका उनी खेतबाटै बेपत्ता भएका थिए ।

    ईलाका प्रहरी कार्यालय औरहीका इन्चार्ज प्रहरी नायब निरीक्षक सन्तोष झाले घटना विषयमा अनुसन्धान भइरहेको बताए । उनले कानूनी प्रक्रिया पुरा गरी शव पोष्टमार्टमका लागि जनकपुर पठाएको जानकारी दिए ।

  • धनुषामा अश्लील गीत बजाउन र डीजेइङ गर्न प्रतिबन्ध

    धनुषामा अश्लील गीत बजाउन र डीजेइङ गर्न प्रतिबन्ध

    जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले डीजे बाजा र आर्केस्ट्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । दिउँसोको समयमा सानो स्वरमा डीजे बजाउन पाउने र रातिको समयमा पूर्णतः प्रतिवन्ध लगाइएको छ ।

    धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाट र डीजे व्यवसायीहरुबीच मंगलवार भएको छलफलपछि डिजे बजाउने मापदण्ड तोकेको हो । राति ९ बजेदेखि विहान ५ बजेसम्म ठूलो आवाजमा ध्वनी निस्कने डीजे बाजा बजाउन पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको एसपी रानाभाटले बताए ।

    उनका अनुसार विहान ५ बजेदेखि राति ९ बजेसम्म डिजे बजाउन पाइनेछ । तर ठूलो आवाज होइन् । दिनमा डीजे वा अन्य बाजा बजाउँदा छरछिमेकबाट गुनासो आएमा तत्काल बन्द गर्नुपर्ने कुरामा डीजे व्यवसायीहरु सहमत भएका छन् ।

    उनले भने, ‘डीजे वाजाले समस्या भएको गुनासो सिधा सम्बन्धित प्रहरी कार्यालयमा गर्न सकिन्छ । प्रहरीले तत्कालै डीजे बन्द गराउनेछ ।’ अन्य जिल्ला तथा बाहिरबाट आउने डीजे व्यवसायीहरुले समेत निर्णयको पालना गर्नुपर्ने उनले बताए ।

    यस्तै अश्लील गीत र द्वीअर्थ लाग्ने गीतहरु नबजाउने प्रतिबद्धता डिजे व्यावसायीहरुले जनाएका छन् । समाजमा नकारात्मक प्रभाव पारिरहेकाले अश्लील गीत र द्वीअर्थ लाग्ने गीतहरु नबजाउन प्रशासनले डिजे व्यवसायीहरुलाई निर्देशन दिएको छ ।

    तराई मधेसका ग्रामिण भेगमा विभिन्न अवसरमा आर्केस्ट्रा तथा डिजे नाचहरु गर्ने चलन छ ।

  • गैरजिम्मेवार गाउँपालिका अध्यक्ष, अटेरी कर्मचारी– नागरिकले वृद्धभत्ता पनि पाएनन्

    गैरजिम्मेवार गाउँपालिका अध्यक्ष, अटेरी कर्मचारी– नागरिकले वृद्धभत्ता पनि पाएनन्

    जनकपुरधाम । कर्मचारी र नेतृत्वबीचको जुँगाको लडाईंले बेथिति कसरी मौलाइरहेको छ भन्ने उदाहरणका लागि धनुषाको औरही गाउँपालिका पर्याप्त छ । अध्यक्ष ब्रह्मदेव यादव र प्रमुख प्रशासकीय अधिकृत सुबोध ठाकुरबीचको द्वन्द्वले दैनिक काम मात्र होइन विकास निर्माण र दिगाे लक्ष्यका कामहरु पनि संचालन हुनसकेका छैनन् ।

    करिब ८ महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण भएको छैन । विकास निर्माणको काम ठप्प छ । सामाजिक सुरक्षा भत्ता लामो समयदेखि वितरण नगरेपछि आइतवार सयौं वृद्धवृद्धाले गाउँपालिका कार्यालय घेराउ गरे । उनीहरुले अध्यक्ष यादवविरुद्ध नारा लगाए । उनको राजीनामासमेत मागे । तर उनीहरुको पीडा सुनिदिने कोही थिएन ।

    कार्यालयको प्रवेशद्वार खुल्ला थियो । भित्र हेर्दा न अध्यक्ष न प्रमुख प्रशासकीय अधिकृत उपस्थित थिए । वृद्धवृद्धाहरु आन्दोलन गरिरहेका बेला उपाध्यक्ष मीरादेवी सहनी आइपुगिन् । उनलाई चारैतिरबाट आन्दोलनकारी वृद्धवृद्धाको घेराउमा परिन् ।

