Tag: दुबई

  • दुबई उड्न नपाएपछि त्रिभुवन विमानस्थल तनावग्रस्त

    दुबई उड्न नपाएपछि त्रिभुवन विमानस्थल तनावग्रस्त

    काठमाडौं । दुबई उड्न ठिक्क परेका यात्रु कोरोना परीक्षण नभएको कारण देखाउँदै रोकिएपछि त्रिभुवन विमानस्थल परिसरमै प्रदर्शनमा उत्रिएका छन् ।

    यात्रुहरूको विरोधका कारण विमानस्थलको बाह्य टर्मिनल क्षेत्र तनावग्रस्त छ । दुबईले केही दिनअघिमात्र नेपाली कामदारलाई आफ्नो देश आउन अनुमति दिएसँगै त्यहाँ जाने करिब २ सय कामदार टिकट काटेर विमानस्थल पुगेका थिए ।

    २ सयभन्दा बढी यात्रुको कोरोनाको आरडीटी परीक्षण नभएको भन्दै फर्काइपछि उनीहरू अलपत्र परेका हुन् । दुबईले केही दिनअघि दिएको अनुमतिमा एयरपोर्टभित्र रहेको आरडीटी मेसिनबाट ४ घण्टा अघिमात्र चेक गरेका कामदारलाई दुबई प्रवेशको अनुमति दिएका कारण यो समस्या आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री बताउँछन् ।

    उनका अनुसार धेरै संख्यामा आरडीटी जाँच गर्न सीमित मेसिनले अपुग भएकोले समस्या देखिएको हो । आज साँझ ७ बजेको फ्लाइटका लागि यात्रुहरू त्रिभुवन विमानस्थल पुगेका थिए ।

    विमानस्थल प्रशासनले पहिला दुबई जाने कामदारलाई बानेश्वरस्थित रहेको टीआईएको आरडीटी चेक गर्ने ठाउँमा पठाए पनि सो ठाउँमा जाँदा भीड भएको भन्दै सबैको एकैपटक जाँच गर्न नसकिने बताइएपछि उनीहरूलाई परीक्षण नगरी एयरपोर्ट पठाइएको थियो ।

    यसअघि तीन दिन पहिला दुबईका लागि १ सय ५० भन्दा बढी युवा गएका थिए । उनीहरु जाँदा भने टीआईएको बानेश्वरस्थित रहेको मेसिन एयरपोर्ट लगेर आरडीटी जाँच गरेर पठाइएको थियो । टीआईएमा यात्रु अलपत्र परेपछि अहिले टीआईएका पदाधिकारी तथा ट्राभल एजेन्सीका पदाधिकारीले पर्यटन मन्त्रालयमा गएर छलफल गरिरहेका छन् । आजको फ्लाइट भने स्थगित गरिएको छ ।

    दुबई जान पोखराबाट आएका यात्रु राजन केसीका अनुसार अहिले सबै यात्रुलाई होटलमा राख्ने वा नराख्ने सम्बन्धमा टीआईएमा छलफल भइरहेको छ । उनी चार दिनअघि काठमाडौं आएर होटलमा बसिरहेका छन् । उनका अनुसार आजको फ्लाइट क्यान्सिल भएर अर्को फ्लाइट कहिले हुने भन्ने विषयमा अन्योल हुँदा चिन्ता थपिएको छ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    तस्बिरहरू : सरोज बैजु ।
  • नग्न तस्बिर खिचेको आरोपमा दुबईमा ११ महिला पक्राउ

    नग्न तस्बिर खिचेको आरोपमा दुबईमा ११ महिला पक्राउ

    सार्वजनिक स्थानमा न्यूड फोटोशूट गरेको भन्दै दुबई प्रहरीले ११ महिलालाई पक्राउ गरेको छ । शनिबार अनलाइनमा पोस्ट गरिएको भिडियोमा ती महिलाहरु एउटा समूहमा नग्न तस्बिर लिइरहेका देखिएका थिए ।

    ती महिलाहरु युक्रेनका नागरिक रहेको जनाइएको छ र उनीहरुलाई हिरासतमा लिइएको वाणिज्य दुतावासले जनाएको छ । युएईमा सार्वजनिक स्थानमा नग्न तस्बिर खिचेबापत ६ महिनासम्म जेल सजाय र १५ हजार दिराम जरिवानाको प्रावधान छ ।

    सार्वजनिक स्थानमा तस्विर खिचेबापत पक्राउ परेको यो पहिलो घटना भने होइन । यसअघि पनि प्रहरीले त्यस्तो कार्यमा संलग्न मानिसलाई पक्राउ गरेको छ । यो नियम आन्तरिक पर्यटकको हकमा पनि लागु गरिएको छ ।