    लामो समयदेखि भत्ता नपाएका वृद्धवृद्धाहरु आक्रोशित हुँदै उपाध्यक्ष सहनीलाई प्रश्नमाथि प्रश्न तेर्साए । उनले वृद्धवृद्धाहरुलाई सम्झाउने प्रयास गरिन् ।

    उनले भनिन्, ‘भत्ताका लागि जनकपुर पुगेर पहल गरेका छौं । अध्यक्षको बदमासीले ढिलो भइरहेको छ । म के गरु ? मलाई केही अधिकार नै दिएको छैन ।’

    उनको कुरा वृद्धवृद्धाहरुले विश्वास गरेनन् । पछि उनले अध्यक्ष यादवलाई त्यही भीडबाट फोन लगाइन् र आउन आग्रह गरिन् । जवाफमा अध्यक्षले कर्मचारी र तपाईं भएपछि भइगो नि म किन आउनुपर्यो ? भनेर गैरजिम्मेवार कुरा गरे ।

    अध्यक्ष यादव आन्दोलित वृद्धवृद्धाको पीडा बुझ्न आएनन् । त्यसपछि झन् आक्रोशित बनेका वृद्धवृद्धाहरुले गाउँपालिकाको मुख्यद्वारमा ताला लगाए । हुन त प्रहरीले ताला लगाउनबाट रोक्ने प्रयास गरेको थियो । तर ज्येष्ठ नागरिकको भावनासँग पुलिसको पनि केही लागेन ।

    अध्यक्ष यादव एक महिनादेखि कार्यालय नआएको उपाध्यक्ष सहनीले बताइन् । उनले भनिन्, ‘उहाँले मलाई कुनै जानकारी गराउनुभएको छैन । कार्यालय किन नआएको भन्ने प्रश्न उहाँलाई नै सोध्नुहोला ।’ उनले आफूले कार्यवाहकको जिम्मेवारी पनि नपाएको प्रष्ट पारिन् ।

    पीडामा वृद्धवृद्धा

    प्रत्येक चौमासिकमा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बाँड्नुपर्ने हुन्छ । तर औरही गाउँपालिकाले अनेक बहाना बनाएर दुई चौमासिकको रकम वितरण गरेको छैन ।

    औरही गाउँपालिका २ का सोनेलाल साह भत्ता नपाउँदा ढाडको उपचार गराउन पाएका छैनन् । उनले नेपाल प्रेससँग भने, ‘एक महिना अगाडि खाटबाट लडेपछि ढाड नै भाँच्चियो । लाठीको सहाराले चल्नुपर्छ । भत्ता नपाएर उपचार गराउन पाएको छैन ।’

    उनी भत्ताका लागि कैयौं पटक गाउँपालिका धाइसके । तर अहिलेसम्म न प्रशासकीय अधिकृत न अध्यक्षको मुख हेर्न पाएका छन् । उनले कार्यालय आउँदा कर्मचारी नै नभेट्ने गरेको गुनासो पोखे । भने, ‘हामीले जिताएको मेयर पनि भेट्दैन । उनी बेइमान बने । सरकारको ध्यानाकर्षण होस् भनेर आज हामीले गाउँपालिकामा तालाबन्दी गरेका हौं ।’

    यस्तै ७५ वर्षीया वृद्धा समुन्द्री पासवान लामो समयदेखि गाउँपालिकाले भत्ता नदिएर आफूहरुसँग अन्याय गरेको बताउँछिन् । १५/२० दिन अगाडि पनि भत्ताकै लागि गाउँपालिकामा ताला लगाएको सम्झिंदै भनिन्, ‘उपाध्यक्षले सिडिओसँग कुरा गराइदिनुभयो । चार दिनमै भत्ता पाउनुहुन्छ भनेका थिए ।’

    उनले भत्ताका लागि करिब ४० दिन गाउँपालिका कार्यालय आएको बताइन् । उनले भनिन्, ‘मेयरले आज भोलि भन्दै झुलाउँछन् तर आफैं काठमाडौं भागिहाल्छन् ।’

    अधिकृतमाथि अध्यक्षको आक्रोश

    वृद्ध भत्ता वितरण नहुनुमा प्रमुख प्रशासकीय अधिकृत ठाकुर जिम्मेवार रहेको अध्यक्ष यादव बताउँछन् । उनले अधिकृत ठाकुरको बदमासीले आफ्नो चरित्रहत्या भइरहेको गुनासो गरे ।

    उनका अनुसार हरेक वर्ष वृद्धवृद्धाहरुको नयाँ तथ्यांक तयार गरेर वडाबाट आएपछि मात्र वृद्ध भत्ता वितरण हुन्छ । सबै वडाबाट मंसिर ११ गते कागजात आयो । त्यतिबेला अधिकृत नै थिएनन् । र भत्ता वितरण हुन सकेन ।

    उनले नेपाल प्रेससँग भने, ‘माघ ४ गते गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर भए । तर सोही महिनाको २१ गते मन्त्रालयले उनको सरुवा गर्यो । उनको सरुवा धनुषाकै धनौजी गाउँपालिकामा भएको छ । उनी भने औरही गाउँपालिका छाड्न तयार छैनन् ।’

    ‘सरुवा भएको २१ दिनभित्र रमाना बुझेर सम्बन्धित कार्यालयमा हाजिर हुनुपर्ने प्रावधान रहेको छ’ अध्यक्ष यादवले भने, ‘तर अधिकृत ठाकुरले रमाना नै बुझ्न मान्नुभएको छैन । यतिसम्म कि उहाँ मेरो फोन पनि उठाउनुहुन्न ।’

    गाउँपालिकामा राजनीति गरेर अधिकृत ठाकुरले आफ्नो चरित्रहत्या गराउन लागेको आरोप समेत अध्यक्ष यादवले लगाए । उनले भने, ‘ पटक पटक मन्त्रालय पुगें। सचिवले सरुवा भएको अधिकृत रमाना बुझेर सम्बन्धित कार्यालयमा गएपछि अर्को अधिकृत पठाउँछु भन्नुहुन्छ । अहिले पनि म त्यही कामले काठमाडौंमा छु ।’

    अधिकृत ठाकुर भने सम्पर्क बाहिर छन् । उनको फोन स्वीच अफ छ । उनी कार्यालयमा समेत आउने गरेका छैनन् । अध्यक्ष काठमाडौं पुगेपछि अन्य कर्मचारी पनि कार्यालय आउन छाडेको बताइएको छ ।

  • डेढ महिनादेखि गाउँपालिका ठप्प, जनप्रतिनिधिको हानथापले गाउँसभा अनिश्चित

    डेढ महिनादेखि गाउँपालिका ठप्प, जनप्रतिनिधिको हानथापले गाउँसभा अनिश्चित

    जनकपुरधाम । जनप्रतिनिधिहरूको प्रतिष्ठाको लडाइँले धनुषाको धनौजी गाउँपालिका डेढ महिनादेखि ठप्प छ । चालु आर्थिक वर्षको करिब ६ महिना बित्न लाग्दा कुनै पनि विकास निर्माणको काम शुरू हुन सकेका छैन । तलब नपाएपछि कर्मचारीहरु कार्यालय आउनै छाडेका छन् ।

    प्रमुख प्रशासकीय अधिकृत कन्हैयाकुमार मिश्रले आर्थिक वर्ष २०७७/७८ को शुरूदेखि नै तलब नपाएपछि कार्यालय जान छाडेको बताए । उनले भने, ‘करिब ४०/४५ दिनदेखि अत्यावश्यक बाहेक सबै काम ठप्प छ । कुनै पनि कर्मचारी कार्यालय आउन मानेका छैनन् ।’ तलब निकासा नभएसम्म कार्यालय ठप्प रहने उनको भनाइ छ ।

    अधिकृत मिश्रले कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले तलब निकासा नदिएको बताए । ‘कोलेनिकाले तलब रोकेको छ’, उनले भने, ‘बहुमत जनप्रतिनिधिले तलब रोक्न निवेदन दिएको कुरा कोष प्रमुखले भन्नुभएको छ ।’ गाउँसभा नभएसम्म तलब निकासा नदिन बहुमत जनप्रतिनिधिले कोलेनिकामा निवेदन दिएको मिश्रले जानकारी दिए ।

    ‘५औं गाउँसभा सम्पन्न भइसकेको छ’, उनले भने, ‘तर त्यो गाउँसभामा सबै नीति तथा कार्यक्रम पेश नभएपछि स्वीकृत हुन सकेन । त्यसैले ६ औं गाउँसभा गर्नुपर्छ । जनप्रतिनिधिबीचको विवादका कारण सहमति बनेको छैन ।’ छैटौं गाउँसभा नहुँदा गाउँपालिकाको सबै कामकाज प्रभावित भएको उनले बताए ।

    स्रोतका अनुसार जनप्रतिनिधिबीच आ-आफ्नो क्षेत्रमा धेरै बजेट लैजाने होडबाजीका कारण गाउँपालिकामा विवाद बढेको हो । ‘मेयरले आफ्नो पक्षको वडाध्यक्षलाई प्राथमिकता दिनेगरेको भन्दै एक-अर्कामा नै विवाद छ’, स्रोतले भन्यो

    शिक्षक र स्वास्थ्यकर्मी पनि आन्दोलित

    तलब नपाएपछि शिक्षक र स्वास्थ्यकर्मी पनि आन्दोलित बनेका छन् । आर्थिक वर्ष २०७७/७८ शुरू भएदेखि तलब नपाएको धनौजी गाउँपालिका ४ स्थित राप्राविका प्रधानाध्यापक अनिलकुमार साहले बताए । उनले भने, ‘महिनौ दिनदेखि आन्दोलन जारी राखेका छौं । तर तलब पाएका छैन ।’

    गाउँसभा नभएको बहाना बनाएर तलबबाट वञ्चित गरेको प्रधानाध्यापक साहले बताए । मंगलवार कोष तथा लेखा नियन्त्रक कार्यालय जनकपुर आइपुगेका उनले भने, ‘यहाँको हाकिम साहेवले केही जनप्रतिनिधिले तलब निकासा नगर्न निवेदन दिएको भन्नुभयो ।’

    अधिकृत मिश्रले ५ औं गाउँसभा सम्पन्न भइसकेको दाबी गरेपनि बहुमत जनप्रतिनिधि ५ औं गाउँसभा गर्नुपर्ने माग गरेको र गाउँसभा नभएसम्म तलब निकासा नगर्न कोलेनिकामा निवेदन दिएको प्रधानाध्यापक साहले बताए । तलबका लागि गाउँपालिका प्रमुखले पटक-पटक आश्वासन दिएपनि नपाएकाले परिवार चलाउन गार्‍हो भएको उनको गुनासो छ ।

    गाउँपालिकामा ६ आधारभूत र २ मावि गरी ८ सामुदायिक विद्यालय छन् । कोरोना महामारीका कारण गत चैत दोस्रो सातादेखि बन्द भएका यहाँका विद्यालयहरू अझै संचालन भएको छैन । गाउँपालिका ठप्प भएपछि विद्यालय सञ्चालनबारे निर्णय नभएको बताइएको छ ।

    विद्यालयमा गत आर्थिक वर्षको पाठ्यपुस्तक, छात्रवृत्ति, एसआईपी, मसलन्द, बुक कर्नर, लेखा परीक्षणलगायतका शीर्षकका बजेटसमेत निकासा हुन नसकेको शिक्षकहरु बताउँछन् । उधारो पाठ्यपुस्तक खरिद गरेर विद्यार्थीहरुलाई उपलब्ध गराएको प्रधानाध्यापक साहले बताए ।

    गाउँपालिकामा ४ स्वास्थ्य चौकी र एक सामुदायिक क्लिनिक छन् । यी स्वास्थ्य संस्थामा कार्यरत ६५ स्वास्थ्यकर्मीले पनि तलब नपाएको गुनासो गरेका छन् । सि.अहेब उमेर साहले जनप्रतिनिधिको लापरबाहीले स्वास्थ्य संस्था लथालिङ्ग बनेको बताए ।

    गाउँपालिका प्रमुख नै उदासीन

    गाउँपालिका कार्यालय डेढ महिनादेखि ठप्प रहेपनि समाधानतर्फ उदासीन रहेको भन्दै प्रमुख बद्रीनारायण सिंह आलोचना बढेको छ । कुनै मतलव छैन । गाउँसभा नहुँदा कर्मचारीहरू तलबविहीन भएको स्वीकार्दै सिंहले गाउँसभा गर्ने सहमति बनिसकेको बताए । तर मितिबारे केही बोलेनन् ।

    गाउँपालिकाकी उपप्रमुख रामवती मण्डल गाउँसभा नहुनुमा सबै जतप्रतिनिधिको गल्ती देखाउँन नहुने बताउँछिन् ।

    ‘गाउँसभा अब कहिले गर्ने कुरा गाउँपालिका प्रमुखलाई नै थाहा होला,’ उनले नेपालप्रेससँग भनिन्, ‘विवाद किन भएको कुरा मलाई थाहा छैन । तर सबै आ-आफ्नै अडानमा छन् । गाउँपालिका प्रमुखलाई पनि कुनै मतलब छैन । अनि कसरी सहमति बन्छ ।’

    कर्मचारी नआएपछि कुनै काम हुँदैन, त्यसैले आफू पनि कार्यालय जान छाडेको छु- उनले सुनाइन् ।